Home Blog Page 43

पर्या कविताः म सालक तिम्रो साथी || कृतिका लौडारी

लगाएर सुन्दर कत्ले कोट
खुरुङ्‌खुरुङ् हिँड्छु म
हुँ सङ्‌कटापन्न स्तनधारी
गर्दिन कसैलाई नोक्सानी
मात्र हुँ म किसानको साथी।

यो सुन्दर पृथ्वी
घर बनेको छ
मेरा ८ प्रजातिको
रैथानिए बनेका छन्
तामे र काले
नेपाल देशको
तर
लोपोन्मुुख बनेको छ
मेरो आफ्नो अस्तित्त्व ।

खाएर धमिरा, कमिला र किरा
जोगाउँछु म अन्नबाली
खनेर प्राङ्‌गारिक माटो
बढाउँछु उर्वराशक्ति
खनेरै माटो
कायम राख्दछु जमिनको चिस्यान
अनि म
न मानिस
न अन्नबाली
न कुनै जनावर
गर्दिन कसैलाई हानी
त्यसैले त भन्छु
म सालक तिम्रो साथी।

अब मात्र जोगाइदेऊ मेरो अस्तित्त्व
नउजाडिदेऊ मेरो घर
नमारिदेऊ मलाई
मात्र…
देखाउनलाई निर्जीव सजावट
लिन स्वाद मेरो अङ्ग-अङ्गको
बिन्ती गर्दैछ तिमीलाई
म सालक तिम्रो साथी ।
(हेटौंडा)

चार्ली चाप्लिनः आफूजस्तै देखिने प्रतियोगितामा २०औं स्थानमा, मरेपछि शव चोरियो || संप्रस पौडेल

चार्ली चाप्लिन एक बेलायती हास्य अभिनेता, चलचित्र निर्माता, निर्देशक, पटकथा लेखक, सम्पादक, सङ्गीतज्ञ हुन् ।
सन् १८८९ अप्रिल १६ मा बेलायतको राजधानी लण्डनमा जन्मिएका उनी हास्यव्यङ्ग्यका माध्यमबाट विश्व चर्चित कलाकार हुन् ।
उनको खास नाम चार्ल्स स्पेन्सर चाप्लिन हो तर पनि संसारभर उनी चार्ली चाप्लिनकै नामबाट चर्चामा रहे ।
हुन त संसारका जो सुकै पनि उनको हास्यव्यङ्ग्यबारे अनभिज्ञ छैन । १० वर्षको उमेरदेखि मृत्युको एक सालअघिसम्म अभिनयमा डुबेका उनको जीवनका दर्दनाक पीडा, रोचक अनि रमाइला क्षणहरूबारे चर्चा गर्नेछौं ।

सानैमा बुबाको मृत्यु र चरम आर्थिक समस्याः
चर्चित कलाकार रहेका तर रक्सी पिउने बानीले खराब स्वास्थ्यका कारण बुवाको मृत्यु भएपछि चार्ली चरम आर्थिक समस्याबाट गुज्रिएका थिए । उनको बुबा राम्रो अभिनेताका साथै नाम चलेका गायक थिए । आमा हान्ना चाप्लिन पनि अभिनेत्री, गायिका, नृत्याङ्गना थिइन् । जसका कारण चार्ली चाप्लिनले सानैदेखि नै अभिनय कला सिक्ने मौका पाएका थिए ।
आमा बिरामी भएपछि उनले घर चलाउनकै लागि १३ वर्षको उमेरमा अभिनय सुरु गरेका थिए । त्यसको करिब एक वर्षपछि उनले एउटा नाटकमा मुख्य भूमिका निर्वाह गर्ने अवसर पाए । सो अभिनयको निकै चर्चा भएपछि उनको अभिनय यात्राले उचाइ लिएको थियो । १८९४ मा चार्ली ५ वर्षको हुँदा उनकी आमा गीत गाउनका लागि इङ्ल्याण्डको एक हलमा प्रवेश गर्दा एउटा दुखद घटना घट्यो। उनकी आमाको गलामा खराबीका कारण उनले आधाआधीमैं गीत गाउन सकिनन् र दर्शकहरूले भेटेजतिका वस्तु उनैतिर बर्षाउन थाले । यसरी उनलाई आयोजकले हलबाट बाहिर निकालेपछि बालक चार्ली यो दृश्य देखेर आफैं हलमा प्रवेश गरे र गीत गाउन थाले । बिरामी भएपछि उनकी आमाले पेन्टोमाइम (नाट्य अभिनयअन्तर्गतको हास्य विधा) कलामार्फत् आफ्ना छोराछोरीलाई रमाइलो आफ्ना विगतका घटना र कथाहरू देखाउन थालिन् । यसरी स्वास्थ्यसँग सङ्घर्ष गर्दै गरेकी उनकी आमाको निधन भने मानसिक स्वास्थ्यमा खराबी बढ्दै गएर चार्ली ३९ वर्षको हुँदा संयुक्त राज्य अमेरिकामा भएको हो । चार्लीको जीवनमा चरम गरिबी नै उनको कला प्रस्तुत गर्ने र कमाइ खाने तथा भाइहरूको शिक्षादिक्षा तथा उपचारको लागि सहयोगी बन्यो ।

दोस्रो विश्वयुद्धमा संसार होमिइरहेको बेलामा चार्लीले सन् १९४० मा जर्मन तानाशाह हिटलरबारे ‘द ग्रेट डिक्टेटर’ फिल्म बनाएका थिए । फिल्ममा हिटलरको मूख्य भूमिका उनी आफैंले निभाएका थिए । हिटलरलाई हास्य चरित्रमा प्रस्तुत गरेका चार्लीको अभिनयको निकै प्रशंसा भएको थियो । टाइम्स म्यागजिनले सन् १९३८ मा म्यान अफ दि इयर घोषणा गरेका उनै हिटलरको दुखद अन्त्य सन् १९४५ मा भएको थियो ।

शिक्षाः
चार्ली चाप्लिनले सबैभन्दा बढी समय विद्यालयमा बिताएको भन्नु नै अनाथ र असहाय केटाकेटी पढ्ने विद्यालयमा बिताएको १८ महिना नै हो । टाउकोमा दादले सताएपछि उनको कपाल समय समयमा मुन्डन गरिन्थ्यो । उनलाई त्यो सबैभन्दा उदेक लाग्दो हुन्थ्यो । तर आर्थिक सङ्कट भोगिरहेका उनी चलचित्रकै कारण एकाएक लखपति बने ।

चार्लीको पहिचानः
ह्याट, नाकमुनिमात्रै छुस्स जुँगा (Handlebar moustache), पाइताला दायाँबायाँ फर्काएर हिँड्ने हिँडाइ, हातमा लौरो, गोडामा माथिसम्म आउने बुट आदि उनका लवाईका पहिचान हुन् । उनका चलचित्रहरू अङ्ग्रेजी, फ्रेन्च, पोर्चुगिजलगायत संसारका थुप्रै भाषामा फैलिएकाले उनलाई संसारका मानिसहरूले एकै पटक चिन्ने मौका पाए । पेन्टोमाइम जसलाई नाट्य विधाको एक हास्य विधा मानिन्छ । यसमा सामान्य बोलीचाली गर्न पाइन्छ भने माइम प्रस्तुतिमा संवाद बर्जित छ । यसैले चार्ली चाप्लिनले मौन चलचित्रहरू निर्माणमा जोड दिनुको कारण यो अभिनयबाट सबैलाई बुझाउन सक्नु हो भन्न सकिन्छ । यसअर्थमा उनले पेन्टोमाइमको विकासका लागि प्रशस्त अभिनयहरू गरेका छन् ।यसमैं उनको पहिचान खुलेको पाइन्छ ।

चलचित्रमा प्रेरणा र विकासः
उनी चलचित्रमा प्रेरणाका रूपमा आफ्ना बुवा र आमालाई लिन्थे । उनले सन् १९१२ देखि नै अमेरिकामा आफ्नो भविष्य देख्न थालेका थिए । सन् १९१३ मा दोस्रो पटक अमेरिका भ्रमणका क्रममा किस्टोन स्टुडियोमार्फत् अमेरिकामा उनलाई हप्ताको १ सय ५० डलरमा अनुबन्ध गरिएको थियो । १९१४ मा उनले Making a Living मा ठगको भूमिकाबाट खुबै चर्चा पाए । सोही वर्ष हप्ताको १ हजार २ सय डलर हुँदै उनले बोनस समेत १० हजार प्राप्त गरे । चाँडै नै उनले १ लाख डलर कमाए । हुन त १९०८ मा पहिलो हलिउड (हलिउड भन्नाले अमेरिकाको लस एन्जलस क्षेत्रको एक ठाउँ भन्ने बुझिन्छ, जहाँ चलचित्र उद्योगहरू रहेका छन् ।) चलचित्रका रूपमा The Count of Monte Cristo लाई लिइन्छ भने चार्लीको समयसम्म आउँदा यसको विकासकै क्रम चल्दै थियो । सोही क्रममा उनले १९१९ मा अन्य ३ जना साथीहरू मिलेर आफ्नै फिल्म स्टुडियो बनाए । उनका दर्जनौं चलचित्रहरूमा उनले लिटल ट्रम्प चरित्र (उनको ब्रान्डका रूपमा रहेको जुँगा, ह्याट, लौरो, जुत्ता) मा देखिन्छन् । संसारभरका चलचित्रप्रेमीहरूले यो चरित्रलाई मन पराए ।

संवादविहिन चरित्रले चर्चाः
चार्ली संवादविहीन फिल्मका लागि हालसम्मकै सबैभन्दा प्रभावशाली कलाकार मानिन्छन् । सन् १९२७ को The Jazz Singer बाट उनले मौन चलचित्र सुरूवात गरे । जसमा सङ्गीतको साथमा अभिनय गरिएको थियो ।त्यसो त सन् १९२८ को द सर्कस पनि मौन चलचित्र थियो । जसमा प्रयोग गरिएको सङ्गीतमाथ भने विवाद रह्यो । सन् १९३१ को सिटी लाइट्स र १९३६ को मोडर्न टाइम्समा पनि उनले यस्तै प्रयोग गरे । उत्कृष्ट अभिनय र मानिसलाई हँसाउने विलक्षण प्रतिभाका कारण चार्लीलाई १९७२ मा मानार्थ अस्कर अवार्डबाट सम्मानित गरिएको थियो ।उनलाई मौन चलचित्र अभिनेताका रूपमा सर्वाधिक चर्चाको शिखरमा पुर्‍याउने चलचित्र १९१५ को द ट्राम्प अर्थात् द लिटल ट्राम्प नै हो । यस चलचित्रमा गाडीको आवाजले तर्सिएकर भुइँमा पछारिएकोदेखि धुलो सफा गर्ने तरिकासम्म, रूखमुनि बसेर जुत्ता सफा गर्दा, गोजीबाट नुन झिकेर झार उखेलेर खाएकोसम्मका क्रियाकलाप निकै रमाइलो देखिन्छ । आफू र एक युवतीमाथि आक्रमण गर्नेहरूलाई चार्लीले गरेको कारबाहीको दृश्यदेखि उनको पाइन्टको पछाडी आगो लागेर धुवाँ उडेको दृश्यसम्म निकै हास्यप्रधान देखिन्छ । मौनताको भाषा सबैले आआफ्नै भाषामा बुझ्ने हुँदा यो चलचित्र उनको जीवनकै सबैभन्दा बढी चर्चामा रहेको चलचित्र मानिन्छ । गाईको पुच्छार तानेर कल धारोमा पानी आएझैं दूध निकाल्न खोज्नेदेखि जुध्ने तरिकासम्म अनि खन्नका लागि हतियार बोक्ने तरिका होस् वा कृषि फाराममा भारी बोक्दाको अवस्थामा होस् उनको काम गराइमा प्रयोग भएका मूर्खताका कारण पनि यो चलचित्र सर्वश्रेष्ठ हास्यप्रधान बनेको छ । आफैंलाई मूर्ख बनाउन साहस चाहिन्छ भन्ने चार्ली चाप्लिनले आफ्नो मुर्खताबाट दुनियाँलाई भरपुर मनोरञ्जन दिएका छन् । उनको फिल्ममा कार्टुन श्रृङ्खलाका झझल्को देख्न पाइने भएता पनि सन् १९४० देखि नै विश्व चर्चित कार्टुन श्रृङ्खला टम एन्ड जेरी सुरू भएको हो । वाल्ड डिज्नेले सन् १९२८ मा Lucky Rabbin अर्थात् भाग्यमानी खरायोलाई पहिलो कार्टुन एनिमेसनका लागि चित्रका रूपमा उतारेका हुन् ।

आरोपमुक्त रहन सकेनन्:
सन् १९५० को सुरूतिर चाप्लिनमाथि कम्युनिष्ट समर्थक भएको आरोप लाग्यो । उनको पोशाक र विचारका कारण उनी लामो समयदेखि निगरानीमा थिए । उनीद्वारा निर्देशित नाट्य चलचित्र लाइमलाइटको प्रिमियरमा भाग लिन पाएनन् । उनको जीवनकथामा आधारित भनिएको सो फिल्म सन् १९७२ मा पुनः रिलिज गरिएको थियो । यस घटनापछि उनी केही समय इङ्ल्याण्ड र पछि जीवनको अन्तिम कालसम्म स्विजरल्याण्ड बसे । सो समयमा अमेरिका र सोभिय सङ्घबीच शीतयुद्धको समय रहेकोले विभिन्न आशङ्का तथा हल्लाहरू चर्चामा थिए । सोही समयमा उनी अमेरिका (हलिउड) द्वारा कालोसूचीमा राखिएका अभिनेता बन्न पुगे । १९५२ पछि एकै पटक १९७२ मा पुरस्कार ग्रहणका लागि मात्रै उनले अमेरिका टेके । तर उनले अमेरिकाको नागरिकता भए कहिल्यै लिएनन् ।
त्यसो त उनले नवीन प्रविधिलाई स्वीकार गर्न सकेनन् भन्ने आरोपबाट समेत उनी मुक्त छैनन् ।ट्राम्प चर्चित भएपछि पछिल्ला चलचित्रहरूलाई सोभन्दा माथि लैजान आनाकानी गरेको भन्ने गुनासोहरू उनका सहकर्मीहरूले गरेका भनी विभिन्न जर्नलहरूमा पढ्न पाइन्छन् ।
चार्ली चाप्लिन २९ वर्षको हुँदा उनले १६ वर्षकी मिल्ड्रेड ह्यासिससँग विवाह गरे । ३५ वर्षको उमेरमा १६ वर्षकी लिटा ग्रेसँग बिहे गरेका थिए भने ५३ वर्षको हुँदा १८ वर्षकी उना ओनेइलसँग चौथो विवाह गरेका थिए । यसरी कम उमेरकी महिलासँग विवाह गरेका कारण उनी निकै विवादित पनि बने ।

असफल वैवाहिक सम्बन्धः
चार्लीले पहिलो विवाह मिल्ड्रेड ह्यारिससँग सन् १९१८ मा भयो । सन् १९२० मा अर्थात् २ वर्षमैं सम्बन्धविच्छेद भएपछि सन् १९२४ मा उनले लिटा ग्रेलाई दोस्री पत्नीका रूपमा विवाह गरे । तर यो सम्बन्ध पनि ३ वर्ष अर्थात् १९२७ भन्दा अघि बढ्न सकेन । सन् १९३६ मा तेस्री पत्नीका रूपमा उनले पउलेट गोडार्डलाई स्वागत गरे । अघिल्लाझैं ६ वर्ष अर्थात् १९४२ मैं यो सम्बन्धमा बिट मार्न पुगे । सन् १९४३ मा विहे गरेकी उना ओनेइल उनको जीवनकालसम्मकी सारथी बनिन् ।

उनका प्रेरक भनाइहरूः
* हाँसो बिनाको दिन भनेको एक दिन बर्बाद हुनु हो।
* आफैंलाई मूर्ख बनाउन साहस चाहिन्छ ।
* नजिकबाट हेर्दा जीवन एक त्रासदी हो तर लामो दृष्यमा बुझ्दा यो एक कमेडी हो ।
* कल्पनाको अर्थ केही पनि होइन ।
* मानिसको वास्तविक चरित्र नशामा हुँदा देखिन्छ ।
* जीवन एक इच्छा हो, अर्थ होइन।
* म केवल एक चीजका रूपमा रहन्छु, त्यो एक जोकर हो । यसले मलाई कुनै पनि राजनीतिज्ञभन्दा धेरै उचाइको विमानमा पुर्‍याएको महसूस हुन्छ ।
* तानाशाहहरू आफू स्वतन्त्र हुन्छन् तर उनीहरूले जनतालाई दास बनाउँछन् ।
* मानिसहरूको घृणा हट्नेछ, तानाशाहहरू मर्नेछन् र तिनीहरूले जनताबाट लिएको शक्ति जनतामैं फर्कनेछ ।
* हाँसो ओखति हो, राहत हो, पीडाबाट छुटकारा पाउनु हो ।
* म विश्वकै नागरिक हुँ ।
* हामी धेरै सोच्छौं र थोरै महसूस गर्छौं ।
* यदि तपाईँ आफैंसँग सत्यवादी हुनुहुन्छ भने यो एक अद्भुत मार्गदर्शन हो ।

अभिनित चलचित्रहरूः
उनले सन् १९१४ मा झण्डै ३ दर्जन चलचित्रहरूमा अभिनय गरे ।सन् १९१५ मा १ दर्जन बढीमा अभिनय गरे ।यसरी उनले ८२ भन्दा बढी चलचित्रमा अभिनय गरेका अभिलेखहरू प्राप्त छन् ।
Making a Living (1914), Kid Auto Races at Venice (1914), Mabel’s Strange Predicament (1914), A Thief Catcher (1914), A Night in the Show (1915), The Pawnshop (1916), The Kid (1921), City Lights (1931), The Great Dictator (1940), Monsieur Verdoux (1947), Limelight (1952), A king in New York (1957), A Countess From Hong Kong (1967) आदि उनका चलचित्रहरू हुन् । Shoulder Arms (1918), The Pilgrim (1923), The Circus (1928) आदि उनका सर्वाधिक चलचित्र हुन् । IMDB मा उनका चलचित्रले १० अङ्कमा ७ भन्दा बढी प्राप्त गरेका चलचित्रहरू The Vagabond (1916), One A.M. (1916), The Pawnshop (1916), The Rink (1916), Easy Street (1917), The Cure (1917), The Immigrant (1917), The Adventurer (1917), A Dog’s Life (1918), The Kid (1921), The Idle Class (1921), Pay Day (1922) छन् । The Gold Rush (1925) र The Circus (1928) ले ८.१ रेटिङ प्राप्त गरेको छ भने City Lights (1931) र Modern Times (1936) को रेटिङ ८.५ रहेको छ ।यसरी IMDB मा ८ अङ्कमाथिका उनका चलचित्रहरू आधा दर्जन रहेका छन् ।

पुरस्कार र सम्मानः
३ पटक एकेडेमी अवार्ड विजेता उनी १९१४ देखि १९५२ सम्म हलिउड चलचित्र दुनियाँका सर्वाधिक चर्चाका पात्र हुन् । लाइमलाइट फिल्म हलमा लगातार ३ महिना चल्यो । एक दशकपछि अर्थात् सन् १९७२ मा निर्वासनको अन्त्यपश्चात् चाप्लिनले आफूमाथि लागेका प्रतिबन्धका दागहरू मेटाउँदै अवार्ड ग्रहण गरे र १२ मिनेटसम्म ओस्कार इतिहासमैं सबैभन्दा लामो (१२ मिनेटको) ‘स्ट्यान्डिङ ओभेसन’ प्राप्त गरे ।ओस्कारले उनलाई इतिहासमैं सबैभन्दा बढी हसाउने कलाकारका रूपमा चित्रित गर्दै लौरो र ह्याट दिएर सम्मान गर्‍यो । आफ्नो जीवनमा उनले ईटालीद्वारा विदेशी भाषाको चलचलित्र सिल्भर रिवन (१९५३), बोडिल अवार्ड (१९५९), बाफ्टा अवार्ड (१९७६), बेस्ट अमेरिकन फिल्म अवार्ड, भेनिस फिल्म फेस्टिभलमा सम्मान, ब्लु रिबन अवार्ड (१९५३, जापान) लगायत दर्जनौं सम्मानहरू प्राप्त गरे । सन् १९७२ मा मानार्थ ओस्कार तथा चलचित्र लाइमलाइटका लागि सन् १९७३ मा ‌ओस्कारको बेस्ट म्युजिक अवार्ड प्राप्त गरे ।

रोचकः
भारतीय कलाकार राज कपुरलाई भारतका चार्ली चाप्लिनका नामले चिनिन्छ । चार्लीका सम्बन्धमा एउटा चर्चित घटना रहेको छ । चार्ली चाप्लिन जस्तै बन्ने होडबाजी चलेको थियो ।जसमा चार्ली चाप्लिन २०औं स्थानमा परेका थिए भने बब हपले सो प्रतियोगिता जितेका थिए ।

चाप्लिनको नाममा स्थापित अवार्डः
फेसन र मनोरन्जन क्षेत्रकी चर्चित हस्ति कियरा चाप्लिन उनै चार्ली चाप्लिनकी नातिनी हुन् । उनले स्थापना गरेकी चाप्लिन अवार्ड हरेक महादेशका फिल्म क्षेत्रका हस्तिहरूलाई प्रदान गर्ने गरिन्छ । फ्रान्सको पेरिसमा चाप्लिन अफिस रहेको यस संस्थाअन्तर्गत चार्ली चाप्लिनको परिवार तथा सम्बद्ध बौद्धिक तथा अन्य सम्पत्तिको अधिकार रहेको छ ।

निधनः
सन् १९७७ डिसेम्बर २५ मा उनै बेलायती हास्य अभिनेता चार्ली च्याप्लिनको स्विट्जरल्यान्डमा मस्तिष्कघातका कारण ८८ वर्षको उमेरमा निधन भएको हो । मृत्युपछि पनि रोचक त के भने उनको शव चोरी भयो । स्वीस नागरिकको एउटा समूहले उनको शव चोरेर परिवारबाट पैसा लिने प्रयास गरेका थिए । ६ लाख डलर माग गर्ने अपराधीहरू समातिएपछि अर्थात् मृत्युको ११ हप्तापछि जेनेभा ताल नजिकै शव फेला पर्‍यो । थप घटना नहोस् भनेर उनलाई जमिनमा गाडेर कङ्क्रिटले छोपिएको थियो ।

सन्दर्भ स्रोतः

  • ओस्कार युट्युब च्यानल
  • चाप्लिनका भिडियोहरू
  • www.charliechaplin.com
  • Hanna’s Chaplin Diary
  • Wikipedia: Limelight review
  • The Guardian magazine
  • www.history.com

(लेखन/सङ्‍कलनः संप्रस पौडेल, मनहरी-५, मकवानपुर)

नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा १० नम्बर वडा प्रथम

पौष १४, शनिबार
मकवानपुर ।
हेटौंडा उपमहानगरपालिका नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा १० नम्बर वडा प्रथम भएको छ ।
नगर बाल समूह सञ्जालको आयोजनामा शनिबार हेटौंडामा भएको सो प्रतियोगितामा १७ नम्बर वडा दोस्रो, ४ नम्बर वडा तेस्रो र ११ नम्बर वडा सान्त्वना भएको हो ।
प्रमुख अतिथि हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले हाजिरीजवाफ प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।
१९ वटै वडाबाट सहभागिता रहेको प्रतियोगितामा विजयी हुने बालबालिकालाई पुरस्कारस्वरुप साहित्यिक पुस्तक, कलम र डायरी वितरण गरिएको छ ।
गरस्तरीय बाल समूह सञ्जालको आयोजना तथा बालमैत्री स्थानीय शासन घोषणाको तयारीमा रहेको हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा अतिरिक्त कार्यक्रम अन्तर्गत नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम आयोजना भएको हो ।
नगरस्तरीय बालसमुह सञ्जालका अध्यक्ष सौरज देवकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा विशिष्ट आतिथ्यता हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ रहनु भएको थियो ।
हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखा निर्देशक श्री विष्णु कुमारी लामिछाने प्रश्नकर्ता रहनु भएको कार्यक्रममा बालमैत्री वडा सम्पर्क व्यक्तिहरु, नगर तथा वडा सहजकर्ताहरु, वडास्तरीय बालसमुह सञ्जालका प्रतिनिधिहरु, नगर सञ्जालका प्रतिनिधिहरु, विभिन्न संघ सस्थाका प्रमुख एवम् प्रतिनिधिहरु, शिक्षक, अभिभावकहरुको उपस्थिति रहेको थियो ।
विजयी प्रतियोगीहरुलाई प्रमाणपत्रसहित अन्य वातावरणमैत्री पुरस्कार समेत वितरण गरिएको थियो भने नगर बाल समूह सञ्जालको तर्फबाट नगर प्रमुख लामालाई मायाको चिनो प्रदान गरिएको थियो । आजको कार्यक्रम रोयल प्यालेस हेटौंडामा सञ्चालन गरिएको हो ।

जिल्लास्तरीय विज्ञान हाजिरीजवाफमा जनप्रिय प्रथम, तुल्सीमेहर दोस्रो र नवोदय तेस्रो

पौष १४, शनिबार
मकवानपुर ।
विज्ञान शिक्षक समाज (STAN) मकवानपुरद्वारा आयोजित माध्यमिक तह (कक्षा ९-१०) स्तरीय विज्ञान हाजिरी जवाफ प्रतियोगिता २०८० मा जनप्रिय मावि विजयी भएको छ । प्रतियोगितामा तुल्सीमेहर मेमोरियल मावि दोस्रो र नवोदय शिशु सदन तेस्रो भएको हो । क्रमशः ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ पुरस्कार राशि रहेको सो प्रतियोगितामा थाहा नगरपालिका, मनहरी गाउँपालिका गरी जिल्लाभरका कूल १८ स्कुल सहभागी भएका थिए ।  प्रतियोगीहरूलाई प्रमाणपत्र प्रदान गरिएको सो कार्यक्रममा अतिथिहरूलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।
पहिलो चरणबाट ९ विद्यालय छनौट गरी सञ्चालन गरिएको प्रतियोगिता विज्ञान शिक्षक समाज मकवानपुरका अध्यक्ष खेमराज लामिछानेको सभाध्यक्षता, राष्ट्रिय परीक्षा बोर्ड मकवानुर प्रमुख कृष्ण घिमिरेको प्रमुख आतिथ्यता र मकवानपुर बाल विद्या सदन (एमबिबिएस) का निर्देशक सुदीपराज गिरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको हो ।

विज्ञान शिक्षक समाजले नियमितरूपमा शैक्षिक प्रदर्शनी, वक्तृत्वकला प्रतियोगिता, कार्यशाला, तालिम आदि लगायत विभिन्न शैक्षिक कार्यक्रमहरू गर्दै आइरहेको छ । आगामी दिनमा समेत यस्ता गतिविधिका साथै अझ रचनात्मक क्रियाकलापहरूलाई निरन्तरता दिइने विज्ञान शिक्षक समाज मकवानपुरका अध्यक्ष खेमराज लामिछानेले बताउनुभयो ।
पुरस्कार तथा आन्तरिक व्यवस्थापन मकवानपुर बाल विद्या सदनले गरेको सो कार्यक्रम सोही विद्यालयको प्राङ्गणमा आयोजना गरिएको हो ।
विज्ञान शिक्षक समाज मनहरीका अध्यक्ष ओमप्रकाश सापकोटा, मकवानपुरगढी गाउँपालिका अध्यक्ष दीपेन्द्र यादव र हेटौंडा उपमहानगरपालिका सचिव सुदर्शन पौडेल अतिथि रहनु भएको कार्यक्रमलाई विज्ञान शिक्षक समाजका जिल्ला सचिव सुवास खनालले सहजीकरण गर्नु भएको हो ।
 

साहित्य सङ्गम मकवानपुरद्वारा सहयोगी दाताहरूलाई सम्मान, रचना वाचन र गायन कार्यक्रम

पौष १४, शनिबार
मकवानपुर ।
साहित्य सङ्गम मकवानपुरले ३३८औं नियमित साहित्य सन्ध्या सम्पन्न गरेको छ ।
सोही अवसरमा साहित्य सङ्गमको नियमित गतिविधि सञ्चालनार्थ अक्षयकोष निर्माण अभियानमा सहयोगी दाताहरूलाई सम्मान गरिएको हो । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाका वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता र सङ्गमका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षतामा आयोजित कार्यक्रममा ५ हजार रूपैयाँमाथि सहयोगी दाताहरूलाई सम्मान गरिएको अध्यक्ष बर्तौलाले बताउनुभयो । सङ्गम मकवानपुरको नयाँ कार्यसमिति चयनपछि वाचन, विमोचन, बहस, कार्यशाला लगायतका नियमित कार्यक्रम सञ्चालनका लागि दीगो अक्षयकोष बनाउन सकेमा संस्थाका गतिविधिले निरन्तरता पाउने हुँदा पहिलो चरणमा कूल ४ लाख ५ हजार ५ सय ७६ रूपैयाँ सहयोग गर्ने ६४ दाताहरू सम्मान गरिएको उहाँले जानकारी दिनुभयो । बाँकी सर्जकहरूलाई दोस्रो चरणको कार्यक्रममा सम्मान गरिने तथा केही दाताहरुले नाम उल्लेख नगर्ने र सम्मान ग्रहण नगर्ने शर्तमा समेत सहयोग दिनु भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि सिग्देलले साहित्य सङ्गमको यस अभियानमा सम्बन्धित वडाको साहित्यिक, शैक्षिकलगायतका गतिविधि सञ्चालन र सञ्चारमा महत्वपूर्ण भूमिका खेलेका सबै साहित्यिक संस्थाहरूलाई आफ्नै कार्यक्रमका रूपमा अपनत्व लिँदै निरन्तर सरसहयोग र सहकार्य गर्दै आइरहेको स्मरण गराउँदै सङ्गमको यस अभियानमा १० लाख पुर्‍याउने लक्ष्यमाथि नपुग रकम सहयोग गर्ने र कार्यक्रमहरूलाई निरन्तरता दिलाउन सहयोग गर्ने वाचा गर्नुभयो । उहाँले विभिन्न विद्यालयबाट सहभागी नवसर्जकहरूलाई लेखनका लागि हौसला दिन र नयाँ नयाँ पाठकस्रोताहरू बनाउनका लागि समेत सर्जकहरूसँग आह्वान गर्नुभयो ।
कार्यक्रममा सहयोगी दाताहरू सुदर्शनप्रसाद अधिकारी, दिनेश भण्डारी, विनोद सुवेदी, अमुल श्रेष्ठ, डीबी बर्तौला, ठाकुरराम भण्डारी, सुभाषचन्द्र पौडेल, विश्वास क्षेत्री, दीपक गौतम, सुदीप बर्तौला, मनोज पोखरेल, उमा मैनाली, भानुभक्त आचार्य, रामहरि न्यौपाने, उमेश आचार्य, रामकृष्ण तिमल्सिनालगायतका व्यक्तित्वहरू सम्मानित हुनु भयो ।
साहित्य सर्जक तथा कार्यक्रमका विशिष्ट अतिथि तुलसी घिमिरेले साहित्य सङ्गम सुरूवाती विविध प्रसङ्गका साथ आफ्नो कविता सुनाउनुएको कार्यक्रममा बालजागृती ईङ्लिश सेकेण्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल विनोद सुवेदीले र सम्मानित व्यक्तित्वहरूको तर्फबाट सुदर्शनप्रसाद अधिकारीले मन्तव्य राख्नुभयो । बालजागृति स्कुलका विद्यार्थीहरू सायुज्य देवकोटाले भजन शिरोमणि भक्तराज आचार्य तथा प्रसिद्धी लामिछानेले स्वर सम्राट नारायण गोपालको स्वरमा रहेको गीत गायन गर्नुभयो । जसलाई सङ्गीत प्रशिक्षक घनश्याम ढकाल र मनोज शाहीले सहजीकरण गर्नुभयो ।
साहित्य सर्जकहरू सुवास सजल, रचना भण्डारी, रजनी पौडेल, कृतिका लौडारी, स्वस्तिका बानियाँ, इभानी रानाभाट, छवि अनित्य, किसन पौडेल, देवराज तिवारी, सुदर्शन अधिकारी, चेतप्रसाद पौडेल, विष्णु गौतम, ठाकुरराम भण्डारी, शोभा थापा, मिथिला अधिकारी, केशव न्यौपाने आदिले विविध साहित्यक रचना गर्नुभयो । कार्यक्रममा भावना सापकोटा, भवानी तिमल्सिना, श्रीराम तिमल्सिना, मुक्तिगोविन्द वैद्य, विनोद सुवेदी, दिनेश भण्डारी, राजकुमार लामिछाने, मधु ढुङ्गाना, ईन्द्र नेपाल लगायतका साहित्य सर्जक, साहित्यसेवी, शिक्षक कर्मचारी आदिको उपस्थिति रहेको थियो ।
साहित्य सङ्गम र सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त हलमा सञ्चालित कार्यक्रमलाई सङ्गम मकवानपुरका सचिव मनोज पोखरेलले सहजीकरण गर्नु भएको हो ।

स्थापना दिवसको अवसरमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

हेटौंडा – मकवानपुरमा निजामति कर्मचारी श्रीमती संघले आफ्नो १९औं स्थापना दिवसको अवसरमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । मकवानपुरको बकैया गाउँपालिका–१२ को सेतीदेवी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा विरतण गरेको हो ।

प्रधानाध्यापक गोमा श्रेष्ठ रानाभाट एवं विद्यालय व्याबस्थ्यापन समिति अध्यक्ष यम रत्न भुलुनमार्फत सुइटर र टोपी वितरण गरिएको हो । विद्यालयमा पढ्ने १५७ जना विद्यार्थीलाई न्यानो कपडा विरतण गरिएको निजामति कर्मचारी श्रीमती संघकी अध्यक्ष अन्जना अर्यालले जानकारी दिइन् ।

कार्यक्रम संयोजन हेटौंडा उपमहानगरपालिका वडा नं.५ पिप्लेमा रहेको ज्ञानोदय बालबाटिका आवासीय माविले गरेको हो । कपडा वितरणपछि अध्यक्ष भुलुनले स–साना विद्यार्थीहरुको लागि चिसो बढी रहेको बेला यसरी सहयोग गरेकोमा धन्यवाद समेत दिए ।

त्यस्तै सोही कार्यक्रममा ज्ञानोदय बालबाटिकाले बकैया गाउँपालिका वडा नं. ११ मा रहेको बुद्ध प्राथामिक विद्यालका विद्यार्थीलाई पनि न्यानो कपडा वितरण गरेको छ । आफ्नो विद्यालयको स्थापना दिवसको अवसरमा ज्ञानोदय बालबाटिकाले सुइटर र टोपी वितरण गरेको हो । बालबाटिकाका प्रधानाध्यापक श्यामकुमार बानियाँले उक्त कार्यक्रममा विद्यालका प्राध्यापक लक्ष्मी दाहाललाई न्यानो कपडा हस्तान्तरण गरेका हुन् ।

वितरण कार्यक्रममा संघकी महासचिव रेखा नेपाल, संघकी कोषाध्यक्ष भूमिका सुवेदी लगायतले मन्तब्य राखेका थिए ।

नेपालको आदि सभ्यता : विष्णु भण्डारी

नेपालमा कहिलेदेखि सभ्यताको विकास भयो भन्ने तथ्यगत प्रमाण भेटिदैन । सभ्यताको विकास अन्यत्रभन्दा ढिलो भएता पनि यहाँ एक करोड पचास लाख वर्ष पहिलेदेखि नै मानिसहरू विचरण गर्थे भन्ने प्रमाण भने भेटिन्छ । बुटबलको तिनाउ नदी किनारामा भेटिएको रमा पिथाकसको माथिल्लो बायाँ बङ्गारा यसको प्रमाण हो ।
नेपाली सभ्यताको प्रमाणिक इतिहास करिब पाँच हजार वर्ष पुरानो छ । प्राप्त ऐतिहासिक स्रोत र प्रमाणका आधारमा नेपालमा मानिसहरू सयौँ वर्ष पहिलेदेखि नै बस्न थालेपनि सभ्यताको विकास नहुनुको कारण के थियो ? कतै खोज र अनुसन्धानको कमीले यहाँको आदि सभ्यताको प्रमाण नभेटिएको त हैन ?
इसापूर्व ५०००–४००० वर्ष पहिले नै अहिलेको इराकमा मेसोपोटामिया सभ्यताको विकास भएको थियो । सिन्धु घाँटी र मिश्रको सभ्यता पनि इसापूर्व ४०००–३००० वर्ष पहिले नै विकसित भएको मानिन्छ । त्यस्तै ग्रिसको प्राचीन सभ्यता इसापूर्व ३०००–२००० को बिचमा विकसित भएको थियो । रोमको सभ्यता पनि युनान(ग्रिस)को सभ्यताजत्तिकै पुरानो मानिन्छ । अफ्रिकाको उत्तरी भाग, युरोप र एशियाको पश्चिममा हजारौँ वर्ष पहिले नै मानव सभ्यताको विकास हुँदा हाम्रोमा किन भएन ?
जतिबेला युरोप र पश्चिम एशियामा मानव सभ्यता विकसित अवस्थामा पुगेको थियो त्यतिखेर नेपाल अन्धकारमा रहेको देखिन्छ । अरू ठाउँमा विकास हुँदा घाँस, फलफुल र पानी प्रचूरमात्रामा पाइने नेपालमा मानिसको बसोबास नहुनै प्रश्नै आउँदैन । मानिस नबसेका हुन् कि सभ्यताको विकास नभएको हो भन्नेबारे खासै अध्ययन भएको पनि पाइँदैन । हुनसक्छ त्यतिखेर यहाँका मानिसहरू जङ्गली र कविलाई अवस्थामा हुँदाहुन् ।
इतिहासको अध्ययन गर्दा नेपालमा खासगरी तीन महासभ्यताबाट आएका मानिसहरू बसेको पाइन्छ । एशियाको मध्य भागमा पर्ने भएकोले  र विकसित जातिको केन्द्र भएकोले पनि यहाँ विभिन्न जातिको आगमन भएको देखिन्छ । चिनमा विकसित भएको मंगोलियन सभ्यताबाट एउटा जाति पटकपटक हिमालय पर्वत नाघेर तथा वर्मा र पूर्वी भारतको बाटो हुँदै नेपाल भित्रिएको थियो । यो जातिका मानिसहरू नेपालमा आएर रैथाने बासिन्दा बनिसक्दा विभिन्न जाति र समुदायमा रूपान्तरण भएका थिए । राई, लिम्बु, गुरुङ, मगर र तामाङ यही सभ्यताबाट आएका जातिमध्येमा पर्छन् ।
त्यस्तै पश्चिम एशियाबाट ठूलो संख्यामा आर्य जातिका मानिसहरू नेपाल आएको पाइन्छ । आर्यहरू मध्यएशिया हुँदै भारत आइपुग्दा यहाँ द्रविड सभ्यता विकसित भैसकेको थियो । उनीहरू द्रविडभन्दा अविकसित र बर्बर थिए । यिनीहरूले मोहनजोदाडो र सिन्धुघाँटीमा विकसित सभ्यतालाई नष्ट गरेका थिए । भारतमा आइपुग्दा गंगाको समथर भूभागबाट द्रविडलाई दक्षिणतिर धकेली आर्य सभ्यता सुरु गरेका थिए । जसलाई आर्यवर्त भनिन्थ्यो । यो क्षेत्र कावुलदेखि सप्तसिन्धु र दक्षिणमा राभीनदी र गंगाको मैदानदेखि हिमालसम्म फैलिएको थियो । आर्यहरू भारत र नेपाल आइपुग्दा दुई समुदायको रूपमा दुई अलग संस्कृति र अलग पहिचान लिएर आएका थिए ।
पश्चिम एशियाबाट सिन्धुघाँटी हुँदै आएकामध्ये वैदिक आर्यहरू गंगाको मैदानतिर फैलिए भने ककेशिया, कश्मिर, तिब्बत र मानसरोबर हुँदै आएका खस आर्यहरू उत्तर भारत र पश्चिम नेपालमा फैलिए । पछि वैदिक आर्यले नेपालको तराई क्षेत्रमा विदेह/मिथिला सभ्यताको विकास गरे भने खस आर्यले पश्चिम नेपाल र कुमाऊँ गढबालमा खस सभ्यतााको विकास गरे ।
माथि उल्लेख गरिएका मंगोल र आर्यहरू नेपालमा आउनुपूर्व नै यहाँको तराई र भित्री मदेशमा आष्ट्रिक र द्रविड सभ्यताबाट आएका मानिसहरू बसोबास गरिसकेका थिए । हजारौँ वर्षदेखि यहीँ बसेपनि यिनीहरूको छुट्टै राज्य र सभ्यता थिएन । विकसित सभ्यता नभएपनि घनाजङ्गल, औलो र जङ्गली हिंस्रक जीवजन्तुको परवाह नगरी यिनीहरूले जीवनयापन गरिरहेका थिए ।
रामायणलाई आधार मान्ने हो भने त्यतिखेरको विकसित सभ्यता श्रीलंकामा थियो । अनार्य अथवा द्रविड समुदायको नेतृत्व गर्ने व्यक्तिमा रावण पर्थे । आर्यको आगमनपश्चात गंगाको मैदानबाट अनार्यहरू दक्षिणतिर खेदिए । खेदिनेसँगै नगएर यहीँ बस्नेहरू आर्यसँग घुलमिल भएर बसे । यसरी बस्ने यस जातिका मानिसहरूले अहिलेसम्म पनि आफ्नो पहिचान बचाएका छन् । नेपालको तराई, मधेश र भित्री मधेशमा बस्ने थारु, दनुवार, कुमाल, राजवंशी र ताजपुरियाहरू यही आष्ट्रिक/द्रबिड सभ्यता अन्तर्गतका मानिस हुन् ।
यसरी नेपाली सभ्यता एउटै जाति र समुदायबाट विकास नभएर विभिन्न जाति र समुदायको केन्द्रिकृत सभ्यता हो भन्दा फरक पर्दैन ।
नेपालम किरात, विदेह र लिच्छवि सभ्यतको विकास हुुनुभन्दा धेरै पहिलेदेखि मानिसले सामाजिक जीवन सुरु गरिसकेका थिए । प्रमाणको अभावमा विलुप्तजस्तै भएको त्यस सभ्यतालाई हामीले आदि सभ्यता भन्न सक्छौँ । कुनै पनि ठाउँमा सभ्यताको विकास हुनुपूर्व यस्तै आदि सभ्यता रहेको पाइन्छ । यस्तो सभ्यता विकसित मानव समाजको कोटीमा पर्दैन । अविकसित उत्पादन साधन र जङ्गली अवस्थाका कारण यस्तो सभ्यता स्थिर र विकसित हुँदैन । यो कविलाई खालको पनि हुनसक्छ त्यो भन्दा अविकसित पनि हुनसक्छ ।
नेपालको सन्दर्भको कुरा गर्दा आजभन्दा करिब तीनदेखि पाँचहजार वर्ष पहिलेको नेपाली समाज र सभ्यता यस्तै अविकसित, अव्यवस्थित र अस्थिर प्रकारको थियो । त्यतिखेर न कुनै खास समाजको विकास भएको थियो न राज्य । मानिसहरूको मुख्य पेशा पशुपालन थियो । कृषि सुरु भैसकेको भएता पनि नेपालमा कृषिलाई भन्दा पशुपालनलाई नै मुख्य पेशाको रूपमा ग्रहण गरिएको थियो । यसो गर्नुको मुख्य कारण पशुपालनका लागि घाँस र पानीको उपलब्धता नै हो । हामीसँग त्यतिखेर मानव समाज कस्तो थियो भन्ने प्रमाणिक इतिहास छैन । यही भएर किरात र विदेह सभ्यतापूर्वको नेपाली सभ्यतालाई आदि सभ्यता भन्न सकिन्छ ।
हुन त किरातभन्दा पहिले काठमाडौं उपत्यकामा गोपाल र आभीरहरूले राज्य गरेको भन्ने कुरा इतिहासमा पढ्न पाइन्छ । किरातले काठमाडौं उपत्यकामा राज्य कायम गर्नुभन्दा धेरै वर्ष पहिले नै यहाँ पशुपालक दुई जातिले आफ्नो राज्य स्थापना गरेका थिए । इतिहासकार राजाराम सुवेदी पनि यो कुरा स्वीकार गर्छन् । उनी लेख्छन्, ‘भारतीय गुप्तकालीन शासकहरूभन्दा कैयौँ शताब्दी अगाडि नेपालमा गोपाल वा पशुपालक युगका मानिसको बस्ती भएको थाहा हुन्छ ।’ (सुवेदी : २०६१ : ५३)
नेपालमा सभ्यताको विकास किरात सभ्यताको विकास हुनुभन्दा कैयौँ शताब्दी पहिले नै भएको थियो । बाह्रौँ किराती राजा जितेदास्तिका पालामा गौतम बुद्धका शिष्य आनन्द काठमाडौं आएका थिए । त्यस्तै एक्काइसौँ किराती राजा स्थुङ्गोको पालामा भारतीय मौर्य सम्राट अशोक नेपाल आएका थिए भनिन्छ ।  यसरी हेर्दा किरात सभ्यता पगनपुग ३००० वर्ष पुरानो मानिन्छ । यस कुरालाई इतिहासकार बाबुराम आचार्यको भनाइले पनि पुष्टि गर्छ । किरात कालका बारे बाबुराम आचार्यको धारणा यस्तो छ, ‘इस्वीसंवत्को उठान हुनुभन्दा ७/८ सय वर्ष पहिलेसम्ममा यस क्षेत्रमा किराँत सभ्यता तथा संस्कृतिको उत्थान तथा विकास पनि प्रारम्भ भसकेको सङ्केतहरू प्राप्त हुन आएका छन् ।’ (आचार्य : २०६३ : ५७)
गोपाल आभीरहरू को थिए र कहाँबाट आएका थिए भन्ने प्रमाण उपलब्ध छैन । गोपाल वंशावलीमा उल्लेख भएका राजाका नाम पढ्दा उनीहरू आर्य समुदायका हुन् भन्ने थाहा हुन्छ । तर सभ्यताको उषाकालमा अनकन्टार पहाड, नदी र गल्छी पार गरेर आर्यहरू काठमाडौं उपत्यकामा आएहोलान् भनेर कल्पना गर्न सकिदैन । बरु त्यतिखेर यहाँ चिनको ह्वाङ्ग हो र याङ्सी नदी आसपासमा विकसित भएको मंगोलियन सभ्यताबाट आएका मानिसहरूको बसोबास थियो । भित्री मधेश र नदी किनारामा आष्ट्रिक द्रविड सभ्यताका मानिस थिए ।
इतिहासको लेखन र अध्ययनका लागि वंशावलीलाई मात्र पनि आधार मान्न सकिदैन । गोपाल वंशावली जयस्थिति मल्लले लेखाएका थिए । उनी आर्य सनातनी लिच्छवी वंशका भएकोले पनि गोपाल र आभीर वंशलाई नेपालको आदि जातिको रूपमा लेख्न लगाएका हुनसक्छन् । इतिहासको अध्ययन गर्दा त्यतिखेरको लोकजीवन, ठाउँ, नदी र पहाडका नाम तथा मन्दिर, पाटीपौवा र मूर्तिजस्ता कुरालाई पनि आधार मान्नु पर्ने हुन्छ । वंशावलीमा उल्लेख गरेजस्तै गोपाल आभीर वंशका त्यतिधेरै पुस्ताले शासन गरेको काठमाडौं उपत्यकामा उनीहरूको कुनै पनि भौतिक प्रमाण भेटिदैन । बरु सबैतिर किरात र मंगोलियन संस्कृति र समाजसँग सम्बन्धित कुरा मात्र भेटिन्छन् ।
किरातहरू गोपाल आभीरपछि आएको भनिएता पनि प्राचीन कालमा नेपालमा मात्र हैन उत्तरी भारतसम्म पनि शिवलाई नायक मान्ने जातिको बर्चश्व थियो । द्रविडसँग लडाइँ भएजस्तै पटकपटक शिव र उनको सेनासँग पनि आर्यको युद्ध भएको पुराणहरूमा पढ्न पाइन्छ । सुरुमा शिवलाई आर्यले आफ्नो देवता स्वीकार गरेको पाइँदैन । दक्षप्रजापतिले त शिवलाई यति अनादर गर्छन् कि यो अनादर सहन गर्न नसकी स्वयम् उनकी छोरी सतीले आत्मदाह गर्छिन् । शिवका सेनाले त्यतिखेरका शक्तिवान दक्षप्रजापतिको यज्ञ ध्वंस पार्छन् । आर्यले पछिमात्र शिव पार्वतीलाई आफ्ना देवता स्वीकार गरेका हुन् । शिव पार्वती सुरुदेखि नै किरातका आराध्यदेव रहँदै आएको पाइएबाट पनि यो क्षेत्रमा प्रचीनकालदेखि नै किरातहरू बस्दै आएका थिए भन्ने बुझ्न सकिन्छ ।
गोपाल आभीरले कुनै राज्य वा सभ्यताको विकास गरेको भन्दा पनि ग्वालाको रूपमा यहाँ बसेका थिए । दक्षिणपश्चिमबाट चरनको खोजीमा आएका उनीहरू काठमाडौंजस्तो उर्वर विशाल उपत्यका पाएपछि यहीँ नै स्थायी रूपमा बस्न थालेको देखिन्छ । पछि यहाँका रैथाने मंगोल/किरातको बर्चश्व बढेपछि यिनीहरू पछि हट्न बाध्य भए । यो खोजीको विषय हो ।
गोपालराज वंशावलीका अनुसार गोपाल बंशका पहिला राजा भूमिगुप्त हुन् । गोपालराज र भाषा वंशावलीका आधारमा अध्ययन गर्दा यो सभ्यताको विकास वुद्धकालभन्दा पनि पुरानो देखिन्छ । अहिलेसम्मको नेपाली इतिहासमा प्राप्त स्रोतका आधारमा गोपाल आभीर काल आदिम पशुपालक अवस्थाको युग थियो । गोपाल वंशका पहिला राजा भूमिगुप्त हुन् ।
गोपालराज वंशावलीमा आभीर जातिले गोपाल वंशको राज्यधिकार छिनेको देखिन्छ । यसका लागि गोपाल आभीरका बिच युद्ध भएको र यस युद्धमा गोपालहरू पराजित भएपछि महिषपालक आभीरले गोपालको राज्य हरण गरेको भन्ने पाइन्छ । अन्तिम आभीर/महिषपाल राजा भुवनसिंहका पालामा किरातहरूले आक्रमण गरी किरात राज्यको सुरुवात गरे ।
वंशावलीमा गोपालवंशीय राजाले करिब पाँचसय वर्ष शासन गरेको र आभीर वंशले एकसय साथी वर्ष शासन गरेको पाइन्छ । यति धेरै वर्ष शासन गरे पनि यो सभ्यता खासै विकसित सभ्यता थिएन । श्रीमद्भागवत महापुराणमा पनि आभीरको उल्लेख पाइने हुनाले यो जाति सर्वप्राचीन जाति थियो भन्ने थाहा हुन्छ ।
गोपालवंशीय शासनकाल कविलाई समयको पशुपालनमा आधारित समाज थियो । यो सभ्यता कृषियुगको सुरुआतिचरणको भएकोले यसले किरात सभ्यतामा जस्तो समाजलाई व्यवस्थित र विकसित गर्न सकेन । यस सभ्यताको कलासाहित्य, संस्कृति र राजनीतिक तथा सामाजिक र धार्मिक अवस्था कस्तो थियो भन्ने केही कुरा पनि प्राप्त छैन ।
गुफा, कन्दरा, पहाड र प्रशस्त फलपूmल पाइने भएकोले नेपालमा बासस्थानका लागि वातावरण उपयुक्त थियो । सुरक्षाका दृष्टिले पनि उपयुक्त भएकोले डेढकरोड वर्ष पहिले नै यहाँ मानिसहरू विचरण गरेको पाइन्छ । तर त्यति धेरै वर्ष पहिलेदेखि मानिसको उपस्थिति रहेको भएता पनि यहाँको आदि सभ्यताको खोजी भएको छैन ।
कतिपयले किरात कालभन्दा पहिलेको समयलाई गोपाल आभीर सभ्यता अन्तर्गत राखेको पाइन्छ । तर गोपाल आभीर सभ्यता आउनुपूर्व नै यहाँ सभ्यताको विकास भएको हुनुपर्छ । माथि पनि भनिसकियो निर्जन र जङ्गलले घेरिएको ठाउँ हुन्थ्यो भने निश्चय पनि आर्यवंशीय गोपालहरू एक्कासी यहाँ आउन सक्ने थिएनन् । उनीहरू आउनुपूर्व नै यो ठाउँ मंगोलीयन जातिको कुनै कविलाई जातिले आवाद गरिसकेको हुनुपर्छ ।

सन्दर्भ सूचि
सुवेदी, राजाराम । नेपालको तथ्य इतिहास । काठमाडौं, साझा प्रकाशन, २०६१
आचार्य, बाबुराम । प्राचीन कालको नेपाल, श्रीकृष्ण आचार्य, २०६३ पृष्ठ ५७

भूपी शेरचनः शिक्षक, विद्यार्थी अनि सर्वहाराका कवि

प्रारम्भिकः
कवि हुनु बलियाहरूलाई ललकारेर निर्धालाई ढोग्नु हो भन्ने कवि भूपी शेरचनको जन्म टुकुचे, मुस्ताङमा १९९२ पुष १० गते भएको हो । सुब्बा हितमान शेरचन र आमा पद्माकुमारी शेरचनका सुपुत्रको वास्तविक नाम भूपेन्द्रमान शेरचन रहे पनि उहाँलाई नेपाली काव्यिक जगतमा भूपी शेरचनले नै प्रख्याति दिलाएको छ । त्यसो त लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमालपछि नेपाली गद्य कवितालाई सर्वाधिक लोकप्रिय बनाउने अर्का कवि भूपी शेरचन नै हुनुहुन्छ ।

बाल्यावस्थाः
पुषको औंशीमा जन्मिएको भनी जन्मेको ६ महिनापछि मात्रै बाबुले अनुहार हेर्नु भएका उहाँको पारिवारिक व्यापार मुस्ताङ, पोखरा, बुटवल, भैरहवासम्म फैलिएको थियो । पाँच वर्षको सानो उमेरमैँ आमाको निधन भएको पाँच/सात वर्षपछि उहाँको परिवार बनारस हानियो । उहाँले बनारसमा नै स्कुल र उच्च शिक्षा पनि पूरा गर्नुभयो ।

राजनीति र लेखनः
राजनीतिमा राम्रैसँग लाग्दालाग्दै उहाँले प्रकाशन गर्नुभएको पहिलो कविताका रूपमा ‘परिवर्तन (२०१४)’ लाई लिने गरिन्छ । सुरूमा आफ्नो वास्तविक नामबाट नै लेख्ने गरे पनि नेपालमा चलेको राणाविरोधि आन्दोलनबाट प्रेरित भई उहाँले ‘सर्वहारा’ उपनाममा लेख्न थाल्नु भयो । बनारसमा रहँदा नै उहाँले स्नातक अध्ययन गर्नुभयो । नेपाल आएर पनि उहाँ कम्युनिष्ट पार्टीको जिल्ला सचिव बन्नुभयो । २०१३ सालमा युवा सम्मेलनमा रूस पुगेपछि उहाँको लेखनमा शोषण, दमनविरूद्धका सिर्जना थपिन पुगे । जसका कारण २०१५ सालमा निर्झर प्रकाशन भएको हो ।

कविता पढेपछि निम्नवर्गीय र मध्यमवर्गीयले आफ्नो अनुभव पाउनुपर्छ भन्ने भाव बोकेका कविता रचना गर्ने भूपी कवितामा परालको आगोको ताप नभएर अग्राखको आगोको तापका रूपमा सरजाम बुन्ने प्रयत्न पाइन्छ । कविता लेख्नु र त्यो पनि आम मान्छेले आफ्नो दुख, दर्द पाउनु वा झल्याँस्स ब्युँझिएर क्रान्तिको चेत विकास हुनु नै उहाँको कविताको विशेषता हो भन्न सकिन्छ । झट्ट हेर्दा सिकारू कविका रूपमा दलगत नारा, चिन्ह, जिन्दावाद र मुर्दावादका स्वरहरूलाई कविताशैलीमा ढालिएको भएता पनि लेखन जीवन सुरू भएको केही समयमैं उहाँका कलमहरूले सशक्त रचना गर्न थाल्नुभयो ।

प्रकाशित कृति र रचनाहरूः
भूपी शेरचनले लेखनको प्रारम्भमा ‘परिवर्तन’ शीर्षकको १ नाटक रचना गर्नु भएको पाइन्छ भने उहाँका ४ कविता संग्रह रचना ‘नयाँ झ्याउरे’ (२०१०-बनारस), ‘निर्झर’ (२०१५), ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ (२०२५) र ‘भूपी शेरचनाका कविता’ (२०५७-शिव रेग्मीद्वारा सम्पादित) प्रकाशित छन् । कम्युनिष्ट पार्टीको कार्यकर्ताका रूपमा त्यसै सेरोफेरोको रचना गर्दागर्दै उहाँको तेस्रो सङ्ग्रह घुम्ने मेचमाथि अन्धो मान्छेले युवाहरूप्रति भूपी शेरचन स्थापित कविका रूपमा परिचय मिलेको पाइन्छ । त्यसो त २०२६ मा साझा प्रकाशनद्वारा प्रकाशित २०१९ सालमा लेख्नु भएको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कृतिका लागि पहिलो साझा पुरस्कार प्राप्त गर्नुभएको थियो । बिसको दशकमा चर्चामा रहेका उनै कविका ‘सहीदहरूको सम्झनामा’ कविताभित्रका यी पङ्तीहरू पछिल्ला आन्दोलनहरूमा पनि सर्वाधिक चर्चामा रहने गरेका छन्ः

‘हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए ।’……

कवितामार्फत् मान्छेहरूको बेथितिविरूद्ध व्यङ्ग्यवाण गर्दै उहाँले लेख्नुभयोः
साँघुरो गल्लीमा मेरो चोक छ ।
यहाँ के छैन ? सबथोक छ ।
असङ्ख्य रोग छ,
अनन्त भोक छ,
असीम शोक छ,
केवल हर्ष छैन,
यहाँ त्यसमाथि रोक छ ।…..

यो कवितामा उहाँले मानिसले बनाएका देउता र देउताले बनाएका मानिसबीचको तुलनात्मक अवस्था उल्लेख गर्नु भएको छ । दुवै निरास, उदास भएकै पनि आ-आफ्नै कारण छन् । जहाँ मानिसलाई रातरातभर उपियाँले र दिनदिनभर रुपियाँले टोक्ने गरेको अनि देवतालाई कसैले ढोग्ने र पूज्ने नगर्नाले दुवैले एकअर्कालाई धिक्कारीरहेका दृष्यहरू कवितामार्फत् छर्लङ्ग देखाइदिनु भएको छ ।

व्यक्तिगत आनिबानी र कमजोरीहरूः
जनमानसकै बोलीचालीको शब्द टपक्क टिपेर त्यसलाई सिङ्गार्न सिपालु भूपी शेरचन जसरी कवितामार्फत् सग्लो र अग्लो प्रतिभाका रूपमा चिनिनु भयो त्यसको ठिक विपरीत उहाँको जीवनलाई पनि अन्य धेरै सर्जकहरूमा आगो सल्किएझैं रक्सीले युद्ध जित्दै जित्दै गयो । समय समयमा युद्ध विराम गर्नुभन्दा पनि निरन्तर यसकै साथमा होमिइँदा उहाँलाई रक्सी र सत्तागानले उस्तैगरी छोएको उहाँका समकालीनहरू बताउँछन् । उहाँ आफूले समेत लामो समय रक्सी छोड्दा पनि मधुमेह र लामो समय बैठक, भेटघाट र लेखनमा लाग्नुपर्नाले चुरोटको अम्मलमा फसेको बताउनुहुन्थ्यो । आखिर चुरोटले नै उहाँलाई गम्भीररूपमा बिरामी बनाइछाड्यो । त्यसका साथसाथै तत्कालीन शाही नेपाल प्रज्ञा प्रतिष्ठान (हाल प्रज्ञा प्रतिष्ठान) मा प्रवेशका लागि (२०३६-४६) उहाँमा पलाएको लोभप्रति लेखक वृत्तमा छिटफूट कान फुक्ने काम अझै हुने गरेका छन् नै । तथापि क्रिकेट र गीतसङ्गितमा निकै चासो राख्ने उहाँले जीवनका प्रारम्भदेखि नै परिवार तथा थकालीहरूले धान्दै आएको परम्परागत व्यापारमा नलागेर साहित्य सिर्जनामैं व्यतित गर्नुभयो । यसै साल मात्रै नेपाली चलचित्र ‘चिसो एष्ट्रे’ उनै भूपीको घुम्ने मेचमाथिको अन्धो मान्छे कविता सङ्ग्रहभित्रको ‘चिसो एष्ट्रे’ बाट प्रभावित भएको भनिएको छ ।

मनमनमा भूपीः
‘यो नेपाली शीर उचाली संसारमा लम्किन्छ’ उहाँले लेख्नु भएको यो गीत अहिले पनि हरेक विद्यालयमा बज्ने गरेका छन् । विद्यालय तहमा उहाँको कविता, गीत, जीवनी अध्ययन गराइनुले पनि दूर भविष्यसम्म उहाँको योगदानको कदर रहिरहने अपेक्षा गर्न सकिन्छ ।  यसर्थ शिक्षक र विद्यार्थीहरूले नै उहाँलाई जुगजुग जन्माइरहनु हुनेछ । तब न भविष्यतक रहिरहने अपेक्षा गर्न सकिन्छ । त्यसो त ‘कोइली गाउँछ हिमाल हाँस्छ, नाच्दछ मयुर’ उहाँले नै लेख्नुभएको गीत हो । सानैदेखि आमाको माया नपाउनाले पनि त्यही संवेदनाले आफूलाई कवि बनाएको हुनसक्ने आँकलन गर्ने उहाँको एउटा गम्भीर कविता यहाँ उल्लेख गर्नु उपयुक्त हुन आउँछः
तीतरा, बट्टाई र भक्कूको राँगोका सन्तानहरुप्रति
०००
जर्मनका धावैमा होस्
वा बर्माको घेरामा
मलायाका रवरका वनमा होस्
या नेफा र लद्दाखका पराइ लडाइँमा
ती जो मरे
विना कुनै स्वार्थ
विना कुनै अर्थ
व्यर्थ
तीतरा, बट्टाई र भक्कूको राँगोजस्तै
अरुको हा…हा…….हामा लागेर
अरुको थपडी र नाराले जागेर
अरुले ख्वाएको जाँड र कटले मात्तिएर
‘आयो गोर्खाली’ भन्दै
(गोरु खालि बन्दै!)
युद्धमा हाम्फालेर
ती मरेका लोग्नेहरुको पेन्सनले
आफ्नो छोराको पास्नी गर्ने ए अभागिनी स्वास्नीहरु!
ती मरेका छोराहरुको आर्जनले आफ्नै चौरासी पूजा गर्ने
ए बूढा–बुढीहरु!
ती बितेका साथीहरुको जर्सी लगाएर
रोदीमा सोल्टी फकाउने ए तन्नेरी मान्छेहरु हो !
ती मरेका प्रेमीहरुको कोसेली चुरा लाएर
डोलीमा बस्ने ए ब्याहुली जेठी–कान्छीहरु हो !
खूपै सुहाएको छ तिम्रो छातीमा
यी तक्मा ‘परम वीरचक्र’ र ‘भिक्टोरिया क्रस’ को
तर के आउँदैन यसबाट कहिलेकाहीं
ओस्सिएको गन्ध तिम्रो आफन्तहरुको लाशको!
(पोखरा)

पुरस्कार र सम्मानः
२०२६ सालको पहिलो साझा पुरस्कार र २०४२ सालको गोरखा दक्षिणबाहु (दोस्रो) उहाँले प्राप्त गर्नुभएको पुरस्कार हो । २०५६ सालमा उहाँको तस्बिर अङ्कित हुलाक टिकट प्रकाशनमा आएको हो ।
यस्तै उहाँको स्मृतिमा ‘भूपी शेरचन काव्य पुरस्कार’ कवि भूपी शेरचनको स्मृतिमा उनका परिवारबाट स्थापित थकाली सेवा समिति पोखराद्वारा प्रदान गरिने पुरस्कार हो । जुन वर्षेनी एक साहित्य सर्जकलाई दिइने गरिन्छ । हालसम्म सरस्वती प्रतीक्षा, मोमिला, रत्नशमशेर थापा, तीर्थ श्रेष्ठ र उषा शेरचनले यो पुरस्कार प्राप्त गर्नु भएको छ ।

निश्कर्षः
हामी नयाँपन नखोज्ने, आफ्नै घेरामा रुमल्लिरहन चाहने रङ्‍गरोगन छुटेका क्यारमबोर्डका गोटी हौं, हामी बुद्धु हौं र त वीर हौं, हामी पानीका निर्बलिया थोपा हौं भनेर क्रान्तिकारितालाई आफ्ना रचनामा घुसाउँदै परिवर्तनका बिगुल फुक्ने भूपी मुस्ताङका टुकुचेमा जन्मिएर पोखरा बसाइ हुँदै जीवनको उत्तरार्द्धमा काठमाडौंको टुकुचामा रहँदा नै २०४६ जेठ १ गते संसारबाट विदा लिनुभयो । उहाँ आफ्ना सिर्जनाहरूका साथ हजारौं वर्ष बाँचिरहनुहुनेछ । भूपीले हामीलाई चिनो दिनु भएका कविता अनि गीतहरू पठनीय र मननीय छन् । त्यसकै वरपर हामी उहाँलाई पाइरहनेछौं ।
यी शब्दहरू उनै भूपीप्रति समर्पित छन् । (संप्रस पौडेल)

सन्दर्भ सूचीः
www.bhupisherchan.com का २ चरणका अन्तर्वार्ता
युट्युबः भगवती शेरचनको अन्तर्वार्ता
कविता कोष हिन्दी
लेखकका पुस्तक र विभिन्न आलेखहरू

चट्याङमास्टरलाई जेष्ठ नागरिक वर्ष पुरुष पुरस्कार ।

पुस १०, मङ्गलबार
मकवानपुर

बुढ्यौली साहित्य समाजका संस्थापक कृष्णमुरारि गौतम चट्याङ्‍मास्टरलाई सम्मानित गर्न लागिएको छ ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलको जेष्ठ नागरिक संरक्षण शाखाले सो सम्मान गर्न लागेको हो ।
मन्त्रिस्तरीय निर्णय अनुसार नेपाली हास्यव्यङ्ग्य साहित्यमा यथेष्ट योगदान दिनु भएका हाल बुढ्यौली साहित्य समाजमार्फत् समाज सेवा गरिरहनु भएका उहाँलाई २०८० को ‘जेष्ठ नागरिक बर्ष पुरुष’ को रूपमा सम्मानित गर्न लागिएको हो । जसको पुरस्कार राशि १ लाख रुपैयाँ रहेको छ ।
आगामी पुस ११ गते जेष्ठ नागरिक दिवसका अवसरमा सो पुरस्कार समर्पण गरिने मन्त्रालयका महिला विकास अधिकृत सन्ध्याकुमारी यादवद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।
ज्येष्ठ नागरिक आधारभूत शिक्षा कार्यक्रम सञ्चालन गरेबापत एजिङ नेपालमा उहाँको नेतृत्वको सो संस्थाले सन् २०२० मा युनेस्को अन्तर्राष्ट्रिय साक्षरता अवार्ड समेत प्राप्त गरेको थियो ।

पहिलो कथा ‘बुढो लाँकुरीको रुख’ ले १ लाख, ‘काँचुली’ दोस्रो र ‘चेपाङ, चमेरो र चिउरी’ तेस्रो

पौष ८, आइतबार
मकवानपुर ।
बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको कथा प्रतियोगिताको पाँचौं संस्करण ‘डिश होम १२खरी कथा लेखन प्रतियोगिता–२०८०’ विजेताको घोषणा र विजयीलाई पुरस्कार प्रदान गरेको छ ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पाँचौं संस्करणको कथा प्रतियोगिताको विजेता घोषणासँगै ‘उत्कृष्ट कथा–२०८०’ पनि लोकार्पण गरिएको हो ।
विभिन्न मुलुकबाट प्रेषित ८४३ कथाहरूमध्येबाट उत्कृष्ट ठहरिएका २५ कथाहरू सो सङ्ग्रहमा समावेश गरिएको छ ।
उक्त कथा सङ्ग्रहमा अनिता पन्थी, उमा शर्मा, जेएन दाहाल, डिल्लीरमण पौडेल, तैँ तैँ धिताल, त्रिभुवनचन्द्र वाग्ले, दिनमान गुर्मछान, दिव्य गिरी, दीपक लोहनी, महेश चौलागाईं, रबर्ट जोशी, रमा सुवेदी, रमेशजङ्‍ग थापा, राजेन्द्र अधिकारी, राजेश सुवेदी, विक्रम नेपाल, वसन्तबायुङ राई, शङ्‍कर धिताल, डा. श्रीधर खनाल, सञ्जय घिमिरे, सोमनाथ दाहाल र हिरा लामामध्येबाट मनोजबाबु पन्त, प्रमोद प्याकुरेल र विजय हितानका गरी २५ कथाहरूका साथै आख्यानकार भागीरथी श्रेष्ठ, भाउपन्थी, डा. राजेन्द्र विमल र गणेश रसिकका कथा समेत समावेश भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रथम, द्वितीय र तृतीय कथाकारहरू मनोजबाबु पन्त (बुढो लाकुरीको रूख), प्रमोद प्याकुरेल (काँचुली) र विजय हितान (चेपाङ, चमेरो र चिउरी) लाई क्रमशः रु. १ लाख, ६० हजार र ४० हजार नगद पुरस्कार, प्रमाणपत्र तथा ट्रफी प्रदान गर्नुभयो । साथै उत्कृष्ट कथाका लागि २५ जनाले ५/५ हजार पुरस्कार राशि प्राप्त गर्नु भएको छ ।
तेस्रो हुन सफल कथाकार पर्यासाहित्य अभियन्ता विजय हितानको युद्ध साहित्य कृति ‘लाहुरेको रेलिमाई’ का लागि अरनिको अन्तर्राष्ट्रिय पुरस्कार २०७९ बाट पुरस्कृत घोषित हुनु भएको छ ।
२०७६ सालमा पहिलोपटक प्रतियोगिता सुरू गरेको बाह्रखरि बुक्सको यस प्रतियोगितालाई विगतमाझैं डिसहोमले टाइटल स्पोन्सर गरेको हो भने अन्यमा नेपाल टेलिकम, एनआइएमबी, राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल आयल निगम लिमिटेडको सहयोग रहेको छ । जसमा प्रकाशन पार्टनरमा फाइनप्रिन्ट रही आएको छ ।