Home Blog Page 69

पवित्रा तिमल्सिनाको तीन मुक्तकहरू

मुक्तक १

सम्मान बिग्रियो मेरो इज्जत बिग्रियो
अलिअलि हैन पुरै सत् प्रतिशत बिग्रियो
प्रिय, तिम्रो लागि खुशिको खबर छ
तिम्रो दिल बद्लिएसँगै मेरो हालत बिग्रियो ।

मुक्तक २

खै खराब भएर हो कि सज्जन बदल्नै सकिनँ
बद्लिन्छु भनेपछि त झन बदल्नै सकिनँ
पीडा लुकाएर खुशी हुने अनेक बाहनामा
मुहार बदले पनि मन बदल्नै सकिनँ ।

मुक्तक ३

कति भन्नू अत्याचारीलाई जेल हालिदे
भ्रस्टाचारी गद्धारीलाई जेल हालिदे
आँखै अगाडि कयौँ सपनाको हत्या गरेको छ
लौ न सरकार जिम्मेवारीलाई जेल हालिदे


पवित्रा तिमल्सिना तीनपाटन ६, सिन्धुली

यादको कोलाज’ भाद्र २३ गते गृह बिमोचन हुने

मकवानपुर । साहित्यकार अमृतको संस्मरणात्मक कृति ‘यादको कोलाज’ आगामी भाद्र २३ गते शनिबार पोखरामा गृह बिमोचन हुने भएको छ । अमृतको संस्मरणात्मक कृति ‘यादको कोलाज’लाई भाद्र २३ गते शनिवार हिमालयन रिडर्स कर्नर, न्यूरोड, पोखरामा लोकार्पण गर्न लागेको पुछारसिटे अभियानले बताएको हो ।


काठमाडौँमा आयोजित कलिङ साहित्यिक महोत्सवका अवसरमा गत भाद्र १५ गते सो पुस्तक विमोचन भएको हो ।

भारतीय सेनामा कार्यरत रहँदाका विविध आरोह अवरोहलाई यादहरूमा सँगालेर कृति तयार पारिएको लेखकले बताएका छन् ।

२०७८ सालमा उहाँको ‘एकान्त भीड’ कविता सङ्ग्रह प्रकाशित भएको थियो भने यो दोस्रो कृति हो ।

कविता : बर्षातमा रुझेका बतासका पत्रहरु/रमेशचन्द्र अधिकारी

रंगेली नगरपालिका–३, रञ्जनी मोरङका स्थायी बासिन्दा कवि रमेशचन्द्र अधिकारी ग्रामीण विकास विषयमा स्नातकोत्तर गरेर कविता संग्रहको तयारीमा हुनुहुन्छ । उहाँ वाणी नवप्रतिभा पुरस्कार–२०६४, नमस्ते साहित्य सम्मान–२०७३ लगायत पुरस्कारबाट सम्मानित हुनुभएको छ । उहाँ आरोहण गुरुकुल विराटनगर र मोतीराम राष्ट्रिय साहित्य प्रतिष्ठान लगायत संस्थामा आबद्ध हुनुहुन्छ ।

 

बर्षातमा रुझेपछि बतासमा
बादलले बोकी ल्याएका गीतहरु पोखिन्छन् ।

सरिदिन्छन्
अल्झिएर अलि वरसम्म
हतारोमा खुट्टाबाट छुट्नै नमानेको चप्पल जस्तै
पानीका अवयबहरु ।

बिच बाटोमै अल्मल्लिएका बादलहरु
बलशाली हुरीको वेगसंगै ठोक्किएर
रुमानी धुन निकाल्दै
बज्रिरहन्छन् मान्छेहरुका मानसपटलमा ,
झरी थामिएपछि पनि ।

एकतमास घचेटीरहन्छन्
सुदुर गन्तव्यतिर ,
बादलका फोक्टाहरुलाई ।
आमाको साडीको फेरलाई
नानीहरूको ढिपीले घचेटीरहे जस्तै गरि ।

यताउता दगुरिरहेका बादलहरु
एक अर्कासंग जुधेपछि
कोही चिच्याएर रुन्छन् ,
कोही आमा/बा पुकार्छन् र रुन्छन् ,
कोही सुक्क सुक्क सुक्सुकाउँछन् ,
त कोही खस्नै नसकेर आखाँबाट
टिल्पिलाइरहन्छन् आँसु ।

ओभाना रहदैनन् बर्षातमा सबै
झ्याल बाहिर पर्नेहरु ।

बर्षातमा रुझेका बतासका पत्रहरु
असामञ्जस्यताबाट गुज्रेका हुन्छन् ।


रमेशचन्द्र अधिकारी , मोरङ

रामलाल जोशी र देवराज पौडेललाई लालबन्दी वाङ्मय पुरस्कार

भाद्र २१, मकवानपुर
भाषा, साहित्य, कला, संस्कृतिको संरक्षणका लागि स्थापित लालबन्धी नगर वाङ्मय परिषद्ले २ पुरस्कारका लागि कृति र कृतिकारको नाम सार्वजनिक गरेको छ ।
राष्ट्रियस्तरमा ख्याति कमाएका कृतिका साथै स्थानीय प्रतिभाहरूको सम्मान तथा प्रोत्साहनका लागि सो पुरस्कार दिइनेछ ।
सोमध्ये रु. ५० हजार राशीको लालबन्दी नगर वाङ्मय परिषद् तथा साहित्य पुरस्कार २०८० (राष्ट्रिय) बाट बाआमा कृतिका सर्जक रामलाल जोशीले प्राप्त गर्नुहुनेछ । वर्ष २०७९ का कृतिहरूमध्ये उत्कृष्ट कृतिका रूपमा जोशीको बाआमा छनौट भएको हो । यसअघि भाद्र ९ गते उत्कृष्ट १० पुस्तकहरू सार्वजनिक गरिएको थियो । जसमध्ये  जोशोको ‘बाआमा’ सँगै रन्जना निरौलाको ‘अनुभूतिको अवतरण’, सिम्रन क्षेत्रीको ‘झुमर’, डा. दामोदर पुडासैनी ‘किशोर’ को ‘डोल्पो ओ डोल्पो’, रमेश क्षितिजको ‘पर्वत पर्वतमा बटुवा घाम’, सन्तोष श्रेष्ठको ‘फरैना’, प्रोल्लास सिन्धुलीयको ‘भग्न भैरव’, युवराज नयाँघरेको ‘याकजी’, डा. विदुर चालिसेको ‘लघु कथालय’, अशोक थापाको ‘सन्तापको धुन’ रहेका थिए ।
यस्तै रु. १० हजार राशीको लालबन्दी नगर वाङ्मय परिषद् स्थानीय प्रतिभा पुरस्कार २०८० बाट देवराज पौडेल (लालबन्दी, सर्लाही) छनौट हुनु भएको छ । पौडेल नेपाली भाषा तथा साहित्य सेवक एवम् अध्यापकका रूपमा कार्यरत हुनुहुन्छ ।
दुवै पुरस्कार २०८० कार्तिक १८ गते शनिबार लालबन्दी नगरपालिकामा वितरण हुने आयोजकले जानकारी दिएको छ ।
वि.सं. २०७७ मा स्थापित यस साहित्यिक संस्थाले विभिन्न साहित्यिक गोष्ठी, वाचन, विमर्श आदि गर्दै आएको छ अध्यक्ष अच्युत अधिकारीले बताउनु भएको छ ।

साहित्यकार अप्सरा तिम्सिनाको प्रतिमा बन्ने

मकवानपुरे साहित्य क्षेत्रमा चर्चित नाम हो अप्सरा तिम्सिना ।
२०३० साल कार्तिक २८ गते जन्मनु भएको तिमल्सिना २०७६ श्रावण १२ गते दिवंगत हुनु भएको हो भने उहाँको अभ्यन्तर कथा सङ्ग्रह र किनाराका आवाजहरू गरी २ पुस्तकहरू प्रकाशन छन् ।
हेटौँडा उपमहानगरपालिका बसामाडी, लेवटस्थित बालउज्ज्वल मा.वि. मा शिक्षक पेशामा कार्यरत रहँदा ४६ वर्षको अल्पायुमैँ निधन हुनु भएकी उनै अप्सरा (धनकुमारी) तिम्सिनाले विद्यालयको शैक्षिक तथा जिल्लामैँ साहित्यिक क्षेत्रमा पुर्‍याउनु भएको योगदानलाई सम्झँदै विद्यालय प्राङ्गणमा प्रतिमा निर्माण गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकनाथ शिवाकोटीले जानकारी दिनुभयो ।
साहित्य संगम मकवानपुरको पूर्व उपाध्यक्ष र आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष समेत रहनु भएकी उहाँको सम्झनामा हरेक वर्ष संगमले ‘अप्सरा तिमल्सिना स्मृति सन्ध्या’ मार्फत् श्रद्धाञ्जली अर्पण तथा रचना वाचनका कार्यक्रम गर्ने गरेको छ ।
उहाँका सक्रिय जीवनका रचना वाचनहरू एन एस टेलिभिजनको युट्युब च्यानलमार्फत् हेर्न सकिनेछ भने एनएस टेलिभिजन र आँचलले करीब एक घण्टाको वृत्तचित्र ‘सम्झनामा अप्सरा’ निर्माण गरेको छ । जसमा वृत्तचित्रमा प्राज्ञ तथा कथाकार माया ठकुरी, वरीष्ठ साहित्यकार तुल्सी थापा, नारायण ढकाल, नयनराज पाण्डे, सरिता तिवारी, साहित्यक संगमका तत्कालीन अध्यक्ष निमेष निखिल, आँचलकी संस्थापक अध्यक्ष मुना अर्याल तथा उनका श्रीमान प्रकाश लम्साल लगायतले आफ्नो धारणा राख्नु भएको छ ।
नव साहित्य डट कम स्वर्गीय अप्सरा तिम्सिना र यस क्षेत्रमा उहाँले पुर्‍याएको साहित्यिक योगदानलाई सम्झिरहनेछ ।

खचाखच दर्शकहरूबीच सिस्नुपानी मकवानपुरको हास्यव्यङ्ग्यात्मक प्रस्तुति

धामी-झाँक्री प्रस्तुति, गाईजात्रे सांसद अभ्यासदेखि प्यारोडी गायनसम्म

भाद्र २० मकवानपुर ।

सिस्नुपानी नेपाल मकवानपुरले हास्यव्यङ्ग्य प्रस्तुतिसाथ ‘गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम २०८०’ सम्पन्न गरेको छ ।
हेटौँडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयको विशेष सहयोगमा सञ्चालित कार्यक्रममा १ हजार बढी दर्शकहरूका बीचमा ९ प्रस्तुतिहरू रहेका थिए ।
कार्यक्रमको पहिलो प्रस्तुतिमा पूरानो परम्पराअनुसार बिहेमा ‘खाँडो जगाउने’ कार्यको नक्कल गर्दै व्यङ्ग्य प्रस्तुत गरियो । जसमा सानोभाइ विश्वकर्मा, राजकुमार लामिछाने र सानुभाइ खनालको सहभागिता रहेको थियो । यो प्रस्तुति लगभग नेपालको सबैजसो विहेमा अन्त्य भैसकेकोमा पूरानो संस्कारमार्फत् नवीन विषयवस्तुलाई जीवन्त राख्नका लागि गरिएको सानोभाइ विश्वकर्माले जानकारी दिनुभयो ।
कार्यक्रमको दोस्रो प्रस्तुतिमा ‘गाईजात्रे संसद अभ्यास’ रह्यो । जसमा ‘सभामुर्ख’ को भूमिकामा डिबी बर्तौला, सत्तापक्ष/विपक्षका सांसद तथा मर्यादापालकको भूमिकामा कलाकारहरू चिरञ्जीवि लामिछाने, बैकुन्ठ लामिछाने, सुवास सजल, सानुभाइ विश्वकर्मा, देवराज तिवारी, रजनी पौडेल, सविता तिमल्सिना, मीनप्रसाद लामिछाने, निरा शर्मा, भावना सापकोटा, संप्रस पौडेल आदि रहनु भयो । सत्तापक्ष र प्रतिपक्षका सांसदहरूका बीचमा राजनैतिक खिचातानी, आफ्ना स्वार्थका मुद्दाका विषय उठान भएको सो हास्यव्यङ्ग्यपूर्ण संसद अभ्यासमा राजनीतिक दलहरूले गर्ने गतिविधिप्रति कटाक्ष प्रयोग भएको थियो । यस्तो सो अभ्यासलाई सांसद गान ‘चौरासीमा के हो के हो, अहिल्यै खाइहालौं’ भन्ने बोलको गीतमा गहन खतिवडाले प्यारोडी गायन गर्नुभयो ।
तेस्रो प्रस्तुतिमा स्वस्तिका दाहालको प्यारोडी गीत, चौथो प्रस्तुतिमा धामी झाँक्रीको प्रहसन रहेको थियो । सो प्रहसनमा ‘गलाको सुन फुकालेर एयरपोर्टमा बुझाएका तर बाहिर आएपछि क्विन्टल सुन देखेर सात्तो गएका’ बिरामीलाई प्रमुख बनाएर ओमभक्त भण्डारी, मीनप्रसाद लामिछाने र सानुभाइ विश्वकर्माले क्रमशः झाँक्री, काका र भतिजको भूमिका निभाउनु भयो ।
पाँचौं प्रस्तुतिमा कवि/गायक पुरूषोत्तम आचार्यले वेतिथिमाथि कटाक्ष गर्दै ‘गिरीबन्धु हैन अब बन्धु मेरा भैसके, रोक्ने छेक्ने कानुनले नुन खाइसके’ प्यारोडी गायन गर्नुभयो । जसलाई रजनी पौडेल, चिरञ्जीवि लामिछाने, भवानी तिमल्सिना, मीनप्रसाद लामिछाने र संप्रस पौडेलले साथ दिनुभयो ।
छैठौं प्रस्तुति वरीष्ठ हास्यव्यङ्ग्यकार तथा सिस्नुपानी नेपाल मकवानपुरका संस्थापक आरसी रिजाल र संस्थाका वर्तमान अध्यक्ष राजकुमार लामिछानेको प्रस्तुतिले हास्यरस प्रस्तुत गरेको थियो भने अन्तिम प्रस्तुतिका रूपमा कलाकार/गायक आशाकाजी श्रेष्ठले हास्यव्यङ्ग्यका विषयवस्तु प्रस्तुत गर्नु भयो ।
कार्यक्रमका सम्पूर्ण साङ्गितिक क्रियाकलापमा प्रलय चौलागाईँ र सागर तिमल्सिनाको सहयोग रह्यो ।
औपचारिकताका नाममा आधाआधि समय आसन ग्रहणमैँ बित्ने हुँदा सिस्नुपानी मकवानपुर तथा नेपाली लेखक संघ आदि संस्थाहरूले वार्षिक क्यालेन्डरका केही कार्यक्रमहरूमा सबैजनालाई एकमुष्ठ आसन ग्रहण गराउने गर्दछ । यस्तो गर्नुको खास कारण अतिथि तथा दर्शकहरू आफ्नो अमूल्य समय छुट्याएर कार्यक्रममा आउनु भएकोमा त्यसलाई ध्यान नदिई कार्यक्रम सकिने समयसम्म आसन ग्रहणमार्फत् उठबस गराउने चलनलाई कम गर्दै लैजानुपर्ने संस्थाका अध्यक्ष राजकुमार लामिछानेले बताउनु भयो । साथै उहाँले कार्यक्रम आयोजक सिस्नुपानी मकवानपुर भएता पनि यस कार्यक्रममा केही दिनदेखि निरन्तर समय दिएर भव्य बनाउन लागिपर्नु भएका विभिन्न साहित्यिक संस्थाहरूका कलाकारहरूको विशेष सहयोग रहेकोले कलाकार, साहित्यिक संस्था, टोल विकास समितिका पदाधिकारी तथा सदस्यहरू, शिक्षक, निजामती, राजनीतिक व्यक्तित्व, पत्रकार सम्पूर्णलाई धन्यवाद दिनुभयो ।
कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष मीनप्रसाद लामिछानेले सिस्नुपानी नेपालको स्थापना नै वेथितिहरूलाई उजागर गर्दै हास्यव्यङ्ग्यमार्फत् समाज, राजनीति लगायतका क्षेत्रमा रहेका वेथितिको अन्त्य गर्नु रहेकोले जिल्ला शाखाले यस्ता कार्यक्रमहरू आयोजना गरिरहेको बताउनु भयो ।
४ नं. वडाका वडाध्यक्ष नवीन सिग्देलले साहित्य, कला, शिक्षा आदि कार्यक्रमहरू आयोजना गराई त्यसलाई नतिजाउन्मुख बनाउन स्थानीय सरकार लागि परेकोले आफू अध्यक्ष भएर आइसकेपछि विभिन्न कार्यक्रमहरू गरिरहेको बताउँदै कार्यक्रम सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो । स्मरण रहोस् हेटौँडाका विभिन्न साहित्यक कार्यक्रम तथा शैक्षिक प्रदर्शनीहरूमा वडा नं. ४ को सक्रिय सहयोग रही आएको छ ।
हेटौँडा ४ स्थित रोयल प्यालेसमा आयोजित आजको कार्यक्रमलाई एनएस टेलिभिजनद्वारा छायाङ्कन गरिएको हो भने सिस्नुपानी मकवानपुरकी सदस्य अमृता लामिछानेले सहजीकरण गर्नुभएको हो ।

 कथा : मायाको घर / माया ठकुरी

बाबु, यति हुन्छ स्वाट्ट पार त ।

हत्तेरी हजुरमुमा ! अहिले डिस्टर्व नगर्नुस् न । आज हामी स्कुलबाट जाने हो । त्यसैले, छिट्टै स्कुल बस लिन आउँछ । मलाई ढिलो भइसक्यो ।

नकुल र उसकी हजुरमुमाको बिहान सधैँ जस्तो यस्तै प्रकारको कुरा हुन्छ । नकुललाई स्कूल जान हतार हुन्छ, हजुरमुमालाई चाहिँ उसलाई खुवाउने हतार ।

“मेरो नातीले  राम्रोसित खायौ भने पो बलियो हुन्छ, राम्रोसित पढ्न सक्छ । हजुरमुमाले भन्नुभयो । कति दुख देको हजुरमुमालाई ? एक गिलास त हो नि ।” नकुलको आमाले रिसाउँदै भन्नुभयो ।

“ओहो यो हजुरमुमा पनि ” भन्दै नकुलले गिलास लिएर दुध पियो । हजुरआमा छेउमा उभिएर उसलाई हेर्दै मुस्कुराउनुभयो । स्याबास ! भन्दै रित्तिएको गिलास लिएर जानुभयो ।

नकुलले जुत्ता लगाउँदै गर्दा हजुरमुमा हातमा बुन्दै गरेको स्वीटर लिएर आउनुभयो र भन्नुभयो, “खोई त यो स्वीटर नापुम । जाडो महिना आउन लाग्यो । तिमिलाई मैले स्वीटर बुन्दै छु ।”

“ह्या हजुरमुमा पनि । कहाँ अहिले स्वीटर नाप्ने ? बस आइसक्यो होला, म गएँ । चाहिन्न मलाई स्वीटर” भन्दै स्कुल ब्याग बोकेर घर बाहिर निस्क्यो ।

स्कुल पुगेर नकुल आफ्नो साथी मिलनसित भ्रमणबारे कुरा गर्न लाग्यो । “आज हामी कहाँ जान्छौँ  होला है !” नकुलले भन्यो ।  “चन्द्रागिरी हो की केबल कार चढ्न रमाइलो हुने भयो ।” मिलनले भन्यो । त्यतिबेला कक्षामा मिस आउनुभयो र भन्नुभयो, हरेक महिना जस्तै आज पनि हामी शौक्षिक भ्रमणमा जादैछौँ । भ्रमणमा देखेका, सुनेका कुराहरू बारे भोली निबन्ध लेखेर ल्याउनुपर्छ । त्यसैले आफ्नो कापी, कलम लिन नबिर्सनु । हामी आज “मायाको घर” नामको बृद्ध आश्रम जादैछौँ । त्यहाँ बुढा बुढी मान्छेहरू बस्नु हुन्छ । “बुढा बुढी मान्छेहरू बस्ने हुदा छुट्टै ठाउँ हुन्छ र ?” नकुलले छक्क पर्दै मिलनलाई सोध्यो । मिलन केही नबोली बस्यो ।

मलाई धेरै माया गर्छिन् । चकलेट पनि बाँडेर खन्थिन् । एक दिन छोराले यो ठाउँबारे भन्यो । हुन पनि उनीहरू काममा जान्थे, नातिनी पनि स्कुल जान्थी । म घरमा एक्लै बस्नु पर्छ भनेर उनीहरूले मलाई यहाँ ल्याए । म जस्तै यहाँ धेरै छन् । हामी साथी छौं । यहाँ आएको एक वर्ष हुन लाग्यो । अब त बानी पर्न लागिसक्यो । मेरो छोरा बुहारी र नातिनी पनि बेला बेला भेट्न आउँछन् । हजुरबुवाले आँखाभरी आँशु पारेर भनुभयो ।

अचानक, मिलन रुन लाग्यो ।

“मलाई मेरो हजुरवुवाको सम्झना आयो । वहाँ पनि हामीसित बस्नु हुन्थ्यो । मलाई कति माया गर्नहुन्थ्यो । उहाँले कुराहरू नबुझ्दा कहिलेकाहीँ मलाई रीस उठ्थ्यो । राम्रोसित काम नसुन्दा पनि मलाई रीस उठ्थ्यो । एक दिन मेरो आमा बुबाले पनि उहाँलाई एउटा बृद्ध आश्रम लगेर राख्नुभयो । त्यसपछि मैले उहाँलाई भेट्न पाएको छैन । मैले उहालाई सरी भन्न मन छ । मैले उहाँलाई माया गर्छु भन्न मन छ ।”

मिलनले रुँदै भन्यो । नकुल छक्क पर्‍यो ।

“नरोउ बाबु ! तिम्रो गल्ति होइन । हामी बुढा बुढीको बानी नै अलि झर्को लाग्ने खालको हुन्छ । तिमीलाई पनि त्यस्तै लागेको हो । तिमीले आपनो आमा बुवालाई भन । मलाई विश्वास छ । उहाँहरूले तिमिलाई तिम्रो हजुरबुवा सित भेट्न लैजानु हुन्छ भनेर ।” 

हजुरबुबाको कुरा सुनेर नकुलले आफ्नो हजुरआमालाई सम्झियो ।

“अहो ! म पनि हजुरमुमासित कति रिसाउँछु । उहाँ चाहिँ मलाई सँधै माया मात्रै गर्नुहुन्छ । हाम्रो घरमा हामी सबै सँगै छौँ । म त कति भाग्यमानी यो रहेछु ।” उसले सोच्यो । नकुल र मिलनले हजुरबुवाबाट “मायाको घर” बारे धेरै जानकारी लिए । केहि बेरपछि सबैजना भेला भए । मिलेर खाजा खाए, नाचे र गाए । त्यसपछि बिदा हुने बेला आयो । केहि हजुरबुवा आमाहरू रुनुभयो । नकुल र उसका साथीहरूलाई पनि नरमाइलो लाग्यो ।

स्कूल छुट्टि भएपछि नकुल घर फर्कियो । गेटबाटै । “हजुरमुमा !” भन्दै दौडेर गयो । सधैँ झैँ हजुरमुमा ढोकामा नकुललाई पर्खेर बस्नुभएको थियो ।

मैले तिमीलाई मन पर्ने खीर बनाएको छु बाबु उहाँले नकुललाई अंगालो मार्दै भन्नुभयो । “खीर पनि खाउँला नि मुमा । पहिला त्यो हजुरले बुनेको स्वीटर नापम त । मलाई मन पर्ने रङको हुनुपर्छ है ?” नकुलले भन्यो । हजुरआमा र नकुल गफ गर्दै घरभित्र गए ।

माया ठकुरी, काठमाडौँ

लघुकथा: बाहुन निराश भए पनि गरिब र खुशी थिए / गणेशकुमार पौडेल

रुपचन्द्र राजनीतिज्ञ मात्र थिएनन दार्शनिक पनि थिए । उनी धर्मकर्ममा विश्वास गर्दैनथे । आमा स्वर्ग हुँदा रुपचन्द्र घरमा थिएनन् । आमाको काजक्रिया गरिसकेपछि उनी घर आए र बुवालाई सोधे- आमाको काममा के के दान गरियो ?
बुवाले जवाफ दिए- खाट, डस्ना, सिरक, तन्ना, छाता, जुता, एकसरो पुरोहितलाई लाउने लुगा र भाडाकुँडाहरु ।
त्यो सुनेपछि रुपचन्द्र बाहुनको घरमा गएर बाहुनलाई भने- गुरू मलाई आमाले सपनामा भन्नुभयो आमाको नाममा दान गरेको सामान अझसम्म आमाले पाउँनु भएको रैनछ तपाइले तुरुन्त पुर्‍यादिनु पर्‍यो, कि त फिर्ता गर्नु पर्‍यो ।
बाहुनले भने- यो सामान म स्वर्गमा पुयाउन सक्दिन फिर्ता लैजाऊ । सामान फिर्ता लिएर उनले गरीबलाई बाँडिदिए ।

गणेशकुमार पौडेल
रुपचन्द्र स्मृति संग्रह २०७३ बाट

स्व गणेशकुमार पौडेल आफ्ना रचना वाचनगर्नुहुँदै

गजल : अमला अधिकारीका दुई दर्जन गजलहरु ।

यति सुनाउन पाउँदा पनि गर्व लागेर आउँछ
मेरो गाउँले भाइ काठमाडौँमा पठाओ चलाउँछ ।

तँ पढ्न बसेपछि छिमेकीले लाइन काटिदियो
भैगो नरो छोरा ! भोलि बिहानै घाम उदाउँछ।

रातभरिको हुरीले चरीको गुँड भत्काइदियो
यो दु:खको खबर परदेशीलाई कसले पुर्‍याउँछ ?

यो समय जति क्रुर र निष्ठुरी कोही हुन सक्दैन
बाआमालाई सन्तानको लास जलाउन लगाउँछ ।

खुशी हुन बच्चालाई कसैले रोक्न सक्ने छैन
जब फोहोरको डङ्गुरमा दुईटा गुच्चा भेट्टाउँछ ।

अमला अधिकारीका दुई दर्जन गजलहरु भिडियो

ट्रक साहित्य

सवारी साधनमा लेखिने शायरी तथा विचारहरूले हामी सबैको ध्यान तान्ने गरेका छन् । कसैले चित्रात्मक/संकेतात्मक रूपमा पनि विभिन्न भावहरू व्यक्त गरिरहेका हुन्छन् ।
कुनै समयमा विद्यालय/कलेजहरूमा पोस्टकार्डमार्फत् यस्तै यस्तै शायरी लेखेर साटासाट गर्ने चलन थियो । आजकाल यो पूर्णत नौलो भैसकेको छ । शायरी तथा सडक साहित्य प्राय लयात्मक हुन्छन् ।
पहिले पहिले प्रेमीप्रेमिकाका विषयहरू लेखिएता पनि आजकाल नेतृत्वमा आएका नयाँ व्यक्तिहरूदेखि राष्ट्रिय/अन्तर्राष्ट्रिय राजनीतिसम्म यसमैँ अटाएका छन् ।
त्यसो त कहिलेकाहिँ नेपाल सरकार तथा स्थानीय सरकारले पनि ध्यान दुर्घटनाका सम्भावित कारण मानेर यस्ता सामग्री मेट्ने गरेको पाइन्छ । तथापि नेपाल प्रहरीको तथ्याङ्कमा भने दुर्घटनाको कारणमा यस विषयवस्तुलाई उल्लेख गरिएको पाइँदैन । त्यसो त अटोरिक्सादेखि यात्रुबाहक बससम्म यस्ता हरफहरू पाइन्छन् । प्राय सवारी साधनमध्ये ट्रकहरूबाट लेखिन सुरू गरिएको हुँदा यसलाई हाल ट्रक साहित्य नाम नै दिनु उपयुक्त हुन सक्छ । यस श्रृङ्खलामा यस्तै सडक साहित्यसँग सम्बन्धित सामग्रीहरू पोस्ट भएका छन् ।

१.

न दशैँ, न तिहार
ड्राइभर खलासी जिन्दगी के रछ यार ?
२.
ईज्जत गर्न सिक्नुहोस् दिदीबहिनीहरूको
के फरक पर्छ र आफ्नो होस् वा अरूको ?
३.
ब्रेक हान्दा गाडी रोकिन्छ
कण्डम प्रयोग गरे HIV रोकिन्छ ।
४.
गाला चाटेर, हात साटेर अनि
पासवर्ड साटेर कहिल्यै माया हुँदैन बेबी ।
५.
पानी परेको थियो तर छाता थिएन
छेउमा छातावाली थिी तर नाता थिएन ।
६.
युक्रेन ध्वस्त रूसले
नेपाल ध्वस्त घुसले ।
७.
हे ईश्वर तिमी सबैको भलो गर
तर सुरूवात मबाटै गर ।
८.
दुखमा नआत्तिऊ
सुखमा नमात्तिऊ
किनकी
यो दिन पनि बितिजानेछ ।
९.
बिक्ने पत्रकार,
डराउने विपक्षी
र निदाउने जनता
यी तीन देश बर्बादका लागि काफी छन् ।
१०.
जरा कम पी मेरी रानी
बहुत महँगा ईराक का पानी ।
(ईराकका पानीः पेट्रोलियम)
११.
बिस्तारै गए घरबार मिल्छ
हतार गरे स्वर्गद्वार मिल्छ ।
१२.
हाम्रो दुखको दिन गयो,
MCC पास भयो ।
पेट्रोल ५००।- भए पनि हाल्ने नै हो,
हामी भोकै रहे पनि भ्रष्टाचारी पाल्ने नै हो ।
१३.
बाटो खने पो गन्तव्यसम्म पुगिन्छ
अर्काको खेदो खनेपछि अलपत्र परिन्छ ।
१४.
फूल राम्रो गुलाबको काँडा भए पनि
गीत राम्रो भिटेनको छाडा भए पनि ।
१५.
भरियाले चौतारीमा भारी बिसाउने
ड्राइभरलाई हेर्दामा कान्छी खलासी रिसाउने
१६.
पानी नपाउनेल जुस पाएपछि, झार नपाउनेले कुश पाएपछि
नबन्ने काम पनि बन्छ, यो देशमा कर्मचारीले घुस पाएपछि ।
१७.
जग्गा किन्ने राजा
सुन किन्ने आधा
गाडी किन्ने गधा
१८.
जिन्दगी छिचोल्नुछ अझै थुप्रै गल्छिहरू
आधाश छुने कुरा गर्छन् धर्तिका अल्छिहरू ।
१९.
कस्तो पाठ सिकाइस् ए जिन्दगी
एकातिर भन्छस् प्रतिक्षाको फल मिठो हुन्छ ।
अर्कातिर भन्छस् समयले कसैलाई पर्खिँदैन ।
२०.
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन
ड्राइभरका स्वास्नी धेरै हुन्छन्, खलासीको हुँदैन †
२१.
लगानी टाटामा, सुत्यो बाटामा
साहु घाटामा, ड्राइभर खाटामा ।
२२.
कृपया हर्न नबजाउनु होला
देश सुतिरहेको छ ।
२३.
जिन्दगी छिचोल्नुछ अझै थुप्रै गल्छिहरू
आधाश छुने कुरा गर्छन् धर्तिका अल्छिहरू ।
२४.
म मरेपछि मेरो लासको पोस्टमार्टम गर्न नदिनु हो प्रिय
मुटुमा तिम्रो नाम भेटिँदा अनुसन्धानमा फसौली ।
२५.
मनमा पिर भए नि मुस्कान लिएर चढ,
मेरै मायालु भए नि भाडा दिएर झर ।
२६.
फरक्क फर्की नहेर कान्छी हरनको तालैमा,
ड्राइभरहरू हरामी हुन्छन् किस खालान् गालैमा ।
२७.
जी माने गाँजा, पशुपति जाँदा, छक्क परे शिवजी मैले गाँजा खाँदा ।
२८.
कवि भए कलम, कलम भए कविता । धनी मरे श्रद्धाञ्जली, गरिब मरे रमिता ।
२९.
टिसर्ट राम्रो सिफन त सारी राम्रो फाइबरको ।
दुनियाँका स्वास्नी पोइल जान्छन् दोष किन ड्राइभरको ?
३०.
लुगा फाटे सिउने हो
मन फाटे पिउने हो ।
३१.
बलेको आगो त सबैले ताप्छन्
जाडोमा न्यानो माया दिने चाहिएको छ ।
टिकटक भिडियो बनाउने होइन
दालभात पकाउने चाहिएको छ ।
३२.
देश चलाउने नेता र गाडी चलाउने ड्राइभर उत्तिकै जिम्मेवार हुन् ।
३३.
गाडीको संख्या बढेको बढ्यै, बाटोचाहिँ बढ्दैन
कान्छीमा आँखा गढेको गढ्यै, अन्तचाहिँ गढ्दैन ।
३४.
उत्पादन हुने उमेरमै गाई बस्नु हुँदैन है भजन
युवाजति विदेशै गए नगर्नु परिवार नियोजन ।
३५.
समाजमा परिवर्तन आउँदैन किन ?
किनकी गरिबमा हिम्मत छैन
मध्यम वर्गलाई फुर्सद छैन
धनीहरूलाई जरूरत छैन ।

गाइने