Home Blog Page 61

लघुकथा: सन्तुष्टि/विमला अधिकारी देवकोटा

गरीबीको पोल्टामा जन्मेर बाल्यकालदेखि दुखै दुःखमा जीवन गुज्रिँदै आयो । आफ्नो खुसी रहर त कता हो कता । लोग्नेको कमाई थोरै घर चलाउन मुस्किल जहिले रुँदै माग्नुपर्ने अवस्था । तिजको रमझममा पनि मन अशान्त भएको बेला एउटा अवसर आइलाग्यो ।

एउटा गतिलो संस्थाले तीजको दर खाने कार्यक्रम राखेको थियो । भर्खरै विदेशबाट आएकी मेरो मन मिल्ने साथी रमाले मलाई पनि बोलाएकी थिइन् र जाने अवसर जुरेको थियो र गएँ ।

साथीहरू गरगहनामा खुब सिँगारिएर आएका रहेछन् । आफूलाई भने लाज मर्नु भएको अवस्था थियो । रमाले आफ्नो ब्यागबाट केही सुनका गहनाहरू झिकेर मलाई दिँदै भनिन्, “ यो लगाऊ रीता मलाई भोलि फिर्ता दिनु नि ।”

अप्ठ्यारो मान्दै मैले लगाएँ ।

मन भित्र कता कता भारीपनको महसुस भइरहेको थियो । अर्कोको यति महँगो गहना लगाएर नाच्दै गर्दा मन भित्र खिन्नता भए पनि अनुहारमा प्रसन्नता ल्याउँदै खुब नाचियो । जीवन भरीको अधुरो सपना पुरा भएको र आफ्नो रहर पुरा भएको महसुस गर्दै बेलुकी घर फर्किएँ ।

हामी नाचेको साथीहरूले भिडियो टिकटक बनाएर पोस्ट गरेछन् । भिडियो भाइरल भएछ । साथीहरूको धेरै कमेन्ट आएको रहेछ, “कति सुहाएको धपक्कै सुनले बलेकी रीता कति राम्री देखिएकी ।”

बिहानै रमाको फोन आयो । मैँले उठाएँ ।

“रीता त्यो गहना मैले तिमिलाई इजरायलबाट आउँदा उपहार ल्याइदिएको हो । फिर्ता दिनुपर्दैन । त्यो सुन जस्तै हो जतन गरेर लगाऊ है ।”

चितवन भरतपुर ।

नारायणगोपालले हेटौँडामा कुल्ली काम पनि गर्नुभयो

नारायणगोपाल हेटौँडाका सङ्गीतकार भीम बिरागसम्मका प्रिय गायक बन्न पुग्नुभयो । केही समय हेटौँडा बस्नु भएका उहाँले हेटौँडा राप्ती खोलामा खुट्टा डुबाउँदै भीमबिरागसँग गीत सङ्‍गीत रचनाका प्रसङ्गहरू पनि रहेका छन् । नारायणगोपालले पूर्व पश्चिम राजमार्ग बनेका बेला हेटौंडामा कुल्लि कामसमेत गर्नु भएको कुरा पनि छ । सङ्‍गीतकार तथा गीतकार स्व‍. भीम बिराग भन्नुहुन्थ्यो- “म तबला बजाउँथे, नारायणगोपाल एक प्याग लगाएर गाउनुहुन्थ्यो, किन कुल्ली काम गर्नु भयो त्यो थाहा भएन ।…..

१९९६ असोज १८ मा काठमाडौँमा जन्मिई २०४७ मङ्सिर १९ मा निधन हुनु भएका नारायणगोपाल गुरूवाचार्य नेपाली आधुनिक गीतका मुर्धन्य स्रष्टा हुनुहुन्छ । उस्ताद बाबु आशागोपाल गुरूवाचार्य र आमा रामदेवी गुरूवाचार्यको ४ छोरी र ६ छोरामध्ये एक उहाँले स्नातकोत्तरसम्मको शिक्षा हासिल गर्नु भएको थियो । उहाँ गायन, सङ्‍गीत, गीतकार र सम्पादकका रूपमा आफ्नो पहिचान बनाउनु भए पनि गायनका कारण उहाँलाई हामी स्वर सम्राटका रूपमा चिन्दै आइरहेका छौं ।
त्यतिखेर आधुनिक गीतलाई उच्चस्तरको नमानिने हुँदाहुँदै नारायणगोपाललाई उहाँका बाबु आशागोपाल गुरूवाचार्यले शाष्त्रिय सङ्‍गीत सिक्नका लागि भारत पठाउनु भए पनि आधुनिक गीतको स्वादले बीचैमा अध्ययन छोडेर नेपाल फर्कनु भयो । त्यसो त दर्जनौं कालजयी गीतका गायक उहाँले १ सय ३७ वटा नेपाली गीतहरू हामीमाझ छोडेर जानु भएको छ । उहाँले गीतिनाटक, चलचित्र र नाटकहरूका लागि समेत गीतहरू गाउनुभयो । ५ सय बढी गीतमा स्वर दिनु भएको छ । उहाँबारे यथेष्ट जानकारी विभिन्न स्रोतहरूमा उपलब्ध छन् । आज भने उहाँबारे केही अनौठा किस्साहरू उल्लेख गर्नेछौं ।

सङ्‍गीत क्षेत्रमा प्रवेशः
तबलाबादकका रूपमा साङ्‍गीतक क्षेत्रमा प्रवेश गर्नु भएको उहाँ एक समय एकछत्र गायनमा सक्रिय रहनु भयो । ‘म गाउँछु केवल जनताको लागि गाउँछु’ भन्ने उहाँले आफूसँगसँगै क्षेत्रप्रताप अधिकारी (चिनारी हाम्रो धेरै पूरानो), दीपक जङ्गम, नगेन्द्र थापा, कालीप्रसाद रिजाल (आँखा छोपी नरोऊ भनी भन्नुपर्‍या छ), हरिभक्त कटुवाल (पोखिएर घामको झुल्का भरी संघारैमा), दिव्य खालिङ (सँधै म हासेँ तिमीलाई रुवाई), भूपि शेरचन (सानै हुरीमा बैंसको सपना) लगायत थुप्रै सङ्‍गीतकार, गायक, गीतकारलाई स्थापित हुनमा सहयोग गर्नुभयो ।

रत्नशमशेर थापासँग पानी बाराबारः
रत्न शमशेर थापाका शब्दलाई अहिलेसम्म पनि नेपाली गीतको क्षेत्रमा उपल्लो दर्जाको सिर्जना मान्ने गरिन्छ । उहाँले नै रच्नु भएको निम्नानुसारका गीतहरू नारायण गोपालका सुरूवाती गीत थिए ।
स्वर्गकी रानी मायाकी खानी, आँखाको भाखा आँखैले, भो भो नछेक मलाई (दीलमाया खातीको साथमा) र बिछोडको पीडा आदि । २०८० असोज १७ गते निधन हुनु भएका दार्जिलिङ निवासी दीलमाया खातीको स्वर सुनेपछि उहाँलाई भेट्न नारायण गोपाल आफैँ दार्जिलिङ पुग्नु भएको थियो । यस्तै तारादेवीको साथमा ‘ए कान्छा ठट्टैमा यो बैँश जान लाग्यो’ र ‘मधुमासमा यो दिल’ गाउनु भएका उहाँको सम्बन्ध तारादेवीसँग पनि पानी बाराबार भयो भन्ने गरिन्छ । बोलचालै बन्द भएपछि पनि नारायणगोपालले केही गीतहरू तारादेवीका साथमा गाउनुभयो ।

देशप्रेमले ओतप्रोतः
पूर्व-पश्चिम राजमार्ग निर्माणमा राजा महेन्द्रले रुस, अमेरिका र भारत जस्ता राष्ट्रहरूलाई उभ्याउँदै गर्दा उहाँको जति तारिफ गरिन्छ । नारायणगोपाल देशप्रेमले ओतप्रोत भएर उही समयमा ‘जाग, लम्क चम्क हे नौजवान हो’ गीत गाउनुभयो ।

डायरी नै च्यातेर लगिदिनेः
नारायणगोपालले राम्रो गीत देख्नै नहुने र देखेपछि डायरीबाट खोसेरै भए पनि गाइदिने गरेको किस्साहरू पनि पढ्न र सुन्न पाइन्छ । पछिल्ला समयमा उहाँले शब्दमा निकै ख्याल गर्ने गरेका कारण गीतहरूले हरेकको हृदयसम्म पहुँच राख्दै जुगजुगसम्म बाँचिरहेको बताइन्छ ।

गोपाल योञ्जनसँग मितेरी गाँस्दै पछि पानी बाराबारः
गीत सङ्‍गीतबारे व्यापक अध्ययन र प्रयोग गर्दै गर्दा देशविदेशमा उहाँको गायनलाई अझ सफलता मिल्नुमा दार्जिलिङ भ्रमण पनि एक मानिन्छ । जहाँ ईश्वरबल्लभले सङ्गीतकर्मी गोपाल योञ्जनसँग मितेरी साइनो गाँसिदिनुभयो भने नारायणगोपालले पेमला लामालाई जीवनसाथी प्राप्त गर्नुभयो । खासमा दार्जिलिङ भ्रमण नै उहाँको स्रोता तथा प्रेमिका पेमलालाई लिन जानु र गीत खोजीको उद्देश्यलक्षित थियो भन्ने गरिन्छ । उहाँहरूका कुनै सन्तान भने भएनन् । यस्तै मित र जीवनसाथीका कारण नै त्यसपछि उहाँको गीत छनौट र गायनमा ठूलो परिवर्तन आएको पाइन्छ । योञ्जनको विवाह भएपछि भने दुवैको सम्बन्धमा चिसो आउँदै गयो । अनन्य मित्र नगेन्द्र थापा, गोपाल योञ्जन र नारायणगोपाल ३ जनामध्ये बोलचाल बन्द भइसकेपछि पनि थापाका अघि दुवै जना भेट्दा जोक गरेर जिस्कने र रमाइलो गर्ने गर्नुहुन्थ्यो । यसको एउटै कारण थियो नगेन्द्र थापाले आफूहरूबीचको दरार थाहा नपाउन् ।

हेटौँडामा नारायणगोपालको बसाइः
नारायण गोपालको गायनका कारण गोपाल योञ्जनदेखि नातिकाजी, शिवशङ्‍कर, अम्बर गुरूङ, धर्मराज थापाको सङ्‍गीतले उहाँलाई अझै उचाईमा पुर्‍यायो । यसैक्रममा नारायणगोपाल हेटौँडाका सङ्‍गीतकार भीम बिरागसम्मका प्रिय गायक बन्न पुग्नुभयो । केही समय हेटौँडा बस्नु भएका उहाँले हेटौँडा राप्ती खोलामा खुट्टा डुबाउँदै भीमबिरागसँग गीत सङ्‍गीत रचनाका प्रसङ्गहरू पनि रहेका छन् । नारायणगोपालले पूर्व पश्चिम राजमार्ग बनेका बेला हेटौंडामा कुल्लि कामसमेत गर्नु भएको कुरा पनि छ । सङ्‍गीतकार तथा गीतकार स्व‍. भीम बिराग भन्नुहुन्थ्यो- “म तबला बजाउँथे, नारायणगोपाल एक प्याग लगाएर गाउनुहुन्थ्यो, किन कुल्ली काम गर्नु भयो त्यो थाहा भएन । तर, लामो समयचाहीँ गर्नु भएन ।” भीमबिराग श्रेष्ठको रचनामा रहेको यस गीतलाई नारायण गोपालका कालजयी गीतको सूचीबाट हटाइदिने हो भने एउटा इतिहास नै मेटिन सक्छ । भीमबिरागको शब्द रचना र नारायण गोपालको सङ्‍गीत तथा स्वरको गीत यहाँ उल्लेख गर्नु उपयुक्त हुन्छः

“तिमीले पनि म जस्तै माया दिएर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सी हेर”

यस्तै भीमबिरागको शब्द र सङ्‍गीतमा नारायणगोपालले यस गीत समेत गाउनुभयोः
“आजभोली हरेक मातिन थालेछ
जिन्दगीदेखि जिन्दगी आत्तिन थालेछ”

एउटै गीतले चर्चितः
एउटै गीतले चर्चित तर अर्को गाउन पाएनन्ः
“सपना भुलाई सारा आँसु पिएर जाऊ, मन्दिरमा छ तिम्रै तस्बिर लिएर जाऊ…। ” गीतकार शिव अधिकारीले लेखेका र योगेश वैद्यले गाउनु भएको एउटै गीतले उहाँलाई चर्चामा पुर्‍यायो । जुन नेपाली गीतलाई माया गर्ने स्रोताहरूमाझ निकै चर्चित बन्यो, बनिरहेको छ । नारायणगोपालले नै स्टेज कार्यक्रममा उद्घोषकको जिम्मा दिनुभए पनि उहाँको गीत भने गाउन भ्याउनु भएन ।

हरिभक्त कटुवाल र स्वरसम्राटः
हरिभक्त कटुवालको रचनामा रहेको “मलाई नसोध कहाँ दुख्छ घाउ” गीत नारायणगोपालले गाउनु भयो । कविता, गीत, नाटक आदि लेखनमा सक्रिय हरिभक्त कटुवालको लेखनलाई छोडेर उहाँको रक्सी पिउने बानीबारे चर्चाहरू ज्यादै पाइन्छ उस्तै नारायणगोपालका पनि कम भने छैनन् भन्ने गरिन्छ । माथि उल्लेख गरेझैँ स्वरसम्राटका सम्बन्धमा यो अफबाह भएको र शोखले पिउने कुरालाई ‘रक्स्याहा’ का रूपमा अनावश्यक हल्ला मात्रै फैलाइएको भन्ने कुराहरू पनि पाइन्छन् । तथापि रचनाका हिसाबले दुवै सर्जकहरूको योगदान नेपाली काव्यइतिहासमा शिलामा लेखिएका छन् ।

स्वरसम्राट उपाधीः
उहाँलाई भूपि शेरचनले पोखरामा २०२८ सालमा एक कार्यक्रमका क्रममा यस उपाधि दिलाउनु भएको हो । उहाँका अनन्य मित्र नागेन्द्र थापाले उहाँलाई स्वर सम्राटको उपाधि दिलाउनुभयो भन्ने पनि पाइन्छ ।

लक्ष्मीप्रसाद देवकोटा र सिद्धिचरण श्रेष्ठका कविता गायनः
लक्ष्मीप्रसाद देवकोटाका मुनामदन कवितालाई उहाँले गायन (सङ्‍गीतः चन्द्रराज शर्मा) गर्नुभयो र सिद्धिचरण श्रेष्ठको मेरो प्यारो ओखलढुङ्गा गाएर कवितालाई गायनमार्फत् भिन्न योगदान दिनुभयो ।

दरबारसँगको सम्बन्धः
रानी ऐश्वर्य (गीतकार चाँदनी शाह) ले लेखेको केही गीतहरू नारायणगोपालबाट गाउन अनुरोध गर्दा नगाइदिएपछि दीपक जङ्गमलाई साह्रै समस्या पो परेछ । पछि उहाँले “एउटा मान्छेको मायाले कति फरक पर्दछ जिउनुमा” रानीले लेखेको गीत गाउनुभएछ । २८ पटक धुन बदलेर मात्रै गाइएको यस गीतले जङ्गमलाई निकै दुख परेको सुन्नमा पाइन्छ ।
नगेन्द्र थापाको शब्दको बिर्सेर फेरि मलाई नहेर, चिनारी हाम्रो धेरै पुरानो, तिम्रो जस्तो मुटु मेरो पनि, लौ सुन म भन्छु मेरो रामकहानीजस्ता कालजयी गीत गाउनु भएका उहाँले अरूणा लामासँग ‘हिमालसरी म पग्लिरहेछु, सम्हाल सम्हाल सम्हाल मलाई’ गाउनुभयो । जसमा उनै मीत गोपाल योञ्जनको शब्द र सङ्‍गीत रहेको छ ।
यस्तै नारायणगोपाल र भीम विराग दुवैलाई उचाइँमा पुर्‍याउने अर्को गीत ‘तिमीले पनि मजस्तै माया दिएर हेर’ भीमबिरागको शब्द र सङ्‍गीत रहेको थियो । हेटौँडाको छोटो बसाइँपछि नारायणगोपाल काठमाडौँ पुगेर राष्ट्रिय नाचघरमा वाद्यवादकका रूपमा जागिरेबाट प्रवेश गरी त्यहाँका हाकिमसम्म हुनुभयो । यो घटनासँग थुप्रै किस्साहरू रहेका छन् ।

* उहाँ पहिलो पटकको स्वर परीक्षणमा रेडियो नेपालमा अनुत्तीर्ण हुनु भएको थियो ।
* स्वरका कारण उहाँले केही चलचित्रहरूका गीतहरूमा असफलता प्राप्त गर्नुभयो । (माइतिघर चलचित्रमा समेत उस्तै भयो ।)
* उहाँले जीवनमा कमाउनुभएका निकै महत्वपूर्ण स्थानका साथीहरूमध्ये आफूलाई स्थापित गराउने गीतकार रत्नशमशेरसँग सम्बन्ध बिग्रियो ।
* आफ्ना दोस्रो गुरु माणिकरत्नसँग बोलचाल नै बन्द हुन गयो ।
* बालसखा प्रेमध्वज प्रधानसँग दूरी बढ्दै गयो ।
* मितज्यू गोपाल योञ्जनको विवाहपछि नारायणगोपालसितको सम्बन्धमा दरार आयो ।
* साँस्कृतिक संस्थानका महाप्रबन्धक हुँदा कारबाही गरेर धेरै कलाकारहरूको अप्रिय बन्नुभयो । (महिनामा एक नाटकका लागि ४ सय जना कामदार रहेकोले आर्थिक भार रहेको बताइन्थ्यो ।)
* भक्तराज आचार्यका अनुसार नारायणगोपालले अरूको प्रशंसा कमै गर्नुहुन्थ्यो ।
* नारायणगोपालको अघि उहाँका कमजोरी कसैले बताउन सक्थेनन् तर भक्तराज आचार्य गम्भीर सुझाव दिनुहुन्थ्यो । तथापी उहाँहरूको सम्बन्ध धेरै खुलेको पाइँदैन ।
* चुरोट र रक्सीका लत परेको उहाँलाई विभिन्न रोगले सतायो र यसैले उहाँको भौतिक शरीरलाई सिध्यायो भन्ने चर्चाहरू पनि पाइन्छ । तथापि परिवारजनले यस कुरालाई अफबाह पनि भन्ने गरेका छन् ।
* उहाँ फूटबल, चेस, कुस्ती खेलका पारखी उहाँ शौखिन फोटोग्राफर हुनुहुन्थ्यो ।
* उहाँले बाजा, गीत र गायनमा सम्बन्धित बागिना प्रकाशन गराउनुभयो तर कूल ३ अङ्‍क मात्र प्रकाशन गर्न सकेकोले उहाँलाई असफल पत्रकार पनि भन्ने गरिएको छ ।
* सञ्चार मन्त्रालयमा सल्लाहकार हुँदा उहाँले गीती नाटक कथा कान्छी मस्याङ लेख्नुभयो ।
* अनन्य मित्र नगेन्द्र थापाद्वारा रचित चिनारी हाम्रो धेरै पुरानो, बिर्सेर फेरि मलाई नहेर र सँगाल घुम्टोहरू गीत गाउनुभएको थियो ।
* नारायण गोपाल आफ्ना मित्रलाई ‘सोम’ भनेर सम्बोधन गर्नुहुन्थ्यो ।
गीती श्रद्धान्जली भाग १-२-३-४, स्वर्णीम सन्ध्या भाग १-२, प्रीयशीका यादहरू, प्रेमको माला, मान्छेको माया, मलाई नसोध, लालीगुरास भएछु, अल्झेछ क्यारे, तिम्रो मनमा, गीतीयात्रा भाग १, नारायणगोपालका आधुनिक गीतहरू भाग १-९, मालती मङ्गले (गीतीनाटक) का स्रष्टा उहाँले नेपाली आधुनिक गायनमा अमीट छाप लगाउनु भएको छ ।

वि. सं. २०२३ सालमा सर्वोत्तम संगीतकार (रेडियो नेपाल) उहाँले जीवनमा पाउनु भएको पहिलो पुरस्कार थियो तर यो गायनका लागि नभई सङ्‍गीतका लागि प्राप्त गर्नु भएको थियो । वि. सं.२०२४ सालमा सर्वोत्तम गायक (रेडियो नेपाल), वि. सं. २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, वि. सं. २०३३ सालमा गोरखा दक्षिण बाहु, चौथो, वि. सं. २०४० सालमा इन्द्रराज्यलक्ष्मी पज्ञा पुरस्कार, वि. सं. २०४३ सालमा लायन्स अवार्ड, वि. सं. २०४४ सालमा छिन्नलता पुरस्कार प्राप्त गर्नुभएको उहाँ वि. सं. २०४५ सालमा पहिलो जगदम्बाश्री पुरस्कारका साथै वि. सं. २०४७ सालमा उर्वशी रङ पुरस्कार र वि. सं. २०४८ सालमा त्रिशक्तिपट्ट तेस्रो (मरणोपरान्त) ले सम्मानित हुनुभयो । नारायण गोपालका जीवनमा आइपरेका यावत सुखदुखका बाबजुद पनि उहाँलाई भारतबाट गीतका लागि आएको प्रस्तावलाई अस्वीकार गरी नेपाली सुगम सङ्‍गीतको क्षेत्रमा उल्लेख्य योगदान दिनुहुने कालजयी गीतहरूका स्रष्टा नारायण गोपालको निधन वि.सं. २०४७ साल मंसिर १९ गते राति ९ बजे वीर हस्पिटलमा भएको भयो ।
उहाँ आफ्नो समयमा नेपाली गीतका स्रोताहरूको मनमा एकछत्र राज गर्न सफल गायक हुनुहुन्थ्यो । नारायणगोपालका सिर्जनाहरू पछिल्ला पुस्ताहरूमा उत्तिकै मन पराइएका छन् । नारायणगोपालदेखि नेपाली कला, गीतसङ्‍गीत क्षेत्रका विश्वज्ञानकोषका रूपमा परिचित प्रकाश सायमीले उहाँबारे एक पुस्तक ‘एक विद्रोही गायकः नारायणगोपाल’ सार्वजनिक गर्दै हुनुहुन्छ ।
आज असोज १९ उनै महान गायक नारायणगोपाल गुरूवाचार्यको जन्म जयन्ती ।

स्वर्गीय गायकप्रति हार्दिक श्रद्धा सुमन अर्पण

सन्दर्भ स्रोतः
१. विकिपिडिया
२. नेपाली गीतसङ्‍गीतका विश्व ज्ञानकोष उपनामकृत प्रकाश सायमीका विविध अन्तर्वार्ता
३. विभिन्न अनलाइन पत्रपत्रिका
४. गीतकार नगेन्द्र थापाका अन्तर्वार्ता
५. स्वर्णीम जीवन युट्युब च्यानलमा नारायणगोपालको स्वर
६. रिदम अनलाइन टिभीः भाइ लक्ष्मण गुरूवाचार्य अन्तर्वार्ता आदि
गाइने

देशप्रेमले ओतप्रोत पहिलो मान्छे / गाइने

आफू जन्मेको भूगोल, वातावरण, चालचलन, धर्मसँस्कृति, आदरभाव, सहिष्णुता नै देशप्रेम हुनुपर्ने हो । शायद परिभाषा पनि समयक्रममा फेरिँदै जाँदो हो ।
त्यसो त विदेशी भूमिमा मर्नु हुँदैन भन्ने पूर्खाको भनाइ रहेको थियो । गाउँबाट नजिकका सहर, सहरबाट अझ ठूला सहर, ठूला सहरबाट विदेशसम्म पुग्नुपरेको छ । पेटको प्रेम देशप्रेमभन्दा चर्कै हुँदोरहेछ ।
०००
तरकारी बजारमा पुग्छु । व्यापारीले ‘साहुजी काउली त त्यहीँ हाँडिखोलाको हो’ भन्छ । एक त साहुजी भनी भनीकन बढी भाउमा बेच्छ, अर्को भारतबाट आएको गोलभेँडालाई भीमफेदी पाखाको हो भनेर झुक्याउँछ । जे जे भए पनि उसले विदेशी चिजलाई देशकै बनाएर हामीलाई देशकै उत्पादन किनेर खाने देशप्रेमी बनाएको छ ।
कपडावालाकहाँ जाँदा नेपाली कपडा देखाउन भन्नुहोस्, उसले देखाउँछ र भन्छ ‘अरूलाई मिटरको पाँच सय, तपाईँलाई चाहीँ चार सय पचास मात्रै’ । चाहे तपाईँ पहिलो पटक नै त्यो पसलमा जानु भएको किन नहोस्, उसको छुट दिने तरिका पनि अचम्मकै हुन्छ । देशको कपडा भाउभन्दा सस्तो पाएपछि नकिन्ने कुरा पनि त भएन नि ।
नेपालमैँ दुबईको सालमन माछादेखि पनि पाइँदोरहेछ । यस्ता ठूलै मार्केटको प्याकेटमैँ उत्पादित देशको नाम लेखिएको हुन्छ । नत्र त उ त्यहीँ सीमात खोलाको सालमन माछा त हो नि भनेर राम्रै देशप्रेम जगाइदिने रहेछ ।
फलफूलवालाले कास्मिरी स्याउलाई मनाङ र डोल्पाको स्याउ बनाएर देशप्रेम राम्रैसँग पगालेको छ । देशप्रेमले फतक्कै पगालेका नेपालीहरूलाई विदेशीले देशप्रेम जगाई जगाई खल्ति रित्याइरहेका छन् ।
०००
“ह्वाँ हाम्रो मलेसियामा जिपर खोलेपछि ‘युरिनल बेसिन’ को ढकन खुलेर ‘रेडी’ हुन्छ । हाम्रो मलेसियामा धारोदेखि ट्वाइलेटसम्म सप्पै सेन्सरबाट चल्ने हुन्छ । बसमा चढेर यसो स्वाइप गर्‍यो पैसा तिर्‍यो । याँ त अनलाइन ट्रान्सफर हुने पसलमा नि वाइफाइ छैन भन्छ । डाटै अन गर्नुपर्ने । उस्तै होटलमा पुगेर भात खायो भने सबै निकालेर झिँगा परेछ भनेर झगडा गरेर भाग्नुपर्ने ।”
“विदेश जाँदा माइतीघरमा आन्दोलन भैराथ्यो, ५ वर्षपछि फर्किँदा पनि आन्दोलनमैँ थे मान्छेहरू । यी मान्छेहरू जागिरै आन्दोलनका खान्छन् कि क्या हो । ५/५ वर्षसम्म कसरी टिकेका ?”
“भित्तामा जे पायो त्यही लेखेका छन्, यहाँ पिसाब गर्ने कुकुर हो अरे । मान्छेका लागि ठाउँ छैन, यो देशमा कुकुरका लागि ट्वाइलेट बनाउँछ कसैले ? नचाहिने कुरा । यो देशको सिस्टम लास्टै खत्तम छ” भन्दै बसपार्कको भित्ताको छेको पारेर पिसाब गर्‍यो ।
यत्तिको विश्वस्त मान्छे कमै भेट हुन्छन् । साँच्चै देशप्रेमले ओतप्रोत भएको यतिको मान्छे मैले पहिलो चोटी भेटेँ । गाइने

स्वर सम्राट नारायण गोपाल गोपालको सम्झनामा कार्यक्रम सम्पन्न ।

स्वर सम्राट नारायण गोपाल गोपालको सम्झनामा कार्यक्रम सम्पन्न भएको छ । हेटौँडा ५ पिप्लेमा अवस्थित ज्ञानोदय बालवाटिका आवासीय माध्यमिक विद्यालयले आयोजना गरेको सो कार्यक्रममा बालबालिकाहरुले आआफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । विद्यालय प्रशासक आल्देन लिङ्देनले नारायण गोपालले गाउनुभएको ‘म मरे पनि मलाई मेरो देशको माया छ’ बोलको गीत गाएर कार्यक्रमकाे शुभा्म्भ गर्नुभएको थियो । दुई ओटा सामूहिक गायन प्रस्तुत भएको सो कार्यक्रममा ऋषभ बानियाँ, आयुष्मा उप्रेती, कृतिशा काफ्ले, बेनु शर्मा पराजुली, विपना मोक्तान, महेन्द्र ओझा लगायतकाले एकल प्रस्तुति दिएका थिए । विद्यालयका प्रधानाध्यापक श्यामकुमार बानियाँले स्वर सम्राट् नारायण गोपालका विविध आयामका बारेमा चर्चा गर्नु भएको थियो । नारायण गोपालको सम्झनामा विद्यालयले हरेक वर्ष ‘भ्वाइस अफ ज्ञानोदय’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस वर्ष प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका प्रतिभालाई २०८० फागुन ४ गते भीम व्रिाग स्मृति एकल गायन प्रतियोगिताका दिन पुरस्कृत गरिने प्रधानाध्यापक बानियाँले जानकारी दिनुभयो । नेपाली गायन र सङ्गीतका शिखर प्रतिभा नारायण गोपाल वि. सं. १९९६ असोज १८ – २०४७ मङ्सिर १९ गते किलागल काठमाडौँमा जन्मेका थिए ।

नारायण ढकालको १९ औं पुस्तक ‘अन्तिम पात’ बजारमा

मकवानपुर । साहित्यकार नारायण ढकालको निबन्धसंग्रह ‘अन्तिम पात’ बजारमा आएको छ । उहाँको यो उन्नाइसौं किताब हो । ‘यात्रा’, ‘पठन’ र ‘पूर्वपीठिका’ गरी तीन खण्डमा विभक्त निबन्धसंग्रहमा ढकालका वि.सं. २०५७ देखि २०७९ सालसम्मका निबन्ध समेटिएका छन् ।

“२२ वर्षभित्र लेखिएका २२ वटा निबन्धहरू यस संग्रहमा परेका छन्,” साहित्यकार ढकालले भन्नुभयो । पत्रपत्रिकामा पूर्वप्रकाशित र केही नयाँ निबन्ध सङ्गृहीत ‘अन्तिम पात’ले आफ्नो निबन्धलेखनको ‘ट्राजेक्टरी’लाई नक्सांकन गरेको निबन्धकार ढकालले बताउनुभयो । बेला पब्लिकेसन्सद्वारा प्रकाशित यस संग्रहमा ‘दर्शनशास्त्र चपाइरहेको ढाडेमुसो’, ‘प्रज्ञा : पञ्चायतको जुठो टपरी’, ‘हजुरबाको रेड बुक’, ‘शीताङ्ग सहरमा लङ्गडो घोडा’ लगायत पाठकद्वारा अत्यधिक रूचाइएका निबन्ध पनि सङ्कलित छन् ।

आफूलाई ‘काँठको क्लर्क’ भन्ने साहित्यकार ढकालका थुप्रै सिर्जना काँठको परिवेश, मनोविज्ञान र राजनीतिक सामाजिक आयामले भरिपूर्ण छन् । मूलपानी, काठमाडौँमा वि.सं. २०१० मा जन्मिएका उहाँ २०२८ सालदेखि निरन्तर लेखनमा सक्रिय हुनुहुन्छ । उपन्यास, कथा र निबन्धमा उनको तेजस्वी उपस्थिति छ । उनका सात कथासङ्ग्रह— शहरयन्त्र (विसं २०५०), इरफान अली (२०५१), बहिर्गमन (२०६१), आत्महन्ता (२०६२), इन्द्रजाल (२०७१), नारायण ढकालका कथा (२०७३), तमस (२०७६); पाँच उपन्यास— पीत संवाद (२०५५), दुर्भिक्ष (२०६१), प्रेतकल्प (२०६५), वृषभ वध (२०७१), हजार माइलको बाटो (२०७४); तीन निबन्धसङ्ग्रह तीन संवत्सर (२०५२), शोकमग्न यात्री (२०६९), अन्तिम पात (२०८०), दुई बालकथासङ्ग्रह— मुसेकान्छाको करामत, गोमाको यार्लिङ; कवितासङ्ग्रह नरकको ढोका प्रकाशित छन् । साथै, उनका दुई अनुवाद किताब पनि प्रकाशित छन् ।

वि.सं. २०२७ देखि २०३२ सम्म हङ्ग्री जेनरेसनको ‘समर्पित कार्यकर्ता’ रहेका ढकाल माक्र्सवादबाट प्रभावित भएदेखि नेपाली वाम राजनीतिमा कहिले प्रच्छन्न र कहिले प्रखर रुपमा अविच्छिन्न सक्रिय रहिआएका हुनुहुन्छ । माक्र्सवादी धाराभित्र सिर्जन–स्वतन्त्रताका पक्षमा दृढ उहाँ कम्युनिस्ट आन्दोलनभित्रका जडताविरूद्ध जीवन–व्यवहारमा र रचनामा पनि प्रतिबद्ध लेखक हुनुहुन्छ ।

‘अन्तिम पात’का निबन्धहरुमा ढकालका निजात्मक अनुभूतिदेखि नेपाली समाज तथा जनजीवनका विभिन्न आयामका कलात्मक बान्की प्रस्तुत भएका छन् । यो उहाँको तेस्रो निबन्धसंग्रह हो ।

नोबेल साहित्य पुरस्कार नर्वेका लेखकलाई प्रदान गरिने

एजेन्सी । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार नर्वेका लेखक युन फोसालाई प्रदान गरिने भएको छ । फोसाको कृतिले ‘व्यक्त गर्न नसकिने कुरालाई नयाँ ढङ्गले नाटक तथा काव्यमा प्रस्तुत गरेकाले’ पुरस्कार दिइने भएको पुरस्कार छनोट समितिले जनाएको छ । फोसाको शैलीलाई ुफोसा मिनिमलिजमु को सङ्ज्ञा दिइएको छ । सन् १९५९ मा जन्मिएका युन फोसाले ४० भन्दा बढी नाटक, उपन्यास, निबन्ध र बाल पुस्तकहरू लेखेका छन् । उनले अनुवादको क्षेत्रमा पनि योगदान दिएका छन् । यसअघि नोबेल पुरस्कार समितिले रसायनशास्त्र, चिकित्साशास्त्र र भौतिकशास्त्रतर्फका विजेताको घोषणा गरिसकेको छ । अब भोलि शुक्रवार शान्तितर्फका विजेताका नाम घोषणा हुने नोबेल पुरस्कार समितिले जनाएको छ । अर्थशास्त्रतर्फका विजेताका नाम आउँदो सोमवार घोषणा हुनेछ । स्विडेनका उद्योगपति तथा रसायनशास्त्री अल्फ्रेड नोबेलले मृत्यु हुनु एक वर्षअगाडि सन् १८९५ मा नोबेल पुरस्कारको स्थापना गर्ने कुरा आफ्नो इच्छापत्रमा लेख्नुभएको थियो ।

कविता : पारिजातप्रति/गौरी कँडेल

ढुङ्गो पनि रसाउँछ भन्छन्
समय आए पछि
यहाँ
अभाव, अशक्त, वियोगान्तकाबीचबाट
कोही आयो मगमागाउँदै
र उठायौ क्रान्तिका चेत कुन मस्तिष्कबाट
थपिदियो एउटा इट्टा र
बढाइदियो सगरमाथाको पनि उचाई ।

निर्भिकता र सचेतता फस्टाउँदै गएपछि
बहन्छ ज्ञानको अजस्र धारा
चिर्दै विकृति विसंगतिको थुप्रो
पुर्दै असमानताको अनन्त खाडल
हरदम क्रियाशील रही न्याय प्रदान गर्न
अडिग एक खम्बा हुन उनी ।

रोग, शोक र भोकले थिल्थिल्याए पनि
गलेन मस्तिष्क, निभेन आशाको दीयो
अझै भनौँ
नारी बन्धन, अन्याय र देशमाथिको गद्दारी
कसरी बनिरहे उनको निशानामा
जिवनभर शारीरिक र मानसिक रोगको
अचुक औषधि बनिरहे पारिजात
मेरो आँगनको डिलमा बसेर
कालो रातभित्र पनि फक्रिरहने जून
बस्तिबस्ती डुलिरहने हावाको झोक्का
समुन्द्रमा उर्लिरहने छाल
या चम्किरहने पर क्षितीजनेरको एउटा तारा
नारी अस्मिताको रक्षार्थ खटिरहने
मानवतावादी सोच बोकेर
मन मस्तिष्क हल्लाउन सक्ने
सुगन्धित फूल हौ तिमी ।

निष्ठावान, न्यायप्रेमी, स्वाभिमानी
निडर र इमानको प्रतिमूर्ति
कयौं असहाय, अबला, निमुखाहरुको भरोसा
गरेर समाजसेवा बनाएर बचेराबास
लुकाएर कयौं पिडाहरु
निरन्तर खटिरहने पारिजात बनून् मनुज ।

कविता : पारिजातप्रति/गौरी कडेल
बकैया–४, मकवानपुर

वरिष्ठ गायिका दिलमायाको निधन

‘बिछोडको पीडा नसकी खप्न दसैंको बेलामा’ सन् १९७२ मा स्वरसम्राट नारायण गोपालसँग कोलकाता पुगेर रेकर्ड गराउनु भएको थियो, यो गीत दार्जिलिङका वरिष्ठ गायिका दिलमाया खातीले । तिनै कालजयी गीतका स्रष्टा खातीको मंगलबार राति ८४ वर्षको उमेरमा दार्जिलिङमा निधन भयो ।
उहाँ लामो समयदेखि श्वासप्रश्वास सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा जन्मिनुभएका उहाँ गोपाल योञ्जन, कर्म योञ्जन, रञ्जित गजमेर, शान्ति ठटाल, अरुणा लामा समकालीन हुनुहुन्थ्यो ।
सन् १९६२ मा पहिलो पटक काठमाडौं आउनुभएको थियो । त्यहीबेला शिवशंकर, नातिकाजी श्रेष्ठ, तारादेवीजस्ता दिग्गज स्रष्टाहरूसँग उहाँको चिनापरिचय भएको थियो । काठमाडौं घुम्न आएको बेला उहाँले रेडियो नेपालमा ६ महिना अल्झिनुप¥यो । यसबीचमा उहाँका थुप्रै गीत लाइभ रेकर्ड गरियो । दिलमाया भने छिट्टै फुत्किएर दार्जिलिङ फर्किन चाहानुहुन्थ्यो तर, उहाँको प्रतिभाबाट कायल भएका नातिकाजीलगायतका दिग्गज संगीतकर्मी उहाँलाई यतै राख्न चाहन्थे ।
रेडियो नेपालबाट गोल्ड मेडल पाउनुभएका दिलमायालाई रेडियोले उम्किनै दिएन । तर, उहाँ आमा बिरामी भएको बहाना बनाएर दार्जिलिङ फर्किनु भएको थियो ।
२०७१ सालमा नारायण गोपाल संगीत कोषले प्रदान गरेको स्वरसम्राट नारायण गोपाल स्मृति पुरस्कार ग्रहण गर्न उहाँ दोस्रो पटक काठमाडौ आउनु भएको थियो । दार्जिलिङका धेरै स्रष्टालाई काठमाडौंले तानिरहेको थियो । तर, दिलमायाको दिल काठमाडौंले कहिल्यै जित्न सकेन । उहाँ दार्जिलिङ फर्किएर शिक्षणसँगै संगीतकर्ममा रमाइुहनुभयो ।
नारायण गोपालसँग भने दिलमायाको भेट सन् १९७२ ताका दार्जिलिङमै भएको थियो । भेटको चाँजो मिलाउनुभएको थियो, नारायण गोपालका मित अर्थात् गोपाल योञ्जनले । नारायण गोपालकै आग्रहमा उहाँले ‘बिछोडको पीडा नसकी खप्न दसैंको बेलामा’ बोलको गीत गाउनुभएको थियो । यो गीत अहिले पनि उत्तिकै लोकप्रिय मानिन्छ । उहाँहरूले कोलकाता पुगेर ‘बिछोडको पीडा र ‘तिमी देख्दा रहर….’ भन्ने युगल गीत रेकर्ड गराउनु भएको थियो । दिलमायाले नारायण गोपालसँग गाउनु भएको यी दुईमात्रै गीत हुन् ।
उहाँले बचाई राख सम्झनाभित्र, म कहिले मर्दिनँ, सावन फर्की फेरि आयो, माया लगाई निष्ठुरी फर्केनजस्ता डेढ सय हाराहारीमा गीतहरू गाउनुभएको छ ।
छातीमा समस्या देखिएका कारण उहाँ केही समयअघि अस्पताल बसेर फर्किनु भएको थियो । उहाँलाई खानामा अरुचीलगायतका समस्या थियो । लामो समय शिक्षण पेशामा आबद्ध उहाँ अविवाहित हुनुहुन्थ्यो । उहाँ घुमस्थित घरमा उहाँ दाई र भदैनीहरूसित बस्दै आउनु भएको थियो । गायिका दिलमायाको निधनले नेपाली संगीत जगतलाई नै अपूरणीय क्षती पुगेका छ ।

जनप्रियमा पुस्तक प्रदर्शनी, विद्यार्थीको सक्रिय सहभागिता

आश्विन १६, मकवानपुर ।
किताबघर हेटौँडाद्वारा हेटौँडा १६ मा अवस्थित जनप्रिय मा.वि. मा पुस्तक प्रदर्शनी गरिएको छ ।
यो सिजनमा मकवानपुरका ८ विद्यालयहरूमा गरिएको प्रदर्शनीमध्ये मंगलबार जनप्रिय सभाहलमा ६ वर्ष उमेरमाथिका विद्यार्थीलक्षित पुस्तक प्रदर्शनी गरिएको छ ।

साहित्यिक, राजनीतिक तथा विचारप्रधान पुस्तकहरू मात्र उपलब्ध हुने किताबघरको दशैँअघिका कार्यक्रमअन्तर्गत असोज ९ गते कमाने एकेडेमीबाट सुरू भएको प्रदर्शनी यात्रा असोज ३० गते जीएस निकेतनमा पुगेर टुङ्गिनेछ ।
यस्तै वर्षे विदाको समयमा विविध साहित्यिक कार्यशाला सञ्चालन गरेको यस विद्यालयमा भइरहेको पुस्तक प्रदर्शनीबाट विद्यार्थीहरूले कक्षागत पुस्तक अध्ययनका अलावा विविध विधाका पुस्तकमा चासो राख्ने र यसले उनीहरूमा पठन संस्कृतिको विकास हुने अपेक्षा लिइएको प्रधानाध्यापक भुपेन्द्र चौलागाईँले जानकारी दिनुभयो । साथै उहाँले पठन संस्कृतिको अभवृद्धिका लागि विद्यालयमा पुस्तकालय व्यवस्थापनका कार्यहरू भइरहेको हुँदा विद्यार्थीका अलावा स्थानीयले समेत अध्ययन गर्ने थलोको रूपमा विकास गर्न सके यसले सार्थकता पाउने बताउनुभयो ।
सोही क्रममा कक्षा ९ की छात्रा बिबिशा खड्काले विद्यालयले विद्यार्थीहरूको रुचीलाई ख्याल गरेर विविध कार्यक्रमहरू गर्दै गएकोले आफू निकै खुशी भएको बताउनुभयो । साथै सो कक्षाका सबै विद्यार्थीले एक विद्यार्थी एक पुस्तक लिएको र दशैँको विदापश्चात् सोबारे समीक्षा लेखन तथा वाचन क्रियाकलापहरूका लागि पूर्व तयारीका लागि पनि यसो गरिएको जानकारी दिनुभयो ।
नेपाल, भारत, अमेरिका, फ्रान्स आदि देशका प्रकाशन गृहका नेपाली र अंग्रेजी भाषाका पुस्तकहरू रहेकोमा शिक्षक र विद्यार्थीहरूले विविध पुस्तकहरू लिएका छन् । शिक्षक रविन श्रेष्ठले जोन हल्ट र गिजुभाईका पुस्तकहरू सङ्कलन गर्नुभयो भने प्रधानाध्यापक चौलागाईँले गणित सिकाइसँग सम्बन्धित पुस्तक सङ्कलन गर्नुभयो । शिक्षक संप्रस पौडेलले मदनकृष्ण श्रेष्ठद्वारा लिखित पर्यासाहित्यका पुस्तकसहित केही थान बालसाहित्यका पुस्तक सङ्कलन गर्नुभयो ।
विद्यालयमा शिक्षकको जन्मदिनका अवसरमा कक्षामा रहनेगरी पुस्तक उपहार दिने परम्परा व्यवस्थित हुँदै गएको छ भने साहित्य सर्जक, अभिभावक, विद्यार्थी, पुस्तकप्रेमीहरूबाट एक व्यक्ति एक पुस्तक अभियानअन्तर्गत विद्यार्थीका लागि कक्षामैं उपलब्ध रहनेगरी पुस्तक सङ्‍कलन अभियान सञ्चालनका क्रममा रहेको अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठले जानकारी दिनुभयो ।
मंगलबार कक्षा ८-१० मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरिएको थियो भने बुधबार ११, १२ तथा साना बालबालिका लक्षित प्रदर्शनी रहने सञ्चालक छवि अनित्यले बताउनुभयो । निजी तथा संस्थागत विद्यालयहरूमा मात्रै यस्ता गतिविधि भइरहेकोमा जनप्रिय मावि मकवानपुरका विद्यालयहरूमध्ये पुस्तक प्रदर्शनी गर्ने पहिलो सामुदायिक विद्यालयका रूपमा चिनिएको छ ।

हजार सपनाहरूको माया लागेर आउँछ

बुबा बलभद्र र आमा रेनुकाको कोखबाट वि.सं. १९९९ साल असोज १६ मा जन्मिनु भएका भक्तराज आचार्य नेपालको चर्चित गायक हुनुहुन्छ । पछिल्ला पुस्ताले उहाँलाई सम्झिए कि सम्झिएनन् वा सम्झाउने कुनै कसरत सम्बन्धित पक्षले गरे वा गरेनन् भन्ने अर्को पाटो भने हुन आउँछ । डेढ वर्षमैँ बुबा गुमाउनु भएका उहाँका दुई सुपुत्र हुनुहुन्छ- सत्यराज आचार्य र स्वरूपराज आचार्य । उहाँहरू दुवै गीतसङ्‍गीतको क्षेत्रमा स्थापित हुनुहुन्छ नै ।
०००
भारतको डुअर्सको चियाबगानमा उहाँका ३१ वसन्त बितेका थिए । विपत्तिमा पनि उहाँले संगीतप्रतिको लगावका कारण ‘संगीत प्रभाकर’ सम्म अध्ययन गर्नु भएको थियो ।
वि.सं. २०३० सालमा काठमाडौंमा भएको ‘अधिराज्यव्यापी राष्ट्रिय गीत प्रतियोगिता’ मा उहाँले गाउनु भएको ‘होसियार यसबखत समयको मुखलाई चिन’ पहिलो भयो र उहाँले स्वर्ण पदक प्राप्त गर्नुभयो । गीतका सङ‍्गीतकार तथा रचनाकार अम्बर गुरुङले पनि स्वर्ण पदक प्राप्त गर्नु भएको थियो । यस बारेमा हाम्रा अघिल्ला लेखमा उल्लेख गरिएकै छ ।
प्रतियोगितामा प्रथम भएपछि उहाँ रेडियो नेपालमा जागिरे हुनुभयो । वि.सं. २०४६ सालसम्ममा उहाँले ४ सय ५० बढी गीतहरू रेकर्ड गराउनुभयो । भजन, आधुनिक, गजल, राष्ट्रिय, बालगीत आदि गायन गर्नु भएका उहाँले चारवटा मात्रै युगल गाउनु भएको छ ।
वि.सं. २०४६ सालको एक साँझ उहाँको जीवनको कालो दिनका रूपमा चिनियो । बौद्धमा रहँदा उहाँमाथि सांघातिक हमला भएपछि टाउकामा झन्डै सयभन्दा बढी टाँका मार्नुपरेको र सो घटनाले उहाँको गायनलाई पूरापूर बन्द गराइदियो ।
०००
हामी उहाँलाई भजन शिरोमणिका नामले चिन्दछौं । उहाँका गायनका केही चर्चित गीतहरू निम्नानुसार रहेका छन्ः
जीवन भनुँ त घात छ
मृत्यु भनुँ त शास छ
दोधारमा बाँचु कति
हर गीतमा चित्कार छ…

०००
मुटु जलिरहेछ, यो मन गलिरहेछ
तिम्रो याद आइदिँदा आँशु त्यसै बगेछ…

०००
हजार सपनाहरूको माया लागेर आउँछ
बाँच्ने रहर जस्तो फेरि भएर आउँछ

००००
भजन शिरोमणि, गोरखा दक्षिणबाहु, त्रिशक्ति पट्ट (पहिलो), वीरेन्द्र-ऐश्वर्य सेवा पदक, राष्ट्रिय प्रतिभा पुरस्कार, छिन्नलता पुरस्कार, राष्ट्रिय सङ्गीत सम्मानलगायत दर्जनौं सम्मानले विभुषित उहाँ बाँचेको परिवेश फराकिलो रहिरहेको छ ।
सङ्‍गीत शिखर भक्तराज आचार्य जसमाथि आक्रमण भएपछि गीत गाउनै सक्नुभएन । क्यान्सरका कारण केमो लगाउनु परेपछि उहाँले खानपान, फलफूल सबै त्यागेर दूध मात्रै पिउने गर्नुहुन्छ भने अस्पष्ट स्वरमा केही अन्तर्वार्ताहरू रहेता पनि मुखबाट र्‍याल बगिरहने समस्यालगायतका कारण उहाँ अन्तर्वार्ता दिनै चाहनु हुन्नँ ।
उहाँको जीवनबारे फिल्म बनेको छ । पुस्तक प्रकाशन भएको छ । उहाँका कालजयी सिर्जनाहरूका कारण उहाँ हामीमाझ सदैव रहिरहनुहुनेछ । असोज १६ उहाँको जन्मदिन । हजार सपनाहरूको माया लागेर आउँछ, उहाँले बाँचेको परिवेश भव्य थियो, रहिरहनेछ । सर्वप्रिय स्रष्टा आचार्यलाई जन्मदिनको हार्दिक शुभकामना । ✍गाइने