Home Blog Page 80

निबन्ध : के नेपाल सानो छ ? / लक्ष्मीप्रसाद देवकोटा

लक्ष्मीप्रसाद देवकोटा एक नेपाली कवि तथा साहित्यकार थिए । उनको जन्म वि. सं. १९६६ कार्तिक २७ गते लक्ष्मीपूजाको दिनमा काठमाडौंको डिल्लीबजारमा भएको थियो । उनी नेपाली साहित्यका महाकविका रूपमा सुप्रसिद्ध छन् । देवकोटा नेपाली साहित्यका कविता, आख्यान, नाटक र निबन्ध गरी साहित्यका चारवटै विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी मानिन्छन् ।
उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च कोटिको मानिन्छ । उनले मुनामदन, सुलोचना, शाकुन्तलजस्ता अद्वितीय कृतिहरू लेखेका छन् । विशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन् । उनको निधन वि.सं. २०१६ भाद्र २९ मा भएको थियो ।

नेपाल !

सुन्दर, शान्त विशाल !

मैले आफैंले एक दिन लेखेथेँ, ‘विशाल’ को भावना कसरी आयो, म भन्न सक्तिनँ ।

भूमण्डका नक्सा पल्टाउनुहोस् र हेर्नुहोस् त नेपालको परिमाण कत्रो छ । यो सानो बुँद महासागरमा त्यसै बिलाए जस्तो देखिन्छ । यो सानो टुक्रा हिमालय पहाडको रेखामा सानो कोठा जस्तो लाग्दछ । कति देश र जातिले यसको नामै सुनेका होओइनन् । यो शान्तिको हरियो राजधानी जस्तो पृथ्वीको सानो प्यारो टुक्रालाई अघि बढेर देखाउनुभन्दा आफूलाई छिपाउनुमा ज्यादा रुचि देखाउँछ । त्यसलाई एकान्त मन पर्दछ । संसारको घच्चाघमासानमा । पसिना काढी हिस्सा लिनुभन्दा ध्यान र ज्ञानको गङ्गातिर र हिमगिरिशिला यसलाई ज्यादा मन पर्छ ।

आधुनिकतामा जिज्ञासा राखे तापनि यो प्राचीनको पूजारी हो । आजसम्म लुकामारी खेलेर, हिजोको सुनौला प्रभातको सपना देख्न चाहन्छ । सानो छ तर स्वर्ग छ, अल्प छ तर आँखो छ, खुट्टा छ तर आफैँ विश्व छ; दूर छ तर दूरताको दिव्य जादु । यो भारतमाताको मुटु फेला पार्ने थोरै छन्, किनकि यो पर्वतस्तनको भित्र गहिराइमा छिपेको छ ।

हिरा सानो हुन्छ, मोती सानो हुन्छ; मणि सानो हुन्छ; मिष्टभाषी निर्मल शिशु सानो हुन्छ; आँखाको नानी सानो हुन्छ । मुटुको केन्द्रको झल्का झन् सबैभन्दा सानो हुन्छ । यो पृथ्वीको सानो शिरबिन्दु नै होस् तर ॐकारको बिन्दु झैँ परमानन्द घनीभूत छ । सानो भनेको के, ठुलो भनेको के ? यो दुनियाँमा तारालाई ठुलो भनौँ भने अनन्त आकाश जूनकिरी जस्ता देखिन्छन् । बालुवाका दानालाई सानो भनौँ भने एक कणमा सूक्ष्मदर्शी यन्त्रले र विज्ञानले विश्वको झिलिमिली जादुगरी दर्साइरहेछन् । संसारमा सानो र ठुलोका दुई दृष्टिकोणका भेद छन्- एक भौतिक, एक आध्यात्मिक । नेपालभन्दा चिन ठुलो कसैले मलाई भन्यो भने त मलाई मान्छेभन्दा हात्ती ठुलो भनेको सुन्दा हाँस्न मन लागे जस्तो लाग्छ । माटोको परिमाणले खेत ठुलो म गन्दिनँ: त्यसको गुण, अवस्था, उब्जनी र भावुक प्रभावको कसीले मात्र । ब्रिटिश म्युजियमका लर्ड म्याकालेले निलेका सबै पुस्तकहरूको डुङ्गुरभन्दा कालिदासको शकुन्तला धेरै जस्तो ठुलो लाग्छ ।

‘धत्, नेपाली पनि पढ्नु ? हाम्रा ठिटा लेखक कनीकुथी बोक्रा लेख्छन्’ भनी नाकठाडे मिजासको अङ्ग्रेजीबाज चस्मा झल्काएर भन्दछ । मलाई रुनाको अवकाश नभए पनि दयाको भावले त्यस्ताको देखासिकी उल्टो पाखण्डीप हेर्न मन लाग्छ । अङ्ग्रेजी लवजहरूउपर सूर्य नअस्ताउन् तापनि म नेपाली शब्दमा त्यो जादु पाउँछु, जो ग्रीष्म गरम विदेशबाट स्वागतवासी मधुर हावाको लहरसँग ‘को हो ! को हो !’ को सौन्दर्य-संसारमा नवजाग्रत प्रश्नका साथसाथै नेपाली वनको फुट्दो सुगन्धमा मिसिएर आउँछ । सेक्सपियर, मिल्टन, गेटे इत्यादिका कल्पना र महाकाव्यहरूभन्दा मलाई नेपाल पहाडको सरल भाववाहिनी व्याकरणविरोधी हृदषनिनादिनी प्राकृतिक कविता धेरै आनन्द दिने हुनेछ ।

‘वाल्ज’ सुन्न चाहन्नँ, तर पहाडको सानो कुनामा झोपडी बनाएर वसन्तकोकिल झैँ कता-कताबाट तीनतारे सारङ्गी बोकेर झुलुक्क देखा पर्ने गाइनेको ‘रानीवनैमा’ सुन्न चाहन्छु । विदेशले कति घिच्याएको छ हामीलाई; हामी अरुको नक्कल मातृभाषाका शब्द तोडफोड गरी ककनो झोक्कामा रवाफ देखाउन चाहन्छौँ, यद्यपि हामीलाई प्रकृतिले यस्तो सङ्गीत-सरल मुख र नासिका दिएको छ, जो अरुको दोषी रवाफले कहिल्यै नक्कल गर्न सक्तैन, अङ्ग्रेजीका लवज र टोनमै केही यस्तो छ, जो हृदयमा खिरखिराउँछ, जो तारमा मिल्दैन तर किरिङमिरिङ गर्दछ, अप्राकृतिक नक्कलीपनमा रवाफ राख्दन खोज्नाका प्रवृत्तिले हामी अरु स्कुले ठिटाको ‘कम्ती छु’ भन्ने भाव पोषण गर्दछौँ भन्ने स्पष्ट देखिन्छ । कोही हिन्दी भन्दछन्, कोही बङ्गाली; म भन्दछु, नीला पहाडहरूको प्राकृतिक भाषा, झर्नाहरू घुसेका मिठा लबज, हिमालयको झल्का पसेका शब्द, अमरवल्लरीहरू ढल्केका बाइमात्रा, चराचुरुङ्गीसँग उड्ने र बोल्ने अक्षरहरू । मेरो भाषा ज्यादा नफैलेको होस्, तर मेरो इन्द्राणीको झर्ना यही हो ।

सानो, मिठो, शान्त, सुगन्धी, अनुपम- बस ! मेरा निमित्त त्यही हो नेपाल ! यहाँ वाग्नर कोदाली खनिरहेछन्; सेक्सपियर हलो जोत्ता हुन्; टिसियन र टर्नर भेडा चराउँदा हुन्, सोक्रेटिज गुफामा घोत्लिरहेका होलान्, कालिदास आषाढको पन्ध्रमा धाराप्रवाह गीत गाइरहेका होलान्, मकहाँ सान्डोले दाउराका भारी बोकेर ल्याउँछन्, मेरो वनमा हेलेन केलरहरू गीत गाउँदछन्, यहाँ कति सावित्रीहरू छन्, जसका कथा संसारले सुनेकै छैन, यहाँ कति साहित्य छ, जो लेखिएकै छैन, न लेखिने छ । नालाहरूका प्राकृतिक वेद बुझ्ने आजकल कति हृदय होलान् ! यहाँका सूर्योदयका सुनौला दृश्य कान्तिपुरीमा के जान्ने छैनन् ? के साना चराहरू हृदयाकाशमा अमर वेलीकुञ्ज बोल्दैनन् ? के गुलाबको छातीमा टप्केका रजनीघनीभूत मोतीदाने शीतलव जस्ता प्रेमका कणहरू जो मभित्र खँदिलो भइरहेछन्, के ती साना छन् ?

सच्चा आर्यभावना जसलाई भनिन्छ, त्यस्ता मानवभावनाहरू उत्पादन गर्न सक्ने र हरहमेसा हृदयमा देवसंस्कार जागरण गर्ने वाग्मती तुहिनतरल निर्मल शिशुतरङ्गहरूको मनोहर कलकले पवित्र शैशवास्थाको शान्त तरल भाव-प्रवाहमा खेलाएर राख्ने भूमि यदि संसारमा कुनै छ भने नेपाल छ । किनकि यहाँ कारखानाको धुवाँले दूषित वायुमण्डलमा सभ्य माकुराको जालो जस्ता तरङ्गहरू खेल्न पाउँदैनन् । यहाँ प्रशस्त शैशव नवीन खोज र त्यसको जादु नेपाली हृदय नेपाली आबहवाको र खानपिनका असरले गर्दा सच्चा आर्यभावहरूको स्पन्दन र आर्यसपनाले सजीव छ र अरु देशमा मैले कहिले पनि भावुक नैर्मल्य र सरलता पाउन सकिनँ । यहाँका मनुष्य मनुष्यलाई मनुष्यको दृष्टिले हेर्दछन्; सभ्यमानी देशहरूमा मनुष्य मनुष्यलाई हिंस्रक जन्तुको दृष्टिले हिंस्रक जन्तुलाई हेरे झैँ हेर्दछ । जो नेपाली होइन र नक्कलपन चाहन्छ, उसलाई सरलता राम्रो लाग्दैन, पहाडका शिशुहरू सन्तोष अनुभव गर्दछन्, मैदानका ताता मगजहरू खालि असन्तोषमा उम्लिरहेछन् । जहाँ नेपाली नजर देवता देख्तछ, उहाँ अरुको नजर ढुङ्गो देख्तछ; प्रकृतिमा ईश्वरलीला देखेर स्वदेशी हृदय गद्गदाउँछ, त्यहाँ विदेशी खालि विज्ञानको अँध्यारो भुलभुलैयाभित्र पस्तछ । यहाँ ईश्वरका झल्काझल्की जताततै छरिएका छन्, ज्ञान विवेकको अँधेरीमा पाइन्न । विज्ञानभन्दा ज्ञान मूल्यवान् छ, मान्छे जडमा अन्धयन्त्र लगाएर अन्धो विवेकले बोक्रे नियम पत्ता लगाउनमा आफ्नो गौरव सम्झँदैन, अन्धविश्वास भन्नेले आफ्नो अन्धविश्वासउपर आँखा चिम्लिरहेछ, तर हाइ ! हाइ ! नेपाली हृदय ! तँभन्दा सुन्दर, शान्त सजीव कुरा संसारमा के होला ?

म त्यहाँ सब चिज पाउँछु, जहाँ जीव पाएथेँ, उहाँ मेरो आत्मा जागरित भएर मानवजीवनको जादुका निमित्त आँखा खोलेर उठ्यो । म त्यहीँ मानवसंसारको सम्पूर्णता देख्दछु, म केही सौन्दर्यको चिज देख्तिनँ, जो म नेपाल संसारमा पाउन्नँ । यो हिमालयको पवित्र जादु भने नेपाली माटोको मूर्ति जो मै हुँ- जो स्वर्गको झिल्काले घिच्किएर जीवन भन्ने ज्योतिले सजीव भएर जागेथ्यो- यो मनुष्यलाई नेपालमा अनन्तता छ । यहाँ पृथ्वीमण्डलमा हुन सक्ने र भएका समस्त चिजहरूको सूक्ष्म प्रतिबिम्ब टनाटन छ । हिउँदको दृश्यमा ध्रुव प्रदेशको नमुना, ग्रीष्म वर्षाको दृश्यमा नैरक्षिक मुलुकहरूको नमूना यही नजरसामुन्ने छ । यहीँ सब आबहवा पाइन्छन्, यहीँ छन् बेबिलोनका ह्याङ्गिङ गार्डेन्स- झुलन बाग, यहीँ छन् तीन सय नायगरा फल्स, चिनको पर्खाल सात आश्चर्यमा गन्नेले यी नेपाली किनारका महान् पर्खालमा चमत्कार नदेख्नु नेपाली  नहुनुको अन्धता हो । चाँदीको झल्झलाउँदो गौरीशङ्कर महल नजरसामुन्ने नै छँदै छ । यहाँ के छैन ? मलाई आश्चर्य लाग्छ, के छैन ? स्वर्ग यसैमाथि छ, नरक यसैतल छ । परमेश्वर यहीँ दिनभरिभरि र मानव आत्मा यहीँ वरिपरि, आकाशको अन्ततामा विशाल नक्षत्रहरू यसकै अगाडि जूनकिरी झैँ नाचिरहेका छैनन् ? तब म फेरि दोहोर्‍याउँछु- यहाँ के छैन ? स्वर्गको चमत्कार कि पृथ्वीको परिपूर्णता ?

मैदानी देश चिच्याटलाग्दो हुन्छ; त्यहाँ आँखालाई शीतलता केही पाइन्न; जता हेर्‍यो उस्तै । कतै नीचा कलात्मक चुनाउ, चित्रात्मक रेखाहरू, रङ्ग र छाया र फाहरू, शिखरलहरका झलमलाहट, पृथ्वी त्यसै हर्षले उम्लिएर चुलिँदै-चुलिँदै स्वर्ग छोएर टुप्पामा सुनौला मुस्कुराहट लिएर हाँसिरहेकी, पाटा, छविछाया वनको मिर्मिरे मधुर नीलिमा, यो मिठास र मोहनी मैदानमा पाइन्न । मैदान बोधो छ एकनासे लाटो जस्तो, मैदान चित्रकारी हुन सक्तैन, तस्बिरको भुइँ जस्तो हुन्छ, जसबाट सच्चा तस्बिर झिकिदिएको छ, तर पहाडी देशको दृश्यमा विभिन्नताको माधुरी छ, यहाँका रङ्ग गाढा र रसिला छन्, यहाँ सूचनात्मकता छ, जो कविता र सङ्गीतको मुटु हो, यहाँ जीवन एकोहोरो गाढा सडक जस्तो देखिन्न । यहाँ औपन्यासिकता छ, कतै उच्चाइ, कतै निचाइ, चढ्नाको जादु, हेर्नाको मोहनी, सुन्नाको माधुर्य । भारत मैदान पहाडको माटोले उब्जनीको सेखीसम्म गर्दछ, तर रित्तो पट बिछ्याए जस्तो मात्र छ, यहाँ हरएक पटकमा सच्चा चित्रकारी छ । एक पहाडका कुनामा बसेर हेर्नु, दुई-तीनतर्फ दृष्टि दिँदा, उही ठाउँबाट दुई-तीन संसार देखिन्छन् । म कहिले हेर्दाहेर्दै देखिरहेछु, एकै पहाडमा चार किसिमका चित्रहरू छाया, घाम, सिमसिमे पानी र कुहिरो ।

जुन पृथ्वी यस्ती शस्यशालिनी छन्, जसमा यस्ता सौन्दर्यका विभिन्नताहरू रङ्गदार छन्, जहाँ एक पहाड एउटा सजीव दुनियाँ छ, चरा, मृग र बाघहरूले परिपूर्ण संसार, जसलाई हेर्दा मानवमुटु विचित्र त्रासले ढक्क फुल्दछ, जहाँ ढुङ्गामा चाँदीजिभ्रा छन्, झ्याउका मोती छरिएका छन्, जहाँ नालामा दिव्य भाषण, जहाँ पत्रहरू सजीव दुनियाँका हलचल झैँ हमेसा बोलिरहेछन्, जहाँ प्रकृति रङ्ग-रङ्गका दृश्यचित्र रची-रची रङ्ग रोशनी परेका कुशलता प्रदर्शन गरिरहेकी छन्, जहाँ लहराहरू राष्ट्रिय झन्डा झैँ प्राकृतिक पर्खालमा फरफराइरहेछन्, अनेकौँ फूलहरूले सुशोभित बनेर जहाँ सर्वोच्च हिमालय शासन गरिरहेछ, के त्यहाँका मनुष्यका कल्पनामा बालरेखा चित्र र कार्यहरू बनिरहेका होओइनन् ?

मलाई किन-किन यस्तो लाग्छ कि हिमालयको विशाल उच्चाइको नजिक रहेको जति तिनको गौरव र तिनको उच्चतासँग भित्र-भित्र गाँसिएको हुन्छ, शस्याढ्य भूमिका पुत्रहरूका मगजमा उब्जनी-प्रतिभा हुन्छ र उनका कल्पनाचित्रहरू विपिनप्रचुर हुन्छन्, ज्यादाजसो कविहरू फूलबारीको नजिक जन्मन्छन्, महापुरुषहरू पहाडको नजिक । दुधमुखे शावकहरूका चेहराहरूले मान्छे धेरैजसो साधु बन्छन्, बाघ पाल्ने वनका नजिक वीरका झोलुङ्गालाई प्रकृतिमाताले हल्लाइरहेकी हुन्छिन्, धेरै चराहरू बोल्दो देशसँग म कविताको सम्बन्ध देख्तछु, वनका गम्भीर गोधूलिमा मलाई विवेकको अँधेरी र ज्ञानको पूर्ण उज्यालोको दोसाँधमा रहने भावनाहरू व्यक्त हुँदै आउँदछन् । म नेपालमा हुँदा वनकालीमा आनन्द पाउन सक्तछु, तर कलकत्ता जाँदा बिर्सन्छु । पहाड र गानाको नित्य सम्बन्ध छ, जस्तो वाक् र अर्थको । स्वर्ग बर्सन्छ त्यहीँ, पहाडी अविरल झरझरको सङ्गीतद्वारा भवनादोष सुधार हुन सक्तछ, किनकि सङ्घर्षविकृत मानवहृदयहरूका प्राथमिक सुर मिलाउने प्रभावहरू त्यहाँ पाइन्छन् । यी पातहरू सब हरिया भाव बन्दै छन्, यी सरसर हृदयमा दगुर्दै छन् ।

तब म ‘विशाल’ किन नलेखूँ ? ‘विशाल’ को भावना हिमालयको श्वासमा थियो, पहाडहरूको निलो रङ्गमा प्रकृतिको प्रचुर उदारतामा अनेक नन्दनहरूको चिरबिरमा प्रेमको भूमि, आत्माले रोजेका आनन्द र अन्वेषणको आफ्नो विश्व, जहाँ म पशुभावको मनुष्यबाट पूरा मनुष्य भएर विकसित भइरहेछु जसलाई शैशव सम्पूर्ण अनन्त सम्झन्थ्यो, म यसको मार्मिक अंश बनेर ब्युँझेको थिएँ, यसको तातो-रातो गुलाबी कलिलो चैतन्य । जब पहाडको पिपलको गानादार बोटमनि म बसुँ, तब मलाई विशालको चैतन्य स्फुरण हुन्छ, जब म वनकालीमा गएर एकछिनसम्म मौन आनन्दमा टोह्लाउँछु, तब म साथीलाई भन्दछु, ‘आहा ! क्या विशाल भावना मलाई फुरेर आयो, जता हेर्‍यो विशालभन्दा ज्यादा टड्कारो नेपालमा केही पनि छैन ।’

जति भए पनि आफ्नो मातृभूमि जस्तो ठुलो चिज दुनियाँमा केही हुँदैन । हाम्रो हृदयको स्नेह सानो केन्द्रमा तीव्रता लिँदो रहेछ- जस्तो घामको स्वभाव छ । जति क्षेत्रफल बढायो, उति पतलाउनु प्रेमको प्रवृत्ति रहेछ जस्तो ख्याल हुन्छ । म विश्वप्रेम मातृभूमिका सिक्तछु, न कि विश्वमा । मातृभूमिप्रेम, नेपालको महत्त्व मेरा मगजका गिर्खागिर्खाहरू थाहा पाउँछन्, हृदयमा होऊ झिलिक्क झिलिक्क नेपाल, म विश्वको अनन्त दूर कुनामा अहिले भएको भए ‘तँ को होस् ?’ भन्ने कुनै भ्रमणप्रिय गन्धर्वको प्रश्नलाई म उत्त दिन्थेँ- ‘नेपाल’, मृत्यु स्वर्गबाट ओर्लँदा ‘तँ के चाहन्छस् ?’ को प्रश्नलाई पनि म प्रत्युत्त दिन्थेँ, ‘नेपालको भलाइ !’ अरु मुक्ति खोजुन, स्वर्गपछि दौडुन्, म खोज्छु नेपालको तर्फ अविरल शुभकामना र नेपालको अनन्त सेवा । चाहे स्वर्ग होस् चाहे रौरव, अरु देशका गौरव मलाई नबताऊ, मेरो हृदय जान्दछ मेरो हिरा कहाँ छ र उसको झलक कस्तो छ ! हँस्सी उडाउने हँस्सी उडाउँछन्; तर म भन्दछु कि मेरो मातृभूमिमा त्यो आर्यसभ्यता छ, जसले संसारलाई एक विशाल युगसम्म आध्यात्मिक पोषण पुर्‍याउन सक्तछ । अरुका श्रीपेच शिरमा रहुन्, मेरो स्वदेशको श्रीपेच हृदयमा रहन्छ ।

विदेश भनेको सपना हो; एउटा कता-कताको कथा हो; नदेखेकै झिलिमिली हो, अस्पष्ट अग्राह्य बाहिरी कुरा हो; जो मेरो क्षितिजभित्र पर्दैन, त्यससँग मेरो नजरको के नाता ! कति थोरै नेपालवासी सम्झँदा हुन् कि यो नेपाली तारामण्डले अर्द्धगोलाबाहिर कुनै दुनियाँ छ ? वास्तवमा साधारण मनुष्यका निमित्त शिरमाथिको आकाशगोलाभन्दा ठुलो चिज केही हुँदैन; र उसले सम्झँदैन कि यो खालि विशालको एक अल्प खण्ड हो । ‘पूर्णात् पूर्णमिदं’ भने जस्तै मलाई यसबाहिर अर्को क्षितिज भन्ने बुझ्नमा नै के फाइदा ? सम्पूर्ण अनन्त विश्व देख्ने नजरले सूर्यलाई कस्तो सानो सेतो कनिको भन्दो होला, तर पृथ्वीवासीलाई सूर्य सेतो रापको जीवनदाता भगवान् नै ठहरिन्छन् । मेरो स्वदेश नै मेरो विश्व हो; विपना हो; मेरो सत्य हो; एउटै खँदिलो अस्तित्व हो ।

जब म विदेशमा हुन्छु, तब बोलचित्र र नाटक हेरिरहेको हुन्छु; जब म स्वदेशमा हुन्छु, म जीवन अनुभव गरिरहन्छु । स्वदेशप्रेम सङ्कुचित गुण हो भन्ने लेखकहरूले आजकालको साङ्ग्रोपनादेखि वाक्क भएर कलम लिएका हुन् । तर, ठाकुरबाबाको देखासिकी गर्ने सबै सिकारु विश्वसिद्धान्ती लेखक र कविहरू भुल्दछन् कि विश्वप्रेम भनेको चिज स्वदेशमै विकासिन्छ; र जसले आफ्नो जाति, आफ्नो राष्ट्रको प्रेम राख्न सक्तैन, त्यसले विश्वप्रेम राख्छ भन्नु ताती गर्न सिक्नुअगाडि दगुर्न जान्ने हुनु मात्रै हो, बालुवामाथि घर बनाउनु भनेको त्यही हो । मेरा सपना पनि नेपालीपनको ग्राह्य गुण छाडेर उड्न खोजेर खोजे भने नबर्सिने बादलभन्दा बेकम्मा हुन्छन् । सजीव अनुभवहरूको कलात्मक प्रकाशन साहित्य हो भने जो सच्चा नेपाली छैन, त्यसले नेपाली साहित्य लेख्न सक्तैन । नेपालको हरएक दृश्य र अनुभूत वस्तु मभित्र मिलान लिएर विचार, भाव र सम्झनाका स्वरुपमा अनेक क्रियाहरूद्वारा आत्मप्रकाशन लिइरहेछन् । सार्वजनिक विश्वसत्यात्मक जातिकल्याणकारी तत्त्वहरूका सम्बन्धको आधारमा म लेख्तिनँ; लेख्ने नेपाल हो, म बोल्दिनँ; बोल्ने नेपाल हो, मेरा विचार होइनन्; नेपालका अनुभूतिगम्य दृश्य र श्रव्य सामग्रीका प्रभावहरू हुन् खालि मभित्रको अमर तत्त्व । यी सामग्रीहरूद्वारा नवीन-नवीन झल्का र सन्देश पाउँदै, आफ्नो सेवाको मार्गमा चलिरहन्छु ।

कविता : सरकारी अस्पताल / यश लामा

भित्तामा टाँसिएको एक थान टेलिभिजन
सन्तुलित भोजनको पाठ सिकाइरहेको छ
नजिकै बोलिरहने फुच्चे स्किपरको लयमा
पिलपिल नाचिरहेका छन् तीन थान राता अक्षर
सी ११४, सी ११५, सी ११६ ।

म पालो पर्खिरहेको छु
हातमा छ सी ५४५ नम्बरको टोकन ।

मसँगै पालो पर्खिरहेका छन्
एउटा पब्जी खेलाडी
बिरामी अनुहार खिचिरहेको
उदास टिकटक लभर
एक जोडी स्कुले ढुकुर
सुस्त गतिमा चलिरहेका बिमित कागजहरू ।

ठिक अगाडि
काउन्टरको हात छिराउने एउटा प्वालभित्र
मुस्कुराइरहेकी छिन् पेनकिलर मुस्कान ।

हतारमा कुदिरहेका छन्
एम्बुलेन्स
शववाहन
एप्रोन
र हतारमै कुदिरहेका छन्
बिरामी कुरुवा / आफन्त ।

कानमा ठोक्किइरहेका छन्
मान्छेका अस्पष्ट हल्ला
तारन्तार फोनको घन्टी बजिरहेकाे छ गोजीमा
रिङटोनमा छ हर्क साम्पाङको नयाँ गीत ।

करिब २ घन्टा १३ मिनेटपछि
काउन्टरमाथि नाच्न थाले
मेरो हातमा भएको अक्षरसँगै
सी ५४६ , सी ५४७ ।

अब मेरो हातमा पर्‍यो
सम्बन्धित चिकित्सक भेट्ने अनुमति कार्ड
अर्थात क्यु नम्बर २५६ लेखिएको टिकट ।

यतिन्जेल म सुकेकाे ओठ भिजाउँदै
खेलिरहेको छु चिकित्सकको ढोकाअगाडि
रेलगाडी खेल
परिचित/अपरिचित अनुहारसँगै
यो लामो यात्रापछि
अहिले आइपुगेको छु आफ्नो गन्तव्य ।

डाक्टर सोधिरहेका छन् मेरो अप्ठ्यारो / सप्ठ्यारो
म बताइरहेको छु आफ्नो रोगको खण्डकाव्य
सामान्य केरकारको लिस्ट थमाएर
पुन: पठाइएको छ काउन्टरमा मलाई ।

यहाँको लम्बेतान
ननओभरटेक इमानको लाइन छिचोलेर
बिरामी शरीर छिरेको छ पालैपालो त्यसपछि
कर्णालीको पुल जति लामो
एक्सरेको ढोकाभित्र
रगतको सिरिन्जभित्र
ट्वाइलेटभित्र
सिटिस्क्यानको सुरुङभित्र
क्रमश: क्रमश: … … ।

यसरी भित्रभित्रै छिरिसकेपछि
मेरो हातमा आइपुगेको छ
दुई दिनको निद्राबाट बिउँझिएर
रिपोर्टको प्रिन्ट कपी ।

उता अनिदो जमेको छ मेरो मुुटुको आँखा
यता समय बगिरहेको छ अस्पताल वरिपरि ।

अन्ततः थपक्क बसेको छ डाक्टरको टेबुलमाथि
मेरो सिङ्गो शरीर
र प्रेस्क्रिप्सन लेख्दै भनिरहेका छन्
“यति मेडिसन खानोस् ठिक हुन्छ
अनि सुन्नोस् त
यो मेडिसिन राम्रो छ
अलि महङ्गो पर्छ
यही कम्पनीको लिनोस्
अस्पतालको मेडिकलमा पाइँदैन
बाहिर `बिछोड´ फार्मेसीमा जानोस्; त्यहाँ पाइन्छ ।”

फर्मानहरू सुनिन्छन्
अरु अरु डाक्टरका कुर्सीहरूबाट पनि
“अब यसको विकल्प अप्रेसन हो
यहाँ अप्रेसन गर्ने हो भने कुर्नुपर्छ तीन महिना
त्यो पनि भरपर्दा छैनन् इक्युपमेन्टस
छिटो गर्नुपर्छ
भरे ‘आरोग्य हस्पिटल ‘ आउनोस्
म त्यहीँ हुने छु ।”

छेउकुनामा हाँसिरहेका छन् ‘बिछोड फार्मेसीहरू’
हाँसिरहेका छन् `आरोग्य हस्पिटलहरू´ ।

यिनै फार्मेसी नापिरहेको
मेरा विवश गोडाका अवरुद्ध गलाले भनिरहेका छन्
“सरकारी अस्पताल आफैँ बिरामी रहेछ
यहाँको मेडिकल अनेक जातको मेडिसन खाँदो रहेछ आफैँ
र त अस्पताल ‘सरकारी’ हुने रहेछ
र त डाक्टर ‘डाक्टर’ हुने रहेछ ।”

यश लामा

कविता : कालो मान्छे / रसिक राज

भो भो ! यो क्यामेरा नतेर्स्याउनोस् मतिर साहेब
म अध्याँरोको दशगजामा उभिएको छु ।
कसका लागि खिचुँ तस्बिर ?

स्कुलको पहिलो दिन
ढोकाबाट छिर्नेबित्तिकै सहपाठीको आँखाबाट झरेँ
र पुगेँ कक्षाकोठाको अन्तिम बेन्चमा

स्कुलको अन्तिम दिन
अन्तिम बेन्चबाटै देखेथेँ
मास्टरजीले ह्वाइटबोर्डमा कालो लेख्दा
मतिर फर्केर हाँसेका अनुहार ।

जागिरको पहिलो दिन
जब सरकारी दफ्तरमा पुगेँ
सहकर्मीले मेरो अनुहारको रङ हेरे
र मेरो नागरिकतामाथि शङ्का गरे
मेरो प्रमाणपत्रमाथि शङ्का गरे

बिहेको पहिलो रिस्ता
छालाकै रङका कारण सेलायो
तर पनि मेरी आमा
ब्राइटनेस बढाएर पठाइरहन्छिन् फोटो
र रिस्ताका लागि आएकाहरू
हरेक पटक फर्कन्छन् रिसाएर ।

साहेब, म कति भनुँ मेरी आमालाई
फोटोमा ब्राइटनेस बढाउन मिले जसरी
मेरो छालाको ब्राइटनेस बढाउन मिल्दैन भनेर ।

भो भो यो क्यामेरा नतेर्स्याउनोस् मतिर साहेब
यसले कहिल्यै खिच्दैन
मेरो मनमा परेको पीरको फोटो
यसले कहिल्यै खिच्नै सक्दैन
मेरो जिन्दगीमा लागेको ग्रहणको फोटो ।

यो बजार
जहाँ चाउचाउ, दालमोठ, कन्डमको विज्ञापनमा समेत
छालाको रङ देखाइन्छ
जहाँ हरेकलाई मेरी आमाको कालो अनुहार
माग्नेको जस्तो लाग्छ
त्यहाँ हजुर मेरो मनको रङ देख्नै सक्नुहुन्न ।

भो भो यो क्यामेरा नतेर्स्याउनोस् मतिर साहेब
म सौन्दर्यको कोर्राले हिर्काई हिर्काई
सभ्यताको सबैभन्दा किनारमा उभ्याइएको
एउटा कालो मान्छे हुँ ।

रसिक राज

गाउँसम्बन्धी तीन कविता : भूपिन

गाउँ– १
पहाड नउक्लिए
गाउँको पुछारमा खोला बगेको कहाँ देखिन्छ ?
बेसीखेतमा हरियाली डुलेको कहाँ देखिन्छ ?
कहाँ देखिन्छ
घरका धुरीहरूबाट धुँवा उडे / नउडेको ?
कहाँ देखिन्छ गाउँको स्कुलमा
नानीहरू हिँडे / नहिँडेको ?
कहाँ देखिन्छ गाउँमा
देशको आँखा पुगे / नपुगेको ?

मेरो देशका शासकहरू
केही नदेखिने सहरको दरबारमा बस्छन्
जहाँ गाउँलाई देख्ने
कुनै पहाड हुँदैन !

गाउँ– २
गाउँको जङ्गलमा
गीत गाइरहेको झ्याउँकिरी म नै हुँ
चौतारीमा बसेर कोही मुरली बजाइरहेछ
त्यो पनि म नै हुँ

हिजोको बाढीले कुलो भत्काएछ
कुलो बनाइरहेको गाउँले पनि म नै हुँ
जङ्गलमा घाँस दाउरा गरिरहेको
माटोमा पसिनाको बिउ छरिरहेको
यो गाउँ हाँस्दा हाँसिरहेको
यो गाउँ रुँदा रोइरहेको
त्यो पनि म नै हुँ

तर मेरो लागि संविधान लेख्ने
म होइन,
गाउँको मुखिया हो ।

गाउँ- ३
पेटमा भोकको अलार्म बजिरहेकोछ
कत्ति दिनदेखि
चुलोमा खरानी फेरिएको छैन
ओखती नभएर आफैँ बिरामी छ
गाउँको हेल्थपोस्ट
घरमा सुत्केरी श्रीमतीको
उदासीको गीत फेरिएको छैन

के काम यी हातहरुको
कामै नपाइने यो मुलुकमा ?
कुनै आसाहरू नबाँचेका भए
काटेर मेरो एउटा हात
म मेरी श्रीमतीलाई सुरुवा खुवाउँथें
र ऊ भरिलो स्तन चुसाएर
दुध खुवाउँथी नवजात सन्तानलाई
उसको आँखाभित्र
हाम्रा सपनाहरुले छाएको एउटा नचुहिने घर छ
आगोको मायाले तातिरहने चुलो छ
चराहरूले बिस्कुन टिप्न आउने आँगन
र गाइवस्तुले गाइरहने गोठ पनि छ !

माफ गर मेरो नवजात शिशु
यत्ति सानो सपना सजाउँन पनि
बेकाम भएका छन् मेरा आँखाहरू
मानौँ यी मान्छेका आँखाहरू नभएर
कुनै गुडियाका आँखाहरू हुन् !

पेटमा भोकको अलार्म बजिरहेको छ । 

-भूपिन

 

कविता : नियतको दुर्गन्ध / देवराज तिवारी

बुटवल-११, कालिकानगर, रुपन्देही स्थायी घर भएका देवराज तिवारी हाल हेटौँडा-४, मकवानपुरका स्थायी बासिन्दा हुनुहुन्छ । उहाँ नेपालीमा एम. ए., बी. एड. (एक वर्षे) पछि हेटौँडा स्कुल अफ म्यानेजमेन्ट, हेटौँडा, मकवानपुरमा प्राध्यापन गरिरहनुभएको छ । उहाँ  कविता, गजल, गीत, मुक्तकलगायतका विधामा सक्रिय हुनुहुन्छ । गजल मञ्च मकवानपुरका पूर्व अध्यक्षसमेत हुनुहुन्छ । उहाँका ‘भावहरूका सन्दर्भ’ गजल सङ्रग्रह-२०७०, ‘न्यायको सौन्दर्य’ कविता सङ्रग्रह-२०७६ का साथै विभिन्न पत्रपत्रिकामा फुटकर लेखरचना प्रकाशित छन् । उहाँ मकवानपुर जिल्लास्तरीय खुल्ला कविता प्रतियोगिता प्रथम-२०६५, गजल मञ्च मकवानपुरबाट कृति प्रकाशन सम्मान-२०७०, हेटौँडा स्कुल अफ म्यानेजमेन्टद्वारा उत्कृष्ट शिक्षक सम्मान-२०७१, साहित्य सङ्गम मकवानपुरद्वारा सुभद्रादेवी मदन मुडभरी स्मृति काव्य पुरस्कार-२०७६ लगायतबाट सम्मानित-पुरस्कृत भइसक्नुभएको छ ।

नियतको दुर्गन्ध
 
दुर्गन्ध बोकेर बग्ने
घरछेउकै नालीभन्दा
कयौँ गुना गनाउने हुन्छ
नियतको दुर्गन्ध ।
 
निरन्तर हावामा मिसिई बहने 
ढलको सुवासभन्दा
कहाँ कम छोइने हुन्छ र
रगतका फाल्साहरू बोकेर बहेको हावाको गन्ध 
त्योभन्दा पनि गनाउने हुन्छ 
बदनियतको दुर्गन्ध ।
 
बग्दा पनि बर्सौँसम्म
नसामा रगत 
निस्किरहँदा पनि देशको छातीबाट पसिना
उस्तै छन् बन्धकी परेका कथाहरू
पीडामा नुन छर्किएका व्यथाहरू
तात्त्विक फरक छैन
चलिरहेको मसान वायुको वेगमा
बस एक थान तस्बिरले भित्तो सजिएको मात्रै हो 
नयाँ वर्षको लय समातेर ।
 
जब मिसिन्छ हावामा प्रेत वायु
जब ठोकिन्छ पानीमा तीनपाने रङ
झन् बढी गनाउने हुन्छ
पानीको पाइन
लाग्छ त्योभन्दा पनि खत्तम छ
कब्जियत परेको चेतना स्तर
पक्षाघात भएको
मदहोसी नियतको दुर्गन्ध ।
 
धार लगाइराखेर
खलाँती बिग्रिएको 
कोइला खरानी भएको आरनमा
ढुसी उम्रिएका चेतनाका बिजहरू
घरि घरि मुना पलाउँदै भाँचिँदै
जरा गड्दागड्दै सुकेर माटो
हाँगा र फलको खोजी गर्नु 
ढलभन्दा दुर्गन्धित लाग्छ मलाई
यो नियतैनियतको दुर्गन्ध ।
 
सफा गरेर नाली मात्रै
साफ हुँदो रहेनछ त्यसको प्रवाह
खन्याएर केही ट्याङ्की पानी मात्रै
निर्मल हुँदो रहेनछ त्यसको धार
दागरहित हुँदो रहेनछ छातीको भित्री कलेबर
जबसम्म नदी मूलमा 
फोहोरको विशाल पहाड छ
जस्तो कि भ्रष्टाचारको पहाड
बेथितिको हिमाल छ 
र लाज पनि लजाउने गरी
बहिरहन्छ नियतको दुर्गन्ध बोकेर तातो हावा ।
 
मलाई गर्वले सुनाउन मन छ
नियतलाई नियमले जित्ने समय धेरै टाढा छैन ।
 
देवराज तिवारी बुटवल– ११, हाल : मकवानपुर

गजल  : अम्बिका पोख्रेल कार्की

चितवन स्थायी निवासी अम्बिका पोखरेल कार्की कविता, गीत, गजल, मुक्तक, कथा, लघुकथा लगायतका विधामा सक्रिय हुनुहुन्छ । उहाँ आधुनिक नेपाली गजल अभियानको प्रदेश संयोजक, मुडुला कार्की सेवा समाजको केन्द्रीय अध्यक्ष, ओम कार्की स्मृति साहित्य प्रतिष्ठानको अध्यक्ष, राष्ट्रिय जनसाहित्यिक सङ्घ चितवनको अध्यक्ष, गजलमञ्च चितवनको सदस्य हुनुहुन्छ । उहाँका सङ्कल्प १०१ (गजल सङ्ग्रह– २०७५), चौतारी (सयुंक्त मुक्तक सङ्ग्रह– २०७५), राष्ट्रिय बहरमाला (संयुक्त गजल सङ्ग्रह– २०७६), उडान (संयुक्त गजल सङ्ग्रह– २०७६) प्रकाशित छन् । उहाँ ऊर्जाशील एकल नारी सम्मान– २०७४ अनेम सङ्घ सर्लाही, दस बर्से युद्धमा शान्ति कायम राख्न नेपाल सरकारलाई मद्दत गरे बापत सम्मान २०७४ जिल्ला प्रशासन कार्यालय सर्लाही, सिर्जनशील नारी सम्मान– २०७५, पालुङ साहित्य परिषद्, मकवानपुर, सिर्जनशील युवा सम्मान– २०७६, हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवन, सिर्जनशील सम्मान– २०७७ सल्यान साहित्य परिषद्, सल्यानद्वारा सम्मानित पुरस्कृत भइसक्नुभएको छ ।

गजल

यो धर्ती यो आकाश रहेसम्म
को टुट्छ यहाँ विश्वास रहेसम्म

मालिकहरू सधैँ मालिक हुन्छन्
हैकम मान्ने ती दास रहेसम्म

निभ्ने थिएन बस्तीको चुल्हो ‘नि
भित्र कसौँडीमा गाँस रहेसम्म

अस्तित्व यत्ति मात्रै न हो चिताको
आगो सल्किनु अघि लास रहेसम्म

यो गाउँ सुनसान हुने निश्चित भो
सपना  फुल्ने  प्रवास रहेसम्म ।

अम्बिका पोख्रेल कार्की, चितवन

अनुवाद शृङ्खला- १ : जनतन्त्रको सूर्योदयमा / धूमिल

सुदामा पाण्डे ‘धूमिल’ (सन् १९३६, खेवली, उत्तर प्रदेश) भारतीय कविताका क्षेत्रमा एङ्ग्री योङ्गम्यानका रूपमा चिनिन्छन् । सानै उमेरमा पिताको निधन भएपछि गृहस्थीमा फसेका उनले उच्चशिक्षा हासिल गर्न पाएनन् । फलाम बोक्ने लगायत उनले समिलको सुपरभाइजर भएर कलकत्ता, मोतीहारी आदि ठाउँहरूमा काम गरे । बिरामी भएका बेला साहुले मोतीहारीबाट गोहाटी पठाउन खोज्दा उनले स्वास्थ्यको कारण देखाई अस्वीकार गरे । घमन्डी मालिकले ‘आई एम पेइङ फर माई वर्क, नट फर योर हेल्थ !’ भन्दा उनको स्वाभिमानमा चोट लाग्यो र उनले पनि मालिकलाई ‘बट आई ऐम वर्किंग फर माई हेल्थ, नट फर योर वर्क ।’ भन्ने जवाफ दिएर जागिर छोडेका थिए । पछि उनले वाराणसीबाट विद्युत्‌मा डिप्लोमा हसिल गरी सरकारी जागिर गरे । सन् १९७५ मा ब्रेन ट्युमरका कारण अल्पायुमै उनको दुखद निधन भयो ।  उनी कति ठुला कवि थिए भन्ने कुरा रेडियोमा उनको मृत्युको खबर आएपछि उनका परिवारजनले थाहा पाएका थिए । उनी यस्तो सामान्य परिवारका व्यक्ति थिए । धूमिल विद्रोही चेतनाका कवि हुन् ।

नका निम्न चार कविता सङ्ग्रहहरू प्रकाशित छन्-

• संसद से सड़क तक (प्रकाशक स्वयं)
• कल सुनना मुझे (सम्पादन – राजशेखर)
• धूमिल की कविताएं (सम्पादन – डा. शुकदेव)
• सुदामा पाण्डे का प्रजातंत्र (संपादन– रत्नशङ्कर । रत्नशङ्कर ‘धूमिल’का छोरा हुन्।)

जनतन्त्रको सूर्योदयमा

रक्तपात-
कहाँ हुँदैन र
मात्र, एउटा पात झर्ने छ !
मात्र, एउटा काँध निहुरिने छ !
काँपिरहेका हात र
रोइरहेका आँखालाई
बेरेर राता फित्ताहरूमा एकसाथ
राखिदिने छन्
काला दराजका निश्चल एकान्तमा
जहाँ राति
संविधानका धाराहरू
रिसाएका मान्छेका छायालाई
फेरिदिन्छन्
देशको मानचित्रमा

पूरै आकाशलाई
काट्दै दुई भागमा
एउटा लाटो छाया हिँड्ने छ
पर्खालहरूमा हल्लिरहने छन्
हवाइ हमलाबाट सुरक्षित रहने विज्ञापन
यातायात लाई बाटो दिँदै
बल्दै हुने छन्
चौबाटाका बत्तीहरू

लोकमार्गको पछिल्लो भागमा
व्याप्त रहने छ
पहेँलो अन्धकार
सहरका सबैसबै
पशुत्वका विरुद्ध
बाटाहरूमा नाङ्गै घुमिरहेकी
बौलाही महिलाको ‘गर्भिणी पेट’ जसरी
लोकमार्गको पछिल्लो भागमा
व्याप्त रहने छ पहेँलो अन्धकार
र, तिमी
अनुभव गर्ने छौ अवश्यकताका
हरेक मोर्चामा कि-
तिम्रो शङ्का
एउटाको निद्रा र
अर्काको घृणासँग
युद्ध गरिरहेछ
मिसिएर अपराधीहरूको समूहमा
आफ्नै आवाजको अनुहार छाम्नका लागि
कवितामा
अब कुनै शब्द सानो भइरहेको छैनः
तर तिमी मौन रहने छौ,
मौन रहने छौ तिमी र लज्जाको
त्यो निरर्थ लाटोपनले सहने छौ-
यो जानेर कि तिम्रो मातृभाषा
त्यो भाँडा माझ्ने महिलाको जस्तो छ, जो
एउटा साडीका लागि
साहुसँग रातभरि
सुत्नका लागि सहमत छे
टाउको काटिएको कुखुराजस्तै तड्पिँदै
जनतन्त्रमा
बिहान-
मात्र, चम्किरहेका रङहरूको षड्यन्त्र हो
र, यो जानेर पनि, मौन रहन्छौ तिमी
वा कदाचित्, पुनरागमनका लागि पहल गर्ने मान्छेको खोजीमा
एकपल्ट फेरि
तिमी फर्किन चाहने छौ मृत इतिहासमा
तर त्यसै बेला-
सम्झनाहरूमा पर्दा हाल्दै बिहानीको
विदेशी हावा बहन थाल्ने छ

समाचारपत्रहरूको प्रखर ताप र
वनस्पतिहरूका हरिया उखानटुक्काहरू
तिमीलाई सान्त्वना दिने छन्
र, रापिँदै गरेको जनतन्त्रको सूर्योदयमा
सहभागी हुनका लागि
तिमी चुपचाप आफ्ना दिनचर्याको
पछिल्लो ढोका खोलेर
बाहिर आउने छौ
जहाँ घाँसको टुप्पामा
थर्थराइरहेको शीतको एक थोपा
झरेर जानका लागि
तिम्रो सहमतिको प्रतीक्षा
गरिरहेको छ ।

अनुवादः निमेष निखिल
‘संसद से सडक तक’ बाट

कथा : आगोको मूल्य

उहाँका पचीस डेङ (बज्जिका कवितासङ्ग्रह, २०६१), रौतहट परिचय (अनुसन्धान, २०६६), नेपाली व्याकरण (२०६७), नेपालमा बज्जिका भाषा (अनुसन्धानमूलक लेख–निबन्धसङ्ग्रह, २०७१), मुनामदन (बज्जिकानुवाद २०७२, मूल लेखक महाकवि लक्ष्मीप्रसाद देवकोटा), क्रोधसे बोधतक (बज्जिका कवितासङ्ग्रह, २०७३), बज्जिका जिन्दावाद (बज्जिका मुक्तक सङ्ग्रह, २०७६), बज्जिका व्याकरण (२०७७, संयुक्त लेखन), रक्तिम साँझ (हाइकु सङ्ग्रह, २०७७), छठ पबनी : उद्भव र विस्तार (२०७७), बज्जिका भाषाको इतिहास (२०७८, भाषा आयोगद्वारा प्रकाशित), व्यङ्ग्यम् (हास्यव्यङ्ग्य सङग्रह, २०७८), बज्जिका भाषा र मिडिया (अनुसन्धान, २०७९), रौतहटका लघुकथा (संयुक्त, २०७९), बरहथवा परिचय र महानन्द झा (अनुसन्धान, प्रेसमा), साथै बज्जिका किताब (कक्षा १ र २ को पाठ्यपुस्तक, (२०७६/२०७८) प्रकाशित भएका छन् । उहाँलाई बज्जिका शिरोमणि (२०७७, बज्जिका समृद्धि समाज, सर्लाही) र मधेसरत्न (२०७४, मधेस सांस्कृतिक प्रतिष्ठान, रौतहट) उपाधि प्रदान गरिएको छ । उहाँ प्रादेशिक प्रतिभा पुरस्कार– २०७९, भैरव अर्याल स्मृति सम्मान– २०७९, नारायणी साहित्य सम्मेलन पुरस्कार / सम्मान– २०७०, रौतहट–रश्मि प्रतिभा प्रोत्साहन पुरस्कार–२०५७, राष्ट्रव्यापी लघुकथा प्रतियोगिता– २०५६ लगायत पुरस्कारबाट पुरस्कृत हुनभएको छ ।

कथा : आगोको मूल्य

“मेरो काँखमा नै आमाले आँखा चिम्लनु भएको हो” कठोरतालाई सहजतामा जस्तो अनुभूति गराउन अझ अलिक बल गर्दै प्रेसले थप्नुभयो, “आमाले पानी माग्नुभयो मैले आफ्नै हातले कपासलाई भिजाएर मुखमा पानी हालेको हुँ । देख्दादेख्दै आँखा चिम्लनु भयो …” भन्दाभन्दै प्रेसको गला अवरुद्ध भएको छ ।
लमहा खोलामा चिता सजाइएको छ । पुसको जाडो साँझ छ । अब आँखाले टाढा देखिन छाडिसक्यो । मलामी जानेहरू सयौँ छन् । कुहिरोले घेर्दै आएको छ । कठाङ्ग्रिँदो जाडोमा आमाको अन्तिम संस्कार गर्न बाँकी छ । प्रेससित म छु र मिल्ने साथीहरू पनि छन् । खासमा यति बेलासम्म लासलाई जलाएर मलामीहरू फर्किसक्नु पर्ने हो तर प्रेसका एक भाइ हेटौँडाबाट आउनुपर्ने । जङ्गलमा निकै बेर जाममा परेर अब केही मिनेटमा आइपुग्ने सुनिँदै छ ।
उता आगोको मोलमोलाइ भइरहेको छ ।
प्रेस उनको लाक्षणिक नाम हो । वास्तवमा कतिपय शब्दमा अत्यधिक बलाघात गर्ने बानीलाई कुनै शिक्षकले प्रेस दिएर बोल्ने उपनाम दिएका थिए विद्यालय पढ्दा । प्रेस दिएर बोल्ने मान्छे भनेर प्रेस उपनाम लक्षणको आधारमा राखिँदा पनि विस्तार स्वाभाविक नाम जस्तै भएको थियो । यस उपनामले कहिलेकाहीँ फाइदा पनि दिएको छ उहाँलाई । प्रेस भनेर स्वाभाविक रूपमा कसैले बोलाउँदा कतिपयले प्रेसको मान्छे वा पत्रकार भनी बुझ्दा छिटो काम भएको पनि अनुभव छ ।
अलिक हलुँगो महसुस गरेपछि प्रेसको कथन अगाडि बढ्छ – “मेरी आफ्नै आमा त होइनन् तर आफ्नी आमा जस्तै हुनुहुन्थ्यो । चार दिन भयो अन्न न पानी भएको, ओच्छ्यानमा कोल्टो फेर्न पनि सक्नु हुन्थेन । मैले दुई दिन आमाको लुगा फेरिदिएँ । आज बिहानदेखि मलाई कस्तो कस्तो लागिरहेको थियो, सायद मैले कुरो बुझिसकेको थिएँ । मैले खाना नै खाइनँ, खानै मन लागेन । दिउँसो इसाराले मलाई आमाले बोलाउँदा म पुगेको हुँ । आमानजिक स्वाभाविक रूपमा बसेँ र आमाको टाउकोलाई आफ्नो तिघ्रामा राखेर छोरीलाई पानी ल्याउन अह्राएँ ।” केही सेकेन्ड रोकिएर प्रेसले थप्नुभयो – “अरु दिनभन्दा आमाको अनुहार उज्यालो जस्तो लाग्यो र अन्तर्हृदयबाट केही हराउन लागेको अनुभूति भयो । आमाको अनुहारमा सन्तोषको एउटा आभा देखे जस्तो भएको थियो । आमाले मलाई हेर्दै हुनुहुन्थ्यो । अनुहारमा हेर्दाहेर्दै नै आँखा चिम्लनुभयो ।”
प्रेसको मोबाइल साइलेन्ट मोडमा छ । खल्तीमा उज्यालो बलेपछि झिकेर काननजिक लैजाँदै –“सोझे घाटेपर आबा, हमनी इँहमे तोहर पैँडा तकैछी” बोल्नुभयो र मोबाइल फेरि खल्तीमा हाल्दै “उहाँका आफ्नै छोराहरूभन्दा म आफूलाई भाग्यमानी ठान्दछु । आज म सौताको छोरा होइन, आफ्नै कोखको छोरा जस्तै भएको छु । आमाले पनि मलाई सोही दर्जा जाँदाजाँदै दिनुभयो ।”
यति भन्दै प्रेसले अगाडि पाइला सार्दै फेरि थप्नुभयो “भाइको फोन थियो । अब पाँचसात मिनेटमा आइपुग्छ । हामी आगोको झन्झट सल्टाऔँ अब ।”
शेषअघि र शेषपछि अरूभन्दा बढी जिम्मेवार देखिनुभएको छ प्रेस । कोही पनि आमाबुबाका सबै सन्तान एकैनासले जिम्मेवारी वहन गर्न सक्दैनन् । कोही अलिक बढी व्यावहारिक भएर काम गर्ने हुन्छन् र कोही अह्राए–खटाएको गर्ने पनि हुन्छन् । प्रेसमा आफैँ अगाडि सरेर काम गर्ने स्वाभाविक गुण छ ।
एउटा डोम परिवारले आगोको दुई कट्ठा खेत र पचास हजार रुपैयाँ मागिरहेको छ ।
उतैतिर हाम्रा पाइलाहरू अगाडि सर्छन् ।
प्रेसका दुई आमा । जन्म दिने आमा अलिक पहिल्यै कीर्तिशेष हुनु भएको हो र सौतेनी आमाले पनि आँखा चिम्लनुभयो आज । आमाविहीनताको सम्पूर्णतः अनुभूति अझै हुन बाँकी छ । “कात्रोमा बेरिएर चित्तामा सजिएको लास मेरी आमा हुन्” अभ्यन्तरबाट अनायास बाहिर फुत्कन्छ प्रेसको ।
प्रेस दुई दाजुभाइ । दुवै आमाका दुई दुई । खासमा हेटौँडामा जागिर खाने भाइकी आमा अहिले चित्तामा सजाइएकी । तर प्रेसलाई कहिल्यै सौतेनी आमाको अनुभूति भएन र आमालाई पनि सौताको छोरा प्रेस नभएको जीवनको अन्तिम घडीमा पनि प्रमाणित भयो ।
“हम कम्तीमे एक कट्ठा खेत लेहम न त आगी ओहिना लेजाऊ” डोमको नवयुवक छोरोले अलिक झोक्किएर बोलेपछि सबै एकछिन शान्त हुन्छन् । एकदम मुर्दा शान्ति ।
उनको तर्क छ – मैले भर्खर गाउँ किनेको छु आफ्नो मौसाबाट । एक लाख रुपैयाँ र दश जोडा सुगर तिर्नुपरेको छ गाउँ किन्न । अझ मेरो पुरानो खरपुरबा गाउँलाई पनि दिनुपर्‍यो । म अलिकति पढेलेखेको छु भनेर न यति लगानी गरेको छु गाउँमा । अनि यति ठुलो महाजनको घरमा मरनहरन हुँदा पनि मैले केही पाउन सकिनँ भने नगरपालिकाको फोहोर बहारेर मेरो गुजर जान्छ ?
उनको प्रश्न पनि जायज छ आफ्नो ठाउँमा । जायज छ भन्दैमा लास जलाउने आगो किन्न कसैले एक कट्ठा खेत दिन्छ ? आजसम्म कतै कसैले दिएको छ ?
बगरको बालुवामा एक जोडी स्याल हो कि फ्याउरो ? मैले छुट्याउन सकिनँ तर सन्नाटालाई चिर्दै सम्झाउने पाराले संवादलाई अगाडि बढाएँ – “आगीके राजा तू त गाँओके ही राजा । राजा होके अपना प्रजासे एतना कर लेबहू त केना होतई ? कुछ कम करहू न त मरेके बेर लोग दोसरा गाँओमे जाए लगतई ।”
अरूलाई पनि अलिक बल मिलेछ क्यारे । नवयुवक डोमलाई त गाउँको राजा भएर प्रजालाई लास जलाउने आगोको मूल्य धेरै लिनुहुँदैन, प्रजा दुःखी हुन्छन् भनेर फकाउन सुरु गरेछन् । आखिरमा उनले सबैको कुरा मान्न बाध्य हुनुपरेछ । पाँच हजार रुपैयाँ नगद, चार जोडी बाँस र दुई जोर साडी दिन तयार भएपछि खुसी भएछन् । “राम नाम सत हए, सबके इहे गत हए” भन्दै मुखाग्नि दिने बाटो खोलिदिएछन् ।
अलिक अप्ठ्यारो भए पनि भाइ बाइक लिएर घाटैसम्म पुगेछ । बाइकको साउन्ड रोकिँदा उनको कन्ठको रोदनले वातावरणलाई फेरि अर्कै बनाइदिन्छ । प्रेसको गला पनि अवरुद्ध हुन्छ । दाजुभाइ एक अर्कालाई अँगालोमा बाँधेर केहीबेर ह्वाँ ह्वाँ रुन्छन् । दुई कोखका यी दुई सन्तानको रोदन चित्तामा सुतेकी आमाले पनि सुनेको हुनुपर्छ । चिर निद्रामा रहेकी आमातिर दाजुभाइका पाइला बढ्छन् ।
चारै दाजुभाइ सम्भवतः धेरै वर्षपछि यसरी एक साथ आमाको मुख हेर्दै छन् । हुन त ग्यास सिलिन्डरको मिन्टलको ठुलो प्रकाश छँदै छ तर छेउमा उभिएका एक जनाले आमाको अनुहार देखाउन मोबाइल बाल्छन् । आमाको अनुहारमाथि परेको अन्तिम उज्यालो हो यो । यही अनुहार हेर्न छोरो हेटौँडाबाट फर्किन पाँच घन्टा लगाएको हो । छोरो आएपछि अन्य कर्म अगाडि बढाउनुपर्छ भन्दै सबै लमहामा पर्खेर बसेका हुन् ।
नवयुवक डोमले मुख खोलेको सुनिन्छ –“अभी अएलन ह से हाकिम साहे छथिन, हमरा त आउरो चाहिँ ।” भर्खर आएको मानिस हाकिम हुनुहुन्छ । मलाई त अझै पनि चाहिन्छ । म ठगिएँ । प्रेसको मात्र आमा भन्ने ठानेको थिएँ । अहिलेसम्म त आगोको राजा म छु र यस गाउँको राजा पनि मै हुँ । एक जनाको आमाको मात्र मैले पाएको छु, अर्काको आमाको मलाई अझै चाहिन्छ ।
बढ्यो लफडा । सन्तुष्ट भइसकेको नवयुवकले फेरि कताबाट के थाहा पाए र अत्तो थापिहाले ।
हाकिम भनाउँदो युवकको प्रश्न आउँछ – “के भनेको ? कसरी राजा हुन्छ कोही ? आमा बित्नुभएको छ मेरो र कोही लासको राजा कसरी हुन्छ ?”
एक बुजुर्गको सान्त्वना आउँछ प्रत्युत्तरमा– “संस्कार र संस्कृति ठूलो कुरो हो । मृत्यु संस्कारमा गरिने मुखाग्निको आगोमाथि डोम जातिकै हक लाग्छ । उनीहरूले आगो नदिएसम्म मुखाग्नि कर्म हुँदैन । यो हाम्रो सनातन चलन हो र यसलाई नमान्ने हो भने हामी यसरी यहाँ आउनुको कुनै अर्थ रहँदैन । बौआ, अहिले उनको हक लाग्छ । उनलाई सन्तुष्ट नपारी खुसी नतुल्याई आमाको मुखमा आगो लगाउने हो भने आमाको आत्माले शान्ति पाउँदैन ।”
नवयुवक अलिक तर्केर बोलेको छ– “प्रेस त हामीलाई अँध्यारो–उज्यालोमा पनि काम लाग्छन् तर हाकिमसित हाम्रो कुनै कामै पर्दैन । हाम्रो समाजको सदस्य नै होइन । अब उनकै आमा हो भने हामी आगो दिन्नौँ र उनलाई जसरी कर्म गर्नु छ गरून् ।”
नवयुवकमा नयाँ जोस हुन्छ । तर्क गर्ने क्षमता हुन्छ । उनको तर्कअगाडि सबै अवाक् । आखिर संस्कृति र संस्कारलाई नाघ्न सजिलो छैन नि । नवयुवकले भनेको पनि सत्य हो– समाजमा सहयोगको लेनदेन भइरहन्छ । जो समाजसित जस्तो सम्बन्ध राख्न सक्छ समाजले पनि ऊसित त्यस्तै सम्बन्ध राख्न सक्छ ।
हाकिमले केही बोल्न चाहेका हुन्छन् तर बुढापाकाहरूको प्रेमपूर्ण हप्काइले मुखबाट केही निकाल्न सक्दैनन् ।
नवयुवकको जित भएको मानिन्छ । नवयुवकलाई थप एक हजार थपिन्छ– हाकिमले अनावश्यक प्रतिवाद गरेको जरिवानास्वरूप । राजाको मुखमुखै लाग्नुहुँदैन यद्यपि तर्क र बहस आफ्नै किसिमले गर्न सकिन्छ । राजा हो, सबै कुरा माफ पनि गर्न सक्छन् ।
चार जना प्रेस दाजुभाइ र काकाको एक छोरा गरी पाँच दाजुभाइ मिली मुखाग्नि गर्दै परिक्रमा गर्दछन् । हरेक पल्ट एकचोटि अलिक ढलेजस्तो गर्नुपर्छ । पाँचौँ चोटिमा प्रेस साँच्चिकै ढल्नुहुन्छ । सबैलाई कर्म गरेको जस्तो लाग्दछ र पाँच सात सेकेन्डसम्म नउठ्दा भने शङ्का लाग्छ । पहिलेदेखि नै अलिक गम्भीर प्रकृतिका मान्छे, अति सम्वेदित भएर मूर्छित हुनुभएछ । एक मिनेटजतिमा होस खुल्छ, सबै आत्तिइसकेका हुन्छन् । वातावरण पुनः शान्त हुन्छ ।
म सान्त्वना दिन्छु ।
प्रेसको मुखबाट निस्कन्छ – “आमालाई जलाउँदै छु । यो कुरो मनमा उम्रनासाथ एकैचोटि भूकम्प आएजस्तो ठुलो रिङ्टा चल्यो अनि म ढलेँ ।”
अरूलाई सम्झाउन र बुझाउन सजिलो जस्तो लाग्छ तर आफैँलाई परेपछि भने आफैलाई बुझाउन निकै कठिन हुँदो रहेछ ।
केही मिनेटपछि आगो ह्वार्रह्वार्ती बल्न थाल्छ । चिताको आगोको लप्काले लमहा नदीको किनारलाई उछिनेको छ । उज्यालोले टाढाको उखु पनि देखिन्छ । अघि स्याल जस्तो देखिएको ठाउँतिर शून्यताबाहेक केही देखिँदैन ।
जलिरहेको चिताभन्दा अलिक टाढा उज्यालोमा कोही सेल्फी लिइरहेका छन् । हामी करिब एक दर्जन जतिले प्रेस दाजुभाइलाई घेरेको जस्तै गरेर एकातिर बसेका छौँ । किरिया बोक्ने हाकिम नै हुन् । किरिया कि त कान्छोले कि त जेठोले बोक्नुपर्छ । हाकिम भने अघिदेखि मौन छन् ।
“अब मैले कसलाई आमा भनेर बोलाउने होला ? मैले खाएको र नखाएको कस्ले मलाई सोध्ने होला दिनहुँ ?” प्रेसका प्रश्नहरू निस्कँदा आवाजमा चिन्ताको गहिरो आभाष छ कि आमाप्रतिको अनुराग, बुझ्न सजिलो लाग्दैन । करिब साठी वर्षका प्रेसका यी प्रश्नको उत्तर कस्ले दिने ? घरको पूर्णतः अभिभावकलाई मर्यादाको अभिभावक गुमेको अनुभूति झल्कन्छ ।
“आमाले अब यस्ता सबै जिम्मेवारी तपाईँको काँधमा हस्तान्तरण गर्नु भएको छ अनि त तपाईँको काखमा अन्तिम सास बिसाउनुभयो ?”
अँध्यारोबाट अपरिचितको स्वरप्रति सकारात्मक टाउको हल्लाउनुहुन्छ प्रेस ।
लकडीको टुक्राटाक्री बाँड्दै एक जना आउँछन् । सबैका हातमा पाँच पाँच वटा थमाउँछन् । मुट्ठीमा सजिलै अटाउने पाँचवटै लकडीमध्ये दायाँ हातमा तीन वटा र बायाँ हातमा दुई वटा राख्ने कि बायाँमा तीन र दायामा दुई ? यस विषयमा अलिक कुरो चल्छ । महिलाको मृत्यु भएकोले बायाँ हातमा तीन राख्नुपर्ने संस्कार छ भनेपछि त्यहाँका सबैले त्यसै गर्दछन् ।
अब आगो जसरी पनि निभ्दैन । एकैछिनमा खरानी भइहाल्ला सबै । यस्तो भएपछि किरिया बोक्नेलाई अगाडि सार्दै खोलामै अलिक माथि नुहाउनलाई अगाडि बढ्छन् सबै । हातको लकडीको टुक्रो पछाडितिर फाल्दै सबैले बोल्छन् – “राम नाम सत हए, सबके इहे गत हए … … …।”
रात छिप्पिइसकेको छ । हतार हतार डुबुल्की मार्दै निस्कन्छन् सबै । खोलाको पानी चिसो न चिसो छ । झन् अलिक हावा पनि चलेको अनुभूति हुन्छ । जाडोले मुटु काम्दैछ सबैको ।
खोलाबाट निस्कँदै गर्दा सबैलाई विचित्र हतार छ । कोही कोही किनारबाटै घरमा फोन गर्दछन् – टोक्नुपर्ने रातो खुर्सानी र एक लोटा पानी लिएर ढोकामा उभिराख, हाइहालेँ ।
जाडो भएको छ कि छैन, प्रेसलाई कुनै अनुभूति छैन । कुनै हतार छैन । उल्टो बन्चरो काँधमा बोकेर पहिले आएको बाटो काट्दै प्रेस घरतिर अगाडि बढ्नुहुन्छ । किरिया बोकेका दाइ सबैभन्दा अगाडि हुनुहुन्छ । लस्कर पछाडि हिँड्दैछ मानिसको । कसैले पनि पछाडि फर्केर हेर्नुहुँदैन ।

सञ्जय साह मित्र, रौतहट

दोषी चस्मा : विश्वेश्वरप्रसाद कोइराला

विश्वेश्वरप्रसाद कोइराला (१९७१ भदौ २४ – २०३९ साउन ६) नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा साहित्यकार हुन् । उनले आफ्नो जीवनको लामो समयसम्म नेपाली काङ्ग्रेसको नेतृत्व, सन् १९५९ देखि १९६० सम्म नेपालको प्रधानमन्त्री र नेपालमा प्रजातन्त्र स्थापाना गर्नका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए । नेपाली भाषासाहित्यमामा उनले मनोवैज्ञानिक कथालेखनको नयाँ परम्परा बसालेका हुन् । ‘चन्द्रवदन’ (१९९२) उनको मात्र नभएर समग्र नेपाली साहित्यकै पहिलो मनोवैज्ञानिक कथा हो । कोइरालाको बाबुको नाम कृष्णप्रसाद कोइराला हो।

प्रसिद्ध राजनीतिज्ञ, प्रजातान्त्रिक समाजवादी चिन्तक एवम् प्रयोक्ता विश्वेश्वरप्रसाद कोइराला स्वतन्त्र रूपमा उत्कृष्ट साहित्य सिर्जना गरेर नेपाली वाङ्मयमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र शैली दिएर सदाका निम्ति अमर बनेका छन् । कोइराला नेपाली आख्यानमा मनोविश्लेषणात्मक प्रवृत्ति भित्र्याउने प्रथम आख्यानकार हुन् । कोइरालाको सुप्रसिद्ध कथा ‘दोषी चस्मा’ आजको आख्यान विशेषमा प्रस्तुत गरिएको छ ।

केशवराजको चस्मा दोषी थियो । अलिक टाढाको मानिस तिनी चिन्न सक्तैनथे । किताब पढ्दा तिनको आँखालाई निकै बल पर्थ्यो । चस्माको पावर तिनका आँखाका लागि कम भएछ । धेरै दिनदेखि अर्को चस्मा लिने विचारमा थिए, तर अझै अनुकूल परेको थिएन ।

तिनी जर्साबकहाँ चाकरी गर्न जान्थे । एक दिन सधैँको जस्तो चाकरीमा गएका थिए, तर ५ बज्दा पनि जर्साबको सवारी भएन । आज सवारी हुँदैन कि ? सारा चाकरिया निराश भएर आज सवारी हुँदैन भन्ने निश्चय गरी फर्के । तर केशवराज महलको अगाडिको चौर रिक्त भएपछि पनि धेरै बेरसम्म आशाले बसिरहे । साँझ पर्न लागेको थियो । सूर्यलाई पश्चिमतिर पहाडले ढाकिदिएको हुनाले हाम्रो पृथ्वी त अँध्यारिँदै आएको थियो तर आकाशतिर सूर्यका लामा रश्मि तेर्सिरहेका थिए । साथीभाइसँगै छुट्टिएका, बाटो बिराएका, एक-दुई बादलका टुक्रा आकाशमा रङमगिँदै थिए । केशवराजलाई यो दृश्यले लोभ्यायो । उनी पनि आज जर्साबको सवारी हुँदैन भन्ने निश्चय गरेर बाटो लागे । अरु दिन भएको भए जर्साबका चाकरी नपाउँदा तिनी कति दु:खित हुन्थे, तर आज तिनलाई बडो उत्साह थियो । फूर्तिसँग डेग बढाउँदै धानको लहलहाउँदो खेतबाट आएको सुगन्धी वायुलाई स्वादसँग फोक्सोभित्र भर्दै तिनी आइरहेका थिए । त्यो टाढाको कालो वस्तु ढुङ्गा हो कि मुढो हो कि, भैँसी हो कि त मानिस नै हो, यो तिनले ठम्याउन सकेनन् । चस्मा कस्तो बेकामको भएछ, तिनले फेरि सम्झे । तर यो बिचारले तिनलाई धेरै बेर चिन्तित पारेन त्यसै बखतमा पछिल्तिरबाट ‘भोँ, भोँ’ गर्दै एउटा मोटर आयो । मोटरको नम्बर हेरेर ‘स्वस्ति’ गर्नुपर्ने हुनाले, चस्माको घेरालाई देव्रे हातको बुढी र चोर औंलाले समातेर उनले मोटरको नम्बर-प्लेटलाई गौर गरे । “धत्, यो चस्माले ठ्याम्मै काम नचल्ने भयो ।” मोटरको नम्बर उनले पढ्न सकेनन् । त्यसै बखतमा मोटर हर्र गयो, अनि पो मोटरलाई र मोटरमा राज भएका जर्साबलाई तिनले चिने र हतपताउँदै स्वस्ति गरे । चस्माले यहाँ पनि धोका दियो ।

“चस्माको पावर ठीक भएको भए म स्वस्ति गर्न पाउँथेँ, चाकरी पुग्थ्यो ।” केशवराज हतोत्साह भए । धेरै दिनदेखि आँखा जँचाई नयाँ चस्मा लिने उनले विचार गरेका थिए; कुनै काम गर्ने निश्चय गरेपछि गरिहाल्नु भन्ने उपदेशको महत्त्व तिनले आजै बुझे । चस्मा नफेरी त तिनलाई धेरै थिएन । फेर्न त परिहाल्थ्यो र तिनले फेर्ने निश्चय पनि गरेका थिए । तिनले पहिले नै फेरेको भए आजको घटना हुन पाउने थिएन ।

तिनलाई मर्का पर्ने त एउटा अर्को कुरो छ । जर्साबले तिनलाई निश्चय नजर भयो होला । तिनी ठिङ्ग मोटरतिर फर्किरहे, स्वस्ति गरेनन् । यो नटेरेको हुन्छ । उहाँबाट नटेरेकै हो भन्ने ठानिबक्स्यो होला । यतिका दिन चाकरी गर्दा पनि केही बन्दोबस्त जर्साबबाट नहुँदा केशवराजले यस्ता जर्साबलाई के टेर्नु भनेर नटेरेको भन्ने जर्साबका मनमा पर्‍योहोला । ठुला मानिसहरु इज्जतका कुरामा बडा इखालु हुन्छन् र पछिसम्म सम्झिरहन्छन् । केशवराजलाई बडो गाह्रो पर्‍यो । तिनका सारा आशा-भरोसा मौसूफ जर्साब होइबक्सन्थ्यो र उहाँले यस्तो भूल धारणा मनमा लिइबक्स्यो भने त तिनको बासै उठ्यो ।

यसरी यो कुरा विचार गर्दै तिनी घर पुगे । साँझ झमक्क परिसकेको थियो । घर पुग्दा तिनलाई रिस उठ्न थालिसकेको थियो । सबभन्दा पहिले त तिनको रिस चस्मामाथि खनियो, “यो ठाँडो………।” त्यसपछि आफूमाथि खनियो, “यो मूर्ख, काम पहिले बिगारेपछि आँखा देख्ने… … … दैलो देख्यो… … … ।” कोठामा पुगेर लुगा फुकाल्न थाले । टिमिक्क परेको सुरुवाल तिनको गोडाबाट हतपत निस्कन खोजेन, त्यसमा तिनको क्रोधको झन् मात्रा बढ्यो र जब सुने भातमा केही बिलम्ब छ, तिनको क्रोधको सीमा रहेन । उर्लँदै फलाक्दै तिनी बुइगलमा पुगे, जहाँ दिउँसो राम्ररी नहेरेर किनेको चिसो दाउरालाई फू फू गरी बाल्ने प्रयत्नमा तिनकी धर्मपत्नी लागेकी थिइन् । “जैरी, बडी सिपालु म छु आफूलाई भन्छे, घमन्ड छ यसलाई, आफ्नो पोइलाई टायममा भातसम्म खुवाउन पनि सक्तिन । ए मोरी, के गरिरहेकी थिइस् यतिका बेर ? दुई घडी रात गएपछि चूल्हो फुक्न लागिरहिछस् ? काममा बाहिर गयो, लखतरान भइ घर फर्क्यो र अब गाँस टिप्न पाइएला भन्यो त यहाँ… …।” र अरु के के फलाकिरहे । यो अचानकको क्रोध देखेर तिनकी स्त्री डराउनुको सट्टा छक्क परिन् ।

भात खाएर सुत्दा तिनलाई निद्रा परेन । रातभरी “अहँ अहँ” गर्दै बिछ्यौनामा छटपटाइरहे । तिनबाट निश्चय नै ठुलो अपराध भएको छ ! आफ्ना अन्नदाता अगाडि देखिनु, आफूले नटेरेर अभिवादनसम्म पनि नगर्नु, यो त निमकहराम हो, एउटा पाप पनि हो र केशवराजले आफ्नो त चित्त बुझाए । तिनले जानी-जानीकन नटेरेको होइन । हृदय तिनको पवित्र छ, अन्धोले देखेन भनेर कसैले रिसाउनु हुन्छ ? तिनको यसमा केही अपराध छैन । केवल एउटा सानो बिराम छ–पहिले नै चस्मा नसाट्नु, यध्यपि तिनको केही अपराध छैन तर जर्साबको दिलमा त नराम्रो पर्‍यो होला । जर्साबको मनमा मैले नटेरेको भन्ने भावना त पर्न दिनु हुँदैन । केशवराजले त्यो भूल निवारण गर्ने कुनै युक्ति देखेनन् ।

ननिदाएर छट्पटाएका देखेर तिनकी पत्नीले सोधिन्- “किन निद्रा परेन ? केको दु:ख छ ? मर्जी होस् न ।” पहिले त केशवराजलाई यो प्रश्नमा रिस उठ्यो, काम न काज सबै कुरो जान्न खोज्छे र आफ्नो क्रोध काबुमा राखेर केवल “केही होइन” भन्ने मात्र उत्तर दिए । दुलहीबाट यो कुराको बिषयमा केही सल्लाह मिल्न सक्छ भन्ने तिनलाई आशा नै थिएन- यो यत्रो ठुलो कुरा ! त्यसो हुनाले दुलहीलाई केही भन्न उनलाई मन लागेन । तर दुलहीले ढिपी गर्दा त्यो विशेष घटनालाई नभनेर गोल बोलीमा कुरा गरे- “मबाट एउटा कसुर भयो । एउटा ठुलो मानिसलाई मैले नटेरेको जस्तो गरेँ । अब के उपाय गर्ने ? तिनी रिसाए भने त बडो बरबाद भयो ।”

केशवराज आत्तिएका थिए । दुलहीले सजिलैसँग उत्तर दिइन्- “गएर माफी माग्नुहवस् न ! भैहाल्छ नि ।”

यो युक्ति तिनलाई पनि मन पर्‍यो र भोलि बिहान गई माफी माग्ने निश्चय गरे । अब त तिनलाई निद्रा चाहिएन, तर कहिले बिहान होला भन्ने ध्याउन्नले तिनले बाँकी रहेको रात उपयोगमा ल्यउन सकेनन् र झिसमिसेमै उठेर लुगा लाएर जान तयार परे । केवल घडीले अवेर गरिदियो ।

अझै आठ बज्न तीन घन्टा बाँकी छ । आठ नबजी जर्साबको तल सवारी हुँदैन । चाकरीबाजको टायमै त्यही हो । पर्खँदा पर्खँदा तिनले सम्झे । आफ्नो घरमा पर्खनुभन्दा त ढोका नै कुर्नु असल हो नि भनेर छ बजे तिनी जर्साबकहाँ जान भनी हिँडे । साइत नपरेको होइन- खर्पनभरि दहीका कहतरा देखिए, काम सिद्ध हुने भयो ।

दुई घन्टा ढोका कुरेपछि बिस्तार चाकरीवाज आउन थाले र दरवारको अघिल्तिरको चौर मान्छेले भरियो । निन्याउरो मुख लाएर केशवराज छुट्टै बसेका थिए । छुट्टै बस्नाको उनको महान् उद्देश्य के थियो भने घुइँचोमा कसलाई नजर हुन्छ कसलाई हुँदैन, थाहा पाइँदैन, राम्रो चाकरी पाइन्छ र एकान्तको मौका पर्‍यो भने माफीको कुरा पनि बिन्ती गर्न पाइन्छ ।

पर्खालभित्रबाट घोडाको टापको सङ्गीत सुन्न भनी उत्सुक भैरहेका केशवराजका कानमा जर्साबको क्रुद्ध वाणी पर्‍यो ।

कुन्नी के काम बिगार्दा जर्साब सइसमाथि रिसानी भैरहेको थियो । उहाँको शान्त स्वभावका विषयमा सबैको एकमत छ, उहाँले रिसाएको कसैले देखेको छैन । आज किन रिसानी भयो त ? उहाँको क्रोध शब्दका रूपमा पर्खाल छेडी बाहिरसम्म आइरहेको थियो ।

केशवराजले उहाँको रिस थाहा पाए । हिजोको कुराले उहाँलाई निकै चोट परेछ । चोट पर्ने कुरै थियो । ठुला मानिसको अहङ्कारमा धक्का दिनु तिनीहरुको सबभन्दा कोमल स्थानमा स्पर्श गर्नु हो । सहन सक्तैनन् । अहँ, यो क्रुद्ध अवस्थामा केशवराजले माफी माग्नु उचित छैन । कहीँ क्रोधको धारा आफ्नै टाउकोमाथि बग्न गयो भने ? केशवराज घरतिर फर्के ।

बाटामा तिनमाथि नाताकतको दौडाहा भयो । हिजो राती भात पनि राम्ररी खाएका थिएनन्; निद्रा ता पटक्क लागेको थिएन र आफ्ना विरामका विषयको कुरा मनमा खेलाउँदा तिनी बिरामीजस्ता भए । एक डेग हिँड्दा पनि तिनको दम फुल्न थाल्यो । आफ्नो यो अवस्था देखेर उनलाई आफूमाथि दया लाग्न थाल्यो औ नबुझेर सानो कुरामा रिसाउने जर्साबसँग रिस उठ्न थाल्यो । “मेरो कुन ठुलो अपराध हो र ? चस्माले भेट्टाएन, चिन्न सकिनँ, तेसो हुनाले स्वस्ति गरिन । सधैँ त विहान बेलुका गई ढोका कुरी बसिहालेको छु नि ! मेरो मनसुवा उहाँलाई नटेर्ने भएको भए यसरी किन चाकरी गर्थेँ ? त्यती पनि त बुझिदिनुपर्छ । उहाँबाट बिनाकारण ममाथि रिसानी हुन्छ भने के लाग्यो मलाई पनि खाँचो छैन । आफुले मर्नु हुँदैन ।” तर घर पुग्दा नपुग्दै तिनको यो विचार हरायो र पहिलेकै विचार मनमा आउन थाल्यो । “जसले चाकरीकै भरमा दुई साँझ गाँस टिप्छ, ऊजस्ताले त्यस्ता ठुलासँग टेक राख्ने रे । अहँ अहँ, एउटा भुललाई अर्कोले सच्याउन सक्तैन । गएर माफी माग्नै पर्छ ।

भरे फेरि क्षमा याचनाका निमित्त केशवराजले ढोकातिर प्रस्थान गरे । जर्साबको घोडामा सवारी भयो । केशवराज डरले थर-थर कामिरहेका थिए । भने जस्तो एकान्तको मौका पाएर डरले भकभकाएर बिन्ती गरे- “प्रभु ! चस्माको दोष… … … माफ पाऊँ ।”

जर्साबले घोडा थामेर नबुझेर सोधिबक्सियो- “के भन्यौ ? केको माफी ?”

केशवराजको सातो गयो । जर्साब कति रिसाइबक्सेको रहेछ । माफीसम्म दिन खोजिबक्सिन्न । केशवराजले चारैतिर अँध्यारो देख्न थाले, काम्न लागेको गोडाले भर दिएन । दुवै हातले कपाल समातेर थुचुक्क बसे। जर्साबले धेरै खोजीनिती नगरी घोडा बढाइबक्सियो । घोडाको टापले उडाएको धुलोले सडकको एक कुनामा कपाल समातेर बस्ने केशवराजलाई ढकमक्क ढाक्यो ।

केशवराज एक्कासि ५० वर्षका बुढाजस्ता देखिन थाले । हिँड्दा कम्मरमा हात लाउनुपर्ने भयो, लट्ठीको आवश्यकता परेको तिनले थाहा पाए । केशवराजको कल्पना सत्य निस्क्यो । जर्साब रिसानी भएछ औ अघोर रिसनी भएछ । घर पुगेर निराश भएर लामो सास तानेर बाहिर जाने लुगा नफुकाली कोटैसमेत बिछ्यौनामा उनी पछारिए र खान्न भनेर समाचार पठाए ।

केशवराजको बाँच्ने प्रेरणा जागरित भयो । तिनले यसरी खुट्टा छोड्नु हुँदैन । तिनले जर्साबलाई बुझाउनै पाएनन् । राम्ररी बुझाएको भए जर्साबले निश्चय नै माफी बक्सिन्थ्यो । यहाँ दयाको सागर होइबक्सिन्छ । आफैँ आत्तिएर वाक्यै ननिकाल्ने ? सोझै माफ पाऊँ भनेर माफी पाइन्छ ? घटनाको सब इतिहास, चस्माले दिएको धोखा, पछि स्वस्ति पनि गरेको, र मोटरको क्यारेज बाक्स इत्यादि सब खुलासा गरे पो माफी पाइन्छ । भोलिपल्ट बिहान उठेर फेरि ढोकामा गए । जर्साबलाई आदिदेखि अन्त्यसम्म सुनाए । जर्साबबाट मर्जी भयो- “बुझेँ, बुझेँ, म त्यती पनि बुझ्दिनँ ? तिमी त बडा अनौठाका मानिस रहेछौ । यस्तो जाबो कुरामा… … ‍।”

केशवराज निर्धक्क भए । जर्साबबाट बडो करुणा राखी माफी बक्सियो । कति दयालु होइबक्सिन्छ । यी सब गुण भएर त लक्ष्मी पनि यहाँ बास गर्छिन्; कत्रो सुख छ । यी सब कुरा हिजै बिन्ती चढाएको भए तिनलाई यतिको मानसिक चिन्ता खप्नै पर्ने थिएन । तिनको मन प्रसन्न भयो ।

हिजोको चिन्ताले र तीन छाक भात नखाएको हुनाले केशवराजलाई निकै गालेछ । सिँढी चढ्दा दुईचोटि बिसाउनु पर्‍यो । कोठामा पुगेर थाकेको हुनाले उनी बिछ्यौनामा पसारिए । बुइँगलमा नअटाई माथि जाने बाटो नपाई भन्साघरको धुवाँ केशवराजको कोठामा रङ्मगिरहेको थियो । तिनले सुती सुती उँधो मुन्टो लाएर चिच्याए- “कति धुवाँ पारेको ?” तिनकी पत्नीले माथिबाट कुन्नि के भनिन् केशवराजले सुनेनन् र सुन्न पनि खोजेनन् । चिच्याउँदा बल परेर तिनी स्वाँ स्वाँ गर्न थाले । असाध्यै नाताकत भएछ । तिनको मनमा हिजोको विचार खेल्न थाल्यो । “बुझेँ, बुझेँ, म त्यति पनि बुझ्दिनँ र, तिमी त बडा अनौठाका मानिस रहेछौ । यस्तो जावो कुरामा… … … ।” धुवाँको एउटा मुस्लो सिँढीमा लडीबुडी खेल्दै एउटा डल्लो भएर तिनको कोठामा आई फुट्यो । कोठा अँध्यारो भयो, तर केशवराज प्रशन्न थिए । माथि ‘बुढी’ लाई दाउरा नबलेर कति कष्ट होला ! विचारीले यसै गरी दु:खसँग जीवन बिताउनु पर्छ । केशवराजले भान्से बाहुन वा बाहुनीसम्म राख्न सकेका छैनन् ।

आफैँ पनि केशवराजले सुख पाए र ? दुलही घरको दु:ख खेप्छिन्, तिनी बाहिरको । बिहान चाकरीमा दगुर्नु पर्छ, दिउँसो दुई बजेदेखि फेरि चाकरीमा गयो । अरु केही काम छैन । चाकरीको घोडेयात्रा छ ।

कहिले त ‘जर्साब’ नजरसम्म पनि हुन्न… … केशवराजलाई ग्लानि भयो ।

मेरिकी पत्रकारलाई विश्वेश्वरप्रसाद कोइरालाले दिनुभएको अन्तर्वार्ता थप सामग्रीको रुपमा यहाँ प्रस्तुत गरिएको छ ।

‘अविरल जनसाहित्य शृङ्खला’ मा खरेलका एक दर्जन कविता वाचन

काठमाडौं- राष्ट्रिय जनसाहित्यिक संघ, नेपालको मासिक ‘अविरल जनसाहित्य शृङ्खला’ ८१औँ अङ्कमा कवि महेशराज खरेलका एक दर्जन कविता वाचन भएको छ।

कविता, यात्रा संस्मरण र समसामयिक लेखनमा सक्रिय स्रष्टा खरेलका छानिएका प्रगतिवादी कविता वाचन र समीक्षा गरिएको हो। उहाँका ‘चेतनाको गर्भबाट’, ‘आइदेऊ न माझीदाइ ढुङ्गा बचाउन’, ‘पदमा बसेको मान्छे’, ‘सङ्कल्प’, मनका पवित्र उभारहरू’, ‘नयाँ वर्ष’, ‘घरमै विद्रोह उम्रियो’, ‘नयाँ सन्देश’, ‘म’, बादल लागेपछि’, ‘तिम्रो पर्खाइमा’ र ‘आमा’ शीर्षकका कविता प्रस्तुत भएको थियो। उहाँलाई वाचनमा कविहरू नन्दु उप्रेती, डम्बर पहाडी, विन्दु ढकाल र अनु शर्माले सघाउनु भयो ।

कार्यक्रममा नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले साहित्यकारहरूले इतिहासको पुनरावलोकनसहित राजनीति, सामाजिक स्थिति र अर्थतन्त्रको विवेचनासहित विद्यमान निराशालाई चिरेर सुन्दर भविष्यका लागि रचना सिर्जना र सांस्कृतिक अभियान सञ्चालन गर्नुपर्ने बताउनु भयो । उहाँले वि.सं. २०७४ मा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकतामा देखिएको उत्साह विसं २०७८ को विभाजनका कारण युवामा एक प्रकारको वितृष्णा पलाएको अवस्थामा त्यसलाई आशामा बदल्नु राजनीतिकर्मी र स्रष्टाहरूको दायित्व भएको जनाउनु भयो ।

वाचित कवितामाथि समीक्षा गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव प्रा जगतप्रकाश उपाध्यायले खरेलले समसामयिक राजनीतिक र सामाजिक घटनाबाट प्रभावित भई समाजका लागि दायित्वपूर्ण लेखन गरेको टिप्पणी गर्नुभयो । उहाँले नेपाली भूमि बाँझो राखेर खाडी मुलुकमा काम गर्न जान विवश युवाका समस्या र राजनीतिक नेतृत्वले पदमा पुगेर देखाएका गलत आचरणको चिरफार गरिएको उल्लेख गर्नुभयो ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालका अध्यक्ष प्रेमनाथ अधिकारीले नयाँ पुस्तालाई जनसंस्कृतिमा जोड्न सांस्कृतिक क्षेत्रमा सात घटक बनाएर विविध गतिविधिलाई निरन्तरता दिइएको जनाउनुभयो । शृङ्खलाका संयोजक डा हरिप्रसाद सिलवालले कवि खरेलको व्यक्तित्वबारे प्रकाश पार्नु भएको थियो । खरेल राष्ट्रिय वाणिज्य बैंकका पूर्वकर्मचारी पनि हुनुहुन्छ ।

सङ्घका अध्यक्ष राम विनयको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नर्मदेश्वरी सत्यालले आगामी शृङ्खलामा कवि अनिता लामाका कविता प्रस्तुत हुने जानकारी दिनुभयो ।
(ज्ञानु विद्रोही, काठमाण्डौं)