Home Blog Page 60

संक्षिप्त परिचय: सबैका प्रिय लाल श्रेष्ठ

स्वर्गीय पिता पूर्णलाल श्रेष्ठ र माता स्वर्गीय वेल कुमारी श्रेष्ठका कान्छा छोरा लाल श्रेष्ठको जन्म विक्रम सम्वत २०१७/०८/१९ मा हेटौंडा वडा नंवर १० मा भएको हो । हाल उहाँको वसोवास मेनरोड, हेटौडा-४ मा रहेको छ । बालक कालदेखि नै संगीत र सिनेमामा हुरुक्कै हुने उहाँ बढ्दै गएको उमेरसँगै उहाँले सोहि अभिरूचिलाई पेशाको रूपमा चुन्नु भयो । अनेकौं सम्मान र पुरस्कारबाट सम्मानित हुनु भएको उहाँले यस आगतमा अक्षर र आवाजको खेतीलाई नै आफ्नो उद्योग बनाउनु भएको छ ।

व्यक्तिगत विवरण
नाम : लाल श्रेष्ठ
जन्म मितिः बिक्रम संवत २०१७/०८/१९
फोन: ९८४५०२९५३९,९८१८०४७८०१
स्थायी ठेगाना. हेटौंडा ४, बैंक रोड, मकवानपुर
नागरिकता : नेपाली शिक्षा : एसएलसी धर्म: हिन्दु वैवाहिक अवस्थाः विवाहित,

तालिम:
साधना कला केन्द्र, पुतली सडक, काठमाण्डौबाट नोटेशन सिकाई ।
डोरेमी सङ्गीत पाठशाला, जमल, काठमाण्डौबाट गायन सिकाई ।
आर्को म्युजीक ईन्स्टीच्युट बागबजार, काठमाण्डौबाट नोटेशन सिकाई

अनुभवः
२०३३ सालदेखि २०५० सालसम्म विभिन्न संस्थाहरूमा रहि सांस्कृतिक कार्यक्रमहरूमा कलाकार, लेखन एवं प्रशिक्षकको भुमिकामा सहभागी ।
तरंग सांस्कृतिक परिषद् मकवानपुरमा प्रशीक्षक भई २०५१ देखि’ २०६१ सम्म गायन र बादन (गीटार, कीबोर्ड, स्टाफ नोटेशन, पुर्वेली स्वरलीपी, मादल, कंगो, तबला, मेण्डोलीन, भ्वाईलीन, सारंगीको प्रशिक्षण सञ्चालन ।
मनकामना म्युजीक ईन्स्टीच्युट मकवानपुरमा प्रशिक्षक भई २०६२ देखि २०६७ सम्म गायन, बादन र लेखन कार्यमा कार्यरत् ।
काठमाण्डौका विभिन्न शैक्षिक संस्थाहरूमा २०६८ बाट २०७४ सालसम्म सङ्गीत प्रशीक्षक एवं लेखन कार्यमा कार्यरत् ।

दर्जनौ गीतहरू लोकार्पण

प्रदर्शित सडक नाटकहरू
छड्के तिलहरी, आवेग, सिकारी, मकवानपुरमा प्रदर्शन
बैकन्या, नारायणी अञ्चल र श्रीलंकामा प्रदर्शन
तमसोमाज्योतीर्गमय श्रीलंकामा प्रदर्शन
केरमेट सपना, दोलखामा प्रदर्शन

प्रकाशित पुस्तक
लाल श्रेष्ठका सङ्गीतहरू २०६१ श्रावण
औडव (सङ्गीतमा केहि प्रयोगहरू) २०६९
कागजमा सिनेमा लामा कथाहरू भाग एक २०७९
कागजमा सिनेमा लामा कथाहरू भाग दुई २०७९

पुरस्कार
विश्वेश्वर आलोक अध्ययन मञ्च, मकवानपुरबाट सांगीतिक प्रतिभा २०५५
साहित्य सङ्गम मकवानपुरबाट मकवानपुर प्रतिभा २०५७
मातृभुभी साहित्य समाज, मकवानपुरबाट नीत्य गोविन्द सङ्गीत प्रतिभा २०६२
नेपाल भाषा खल, मकवानपुरबाट सुर्यलक्ष्मी नेवाः सिरपा २०६५
राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपाल, जिल्ला समिति, मकवानपुरबाट जन संस्कृति पुरस्कार २०६९/१०/१३
मदन भण्डारी फाउण्डेशन मकवानपुरबाट मदन स्मृति सङ्गीत पुरस्कार २०७६/०३/१

लाल श्रेष्ठको र्चचीत गित गुड्यो मोटर सुसाउँदै / कृष्ण गोपाल सिंहको गायनमा

आँचलको मासिक भेटघाट, प्रशिक्षण तथा रचनावाचन कार्यक्रम

आश्विन २०, मकवानपुर । आँचल साहित्य कला पुञ्ज मकवानपुरले मासिक भेटघाट तथा रचनावाचन कार्यक्रम शनिबार ज्याेति माध्यमिक विद्यालय हेटौंडा १८, हर्नामाडीमा सम्पन्न भएको छ । आँचलकी अध्यक्ष भावना सापकोटाकाे अध्यक्षता तथा ज्याेति माविका विव्यस अध्यक्ष हर्कबहादुर रम्तेलकाे प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हाे ।

“मुक्तक कसरी लेख्न सकिन्छ ?” भन्ने विषयमा साहित्य संगम मकवानपुर तथा मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डीबी बर्ताैलाले प्रशिक्षणात्मक कार्यक्रम सञ्चालन गर्नु भएको थियाे । कुमार महत, अनिष मङ्ग्रान्ती, लालचन्द्र प्रजा, पवित्रा घलान, राधा बि.क., अनु राेक्का, स्वस्तिका दाहाल, रजनी पाैडेल, निर्मला व्लाेन, निरा शर्मा , सानुभाइ विश्वकर्मा, लक्ष्मी कँडेल लगायतले रचनावाचन गर्नुभएको कार्यक्रममा सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने र युग दर्पण साहित्य समाज हर्नामाडीका अध्यक्ष ओमभक्त भण्डारीले मन्तव्यसहित रचना वाचन गर्नुभएकाे थियाे ।

आँचलले आगामी दिनहरूमा पनि यस्तै गाउँ केन्द्रित तथा विधागत प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्ने संस्थाकी सचिव सविता तिमल्सिनाले बताउनुभयो ।

विज्ञान शिक्षक समाज र नवोदयको सहकार्यमा जिल्लास्तरीय वक्तृत्वकला ।

विज्ञान शिक्षक समाज मकवानपुरको आयोजना र नवोदय शिशु सदनको सहकार्यमा असोज २० गते शनिबार जिल्लास्तरीय वक्तृत्वकला कार्यक्रम तथा विज्ञान कार्यशाला सम्पन्न भएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता तथा राष्ट्रिय परीक्षा बोर्ड मकवानपुर शाखाका प्रमुख कृष्ण घिमिरेको विशिष्ट आतिथ्यतामा नवोदय शिशु सदनको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । मकवानपुर जिल्लाका आठ पालिकाका बाइस सहभागीले भाग लिएको वक्तृत्वकलामा साहित्यकारहरू शान्ति प्रियवन्दना, देवराज तिवारी तथा रसायन विज्ञान प्रशिक्षक चिरञ्जीवी लामिछानेको संयुक्त निर्णयबाट जि.एस. निकेतनका आदर्श पौडेल प्रथम, सोही विद्यालयकी प्रतिष्ठा कार्की दोस्रो ,चण्डीका मावि शिखरकटेरीकी तेज कुमारी बास्कोटा तृतीय र नवोदय शिशु सदनकी विदुषी हुमागाईँ तथा बाल जागृति इङ्ग्लिस स्कुलकी रितिका छत्कुल्ली सान्त्वना हुन सफल भएका थिए । प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने विद्यार्थीहरूलाई क्रमश: छ हजार, पाँच हजार, चार हजार र दुवै जनालाई तीन-तीन हजार राशीसहित प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कार राशी सौजन्य नवोदय शिशु सदनका शैक्षिक निर्देशक अव्यक्त खनालले गर्नुभएको थियो ।

विज्ञान शिक्षक समाज मकवानपुरका सचिव सुवास खनालले सहजीकरण गर्नुभएको सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि घलानले भोलिको समय राम्रो बनाउन र समाज उन्नत बनाउन विज्ञान शिक्षाको महत्वपूर्ण भूमिका रहने बताउनु भयो साथै विशिष्ट अतिथि घिमिरेले विज्ञान शिक्षा र क्षेत्रमा उचित लगानी गरेमात्र समाज र देश समुन्नत हुने धारणा राख्नुभयो । सोस्टा मकवानपुरका अध्यक्ष भोगेन्द्र लुईँटेल, गणित शिक्षा परिषद्का अध्यक्ष धनिकलाल साह, नवोदय शिशु सदनका शैक्षिक निर्देशक अव्यक्त खनाल, शिक्षक प्रेम क्षेत्री, अग्रज शिक्षक रघुनाथ घिमिरे, विज्ञान शिक्षक समाज मकवानपुरका सल्लाहकारहरू विनोद गुप्ता, राम कुमार ठाकुर, पत्रकार सुरेश श्रेष्ठ लगायतको आतिथ्यता रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य स्ट्यान उपाध्यक्ष भरत पोख्रेलले राख्नुभएको थियो भने नवोदय शिशु सदनका सि.एम. रिमाल, अतिथिहरू भोगन्द्र लुईँटेल, धनिकलाल साह लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम स्ट्यान जिल्ला अध्यक्ष खेमराज लामिछानेको सभाध्यक्षतामा भएको थियो ।

दामोदर-लोकप्रिया स्मृति पुरस्कार अन्तरा र प्रज्वललाई ।

मकवानपुर, आश्विन २० मकवानपुर जिल्लाबाट कक्षा १२ को परीक्षामा अनिवार्य नेपाली विषयमा सर्वोत्कृष्ट नतिजा ल्याउने अन्तरा महतो र प्रज्वल चौधरीलाई नेपाली लेखक सङ्घ मकवानपुरले पुरस्कृत गरेको छ । शनिबार हेटौंडा क्याम्पसमा भएको ८ र ९ औं साधारणसभाको अवसरमा हेटौंडा स्कुल अफ म्यानेजमेन्टबाट कक्षा १२ उत्तीर्ण गरेका चौधरी र महतोलाई प्रतिवदयक्ती ११ हजार राशि र प्रमाणपत्रसहित दामोदर-लोकप्रिया स्मृति पुरस्कार प्रदान गरिएको हो । नेपाली लेखक सङ्घ मकवानपुरका निवर्तमान अध्यक्ष विष्णुप्रसाद गौतम र उहाँका मामा माधवप्रसाद पोखरेलले आफ्ना पूर्वजको स्मृतिमा पुरस्कार स्थापना गर्नुभ‌एको हो । 

यस वर्षदेखि सुरु गरिएको पुरस्कारको निरन्तर स्रोत अक्षयकोष स्थापना भ‌एकोले आगामी वर्षहरुमा पनि निरन्तरता रहने नेपाली लेखक सङ्घ मकवानपुरका अध्यक्ष छवि अनित्यले जानकारी दिनुभयो । नेपाली लेखक सङ्घ मकवानपुरका अध्यक्ष अनित्यको अध्यक्षतामा भएको साधारणसभामा नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य हयग्रीव आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका निवर्तमान कार्यबाहक सभापति विष्णुप्रसाद लामिछाने, लेखक सङ्घ मकवानपुरका संस्थापक अध्यक्ष कृष्णप्रसाद दाहाल, पुरस्कार संस्थापक विष्णप्रसाद गौतमलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभ‌एको थियो ।

कविताः गुन्द्रुक / लोकनाथ आचार्य

मुला रोपे खेतवारीमा आउँछ ठूला पात
गोडीदिए मात्र हुन्छ वढ्छ रातारात
पात टिपी घाममा सुकाई खाल्डो खनेर
खाँदी कुल्ची लगाउनु पर्छ कसेर
फेरी पनि सुकाएर मान्द्रा आरीमा
ओल्टाई पल्टाई गर्नु राम्रो कोठे बारीमा

यसरि नै जन्मन्छ गुन्द्रुक यसको नाम
बनाएर खान जाने गर्छ ठूलो काम
खोर्सानी र नुन मिसाई भुटुन हालेर
मरमसला पनि थपी तेल गालेर
भाँडो राखी आगामाथी परपरी भुटे
मात्र पानी खन्याउनु अरु क्यै छुटे

तातो तातो मिठो मिठो बन्छ राम्रो सुप
मेहनत गर्नु पर्छ राम्रो सँग खुब
भुँडि दुखे, टाउको दुखे, रुघा लागेमा
झाडाबान्ता पनि हुने विमार जागेमा
नुन राखी बटुकामा खन्याई खाए
औषधीको काम गर्छ विमारी भए

हतार हुन्छ कहिलेकाँही काम गर्दामा
भ्याईएन पनि भने अवर पर्दामा
जतन साथ राखिदिए वस्छ लामै धेर
वनाउन बहुत छिटो हुदैन अबेर
गुन्द्रुक भन्छन् कोही कोही कोही श्री माग्न
जति धेरै खाए पनि पार्दैन नग्न ।

अचार पनि बनाएर खान मिल्ने
सब्जी सुप बनाउदा अझै बल दिने
लामो यात्रा गरी हिडे थकानमा पनि
गुन्द्रुकको रस पिए आराम दिने
कामदामको वोझले गर्दा गलेको जीउ
रुघाखोकी लाउन आँटे आउछ हाँच्छिउ

तनावको काम भए झिको एकमुठी
पकाएर रस लिनु सिलौटो कुटी
मिठा मिठा पक्वान्न खाई विग्रिए मुख
मिठै मात्र खाए पनि मिल्छ काँ सुख
मित्रबाट यो देहले खोज्छ एक मुठी
गुन्द्रुकको रस खानु कराईमा भुटी

गाडी चढी लामो यात्रा गरेर आए
डौडा पहाड चाहारेर आँखा रसाए
गले जीउ फत्याक फूतुक फेरी एक मुठी
गुन्द्रुकको सुप खानु कराईमा भुटी
देश परदेश यात्रा गर्दा बोक्न मिल्ने
किन्न पनि नपाइने ठाउँ छ भने

सुटुक्क नै झिके हुन्छ फेरी एक मुठी
दिन्छ आराम पकाई खाए कराईमा भुटी
नाम यस्तै भए पनि सयौँ गुनै गुन
मरमसला ठीक्क पारी लाउनु पर्छ नुन
परदेश वा घरै भित्र फेरी एक मुठी
पकाएर खाए हुन्छ अमुल्य बुटी ।

फाल्गुनन्द–२, इम्बुङ
हाल : हिलिहाङ–५, जोरपोखरी,पाँचथर 

कविता : ‘काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन’/कृष्णभूषण बल

वि.सं. २००४ चैत्र १ मा माल्टेनी, रवि, इलाममा जन्मनुभएका कवि कृष्णभूषण बल एक सशक्त तथा कालजेयी नेपाली कवि हुनुहुन्छ । नबुझिने र नअर्थिने प्रयोगवादी धाराबाट नेपाली कविताको अस्तित्व माथि नै आशङ्का उठिरहेको सन्दर्भमा नेपाली कवितालाई सम्प्रेष्य विम्ब र भाषाशैलीका माध्यमबाट पाठकसँग पुनः तादात्म्य सम्बन्ध जोड्नमा कवि कृष्णभूषण बलको योगदानको उच्च मूल्याङ्कन गरिन्छ । खास गरेर गम्भीर व्यञ्जनात्मक अर्थ दिने विम्बहरूको समायोजन कृष्णभूषण बलको मौलिक विशेषता हो । नेपाली कविताको शक्तिमा भावनाको कला टिपेर यिनले बनाएको विम्बको शिखर धेरै अग्लो छ । नश्लीय रोग र धर्मको धङधङीबाट टाढै रहेका तथा राजनीतिको भाङ नलागेका कविताजस्तो शालीन व्यक्तित्वका धनी बल एउटा सिंगो कविता हुनुहुन्छ । उहाँको वि.सं. २०६९ असार ११ गते विराटनगरमा मृत्यु भएको थियो । प्रस्तुत छ, कृष्णभूषण बलको सर्वाधिक चर्चित कविता :

काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन
काठमाण्डू एक्लैले अब सिङ्गै नेपालको अर्थ लगाउन सक्दैन ।

नाघ्नुपर्छ पैतालाहरूले अब भन्ज्याङहरु
टेक्नुपर्छ आँखाहरूले अब सारा पहाडहरु
उड्नुपर्छ निश्चित लक्ष्यहरूमा अब यो छिमलका चराहरु
ज्वालामुखीझैँ फुट्नुपर्छ अब यो पिढीका स्वरहरु
छाम्दै हातिहरूले काँडाहरु अब टेक्न सक्नुपर्छ ।
काठमाण्डू त अब डाँडाहरूमा बिछिन सक्नुपर्छ ।

एउटै ढुङ्गाले कुनै घर बनिन सक्दैन, ढुङ्गाको तहतह हुनुपर्छ
एउटै पोखरीको कुनै ताल हुँदैन, थुप्रै दहदह जम्नुपर्छ
हुटिट्याउँले सागर थाम्न खोजेर–थामिन सक्दैन सागर
बर्खे भेलको सानो चपेटले–मेट्न खोजेर मेटिन्न बगर
पहाड मधेस थुम्काथुम्को र उकाली ओरालीको देश
कसैको पेवा होइन, कसैले ठेक्का लिएर पनि हुने हैन,
मुहान जो बग्नुपर्छ, जम्नु यसको कुनै अर्थ हुँदैन ।

काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन
काठमाण्डू एक्लैले अब सिङ्गै नेपालको अर्थ लगाउन सक्दैन ।

खोरमा थुनिएर पनि बिहानीको सङ्केत दिन्छ कुखुराको भाले
निरर्थक प्रयासमा युग हाँस्छ बलिसकेको दिनलाई हुस्सुले ढाक्न खोजे
टुँडिखेलका प्रत्येक सुरुहरूमा घोडा छादेर त्यतिकै डटेकै छ इतिहास
टाप बजारेर कुदिरहेको घोडालाई त्यतिकै चाबुक लगाइरहेछ एउटा उपहास ।
अनिष्ठ भन्छन् सपनामा देख्नेहरु पनि यस्तो कालो घोडा र कालो मान्छे
तर काठमाण्डू छातिमाथि बोकिरहेकै छ यस्ता कतिकति इतिहासका मान्छे
किन थाहा भएन तिमीलाई एउटा रौंलाई मात्र भनिन्न केश
किन थाहा भएन तिमीलाई एउटा इतिहासको मात्र हुँदैन देश
काठमाण्डू वास्तवमा भित्रभित्रै छट्पटिएको छ
काठमाण्डू अर्को तरवारको विकास खोजिरहेको छ ऊ
युगका गह्रौं पाइलाहरु अब धेरै बोक्न सक्दैन
यसैले बग्ने निकास खोजिरहेको छ ऊ ।

काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन
काठमाण्डू एक्लैले अब सिङ्गै नेपालको अर्थ लगाउन सक्दैन ।

कविता: नदी अब नरुवाउ मान्छेको मन / ऋषभदेव घिमिरे

प्रिय नदी
तिमी सभ्यता हौं
नर्मदा हौं
आनन्द दायनी हौं

सुहाउँदैन तिमी बहुलाएको
मन रुवाउन सुसाउनु हुन्न
तिमी त प्राकृत धर्म निभाउने जीवन हौ
आफैं तुइन चढेर
बगाउनु हुन्न तुइन चढेका दुधेबालक

नदी तिमी किनार हो मिलनको
बगाएर शहर
बग्न दिनु हुन्न आँसुको भेल
तिमी उदगमदेखि नै निदाउनु पर्छ रात्रीमा
सूचना दिनु पर्छ तिम्रो आक्रोसको

अनियन्त्रित त मन मात्र हो
हुनु हुन्न मुहान अनियन्त्रित

प्रिय नदी
कसले दियो तिमीलाई
गाउँ पस्ने आदेश
अपराधी दस्ताको शैलीमा
मान्छेको अस्तित्व शेष पार्ने को हौ तिमी
तिमी त प्रेमिका हौ
बिना सहमति कसरी संयम गुमायौ र
बडार्यौ कैयौं खेत र खलियान

नदी !
भन तिमीलाई यतिबेला
के संझेर माया गर्नु
कुन मन्त्रले अभिमन्त्रण गर्नु
गर्नुसम्म गर्यौ तिमीले
विवशता बाहेक के नै छ र
विस्मात सिवाय अरु केनै रह्यो र बाकी
बिन्ती छ
प्रिय नदी
अब कहिल्यै नरुवाउनु मान्छेको मन ।

नदी अब नरुवाउ मान्छेको मन
ऋषभदेव घिमिरे
(सन्दर्भ: सिक्किमको बाढी)

कविता : चाहें पाएँ अवसर खुला

पाएकोले अमर ममता विश्व साहित्य माझ
राख्ने इच्छा प्रकटित भयो स्वस्थ पार्ने समाज
जाग्यो यस्तै रहर मनमा खोल्न साहित्य आएँ
देवी दुर्गा सरह प्रतिभा देख्न पाएँ रमाएँ ।

जो जो मिल्छन् असल मनका विश्वका स्वच्छ प्राणी
ल्याएको हो अचम कविले स्वस्थ उद्गार वाणी
साथी पाएँ गजब प्रतिभा सोध्दछिन् गर्न खोज
यस्तै चाला मुखरित बनोस् प्रेम फुल्दै सरोज ।

हेर्ने आँखा अति सरलले दृश्य देखिन्छ राम्रो
आत्मा सोझो असल छ भने हुन्न केही नराम्रो
इच्छा सङ्लो धवलित सधैँ डाक्छ सौन्दर्य हाम्रो
ज्ञानी मान्छे सुखद छ सदा बन्न मान्दैन चाम्रो ।

आहा राम्रो शकुन शुभदा मन्त्र आचार शैली
पाएँ सच्चा मुखर महिमा प्यारको पूर्ण थैली
राखेकी छौ अभिनव कला ज्ञान संज्ञान चोखो
बुझ्दा हुन्थ्यो कवि अचम हो प्रेमको मात्र भोको ।

तान्ने बानी गुण सहज जो चुम्बकी धारणामा
आएकी छौ विधिवत खुला प्रेम उत्प्रेरणामा
चाहें पाएँ अवसर खुला प्रेमको यो प्रसङ्ग
ल्याएँ राखेँ हजुर अहिले पाइएको उमङ्ग ।

कस्तो लाग्यो भन शकुनले प्रेमको दिव्य गीत
जोडेको हो अमर ममता प्रीत मार्ने छ धीत
लाम्चा आँखा शुभ शकुनका मार्दछन् मौन बात
छल्के जस्तै प्रकृत लयमा लेककी छौ प्रपात ।

देवी दुर्गा सुगम छरिती दिव्य देखेँ तिलस्मी
योगी आए सरल तपसी काव्यका पूर्ण रश्मि
बोकी ल्याए कुशल कविता अस्मिता धन्य धान्य
ढोका खोल्छन् सहज दिलका गर्न बाधा अमान्य ।

खोजी पाएँ कुशल प्रतिभा लाग्छ आरामदायी
चोखो मान्छे सरल मनले गर्न चाहें भलाइ
भन्छ्यौ के पो भनन सजिलै शर्मिला के मलाई
शोभा डाक्ने रहर चुलियो चाहना झन्झनाई ।

अविचल आस्था मणि, तनहुँ, नेपाल 

कविता : जोगी आउन छोड्यो/सुमित्रा सुमी

प्रेम बोकेर, प्रेम साट्न
असली आकृती नलुकोस् भनेर
खरानी नधसेको, कुण्डल नलगाएको
बिना पहेलो वस्त्रको
साधा, सफा मन बोकेर पनि
सप्तरङ्गी इन्द्रेणी सपना देखाउन
हरेक बिहान
म उठ्नु अघि
मेरो हृदयको दैलो ढकढक्याउन आइपुग्थ्यो….
सुभ प्रभात भन्दै
एउटा जोगी ।

लुट्दैनथ्यो उसले जबर्जस्ति
बरु, माग्थ्यो खाली मनको कमण्डलु देखाएर
निहुराउँथ्यो आफ्नो शीर
समाहित भएर निश्चल प्रेममा
र भन्थ्यो
आँखाभरी आँसुको ताल जमाएर
“सृष्टि भन्दा दृष्टि सुन्दर हुन्छ”
आँखाको बाटो हुँदै मेरो मनसम्म पुग्ने
उहीँ एउटा जोगी ।

म भने
कलेजी रङको गातो बेरेर,
हृदयले आफन्त छोडेर
एक्लै शून्यताको वनबास पसेकि
बुद्ध बन्ने घमण्ड राखेर
तर पनि
काम, क्रोध, मोह छोड्न नसकेकै कारण
बुद्ध बन्न नसकेकी ….
उहीँ जोगी
त्यही जोगी सम्झेर ।

बुद्ध बन्न त सङ्कल्प चाहिँदो रहेछ,
ज्ञान चाहिँदो रहेछ ,
न कलेजी रङले बोल्दोरहेछ, अन्तस्कण
न पहेंलोले बोल्दोरहेछ, ज्ञानको अनन्त बिन्दु
त्यसैले त बुद्ध बन्न नसकेर
जोगीसँग जोगिनी हुन खोज्दै
उसैसँग पोखिएको त्यो पल सम्झिरहेछु
अझै पनी उहीँ , त्यही जोगी ।

उसको लागि सिलाएको
पहेँलो रङको धर्के कमिज,
कलेजी रङको गलबन्दी,
र कलेजी रङकै सुइटर
जुन, मेरै सिरानीमा छ अझै सम्म
घरीघरी सुम्सुमाईरहेकी छु प्रेमको रङ भरेर
र आफ्ना जोर आँखा बिछ्याइरहेको छु
ऊ आउने मुलबाटोमा,
उसले छुँदा
मसँग टाँसिएको उसको औँलाको चक्र
सुस्त सुस्त मुसार्दै
लिरहेको छु उसको आलिङ्गनमा बाँधिदा
मेरो शरीरमा छुटेको उसकै सुगन्ध
फेरिपनि सम्झदै
उहीँ,त्यही एउटा जोगी ।

अचेल
मूलबाटो निदाएको छ
प्रभात आएकै छैन जस्तो लाग्छ
जोडी छुटेको ढुकुर मसँगै रोइरहेको छ
मेरो बैँस रित्तिएर हो या
उसको मन भरिएर हो
आउन छोड्यो
उहीँ एउटा जोगी
आउन छोड्यो ।

-सुमित्रा सुमी
नुवाकोट ।

कविता: भन्नुहोस् सरकार

भन्नुहोस् सरकार !
म कहाँ सुरक्षित छु ?
सिंहदरबारको पटाङ्गिनीमा
वा बालुवाटारको प्राङ्गणमा ?

भन्नुहोस् सरकार !
म कुन प्रकोपबाट सुरक्षित छु
बाढी, पहिरो, महामारी, दुर्घटना
हत्या, हिंसा वा बलात्कार ?

भन्नुहोस् सरकार !
तपाईँ कुन भ्यु टावरको
मचानबाट हेर्दै हुनुहुन्छ ?

म यो देशको सुदूर भूगोलमा
नाङ्गो आकाश ओढेर
रोग र भोकसँग लडिरहेको
के तपाई देख्नुहुन्छ?

अभावको पहिरोले पुरिएको
मेरो नाङ्गो बस्ती देख्नु भो?
बन्द बाकसमा शोक ओढेर
भूगोल फर्केको शव हेर्नु भो ?

दिन दाहडै
स्कुल जाँदा
पानी पँधेरो गर्दा
मेरो अस्मिता लुटिँदा
मैले हार गुहार गर्दा
के तपाईँ साँच्चिकै सुन्नुहुन्छ ?

मैले न्यायको भिख मागेर
बिच बजारमा रोइ कराई
चिच्याइरहेको मेरो आवाज
के तपाईँको सिंहदरबार सम्म पुग्छ महोदय ?

भन्नुस् सरकार !
म कहाँ सुरक्षित छु ?

म जस्तै सर्वहाराहरूको
रगत र पसिनाका बुँदहरूले लेखिएको छ
यो सार्वभौम भूगोलको संविधान
तपाईँको त्यो उचाइको मचानमा पुग्ने
लिस्नुको एउटा खुड्किला हुँ म पनि ।

खै मेरो नैसर्गिक अधिकार कहाँ छ ?
मैले न्याय पूर्वक सुरक्षित बाँच्न पाउने
मेरो उन्मुक्त आकाश खै ??

भन्नुहोस् सरकार
म कहाँ सुरक्षित छु ?

किशन पौडेल, हेटौंडा