Home Blog Page 51

कविता: “चित्कार” / अभिषेक राज सिँह थापा

मर्दै छु…..
आऊ सबै !

आफ्नो आफ्नो शस्त्र लिएर
सेतो वस्त्र लिएर
मिठो बोली लिएर
तुच्छ शब्द लिएर
मुखमा राम अनि
बगलीमा छुरा लिएर
घृणासँगै हेपाई लिएर
स्वार्थी हाँसो अनि
शब्दको विष वाँण लिएर
अनगिन्ति कात्रो लिएर
आऊ सामुन्ने !!

प्रहार गर बेजोड,
निर्धककसँग !

तिम्रो चिहान सुरक्षित छ अझै
म बिउँतिन्न फेरि फेरि
इच्छाशक्ति छैन अब ।

थाकेर होइन,
रहरले होइन,
करले होइन,
जीवन बाँच्ने हुटहुटी यति नै त हो ।

फगत –
रगत –
गर्दै
फारगत।

(रुकुम, जाजरकोटको महसुस…..)
अभिषेक राज सिँह थापा
तनहुँ, महिबल कोट

राहत इन्दोरी, जावेद अख्तर, घनश्याम परिश्रमीका गजल सुन्नुहोस्ः निमेष निखिल

मङ्सिर २, शनिबार मकवानपुर ।

गजल मञ्च मकवानपुरले २०८ औँ गजल यात्रा सम्पन्न गरेको छ । केशव समर्पणको सभाध्यक्षतामा सुरू भ‌एको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गजल सर्जकहरू दीपक गौतम, सुवास सजल, पुरूषोत्तम आचार्य, सानु खनाल, सर्जु भण्डारी, वैकुन्ठ लामिछाने, सुनिल गौतमले गजल वाचन गर्नुभयो ।

गजल लेखिरहेका सर्जकहरूलाई राहत इन्दोरी, जावेद अख्तर, दुष्यन्त कुमार,  साहिर लुधियानवी आदिका गजल सुन्न आग्रह गर्दै प्रमुख अतिथि निमेष निखिलले आम मान्छेमा गजल श्रवणीय हुनमा गायक जगजीत सिंहको पनि महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।

नेपालमा मोतिराम भट्टले श्रृङ्गार र भक्ती भावका गजल लेखनमा जोड दिनुभ‌एकोदेखि निखिलले सुक्तिसिन्धुसम्मको विवादित प्रसङ्ग समेत उठान गर्नुभयो भने ज्ञानुवाकर पौडेल, ललिजन रावल तथा नेपाली र हिन्दी गजलको तुलना गर्दै लेखिएका पुस्तक र गजलमा विद्यावारिधि गर्नु भएका डा. घनश्याम न्यौपाने परिश्रमीका गजलहरू अध्ययन गर्न तथा उहाँहरूले भनेझैं गजल शास्त्रीय र प्राविधिक विधा भएकाले यसको व्यापक अध्ययन गरेर गहकिला रचना गर्न सुझाव दिनुभयो ।

मञ्चका अध्यक्ष केशव समर्पणले नव सर्जककेन्द्रित गजल लेखनका कार्यशाला लिएर विभिन्न विद्यालयमा जाने गरेको बताउनुभयो । गजल लेखनमा प्राविधिक तौरतरिकासँगसँगै भाव, कलालगायतका विषयवस्तु जोडिँदै जाने हुँदा गजल लेखनमा निरूत्साहित नहुन आग्रह गर्दै गजल वाचन समेत गर्नुभयो ।

साहित्यसेवी तथा सर्जकहरू राजकुमार लामिछाने, सुनिल गौतम, सानु खनाल, समीर पाख्रिन, शिवराज शाही, मुक्तिगोविन्द वैद्य आदि उपस्थित साहित्य सङ्गम र सिस्नुपानी मकवानपुरको संयुक्त भवनमा आयोजित कार्यक्रमलाई गजल मञ्च मकवानपुरका सचिव हरि पौड्यालले सहजीकरण गर्नुभ‌एको हो ।

यादको कोलाजले निर्माण गरेका कोलाजहरू ।

तपाईंको परिवारका सदस्य वा आफन्त कोही रिटार्यड या कार्यरत सैनिक हुनुहुन्छ ? या कतै सुन्नुभएको छ सैनिकका स्मृतिहरू ?

यदि छ भने ‘यादको कोलाज ‘पढिसक्दा तपाईंको मगजमा निर्माण हुनेछ आफ्नै यादको कोलाज । जसरी मेरो मनमा – मेरो जिबा भारतीय सैनिक । उहाँलाई लागेछ सैनिकको परिवारलाई धेरै दुख हुन्छ । उहाँले छोरीको सुखका लागि शिक्षक ज्वाईँ रोज्नुभयो ।

खुशी त ममीले पाइरहनुभएको होला तर सुख ? हाम्री योद्धा ममी कहिलेकाहीँ थाक्नुहुन्थ्यो होला जीवनका उकालाहरुमा र सुस्याउँदै भन्नुहुन्थ्यो ‘बिहे त लाहुरेसँग नै गर्ने रछ, मरे नि पाल्छन् बाँचे नि पाल्छन् । ‘कहिलेकाहीँ ममीले छोरीहरूलाई उत्प्रेरित गरेजस्तो लाग्थ्यो । ममीले यो रहर पुरा गर्ने अवसर नपाउनुभएको पनि होइन तर उहाँले छोरीहरूको रहर अघि राख्नुभयो ।

आफ्ना सैनिक बुबाको पल्टन जता जता सरुवा भयो उतै उतै हुर्कनुभयो ममी । जीवनका दुई दशक भारतका विभिन्न भूभागमा बिताउनुभएकी हाम्री ममीका अनुभव हामी तालामुखको घरको माथ्लो तलाको अँगेनामा वरपर बसेर सुन्थ्यौँ । ममीले गाउने हिन्दी गीत, बोल्ने अंग्रेजी लवज, सैनिक विद्यालयका कुरा, मिथुन दा र हेमा मालिनीका किस्सा, श्रीदेविको प्रशंसा यी सबैले हामीलाई खुब आकर्षित गर्थ्यो । युद्धका कुरा, सिपाहीहरू युद्धमा जाँदा परिवारको भय, पल्टनका चाडबाड, फौजीहरूको संघर्ष र सफलता ममीले यी बारे भनिरहँदा हामीले कल्पनामा अनेक दृश्य निर्माण गर्थ्यौँ ।

ठूलो बा, साईँलो बा, दाजु, पुसाजु आफन्त र बाहिर पनि छरछिमेकमा थुप्रै कार्यरत सैनिकहरू हुनुहुन्थ्यो , अहिले रिटार्यड हुनुहुन्छ । अधिकांश भारतीय सैनिक र केही बृटिस सैनिक । कास्मिरी लुंगी, ओखर, जिरा, रमका बुट्टेदार बोटल, लामा टर्च, सानो रेडियो, कालो कम्मल उपहार बनेर आइपुग्थे घर । उपहारसँगै सुनाइन्थे अनेक किस्सा ।
शारदीय बिहानीमा चौराखेतमा धान काट्दा मोहन दाइको मुखबाट सुनिएको कारगीलको युद्धले मुटु ढुकढुक बनाउँथ्यो । शत्रुपक्षलाई पराजित गरी आफ्नो प्रमोशन भएको सुबेदार ठूलोबाको प्रसङ्ग या काकाहरूको देसी पल्टनका उट्पट्याङ, सिपाहीका ती अनुभव औधी भयानक र कौतुहलपूर्ण लाग्थ्यो ।

कारगिलको युद्धमा आफन्त गुमाएको समाचार गाउँमा आयो । सिङ्गो गाउँ स्तब्ध भयो । आफ्नो बाबासँग पल्टन गएकी मेरो उमेरकी साथी रुन्चे अनुहार लिएर गाउँ फर्केपछि हो मलाई ममीका यादहरू रोमाञ्चित लाग्न छोडेको । ‘त्रसित कश्मीर’ले तर्साएको गहिरागाउँ र उजाडिएको मैदानका साइँलादाजुको घर आँखैनेर उभ्याइदियो ।

सिंगापुर, अमेरीका, बेलायत, भारत र नेपाल देश जुन भएपनि अहिले मेरा साथी र मैले पढाएका विद्यार्थी पल्टनमा छन् । यादको कोलाज पढिरहँदा उनीहरूका कुरा सुनिरहेकी छु जस्तो लाग्यो ।’हिउँको घर ‘ पढिरहँदा मैले लेखकलाई सर्लक्कै भुलिछु र सम्झिछु केही समय अघि म त लद्दाखमा छु नि म्याम भनेर मेसेज गर्ने मनोजलाई । यतिबेला मनोजले पनि पार लगाइसके होला ग्लेशियरसँगका सङ्घर्ष र चुनौती ।

यादको कोलाज ‘परेड ग्राउण्ड ‘देखि ‘इतिहासको बाटो हिँड्दा’ सम्म गरी एक दर्जन शीर्षकमा अनुबन्धित छ । पोखरामा क्याम्पस जीवन आरम्भ गर्दै गरेको एउटा ठिटोले सैनिक क्याम्पको यात्रा तय गरेपछि उनले भोगेका भोगाइ, संघर्ष, महसुस गरेका अनुभूति आदिको समष्टी रुप हो यादको कोलाज ।

उसो त सैनिक जीवन अत्यन्तै कठिनाइपूर्ण हुनेरहेछ त्यसैमाथि अझ कठिन हुने रहेछ तालिम अवधि । ‘परेड ग्राउण्ड’ पढिरहँदा एक हिन्दी भनाइ याद आयो – ‘संघर्ष जीवन को निखार देता है। जो जितना संघर्ष करेगा वो उतना ही ज्यादा निखर जायेगा।’ । एउटा युवा सिपाहीमा रुपान्तरण हुने संघर्षशील कोलाज हो यो । यही खण्डमा उनले लेखेका छन् ‘ जीवनलाई जस्तो भूमिमा छोडिदियो त्यस्तै भइजाने रहेछ ।’

परेड ग्राउण्डलाई ढोगेर रेल चढेको सिपाही रोकिन्छ पन्जाबको पठानकोटमा ।’ ब्यारेक र सिपाही’ भित्र योङ सोल्जरका रुपमा पठानकोट र खुरदुवामा आर्जित अनुभवलाई पस्केका छन् लेखकले । यही खण्डमा उनी छुट्टीमा घरदेश आइपुग्छन् । परदेश र घरदेशका अनुभूतिले मन कटक्क बनाउँछ ।
‘सिपाहीकी प्रेमिका ‘र ‘देश फर्केको समय’मा लेखकले वर्णन गर्न छुच्ची गरेको अनुभव भयो । अझ तन्कन सक्नुपर्थ्यो उनी । सायद चाहेनन् ।
‘बारुदको गन्ध’ मा युद्ध छ । युद्धमा विजय प्राप्त उनले एउटा अनुच्छेदमा लेख्छन्
‘हामीले विजय प्राप्त गयौँ । विजयको खुसी पोतिएका हाम्रा अनुहारहरू एक-अर्कासँग मुस्कुराए । यो एउटा जितले दिएको सीमाहीन खुसी हो ।‘

यही अनुच्छेदमा छन केही प्रश्न –

‘जित स्थायी कहाँ हुन्छ र ?
मान्छेले मान्छेको ज्यान लिएपछि मुस्कुराउने हाम्रो खुसीको अन्त्य कहिले होला ?
प्राण लिएर हामी कहिलेसम्म उत्सव मनाउने ?
धरतीको उर्बर भूमिलाई लक्ष्मणरेखा लगाएर हामी दुश्मनीको जोखिम यात्रामा कहिलेसम्म हिँड्ने ?
उत्तर खोजिरहेका प्रश्नहरूले कहिले उत्तर पाउने ?’
यी प्रश्न केवल प्रश्न मात्र नभएर सिपाही मनभित्रको चैतन्यपक्ष लाग्यो मलाई ।
एक सिपाहीको नजरले युद्ध मात्र देखेको छैन । सिपाहीको ह्रुदयले छामेको छ दक्षिण भारतको समुद्री किनारको रमितालाई’ कन्याकुमारीमा‘, हिमान्चलको सौन्दर्यलाई ‘ढल्हौजी’ मा अनि सिक्किमलाई ‘आँखामा आकाश पैतालामा पहाड’ र ‘स्वर्गका साँझहरू’मा । यिनै कोलाजहरूले यादको कोलाजलाई पृथक बनाइदिएका छन् ।
यादको कोलाज एक सिपाहीको आत्मकथा हो । उनले आफ्नो सैनिक जीवनका माध्यमबाट पाठकलाई नेपाली लाहुरे ‘सिपाही’ हरूको संघर्ष, भोगाइ र उतारचढाव सम्म पुराएका छन् ।
जम्मा १२८ पेजको यो किताब एकै बसाइमा पढ्न सकिन्छ । सरल र काव्यिक भाषाका कारण पठनप्रवाहलाई अझ मदत पुग्छ । लेखाइ मादीजस्तै छर्लङ्ग छ । आत्मपरक र आत्मसंस्मरणात्मक शैलीमा लेखिएका यी कोलाजहरू दार्शनिकताको चहकले पोतिएका भने छन् ।
हतियार बोकेको सिपाहीसँग पनि सुन्दर जीवनदर्शन हुने रहेछ, गहिरो आध्यात्मिकता हुनेरहेछ र हुनेरहेछ चैतन्यका रङहरू पनि । उनले आफ्ना अनुभूतिलाई बडो सुन्दर र कौतुहलतापूर्ण ढङ्गले वर्णन गरेका छन् ।
सिपाही भन्दा बित्तिकै कम्ब्याक्ट ड्रेस लगाएर ठिङ्ग उभिएको, हातमा हतियार बोकेर आँखामा आदेश कुरीरहेको, एक खालको क्रुर तस्बिर तपाईंको आँखामा आउँछ भने यादको कोलाज पढ्नुस् । त्यो तस्बिरमा संवेदनाको रङ तपाईंले थप्नुहुनेछ ।

रेणुका जि सी, चपुर

लास्ट बेञ्चर्सका तीन रोचक कुरा || संप्रस पौडेल

स्कुल पढ्दा…. ए स्कुल हैन हैन विद्यालय पढ्दाको कुरा हो । लास्ट बेञ्च… ए हैन हैन अन्तिम बेञ्चको कुरा पो हो । जेहोस् अन्तिम बेञ्चमा बस्न होडबाजी नै हुन्थ्यो । बेञ्चलाई मेच वा टाँड भनौँ त ? आ भो नभनौँ । जेहोस् तपाईँलाई पनि अन्तिम बेञ्चमा बस्दा यस्तै हुन्थ्यो ?
त्यही समयका केही रोचक कुराहरू पढौं है त ।

पहिलो रोचक कुरा
हाम्रो समयमा हामी सकेसम्म नेपाली नै बोल्थ्यौं । अहिले जस्तो ‘कन्भरसेसनमा’ ‘ईङ्लिश’ ‘मिक्स’ हुँदैनथ्यो । कहिलेकाहीँ म बालबच्चाहरूसँग नेपाली मात्रै बोल्ने र अंग्रेजी बोलियो भने जरिवाना लाग्ने खेल खेल्छु । उनीहरू अली बढी नै ‘फाइन’ तिर्छन्, म केही कम जरिवाना तिर्छु । उनीहरू धेरै तिर्नुपर्नाले रिसाउँछन् र भन्छन् ‘यु आर लायर’ । जसलाई हामी एउटै शब्दमा भन्थ्यौँ- ढँटुवा । आजकाल ठ्याक्कै केही भनिहाल्नुपर्‍यो भने तपाईँलाई नेपालीभन्दा अंग्रेजी शब्दले ज्यादा भाव दिएको भान हुँदैन ? अँ यस्तै हुन थालेको छ । एक दुइ तीन झारो भाँचो हुँदै हराएको डन्डी बियो वारीपारी कतै भेटिएनन् । खोलेपाङ्ग्रो, खट्टे हराएजस्तै अन्तिम बेञ्चका किस्साहरू हराउने त होइनन् । कहिलेकाहीँ लाग्छ- यस्तै भैरह्यो भने आउँदो पुस्ताले गुन्द्रुकमा आइरन लाएर बस्दो हो ।

दोस्रो रोचक कुरा
अन्तिम बेञ्चमा देशका कुरा हुन्थे, विदेशका कुरा हुन्थे । कसका छोरा र कसकी छोरीको के सम्बन्ध छ, त्यो सबै थाहा हुन्थ्यो । कसले कसलाई चिठी लेखेर पठाएकोदेखि बाउचाहीँले भेटेर गोर्खेलौरी भेटेकोसम्मका कुरा हुन्थे । सजाय पनि सिन्किना खाने युगमा जन्मेकाले गोर्खेलौरी बुझे कि बुझेनन् कुन्नि ? त्यसबारे पछि लेखौंला । कलामले भन्नु भएकै छ- कक्षाको अन्तिम बेञ्चमा राष्ट्रका सर्वोत्तम दिमाग भेटिन सक्छन् । कुन्नि सर्वोत्तम त हो कि होइन तर अघिल्ला बेञ्चमा पढैया, लेखैया, घोकन्ते, रटन्ते, सुगाहरू, मैनाहरू, लिथो मेसिन (आजकालका फोटोकपि मेसिन भनौँ न) हरू भेटिन्थे ।

तेस्रो रोचक कुरा
अन्तिम बेञ्चमा खुबै सवाल-जवाफ चल्छ । किन पनि चल्छ भने आजकाल जस्तो प्रत्येक दिन फरक फरक बेञ्चमा बस्नका लागि शिक्षकले दिनदिनै पालो लगाइदिएका हुँदैनथे । त्यहाँ यस्ता यस्ता प्रश्नहरू निस्कन्थेः

१. नेपालमा सियो बन्छ कि बन्दैन ?
अहिले मात्रै थाहा पाइयो । नेपालमा सियो उद्योग दर्ता भएको छ । तर हाम्रा बालबालिकाले हाम्रा समयका प्रश्न सोध्नै जानेनन् । प्रश्नै नजानेकासँग उत्तर हुने कुरा पनि त भएन । हामी सरकारी उद्योगजस्तो उत्पादन क्षमता हुँदाहुँदै पनि केही वर्षमैं बेकामे पो भयौं कि भन्ने शङ्काले नछोएको भने होइन ।

२. नेपालमा सियो उत्पादनका लागि कस्ता उद्योग दर्ता भएका छन् ?
औषधिजन्य प्रयोजनमा उपयोग हुने सियो र जुत्ता सिलाउने सियो उद्योग । यो आजकै प्रश्न हो आजकै उत्तर हो । त्यो समयमा जवाफ नभेट्ने मैँजस्ता हरिलठ्ठकलाई चित्त बुझाउने उत्तर यता छ ।

३. नेपालले वर्षमा कति सियो विदेशबाट किन्छ ?
नेपालमा लगभग २३ हजार किलो (सिरिञ्ज) विदेशबाट आयात हुन्छ । नेपाल सरकारको तथ्याङ्कमा यस्तै भेटिन्छ ।

४. नेपालमा लुगा सिउने सियो बन्छ ? बन्यो भने पनि प्वाल पार्न भारत लाने कुरा के हो ?
यो असली प्रश्न हो । हाम्रो समयमा यही प्रश्नको उत्तर नजान्दा नजान्दै धेरै कक्षा पास हुँदै हुँदै गएका हौं । तर पनि अन्तिम बेञ्चमा बस्ने मौका भने पाइएकै हो । बरू अहिले पनि उत्तरचाहीँ उस्तै रहेछ । अर्थात् नेपालमा लुगा सिउने सियो बन्दैन । अन्य देशबाट आयात हुन्छ ।

५. अब हामीलाई के चाहिएको छ ?
नेपालमा सिमेन्ट बन्छ-विदेश निर्यात हुन्छ । नेपालमा जुट बन्छ- विदेश निर्यात हुन्छ । नेपालमा १६ लाखसम्मको घडी बनेर विदेश निर्यात हुन्छ । हामीले सानैदेखि सुन्दै आएको नेपालमा सियो बन्दैन । बन्यो भने पनि प्वाल पार्न अन्तै लानुपर्छ । अँ नेपालमा जे सुकै बनोस् तर कसैले त सियो बनाएर प्वाल पनि पारे हुने नि । एउटा जुनी उत्तर थाहै नपाई मरिने भइयो भन्ने पीरले सताउने गरेको छ आजकाल ।
तर जे होस्, सियोको सवाल ‘अण्डा पहिले कि कुखुरा’ पछि दोस्रो अप्ठेरो सवाल हो ।
पढ्दापढ्दै चार मिनेट नाश भयो भन्दैमा ‘मान्छे डाइपर लगाएर चन्द्रमा पुगेर आइसक्यो तँ कोपराको आविष्कार हेरेर दङ्ग पर्दै गर्’ भनेर नसराप्नु न है । जदौ ।

लास्ट बेञ्चर्सका तीन रोचक कुरा
संप्रस पौडेल

गजल मञ्चको २०८औं नियमित श्रृङ्खला शनिबार हुने

मङ्सिर १, शुक्रबार मकवानपुर । गजल मञ्च मकवानपुरको नियमित २०८औं श्रृङ्खला आउँदो शनिबार हुनेछ । गजल वाचन, बहस, प्रतियोगिता तथा पुस्तक विमोचन लगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको गजल मञ्चले यो पटक तिहार तथा चाडपर्व विशेष श्रृङ्खला सञ्चालन गर्न लागेको हो । विद्यालयहरूमा गजल लेखन कार्यशाला समेत सञ्चालन गरी गजल लेखनलाई बढावा गर्दै आइरहेको मञ्चका अध्यक्ष केशव समर्पणले बताउनुभयो । यस्तै गजल मञ्चका सचिव हरि पौड्यालले साहित्य संगम मकवानपुर र सिस्नुपानी मकवानपुरको संयुक्त भवनमा बिहान ११:०० बजे सो कार्यक्रम आयोजना हुने जानकारी दिनु भएको छ ।

छन्दकवि पुरूषोत्तम आचार्यलाई ‘युद्धप्रसाद मिश्र स्मृति सम्मान’

मङ्सिर १, शुक्रबार
मकवानपुर । प्रगतिशील लेखक सङ्घ, मकवानपुरद्वारा प्रत्येक बर्ष प्रदान गर्दै आइरहेको “युद्धप्रसाद मिश्र स्मृति सम्मान – २०८०” बाट यस वर्ष युवा कवि पुरुषोत्तम आचार्यलाई सम्मानित गर्ने निर्णय गरिएको छ ।
मकवानपुरलाइ कर्म थलो बनाई अनवरत रुपमा प्रगतिवादी धारका कविता लेखनमा सक्रिय कवि पुरुषोत्तम आचार्यका हालसम्म भोको मझेरी – मुक्तक संग्रह २०६८, मुटु र गीतहरू – गीत संग्रह २०७०, Roaring flames – संयुक्त कविता संग्रह- २०७७, छैनौँ कसोरी तिमी- ऊर्जाकाव्य २०७९, जूनेली – खण्डकाव्य, २०८० गरी ५ कृतिहरू प्रकाशित भैसकेका छन् । साथै उहाँले आफ्नै शब्द सङ्‍गीत र आवाजमा केही गीत गजलहरू स्वराङ्‍कन समेत गर्नुभएको छ ।
अग्रज हास्य व्यङ्ग्यकार आदरणीय आर. सी. रिजालले स्थापना गर्नु भएको २२ हजार २ सय २२ रूपैयाँ राशिको युद्ध प्रसाद स्मृति सम्मानबाट यस अघि डा. पशुपतिनाथ तिमल्सिना र गायक रामेश श्रेष्ठ सम्मानित भैसक्नु भएको प्रलेस मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीले जानकारी दिनुभयो ।

साहित्यिक कार्यक्रममा ‘नेपाली समय’ र साहित्य सर्जकमाथि लाग्ने आरोपहरू

सामान्यतयाः साहित्यिक कार्यक्रम भन्नेवित्तिकै रचना, पुस्तक वा यस्तै विषयवस्तुमाथि आधारित रही रचना वाचन, पुस्तक विमोचन, पुस्तकमाथि विमर्श, पुरस्कार समारोह, समीक्षात्मक टिप्पणी, वहस आदि भन्ने बुझिन्छ । बन्द कोठा वा खुला स्थानमा पाठक स्रोताहरूलाई लक्षित गरी रचना वाचन गर्ने गरिन्छ । प्रविधिको चरम विकासले आजकाल अनलाइन प्लेटफार्ममार्फत् रचना वाचन गर्ने, अडियो/भिडियो तयार गरी सार्वजनिक गर्ने, युट्युव/फेसबुक/जुम आदिमार्फत् लाइभ प्रशारण गर्ने जस्ता कार्यहरू नेपालमा पनि यथेष्ट बढिरहेका छन् ।
कार्यक्रमहरूमा अग्रभागमा बस्ने व्यक्तिहरूबीच होडबाजी र रचना सुन्ने स्रोता/दर्शकको अभाव सबैभन्दा ठूलो समस्या बनिरहेको छ । साहित्यिक कार्यक्रमहरूमा सर्जकहरूले ध्यान दिनैपर्ने विषयहरू निम्नानुसार हुन सक्छन्ः
१. प्रमुख अतिथी नबनाए कार्यक्रममा अनुपस्थितः

आफ्नो रचना सुनाउनु पर्ने भएकोले उपस्थित हुने समूह पनि हुन्छन् । कोही कोही त रचना सुनाउन नपाइने थाहा पाएपछि कार्यक्रमबाटै बाहिरिने हुन्छन् । यतिसम्म त देखिरहेकै भोगिरहेकै हो, केही व्यक्तिहरू ‘प्रमुख अतिथी’ वा ‘विशिष्ट अतिथी’ जसलाई अग्रभागमा माला, खादा लगाएर विशेष व्यक्तित्वका रूपमा राखिन्छ, ती पदहरूमा नियुक्त हुन नपाए नआउने गरेका पनि हुन्छन् । त्यस्ता व्यक्तिहरू तोकिएको अतिथी बन्न नपाउँदा कार्यक्रममा अनुपस्थित भएका यथेष्ठ उदाहरणहरू सबैजस्ता कार्यक्रम आयोजकहरूसँग हुन्छन् । त्यस्ता साहित्यिक सर्जकबाट नवपुस्ताले के सिक्ने ? यो ज्वलन्त विषय हुनसक्छ । यसैले ढिला आउने अतिथीलाई नकुरिकन आयोजकले कार्यक्रम सञ्चालन गरिदिने परम्परा सुरू गरे भने अतिथीहरू समयमैं उपस्थित हुन बाध्य हुनेछन् । नभए अतिथी बस्नका लागि सीटको कमी कहिले पो भएको छ र ?

२. साहित्यिक कार्यक्रममा अप्रासङ्गिक व्यक्तिको आतिथ्यताः
साहित्य रचना गर्नेहरूभन्दा अन्य क्षेत्रका व्यक्तिहरूको आतिथ्यता पनि नौलो नै पाइन्छ । साहित्य रचना नगर्ने, पुस्तक नपढ्ने, अन्य समयमा वहस विमर्शमा सहभागी नहुने र प्रायः बारम्बार आइरहने स्रोता/दर्शकले नचिनेका राजनीतिक, सामाजिक, आर्थिक क्षेत्रका व्यक्तित्वहरूले आसन जमाउन पुग्छन् । यसलाई खराबै नठाने पनि चिनेका साथीभाइ भेटेकाले आज प्रज्ञामा छिरौं न त भनेर छिरेका व्यक्तित्वको ‘सामाजिक हैसियत’ का कारण वा कार्यक्रममा लगानीका कारण वा आयोजकको व्यक्तिगत सम्बन्ध आदिका कारण उनीहरूले यो स्थान प्राप्त गर्दछन् ।

३. साहित्यिक कार्यक्रमहरूको समयः
यो सबैभन्दा ज्वलन्त विषयको रूपमा रहिरहेको छ । प्रायः समयका सम्बन्धमा सिर्जित समस्या यस्ता हुन्छन्- ११:०० बजेको कार्यक्रम न्यून उपस्थितिका कारण १२:०० बजे पुग्छ । प्रमुख अतिथीको व्यस्तता । कुनै कार्यक्रममा प्रमुख अतिथीको बेफुर्सतीका कारण अब १ घण्टामा आउन भ्याउँछु भनेपछि कुर्नैपर्ने ठान्ने आयोजकको बाध्यता । दर्शक/स्रोताको न्यून उपस्थिति । सर्जक, समालोचक, बहसकर्ताको ढिलाई ।
कार्यक्रम १ घण्टा ढिलो भएपछि सकिँदा पनि १ घण्टा पर जाने नै भयो । त्यहीमाथि बीचमा गैरसाहित्यिक व्यक्तित्वको अग्रभागमा बसाइका कारण बोल्नका लागि समय दिनैपर्ने नत्र भविष्यमा समस्या पर्ने आयोजकको निर्णयले साहित्यिक चर्चाभन्दा बाहिरका विषयवस्तुको प्रवेश, व्याख्या, विश्लेषण, मूल्याङ्कनले कार्यक्रमलाई अझै लम्ब्याउने हुन्छ । १ घण्टामा सकिने कार्यक्रमलाई पूरा दिन नै खर्चिनुपर्ने हुँदा सबैजसो आयोजकका कार्यक्रममा सहभागी हुँदा स्रोता/पाठकले पटक पटक सोच्नैपर्ने भैसकेको छ ।

३. आसन ग्रहणको लहरः
अधिकांश औपचारिक कार्यक्रमहरूमा आसन ग्रहण बडो उदेक लाग्दो देखिन्छ । मञ्चमा स्थान नभरिँदासम्म मात्रै होइन, उपस्थित सबैलाई पालोपालो नाम र पदको व्याख्या गर्दै उठबस गराइने यस्ता परम्परामा तुरून्त सुधार गर्नु आवश्यक छ । कुनै कुनै कार्यक्रममा त कार्यक्रमको समापन हुनुअघि टुप्लुक्क पुग्ने व्यक्तिलाई पनि आसन ग्रहण गराइन्छ जो बस्दा नबस्दै कार्यक्रम समापन हुनजान्छ । कतिपय कार्यक्रममा आसन ग्रहणमा ‘प्रोटोकल’ नमिलेका कारण अथितीहरू कार्यक्रम हलबाटै कुलेलम ठोकेका उदाहरण पनि थुप्रै रहेका छन् । अग्रभागमा आसन ग्रहण गर्नका लागि ‘बार्गेनिङ’ गर्नेहरू जुनसुकै कार्यक्रममा पाइन्छन् । यसरी पछाडी बसेर सुन्नै नसक्ने, अगाडि बसेका देख्नै नसक्ने, यस सम्बन्धमा युवाहरूको सुधारका सक्रियतालाई आसन ग्रहणले ढपक्कै ढाकेर कार्यक्रमको औचित्यलाई तोडमोड गर्ने ‘स्वघोषित’ वरिष्ठहरूको संख्या दिनानुदिन बढ्दै गइरहेकै छ ।

४. कार्यक्रममा नवसर्जक तथा नवस्रोताको अभाव:
कार्यक्रममा नवस्रोता उपस्थित हुन सकिरहेको छैन । निश्चित सूचीका व्यक्तिबाहेक अन्य सर्जक/स्रोताहरू उपस्थित नहुनु साहित्यको विकासका लागि सबैभन्दा घातक हुनसक्छ । युवा पुस्ताको सोच वैदेशिक रोजगारी हुनु, उनीहरूको विषयले रचनामा प्रवेश नपाउनु, विज्ञान, खोजअनुसन्धान, नवीनतम विषयवस्तुमा आधारित रचना सिर्जना नहुनु, कार्यक्रम अनिश्चितरूपले लम्बिँदै जानु आदि यसका कारण हुन सक्छन् । अझ मूलभुत कारणचाहीँ नवसर्जक, नवस्रोतामाझ पुगेर कार्यक्रम नहुनु र कार्यक्रमलाई पार्टी प्यालेसको बन्दकोठाभित्र केन्द्रित गर्नु हुनसक्छ । साहित्य सिर्जनामा सबैभन्दा बढी देखिएको पेशाधारी शिक्षक हुन् । त्यसमध्ये पनि अधिकांश शिक्षकहरू अन्य पुस्तक अध्ययन नगर्ने, दोस्रो पुस्ताका लागि त्यो सुविधा प्रदान नगर्ने, हौसला नदिने, साहित्य सिर्जना तथा रचना वाचन र श्रवणमा निजामती र व्यापारीहरूको न्युन उपस्थिति, उपलब्धिमूलक हो भन्ने नसोच्ने अभिभावकहरूका कारण पनि यो क्षेत्रमा स्रोताको अभाव हुँदै गइरहेको छ । सर्जकको परिवारको दोस्रो व्यक्ति जो साहित्य क्षेत्रबाट टाढा छ भने उसले यस्ता कार्यक्रममा उपस्थित जनाउन झिँझो मान्ने गरेको छ । साहित्य कसरी निरस हुँदै गइरहेको छ भन्ने विषयमा खोजी हुनुपर्छ कि पर्दैन ? नवसर्जक उत्पादनमा संस्थाको वार्षिक क्यालेण्डरमा प्राथमिकता पाएको छ वा छैन भन्ने विषयमा लगानीकर्ताहरूले पनि ध्यान दिन आवश्यक भैसकेको छ ।

५. लाखौंको कार्यक्रम र पुरस्कार, सहभागिता न्यूनः
सरकारीदेखि गैरसरकारी संस्थाहरूले विभिन्न ढङ्गले साहित्यिक कार्यक्रमहरूलाई जोड दिइरहेका छन् । तथापि कतिपय स्थानीय तहले यस क्षेत्रको बजेटलाई अन्यत्र स्थानान्तरण गरिएको पाइन्छ । विद्यार्थीकेन्द्रित वा समुदायकेन्द्रित कार्यक्रमहरूमा कार्यशाला सञ्चालनविना प्रतियोगिता गर्दा बजेटको दुरूपयोग मात्रै भैरहेको पाइन्छ । आयोजना गरिएका कार्यक्रमको खुला हिसाबले बहस हुन नसक्नुले पनि भविष्यमा निस्प्रभावी कार्यक्रमहरू पटक पटक दोहरिरहेको पाइन्छ ।

६. पुस्तक प्रकाशनको बाढीः
मार्केटिङ क्षमता भएका प्रकाशन गृहले अब्बल ठानिएका सर्जकहरूमार्फत् ‘उत्कृष्ट’ पुस्तकका रूपमा बजारमा ल्याएका पुस्तकहरू अत्यधिक बिक्री भएको पाइएको छ । कतिपय स्थानीय क्षेत्रमा सर्जकहरूले लेखेका पुस्तकहरू त्यही क्षेत्रका सर्जकले नपढ्ने वा निषेध गर्ने वा त्यसबारे अनलाइन तथा पत्रपत्रिकामा कुनै लेख नलेख्ने, जानकारीहरू शेयर नगर्ने पाइन्छ । यसले गर्दा पनि पाठकमाझ पुस्तक पुग्न सकिरहेको छैन । यतिमात्रै नभएर चलेका प्रकाशन गृहमा छाप्न ‘हैसियत नपुगेका’ वा आफ्नै श्रीमान/श्रीमती, छोरा/छोरीले प्रकाशक भएर छापेका पुस्तक वितरकको अभावमा सर्जकको वरिपरिभन्दा अन्यत्र पुग्न सकिरहेको छैन । यसरी पुस्तक प्रकाशन वर्षामा च्याउ उम्रिएझैं भएता पनि त्यसको टिकाउ, बिक्री वितरण, चर्चा परिचर्चा कम भैरहेको छ । राम्रा विषयवस्तु समावेश भएका पुस्तकको बिक्री न्यून भएमा अर्को पुस्तक निकाल्न धौ धौ पर्ने गरेका कुरा कुनै नौलो पनि त होइन नि । स्थानीय क्षेत्रमा प्रकाशन हुने पुस्तकमा स्थानीय तहको प्रभाव देखिनु अझ उपयुक्त हुनसक्छ । यसबाट धेरैभन्दा धेरै रचनाहरू सिर्जना हुन सक्छन् ।

७. पुरस्कार साटफेरको रोगः
कतिपय संस्था तथा जिल्लामा एकले अर्कोलाई पालैपालो पुरस्कार साटफेर गर्ने समस्याहरू देखिन्छन् । कहिले लगानीकर्ता भएकाले सम्मान त कहिले पुस्तक बिक्रीका लागि वातावरण मिलाइदिएकाले पुरस्कृत गर्ने यस्ता परम्पराले साहित्यमा पनि ‘नेपोटिजम्’ (आफन्तवाद) छैन भन्न सक्ने ठाउँ देखिँदैन । प्रकाशन गृहले प्रभाव पारेका हल्लाहरू पनि गाइगुइँ नआएका होइनन् । प्रतियोगितामा सिर्जनामाथि भन्दा सर्जकको ‘प्रभाव’ माथि ध्यान दिन लागियो भने सिर्जनालाई अन्याय हुन जान्छ ।

८. रचना/पुस्तक चर्चाः
आफूलाई मन परेका वा नपरेका पुस्तक अरूलाई मन पर्ने वा नपर्ने भन्ने सोचले समीक्षकले एकपाखे विचार राखिदिनाले पुस्तक विमोचनकै दिनमा पुस्तक कति बिक्री हुने वा नहुने भन्ने देखिन्छ । यसरी पुस्तक विमोचन, बहस, चर्चामा समीक्षक कुन खेमाका भन्ने कुराले समेत अर्थ राख्ने गरेको पाइन्छ । अति सामान्य पुस्तकलाई पनि विशिष्टको तक्मा भिराइदिनाले ती समीक्षक, समालोचक, बहसकर्ताले अर्को पटक सिफारिस गरेका पुस्तक अध्ययनमा घटबढ हुने सम्भावना जहिल्यै रहन्छ । के कुनै नवसर्जकले वाचन गरेको रचनालाई ‘अग्रज’ हरूले सुझाव दिने, सुधारी दिने वा सम्पादन गर्नुपर्छ भन्ने सल्लाह दिएका छन् ? वा दिएका सल्लाहलाई ती सर्जकले ग्रहण गर्न सकेका छन् ? आफ्नो सन्तान जस्तै भए पनि आफैंलाई राम्रो लाग्छ भनेझैं आफ्नो सिर्जनालाई अरूले मूल्याङ्कन र सुधार गरिदिउन् भन्ने नठान्ने हो भने कमसल सिर्जनाहरूले प्रज्ञामा स्थान पाइरहनेछ ।

९. कहिले बदलिने ?

वाचन कार्यक्रममा आयोजकले अग्रिम रूपमा सिर्जना लिएर त्यसलाई स्तरीकृत गरी वाचन गर्ने अनुमति दिन सक्छ कि सक्दैन ? वाचन केवल वाचनका लागि मात्रै कार्यक्रमको झारा टार्ने रूपमा निरन्तरता हो वा सिर्जना सुधारको लागि हो भन्ने कुरामा ध्यान दिन सकेको छ कि छैन ? कार्यक्रममा उपस्थित सबैका रचना सोध्दै गर्दा १ घण्टामा सक्ने अनुमान गरिएको कार्यक्रम धेरै रचनाका कारण ३ घण्टा पुग्यो भने त्यसको भर्पाइ आयोजकले गर्ने क्षमता राख्छ कि राख्दैन ? खाना खाएपछि सुरू भएको कार्यक्रम खाजा खाने समय सकिएर बेलुकी नै भइसक्दा खाजा, पानीको व्यवस्था गर्न सक्छ कि सक्दैन ? के सर्जकले भोकभोकै रचना वाचन गरिदिनुपर्छ ? संस्था खुलेको कति वर्षसम्म उसले यसो गरिरहनु पर्छ ? सुधारका लागि के के गर्दैछ ? के अर्को १/२/३ वर्षपछि रचना वाचनबापत पारिश्रमिक उपलब्ध गराउने हैसियत बनाउँदै गएको छ ?

निश्कर्ष
कतिपय संस्था पुरस्कार दिनका लागि मात्रै स्थापना भएका छन् । विभिन्न व्यक्ती, स्थानीय तह, व्यापारिक संस्थामार्फत् प्राप्त रकमले पुरस्कार दिने यस्ता संस्थाहरूले स्थानीय क्षेत्रका सर्जकहरूलाई प्रोत्साहन गर्न सके स्थानीय स्तरमा स्रोता, पाठक र सर्जकहरूको उल्लेख्य सहभागिता गराउन सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ । यस्ता संस्थाहरूले उत्कृष्ट कृतिका रूपमा पुरस्कृत गर्दैगर्दा उत्कृष्ठ पाठक पनि पुरस्कृत हुन सक्छ कि सक्दैन भन्नेमा ध्यान पुर्‍याउनुपर्ने हुन्छ । पुस्तकको पाठक संस्थाद्वारा गरिने कार्यक्रममा उपस्थित नभएर अन्यत्र पनि छ भन्ने कुरालाई मनन गर्न सक्यो भने ती पाठकलाई यस्ता संस्थामा पहुँच पुर्‍याउन योजना बनाउनुपर्ने हुन्छ ।
सर्जकहरूले पनि आफ्नो सिर्जना सुनाइसकेपछि अरूका सिर्जना सुन्न सक्ने क्षमताको विकास गर्नुपर्ने हुन्छ । आफ्नो पालो आइसकेपछि कुलेलम ठोकेर अरूका सिर्जनामाथि प्रश्न गर्ने ल्याकत राख्ने कि नराख्ने भन्ने विषय पनि छन् । पाएका सुझावलाई ग्रहण गर्ने वा मनगढन्ते सोचले आफूलाई वरिष्ठ मानिराख्ने ? सर्जकहरू सुध्रिए भने आयोजक आफैं सुध्रनेछन् ।
तोकिएको समयमैं कार्यक्रम सञ्चालन, आसन ग्रहणलाई घटाउने, स्तरीय रचना मात्र वाचन गर्ने, अनावश्यक मन्तव्य, भाषणलाई बन्द गर्ने र समय तोकेर कार्यक्रम टुङ्ग्याउने गर्न सके स्रोताहरू अवश्यक बढ्नेछ्न् । अहिलेको व्यस्त दैनिकी भएको समूहलाई दिनभर कुर्सीमा बाँधेर भोकभोकै प्रज्ञामा थुनेर कार्यक्रम गर्ने गरिन्थ्यो भनेर पछिल्ला पुस्तालाई इतिहास सुनाउने दिन नआउनेगरी कार्यक्रम गरौं । आर्थिक, भौतिक सहयोग गर्ने व्यक्ति/संस्थाहरूले पनि सहयोग पाउने संस्थाका कार्यक्रमबारे समीक्षा गर्ने, भावी रणनीति जान्ने, प्रतिवेदन माग गर्ने, नतिजा तथा प्रभाव मूल्याङ्कन गर्ने गर्नुपर्दछ । सहयोगी, आयोजक संस्था र साहित्य सर्जकहरूलाई शुभकामना ।

गाइने
०००

हेटौंडामा गोविन्द गिरी ‘प्रेरणा’ का कविताहरू सुनिए

कार्तिक ३०, बिहीबार
मकवानपुर । साहित्य सङ्गम मकवानपुरले साहित्यकार गोविन्द गिरी प्रेरणाका एकल कविता वाचन सम्पन्न गरेको छ ।
मकवानपुरको टेकर, सिस्नेरीमा जन्मिई हेटौंडामा स्कुले जीवन बिताउनु भएका उहाँ काठमाडौं हुँदै हाल अमेरिका निवासी हुनुहुन्छ ।
साँढे चार दशकदेखि प्रकाशनका काम गर्दै आइरहनु भएका बहुविधाका स्रष्टा गिरीका आधा दर्जन बढी कथा सङ्ग्रह, उत्तिकै संख्यामा उपन्यास र कविता संग्रह प्रकाशन भैसकेको छ ।
स्वागतका क्रममा साहित्य सङ्गम मकवानपुरका उपाध्यक्ष सानु खनालले उहाँको व्यक्तिगत परिचयका साथै समालोचना, अन्तर्वार्ता, अनुवाद, नियात्रा तथा हास्यव्यङ्ग्य संग्रहहरू समेत प्रकाशन गर्नु भएका गिरीले मैनाली कथा पुरस्कार, वासुशशी स्मृति पुरस्कार, नारायणी वाङ्गमय पुरस्कार आदि प्राप्त गरिसक्नु भएको बताउनु भयो ।
यस्तै सङ्गम अध्यक्ष डीबी बर्तौलाले साहित्यकार गिरीलाई मकवानपुरमा एकल वाचनका क्रममा सुन्न पाउँदा गर्व लागेको बताउनु भयो ।


साहित्यकार गिरीले हेटौंडा छँदै सिर्जनाका बीउ टुसाएको र काठमाडौंमा धेरै रचनाहरू सिर्जनाको अवसर मिलेको बताउनु भयो । कार्यक्रममा उहाँले विभिन्न देशमा रहँदा लेखिएका आमा, छुटेको रेल, फिर्ति टिकटविना लगायतका १० कविताहरू वाचन गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले विभिन्न देशमा रहेर कविता लेखिरहनु भएका गिरीले नेपाली साहित्यका लागि महत्वपूर्ण योगदान दिनु भएको बताउनु भयो ।
कार्यक्रममा साहित्य सर्जकहरू तथा साहित्यसेवीहरू प्रशन्ना चौलागाईँ, रियाज कार्की राजकुमार लामिछाने, देवराज खरेल, सुवास सजल, देव दुलाल, मुक्तिगोविन्द वैद्य, किशन पौडेल, रमेशमोहन अधिकारी, समर्पण न्यौपाने, दीपक गौतम लगायतको उपस्थिति रहेको थियो ।
साहित्य सङ्गम तथा सिस्नुपानी मकवानपुरको संयुक्त भवनमा सञ्चालित कार्यक्रमलाई संस्थाका सहसचिव भवानी तिमल्सिनाले सहजीकरण गर्नु भएको हो ।

नवसर्जक साहित्य चौतारीद्वारा देउसीभैलो कार्यक्रम

कार्तिक ३०, बिहीबार मकवानपुर ।
नवसर्जक साहित्य चौतारी नेपालद्वारा हेटौंडामा विभिन्न साहित्य सर्जक तथा साहित्यानुरागीहरूकहाँ देउसीभैलो कार्यक्रम गरेको छ ।
चौतारीका अध्यक्ष प्रशन्ना चौलागाईँले यस कार्यक्रममार्फत् सङ्कलित रकम नवसर्जक साहित्य चौतारीको अक्षयकोष निर्माणमा उपयोग गरिने लक्ष्यस्वरूप यस कार्यक्रम गरिएको बताउनुभयो ।
यस्तै चौतारीका महासचिव समर्पण न्यौपानेले देउसी भैलो कार्यक्रममा विभिन्न संस्थामा आबद्ध भएका तथा नभएका साहित्य सर्जकहरूको निरन्तर सहयोग रहिरहेको जानकारी दिनुभयो ।
मंगलबार पहिलोदिन साहित्यसेवी मुक्तिगोविन्द वैद्य र विनोद सुवेदीको घरमा देउसी भैलो खेलेको चौतारीले दोस्रो दिन बैङ्कर तथा साहित्यसेवी नुरप्रसाद गौतम, बालमैत्री होस्टेल र जनक मार्ग टोलमा देउसी सम्पन्न गरेको थियो ।
साहित्य सर्जकहरूको साथमा २ दिनसम्म देउसी भैलो खेलिएको चौतारीका संरक्षक दीपक गौतमले बताउनुभयो । देउसी भैलोबाट कूल ३२ हजार रुपैयाँ सङ्कलन गरिएको र अन्य दाताहरूमार्फत् रकम सङ्कलन गरी अक्षयकोष निर्माण गर्ने तथा सोमार्फत् चौतारीका नियमित कार्यक्रम सञ्चालन, पुस्तक प्रकाशन, पुस्तक विमोचन, पुरस्कार वितरणमा सघाउ पुग्ने संस्थाको अपेक्षा रहेको उहाँले जानकारी दिनुभयो ।

बालबालिकाका चिन्तक जगदम्बाश्री शान्तदास मानन्धरको निधन

बालसाहित्य लेखनको एउटा ऐतिहासिक व्यक्तित्वको अन्त्य

कार्तिक २८, मकवानपुर ।

एउटा समय थियो, जतिखेर शान्तदास मानन्धरका बुवाले अनुनय गरेर छोरालाई स्कुल भर्ना गर्न पाउनु भएको थियो । उनै शान्तदास मानन्धरको ९० वर्षको उमेरमा कार्तिक २८ गते निधन भएको छ ।

पारिजात बाल साहित्य सम्मान २०७०, देवकोटा लु–सुन प्रज्ञा पुरस्कार २०७४, जगदम्बाश्री सम्मान २०७५, विकल वाङ्मय साहित्य पुरस्कार २०७७, साहित्य-सृष्टि बालवाङ्मय साधना सम्मान-२०७९ लगायत धेरै सम्मान तथा पुरस्कारले सम्मानित उहाँले बालकोसेली, बालपोष, मचाक्यब नामका बालसाहित्यिक पत्रिका सम्पादन तथा प्रकाशन गर्नुभएको थियो । ४ दशक त उहाँले बालकोसेली पत्रिका नै प्रकाशन गर्नुभएको थियो ।

६ दशकभन्दा लामो समयसम्म बालसाहित्य लेखनमा आफ्नो जीवन समर्पण गर्नु भएका उहाँले राणाकालदेखि नै बालबालिकाहरूका लागि कथा, कविता, गीत, चित्र आदि बनाउँदै त्यसलाई पुस्तकाकार गर्दै आउनु भएको थियो ।

पाठ्यपुस्तक र बालसाहित्यबीच फरक छ भनेर बुझाउँदै आउनु भएका उहाँले शिक्षक र अभिभावकले समेत यो बुझ्न जरूरी छ भन्ने कुरा जीवनभर सिकाउँदै आउनुभयो ।

राणाकालदेखि प्रजातन्त्रप्राप्तिपश्चात् समेत बालसाहित्यका रूपमा पञ्चतन्त्र, भजनहरू, पाठ्यपुस्तकमा उपदेशका कुराहरू मात्र उल्लेख गरिएकामा उहाँलाई त्यसले चित्त नबुझी बालबालिकाकै भाषामा लेखन गर्नुपर्ने उत्प्रेरणाकासाथ यस क्षेत्रमा लाग्नु भएको हो ।

चिनियाँ लेखक लु सुनका कथाहरू पहिलो पटक नेपालीमा अनुवाद गर्नु भएका उहाँले ७० बढी पुस्तक लेखन र १५० बढी बालसाहित्यका पुस्तक सम्पादन गर्नु भएको छ । अनुवाद साहित्यमार्फत् अन्य भाषाका रचनालाई समेत नेपालीमा प्रकाशन गराउनु भएका उहाँले बालबालिकाका लागि यथेष्ट रचनाहरू दिएर विदा हुनु भएको छ ।

नवसाहित्य अनलाइन परिवार उहाँको निधनप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछौं ।