Home Blog Page 64

१ लाख पुरस्कार राशीको कविता प्रतियोगिता हुँदै

प्रदेश युवा परिषद बागमती प्रदेशको आयोजना तथा साहित्य सङ्गम मकवानपुरको सहकार्यमा कविता प्रतियोगिता हुने भ‌एको छ । ४० वर्ष उमेर पार नगरेका युवा कविहरूले मात्र सहभागिता जनाउन सक्ने खुला कविता प्रतियोगितामा विषय समेत खुला रहेको छ । कविताका साथ उमेर खुल्ने आधिकारिक प्रमाणपत्र र व्यक्तिगत विवरण (बायोडाटा) आश्विन २२ गतेभित्र प्राप्त भ‌इसक्नुपर्ने आयोजकले जानकारी दिएको छ ।

प्राप्त कवितामध्ये उत्कृष्ट २० छनौट गरी अन्तिम प्रतियोगितामा सामेल गराइने र सोका लागि कवि स्वयम् उपस्थित हुनुपर्ने साजित्य सङ्गमका सचिव मनोज पोखरेलले बताउनुभयो । कविता बढीमा १५० शब्दसम्मको, अन्यत्र (पत्रपत्रिका तथा सामाजिक सञ्जालमा) अप्रकाशित तथा मौलिक हुनुपर्ने सूचनामा जनाइएको छ । प्रथम पुरस्कार ४० हजार, द्वितीय ३० हजार, तृतीय २० हजार र सान्त्वना १० हजार राशी रहेको अध्यक्ष डीबी बर्तौलाले बताउनुभयो ।


कविता manojpokhrel150gmail.com, nimeshnikhil@gmail.com र pycbagamati@gmsil.com मध्ये कुनै इमेलमा पठाउन सकिनेछ । कविता प्रिती फन्टमा टाइप गरी पठाउनुपर्ने छ ।

मातृका पोखरेल पारिजात स्मृति केन्द्रको अध्यक्षमा चयन ।

मकवानपुर । सुप्रसिध्द लेखिका पारिजातको नाममा स्थापित पारिजात स्मृति केन्द्रको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

प्रगतिवादी कथाकार इस्मालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त सभाको सभापतित्व केन्द्रका उपाध्यक्ष इन्दिरा दलीले गर्नुभएको थियो । साधारणसभामा महासचिव दीलसुन्दर श्रेष्ठले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष डा. विन्दु शर्माले प्रस्तुत गर्नुभएको आ.व. २०७९ र ०८० को लेखा परीक्षण प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको थियो ।

साधारणसभाले अध्यक्ष डा. राजेन्द्रप्रसाद अधिकारीले कार्यव्यस्तताको कारण देखाउँदै दिएको राजिनामा स्वीकृत गरी कार्यसमिति सदस्य मातृका पोखरेललाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।

त्यसैगरी, सभाले कोषाध्यक्ष देविका तिमिल्सिनाले दिएको राजिनामा स्वीकृत गरी कार्यसमिति सदस्य डा. विन्दु शर्मालाई कोषाध्यक्षको जिम्मेवारी प्रदान गर्ने कार्यसमिति वैठकको निर्णयलाई अनुमोदन गरेको छ ।

साथै रिक्त रहेको कार्यसमिति सदस्यमा कवि केशव सिलवाल र समालोचक अमृता शर्मालाई मनोनयन गर्‍यो ।
साधारणसभामा स्मृति केन्द्रका पूर्व अध्यक्ष एवम् वर्तमान कार्यसमिति सदस्य डा. महेश मास्के, अध्यक्ष मातृका पोखरेल, वरिष्ठ अधिवक्ता उषा मल्ल पाठक, साहित्यकार डा. गीता त्रिपाठीले मन्तव्य राख्नुभएको थियो ।

साधारणसभालाई स्मृति केन्द्रका महासचिव दीलसुन्दर श्रेष्ठले संचालन गर्नुभएको थियो । कार्यक्रमको शुरुमा कार्यसमिति सदस्य सीता शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो ।

पद्मश्री साहित्य पुरस्कार डा. सुवेदी,पद्मश्री साधना सम्मान वात्स्यायन र पद्मश्री गौरव पुरस्कार शर्मालाई दिईने

मकवानपुर । यस वर्षको पद्मश्री साहित्य पुरस्कार समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’ लाई दिइने भएको छ । खेमकला हरिकला समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै २०७९ सालको पद्मश्री साहित्य पुरस्कार ‘मनु’ लाई दिने निर्णय भएको जानकारी दिनु भएको  । मनु उपन्यास ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक–सांस्कृतिक उपन्यास हो । मूल पात्र मनुको नेतृत्वमा सुर र असुरबीचको द्वन्द्व समाप्त भई उनकै नेतृत्वमा मानवजातिको विकास भएको कथा उपन्यासमा चित्रण गरिएको प्रतिष्ठानले जनाएको हो । प्राप्त १८० पुस्तकमध्येबाट छनोट प्रक्रियाको पहिलो चरण (विस्तारित सूची) मा पन्ध्र र दोस्रो चरण (सङ्क्षिप्त सूची) मा पाँच पुस्तक सार्वजनिक गरेको प्रतिष्ठानले सुवेदीको उपन्यासलाई पद्मश्री साहित्य पुरस्कार दिने घोषणा गरेको हो । वि.स. २०६३ देखि खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ । यसैगरी, प्रतिष्ठानले पद्मश्री साधना सम्मान बीसको दशकदेखि चित्रकला र कार्टुनकलाका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने कलाकार दुर्गा बराल (वात्स्यायन) लाई अर्पण गर्ने निर्णय गरेको छ । उनले नेपाली कार्टुनलाई नयाँ शैली तथा कलात्मक र धारिलो व्यङ्ग्यका माध्यमबाट नवीन दिशा दिएको प्रतिष्ठानले‍ जनाएको छ । त्यस्तै २०६७ सालदेखि साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्नुहुने विशिष्ट साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ । गत वर्षबाट सुरु गरिएको पद्मश्री गौरव पुरस्कार यस वर्ष शिक्षाको क्षेत्रमा विशेष योगदान दिने शिक्षाविद् तथा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई अर्पण गर्ने निर्णय गरिएको छ । पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीन ओटैको राशि तीन लाख रुपैयाँ रहेको छ । तीन ओटै सम्मान तथा पुरस्कार प्रत्येक वर्षझैं कोजाग्रत पूर्णिमाका दिन अर्पण गरिने प्रतिष्ठनले जनाएको छ ।

राधा भुजेलको गजल

बलात्कृत बहिनिको लास झिकियो झाडीबाट
दाईलाई पनि मारिएको खबर आयो खाडीबाट ।

होस मात्रै गुमेको छैन, उनले छोडेर गएदेखी
फेरि सिन्दुर लिएर को आयो मेरो अगाडिबाट ।

खान पुग्दैन थियो, तीन हलको मेलो थियो
सधैँ बेसाउन पर्नी भयो, अहिलेको बाडीबाट ।

नभेटिने गरी अगाडि पुगिसके पौरख गर्नेहरु
कुरा काट्नेहरु काटिरहून्, मेरो पछाडिबाट ।

बाले जिम्मेवारी मात्रै सिकाएर अर्को संसार गए
आमाले दु:ख र संघर्ष सिकाइन् फाटेको साडीबाट।

भरतपुर चितवन,हाल : बुटवल

मातृभूमिको २५औं स्थापना दिवस र मुना अर्यालको महाकाव्य ‘महाकाश’ लोकार्पण

सँस्कृतिविद् प्रा.डा. जगमान गुरूङ र लघुकथाकार विदुर चालिसे साथ प्रमुख संरक्षक मुक्तिगोविन्द वैद्य, प्रमुख सल्लाहकार देवराज खरेल र संरक्षक हयग्रीव आचार्य सम्मानित

आश्विन ६, मकवानपुर ।
मातृभूमि साहित्य समाज हेटौँडाले २५औँ स्थापना दिवस मनाउँदै महाकाव्यकार मुना अर्यालको महाकाव्य ‘महाकाश’ लोकार्पण गरेको छ ।
माननीय मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता र मातृभूमिका अध्यक्ष माधवबहादुर पोखरेलको अध्यक्षता रहेको कार्यक्रममा सँस्कृतिविद् जगमान गुरूङको विशिष्ट आतिथ्यता रहेको थियो । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, प्रमुख संरक्षक मुक्तिगोविन्द वैद्यको आतिथ्यता रहेको कार्यक्रममा संस्थाका अर्का प्रमुख सल्लाहकार देवराज खरेलले संस्थागत परिचय तथा स्वागत गर्नुभएको थियो ।
यसै क्रममा संस्थाको आफ्नो वेबसाइट समेत सार्वजनिक गरिएको छ भने आजको कार्यक्रममा प्रतिनिधिमूलक रचनाहरू वाचन गरिएका छन् । सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, साहित्य संगम तथा मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डीबी बर्तौला, देवराज तिवारी, सुशिल पराजुली र सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिललगायत स्रष्टाहरूले रचना वाचन गर्नुभयो भने लालकाजी परियार र स्वस्तिका दाहालले गायन गर्नुभयो ।
कार्यक्रममा नगद रू. २५ हजार राशीको “मातृभूमि राष्ट्रिय पुरस्कार २०८०” वरीष्ठ संस्कृतिविद् तथा प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. जगमान गुरुङलाई समर्पण गरिएको छ । यसै अवसरमा संस्थाका कार्यसमिति सदस्य किशन पौडेलद्वारा स्थापना भएको नगद रु. ११ हजार १ सय ११ राशीको मातृभूमि लघुकथा रत्न सम्मान-२०७९ ‘लघुकथालय’ का सर्जक लघुकथाकार डा. विदुर चालिसेलाई समर्पण गरिएको छ ।
मन्तव्यका क्रममा महाकाव्यकार मुना अर्यालको दोस्रो महाकाव्य ‘महाकाश’ ओशोको जीवनी र व्यक्तित्वबारे लेखिएको विश्वकै पहिलो महाकाव्य रहेको संस्थापक अध्यक्ष तथा संरक्षक हयग्रीव आचार्यले बताउनुभयो । वर्षेनी थुप्रै साहित्य सर्जक तथा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिनुहुने व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार दिने यस मातृभूमिको आजको कार्यक्रममा साहित्य सर्जकहरू सुवास खनाल, केशव समर्पण, घनश्याम घिमिरे, जनार्दन खनाल, रजनी पौडेल, कुबेर पराजुली, स्वस्तिका बानियाँ, भावना सापकोटा, भवानी तिमल्सिना, चिरञ्जीवि लामिछाने आदिको उपस्थिति रह्यो ।
वडा नं. ४ हेटौँडा उपमहानगरपालिकाद्वारा प्रायोजन गरी पल्पसा प्याराडाइजमा सम्पन्न उक्त कार्यक्रमलाई मातृभूमिका महासचिव हेमन्त ढुङ्गेलले सञ्चालन गर्नु भएको हो ।

कथा: मनका बोझहरू / मिथिला अधिकारी

कहिलेकाहीँको हेलोहाई गर्दै जाने सिलसिलामा मेरो र सरोजको सम्बन्ध गाढा बन्दै थियो । मैले यो सम्बन्धलाई उतिसारो गम्भिरताका साथ नलिएकी भएपनि सरोज भने बोल्दै गर्दा आफु प्रेममा परेको कुरा व्यक्त गर्न पनि पछि पर्दैनथ्यो । म उसको कुरालाई हाँसेर टारीदिन्थें ।
समय नदी झैँ निरन्तर बग्दै गयो । हामी दुवैबीच दुःख सुखका अनगिन्ती पोकाहरू खोलिँदै गए । दुवै निसंकोच एकअर्कामा पोखिँदै गयौं । दुःख र सुख भन्ने शब्द सबैका लागि समान भएपनि त्यसका भोगाईहरू फरक–फरक हुन्छन्, प्रकारहरू फरक हुन्छन् । हामीहरूबीचका पनि आ–आफ्नै खाले कथा–ब्यथा थिए, दुबैका । एकले अर्काका दुःख र पीडाका कुराहरू सुन्दा सुनाउँदा सहानुभूति दिने होड नै चल्थ्यो, हामी बिचमा ।
कहिलेकाही बोल्ने क्रममा मेरा आँखा रसाउँदा, लाटी ! पीडालाई कमजोरी होइन तागत बनाउनु पर्छ । आँसु नझार, आँसुले कमजोर बनाउँछ । तिमी त कमजोर होइन, साहसी बन्नुपर्छ । अब त म तिमीसँग छु । तिमिलाई मेरो साथ छ । अनि हाम्रो सँगसँगै लामो यात्रा रहनेछ । तिमीलाई बिचमा छोड्ने छैन । भौतिक दुरी रहला हाम्रो तर आत्माको बीचमा दुरी कदापी हुने छैन, हृदयमा रहेकी छ्यौ र सदा रहिरहने छ्यौ, आर्दश, आदरणीय र प्रिय बनेर ।
सरोज भावुक बन्दा म उस्तै गरी सम्झाउँथें उसलाई । तिमी अब एक्लो छैनौ । म छु तिम्रो साथमा । हरपल, हरसमय । तिम्रा हरेक समस्यामा सकेको साथ र सहयोगको लागि पछि हट्ने छैन् । तिम्रा हरेक पाइलामा उन्नति हेर्न चाहन्छु म । निरन्तर तिम्रो प्रगति र पहिचानको लागि शुभेक्षा रहने छ मेरो ।
हामी दुबैमा एक अर्काप्रतिको आत्मिक प्रेमको जागरण र हृदयको उर्वर तहमा प्रेमको बीजारोपण भैसकेको अनुभुति भएको थियो । समयको गतिसँगै दुबैका हृदयमा अङ्कुरित प्रेमको बीजले कलिलो पालुवाको रुप लिन थाली सकेको थियो । एकअर्काको सम्झना र कल्पनामा अल्झीरहने । एकअर्कासँग बोलीरहनु पर्ने । मोबाईल किन नबजेको होला । फोन त आउनु पर्ने । कतै मोबाईल साइलेन्टमा त छैन ? भनेर घरिघरि मोबाईल हेरिरहनु पर्ने । एकअर्कालाई हेर्न हुट्हुटि लागिरहने । तर हामीहरूबिच अनेक कुराहरु बाधक बन्थे ।
तर पनि म जसरी तसरी समय मिलाएर फोन गर्ने म्यासेज गर्ने गरिरहन्थें । तर सरोज भने पहिले भन्दा कमै म्यासेज गर्ने, कमै फोन गर्ने गर्दथ्यो । तिमीले फोन गर्नु हुन्न है ? म रिसाएर प्रश्न गर्थें । ऊ हाँस्दै त्यस्तो केही हैन, तिमीलाई कुनै अप्ठेरो पर्छ कि भनेर डराउँछु । सरोजले कहिले रिसाउन जानेकै थिएन । मलाई सरोज नरिसाएको कुरामा पनि रिस उठ्थ्यो । मलाई पैला पैला त केही भन्न मन लागेन तर बिस्तारै सायद सरोजको मन जितेर होला म सरोजलाई डराउन सताउन मन पराउँथें ।
अनि उल्टै प्रश्न गर्थें मेरो व्यबहारले तिमीलाई कहिले रिस उठ्दैन ? उठ्दैन, म प्रतिको यो तिम्रो प्रेम हो । प्रेममा यस्ता कुरा हुन्छन् । तिमी मेरो हृदयमा छ्यौ, म तिम्रो हृदयमा । छैनौ, तिमी मेरो हृदयमा म बोल्दिन अब तिमीसँग । तिमीलाई फोन पनि गर्दिन । तिम्रो नम्बर पनि हटाई सकेँ मैले । अब तिमीलाई फेसबुकबाट पनि हटाउँछु । सक्छ्यौ बिर्सन ? सरोजले प्रश्न गर्छ । सक्छु, किन नसक्नु ? समयले सबै कुरा बिर्साइ दिन्छ । म त सक्दिनँ । सरोजको कुराले अझ रिसाउँदै म बोल्छु नाटके, सक्तिन रे नसक्ने भए कल गर्दैनथेउ ? तिमीलाई आजकाल मेरो यादै आउँदैन, मलाई थाहा छ ।
लाटी प्रेम भनेको गरिने होइन हुने कुरा हो । केही दिन नबोल्दैमा, दुरी टाढा हुँदैमा, हेर्न देख्न नपाउँदैमा यो कमजोर हुँदैन, अझ गाढा पो हुन्छ । प्रेम भनेको हृदयको तहबाट उब्जिएको पवित्र भावना हो । यो सानोतिनो कुराले मेटिदैन र मर्दैन पनि । तिम्रो र मेरो प्रेम अरुको जस्तो होइन । हाम्रो प्रेम आत्माको प्रेम हो । केहि समय टाढा हुँदैमा, केहि समय नबोल्दैमा, केहि समय देख्न नपाउँदैमा समाप्त हुने प्रेम होइन हाम्रो । यो त हामी जहाँ भए पनि हाम्रो हृदयको तहमा प्रगाढ भएर रहेको छ । तिमी मलाई र्बिसिदिन्छु भन्छेउ तर्र बिर्सन सक्दिनौ । यो तिम्रो भनाइ मात्र हो ।
सरोज मेरो मनभित्रै पसे जसरी बोल्छ । मलाई मन मनै लाग्छ, कुरा त तिम्रो सही हो । बरु, सास फेर्न बिर्सन्छु होला तर तिमीलाई बिर्सन सक्तिन । तर पनि तिमीलाई सताउन मन लाग्छ, दङ्गयाउन मन लाग्छ । आफु जति रिसाए पनि रिस भन्ने कस्तो हुन्छ, सरोजको शब्दकोश मै छैन जस्तो लाग्छ मलाई । हतपत बोल्ने फुर्सदै हुँदैन उसको । कहिलेकाहीँ बोल्दा घन्टौँसम्म ननस्टप बोलिरहन्छ । उसले बोलेका हरेक शब्द शब्दलाई प्रेमको अमृत रसले रसबरीलाई चास्नीले रसिलो बनाए झैँ भरपुर रसिलो बनाएको पाउँछु म ।
सरोजलाई सुन्दै जाँदा मलाई लाग्छ, यो समय युगौँ युगसम्म यहीँ रोकियोस् । यही एकान्त, यही सुनसान रात, यही मधुरो प्रकाश, यही सितल पवन, र यिनै सुमधुर प्रेमिल शब्दहरू । उसका हरेक शब्दहरूमा दया, माया, प्रेम, करुणा, सहयोग, सदभाव, समभाव, बिनम्रता, सरलता र निश्चलता । शब्द—शब्दमा सावनको सुस्तसुस्त सितल झरी झैं अविरल बर्षिरहन्छ । उसका हरेक शब्दमा अध्यात्म जोडिएको हुन्छ । हरेक शब्दमा धर्यता र गम्भिरता प्रष्ट झल्किन्छ । मलाई लाग्छ, फेरी उही कोलाहल वातावरणमा फर्किनु पर्दा बरु यहि समय आफ्नो अन्तिम समय होस् ।
मन नहुँदा नहुँदै पनि सम्बाद रोक्न बाध्य हुन्छु म । सम्बादको समाप्तिपछि पनि म सरोजको बिषयमा सोची रहन्छु । मलाई लाग्छ, सरोज कस्तो अचम्मको मान्छे छ । आम मान्छेहरू भन्दा ऊ भिन्न छ । योगीका जस्ता कुरा गर्छ । तर उसलाई योगी भन्न पनि नमिल्ने, ऊ प्रेम गर्छु भन्छ मसँग तर भोगी भन्न पनि नमिल्ने । उसलाई मायाले नछोएको जस्तो ब्यबहार छ उसको । ढुक्कको, निश्चिन्तको, निस्फिक्रीको र आनन्दको । न कुनै हतारो न कुनै चटारो, न कुनै बेतावी न कुनै छटपटाई, बस् ऊ आफ्नै ताल आफ्नै सुरमा रमिरहन्छ । तर उसको यो ब्यबहारले मलाई सोच्न बाध्य गराउँछ । उही पैलाको सरोज हो त ?

म कतिपल्ट आफ्ना मनका कुराहरू राख्छु सरोजसँग । तर उसको प्रष्ट प्रतिकृया आउन छोडेको छ, हिजोआज । मेरो अपेक्षा अनुसारको जवाफ कहिले पनि आउँदैन सरोजको मुखबाट । हृदयमा बस्ने मान्छे मनमा पनि हुन्छ र मनमा हुनेको याद मन रहेसम्म आउँछ । र हृदयले सम्मान पनि गर्छु । मेरा हरेक गुनासाहरूमा उसका मात्र यस्तै छोटा प्रतिकृया आउँछन् । तर मेरो मन बुझ्दैन किनकी मलाई लाग्छ बरु सरोज आफुसगँ लडोस्, झगडा गरोस्, रिसाओस्, धम्क्याओस्, घुर्क्याओस् हरेक बहानामा । तर बोली रहोस् पैला जस्तै ननस्टप । रिसाउने, धम्क्याउने होड चलीरहोस् र फकाउने र सम्झाउने सिलसिला जारी रहिरहोस् सधैँ सधैँ ।

हेटौँडा–८, मकवानपुर

अर्यालको महाकाव्य “महाकाश” असोज ६ गते हेटौँडामा बिमोचन हुने

मकवानपुर, असोज ५  । महाकाव्यकार मुना धिताल अर्यालको ओशोको जीवनीमा आधारित महाकाव्य “महाकाश” असोज ६ गते शनिबार हेटौँडामा विमोचन हुने भएको छ । महाकाव्य “महाकाश” असोज ६ गते दिउँसो १ बजे पल्पसा पार्टी प्यालेसमा मातृभूमि साहित्य समाजको २५ औं वार्षिकोत्सवका अवसरमा विमोचन गर्न थालिएको मातृभूमि साहित्य समाजका अध्यक्ष माधब पोखरेलले बताउनुभयो ।
२००७ पौष २७ गते गोरखामा जन्मिएर हेटौँडालाई कर्मथलो बनाउनुभएकी अर्यालका यसअघि ईश्वरराम्मा अनूदित—२०६०, प्रेमज्योति (गीति एल्बम), भजन (एल्वमहरु),आत्म सलिल महाकाव्य–२०७६ लगायत का कृति प्रकाशित छन् ।
उहाँ अमर ज्योति विद्यालय, कलङ्की काठमाण्डौँका संस्थापक, ज्योति महिला साक्षरता केन्द्र काठमाण्डौँका संस्थापक, आँचल साहित्य कलापुञ्ज, मकवानपुरका संस्थापक अध्यक्ष, मातृभूमि साहित्य समाज मकवानपुरका सल्लाहकार लगायत संस्थामा आबद्ध हुनुहुन्छ ।

मुना धिताल अर्यालसँग सम्बन्धित केही भिडियोहरू

भैरव जयन्तिमा सिस्नुपानी नेपाल र साहित्य सङ्‍गमको संयुक्त कार्यक्रम

आश्विन ५, मकवानपुर ।
सिस्नुपानी नेपाल मकवानपुर र साहित्य सङ्‍गम मकवानपुरको संयुक्त आयोजनामा हास्यव्यङ्ग्यका मानक व्यक्तित्व भैरव अर्यालको जन्मजयन्तिमा एक कार्यक्रम आयोजना गरिएको छ ।
पुष्पलाल स्मृति पुस्तकालय, हेटौँडा ५, मकवानपुरस्थित भैरव अर्यालको प्रतिमामा माल्यार्पण कार्यक्रमको प्रमुख अतिथिमा नेपाली लेखक संघका केन्द्रिय सदस्य हयग्रीव आचार्य तथा सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्षता रहेको थियो ।
साहित्य सङ्‍गम मकवानुरका अध्यक्ष डीबी बर्तौलाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा भैरव अर्यालबारे सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले भैरव अर्याललाई हास्यव्यङ्ग्य निबन्धका कुशल शिल्पीका साथसाथै उहाँ २०२२ सालमैँ प्रथम स्थान प्राप्त कविताका सर्जक भएका राम्रा कवि पनि हुनुहुन्थ्यो भन्नुभयो । साथै उहाँभित्रको कवित्वका साथै साझा कथा, साझा एकाङ्कीको सम्पादन, गोर्खापत्रका उपसम्पादक र मधुपर्कको सम्पादक भएर साहित्यिक सम्पादकका रूपमा समेत आफूलाई सफल चिनाउनु भएको विचार राख्नुभयो ।


यस्तै कार्यक्रममा सिस्नुपानी नेपाल मकवानपुरका उपाध्यक्ष मीनप्रसाद लामिछाने र सदस्य चिरञ्जीवि लामिछानेले हास्यव्यङ्ग्य कविता वाचन गर्नुभयो ।
कार्यक्रममा रमेशमोहन अधिकारी, मुना अर्याल, सुदर्शन अधिकारी, मुक्तिगोविन्द वैद्य, पुरूषोत्तम आचार्य, रजनी पौडेल, मधुकुमार ढुंगाना, शंकरप्रसाद कालाखेती, देवराज खरेल, राजुराम राउत आदिको उपस्थित रहेको थियो । स्वस्तिका दाहाललगायत साहित्य सर्जकहरू, साहित्यसेवीहरू, साहित्य अनुरागीहरूको उपस्थिति रह्यो ।
महेन्द्र ओझाले छायाङ्कन गर्नुभएको सो कार्यक्रमलाई साहित्य सङ्‍गमका सचिव मनोज पोखरेलले सहजीकरण गर्नुभयो ।

माल्यार्पण कार्यक्रमको भिडियो

विद्यार्थीलाई चिठी / हरिप्रसाद पाैड्याल

प्रिय शिष्य
अब केही दिन गर्न सक्दिनँ
बालमुद्दाहरूकाे न्यायनिरूपण
पढाउन सक्दिनँ  न्यायकाे पाठ
सुनाउन सक्दिनँ  इमान्दारीकाे कथा
सिकाउन सक्दिनँ
न्याय र अन्यायकाे फरक
मान र अपमानकाे अर्थ
स्वाभिमान र अभिमानकाे भेद
भूत र वर्तमानको महत्त्व
किनकि
यहाँ न्यायकाे कविता लेख्न
सम्मानकाे गीत गाउन
पराेपकारकाे कथा भन्न
अनि समानताकाे खाेजी गर्न
सिकाउने मलाई
घाेक्न लगाइएकाे छ
अन्यायकाे महाकाव्य
टेक्न लगाइएकाे छ
अपमानकाे लठ्ठी
र पढ्न लगाइएकाे छ
विभेदको कविता
त्यसैले
सिकाउने छैन तबसम्म तिमीलाई
नाफा र नाेक्सान
जब सम्म निर्धारण हुँदैन
मेराे पसिनाकाे बिक्रय मूल्य
सिकाउने छैन तबसम्म
त्रिभुजकाे क्षेत्रफल
जबसम्म बुझाउन सक्दिनँ मुर्कुट्टाहरूलाई
मेराे मस्तिष्ककाे आयतन
सिकाउने छैन तबसम्म
गति, प्रवेग, बल र सामर्थ्य
जबसम्म बुझाउन सक्दिनँ बुख्याचाहरूलाई
मेराे गतिशीलताकाे बेग
सिकाउने छैन तबसम्म
प्रेमकाे व्यापकता
जबसम्म बुझाउन सक्दिनँ ब्वाँसाहरूलाई
उसकाे क्रुरताकाे परिणाम

मिलाउने छैन हिसाब
जबसम्म
मिल्दैन पसिनाकाे घनत्व र पेटकाे आयतन
पढाउने छैन माग र पूर्तिकाे सम्बन्ध
जबसम्म
पूरा हुँदैन स्वाभिमानकाे माग
अब
तिमीलाई पनि बुझाउनु छ
अपमानकाे पीडा र
सुनाउनु छ विद्राेहकाे स्वर
त्यसैले माफ गर मलाई
आज छाेडेर
तिम्राे काेमल बाल क्रिडामा रमाउन
तिम्रा अनगिन्ती जिज्ञाहरूमा घाेत्लिन
तिम्राे प्रेमले भरिन
र तिम्राे निश्छलतामा मुस्कुराउन
पछ्याइरहेछु घाम ओढेर
सङ्ग्रामको पथ
र खोजिरहेछु कलम फ्याँकेर
बारुदका किताब
आशा छ
बारुदका किताब च्यात्दै
विभेदकाे पैराे पन्छाएर
अपमानकाे लास जलाएपछि
फर्किनेछु
फेरि
तिम्रा लागि
काेमल शब्द गुच्छाभित्र
लुकाएर
आफ्नै माटाेका
हिटलर, मुसाेलिनी अनि इदिअमिनका
केहीथान कथाहरू ।

उही तिम्राे शिक्षक

हरिप्रसाद पाैड्याल, मकवानपुर 

शिक्षक आन्दोलनको सान्दर्भिकता/सुवास खनाल

हेटौंडा/मकवानपुर- शिक्षकहरूलाई समाजले हेर्ने दृष्टिकोण निरपेक्ष लाग्दछ । राज्यको दृष्टिकोण पनि त्यस्तै छ । शिक्षक भएपछि अर्कै धातुले बनेका हुन्छन् भन्ने धारणा निर्माण गर्नु गलत हो । समाजका अरू अवयव जस्तै उनीहरूलाई पनि बुझिनुपर्छ । उनीहरूलाई चाहिने भन्दा बढी आदर्श बनाइनु जरुरी छैन । बाहिर आदर्शको बर्को ओढाइदिएर उनीहरूको न्यूनतम आवश्यकता र पारिवारिक जीवन निर्वाहको पाटोलाई ख्याल नगरिदिने हो भने समाजको अग्रगमनको यात्रामा शिक्षकहरूको योगदान अपेक्षा गर्नु निरर्थक हुन्छ ।

अहिले देशभरिका ७७ वटै जिल्लाका समग्र शिक्षकहरू आन्दोलनमा छन् । यो आन्दोलन स्वार्थको आन्दोलन होइन । शिक्षक भएर आत्मसम्मानका साथ कार्य गर्ने अवसर पाउनु पर्छ भन्ने माग मात्र हो । यसैबीच स्वघोषित शिक्षा क्षेत्रका विद्वान भनिनेहरू आन्दोलनलाई स्वार्थको आन्दोलन भनिरहेका छन् । हिजोदेखि मिटिङ भत्ता र डलरको पछि हिँड्न पल्केकाहरूले एन्टिकरेन्ट वक्तव्य जारी गर्नु आफूप्रति एटेन्सन सिकिङको सानो प्रयत्न मात्र हो भन्ने लाग्दछ । सँगसँगै अर्को क्षेत्रमा काम गर्नेहरूले प्रशासकीय आँखाले शिक्षकहरूलाई हेर्ने र शिक्षकहरू त्यसलाई नियति सम्झिने समयसँगै गुज्रिनुको बाध्यता छ । स्थानीय तहलाई नियमनकारी निकाय बनाउँदा सम्म त ठीकै हो तर मूल निकाय बनाएर त्यसको अधिनमा राखी कार्यप्रक्रिया अघि बढाउँदाका आभ्यासिक दुखहरू त केही समय यता शिक्षकहरूले भोग्दै आइरहेका छन् ।

विद्वत वर्गलाई नियन्त्रण र निर्देशन गर्न इकाइ पनि बुझाई भएका वर्गहरू नै हुनुपर्दछ नत्र गिट्टी, बालुवा बेच्ने र भौतिक विकास नै प्रमुख विकास हो सम्झिनेहरूले भित्री पीडाहरूको महशूश गर्ने क्षमता राख्न सक्दैनन् । राज्यले नै न्यूनतम ज्याला तोक्छ र श्रम ऐन बनाउँछ । फेरी त्यसमाथि आफैँ उभिएर विद्यालय कर्मचारी, इसिडी शिक्षकको तलब व्यवस्थापन सही ढङ्गले गर्दैन र सो ऐनको धज्जी उडाउँछ । विद्यालय व्यवस्थापन समितिमा गैरअभिभावक आउने वातावरण सिर्जना गर्दछ । गैर अभिभावकको प्रवेश विद्यालय व्यवस्थापन समितिमा हुनु भनेको नै शिक्षण संस्था राजनैतिक अखडा बन्न सुरु हुनु हो ।

राज्यले तत्काल काम व्यवस्थापन गर्ने हेतुले धेरै किसिमका शिक्षकको व्यवस्थापन गरेको छ । स्थायी, अस्थायी,उच्च मावि, राहत, सङ्घीय अनुदान, पालिका अनुदानलगायत धेरै थरीको शिक्षक व्यवस्थापन भएको छ । अप्ठेरो समयमा उनीहरूलाई एउटा प्रकृयाबाट नियुक्ति गरिसकेपछि उनीहरूको उचित व्यवस्थापन नहुनु गलत हुन पुग्छ । सो कुरालाई गम्भीर ढङ्गले राज्यले मनन गरेको छैन । अहिलेको आन्दोलनमा सबै किसिमका शिक्षक र विद्यालय कर्मचारीको सहभागिता रहेको छ । संस्थागत विद्यालयमा काम गर्ने शिक्षक तथा कर्मचारीहरूले पनि उचित तलब तथा सुविधा प्राप्त गर्ने वातावरण निर्माण भएको छैन । आवाज बुलन्द गर्ने कुरामा पनि उनीहरूलाई गाह्रो रहेको र निम्न तलबमा काम गर्न विवश हुनुपरिरहेको छ । उनीहरूको तलब सुविधा पनि सामूदायिक शिक्षक सरह हुनुपर्ने माग अहिलेको आन्दोलनको रहेको छ ।

बढुवा र ग्रेडसम्बन्धी कुरामा पनि शिक्षकहरूलाई उपर्युक्त व्यवस्था छैन । प्रावि तहमा सेवा प्रवेश गरेको शिक्षक सेवा निवृत्त हुँदापनि सोही तहबाट निवृत्त हुने अवस्था रहेको छ । अझै कति त श्रेणीगत बढुवामा पनि नपरेका यथार्थहरू छन् । शैक्षिक योग्यता, क्षमता सबै कुरा पुग्दा आन्तरिक बढुवाबाट तहगत रुपमा माथिल्लो तहमा पुग्ने वातावरण निर्माण गर्नु जरुरी छ । उति नै शैक्षिक क्षमता र योग्यताले निजामति सेवाप्रवेश गरेका साथिहरू बराबर सेवा सुविधा र ग्रेड कायम हुनु जरुरी छ । त्यसलाई पनि सरकारले अनदेखा गरिरहेको छ । विद्यालयमा प्रधानाध्यापकको व्यवस्था पनि उचित किसिमले हुन सकेको छैन । भएका प्रधानाध्यापकको मर्यादा कायम हुने किसिमको भत्ता तथा अधिकार प्रत्यायोजन गरिएको छैन ।

मौजुदा कानूनमा भएका व्यवस्था त शिक्षकहरूलाई पनि आकर्षित भई नै हाल्छन् तर अहिलेको विधेयकमा त्यही कुरालाई उल्टाइपल्टाइ गरेर शिक्षकले यसो गर्न हुने/यसो गर्न नहुने भनेर अनेक फुँदा गाँसिएका छन् । यी कुरा पनि नियतवश शिक्षकप्रति गरिएको: भाषिक र शाब्दिक दूव्र्यवहारहरू हुन् ।

समय धेरै अघि बढिसकेको छ । अबको शिक्षा कस्तो हुनुपर्ने बहस छेडेर नयाँ र सिर्जनात्मक गतिविधिमा शिक्षकहरू केन्द्रित हुनुपर्ने बेला आफ्ना अधिकारका निम्ति लडाईँहरू लड्दै बस्नु परिरहेको छ । यो अवस्थाबाट सरकारले सहज निकास हुने वातावरण सिर्जना गरी आन्दोलनरत शिक्षकलाई उनीहरूको कार्यथलोमा अवतरण गराउनुपर्ने आवश्यकता रहेको छ । सबैले एकआपसमा समभाव सिर्जना गरी सहजताका साथ शिक्षकहरूलाई काममा उत्प्रेरणा हुने किसिमको वातावरण निर्माण गर्नु जरुरी छ ।