२२ भाद्र/नवसाहित्य । नेपाली हास्यव्यङ्ग्यको संवर्द्धन र अभ्युत्थानमा समर्पित फित्कौली अनलाइन मिडियाद्वारा ५ हास्यव्यङ्ग्यकर्मीहरूलाई सम्मान गरिएको छ ।
हरेक वर्ष भाद्र महिनामा समर्पण गरिने विभिन्न सम्मान एवं पुरस्कारहरू वर्ष २०८१ का लागि समर्पण गरिएको हो ।
फित्कौली अनलाइन मिडियाद्वारा स्थापित ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान- २०८१’ द्वारा विगत चार दशकदेखि हास्यव्यङ्ग्य लेखन तथा यसको उन्नयनमा क्रियाशील व्यक्तित्व हेटौंडा, मकवानपुरका आर.सी. रिजाललाई नगद रु २०,१०५/- सहित सम्मानपत्र प्रदान गरिएको छ ।
सर्लाहीका हास्यव्यङ्ग्य लेखक महेश थापालाई ‘गोविन्द-विजया फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय प्रतिभा पुरस्कार- २०८१’ तथा गोरखाका हास्यव्यङ्य कवि सुभाषचन्द्र देवकोटालाई ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय कविता पुरस्कार- २०८१’ प्रदान गरिएको छ ।
त्यसैगरी सिन्धुपाल्चोकका हास्यव्यङ्ग्य निबन्धकार देवीप्रसाद चापागाईँलाई ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय निबन्ध पुरस्कार- २०८१’, र इलामका कवि दीनानाथ पोख्रेललाई ‘मुकुन्द-मुना फित्कौली राष्ट्रिय बुढ्यौली साहित्य पुरस्कार- २०८१’ प्रदान गरिएको छ । यी पुरस्कारहरूको रकम जनही रु. १५,१०१/- र सम्मानपत्र रहेको छ ।
समारोहमा फित्कौली डटकमका सल्लाहकार एवम फित्कौली द्वैमासिकका प्रमुख संरक्षक सदस्य कृष्णमुरारि गौतम (चट्याङ मास्टर) लाई बुढ्यौली विषय-क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु भएकोमा प्रतिकचिन्ह सहित ‘बुढ्यौली विशेष सम्मान’ समर्पण गरिएको फित्कौली मिडियाका प्रधानसम्पादक नरनाथ लुइँटेलले जानकारी दिनु भएको छ ।
यी सम्मान र पुरस्कारबाट गत वर्ष पाल्पाका चोलेश्वर शर्मा, स्याङ्जाकी गायत्री परिरोशनी, झापाका खगेन्द्र नेउपाने, गुल्मीका काशीनाथ मिश्रित, भक्तपुरका कवि रामशरण न्यौपाने र कार्टुनिस्ट राजेश मानन्धरलाई सम्मानित तथा पुरस्कृत गरिएको थियो ।
हास्यव्यङ्ग्य क्षेत्रका सम्मान तथा पुरस्कारका लागि व्यक्तित्व छनोट गर्न सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेको संयोजकत्वमा हास्यव्यङ्ग्यकार चट्याङ मास्टर र धीरेन्द्र प्रेमर्षि रहनुभएको समिति बनाइएको थियो । समितिले सिफारिस गरेका स्रष्टाहरूलाई नै फित्कौली अनलाइन मिडियाले सम्मानित र पुरस्कृत गर्ने निर्णय गरेको हो ।
शनिबार माउन्टेन एकेडेमी, थापागाउँ, काठमाडौँमा आयोजित ‘फित्कौलीको खित्कौली सभा- ३’ कार्यक्रममा उक्त सम्मान र पुरस्कारहरू समर्पण गरिएका हुन् । त्यही समारोहमा विभिन्न हास्यव्यङ्ग्य स्रष्टाका ८ वटा हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहरू चिरञ्जीवी दाहालको ‘बाघेझापु’, राजेन्द्र कार्कीको खाइराइड- दोस्रो संस्करण, अशोकुमार शिवाको ‘ऐनाको मान्छे’, खगेन्द्र नेउपानेको ‘पाक्कपुक्क’, साधुराम खड्काको ‘अब बाँकी के नै रहयो र ?’ का साथै राजेश मानन्धरको कार्टुनसङ्ग्रह ‘फित्कौली कार्टुन- २०८१’ विमोचित भयो । बुढ्यौली विषयमा लिखित पी.पी. कोइरालाको ‘वृद्धाकाश’ र फित्कौली द्वैमासिक पनि विमोचित भएका छन् ।
कार्यक्रममा फित्कौलीलगायतका पत्रपत्रिकामा कार्टुन कोरिरहनु भएका कार्टुनिस्ट राजेश मानन्धरका उत्कृष्ट १०० कार्टुनहरूको प्रदर्शन गरिएको थियो ।
रोचक घिमिरे, आरसी रिजाल, लक्ष्मण गाम्नागेद्वारा मन्तव्य राखिएको कार्यक्रममा प्रधानसम्पादक लुइँटेलले ८० को दशकलाई हास्यव्यङ्ग्य पुनर्जागरण दशक बनाउन फित्कौली लागिपरेको बताउनुभयो भने डा. गोविन्दराज भट्टराईले नेपाली हास्यव्यङ्ग्यलाई नयाँ उचाइमा पुर्याउन फित्कौलीले अगुवाइ गरेको अभियानलाई सबैले सघाउनु पर्ने बताउनु भयो ।
साहित्यिक पत्रकार रोचक घिमिरे, हास्यव्यङ्ग्यकारहरू नरेन्द्रराज पौडेल, मुकुन्द आचार्य, भाउपन्थी लगायत विशिष्ट अतिथि रहनुभएको थियो भने लक्ष्मण गाम्नागे, डा. रमेश शुभेच्छु, लता केसी, जनक चालिसे, पीपी कोइराला, शिवप्रसाद जैशी, हरिकला उप्रेती लगायत अतिथि रहनु भएको थियो ।
फित्कौली डटकमका प्रधानसम्पादक नरनाथ लुइँटेलको सभाध्यक्षता र प्रा.डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्य रहेको कार्यक्रमलाई सिस्नुपानी नेपालका सचिव सरोज घिमिरेले सहजीकरण गर्नु भएको हो ।