स्वस्तिका बानियाँ

कवि/गजलकार/मुक्तककार

मान्छेहरु अग्लिने क्रममा छन्
मान्छेहरु सर्वोत्कृष्ट छन्
मान्छेहरु दौडिरहेका छन्
फगत् पुग्नलाई
मापनविहीन गन्तव्यको उचाई
हिजोका मान्छेहरु
आदिम जस्ता थिए
घाँस खान्थे
वन चहार्थे
पन्छीसङ्ग गीत गुनगुनाउथे
पशुसङ्ग मित्रता गाँस्थे
निस्फिक्री डुल्थे
बिना चप्पल
बिना वस्त्र
केवल स्वअस्तित्वको आडमा

आज मान्छेहरु
मान्छे जस्ता छन्
मन लाग्दैन उसलाई
स्पर्श गर्न घाँसका त्यान्द्राहरु
बेकाममा वन चहार्ने
बानी छैन उसको
ऊ नवबस्तिमा बसाइँ सरेको छ
जहाँ कुनै पशुको आगमन छैन
न उसलाई आकाशको घाम चाहिन्छ
न मूलको पानी
सम्पन्न छ
घर, गाडी, बत्ती
मात्र ऊ भित्रबाट खोक्रो भएको छ
बिर्सिएको छ उसले
आफ्नो प्राणदातालाई ।

म त भन्छु
मलाइ फेरि आदिम हुनु छ
र दौडनु छ
खुल्ला पाउ
पत्करहरुमा
झुण्डिनु छ लहरा लहरा
समाउँदै वृक्षका हाँगाहरु
जिउनु छ जिन्दगी
प्रकृतिको सुन्दर काखमा
शान्तिमय, प्रेममय
आनन्दताको अनुभूतिमा

हे प्रकृति !
मलाई पुनः स्वीकार गर ।।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन