Home Blog Page 39

बालकलाकार सुप्रिमलाई ५० हजार राशिको सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार

माघ १६ मंगलबार
मकवानपुर ।
बालगायक सुप्रिममल्ल ठकुरीलाई ‘सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार–२०८०’ बाट पुरस्कृत गरिने भएको छ ।
सरूभक्त केन्द्रले ५० हजार रुपैयाँ राशिको पुरस्कार सुप्रिमलाई प्रदान गर्न लागेको हो ।
साहित्यकार सरस्वती ‘प्रतीक्षा’ संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको सिफारिसलाई सरुभक्त केन्द्रले अनुमोदन गर्दै पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो ।

पुरस्कारका लागि साहित्यकार सरुभक्त श्रेष्ठले आफ्ना बुबा गणेशबहादुर श्रेष्ठ र आमा लक्ष्मीमाया श्रेष्ठको स्मृतिमा ११ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नु भएको छ । यसअघि १ लाख रुपैयाँ राशि रहेको अक्षयकोशमा थप गरेर साहित्यकार सरुभक्तले ११ लाख ५० हजार पुर्‍याउनु भएको हो ।

वि.सं. २०५७ मा पहिलो पटक सो पुरस्कार कान्छो पर्वतारोही तेम्बाछिरी शेर्पालाई प्रदान गरिएको थियो । बाजुरामा जन्मिएका सुप्रिम हाल काठमाडौंमा ६ कक्षामा अध्ययनरत हुनुहुन्छ भने रियालिटी सो ‘भ्वाइस अफ किड्स’ को पहिलो सिजनमा पहिलो रनर अप भएलगत्तै चर्चाका साथ हालसम्म उनका १ सय ९० वटा गीत सार्वजनिक भइसकेको छ ।

११ वर्षीय सुप्रिमलाई माघ २७ मा सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार अर्पण गरिने सरुभक्त केन्द्रका अध्यक्ष महेन्द्र श्रेष्ठले बताउनु भएको छ ।

कवि परिविक्रमको दुइ कविताहरु

रिक्तता

पुलचोकमा –
बुटवल र झापा जाने गाडी छुट्टिए जसरी
हामी छुट्टिएको पनि वर्षौँ भइसकेछ
आज नारायणी तीरमा
यत्तिका बर्ष पछि भेट हुँदा पनि
मसँग तिमीलाई सुनाउने एउटा पनि रचना छैन ।

केही गजल
आँसुले गालामा लेख्न खोजेका थिए
कुनै तिमीले दिएको रुमालले पुछे
कुनै आफ्नै हातका औलाले मेटे
कुनै रातभरि कोल्टे फेर्दा फेर्दै सिरानीले मेटिदिए ।

केही कविता
आवाजले ओठमा लेख्न खोजेका थिए
कुनै मुखसम्म नआउदै स्यालिभासँगै फर्किएर गए
कुनै खैनी झै च्यापिएर च्यापुमै मरे
कुनै चुरोट जसरी जलेर सकिए

केही मुक्तक
रगतले नाडीमा लेख्न खोजेका थिए
कुनै बाध्यताका घडी बाँध्दा मेटिए
कुनै यादका सिरेटो छल्न लामबाउले लाउँदा पुछिए
कुनै परिस्थितिले नाडी छाम्दा छाम्दै मेटाइदिए।

प्रिय,
यसरी कहिले
धड्कनले मुटुमा लेख्न खोजे
मफलरले घाँटीमा लेख्न खोज्यो
औंठीले औँलामा लेख्न खोज्यो
झझल्कोले मस्तिष्कमा लेख्न खोजे
र, कलमले कापीमा पनि लेख्न खोजे
अहँ, तर कुनै पनि बाँकी रहेनन्
कुनै पनि सकुशल रहेनन्
हामीले फुलाउन खोजेको प्रेम जस्तै ।

एउटा छोटो कविता त
तिमीलाई अहिले पर्खँदा पर्खँदै
बालुवामा चोर औलाले लेखेको थिएँ
तर दुर्भाग्य,
तिमी भन्दा पहिले नै छाल आयो
र, नारायणीले आफैसँग लिएर गयो ।

हुन त मलाई,
यो गजल, कविता, मुक्तक लेखेर पनि
त्यही तिमीलाई सम्झिरहेकै बताउनु थियो
र, तिमीले अझै बिर्सेको छैनो र सोधे
हैन, रचना मात्रै हो भनेर ढाँट्नु थियो ।

तिमीले चुम्ने निधार
खुम्चिएर वियोगको कविता बनेको छ ।
तिमीलाई बिझाएका दाह्री
अझ कठोर र विद्युवाजस्तै हाइकु भएका छन्
तिमीलाई मन पर्ने आँखा
डार्क सर्कलले घेरिएर विरक्त लाग्दो मुक्तक भएको छ
तिमीले टोकेको गाला
आफैँमा ख्याउटे काव्य बनेको छ
तिमीले घन्टौँ सुनेको यो आवाज
काप्दै काप्दै गजल भएको छ

तर प्रिय
आज नारायणी तीरमा
यतिका वर्षपछि भेट हुँदा पनि
मसँग तिमीलाई सुनाउने एउटा पनि रचना छैन ।

धुवाँ

धुवाँले आफ्नै चित्र राम्ररी देखाउन सकेन
तर पलपल देखाइरह्‍यो – समाजको चित्र

स्मरण गर्दैछु –
छोरीको बिहेको भतेरमा
सबैभन्दा धेरै धुवाँ मेरो घरदेखि निस्कियो
गाउँभरिका आँखा धुवाँको नाच हेर्न आए
गाउँभरिका नाक धुवाँको गन्ध सुँघ्न आए
गाउँभरिका कान धुवाँको गीत सुन्‍न आए

अस्ति खडेरीमा, मेरो घर जल्यो
सबैभन्दा धेरै धुवाँ मेरै घरदेखि निस्कियो
तर गाउँभरिका
– आँखाले देखेनन्
– कानले सुनेनन्
झन् हात त धुवाँले छुन्छ भनेर देखा नै परेनन् ।

छिमेकी आँखाले-
मासु पकाएको धुवाँ देख्दा रहेछन्
आँसु पकाएको देख्दैनन्
या त,
धुवाँले देखाएको समृद्धि देख्छन्
फैलिएको अभावको मुस्लो देख्दैनन् ।

हिजो,
मैले औँलामा च्याप्दा सिगरेट
फलाना फलाना औँला वशमा हुन्थेनन्
मेेरा ओठले चुम्दा सिगरेट
फलाना फलाना ओठ उत्तेजित हुन्थे
र, मैले दिन्थेँ – एक खिल्ली धुवाँ
समानुभूतिका एक एक सर्को

आज,
मेरा औँलाबीच रित्तोपना देखेर
तिनै औँलाले नचाउँछन् – एक खिल्ली अहम्
तिनै ओठले गर्छन् – फिल्टरसँग फ्रेन्च किस
देखाउँछन् – श्वेत धुवाँका नौरङ्गी ब्रेक डान्स
तर दिँदैनन् – एक सर्कोसम्म सहानुभूति

बिर्सेको छैन,
मैले जिन्दगीभरि आरनमा खलाँती लाएँ

धुँवा निस्कियो, तरबार बन्‍यो
तर काटेन अछूत र अमान्छेबाट ‘अ’

धुवाँ निस्कियो, अर्जापियो कोदाली
तर लगाएन भत्केका आँखाका डिलमा आली

एकदिन धुवाँ निस्कियो, मै निस्किएँ संसारबाट
निस्किन मानेन अनि आरनमा धुवाँ
घरपरिवार अभाव र भोकले निस्सासिन थाल्यो
लाग्थ्यो – यी सास फेरेर बाँचेका छन्
लाग्यो – धुँवाले पो बचाइरहेको रहेछु ।

थाहा पाएँ,
काँध चढ्न मर्नु पर्ने रहेछ
काँधहरूले तब चढाउन हानथाप गरे
जिन्दगीलाई जिन्दगी बनाउन जिन्दगीभर –
मैले कहाँकहाँबाट धुवाँ निकालेँ
कुनै आँखाले हेर्न फुर्सत पाएनन् ।

तर आज
म जलेको धुवाँ हेर्न –
व्यस्तताले सबै आँखालाई
सार्वजानिक बिदा दिएको छ ।

कविता: अस्तित्व || गङ्गा खनाल

मलाई सोधी रहेछु आखिर म को हुँ ?
बौद्ध धर्मावलम्बीको माने जस्तो
छोरो प्याच्च बोल्छ
होइन भदौमा आँखा फुटेको गोरु जस्तो
श्रीमती व्यङ्ग्य गर्छे
८० वर्षे वृद्ध जस्तो
बा आँखा तर्छन्
अजङ्गको मूर्ति जस्तो
छोरी वाण हान्छे
शौचालयको गायक जस्तो
छिमेकी शङ्का गर्छन्
म मलाई नै सोचिरहेछु म के जस्तो?

आफ्नै पेशाको मोहमा फसेर
कपाल र दाह्रीलाई तिलचामले बनाएपछि
हिटलर माओ र नेपोलियन नबनेर
बुद्ध, शेक्सपियर र देवकोटालाई अनुसरण गरेपछि,
ऐश्वर्यविहीन सुदामा बनेर
कुबेरको ढुकुटीमा द‍ृष्टि नदिएपछि
बम बारुद र बन्दुकको सट्टामा
चकको टुक्राले कालोपाटी रङ्गाएपछि
अनि,
अनि घुम्ने मेचमाथि बसेर
कालो धन कुम्ल्याउन नसकेपछि
मैले पाएका उपनामहरूलाई स्वागत गर्छु
हो तिमीहरुकै सङ्ज्ञा जस्तो !

दोबाटोमा उभिएर श्रीमतीको फाटेको धोती
छोराको मासिक शुल्क
छोरीको जन्मदिनको कोसेली
र बाको खोकीको दबाई
अनि आफ्नै जीर्ण शरीरमा उनिएको
छिया-छिया भाको कमिजको कल्पना गर्दै
पश्चिमी छितिजमा पुगेको
लाली सूर्यको किरणसँग हराउँदै गर्दा
मलाई मेरा परिचित मित्र ले प्रश्न गरेथे-
भन त तिमी के जस्तो ?

लाटोकोसेरोको कुलुलु स्वरसँगै
रातको उत्तरार्धमा
निन्द्राबाट भङ्गित भएर
ओछ्यानमा उल्टो फर्किएपछि
फेरि तिनै प्रश्नहरुले मलाई
बारम्बार घोच्ने गर्छन् ।

मेरो मजदुरीको प्रतिफल
ख्वाक्क खोक्दा निस्किएको
रगतको फाल्सालाई देब्रे हातले छोपेर,
मस्त निद्रामा स्वाँ-स्वाँ गरिरहेका
मेरा परिवारका सदस्यहरुलाई
मनमनै प्रश्न गर्छु
आखिर म जो भए पनि,
तिमीहरुको चाहिँ को हो ?

भीड सहरको मध्यभागमा
ओहोरदोहोर गरिरहेका मान्छेहरूको
ध्यानाकर्षण गर्दै,
निरर्थक एक्कासी चिच्याउन पुग्छ
हो !
म राउटे वस्तीको ‘मुख्या’ जस्तो,
भारी पाएको भरिया जस्तो,
जीर्ण मन्दिरको पूजारी जस्तो,
आधुनिक कालमा ठडिएको,
साहित्यकारको मूर्ति जस्तो,
तिरस्कृत लोकगीतका स्रष्टा
सारङ्गी लिएको गाइने जस्तो,
कालीगण्डकीको किनारमा रहेको
शालिग्राम जस्तो,
इतिहासका पानामा नाम नअटेको
सहिद जस्तो !

अनि,
कम्मर पेटीमा प्वाल थप्दै
चौथाई पारिश्रमिक लिएर
शैक्षिक क्षेत्रमा नै जीवन उत्सर्ग गर्ने
निजी विद्यालयको शिक्षक जस्तो !

✍️गङ्गा खनाल

‘अविरल जनसाहित्य यात्रा’मा सुनिए कवि स्पन्दन

मकवानपुर । राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको ८६ औँ ‘अविरल जनसाहित्य यात्रा’को शृङ्खलामा शनिबार कवि जयन्ती स्पन्दनका एक दर्जन कविता सुनिएको छ । कवि स्पन्दनले ‘ऐँठन’, ‘शैलुङ परिदृश्य’, ‘छोरा, छोरा र छोराहरू नै’, ‘टीकापुर घटना र खण्ड खण्ड त्रासदी’, ‘परिवेश अनिष्टको’, ‘मनभरि कुँदिएको छ खाँदबारी’, ‘जनआह्वान’, ‘महिला समानता एकपटक सबै भन्नुपर्छ’ शीर्षकका कविता वाचन गर्नुभएको थियो । सहयोगी कवि डा. जया सत्यालले ‘इतिहासको मानवता’, रूपक अलङ्कारले ‘आन्दोलन’, जयन्ता पोखरेलले ‘मौन सडक र मानिसहरू’ र प्रशान्त खरेलले ‘उभिएको छ समय तिम्रो अगाडि’ शीर्षकका कविताहरू वाचन गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले सरल तरिकाले गम्भीर भाव कवितामा सम्प्रेषण गर्न सकिँदोरहेछ, कवितामै शालीन व्रिद्रोहका माध्यमबाट रूपान्तरणको सन्देश पनि सम्प्रेषण गर्न सकिँदोरहेछ भन्ने अनुभूति कविता सुनिसकेपछि आफुले गरेको बताउनुभयो । वाचित कवितामाथि टिप्पणी गर्दै समीक्षक डा. रजनी ढकालले स्पन्दनका कवितामा आमा, छोरी हुँदै देश आएको बताउनुभयो । साथै उहाँले कवितामा पुस्तान्तरणको कुरा र देश बनाउनेहरू स्वार्थप्रेरित भएकामा चिन्ता गरिएको टिप्पणी गर्नुभयो । सङ्घका अध्यक्ष राम विनयले २०७० चैत १४ देखि तत्कालीन राष्ट्रिय जनसाहित्यिक मञ्चका संस्थापक अध्यक्ष डा मोदनाथ प्रश्रितबाट थालनी गरिएको ‘अविरल जनसाहितय यात्रा’को ८६ औँ शृङ्खला आइपुगेको जानकारी दिनुभयो । शृङ्खलाका संयोजक डा. हरिप्रसाद सिलवालले प्रगतिशील एवं प्रगतिवादी चेतनाका साथ साहित्य सृजना गर्ने जयन्तीले कविता, वक्तृत्व, एकाङ्की, समालोचना, बालसाहित्यमा निरन्तर कलम चलाइरहेको जनाउनुभयो ।

दीपक समीपको ‘नदीको राजमार्ग’को लोकार्पण

काठमाडौँ, माघ १३ । साहित्यकार दीपक समीपको  लघुकथासङ्ग्रह ‘नदीको राजमार्ग’ को लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौँको सर्वनाम थियटरमा आयोजित एक विशेष कार्यक्रममा उक्त कृतिको लोकार्पण भयो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले उक्त कृति लोकार्पण गरे । कृति लोकार्पण गर्दै राईले साहित्यकारहरू सरकार र संविधानभित्रका कमजोरीमाथि समेत प्रहार गर्ने सामर्थ्य राख्छन् । मान्छेको जीवन आफैँमा कथैकथाको कथा भएको र मानव जातिको विविधतासँगै कथाको विविधता प्रकट हुने पनि उनले बताए । राज्यको उत्पत्तिपछि भाषा राज्यको र जनताको गरी दुई भागमा बाँडिएको उनको भनाइ थियो । वर्तमानमा कविता, निबन्ध र आख्यानभित्रका कथामा राज्यका कथा अटाएको तर जनताका कथा हराएकाे भन्दै उनले दुःख व्यक्त गरे । त्यसैले अब लेखिन बाँकी कथाहरू लेख्नतिर कथाकारहरू लाग्नुपर्नेमा उनको जोड थियो । कार्यक्रमहरू पाठककेन्द्रित बनाइनुपर्ने र एआईसँग जुध्नुपर्ने वर्तमान यथार्थतिर अब सचेततापूर्वक लाग्नुपर्ने आवश्यकता पनि उनले ओैँल्याएँ ।

कृतिमाथि बोल्दै समीक्षक डा. ज्ञानु अधिकारीले थोरै शब्दमा सरल भाषाको मौलिक स्वाद पस्केर कथाकारले आख्यान लेखनमा दह्रो उपस्थिति जनाएको बताइन् । लघुकथा लेखनको मानक सिद्धान्तलाई चुनौती दिएर लेखकले आफ्नो अराजक लेखक व्यक्तित्व स्पष्ट रूपमा प्रमाणित गरेका छन् । उनले भनिन् – “शब्दको जादू लेखकले यसरी चलाएका छन् कि एक एक लघुकथाले तरङ्गित बनाउँछन् ।” कथामा मानव मनोविज्ञान  नाटकीय र प्रभावकारी तबरले प्रस्तुत गरिएको छ । यसका कथामा शब्दको मीतव्ययितामा कथाकारले निकै ध्यान दिएको उनले बताइन् ।

त्यस्तै अर्का समीक्षक डा. ईश्वरमणि अधिकारीले सङ्ग्रहमा सामाजिक बेथिति, अराजकता आदिको सजीव चित्रण गरिएको बताए । कथा सकिएपछि पनि कथाको प्रभाव छाडिरहन सक्ने क्षमता कथाकारको रहेको अधिकारीले बताए । वर्तमान युगका राजनीतिक घटनाक्रम र त्यसभित्रका कुरूप परिदृश्य यसभित्रका कथाले छर्लङ्ग पारेका छन् । साथै विविध पात्रका

माध्यमबाट जीवनदर्शन प्रक्षेपण गरेका छन् कथाकारले । मानव जीवनका सन्त्रास, जिजिविषा, अन्धविश्वास, आस्तिकता एवम् लैङ्गिक विसङ्गतिको चित्र मर्मस्परशी ढङ्गले कथामा उनिएको ईश्वरमणिले बताए । समाजका घटनालाई कथामा बुन्ने कलात्मक सामर्थ्य दीपकमा रहेको पनि उनले प्रस्ट्याए । लेखकले कथामा अवचेतन र चेतन मनको संवेदना उद्घाटन कुशल शैलीले गरेको उनले बताए । कथा छोटा भईकन पनि चुट्किला बन्नबाट भने सर्वथा बचेका छन् भन्नेमा उनले जोड दिए ।

लेखक दीपक समीपले पचासको दशकको सुरुआतदेखि तीन दशकसम्मको साहित्यलेखनका अनुभव र अनुभूति प्रसतुत गरे ।  साहित्य लेखन सुरु भएदेखि अहिलेसम्मका सहयात्रीहरू खचाखच भएको हलमा सबै सहृदयीहरूलाई धन्यवाद व्यक्त गरे

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै साहित्यकार प्रतीक ढकालले गजलकार एवम् मुक्तककार समीपलाई आख्यानमा ढुककले स्वागत गर्न पाएकामा खुसी व्यक्त गरे । ६६ वटा लघुकथा समाविष्ट ‘नदीको राजमार्ग’ सङ्ग्रहको प्रकाशन पेज टर्नर प्रा.लि., काठमाडौँले गरेको छ ।

साहित्यकार दीपक समीपको यो तेस्रो कृति हो । यसअघि उनका ‘ भूगोलभित्र नकोरिएको देश, गजलसङ्ग्रह (२०६२) र ‘अक्षर अक्षरमा देश , मुक्तकसङ्ग्रह (२०७८) प्रकाशित छन् । सभापतित्व गरिरहेका  साहित्यकार भुवनहरि सिग्देलले सामान्य विषयलाई सरल लेखनको शैलीबाट विशिष्ट बनाएर पस्कने दीपकको लेखकीय क्षमताको मुक्तकण्ठले प्रशंसा गरे । कार्यक्रमको सञ्चालन साहित्यकार भवानी खतिवडाले गरेकी थिइन् ।

मिर्जा गालिब; डेढ सय वर्षदेखि उर्दू शेरका बादशाह

मिर्जा गालिब सन् १७९७-१८६९ । भारतको आग्रामा एक गरिब परिवारमा जन्मिएका उनको पूरा नाम मिर्जा असदुल्लाह बेग खान हो । विश्व साहित्यमा उर्दूको सबैभन्दा उच्च आवाजका रुपमा गालिबलाई लिइन्छ । सुरुवातीमा अङ्ग्रेजीमा लेखेता पनि उनको लेखाइ उस्तो चर्चा भने भएन । बिस्तारै बिस्तारै उनलाई आफ्नै मातृ भाषा उर्दूले संसारभर चिनायो । डेढ सय वर्षपछिसम्म पनि चिनाइरहेको छ । प्रविधिको विकाससँगै थुप्रै एप्लिकेसन, वेबसाइट, युट्युब च्यानलसम्म गालिबका शेर पुगे ।

जसका शेरहरू अहिले झनै चर्चित छन् । चर्चित किन भने जाबेद अख्तरदेखि कादर खानसम्मले उनलाई चर्चित मानेका छन् । चर्चित किन भने जगजीत सिंह र चित्रा सिंह जोडीले गालिबद्वारा लिखित गजल गुन्गुनाएका छन् । यो जोडीको दुखद कथा पनि लेख्दै गरौंला । चाहे चलचित्रकर्मी गुल्जार होउन् वा स्ट्याण्ड अप कमेडियन जाकिर हुसेनसम्मले गालिबका शेरलाई कुनै मन्त्रभन्दा कम वाचन गरेका छैनन् । युवा पुस्तामा चर्चिच जाकिर भन्छन्- “गुरू गालिब हुन्, बाँकी सबै प्रयास गरिरहेका छन् ।” जाबेद अख्तरले गालिबका बारेमा भनेकै छन् “उन्नाइसौं शताब्दीमा भारत मात्रै नभएर स‌ंसारमै सबैभन्दा चर्चित शायर कोही थिए भने ती गालिब नै हुन् ।” अख्तरले गालिबले वादशाह बहादुर शाह सामू उस्ताद जौक, हाकिम मोमिन खान आदि होनहार कविहरूमाझ पनि आफ्ना शेर सुनाउने क्रममा । वादशाहलाई शेर मन नपरेर उठेर हिँडेका किस्सादेखि फकिरलाई शेर सुनाउँदा उनले पाएको स्याबासीका हौसलासम्मका किस्साहरू सुन्न पाइन्छन् ।
उनका केही चर्चित शेरहरुः
०००
हम तो पहले हि जिन्दगी में तन्हा थे
तुमने छोडकर हमें कौन सा कमाल करदिया ।
०००
जहर मिलता ही नहीं मुझ को सितमगर वर्ना
क्या कसम है तेरे मिलने की कि खा भी न सकूँ

मेहरबाँ हो के बुला लो मुझे चाहो जिस वक्त
मैं गया वक्त नहीं हूँ कि फिर आ भी न सकूँ ।
०००
ये न थी हमारी क़िस्मत कि विसाल-ए-यार होता
अगर और जीते रहते यही इंतिज़ार होता
०००
हम को मालूम है जन्नत की हक़ीक़त लेकिन
दिल के ख़ुश रखने को ‘ग़ालिब’ ये ख़याल अच्छा है
०००
उसी को देख कर जीते हैं जिस काफ़िर पे दम निकले
बहुत निकले मिरे अरमान लेकिन फिर भी कम निकले
०००
इशरत-ए-क़तरा है दरिया में फ़ना हो जाना
दर्द का हद से गुज़रना है दवा हो जाना
०००
न था कुछ तो ख़ुदा था कुछ न होता तो ख़ुदा होता
डुबोया मुझ को होने ने न होता मैं तो क्या होता
०००
हैं और भी दुनिया में सुख़न-वर बहुत अच्छे
कहते हैं कि ‘ग़ालिब’ का है अंदाज़-ए-बयाँ और
०००
बस-कि दुश्वार है हर काम का आसाँ होना
आदमी को भी मुयस्सर नहीं इंसाँ होना
०००
बाज़ीचा-ए-अतफ़ाल है दुनिया मिरे आगे
होता है शब-ओ-रोज़ तमाशा मिरे आगे
०००
रंज से ख़ूगर हुआ इंसाँ तो मिट जाता है रंज
मुश्किलें मुझ पर पड़ीं इतनी कि आसाँ हो गईं
०००
आह को चाहिए इक उम्र असर होते तक
कौन जीता है तिरी ज़ुल्फ़ के सर होते तक
०००
काबा किस मुँह से जाओगे ‘ग़ालिब’
शर्म तुम को मगर नहीं आती

दर्द मिन्नत-कश-ए-दवा न हुआ
मैं न अच्छा हुआ बुरा न हुआ
०००
कहाँ मय-ख़ाने का दरवाज़ा ‘ग़ालिब’ और कहाँ वाइज़
पर इतना जानते हैं कल वो जाता था कि हम निकले
०००
क़र्ज़ की पीते थे मय लेकिन समझते थे कि हाँ
रंग लावेगी हमारी फ़ाक़ा-मस्ती एक दिन
०००
कोई मेरे दिल से पूछे तिरे तीर-ए-नीम-कश को
ये ख़लिश कहाँ से होती जो जिगर के पार होता
०००

मिर्जा गालिबको जीवनीमा आधारित टिभी सिरिज १९८८ मैं बनेको हो । उनका सम्बन्धमा हजारौं पेजका लेखनीहरू, सयौं घण्टाका दृश्य सामग्री, उत्तिकै श्रव्य सामग्री, पोस्टर शेरहरू अनलाइनमा पाइन्छन् । मिर्जा गालिबलाई सुन्नेहरूले आफ्नालागि नै लेखेका भन्ने ठानिरहनेछन् ।
गालिब रक्स्याहा थिए भन्ने चर्चा पनि उनीजत्तिकै चर्चामा छन् । उधारो माग्दा माग्दै उधारो नै बन्द भएका चर्चा पनि कम छैनन् । उनका बारेमा जति चर्चा चुलिइरहेको छ उति नै नयाँ नयाँ किस्सा पनि थपिँदै गएका छन् । त्यति मात्र के, छ न त आजकाल गालिबको नाममा केही अश्लील लेखन पनि चर्चामा रहेका छन् । त्यसबारे पछि नै लेखौंला । इति । (मुखाले)

मातृभाषा कविता महोत्सव हुने

माघ १३, शनिबार मकवानपुर । अन्तर्राष्ट्रिय मातृभाषा दिवस २१ फेब्रुअरी २०२४ को उपलक्ष्यमा नेपाल प्रज्ञा-प्रतिष्ठानले मिति २०८० फागुन ९ गते मातृभाषा कविता महोत्सव आयोजना गर्न लागेको छ । प्रतिष्ठानले इच्छुक कविहरूले आफ्नो मातृभाषामा बढीमा १५० शब्दसम्मको कविता कम्प्युटर टाइप गरेर, सफ्टकपी, कविको फोटो, सम्पर्क नम्बरका साथै व्यक्तिगत विवरणसमेत यही माघ २५ गतेभित्र प्रतिष्ठानमा आइपुग्नेगरी पठाउन सूचना जारी गरेको छ । 

“सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा-प्रतिष्ठान” भन्ने नारा रहेको प्रतिष्ठानले कविता पठाउनका लागि कविहरूले फोन नं. ०१-४२२१२४१/४२२१२८३/४२४१६३७ मा सम्पर्क तथा nepalacademy2080@gmail.com मा इमेल गर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।

कुलपति राईद्वारा प्रधानमन्त्री र संस्कृति मन्त्रीसमक्ष मस्यौदा पेस

माघ १३, शनिबार
मकवानपुर ।
“सङ्घीय संस्कृति नीति तर्जुमा” कार्यदलका तर्फबाट कुलपति राईद्वारा बिहिबार प्रधानमन्त्री र संस्कृति मन्त्रीसमक्ष मस्यौदा पेस गरिएको छ ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको संयोजकत्वमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०८० भदौ १८ गते “सङ्घीय संस्कृति नीति तर्जुमा” कार्यदल गठन गरेको थियो । यस कार्यदलले साढे चार महिना लामो अध्ययन गरेर सांस्कृतिक नीतिबारे प्रतिवेदन तयार पारेको थियो । यसैक्रममा कार्यदलका संयोजक राईले स्थानीय, प्रदेश र सङ्घको समग्र सांस्कृतिक नीति कस्तो हुनुपर्छ भन्ने कुरा मस्यौदाले प्रष्ट पारेको बताउनुभएको थियो ।

यस कार्यदलका सदस्यहरूमा पूर्व व्यवस्थापिका संसद सदस्य मल्ल के सुन्दर, भाषा आयोगका सदस्य डा.अमर गिरी, पूर्व सचिव डा. मानबहादुर विश्वकर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति महाशाखा प्रमुख डा. सुरेश श्रेष्ठ, संस्कृतिविद्हरू प्रा. डा. प्रेम खत्री, प्रा. डा. वीणा पौड्याल, डा. डिल्ली वली, डा. टेक गुरुङ, देवशरण यादव, भोगिराज चाम्लिङ, नवीन सुब्बा र शिवराज रेग्मी सदस्य रहेको समितिले “सङ्घीय संस्कृति नीति” २०८० तर्जुमा गरेको थियो ।

यसैगरी “सङ्घीय संस्कृति तर्जुमा कार्यदलका संयोजक तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटी २०८० माघ १० गते उक्त मस्यौदा हस्तान्तरण गरेको हो ।

उक्त समितिले माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई भेटी उक्त मस्यौदाको अन्तिम प्रारूप २०८० माघ ९ गते हस्तान्तरण गरेको थियो ।
(समाचार स्रोतः नेपाल प्रज्ञा प्रतिष्ठान)

पहिलो पोएट आइडल विजेता नीलम गुरूङको कविता सङ्ग्रह सार्वजनिक

माघ १३, शनिबार
मकवानपुर ।
टेलिभिजन रियालिटी शो पोएट आइडलको प्रथम संस्करण विजेता नीलम गुरुङको कविता संग्रह ‘नपल्टाएका पन्नाहरू’ सार्वजनिक भएको छ ।

तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद् र यात्रा पब्लिसिङ हाउसले संयुक्त रूपमा सो कार्यक्रम आयोजना गरेको हो भने कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले कविता विचार र कलाको संयोजनसहितको अभिव्यक्तिको उच्चतम शैली भएको र पहिले शास्त्रीय भाषाको प्रधानता रहेको र अहिलेका आधुनिक बोलीचालीको भाषा बढी प्रयुक्त हुने गरेता पनि कविता काव्यिक हुनुपर्ने बताउँदै विचार, कला र काव्यिक चेतमा कवि गुरूङ सशक्त देखिएको विचार राख्नुभयो दिनुभयो ।

सिक्किम, भारतकी कवि नीलम गुरूङले सिर्जनाकै माध्यमबाट नेपाल र नेपालीसँग आफूले सम्बन्ध राख्न पाएको र प्रेरित रहिरहेको बताउँदै आफ्ना कविताहरू वाचन गर्नुभयो । कार्यक्रममा पोएट आइडलको पहिलो श्रृङ्खलामा आवद्ध कविहरूले समेत रचना वाचन गर्नुभयो ।

अतिथि वक्ता पोएट आइडलका परिकल्पनाकार अमनप्रताप अधिकारीले बुबा क्षेत्रप्रताप अधिकारी साझा प्रकाशनको नेतृत्वमा रहँदा प्रत्येक सर्जकले लेखेरै बाँच्ने अवस्था सिर्जना होस् भन्ने भावना स्मरण गर्दै आफूमा पनि सर्जकहरूको सिर्जनाकै भरमा जीविका चलाउन सक्ने हैसियत बनोस् भन्ने धारणा रहेको बताउनुभयो ।

रु. ४९९ मूल्य रहेको कवि गुरूङको कविता संग्रह ‘नपल्टाएका पन्नाहरू’ यात्रा पब्लिसिङ हाउसले प्रकाशित गरेको हो ।

सङ्गमको नियमित साहित्य सन्ध्यामा वक्ताद्वय वैद्य र मैनालीसँग बहस

  • लेख्ने पढ्नेकै सङ्गतले ‘बोनस’ उमेर बाँचेको हुँः मुक्तिगोविन्द वैद्य
  • अध्ययनले सोचाइको दायरा फराकिलो पार्छः उमा मैनाली

माघ १३, शनिबार मकवानपुर । साहित्य सङ्गम मकवापुरले साहित्यसेवी मुक्तिगोविन्द वैद्य र साहित्यप्रेमी उमा मैनालीसँग बहस सम्पन्न गरेको छ । शनिबारको नियमित ३३९औं नियमित साहित्य सन्ध्यामा स्रष्टाहरूको रचना वाचन समेत गरिएको थियो । साहित्य सङ्गमका पूर्व कार्यसमिति सदस्य खेम बानियाँको स्मृतिमा उहाँको तस्बिरमा पुष्पगुच्छा अर्पण तथा मौन धारण गरिएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले स्व. बानियाँ बारे बोल्दै नेपालमा ध्रुवचन्द्र गौतमले सूत्र कथाको सुरूवात गर्नु भएकोमा मकवानपुरमा सूत्रकथा भित्र्याउने पत्रकारिता, खेलकूद, लेखन, राजनीति बहुविधामा सक्रिय रहेको जानकारी दिनुभयो । साथै उहाँले आफ्नो जानकारी भएसम्म मकवानपुरका पहिलो गजल सर्जकका रूपमा समेत आफूले लिएको र उहाँको अवसानले अपूरणीय क्षति भएको बताउनुभयो । कार्यक्रममा नवसर्जक अनुसुया खनालका साथ लघुकथा वाचनमा किशन पौडेल, सूत्रकथा वाचनमा एस के निधन, कविता वाचनमा स्वस्तिका दाहाल, राजकुमार चौधरी, रामहरि चौलागाईँ, बैकुन्ठ लामिछाने, राजकुमार लामिछाने, छवि अनित्य, मसान उपासक, रामहरि चौलागाईँलगायत स्रस्टाहरू सरिक हुनुभयो भने स्वस्तिका बानियाँ, हरि पौड्याल, केशव समर्पण र जुम्लाका राजबहादुर बुढाले गजल वाचन गर्नुभयो । 

सङ्गमका उपाध्यक्ष सानु खनालले सहजीकरण गर्नु भएको बहसमा साहित्यसेवी मुक्तिगोविन्द वैद्य र सक्रिय पाठकका रूपमा रहनु भएका उमा मैनालीको सहभागिता रहेको थियो । बहसकै क्रममा वैद्यले विगत सम्झँदै गजल मञ्च मकवानपुरद्वारा हरेक महिना हुने गजल वाचन कार्यक्रममा गजल श्री घोषणा हुने कार्यक्रम नै पहिलो पटक आफूले सुनेको साहित्यिक कार्यक्रम भ‌एको बताउनुभयो । सो कार्यक्रममा प्रमाण पत्रचाहिँ किन नदिएको भनेर सोध्दा आर्थिक अभाव भन्ने सुनेपछि स्वतस्फूर्त आफूले आर्थिक सहयोग गरेर कार्यक्रमको निरन्तरतामा जोड गरेको सम्झिनुभयो । मातृभूमि साहित्यिक समाज, साहित्य सङ्गम, गजल मञ्च, मुक्तक मञ्चदेखि नवसर्जक साहित्य चौतारीसम्म पनि विविध हिसाबले सहयोग गर्नुभ‌एका उहाँले जेसिजको नेतृत्वमा हुँदा मलंगवामा विद्यालय सञ्चालनसम्मका कार्यमा जोडिन पाएकोमा जीवन सफल भ‌एको बताउनुभयो । अर्का सहभागी मैनालीले ध्रुवचन्द्र गौतमको अलिखितदेखि नयनराज पाण्डेको लूसम्म समाजकै कुरा आएको अनि पछिल्लो समय डा. नवराज केसीको शुन्यको मूल्यसम्म आइपुग्दा आफूले विभिन्न कालखण्डका अनेकन समाज पढ्न पाएको बताउनुभयो । उहाँले पढेका सयौं पुस्तकमध्ये राजेश्वर देवकोटाको उत्सर्ग प्रेमजस्ता पुस्तकहरू आफूले बुझ्न नसकेकोले आफूले बुझ्ने पुस्तक मात्रै पढ्ने बताउनुभयो । साथै जागिरे जीवनमा काठमाण्डौंबाट पुस्तक मगाएर पढ्नुपर्ने बाध्यता रहेकोमा अहिले हेटौंडामैँ उपलब्ध हुने हुँदा आफूजस्ता पाठकलाई सहज भएको हुँदा अहिले पनि पढ्नेकुरा नै आफ्नो प्राथमिकतामा पर्ने जानकारी दिनुभयो । 

साहित्य र जीवनबीचको सम्बन्धबारे खनालले राख्नु भएको जिज्ञासामा दुवै वक्ताहरूले आनान्दानुभूतिका लागि श्रवण, पठन र मनन गर्ने गरेको र आफू बोल्नेभन्दा पनि अरूका रचना सुन्न ललायित हुने तथा नवपुस्तालाई अध्ययनको दायरा फराकिलो पार्दै नेपालीसहित विभिन्न भाषाका पुस्तक अध्ययन गर्दै आफूमा निखारपन ल्याउन अनुरोध गर्नुभयो । प्रमुख अतिथि शिक्षासेवी ऋषिराम पोखरेलसहित वक्ताद्वयलाई मायाको चिनो प्रदान गरिएको कार्यक्रम साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षतामा साहित्य सङ्गम तथा सिस्नुपानी मकवानपुरको संयुक्त भवनमा आयोजित कार्यक्रमलाई सङ्गमका सचिव मनोज पोखरेलले सहजीकरण गर्नु भएको हो ।

साहित्य सङ्गम मकवापुरले साहित्यसेवी मुक्तिगोविन्द वैद्य र साहित्यप्रेमी उमा मैनालीसँग बहस सम्पन्न गरेको छ ।
शनिबारको नियमित ३३९औं नियमित साहित्य सन्ध्यामा स्रष्टाहरूको रचना वाचन समेत गरिएको थियो ।
साहित्य सङ्गमका पूर्व कार्यसमिति सदस्य खेम बानियाँको स्मृतिमा उहाँको तस्बिरमा पुष्पगुच्छा अर्पण तथा मौन धारण गरिएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले स्व. बानियाँ बारे बोल्दै नेपालमा ध्रुवचन्द्र गौतमले सूत्र कथाको सुरूवात गर्नु भएकोमा मकवानपुरमा सूत्रकथा भित्र्याउने पत्रकारिता, खेलकूद, लेखन, राजनीति बहुविधामा सक्रिय रहेको जानकारी दिनुभयो । साथै उहाँले आफ्नो जानकारी भएसम्म मकवानपुरका पहिलो गजल सर्जकका रूपमा समेत आफूले लिएको र उहाँको अवसानले अपूरणीय क्षति भएको बताउनुभयो ।

कार्यक्रममा नवसर्जक अनुसुया खनालका साथ लघुकथा वाचनमा किशन पौडेल, सूत्रकथा वाचनमा एस के निधन, कविता वाचनमा स्वस्तिका दाहाल, राजकुमार चौधरी, रामहरि चौलागाईँ, बैकुन्ठ लामिछाने, राजकुमार लामिछाने, छवि अनित्य, मसान उपासक, रामहरि चौलागाईँलगायत स्रस्टाहरू सरिक हुनुभयो भने स्वस्तिका बानियाँ, हरि पौड्याल, केशव समर्पण र जुम्लाका राजबहादुर बुढाले गजल वाचन गर्नुभयो ।
सङ्गमका उपाध्यक्ष सानु खनालले सहजीकरण गर्नु भएको बहसमा साहित्यसेवी मुक्तिगोविन्द वैद्य र सक्रिय पाठकका रूपमा रहनु भएका उमा मैनालीको सहभागिता रहेको थियो ।

बहसकै क्रममा वैद्यले विगत सम्झँदै गजल मञ्च मकवानपुरद्वारा हरेक महिना हुने गजल वाचन कार्यक्रममा गजल श्री घोषणा हुने कार्यक्रम नै पहिलो पटक आफूले सुनेको साहित्यिक कार्यक्रम भ‌एको बताउनुभयो । सो कार्यक्रममा प्रमाण पत्रचाहिँ किन नदिएको भनेर सोध्दा आर्थिक अभाव भन्ने सुनेपछि स्वतस्फूर्त आफूले आर्थिक सहयोग गरेर कार्यक्रमको निरन्तरतामा जोड गरेको सम्झिनुभयो । मातृभूमि साहित्यिक समाज, साहित्य सङ्गम, गजल मञ्च, मुक्तक मञ्चदेखि नवसर्जक साहित्य चौतारीसम्म पनि विविध हिसाबले सहयोग गर्नुभ‌एका उहाँले जेसिजको नेतृत्वमा हुँदा मलंगवामा विद्यालय सञ्चालनसम्मका कार्यमा जोडिन पाएकोमा जीवन सफल भ‌एको बताउनुभयो ।

अर्का सहभागी मैनालीले ध्रुवचन्द्र गौतमको अलिखितदेखि नयनराज पाण्डेको लूसम्म समाजकै कुरा आएको अनि पछिल्लो समय डा. नवराज केसीको शुन्यको मूल्यसम्म आइपुग्दा आफूले विभिन्न कालखण्डका अनेकन समाज पढ्न पाएको बताउनुभयो । उहाँले पढेका सयौं पुस्तकमध्ये राजेश्वर देवकोटाको उत्सर्ग प्रेमजस्ता पुस्तकहरू आफूले बुझ्न नसकेकोले आफूले बुझ्ने पुस्तक मात्रै पढ्ने बताउनुभयो । साथै जागिरे जीवनमा काठमाण्डौंबाट पुस्तक मगाएर पढ्नुपर्ने बाध्यता रहेकोमा अहिले हेटौंडामैँ उपलब्ध हुने हुँदा आफूजस्ता पाठकलाई सहज भएको हुँदा अहिले पनि पढ्नेकुरा नै आफ्नो प्राथमिकतामा पर्ने जानकारी दिनुभयो ।

साहित्य र जीवनबीचको सम्बन्धबारे खनालले राख्नु भएको जिज्ञासामा दुवै वक्ताहरूले आनान्दानुभूतिका लागि श्रवण, पठन र मनन गर्ने गरेको र आफू बोल्नेभन्दा पनि अरूका रचना सुन्न ललायित हुने तथा नवपुस्तालाई अध्ययनको दायरा फराकिलो पार्दै नेपालीसहित विभिन्न भाषाका पुस्तक अध्ययन गर्दै आफूमा निखारपन ल्याउन अनुरोध गर्नुभयो ।

प्रमुख अतिथि शिक्षासेवी ऋषिराम पोखरेलसहित वक्ताद्वयलाई मायाको चिनो प्रदान गरिएको कार्यक्रम साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षतामा साहित्य सङ्गम तथा सिस्नुपानी मकवानपुरको संयुक्त भवनमा आयोजित कार्यक्रमलाई सङ्गमका सचिव मनोज पोखरेलले सहजीकरण गर्नु भएको हो ।