Home Blog Page 27

राष्ट्रिय कविता प्रतियोगितामा मकवानपुरका दुई कवि पुरस्कृत।

जेष्ठ १३, मकवानपुर । नवसाहित्य अनलाइन ।

रोल्पा नगरपालिका, नगर साहित्य, कला तथा सङ्गीत प्रतिष्ठान रोल्पाले आयोजना गरेको रोल्पा सिर्जना महोत्सवको पाँचौ संस्करण अन्तर्गत पाँचौ राष्ट्रिय कविता प्रतियोगितामा मकवानपुरका दुई कवि अनिता न्यौपाने (तृतीय) र सुबास सजल (सान्त्वना) स्थान हासिल गरेका हुन् भने सिराहा जिल्लाका अविनाश भट्टराई (प्रथम), नवलपरासीका अन्जान (द्वितीय) साथै दैलेखका दिपिन सिजापती (सान्त्वना) स्थान प्राप्त गरेका छन्।

देशभरीबाट १ सय ६३ जना कविहरुले कविता उपलब्ध गराएको र त्यसमध्ये उत्कृष्ट १० कवितालाई राष्ट्रिय प्रतियोगिताको लागि छनोट समितिले समावेश गरेको थियो भने १० उत्कृष्ट कविलाई पछाडि पार्दै भट्टराई प्रथम भएका हुन् ।भट्टराईले ‘देशजस्तो’ शिर्षक कविताबाट प्रथम भइ नगद रु ४० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

नवलपरासीका अन्जान प्रतीकले ‘स्याण्डग्लासःसृष्टिको काउन्ट डाउन’ शिर्षक कविताबाट द्वितीय भइ नगद रु ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । मकवानपुरका अनिता न्यौपानेले ‘हल्ला नगर्नुस् न, नानीहरू खेलिरहेछन्’ शिर्षक कविताबाट तृतीय भइ नगद रु.२० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरे । दुई जना मध्ये एक जना मकवानपुरका सुवास सजलले ‘ऐँठन’ शिर्षक कविताबाट सान्त्वना भइ नगद रु १० हजार सहित प्रमाणपत्र प्राप्त गरे । यस्तै अर्का दैलेखका दिपिन सिजापतीले “इच्छापत्र” शिर्षक कविताबाट सान्त्वना भई नगद रु १० हजार र प्रमाणपत्र प्राप्त गरे ।

निर्णायक मण्डलमा दिनेश अधिकारी, केशव सिलवाल र प्रभा भट्टराई रहनु भएको आयोजकले जानकारी दिएको छ । राष्ट्रिय कविता प्रतियोगिता जेठ ११ र १२ गते लिबाङ र सातदोबाटोमा आयोजना भएको थियो। राष्ट्रिय कविता प्रतियोगितामा विजय भएका कविहरुलाई रोल्पा नगरपालिका,नगर साहित्य,कला तथा साङ्गीत प्रतिष्ठान रोल्पाका अध्यक्ष नवीन लोचन मगर , रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र थापा घर्ती र रोल्पा नगरपालिकाका उपमेयर गीता आचार्यले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

भक्त स्याङ्तानको कथासंग्रह “डम्फुको आत्मालाप” माथि हेटौँडामा परिचर्चा ।

हेटौँडाः भक्त स्याङ्तानको कथासंग्रह “डम्फुको आत्मालाप” माथि हेटौँडामा परिचर्चा कार्यक्रम भएको छ । किताबघर हेटौँडाको आयोजनामा बिहिबार हेटौँडामा परिचर्चा कार्यक्रम भएको हो । २०८० असारमा प्रकाशन भएको कथासंग्रहमाथि लेखक भक्त स्याङ्तानसहित समीक्षक घनश्याम घिमिरेले परिचर्चा गर्नुभएको थियो । पत्रकार सुरेश श्रेष्ठले सहजीकरण गर्नुभएको कार्यक्रममा पाठकको प्रतिक्रियाको रुपमा साहित्यकार यश लामा र साहित्यकार एवम् मकवानपुरको राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष वनस्थम थिङले पनि प्रतिक्रिया जनाउनुभएको थियो । तामाङ समुदायको कथालाई सुन्दर तरिकाले संग्रहित गर्न सफल भएको भन्नुहुँदै समीक्षक घिमिरेले सरल र प्रभावकारी भाषा, शैलीमा कथा प्रस्तुत गर्न लेखक सफल भएको बताउनुभयो । उहाँले कथासंग्रहमा समेटिएका ११ मध्ये ५ कथा उत्कृष्ट भएको र अन्य कथा पनि पठनीय रहेको बताउनुभयो । लेखक भक्त स्याङ्तानले तामाङ समुदायको दुख र पीडालाई कथामा समावेश गरिएको बताउनुभयो । लेखक स्याङ्तानले कथासंग्रहमा समावेश कथाहरुलाई आफूले शब्दमा व्याख्या गर्न नसक्ने उल्लेख गर्नुहुँदै उहाँले पाठकलाई कथा पढेर कथालाई बुझ्न आग्रह गर्नुभयो । “डम्फुको आत्मालाप” सांग्रीला पब्लिकेसन्स्ले प्रकाशन गरेको हो । कथाकार र समीक्षकसँगको परिचर्चा कार्यक्रम पत्रकार सुरेश श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।

सञ्जय साह मित्रको बुद्ध महाकाव्य गौरमा विमोचन

जेष्ठ १०, रौतहट ।

नवसाहित्य अनलाइन । रौतहटको गौरमा जेष्ठ १० गते बिहीबार सञ्जय साह मित्रको बज्जिका भाषाको महाकाव्य बुद्ध विमोचन गरिएको छ । आकृति क्रिएसन प्रालिको आयोजना तथा बज्जिका साहित्य सङ्गम रौतहटको संयोजनमा विमोचन कार्यक्रम भएको हो ।

गौर नगरपालिकाका प्रमुख शम्भु साहले बज्जिका भाषामा लेखिएको नेपालको पहिलो महाकाव्य बुद्धको विमोचन गरेका थिए । महाकाव्य विमोचन गर्दै उनले भने–“मैले बज्जिका पहिलोचोटि सञ्जय साह मित्रबाट सुनेको हुँ । नेपालमा पहिलो महाकाव्य विमोचन गर्न पाउँदा औँधी खुसी लागेको छ । नगरपालिकामा बज्जिका भाषा पढाइ भइरहेको छ, अझ व्यवस्थित गर्नुपर्छ । बज्जिका भाषा र साहित्यबारे के कति गर्न सकिन्छ भन्ने विषयमा विमर्श गर्छु ।”

कार्यक्रममा डा. कम्लेश्वर सिंन्हा, शिवचन्द्र शाह, शैलियादेवी ठाकुर, रेणु गुप्ता, हरी ब. जिसी, सञ्जय सुदामालगायतको आतिथ्यतथा रहेको थियो ।

२०६१ मा पहिलोपल्ट बज्जिका भाषामा कृति प्रकाशन गरी नपालकै पहिलो बज्जिका भाषाको कृतिकार बनेका साहका अहिलेसम्म ११ वटा कृति प्रकाशित गरीसकेका छन् ।

आकृति क्रिएसन प्रालिका राम अविकासको अध्यक्षतामा भएको विमोचन कार्यक्रमको सहजीकरण किशुनदयाल यादवले गरेका थिए ।

नवसर्जक चौतारीको कार्यशाला तथा एकाइ समिति घोषणा

जेष्ठ ९, बुधबार । नवसर्जक सहित्य चौतारी नेपालको आयोजनामा लघुकथा लेखन कार्यशाला एवम् एकाइ समिति घोषणा कार्यक्रम सम्पन्न भएको छ । चौतारीकी सचिव युकिसा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका, ४ नं. वडाका वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सामुदायिक एवम् संस्थागत गरी मकवानपुरका २३ विद्यालयको सहभागिता रह्यो । कार्यक्रमको मुख्य आकर्षण लघुकथा लेखन कार्यशालाको सहजीकरण सर्जक सञ्जाल मकवानपुरका संयोजक एवम् संस्थाका सल्लाहकार निमेष निखिलद्वारा गरियो । अन्तरक्रियात्मक कार्यशालामा देश / विदेशका उत्कृष्ट लघुकथाको उदाहरण दिँदै लघुकथामा सूत्रात्मक, रहस्यमूलक र व्यङ्ग्यात्मक/व्यञ्जनात्मक लेखनलाई प्राथमिकता दिनुपर्ने प्रशिक्षक निखिलले बताउनुभयो । कार्यशालामा उपस्थित नवसर्जकले दिइएको विषयवस्तुमा आआफ्नो मौलिक कथ्यशैली प्रयोग गरी कार्यक्रम स्थलमा नै लेखिएका लघुकथा सुनाएका थिए । दोस्रो सत्रमा संस्थाका संरक्षक एवम् परिकल्पनाकार दीपक गौतमद्वारा एकाइ समिति घोषणालाई सहजीकरण गर्नुभयो । यो सत्रमा तुल्सीमेहर मा.वि., बालज्योति मा.वि., आधुनिक राष्ट्रिय मा.वि., जनजागृति मा.वि., हेटौँडा एकेडेमी, प्रगति मा.वि., तासिर इङ्लिस बोर्डिङ स्कुल, नवोदय शिशु सदन, अमर मा.वि., जी.एस. निकेतन मा.वि., चन्द्रोदय मा.वि., मकवानपुर बाल विद्या सदन, कमाने एकेडेमी, वनदेवी मा.वि., ज्योति मा.वि., हेटौँडा मोर्डन आवासीय मावि, सिद्धार्थ मा.वि., सिद्धार्थ शिशु सदन, जनज्योति मा.वि., श्रमिक मा.वि., बालजागृति इङ्गलिस सेकेन्डरी स्कुल, जनप्रिय मा.वि. र ब्रह्मदिक् एकेडेमी गरी २३ विद्यालयका एक/एक जना सम्पर्क शिक्षक र एक जना विद्यार्थी संयोजक रहने गरी हरेक विद्यालयको नाममा ७ सदस्यीय नवसर्जक एकाइ समिति’ गठन गरियो । यसै सत्रमा संस्थाले आगामी शुक्रबारबाट जुममार्फत् सञ्चालन गर्ने नवसर्जक पाठशाला (अनलाइन प्रशिक्षण कार्यक्रम) को आइडी र पासकोड पनि प्रदान गरियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी सल्लाहकार एवम् ब्रह्मदिक् एकेडेमीकी सहायक प्रधानाध्यापक अर्चना दाहालले राख्नुभयो । साहित्यिक संस्थाको तर्फबाट सिस्नुपानी मकवानपुर नेपालका अध्यक्ष राजकुमार लामिछानेले मन्तव्य राख्नुभयो । सहयोगी विद्यालय ब्रह्मदिक् एकेडेमीका प्रधानाध्यापक रामबाबु सापकोटा, प्रमुख अतिथि नवीन सिग्देल लगायतले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रम करिब तीन घण्टा सञ्चालन भयो । संस्थाका महासचिव समर्पण न्यौपानेद्वारा सञ्चालन गरिएको कार्यक्रममा सल्लाहकार एवम् साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डि.बी. बर्तौलाले आभार मन्तव्य राख्नुभयो । सहजकर्ता र सहयोगी विद्यालयलाई आभार पत्र वितरण गरिएको थियो । ब्रह्मदिक् एकेडेमीको सभाहलमा आयोजित कार्यक्रममा सहभागीका लागि आवश्यक स्टेशनरी सौजन्य जी.एस. निकेतन मा.वि.ले गरेको थियो । चौतारीले यही जेठ ११ गते शुक्रबारदेखि तेस्रो चरणको अनलाइन साहित्यिक प्रशिक्षण अभियानलाई पुनः सञ्चालन गर्न लागिएको जानकारी गराएको छ ।

यो साता मकवानपुरमा हुने साहित्यिक/साङ्गीतिक गतिविधिहरू

जेठ ८, मङ्गलबार
नवसाहित्य अनलाइन । यो साता मकवानपुरमा आयोजना हुँदै गरेका केही साहित्यिक गतिविधिबारे हामीले जानकारीमूलक सामग्री तयार पारेका छौँ ।

जेठ ९:
नवसर्जक साहित्य चौतारीद्वारा लघुकथा लेखन कार्यशाला आयोजना गरिने भएको छ । जेठ १० गते बिहान ११:०० बजे कक्षा ६ देखि १२ सम्मका विद्यार्थीकेन्द्रित यस कार्यशाला ब्रह्मदिक एकेडेमीमा हुन लागेको हो । अनलाइन तथा भौतिक विविध माध्यमबाट लेखन, वाचन तथा प्रतियोगितात्मक कार्यक्रमहरूमा सक्रिय यस संस्थाले नवसर्जकहरूमा साहित्यसम्बन्धी चासो र लेखन कलाको विकासका विविध कार्यक्रमहरू गर्दै आइरहेको छ ।

जेठ १०:
किताबघरले यो साता भक्त स्याङ्तानको कथा सङ्ग्रह ‘डम्फुको आत्मालाप’ माथि परिचर्चा कार्यक्रम आयोजना गर्ने भएको छ । समीक्षक घनश्याम घिमिरेको समीक्षा रहने कार्यक्रम जेठ १० गते दिनको ३:०० बजे रोयल प्यालेस हेटौँडामा गर्न लागेको हो ।

जेठ १२:
साहित्य सङ्गम मकवानपुरको आयोजनामा विशेष कविता वाचन कार्यक्रम हुने भएको छ । सङ्गमको ३४३औँ नियमित साहित्य सन्ध्याका क्रममा पत्रकार रामकुमार एलनका कविताहरू सुन्न पाइनेछ । जेठ १२ गते बिहान ११:०० बजे साहित्य सङ्गम तथा सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त सभाहलमा सो कार्यक्रम आयोजना हुन लागेको हो ।

मकवानपुरका ३ कविहरू रोल्पा कविता प्रतियोगितामा उत्कृष्ट १० भित्र

जेठ ९, मङ्गलबार
नवसाहित्य अनलाइन । रोल्पा नगरपालिका, नगर साहित्य, कला तथा सङ्गीत प्रतिष्ठान, रोल्पाको आयोजनामा यही जेठ ११ र १२ गते रोल्पाको लिवाङमा रोल्पा सिर्जना महोत्सव आयोजना हुँदैछ ।

पाँचौँ संस्करणको सो कार्यक्रमका क्रममा रोल्पा कविता प्रतियोगिताका लागि कूल १६३ कवितामध्ये पहिलो मूल्याङ्कनबाट उत्कृष्ट १० कविताहरू छनोट भएका छन् ।

छनोट भएका कविताका सर्जकहरू मकवानपुरका ३ जना अनिता न्यौपाने (हल्ला नगर्नुस् न, नानीहरू खेलिरहेछन्), संगीता थापामगर (तिलहरी) र सुबास सजल (ऐँठन) रहनु भएको छ ।

यस्तै अन्य सर्जकहरूमा अन्जान प्रदीप, अविनाश भट्टराई, अनिल अदृष्य, दिपिन सिजापति, श्रवनकुमार नेपाली, रेणुका जिसी र दिपेश थापा रहेका छन् ।

हाल उत्कृष्ट १० मा सफल भएका कविहरू अन्जान प्रदीप र अनिल अदृष्यका कविता अघिल्लो सँस्करणमा समेत उत्कृष्ट घोषित भएका थिए । तत्पश्चात् अञ्जान प्रदीप सान्त्वना हुनु भएको थियो । यस्तै तेस्रो सँस्करणमा तृतीय स्थान प्राप्त सुरज पराजुली चौथो सँस्करणमा १६५ कवितामध्ये ‘अभिनय’ कवितामार्फत् सर्वोत्कृष्ट घोषित हुनु भएको थियो ।

प्रकाशित सूचनामा यसअघि प्रकाशन गरिएको उत्कृष्ट दश सूचिमा सम्मिलित एउटा कविता प्रतियोगिताको मापदण्ड विपरीत पहिले नै अर्को कुनै प्रतियोगितामा भाग लिई पुरस्कृत समेत भएको उजुरी (प्रमाण) का आधारमा सूचीबाट हटाएर वैकल्पिकमा रहेको पहिलो कवितालाई दश कविता सूचिमा समावेश गरिएको जानकारी गराइएको छ ।

८० हजार राशिको राष्ट्रिय पर्या कविता प्रतियोगिताको समय २ दिन बाँकी

जेठ ९, मङ्गलबार
नवसाहित्य अनलाइन । भरतपुर महानगरपालिकाद्वारा राष्ट्रियस्तरको पर्या कविता प्रतियोगिताका लागि कविता माग गरिएको छ ।
प्रथम पुरस्कार ३० हजार, द्वितीय २० हजार, तृतीय १० हजार तथा प्रोत्साहन पुरस्कार २ जनालाई जनही ५/५ हजार पुरस्कार राशि रहेको सो प्रतियोगिताका लागि प्रकृति, पर्यावरण, पर्यटन र संरक्षण चेतनामा आधारित कविता माग गरिएको हो ।
जेठ ११ गते साँझ ५:०० बजेभित्र पठाइसक्नुपर्ने कविताको साथमा कविहरूले नेपाली नागरिकताको प्रतिलिपि अनिवार्य पठाउनुपर्ने तथा कविता पूर्व प्रकाशित/प्रसारित हुन नहुने सूचनामा उल्लेख छ ।
प्राप्त कवितामध्ये महानगरले १० कविहरूलाई वाचनका लागि आमन्त्रण गरिने आयोजकले जानकारी दिएको छ । जिल्लाबाहिरका कविहरूलाई खाना, आवास र बस भाडाबापत नियमानुसार २ दिनको दैनिक भ्रमण भत्ता उपलब्ध गराइने सूचनामा उल्लेख गरिएको छ ।

विद्यार्थीकेन्द्रित लघुकथा लेखन कार्यशाला हुँदै

जेठ ८ मङ्गलबार
नवसाहित्य अनलाइन । नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रिय समितिले विद्यार्थीकेन्द्रित लघुकथा लेखन कार्यशाला आयोजना गर्ने भएको छ ।

कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरू सहभागी गराइने कार्यशालाका क्रममा एकाइ समिति घोषणा कार्यक्रम समेत गराइने आयोजकले जानकारी दिएको छ ।

कार्यशालाका लागि इकाइ समिति मार्फत् आगामी दिनमा अनलाइन/अफलाइन माध्यमबाट नियमित साहित्यिक प्रशिक्षणमा सहभागी गराई बालबालिकालाई थप सिर्जनशील बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको संरक्षक दीपक गौतमले जानकारी दिनु भएको छ ।

जेठ १० गते ब्रह्मदिक एकेडेमीमा आयोजना गरिने कार्यक्रमका लागि प्रतिविद्यालय रु. ५ सय शुल्क लाग्ने र यसका लागि संस्थागत विद्यालयतर्फ दीपक गौतम तथा सामुदायिक विद्यालयतर्फ डिबी बर्तौलालाई सम्पर्क व्यक्ति तोकिएको छ ।

नवसर्जक साहित्य चौतारी साहित्य लेखनमा विद्यालय तहदेखि नै सहभागिताका लागि प्रशिक्षण, रचना वाचन, लेखन लगायतका कार्यमा सक्रिय संस्था हो । जसलाई नवसर्जकहरूले नै नेतृत्व गरी नियमित कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छन् ।

कविडाँडा साहित्य समाजको २१औँ वार्षिकोत्सवमा खनाल, क्षेत्री र चापागाईँ सम्मानित हुँदै

जेठ ५, शनिबार
नवसाहित्य अनलाइन । कविडाँडा साहित्य समाज, चितवनले जेठ ६ गते आफ्नो २१औँ वार्षिकोत्सव आयोजना गर्दैछ । संस्थाले सो कार्यक्रममा चितवनका ३ स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार समेत अर्पण गर्नेछ ।

कार्यक्रममा ‘कविडाँडा देव-खिना स्मृति पुरस्कार २०८१’ बाट खनाल रेवतीरमण सम्मानित हुनुहुनेछ । ‘कविडाँडा वाङ्मयी युवा प्रतिभा पुरस्कार २०८१’ बाट ‘झुमर’ उपन्यासकी कृतिकार सिम्रन क्षेत्री सम्मानित हुनुहुनेछ । २०७९ सालमा यस पुरस्कारबाट गजलकार तथा साहित्य अभियानकर्मी लेखराम सापकोटा सम्मानित हुनु भएको थियो । कविडाँडा अविनाशी कृति पुरस्कार २०८० बाट ‘कमिलाको प्वाँख’ कविता सङ्ग्रहका कृतिकार प्रकाश चापागाईँ सम्मानित हुनुहुनेछ भने गतसाल यस पुरस्कारबाट सिर्जन अविरल पुरस्कृत हुनु भएको थियो अध्यक्ष एलबी क्षेत्रीले बताउनु भएको छ ।

कवि गोविन्दराज विनोदीको प्रमुख आतिथ्य र समीक्षक रमेश प्रभात वक्ता रहनु हुने सो कार्यक्रम निर्भाना रिसोर्ट भरतपुरमा आयोजना जनाइएको छ ।

‘द पोएट आइडल-२’ को शीर्ष ४ कविहरूको चर्चा

जेठ ५ शनिबार
नवसाहित्य अनलाइन । ‘द पोएट आइडल’ सिजन २ मा शीर्ष ४ कविहरूमा मोहित जोशी, डा. मुस्कान पोखरेल, शिमियोन सुकिता राई र विजय लुइँटेल छनोट हुनु भएको छ । नवसाहित्य अनलाइनले आज भने ४ कविहरूबारे केही जानकारी सङ्कलन गरेको छ ।

मोहित जोशीः
कैलालीका कवि मोहित जोशी यसअघ नेपालभरका विभिन्न मञ्चहरूमा कविता वाचनमा सक्रिय कवि हुनुहुन्छ । यसअघि विविध प्रतियोगिताहरूमा विजयी भइसकेका जोशीका ‘कायाकल्प’, ‘रामनूरा’, ‘मेरी जुगनू’ आदि चर्चित कविता हुन् भने इजरायलमा बन्धक बनाइएका नेपाली युवा विपिन जोशीमाथि लेखिएको आइडलमा वाचित ‘डियर विपिन’ धेरैले मन पराएको कविता हो । इन्जिनियरिङ अनुभव रहेको उहाँले अर्थशास्त्रमा स्नात्तकोत्तर गर्नु भएको छ । उहाँको कविता ‘कायाकल्प‘ यस्तो रहेको छः

 

मूर्ति बरफको बनाउनुपर्छ,

मूर्तिहरूलाई पनि हेक्का रहोस्–

आफू कति सजिलैसँग पग्लिन सक्छु भनेर ।

 

बरफ

पगाल्न पनि सजिलो,

फुटाल्न पनि सजिलो ।

 

नयाँ तथ्यको सूर्यमा

सत्यको स्वरूप पग्लिन्छ

मूर्ति बनेर पूजिरहेका

परम्पराहरू पग्लिन्छन् ।

 

भगवानहरू पनि त द्रवित हुनुपर्छ–

नयाँ भाडोमा, नयाँ आकारमा जम्नुपर्छ

जसरी सागर पग्लेर बादल जम्छ ।

 

इतिहास एउटा मूर्ति

शासक अर्को मूर्ति ।

 

धर्म एउटा मूर्ति

भय अर्को मूर्ति ।

 

स्वयम् एउटा मूर्ति,

मन पनि त अर्को मूर्ति ।

 

सबै मूर्तिहरू कुनै दिन पग्लिनु आवश्यक छ ।

मूर्ति नपग्लिने हो भने समय जम्छ ।

जमेको समय सबैभन्दा खतरनाक मूर्ति हो ।

 

मूर्ति त्यतिञ्जेल पग्लिदैन

जबसम्म मनको मूर्ति ढुङ्गाको हुन्छ–

मन त बरफकै भए असल हुन्छ ।

०००

डा. मुस्कान पोखरेलः
धादिङ जिल्लाकी मेडिकल डाक्टर मुस्कान पोखरेलको परिचय यतिबेला कविको रूपमा पनि दर्ज भएको छ । जोशीसँगै ‘द पोएट आइडल’को अन्तिम चरणमा पुग्नु भएको उहाँले ‘असामाजिक प्रेम’, ‘काश… समय रोक्न मिल्थ्यो’ लगायतका कविता वाचन गर्नुभएको थियो । ‘उहाँको घिन्ताङ‘ कविता यस प्रकार रहेको छः

 

एउटा मादल

निकाल्छ ध्वनी चोटबाट मात्रै

म बुझ्दिनथेँ त्यो गुन्जिएको आवाज

सङ्गीत नै थियो कि गुहार ?

यदि सङ्गीत नै थियो भने 

म किन सुन्थे मेरी आमाको रुवाइ त्यसमा ?

 

बजाउँनेले काखैमा राखेर बजाउँदा 

सायद मादल पनि फस्दथ्यो

माया र उत्पीडनमा प्रस्टिने दलदलमा

जसरी गाँजिएकी थिइन् मेरी आमा

सुनेर पनि नसुनेजस्तो गर्ने बहिरो मानवताको बिच

 

त्यो मादलको गालाको कालो दाग खरी नै थियो ?

खरी नै थियो भने पनि म किन देख्थेँ

मेरी आमाको शरीरको निलडाम त्यसमा ?

 

ढाकिदिन्थ्यो जसरी बजाउने हातले

मादलको कुरूपता, हर पिटाइपछि

ढाकिदिन्थ्यो मेरी आमाको चोटहरू पनि

एउटा रातो साडी र सिन्दुरको श्रृङ्गारमा

देखे पनि नदेखेजस्तो गर्ने अन्धो मानवताले ।

 

त्यो मादललाई फुत्किन नदिन

वरिपरी बेरिएको लहरा,

के लहरा नै थियो ?

यदि थियो भने म किन देख्थेँ

मेरी आमाको वरिपरी बाँधिएको 

हरियो पोतेको पासो त्यसमा ?

बाँधिदिनेले कर्तव्य नै हो भनेपछि

सायद मादल पनि सोच्थ्यो

धर्म नै हो उसको 

बाँधिरहनु,

बजिरहनु,

खिइरहनु,

मौन बनी फुट्नलाई पर्खिरहेको 

लाटो मानवताको निम्ति ।

 

आज त्यो मादल फाटिसकेको छ

हिँडेको छ बजाउने हात 

नयाँ मादलको खोजीमा

पुरानो मादललाई फाली फोहोरको थुप्रोहरूबीच

र खोज्दै छ उसलाई जोडिदिने हातहरू

ऊ मौन भएको बेला 

उसको निम्ति बोलिदिने मुखहरू

मेरी आमालाई खोज्न निस्किँदा

मैले भेटेको छु यस्तो मादलहरू

सहरको हर गल्लीमा,

हर चोकमा हर थुप्रोमा 

जो खोज्दैछ एउटा सिङ्गो मानवता ।

 

कतै तपाईँको घरको मादल पनि हराएको त छैन नि ?

०००
शिमियोन सुकिता राईः
‘गाउँ अनि हिजो आज’ कविताका सर्जक सिक्किमका कवि राईले आइडलमा ‘आमा म विदेश जान्न’, ‘किरायाको रिक्सा’ लगायतका कविता सुनाउनु भएको छ । नेपाली भाषामा स्‍नात्तकोत्तर गर्नु भएका उहाँसँग शिक्षण, कवि, क्रिकेट खेलाडीको परिचय रहेको छ । ‘चुपचाप छौ तिमी’ कविता सङ्ग्रह समेत लेख्नु भएका उहाँको ‘उसलाई देखेपछि‘ कविता यस्तो रहेको छः

 

सुन्दरता कुनै वस्तुमा होइन

हेर्नेहरूको दृष्टीमा हुन्छ भन्थे हो रहेछ

उनी हाँस्दा मैले जून हाँसेको देखेँ

उनी लजाउँदा मैले प्रकृति लजाएको देखेँ

 

उसलाई देखेपछि मलाई यस्तो लागेको हो

शायद,

ईश्वरले कसैलाई फुर्सदमा बनाउँदा हुन्

र आफ्नो निपुणता र कलाकारिताको नमुना पेश गर्दा हुन्

र ईश्वर हुनुमा सर्जक हुनुमा गर्व गर्दा हुन् ।

 

उनी हाँस्दा मैले जून हाँसेको देखेँ

उनी लजाउँदा मैले प्रकृति लजाएको देखेँ ।

 

उसलाई देखेपछि मलाई महशुस भएको हो

बगैँचाका रुद्र बैँशले मातेका गुलाफ र लिली फूलहरू

आकाशमा हाँसिरहेकी चन्द्रमा र यौवनको चञ्चलताले

टिलपिल टिलपिल गरिरहेका ताराहरू पनि

कसैको सुन्दरताले माथ खाँदा हुन् ।

 

उनी हाँस्दा मैले जून हाँसेको देखेँ

उनी लजाउँदा मैले प्रकृति लजाएको देखेँ ।

 

उसलाई देखेपछि मैले उत्तर पाएको हुँ

किन यो मुटु विना हिसाबले फुट्नेगरी धड्किन्छ ?

किन एकान्तमा पनि एक्लै बर्बराउँछ मान्छे ?

कसरी एक निमेषका निम्ति संसार टक्क अडिन्छ ?

 

किन एकान्तमा पनि एक्लै बर्बराउँछ मान्छे ?

किन विनाकारण अनायासै मुस्काइरहन्छु म ?

 

उनी हाँस्दा मैले जून हाँसेको देखेँ

उनी लजाउँदा मैले प्रकृति लजाएको देखेँ ।

विजय लुइँटेलः
ईलाम जिल्लाका युवा कवि विजय लुइँटेलले आइडलमा ‘एक प्रेमिल बिहानी’, ‘हर एक माल’ लगायत कविताहरू वाचन गर्नु भएको थियो । ‘यात्रारत’, ‘आयु दिनेले खोस्न पनि सक्छ’ जस्ता कविताका सर्जक उहाँ ‘म कहाँ जान्छु ?’ कविता यस्तो रहेको छः

 

म स्वतन्त्र छु

तर आवश्यकताले बाँध्दछ

म माटो हुँ

मलाई माटैले खानेछ

परसम्म हिँडेर 

मैले खुट्टा बिर्सी जानुछ

सोच्दै सोच्दै चेतनाले चेतनै छोडी जानु छ

मलाई बचाउँछ शरीरले

शरीरलाई दिनदिन मार्दछु

हार निश्चित छ थाहा छ

हारलाई हरदिन निम्तो पठाउँछु

बरफ पग्लेर पानी बन्छ

बरफ कहाँ जान्छ

म बितेर माटोमा जान्छ

म कहाँ जान्छु ?

अन्तिम चार प्रतिस्पर्धीका रूपमा मोहित जोशी, डा. मुस्कान पोखरेल, सिमियोङ सुकिता राई र विजय लुइँटेलको अबको जित निर्धारण भोटिङले गर्ने छ । विजेतालाई नगद १० लाख रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ ।

अघिल्लो सिजनका विजेता अर्थात् पहिलो पोएट आइडलका रूपमा सिक्किमकी निलम गुरूङ विजयी हुनु भएको थियो । उहाँले प्रतियोगिता विजयपछि ‘नपल्टाएका पन्नाहरू’ पुस्तक प्रकाशन गर्नु भएको हो ।

सङ्गीत र नाटकीय शैलीलाई अङ्गालेको यस कार्यक्रममा पार्श्व गायनमा सक्रिय स्मारिका फुयाँलको समेत उत्तिकै चर्चा रहेको छ ।

प्रतियोगीहरूलाई नेपालबाट ओएसआर कनेक्ट तथा विदेशबाट खल्ती र इ-सेवाबाट पनि भोट गर्न सकिन्छ । करीब ३ महिनामा ३० शृङ्खलासम्म प्रसारण भएको आइडलको आगामी जेठ १२ गते शनिबार नजिता सार्वजनिक हुँदै छ । हिमालय टेलिभिजन र OSR Reality युट्युब च्यानलमार्फत् अन्तिम नतिजाको प्रत्यक्ष प्रशारण हेर्न/सुन्न सकिने पोएट आइडल टिमले जनाएको छ ।