Home Blog Page 40

स्व. प्रदीप गिरीका केही चर्चित विचारहरू

स्व. प्रदीप गिरी एक राजनीतिक विश्लेषक, नेपाली काङ्ग्रेसका नेता हुनुहुन्थ्यो । आफ्ना र फरक सबै दलका साझा बौद्धिक व्यक्तित्व उहाँको खास पहिचान हो । उहाँ मार्क्सवादबाट निकै प्रभावित हुनुहुन्थ्यो । युवालाई राज्यको महत्वपूर्ण स्थानमा नेतृत्व दिनुपर्छ भन्ने उहाँ द्वन्द्वकालमा समेत द्वन्द्वरत माओवादीलाई पनि सँगसँगै लिएर जानुपर्छ भन्ने फरक विचार राखेर चर्चित हुनुहुन्थ्यो ।

राजनीतिशास्त्र र दर्शनशास्त्रमा स्नात्तकोत्तर गर्नु भएका उहाँलाई नजिकबाट चिन्नेहरू सादगी जीवन व्यतित गर्ने, पद लोलुपता फिटिक्क नभएको एक विद्वान जसलाई समसामयिक राजनीतिमा अर्को कसैसँग तुलना गर्न नसकिने व्यक्तित्वका रूपमा चिन्दछन् । जानकारहरूका अनुसार संविधानमा उल्लेख हुनुभन्दा धेरै पहिले नेपाली काङ्ग्रेसभित्र समावेशिकरणयुक्त प्रतिनिधित्वका कुरा उठान गर्दै त्यसलाई प्रयोगमा लैजान दबाब दिनुहुने उहाँ धेरै पटक आफ्नै दलभित्र समेत फरक मत राखेर आफ्नो विचारमा अडिग रहनुहुन्थ्यो । आज उनै सच्चा समाजवादी तथा नयाँ पुस्ताले गर्व गर्ने पूरानो पुस्ताको नेता स्वर्गीय प्रदीप गिरीका महत्वपूर्ण ३० वटा विचारहरू लिएर आएका छौं ।


१. त्रास, चिन्ता, अनिश्चितता कसलाई छैन होला र ? नेपोलियन, हिटलर र चर्चिललाई पनि त थियो होला नि ।

२. वि.पी. कोइरालाको जन्मदिनमा वृक्षारोपण गर्ने काङ्ग्रेस अहिले परिवर्तन भएको छ ।

३. एक्काइसौं शताब्दीको सबैभन्दा ठूलो क्रान्ति महिला र पुरुषको सम्बन्धको पुनःपरिभाषा हो । वीपी कोइरालाले आजभन्दा ५० वर्षअघि ईन्द्रमाया पात्रमार्फत् यसबारे लेखिसक्नु भएको छ ।

४. एकपटक महिलाले जोडदारसँग भन्नुपरेको छ- पहिले मलाई मेरो शरीरमाथिको अधिकार नै देऊ ।

५. राजा महेन्द्रले संसारमैँ नभएको व्यवस्था ल्याएका भनिन्थ्यो, त्यो पनि अन्ततः कमजोर भयो ।

६. विपीले जहिल्यै पनि राजा नभए देश रहँदैन भन्नुहुन्थ्यो, त्यो जहिल्यै गलत थियो । यसको विरूद्धमा म लेखिरहेको थिएँ ।

७. कम्युनिष्ट मित्रहरू आफूलाई मन नपरेपछि जहिल्यै विदेशीको खेल भन्छन्, त्यो पनि नौटङ्की नै हो ।

८. पार्टी सञ्चालन गर्न, हजारौं लाखौं मान्छे पछि लगाउनका लागि अनेकन नारा बनेका छन् । आज लाखौं विदेशिनु, तिनका पैसाले देश चल्नु, गाउँमा श्रम गर्न सक्ने युवा नहुनु, खेति सुनसान र कृत्रिम विलासिता हुनुमा त्यही नाराको काम हो ।

९. नेपालमा कृष्णप्रसाद भट्टराईभन्दा महान मान्छे मैले देखेको छैन ।

१०. सामान्य अर्थशास्त्र पढेको मान्छेले पनि भन्न नसकिने नेपाललाई स्वीजरल्याण्ड बनाइदिने (Per capita income बढाएर ?) प्रचण्डजीको सबैभन्दा फेइलर विचार हो । मेरै नेताहरूले पनि भन्ने गरेका छन् । यो विल्कूलै तर्कशील कुरा होइन ।

११. विदेश गएका युवाले पठाएका पैसाले माननीयहरूले दलाली नगरिकन, कसैले कमिशन नखाइकन, बदमासी नगरिकन जनताकै लागि लगानी गर्छु भन्ने मान्छे चाहिएको छ ।

१२. ओलीले जे भन्नुहुन्छ त्योभन्दा राम्रो गर्छु भनेर हाम्रा देउवा र रामचन्द्रजीहरू भन्नुहुन्छ । त्यो नै खराब हो ।

१३. मसँग देउवाजीले ४ पटक (त्योबेला) सभापति हुन्छ भनेर ज्योतिषले भनेको छ भन्नुभयो । अरूसँगचाहिँ ज्योतिषले ७ पटकसम्म प्रधानमन्त्री हुन्छ भनेको कुरा सुनेको हो । पटक पटक फेल भएपछि अर्को पटक सभापति वा प्रधानमन्त्री बन्ने हो । एकैपटकमा धेरै गर्न सकिन्छ भने पटक पटक किन हुने ? केका लागि हुने ?

१४. Personal is political भन्ने भनाइ छ । थोरै सहकार्य भएता पनि बामदेव गौतमको दुस्साहसपनको बडो प्रशंसक हुँ । बामदेवलाई उचाल्दा ओलीलाई तह लगाउँछ भनेर अरू नेताहरूले प्रयोगमा ल्याएका हुन् । तर पनि मेरो कसैसँग पनि आपत्ति छैन । यस्ता नैतिकताबाट मुलुक बन्दैन । नैतिकताविनाको राजनीतिको कुनै सिर्जनात्मकता हुँदैन ।

१५. रामचन्द्रजी र शेरबहादुरजी पनि बेलाबेला दाउपेच देखाउनुहुन्छ ।

१६. शेरबहादुर देउवा मेरा अभिन्न मित्र हुनुहुन्छ तर एउटाले बिराउँदा अरूले पनि दुख पाउँछ भनेजस्तो निर्वाचन सार्दा उहाँको सत्ता गयो, उहाँसहित हामी पनि जेल पर्नुपर्‍यो । धेरैले कुटाइ पनि खानुपर्‍यो । कतिपय काम तोकिएको समयमैं गर्नुपर्छ । अटेर गर्दा त्यसले धेरैलाई सिध्याउँछ ।

१७.  एउटा भनाइ छ- युद्धमा सत्य नै सबैभन्दा पहिला मर्छ । चुनाव र राजनीति युद्धकै एक प्रकारको विस्तार हो ।अब टाउको काटेर होइन टाउको गनेर नेतृत्व गर्ने समय हो ।

१८. मलाई पदको कुनै लोभ नै छैन र त म आफ्नो दल मात्रै होइन अरू दलका पनि प्रिय छु भन्ने लाग्छ ।

१९. पत्रकारले प्रश्न सोधेपछि उत्तर त दिनैपर्छ तर मैले मात्रै दिएको उत्तर समाधान होइन । कुनै एउटा व्यक्तिको मात्रै उत्तर सहि हो भनेर मान्नु हुँदैन । सबैका उत्तरहरूबाट राम्रा उत्तर छनौट गर्नुपर्छ ।

२०. कुनै (महाकाली, कर्णाली) बिजुलीको योजनामा जाँदा गाउँलेहरूले पैसा मागे भन्ने गुनासो गरे । माग्छन् त । कम्पनीले खोला नदी पाउँनका लागि कहाँ कहाँ कति कति लगानी गरेको छ ? गाउँलेहरूका लागि गर्नुपर्दैन ?

२१. स्थानीय तहमा प्राप्त अधिकार राम्रोसँग प्रयोग हुन सकेका छैनन् भनेर खोस्ने तयारी गरिएको छ । यो सरासर बदमासी हो । सुरूसुरूमा गल्ती होला तर बिस्तारै सबै ठिक हुन्छ ।

२२. हाम्रो विदेश नीति केही पनि छैन । भारत र चीनसँगको नीति बनाए पुग्छ । हाम्रालागि तेस्रो देशको कुनै मतलब नहोस् । हाम्रो समस्या नै निश्चित विदेश नीति नहुनु हो । छिमेकीका बारेमा स्वस्थ राजनीति हामीसँग छैन ।

२३. मैले ल्याएको मतभन्दा मेरा विपक्षीहरूको कूल मत बढी भएकोले चुनाव मैले जितेको भन्न सुहाउँदैन ।

२४. सामाजिक न्याय वृद्धिदर, विकास र आम जनताको उन्नति अलग अलग शब्द हुन् । वृद्धिदरको मोह छोडेर दुई सय डलरको पेट्रोल र डेढ सय डलरको खानपिनको आयातबारे के सोच्दै हुनुहुन्छ ? वर्तमान विषयमा प्रश्नचिन्ह गर्नुपरेको छ । कि त वृद्धिदर कि त सामाजिक न्याय दुईमध्ये एकातर्फ लागौं ।

२५. माओले जहिल्यै पनि जनताबाट सिकौं र जनताबाट सिकाऔं भनेका थिए । वैकल्पिक अर्थ व्यवस्थाको बाटोबाट बजेटमा ती कुरालाई जोडौं ।

२६. कम्युनिष्टको जति विरोध गरे पनि कम्युनिष्टले जनताले खान पाउनुपर्छ, जनताले लाउनुपर्छ भनेर जनताकै पक्षमा बोलेको छ ।

२७. काङ्ग्रेसले सात साल, अठार साल र तेत्तिस सालमा तीनै पटक हतियार उठाएको छ तर पनि व्यक्तिगत हत्याको काम कहिल्यै गरेन । काङ्ग्रेस व्यक्तिहत्याबाट सँधै टाढा राखेर बसेको हो । कम्युनिष्टहरूले हिंसालाई प्रचार प्रसार गरे अनि उहिले मात्रै होइन अहिले पनि बच्चा पैदा गर्दा पाइने दुख जस्तै हो भनेर हिंसालाई समर्थन गरे । हामीबाट भएका हिंसात्मक गतिविधिलाई कम्युनिष्टले झैं गौरवमय इतिहास भनेर म मान्दिनँ । त्यो मजबुरीमा भएको हो अब निरन्तरता र स्वीकार्य हुँदैन ।

२८. इतिहासमा नेपाली काङ्ग्रेसले प्लेन हाइज्याक गरेको छ । त्यो ठूलो आतङ्क सिर्जना गरेको थियो । अन्तर्राष्ट्रियस्तरमा पनि ठूलो गल्ती गरेको हो ।

२९. बाबुराम भट्टराईले विगतमा काङ्ग्रेससँग गरेको सहकार्य निश्चय नै गल्ति थियो । प्रचण्ड पनि निकै महत्वाकांक्षी व्यक्ति हुन् । जसले नेपालमा ४/५ पटक एकै व्यक्ति प्रधानमन्त्री भएको देख्नु भएको छ । एमालेमा पनि प्रधानमन्त्रीमा नदोहोर्‍याएका नेता छैनन् । हाम्रा साथीहरू त झनै भइहाले ।

३०. मभन्दा योग्य मान्छेहरू मपछिको पुस्ता अर्थात् युवा हो । हामीले तुरून्तै सबै जिम्मेवारी युवालाई हस्तान्तरण गर्नुपर्छ ।

युवालाई जहिल्यै हौसला दिने उनै स्व. प्रदीप गिरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । (मुखाले)

स्याँ स्याँ गर्दै कवि मञ्चतिर, कविता पछाडि बसेर वाल्ल कवितिर हेर्दै…

कवितालाई कविता लेखिरहेकाहरूले सिध्याए वा कवितासँग चासो नहुनेहरूले भन्ने प्रश्न अहिलेको ज्वलन्त विषय बनिरहेको छ । 

यसै सन्दर्भमा आज हामीले कविता, कविता प्रतियोगिता, पोएट आइडल, कविता लेखन, कविता श्रवण आदिका सम्बन्धमा विभिन्न लेखकहरूले सामाजिक सञ्जालमा राख्नु भएका धारणालाई जस्ताको त्यस्तै राखेका छौं ।

भूपीन नेपाली सिनेमामा कवितालाई प्रेम गर्नेहरू भेट्न धेरै मुस्किल छ । उता हलिउड र हिन्दी फिल्म उद्योगमा कविता-शक्ति पर्गेल्ने क्षमतावान नायक/ नायिका कविताप्रति गहिरो सम्मानभाव राख्छन् । हिन्दी सिनेमाको कुरा गर्दा स्क्रिप्ट राइटर गुल्जार र जावेद अख्तर प्रख्यात कवि/ गजलकार हुन् । जावेद अख्तर विख्यात गजलकार कैफी आजमी वा अन्य कवि/सायरहरूको बखान गरेर थाक्दैनन् । प्रख्यात अभिनेता अमिताभ बच्चन, नाना पाटेकर, नसिरुद्धिन शाह, सवाना आजमी, मनोज बाजपेयीदेखि राजेन्द्र गुप्ताहरूले कवितालाई स्वयम् कविले भन्दा बढी फिल गरेर प्रस्तुत गर्छन् । उनीहरूले वाचन गरेका कविताले जनमानसमा चमत्कारिक तरङ्ग ल्याउँछ । 

यता नेपालमा कवि र कविताको इज्जत गर्ने कलाकार कति छन् ? को को छन् ? पहिलेका भुवन केसी ? करिस्मा मानन्धर ? शिव श्रेष्ठ ? उत्तर निराशाजनक छ । राजेश हमालले लेखेको अङ्ग्रेजी कविता नवकवितामा पढेको थिएँ, तर उनले कुनै नेपाली कवि या कवितालाई अमिताभले झैँ वाणी दिएको सुन्न पाइएन । दयाहाङ राईले कुनै कवितालाई कतै पर्दामा सम्मान प्रकट गरेको थाहा छैन । केकी अधिकारी वा स्वस्तिमा खड्काले कुनै कविताको सम्मानमा एक शब्द बोलेको सुन्न पाइएन । सिनेमामा लाग्ने नीर शाह, यादव खरेलहरू अब्बल गीत लेख्थे । गौरी मल्लले टिभी टक शोमा कविता सुनाउँथिन् । नायक निर्देशक अनुप बराल त कुनै समय स्वयम् कवि थिए । निर्देशक मनोज पण्डित चिया गफमा कविता र साहित्यबारे बोल्छन् र भन्छन्- स्क्रिप्ट राम्रो नलेखिएकाले नेपाली सिनेमा राम्रा बनेनन् । कविता कथा लेख्दालेख्दै सिनेमामा छिरेका उपेन्द्र सुब्बा त गजब कवि भै हाले ।

तानाशाहहरूलाई समेत मन पर्दो रहेछ कविता । मृत्युदण्ड पाउनु अघि सद्दाम हुसेन जेलमा कविता लेखेर समय कटाउँछु भन्थे । हाम्रा नायक नायिकालाई कविता सँस्कृतिप्रति बाल छैन । 

दीपकराज गिरीले त तितो सत्यमा कविलाई मान्छे लखेट्दै कविता सुनाउने विकृत चरित्रको रुपमा उभ्याएर कविहरूको अपमान नै गरे । 

थियटर र सिनेमाका कलाकारहरूले सुन्दर कविताहरू वाचन गर्ने प्रचलनले त्यस भाषामा लेखिएका कविताको विस्तारमा गुणात्मक लाभ हुन्छ । नेपाली कविताको विस्तारका लागि प्रकाश सायमीहरू अपवाद नै हुन्, जसले प्रसिद्ध नेपाली कवि र कविताको चर्चा गरिरहन्छन्, लेखि रहन्छन् र क्यासेट नै निकालेर अभिनन्दन गर्छन् ।

यसो हेर्दा नेपाली सिनेमा कवितालाई प्रेम र सम्मान नगर्ने हिरो हिरोइनले भरिएको छ । नायक नायिकाले भन्दा अभिनेताले भरिएको सिनेमा उद्योग समृद्ध मानिन्छ । मलाई लाग्छ- कवितालाई प्रेम र सम्मान पनि नगर्ने कलाकारलाई अभिनेता बन्न गाह्रै हुन्छ । कविता मानव सभ्यताले आर्जन गरेको विशेष सँस्कृति नै हो ।

नारायण गाउँले कविता लेख्नेहरूले मात्रै कविता बुझ्न सक्छन् भन्ने सोच आफैमा अपूर्ण छ ! त्यसो हुँदा पाँच कक्षादेखिका विद्यार्थीलाई किन कविता पढाउनु ? हजारौंले कविताको किताब किनिदिउन् भन्ने किन आग्रह राख्नु ? यस्तो सोचले कवितालाई झन् सञ्कुचन गर्दछ ! अनि लेख्नेले या लेख्नेहरूले मात्रै बुझ्ने कविता त्यसै पनि ‘आइडल’ कविता हुन सक्दैन । भिन्न पृष्ठभूमि र पेशाका हजुरामादेखि नातिसम्मले सुन्दा ‘वाह’ निस्कियोस् न, तब पो कविता ! 

फेरि यो ‘पोएट आइडल’ हो, ‘पोएट्री’ होइन । कविता प्रतियोगिता होइन यो, जहाँ सीमित शब्दको घेराबन्दीमा एउटा कविताका बनोट-बुनोट, रस, लय, भाव, अलङ्कार, शब्दशक्ति या अभिव्यक्ति कौशल हेरेर विजयी घोषणा गरियोस् ! त्यसको लागि ठूsssलो संस्था प्रज्ञा प्रतिष्ठान छँदै छ । 

भनिएकै ‘पोएट आइडल’ छ भने यसमा खास एउटा कविताको मात्रै भूमिका पक्कै हुँदैन । कवित्वका अलावा प्रस्तुति, अभिनय, तत्काल श्रोतामा पर्ने प्रभाव र दर्शकलाई समातिराख्न सक्ने कला जस्ता विविध पक्ष हुन सक्छन् । ‘पार्श्वगायन र कन्सर्ट’ जस्तै उस्तै भएर पनि फरक हुन सक्छन् । आजसम्म हामीले पाठकका लागि कविता पढ्दै आयौं, यो श्रोता र दर्शकका लागि कविता होला । किताबमा साह्रै उच्च लागेको कविता मञ्चमा पढ्दा सामान्य लाग्न सक्छ भने मञ्चमा पढ्दा वाह वाह पाएका कविता या गजल छापिएर पढ्दा सामान्य लाग्न सक्छ । यो कार्यक्रम छाप्ने कविताको होइन । 

त्यसैले केकी अधिकारीलाई त्यस्तो कुनै कार्यक्रमको ‘जज’ बनाउँदा हाम्रो टाउको दुख्नुको अर्थ छैन । उनमा निर्णय गर्न सक्ने क्षमता छैन भन्ने हामी को हौं ? हाम्रा दिदीबहिनीले कविता बुझ्दैनन् ? राम्रो र नराम्रो कविता छुट्याउन सक्दैनन् ? 

मार्क्सवाद, प्रगतिवाद, प्रगतिशीलता, अस्तित्ववाद जस्ता शब्द घोकेको र एकदुई पेग धोकेर छेउ न टुप्पोको कविता लेखेको मान्छे मात्रै कविताको मर्मज्ञ हुँदैन । 

कविता र कवि समाजको लागि हो भने समाजका विभिन्न वर्गबाट ‘जज’ हरू राख्न सकिन्छ । एकल जज त पक्कै होइन । हाम्रो भाषामा कविता नै बुझ्ने पनि त त्यहाँ छन् पक्कै । केकी हुँदा यो छनोट अझ अझ बहुआयामिक हुन पनि त सक्छ । 

अघिल्लो संस्करणमा पनि तपाईं-हामी यस्तै नकारात्मकता या अति कवितात्मकताको शिकार थियौं । यस्तो पनि रियालिटी शो हुन्छ र भन्ने थियो ! भयो ! मजा आयो ! नेपाली कविताको सर्वोच्च स्तर निर्धारण प्रतियोगिता होइन यो, एउटा रियालिटी शो हो, जुन कवितामा आधारित छ । मजा आए हेरौं, नत्र प्रज्ञाको कविता प्रतियोगिता छँदै छ !

सीमा आभास पोएट आइडलको जजमा केकी अधिकारी आएकोमा फेसबुकमा खुब टिकाटिप्पणी चलिरहेका छन् । कविता लेख्नेले कविता नलेखेको पनि देखिएकै हो । कविता लेख्नेले कविताको कमेन्ट नगर्न सक्छ नै भन्ने नदेखिएको पनि हो ।

राजनीतिज्ञ, कलाकार, प्रशासक, फौजी, सङ्गीतसाधकदेखि नीति निर्मातासम्मका व्यक्तिले कविता र कवित्व बुझे भनेँ गतिलो काम गर्न सक्छन भन्ने मलाई लाग्छ । त्यस्तो देखिएको पनि छ । 

केकी अधिकारी कलाकार भएकाले कविता बुझ्ने क्षमता नहोला भन्न सकिँदैन । उनको भूमिका हेर्दै नहेरी नामकै भरमा आएका धारणा अलिक पूर्वाग्रही भए कि भन्ने पनि लाग्छ । 

कविता नलेख्नेले कविता बुझ्न र त्यसमाथि टिप्पणी गर्न सक्छ । कवितालाई कवि माझ मात्र नखुम्च्याएर व्यापक बनाउन यो कार्यक्रमले काम गर्नसक्छ । नयाँ प्रतिभा ल्याउन र कवितालाई पर्फर्मिङ आर्टको रूपमा व्यापकिकरण गर्न यसले भूमिका खेल्न थालेको पनि छ । कुनै पनि बिधाको बृहत् रूपलाई हामीले स्वीकार गर्दै व्यापकिकरण गर्ने, आयआर्जनसँग जोड्ने काम गतिलो हो ।

कविहरूको टेरिटोरिभित्र मात्र कविता घुम्दा कविले कविताको इज्जत नधानेको पनि देखिन्छ । लेखेपछि सुनाउनै पर्ने । आफ्नो सुनाएपछि अरूको सुन्नु नहुने । अरूको सुन्न मात्र नजाने । गएपछि कविता भनेर सुनाउनै पर्ने । यस्तो विकृति त तोडिन्छ बरू !

जनक कार्की अबको केही समयमा यस्तो दिन आयो भने आश्चर्यचकित नपर्नू कवि मित्रो ।

कवितासङ्ग्रहको कभरमा देशका चर्चित नायिका र मोडलहरूको फोटो अनिवार्य हुनसक्छ । कविता अब एक्लै हिँडन सक्दैन भन्ने संकेत कसैकसैले दिइरहेका छन्  । यसलाई कुनै बहुराष्ट्रिय कम्पनीको कमर्सियल बिज्ञापनमा जसरी युवतीको आकर्षक तस्बिरले होर्डिङबोर्ड सजाइन्छ ; त्यस्तै त्यस्तै हुनसक्ने संभावना तिर समय लम्किँदै छ ।

अब कविता बेच्न शरीर राजनीतिको प्रयोग हुने प्रचूर संभावना छ ।

कुनै दिन एउटा यस्तो बिज्ञापन पनि बन्न सक्छ । जहाँ कविताको दुई लाइन वाचन हुन्छ, कुनै देशको टप नायिकाबाट अनि ट्याग लाइन हुनेछ, `यो कवितासङ्ग्रह किनौं, यसका हरेक कविताले तपाईंको पार्टनरलाई फकाउन सघाउने छ ।´

अर्की मोडल आएर भन्नेछिन्, `मेरो सुमधुर सम्बन्धको राज `फलानो´कवितासङ्ग्रह ।´

घनेन्द्र ओझा कुनै कविलाई साङ्गीतिक आइडल, रङ्गमञ्च आइडल, फाइन आर्ट आइडल, चलचित्र आइडलतिर जज बस्न बोलाए कि बोलाएनन्?

मलाई त कविताको जज बस्नभन्दा चलचित्र आइडलको जज बस्न सजिलो लाग्छ है- चलचित्र अत्यन्त कम हेर्नेमा जो पर्छु ।

The Poet-Idol कविताको चीरहरण गत साल आकलझुकल पोयट आइडल हेरेको थेँ । खासमा कवितालाई प्रदर्शनमा लगेर गरिएको नौटङ्की फिटिक्कै मनपरेको थिएन । यो पटक निर्णायकको रूपमा नायिका केकी अधिकारीलाई राख्दै गरेको समाचार पढेँ र अड्कल गरेँ यो साल थप ढर्रा मञ्चन हुँदैछ । शब्द र अर्थको जादुमय परख गरिने कवितालाई भद्दा स्वाङमा सीमित गरिनु कविताको स्वास्थ्यका लागि मात्र होइन पाठकको अपमान पनि हो । व्यापारका बहानामा कुनै विधाको चीरहरण नगरियोस् ।

कवितालाई सबैभन्दा कुरूप स्रोता, पाठकले बनायो वा कविले नै ? यो प्रश्नको उत्तर छिपछिपे ज्ञानले त भेटिँदैन नै । हुन त अरूका विचारलाई कमजोर तुल्याउन जस्तो पनि तर्क गर्न सकिन्छ । त्यही भएर त कतिपयले तर्क पनि आफैंमा झूठ हो भनेका छन् । यसै अर्थमा अरूका कविता पढ्दै नपढ्ने कविले कविता बिगारे वा पोएट आइडल साँच्चिकै पोएट्री आइडल हो वा पोएट आइडल मात्रै  ? लेखक वृत्तमा अहिलेका गरमागरम विषयवस्तु यसैमाथि चर्चामा रहेका छन् ।

उसो भए पुरस्कारको मञ्चतिर अरूलाई पछि पार्दै कवि अघिअघि दगुरिराख्दा कविताचाहीँ अन्तिमतिर दौड छोडेर कम्मरमा हात लगाउँदै विजेता हुने होडको कविलाई वाल्ल परेर हेरिरहेको हो ? तपाईँको उत्तर के हो ? तपाईँका कुरा पनि सुनौँ/पढौँ न त ।

(गाइने)

कविता : तिमीसँग || मसान उपासक

जब शीत लहरहरू बिस्तारै उकालो लाग्छन्
र छोपिदिन्छन् यी हिमालका सुन्दर अनुहार
तब मलाई कुरुप लाग्छ तिम्रो प्रेम

जब ठोकिन्छन् अग्ला बाँसहरू एक आपसमा
र त्यहीँबाट निस्किदिन्छ सुन्दर सङ्गीत
तब मलाई बिरक्त लाग्छ तिम्रो आवाज ।

जब हिउँदमा हिउँ फुलेर बर्षन्छ सल्लामाथि
र पहरामा परिपक्व देखिन्छ सल्लाको बोट
तब म आफै देखेर पनि कच्चा सम्झन्छु ।

जब फुलेको आलुबखडाका हाङ्गाहरूमा
फक्रदै जान्छन् नयाँ बिरुवाका पदचिह्न
तब मलाई हुर्कदै गरेको प्रेममा गर्व लाग्छ ।

जब चराले उठाइल्याउँछ काँसको त्यान्द्रो
र बनाउँछ सुन्दर एउटा अद्भूत घर
तब मलाई नदिका किनारहरू पनि आफ्ना लाग्छन् ।

तिम्रो आँखामा
बेमौसम नाचीहिड्ने रङ्गिन सपनाहरू
हिमालभन्दा सुन्दर कसरी देखिएलान् ?
सल्लाको बोटभन्दा परिपक्व कहिले होला ?
तिम्रो मनमा फुलिरहेको प्रेमले
बाँसको रुखले जसरी सङ्गित भर्छ र ?
आलुबखडामा जस्तो जीवन भेटिएला र ?
या तिम्रो पाखुरामा आर्जेको शक्तिले
एउटा सुन्दर घर कहिले बनाउला ?

यो जिवन न्युटनको कुन नियममा चल्छ ?
डार्विनको विकासवाद कहाँनिर पुग्यो ?
आकाशमा चम्किएका ताराहरूले
एकआपसमा प्रेम पोख्छन्/पोख्दैनन् ?
किन एक्लै–एक्लै कुदिरहेका देखिन्छन् ?
अचेल, पोथी चखेवी किन एक्लै छे ?
निरासामा पनि जिवन हुन्छन् र ?
बिर्खे दाई ! हाँस्न कसले सिकाउला ?

माफ गर, ओ प्रेयसी !
मेरो प्रेम पनि यो पर्यावरण जस्तै
प्रत्येक क्षण परिवर्तन हुदै गएको छ ।

बकैया–४, मकवानपुर

लोकेन्द्र विष्ट मगरले किन किने १८३ थान महावीर पुनको पुस्तक ?

माघ ११, बिहिबार मकवानपुर ।
महावीर पुनद्वारा लिखित आत्मकथा पुस्तकः ‘महावीर’ आफैंले बिक्री गर्दै आउनु भएको छ । पुस्तक बिक्रेतालाई दिनुपर्ने सहुलियतका कारण आफैं पुस्तक बेच्ने निर्णय गरेपछि पुस्तक व्यवसायीहरूले समेत सहयोगस्वरुप पुस्तक खरिद गरेर बिक्री गरेका छन् । देशका विभिन्न स्थानमा पुगेर आफैं पुस्तक बिक्री गरिरहनु भएका पुनको यस अभियानमा सर्जक, पाठक, शुभेच्छुकहरूले साथ दिँदै पुस्तक किनिरहेका छन् ।

यसै सन्दर्भमा पूर्व मन्त्री लोकेन्द्र विष्ट मगर जो हाल कृषिमा आधुनिकीकरणका कार्यमा संलग्न हुनुहुन्छ, उहाँले १८३ थान पुस्तक खरिद गर्नु भएको छ । उहाँले ती पुस्तक विभिन्न विद्यालयमा हस्तान्तरण समेत गर्नु भएको छ । विद्यार्थी र शिक्षकले पढे भने समाजको सबै हिस्सामा यसको शिक्षा पुग्छ भन्ने विष्ट नेपालमा पहिलो ड्रागन खेति गर्ने व्यक्ति हुनुहुन्छ । हाल उहाँ सक्रिय राजनीतिबाट बाहिर हुनुहुन्छ ।

विगत ३० वर्षदेखि बन्द रहेको वीरगन्जस्थित कृषि औजार कारखानालाई मर्मत सम्भार गरेर पुनः सञ्चालन गराएर राज्यलाई सुम्पिन चाहेका महावीर पुनको चाहनालाई पूरा गर्नका लागि विष्टले यो पुस्तक खरिद गरी थोरै भए पनि सहयोग गरेको बताउनु भएको छ ।

राज्यले गर्नुपर्ने काम राष्ट्रिय आविष्कार केन्द्रमार्फत् भइरहेकोमा सो पुस्तक किनेर सहयोग गर्न उहाँले सबैलाई अनुरोध समेत गर्नु भएको छ । यसै सन्दर्भमा उहाँ भन्नुहुन्छ- समाज, देश र संसार बदल्न सबैको साथ चाहिन्छ।
वीरगञ्ज कृषि औजार कारखानामा केही औजारहरू बन्न सुरू भइसकेको छ भने हालसम्म २४ हजार बढी पुस्तकहरू बिक्री भइसकेको महावीर पुनले सामाजिक सञ्जारमा सार्वजनिक गर्नु भएको छ ।

कविताबारे “अकवि”का कुरा || घनश्याम घिमिरे

कविता सुन्न जति सजिलो छ, टिप्पणी गर्न जति सजिलो छ अनि अब म कविता लेख्छु, भन्न जति सजिलो छ, कविता लेख्न चाहिँ त्यति नै गाह्रो छ। साहित्यका विविध विधाहरुमध्ये कविता आफैमा विशिष्ट, व्यापक तर सूक्ष्म साहित्यिक विधा हो, जसले बीजमा विशालता बोकेको हुन्छ, जसले संक्षिप्तमा व्यापकता बोकेको हुन्छ, जसले थोरैमा धेरै बोलेको हुन्छ । कविता आफूमा झिल्को हो, जसले अरुमा राँकोको सल्काउनुपर्छ, कविता आफूमा थोपो हो, जसले अरुमा सागर खन्याउन सक्नुपर्छ, कविता आफूमा शब्द हो, जसले अरुमा प्रबन्ध बुझाउन सक्नुपर्छ । समग्रमा कविता स्वरूपमा थोरै तर सारमा विशाल हो।

के लेखिनुपर्छ कवितामा
कवितामा जीवन व्यवहार लेख्नुपर्छ, चिन्तन लेख्नुपर्छ, चेतना लेख्नुपर्छ । हामी जति पनि कविताहरू पढ्छौँ त्यसले कुनै न कुनै रूपले जीवनलाई, जीवन बाँचेको समाजलाई र जीवनले भोगेको व्यवहारलाई बोलेको हुनैपर्छ । जब कविता जीवन, समाज र अनुभूतिभन्दा टाढा हुन्छ, त्यतिखेर कविता नै लाग्दैन । त्यसकारण कविले कल्पनाको बहावमा बग्दै कलाको धारिलो शैलीमा जीवन बोल्न सक्नुपर्छ, समाज छाप्न सक्नुपर्छ, अनुभूतिलाई देखाउन सक्नुपर्छ ।
त्यसैगरी कवितामा चिन्तन अभिव्यक्त हुनुपर्दछ । हामी जति कुराहरु परेर वा पढेर जानिरहेका हुन्छौं, बुझिरहेका हुन्छौं, तिनीहरूप्रति चिन्तन गर्दै त्यसको सूत्रात्मक अभिव्यक्ति कवितामा आएको हुनुपर्छ । कविता पाठहरु होइन, कविता पाठहरूको निष्कर्ष चाहिँ हो । त्यसकारण हामीले जिन्दगीमा परेर वा पढेर जानेका अनेकौँ पाठहरूको सार कविता बन्नुपर्छ, निष्कर्ष कविता बोल्नुपर्छ ।
कवितामा जीवन व्यवहार र चिन्तन मात्र होइन चेतना पनि बलेको हुनु आवश्यक छ । एउटा सचेत पाठकले कुनै कविता पढिरहँदा कविताको अन्त्यसँगै चेतनाको नयाँ झिल्को पनि फेला पार्नुपर्दछ । जसले अँध्यारो जीवनमा उज्यालोको आभास देओस्, रुमलि्लरहेको जीवन यात्रामा गन्तव्यको संकेत गरोस् । त्यसकारण हरेक कविताहरू चेतनाको झिल्को हो, जसले जीवनलाई उज्यालो देखाओस्, समाजलाई झलमल्ल पारिदियोस् । त्यो उज्यालो कविता बनेर बोल्नुपर्दछ ।

कसले लेख्छ कविता
हरेक सचेत र जागरुक सज्जनहरूमा कवि हुने लोभ र कविता लेख्ने भोक जाग्नु स्वाभाविक हो । सबैको बैंसमा कवि हुने रहर पलाउनुलाई सामान्य ठानिन्छ । तर रहर पलाउँदैमा सबै कवि हुँदैनन् । त्यस्तो विशेष व्यक्ति कवि हुन्छ, जसमा विशेष क्षमता र प्रतिभा रहन्छ । त्यसकारण जो व्यक्ति प्रतिभाशाली हुन्छ, जन्मजात नै कवितात्मक क्षमता बोकेर आएको हुन्छ वा स्वभाविक रुपमा कवि मन हुन्छ, त्यसले कविता लेख्छ । पूर्वीय सभ्यतामा प्रतिभालाई सिर्जनाको सर्वप्रथम स्रोतका रूपमा पहिचान गरिएको छ । प्रतिभाविहीन व्यक्तिले गरेका कुनै पनि सिर्जनाहरू उत्कृष्ट बन्न सक्दैनन् भन्ने निचोड संस्कृत साहित्य सिद्धान्तमा रहेको छ । जुन कुरा आजको प्रयोगशील जीवनमा पनि देख्न सकिन्छ । कला, साहित्य, संगीत जस्ता कलात्मक क्षेत्रमा प्रतिभाशाली व्यक्तिले नै उत्कृष्ट सिर्जना दिन सकेको पाइन्छ । सोही अनुरूप कविता पनि त्यस्तो विशिष्ट कलात्मक सिर्जना हो, जसको सर्जक बन्नका लागि प्रतिभासम्पन्न हुनु अनिवार्य हुन्छ । त्यसकारण कविता लेख्नका लागि प्रतिभा पहिलो सर्त हो ।
प्रतिभाशाली व्यक्तिले आफ्नो क्षमता र प्रतिभालाई निखार ल्याउन अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ । विभिन्न ग्रन्थहरू पढेर होस् वा जीवन र समाजलाई पढेर होस्, कुनै न कुनै रुपले अध्ययन आवश्यक हुन्छ । सुषुप्त अवस्थामा रहेको प्रतिभालाई उजागर गरेर आत्मविश्वाससहित प्रस्तुत हुनका निम्ति पनि सम्बन्धित क्षेत्रको गहिरो अध्ययन आवश्यक पर्दछ । सोही अनुरुप सर्जक व्यक्तित्वहरुले पनि सम्बन्धित विषयक्षेत्रको गम्भीर अध्ययन अनुसन्धानपछि आफूलाई सिर्जनामा क्रियाशील तुल्याउन सके उत्कृष्ट सिर्जना वा कविता सम्भव हुन्छ । त्यसकारण जो व्यक्ति अध्ययनशील छ, जसले जीवन र समाजलाई पढेको छ, बुझेको छ, उसैले राम्रो कविता लेख्न सक्छ ।
प्रतिभाशाली व्यक्तिले आवश्यक अध्ययन अनुसन्धान गरेपछि जब कवितात्मक लेखनको अभ्यास वा प्रयास गर्छ तब सिर्जनाले मूर्तरुप पाउँछ । हामीले कुनै अभ्यास वा प्रयास बिना नै प्रतिफलको अपेक्षा गर्न सक्दैनौँ । त्यो प्रतिफल भनेको कवितात्मक सिर्जना हो । पटकपटकको प्रयास र अभ्यासले हरेक सिर्जनालाई उत्कृष्ट बनाउन मद्दत गर्दछ । त्यसकारण एउटा कवि उत्कृष्ट सिर्जनाका निम्ति जति धेरै प्रयासरत वा अभ्यासरत रहन्छ उत्ति नै धेरै सुन्दर कविताको पनि सम्भावना हुन्छ ।
त्यसर्थ जो प्रतिभा सम्पन्न हुन्छ, जो अध्ययनशील हुन्छ र सिर्जनात्मक प्रयास र अभ्यासमा सक्रिय रहन्छ उनै उत्कृष्ट कवि बन्छ, उसका रचनाहरु नै कालजयी बन्छन् ।

कसरी लेखिन्छ कविता
कविता आफैंमा विशिष्ट कलात्मक साहित्यिक विधा भएको हुनाले यसको लेखनगत सीप पनि विशिष्ट रहन्छ । सामान्य र हलुका अभिव्यक्ति पक्कै कविता होइन । कविता हुनका लागि खास विषयलाई प्रतीकात्मक र सूत्रात्मक ढंगले लय विधानका साथ प्रस्तुत गरिएको हुनुपर्छ । त्यसकारण कविता मूलतः संक्षिप्त, कलात्मक, लयात्मक र चमत्कारजन्य भाषिक अभिव्यक्ति हो । यसले बिन्दुमा विश्व अटाउन सक्नुपर्छ । त्यसकारण राम्रो कविताको भाषा व्यञ्जनात्मक हुनुपर्छ । कवितामा जति धेरै व्यञ्जनात्मक अभिव्यक्ति दिन सकियो त्यति नै उत्कृष्टता कायम गर्न सकिन्छ । सन्दर्भअनुसार कतिपय कविताहरुमा लक्ष्यार्थको प्रयोग पनि पाइन्छ । लक्ष्यार्थ कविताको दोस्रो तहको भाषिक कौशल हो । र कविताको सामान्य भाषिक अभिव्यक्तिका रूपमा अभिधात्मक भाषालाई लिइन्छ । त्यसर्थ हामीले लेख्ने कवितामा जति धेरै व्यञ्जनात्मक अभिव्यक्ति वा व्यङ्ग्यात्मक अभिव्यक्ति रहन सक्छ, त्यो कविता त्यति नै धेरै उत्कृष्ट हुन्छ भने अभिधात्मक भाषाको प्रयोगले भने कवितालाई कमजोर बनाइदिन्छ । कविता लेख्दै गर्दा सकेजति बढी व्यञ्जना र लक्षणाको प्रयोग गर्ने अनि अभिधाको प्रयोगलाई सकेजति न्यूनीकरणको प्रयास गर्ने तरिका अपनाउनु पर्दछ ।
त्यसकारण कविता आफैमा विशिष्ट साहित्यिक विधा हो भन्ने बुझ्नुपर्दछ । जीवनका अनेक आरोह अवरोहहरुसँगै कवितालाई पनि जोड्न सक्नुपर्छ । कवितामा जीवन, समाज, चिन्तन र चेतना अभिव्यक्त भएको हुनुपर्दछ । प्रतिभा सम्पन्न व्यक्तिले आवश्यक अध्ययनपछि गरेको पटकपटकको प्रयास, अभ्यासपछि उत्कृष्ट कविताको सिर्जना हुन्छ । कविता सकेजति बढी व्यञ्जनात्मक, व्यङ्ग्यात्मक एवं प्रतीकात्मक भाषाको प्रयोग गरेर लेखिनु पर्दछ, जसमा सन्दर्भ अनुसार लक्षणाको पनि प्रयोग गर्न सकिन्छ तर कवितामा अभिधात्मक भाषा अर्थात् प्रत्यक्ष अर्थ दिने भाषाको प्रयोगमा भने न्यूनीकरण गर्नै पर्दछ । प्रतिभा, चेतना र व्यञ्जना उत्कृष्ट कविताका लक्षण हुन् भने अध्ययन, चिन्तन र लक्षणा मध्यमस्तरका कविताका लक्षण हुन् । त्यसैगरी प्रयास, सामान्य जीवन भोगाइको अभिव्यक्ति र अभिधात्मक लेखाइ निम्न स्तरका कविताका लक्षण हुन् ।

‘सुमधुर स्वरका धनी गायक योगेश वैद्यको निधन

माघ ५, शुक्रबार मकवानपुर ।  स्वर्गीय गायक योगेश वैद्यलाई सर्वाधिक लोकप्रिय बनाउने गीत हो- “सपना भुलाई सारा आँसु पिएर जाऊ, मन्दिरमा छ तिम्रै तस्वीर लिएर जाऊ” । यो गीत शिव अधिकारीले लेखेको र नातिकाजीद्वारा सङ्गीतबद्ध गरिएको थियो ।

शुक्रबार उहाँको पार्थिव शरीर अघि वहाँद्वारा गाइएको सोही गीत वहाँलाई नै अर्पण गर्दै गीत-संगीतकर्मीहरूले श्रद्धाञ्जली‌ अर्पण गरेका छन् ।

योगेश वैद्यलाई गायनमा विशिष्ट उचाईँ दिने पहिलो गीत “नेपाल मेरो तिमीलाई उपहार भो” भन्ने राष्ट्र गीत हो। मवीवी शाह (श्री ५ महेन्द्र) बाट लेख्नुभ‌एको यो गीत २०२७ सालमा रेकर्ड गरिएको थियो। यो गीत रेकर्ड भएको एक वर्षमै राजा महेन्द्रको देहावसान भएको थियो ।

गायक वैद्यले त्रिभुवन विश्वविद्यालयबाट वनस्पति शास्त्रमा स्नातकोत्तर गरेपछि तत्कालीन श्री ५ को सरकारको छात्रवृत्तिमा बेल्जियमको गेन्ट स्टेट विश्वविद्यालयबाट खाद्य तथा पोषण विज्ञानमा पनि स्नातकोत्तर गर्नुभ‌एको थियो ।

तीन दशकभन्दा लामो समय श्री ५ को सरकारको सहसचिव स्तरको प्राविधिक सरकारी सेवामा रहेर काम गर्नुभ‌एका उहाँलाई भलाद्मी एवं शालीन गायकको रूपमा चिनिने उहाँका सहयात्रीहरू बताउछन् ।

करिब पाँच सय नेपाली गीत तथा झन्डै एक सयभन्दा बढी नेपाल भाषाको गीतमा स्वर दिनु भ‌एका वरीष्ठ गायक तथा सङ्गीतकार वैद्यको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लाने क्रममा (२०८० साल माघ ४ गते) बिहीबार राति करीब साढे १२ बजे निधन भएको हो। पछिल्लो समय पक्षघात सम्बन्धी समस्या समेत झेलिरहनु भ‌‌एका उहाँको केही समयअघि मिर्गौला समेत प्रत्यारोपण गरिएको थियो |

बि.सं. २०२५ सालमा किरण खरेलको शब्द र नातिकाजीको संगीतमा उनको पहिलो गीत ‘कति प्यासी छ जिन्दगी’ रेकर्ड भएको थियो भने २०४४ सालमा शिव अधिकारीको रचनाको ‘सपना भुलाइ सारा’ उहाँको चर्चित र लोकप्रिय गीत हो ।

नवसाहित्य परिवार गायक वैद्यप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ ।

 

‘फर्क अभियान’ को पहिलो श्रृङ्खलामा कवि अमृतको एकल कविता वाचन

 

प्रकाशित दोस्रो पुस्तक ‘यादको कोलाज’ माथि चर्चा गर्दै निखिलले पाठकको रोजाईमा हुनुपर्ने पुस्तकमध्ये सो पुस्तक छुट्न नहुने जानकारी दिनुभयो ।

नकारात्मकताबाट सकारात्मकतातर्फ, बाटो बिराइएकाबाट लय पकड्न, देश, माटो, प्रकृतिलाई सम्मान गर्दै उचित स्याहार र समाजलाई युगिन परिवर्तनतर्फ फर्काउने अभियान‌स्वरूप सङ्गठित युवाहरूको समूह नै फर्क अभियान हो । शुक्रबार बिर्तामोडमा चन्द्र गुरूङ र प्रकाश थाम्सुहाङसाथ ‘रिडर्स मीट’ कार्यक्रममा सरिक भ‌ई हेटौँडा आउनुभ‌एका कवि अमृत फर्क अभियानका एक सदस्य हुनुहुन्छ ।

यस अभियानमा पोखरेली स्रष्टाहरू कवि अमृत, मुक्तककार अमृता पोखरेल, रमेश रसिक बारा, मकवानपुरका सर्जकहरू बैकुन्ठ लामिछाने, मसान उपासक, सागर तिमल्सिना, सानु खनाल, स्वस्तिका बानिया, अजर फुयाल, सुबास सजल, अमृता लामिछाने र संप्रस पौडेल सहभागी हुनुहुन्छ ।

बाह्र जना श्रष्टाहरू समावेश यस समूहले साहित्य लेखनबाट आफ्ना उद्देश्यहरू पूरा गर्नमा कटिबद्ध हुने कार्यक्रम सञ्चालक तथा अर्का सदस्य मसान उपासकले अभियानकेन्द्रित गजल वाचनका साथ जानकारी दिनुभयो ।

देब निर्दोषका तिन मुक्तकहरु

घाउ निको हुन पनि खाटो चाहिन्छ
गन्तव्य सम्म पुग्न पनि बाटो चाहिन्छ
आफैले आफुलाई नै मै हु भन्थेउ
तिमी बाठो हुन पनि एउटा लाटो चाहिन्छ

के के हुन्छ कसो सबै बताएको छु
सङ्गै हुदा तिमिलाई नै सताएको छु
जब तिमी नहुदा मेरो आसपास
छट्पटीमै रात मैले कटाएको छु

कयौं बाधा अफ्ट्यारोले छेकेको दिन
भेट हुन लाई नसिबमा लेखेको दिन
सबै कुरा नै बिर्सन्छु होला अब म
तिम्रो लागि मैले हेटौंडा टेकेको दिन

-देब निर्दोष
मकवानपुरगढी-५, धादिङ

माघ ५ गते हेटौँडामा कवि अमृतको एकल वाचन हुने

माघ ४, बिहिबार मकवानपुर । पोखराका युवा कवि तथा निबन्धकार अमृत क्षेत्रीको एकल वाचन तथा यादको कोलाजमाथि चर्चा कार्यक्रम हेटौँडामा हुने भएको छ । माघ ५ गते अपराह्न ४ बजे  साहित्य सङ्गम मकवानपुरको सभाहलमा फर्क अभियानले कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रममा कवि निमेष निखिलले कवि अमृतको पछिल्लो सङ्ग्रह यादको कोलाजमाथि समीक्षात्मक टिप्पणी राख्नुहुने छ । यसैगरी कार्यक्रममा कवि क्षेत्रीले आफ्ना एक दर्जन कविता वाचन गर्नुहुने फर्क अभियानका अभियन्ता सागर तिमल्सिनाले जानकारी दिनुभयो ।

पछिल्लो समय केही युवाहरूको सहभागितामा फर्क साहित्यिक अभियान चलिरहेको छ । यसले आफ्नो पहिलो कार्यक्रमका रुपमा कवि क्षेत्रीको एकल वाचन आयोजना गर्न थालेको अभियन्ता बैकुण्ठ लामिछानेले बताउनुभयो ।

फर्क अभियानमा कवि अमृत क्षेत्री स्वयम् एक अभियन्ताका रुपमा सक्रिय हुनुहुन्छ ।

सिएम रिमालको बालकथासङ्ग्रह ‘कथा भन्छु नि ल !’ बजारमा ।

माघ २, मङ्गलबार मकवानपुर । सिएम रिमालको बालकथासङ्ग्रह ”कथा भन्छु नि ल !” बजारमा आएको छ । पुस्तकमा अनुष्माको आँसु, उसलाई सधैँ राम्रो होस् र कथा भन्छु नि ल ! शीर्षकका तीन कथा समेटिएका छन् । शिक्षणसिकाई र साहित्य सिर्जनामा सक्रिय रिमालका यसअघि फुटकर रचनाहरु प्रकाशित थिए । बालकथा, बालकविता, समीक्षा, कथा र कविता लेखनमा निरन्तर लागिरहेका उनको यस पुस्तकमा बालमनोविज्ञान बुझेर लेखिएका बालकथाहरु छन् ।

‘आँट गरे, गर्न नसकिने केही रहेनछ ।’ अनुष्माको आँसु शीर्षकको कथामा यस्तो मूलभाव छ । क्षमता चिनेर हौसला दिएमा बालबालिका अगाडि बढ्न सक्ने विषयवस्तु कथामा रोचक ढङ्गले पस्केका छन् । गरीब दीनदुःखीलाई सहायता गर्नुपर्छ, प्राणी रक्षा गर्नु हाम्रो कर्तव्य हो भन्ने सन्देश बोकेको ‘उसलाई सधैँ राम्रो होस्’ शीर्षकको कथा पढ्दा पाठकमा सकारात्मक सोच विकास हुन्छ ।

नानीबाबुहरुलाई सुत्ने समयमा कथा सुनाउने परम्परा हट्दै गएको आजको समयमा यस पुस्तकको शीर्षकले नै कथावाचनको माग गर्दछ । शीर्षक पढ्दा नै कथा सुनाउने जिम्मेवारी थपिएजस्तो गराउने ”कथा भन्छु नि ल !” शीर्षकको कथामा “योचाहिँ म सानै छँदाको कुरा हो…।” भन्ने प्रसङ्गले बालबालिकालाई आकर्षित गराउँदछ । चित्रसहितको यस पुस्तकमा देव कोइमीले चित्र बनाउनुभएको छ । पुस्तक खोजी प्रकाशनले बजारमा ल्याएको हो ।