Home Blog Page 42

नवसर्जक चौतारी नेपालले पायो आधिकारिकता

पौष २३, सोमबार मकवानपुर । बालबालिकालाई सिर्जनशील बनाउने उद्देश्यले स्थापित बालबालिकाहरूद्वारा नेतृत्व गरिएको नवसर्जक साहित्य चौतारी नेपाल विधिवत् रूपमा जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा दर्ता भएको छ । पौष २३ गते संस्था दर्ता ऐन-२०३४ अनुसार दर्ता भएको यो संस्थाको सुरूवात २०७७ जेठ १ बाट भएको थियो संस्थाका संरक्षक तथा परिकल्पनाकार दीपक गौतमले जानकारी दिनुभयो । ‘नवसर्जककेन्द्रित अनलाइन साहित्यिक प्रशिक्षण अभियान’ बाट सुरू भएको यस संस्था २०७७ पुस ११ गते पहिलो तदर्थ समिति गठन गर्दै ३१ सदस्यीय केन्द्रीय समिति, सातै प्रदेशमा प्रदेश समिति, काठमाडौँ उपत्यका समिति एवम् विदेश विभागसमेत गठन भइसकेको छ । 

गठनपश्चात् १५० भन्दा बढी अनलाइन कार्यक्रम, राष्ट्रिय बालसाहित्य उत्सव, प्रादेशिक बालसाहित्य उत्सव, केन्द्रीय तथा प्रादेशिक कार्यालय स्थापना लगायतका गतिविधिहरू सञ्चालन भइसकेको छ । आधा दर्जन नवसर्जकका कृति प्रकाशन गराइसकेको नव सर्जक नेपालमा रु. ५० हजार नगदसहितको ‘विष्णुकुमारी रिजाल स्मृति पुरस्कार-२०७९’ प्राप्त गर्दै बालसाहित्यको क्षेत्रमा क्रियाशील संस्थाले मासिक रचना वाचन, विमर्श श्रृङ्खला, पुस्तक विमोचन, कार्यशाला लगायतका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आइरहेको छ । नवसर्जक चौतारी नेपालका केन्द्रिय महासचिव समर्पण न्यौपाने, वरीष्ठ उपाध्यक्ष विभूति अधिकारी, आँचल कुसुम अधिकारी लगायतका श्रष्टाहरूले पुस्तक रचना गरिसक्नु भएको केन्द्रिय अध्यक्ष प्रशन्ना चौलागाईँले जानकारी दिनुभयो ।

मुक्तक मञ्च मकवानपुरले ३ स्रष्टालाई सम्मान गर्ने

पौष २१ आइतबार मकवानपुर ।
मुक्तक मञ्च मकवानपुरको बैठकले ३ मुक्तककारहरूलाई सम्मान गर्ने घोषणा गरेको छ । मञ्चको गत शुक्रबार बसेको बैठकले मुक्तककार दीपक समीप, हरिकृष्ण काफ्ले र बिर्खे अन्जानलाई सम्मान गरिने अध्यक्ष डीबी बर्तौलाले बताउनुभयो । अध्यक्ष डिबी बर्तौलाद्वारा आफ्ना पिताको स्मृतिमा स्थापित ‘बहादुरानन्द स्मृति मुक्तक सम्मान २०८०’ बाट पोखराका मुक्तककार दीपक समिपलाई सम्मानित गरिनेछ । उक्त सम्मानको राशि रू ७ हजार ७ सय ७७ रहेको छ भने गत वर्ष यस सम्मानबाट सिन्धुलीका मुक्तककार लोकेन्द्र डहरे सम्मानित हुनुभ‌एको थियो । मुक्तक मञ्च मकवानपुरका उपाध्यक्ष किशन पौडेलद्वारा आफ्ना बाबुको स्मृतिमा स्थापित ‘तारा स्मृति मुक्तक सम्मान २०८०’ मुक्तककार हरिकृष्ण काफ्लेलाई सम्मानित गरिनेछ । उक्त सम्मानको राशि रू ७ हजार ५ सय रहेको छ । गत वर्ष सो सम्मानबाट बाट देवराज खरेल सम्मानित हुनुभ‌एको थियो । 

प्रलेस मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीद्वारा आफ्नी हजुर‌आमाको स्मृतिमा “इन्दिरादेवी स्मृति मुक्तक सम्मान २०८०” बाट थाहा नगरपालिकाका मुक्तककार बिर्खे अञ्जानलाई ‘इन्दिरादेवी स्मृति मुक्तक सम्मान २०८०’प्रदान गरिनेछ । सो सम्मानको राशी रु ५ हजार ५ सय ५५ रहेको छ। गत वर्ष माध्यमिक स्तरीय मुक्तक प्रतियोगिता गरी विजेता समर्पण न्यौपानेलाई सो सम्मान समर्पण गरिएको थियो । सम्पूर्ण सम्मान अधिवेशनको दिन माघ २७ गते प्रदान गरिने छ। यसैगरी पौष २८ गते स्रष्टाद्वय दीपक गौतम र किशन पौडेलका मुक्तक वाचनका साथै मुक्तक मञ्चका आजीवन सदस्यहरूलाई प्रमाणपत्र  वितरण समेत गरिने अध्यक्ष बर्तौलाले जानकारी दिनुभयो । मञ्चले सदस्यता नवीकरण तथा आजीवन र साधारण सदस्यताका लागि सूचनामार्फत् आह्वान गरेको छ ।

कविता: परदेशीको पीडा ।। ईभानी रानाभाट

न दसैं न तिहार, न चाड न पर्व
हेरेरै तस्बिर भुलाउनु छ मर्म
न आफन्त छन्, न छन् साथीभाइ
बाँच्नु छ घरको याद सजाई ।

दुख्ने यो जीउ टाउकोमा ऋन
फेर्नु छ घरको चुहिने टिन
न सुरक्षा छ, न छ यहाँ माया
याद आउँछ पछ्याउने आमाको छायाँ ।

मुटुको धड्कन शरीरको सास
धान्नु छ मैले परिवारको आश
मन र शरीरको दुःखको झोला
आफूले लुकाई कतिसम्म होला ?

आँखाको आँशु बगाउनु कि रोक्नु ?
एक्लो यो मन कति थोक बोक्नु ?
देशको याद नआउने त होइन
कतै म विदेशमैँ अस्ताउने त छैन ?

फर्केर आउन त मन छ नि आमा
रमाउन आफ्नै डाँडा पाखामा
स्वदेश नै स्वर्ग भनेरै रमाई
कसरी छोड्नु छाक टार्ने कमाई ?

फर्कौँला आमा केही वर्ष पख्नु
पात्रोमा दिन कोरेर राख्नु
साथी सङ्‍गी, दाजु र भाइ
रमाउँला आफ्नै देशमा आई ।
(ब्रह्मदिक एकेडेमी, हेटौंडा-४)

पत्रकारद्वय घिमिरे र श्रेष्ठलाई प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार

पुस २० शुक्रबार मकवानपुर — नेपाल प्रज्ञा प्रतिष्ठानले वरिष्ठ साहित्यिक पत्रकारद्वय रोचक घिमिरे र रुक्मिनी श्रेष्ठलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । ‘साहित्यिक पत्रकारिता’ क्षेत्रमा योगदान पुर्‍याएको भन्दै प्रतिष्ठानले उहाँहरूलाई पुरस्कारसहित सम्मान गर्न लागेको हो । कुलपति भूपाल राईको अध्यक्षतामा बसेको बैठकले ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’ वरिष्ठ साहित्यकार रोचक घिमिरे र ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ बाट वरिष्ठ साहित्यिक पत्रकार रुक्मिनी श्रेष्ठलाई सम्मान गर्ने निर्णय भएको हो । ५० हजार रुपैयाँ राशि भएको दुवै पुरस्कार आगामी पुस २९ मा नेपाल प्रज्ञा-प्रतिष्ठानमा आयोजना गरिने एक समारोहबीच प्रदान गरिनेछ । ७ दशकदेखि साहित्यिक पत्रकारितामा निरन्तर योगदान पुर्‍याउँदै आएका घिमिरे रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ भने उहाँले २०१८ साल जेष्ठ २ गतेबाट रचना साहित्यिक द्वैमासिक पत्रिकाको सम्पादक र प्रकाशक रही साहित्यिक पत्रकारिता सुरू गर्नु भएको हो । त्यस्तै, पाँच दशकदेखि साहित्यिक पत्रकारितामा समर्पित श्रेष्ठ नेपाल भाषामा २००८ वैशाखदेखि प्रकाशित हुँदै आएको ‘थौंकन्हे’ साहित्यिक मासिकमा २०४५ सालमा आबद्ध भइ सम्पादक तथा प्रकाशक रहँदै आउनु भएको छ ।

महिलाहरूको आत्मविश्वास बढाउन आँचल क्रियाशील छः घिमिरे

पौष २१, शनिबार मकवानपुर । आँचल साहित्य कला पुञ्ज मकवानपुरको नियमित मासिक भेटघाट एवम् गजलकार/ मुक्तककार मिथिला अधिकारीको रचनावाचन तथा विमर्श कार्यक्रम सम्पन्न भएको छ । संस्थाले हरेक महिनाको तेस्रो शनिबार मासिक भेटघाटको कार्यक्रम गर्ने गरेको अध्यक्ष भावना सापकोटाले बताउनुभयो । आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटाको अध्यक्षता तथा सल्लाहकार तथा संस्थापक पूर्णकला घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गजलकार तथा मुक्तककार मिथिला अधिकारीले आफ्नो एक दर्जन मुक्तक तथा पाँचवटा गजल वाचन गर्नुभयो । साथै मुक्तककार भवानी तिमल्सिना न्यौपानेले वाचित मुक्तकमाथि टिप्पणी गर्दै भन्नुभयो- “छोटो समयमै साहित्यका विभिन्न विधामा कलम चलाउन सफल मिथिला अधिकारीका रचनाहरू सुन्दर, सरल भाषाशैलीको प्रयोग गरिएको तथा सम्प्रेष्य हुनुका साथै समसामयिक विषयवस्तु तथा समस्याहरूलाई बडो रोचक ढङ्गबाट उठाई त्यसको बैठान गर्न सक्ने खालका हुन्छन् ।” आँचल स्थापनाको मूख्य उद्देश्य भनेकै हाम्रा समाजमा लुकेर रहेका प्रतिभाहरू प्रस्फुटनका लागि मञ्च प्रदान गर्नु तथा महिलाहरूको आत्मविश्वास बढाई आफ्नो मनमा लागेका कुराहरू सहजै अरुका अगाडि प्रस्तुत गर्न सक्ने बनाउनु भएकाले कार्यक्रम ओैचित्यपुर्ण भएको बताउँदै कार्यक्रमका प्रमुख अथिति पूर्णकला घिमिरेले आगमी दिनहरूमा पनि आँचलले यस्ता कार्यक्रमहरू गर्नुपर्ने बताउनु भयो । अतिथिहरूलाई कार्यसमिति सदस्य एलिजा पुडासैनीले स्वागत गर्नुभएको थियो भने कार्यक्रममा एस.आर. मञ्जरी, दिनेश शर्मा, शोभा शाह थापा, डिबी बर्तौला, सानु खनाल, बैकुण्ठ लामिछाने, अनु रोक्का, छवि अनित्य, मसान उपासकलगायतका साहित्य सर्जकहरूले रचना वाचन गर्नुभयो । साहित्य सङ्‍गम मकवानपुर तथा सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त हलमा सम्पन्न कार्यक्रमलाई संस्थाकी कार्यसमिति सदस्य रजनी पौडेलले सहजीकरण गर्नु भएको हो ।

प्रा. डा. रेग्मीको ‘नेपाली सङ्‍गीत दरबार’ लोकार्पित

पौष २१, शनिबार
मकवानपुर ।
प्रा.डा. ध्रुवेशचन्द्र रेग्मीको नवीन पुस्तक ‘Music Myth & Melody (A brief history of Nepali Music’ र ‘नेपाली सङ्‍गीत दरबार (आदिकालदेखि आधुनिककालसम्म)’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ ।
कार्यक्रममा नेपाली लोक र शास्त्रीय सङ्‍गीत समूह ‘सुकर्म’ को साङ्गीतिक प्रस्तुतिमा यतिराज अधिकारी, प्रिन्स नेपाली, उमेश पन्डित र जगन्नाथ धौगोडा सहभागी रहनु भएको थियो ।
त्रिभुवन विश्व विद्यालय ललित कला प्रमुखका रूपमा कार्यरत लेखक रेग्मीको पुस्तक लोकार्पण कार्यक्रममा वक्ता प्रा.डा. अभि सुवेदी, प्रा. दीपक जङ्गम, प्रा.डा. वीणा पौड्याल र डा. लोचन रिजालले मन्तव्य राख्नु भएको थियो ।
पुस्तकका सम्बन्धमा लेखक रेग्मी भन्नुहुन्छ-

“लगभग दुई दशकको निरन्तर प्रयास र प्रयत्‍नपश्चात् नेपाली सङ्‍गीतको इतिहाससम्बन्धी अङ्ग्रेजी र नेपाली भाषामा प्रकाशित अनुसन्धानमूलक दुई वटा कृति नै ‘नेपाली सङ्‍गीत दरबार’ र ‘Music, Myth and Melody’ हो ।

लेखकका यसअघिका पुस्तकहरू ‘Music in Nepal During Rana Period’, ‘Glimpses of Nepali Music’ र ‘विश्वका केही प्राचीन सङ्‍गीत पद्धति’ पुस्तक प्रकाशन भइसकेका छन् । हाल प्रकाशित पुस्तक ‘नेपाली संगीत दरबार’ २६८ पेजमाथि रहेको छ । ‘Music, Myth and Melody’ को मूल्य ९ सय ९९ रहेको छ भने यी पुस्तकमा मूख्य विषयवस्तुको रूपमा नेपाली सङ्गीतको इतिहास रहेको लेखकले जानकारी दिनु भएको छ ।
एक शास्त्रीय सङ्‍गीतज्ञ, वरिष्ठ सितारवादक प्रा.डा. ध्रुवेशचन्द्र रेग्मीद्वारा लिखित नेपालको सङ्गीतकलाको ऐतिहासिक तथ्यहरु तथा सङ्गीतको ऐतिहासिकदेखि आधुनिक इतिहासका विषयवस्तु समावेश यस पुस्तकलाई बुक हिल पब्लिकेसनले प्रकाशन गरेको हो ।

५१ हजार राशिको जगदीश घिमिरे साहित्य पुरस्कारबाट माधव काफ्ले पुरस्कृत

पुस २०, शुक्रबार
मकवानपुर । लेखक माधव काफ्ले जगदीश घिमिरे साहित्य पुरस्कार २०८० बाट पुरस्कृत हुनु भएको छ । रामेछापको मन्थलीमा आयोजित समारोहमा वरिष्ठ स्रष्टा तुलसी दिवसको प्रमुख आतिथ्यमा रहेको कार्यक्रममा निबन्धकार काफ्लेले ५१ हजार राशिको जगदीश घिमिरे पुरस्कार प्राप्त गर्नु भएको हो । जगदीश घिमिरे प्रतिष्ठानले घिमिरेको १० औं स्मृति दिवसको अवसरमा प्रदान गरेको हो । यसअघि मनु ब्राजाकी, रोचक घिमिरे, डा. सन्दुक रुइत र ध्रुव सापकोटा उक्त पुरस्कारबाट पुरस्कृत भइ सक्नु भएको छ । यसै महिनामा काफ्लेले १० हजार राशिको रमेश विकल सिर्जना पुरस्कार समेत प्राप्त गर्नु भएको थियो ।
रामेछापको मन्थलीमा विसं. २००२ सालामा जन्मिनु भएका स्वर्गीय घिमिरे साविति, लिलाम, अन्तर्मनको यात्रा, सकसजस्ता चर्चित कृतिका कृतिकार हुनुहुन्छ । नेपाली साहित्यमा नौलो शैलीको कृति ‘अन्तर्मनको यात्रा’ ले २०६४ सालको मदन पुरस्कार जितेको थियो ।
नगेन्द्रराज शर्मा, माधव काफ्ले, उषा शेरचन, हरिकृष्ण काफ्ले, मनोज न्यौपाने, अश्विनी कोइराला, डा. सुमन कर्माचार्य, नविन केसी, रमेश ढुंगेललगायत कविहरुले आ-आफ्ना रचना तथा साहित्यमा जगदीश घिमिरेले पुर्‍याएको योगदानको चर्चा गर्नु भएको थियो ।

‘नेपाली सङ्गीत दरबार’ पुस्तक लोकार्पण

पौष २०, शुक्रबार
मकवानपुर । प्रा.डा. ध्रुवेशचन्द्र रेग्मीद्वारा लिखित दुई पुस्तक लोकार्पण शनिबार हुन लागेको छ ।
प्रा.डा. अभि सुवेदी, प्रा. दीपक जङ्गम, प्रा.डा. वीणा पौड्याल र डा. लोचन रिजाल वक्ता रहने उक्त कार्यक्रम भोजन गृह, डिल्लीबजार, काठमाडौंमा हुनेछ ।
प्रकाशन गृह बुक हिलबाट प्रकाशित उक्त कृति लोकार्पण समारोहमा साङ्गीतिक उत्सव समेत रहने प्रकाशक भुपेन्द्र खड्काले जानकारी दिनु भएको छ ।
पुस्तकका सम्बन्धमा उहाँ भन्नुहुन्छ- “यदि तपाईंले कुनै काम प्रेमपूर्वक गर्नुभएको छ भने त्यो ठूलो सफलता हो ।
हुन त हरेक व्यक्ति समाज, संस्कृति र तिनीसँग जोडिएका सामाजिक लयहरूसँग जोडिएको हुन्छ । समाजका धर्म, कर्म र रीतिरिवाजमा मिसिंदै गर्दा नजानिंदो गरी सङ्गीतमा नजिकिएको हुन्छ ।
म पनि त्यस्तै भएँ । मलाई सङ्गीत मन मात्रै पर्दैन; सङ्गीतबिनाको जीवन म परिकल्पना गर्न पनि सक्दिनँ ।
यो किताब त्यही सङ्गीतको किताब हो; जसले आफ्नो इतिहास इमानदारीपूर्वक भन्छ ।”

जनकपुरमा साहित्यकला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने

पुस २०, बुधबार
मकवानपुर । मैथिली भाषा, साहित्य, कला, संस्कृति, अर्थ र पर्यटन प्रवद्र्धनका लागि जनकपुरधाममा जनकपुर साहित्यकला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव २०८० हुने भएको भएको छ ।
मैथिली विकास कोषको गत बुधबारको बैठकले आउँदो माघ १८ गतेदेखि २२ गतेसम्म हुने जनकपुर साहित्यकला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव आयोजना गर्ने निर्णय गरेको हो ।
महोत्सव जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला संस्कृतिक केन्द्रमा हुने तथा महोत्सव ५ दिनसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । महोत्सवमा राजनीतिक, सामाजिक, साहित्यक र आर्थिक विषयउपर विमर्श हुने कोषका अध्यक्ष चौधरीले जानकारी दिनु भएको छ ।
नेपाल र भारतका कलाकारबाट मैथिली, नेपाली, हिन्दी, असामी र बङ्गाली गरी पाँचवटा भाषामा नाटक प्रदर्शन हुनेछ भने महोत्सवमा मिथिला चित्रकला, पुस्तक, नाटक, मिथिलाको भोजनको विभिन्न परिकारको प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रमसमेत हुनेछ ।
नेपाल र भारतका विद्वान्, विदूषि, सामाजिक अभियन्ता, रङ्गकर्मी तथा राजनीतिकर्मीको सहभागिता रहने सो महोत्सव २०७३ सालदेखि निरन्तर हुँदै आएको छ । महोत्सवलाई मधेस प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

कविता : ऐंठन समय/सन्तराम राई

यो समयको ऐंठनले
मेरो गला अठ्याएर
श्वास–प्रश्वास अबरुद्घ बनाइरहेछ
मुटुका धड्कनहरू
बेचाल बनाइरहेछ
नयनहरू, एक तमास सुस्ताइरहेछ
मस्तिष्क बञ्जर बाँझो झैँ लागिरहेछ
यहि समयको छायाँले……..

यो समय
जस्तो उदाउँछ
त्यस्तै अस्ताउँछ पनि
बीचमा हुँदैन कुनै घात प्रतिघात
क्रिया–प्रतिक्रिया
अतः यो समयको बीचमा
बादलहरू वर्षन जान्दैनन्
फुलहरू वास्ना विना नै फूल्छ
र ओइलाउँछ पनि

सबै–सबै
अपरिचित हाँसो मात्र फुसफुसाउँछ
अनि पक्ष विपक्षको विरुद्धमा
विगुल फूक्छन नाराको
अनि मञ्चन हुन्छ
बेग्ला–बेग्लै नाटकहरू
फरक रङ्गमञ्चहरूमा

हो यही समय हो
म माथिको आकाश बिरानो भएको
मैले टेकेको जमिन भासिएको

यसैले हो मलाई
अचेत अवस्थामै
थप्पड हानेर दौडेको
त्यसैले,
आज चेतना जागेको दिन
सुरु गर्नुछ
एउटा युद्ध
यो ऐंठन समयको विरुद्धमा ।

बकैया–४, मकवानपुर ।