Home Blog Page 15

बालकथा: उपहार / ललिता‘दोषी’

ललिता‘दोषी

कवि / बाल साहित्यकार

चन्द्रकला ठूलो स्वरमा चिच्याइन्–“ए पुष्पा, पवित्रा छिट्टो यहाँ आओ ।”
दुवै आँगनमा खेलिरहेका थिए दौडिँदै कोठाभित्र आए । उनले आँखाबाट झरेको आँसु पुछ्दै भनिन् – “यो साडी कसले काट्यो हँ ? नानाथरीका साथीहरू घरमा ल्याउनु छ । म त साह्रै आजित भए तिमीहरूलाई देखेर ।”
पुष्पा, पवित्राले आपूmले साडीलाई केही नगरेको कुरा सुनाए । चन्द्रकलाले उनीहरूको कुरा पत्याइनन् । पवित्राले सानो स्वरमा भनिन्–“भाइले काट्यो होला नि उसलाई पनि एकपल्ट सोध्नुहोस् ।”
“त्यति सानो पाँच वर्षको भाइले कहीँ त्यत्रो ठूलो कैँची चलाउन सक्छ ? तिमीहरूले नकाटे तिमीहरूका साथीहरूले नै काटे होलान् ।”
कृष्णले कोठाभित्र पस्दै भने–“हरे भगवान् ! जहिले घर आउँदा पनि तिमीहरूको कचकच सुन्नुपर्छ । फेरि आज पनि किन छोरीहरूलाई गाली गरेकी ?”
चन्द्रकलाले साडी देखाउँदै भनिन्–“ल हेर्नुहोस् साडी अनि यिनीहरूलाई गाली नगरे कसलाई गाली गर्नु त ? नदेखिने ठाउँमा काटेको भए पनि हुन्थ्यो । देखिने ठाउँमा नै काटेको छ । यही एउटा राम्रो साडी थियो । भरे विवाहमा के लगाएर जानु अब ?”
कृष्णले पनि नमज्जा मान्दै भने –“हो त कसले काट्यो होला साडी ? प्रनभकै काम हुनुपर्छ यो ।”
चन्द्रकलाले रिसाउँदै भनिन् – “खाली त्यही प्रनभलाई देखेको छ । त्यति सानो हातले कसरी यत्रो कैँची कसरी समात्छ सोच्नुहोस् न ? यिनीहरूकै साथीहरूको काम हुनुपर्छ ?”
कृष्णले झ्यालबाट बाहिर हेर्दै भने–“ए प्रनभ ! माथि आऊ ।”
प्रनभ दौडँदै माथि आए । पुष्पा र पवित्रा घोसे मुन्टो लगाएर बसिरहेका थिए । कृष्णले मायालु स्वरमा भने–“हेर बाबु तिम्रो आमाको साडी मुसाले पो काटिदिएछ । पुष्पा पवित्रा ठूलो कैँची हामीले चलाएको छैन भन्छन् । कसले साडी काट्यो काट्यो ।”
चन्द्रकलाले प्रनभलार्ई म्वाइँ खाँदै भनिन्–“मेरो छोराले कहिल्यै यस्तो बिगार गर्दैनन् । यिनीहरूको साथीहरूको काम हो यो । अबदेखि उनीहरू यो घरमा आउन पाउदैनन् ।”
प्रनभले बाबुतिर हेर्दै भने–“हो भन्या ! यिनीहरू र यिनीहरूका साथीहरू त साह्रै बदमास छन् भन्या ! हातै हातमा नपिटेर त हो नि !”
कृष्णले हाँस्दै भने–“कहाँ पिट्नु र बाबु ? त्यति ठूलो कैँची चलाउन सक्नेलाई त स्याबास पो भन्नुपर्छ । चानचुने मान्छेले त्यत्रो कैँची चलाउन नै सक्दैनन् । तेत्रो कैँची चलाउँने त बहादुर नै हुन्छन् नि ! कैँची चलाउँनेलाई त आज उपहार नै दिनुपर्ने भयो ।”
प्रनभले हतारहतार कैँची समाउँदै भने–“यी ल हेर्नुहोस् मैले पनि कैँची समाउन सक्छु नि ! यो साडी पनि मैले नै काटेको हो । मलाई नै उपहार दिनुहोस् ।”
छोरीहरूलाई सधैँ गाली गरेकोमा पछुताउँदै चन्द्रकलाले आँखाबाट आँसु झारिन् । सबैले प्रनभलाई हेरिरहे । प्रनभ बाबुलाई हेर्दै भने–‘‘ल छिटो उपहार दिनुहोस् । म त बहादुर हुँ क्या !’’
कृष्णले पनि आँखाभरि आँसु पार्दै भने–“ल आजलाई सय रुपैयाँ उपहार दिन्छु अबदेखि कहिल्यै बिगार नगर है । हेर तिम्री आमाको यही एउटा राम्रो साडी थियो । तिमीले काटेपछि के लगाएर विवाहमा जाने तिमी नै भन त ?”
प्रनभले आमाको अनुहारमा हेरे । उनको आँखाबाट बरबर आँसु झरिरहेको थियो । उनले त्यही सय रुपैयाँ आमाको हातमा राख्दै भने–“आमा नरुनुहोस् यही पैसाले साडी किन्नुहोस् । अबदेखि म कहिल्यै नराम्रो काम गर्दिनँ । झूटो पनि बाल्दिनँ । पुष्पा, पवित्रा दिदीहरूलाई पनि पिट्दिनँ । सच्चीमुच्ची !”
प्रनभको कुराले र कान समातेको देखेर सबै मुसुक्क हाँसे ।

शिक्षा : (वास्तविकता नबुझी कुनै काम गर्दा पछुतो हुन सक्छ ।)

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

गजल र चारुमा धरती र आकाशको फरक छ

डा. देवी पन्थी

समालोचक

गजल र चारुमा प्राविधिक भिन्नता यस प्रकार रहेका छन् ।
मतलालाई = प्रारम्भ
मक्तालाई = शेष
चारुमा काफियालाई = आदि अनुप्रास,
रदिफलाई= शेष अनुप्रास
शेरलाई = थुङ्गा,
मिसरा एउलालाई = ऐना
मिसरा एसानीलाई = प्रतिबिम्ब
मिसरालाई = पंक्ति
बहरलाई = छ्न्द/ लय
सबै भन्दा राम्रो थुङ्गालाई गुलाफ गुच्छा भनिन्छ
प्रारम्भमा एउटा गजल र एउटा चारु हेरौं
यहाँ हजज मुसम्मन सालिम (वजन १२२२,१२२२,१२२२,१२२२)मा कहिएको एउटा गजल हेरौँ

गजल
प्रियालाई नभेट्दा मन त्यसै तड्पिन्छ किन होला
उनीलाई भेटेपछि मुटु मेरो तर्सिन्छ किन होला।

यिनै माया सँगै बस्दा धेरै हुन्छिन् केही दिन मै
उनी छोडी कतै टाढा गए एक्लिन्छ किन होला ।

यतै राम्री उतै राम्री डुलेका छन् सडक छोपी
यिनैलाई देखेपछि मन मेरो बहकिन्छ किन होला ।

कुमारीका खुला ती केश हावामा उडेका छन्
मेरो यो मन उनैका केशमा अल्झिन्छ किन होला ।

जता हेर्‍यो उतै उनको झझल्को आउने गर्छ
जेमा आँखा लगाउँछु त्यो त्यसै टाडिन्छ किन होला।
• देवी पन्थी 

त्यस्तै अब यहाँ एउटा चारु हरौं।

चारु ( झाउरे लय)
नारीले पीडा सहेर यत्रो संसार देखाए
आवारा कति पुरुष-लाई सज्जन बनाए

आमाको घर बाबाको बारी दाजु र भाइको
पराई घर बिरानो मान्छे बिस्तारै रिझाए

धेरैले भन्छन् नारीको घर हुँदैन भनेर
लौ भन नारी बिनाको घर कसले ठडाए

इश्वर पुग्न नसक्ने हुँदा हरेक घरमा
उनैले नारी बनाई घर-घरमा पठाए

नारीको उच्च सम्मान गर्ने योजना ल्याउँदा
लगाई झुठा आरोप ढ्याँग्रो कतिले ठटाए
• डा. देवी पन्थी

चारु मूलतः नारी मैत्री विधा हो भने बहर प्रयोग नगरी गजलको ढाँचामा सबै पंक्तिमा अक्षर बराबर गरी , शास्त्रीय या लोकछन्द प्रयोग गरि रचिएका रचनाले पनि चारुमा सम्मानगरी, संरक्षण प्राप्त गरेका छन् । चारुको अर्को महत्त्वपूर्ण उद्देश्य बाटो बिराएर अलमलमा परेको विधालाई राजमाएमा ल्याउनु हो। अर्थात् चारु गजल शुद्धीकरण अभियानको मूल मन्त्र हो।

गजल प्राविधिक विधा हो। १३८ वर्षको नेपाली गजलको इतिहासमा पछिल्लो समयमा आएर गजल बारे व्यापक विवाद चर्केको छ। आश्चर्यको कुरा के भने यो विवाद खासगरी बहर जान्ने र नजान्नेका बीच सीमित छ। गजलको अनिवार्य तत्व बहर नजान्ने समूहले गजलमा बहर चाहिन्न भन्ने र बहरको ज्ञान भएकाले गजलमा बहर विश्वव्यापी मान्यता हो भन्ने बहस चुलीमा पुगेर ओरालो लाग्दै गरेको बेला यो लेखिरहेको छु। नेपालमा गजलमा पीएचडी गरिसकेका र गरिरहेका थुप्रै विद्वान हुनुहुन्छ तर उहाँहरू मौन हुनुहुन्छ । मौन बस्नुको अर्थ अज्ञानता हो या शालीनता बुझ्न गाह्रो छ। विश्वव्यापी मान्यताले या गजलको सिद्धान्तले गजल बहर मै हुनुपर्ने मान्यता बोकेकाले गजल बहर मै लेखिनु या कहिनु पर्छ भन्दै चारु प्रतिष्ठान नेपालले “गजल शुद्धीकरण अभियान ” नै संचालन गर्दै आइरहेको छ।
गजलको विषयवस्तु प्रेमिल हुने हुँदा गजललाई सोझै प्रजातान्त्रिक , प्रगतिशील र प्रतिगामी भनेर विश्लेषण गर्न गाह्रो छ। यो व्यंग्य रसमा लेखिने या कहिने हुँदा नेपाली गजलमा प्रगतिशील चेतको खोजी बालुवामा सुनको खोजी गर्नु बराबर मान्नुपर्छ । गजल शब्द प्रेम या प्रणय भावले छोपिएको शब्द हो। गजल शब्दको अर्थ नारीसँग प्रेमका कुरा या प्रणय वार्ता हुन्छ। गजल फारसी शब्द हो। यो सातौं शताब्दीमा फारसमा जन्मेर इरान, इराक, पाकिस्तान हुँदै तेह्रौं शताब्दीमा भारत प्रवेश गरेको साहित्यको अति संकीर्ण एवम् नारीलाई पुरुषहरूको वासना र खेलौनाको साधन सम्झिने सामन्त या राजामहाराजाह्हरूको प्रिय विधा हो। मोतीराम भट्टले बिसं १९४२ अर्थात् आजभन्दा १३८वर्ष पहिले गजललाई भारतको बनारसबाट नेपाल ल्याउँदा बहरे गजल नारी केन्द्रीत अर्थात् नारी अमैत्री विधाको रूपमा नेपाल भित्रिएको पाइन्छ। भारतमा दुष्यन्तकुमारले (१९३३-१९७५) गजलको विषय नारीबाहेक समाजका अरू विषय पनि हुनसक्छन् भन्ने आवाज निकालेपछि अन्य विषय समावेश गर्ने चेत जागेको हो। नारी बाहेक अन्य विषय समाजका विकृति , विसंगति , बेथिति , भ्रष्टाचार , बलात्कार , देशभक्ति , पवित्र प्रेम आदि हुन सक्ने उनको संकेत थियो। दुर्भाग्यवश उनको सन् १९७५ मा देहान्त भयो। तसर्थ प्रगतिशील सोंचका साथ नारी बाहेकका विषयवस्तु भएका प्रणय नभएका गजल जस्ता देखिने रचनाको नाम के राख्ने भन्ने कुराको समाधान दुष्यन्तले चाहेर पनि दिन सकेनन् । गजल शब्दको अर्थका कारणले गर्दा नारी बाहेक विषयवस्तु राख्दा शीर्षक पनि परिवर्तन गर्नु पर्ने हुन्छ र प्रजातान्त्रिक या प्रगतिशील सामग्री समावेश गर्न सजिलो हुन्छ। यिनै तर्कलाई आधार बनाएर विषयवस्तु नारी भए गजल, पुरुष भए चारु, पवित्र प्रेम भए राग र व्यंग्य, विकृति , विसंगति भए विराग नाम दिएर गजलमा प्रगतिशील चेतमा डोर्‍याउने प्रयास गरिएको हो। यो सोंच र प्रयोग महिला मैत्री र समावेशी छ। यसले गजललाई यौनगन्धबाट पवित्र र यथार्थ दुनियाँमा विचरण गराएको छ। समाजका सबै पहलुलाई समावेश गरेको छ। नारीलाई पुरुष सरह सम्मान गरेको छ।

विसं १९४२ ताका मोतीराम भट्टले गजल नेपाल भित्राउँदा बहरे गजलको विषय नारी र प्रणय नै थियो। शम्भुप्रसाद ढुँगेल र गेहेन्द्रबहादुर जिगरले पनि बहरमा लेखे र गजलको विषयवस्तु नारी केन्द्रित प्रणय नै बनाएका थिए। भीमनिधी तिवारीले गजललाई बहरबाट हटाए र अश्लील पनि बनाए। यही अश्लीलताका कारणले गजल नेपालमा बदनाम भयो । गजल लेख्ने, पढ्ने र सुन्नेलाई समाजले राम्रो नजरले हेर्न छोड्यो । प्रगतिशील चेत शून्य प्रायः भयो। पुनर्जागरण कालमा ज्ञानुवाकर पौडेलले पनि भीमनिधी तिवारीको बाटो पकडे , जसले गर्दा नेपाली गजलमा प्रगतिशील विचार आउन विलम्ब भयो। विसं १९९८ देखि २०३५ सम्म सुषुप्त अवस्थामा रहेको गजल विसं २०३७ पछि मनु ब्राजकी, धर्मोगत शर्मा तूफान , ललीजन रावल , डा. घनश्याम न्यौपाने परिश्रमी, बुँद राना, टक गुरुङ, हुसेन खाँ, श्रेष्ठप्रिया पत्थर, देवी पन्थी आदिको कारणले निरन्तरता पायो । प्रजातान्त्रिक र प्रगतिशील गजल भन्दा चारुमा भगवान र भूतको उपस्थिति नकार्ने, सामन्ती विचारको खण्डन गर्ने, नारी पुरुषलाई समान मान्ने , अन्याय अत्याचार, विकृति , विसंगति , बेथिति , बलात्कार , भ्रष्टाचार , धनी र गरिब बिचको खाडल पुर्ने, नारीकाई पुरुष समान पूर्ण अधिकारको वकालत गर्ने, असमानता, अश्लीलता आदिको विरोध गर्ने प्रगतिशील काम चारुका शेर ( थुङ्गा )मार्फत कहिए । अहिले पछिलो समयमा नयाँ पुस्ताका थुप्रै प्रगतिशील चारुकार जन्मीरहेका र हुर्कीरहेका छन् ।

पश्चिममा नारीहरु स्वतन्त्र भएको सन १९५० पछि मात्र हो। हाम्रो हिन्दु संस्कृतिमा नारीहरु वैदिक काल(१५०० इपू देखि ६०० इपू सम्म) मा पूर्ण शिक्षित र सभ्य भैसकेका थिए। वेदका कैयौं ऋचा नारीले सृजना गरेका हुन् भन्ने इतिहास छ।

नेपाली समाज हिन्दू धर्म वा आर्य संस्कृतिमा आधारित समाज हो। यो समाजमा परिवारको मूली धेरैजसो पुरुषहरू मात्रै हुने गर्दछन्। हिन्दू धर्मको प्रमुख आधिकारिक ग्रन्थ वेदमा महिलाहरूलाई भेदभाव हुने किसिमको कुनै कुरा उल्लेख गरिएको पाइँदैन। वैदिक कालमा महिलाहरूलाई पनि पुरुषसरह समान अधिकार प्राप्त थियो। उतिबेलाको समाजमा वेदविज्ञ महिलाहरूलाई ब्रह्मवादिनी भनिन्थ्यो। गार्गी, मैत्रेयी, अश्वपाला आदी वैदिक कालकी प्रसिद्घ ब्रह्मवादिनीहरू थिए । वेदमा उल्लेख गरिए अनुसार ‘यत्र नार्य सु–पुज्यन्ते, रमन्ते तत्र देवता’ अर्थात् जहाँ नारीहरूको पूजा हुन्छ, त्यहाँ देवताहरू पनि रमाउँछन् भनेर शास्त्रहरूले पनि नारीको महिमा गाएका छन् तर मध्ययुगमा सामन्ती प्रथाको उद्भव भएसँगै जसरी छुवाछुत प्रथाको सुरुवात भयो, त्यसैगरी नारीप्रति पनि विभेद गरिन थालियो। धर्मशास्त्रको गलत व्याख्या गरी महिलाहरू प्रति भेदभाव गरिएको यसै मध्ययुगदेखि चलिआएको पाइन्छ। सामन्ती सोंचका कारण समान अधिकार सहितको प्रगतिशील विचारले गजलमा हुर्कने र मौलाउने मौका पाउन सकेको थिएन । अहिले नेपालबाट सामन्तवाद हटे पनि सामन्ती विचार र सोंचको अवशेष बाँकी नै छ। यही सोंचमा हुर्केकाले गजलको परिवर्तित स्वरूप चारुलाई नकारीरहेका छन् ।

मुस्लिम संस्कृतिमा भर्खर नारी स्वतन्त्रताको प्रारम्भ भएको छ। गजल , मुस्लिम संस्कृतिको जगमा उभिएको झण्डै १५०० वर्ष पुरानो काव्य विधा हो। त्यतिबेला मुस्लिम संस्कृतिमा नारी स्वतन्त्रता र प्रगतिशील विचारको कल्पना समेत गरिएको थिएन। त्यसैले गजलमा नारीलाई बन्धनमा पार्ने शेर( श्लोक / थुङ्गा ) रचेर पुरुष जाति शेर (tiger) भएका थिए । समाजका एउटा सिक्काका दुइटा पाटा नारी और पुरुष मध्ये नारीलाई होच्याएर रचिएको गजल प्रगतिशील हुनै सक्दैन। अब पुरुषले नारीलाई होच्चाएर शेर बन्ने जमाना गए। गजल(नारीसंँग पुरुषले गर्ने प्रणयका कुरा) संँगसंँगै गजलको विकल्पमा चारु(पुरुषसंँग नारीद्वारा प्रणयका कुरा)विद्रोहका स्वर ओकल्दै काव्य बजारमा आफ्नो दह्रो उपस्थिति जनाइसकेको छ। गजल स्त्रीलिङ्गी शब्द हो भने चारु पुलिङ्ग र आवश्यक परेको ठाउँमा उभयलिङ्गी शब्द हो ।त्यसैले कतै कतै पुरुषले आफूलाई नारी र नारीले आफूलाई पुरुष परिकल्पना गरेर पुरुषले चारु(उभयलिङ्गी शब्द) र नारीले गजल(स्त्रीलिङ्गी शब्द) पनि लेखीरहनु भएको छ।नारीवादी पुरुष र पुरुषवादी नारी भएको वर्तमान युगमा यस्तो व्यबहार नसुहाउँदो मानिन्न । एउटा गजल, एउटा चारु र एउटा रागविरागको उदाहरण हेरौं। गजलमा बहर अनिवार्य छ भने चारु, राग, विरागमा शास्त्रीय फारसी बहर अनिवार्य मानिएको छैन।

बहर- हजज मुसद्दस महजुफ अश्तर मकबुज
अर्कान- 212.1212.1212

गजल
प्रेम गर्न किन लजाउँछिन् उनी
मोज गर्न झन् डराउँछिन् उनी !

आजभोलि नोटको कमाल छ
चाहेजति यसै कमाउँछिन् उनी ।

यारको कथा व्यथा सुनाउँदा
मन छुने गरी सुनाउँछिन् उनी ।

जिद्दी छिन् उनी कदापि हार्दिनन्
हार हुन्छ तब रिसाउँछिन् उनी।

मनपरे नजिक भई खुसी हुँदै
रातभर सधैँ जगाउँछिन् उनी ।
• देवी पन्थी

नेपाली साहित्यकार विश्व सञ्जालबाट 

चारु/ रागविराग
प्रकृतिले बनाएको, अनौठ, रित छ
संघर्ष गरे, हारपछि मिठो, जित छ।

धमिलो पानीमा , जो माछा मार्न , चाहन्छ्न्
ती मान्छे, सङ्लो पानीमा डुब्ने, निश्चित छ।

शहरमा बाठोले, ठग्छ,”धोती हुँ” भन्दै
गाउँको मान्छे, तिनैबाट, उपेक्षित छ।

हिजो, एउटै धागोमा, उनिएको मान्छे
आज, धर्म अनि भूगोलमा, खण्डित छ।

उता, मृग भयमा हुन्छ, शिकारी देखी
यता, पिता आफ्नै छोराबाट, त्रसित छ।
• देवी पन्थी

नेपाली साहित्यकार विश्व सञ्जाल 

गजलका दिग्गजहरु भन्नुहुन्छ -“गजलको शीर्षक हुँदैन।” तर गजल शब्द आफैं शीर्षक हो। “गजल” शीर्षक लेखेर तल मतला, शेर(थुङ्गा), मक्ता लेख्ने अनि शीर्षक हुँदैन भन्ने। यस सम्बन्धमा पहिला अन्यौल थियो तर अहिले स्पष्ट भैसकेको छ । खासमा विषयवस्तु नारी भए शीर्षक गजल, विषयवस्तु पुरुष भए शीर्षक चारु, विषयवस्तु चोखो या पवित्र माया, स्नेह , देशभक्ति, भगवान देवी देउताप्रति भक्तिभाव भए शीर्षक राग, विकृति, विसंगति, बेथिति, असन्तुष्टि आदि विषयवस्तु भए शीर्षक विराग हुन्छ। शीर्षक “नेपाल” लेखेर तल वर्णन भारतको गर्न मिल्दैन । ” ग+ ज + अल” यी तीन अक्षरको अर्थ नारीका विषयमा प्रणयका कुरा हुन्छ ।शीर्षक जे हुन्छ रचनाको विषय पनि त्यही हुन्छ। तसर्थ “गजल”, “चारु”, “राग”, विराग आफै शीर्षक हुन् । गजलको तुलनामा विकल्पमा प्रयोग गरिएका चारु, राग, विरागमा प्रगतिशील विचारको चेत प्रतिशत निकै बढी छ। सजिलोका लागि चारु, राग, विरागको एउटै शीर्षक चारु राख्न सकिन्छ। चारु, राग , विराग क्र हो? छुट्टाउने जिम्मा समालोचकको हो।

जतिबेला नारीलाई तेस्रो-चौथो दर्जाको नागरिक मानिन्थ्यो , उनीहरूलाई पढ्ने , लेख्ने, बोल्ने, विचार व्यक्त गर्ने , आफूलाई मनपरेको प्रेमीसंँग बोल्ने, हाँस्ने जस्ता अधिकार थिएनन् त्यतिबेला गजलको उत्पत्ति ( आजभन्दा १५०० वर्ष पहिले त्यो पनि मुस्लिम देशमा) भयो। मुस्लिम देशमा आज पनि नारीलाई पुरुष सरह पूर्ण स्वतन्त्रता छैन। कल्पना गरौं त्यतिबेला मुश्लिम नारीको स्थिति कस्तो थियो होला । त्यतिबेला नारीको एकमात्र काम आफ्नो बैँस, सुन्दरता, रुप-रङ्गले पुरुषलाई सन्तुष्ट पार्नेमा सीमित थियो। राजा महाराज र सामन्तहरुले आफ्नो दरबार या महलमा भाट कविलाई पालेर राख्थे । ती कविको काम युद्ध हारेको, थाकेको, निरास भएको मात्तिएको या मैमत्ता राजा या सामन्तलाइ अक्षर या शव्दमा नारीलाइ नङ्गाएर खुशी पार्नु हुने गर्दथ्यो। भाट कविले प्रस्तुत गर्ने यस्तो रचनालाई गजल भनिन्थ्यो । यो परम्परा सातौ शताब्दीदेखि उन्नाइसौं शताब्दीको अन्तसम्म चल्यो। यो घडीमा रचिएका गजलमा प्रगतिशील चेत शून्य प्रायः रह्यो ।

अहिले एक्काइसौं शताव्दीमा नारी सचेत मात्र होइन पुरुष बराबर हैसियत राख्दछ्न्। आफूलाइ मन पर्ने/नपर्ने पुरुष बारे बोल्न या निर्णय लिन सक्षम छन् । त्यसैले पुरुषलाई गजल जस्तै नारीलाइ पनि एउटा विधाको आवस्यकता थियो जसको माध्यमबाट आफूलाई मनपरेको या मन नपरेको प्रेमी बारे अभिव्यक्ति दिन सकुन् । पुरुषको बहादुरी , सुन्दरता र राम्रा नराम्रा क्रियाकलापको वर्णन गर्न सकून् । यसैका निम्ति चारु शव्द क्वाइन गरिएको हो। गजलको विकल्पमा चारु नारी मैत्री विधा हो।

सातौं शताब्दीमा अरब देशमा जन्मेको गजल सात सय वर्ष पछि अर्थात् तेह्रौं शताब्दीमा हिन्दी गजलको रुपमा भारत प्रवेश गर्यो र त्यसको फेरि झण्डै सातसय वर्षपछि मात्र गजल मोतीराम भट्ट मार्फत नेपाल प्रवेश गर्यो । मोतीराम भट्टले भारतको बनारसबाट विसं १९४२ तिर बहर र सृंगार रसमा गजल नेपाल भित्र्याएको इतिहास छ। मोतीराम भट्टपछि शम्भुप्रसाद ढुँगेल, गेहेन्द्रबहादुर जिगर, भीमनिधि तिवारी आदिको विशेष योगदान छ।यी सबैले नारी र शृङार रसको अधिकतम् प्रयोग गरेकाछन।यिनीहरूलेको रचना काल बि सं १९४२ देखि १९७६ भएको पाइन्छ। यी सबैका गजल बहरमा कहिएका छन् । त्यसपछि भीमनिधी तिवारीले नेपाली गजलबाट प्रगतिशील विचार र बहर हटाए अनि अश्लीलता भित्त्र्याए। त्यसको दुर्दशा नेपाली गजलले अहिलेसम्म भोगिरहेको छ।

लगभग पन्ध्रसय वर्ष अघिदेखि लेखिदै आएको गजलको स्वरुप र विषयवस्तुलाइ समय सापेक्ष प्रगतिशील , परिवर्तनशील धारमा विश्लेषण र वर्गीकरण गर्ने प्रयास बेलाबेला भएतापनि यसले पूर्णता पाउन सकेको थिएन। गालिब स्वंले मनका भावना व्यक्त गर्न गजलको विषयवस्तु(नारी) साँगुरो छ र यसको परिवर्तन आवश्यक छ भनेका छन्। ओम नीरबले उर्दू व्याकरणको गजललाइ हिन्दी व्याकरणमा ढालेर “गीतिका” को प्रयोग गरेका छन् । माथि भने जस्तै आधुनिक हिन्दी गजलका प्रणेता दुष्यन्तकुमार( सन१९३३) ले गजलमा विषयवस्तु नारी बाहेक समाजका अन्य समस्यालाई पनि विषयवस्तु बनाउनु पर्छ भनेर गजलको वर्गीकरण गर्ने छनक दिएका थिए तर यस्तो प्रगतिशील विचार जन्मीरहेकै बेला सन् १९७५ मा उनको मृत्यु भयो र यो काम उनले पूरा गर्न सकेनन् । उनको मृत्युपछि गंगा नदीमा थुप्रै पानी बगी सक्दा समेत यो कुरामा कसैले ध्यान दिएनन् । नेपालमा घनश्याम परिश्रमीलाई दुष्यन्तकुमारसँग दाँजिन्छ तर परिश्रमीले पनि गजलको विकल्पमा कुनै नाम दिन सकेनन् । यो समस्याको समाधान अन्तत देवी पन्थीले खोजेर बहसमा ल्याएका छन् । गजलको परिवर्तित स्वरूपमा प्रगतिशील चेत मनग्ये पाइन्छ। गजलको विकल्पमा चारुका लागि भारतले देवी पन्थीलाई “दुष्यन्तकुमार चारु सम्मान” , गोरखपुरी सम्मान र चारु सम्राट सम्मान प्रदान गरेको छ।
एकातरफ ग़ज़ल यति मधुर छ कि यसले जो कोहीको मनको सम्वेदनशील तारलाई अझ बढी संबेदनशील बनाइ दिन्छ। फेरि त्यही ग़ज़ल मान्छेमा यस्तो भावना उत्पन्न गर्छ कि जनाब कलीमुद्दीन अहमद साहब गजललाइ ‘नंगे-शायरी’ यानी “बेहूदी शायरी” सम्म भनेका छ्न् । कारण थियो प्रगतिशील विचारको अभाव । शमीम अहमद शमीमले गजललाइ “मनहूस शैली की शायरी” भनेक छन् । त्यस्तै जनाब अज़्मतुल्लाख़ान साहबले बिना हिचकिचाहट गजललाई ‘ग़ज़ल क़ाबिले गर्दन ज़दनी हैं’, यानी “गजललाई जरैदेखि उखालेर फ्याँकने लायक छ” भनेका छन् । ‘ग़ालिब’ ले त प्रष्टै भनेकाछन-

बक़द्रे शौक़ नहीं ज़र्फे तंगना-ए-ग़ज़ल।
कुछ और चाहिये वसुअत मेरे बयां के लिये। ।

(‘मेरो मनको उत्कट भावनालाई खुलेर व्यक्त गर्न ग़ज़लको विषय निकै संकीर्ण छ । मलाई मनका भावना उजागर गर्नका लागि अन्य कुनै विस्तृत माध्यमको आवश्यकता छ ) ।”
गालिबले महसुस गरेको अन्य कुनै माध्यम भनेकै चारु,राग,विराग हुन् । चारुमा नारी आवाजलाई पुरुष समान अधिकार प्रदान गरेर प्रगतिशील भावनाको कदर र त्यसको पक्षमा वकालत गरेको छ।

उर्दूका सुप्रसिद्ध साहित्यिक एवं आलोचक रशीद अहमद सिद्दीक़ीले ग़ज़ललाई ‘आबरू-ए-शायरी’ निकै सम्मानका साथ भनेका छन् । शायद यस्तै कुराले ग़ज़ल आजसम्म टिकी रह्यो र सामान्यत: सबै वर्गमा काफी हदसम्म लोकप्रिय बन्यो।
यिनै कुरालाई मनन गरेर गजललाई विषयवस्तुका आधारमा गजल समदृश्य संरचनामा प्रगतिशील विचार संचार गर्ने उद्देश्यले चारु, राग, विराग नामका विधा प्रारम्भ गरिएको हो। दुष्यन्तकुमार अरु केही वर्ष जिवित रहेका भए सायद यो नामाकरणको कार्य उनैबाट सप्पन्न हुन्थ्यो होला। गजल समदृश्य विधाका नाम यसबप्रकार छन् –

गजल ( बहर )
चारु राग विराग रागविराग ( बेबहर)

१३८ वर्ष अघि अर्थात् बि सं १९४२ देखि मोतीराम भट्टबाट शुरु भएर अहिलेसम्म लेखिदै आएको गजललाई गजल, चारु, राग, विराग गरी चार कोणबाट हेरिएको छ। यी विधाको घोषणापछि विश्वभरी छरिएर रहेका नेपाली र हिन्दी “गजलकार” ले पक्ष र विपक्षमा आफ्नो विचार/मत दिइरहेकाछन् , यो खुशीको कुरा हो। गजल प्रारम्भदेखि बहरमा लेखिन्छ । बहर बिना गजलको कल्पना गर्नु व्यर्थ छ। कसैले मनोरञ्जनका निम्ति बेबहर गजल लेख्नु या सुनाउनु उसको व्यक्तिगत कुरा हो। बहरयुक्त गजलको विषयवस्तु नारीप्रेम या प्रणयपूर्ण भाव पोखिएको हुनुपर्छ र गजल खासगरी पुरुषवादी दृष्टिकोणबाट नारीमुखी प्रणयभाव प्रकट हुनेगरी लेखिनुपर्दछ । प्रगतिशील विचारलाई ठाउँ दिनु पर्दछ। चारुमा पुरुषमुखी प्रणयभाव, आशक्ति,झुकाव, हुनुपर्छ र यो खासगरी नारीवादी दृष्टिकोण या कलमबाट लेखिनुपर्छ। रागमा स्नेह , चोखो माया, देशभक्ति प्रकृति या तथाकथित भगवान प्रति आस्था या झुकाव सन्देश हुनुपर्छ । विरागमा विकृति , विसंगति , बेथिति , असन्तुष्टि , युद्ध, भ्रष्टाचार , बलात्कार आदि विषय हुनुपर्छ भन्ने यस नयाँ सिद्धान्तको मान्यता रहेको छ।

गजलको विकल्पमा प्रगतिशील राग र विरागका विषय सबैका साझा विषय हुन् । गजलममा बहर अनिवार्य छ। चारु, राग र विरागमा बहर अनिवार्य नभएर ऐच्छिक छ तर छन्द, लय, मात्रा, भाका, अक्षरको एकरुपता मध्ये कुनै एक नियममा अनिवार्य बाँधिएको चाहिँ हुनैपर्छ भन्ने मान्यता राखिएको छ। गजल, चारु, राग, विराग सबैको लेख्ने या रचना गर्ने फर्म्याट एउटै हो अर्थात् यी सबैमा काफिया(आदिअनुप्रास), रदीफ( अन्त्यानुप्रास), शेर( थुङ्गा) आदिको भलिभाँती प्रयोग हुन्छ।

नेपालीमा गजल भनेर लेख्ने ( चारुको आविष्कार नहुँदै) श्रेष्ठप्रिया पत्थर , डा. घनश्याम परिश्रमी(गजलका प्रथम विद्यावारिधि कर्ता नेपाली नागरिक) , पोष्टराज चापागाईं, आवाज शर्मा, टक गुरुङ , घायलश्री म्याग्दी आदिका प्रगतिशील ( ११० बढीका ) प्रगतिशील कमेन्टलाई मैले सकारात्मक रूपमा लिएको छु । अधिकांशले उपरोक्त परिवर्तन स्वीकार्नुका साथै यस अघि गजल शीर्षकमा लेखिएका, छापिएका र प्रकाशनमा आएका रचना या संग्रह खेर जाने या अवैध हुने आशंका व्यक्त गरेकाछ्न् । तर प्रगतिशील रचना कुनैपनि खेर नजाने तर विषयवस्तुका आधारमा छुट्टाउनु पर्ने या शीर्षक परिवर्तन मात्र गर्नु पर्ने हुन्छ। शीर्षक “गजल” भए रचनाको विषयवस्तु नारी, शीर्षक “चारु” भए विषयवस्तु पुरुष, शीर्षक “राग” भए विषयवस्तु स्नेहपूर्ण या पवित्र प्रेम हुनुपर्ने, शीर्षक “विराग” भए विषयवस्तु विकृति, विसंगति, बेथिति, असन्तुष्टि , भ्रष्टाचार , बलात्कार आदि हुनुपर्ने र प्रत्येकको शेर(थुङ्गा) का विषयवस्तु मिश्रित भए शीर्षक “राग-विराग” हुनु पर्ने माग गजलको परिवर्तित स्वरुपको रहेको छ। गजलको तुलनामा चारु शतप्रतिशत नारीमैत्री छ। नेपाल प्रज्ञाप्रतिष्ठानको २०७६ को राष्ट्रिय गजल महोत्सवले ” अब उप्रान्त गजल बहरमा लेख्ने र अहिलेसम्म लेखिएका बेबहर गजललाई सम्मान र संरक्षण गर्ने” भन्नूको अर्थ थियो बेबहर गजललाई विषयवस्तुका आधारमा चारु, राग, विरागमा व्यवस्थित गर्दै लैजाने र गजल या चारुलाई समय सापेक्ष प्रगतिशील धारमा बगाउने।

निष्कर्ष
शास्त्रीय गजल शब्दको अर्थ र परिभाषा अनुसार बहरमा कहिएका या रचिएका रचना गजल हुन भने बेबहर,शास्त्रीय छन्द, स्वनिर्मित छन्द , झ्याउरे लय, स्वनिर्मित लय या हरेक पंक्तिमा अक्षर बराबर गरेर लेखिएका रचना चारु (राग, विराग , रागविराग) हुन् । गजलको तुलनामा चारु निकै प्रगतिशील र व्यवहारिक छ। अस्तु!!।

सन्दर्भ ग्रन्थ

१. – डा. घनश्याम परिश्रमी – तीस दिनमा गजल
२. दुष्यन्त कुमार – साये में धूप
३.देवी पन्थी – नेपाली गजलको परिवर्तित स्वरूप (२०७५)
४. मुजवर सरदार – हिन्दी गजल के विविध आयाम
५. लक्ष्मण यादव “लक्ष्मण ” गजल कि संरचना

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

नियात्रा: सिमसिम पानी र घामको जवानी /-डा.दामोदर पुडासैनी किशोर

डा.दामोदर पुडासैनी किशोर

कवि / नियात्राकार

झरेर पनि पुगिन्छ, गन्तव्यको उचाइमा ।
हामी जोमसोमबाट झरिरहेछौँ । माउन्टेन ब्रिज होटलमा बिहान उठ्दा थकाइले राम्रैसँग   चिमोटिरहेथ्यो  । उठेर हिँडाइमा परेपछि बिस्तारै बिरानिन थाल्यो थकाइ ।
नीलगिरि हामीभन्दा अघि नै उठिसकेकी थिइन् । मैले उठेर उनको सर्वाङ्ग हेरेँ । उनको अनुहारमा चलिरहेको तरङ्ग हेरेँ । उनको नशा नशामा चलिरहेको उमङ्ग हेरेँ । हिमाग्नीले झन् झन् रापिलो बन्दैछ उनको अनुहार । प्रेमस्पर्शले झन् झन् पग्लिदैछु म । एक थुम्को हिमाल मात्र होइन हिमाल, प्रेमका अजस्र धारा छन् उसका कण कणमा । एक मुटु रहर मात्र होइन प्रेम, आकर्षण र समर्पणका अमूल्य लहरहरू छन्, त्यसका केस्रा केस्रामा ।
नीलगिरि हेरेपछि झन् झन् तृषित् भएँ म ।
मलाई भेटेपछि झन् झन् लोभिइन् उनी ।
हामी दुवै बनेर हिँड्यौ जोमसोमको पूर्व पश्चिम उपत्यकामा । बजारलाई किनार लगाएर ओरालो झरिरहिछिन् कालीगण्डकी । लोमन्थाङदेखि खेल्दै, छल्दै जोमसोममा फेरि भेट भएको छ कालीगण्डकीसँग । कालीगण्डकीका प्रत्येक बगाईसँगै अनेकौँ जलखेल भेटेँ मैले । शीतल, नरम र सफामा शक्ति हुँदो रहेछ असङ्ख्य । नरममा नै हुँदो रहेछ प्रबल गति । त्यो पुष्टि गरिरहेछ कालीगण्डकीले । भिरबाट खस्दा कल्लोल आवाजमा गाइरहेको भेटें । समथरमा शान्त, शालीन र सभ्य गतिमा भेटें । त्यो जलखेलमा बेग्लै आकृति र अनुमानहरू छन् । फैलिरहेको गतिशील नदी देखेपछि जीवनका सारा उकाली ओरालीहरू सरल, सफा र लाग्न थाल्छन् सहज । नदीको स्पर्श नपाए कहाँ फैलिन्थ्यो होला र लोमन्थाङ, कहाँ रङ्गिलो बन्थ्यो र चराङ, कहाँ उठिरहन्थ्यो र ढाङ्मर, कहाँ गाइरहन्थ्यो र स्याङ्मोचेनले, कहाँ फैलिरहन पाउँथे होलान् र चैलेमा जीवन जगाउने मन्त्रका लुङ्दरहरू, कहाँ जगाइरहन्थ्यो होला कागबेनीले जीवनका मोहक धूनहरूलाई । कालीगण्डकीले एउटा सभ्यता जगाइरहेछ तिब्बतको छेउदेखि भारतको किनारसम्म नै । मेची र कोशी किनारहरूमा जागिरहेको जीवन, नारायणी गण्डकी र वागमतीमा हल्किरहेको मानवहित, राप्ती खोला, सेती, महाकाली र असङ्ख्य नदीहरूले जगाइरहेको मानव सभ्यता कता कता जुर्मुराएर आउँछन् मनका तरङ्गहरूमा । वाणगङ्गाको किनारबाट उठेको कपिलवस्तु सभ्यता, सेती नदीको आडमा उठेको पोखरेली सभ्यता, तिलाले उचालेको जुम्ली सभ्यता, भेरीले जगाएको सुर्खेती, राकम र छिञ्चु सभ्यता सबै पानीको देन रहेछ, सबै जलगतिको गरिमा रहेछ । नाइल सभ्यता, मेकङ सभ्यता, ह्वाङ हो सभ्यता, भोल्गा सभ्यता, स्प्री सभ्यता, राइन सभ्यता, ब्रह्मपुत्र सभ्यता पनि बस्तीको सिउँदो बनेर बग्ने नदीकै हात रहेछ । जलप्रवाह नभए कहाँ सुरम्य बन्थ्यो र जीवन । म कालीगण्डकीवरिपरि हलचल गरिरहेको जीवनदर्शन हेरेर थाक्दिनँ । नदीहरू छन् र पो निरन्तरता हेर्न पाइन्छ प्रकृतिको । समय भन्नु पनि पदार्थको रूप परिवर्तन पो रहेछ । 
कालीगण्डकी त पहाडबाट तलतिर झरिसकेपछिको नाम हो । वास्तविक नाम त मार्चुङ हो । लोमन्थाङमा मार्चुङ नाममै बग्छ कालीगण्डकी । ‘बिहे गरेर ल्याएकी दुलहीको नाम समेत फेरिदिने हिन्दुहरूको मिचाहा संस्कार जस्तो भएको छ मार्चुङको नाम कालीगण्डकीमा बदलिदिएर’—कर्चुङ बहिनी र आङ्गेल भाइले दुःखेसो पोख्नु भएथ्यो हिमाली मार्चुङ नदीलाई कालीगण्डकी बनाइदिएकामा । हुन त नाममा खास केही हुंदैन । तैपनि आफू अनुकूल अर्काको नाम परिवर्तन गरिदिनु पनि मिचाहा प्रवृत्ति हो । मैले सक्कली मार्चुङलाई बग्दै बग्दै कालीगण्डकी बगिरहेको हेरेँ । मन भावुक बन्यो । 
‘जाऔँ हजुर, बस हिँड्न ठिक्क परिसक्यो’— जोमसोम एयरपोर्टको ढोकाअघिल्तिर च्याप्प समात्नुभयो दोर्जेजीले । लोमन्थाङदेखि जोमसोमसम्म आइपुग्दा धेरै ओटा लोकगीत गाउनुभएथ्यो दोर्जेजीले अघिल्लो दिन । गाडीको छाना थिएन । वरिपरि पनि ह्वाङ्गै थियो । गाडीले उडाएको धुलाले एक अर्कालाई नचिन्ने भएका थियौँ यात्रुहरू । बेला बेलामा टाउको डण्डीमा ठोकिन्थ्यो, बेला बेलामा ढाड बज्रिन्थ्यो, बेला बेलामा यात्रु यात्रुकै टाउको ठोकिन्थ्यो र टुटिलो उठ्थ्यो । दोर्जेजीले घल्लु  गाउनुभयो । उहाँ र मैले बाटाभरि अरू गीतहरू पनि गाइरह्यौँ । हाँसो ठट्टा गरिरह्यौँ । राम्रै मित्रता बस्यो हामी दुईको । जोमसोमबाट घासा जाने बसको टिकट पाउन असाध्यै गाह्रो रहेछ । दोर्जेजीले हाम्रो पनि टिकट काटेर सहयोग गरिदिनुभएथ्यो । 
‘अब यो भदौमा हुने यार्तोङ पर्वमा तपाईंलाई मेरो निम्ता है । जसरी पनि आउनु होला । कम से कम पाँच दिनको फुर्सद लिएर आउनु होला । त्यो बेला मेरो गाउँ ताङ्वेमा बसौँला । म ल्हो चोछुन  का सबै गाउँ घुमाइदिउँला । लोमन्थाङमा हुने यार्तोङ चाडमा खाउँला, पिउँला, नाचौँला रमाइलो गरौँला ।’ दोर्जेले मेरो मित्रताको सम्मान गर्दै हुनुहुन्थ्यो ।
‘खास के हो यार्तोङ ?’ मैले सोधेँ । ‘यार’ भनेको वर्षा ‘तोङ’ भनेको समाप्ति । वर्षा ऋतु सकिएपछि मनाउने चाड हो यार्तोङ । घोडचढी पर्व हो यार्तोङ । गाउँ गाउँबाट बलिया बाङ्गा घोडाहरू ल्याइन्छन् । घोडा चढ्नेको पोसाक अलि आश्चर्यपूर्ण हुन्छ— रङ्गीन ऊनको छाताजस्ता टोपीहरू । बेग्लै ढपका लुगा कपडाहरू । घोडा र घोडा चढ्ने दुवैले रक्सी खान्छन् । बेजोडसँग दौडाइन्छ घोडा, नाङ्गा पाखाको परपरसम्म हेर्नेहरू जोसले कराइरहन्छन् । दौडनेहरू आँखै चिम्लेर दौडिरहन्छन् । कतिले किच्छन् मान्छेलाई, कति लड्छन् घोडासहित भिर पहिराबाट । गाउँ गाउँबाट मान्छे जम्मा हुन्छन् । खाने, पिउने, खेल्ने, जित्ने हार्ने, कुटाकुट गर्ने, बाटो ढुकाढुक गर्ने सबै चल्छ यार्तोङमा । बहादुरीको पर्व हो यार्तोङ । मैले प्रायः जितेको छु यार्तोङमा । म घोडामा दौडने, तपाईंले ताली पिटेर हौस्याउने, पक्कै आउनुहोस् है’— पटक पटक निम्त्याइरहनुभयो दोर्जेजीले । 
जात्रा मेला भन्नेबित्तिकै झगडा त उठिहाल्छ जहाँ पनि । हाम्रो सहमति रह्यो । अघिल्लो साँझ कर्चुङ बहिनीले पनि बताउनुभएथ्यो यार्तोङको बारेमा । अरू ठाउँको भन्दा भव्य र सभ्य हुन्छ लोमन्थाङको यार्तोङ भन्दै हुनुहुन्थ्यो बहिनीले । लोमन्थाङको बर भन्ने ठाउँमा तिन दिन चल्छ यार्तोङ । मुस्ताङे राजाको घोडा त्यहीँ पालिने भएकाले जात्रा त्यहीँ गर्ने चलन छ । पहिलो दिन राजा आफैँ घोडा दौडाइमा सहभागी हुन्छन्, अरू केटाहरू पनि जान्छन् । दोस्रो दिन रानी र रानीका साथीहरू यार्तोङ हेर्न जान्छन्, तेस्रो दिन लामाहरूले नै घोडा दौडाउँछन् । समूह समूह बसेर रोटी, करु, गुलिया मिठाइहरू खाइन्छ । नाचगानले पर परसम्म डाँडाकाँडा थर्काउँछन् । मान्छेको मन फुर्फुरिन्छ, शरीरमा बेग्लै पूmर्ति आउँछ । हिउँको स्वागत गरिन्छ । मन पनि हिउँजत्तिकै सफा र सेतो बनोस् भन्ने कामना गरिन्छ । बेलिविस्तार लगाउनुभएथ्यो कर्चुङ बहिनीले । 
झैझगडा, कुटाकुट, रक्सीको रन्को — यस्तो पर्व त अब फेरिनुप¥यो नि — त्यति मन नपरेको भाव व्यक्त गरेँ मैले दोर्जेजीलाई । सन्दर्भमा नयाँ कुरा पत्ता लगाउनु छ भने फरक कोणबाट प्रश्न गर्नुपर्छ भन्ने लाग्छ मलाई ।
बिहान ७ बजे जोमसोमबाट हिँडेका हामी दस बजे घासा पुग्दासम्म बोलेर थाकेनौँ । एक भाइ लद्दाख जाँदै हुनुहुन्छ । त्यहीँ कपडा पसल रहेछ उहाँको । 
‘जन्मने, हुर्कने, काम गर्ने र मर्ने केही ठेगान हुँदो रहेनछ । लोमन्थाङमा जन्मिएर लद्दाख पुगियो । त्यहीँ बिहे गरियो । छोरा छोरी जन्माइयो । गाउँको माया यता लाग्छ, ठाउँको माया उता लाग्छ । आखिर माया, डर र आश मात्रै त हो रहेछ नि जीवन’ — नोरग्यान लामा भाइले पनि निम्ता दिनुभयो मलाई लद्दाख घुम्न ।
इच्छा हुँदाहुँदै अधुरा बन्दा रहेछन् आमन्त्रण । सोचेको सबै ठाउँमा कहाँ पुग्न सकिन्छ र ? कति ठाउँ पाइलाले टेकेर, कति ठाउँ आँखाले हेरेर र कति ठाउँ मनैले सोचेर चित्त बुझाउनुपर्ने रहेछ ।
सल्लाघारीको सुसाइ मिठो लाग्दैछ । काला चराहरू ठुलो डाँकाले हर्कादैछन् ससाना चिरबिरेहरूलाई । सिमसिम पानी र घामको जवानी दुवै मिसिएर खसेका छन् फापर बारी र मकै घारीहरूमा । गाडी अब त्यतै रोकियो घासामा । भिज्दै भिज्दै रुप्से नाघ्यौँ । भिज्दै भिज्दै संसारकै गहिरो अन्धगल्छी छोड्यौँ । हरिया जङ्गलहरू, निला पहाडहरू र सेता हिमालहरूको लहरमा फक्रेको छ पवित्र प्रेम । प्रेमिल गोरेटामा प्रेमका आँकुरा, पात र हाँगाहरू सुमसुम्याउँदै हिँड्न पाउँदा थकाइ लाग्दैन । बाटो अप्ठेरो बन्दैन । सँगसँगै समानान्तर फालहाल्दै ओर्लिइरहेको कालीगण्डकी कतै कञ्चन छिन्, कतै सुनौली र कतै चाँदीकी चलमली जस्ती । उनको रूप, चाला र सुसाइले ब्युँझाइरहन्छ हाम्रो प्रेमिल आस्था र विश्वासलाई 
घासामा बसबाट ओर्लेर तितरबितर बनेका यात्रुहरू तितर भन्ने ठाउँमा भने जुटेका छन् । सानो गाउँले बजार छ तितर । त्यहीँबाट बेनीसम्म बस चढ्न पाइन्छ अब । तितर बजारको भित्तापट्टि ढुङ्गे बिसौनीमा लहरै भारी बिसाइ रहेछन् भरियाहरूले । प्वाँ प्वाँ र पुँ पुँ गर्ने बस र बोलेरोहरू पनि छेउकुना जोत्ने गोरु झैँ मोडिदैछन् । खच्चरका पिठ्युँ पिठ्युँमा नुन र चामल बोकाउँदैछन् एक हूल मान्छेहरू ।
‘भात खाने भए यता चाउचाउ खाने भए उता’— तितरको भारी बिसौनीमा बसिरहेका हामीलाई बोलाए एक भाइले ।
‘साहु त एउटै हो नि होइन भाइ ?’ मैले प्याच्च सोधेँ ।
‘त्यो त हो’– भाइले जवाफ दिए ।
‘अर्थात्, हामीले जे खाए पनि व्यापार एउटैको’— हामी हाँस्यौँ । भाइको र मेरो कुरा अरू थपियो ।
‘ए भाइ, यी साहुजी मास्टरजी हुनुपर्छ हो ?’
‘हो, उः त्यही पारि गाउँको स्कुलमा ।’
‘नेता पनि हुनुपर्छ हो ?’
‘हो, एमाले गाउँ कमिटीको अध्यक्ष ।’
‘एन.जी.ओ. पनि होला उनले खोलेका ।’
‘छ नि उः त्यही साइनबोर्ड हेर्नूस् न !’
ग्रामीण विकास केन्द्र, तितर लेखेको साइनबोर्ड थियो त्यहाँ ।
‘अरू कपडा पसल, खाद्यान्न पसल पनि होला उनको ।’
‘छ त्यो कपडा पसल, त्यो खाद्यान्न पसल ।’
‘गाडीहरू पनि छन् कि ?’
‘बस दुई छन्, दुवै बेनीदेखि तितरसम्म चल्छन् ।’
दुर्गम जिल्लाहरूको हविगत हो यो । एक जना र एकै परिवारको हातमा हुन्छ प्रायः आर्थिक आर्जनको साँचोमुचो । जिल्लामा सरकारी गैरसरकारी जे जस्ता कार्यक्रम लगे पनि उनीहरूकै पहुँच हुन्छ । जिल्लाका सोझासाझा जनता त उनीहरूकै लागि काम गर्दछन्, आपूmले उत्पादन गरेको अन्न अनाज र खोजेको जडीबुटी र प्राकृतिक स्रोत उनीहरूलाई नै कौडीको मूल्यमा सुम्पन्छन्, उनीहरूलाई नै नेता, उनीहरूलाई नै अभिनेता, उनीहरूलाई नै दाता, उनीहरू नै ज्ञाता सबै बनाउँछन् । आपूm भने उनीहरूकै भरिया बनेर जीवन कटाउँछन् ।
‘ए, ए, ए… आयो, आयो भाग, भाग’— वरिपरिका र पारिपारिका कराउन थाले । हामीनजिकै बिसौनी ढुङ्गामा बसेकाहरू बुर्कुसी मारे परतिर । हामीले पनि बुझ्दै नबुझी फड्कियौँ पल्लो डिलतिर । मास्तिरबाट झरेको खच्चरले झन्डै कुल्चिएको उता । बडेमाको ढुङ्गा ड्वाङ् ड्वाङ् ड्वाङ् आयो र हामी बसेकै ठाउँ नाघेर अघिल्तिर लम्पसार प¥यो । झन्डै हामी पाँच जनाको एकै चिहान भएको । माथि भिरमा चरेको खच्चरले ढुङ्गा लडाइदिएको देखेपछि कराएका रहेछन् सबै जना । ज्यान बाँचेकामा बधाइ साटासाट ग¥यौँ ।
क्षण क्षणमा खतरा छलेर बाँच्नुपर्छ पहाडमा
क्षण क्षणमा पहरा फोरेर बाँच्नुपर्छ पहाडमा 
पहाडमा बाँच्नु त पहाड नै बनाउनु हो जीवनलाई
कन्दरा, कान्ला, करेसा, कल्लिन जतासुकै केही थुङ्गा प्रेमिल फुल नफुल्ने हो भने, भिरबाट झरिरहेको ढुङ्गा र पानीले छोडेको बगरबाहेक केही बन्दैन जीवन, पहाडमा । 
मैले एउटा कविता सुनाएँ । पहाडले हरियो र भरिलो पहाड बनेर सुनिरहिन् मेरो कविता । तितरमै फुलिरहेको कलेजी रङ्गको लाहुरे फुलमा आस्था मिसाएर चढाएँ मैले पहाडलाई ।
हामीले हरियो मकै खोज्यौँ, पाएनौँ । रोटी खोज्यौँ, पाएनौँ । गाउँतिरै फलेको फर्सीको मुन्टा वा हरियो तरकारी खोज्यौँ, पाएनौँ । ढिडो खोज्यौँ, पाएनौँ । आखिर न्युट्रिनगेटको झोलसँग एक एक प्लेट भात खायौँ र भोकलाई सुमसुम्यायौँ ।
‘लौ है । बेनी जाने गाडीको लगाम खुल्यो, जानेजति चढ्नुहोला, नजानेजति यतै लड्नुहोला’— ढोल पिटे झैँ बसको पुच्छरमा हान्न थाले कन्डक्टर भाइ ।
‘बस छुट्यो भने त छुटिन्छ यतैतिर’— वास्तविकता बुझ्दै जुठो हातसमेत राम्रोसँग नपखाली खानाको पैसा ति¥यौँ र दौडियौँ हामी बसतिर । हामी खाना थप्न चाहन्थ्यौँ । बस हिँडिहाल्न लागेपछि खाना थपिरहन सम्भव भएन । होटलवाला र बसवालाको अपवित्र गठबन्धन हुँदो रहेछ त्यसमा । खाना पाक्दैछ, पख्नुस् भनेर ढिला खाना खुवाउन सुरु गर्ने, प्लेटमा दुई चार पटक हात पर्नेबित्तिकै गुरुजीले बसको हर्न बजाइहाल्ने र ढ्याँइ ढ्याँइ ढुँई ढुँई गर्न सुरु गरिहाल्ने । त्यसपछि चारा हुल्नै नपाएका बिचरा यात्रुहरूसँग पैसा असुल्यो र बिदाइ ग¥यो ।
अक्करमा पारेर पैसा कमाउने संस्कृति, जताततै फस्टाएको छ अचेल हाम्रो देशमा ।
पोटाएको सयपत्री थुङ्गामा चाङ लागेका पत्रहरू झैँ ठेलमठेल कोचिएका छौँ बसभित्र । बसभित्र विदेशी छन्, बुढाबुढी, केटाकेटी र बिरामीहरू पनि छन् ।
ढलपल ढलपल गर्छ बस । क्षणमै घुसमुटियो जस्तो गर्छ । क्षणमा डिल भत्किइसकेको डिलमा आधा चक्का गुडाउँछ । घरी सुर्का नाघ्ने गोरु झैँ बुद्रुक्क उफ्रिन्छ । घरी तराईको पिच सडकमा झैँ हावा जसरी कुलेलम ठोक्छ । यात्रु सजीव हुन् कि निर्जीव हुन् चालक र सहचालकलाई मतलब छैन । विदेशी यात्रुहरू जिब्रो काढ्छन् । डन्डी समाउँछन् । अनुहार रातो पार्दछन् । पुर्पुरो समाउँछन् । पिँजराभित्रको सुगा भएका छन् बिचराहरू । ‘नखाउँ दिनभरिको सिकार, खाउँ कान्छा बाबुको अनुहार’ भएपछि के गरून् त बिचराहरूले ।
‘भोकमा पाइनँ मकैका ठेला
बैंसमा पाइन पोइ
सब इष्टमित्र पराइ बने
बाहिर छौ कि कोही ?’
लगातार गाउन थाल्नुभयो अघिल्लो सिटमा बसिरहनुभएका दाइ । काखमा छन् सानु बाबु । कहिले गाउने, कहिले हँसाउने गर्दा सबै यात्रुको ध्यान त्यतै मोडिएको छ ।
‘दाइको नाम के हो नि ?’
‘के.बी.आर.जे.एम ।’
‘ओहो, नौलो नाम रहेछ नि कबरजम ।’
‘कबरजम होइन कुलबहादुर रामजाली मगर क्या ।’
‘अस्ति घासातिर जान बेनीमा बस चढेको थिएँ ।’ एउटी बहिनी चढिन् ।
भनिन्— ‘प्लिज मलाई सिट छोडिदिनुस् न, म गर्भवती छु ।’ 
मैले सिट छोडिदिएँ ।
भनेँ— ‘बहिनी, तपाईं गर्भवती जस्ती त देखिनुहुन्न ?’ 
‘भर्खर एक घण्टा भो गर्भवती भएको, अनि कहाँ देख्नुहुन्छ त ?’
‘म त बोल्नै सकिनँ ।’
नाम सोधेको चुट्किला भनिहाल्नुभयो कुलबहादुर रामजाली दाइले । 
अलल्ले कालीगण्डकीको आवाज चर्कै छ । धमिलो छ, छालिलो छ र हतार गरेको छ सङ्लिन । बेनीमा पुगेपछि म्याग्दी खोला र कालीगण्डकी एकै ठाउँमा मिसिए । कति मजाका हुन्छन् नदीहरू । छुट्टाछुट्टै उर्लेर हिँड्छन् तर अरूलाई भेट्नेबित्तिकै एकै बन्छन्, एकै भन्छन् । उनीहरू बिचमा न बेरङ बाँकी रहन्छ न बेमेल । दुवै एकै बनेर अनन्तसम्म बढाउँछन् वेग । हामी मान्छेहरू अरूसँग भेटियौँ भने कर्कसा बन्न थाल्छौँ, काँडा बनेर घोच्न थाल्छौँ । प्रेम पनि यस्तै हुनुपर्छ दुई मिलेपछि एक बन्न पर्ने र सङ्लिदै सङ्लिदै बगिरहनुपर्ने अनन्तसम्म ।
बेनीमा बस रोकिएपछि हामी आफ्नै कारमा पोखरातिर फर्कियौँ । सोनम बहिनी र टासी बहिनी पनि हामीसँगै फर्किए । लोमन्थाङदेखि पोखरासम्म पुग्दा बान्ता नभएकामा खुसी थिए ती बहिनीहरू । हेम्जा गुम्बा अघिल्तिर ओर्लिए उनीहरू । 
‘कति पैसा दिउँ भाडा ?’ सोधे । 
‘पर्दैन यो हाम्रै कार हो’— हामीले भन्यौँ । 
‘हुन्छ, त्यसो भए ।’ सरासर गुम्बातिर लागे उनीहरू । ‘जाऔँ है’ पनि भनेनन् । कति सिधा रहेछन् तिनीहरू ‘धन्यवाद’ सम्म नभनी हिँडे ।सिमसिम पानी बर्साउँदै स्वागत ग¥यो पोखराले हल्लन चोकमा हामीलाई ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

कविता: पर्खाईमा बाँच्नेहरु /-शिवराज शाही

शिवराज शाही

कवि / कथाकार

पैँयुको रुखमा घाम नपर्दै
उडेको बचेर
झ्याउकिरी कराउने बेलासम्म
गुँडमा फर्केन
अब कुन हावालाई सोध्ने
ऊ कहाँ छ?
कुन हावामा उड्दै छ?
बाआमा हुनु त सुर्ताको
भकारीमा थन्किनु रहेछ प्यारी
चखेवा भन्छ-
भो लगाइदे आग्लो
अब ऊ आउँदैन होला
तेरो मायाको पोको
अर्कै कुनै संसारमा आफ्नो गुँड बनाउँदै होला
भो अब पीर नगर् प्यारी
अब ऊ आउँदैन
न शिशिरको हावासितै उडेर आउँछ
न बर्खाको झरीसँगै मिसिएर आउँछ
सन्तान भनेका त बगेका खोलाजस्तै हुँदा रहेछन् प्यारी
आफू रसाएको मूल सम्झेर कहिल्यै नफर्किने
चखेवा भन्छ-
अब टुकी निभाइदे, ऊ आउँदैन
आउने भनेको उसको याद मात्र हो
बरु आउला काल एक/दुई वसन्त पछि
चेखवा भन्छ-
अब आग्लो लगाइदे प्यारी
काल नआएसम्म हामीले निदाएको नाटक गर्नुपर्छ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

अनुवाद कथा: छेपारो / -अनुप जोशी

अनुप जोशी

कवि / कथाकार / अनुवादक

नयाँ ओभरकोटमा ठाँटिएर प्रहरी सुपरिटेन्डेन्ट ओचुमेलोभ काँखीमा एउटा पार्सल च्याप्दै हिंडिरहेको छ । उसको पछिपछि रातो कपाल भएको एक प्रहरी सिपाही हातमा एक टोकरी अमला बोकेर आइरहेको छ । चारैतिर सुनसान छ। चोकमा एकजना पनि मान्छे देखिदैन । खुला पसल र भट्टीका ढोकाहरू भोका मुखहरूजस्तै गरी इश्वरको सृष्टिलाई उदासीपूर्ण नजरले हेरिरहेका छन् । एउटा भिखारीसम्म पनि आसपासमा देखिइरहेको छैन ।

‘ए ! त्यसोभए तैले टोक्छस् ? दुष्ट जनावर !’, ओचुमेलोभले अचानक सुन्छ, ‘केटाहरू, यसलाई उम्कन नदेऊ ! समात त्यसलाई…लौ…समात !’

कुकुर भुकेको आवाज सुनिन्छ । आवाज आएको दिशातर्फ आचुमेलोभले फर्केर हेर्छ र एउटा कुकुर उफ्रिदै पीचूगिनाको आँगनबाट भाग्दै आइरहेको देख्छ । धर्के कमिज लगाएको र टाँक खुल्ला नै राखेको एउटा मान्छे उसलाई लखेटीरहेको देखिन्छ । ऊ कुकुरको पछिपछि दौडिरहेको छ र उसलाई समात्ने प्रयत्नमा आफ्नै शरिरलाई अगाडि हुत्याएर उसले लड्दा-लड्दै पनि कुकुरको पछाडिपट्टिको खुट्टा समात्छ । फेरी एकपल्ट त्यहाँ कुकुरको भौं-भौं र ‘फुत्किन नपाओस् !’ भन्ने चिच्याहट सुनिन्छ । के भएछ भनेर पसलका मानिसहरू घाँटी तन्काएर त्यतातर्फ हेर्न थाल्छन् र उत्तिखेरै त्यहाँ एउटा विशाल भीड जम्मा हुन्छ, मानौं त्यो जमिन नै फाटेर निस्केको होस् ।

‘त्यहाँ झगडा परिरहेको छ जस्तो छ,सरकार’, सिपाहीले भन्छ ।

आचुमेलोभ बाँयातर्फ मोडिन्छ र भीड भएतर्फ लाग्छ ।

उसले देख्छ कि यसअघि उल्लेख गरिएको कमिजको टाँक खुल्ला राखेको मान्छे त्यहाँ उभिएको छ । ऊ आफ्नो दाहिने हातलाई माथि उचालेर भीडलाई रगतपच्छे औंलाहरू देखाइरहेको थियो । लाग्थ्यो कि उसको नशाले मदहोश भएको अनुहारमा स्पष्टसँग लेखिएको छ, ‘म तँलाई यसको मूल्य चुकाउन लगाउँछु, बदमाश कहींको!’, र उसको त्यो औंला विजयको झन्डा जस्तै गरि हावामा फर्फराइरहेको थियो । आचुमेलोभले तुरुन्तै ऋकिन नामको त्यस व्यक्तिलाई चिनिहाल्यो, जो सुनारको काम गर्थ्यो । यस्तो बबण्डर मच्चाउने दोषी कुकुर भने भीडको मध्यभागमा आफ्ना अगाडिका खुट्टा भुईंमा तन्काउँदै तल-देखि माथिसम्म थरथर्ती कामेर बसिरहेको थियो । तीखा दाँत भएका यो बोर्जोय प्रजातिको कुकुरको पीठमा पहेंलो दाग थियो । आँसुले भरिएका उसका आँखाहरूले वेदना र डरको अभिव्यक्ति दिइरहेका थिए ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

बुद्धिबहुलालाई दनक / -अभय श्रेष्ठ

Untitled-1.pngc

अभय श्रेष्ठ

कवि

श्रावण ३१, बिहिबार 
नवसाहित्य अनलाइन । रूपचन्द्र विष्टलाई सम्झन कुनै अवसर जरुरी छैन । उनका काम र विचार सदैव सम्झनलायक छन् । हो, मैले उनलाई भेट्न पाइनँ । भेटेको भए पनि सातै लिन्थे होलान् । किनभने उनी पत्रकारको प्रवृत्ति र मानसिकता राम्ररी बुझ्थे र ठाडै दपेट्थे रे । तथापि मेरो पत्रकारिता जीवनको १८ वर्षमा सबैभन्दा खट्कँदो एउटा पक्ष उनलाई भेट्न नपाउनु, उनीसँग अन्तर्वार्ता गर्न नपाउनु हो । जे सोच्ने, त्यही गर्ने, जसको राजनीति गर्र्यो, उसैको स्तरमा बाँच्ने उनको जीवनशैली थियो । तत्कालीन राष्ट्रिय पञ्चायतमा जनपक्षीय विधायक विष्टको अंगरक्षक उनका साख्खै भतिजा युद्धकलाका राष्ट्रिय खेलाडी रणसंग्राम विष्ट थिए । उनले विष्टसँगै मकवानपुरका गाउँगाउँ र देशका कुनाकाप्चा चहारेका थिए रे । त्यसैताक प्रशिक्षणका लागि जापान जाने कोटा आउँदा त्यसमा सिफारिस गरिदिन उनले काकालाई आग्रह गरे । काकाले तुरुन्तै सिफारिस लेखिदिए । तर, त्यसको बेहोरा यस्तो थियो, ‘निज निवेदनकर्ता योग्य भए निजलाई सिफारिस गर्छु । निजभन्दा अरु योग्य भए उसैलाई सिफारिस गर्छु ।’ निष्पक्ष सक्रियताको यस्तो अनुपम अभ्यास आत्मज्ञानलाई सबैभन्दा माथि राख्ने मान्छेले बाहेक कसले गर्न सक्छ ?

राष्ट्रिय पञ्चायतका सदस्य रहँदा विष्टलाई राजाका दूत वीरेन्द्रकेशरी पोखरेललगायत एक दर्जन व्यक्तिले मन्त्री बन्न प्रस्ताव पठाएका थिए । प्रस्तावको खिल्ली उडाउँदै उनले भने, ‘रापस जनताले पठाएको प्रतिनिधि हो, मन्त्री राजाले बनाउने र व्यवस्था चलाउने ठेकेदार हो । म जनप्रतिनिधि, राजाको भाट हुन र व्यवस्था टिकाउन मन्त्री हुने कुरै छैन ।’ परिणामस्वरूप उनलाई जेल हालियो । राजा वीरेन्द्र प्रधानमन्त्री मरिचमान सिंहसित बारम्बार भन्थे रे, ‘उनको कुरा विचारणीय छ ।’ जेलमा पनि प्रधानमन्त्री सिंहबाटै ‘महाराजको इच्छाअनुसार रूपचन्द्रले रोजेकै मन्त्रालय वा सबै मन्त्रालय हेर्ने विनाविभागीय मन्त्री’ बन्न प्रस्ताव आयो । जबाफमा उनले भने, ‘जनप्रतिनिधि रूपचन्द्रलाई गरिबमारा, मुलुकमारा, बजेटमारा मन्त्रीको हुलमा सामेल हुने जनादेश छैन । श्रम गर्ने किसान, मजदुर, नारीस कमाइ खाने शोसक, सामन्त, पुँजीपति । यस्तो अपराधी व्यवस्था बदल्ने, अनिमात्र मन्त्री हुने ।’

रूपचन्द्रको यो शैली गणतन्त्र नेपालमा किंवदन्तीजस्तै लाग्छ । मन्त्री हुन २०१५ सालमै विश्वबन्धु थापाले कस्तो कृत्य गरेका थिए भन्ने बीपी कोइरालाले ‘आत्मवृत्तान्त’मा उल्लेख गरेका छन् । मन्त्री पदकै लागि गणतन्त्र नेपालका नेताहरूले केसम्म गरे भन्ने प्रस्ट छ । तिनले विष्टबाट सिके देशको राजनीतिक संस्कारमै कायापलट हुन सक्छ । रूपचन्द्रका सहयोगी तथा अधिवक्ता रामनारायण बिँडारीका अनुसार विकास, निर्माणबारे उनी जनतालाई भन्थे, ‘तरकारीजति बजेट मन्त्रीले लिन्छन् र दरबारमा बुझाउँछन् । बेसारजति बजेट विकासमा लगाउँछन् । विकास सरकारले गर्ने हो, त्यो अपराधी र माफियाको कब्जामा छ । त्यसैले तिम्रा गाउँको विकास तिमी आफैँ गर र यो अपराधी व्यवस्था बदल्न सहयोग गर ।’ विष्टको विचार थियो, राजनीति बहुदलीय, प्रशासन निर्दलीय हुनुपर्छ । राजनीतिलाई निर्दल बनाउनै मिल्दैन किनभने विविध विचारबाट राजनीति चल्छ । प्रशासन दलीय हुनै हुँदैन किनभने यो देशको हो । दलका नेता, कार्यकर्ता नै प्रशासनिक अधिकारी भएपछि निष्पक्ष काम हुनै सक्दैन । जनताभन्दा उसलाई दलका कार्यकर्ता, आफन्त र स्वार्थ ठूलो हुन्छ । 

विडम्बना, रूपचन्द्रले औँल्याएको खोट गणतन्त्रमा पनि उस्तै छ । अहिले व्यवस्था बहुदलीय गणतान्त्रिक छ तर राजनीति निर्दलीय । उनको एउटा नारै थियो, ‘राम्रा जति हाम्रा ।’ सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द हुन् वा सुशील कोइराला, माधव नेपाल, झलनाथ खनाल वा पुष्पकमल दाहाल ‘प्रचण्ड’, सबैको राजनीति उस्तै छ । सबैको जोड ‘राम्रो’ होइन, ‘हाम्रो’ मान्छेमा छ । यसरी छानिएका ‘हाम्रा’ मान्छेले देश र जनतालाई दिने सेवा पनि ‘हाम्रै’ मा सीमित हुन्छ । नेता र मन्त्रीचाहिँ ‘हाम्रा जति राम्रा’ मानिरहेका छन् । मन्त्री आफ्नो स्वार्थ मिल्ने कर्मचारी रोज्छ । सम्पादक आफ्नो अन्धप्रशंसक पत्रकार रोज्छ । हाकिम आफ्नो दास कारिन्दा रोज्छ । परिणाम जनता ‘राम्रा’को सेवा होइन, ‘हाम्रा’को सास्ती भोग्न बाध्य हुन्छन् । 

नयाँ मन्त्रिपरिषद् बन्नेबित्तिकै संस्थानहरूमा राजनीतिक नियुक्ति सुरु भइहाल्छ । पहिलेका अध्यक्ष वा महाप्रबन्धकका ठाउँमा नयाँ मन्त्रीको दलका व्यक्ति आउँछन् । प्रशासन पूरै त्यही दलको कब्जामा पुग्छ । त्यही दलका व्यक्तिले बढुवा खान्छन्, नियुक्ति पाउँछन् । यस्तोमा देश दलका कार्यकर्ता वा अवसरअनुसार दल बदल्ने चाटुकारहरूको कब्जामा पुग्छ । यस्तै व्यवस्थामा सम्पादकको कुर्सीमा बगरे र बगरेको काम गर्न सम्पादक बाध्य हुने हुन् ।

रूपचन्द्र अधिकांश मान्छेलाई ‘तँ, भाते, कुकुर’ भनेर दपेट्थे । सुन्दा अत्यन्त कटु लाग्ने यी सम्बोधन आममान्छेको मनोविज्ञानविरुद्ध थिए । आत्मसम्मानै नभएको मान्छे पनि अरुले आफूलाई सम्मान गरोस् भन्ने चाहन्छ । बिँडारीका अनुसार विष्ट तर्कविहीन थिएनन् । उनी हातमा ठेला उठेका श्रमिक, किसान र मजदुरलाई ‘तपाईँ’ भन्थेँ । दुनियाँले ‘जीहजुरी’ गर्ने सरकारी अधिकारी, सामन्त र मालिक वर्गलाई ‘तँ, भाते, कुकुर’ भनेर हकार्थे । मानिसहरू सामान्यतया व्यक्तिको उपस्थितिमा ‘तपाईँ’ र अनुपस्थितिमा ‘तँ’ सम्बोधन गर्छन् । उपस्थितिमा होस् वा अनुपस्थितिमा, ‘तँ’ लायकलाई ‘तँ’ र ‘तपाईँ’ लायकलाई ‘तपाईँ’ भन्नुपर्छ भन्ने उनको ठाडो तर्क थियो । 

‘भाते’ र ‘कुकुर’ सम्बोधनमाथि पनि उनको तर्क कम थिएन । भातेको अर्थ हो, परिश्रमबिना भात पचाउने । ब्रह्माण्डमा सबैभन्दा विवेकशील मानिएको मान्छे विवेक गुमाएपछि भाते हुन्छ । ऊ शक्तिको आडमा शोषण गर्छ, पशु–व्यवहार देखाउँछ । हावा, पानी, घाम, माटो, वर्षा प्रकृतिले दिएका सार्वजनिक उपहार हुन् । सार्वजनिक सम्पत्ति निःशुल्क उपयोग गरेपछि कामचाहिँ नितान्त व्यक्तिगत गर्नु हुँदैन, सार्वजनिक हितकै गर्नुपर्छ । घाम, पानी, हावा, माटोको तिरो तिर्न कम्तीमा दिनको पाँच मिनेट सत्य थाहा पाउन, पाँच मिनेट थाहा पाएको सत्य फैलाउन र अर्को पाँच मिनेट फैलाएको थाहा कार्यान्वयन गर्न सदुपयोग गर्नुपर्छ । बल्ल ‘भाते’को कलंकबाट मुक्ति पाइन्छ । 

कुकुरको अर्थ हो, विवेक प्रयोग नगरी पक्ष, विपक्षमा लाग्ने । घुस दिने, आफूलाई फाइदा हुने काम गरिदिने, झुटो प्रशंसा र चाकरी गर्नेका पक्षमा सत्य र ठीकलाई मिचेर पनि लाग्नु कुकुर प्रवृत्ति हो । कसैका पक्षमा नलाग्ने, सत्य र ठीकका पक्षमा लाग्ने, त्यसैका लागि सक्रिय हुने हो भने बल्ल ‘कुकुर’ कलंकबाट मुक्ति पाइन्छ । बिँडारीका अनुसार यी मान्छे बिउँझाउन गरिएको थाहा अभियानका केही उपाय थिए । मान्छेको स्वभाव जस्तो छ, त्यस्तै सम्बोधन गर्न सानोतिनो हिम्मतले सकिन्न । यस्तो व्यवहार देखेर विरोधीहरू उनलाई ‘बहुला’ भन्थे । जबाफमा उनी भन्थे रे, ‘मेरो नाम बहुला, तेरो बुद्धि बहुला !’

महत्वपूर्ण पदमा अवसरवादी चाटुकारको कब्जा हुनु, सही मानिस टिक्नै नसक्ने हुनु र संक्रमणकाल अनन्त हुनु देश बुद्धिबहुलाको कब्जामा परेको सबैभन्दा ठूलो प्रमाण हो । सुन्दा जति कटु लागे पनि, हामी ‘तँ’, ‘भाते’, ‘कुकुर’ र ‘बुद्धिबहुला’ उपाधिका सर्वाधिक योग्य अधिकारी हौँ । बधाई छ हामी सबैलाई !

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

पाठकवर्गमा ‘रूदाने’ को चर्चा, रुदाने जीवनशैलीबाट गहिरोसँग प्रभावित छु- चौलागाईँ

संप्रस पौडेल

समाचार प्रमुख (नवसाहित्य)

श्रावण ३०, बुधबार
नवसाहित्य अनलाइन ।
‘थाहा’ अभियानका प्रणेता रूपचन्द्र विष्टका सम्बन्धमा लेखिएको उपन्यास ‘रूदाने’ को चर्चा चुलिएको छ । पुस्तक टंक चौलागाईँले लेख्नुभएको हो भने साङ्ग्रिला मिडिया ग्रुपले प्रकाशन गरेको हो ।

जनमुखि सहकर्मी रुपचन्द्र (जसरु), रुपचन्द्र दामन नेपाल (रुदाने), राष्ट्रिय पञ्चायत सदस्य (रापस) नामबाट उहाँको भिन्न भिन्न परिचय प्राप्त गर्न सकिन्छ । उनै रूपचन्द्रको व्यक्तित्वमाथि अडिएर आख्यानिकरण गरिएको पुस्तक लेखनका क्रममा लेखक चौलागाईँले स्वर्गीय विष्टको विद्यालय जनकल्याण मावि, घर्तीखोलास्थित विष्टको घरका साथै, विकासघर-दामन, पालुङ, मनहरीलगायतका क्षेत्रहरूमा पुगी स्थानीय व्यक्तिहरू, राजनीतिकर्मी, सामाजिक व्यक्तित्व, पाका मानिसहरूसँग लिएका अनुभव तथा जानकारीहरू नै पुस्तक लेखनको आधार भएको नवसाहित्य अनलाइनलाई बताउनु भयो । वर्तमान परिवेशमा रूपचन्द्रको विचार झनै खड्किएको महसुस भएको बताउने चौलागाईँले रूदानेका व्यक्तित्वका विषयमा बुझ्नेक्रममा भुवन प्रकाश विष्ट (रूदानेका प्रियपात्र तथा माइलाबाका छोरा), अधिवक्ता तथा राजनीतिकर्मी रामनारायण बिडारी, रूदानेका भाइ स्वामी (गुणराज विष्ट), व्यवसायी अजेयराज सुमार्गी, सञ्चारकर्मी पवन पौडेल, साहित्यकार निमेष निखिललगायतका व्यक्तित्वहरूको उल्लेख्य सहयोग रहेको बताउनुभयो । त्यसो त लेखक चौलागाईँले नाटककार, दाना कविताका सुरूवातकर्ता अनि चेपाङ विकासमा उल्लेख्य योगदान दिने साहित्यकार स्वर्गीय तुल्सी थापा (थापा सर) रूदानेपछि  सम्झिने अर्का व्यक्तित्वका रूपमा रहनु भएको चौलागाईँ बताउनुहुन्छ ।
 
१ लाख ३० हजारबाट काँटछाँट गरी १ लाख शब्दमा सजाइएको यस पुस्तकका लेखक चौलागाईँ “जिरो कटेज” (२०६८), “काठमाण्डु गीत” (२०७०), “टालाटुली” (२०७३) र “उबडखाबड” (२०७७) पुस्तकहरूका लेखक हुनुहुन्छ भने हाल लेखन, निर्देशन र अभिनयमा प्रशिक्षण गराइरहनु भएको छ ।
 
‘रूदाने’ पुस्तक भाद्र १ गते शिल्पी थिएटर, बत्तिसपुतली काठमाडौँमा सार्वजनिकरण गरिने भएको छ । मकवानपुरमा हेटौँडा, पालुङ, मनहरी, फापरबारी आदि क्षेत्रमा पुस्तक चर्चाका क्रममा पुग्ने कार्यक्रम रहेको लेखकले जानकारी दिनु भएको छ । सम्पूर्ण किताब काठमाडौँले वितरण गर्ने यस पुस्तकभित्र सिङ, दलन, गाँठो, आँसु, प्रश्नैप्रश्न, प्रकृति प्रेम, फरक विचार, दमन, महापञ्चहरूको नाच, ढिँडो, घाम काट्ने जस्ता यथेष्ट अध्यायहरूमा बेग्लाबेग्लै विषयवस्तुबारे अध्ययन गर्न सकिनेछ । “घाम काट्ने” अध्यायअन्तर्गत हेटौँडामा मजदुर आन्दोलनको समर्थनका क्रममा भाषण सुन्न आएका स्रोताहरूप्रतिको सद्भावको किस्सा उल्लेख भएको छ । “चेपाङ सभापति” अध्यायमा चेपाङको वर्तमान अवस्थाबारे लेखिएको छ भने जननिर्वाचित प्रतिनिधिलाई थुनिएको विषयबारे चर्चा गरिएको छ । घर अध्यायमा ‘एकराज’ पात्रसँगको रोचक कुराकानी छ । एकराज उप्रेती, मनहरी गाउँपालिकाका पूर्व अध्यक्ष हुनुहुन्छ । विष्टका सङ्गतबाट उहाँको दर्शन, चेतना र व्यवहारले प्रभावित उप्रेतीसँगको प्रसङ्गमा विष्टले फोहोरको थुप्रोबाट पूराना जुत्ताहरू छनोट गरेका र तिनीहरूको मर्मत गरेर बोराका बोरा मजदुरका अगाडि लगेर खन्याइदिएको मात्रै होइन उनीहरूले रमाइ रमाइ जुत्ताको जोडा मिलाएर लगाएका किस्साहरूको लहर रहेको छ । राष्ट्रिय पञ्चायत सदस्य रूपचन्द्र (रापसरु) मा आधारित रही लेखिएको यस उपन्यासमा पापै, अग्निपरीक्षा, यज्ञ कि साङ्गेका साथसाथै पुस्तकको अन्त्यतिर रापसरूकै जीवनको अन्त्यतिरका अध्यायहरू रहेका छन् । जसमध्ये पुस्तकको अन्त्यतिर मृत्यु, मलामी, रोजाइः मृत्यु, मृत्यु घोषणा, तङ्ग्रिने कोशिस, आफ्नै मृत्युको खबर, भोट अठासी, इच्छा मृत्यु अध्यायहरू सजिएका छन् । त्यसो त रूपचन्द्रको निधनलाई ईच्छामरण भन्नेहरू पनि छन् । छाप्रे, मजदुर, गरिब, शोषित, महिलाहरूको अवस्था सुधार हुनुपर्छ र उनीहरूमा सचेतना आउनुपर्छ भन्ने थाहा अभियन्ता विष्टले आफ्नो ज्यान र स्वास्थ्यको बेवास्ता गरेर आफूलाई मृत्युतर्फ धकेलिदिएका बताइन्छ ।
 
यस्तै पुस्तकमा देवघाटमा नारायणी नदीमा फाल हालेका किस्साबारे चौलागाईँले “रुपचनको भुत” अध्यायभित्र भाइ गुणचन्द्रको ब्रतबन्धका किस्साहरू उल्लेख भएका छन् । 
 
काठमाडौँमा समेत विष्टका स्मृतिमा विगतदेखि नै विविध कार्यक्रमहरू हुने गरेकोमा यस पुस्तक रुपचन्द्रलाई अझ नजिकबाट चिन्न सकिने र उहाँको योगदान र लक्ष्यको अध्ययनमा स्थापित तथा नवपाठकहरूका लागि कोशेढुङ्गो सावित हुनसक्ने थाहा अभियन्ता एकराज उप्रेती बताउनुहुन्छ । त्यसो त राष्ट्रिय पञ्चायत सदस्यका रूपमा बैठकबाट फर्किने क्रममा राती राती स्कुटरको हर्न बजाउँदै आफूलाई बोरा बोक्न लगाएर त्रिपुरेश्वरमा फोहरको थुप्रोबाट जुत्ता उठाएर मर्मत गराएर मजदुरहरूलाई बाँडेको र कपडा फ्याक्ट्रीले फालेको झुराबाट भात पकाउने, सिरानी अनि डस्ना बनाउने काम गराएर खर्च बचाउन गरेको प्रयत्नले विष्ट देशप्रेमले ओतप्रोत अर्गानिक दार्शनिक भएको उप्रेतीले नवसाहित्यसँगको कुराकानीका क्रममा जानकारी दिँदै विष्टसँग लामो समय व्यतित गर्नु भएका उप्रेतीले चौलागाईँ ‘रूदाने’ पुस्तकले उहाँको दर्शनलाई व्यापक गराउने विश्वासका साथ नेपालभर राम्रो चर्चा पाउने अपेक्षा गर्नुभयो ।
 
०००
मकवानपुरमा ‘थाहा’:
सडकदेखि सदनमा समेत चर्काचर्की गर्ने विष्टले आफ्नो नाममा रूपचन्द्र दामन नेपाल अर्थात् रूदाने लेख्ने गर्नुभएको बारे विभिन्न चर्चाहरू सुन्न पाइन्छन् । विद्यालयका प्रअ हुँदा दिनदिनैको आयव्यय टाँस गर्नेदेखि चुनावी पर्चा बेच्दै हिँड्ने र खर्च जुटाउने, राष्ट्रिय पञ्चायत सदस्य (रापस) हुँदाका जेल बसाइसम्मका किस्साहरू रहेका छन् । मकवानपुरमा अधिवक्ताका रूपमा रहनु भएका राष्ट्रिय जनमोर्चाका रामनारायण बिडारी माओवादीमा समाहित भएपछि सांसदका रूपमा मात्रै नभइ सो दलको प्रवक्ता समेत हुनुहुन्छ। उहाँसँगका सम्बन्धबारेमा समेत रूपचन्द्रले आफ्ना भाषणहरूमा बोल्ने गरेका किस्साहरू सुन्नमा पाइन्छन् । निष्पक्ष सक्रियताको अभ्यास “थाहा” पुस्तक रूदानेबारे उनै बिडारीले खोज सङ्कलन गरी यसअघि प्रकाशन भइसकेको छ । थाहा अभियानबाट प्रेरित भइ थाहा सञ्चार सञ्चालित रहेकै छ । ‘थाहा’ नाममा पुरस्कार, पत्रपत्रिका, एफएम रेडियो आदि सञ्चालित रहेका छन् ।
०००
“मनभरि घुमिरहेको छ ‘जनकल्याण मावि’, घर्ति खोला, गोपाली गाउँ । मनमै रहनु हुनेछ तुलसी सर । भावुक छु । उत्साहित छु । रुदाने जिवनशैलीबाट गहिरोसँग प्रभावित छु ।” लेखक चौलागाईँको यो भनाइसँगै हामीले केही पाठकका भनाइ पनि समावेश गरेका छौँ ।
 
पुस्तक अध्ययन गर्दै गर्दा वासुदेव आरडी लेख्नुहुन्छ-
“रुदानेको बाल्यकाल नै बहुत हक्की लागिरहेको छ ! उत्तरी मकवानपुरको ग्रामीण परिवेशले लोभ्याइरहेको छ ।”
 
मनोज पण्डित लेख्नुहुन्छ-
“रुदाने – आजको समयका लागि अत्यन्त आवश्यक एक राजनीतिज् । जसको नाम सुन्दा श्रद्धा जाग्छ, उनको जीवन बुझाउने कृति हात पर्दा एकदम उत्साहित छु। नाटकमार्फत् समाज सुधारको प्रयत्न गर्नुपर्छ भन्ने श्रष्टा/नाट्यकार टंक चौलागाईँलाई सम्मानपूर्वक धन्यवाद छ ।”
 
रङ्गकर्मी/कवि रसिकराज लेख्नुहुन्छ-
“रुदाने- यत्ति काफी छ ! किताब समात्न म आतुर छु ।”
 
किताबघर, हेटौँडाका छवि अनित्य लेख्नुहुन्छ- “बुधबार पहिलो दिन आइपुगेका सबै पुस्तकहरू बिक्री भएका र थप बिहीबार आउनेछन् ।”
 
प्रविण ढुङ्गेल लेख्नुहुन्छ-
“थाहा आन्दोलनका अगुवा रुपचन्द्र विष्टको जीवनमा आधारित फिल्म रुदानेको टिजर दामी लागेको थियो। विभिन्न कारण शुटिङ्ग सकिएन र अलपत्र पर्‍यो प्रोजेक्ट नै । केही समय अगाडि पान्डुलिपी तयार भएर बुझाइयो भन्ने आको थियो टंक सरको अपडेट।
उनले लेखेको रुदाने किताब बजारमा आएछ एउटा आन्दोलन, अभियान, जनतालाई जागरुक गर्ने गराउने ध्येय राखेका विष्टलाई अक्षरमा पुनर्जीवन दिँदै। बधाई सर एक फेर यो नवीन कृतिका निम्ति ।
थाहापाटीमा एउटा सुन्दर आर्टिकल पढेको थिएँ उनै रुपचन्द्र विष्टबारे। लाजनीति, सरम र सत्ता- शक्ति कै केन्द्रमा ज्यादा फोकस दिने भएकाले हाम्रा नेता पार्टी सबै वाइयात लाग्दछन् । तर रुपचन्द्र विष्ट र केही एकाध नाममा श्रद्धा जाग्दछन् । अनि गहिराईमा गएर सबै नेता पार्टीलाई हेर्दा एक न एक शिक्षा , pros र पोजिटिभ पोइन्ट नि भेटिन्छ कति कति खेर त।
-विद्रोहको नेपाली नाम रुदाने
विद्रोहको फ्लेवर हरेक मान्छेमा मात्रात्मक त पक्कै हुने होला र त मान्छे, मान्छे बन्न सम्भव भएको हो । तर एउटा मान्छेको नशानशामा, रगतको बुँदबुँदमा हरेक धड्कनमा, हरेक नजरमा, हरेक पाइलामा, कलमका हरेक निवहरुमा विद्रोहै–विद्रोह हुन सम्भव छ भने त्यो रुदानेमा सम्भव थियो । जन्मेर सचेत पाइला चालेदेखि मृत्यु र मृत्युपछि आफ्नो लाशलाई पनि विद्रोही बन्न बाध्य बनाए रुदानेले ।
टंक सरका अगाडिका किताबहरु नि एकदमै फरक, प्रयोगधर्मी अनि one-of-a-kind लागेका हुन् । रुदानेले बिर्सिएका र फिल्मको पोस्टरले सम्झाइदिएको रुपचन्द्र विष्टका जीवन, दर्शन, चेतना, मनोविज्ञान अनि अभियानलाई मज्जाले बुझाउने नै छ।
नाटक नि विस्तारै ढिला आओस् तर राम्रो, कडा दमदार आओस् । यसले पाठकलाई definitely एउटा युग – समय र काल परिस्थितिमा यात्रा गराउने नै छ ।”
०००
यतिखेर भने पाठकवर्गमा ‘रूदाने’ को चर्चा चुलिएको छ । नवसाहित्य परिवार लेखकका साथै सम्पूर्ण पाठकहरूमा शुभ कामना प्रकट गर्दछौँ ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

ललिता दोषीको बाल चित्रकथा ‘हार्मोनियमको धुन’ प्रकाशित

नवसाहित्य डटकम

साउन २९, मङ्गलबार
नवसाहित्य अनलाइन । काठमाडौँ । साहित्यकार ललिता ‘दोषी’द्वारा लिखित बालचित्रकथा ‘हार्मोनियमको धुन’ सार्वजनिक भएको छ । यस पुस्तकलाई कथालय इन्कले प्रकाशन गरेको हो ।

दिदीबहिनी आयुषा र अनुपमाले बुवामार्फत् हार्मोनियमको धुनसँगै गीत गाउन सिक्ने विषयबारे उल्लेख गरिएको छ भने पढाइ राम्रो नभएकोले अनुपमाप्रति बुवाको बेवास्ताका बाबजुद पनि विद्यालय गीत प्रतियोगितामा उनलाई अप्रत्याशित नतिजा प्राप्त हुन्छ । जिज्ञासायुक्त कथाका घुम्तिहरूले रोचक बनेको २४ पृष्ठको यस पुस्तकको मूल्य २ सय रुपैयाँ रहेको छ ।

५ वर्ष वा माथिका बालबालिकाका लागि पढेर सुनाउन, पुस्तकबारे छलफल गर्न र ७ वर्षको बालबालिकाले आफैँ अध्ययन गर्ने सक्ने यस पुस्तकलाई कृष्णदीप सिग्देलले सम्पादन गर्नु भएको हो भने विनीता किताबका लागि बुद्धाचार्यले चित्र कोर्नु भएको हो ।

२०५६ सालमा प्रेमको परिभाषा कथा सङ्ग्रहबाट पहिलो पुस्तक लेखकका रूपमा चिनिनु भएका उहाँका जिज्ञासु सालु, असल मित्र, चिन्टु र पिन्टु, सुगाको अर्ति, दुखेको घाउ, हावा, दुईखुट्टे बिरालो, भुराका कुरा, नानी र सुगा, दाउरे, इन्द्रेनी, काफलगेडी, चिन मलाई, सेतो छडी लगायतका बालसाहित्यका पुस्तकहरू लेख्नु गर्नु भएको छ भने उहाँले दधीचि काठमाण्डौँ हास्यव्यङ्ग्य कविता र पहिरो लघुकथा सङ्ग्रह समेत लेख्नुभएको छ ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

कविता: नयाँ खुशी॥-अमृता लामिछाने

अमृता लामिछाने

कवि तथा मुक्तककार

धुम्म बादल, दिन सुनसान
मन बेचैन, हरेक मुख चुप
पूरा हुँदै गरेको चाहाना-चाहाना
खुसी भित्र्याउने पलको नजिक
श्रीमानज्यूको आँखामा टिलपिलाएको
खुशीको ताल
केही डर ,
परिवारमा छाउँदै गरेको नयाँ खुसी
मृत्यु जितेर
नयाँ संसार
पाएर म आमा भएँ

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

विमलालाई ‘मौलशोभा आमा सम्मान’

नवसाहित्य डटकम

संवाददाता

नवसाहित्य अनलाइन

यस वर्षको ‘मौलशोभा आमा सम्मान’ विमला राईलाई प्रदान गरिने भएको छ । प्रत्येक वर्ष भाषा, साहित्य, कला, संस्कृति, आर्थिक एवम् राजनीतिक क्षेत्रमा विशेष योगदान पुर्‍याउने छोराछोरीकी आमालाई रु.५० हजार राशि र ताम्रपत्रसहितको सम्मान कवि, गीतकार तथा साहित्यकार दीपा राई पुनकी आमा विमला राईलाई प्रदान गर्ने निर्णय गरिएको हो । 

नेपाल स्रष्टा समाजका अध्यक्ष एवम् वरिष्ठ साहित्यकार श्री ओम श्रेष्ठ रोदनको संयोजकत्वमा गठित निर्णायक समितिको सिफारिसमा डा. पुरण राईले आफ्नो जन्मदिनको अवसर पारेर विमला राईलाई सो सम्मान प्रदान गर्ने घोषणा गरेका हुन् । अनलाइन अभिलेख प्रा.लि.का संस्थापक डा. राईले भाषा, साहित्य, कला, संस्कृति, आर्थिक र राजनैतिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिका आमाको महिमा, गरिमा, त्याग, योगदान र समर्पणको कदर गर्न आफ्नी आमा मौलशोभा राईको नाममा सो सम्मान स्थापना गरेको बताए । 

धरानस्थित होटल पूर्वी स्टारमा आयोजित एक विशेष साहित्यिक कार्यक्रममा डा. राईले स्रष्टा एवम् साहित्यकारले आमरूपमा सम्मान र पुरस्कार पाउनु सामान्य भएको तर साहित्यकार जन्माउने आमालाई सम्मान गर्नु समग्रमा सम्पूर्ण सृष्टिको सम्मान गर्नु हो भन्ने ठहर गर्दै नयाँ परम्पराको थालनी गरेको बताए । 

सम्मानित विमला राईलाई मिति २०८१, कात्तिक २९ गते कवि, गीतकार समाजसेवी एवम् साहित्यकार दीपा राई पुनको जन्मदिनको अवसर पारेर एक समारोहबीच सो सम्मान प्रदान गरिने भएको छ ।

डा. पुरण राईको पाँच कृतिमाथि परिचर्चासमेत भएको सो कार्यक्रममा निर्णायक समितिका सिद्धराज राई, विमला तुम्खेवा र कमल ज्ञवालीका साथै साहित्यकार एवम् सञ्चारकर्मी किवाङहाङ राई, राजेश खनाल, योगेन्द्रकुमार राई, श्रीराम राईलगायतका व्यक्तिहरू उपस्थित थिए ।

 

#समाचार तथा तस्विर मगोपाल आशुतोष

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन