Home Blog Page 26

राष्ट्रिय पर्या कवितामा २४५ कवितामध्ये सुबास सजलको ‘चौतारोः एक आत्मालाप’ प्रथम

जेठ १९, शनिबार
नवसाहित्य अनलाइन । भरतपुर महानगरपालिकाद्वारा आयोजित राष्ट्रिय पर्या कविता प्रतियोगितामा कूल २४५ कवितामध्ये सुबास सजलको ‘चौतारोः एक आत्मालाप’ कविताले प्रथम स्थान प्राप्त गरेको छ ।

प्रतियोगितामा सजल नगद रू. ३० हजारसहित सम्मानपत्रले सम्मानित हुनु भएको छ । अघिल्लो हप्ता उहाँ रोल्पामा आयोजित राष्ट्रिय कविता प्रतियोगितामा सान्त्वना स्थान प्राप्त गर्नु भएको थियो । कविता, गजल र मुक्तक लेखनमा सक्रिय उहाँ मुक्तक मञ्च मकवानपुरका सचिवसमेत हुनुहुन्छ ।

कार्यक्रममा रू. २० हजार राशिसहित ‘उभिएर आफ्नै चिहानमाथि’ कविताका लागि रेणुका जिसी दोस्रो, रू १० हजार राशिसहित ‘भेन्टिलेटरको सहर’ कविताका लागि परिवेश चापागाईँ (परिवेश मुन्छे) तेस्रो हुनुभयो । यस्तै जनही रू. ५ हजार राशिसहित ‘पर्वतको यात्रामा’ कविताका लागि सिजन श्रेष्ठ र ‘अनन्त मुस्कान’ कविताका लागि समर्पण न्यौपानेले सान्त्वना स्थान प्राप्त गर्नु भएको छ । समर्पण न्यौपाने नवसर्जक साहित्य चौतारी नेपालका महासचिव हुनुहुन्छ ।

निजी क्षेत्रसँग सहकार्यमा “घुमौँ भरतपुर” भन्ने मूल नाराका साथ पर्यटन क्षेत्रलाई प्रवर्धन गर्ने उद्देश्यले गरिएको वृहत अभियान “भरतपुर भ्रमण वर्ष २०२४” को सन्दर्भमा आयोजित पर्या कविता प्रतियोगिता २०८१ मा १० उत्कृष्ट कविताहरूको सूची यसअघि नै प्रकाशन गरिएको थियो ।

राष्ट्रिय पर्या कविता प्रतियोगिता २०८१ को संयोजक कवि भूपिन रहनु भएको थियो ।

लेखक/समीक्षक उदय अधिकारीको पुस्तक ‘अविश्रान्त लखर लखर’ बजारमा

जेठ २०, आइतबार
नवसाहित्य अनलाइन ।
‘प्रश्न’ र ‘फेसिङ अ भोल्क्यानो’ पछि लेखक उदय अधिकारीद्वारा लिखित नवीन पुस्तक अविश्रान्त लखर लखर बजारमा आइपुगेको छ ।

पठन र लेखनमा नयाँ पुस्तालाई समेत उत्प्रेरित गर्दै गर्ने अधिकारीद्वारा लिखित ‘प्रश्न’ पुस्तकमा नेपालमा ६ लेखकहरूको लेखन यात्रा प्रवेश, प्रेरणा, प्रभाव र अनुभवसम्बन्धि विचारहरू अन्तर्वार्तात्मक शैलीमा प्रकाशन भएका छन् । अभि सुवेदी, नारायण ढकाल, सरूभक्त, श्यामल, मनु मञ्जिल र श्रवण मुकारूङसँगका कुराकानीलाई पुस्तकाकार गर्नु भएका अधिकारीको पछिल्लो पुस्तकमा भने साहित्य सर्जक तथा समीक्षक खगेन्द्र सङ्ग्रौलासँगको प्रश्नोत्तर सम्वाद उल्लेख गरिएको अधिकारीले बताउनु भएको छ ।

पुस्तकको एक अंशः
मेरा यी यावत् कर्म यी थरीथरीका पीडितजनउपर गरिएका कृपा होइनन् । मेरा यी कर्म कसैका हुकुम वा अह्रनखटनबाट निर्देशित होइनन् । यी सब मेरो आफ्नै विवेकको आदेशबाट निर्देशित हुन् । जीवनको रङ्गमञ्चमा म जे छु, म यस्तो बन्नुमा यी सबै पीडितहरूको एक न एक प्रकारको प्रत्यक्ष वा परोक्ष हात छ । कसैको भौतिक सहयोगको हात होला, कसैको भावनात्मक शुभेच्छाको हात होला, कसैको मङ्गलकामनाको हात होला । जीवनयात्रामा यी कसैले मलाई टुकुटुकु डोर्‍याए होलान्, कसैले मलाई गाँस काटेर खुवाए होलान् । कसैले मलाई आफ्ना भागको अवसर दिए होलान्, कसैले मलाई आफ्नो आयु काटेर दिए होलान् । कसैले जोखिमपूर्ण जीवनपथका खाल्डामाथि आफ्ना ज्यानको फड्के हालेर मलाई तारिदिए होलान्, कसैले मृत्युछेवैको भयावह खतराबाट मलाई बचाए होलान् । जीवनमा म जस्तो छु, यी यावत् जनको भौतिक र आत्मकि साथ र हात एवम् शुभेच्छा र सद्भावले गर्दा नै त म यस्तो छु । जीवनमा शिक्षा र स्वास्थ्य, पहिचान र प्रतिष्ठा एवम् सम्मान र गरिमाका लागि जति अवसर र सुविधा मैले पाएँ, ती अवसर र सुविधाबाट मेरै वरिपरिका कतिकति मानिस वञ्चित छन् । यी सकल पीडित र वञ्चित जनको न्यायको पक्षमा सडकमा यदाकदाको लखरलखर मेरो सामाजिक र नैतिक कर्तव्य हो । जनजनको देखिने र नदेखिने गुनको केवल सानो पैँचो तिराइ हो यो ।

राजन मुकारूङद्वारा लिखित वर्ष २०६९ मा मदन पुरस्कार प्राप्त कृति ‘दमिनी भीर’ तथा यस्तै पहिचान पुरस्कार २०८० प्राप्त कृतिद्वय प्रगति राइकृत ‘थाङ्ग्रा’ र प्रकाश गुरागाइँकृत ‘जङ्सन पिपलबोट’ आदि फिनिक्स प्रकाशनद्वारा प्रकाशित कृतिहरू हुन् । काङमाङ नरेश राईको ‘पानी पतिया’, मोहन मैनालीको ‘उपल्लो थलो’ ललित विष्टको ‘मोहपथ’ आदि यस प्रकाशनका उत्कृष्ट कृतिहरूभित्र रहेका छन् ।

पुस्तकका सम्बन्धमा महेश पौड्याल भन्नुहुन्छ- “तिखा सवाल सोधेर भित्रैसम्म उदिन्ने अन्तरवार्ताकार अधिकारीले अरिँङ्गालकै गोलो ताकेका छन् ।”
यस्तै खुमनारायण पौडेल भन्नुहुन्छ- “साहित्यका गहन अध्येता अधिकारीको नवीनतम पुस्तक अविश्रान्त लखरलखरले बौद्धिक पाठकको जिज्ञासालाई असीमित आल्हाद दिनेछ ।”
एलबी क्षेत्री भन्नुहुन्छ- “वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौलासँगको प्रश्नोत्तर संवाद पुस्तकको आकार लिएर बजारमा आइपुगेको छ । यो नेपाली साहित्यका विद्यार्थीका लागि खुसीको कुरा हो र उदय अधिकारी पुनः बधाईका पात्र भएका छन् । हामी सबैलाई ‘अविश्रान्त लखर लखर’ को माध्यमबाट खगेन्द्र सङ्ग्रौलाका रेडीमेड विचार पढ्ने अवसर प्राप्त भएको छ ।”

पुस्तकमा सङ्ग्रौलाका साहित्यिक र राजनीतिक जीवनका उतारचढाव उल्लेख गरिएका छन् । हामी पहिले मानिस हुने कि जात हुने भन्ने बहस पनि पुस्तकले समेटेको लेखक अधिकारीले जानकारी दिनु भएको छ । पुस्तक अन्तर्वार्ता शैलीमा लेखिएको उहाँले बताउनु भएको छ ।

साहित्यिक कार्यक्रममा समयमैँ उपस्थिति हुने, समीक्षात्मक टिप्पणी राख्ने, लेखन र पठनका लागि ऊर्जा दिइरहने अधिकारीको तेस्रो पुस्तक फिनिक्स बुक्सले बजारमा ल्याएको हो भने यसको मूल्य ३ सय ९९ रुपैयाँ राखिएको छ ।

सङ्गमद्वारा आयोजित लघुकथा उत्सवमा स्रष्टा सम्मान, बहस तथा वाचनः विस्तृत रिपोर्ट

जेठ १९, शनिबार
नवसाहित्य अनलाइन ।
साहित्य सङ्गम मकवानपुरले ‘लघुकथा उत्सव-२०८१’ मा स्रष्टा सम्मान तथा लघुकथा वाचन कार्यक्रम गरेको छ । शनिबार हेटौँडामा एक कार्यक्रमबिच स्रष्टा सम्मान, बहस तथा लघुकथा वाचन गरिएको हो ।

मकवानपुरको सबैभन्दा जेठो साहित्यिक संस्थाका रूपमा रही कथा, कविता, गजल, मुक्तक लगायत साहित्यका विविध विधाको विधागत कार्यशाला, लेखन, वाचन, स्रष्टा सम्मानलगायतका कार्यक्रमहरू आयोजना गर्दै आइरहेको सङ्गम उपाध्यक्ष सानु खनालले स्वागतका क्रममा बताउनुभयो ।

कार्यक्रमका क्रममा सङ्गमका पूर्व सदस्य स्व. खेम बानियाँलाई समेत सम्झना गरियो भने कार्यक्रममा शुभकामना मन्तव्यका क्रममा लघुकथा चौतारी मकवानपुरका संयोजक किशन पौडेलले आगामी दिनमा समेत लघुकथा लेखनमा चौतारीसँग सहकार्य गर्दै अघि बढ्ने अपेक्षा राख्नुभयो । यस्तै सङ्गमका सल्लाहकार तुलसी घिमिरेले साहित्य सङ्गमको स्थापनाले साहित्यिक क्षेत्रमा स्थापित स्रष्टाहरूको महत्वपूर्ण भूमिका रहेको जानकारी दिनुभयो ।

स्रष्टा सम्मानः भट्टराई र पुडासैनी सम्मानित
सम्मानित स्रष्टाद्वय शार्दूल भट्टराई र डा. दामोदर पुडासैनी ‘किशोर’ का सम्बन्धमा सङ्गमका सल्लाहकार सुवास खनालले परिचयात्मक मन्तव्य राख्नुभयो ।
जनसेवाश्री, पारिजात स्मृति सम्मान, महाकवि देवकोटा राष्ट्रिय सम्मान २०७९ आदिबाट सम्मानित शार्दूल भट्टराई सङ्गमद्वारा रू. २० हजार राशिको ‘गोपालप्रसाद स्मृति सम्मान २०८१’ बाट सम्मानित हुनु भएको छ । नाटक, कविता, अनुवाद, सम्पादन तथा समीक्षामा तल्लीन उहाँका ‘बाँसुरीको आतङ् (नाटकसङ्ग्रह)’ र ‘पुल खस्यो (कवितासङ्ग्रह)’ प्रकाशित छन् । विश्वप्रसिद्ध साहित्यकारमाथिका गहकिला लेखन गर्ने उहाँले ३ दशक बैङ्कका कर्मचारीका रूपमा बिताउनु भएको हो ।

साहित्य सङ्गम मकवानपुरका ३ कार्यकाल सचिव रहनुभ‌एका केशव श्रेष्ठ ज्योतिद्वारा स्थापित रू. २५ हजार राशिको ‘साहित्य सङ्गम मकवानपुर सम्मान २०८०’ द्वारा सम्मानित डा. दामोदर पुडासैनी ‘किशोर’ का ‘डोल्पो ओ डोल्पो’ कृतिमार्फत् सम्मानका लागि छनोट हुनु भएको हो । मन्तव्यका क्रममा उहाँले यस कृति लेखनका लागि डोल्पा जिल्लामा २ महिना बसाई गरेको र त्यहाँको कला, भाषा, संस्कृति र सामाजिक रितीथीतिबारे अध्ययन गरिएको बताउनुभयो ।
नमेटिएका चिठीहरू र गृष्मको निलो बतास मदन पुरस्कारका उत्कृष्ट कृतिको सूचीमा सूचिकृत पुडासैनीद्वारा लिखित कृतिहरू हुन् ‌। उहाँ लेखा परीक्षणमा नेपालको पहिलो पिएचडीसमेत हुनुहुन्छ ।

विगतमा साहित्य सङ्गममा ३ कार्यकाल सचिवको जिम्मेवारीमा भएका डा. केशव श्रेष्ठ ‘ज्योति’ ले साहित्यिक संस्थाहरूमा युवालाई नेतृत्व हस्तान्तरण गर्दै जानुपर्ने र सोहीअनुसारको सिकाइ रहनु पर्ने बताउनुभयो । साथै उहाँले साहित्यिक संस्थामा विभिन्न विचारका सर्जकहरूको सहभागिता हुन सक्ने तर त्यसले संस्थालाई भने राजनीतिबाट भिन्न राखिनुपर्ने विचार राख्नुभयो । उहाँले उपस्थित सबैका अतिथि र दर्शक/स्रोताका लागि २/२ थान पुस्तक उपहार समेत प्रदान गर्नुभएको थियो ।

हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा आयोजित सो कार्यक्रममा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले स्थानीय सरकारले साहित्य, कलालगायतको क्षेत्रमा आफूहरूले सक्दो सहयोग गर्ने र आगामी समयमा त्यसलाई अझ धेरै बढावा गर्दै लैजाने बताउनुभयो । साथै उहाँले विगतमा वडा अध्यक्षका रूपमा रहँदा स्ल्याब ढलान मात्रै विकास हो भन्ने भ्रम आफूमा रहेको र हाल त्यसमा परिवर्तन भएको साथै समाजले समेत त्यो सोचभन्दा माथि उठेर शिक्षा, साहित्य तथा कलाको विकास अझ दीगो विकास हो भन्नेतर्फ सकारात्मक भएर सोच्नुपर्ने सुझाव दिनुभयो ।

लघुकथाबारे बहसः ‘लघुकथाः सिद्धान्त र बाटो’
‘लघुकथाः सिद्धान्त र बाटो’ शीर्षकमा लघुकथाका संरचना तथा समीक्षालगायतका विषयमा बहस आयोजना गरिएको थियो । बहसमा लघुकथाकारत्रय चितवनका टीकाराम रेग्मी, नुवाकोटका दीपक लोहनी र काठमाडौँकी सुमन वर्षा सहभागी हुनुभयो । एसके निधन सहजकर्ता रहेको यस सत्रको अभिभावकत्व साहित्य सङ्गमका सल्लाहकार तुलसी घिमिरेले गर्नु भएको हो । बहसका क्रममा लघुकथाकार रेग्मीले लघुकथाको सुरूवात, मध्य र विचारको प्रयोग तथा यसको अन्त्यका तौरतरिकाबारे बताउनुभयो ।

यस्तै सहजकर्ता निधनले कथा, लघुकथा र सूत्रकथाको भेदबारे सोध्नुभएको सवालमा लघुकथाकार लोहनीले शब्दसीमा, कथाका गुण र अनावश्यक भावभङ्गी तथा व्याख्याका आधारमा कथाहरूको भिन्नात्मकता रहने बारे चर्चा गर्नुभयो ।

यस्तै लघुकथाकार सुमन वर्षाले लघुकथाका भिन्न स्वरुप रहेको र उठानका क्रममा राजनैतिक द्वन्द्व, समाजका विषयवस्तु, दैनिकीका कुराहरू जुनसुकै विषयवस्तु उठान गरेता पनि त्यसलाई निश्कर्षमा पुर्‍याएको छ वा छैन भन्ने विषयले पनि लघुकथाको भिन्नतालाई पहिचान गर्न सकिने बताउनुभयो ।

बहसका क्रममा लोहनीले लघुकथा पहिले लेखियो कि सिद्धान्त पहिले बन्यो भन्ने प्रश्नमा जुनसुकै लेखन पहिले हुने र सिद्धान्तमा हाल्ने काम पछि हुने बताइराख्दा सुमन वर्षाले लेखकले कसरी लेख्ने भनेर सूत्र हेरेर नलेख्ने बरू नवीन प्रयोग गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

लघुकथा वाचन सत्रः ‘लघुकथा मझेरी’
लघुकथा वाचनमा मकवानपुरका किशन पौडेल, रमेशमोहन अधिकारी, रामकुमार विष्ट ‘विष्ट अङ्कल’, श्याम श्रेष्ठ, मिथिला अधिकारी सहभागी हुनुभयो । यस्तै चितवनकी स्रष्टा रचना शर्मा, बैतडीका धनदेव जोशी, प्युठानका हरि जिसी, काठमाडौँका स्रष्टाद्वय किसान प्रेमी र केशव श्रेष्ठ ‘ज्योति’ ले आ-आफ्ना लघुकथाहरू सुनाउनुभयो । यस सत्रलाई सङ्गम कार्यसमिति सदस्य रजनी पौडेलले सहजीकरण गर्नु भएको हो । भीमविराग सङ्गीत कला साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष केशवलाल श्रेष्ठको अभिभावकत्वमा सञ्चालित यस सत्रपश्चात् रचना वाचन गर्ने स्रष्टा, सबै सत्रहरूमा सहजीकरण गर्ने सहजकर्ताहरूलाई धन्यवादपत्र वितरण गरियो ।

विशिष्ट आतिथ्य रहेको थियो भने साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा उहाँले विगतमाझैँ कार्यक्रम सम्पन्न गर्नका लागि उपस्थित दर्शक/स्रोता र सहयोगी संस्थाहरूको महत्वपूर्ण भूमिका रहेकोमा सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

हेटौँडा पार्टी प्यालेसमा आयोजित कार्यक्रमलाई सङ्गमका सचिव मनोज पोखरेलले सहजीकरण गर्नुभ‌एको हो ।

उषा शेरचनको नवीन पुस्तक ‘बेग्लै म’ बजारमा

जेठ १७, बिहिबार
साहित्यकार उषा शेरचनको नवीन पुस्तक ‘बेग्लै म’ पाठकमाझ आइपुगेको छ । जेठ १४ गते दोस्रो कथा सङ्ग्रह “बेग्लै म” फेसबुक लाइभबाट सार्वजनिक गरिएको हो ।

कथासङ्ग्रह तेस्रो रङ्ग १० वर्षअघि सोही दिन सार्वजनिक अवसरमा सो पुस्तक ल्याइएको र समाजमा रहेका उठाउनै पर्ने मुद्दामा केन्द्रित भएर कथाहरू लेखिएको साहित्यप्रेमी, शुभचिन्तक, साहित्यकार तथा पाठकहरूमा जानकारी गराउनु भएको छ । कथा लेखनमा अन्य विषयभन्दा धेरै अध्ययन र अनुसन्धान गर्नुपर्ने उहाँ बताउनु हुन्छ ।

पारिजात राष्ट्रिय प्रतिभा पुरस्कार, राष्ट्रिय मुक्तक पुरस्कार २०८० लगायत विभिन्न सम्मान र पुरस्कारबाट सम्मानित शेरचन पोखरामा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तसँग २०३५ सालमा टिकटमा मुक्तक अभियानका एक महत्वपूर्ण सदस्य समेत हुनुहुन्छ ।

उहाँका कथाहरूमा शेरचन नारीमाथिको उत्पीडन, प्रपञ्च र अत्याचारमा विद्रोह गर्नुपर्ने तथा प्रतिरोध गर्नुपर्ने सन्देशहरू पाइन्छन् । उहाँका ‘नजन्मेका आस्थाहरु’ (कविता सङ्ग्रह, २०४८), ‘अक्षरहरुका शिविरबाट’ (मुक्तक सङ्ग्रह, २०५६), ‘सर्वकालीन पीडा र जागृतिका शङ्खघोष’ (कविता सङग्रह, २०६३), ‘तेस्रो रङ्ग’ (कथा सङ्ग्रह, २०७०), ‘आधि’ (उपन्यास, २०८०) प्रकाशित छन् । शेरचन ‘खोलीको दुइ किनार भो’ लोकप्रिय गीतकी रचनाकार समेत हुनुहुन्छ भने उहाँका केही गीति एल्बमहरू सार्वजनिक भइसकेका छन् ।

राष्ट्रिय पर्या कविता प्रतियोगितामा उत्कृष्ट १० कविता छनोट

जेठ १६, बुधबार
नवसाहित्य अनलाइन । भरतपुर महानगरपालिकाद्वारा आयोजित राष्ट्रिय पर्या कविता प्रतियोगिता २०८१ को नतिजा सार्वजनिक गरिएको छ ।

निजी क्षेत्रसँग सहकार्यमा “घुमौँ भरतपुर” भन्ने मूल नाराका साथ पर्यटन क्षेत्रलाई प्रवर्धन गर्ने उद्देश्यले गरिएको वृहत अभियान “भरतपुर भ्रमण वर्ष २०२४” को सन्दर्भमा आयोजित पर्या कविता प्रतियोगिता २०८१ मा १० उत्कृष्ट कविताहरू सार्वजनिक भएका हुन् ।

छनोट भएका कवि तथा कविताहरू यसप्रकार रहेका छन्:
१. खगेन्द्र अटल (खगेन्द्रप्रसाद आचार्य): मान्छे र पृथ्वी
२. परिवेश चापागाईँ/परिवेश मुन्छे: भेन्टिलेटरको सहर
३. बुद्धीबल श्रेष्ठः परलोकको बाटो
४. भरत थापाः इन्द्रेणी सपना
५. मणिसुन्दर कोइराला (सुन्दर सिरिप): धरतीको बकपत्र
६. रेणुका जी सी: उभिएर आफ्नै चिहानमाथि
७. समर्पण न्यौपाने: अनन्त मुस्कान
८. सिजन श्रेष्ठ: पर्वतको यात्रामा
९. सुलभ अधिकारी: धरती रहेसम्म
१०. सुवास सिन्तान (सुवास सजल): चौतारोः एक आत्मालाप

१० कविहरूमध्ये दैलेख, चितवन, नेपालगञ्ज, धनकुटा, सिन्धुपाल्चोक, रौतहट, सङ्खुवासभा र नवलपरासीका १/१ तथा मकवानपुरका २ जना रहनु भएको छ ।

आगामी जेठ १९ गते शनिबार भरतपुर २२ स्थित अम्ब्रेला स्ट्रिट पटिहानीमा कविता वाचनका लागि सहभागिता रहने कार्यक्रम संयोजक तथा कवि भूपिनले जानकारी दिनु भएको छ ।

बैशाख २१ गते जारी सूचनाअनुसार कविता प्रेषणका लागि जेठ ११ सम्मको सिमा तोकिएको प्रतियोगिताका लागि कूल २४५ कवितामध्ये उत्कृष्ट १० कविता छनोटमा परेका हुन् । हरिया कविता लेख्नुपर्छ भन्दै पृथ्वीको सुन्दरताको बयान मात्र नभइ यसको रक्षाका विषयमा कला र साहित्यले जोड दिनुपर्ने बताउने यस कार्यक्रमका संयोजक कवि भूपिन प्रकृतिसम्बद्ध साहित्य सिर्जना र सोसम्बन्धी विभिन्न अभियानमा लामो समयदेखि संलग्न हुनुहुन्छ ।

प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार, द्वितीय २० हजार, तृतीय १० हजार र सान्त्वना २ जनाले जनही ५ हजारका साथै प्रमाणपत्र प्राप्त गर्नेछन् भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले जानकारी दिनु भएको छ ।

नेपाली लेखक सङ्घ चितवनको नेतृत्वमा शान्ति शर्मा

जेठ १६, बुधबार
नवसाहित्य अनलाइन । नेपाली लेखक सङ्घ चितवनको अध्यक्ष पदमा शान्ति शर्मा चयन हुनु भएको छ । यसअघि उपाध्यक्ष रहनु भएको उहाँ अध्यक्ष चयन हुनु भएको हो ।

चितवन साहित्य परिषद्की सचिव समेत रहनु भएको शर्मालाई आइतबार बसेको कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठकले सो नेतृत्व हस्तान्तरण गरेको हो । यसअघि साहित्य सर्जक सुरेन्द्र अस्तफल अध्यक्ष रहनु भएको थियो भने उहाँ केन्द्रिय सदस्य निर्वाचित हुनु भएपछि शर्मालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको थियो ।

सङ्घको चितवन शाखाको सचिवमा लेखराम सापकोटा, कोषाध्यक्ष मुरारीप्रसाद खनाल, सहसचिव पदमप्रसाद अर्याल तथा सदस्यहरूमा कमल अर्याल, शिवहरि अधिकारी, मित्रराज घिमिरे, राधा कोइराला, रामकृष्ण अनायास र सिम्रन क्षेत्री हुनुहुन्छ । साथै सल्लाहकार समितिमा डा. एकनारायण पौड्याल, केदारनाथ खनाल, रामबाबु घिमिरे र गायत्री श्रेष्ठ रहनु भएको छ । (तस्बिरः लेखराम सापकोटा)

मुक्तक मञ्च मकवानपुरद्वारा सुवासचन्द्र ढुङ्गेलका मुक्तकहरू प्रस्तुत

जेठ १५, मङ्गलबार
नवसाहित्य अनलाइन । मुक्तक मञ्च मकवानपुरले गीतकार/मुक्तककार सुवासचन्द्र ढुङ्गेललाई प्रस्तुत गरेको छ । हेटौँडामा एक कार्यक्रमबिच उहाँलाई एकल वाचन गराएको छ ।

२०७८ पौष १७ गते स्थापित मुक्तक मञ्च मकवानपुर शाखाले स्थापना कालदेखि नै जिल्लाभित्र र बाहिरका मुक्तककारहरूमार्फत् प्रस्तुति गराउने, मुक्तक लेखन कार्यशाला, प्रतियोगिता, पुरस्कार तथा स्रष्टा सम्मानका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । सोही क्रममा मङ्गलबार मुक्तककार ढुङ्गेलका मुक्तकहरू वाचन गराइएको हो ।

मुक्तक मञ्चका सहसचिव अजर फुयाँलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा ढुङ्गेलले दुइ सत्रमा विभाजन गरी राजनीति, युवा, आँशु, प्रेम, रोमान्ससम्बन्धी कूल ३० वटा मुक्तक वाचन गर्नुभयो । कवि मुरारी सिग्देलले स्रष्टा परिचय गराउनु भएको कार्यक्रममा मञ्चका सदस्यद्वय मुक्तककार मिथिला अधिकारी र कमल नेपालले ढुङ्गेलका ३/३ मुक्तकहरू वाचन गर्नुभयो । गीतकारको पहिचान बनाउनुभ‌एका ढुङ्गेलले नै अरूण थापाले गाउनुभ‌एको ‘चोट के हो व्यथा के हो ?’ गीत लेख्नुभ‌एको हो भने उहाँका ‘जति चोट दिन्छौ देऊ मायालु’, ‘फूल झरे पनि काँडा झर्दैन’, ‘चिता बनाई जलाई नदेऊ’ लगायत ३ सय बढी गीतहरू रेकर्ड भ‌एका छन् ।

मुक्तककार ढुङ्गेलले वाचन गर्नुभ‌एका केही मुक्तकहरू यहाँ प्रस्तुत गरिएको छ ।
०००
कोही कोही मान्छे यहाँ भगवानभन्दा कृपालु पाएँ
केही कोही मान्छे गोमन साँपजस्तै विषालु पाएँ
यो अनुभव भन्ने चिज पनि अचम्मको हुँदो रहेछ
छोरीभन्दा आमाहरू नै आँखा जुधाउन सिपालु पाएँ ।

०००
पानीमा मैले तिम्रो नाम लेख्दा लेख्दै मेटियौ फेरि
चन्द्रमा हेर्दै थिएँ बादल भित्र लौ छेकियौ फेरि
माया गर्दिन भन्यौ मलाई सबको सामु झर्किएर
मेरो नामको ट्याटु तिम्रो पाखुरीमा देखियो फेरि ।

०००
कुवाको होस् वा झरनाको पानीको काम प्यास मेट्ने त हो
सडक होस् वा मेरो छाति तिम्रो पैतालाको काम टेक्ने त हो
तरबारसँग भागेर फूलको नजिक पुगेँ म, बल्ल सम्झेँ
फूलको होस् या तरबारको धारको काम रेट्ने त हो ।

०००
तिमीसँग झरीमा चङ्गा उडाउने हिम्मत हुनुपर्छ
पानीमा पनि आगो सल्काउने हिम्मत हुनुपर्छ
भिडको पछि त सबै लाग्छन् महाशय
तिमीसँग भिडलाई पछि लगाउने हिम्मत हुनुपर्छ ।

०००
एकै दिनमा जानुपर्छ जन्त र मलाम कहिलेकाहीँ
फूल बन्छ यहाँ मन र बन्छ फलाम कहिलेकाहीँ
अनुहारमा पटक पटक थुक्न मन लाग्ने मान्छेलाई पनि
यो जिन्दगीको उद्घोष गर्नुपर्छ सलाम कहिलेकाहीँ ।

०००
(मुक्तकका क्रममा सचिव सुबास सजलले गीत र मुक्तकमध्ये मुक्तकचाहीँ किन कडा भएको भनी सोध्नु भएको प्रश्नमा उहाँले मुक्तकबाट जवाफ दिनु भएको थियो ।)
हेर्दै नहेरी नपिऊ यहाँ विष भरिएको सुनको घडा हुन्छ
ठुलाले हत्या बलात्कार गरे यहाँ नक्कली दोषी खडा हुन्छ
गीत जस्तै कोमल भावको मुक्तक लेख् सुवास भन्छन्
ढुङ्गाको हृदय फोड्नुपर्छ र त मेरो मुक्तक कडा हुन्छ ।

०००
१५ वर्षदेखि अरूण थापाको स्मृतिमा काठमाडौँमा आफैँले कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउनुभयो । थापाले गाएका ३६/३७ गीतमध्ये अधिकांश चर्चित रहेको र थापालाई केवल ‘ड्रगिस्ट’ का रूपमा चिनाइएकोले उनको योगदान पछि पारिएको र स्रष्टालाई उसको सिर्जनाले नै चिनिनुपर्ने बताउनुभयो । उहाँले वारेन बफेट, मार्गरेट थ्याचर, शिव खेरा, राहत इन्दोरीलगायतका व्यक्तित्वहरूको प्रेरणादायी विचारहरूमार्फत् आज वाचन भएका मुक्तकहरू सिर्जना गरेको बताउनुभयो ।

कार्यक्रममा गायकहरू अञ्जन दाहाल र कृष्णगोपाल सिंहले ढुङ्गेलद्वारा लिखित गीतहरू गाउनु भएको थियो । यस्तै सल्लाहकार तथा निवर्तमान अध्यक्ष डीबी बर्तौलाले स्थापना कालदेखि श्रीवृद्धीमा साहित्य सर्जक, साहित्य सेवीहरूको सहयोगले मुक्तक मञ्च परिपक्व हुँदै ग‌एको बताउनुभयो । साधारण तथा आजीवन सदस्यताका लागि अनुरोध गर्दै एकल वाचन, संयुक्त वाचन, प्रशिक्षणमा नवपुस्तालाई समेत जोड्दै आएको र मुक्तकले समेत गीत गजलको झैँ बजार प्राप्त गर्ने शुभेच्छा व्यक्त गर्नुभयो । मुक्तकको श्रीवृद्धीमा लागिरहनुभ‌एका स्रष्टा सुवासचन्द्र ढुङ्गेल नवपुस्तालाई प्रशिक्षणसम्मका कार्यक्रम मुक्तकको बजार स्थापना होस् भन्ने अपेक्षा राख्नुभयो ।

कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्य रहेको थियो । उहाँले मुक्तकको इतिहास खोज्दा ऋग्वेदका शुक्तिहरूमा मुक्तकीय संरचना पाइने तथा नेपालका ‘आदि मुक्तककार’ शक्तिबल्लभ अर्ज्याल (१८२० दशक) को ‘तनहुँ भकुण्डो’ बारे विषय उठान गर्नुभयो । आधुनिक मुक्तक प्रणेताका रूपमा भीमदर्शन रोक्कालाई लिइने बताउँदै उहाँले मुक्तक एक स्थापित विधाका रूपमा रहेको जानकारी दिनुभयो ।

मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिनाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा उहाँले मुक्तकमा गायनलाई जोड गर्दै आइरहनु भएको छ भने उहाँले मुक्तक लेखन, वाचन, प्रशिक्षण र सम्मानलगायतका कार्यक्रममा सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा मुक्तककार ढुङ्गेल र प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरियो । रेड पाण्डा क्याफेमा सञ्चालित कार्यक्रमलाई मुक्तक मञ्च मकवानपुरका सचिव सुबास सजलले सहजीकरण गर्नु भएको हो ।

आचार्य र पौडेलको स्वरमा ‘उठ हे युवा’ गीत सार्वजनिक

जेठ १५, मङ्गलबार
नवसाहित्य अनलाइन । पुरूषोत्तम आचार्यद्वारा लिखित ‘उठ हे युवा’ बोलको गीत लेखक स्वयम् र हरि पौड्यालको स्वरमा सार्वजनिक गरिएको छ । औपचारिक कार्यक्रमका क्रममा अओ गीत प्रत्यक्ष गायनका साथ सार्वजनिक गरिएको हो ।

सार्वजनीकिकरणमा ३ टिप्पणीकर्ताहरूले गायन र सिर्जनामाथि बोल्नुभ‌एको थियो । सोहीक्रममा नवसर्जक नेपालका महासचिव समर्पण न्यौपानेले गीतले युवाको भूमिका, क्रान्तिका कुरा, परिवर्तनका मुद्दा उठान गर्नुका साथै आम मानिसका जनजीविकाका कुराबारे बोलेको छ उहाँले शाब्दिक त्रुटी सुधार हुनुपर्ने विषयबारे टिप्पणी गर्नुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग सदस्य शान्ति प्रियबन्दनाले गीतले देश र युवाको समस्या उठान गरेको र शब्दहरूले मष्तिष्कलाई छोएकोले यस्तै वा अझ सशक्त सिर्जना भविष्यमा पनि आउने अपेक्षा रहेको बताउनुभयो ।

साहित्य सङ्गम तथा नवसाहित्य अनलाइनका सल्लाहकार श्यामकुमार बानियाँले कविता, गजल, गीत लेखनका साथसाथै गायनमा समेत सक्रिय आचार्यका ‘म हुँ पुतली’, ‘घाम त झुल्क्यो’, ‘उठ हे युवा’ गीतहरूले उहाँको परिचय बनिसकेको र भविष्यमा अझ सुन्दर सिर्जना हुने अपेक्षाका साथ रेकर्डिङमा शब्दलाई सङ्गीतले न्याय गर्न नसकेको आफूले महशुस गरेको बताउँदै गीतमाथि आफ्ना टिप्पणी राख्नुभयो ।

साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाले आशा जगाउने गीतमार्फत् युवालाई यही माटोमा रहेर आफ्नो कर्म गर्न प्रेरित गर्ने कालजयी गीत बनेको बताउँदै समपूर्ण साहित्यिक संस्थाका तर्फबाट प्रतिनिधित्व गर्दै शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रमका क्रममा गायकद्वय हरि पौड्याल र पुरूषोत्तम आचार्यले ‘उठ हे युवा’ गीत गाउनुभ‌एको थियो ।

गीतकार तथा कार्यक्रमका प्रमुख अतिथि सुवासचन्द्र ढुङ्गेलले दिनेश अधिकारीको गीतका हरफ वाचन गर्दै काठमाडौँमा समेत गीतमाथि यसरी चर्चा कमै हुने गरेको बताउँदै गीतको शब्दको तौल अनुसार सङ्गीत र गायनले त्यसलाई अझ सुन्दर बनसुनर भन्दै गुल्जार र जगजीत सिंहका प्रसङ्गहरू जोड्नुभयो । उहाँले
देशभक्तिका गीत सुन्ने चलन हराइरहेको ‘ड्राइ एरिया’ मा गीत निर्माण हुनु नै सर्जकहरूको सफलता रहेको बताउनुभयो । ढुङ्गेल विगत ४५/४६ वर्षदेखि गीत लेखनमा सक्रिय हुनुहुन्छ भने ‘जति चोट दिन्छौ देऊ मायालु’, ‘चोट के हो व्यथा के हो’ लगायत सयौँ गीतका स्रष्टा समेत हुनुहुन्छ ।

सर्जक सञ्जाल मकवानपुरका संयोजक तथा कार्यक्रमका सभाध्यक्ष निमेष निखिलले मानव संवेदनासँग सबैभन्दा सजिलै जोडिने साहित्य, गीत, सङ्गीतका रचना भ‌एकोले आचार्य तथा पौडेलका सो गीतले अज परिवर्तनको बाहक बन्ने अपेक्षाका साथ उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा मकवानपुर आसपासका साहित्य सर्जक, साहित्य सेवी, विभिन्न कार्यालयका कर्मचारी, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

गाउँमा घाँसका भारी बोक्दै गीत सिर्जना र गायन गर्दै आएको बताउँदै गायक आचार्यले गीत सिर्जनाका लागि आरम्भ सी, वाद्यवादक, एरेञ्जरका साथै कार्यक्रम स्थल निशुल्क उपलब्ध गराउने रोयल प्यालेस तथा सर्जकहरूको प्रेरणा र आत्मियता अनि निरन्तरको सम्बन्ध नै आफ्नो सिर्जनामा प्रेरणा मिलेकोमा सबैमा धन्यवाद व्यक्त गर्नुभयो ।

वर्षातका कारण तोकिएको समयभन्दा केही ढिला सुरू भ‌एको कार्यक्रम समयमैँ सकिएको आयोजकले जनाएको छ भने सो कार्यक्रमलाई पत्रकार तथा गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणले सहजीकरण गर्नुभ‌एको हो ।

सिक्किमका कवि राई पोएट आइडल-३ विजयी

जेठ १४, सोमबार
नवसाहित्य अनलाइन । ‘द पोएट आइडल’ सिजन २ को ग्य्राण्ड फिनालेमा सिक्किमका कवि शिमियोन सुकिता राई विजयी हुनु भएको छ । तीन प्रतिस्पर्धीलाई पछि पार्दै शिमियोन विजेता बनेका छन् । विजेता घोषणा भएसँगै कवि राईले १० लाख रुपैयाँ र अन्य सुविधाहरु पनि प्राप्त गरेका छन् ।

‘द पोएट आइडल’ सिजन २ को शनिबार आयोजित ग्य्राण्ड फिनालेमा धादिङकी कवयित्री डा. मुस्कान पोखरेल, धनगढीका कवि मोहित जोशी, इलामका कवि विजय लुइँटेलले पनि ट्रफी र अन्य उपहारहरु प्राप्त गर्नु भएको छ ।

राईले नगद पुरस्कारका साथै एभरेस्ट फिल्म कलेजबाट १ वर्षको स्नातक अध्ययनको छात्रवृत्ति, कथालयसँग पुस्तकको सम्झौता, उत्पला क्याफेको तर्फबाट १ लाखको गिफ्ट भौचर प्राप्त गर्नुभयो ।

माघ २९ गतेदेखि हिमालय टिभीमा प्रसारण हुँदै आएको रियालिटी शो ‘द पोएट आइडल-२’ अमन प्रताप अधिकारीको निर्देशन र दिव्यदेव पन्त प्रस्तुतिमा सञ्चालन भइरहेको छ । कार्यक्रमका निर्णायकहरुमा विप्लव प्रतिक, अनुप बराल, उपेन्द्र सुब्बा र केकी अधिकारी हुनुहुन्थ्यो ।

‘द पोएट आइडल-१’ को विजेता सिक्किमकै कवि निलम गुरुङ बनेकी थिइन् ।

जेठ ३१ गते शुक्रबारदेखि तेस्रो सिजनको प्रसारण सुरु हुने भएको छ । फिनालेका क्रममा ‘भ्वाइस किड्सको सिजन ३’ को प्रोमो देखाइएको थियो भने तीन सिजनसम्म हिमालय टिभीमैँ प्रशारण हुने निर्देशक अधिकारीले जानकारी दिनु भएको छ ।

कवि पुरूषोत्तम आचार्यको उठ हे युवा गीत आउँदै ।

जेष्ठ १४,मकवानपुर । नवसाहित्य अनलाइन ।
कवि पुरूषोत्तम आचार्य पछिल्लो गीत “उठ हे युवा” लिएर आउँदै हुनुहुन्छ ।
सर्जक संजाल मकवानपुरले आचार्यको गीत एक समारोह आयोजना गरेर सर्वाजनिकीकरण गर्न लाएको हो ! पुरूषोत्तम आचार्यको रचना तथा सङ्गीत रहेको गीतमा पुरूषोत्तम आचार्य, हरि पौड्याल, आरोह सी को आवाज रहेको छ । गीतवारे श्यामकुमार बानियाँ, शान्तिप्रिय वन्दना, समर्पण न्यौपाने लगायतको टिप्पणी रहने छ । कार्यक्रम रोयल पार्टी प्यालेसमा जेठ १५ गते बिहान ७:३० मा हुनेछ ।

आचार्यका ‘भोको मझेरी’ मुक्तक सङ्ग्रह (२०६८), ‘मुटु र गीतहरू’ गीती सङ्ग्रह (२०७०), ‘Roaring Flames’ (संयुक्त कवितासङ्ग्रह २०७७), ‘छैनौ कसोरी तिमी’ ‘जुनेली’ (खण्डकाव्य २०७९) का साथै विभिन्न फूटकर रचनाहरू प्रकाशित छन् । यसअघि ‘घाम त झुल्क्यो’ गीतको एल्बम सार्वजनिक भैसकेको छ ।