नारायणगोपाल हेटौँडाका सङ्गीतकार भीम बिरागसम्मका प्रिय गायक बन्न पुग्नुभयो । केही समय हेटौँडा बस्नु भएका उहाँले हेटौँडा राप्ती खोलामा खुट्टा डुबाउँदै भीमबिरागसँग गीत सङ्गीत रचनाका प्रसङ्गहरू पनि रहेका छन् । नारायणगोपालले पूर्व पश्चिम राजमार्ग बनेका बेला हेटौंडामा कुल्लि कामसमेत गर्नु भएको कुरा पनि छ । सङ्गीतकार तथा गीतकार स्व. भीम बिराग भन्नुहुन्थ्यो- “म तबला बजाउँथे, नारायणगोपाल एक प्याग लगाएर गाउनुहुन्थ्यो, किन कुल्ली काम गर्नु भयो त्यो थाहा भएन ।…..
१९९६ असोज १८ मा काठमाडौँमा जन्मिई २०४७ मङ्सिर १९ मा निधन हुनु भएका नारायणगोपाल गुरूवाचार्य नेपाली आधुनिक गीतका मुर्धन्य स्रष्टा हुनुहुन्छ । उस्ताद बाबु आशागोपाल गुरूवाचार्य र आमा रामदेवी गुरूवाचार्यको ४ छोरी र ६ छोरामध्ये एक उहाँले स्नातकोत्तरसम्मको शिक्षा हासिल गर्नु भएको थियो । उहाँ गायन, सङ्गीत, गीतकार र सम्पादकका रूपमा आफ्नो पहिचान बनाउनु भए पनि गायनका कारण उहाँलाई हामी स्वर सम्राटका रूपमा चिन्दै आइरहेका छौं ।
त्यतिखेर आधुनिक गीतलाई उच्चस्तरको नमानिने हुँदाहुँदै नारायणगोपाललाई उहाँका बाबु आशागोपाल गुरूवाचार्यले शाष्त्रिय सङ्गीत सिक्नका लागि भारत पठाउनु भए पनि आधुनिक गीतको स्वादले बीचैमा अध्ययन छोडेर नेपाल फर्कनु भयो । त्यसो त दर्जनौं कालजयी गीतका गायक उहाँले १ सय ३७ वटा नेपाली गीतहरू हामीमाझ छोडेर जानु भएको छ । उहाँले गीतिनाटक, चलचित्र र नाटकहरूका लागि समेत गीतहरू गाउनुभयो । ५ सय बढी गीतमा स्वर दिनु भएको छ । उहाँबारे यथेष्ट जानकारी विभिन्न स्रोतहरूमा उपलब्ध छन् । आज भने उहाँबारे केही अनौठा किस्साहरू उल्लेख गर्नेछौं ।
सङ्गीत क्षेत्रमा प्रवेशः
तबलाबादकका रूपमा साङ्गीतक क्षेत्रमा प्रवेश गर्नु भएको उहाँ एक समय एकछत्र गायनमा सक्रिय रहनु भयो । ‘म गाउँछु केवल जनताको लागि गाउँछु’ भन्ने उहाँले आफूसँगसँगै क्षेत्रप्रताप अधिकारी (चिनारी हाम्रो धेरै पूरानो), दीपक जङ्गम, नगेन्द्र थापा, कालीप्रसाद रिजाल (आँखा छोपी नरोऊ भनी भन्नुपर्या छ), हरिभक्त कटुवाल (पोखिएर घामको झुल्का भरी संघारैमा), दिव्य खालिङ (सँधै म हासेँ तिमीलाई रुवाई), भूपि शेरचन (सानै हुरीमा बैंसको सपना) लगायत थुप्रै सङ्गीतकार, गायक, गीतकारलाई स्थापित हुनमा सहयोग गर्नुभयो ।
रत्नशमशेर थापासँग पानी बाराबारः
रत्न शमशेर थापाका शब्दलाई अहिलेसम्म पनि नेपाली गीतको क्षेत्रमा उपल्लो दर्जाको सिर्जना मान्ने गरिन्छ । उहाँले नै रच्नु भएको निम्नानुसारका गीतहरू नारायण गोपालका सुरूवाती गीत थिए ।
स्वर्गकी रानी मायाकी खानी, आँखाको भाखा आँखैले, भो भो नछेक मलाई (दीलमाया खातीको साथमा) र बिछोडको पीडा आदि । २०८० असोज १७ गते निधन हुनु भएका दार्जिलिङ निवासी दीलमाया खातीको स्वर सुनेपछि उहाँलाई भेट्न नारायण गोपाल आफैँ दार्जिलिङ पुग्नु भएको थियो । यस्तै तारादेवीको साथमा ‘ए कान्छा ठट्टैमा यो बैँश जान लाग्यो’ र ‘मधुमासमा यो दिल’ गाउनु भएका उहाँको सम्बन्ध तारादेवीसँग पनि पानी बाराबार भयो भन्ने गरिन्छ । बोलचालै बन्द भएपछि पनि नारायणगोपालले केही गीतहरू तारादेवीका साथमा गाउनुभयो ।
देशप्रेमले ओतप्रोतः
पूर्व-पश्चिम राजमार्ग निर्माणमा राजा महेन्द्रले रुस, अमेरिका र भारत जस्ता राष्ट्रहरूलाई उभ्याउँदै गर्दा उहाँको जति तारिफ गरिन्छ । नारायणगोपाल देशप्रेमले ओतप्रोत भएर उही समयमा ‘जाग, लम्क चम्क हे नौजवान हो’ गीत गाउनुभयो ।
डायरी नै च्यातेर लगिदिनेः
नारायणगोपालले राम्रो गीत देख्नै नहुने र देखेपछि डायरीबाट खोसेरै भए पनि गाइदिने गरेको किस्साहरू पनि पढ्न र सुन्न पाइन्छ । पछिल्ला समयमा उहाँले शब्दमा निकै ख्याल गर्ने गरेका कारण गीतहरूले हरेकको हृदयसम्म पहुँच राख्दै जुगजुगसम्म बाँचिरहेको बताइन्छ ।
गोपाल योञ्जनसँग मितेरी गाँस्दै पछि पानी बाराबारः
गीत सङ्गीतबारे व्यापक अध्ययन र प्रयोग गर्दै गर्दा देशविदेशमा उहाँको गायनलाई अझ सफलता मिल्नुमा दार्जिलिङ भ्रमण पनि एक मानिन्छ । जहाँ ईश्वरबल्लभले सङ्गीतकर्मी गोपाल योञ्जनसँग मितेरी साइनो गाँसिदिनुभयो भने नारायणगोपालले पेमला लामालाई जीवनसाथी प्राप्त गर्नुभयो । खासमा दार्जिलिङ भ्रमण नै उहाँको स्रोता तथा प्रेमिका पेमलालाई लिन जानु र गीत खोजीको उद्देश्यलक्षित थियो भन्ने गरिन्छ । उहाँहरूका कुनै सन्तान भने भएनन् । यस्तै मित र जीवनसाथीका कारण नै त्यसपछि उहाँको गीत छनौट र गायनमा ठूलो परिवर्तन आएको पाइन्छ । योञ्जनको विवाह भएपछि भने दुवैको सम्बन्धमा चिसो आउँदै गयो । अनन्य मित्र नगेन्द्र थापा, गोपाल योञ्जन र नारायणगोपाल ३ जनामध्ये बोलचाल बन्द भइसकेपछि पनि थापाका अघि दुवै जना भेट्दा जोक गरेर जिस्कने र रमाइलो गर्ने गर्नुहुन्थ्यो । यसको एउटै कारण थियो नगेन्द्र थापाले आफूहरूबीचको दरार थाहा नपाउन् ।
हेटौँडामा नारायणगोपालको बसाइः
नारायण गोपालको गायनका कारण गोपाल योञ्जनदेखि नातिकाजी, शिवशङ्कर, अम्बर गुरूङ, धर्मराज थापाको सङ्गीतले उहाँलाई अझै उचाईमा पुर्यायो । यसैक्रममा नारायणगोपाल हेटौँडाका सङ्गीतकार भीम बिरागसम्मका प्रिय गायक बन्न पुग्नुभयो । केही समय हेटौँडा बस्नु भएका उहाँले हेटौँडा राप्ती खोलामा खुट्टा डुबाउँदै भीमबिरागसँग गीत सङ्गीत रचनाका प्रसङ्गहरू पनि रहेका छन् । नारायणगोपालले पूर्व पश्चिम राजमार्ग बनेका बेला हेटौंडामा कुल्लि कामसमेत गर्नु भएको कुरा पनि छ । सङ्गीतकार तथा गीतकार स्व. भीम बिराग भन्नुहुन्थ्यो- “म तबला बजाउँथे, नारायणगोपाल एक प्याग लगाएर गाउनुहुन्थ्यो, किन कुल्ली काम गर्नु भयो त्यो थाहा भएन । तर, लामो समयचाहीँ गर्नु भएन ।” भीमबिराग श्रेष्ठको रचनामा रहेको यस गीतलाई नारायण गोपालका कालजयी गीतको सूचीबाट हटाइदिने हो भने एउटा इतिहास नै मेटिन सक्छ । भीमबिरागको शब्द रचना र नारायण गोपालको सङ्गीत तथा स्वरको गीत यहाँ उल्लेख गर्नु उपयुक्त हुन्छः
“तिमीले पनि म जस्तै माया दिएर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सी हेर”
यस्तै भीमबिरागको शब्द र सङ्गीतमा नारायणगोपालले यस गीत समेत गाउनुभयोः
“आजभोली हरेक मातिन थालेछ
जिन्दगीदेखि जिन्दगी आत्तिन थालेछ”
एउटै गीतले चर्चितः
एउटै गीतले चर्चित तर अर्को गाउन पाएनन्ः
“सपना भुलाई सारा आँसु पिएर जाऊ, मन्दिरमा छ तिम्रै तस्बिर लिएर जाऊ…। ” गीतकार शिव अधिकारीले लेखेका र योगेश वैद्यले गाउनु भएको एउटै गीतले उहाँलाई चर्चामा पुर्यायो । जुन नेपाली गीतलाई माया गर्ने स्रोताहरूमाझ निकै चर्चित बन्यो, बनिरहेको छ । नारायणगोपालले नै स्टेज कार्यक्रममा उद्घोषकको जिम्मा दिनुभए पनि उहाँको गीत भने गाउन भ्याउनु भएन ।
हरिभक्त कटुवाल र स्वरसम्राटः
हरिभक्त कटुवालको रचनामा रहेको “मलाई नसोध कहाँ दुख्छ घाउ” गीत नारायणगोपालले गाउनु भयो । कविता, गीत, नाटक आदि लेखनमा सक्रिय हरिभक्त कटुवालको लेखनलाई छोडेर उहाँको रक्सी पिउने बानीबारे चर्चाहरू ज्यादै पाइन्छ उस्तै नारायणगोपालका पनि कम भने छैनन् भन्ने गरिन्छ । माथि उल्लेख गरेझैँ स्वरसम्राटका सम्बन्धमा यो अफबाह भएको र शोखले पिउने कुरालाई ‘रक्स्याहा’ का रूपमा अनावश्यक हल्ला मात्रै फैलाइएको भन्ने कुराहरू पनि पाइन्छन् । तथापि रचनाका हिसाबले दुवै सर्जकहरूको योगदान नेपाली काव्यइतिहासमा शिलामा लेखिएका छन् ।
स्वरसम्राट उपाधीः
उहाँलाई भूपि शेरचनले पोखरामा २०२८ सालमा एक कार्यक्रमका क्रममा यस उपाधि दिलाउनु भएको हो । उहाँका अनन्य मित्र नागेन्द्र थापाले उहाँलाई स्वर सम्राटको उपाधि दिलाउनुभयो भन्ने पनि पाइन्छ ।
लक्ष्मीप्रसाद देवकोटा र सिद्धिचरण श्रेष्ठका कविता गायनः
लक्ष्मीप्रसाद देवकोटाका मुनामदन कवितालाई उहाँले गायन (सङ्गीतः चन्द्रराज शर्मा) गर्नुभयो र सिद्धिचरण श्रेष्ठको मेरो प्यारो ओखलढुङ्गा गाएर कवितालाई गायनमार्फत् भिन्न योगदान दिनुभयो ।
दरबारसँगको सम्बन्धः
रानी ऐश्वर्य (गीतकार चाँदनी शाह) ले लेखेको केही गीतहरू नारायणगोपालबाट गाउन अनुरोध गर्दा नगाइदिएपछि दीपक जङ्गमलाई साह्रै समस्या पो परेछ । पछि उहाँले “एउटा मान्छेको मायाले कति फरक पर्दछ जिउनुमा” रानीले लेखेको गीत गाउनुभएछ । २८ पटक धुन बदलेर मात्रै गाइएको यस गीतले जङ्गमलाई निकै दुख परेको सुन्नमा पाइन्छ ।
नगेन्द्र थापाको शब्दको बिर्सेर फेरि मलाई नहेर, चिनारी हाम्रो धेरै पुरानो, तिम्रो जस्तो मुटु मेरो पनि, लौ सुन म भन्छु मेरो रामकहानीजस्ता कालजयी गीत गाउनु भएका उहाँले अरूणा लामासँग ‘हिमालसरी म पग्लिरहेछु, सम्हाल सम्हाल सम्हाल मलाई’ गाउनुभयो । जसमा उनै मीत गोपाल योञ्जनको शब्द र सङ्गीत रहेको छ ।
यस्तै नारायणगोपाल र भीम विराग दुवैलाई उचाइँमा पुर्याउने अर्को गीत ‘तिमीले पनि मजस्तै माया दिएर हेर’ भीमबिरागको शब्द र सङ्गीत रहेको थियो । हेटौँडाको छोटो बसाइँपछि नारायणगोपाल काठमाडौँ पुगेर राष्ट्रिय नाचघरमा वाद्यवादकका रूपमा जागिरेबाट प्रवेश गरी त्यहाँका हाकिमसम्म हुनुभयो । यो घटनासँग थुप्रै किस्साहरू रहेका छन् ।
* उहाँ पहिलो पटकको स्वर परीक्षणमा रेडियो नेपालमा अनुत्तीर्ण हुनु भएको थियो ।
* स्वरका कारण उहाँले केही चलचित्रहरूका गीतहरूमा असफलता प्राप्त गर्नुभयो । (माइतिघर चलचित्रमा समेत उस्तै भयो ।)
* उहाँले जीवनमा कमाउनुभएका निकै महत्वपूर्ण स्थानका साथीहरूमध्ये आफूलाई स्थापित गराउने गीतकार रत्नशमशेरसँग सम्बन्ध बिग्रियो ।
* आफ्ना दोस्रो गुरु माणिकरत्नसँग बोलचाल नै बन्द हुन गयो ।
* बालसखा प्रेमध्वज प्रधानसँग दूरी बढ्दै गयो ।
* मितज्यू गोपाल योञ्जनको विवाहपछि नारायणगोपालसितको सम्बन्धमा दरार आयो ।
* साँस्कृतिक संस्थानका महाप्रबन्धक हुँदा कारबाही गरेर धेरै कलाकारहरूको अप्रिय बन्नुभयो । (महिनामा एक नाटकका लागि ४ सय जना कामदार रहेकोले आर्थिक भार रहेको बताइन्थ्यो ।)
* भक्तराज आचार्यका अनुसार नारायणगोपालले अरूको प्रशंसा कमै गर्नुहुन्थ्यो ।
* नारायणगोपालको अघि उहाँका कमजोरी कसैले बताउन सक्थेनन् तर भक्तराज आचार्य गम्भीर सुझाव दिनुहुन्थ्यो । तथापी उहाँहरूको सम्बन्ध धेरै खुलेको पाइँदैन ।
* चुरोट र रक्सीका लत परेको उहाँलाई विभिन्न रोगले सतायो र यसैले उहाँको भौतिक शरीरलाई सिध्यायो भन्ने चर्चाहरू पनि पाइन्छ । तथापि परिवारजनले यस कुरालाई अफबाह पनि भन्ने गरेका छन् ।
* उहाँ फूटबल, चेस, कुस्ती खेलका पारखी उहाँ शौखिन फोटोग्राफर हुनुहुन्थ्यो ।
* उहाँले बाजा, गीत र गायनमा सम्बन्धित बागिना प्रकाशन गराउनुभयो तर कूल ३ अङ्क मात्र प्रकाशन गर्न सकेकोले उहाँलाई असफल पत्रकार पनि भन्ने गरिएको छ ।
* सञ्चार मन्त्रालयमा सल्लाहकार हुँदा उहाँले गीती नाटक कथा कान्छी मस्याङ लेख्नुभयो ।
* अनन्य मित्र नगेन्द्र थापाद्वारा रचित चिनारी हाम्रो धेरै पुरानो, बिर्सेर फेरि मलाई नहेर र सँगाल घुम्टोहरू गीत गाउनुभएको थियो ।
* नारायण गोपाल आफ्ना मित्रलाई ‘सोम’ भनेर सम्बोधन गर्नुहुन्थ्यो ।
गीती श्रद्धान्जली भाग १-२-३-४, स्वर्णीम सन्ध्या भाग १-२, प्रीयशीका यादहरू, प्रेमको माला, मान्छेको माया, मलाई नसोध, लालीगुरास भएछु, अल्झेछ क्यारे, तिम्रो मनमा, गीतीयात्रा भाग १, नारायणगोपालका आधुनिक गीतहरू भाग १-९, मालती मङ्गले (गीतीनाटक) का स्रष्टा उहाँले नेपाली आधुनिक गायनमा अमीट छाप लगाउनु भएको छ ।
वि. सं. २०२३ सालमा सर्वोत्तम संगीतकार (रेडियो नेपाल) उहाँले जीवनमा पाउनु भएको पहिलो पुरस्कार थियो तर यो गायनका लागि नभई सङ्गीतका लागि प्राप्त गर्नु भएको थियो । वि. सं.२०२४ सालमा सर्वोत्तम गायक (रेडियो नेपाल), वि. सं. २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, वि. सं. २०३३ सालमा गोरखा दक्षिण बाहु, चौथो, वि. सं. २०४० सालमा इन्द्रराज्यलक्ष्मी पज्ञा पुरस्कार, वि. सं. २०४३ सालमा लायन्स अवार्ड, वि. सं. २०४४ सालमा छिन्नलता पुरस्कार प्राप्त गर्नुभएको उहाँ वि. सं. २०४५ सालमा पहिलो जगदम्बाश्री पुरस्कारका साथै वि. सं. २०४७ सालमा उर्वशी रङ पुरस्कार र वि. सं. २०४८ सालमा त्रिशक्तिपट्ट तेस्रो (मरणोपरान्त) ले सम्मानित हुनुभयो । नारायण गोपालका जीवनमा आइपरेका यावत सुखदुखका बाबजुद पनि उहाँलाई भारतबाट गीतका लागि आएको प्रस्तावलाई अस्वीकार गरी नेपाली सुगम सङ्गीतको क्षेत्रमा उल्लेख्य योगदान दिनुहुने कालजयी गीतहरूका स्रष्टा नारायण गोपालको निधन वि.सं. २०४७ साल मंसिर १९ गते राति ९ बजे वीर हस्पिटलमा भएको भयो ।
उहाँ आफ्नो समयमा नेपाली गीतका स्रोताहरूको मनमा एकछत्र राज गर्न सफल गायक हुनुहुन्थ्यो । नारायणगोपालका सिर्जनाहरू पछिल्ला पुस्ताहरूमा उत्तिकै मन पराइएका छन् । नारायणगोपालदेखि नेपाली कला, गीतसङ्गीत क्षेत्रका विश्वज्ञानकोषका रूपमा परिचित प्रकाश सायमीले उहाँबारे एक पुस्तक ‘एक विद्रोही गायकः नारायणगोपाल’ सार्वजनिक गर्दै हुनुहुन्छ ।
आज असोज १९ उनै महान गायक नारायणगोपाल गुरूवाचार्यको जन्म जयन्ती ।
स्वर्गीय गायकप्रति हार्दिक श्रद्धा सुमन अर्पण
सन्दर्भ स्रोतः
१. विकिपिडिया
२. नेपाली गीतसङ्गीतका विश्व ज्ञानकोष उपनामकृत प्रकाश सायमीका विविध अन्तर्वार्ता
३. विभिन्न अनलाइन पत्रपत्रिका
४. गीतकार नगेन्द्र थापाका अन्तर्वार्ता
५. स्वर्णीम जीवन युट्युब च्यानलमा नारायणगोपालको स्वर
६. रिदम अनलाइन टिभीः भाइ लक्ष्मण गुरूवाचार्य अन्तर्वार्ता आदि
गाइने