Home Blog Page 23

हेटौँडामा पहिलोपटक प्रभातफेरी सहित भानु जयन्ति मनाइयो

मकवानपुर । शनिबार भानु प्रतिष्ठान नेपाल, बागमति प्रदेश कार्यसमितिले बागमति प्रदेशको राजधानी हेटौँडामा आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीमा प्रभातफेरी तथा साहित्यिक कार्यक्रम गरेको छ ।

प्रदेश समितिले शनिबार सोलिड्यारिटी इन्टरनेसनल माविमा साहित्यकार, शिक्षक, बिध्यार्थी, पत्रकार गरी करिब २०० जना जम्मा भएर शुरु भएको प्रभातफेरी बसपार्क, बुद्ध चोक, सिमा चोक हुदै सोलिड्यारिटी इन्टरनेसनल माविमा पुगेर सभामा परिणत भएको थियो ।

बागमति प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रमुख अथितिका रुपमा मन्तव्य राख्नुहुदै भानु जयन्तीलाई प्रदेशहरूमा पनि मनाउन शुरुआत गर्नु ठुलो कुरा भएको र आगामी दिनमा यसलाई जनस्तरसम्म लानुपर्नेमा जोड दिनुभयो । उहाँले देशमा साहित्यको विकास राम्रो भएको तर अझै मलजल गर्न आवश्यक रहेको कुरा बिर्सन नहुनेमा जोड दिनुभयो । उहाँले साहित्य लेखनका समयमा समाजलाई केन्द्रमा राख्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सोलिड्यारिटी इन्टरनेसनल माविका विनिता तामाङ, तुलसीमेयर माविका अनुसुया खनाल, बालजागृति माविका सर्जु भण्डारी र आशिका न्यौपाने तथा कवि मञ्जु खरालले भानु सम्बन्धी कविता वाचन गर्नुभएको थियो भने छन्दकवि पुरुषोत्तम आचार्यले रामायणका पाँच श्लोक वाचन गर्नु भएको थियो ।

कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले भानुभक्त बारे जानकारी दिनुभएको भानु प्रतिष्ठान नेपाल बागमति प्रदेश कार्यसमितिका सहसंयोजक मसान उपासकले जानकारी दिनुभयो ।

कार्यक्रममा रमेशमोहन अधिकारी, श्यामकुमार बानियाँ, देवराज तिवारी, सानु खनाल, डिबि बर्तौला, माधव पोखरेल, अम्बिका कार्की, किशन पौडेल, रजनी पौडेल, भावना सापकोटा, एस. के. निधनलगायतका कवि लेखकहरूको आतिथ्यता रहेको थियो । यस्तै, रधुनाथ खराल, विनोद सुवेदी, रिना आचार्य, बलराम पुडासैनी, शिव चौँलागाई, राजेश थापा गरिब, रुपक कालिराजलगायतको आतिथ्यता रहेको थियो ।

भानु प्रतिष्ठान नेपाल बागमति प्रदेश कार्यसमितिका संयोजक हयग्रीव आचार्यको सभाध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण मसान उपासकले गर्नुभएको थियो ।

वासुदेव–भानु स्मृति साहित्य सम्मानबाट दीपक गौतम सम्मानित

हेटौंडा । बासुदेव रिजाल स्मृति प्रतिष्ठान हेटौंडाले साहित्यकार दीपक गौतमलाई सम्मान गरेको छ । आदिकवि भानुुभक्त आचार्यको २११ औं जन्मजयन्तीको अवसरमा मकवानपुरगढी गाउँपालिका–३ भानु माविमा आयोजित बासुदेव–भानु स्मृति साहित्य सम्मान, कविता प्रतियोगिता तथा रचना वाचन कार्यक्रममा साहित्यकार गौतमलाई बासुदेव–भानु स्मृति साहित्य सम्मान–२०८१ बाट सम्मानित गरिएको हो ।
नेपाली भाषा साहित्यमा पुु¥याएको योगदानको मूल्याङ्न गर्दै उनलाई सम्मानित गरिएको जनाइएको छ । साहित्यकार गौतमलाई सम्मानपत्रका साथ नगद १५ हजार रुपैयाँ प्रदान गरिएको थियो । साहित्यकार गौतमलाई विशेषतःनेपाली भाषा, साहित्यको क्षेत्रमा नवपुस्तालाई जोड्न पु¥र्याएको योगदानको मूल्याङ्कन गर्दै सम्मान गरिएको सम्मानपत्रमा उल्लेख छ ।
यसअघि यो सम्मानबाट रामचन्द्र आचार्य (फुर्सदी), पुुरुषोत्तम आचार्य, प्रभा भट्टराई, श्यामकुमार बानियाँ, नरेन्द्र परासर, मुुना अर्याल, निमेष निखिल, जनार्दन खनाल, ठाकुुर शर्मा र सुनिल गौतम सम्मानित भईसकेका छन् ।


कार्यक्रममा भानु माविमा अध्ययनरत विद्यार्थी बीच कविता प्रतियोगिता आयोजना गरिएको थियो । विद्यार्थीबाट प्राप्त २५ कविता मध्ये १० वटा कवितालाई प्रतियोगितामा सहभागी गराईएको थियो । जसमध्ये श्रीया फूयाँल, सुनमाया ब्लोन र अनुश्री अधिकारीको कविता उत्कृष्ट भएका थिए । उनिहरुले प्रमाणपत्र र जनही दुई हजार प्राप्त गरेका थिए ।
यसैगरी प्रतियोगितामा अनुष्का दाहाल र स्वराज सापकोटाले सान्त्वना प्राप्त गरेका थिए । उनिहरुले जनही पाँच सय र प्रमाणपत्र हात पारेका थिए । प्रतियोगिताको निर्णायकमा साहित्यकार सुवास सजल, शिवराज शाही रहेका थिए । प्रतियोगितामा सहभागी अन्य विद्यार्थीलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतिष्ठानका कोषाध्यक्ष अञ्जना उपाध्याय रिजालको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि भानुु मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिलप्रसाद चौलागाईं रहेका थिए । विद्यालय प्राङ्गणमा रहेको आदिकवि भानुभक्त आचार्यको प्रतिमामा माल्र्यार्पण गरेर सुरु भएको कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका शिक्षिका सन्तोषी नगरकोटीले गरेकी थिइन् ।
साहित्यकार अनिता न्यौपानले सहजीकरण गरेको कार्यक्रममा साहित्यकार देवराज खरेलले आदिकवि भानुुभक्त र बासुुदेव रिजालको व्यक्तित्वका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा सिस्नुुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, पत्रकार महासंघ मकवानपुरका कार्यवाहक अध्यक्ष ध्रुव अधिकारी, विद्यालयका प्रधानाध्यापक राजेन्द्र थापाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा समानित व्यक्ति दीपक गौतम, साहित्यकार राजकुमार लामिछाने, अनिता न्यौपाने, सुवास सजल, शिक्षिका सन्तोषी नगरकोटीले अप्रतियोगी कविता वाचन गरेका थिए ।

हेटौँडामा प्रभातफेरी सहित भानुजयन्ती मनाइँदै

मकवानपुर । भानु प्रतिष्ठान नेपाल, बागमती प्रदेश कार्यसमितिले आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीको अवसर पारेर बागमती प्रदेशको राजधानी हेटौँडामा प्रभातफेरी तथा साहित्यिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

समितिले यही असार २९ गते शनिबार बिहान ७ बजे सोलिड्यारिटी इन्टरनेसनल मावि हेटौँडा–१० मा प्रभातफेरी सहित कार्यक्रम आयोजना गर्न लागेको भानु प्रतिष्ठान नेपाल बागमती प्रदेश कार्यसमितिका संयोजक हयग्रीव आचार्यले बताए । सोलिड्यारिटी इन्टरनेसनल माविमा जम्मा भएर बुद्ध चोकसम्म प्रभातफेरी गर्ने र फेरी सोही माविमा पुगेर साहित्यिक कार्यक्रम गर्ने संयोजक आचार्यले बताए ।

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यतामा हुन लागेको कार्यक्रममा आदिकवि आचार्यको सम्झनामा विभिन्न विद्यालयका विद्यार्थीहरूले रचना वाचन समेत गर्ने भानु प्रतिष्ठान नेपाल बागमती प्रदेश कार्यसमितिका सहसंयोजक मसान उपासकले जानकारी दिए । नेपाली भाषा साहित्यमा योगदान पुर्याएका आदिकवि आचार्यको सम्मान स्वरुप कार्यक्रम गर्न लागिएको संयोजक उनले बताए ।

भानु प्रतिष्ठान आदिकविको सम्झनामा स्थापित साहित्यिक साँस्कृतिक संस्था हो । यसले वि.सं.२०३३ देखि काठमाडौँमा प्रभातफेरी सहित नगरपरिक्रमा र श्रद्धाञ्जलीसभा आयोजना गरी भानुजयन्तीलाई राष्ट्रिय समारोहको स्वरूप दिँदै आएकोमा पहिलोपटक प्रदेशका राजधानीहरूमा समेत कार्यक्रम आयोजना गर्न लागेको हो ।

लघुकथा: लोभी पत्नी / -वेदाङ्ग सुवेदी

एक्कासी आफ्नो पतिको मृत्यु भएको देखेर पत्नी रुन कराउन थालिन् । त्यतिबेलै पतिलाई लैजान भनेर यमदूत पनि आए । पत्नीले यमदूतसँग आफ्ना पतिलाई जिउँदो बनाइदिन बिन्ती गरिन् । 

यमदूतले “मरिसकेको मान्छेलाई जिउँदो बनाउन सकिँदैन” भने तर पत्नीले धेरै नै रोइ कराई गरेर यमदूतलाई जसरी पनि एकैछिनका लागि आफ्ना पतिलाई जिउँदो बनाइदिन बारम्बार आग्रह गरिन् । 

त्यसपछि यमदूत पनि बाध्य भएर पतिलाई “एकैछिनको लागि है त” भनेर जिउँदो बनाइदिए । पति जिउँदो हुनासाथ पत्नीले पतिलाई सोधी “बैंकको एटीएम कार्ड कहाँ छ?”

वेदाङ्ग सुवेदी, कक्षा ९

बालजागृति अङ्ग्रेजी माध्यमिक स्कुल

आरसी रिजालका ३ लघुकथाहरू

सन्तान थरीथरीका

बेचनी खत्री ८० बर्ष पुगिन् । पतिको निधनपछि जेठो छोरा विनोदसँग बसेकी २० बर्ष भयो । कान्छो छोरा अमोदले आमालाई आफ्नो घर लैजान कयौँ बर्षदेखि दाजुसँग अनुरोध र झगडा गर्दासमेत सफल हुन सकेन।
अमोदले मुद्दा हाल्यो । अदालतले बिनोदलाई झिकायो । न्यायाधीशले “आमाको जिउनी शेषपछि दुवै भाइले बराबर पाउने फैसला गर्दिउँ” भने ।
दुवै भाइले “जिउनी चाहिदैन आमाको पालनपोषण आफुले गर्न पाउँ” भने ।

न्यायाधीशले “दाजुभाइ घरायसी कुरा मिलाएर आउनुस् । मुद्दाको पेशी पर्सीको लागि तोकदिन्छु” भनी बेञ्चबाट उठे ।
पर्सीपल्ट न्यायाधीशले सोधे “तपाईंहरुको घरायसी कुरा मिल्यो त ?”
दुवैले टाउको हल्लाई नमिलेको संकेत गरे ।

न्यायाधीशले अमोदलाई भने “तपाईं जिउनी पनि चाहिँदैन भन्नुहुन्छ, अनि दाजुसँग रमाएर बसेकी आमा किन लैजान खोज्नु हुन्छ ?”
अमोदले भने “आमाको स्याहार…

आमाको भविष्य

मेरो टोलकी सुशीला (नाम परिवर्तन ) दिदी ७५ बर्षकी भइन् । उनको पतिको निधन भयो । उनको जेठी छोरी र कान्छो छोरा हेटौँडामा र जेठो काठमाडौँमा ।
आमालाई दुई छोराले ६/६ महिना पाल्ने निर्णय गरेका रहेछन् । जेठोले ६ महिना पूरा हुन पाँच दिन बाँकी छँदै कान्छोकोमा पुर्‍यायो ।
कान्छोले भन्यो- “महिना भुक्तान भएकै छैन, किन मकहाँ ल्याएको ? आमालाई फिर्ता लैजाऊ ।”
जेठो “आमालाई दुवैले बराबर माया गर्नुपर्छ। मैले आमा पाल्ने बैशाखदेखि असोजसम्ममा कुनै कुनै महिना ३१/३२ को परेका छन् । तेरो पालो कार्तिकदेखि चैत्रसम्मको महिना २९/३० को पनि रहेकोले हिसाब मिलाएर आमालाई ल्याएको हुँ ।”
दिदीतिर हेरेर उसले थप्यो “मेरो कुरा जायज छैन त ?”।
दिदीले भनिन्- “ए कान्छा आमै हुन् । दाइले पुर्‍याउन ल्याइहाले । अर्कोसालदेखि कसरी मिलाउने भन्ने कुरोतिर लाग । हेर यो कुरा समाज…

थुथु

टेक्सस अमेरिकामा बस्छन् रमाको छोराबुहारी । दुवैजना जागिरे ।
नाती जन्मेको थाहा पाएपछि छोरासँग मोबाइलमा “नातीको मुख हेर्न र त्यसलाई स्याहार्न साह्रै रहर लाग्या’छ । मलाई कहिले बोलाउँछस् बाबु ?”
छोरा “अहिले हजुरकी सम्धिनी आउनुभएको छ । उहाँ फर्केपछि अर्को वर्ष बोलाउला नि ।”
रमा दिन र महिना गन्दै गाउँलेलाई आफू अमेरिका जाने कुरा सुनाउँदै हिँड्थिन।
पुगिन् अमेरिका । साउँको भन्दा व्याजको माया भन्ने उखान चरितार्थ भयो । टुकुटुकु हिँड्दै नाती केटो हाँसेको र चकचक गरेको देख्दा उनी दङ्ग पर्थिन् । नातीलाई बिहान घुमाउन लैजादा गाजलको र साँझमा घुमाउन लैजाँदा आफ्नो पैतालामा थुक दलेर चन्दन झैँ माटोको टीका लगाइदिन्थिन् । सायद मान्छेको आँखा र भूतप्रेत नलागोस भन्ने आशयले होला ।

रमाले नाती स्याहारेर घरधन्दा गर्दा पनि बुहारीले बेलाबेलामा “यस्तो गर्नपर्छ, उस्तो गर्नपर्छ” भन्दै झर्कोफर्को त गर्थिन् नै। तर आज कार्पेटमा छोरा लडेर ओठ सुन्निएको देखेर रमाको कोखामै बिज्नेगरी तुच्छ वचन प्रहार गरिन् । वचन खप्न नसकेर आँसु पुछ्दै आफ्नो कोठामा छिरिन् । अब छोराको हप्की पनि सुन्नपर्ने हो कि भन्ने त्रास थियो । तर त्यस्तो भएन।

छोराबुहारीबिच राती के कुरा भयो कुन्नी अर्को दिन बिहानै छोरा आएर भन्यो “आमा मैले तपाईँलाई अस्ति भन्न बिर्सेछु । अब आउने शनिबार तपाईं नेपाल फर्कने टिकट लिइदिएको छु । आफ्नो ब्याग मिलाउदै गर्नु होला ।” यति भनेर ऊ फरक्क फर्कियो ।

नेपाल फर्कने दिन दैलोबाट निस्कने बेलामा बुहारीले भनिन् “आमा तपाईंलाई नदेख्दा नातीको सात्तो जान सक्छ, न्यास्रो मानेर बिरामी हुन सक्छ । हाम्रो माइततिर घरछाडेर जानेले बच्चाको हत्केलामा थु गरेर जाने चलन छ ।” भनिन् ।

आमाले छोराबुहारीतिर हेरेर सोधिन् “कतिपटक थु गर्ने?”
बुहारी “एकपटक गर्देर यसो गालामा छोइदिए पुग्छ ।”

रमा (आँखा रसिलो पार्दै) नातिको हत्केलोमा एकपटक थु गरिन् अनि छोराबुहारीतिर हेर्दै अर्को दुईपटक थुथु गरेर भारी मन लिएर नेपाल फर्किन् ।

-आरसी रिजाल
(रिजाल बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष हुनुहुन्छ ।)

हेटौँडामा बालबालिकाको मानसिक क्षमता वृद्धी गराउने ‘स्क्राबल कार्यशाला’ आयोजना

असार १५, शनिबार
नवसाहित्य अनलाइन । बाल जागृति इङ्गलिस बोर्डिङ स्कुलको आयोजना र मकवानपुर स्क्राबल क्लबको संयोजनमा स्क्राबल ओरिएन्टेसन कार्यक्रम सम्पन्न गरिएको छ । शनिबार हेटौँडामा आयोजित कार्यशालामा ५७ वटा विद्यालयबाट २ सय ५६ बढी विद्यार्थीका साथै शिक्षक र सरोकारवालाहरूले सहभागिता जनाएका छन् ।

बागमती प्रदेश, सामाजिक विकास मन्त्री माननीय कुमारी मुक्तानद्वारा उद्घाटन सत्रको आतिथ्यताबाट सुरू भएको कार्यक्रममा नेपालमा स्क्राबल भित्र्याउने व्यक्ति तथा नेपाल स्क्राबल क्लबका अध्यक्ष केशव पराजुली, केन्द्रिय कोषाध्यक्ष पुर्ण थापा मगर, केन्द्रिय प्राविधिक संयोजक अर्जुन पाण्डे, तालिम संयोजक भोजराज सुवेदी आदिको उपस्थिति रहेको थियो । अतिथिहरू पाण्डे तथा सुवेदीले कार्यशालालाई सहजीकरण समेत गराउनुभयो । बारा जिल्ला स्क्राबल संयोजक सुवास न्यौपानेलगायत स्क्राबलसम्बद्ध व्यक्तित्व, शिक्षक, विद्यार्थी आदि सहभागी कार्यशाला रोयल प्यालेस हेटौँडामा आयोजना गरिएको हो ।

कार्यक्रमका क्रममा ५७ विद्यालयलाई स्क्राबल बोर्ड हस्तान्तरण गरिनुका साथै अन्तराष्ट्रियस्तरमा खेलमा सहभागिता जनाइसकेका ७ जनाका साथै केन्द्रिय अध्यक्ष पराजुलीलाई सम्मान गरिएको आयोजक विद्यालयका प्रिन्सिपल विनोद सुवेदीले बताउनुभयो । सम्मानका क्रममा मकवानपुरका प्रसिद्ध तिमल्सिना, सैनिक आवासीय मावि पोखराका २ जना, चितवन १, बारा १ र पूर्वी नवलपरासीका १ जनालाई मायाको चिनो प्रदान गरिएको उहाँले बताउनुभयो ।

स्क्राबल के हो भन्ने प्रश्नमा मकवानपुर स्क्राबल क्लब संयोजक बिबस जंग थापाले “यो कोठे पदको परिस्कृत रुप भएको र यसले मानिसको चिन्तन क्षमतामा अभिवृद्धि गराउन मद्दत पुग्ने” जानकारी गराउनुभयो । उहाँले स्क्राबल के हो, यसका नियम के हुन्छन्, के कसरी खेलिन्छ जस्ता उत्सुकतापूर्ण प्रश्नहरूको समाधान भएको र विद्यार्थीहरू यसको प्रयोगमार्फत् क्षमता विकासमा टेवा पुग्ने उहाँले जानकारी दिनुभयो ।

बकैया, मनहरी, राक्सिराङलगायतका पालिकाहरूका माध्यमिक तथा आधारभूत विद्यालयहरू समेतका कक्षा ४ देखि १० का विद्यार्थीहरू सहभागी कार्यक्रमका लागि गत शनिबार पत्रकार सम्मेलन गरी आयोजना मिति, नाम दर्ताका प्रक्रिया, सहभागी विद्यालयबाट शिक्षक तथा विद्यार्थीको आवतजावतका लागि बसको व्यवस्थापन लगायतबारे जानकारी दिइएको थियो ।

‌३ सत्रमा विभाजित कार्यक्रमको समापनमा प्रमुख अतिथि तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले कार्यक्रमको प्रस्तुतिहरू अवलोकन गर्दै सहभागीहरूप्रति हौसला र प्रोत्साहन गर्नुभयो । मन्तव्यका क्रममा उहाँले विद्यार्थीको मानसिक क्षमता बढाउने यस्ता कार्यक्रम आगामी दिनमा समेत गर्नुपर्ने र स्थानीय तहले यसका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसअघि सिमरा नगरपालिकाले ९औँ राष्ट्रिय स्क्राबल प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको थियो भने श्रीलङ्का, बङ्गलादेश, मलेसिया, भारतलगायतका एसिया महादेशका विभिन्न मुलुकहरूका साथै अमेरिकी विद्यार्थीहरूको समेत सहभागिता रहेका अन्तराष्ट्रिय प्रतियोगिता नेपालमैँ भइरहेका छन् ।

नयाँ खेलका रुपमा विकास भइरहेकोले सहभागीहरूको उत्साहपूर्ण सक्रियता रहनुले स्क्राबलको नेपालमा महत्व बढ्दै गइरहेको आयोजक विद्यालय बालजागृती इङ्लिस सेकेण्डरी स्कुलका प्रिन्सिपल विनोद सुवेदीले जानकारी दिनुभयो । व्यवस्थापनमा कतै पनि समस्या नआउनेगरी पूर्व तयारी गरेकाले पनि कार्यक्रम अपेक्षाकृत सफलता मिलेको उहाँले बताउनुभयो ।

आयोजक विद्यालय बालजागृति इङ्लिस सेकेण्डरी स्कुलले हल भाडा, खाजा, विद्यालयका लागि प्रदान गरिने स्क्राबल बोर्डलगायतका सम्पूर्ण आर्थिक व्यवस्थापन गरेको स्क्राबल कार्यशालाको सुरूवात स्क्राबल गीत गायनबाट सुरू भएको थियो । आयोजक विद्यालयका विद्यार्थीहरूले मङ्गल धुन तथा प्रत्यक्ष गायन समेत गरेका थिए ।

अक्षर र शब्दका खेलमार्फत् शाब्दिक ज्ञान, स्पेलिङ, गणना, शब्दहरू मिलाउने तथा नयाँ शब्द बनाउनुका साथै रणनीति निर्माणमा समेत प्रत्यक्ष भूमिका खेल्ने स्क्राबल खेल नेपालमा केशव पराजुलीले भित्र्याउनु भएको हो भने उत्तरी अमेरिकामा यसको विकास अल्फ्रेड मोशर बट्सद्वारा सन् १९४० को दशकतिर भएको पाइन्छ । त्यसो त उनी लुडो र बिङ्गो खेलका समेत विकासकर्ता मानिन्छन् । जेम्स ब्रुनोटले यस खेलको सर्वाधिकार खरीद गरेपश्चात् अमेरिकी कम्पनी Hasbro, Inc. द्वारा ट्रेडमार्क गरिएको ‘Scrabble’ बोर्ड Mattel कम्पनीमार्फत् विश्वभर फैलिएको पाइन्छ । १ सय ५० मिलियन वटा स्क्राबल सेट संसारभर पुगेको पाइन्छ भने अमेरिकामा यसको ठूलो हिस्सा प्रयोग हुने गरेको छ ।

टिम टिभीबाट प्रत्यक्ष प्रशारण भएको आजको कार्यक्रममा सिकाइ सहजीकरणका लागि प्रोजेक्टर तथा डिस्प्ले बोर्डलगायत प्रविधिको प्रयोगमार्फत् सिकाइ सहजीकरण गरिएकाले उत्कृष्ट व्यवस्थापनका साथै सिकाइमा नयाँपन आउने अपेक्षा सहभागी शिक्षक तथा विद्यार्थीहरूले लिएका छन् ।

पद्मश्री साहित्य पुरस्कार, विस्तारित सूची सार्वजनिक

असार १५, शनिबार
नवसाहित्य अनलाइन । यो वर्षको पद्मश्री पुरस्कारका लागि खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा १५ पुस्तकहरूको सूची सार्वजनिक गरिएको छ ।
प्रतिष्ठानमा प्राप्त २०८० मा प्रकाशित १८६ वटा पुस्तकहरूमध्ये हरेक वर्षझैँ असार १५ मा विस्तारित सूचीमा सूचिकृत ‘उत्कृष्ट १५ पुस्तकहरू’ छनोट भएका हुन् ।
छनोट भएका पुस्तकहरू निम्न छन्ः (अकारादी क्रममा)
१. अडिएका पाइला (उपन्यास)- विष्णु सापकोटा
२. अद्वैत (उपन्यास)- कृष्ण गौतम
३. अर्को देशमा (कथा सङ्ग्रह)- सानु शर्मा
४. गल्ली संसार (निबन्ध सङ्ग्रह)- रोशन शेरचन
५. गोधुलि गीत (उपन्यास)- भानु बोखिम
६. गोपीचा (उपन्यास)- विश्व कुइँकेल
७. जोगियाना (संस्मरण)- कुमार नगरकोटी
८. बहादुर शाह (उपन्यास)- चिरन्जीवि वाग्ले
९. बागी स्त्रीको आत्मकथा (कविता सङ्ग्रह)- सुमिना
१०. बादलडाँडा (नियात्रा)- राजेन्द्रमान डंगोल
११. बोरा (उपन्यास)- अखण्ड भण्डारी
१२. भृकुटी (उपन्यास)- गोविन्दप्रसाद कुसुम
१३. लन्डन अनप्लग्ड (संस्मरण)- गोपी सापकोटा
१४. संस्कृति चिन्तन (निबन्ध सङ्ग्रह)- अरुण गुप्तो
१५. साखेजुङको कालो (जीवानाख्यान)- भुवनहरि सिग्देल

प्रतिष्ठानले पहिलो चरणका १५ पुस्तक सूची सार्वजनिकपछि यीमध्ये ५ पुस्तकहरूको सूची सार्वजनिक गर्ने गरेको छ । सोपश्चात् गत वर्षझैँ यो वर्ष पनि एक पुस्तकले सर्वोत्कृष्ट घोषणासहित ३ लाख नगद राशिको पद्मश्री पुरस्कार २०८० प्राप्त गर्नेछ । सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन प्रदान गरिँदै आएको छ ।

अघिल्लो वर्ष प्रतिष्ठानमा प्राप्त भएको कूल १८० पुस्तकमध्ये आतोओडा, इजोरिया, ऐँठन, चिसो बाफ, थाङ्ग्रा, पर्वत पर्वतमा बटुवा घाम, पानी घट्ट, ब्रह्मास्त्र, बाआमा, भग्न भैरव, मनु, मफलर, यशोधरा, शून्यको मूल्य र सन्तापको धूनमध्ये उत्कृष्ट ५ मा इजोरिया, ऐँठन, मनु, मफलर र शून्यको मूल्य सूचीबद्ध भइ ‘मनु’ का लागि समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीलाई सो पुरस्कार प्रदान गरिएको थियो ।

२०६३ सालमा स्थापित प्रतिष्ठानले नेपाली साहित्यको पुस्तकलाई पद्मश्री साहित्य पुरस्कारका साथसाथै २०६७ सालदेखि साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्नुहुने विशिष्ट साधकलाई पद्मश्री साधना सम्मान प्रदान गर्दै आइरहेको छ । अघिल्लो वर्ष सो सम्मान व्यङ्ग्यचित्र कलाकार दूर्गा बराल वात्स्यायनलाई प्रदान गरिएको थियो । वर्ष २०७९ देखि प्रतिष्ठानले समाजलाई गौरवपूर्ण योगदान दिनुहुने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई पद्मश्री गौरव पुरस्कारद्वारा सम्मान गर्ने गरेको छ । गत वर्ष शिक्षाविद् तथा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा यस पुरस्कारबाट सम्मानित हुनु भएको हो । गैरआवासीय नेपाली महासङ्घका पूर्व अध्यक्ष जीवा लामिछाने यस प्रतिष्ठानको अध्यक्ष हुनुहुन्छ ।

कृति समीक्षा: स्व अर्थात स्वयं अर्थात आफु भित्र फर्कने कला।

१४ चैत्र, शुक्रबार 
नवसाहित्य अनलाइन । स्व शब्द सग केहि बर्ष पहिले देखि मेरो प्रत्यक्ष उठबस छ । उसो त जन्मदै स्व कै वरिपरि हिडडुल जो कोहि गर्छ तथापि भौतिक शरिर र आध्यात्मिक बाटो हुदै को यात्रा यतिबेला गरिरहेछु । गुरुदेव श्री श्री रवि शंकर को ध्यान विधि मा उच्चारण हुने शब्द “स्व हंम” सगै मैले स्वयं को यात्रालाइ स्व भनि बुझेकोछु ।

स्व अर्थात स्वयं अर्थात आफु भित्र फर्कने कला । सुन्दा सरल सुनिने यो शब्द व्यबहारमा उतिकै जटिल र चुनौती पूर्ण छ । के संसारका सबै मानिस यो कलासग अभ्यस्त छन त ? सायद छैनन । मानिसहरु स्व कला को सागर हुन तर उनिहरु आफै भित्रको सागरमा पौडिन जान्दैनन र दुर्घटित भैरहन्छन । स्व उपन्यास यसै वाक्यको वरपर घटित औपन्यासिक कृति हो ।
बुकहिल प्रकाशन गृहले उपन्यासकार सरस्वती प्रतीक्षा को नवीन उपन्यास “स्व” हालै बजारमा ल्याएको छ र म त्यसैको वरिपरि छु ।

स्व शब्द सगको मेरो सम्बन्ध स्व उपन्यास आउनु भन्दा धेरै पहिले देखि निकट भएकाले उपन्यासमा कस्तो कथावस्तु होला भनेर कौतुहल हुनु स्वभाविक थियो नै । मैले आफुले बुझ्दै आएको “स्व” रहस्य भित्रको रहस्य होे । रहस्यलाइ वयान गर्नु आफैमा कठिन काम हो । ध्यानस्थ हुदा जे घटित हुन्छ त्यो अव्यक्त हुन्छ । स्व उपन्यासमा ध्यानस्थ घटनालाई कसरी व्यक्त गरिएको होला भन्ने एक पाठकको उत्सुकता सायद जायज हो ।

बुद्द दर्शन अवर्णित छ । अवर्णित सागरमा सप्तम पात्रकोे मनोविज्ञानको टिपोट स्व हो । बुद्द दर्शनको वरपर रहेर स्व उपन्यासको निर्माण भएको मान्नुपर्छ । सप्तम मुल पात्र हो । सप्तम कै वरपर रहेर कथाको अन्त्य हुन्छ । सप्तम समाजको त्यस्तो पात्र हो जसले हरेक पात्रता बोकेर समाजका कथाहरु बोलिरहेछ ।

आमाबुबाको खराब सम्बन्ध हुदै गर्दा गर्भमा सप्तमको भ्रूण निर्माण हुन्छ । बिग्रदै गर्दाको सम्बन्धमा जन्मनु र हुर्कनु एक बालकका लागि अभिशाप तुल्य हुन्छ । कथाले यस्तै बोलिरहेछ । जीवन चुनौति र संघर्ष हो । सप्तमको जीवनलाई हेर्दा पाठकले त्यहि महसुस गर्छ । एउटा पात्र जसले जीवनमा अनेक आयाम बाँच्छ । सप्तम त्यहि पात्र हो जसले प्राध्यापक, अधिवक्ता, मोटिभेसनल स्पिकर, जग्गा व्यपारी, लेखक, पत्रकारको जीवन बाचिरहेछ । जीवनमा अनेक पात्रता अलि अलि निर्वाह गरेको सप्तम अत्यास लाग्दो पात्र हो । सबैथोक भएर पनि केहि थोक नभए जस्तो । सबथोक पुर्ण हुनु सबथोक हुनु होइन । सबथोक हुनु केहि थोक नहुनु पनि हो । त्यहि केहि थोक जो मोति समान छ त्यहि नै सायद केहि थोक गुदि हो ।
फैलनेमा विश्वास गर्ने सप्तम र गहिरिनुमा विश्वास गर्ने काव्या पात्रको कथानक स्व को जड हो । परिस्थितिले सिर्जना गर्ने घटनाक्रमको सुन्दर परिवर्तन स्व ले निर्माण गर्न खोजेको सेतु हो । तथापि बुद्द दर्शनको नजिक रहेर किन नहोस ।

आमा अर्थात एक निर्दयीपन ! सप्तमको आमाप्रतिको नजर यो वाक्यले कथामा पूर्ण बोलेको पाइन्छ ।
अतीत अर्थात एक भीर ! यो वाक्य जसले सप्तमको सिङ्गो जीवनको प्रतिनिधित्व गर्छ ।
जसरी एउटा मान्छेले एकसाथ सबैलाई खुसी राख्न सक्दैन, त्यसरी नै धेरै पेशाहरुमा बाँडिदा एउटा पेशालाई न्याय गर्न खोज्दा अर्को पेशालाई अन्याय नगरी सुखै पाउँदैन मान्छेले । जीवन सहज होस भनेर अनेकन पेशाहरुमा बाडिँदा बाडिँदै एक दिन मान्छे तिनै पेशाहरुमा जेलिएर असहज जीवन बाँच्न बाध्य हुन्छ । अनेकन पेशाहरुमा बाडिँदा बाडिँदै पेशागत जटिलताहरुको शृङ्खला सुरु हुन्छ । कालो पर्दा लगाएर स्वयंलाई जति नै लुकाउन खोजे पनि स्वयंको नजरबाट चाहिँ स्वयंको दोगलापन छुप्न सक्दैन । स्व ले बोलेका यि वाक्यहरु सप्तमका जीवन कहानी हुन ।

चेतन र अवचेतन मनको द्वन्द स्व उपन्यासको अर्को सुन्दर प्रस्तुति हो । हरियो मसिले लेखिएको शुभचिन्तकको रहस्यमय पत्र अझै जोडदार क्लाइमेक्स हो । नारेश्वरको रुख र चौतारोसग जोडिएका पात्रहरु, गन्धकुटीको सेरोफेरो उपन्यासको अर्को सशक्त पाटो हो । त्यसका लागि स्व उपन्यास अध्ययन गर्न जरुरी छ ।
देशनामा उभिएका केहि पात्रहरु जसले जीवनका अनेक आरोह अवरोह भट्याइ रहेकाछन । बुद्द मार्ग यीनै पात्रहरुको वरपर डुलेको छ । उपन्यासको कथा बुनाइमा देशनाका पात्रहरु खास देखिन्छन जसका कारण स्व उपन्यास पूर्णताको बाटोमा हिडेको छ । रहस्यमय कथा बुनाइले गर्दा उपन्यास अझै अब्बल भएको महसुस हुन्छ ।

दुःखको कारण अपेक्षा हो । त्यसो हो भने सुखको कारण के त ? अपेक्षा नगर्नु सुख हो । तर मनुष्य अपेक्षा कै वरपर हिडडुल नगरी पार पाउदैन । हामीले निर्माण गरेको संरचना नै उस्तै छ । होइन भने सबै मनुष्य बुद्द बन्ने थिए । आफै भित्रको बुद्द्त्व नजागेको मात्रै हो । आखिर सबै मानिस बुद्द नै हुन ।
अपेक्षा सहितको पठनले दुःख निम्त्याउने छ । अपेक्षा विहिन भएर थालिएको पठनमा पाठक भित्रको अर्को पाठकले मृत्यु धारण गर्छ । सहित र विहिनको मध्य मार्ग नै उचित मार्गको गन्तव्य बन्न सक्छ ।
उपन्यास पढिरहदा तपाईलाई कुनै आत्मपरक निवन्ध पढे जस्तो लाग्न सक्छ । कतै कथा पढे जस्तो लाग्न सक्छ । तर यी दुबैको सेतुमा सप्तम पात्र आएको छ जसले कथा र निवन्धको क्याइमेक्समा आफुलाई उभ्याएको छ ।

उपन्यास पढिरहदा पाठकले सामान्य ज्ञान सम्बन्धी थुप्रै जानकारी पनि पाउन सक्छ । बुद्द दर्शनका अलावा देश बिदेशका लेखक र दार्शनिकहरुका कोटेसन र पुस्तकको चर्चा सामान्य भन्दा अलि बढि नै स्व उपन्यासमा भेटिन्छ । जब कथानक र पात्रमा लेखक हावी हुन्छ सायद यस्तो घटना दोहोरिन्छ । तथापी केहि कमि कमजोरी त अवश्य नै छन । ती तपाईले अध्ययन गर्नु भयो भने थाहा पाउनु नै हुनेछ । सप्तम र काव्याको भेट कसरी कहाँ हुन्छ ? उनिहरुको प्रेम कसरी टुसाउछ ? उनि दुइको प्रेममा कस्ता अप्ठ्यारा र सजिलाहरु आए त ? सप्तम र काव्याको प्रेमको सुखद या दुःखद अन्त्य कस्तो छ त ? स्व अर्थात स्वयं अर्थात आफु भित्र फर्कने कलाको सम्योजन बुद्द दर्शनको वरपर कसरी घुम्छ ? यी यावत प्रश्नको उत्तर स्व उपन्यास अध्ययन पश्चात तपाईले पनि महसुस गर्न सक्नुहुनेछ । अन्त्यमा लेखक सरस्वती प्रतीक्षालाई आगामी लेखन तथा काव्यायात्राका लागि सतत् शुभकामना । –अमृत

साहित्य सङ्गमले सम्झियो डा. पौडेल र खड्कालाई

८ चैत्र, शनिबार
नवसाहित्य अनलाइन । साहित्य सङ्गम मकवानपुरले डा. गणेशकुमार पौडेल र गोविन्द खड्काको स्मृतिविशेष साहित्य सन्ध्या सम्पन्न गरेको छ ।

शनिबार साहित्य सङ्गम तथा सिस्नुपानी नेपालको आफ्नै हलमा सञ्चालित कार्यक्रममा साहित्य सर्जकहरूलाई सम्झँदै रचना वाचन कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा सुबास सजल, देवराज तिवारी, राजकुमार चौधरी, ऋषिराम आचार्य, जनार्दन खनाल, मिथिला अधिकारी, राजुराम राउत, सानुभाइ विश्वकर्मा लगायतले रचना वाचन गर्नु भएको थियो ।

मौनधारण गर्दै सुरु भएको कार्यक्रममा स्वर्गीय पौडेल र खड्काद्वारा रचित केही रचनाहरू समेत वाचन गरिएका थिए । कार्यक्रममा मुना धिताल, देवराज खरेल, निमेष निखिल, छवि अनित्य, राजकुमार लामिछानेलगायतको उपस्थिति रह्यो ।

आरसी रिजालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमको अध्यक्षता सङ्गमका अध्यक्ष डीबी बर्तौलाले गर्नु भएको थियो । सङ्गम उपाध्यक्ष सानु खनालले स्रष्टा परिचय र स्वागत गर्नु भएको कार्यक्रमलाई सचिव मनोज पोखरेलले सहजीकरण गर्नु भएको हो ।

पीडा र वेदनाका कवि अगमसिँह गिरी

७ असार २०८१
नवसाहित्य अनलाइन | नेपाली जातीयतालाई शिरोधर्य गर्दै रचना गर्ने अगमसिँह गिरी अच्छा राई रसिक र डा. पारसमणि प्रधानका समकालीन कविका रूपमा चिनिन्छ । मातृभूमिको सुरक्षा, जातीय समुन्नति र देश जोगाउनका लागि पूर्खाले गरेका साहस र शौर्यप्रति जहिल्यै संवेदनशील भइ अभिव्यक्तिस्वरुप काव्य सिर्जना गर्ने गिरीका बारेमा नवसाहित्य अनलाइनमार्फत् केही चर्चाहरू गरिनेछन् ।

प्रारम्भिकः
भारतमा भानुभक्त आचार्यपछि नेपाली भाषा लेखन वृत्तमा सर्वाधिक सम्मानले चिनिने नाम हो अगमसिंह गिरी । २७ जुलाई १९२७ मा दार्जीलिङ, भारतमा जन्मिनु भएका अगमसिँह गिरी नेपाली साहित्यको एक अत्युत्तम श्रष्टा हुनुहुन्छ । माता/पिता विमलादेवी/छविलाल गिरीबाट जन्म लिइ कवि/गीतकारका रूपमा पहिचान बनाउनु भएका उहाँलाई रचनाका पाठक अनि समीक्षक र विश्लेषकहरूले पीडा र वेदनाका कविका रूपमा चित्रण गर्ने गरिएको पाइन्छ ।

लेखन र प्रकाशनः
उहाँका ‘याद (खण्डकाव्य, सन् १९५५)’, ‘आँसु (गीतिकाव्य, सन् १९६८)’, ‘युद्ध र योद्धा (खण्डकाव्य, सन् १९७०)’, ‘आत्मव्यथा (सन् १९५९)’, ‘जीवनगीत (कविता सङ्ग्रह, सन् १९६१)’, ‘जलेको प्रतिविम्ब : रोएको प्रतिध्वनि (कवितासङ्ग्रह, सन् १९७८)’ आदि कृतिहरू प्रकाशित छन् भने उहाँले ‘कमल’, ‘आँखा’, ‘दियालो’, ‘अस्तित्व’ जस्ता पत्रपत्रिकाको सम्पादन गर्नुभयो । भारती, पूर्णिमा, कथाकुञ्ज इत्यादि पत्रिकामा आफ्ना रचनाहरू प्रकाशन गर्नु भएका गिरीले नाटक मञ्चन समेत गराउनु भएको थियो ।

गिरीले केही कथाका साथसाथै गीतहरू पनि लेख्नु भएको छ । ‘घरको माया बिर्सेर किन पो यहाँ आयौ नि?’, ‘सम्चार यही भन्दिनू’, ‘सोद्धै खोज्दै देवराली डाँडा पारी पुग्नेछु/धरराका वरिपरि तीनै सहर हेर्नेछु’ भन्ने गिरीले प्रवासी नेपाली, नेपाली भाषी, नेपाली जातिका आवाजलाई ‘नेपाली तन लिई प्रवास पथमा व्यर्थै म जन्मेँ किन?’ जस्ता शब्दगुच्छा उहाँकै बोली र लेखनमा पाइन्छन् । त्यसो त गिरीले प्रवासिएका नेपालीको आवाजस्वरूप लेखिएको गीत ‘फर्क हे फर्क नेपाली तिमीलाई डाक्छ हिमाल/आमाको माया बराबर तिम्रै हो तिम्रै हो नेपाल उज्ज्वल’ गीत मर्मस्पर्शी धुनमा रेडियो नेपालबाट पुष्प नेपालीको स्वसमा गुञ्जियो । यस्तै उनको सिर्जना रहेको ‘नौलाख तारा उदाए’ मा अम्बर गुरूङको स्वर तथा सङ्गीत रहेको छ ।

गीतः नौलाख तारा उदाए

नौलाख तारा उदाए, धर्तीको आकाश हाँसेछ
शरद लाग्यो डाँडामा फूलले प्रीति गाँसेछ
नजली यहाँ झिलिली मनको तारा निभेछ
गुराँस फुल्यो पहाडमा, मनको तारा निभेछ

नसम्झ आज नेपाली सन्चोले यहाँ बाँचेको
काँडाकै माझ पहाडी फूल छैन र कहाँ हाँसेको
सुनको सपना आँखामा किन हो बाँधिल्यायौ नि
घरको माया बिर्सेर किन पो यहाँ आयौ नि

मुटुको रगत एउटै हो, पीरको बह बेग्लै छ
हामीलाई यहाँ चिन्यौ कि मनको चोट बेग्लै छ
नियाली हेर हामीलाई भिजेको छैन परेला
आँसुले गह भिजाए, अरूले निर्धा सम्झेला

बुझ्छ र कल्ले रोएको मुटुमा काँडा लिएर
अरूको सारमा हाँसेको आँशुको घुट्का पिएर
पहाडी फूल नफक्री किन पो चुँडिल्यायौ नि
मनको आगो निभाउन किन पो यहाँ आयौ नि ।
०००
लेखनको ११ वर्षपछि मात्र ‘आँशु’ गीतिकाव्य प्रकाशन गराउनु भएका गिरीबाट आफ्ना रचनामा गोर्खालीहरूको अर्थहीन अस्तित्व, आक्रोशपूर्ण अन्योल र गरीबीको चपेटाका विरूद्धमा विदेशीको बन्दुकमा उपहार चढाउन पुग्दै जीवन नै दाउमा लगाउने प्रवृत्तिमाथि जहिल्यै विपक्षमा सिर्जना भइरह्यो । विदेशी सेनामा भर्ति भएर गोर्खालीहरूले कलंकित हुनुपरेको बताउने कवि गिरी आफू समेत प्रवासमा जन्म हुनुपरेकोमा विषादयुक्त लेखनी रच्नुभयो । तथापि उहाँले आफू जन्मिएको स्थानमा रहेर आफ्नो भाषिक र साँस्कृतिक जातियताका लागि हरदम कलम चलाइरहनुभयो ।

उहाँका रचनाका सम्बन्धमा साहित्यकार ईन्द्रबहादुर राईले लेख्नुभयो- “सामग्रीलाई रुखपातजस्तो बोकेको तर गिरीभित्र सतहदेखि अर्कै आस्थाको पर्वत छ । पूर्खाले अतीतको अभिमानी उज्यालो हाम्रो अशक्त वर्तमानलाई ताप्न दिएका छन्, साँचो हो । एउटा मूर्दा मुहुर्तको अवशेष कुरिरहेको हाम्रो आगतलाई कवि स्पष्ट गर्छन् । जातीय जीवनको प्रहर हाम्रो विराट बौराइ र बौलाइ पर्खेर बसेको छ ।”

सुख-दुख, माया-मोह, हाँसो-रोदन यी कुनै पनि स्थायी छैनन् भन्ने भावसहित वियोगमा विषाद लाग्नु स्वभाविक रुपमा व्याख्या गर्नु भएका कविले ‘आत्मव्यथा’ (२०१६) भित्रको ‘नचिनिने भएछौ’ मा लेख्नुभएको एक कविताः

तिमी ता यहाँ नचिनिने भएछौ ।
गालाका रगतहरू सुकिसकेछन्
आँखाका ज्योति सब हराइसकेछन्
तिमी ता रुँदा-रुँदै निदाएको बालकजस्तो
कठोर कारागारको यातनाभोगी विरक्त बन्दीजस्तो
गाँस खोसिएको बास लुटिएको विह्वल हतभागीजस्तो
कस्तो कस्तो भएछौ,
तिमी ता यहाँ नचिनिने भएछौ ।
अतीत गौरवले धपक्क बलेको अघिको चहकिलो अनुहारमा
ग्लानिका विषाक्त रेखाहरू कोरिएछन्
पहाडका वैशाखी वनमा
तिमी जंगली फूलझै हँसिलो देखिन्थ्यौ
तर अब ता चेहरामा तिम्रा
विषादका काला धर्साहरू कोरिएछन्
चोटमा भुक्नु होइन बरु सहनु सिकेछौ
अब ता अर्कै अर्कैजस्तो भएछौ,
तिमी ता यहाँ नचिनिने भएछौ ।
‘तिमी को हौ’- चिनाउन आएको होइन म
वितेका गौरव- गाथा कहन आएको होइन म
तिम्रा सन्तप्त छातीका पीरहरू उखेल्न आएको होइन म
सजिलै खोसिएको गाँस
हलुकै लुटिएको बास दिलाउन पाएको होइन म
छातीको त्यो गहिरो खोपिल्टा पुर्न आएको होइन म
निर्धा आँशुका धारा हेर्न आएको होइन म
केवल तिमी ‘तिमी’ नै हौ कि चिन्न आएको म
तर, तिमी ता यहाँ नचिनिने भएछौ ।

पुरस्कार र सम्मानः
रत्नश्री स्वर्णपदक, पूर्वराजा महेन्द्रबाट स्वर्णपदक, भानुपुरस्कारबाट सम्मानित गिरी नेपाल तथा भारतमा विभिन्न सम्मानहरूबाट सम्मानित तथा पुरस्कृत हुनुभयो ।

विश्वयुद्धमा सहभागी भएर नेपालीहरूले स्वजातीय स्वाभिमानको निमित्त नभएर अरूका निमित्त समय र जीवन खर्च गरेकोम त्यसलाई बहादुरिता नभएर हाम्रा जातीलाई देशका निमित्त लड्ने अमरसिंह, बलभद्र, भक्ति थापाजस्ता स्वाभिमानी योद्धाहरू चाहिएको हो भन्ने भावहरू शक्तिशालीरूपले सिर्जनामा प्रकट गर्नुहुन्थ्यो । पिल्सिएका, ठगिएका, लुटिएका, खोसिएका अधिकारका पक्षमा आवाज मुखतरित गर्ने गिरीले कोमल, लयात्मक, सुललित भाषाका साथमा ‘तप्त व्यथाको घाउ मलाई देऊ’ भन्दै रचना गर्नुभयो । यस्तै विश्वका शक्तिशाली मुलुकलाई शक्तिमा रहिरहनका लागि नेपालीहरूले गरेको त्यागका कारण अतीतका गोर्खा र वर्तमानका गोर्खाबिचको फरकपन, निन्याउरो हुँदै गएको अनुहार, अरूका अघि निरीह भइ बाँच्नुपरेको यथार्थ रहेको र आफ्नो चिनारी कायम राख्नुपर्ने सन्देश आफ्ना सिर्जनमा उल्लेख गर्नुभयो । सौन्दर्य र सहिष्णुतालाई समेत ध्यानमा राख्दै गरिने उहाँका सिर्जनाहरू नेपाली साहित्यमा चिरकालसम्म रहिरहनेछ ।

निधनः
नेपाली भाषी रहेका भारतका विभिन्न स्थानमा गिरी जयन्ती मनाइने गरिएको छ भने जातिय कविको पहिचान पाउनु भएका गिरीका कविता र गीतहरू अहिले पनि गोर्खाल्याण्डको मुद्दासँगसँगै झनै धेरै गुञ्जिरहेको पाइन्छ । ३१ जनवरी १९७१ मा ४४ वर्षको नेपाली साहित्यको एक जाज्वल्य तारा अगमसिँह गिरी भौतिक रूपले अन्तै कतै विलय हुनपुग्यो जसले नेपाली साहित्यिक क्षेत्रमा अपुरणीय क्षतिको धक्का महशुस भइरह्यो ।