Home Blog Page 20

कविता: ओ लार्भा ! / – पूर्णिमा गिरी

तिमीलाई लाग्दैन ?
जिन्दगी प्रश्नै प्रश्नहरू बोकेर मृत्युतर्फ
लम्किरहेको यात्रा हो

यही यात्राको सहयात्री हो परिवार
उदास छौ?
कि निराश?
कि हतास?

भनेनन् कि क्या हो तिमीलाई
आमाको सारीमा परेका गाँठोहरूले
यादहरूले मनमै गाँठो पार्छन् भनेर

अनि सिकाएनन बाका कुर्कुचाहरूले
रहर पूरा गर्न मिहिनेत गर्नुपर्छ भनेर

बुझेनौ दिदीका सहानुभूतिका शब्दहरूमा
रहर, इच्छा र आकाङ्क्षा मर्न पनि सक्छन् भनेर

वेवास्ता गर्यौ कि क्या हो,
दाइका गुनासोहरूलाई
कि पैसाको अभावमा आफन्तसँगको सम्बन्ध रिन्यु गर्न सकिन्न भनेर
देखेनौ भाउजुका आँखाहरूमा
प्रेमका लागि रोएका आसुको रङ ?

बुझ्यौ होला रहर पूरा गर्न लागेका
भाइका अनिँदा रातसँगको पौठेजोरी ?

नियाल्यौ होला बहिनीलाई
र थाहा पायौ होला
नसुतेरै देखिएका सपनाहरूको आकार ?

हिजो झिझिँदा घर छोडेको तिमीले
आज सम्झिँदा फोन गर्छौ ?
हिजो मात्तिदा घर छोडेको तिमीले
आज आत्तिँदा फोन गर्छौ ?

कस्तो सपना देखे थियौ
सहर आउने यात्रामा सुतिरहँदा ?

कुन वाक्य थियो अन्तिम पल्ट आमाले बोलेको ?
याद छ कसरी हेर्नू भयो बाले अन्तिम पल्ट ?

ओ भुइँमान्छे
के रहर बोकेर आएका हौ गाउँबाट ?
तिम्रो कुन इच्छा सहरको कुन कुनोले पूरा गरिदियो ?
पूरा गर्न बेहद मन लागेको पहिलो सपना कुन थियो ?
सहर आएको पहिलोपटक
कुन कुराको आवश्यकता अति नै आवश्यक लागेको हो ?
कुन रहरको पहिलोपटक इति श्री भएको हो ?

ओ लार्भा !
अनि बन्यौ त यो सहरमा पुतली ?

ओ लार्भा !
– पूर्णिमा गिरी
अर्घाखाँची

कविता: विरुद्ध / -स्वस्तिका बानियाँ

स्वयमले सल्काएको आगोमा
सल्किन नदेऊ आफूलाई
अन्धताको कालो बादलभित्र
नडोर्‍याऊ आफ्नो जीवनलाई
तिमी त उदाउनु पर्छ
सूर्योदयसँगै ।

स्वर्णिम वर्तमानको कल्पनामा
क्षणभरको तामसिक आनन्दताले
बस तिमीलाई
लुछ्छ लुछ्नुसम्म
र खोक्रो बनाउँछ
भित्रबाट
सिध्याइदिन्छ
तिम्रा सपनाहरू
रित्याइदिन्छ
आशाको त्यान्द्रो
जति डुब्न प्रयत्न गर्छौ
अल्कोहलको जारमा
त्यति नै बस्छ तिम्रो संसार
उसको अधीनमा
जब तान्छौ सेतो ठुटो
उड्छौ त्यसे फ्याकेको
धुँवामा
र बजारिन्छौ
कल्पनीय बृहत् पर्खालमा
त्यसबखत तिमी रित्तिन्छौ

आऊ आज स्वयमलाई
जागरण गराऔँ
सृष्टिको यति सुकिलो मुस्कानहरूलाई
गिलासको एक चुस्कीमा
नडुबाइ दिउँ
तिमी-हामी मिलेर
यो विशाल ब्रह्माण्डलाई
दुर्व्यसनीमुक्त बनाऔँ
हृदयभरि रहेको सत्कर्मको
आलोकलाई फैलाउँदै
परिवर्तन गरौँ – प्रत्येक सोचलाई
हामी यस्तो शक्तिशाली तरङ्ग
प्रवाहित गरौँ
भट्टीदेखि लिएर
गल्ली गल्लीले
यो आवाज सुनोस्
“हामी दुर्व्यसनीको विरुद्धमा छौँ ।”

विरुद्ध
-स्वस्तिका बानियाँ
कैलाश-९, मकवानपुर
(कवि साहित्य सङ्‍गम मकवानपुरमा आबद्ध हुनुहुन्छ ।)

 

“कान्छी मट्याङट्याङ”, “रिटिङ रिटिङ नबजाउ बिनायो” : एलपी जोशी एक स्मृति

श्रावण ११, शुक्रबार नवसाहित्य अनलाइन । “रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो” लोकगीतबाट गीतबाट प्रख्याति कमाउनु भएका जोशीले बिहीबार ८८ वर्षको उमेरमा निर्वाण प्राप्त गर्नु भएको छ । तारादेवी, युवराज लामा, मीरा राणा र लोचन भट्टराईसँग समेत सोही गीत गाउनु भएका लोकस्रष्टा जोशी बिनायोको आवाज “रिटिङ रिटिङ” लाई उहाँका गीतअघि अन्यत्र कतै पनि शब्दमा उल्लेख नगरिएको बताउनुहुन्थ्यो । “वल्लो खोलो पल्लो खोलो, कमिलाको गोलो भनेर” गीत समेत उहाँको अर्को चर्चित गीत रहेको छ । जहाँ जहाँ नेपाली रहेका छन् त्यहाँ त्यहाँ उहाँका गीत पुगेको सर्जकहरू बताउँछन् । जोशीले रेडियो नेपालमा २०५९ सालमा ‘सुप्रसिद्ध लोकगायक’ को उपाधि प्राप्त गर्नु भएको हो । धनकुटामा आठपहरिया राईहरूले बिनायो बोक्ने र बजाउने गरेको देखेर सिक्दै गाउँदै गरेका जोशीलाई एक सम्मान कार्यक्रममा राष्ट्रकवि घिमिरेले “बिनायोले जोशीलाई चिनायो” भन्नुभएको थियो । पाको उमेरका तन्नेरी आवाजका गायकका रूपमा चिनिने उहाँ पहाडी क्षेत्रका लोकबाजा, विभिन्न भाषाका गीत सङ्कलन र गायनमा उम्दा संरक्षणकर्मी हुनुहुन्थ्यो । “नेपाली माया नेपालै कस्तो छ, सरमा सर अक्षर लेख्ने, नेपाली माया नेपाली कागजैमा, नेपालै कस्तो छ” गाउनु भएको जोशी पारिवारिक माहोलमैँ वाद्यवादन तथा गायनको सुरूवात गर्नु भएका जोशी धनकुटा निवासी हुनुहुन्थ्यो भने जोगवनी-कटिहर-समस्टिपुर-दरभङ्गा-मजफ्फपुर-रक्सौल हुँदै वीरगञ्ज नाकाबाट पुनः नेपाल प्रवेश गरी ट्रकमार्फत् काठमाडौँ गएर गीत गाउनुहुन्थ्यो । २०१३ सालमा पहिलो गीत रेडियो नेपाल, काठमाडौँमा गीत गाउनु भएको हो भने २०१५/१६ सालतिर पहिलो गीत रेकर्ड गराउनु भएको हो । धनकुटामा २०२४ सालमा मुनामदन गीति नाटक गरेपछि २०२८ सालमा राष्ट्रिय नाचघरले र २०३२ सालमा प्रज्ञा प्रतिष्ठानले गरेको बताउनुहुने उहाँले काठमाडौँमा किराँतको शिकारी नाच समेत गराउनु भएको थियो । नेपालको दोस्रो चलचित्र “हिजो, आज, भोलि” का लागि गीत गाउने र नृत्य निर्देशन समेत गर्नु भएका जोशी नेपाली लोक संस्कृति, कला, साहित्यमा योगदान गरेबापत २०१९ स्वर्ण पदक प्राप्त गर्नु भएको हो । सो बेलामा बालकृष्ण सम, धर्मराज थापा, लक्ष्मण लोहनी निर्णायकका अघि “दमाई गीत”- “केको माला केको माला, सुपारीको माला नि लै लै” गाएका कारण राजा महेन्द्र खित्का छोडेर हाँसेको र राजाले सो पदक दिनु भएको बताउनुहुन्थ्यो । “खिपीमा खिपी बिनायो बाजा, ओठको तालमा नि बज्दै छ गम्केर प्याट्टै” गीतलाई “सानोमा सानो कमलको हाँगा” शब्दहरू हेरफेर गरेर जोशीको अर्को गीत “उकाली ज्यानमा लौ तिर्खा लाग्यो, खाउँ काकरी चिरेर रेशम” गीतलाई चर्चित गायक अमृत गुरूङले चोरी गरेको आरोप लगाउनु भएको थियो । ००० काठमाडौँ युनिभर्सिटीमा सङ्गीत विभाग प्रमुखको जिम्मेवारीमा रहनु भएका लोचन भट्टराईले नेपालकै लोकगीत, लोकबाजा र लोकलयलाई संरक्षणका क्रममा एलपी जोशीसँग समेत उहाँका रिटिङरिटिङ र निगालो घारीजस्ता पूराना गीतहरू गाएर पुनः रेकर्ड गराउनु भएको छ । त्यसो त शिवा बस्नेत र रीता बुढाथोकीलगायत गायकहरूसँग समेत उहाँले गाउनुभयो । ००० १ लाख रूपैयाँ राशिको सम्मान तत्कालिन प्रधानन्त्री केपी शर्मा ओली, तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनबाट ५० हजार राशिको सम्मान, नारायणगोपाल सङ्गीत कोष, राष्ट्रिय लोकदोहरी प्रतिष्ठान, नातिकाजी स्मृति प्रतिष्ठानलगायत १५० बढी सम्मान तथा पुरस्कारहरूले सम्मानित हुनुभएको उहाँ लामो समयदेखि मधुमेह रोगबाट पीडित जोशी जीवनको अन्तिम समयसम्म लोक गीत सङ्गीतको क्षेत्रमा समर्पित हुनुहुन्थ्यो । वि. सं. २०१३ सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड गराउनु भएका उहाँले २०२२ देखि २०२९ सालसम्म रेडियो नेपालमा जनकवि केशरी धर्मराज थापासँग काम गर्नुभएको थियो । त्यसो त जनकविकेशरी धर्मराज-सावित्री थापा प्रतिष्ठानले “जनकविकेशरी धर्मराज-सावित्री थापा लोकगीत-सङ्गीत पुरस्कार २०८०” लोक संस्कृतिकर्मी एलपी जोशी (लक्ष्मीप्रसाद जोशी) लाई यसै महिनाको सुरूवातीमा प्रदान गरेको थियो । ००० “उकाली ज्यानको चक्लेटी ढुङ्गा कान्छी मट्याङट्याङ” जस्ता गीतले एउटा युगमैँ ख्याति कमाउनु भएका जोशी मोफसलमैँ बसेर सेवा गर्छु भन्ने मनभावले जीवनभर आफ्नो नेपाल र नेपालीको पहिचानका लागि लागिरहनु भयो । उहाँ आफ्ना सिर्जनाहरूले हामीमाझ सदैव रहिरहनुहुनेछ । जोशीको असामयिक निधनप्रति नवसाहित्य परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । ००० संक्षिप्तमा… स्रष्टाः एलपी जोशी (लक्ष्मीप्रसाद जोशी) जन्मः विसं १९९३ लक्ष्मीपूजाको दिन, धनकुटा मातापिताः विष्णुकुमारी/सुबेदार कृष्णमानसिंह जोशी पत्नीः वृन्दा जोशी प्रतिनिधिमूलक सिर्जनाहरूः * रिटिङ रिटिङ नबजाउ बिनायो (गीत, गायन र सङ्गीत) * वल्लो खोलो पल्लो (गीत, गायन र सङ्गीत) * खिपीमा खिपी बिनायो बाजा (गीत, गायन र सङ्गीत) * मादलै बज्यो घिन्ताङमा घिन्ताङ (गीत, गायन र सङ्गीत) * केको माला केको माला, सुपारीको माला * निगालोको घारीमा च्याखुरा नाच्यो (गीत, गायन र सङ्गीत) * उकाली ज्यानको चप्लेटी ढुङ्गा कान्छी मट्याङट्याङ (गीत, गायन र सङ्गीत) * यो निरिम छायाँ (गीत, गायन र सङ्गीत) * जति खायो उति मिठो (गायन) निधनः २०८१ श्रावण १० सन्दर्भ स्रोतहरूः * युट्युब- अनलाइन मिडिया, युवा मन नेपाल, इमेज च्यानल, म्युजिक नेपालरूः * तस्बिरः खबर हब (संप्रस पौडेल)

उत्तमशान्ति पुरस्कारप्राप्त ‘गल्ली संसार’ का लेखक रोशन शेरचन र कवि भूपिनबिच परिसंवाद

श्रावण १०, बिहीबार
नवसाहित्य अनलाइन । ‘गल्ली संसार’ निबन्ध सङ्ग्रहका कृतिकार रोशन शेरचन हेटौँडामा एक कार्यक्रमबिच उपस्थित हुनुहुनेछ । कवि भूपिनसँग ‘उत्तमशान्ति पुरस्कार २०८०’ प्राप्त कृतिका लेखक शेरचन परिसंवाद कार्यक्रमका क्रममा रहनुहुनेछ ।

साहित्य सङ्गम मकवानपुर तथा सिस्नुपानी नेपालको सभाहलमा आयोजना हुने कार्यक्रममा लेखकद्वय भूपिन र शेरचनबिच उहाँका लेखनका साथसाथै समग्र निबन्ध लेखनको प्रवृत्ति तथा ‘गल्ली संसार’ को सेरोफेरोमा रहेर बहस सञ्चालन हुनेछ ।

शब्दहरूको देश (कविता सङ्ग्रह, वि.सं. २०५३), सरुभक्तहरू (लामो कविता सङ्ग्रह, वि.सं. २०५६), धोबीघाट एक्सप्रेस (निबन्ध सङ्ग्रह, वि.सं. २०७०), मस्तिष्कहरूको मृत्यु(निबन्ध सङ्ग्रह, वि.सं. २०५८), चम्पारन ब्लुज (निबन्ध सङ्ग्रह, वि.सं. २०६८) जस्ता शक्तिशाली पुस्तकहरूको रचना गरी नेपाली साहित्याकाशका लागि समय र बौद्धिकताको लगानी गरिदिने शेरचनले वातावरणीय विज्ञानमा विद्यावारिधि गर्नु भएको छ।

नवीन कृति ‘गल्ली संसार’ ४८ निबन्धहरूको सङ्ग्रह हो । जसमा निबन्धहरूलाई ४ भागमा विभाजन गरी ‘वैचारिकी’ अन्तर्गत १४ वटा, ‘पर्यावरण’ अन्तर्गत ८ वटा, ‘स्मृति–सन्झ्याल’ अन्तर्गत १२ वटा र ‘यात्रा र यात्राहरू’ अन्तर्गत १४ वटा निबन्धहरू समेटिएका छन् । त्यसो त यो पुस्तक पद्मश्री पुरस्कार २०८० का लागि उत्कृष्ट १५ पुस्तकभित्र छनौटमा समेत परेको छ । लेखकमा वन विज्ञान तथा वातावरण विज्ञानको फराकिलो अध्ययनका साथसाथै भ्रमणको अनुभवले कृतिलाई बेग्लै उचाइ दिएको पाठकहरूको धारणा रहेको यस कृतिलाई बुकहिलले प्रकाशन गरेको हो । 

यही श्रावण ११ गते शुक्रबार आयोजना हुने सो कार्यक्रममा वक्ताका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग सदस्य शान्ति प्रियवन्दना रहनुहुने आयोजक साहित्य सङ्गमका सचिव मनोज पोखरेलले जानकारी गराउनु भएको छ । प्रियबन्दना ‘एक्काइसौँ शताब्दीको जिल खाइरहेको मान्छे’ कविता सङ्ग्रहका कृतिकार समेत हुनुहुन्छ ।

(पुस्तक कभर स्रोतः भुपेन्द्र खड्का)

आँचल र सङ्गमको संयुक्त आयोजनामा स्वर्गीय स्रष्टाद्वय तिम्सिना र मुडवरी स्मृतिविशेष रचनावाचन कार्यक्रम

श्रावण १०, बिहीबार
नवसाहित्य अनलाइन । शनिबार साहित्यकारद्वय स्व. अप्सरा तिम्सिना र स्व. दीपक मुडवरी स्मृतिविशेष रचना वाचन कार्यक्रम आयोजना हुने भएको छ । आँचल साहित्य कला पुञ्ज र साहित्य सङ्गम मकवानपुरको ३४५औँ नियमित साहित्य सन्ध्याका क्रममा संयुक्त आयोजनामा सो कार्यक्रम आयोजना गर्न लागिएको आँचल साहित्यकला पुञ्जकी सचिव सबिता तिमल्सिनाले बताउनुभयो ।

स्व. अप्सरा तिम्सिना र आँचल साहित्य कला पुञ्जः
स्व. तिम्सिनाका ‘अभ्यन्तर’ कथा सङ्ग्रह र ‘किनाराका आवाजहरू’ कविता सङ्ग्रह गरी दुई कृति प्रकाशित छन् । वि.सं. २०६९ सालमा स्थापना भएको आँचलको नेतृत्वमा रहेर स्व. तिम्सिनाले मकवानपुरको साहित्यिक इतिहासमा उल्लेख्य योगदान दिनु भएको थियो ।

४६ वर्षको छोटो आयु लिएर आउनु भएकी उहाँले महिला लेखकहरूलाई संगठित गर्ने र राष्ट्रियस्तरका लेखकहरूसँग समन्वय, सहकार्य र निरन्तर सम्पर्कमा रहने अभ्यासलाई जोड दिनु भएकोले मकवानपुर मात्रै नभइ नेपालका थुप्रै साहित्य सर्जकहरूले बिर्सन नसक्ने नाम बनेको साहित्यकार माया ठकुरीले बताउनु हुन्छ । यस्तै निवर्तमान अध्यक्ष अनिता तिमल्सिना स्व. तिम्सिनाले संस्थालाई केवल संस्थाभन्दा आफ्नो घरका रूपमा माया गर्ने र सदस्यहरूलाई सोहीअनुसारको मायाप्रेमले संगठित गर्दै लेखनमा हौसला दिने गरेको सम्झनुहुन्छ ।

निरन्तर सक्रिय सहभागितामा साहित्यिक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको आँचल साहित्य कला पुञ्ज मकवानपुर महिला साहित्य सर्जकहरूद्वारा सञ्चालित संस्था हो ।

स्व. मुडवरी र नेपाली साहित्यमा योगदान
“अठोट” त्रैमासिक पत्रिका हेटौंडाबाट प्रकाशित स्व. मुडवरीले नेपालकै स्थापित तथा नव साहित्यसर्जकहरूका रचनाहरू प्रकाशन गराउनु भएको हो । अमेरिका निवास रहँदा नै “केही अस्पष्ट रेखाहरु” (२०७४) मा प्रकाशन गराउनु भएका मुडवरीको दोस्रो कविता सङ्ग्रह “केही अतृप्त स्पर्शहरू” प्रकाशनको तयारीमा हुँदाहुँदै देहान्त भएको हो । यसअघि उहाँले आफ्ना दिवङ्गत मातापिताको नाममा साहित्य सङ्गम मकवानपुरले व्यवस्थापन गर्नेगरी “सुभद्रादेवी–मदन मुडभरी स्मृति काव्य पुरस्कार” स्थापना गर्नु भएको थियो ।

स्वर्गीय स्रष्टाद्वयको स्मृतिमा आँचल साहित्य कला पुञ्ज तथा साहित्य सङ्गम मकवानपुरको संयुक्त आयोजनामा  हुने स्मृतिविशेष रचना वाचन कार्यक्रम साहित्य सङ्गम र सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त सभाहलमा श्रावण १२ गते शनिबार आयोजना हुनेछ ।

अनुवाद कथा: बूढी आमा

श्रावण ८, मङ्गलबार
नवसाहित्य अनलाइन ।

धेरै पहिलेको कुरा हो एउटा गरिब किसान र उसकी बूढी आमा एउटा पहाडको फेदीमा बस्थे । अन्न उब्जाउनको लागि उनीहरूसंग एउटा सानो टुक्रा जमिन थियो र उनीहरू विनम्र, शान्त र खुसी थिए । उनीहरू बस्ने साइनिंग प्रान्तमा एउटा निरंकुश राज्यपालले शासन गर्थ्यो जो वृद्ध मानिसहरूको स्वास्थ्यवस्था र कमजोरी देखेर कायर जस्तै गरी डराउँथ्यो । यसले गर्दा एकदिन उसले एउटा कठोर घोषणा गर्यो । उसले पूरै प्रान्तका बूढाबूढीहरूलाई तुरुन्तै मारिदिनू भन्ने व्यहोराको आदेश दियो । वास्तवमा त्यो बर्बरिक काल थियो र बूढाबूढीहरूलाई मर्नको लागि एक्लै छाड्नु सामान्य नै थियो ।

गरिब किसानले भने आफ्नी आमालाई तनमनका साथ माया गर्थ्यो र यस्तो कठोर हुकुम सुनेर उसको मन वेदनाले भरियो । तर कसैले पनि राज्यपालको आदेशलाई नकार्न सक्दैनथ्यो । त्यसैले उक्त नौजवानले आफ्नी आमालाई त्यो समयमा सबैभन्दा दयालु मानिने मृत्यु दिनको लागि तयारी गर्यो । सूर्यास्तमा, जब उसको दैनिक कार्य सकियो तब उसले केहि अन्नसहित आफ्नी असहाय आमालाई बुइमा बोक्यो र पहाडको चुचुरोतर्फको दर्दनाक यात्रा सुरु गर्यो । बाटो निकै लामो र अप्ठ्यारो खालको थियो । अनेकौ साँघुरा बाटाहरूले गर्दा धेरै ठाउँमा ऊ अल्मलिन पुग्यो पुग्यो र कतिपय ठाउँमा बाटो बिरायो पनि । तर उसले त्यसको वास्ता गरेन ।

जुनसुकै बाटो गए पनि उसलाई केही फरक पर्दैनथ्यो । उकालोमा ऊ अन्धाधुन्ध अगाडि बढिरह्यो । उक्त पहाडको शिखरमा नाङ्गो भाग थियो जहाँ छोराछोरीले आफ्ना आमाबाबुलाई लगेर एक्लै छाडिदिन्थे र ऊ त्यतैतर्फ लागिरहेको थियो । बूढी आमाको आँखा त्यति धमिला त थिएनन् तर छोराले अलमलमा एकपछि अर्को बाटो परिवर्तन गर्दै अघि बढेको देखेर उनको प्रेमिल हृदय अत्यन्तै अत्तालिन थाल्यो । उनको छोरालाई पहाडका बाटाहरूबारे राम्रो ज्ञान थिएन र उसलाई फर्किने बेलामा खतरा हुनसक्छ भन्ने चिन्ताले उनले अगाडि बढ्दै गर्दा आफ्नो हातले भ्याउने ठाउँको रुखाविरुवाका हाँगाविंगाहरू निमोठिन् र केहि पाइला कट्नेबित्तिकै बाटोमा खसाउँदै गइन् ।

यसले गर्दा उनीहरूले छोडेर गएको साँघुरो बाटोको ठाउँठाउँमा हाँगाविंगाहरूको थुप्रो देख्न सकिन्थ्यो । अन्त्यमा उनीहरू पहाडको टुप्पोमा पुगे । थकित र निराश किसानले विस्तारै आफ्नी आमालाई भुइँमा बिसायो र आमाप्रतिको आफ्नो अन्तिम कर्तव्य पूरा गर्नेको लागि उसले एउटा आरामदायी ठाउँ खोज्यो । भुइँमा झरेका सल्लाका पातहरूहलाई जम्मा गर्दै उसले विछ्यायो र आफ्नी बूढी आमालाई उठाएर त्यसमाथि राख्यो । त्यसपछि आँशु भरिएका आँखा र दुखिरहेको मुटु लिएर उसले आमाबाट विदा माग्यो ।

छोरालाई आफ्नो अन्तिम आदेश दिनेबेलामा निस्वार्थ मायाले भरिपूर्ण आमाको आवाज काँपिरहेको थियो । ‘तिम्रा आँखाहरू कहिल्यै पनि कमजोर नहुन् मेरो छोरा!’, उनले भनिन् । ‘पहाडको बाटो खतरा नै खतराले भरिपूर्ण छ । सावधानीपूर्वक हेर्दै हिंड र जुन बाटोमा रुखविरुवाका हाँगाविंगाहरू थुप्रिएका छन् त्यहि बाटोलाई पछ्याउँदै जाऊ । तिनीहरूले तिमीलाई घरसम्म पुर्याउने छन् । ’छोराका भावविभोर आँखाहरूले पछाडि बाटोतर्फ हेरे र त्यसपछि फुटेका र चाउरी परेका बूढी आमाको कर्मशील हातहरूलाई हेरे । भित्रभित्रै उसको मन छियाछिया भयो र भुइँतिर शिर निहुर्याउँदै उसले विलाप गर्यो-‘ए मेरी आदरणीय आमा, हजुरको ममता देखेर मेरो मुटु नै टुक्राटुक्रा हुन्छ !

म हजुरलाई एक्लै छोडेर जान सक्दिन । हामी संगै घरसम्मको बाटो पत्ता लगाउनेछौं र मर्नुपरे बरु संगै मर्नेछौं । ’ उसले फेरी एकपल्ट आफ्नो भारीलाई बोक्यो(कति हलुङ्गो लाग्यो उसलाई आफ्नी आमा!) र जूनेली प्रकाशमा आमाले भुइँमा झारेका हाँगाविंगालाई पछ्याउँदै तल उपत्यकामा रहेको आफ्नो सानो झुपडीतर्फ लाग्यो । उसको भान्छाकोठाको कुनामा खानेकुराहरू भण्डारण गर्नको लागि एउटा गोप्य भण्डार थियो जो हत्तपत्त कसैको नजरमा पर्दैनथ्यो । उसले आफ्नी प्यारी आमालाई त्यहीं लुकायो । उसले आमालाई आवश्यक पर्ने सबै कुराहरू लागिदिन्थ्यो र आफूले लुकाएको कुरा कसैले पत्तो लगाउला भनेर सतर्कता अपनाउँथ्यो ।

समय बित्दै गयो र उसले सुरक्षीत महसुस गर्दै गयो । तर त्यतिबेला नै राज्यपालले आफ्नो शक्ति दर्शाउने हेतुले फेरी अर्को अविवेकी आदेश दियो । उसको माग थियो कि उसका सबै रैतीले खरानीको डोरी बनाएर उसलाई भेटी चढाउनुपर्ने थियो । डर र त्रासले गर्दा सारा प्रान्त नै थरथर काँप्यो । आज्ञा बाध्यात्मकारी थियो र पूरै साइनिंग प्रान्तमा कसले पो खरानीको डोरी बनाउन सक्थ्यो र? अत्तालिएको किसानले एक रात आफ्नी आमालाई राज्यपालको त्यो अचम्मलाग्दो आदेशबारे बतायो । उनले ‘पर्ख!’ ‘म यसबारे सोच्नेछु । म सोच्नेछु’ भनिन् । अर्को दिन उनले छोरालाई खरानीको डोरी बनाउने उपाय बताइन् ।

उनले भनिन्, ‘परालको डोरी बाट’ । ‘त्यसपछि चेप्टा ढुंगाहरूमा राखेर त्यसलाई सिधा पार र एउटा हावा नचलेको रात पारेर आगो सल्काऊ’| किसानले मान्छेहरूलाई भेला पारेर आमाले भनेजस्तै गर्यो र आगो निभेपछि ढुंगामा खरानीको डोरी बन्यो । राज्यपाल किसानको बुद्धि देखेर प्रशन्न भयो र सबैको अगाडि निकै प्रशंसा गर्यो । र उसले यो जान्न खोज्यो कि कहाँबाट उक्त किसानले त्यस्तो ज्ञान प्राप्त गरेको थियो । किसानले सोच्यो- ‘अब अन्ततः मैले सबै सत्य भन्नै पर्छ’ र उसले आफ्नो सबै कथा खोल्यो । राज्यपालले सविस्तार सुन्यो र त्यसपछि मौनधारण गर्दै गहिरो सोचमा डुब्यो ।

धेरैबेरपछि उसले आफ्नो शिर उठायो र गम्भीर मुद्रामा भन्यो – ‘हाम्रो प्रान्तलाई युवाहरूको बलले मात्र पुग्दैन रहेछ’, ‘शायद मैले ‘केश फुल्दै गएपछि मान्छेमा ज्ञान पनि बढ्दै जान्छ; भन्ने भनाइलाई बिर्सेछु । यति भनेपछि उसले त्यतिखेर नै आफ्नो कठोर नियमलाई अन्त्य गर्यो र वृद्धवृद्धाहरूलाई मार्नुपर्ने व्यवस्थाको अन्त्य भयो ।

  • मात्सुओ बाशो (१६४४-१६९४) लाई जापानको सबैभन्दा महान् हाइकु कवि मानिन्छ । जापानको एडो कालमा उनी सर्वाधिक लोकप्रिय कवि थिए । उनका हाइकुहरू विश्वका विभिन्न भाषामा अनुदित छन् र उनले अन्तर्राष्ट्रिय जगतमा निकै ख्याति पनि कमाएका छन् । उनीद्वारा लिखित जापानी लोककथा; एजेड मदर (बूढी आमा)लाई अंग्रेजीबाट नेपालीमा गरिएको अनुवाद : 

मात्सुओ बाशो (अनुवाद : अनुप जोशी)

मदन पुरस्कार श्रेष्ठ सूची २०८० का ५ पुस्तकहरू र केही चिनारी

श्रावण ८, मङ्गलबार
नवसाहित्य अनलाइन ।
मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार-२०८०’ का लागि पाँच कृतिहरू छनोट गरेको छ । जसमध्ये एकलाई वर्ष २०८० को मदन पुरस्कार अर्पण गरिने मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा हस्ताक्षरसहित जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पुरस्कार प्रयोजनका निम्ति गुठीलाई प्राप्त ३०४ पुस्तकहरूमध्ये श्रेष्ठसूचीमा सूचीकृत पुस्तकबारे सामान्य परिचय यहाँ उल्लेख गरिएको छ ।
०००

डम्फुको आत्मालाप

भक्त स्याङ्तानद्वारा लिखित यस पुस्तकलाई साङ्ग्रिला बुक्सले प्रकाशन गरेको हो । पुस्तकमा डम्फुलाई चिन्हको रूपमा प्रस्तुत गरिएको छ भने तामाङ जातिको हरेक पर्वमा आवश्यक सङ्गीतको माध्यमका रूपमा रहेको डम्फुको मूल्य बुझ्नका लागि यसको प्रतिनिधित्व गरी तामाङ भाषा, भेषभुषा, कला, संस्कृति, रीतिरिवाज र रहनसहनको जगेर्ना गर्न आवश्यक छ भन्ने निचोडसहित यो पुस्तक तयार भएको छ ।

त्यसो त पुस्तकमा तामाङ भाषाको प्रचुरता (अन्त्यमा शब्दार्थको सन्दर्भसूचीसहित), समाजका विभिन्न घटना र विवरण टपक्क टिपेर कथा उनिएजस्ता लाग्ने यस पुस्तकका छ्योर्तेन, न्होरला, लुङ्दर, दलुचा, म्लाङगैलगायतका कथाहरूका केही प्रसङ्गहरू यस्ता रहेका छन्ः
* जापान जान्छु भनेर सहरमा लुकेर बसेको छोराले दुर्घटनामा बाबुलाई घाइते बनाउनु जस्ता भवितव्य घटनालाई प्रस्तुत गरिएको छ।
* वसन्तपुरको नेवार समुदाय अनि उनीहरूको परम्पराका साथै विदेश गएका सन्तान घर नफिर्नुका दुखद पक्षहरू उल्लेख गरिएका छन् ।
* प्रेमिकाले प्रेमीलाई लामो अन्तरालमा भेट्न आउँदा उपहार किन्नेक्रममा दुर्घटनामा परेर प्रेमीको मृत्यु हुनु जस्ता कथाले पाठकलाई भावुक बनाएको पाइन्छ ।
* अमेरिका बसेर बाबुलाई भेट्न आएकी छोरीले लामो ध्यान साधनामा गएका कारण बुबासँग भेट्न नसक्नु जस्ता पारिवारिक बिछोडको वर्तमान अवस्थालाई कथाले टपक्कै टिपेको पाइन्छ ।
* डीभी परेर अमेरिका भासिएको एक प्रेमी (अमर) धेरै समयपछि फर्किएर प्रेमिका (जलजला) भेट्न आउँदा उनी हराएको २ वर्ष भएको भनी उनकी सानिमाले बताउनु अनि अर्को कथामा मजदुर बाबुले बडो सङ्घर्षले छोरालाई अङ्ग्रेजी माध्यमको स्कुलमा भर्ना गराउने धोकोले गाडामा भारी बोक्दाबोक्दै ज्यान गुमाउँदा छोरा (म्लाङगै) टुहुरो हुनु जस्ता प्रसङ्ग उल्लेख गरिएका छन् ।
* स्कुल जानेबेलामा खाना नपाक्दा कलिलो जाँड खाएर स्कुल जाने र हाजिरको समयमा बान्ता हुँदा साथीहरूले उस (पेम्बा) लाई जिस्क्याएर जँड्याहा पेम्बा भन्नु र यसले अरू साथीहरूका बाआमा समेत भेला भइ एकजुट हुँदा समेत विद्यालयले एक पटकका लागि छुट दिएकोमा पटक पटक साथीहरूको जिस्क्याहट सहन नसकी गाउँ छोडेर सहर भाग्नु जस्ता अझै पनि सुदूर गाउँमा वा विपन्न परिवारमा हुने गरेका यस्ता समस्यालाई कथाले टिपेकाले पनि डम्फुको आत्मालाप हाम्रै समाजकै एक दर्पण हो भन्न सकिन्छ ।

यसरी हेर्दा स्याङ्तानले यस कृतिमार्फत् एक परम्परागत वाद्यवादन डम्फुलाई सजीवझैँ बोल्न लगाएर अनौठो भाषाशैलीमा प्राङ्गारिक स्वादलाई चिनाउन सफल हुनु भएको छ ।

०००

नुन-तेल

जीवन क्षेत्रीद्वारा लिखित यस पुस्तकलाई साङ्ग्रिला बुक्सले बजारमा ल्याएको हो । गैरआख्यान विधाको यस पुस्तक लेख्ने क्षेत्री पेशाले चिकित्सक हुनुहुन्छ ।

“विगततिर पदयात्रा” का रूपमा चिनाइएको यस पुस्तकमा सम्पूर्ण प्राणीको साझा भविष्य पृथ्वीमाथिको चासो र चिन्तनको चर्चा गरिएको छ । पर्यावरणमाथिको चिन्तन गरिएको यस पुस्तकमा भुइँमान्छेहरूको अवस्थालाई अझ मिहिन ढङ्गमा प्रस्तुत गरिएको छ जसले गर्दा उनीहरूप्रतिको दृष्टिकोण बदल्ने पुस्तकका रूपमा यस पुस्तकलाई लिने गरिन्छ । प्रकृतिमाथि मानिसले गरेको ज्यादतीको मूल्य मानिस आफैँले तिर्ने बेला आएको धारणा राख्ने क्षेत्रीलेमु बसाइँसराइ र त्यसले निम्त्याएको द्वन्द्वलाई मर्म छुने तवरले लेख्नुभएको छ ।

रुसकी अन्ना, अमेरिकाका विलियम जिन्सर, आफ्ना एक मित्र र डा. नवराज केसी (शुन्यको मूल्य पुस्तक) लाई आफ्नो पुस्तक लेखनको श्रेय दिने जीवन क्षेत्रीको यो पहिलो पुस्तक हो ।

पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ- “किशोरवयमै पढाइका लागि सहर पसेको मान्छेको बाल्यकालतिरको स्मृति हो यो पुस्तक । सुविधासम्पन्न सहरमा बसोबास गर्ने मान्छेको पुर्खाहरूको ‘नुन-तेल’ बोक्न हिँडेका बाटोमा हिँड्ने रहर हो यो पुस्तक । विकास भनेर मरिहत्ते गरिरहँदा आउने पुस्ताले सासै फेर्न नपाउने हो कि ? भन्ने प्रश्न हो यो पुस्तक । समग्रमा एउटा सुन्दर किताब पढियो । (-एलिसा एकलास/कवि)”

भावलिपि

भावेश भुमरी र प्रणिता चामलिङद्वारा लिखित सरगम प्रकाशनले बजारमा ल्याएको हो । लेखक भावेशले यस पुस्तकका सम्बन्धमा भन्नु भएको छ- “हामीले कलेजको विद्यार्थीकालमा लेखेका ७२ वटा प्रेमपत्रहरूलाई सङ्ग्रहित गरी पुस्तकका रूपमा प्रकाशन गरेका हौँ ।”
अघिल्लो प्रणय दिवसको अवसर पारेर सार्वजनिक गरिएको यस पुस्तक प्रकाशनअघि उहाँले फेसबुकमा आफ्ना चिठीहरू सार्वजनिक गर्दै जाँदा पाएको प्रतिक्रियाबाट पुस्तक तयार भएको प्रतिक्रिया दिनु भएको छ ।

त्यसो त “भरोसा”, “भावना”, “भूमिका”, “भिन्नता”, “भूगोल”, “भाषा”, “भूषण”, “भिरफूलको छायाँ”, “भिजेको चिठी”,  “भिडभित्र छु, बिरानो म”, “भोक इल्टा नाघेर सेलाउँछ”, “भावेश भुमरी इन द युके”, “भिसाको रङ”, “भावलिपि” (संयुक्त लेखन) जस्ता कृतिहरू उहाँ/उहाँहरूका अनुभव हुन् ।
०००

मुकाम रणमैदान

मोहन मैनालीद्वारा लिखित यस पुस्तकलाई बुक हिल पब्लिकेसनले प्रकाशन गरेको हो । नेपाल-अङ्ग्रेज युद्धको बखान भनिएको यस पुस्तकमा खोजमूलक अध्ययन सामग्रीहरू प्रस्तुत गरिएका छन्। १८७१-७२ सालको नेपाल-अङ्ग्रेज युद्धमा नेपाल र अङ्ग्रेज सेना कमान्डरहरूले लेखेका चिठीका इतिवृत्तान्तहरूलाई मैनालीले किताबको विषयवस्तु छनौट गर्नु भएको छ । राष्ट्रिय अभिलेखालयका माइक्रोफिल्म, पोकापुन्तरामा राखिएका चिठीपत्र, तिनका कतै स्पष्ट त कतै अस्पष्ट अक्षरहरू केलाएर खोजपत्रकारिताको पहिचानलाई पुष्टी हुनेगरी पुस्तकाकार यस पुस्तकमा अन्यत्र कतै नभेटिएका तथ्यहरू समेत प्राप्त गर्न सकिनेछ ।

पुस्तकको पृष्ठभागमा “नेपाल र अंग्रेजबीच २०९ वर्षअघि भएको भीषण लडाइँबारे उल्लेख भएको छ । यसका लागि उनी त्यो लडाइँ लडी जान्ने, भोगी जान्ने र देखी जान्ने मानिसका बयानमा भर परेका छन् । सुनी जान्ने मानिसका कुरामा आक्कलझुक्कलमात्र भर परेका छन् ।” लगायतका विषयवस्तु उल्लेख गरिएका छन् ।

त्यसो त वंशगौरवमा आधारित ऐतिहासिक पुस्तकमाथि इतिहासविद् महेशराज पन्तको विचार (हिमाल दर्पण, २२ चैत्र, २०८०) छापिएको छः “मोहन मैनालीले मुकाम रराामैदान- नेपाल-अंग्रेज युद्धको बखान (काठमाडौंः बुकहिल पब्लिकेसन, २०८०) निकालेको देख्दा मेरो मन आफूले उद्दाम यौवनमा गरेको अन्वेषणतर्फ फर्केको छ। लामो समय पत्रकारितामा बिताएका मानिसले इतिहासका आकर केलाई लेखेको यस पुस्तकले कीर्ति राखेको छ भन्दा बढ्ता बोलेको ठहरोइन।” त्यसो त उहाँले यस पुस्तकमा उल्लेख भएका तथ्यहरूका सम्बन्धमा केही विमतीहरू समेत प्रकाशन गराउनु भएको छ ।

नेपालको वास्तविक इतिहास डल्लो कागजमा थन्किएको रहेछ भन्ने मैनालीको पहिलो पुस्तक “उपल्लो थलो” बाट सुरू भएर “देखेको देश”, “आकाशमुखी” (अनुवाद), “मान्ठा हराएको जुग” जस्ता शक्तिशाली पुस्तकहरू प्रकाशनमा रहेका छन् ।
०००

सन्त्रासको साठी दिन

रोशन थापा ‘नीरव’ द्वारा लिखित यस पुस्तकलाई शिखा बुक्सले प्रकाशन गरी बजारमा ल्याएको हो । सहकारी संस्थाका केही सञ्चालकका बेइमानीले पीडित नेपाली बचतकर्ताका साथै सोझा सिधा सञ्चालकसमेत पीडामा रहेको कथालाई उजागर गरेको छ । उहाँका “अन्तरहिन युद्ध”, “तेस्रो विश्वयुद्ध”, “असह्य”, “कोष्ठकभित्र हाँसो”, “उपन्यासहरू प्रत्येक श्रवणकुमार अर्थात् युद्ध”, “प्रस्थानान्तर”, “स्वप्नसहर”, “आवाजहरूको जङ्गलभित्र” र “अनि अभिमन्यु” जस्ता कृतिहरू प्रकाशनमा रहेका छन् ।

एक अनुभवी लेखेका यस औपन्यासिक कृतिमा चित्रण गरिएको सन्त्रासका साठी दिन भए पनि पढ्दै जाँदा एउटा सिङ्गो युग नै बितेको आभास हुन्छ । उपन्यासका पात्र (सरलकुमार) जसले सोचेजस्तो गरी पढ्न नसकेको अनि राम्ररी निदाउन पनि नसकेको अन्यौलता वरिपरी यसका कथाहरू रहेका छन् । उपन्यास पढ्दै जाँदा पाठकले आफूलाई समेत त्यही उपन्यासभित्रको पात्रका रूपमा महसुस गर्नु वा मुख्य पात्र सरलकुमार बनेको महसुस गराउन सक्नु यस उपन्यासको शक्तिका रूपमा रहेको छ ।

सामान्य होटल, छाप्रो, ठेलामा चिया बेच्ने, मकै पोलेर बेच्ने र खुद्रा पसलेहरूले दुःखजिलो गरी कमाएको थोरै बचत सहकारीमा जम्मा गर्ने गरेकोमा सहकारी समस्यामा बचतकर्ता मात्रै पीडित होलान् भन्ने देखिइरहेको अहिलेको अवस्थामा फरक शील्प र शैलीमा प्रस्तुत गरिएको कथावस्तुले प्रयोगधर्मी उपन्यास तयार हुन गएको छ ।
०००
मदन पुरस्कार गुठीले यस सूची प्रकाशन गरेपश्चात् प्रधानमन्त्री खड्गप्रसाद ओलीले सामाजिक सञ्जालमा लेख्नु भएको छ-
“युवाकालदेखि अहिलेसम्म मेरा धेरै बानीमा परिवर्तन आएका छन्। तर, पुस्तक पढ्ने बानी भने अहिले पनि यथावत छ। थोरै समय पाउँदा पनि पुस्तक पढ्छु। भर्खरै मदन पुरस्कार गुठीले २०८० सालको श्रेष्ठ सूची सार्बजनिक गरेको छ। यस मध्ये मुकाम रणमैदान मैले पढेको छु, अरु पढ्न बाँकी छ। श्रेष्ठ सूचीमा परेका सबै पुस्तकका लेखकहरूलाई बधाई !”
०००
स्व.ज. मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाबाट स्थापित मदन पुरस्कारको घोषणा वि.सं. २०१२ असोज १० घोषणा भइ स्थापना भएको हो भने पुरस्कार प्रदान गर्ने घोषणा २०१३ सालमा भइ २०१४ सालदेखि वितरण गर्न थालिएको हो ।

वर्ष २०७९ का लागि कूल ३१३ पुस्तकहरूमध्ये ५ पुस्तकहरू इजोरिया (सुबिन भट्टराई), ऐँठन (विवेक ओझा), चक्रव्यूहमा नेपालको जलस्रोत (द्वारिकानाथ ढुङ्गेल), थाङ्ग्रा (प्रगति राई) र माटाको घर (सञ्जय विष्ट) छनौट भएका थिए । एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरूमध्ये एक कृतिलाई प्रदान गरिने मदन पुरस्कार २०७९ का लागि ‘ऐँठन’ कृतिका लागि विवेक ओझालाई सो पुरस्कार प्रदान गरिएको थियो । २०७५ सालदेखि यस पुरस्कारको राशि ४ लाख रुपैयाँ रहेको छ ।

नवसाहित्य अनलाइन सबै लेखकहरूलाई बधाई ज्ञापन गर्दछ । 

पुस्तक समीक्षा : कमिला र माहुरी / -प्रिन्स चौधरी

श्रावण ७, सोमबार
नवसाहित्य अनलाइन ।

मैले पढेको पुस्तकको नाम ‘कमिला र माहुरी’ हो यसका लेखक तेज प्रकाश श्रेष्ठ हुनुहुन्छ यो कविता विधाको पुस्तक हो। यस पुस्तकलाई कथालयङ्क काठमाडौँले छपाएको हो। यसको प्रकाशन मिति भने वि.सं. २०७० रहेको छ। यो किताब दुईपटक २०६६ साल र २०७६ सालमा छापिएका हुन् जसमा कूल चारवटा पाना छन् । यसको आईएसबिएन नम्बर ९७८ ९९३७ ५५ ३४ ४ हो। यो किताबको मूल्य रु. १२० रहेको छ।

यो पुस्तक कमिला र माहुरीको विषयमा लेखिएको छ । पुस्तकमा हामीले साथीहरूसँग राम्रोसँग बोल्नुपर्छ, मिलिजुली व्यवहार गर्नुपर्छ भन्ने विषय लेखिएको छ । आयताकारको यस पुस्तकमा माहुरी र कमिलाको चित्र देखाइएको छ। यो पुस्तक पढ्न मलाई १५ मिनेट जति लाग्यो। यो पुस्तकमा लेखिएको भाषा वा शब्दहरू पढ्न सजिलो र बुझिने खालका छन् । यो पुस्तक बच्चादेखि ठूलासम्मका सबै उमेरले पढ्न मिल्ने खालको छ। यस पुस्तकको हरेक पानामा थोरै शब्द लेखिएको छ भने धेरै चित्रहरूले यसलाई बुझाउन खोजिएको छ। यसले गर्दा यो पुस्तक आकर्षित बनेको छ। त्यसैले मलाई यो पुस्तक पढ्दा आनन्द प्राप्त भयो ।

यस पुस्तकबाट हामीले साथीहरूसँग राम्रो बोली व्यवहार गर्नुपर्छ साथीहरू सँगसँगै बस्ने र सिक्ने क्रियाकलाप पनि गर्नुपर्छ। साथीहरू सधैं हाम्रा लागि काम लाग्दा हुन्छन् र असल साथीले हामीलाई सधैं नै सही बाटोमा लैजान्छ। यस पुस्तकबाट मैले मानिसको जीवनमा असल मित्रताको महत्व हुन्छ भन्ने कुरा बुझेँ ।

प्रिन्स चौधरी
कक्षाः पाँच
बालजागृति इङ्लिस बोर्डिङ स्कुल, हेटौँडा-२

पुस्तक समीक्षा : परेवा र सानो बाबु / -कञ्चन दुलाल

श्रावण ७, सोमबार
नवसाहित्य अनलाइन ।
मैले हालसालै पढेको पुस्तकको नाम ‘परेवा र सानो बाबु’ हो । यसका लेखक सनद कुमार आचार्य हुनुहुन्छ। यो किताबको बाहिर गातामा परेवा र एउटा सानो बच्चाको चित्र रहेको छ भने यो किताब कथाको किताब हो । आकारमा सानो पनि छ।

यो किताब पढेर मैले हामीले बोटबिरुवाको स्याहार गर्नुपर्छ, बिरुवालाई मलजल, गोडमेल गरेर हुर्काउनुपर्छ र फुल्न लागेका कोपिला छन् भने टिप्नु हुँदैन भन्ने जानेँ । किताबले मलाई सानालाई माया गर्नुपर्छ र साना बच्चाले गल्ती गरेमा सम्झाउनु पर्छ भन्ने कुरा सिकाएको छ। हामीले बच्चालाई जे सिकायौ बच्चाले पनि त्यही कुरा सिक्छन्। हामीले जीव जनावर र पशुपंक्षीलाई पनि माया गर्नुपर्छ। आफ्नो स्वार्थका लागि ती जीव, जनावर र पशुपंक्षीको ज्यान लिनु राम्रो होइन भन्ने कुरा पनि यस किताबमा लेखिएको छ। कतै कुखुराको कथा रहेको छ त कतै भँगेराको ।

हामीलाई यस पुस्तकले विभिन्न शीर्षकहरु दिएर धेरै कुराहरु सिकाउन खोजेको छ । हामीले काम गर्नुपर्छ भन्ने कुरा बुद्धिमान कुखुरो भन्ने शीर्षकबाट सिकाउन खोजिएको छ। भँगेरा र कुकुर पाठबाट हामीले अल्छी नगरी काम गर्नुपर्छ भन्ने कुरा सिक्न सक्छौँ। पाटो गाई भन्ने शीर्षकले जनावरलाई पनि माया गर्नुपर्छ भन्न खोजेको छ। सेरु र भकुण्डो भन्ने पाठबाट जसले काम गर्छ उसले मिठो खान पाउँछ भन्ने पनि सिकाएको छ।

हामीलाई धेरै विषयको ज्ञान दिने यो पुस्तक हामी सबैका लागि पढ्नुपर्ने पुस्तक हो।

कञ्चन दुलाल
कक्षाः पाँच
बालजागृति इङ्लिस बोर्डिङ स्कुल, हेटौँडा-२

पुस्तक समीक्षा : ज्ञानपुरको जात्रा / – कोशिका सापकोटा

श्रावण ७, सोमबार
नवसाहित्य अनलाइन ।

मैले पढेको पुस्तकको नाम ‘ज्ञानपुरको जात्रा’ हो। यस पुस्तक कथा विधामा लेखिएको छ । पुस्तकका लेखक विजयराज आचार्य हुनुहुन्छ। विवेक सृजनशील प्रकाशनबाट प्रकाशित भएको यस पुस्तक प्रथम संस्करण हो। १२ पाना सङ्ख्या रहेका यसको आईएसबीएन नम्बर ९७ ८ ९९३७ ३१ ०२ ५ रहेको छ भने मूल्य चाहिँ रु. १२० रहेको छ।

मलाई यस किताबमा भएको चित्रले असाध्यै मन लोभ्यायो। यो पुस्तक असाध्यै राम्रो छ। यसले हामीलाई चाडपर्वको बारेमा जानकारी दिन खोजेको छ । हामी नेपाली भाषा धर्म र संस्कृतिमा धेरै धनी छौं। त्यसैले हामीले मान्ने चाडपर्व पनि जातिगत हिसाबले धेरै नै फरक फरक किसिमका रहेका छन्। यस पुस्तकले हामीलाई आफ्नो चाडपर्वमा रमाउन सक्नुपर्छ भन्न खोजेको छ।

यस पुस्तकभित्र जम्मा १२ वटा कथा रहेका छन् । पुस्तकको आकार पातलो र लामोखालको छ। पुस्तकको अगाडिको गातामा मखमली सयपत्री फूलको चित्र छ। मलाई यस पुस्तकको बनोट निकै राम्रो लाग्यो। यो पुस्तक म र मेरा उमेरका साथीहरूको लागि निकै नै उपयुक्त पनि छ।

यस पुस्तकमा एउटा सहरमा बस्ने परिवारले चाडपर्व आउँदा आफ्नो गाउँ फर्किएर गाउँका साथीभाइ छिमेकीहरूसँग रमाइलो गर्दै चाडपर्व मनाएको कुरा देखाएको छ। यस पुस्तकमा चाडपर्वको मात्रै बयान नभएर एउटा व्यक्तिको जीवनभरिको अनुभवलाई पनि यस पुस्तकले देखाउन खोजेको छ। यस पुस्तकमा पढ्नुपर्ने शब्द वा भाषाहरु सजिला खालका छन् र बुझ्न पनि सकिने खालको छ गाउँमा चाडपर्व मनाउन जाँदाको छुट्टै रमाइलो हुन्छ भन्ने विषय यसले देखाउन खोजेको छ त्यसैले हामी पनि चाडपर्व मनाउन गाउँ जानुपर्छ र हाम्रो परम्परा र संस्कृतिलाई जोगाउनु पर्छ। यति राम्रो पुस्तक लेखिदिनुहुने लेखक आचार्यलाई धेरै धन्यवाद ।

कोशिका सापकोटा
कक्षाः पाँच
बालजागृति इङ्लिस बोर्डिङ स्कुल, हेटौँडा-२