Home Blog Page 63

कथा : कर्णेल सापको कुकुर बौलाएछ​​​​​​​/रमेश विकल

रमेश विकलको जन्म वि. सं. १९८५ कात्तिक २९ गते भाइटीकाका दिन काठमाडौँ जोरपाटीको आरुबारीमा भएको हो ।  नेपाली कथाकार र उपन्यासकार हुनुहुन्थ्यो । अविरल बग्दछ इन्द्रावतीका लेखक विकलले आख्यान, यात्रा साहित्य र बालसाहित्यमा प्रमुख रूपमा कलम चलाउनुभयो । उहाँ नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ पनि हुनुहुन्थ्यो । नयाँसडकको गीत कथासङ्ग्रहका लागि उनले वि. सं. २०१८ को मदन पुरस्कार पाउनुभएको थियो, त्यतिबेला उहाँको उक्त कथासङ्ग्रह पाण्डुलिपिमै थियो ।

क साँझ ड्यूटीबाट फर्केर घरभित्र पस्तापस्तै आफ्नी किशोरी छोरी डल्फिन बेबीलाई आफ्नै घरको डाँगोले बलात्कार गर्न खोजेको देखेर कर्णेल राणाको आश्चर्य साथै रिसको सीमा रहेन । उनको खान्दानी राणा क्रोध चरम विन्दुमा पुग्यो ।

एकदिन कर्णेल जङ्गध्वज राणाको जर्मन शेफर्ड जातको लाइका कुकुर एक्कासी बौलाएछ । नत्र कहिल्यै उत्तेजित नहुने भद्र स्वभावको कुकुर आफ्नै मालिक्नी डल्फिन बेबीलाई बलात्कार गर्न किन जाइलाग्थ्यो र । यो सबैका लागि अनौठो लाग्दै कुरा भएन र ? तर जति आश्चर्य लागे पनि कुरो चाहिँ पक्कै हो । यस कुराका साक्षी डल्फिन बेबीका बाबुआमा खुदै छन् । अझ उसकै भाइ टाइसन राणा र घरका अरू धाई सुसारे नोकरचाकर पनि छन् ।

एक साँझ ड्यूटीबाट फर्केर घरभित्र पस्तापस्तै आफ्नी किशोरी छोरी डल्फिन बेबीलाई आफ्नै घरको डाँगोले बलात्कार गर्न खोजेको देखेर कर्णेल राणाको आश्चर्य साथै रिसको सीमा रहेन । उनको खान्दानी राणा क्रोध चरम विन्दुमा पुग्यो । के यो डाँगो लाइका बौलाएछ । कर्णेलको हात आफ्नो कम्मरमा छालाको दापमा झुण्डिएको रिभल्बरमा पर्‍यो । उनले यता उति केही नसोची त्यो रिभल्बर झिकेर गोली ठोकिदिए – ‘ठाइँ ….. ठाइँ ….. ठाइँ ।’

घरभरि खैलाबैला मच्चियो- “लाइका बौलाएछ । कर्सापले त्यसलाई गोली मारिबक्स्यो ।” आफ्नी छोरीलाई बलात्कार गर्न खोज्ने त्यो कुकुरलाई गोली ठोक्नु एउटा खान्दानी फौजीका लागि अस्वाभाविक पनि त थिएन । मालिक मालिक्नी खास गरी डल्फिन बेबीकै अत्यन्त प्यारो लाइका कुकुर ऐया पनि भन्न नपाइ ठहरै भयो ।

लाइका- यो जर्मन शेर्फड जातिको सुन्दर कुकुर कर्णेललाई त्यति बेलाको जर्मन राजदूतले दिएको थियो । अझ कर्णेललाई पनि होइन बेबी डल्फिन राणालाई उपहारमा दिएको । त्यतिखेर नेपालमा जर्मन राजदूतावास थिएन । भारतकै लागि नियुक्त जर्मन राजदूत दिल्लीमै बसेर नेपालको मामिला पनि हेर्थ्यो । कहिलेकाहीँ त्यस्तै राजकीय समारोह पर्दा मात्र नेपाल आउँथ्यो । एकपल्ट त्यस्तै एउटा समारोहमा ऊ नेपाल निम्त्याइएको थियो र परिवार सहित ऊ आएको थियो ।

अनि नेपाल बसुञ्जेल उसका लागि आवास प्रबन्ध मिलाउनेमा कर्णेल जङ्गध्वज राणा खटिएका थिए । उनको प्रबन्धबाट राजदूत हाइनरिख डेम्लर र श्रीमती मार्गारेट हेम्लर बडो प्रभावित भएका थिए । उनीहरूको नेपाल बसुञ्जेलको अन्तरालमा निकै राम्रो सम्बन्ध बनेको थियो । श्रीमती हेम्लर उनीहरूलाई बराबर चियापानमा बोलाउने गर्दथिन् । आमाबाबुको साथमा नौ दश वर्षीय छोरी बेबी डल्फिन राणा पनि जाने गर्थी ।

बडा बडा निर्दोष आँखा, गोरो रोगनमा कालो घना कपाल, हिस्सी परेको निश्चल अनुहार! उसलाई देख्ता डल्फिन माछाको हर्दम हाँसिरहेझैं निश्चल अनुहारको सम्झना आउँथ्यो । त्यसैले उसको नाउँ नै डल्फिन राखेका थिए ।

एक दिन यस्तै दोस्रो प्रहरको चियापानको निम्तोमा आमाबाबुका साथमा बेबी डल्फिन राणा पनि गएकी थिई । सकिँदो शरद र शुरु हेमन्त ऋतुको प्यारो मौसम! उनीहरू अतिथिशालाको सुन्दर बगैंचा रत्न बाग (डाइमन गार्डेन)को हरियो चौरमा बसेका थिए । हेमन्त ऋतुको शुरु दोस्रो प्रहरको न्यानो घामको सुम्सुम्याइको साथमा रमाइला र मीठा मीठा गफ गर्दै चियाको सुर्को सुर्क्याउँदै सबैजना आनन्दको अनुभूति संगालिरहेका थिए ।

“हाम्रो अब दिल्ली फर्कने दिन आयो के गर्नु, नेपालको यस्तो स्वर्गीय आनन्द, तपाईंहरूको यति आत्मीय साथ छोडेर दिल्लीको त्यो उसिन्ने गर्मी खप्न जाने इच्छा त छैन तर के गर्नु – नोकर भएपछि आफ्नो ड्यूटी त गर्नै पर्‍यो ।” राजदूत हेम्लरले उदास भएर भन्यो । अझ श्रीमती हेम्लरको उदास अनुहारले लोग्नेलाई भन्दा पनि यहाँको यो आनन्द छोडेर जानु उसलाई पटक्कै मन नभएको कुरा बताइरहेको थियो । तर ऊ पनि लाचार थिई । उसले गुनासोको स्वरमा लोग्नेसँग भनी- “तपाईं एउटा जर्मन दूतावास यहीँ बनाउनु पर्छ भनेर सरकारसँग किन सिफारिस गर्नुहुन्न ?”

“मैले सिफारिस गर्दैमा हुँदो हो त म सरकारसँग मात्रै किन ईश्वरसँग ‘मलाई यही देशमा जन्माइदेऊ’ भन्ने थिएँ ।”- राजदूतले केही ठट्यौलो र केही आकांक्षाको स्वरमा भन्यो । त्यसै बेला उनीहरूकी किशोरी छोरी आएन हेम्लर त्यहाँ आई उसले वगलमा एउटा सानो छाउरो बोकेकी थिई । त्यो सानो छाउरो डल्फिन बेबीलाई देख्ने बित्तिकै सुन्दरी एनीको अँगालोबाट फुत्किएर दगुर्दै डल्फिनको काखमा लुटपुटिन आइपुग्यो । ऊ डल्फिनको काखमा उफ्र‌दै उसको आँखा, नाक, मुख, गर्दन सबैतिर चुम्मा लिन थाल्यो । डल्फिन पनि उसलाई दुबै हातले च्यापेर आफ्नो छातीमा टास्तै उसको गालामा गाला जोर्दै, सबैतिर चुम्न थाली । त्यो दृश्य कस्तो लाग्थ्यो भने यी दुइ मानव पुत्री र श्वान पुत्रको मिलन अहिलेको मात्र होइन, यो त उनीहरूको जन्म जन्मान्तरको आत्मीय सम्बन्ध हो ।

यो अत्यन्त संवेदनशील मिलन दृश्य देखेर राजदूत दम्पति पनि मुग्ध भएका थिए । उनीहरू बहुतै संवेद्य भएका थिए ।

“बुबा ! यो पप्पी कति राम्रो छ हगि, कति माया लाग्दो, कति डार्लिङ्ग ! ……… बुबा हामीलाई पनि एउटा यस्तै पपी ल्याइदिस्योस् न । है बुबा – है, है !” – बेबी डल्फिन छाउरोलाई त्यसै त्यसै आफूमै लीन गराउँला झैं छातीमा टाँसेर बाबुसँग आग्रह गर्न थालेकी थिई, लाडिन थालेकी थिई । त्यो अत्यन्त भावुक क्रीडा गहिरिएर हेरिरहेको राजदूतले एक्कासी सोध्यो – “नानीलाई पप्पी मन पर्छ हो ? यो तिमीलाई भयो, तिमी यसलाई धेरै धेरै माया गर्नु ल!”

“होइन होइन महामहीम (योर एक्सेलेन्सी) त्यसो नगरौं ! यो त यसको बच्कानापन हो, बच्चाको क्षणिक सोख रहर …. नयाँ कुरा देख्यो कि त चाहिहाल्ने । अनि त्यो पाएपछि एक दुई घण्टा बढीमा एकाध दिनमै बिर्सने; त्यत्तिकै फालिदिने । …महामहीमले यस्तो गर्नु पर्दैन ।” कर्णेलले बडो सङ्कोच मानेर भने । तर राजदूतले बडो आग्रहसँग भन्यो – “न, न, मलाई कुनै बोझ छैन कर्णेल, सङ्कोच नमान्नोस् । यो हाम्रो तर्फबाट छोरीलाई मायाको सानो चिनो ।”

“एस् कर्णेल, यो बेबीलाई हाम्रो सानो गिफ्ट (उपहार)” श्रीमती मार्गरेट हेम्लरलेपनि अत्यन्त खुशीको स्वरमा लोग्नेको समर्थन गरिन् ।

यसरी कर्णेल जङ्गध्वज हमालको घरमा जर्मन शेर्फड जातिको त्यो छाउरो – लाइकाको प्रवेश भयो । त्यसको जर्मन नाउँ त के थियो कुन्नी, तर डल्फिन बेबीले चन्द्र लोकको पहिलो यात्रु कुकुर लाइकाको नाउँ दिएर त्यसको इज्जत गरेकी थिई । लाइका कर्णेलको घरमा बेबी डल्फिन राणाकै साथमा अत्यन्त पुल्पुलिएर हुर्कदै बढ्दै अब चार वर्षे कुर्कुरे बैंसको गल्लीमा लर्खराउन थालेको थियो ।

अनि बेबी डल्फिन पनि बाल्यवयको अन्तिम मोडबाट उतापट्टिको किशोर वय प्रवेशको नौलो फूलबारीमा प्रवेश गर्न तर्खराउन थालेकी थिई । यसरी शिशिरको सँघारबाट वसन्तको पहिलो फूलमा हाँस्न खोजेको कोपिला जस्ती मानव किशोरी र उरण्ठ्यौले बैंसले कुतकुतिएको श्वानपुत्र लाइकाको मितेरी भावना अप्ठेरो गोरेटो हुँदै सँगसँगै हिड्न थालेको थियो ।

लाइका जवानीको पूर्ण नसामा आँखाभरि के के चाहनाको चमक बोकेर संसारलाई हेर्न थालेको थियो । उसका सम्पूर्ण नसाहरूमा तातो रगत दगुर्न थालेको थियो । त्यसैको गर्मीले उसका सबै अङ्गमा फूर्ति र गति भरिदिएको थियो । तर ऊ घरको चोटा-कोठा, छत बरण्डाको चारकिल्ला नाघेर बाहिर स्वतन्त्र हावामा जान पाउँदैनथ्यो । ऊ सम्भ्रान्त घरको उच्च जातको कुकुर, उसलाई परिवारको सम्भ्रान्त परिवेशबाट बाहिर जान दियो भने उसले गल्लीका खिचाहरूसँग मिसिएर आफ्नो जात फाल्ने जोखिम थियो । त्यतिमात्र होइन बाहिरका ढल रछानमा मिल्किएका सडेका कुहिएका गलेका फोहर विष्टाहरूमा थुतुनु गाडेर पूरै गल्ली खिचाको संस्कार, चरित्र बोक्न सक्थ्यो । त्यसैले उसलाई एक्लै घरबाट बाहिर खुलामा घुम्ने अनुमति थिएन ।

बाहिर ऊ त्यति बेला मात्र जान पाउँथ्यो, जुन बेला कर्साप बाहिर दौडाहा सौडाहा र लामो ड्यूटीमा हुँदैनथे र घरै हुन्थे । उनी आफू घरै भएको बेलामा भने प्रायः साँझ बिहान ताजा हावा खान (इभनिङ्ग वाक मोर्निङ्ग वाकमा) निस्कन्थे । त्यतिखेर उनी लाइकालाई पनि लिएर जान्थे । कित आफू शिकार गएको बेलामा सँगै लान्थे । तर त्यस बेला पनि ऊ स्वतन्त्र विचरण गर्न भने पाउँदैनथ्यो; साङलाले बाँधिएर घिच्चिएको हुन्थ्यो । त्यसैले बैंसको काउकुतीले कुत्कुतिएर स्वतन्त्र घुम्ने उसको चाहना त्यत्तिकै कुण्ठित हुन्थ्यो । अनि ऊ घर भित्रैको कोठा, चोटा, छत, बरण्डाको सीमित घेरा भित्र उद्विग्न भएर कुइ-कुइं गर्दै छत बरण्डाको एक कुनादेखि अर्को कुनासम्म लरखराइरहन्थ्यो । उसको यो रन्थन्याइ डल्फिन बेबी स्कूलबाट घर फर्केपछि मात्र अलि मत्थर हुन्थ्यो । किनभने ऊ बेबीसँग खेल्न पाउँथ्यो ।

हुन त बेबी बाहिर गएको र कर्णेलको लामो अनुपस्थितिको मौका छोपेर कर्णेल्नी मोनिका राणा पनि उससँग मन बहलाउन र उसको न्यास्रो मेटाउन नखोज्ने होइनन्; उसलाई छातीमा टाँसेर आफ्नो मन भरिको माया पोख्न उनको अन्तरकी बालिकाले जुरमुराउन नखोज्ने त कहाँ हो र ? तर कहाँकी ताजा गुनकेशरी बेबी कर्णेल अनि कहाँकी उसकी आमा-ओइलाएको पलाँस जस्ती अधबैंसे पोथी । कुकुर भनेर कहाँ हुन्छ र ? ताजा र बासी सुँघ्न सक्ने शक्ति त उसमा पनि त हुन्छ । त्यसैले ऊ मोनिका राणाको बासी अँगालोबाट बलैले फुत्किएर परतिर भाग्दथ्यो । र सकेसम्म ऊ उनको नजिकै पर्दैनथ्यो; तर्केर हिंड्थ्यो । अनि न्यास्रिएझैं एउटा कुनामा गएर टाङ्गमुनि मुन्टो घुसारेर पस्रिइरहन्थ्यो । खान पनि मन गर्दैनथ्यो ।

अनि बेलुकी डल्फिन बेबी घरफर्के पछि मात्र उसको न्यास्रो मेटिन्थ्यो र उसमा फूर्ति भरिन्थ्यो । अनि ऊ डल्फिनको काखमा चढेर खुशी हुँदै उसलाई झँगेल्न थाल्थ्यो ।

तर हिजो आज बेबी पनि चाँडो घर आउन्नथी । एसएलसी परीक्षाले उसको ढोका घच्घच्याउन थालिसकेकोले स्कूलपछि ऊ प्रायः साथीहरू कहाँ सह-अध्ययन गर्न जान्थी र राती अबेलै फर्कन्थी । घर आएपछि पनि उसलाई लाइकासँग खेल्ने त्यति फुर्सद हुँदैनथ्यो । उसप्रतिको कर्तव्य ऊ फगत उसका बारेमा खै खबर गरेर मात्र पूरा गर्थी – “लाइका डियर! मुवाँ! लाइले खायो के खायो मुवाँ!” बस् । त्यसपछि ऊ आमाको जवाफलाई सम्म पनि नपर्खिएर आफ्नो पढाइमा लाग्थी । उसको यो व्यवहारले लाइकाको मनमा कस्तो भावना उठ्दो हो त्यो मान्छेले बुझन सक्तैनथ्यो! अनि उसको उद्विग्नता र अशान्ति बढ्दथ्यो र ऊ रातभर कुइँकुइँ कुइँकिदै र भुक्तै रिङरिहन्थ्यो । अनि मान्छेले ठान्थ्यो, ऊ आफ्नो श्वान (कुकुर) धर्मको पालना गर्दैछ; मालिकको धनमालको रक्षा गर्न घुमी घुमी भुक्तैछ ।

शरद-हेमन्तको ऋतु शुरु भएपछि त्यो ठूलो घर (महल) भित्र बन्दी तुल्याइएर एकलो परेको लाइका अब धेरजसो सडकपट्टिको बरण्डाको डण्डीबार (रेलिङ्ग वाल) को टाउकामा अगाडिका दुइ खुट्टाले टेकेर करुण आँखाले एक टकले सडक पारिको बङ्गलाको झयालतिर हेरेर उभिइरहन्थ्यो । ऊ त्यहाँ उभिन पुगेपछि त्यो पल्लो घरको झयालमा पनि त्यस घरकी कुकुर्नी आएर उसैलाई मायालु आँखाले हेरेर उभिन्थी ।

सडक पारिको यो बङ्गलापनि कर्णेलकै हाराहारीको तर बिग्रिएको खान्दानी बाबुसाहेबको थियो । ‘हिङ्ग नभए पनि हिङ्ग बाँधेको टालो त छ ए’ भन्ने उखानलाई चरितार्थ गर्दै बाबुसाहेवले आफ्नो पुर्ख्यौली शोख पालेकै थिए- एउटी बैंसालु बेलाइती कुकुर्नीका रूपमा । लाइका आफ्नो एकलोपनको न्यास्रो मेटाउन (कि आफ्नो अतृप्त वासनालाई मानसिक तृप्ति दिलाउन ?) त्यससँग मूक प्रणययाचना गरिरहन्थ्यो । तर उसको यो तृप्ति धेरै बेर रहन पाउन्नथ्यो । एउटी तरुनी आइमाई आएर उसकी प्रेयसी (शायद) लाई तानेर (कहिले कहीं बोकेर पनि) भित्रतिर लान्थी । अनि त लाइकाको विक्षोभ झन अकासिन्थ्यो र ऊ भाउन्न भएझैँ टप (छत) र वरण्डामा रिङ्न थाल्थ्यो ।

रिङ्दा रिङ्दै ऊ फेरि रेलिङ्गको अन्तरबाट टाउको छिराएर तल सडकमा हेर्न थाल्थ्यो । त्यो इलाका आवासीय भएकोले सवारीको आऊ जाऊ त्यति साह्रो हुँदैनथ्यो, खालि फाट्फुट् सबारी देखिन्थे सडकमा । बरु त्यहाँको सामान्य दृश्य भनेको गति छाडेरै आपसमा लठारिएर हिंडेका एकआध कुकुरे बैंसका ठिटा-ठिटीका जोडी र हेमन्त ऋतुका गल्ली खिचाका जोडी मात्र हुन्थे ।

यो दृश्यले लाइकाको उत्तेजनामा घ्यू थप्ने काम गर्थ्यो शायद! उसको भुकाइ पनि आक्रामक हुन्थ्यो र चेष्टा पनि । अघिपछि आइरहने र राम्ररी चिनिएको मानिसलाई पनि ऊ झम्टन पुग्थ्यो । त्यसैले मानिसहरू त्यो घरमा आउँदा निकै होस् गरेर मात्र आउँथे । बेबीसँगै प्रायः त्यहाँ आइरहने उसकी घनिष्ठतम संगिनी रेजिनालाई पनि उसले एक दिन एक्कासी झम्टिन पुगेको थियो । अनि रेजिनाले सोधेकी पनि थिई- “तेरो लाइका कतै बौलाउन त लागेन ? तैंले उसलाई रेबिजको सुइ त दिइस् ?”

“होइन, त्यस्तो त केही छैन! हिजो आज अलि उत्ताउलिएको छ यो, बढी नै भुक्छ । तर कसैलाई टोकिहालेको चैं छैन ।” – डल्फिनले भनी । अनि दुवैजना पढाइमा हराए । लाइकाको बारे डल्फिनले पनि बिर्सिइ ।

त्यस दिन अर्थात् जुन दिन त्यो विभत्स घटना भयो, लाइका सधैं झै छत (टप) को पश्चिमी रेलिङ्गको वालमा टेकेर सडकपट्टिको साबिक झयालमा हेरेर उभिएको थियो । उताको झयालमा पनि उसकी मायालु बसेकी थिई । दुवै प्राणी मूक भाषामा आँखै आँखामा मनका कुरा गरिरहेका थिए शायद । त्यसै बेला त्यस बङ्गलाकी तरुनी (छोरी बुहारी के हो, कि तरुनी नोकर्नी सुसारे हो) आएर कुकुर्नीलाई घिच्याउँदै भित्रतिर लगी । त्यसले लाइकाको उन्मादलाई चरममा पुर्‍याइदिएको थियो । ऊ रौं ठाडा पारेर आँखामा हिंसाको फिलिङ्ग भरेर गुर्राएको थियो- “ङयार्र्रर्र्रर्र! घुर्ररर!”

ठीक त्यसै बेला बेबी डल्फिन बाहिरको सिक्रीद्वार खोलेर उसलाई बोलाउँदै भर्‍याङ चढ्न थाली- “लाइका! लाइका! लाइका के गर्दै छ मुवाँ- त्यसलाई खान दिस्यो – … के खायो त्यसले ?

उसको स्वर सुनेर लाइकाको उन्माद साँच्चै चरममा पुगेको थियो । ऊ विक्षिप्तझैं भर्‍याङतिर झम्टदै गयो । डल्फिन बेबी भर्‍याङको पहिलो घुम्ती घुमेर दोस्रो खण्डको तीन चार सिँढी उक्लिइसकेकी थिई । लाइकाले एक्कासी झम्टादिएर उसलाई समेत लिएर खुर्मुरियो । दुवै एकै पल्ट खुर्मुरिदै घुम्तीको विश्राम (प्लेटर्फम) मा डल्फिन मुनि लाइका माथि पर्ने गरी खसे । डल्फिनलाई लाइकाको हेक्कै रहेन । कुनै अज्ञात जनावरले आफूलाई हमला गरेको ठानेर ऊ नराम्ररी चिच्याई- “आमा! लौन! लौन! मार्‍यो आमा!” यसपल्ट ऊ उसको समाजमा प्रयोग गरिने सभ्यताको जडाउरी शब्द ‘मुवाँ’को सट्टा अज्ञानमै नेपाली भाषाको ‘आमा’ शब्द स्वाभाविक रूपले बोल्न पुगी । उसको त्यो आतसको चित्कार सुनेर उपल्लो समाज (माथ्लो सोसाइटी) को कीटि पार्टीबाट भर्खरै फर्किएर शयन कक्षमा लुगा कपडा र गहना फेर्न थालेकी मोनिका राणा (आमा) आत्तिदै भर्‍याङको टाउकामा पुगिन्- “लौ न, लौ न ए के भो बेबीलाई- बेबी! किन यसरी चिच्याएकी ? के भयो लाइकालाई ? त्यसैबेला अफिसको ड्यूटीबाट फर्केका करसाप पनि गराजमा आफ्नो मोटर थन्क्याएर आइपुगेका थिए ।

भित्र पस्तापस्तै उनका आँखा भर्‍याङको पहिलो मोडको विश्रान्ति (प्लेटर्फम) मा लडिरहेकी छोरी र उसमाथि चढिरहेको लाइका डाँगोलाई देखेर उनका आँखामा बलात्कारको दृश्य चित्रित भयो । बिना सोच छोरीलाई त्यस कुकुरले बलात्कार गर्न लागेको ठाने उनले । उनको दिमागले अरु कुरा सोच्नै सकेन । एक्कासी उनको खानदानी फौजी क्रोध उम्लि हाल्यो । उनले बगलको दापमा झुण्डिएको फौजी रिभल्वर झिकेर ठोकीहाले – ठ्याईंठ्याईंठ्याईं । कुकुर ऐया पनि भन्न नपाई ठण्डा भयो । अनि कुकुरको लासले थिचिएकी, आतङ्कले नीली फुस्री भएकी छोरीलाई उठाएर सुम्सुम्याउँदै कम्पित स्वरमा भने- “के भयो छोरी- तिमीलाई सारो चोट त लागेन ? किन यसरी बौलायो यो लाइका ? यस्तो त कहिल्यै गर्दैनथ्यो किन बौलायो यो ?. ल अब नडराऊ ! त्यो मरिसक्यो ।” उनको फौजी रिभल्वरको तातो तातो गोली खाएर ऐया पनि भन्न नपाई ढलेको त्यो निरीह प्राणीले मर्ने बेलामा अत्यन्त करुण आँखाले उनलाई हेरेको थियो । ती निरीह आँखामा छल्किएको अनन्त पीडाको सम्झनाले उनलाई एक्कासी भावुक तुल्याइदियो । यस बिचराले बाँचुञ्जेल त उनको राम्रै सेवा गरेको थियो; धन मालको र घर परिवारको हेरचाह त गरेकै थियो शिकार जाँदा पनि उनलाई निकै सहयोग गरेको थियो । आज यसरी आफ्नै हातले उसको जीवनको अन्त्य गराएका थिए उनले ।

जीवन भरको निरंकुश फौजी अनुशासनमा अत्यन्त कठोर बनेको उनको छाती पनि अहिले पग्लिएर आँखामा पानी बनेर छल्कन थाल्यो । त्यसले उनको स्वरलाई पनि भिजाइदियो । उनले भक्कान्निएको स्वरमा आफ्नो अर्दलीलाई बोलाएर आदेश गरे- “लौ यसलाई रानीबाग (किङ्गस् गार्डेनको पारिजातको रुखमुनि लगेर हिफाजतसाथ गाडिदिनू । यसले प्रयोग गर्ने गरेका सबै सामान थाल (प्लेट), कचौरा (बाउल्स्) हरू पनि यसैका साथमा गाडिदिनू । …. अँ, अनि सुन्, पुरेतलाई डाकेर यसको सद्गत् पनि गरिदिनु । बिचरा छोरोजस्तै गरी पालेको यसलाई आज आफ्नै हातबाट ……. के गर्नु यसले यसै गरी मर्नु लेखेको रहेछ ।” बोल्दा बोल्दै कर्णेलको घाँटी अँठिए जस्तो भएर उनी बोल्न सकेनन्; आँखा पनि बढी नै छल्छलाएर आयो उनको । उनले प्लेटफर्ममा तेर्सिएको लाइकाको लास र त्यसको आसपासमा फैलिएर सुक्तै गएको कालो रगतलाई हेर्नै सकेन, हतार हतार सिढी चढ्दै आफ्नो कोठातिर लागे ।

डा. हेमनाथ पौडल साहित्य सदनको अध्यक्षमा चयन, गोपालप्रसाद रिमाल पुरस्कार उपाध्यायलाई

मकवानपुर । साहित्य सदन नेपालले यस वर्षको गोपालप्रसाद रिमाल पुरस्कार कवि, निबन्धकार एवं समालोचक प्रा. जगत् उपाध्याय ‘प्रेक्षित’लाई प्रदान गरेको छ । सोही अवसरमा साहित्य सदन नेपालको पाँचौ साधारण सभा पनि सम्पन्न भएको छ । साधारण सभामा आयोजित कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा।डा।वासुदेव त्रिपाठीले गोपालप्रसाद रिमाल पुरस्कार कवि, निबन्धकार एवं समालोचक प्रा. उपाध्यायलाई प्रदान गर्नुभयो ।
प्रमाणपत्र र नगद बिस हजार रुपैयाँसहित सो पुरस्कार प्रदान गर्दै साहित्यकार त्रिपाठीले साहित्यिक क्षेत्रले समाज रूपान्तरण गर्न मद्दत गर्ने विचार व्यक्त गर्नुका साथै कवि पुरस्कृत उपाध्याय उत्कृष्ट कवि, निबन्धकार र समालोचक भएको बताउनुभयो । कार्यक्रममा विशेष अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेतीले साहित्य सदन नेपाल जनस्तरबाट स्थापित प्रतिष्ठान भएको र यसले विभिन्न प्राज्ञिक कार्य गर्दै आएको विचार व्यक्त गर्नुभयो ।
साहित्य सदन नेपालका अध्यक्ष अमिर थापाले साहित्य सदन नेपालको महत्त्व र ऐतिहासिक पक्षका विषयमा प्रकाश पार्दै साहित्यका माध्यमबाट राजनीतिमा परिवर्तन गर्न सकिने बताउनुभयो । पुरस्कृत व्यक्तित्व प्राध्यापक जगत् उपाध्यायले आफू निरन्तर रूपमा निःस्वार्थ रूपमा साहित्यिक, प्राज्ञिक कर्ममा लागिरहेको बताउनुभयो ।शनिबार भएको साहित्य सदन नेपालको पाँचौँ साधारण सभाले प्राज्ञ प्रा.डा.हेमनाथ पौडेलको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ कार्य समितिको चयन गरेको छ । नयाँ कार्यसमितिका उपाध्यक्षमा मित्रलाल पंगेनी, सचिवमा प्रल्ह्राद पोखरेल, सहसचिवमा डा. कृष्ण सुवेदी र कोषाध्यक्षमा वसन्त रिजाल चयन भएका छन् भने कार्य समिति सदस्यहरूमा विमल अर्याल, सीता भट्टराई, नवराज चालिसे, मणिराज लामिछाने, डा.गीता त्रिपाठी, कवि केशव सिलवाल, रमेश खनाल, त्रिलोचन आचार्य, माधवलाल श्रेष्ठ, पशुपति (श्याम) खतिवडा, सुनीता बुढाथोकी र विश्वनाथ तामाङ चयन भएका छन् ।
कार्यक्रममा साहित्यकार शान्ता मानवी, कवि प्रल्ह्राद पोखरेल, रामेश्वर फुयाँल, प्रभात दीक्षित आदिले समेत मन्तव्य राख्नुभएको थियो ।
साहित्य सदन नेपालको स्थापना २०४२ सालमा जनस्तरको प्रज्ञा–प्रतिष्ठानका रूपमा भएको थियो । कार्यक्रममा साहित्य सदन नेपालका सचिव मित्रलाल पंगेनीले साहित्य सदनका गतिविधि र भावी योजना पेस गर्नुभएको थियो भने कोषाध्यक्ष वसन्त रिजालले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण प्रह्लाद पोखरेलले गर्नुभएको थियो ।

झरनाकाे निबन्ध लेखन सम्बन्धी प्रशिक्षण तथा निबन्ध लेखन प्रतियोगिता सम्पन्न 

मकवानपुर । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार (झसाप) मकवानपुरले निबन्ध लेखन सम्बन्धी प्रशिक्षण तथा निबन्ध लेखन प्रतियोगिता गरेको छ । शुक्रबार २९५ औँ साहित्य शृङ्खला अन्तर्गत बकैया गाउँपालिकाभित्र रहेका मावि तथा आविका १२० छात्रछात्राहरूलाई निबन्ध लेखन सम्बन्धी प्रशिक्षण गरी निबन्ध प्रतियोगिता सम्पन्न गरेकाे संस्थाका सचिव मसान उपासकले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा संस्थाका संरक्षक रमेशमाेहन अधिकारीले निबन्ध र संस्मरण लेखनका बिषयमा बताउनु हुदै लेखनले ब्यक्तिगत लेखनमा सुधार आउने हुदाँ निरन्तर लेखिरहन आग्रह गर्नुभयो ।

कार्यक्रममा बकैया गाउँपालिका भित्र रहेका ८ वटा विध्यालयबाट सहभागीता रहेकाे थियाे । प्रतियोगितामा ६२ जना सहभागी रहेका थिए । निबन्ध प्रतियोगिताकाे नजिता भने अर्को महिनाकाे कार्यक्रममा सार्वजनिक गरिने संस्थाका सदस्य विजय दाेङले बताउनुभयाे ।

कार्यक्रममा संस्थाका संरक्षक उद्ववप्रसाद सापकोटा, महेन्द्र माविका प्रअ दुर्गा पराजुली,प्रभात माविका सहायक प्रअ कुमार स्याङ्वाे, रञ्जिता सञ्जेल, कृष्णप्रसाद घिमिरे, हरि घिमिरे, हरि दाहाललगायतको आतिथ्यता रहेकाे थियोे ।

निबन्ध प्रतियोगितामा बिध्यार्थी र अनुशासन, मेरो बालापन, नारी शिक्षाकाे महत्त्व मध्ये कुनै एक शीर्षक छानेर निबन्ध लेख्न दिएको संस्थाका सचिव मसान उपासकले बताउनुभयाे ।

निबन्ध लेखन सम्बन्धी प्रशिक्षण मसान उपासक र संस्मरण लेखन सम्बन्धी प्रशिक्षण रमेशमाेहन अधिकारीले दिनुभएको थियाे ।
कार्यक्रम संस्थाका उपाध्यक्ष गायत्री रूपाखेतिकाे सभाध्यक्षता र महेन्द्र माविकाे प्रायाेजनमा सम्पन्न भएको हाे ।

मदन पुरस्कार ‘ऐँठन’लाई, जगदम्बा-श्री मुखियालाई

मदन पुरस्कार विवेक ओझाको ऐँठन उपन्यासलाई र जगदम्बाश्री सम्मान टेकवीर मुखियालाई दिने निर्णय भएको छ । मदन पुरस्कार गुठीको बैठकले २०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ‘ऐँठन’लाई र जगदम्बा-श्री सम्मान कलाकार टेकवीर मुखियालाई अर्पण गर्ने निर्णय निर्णय गरेको छ । अक्षरलाई कलाको आवरणमार्फत पाठकसँग जोड्न तथा स्रष्टालाई मुहारचित्र मार्फत साहित्यानुरागी माझ पुर्‍याउन महत्त्वपूर्ण योगदान दिएकाले मुखियालाई जगदम्बाश्री सम्मान अर्पण गर्ने निर्णय गरिएको गुठीले जनाएको छ । ६ दशकदेखि कला क्षेत्रमा सक्रिय मुखियाले लामो समय साझा प्रकाशनमा आबद्ध भएर पुस्तकका कभर डिजाइन गरेका थिए । त्यस्तै, विगतमा नेपाल एवं नेपाली समाजले बेहोरेको द्धन्द्धको दुःस्वप्‍न र अहिले पनि त्यस दुःस्वप्‍नले ऐँठनको पीडामा डुबाइरहेको यथार्थलाई उत्कृष्ट औपन्यासिक कलामार्फत् उपन्यासमा व्यक्त गरेका कारण ओझाको ऐँठनलाई मदन पुरस्कार अर्पण गर्ने निर्णय गरिएको गुठीले जनाएको छ । ऐँठन लेखक ओझाको तेस्रो कृति हो । यसअघि उनका ‘ऐलानी’ र ‘एक पाइला आकाशमा’ पुस्तक प्रकाशित छन् । यसअघि मदन पुरस्कार गुठीले श्रेष्ठ पाँच पुस्तकको सूची प्रकाशित गरेको थियो । जसमा सुविन भट्टराईको इजोरिया, ओझाको ऐँठन, द्वारिकानाथ ढुङ्गेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटोको घर समावेश थिए । त्यसमध्ये ओझाको ऐँठनले मदन पुरस्कार प्राप्त गरेको हो । दुवै पुरस्कार तथा सम्मानको राशि चार लाख रुपैयाँ रहेको छ । २०७९ सालको मदन पुरस्कारका लागि ३१३ पुस्तक प्राप्त भएको गुठीले जनाएको छ । २०७८ सालको जगदम्बा-श्री सम्मान भाषा-साहित्यसेवी दुर्गाप्रसाद श्रेष्ठलाई र मदन पुरस्कार नवराज लम्सालको महाकाव्य ‘अग्नि’लाई प्रदान गरिएको थियो । जगदम्बाश्री २०४५ सालबाट र मदन पुरस्कार २०१३ सालबाट प्रदान गरिंदै आएको छ ।

सङ्‍गमद्वारा ९ स्रष्टा सम्मानित, ३१ रचना वाचन

आश्विन १३, मकवानपुर ।
साहित्य सङ्‍गम मकवानपुरले ९ स्रष्टालाई सम्मान गरेको छ ।
२०७९ सालमा पुस्तक प्रकाशन गरेका मकवानपुरका स्रष्टाहरूलाई सम्मानपत्रसहित सम्मान गरिएको हो ।
पूर्व अध्यक्ष नवराज शर्माको प्रमुख आतिथ्यता, सङ्‍गमका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षता र मुक्तककार हरिकृष्ण काफ्लेको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा सङ्‌गमका उपाध्यक्ष सानु खनालले स्वागत गर्नुभ‌एको कार्यक्रम थियो ।
१६औँ अधिवेशनबाट निर्वाचित समिति मार्फत् आयोजना गरिएको पहिलो कार्यक्रममा ९ जनामध्ये ६ जना साहित्य सर्जकहरूलाई सम्मान गरिएको थियो भने ३ जनाचाहीँ अनुपस्थित रहनुभयो ।
सम्मानित सर्जकहरू ‘कोरिएका धर्साहरू’ कविता सङ्‌ग्रहका ऋत्विक केबी, ‘अभियुक्त समय’ कविता सङ्ग्रहका समर्पण न्यौपाने, ‘खुशी’ लघुकथाका किशन पौडेल, ‘तिलगंगा गोविन्द’ कविता सङ्‍ग्रहका सुभाषचन्द्र पौडेल भीमफेदिया, ‘कठघरामा देश’ र ‘मकवानपुरका काव्य : अवलोकन र अध्ययन’ का बिर्खे अन्जान, ‘शिक्षकको भाषा’ का छवि अनित्यले आ-आफ्ना विचार तथा रचना वाचन गर्नुभयो । हालसम्म अन्जानका ५ कृति र अनित्यका ३ कृति प्रकाशनमा आएका छन् ।
कार्यक्रममा सुबास सजल, रिजन राना, बैकुन्ठ लामिछाने, सर्जु भण्डारी, कमल नेपाल, विष्णु न्यौपाने, ऋषि केबी, पूण्यशिला श्रेष्ठ, दीपिका लम्साल, विजनेस सञ्जेल, प्रकृति अर्याल, अनुसुया खनाल, दिनेश शर्मा, ठाकुरराम भण्डारी, जनार्दन खनाल, ओमभक्त भण्डारी, सानुभाइ विश्वकर्मा, कुबेर पराजुली, रजनी पौडेल, स्वस्तिका बानियाँ, संप्रस पौडेललगायतले रचना वाचन गर्नुभयो ।
साहित्य सङ्गमका सल्लाहकार सुवास खनालले सम्मानित व्यक्तित्वलाई बधाई ज्ञापन गर्दै सर्जकहरू निमेष निखिल र बिर्खे अन्जानले सुरू गर्नुभ‌एको मकवानपुरको साहित्य लेखनको इतिहासका साथसाथै मकवानपुरका ऐतिहासिक, धार्मिकस्थलहरूबारे अभिलेखिकरणका लागि सुझाव दिनुभयो ।
अर्का सल्लाहकार श्यामकार बानियाँले आर्थिक व्यवस्थापन, नवसर्जकका लागि स्थान दिँदै साहित्य सिर्जना र लेखनमा जोड दिन आग्रह गर्दै वाचित रचनाहरूलाई नवसाहित्य डट कममा प्रकाशनका लागि अनुरोध गर्नुभयो ।
वाचित ३३ कविताहरूमध्ये केही रचनाहरूका साथ नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग सदस्य तथा कार्यक्रममा वाचित रचनाका समीक्षक शान्ति प्रियवन्दनाले १९औँ शताब्दीदेखि नेपाली कविताको सुरूवात भ‌एको, सुरूवातीमा पृथ्वीनारायण शाह समयदेखि वीरधारा हुँदै भक्तिधाराबाट सुवानन्द दास, शक्तिबल्लवहरूको समयदेखि हालसम्म आउँदा सामाजिक, राजनीतिक, जातीय विभेद, लैङ्गिक विभेदका विषयहरू समावेश हुने गरेको बताउनुभयो । उहाँले थोरै शब्दमा धेरै विषयवस्तु समेट्नुपर्ने हुँदा विषयवस्तु चयनमा ख्याल गरी सम्बन्धित विषयको अध्ययन गर्दै अपाच्य भाषा र शब्दको थुप्रोलाई हटाउँदै सरल शब्दमा कविता लेख्नुपर्ने बताउनुभयो ।
विशिष्ट अतिथि हरिकृष्ण काफ्लेले आफ्ना साहित्यिक विचारका साथ केही मुक्तकहरू सुनाउनुभयो । यस्तै साहित्य सङ्‌गम मकवानपुरको संस्थापक, तीन कार्यकालको अध्यक्ष तथा आज कार्यक्रमका प्रमुख अतिथि नवराज शर्माले नयाँ पुस्ताका सर्जकहरूको कार्य सराहनीय, अनुकरणीय र प्रशंसनीय रहेको तथा नवपुस्ताले सिक्नेखालका गतिविधिहरू सञ्चालनका लागि सल्लाह दिनुभयो ।
कार्यक्रममा साहित्य सङ्‌गम मकवानपुरका मनोनित सदस्यहरू सञ्जीत श्रेष्ठ र संप्रस पौडेललाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
अध्यक्ष डीबी बर्तौलाले सम्मानित स्रष्टालाई बधाई दिँदै २०८० सालभित्र ५ लाखको अक्षयकोष निर्माणको लक्ष्य रहेको र कोठाभित्रकेन्द्रित कार्यक्रमलाई विभिन्न स्थानहरूमा लिएर जाने र विविध साहित्यिक गतिविधिहरूसाथ सक्रिय रहने बताउनु भयो ।
एन‌एस टेलिभिजनले छायाङ्कन गरेको कार्यक्रममा साहित्य सर्जक तथा अनुरागीहरू मुक्तीगोविन्द वैद्य, शम्भुजीत बास्कोटा, उमा मैनाली, स्वस्तिका दाहाल, देव दुलाल, राजकुमार लामिछाने, मीनप्रसाद लामिछाने, विनोद सुवेदी, भावना सापकोटालगायतको उपस्थिति रहेको थियो ।
साहित्य सङ्‌गम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त भवनमा आयोजित कार्यक्रमलाई संगमका सचिव मनोज पोखरेलले सञ्चालन गर्नुभ‌एको हो ।

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

मान्छेको मासु

गिद्धको बच्चाले भन्यो – “आज मलाई मान्छेको मासु खान मन लागेको छ।”
गिद्धले भन्यो – “हुन्छ छोरा l म बेलुका लिएर आउँछु।”
यति भनेर ऊ उड्यो र बेलुका सुँगुरको मासु लिएर आयो ।
बच्चाले भन्यो – “यो त सुँगुरको मासु हो l मलाई त मान्छेको मासु खान मन लागेको छ।”
गिद्धले भन्यो – “पर्खि छोरा l म बेलुकासम्ममा बन्दोबस्त गर्छु । “यति भनेर गिद्ध उड्यो ।
बेलुकी मरेको गाईको मासु लिएर आयो ।
बच्चाले रिसाउँदै भन्यो – “यो त गाईको मासु हो, मैले त मान्छेको मासु भन्या थिएँ।”
गिद्ध फेरि उड्यो र उसले सुँगुरको मासु मस्जिदको छेउमा अनि गाईको मासु मन्दिरको छेउमा लगेर फ्याँकि दियो ।
केही समयपछि त्यहाँ धार्मिक द्वन्दले काटमार सुरु भयो l मान्छेका लाशहरू बग्रेल्ती भेटिए ।
गिद्धका बाउछोरा मिलेर अघाउँजी मान्छेको मासु खाए ।
गिद्धको बच्चालाई यो कुरा अचम्म लाग्यो र बाउलाई सोध्यो – “यो सब चमत्कार तपाईंले कसरी गर्नुभयो, यति धेरै मान्छेको मासु ?”
गिद्धले भन्यो – “छोरा ! केही धुर्त मान्छेहरूले आफ्नो स्वार्थकालागि ‘धर्म’ नामको भाइरस फैलाएका छन् । अनि यही धर्मको नाममा मर्न र मार्न तयार हुन्छन् ।
धन्य छोरा l हाम्रो कुनै धर्म छैन र आनन्द छ l
त्यसैले तँ मज्जाले मासु खा ।

स्रोत : फेसबुक

सङ्‍गमले मकवानपुरका ९ जना स्रष्टा सम्मान गर्ने

असोज १०, मकवानपुर ।
साहित्य सङ्‍गम मकवानपुरले मकवानपुरका ९ जना स्रष्टालाई सम्मान गर्ने भएको छ ।
वर्ष २०७९ मा पुस्तक प्रकाशन गराएका मकवानपुरे स्रष्टाहरूलाई सङ्‍गमले सम्मान गर्ने भएको हो । यही असोज १३ गते हुने सङ्गमको ३३५ औँ नियमित साहित्य सन्ध्यामा ती स्रष्टाहरूलाई सम्मान गर्न लागेको साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबि बर्तौलाले जानकारी दिनुभयो ।
सम्मानित हुने व्यक्तित्वहरूमा ‘छेलिएका अनुहार’ पुस्तकका लेखक प्रताप विष्ट, ‘शिक्षकको भाषा’ का लेखक छवि अनित्य, ‘छैनौ कसोरी तिमी’ का सर्जक पुरूषोत्तम आचार्य, ‘मानचित्रमा देश’ र ‘अक्षर आराधन’ का सर्जक मसान उपासक, ‘खुसी’ लघुकथा सङ्‍ग्रहका सर्जक किशन पौडेल, कविता सङ्‍ग्रह ‘तिल गङ्‍गा गोविन्द’ का सर्जक सुभाषचन्द्र पौडेल, ‘कोरिएका धर्साहरू’ कविता सङ्‍ग्रहका सर्जक ऋत्विक के. बी., ‘अभियुक्त समय’ कविता सङ्‍ग्रहका सर्जक समर्पण न्यौपाने, ‘कठघरामा देश’ का सर्जक बिर्खे अन्जान सम्मानित हुनुहुनेछ ।
साहित्य सङ्गम मकवानपुरको नियमित साहित्य सन्ध्या कार्यक्रममका क्रममा साहित्य सर्जकहरूले रचना वाचन र व्यक्तित्व सम्मान गरिने आयोजकले जानकारी दिएको छ ।

हास्यव्यङ्‍ग्य लेखः युट्युब ट्रेन्ड

अहिलेको युग सूचना र सञ्चार प्रविधिको युग । युट्युब कोठा हो, घर हो, समाज हो, देश हो, संसार हो । ‘ग्लोबल भिलेज’को आजको दिनमा हुनेलाई त युट्युब कमाइखाने भाँडो हो, उपाय पत्ता लाउने चाँडो हो । यसैमा भुलेर काम बिग्रनेलाई समय सिध्याउने घाँडो हो, काम बिगार्ने ठाँडो हो, विकास छेक्ने डाँडो हो । नहेरू नहेरू भन्दा पनि औंला त्यही पुगिहाल्ने पैतालामा बिझेको काँडो हो, लाखौं भ्यूज आउनेलाई धेरै नै होला तर हेरेर पैसा नकमाउनेलाई कहिल्यै नभरिने रित्तो भाँडो हो । आज पन्ध्र टुक्रा व्यङ्ग्यहरूमा युट्युबबारे चर्चा गरिनेछ ।
१.
५ सय भ्यूज नकटाउने युट्युबर मिलियन भ्यूज कसरी ल्याउने भनेर भिडियो बनाउँछ ।
२.
‘यसरी कमाउन सकिन्छ घरै बसी बसी महिनामैँ लाखौँ’ शीर्षकमा युट्युब भिडियो बनाउनेले भ्यूजमार्फत् १ वर्षमा ७०० रूपैयाँ कमायो अरे ।
३.
छिमेकका बुढाबुढीको घरझगडा युट्युबमा ट्रेन्डिङमा परेपछि टोलटोल च्यानलले अर्को चारवटा च्यानल खोलेछ- घरझगडा, वनझगडा, अफिसझगडा, सडकझगडा । यस्तो ट्रेन्ड रूटिन अफ नेपाल बन्दवालाहरूको चलेको छ । रूटिन अफ हेटौँडा हुँदै रूटिन अफ तरूनी चोक पनि खुलिसकेछ । खासमा नामचाहिँ तरूण चोक थियो ।
४.
प्र्याङ्कका नाममा हतियार लिएर तर्साउँदै हिँड्नेलाई अर्को प्र्याङ्सटरले नक्कली पेस्तोल बोकेर भिडियो बनाएपछि प्र्याङ्कले पनि चन्द्रमा नाघेको छ । ‘प्र्याङ गोज सिरियस’ वाला भिडियो गोदाई खाएरै भ‌ए पनि पैसा कमाउने उद्देश्यले बनेको थियो । हातखुट्टै भाँच्चिएपछि युट्युबको रिपोर्टले भिडियो डिलेट गरिदियो । केटो आर्थिक रूपले लगभग कोमामा छ ।
५.
किचन रिसेपी च्यानलमा कान्छी हिट भ‌एपछि, माइली, साहिँली, जेठी पालैपालो छाएका छन् । मैले पनि हिजो मात्रै मासुको रिसेपी हेरेर गुन्द्रुक पकाएर खाएँ । रिसेपी हेर्ने बानी लागेपछि पानी तताउने तरिका हेर्न पनि युट्युब नै चाहिने भ‌एछ । यसका लागि आजै एक वर्षको १७ हजार ६ सय रूपैयाँ इन्टरनेट शुल्क तिरियो । मैँजस्ता दर्शकले गर्दा विश्व विजेता सेफ सन्तोषभन्दा नेपालकी कान्छी हिट हुँदै ग‌इन् ।
६.
युट्युबमा जाडोबाट बच्ने तरिकामध्ये ब्लाङ्केट ओढेर कम्मोडमा बस्ने तरिका अर्को ट्रेन्ड भिडियो बनेको छ । यस्ता आइडियामास्टर नेपालीको आइक्यू कमजोर भन्नेहरू आफैँ संसारकै सबैभन्दा ग्वाँजे हुन् भन्न सकिन्छ ।
१०.
चुपचाप दिनभर ठिङ्ग बसेर पोस्टर देखाएर आन्दोलन गर्ने ई: भन्दा माइतिघरमा नेपालभरबाट आन्दोलित शिक्षकहरूको भिडियो खिच्न नयाँ नयाँ युट्युब च्यानल खुलेका छन् । ई: लामखुट्टेले टोक्दा पनि चुपचाप उभिइरहने तर शिक्षकहरू नाच्ने, गाउने, सडकमा सुत्ने, मन्त्री फुस्काउने नारा लगाउने । क्यामेरा र बुम किनेर युट्युबकारिता सुरू गरेको युट्युबरलाई फेरि यहीबेला कसले भन्छ- नेपालमा रोजगारी छैन । हो, नेपालमा कमाईचाहिँ छैन ।
११.
युट्युबमा भिडियो जे खिचे पनि थम्बनेलमा भिडियोभन्दा दोब्बर समय दिनु भन्ने अचुक उपाय जानेपछि कमेन्ट अफ गर्नुपर्‍यो । यो अधिकांश युट्युबरको (अ) सफलताको कथा हो ।
१२.
ट्विटरमा एलन मस्कले बेला बेला एलन मस्क प्यारोडीका ट्वीट शेयर गर्दछन् । युट्युबमा पनि अक्कलसहित अरूका नक्कल गर्ने हो भने कमाउन अन्त जानुपर्दैन भन्ने उदाहरण हुन् मनोज गजुरेल । रामदेव र ओशोको क्यारिकेचर गरेर पनि लाखौँ भ्युज कटाएका छन् ।
१३.
विदेशबाट फर्केर महिनामैँ ५ लाख आम्दानी लेखिएको युट्युबको पात्र विदेश पुगेको ५ वर्ष भैसक्यो तर युट्युबको भ्यूज भने ५० लाख नाघिसक्यो ।
१४.
भन्न त भाषालाई माया गर्नेहरू नेपाली मौलिक शब्दहरू लोप हुने डर छ भन्छन् । तर पैसाको लोभमा समय सिध्याउने युट्युब भिडियोको कमेन्टमा झर्राभन्दा टर्रा कमेन्टहरूमा अश्लील नै किन नहोस्, शब्दहरूको गालीको वर्षात् नै पाइनेछ ।
१५.
अर्को ट्रेन्ड हो अनबक्सिङ । टिभीदेखि आइफोनसम्मको अनबक्सिङको भिडियो राम्रै चल्ने गरेको छ । तर अनबक्सिङ भन्दैमा प्याकेटबाट इनरवियर अनबक्सिङ गर्नेलाई भेटे भने धेरैले बक्सिङ खेल्ने पक्का पक्की देखिन्छ ।
जय युट्युब ट्रेन्ड ।

संप्रस पौडेल, मकवानपुर

गणेश श्रमणको कृति ‘आगो लिएर गाउँगाउँमा’ दशैँमा आउने

असोज ९, मकवानपुर ।
चितवनका कवि गणेश श्रमणको कविता सङ्ग्रह ‘आगो लिएर गाउँगाउँमा’ दशैँमा सार्वजनिक हुने भएको छ ।
२०४६ सालको जनआन्दोलनबाट प्रभावित भएर कविता लेख्‍न सुरू गर्नु भएका उहाँका २०५७ सालमा ‘शब्दहरू अबिराम यात्रामा’ संयुक्त कविता सङ्‍ग्रह, २०६६ सालमा ‘शब्द क्रान्ति’ एकल कविता सङ्ग्रह र २०७५ मा ‘गुलियो काठमाण्डौं’ कथा सङ्‍ग्रह प्रकाशित छन् ।
फिनिक्स बुकद्वारा प्रकाशित ६० कविता सङ्‍ग्रहित उक्त कृतिका सम्बन्धमा प्रकाशकले लेखेको छ- उहाँ ठोस विषयवस्तुलाई अनुभूतिको तरलतामा कोमल भावमा द्रवणशील कविता लेख्नुहुन्छ । साथै कवितामा अनौठो आकर्षण र सम्प्रेषणीयता भएका कारण समकालीन कविपुस्ताको बृहत् समूहबाट आफूलाई पृथक पहिचानका साथ अलग्गै देखाउन सक्षम हुनुहुन्छ ।
उहाँले ‘बिरालोले काटेको बाटो’, ‘चोरहरूको देशमा’, ‘डमी ट्राफिक’, ‘हराएको जुत्ता’ आदि चर्चित कविताहरू लेख्नुभएको छ । २०४९ सालमा पहिलो कविता नव कविता पत्रिकामा छापिएको श्रमणका थुप्रै फुटकर कविताहरू विभिन्न पत्रपत्रिकामा प्रकाशन भएका छन् ।

असोज महिनामा किताबघरको पुस्तक प्रदर्शनी यात्रा ८ विद्यालयमा

आश्‍विन ९, मकवानपुर ।
किताबघर हेटौँडाले पुस्तक प्रदर्शनी यात्रा सुरू गरेको छ ।
मंगलबार ‘किताबघर पुस्तक प्रदर्शनी यात्रा २०८०’ को पहिलो दिन कमाने एकेडेमीमा सुरू गरिएको अभियानमा चन्द्रोदय माविका विद्यार्थीहरू पनि जोडिएका छन् ।
प्रदर्शनी मकवानपुरका विभिन्न विद्यालयहरूमा पुग्ने सञ्चालक छवि अनित्यले बताउनु भएको छ । साथै उहाँले बालबालिकाको किताब मोहले ‘मोबाइल जेनेरेसन’ लाई थोरै भएपनि किताबसँग जोड्ने अपेक्षा रहेको जानकारी नवसाहित्यलाई दिनु भएको छ ।
बुधबार माउन्ट एभरेष्ट कमानेमा प्रदर्शनी गराउँदै विभिन्न निजी तथा संस्थागत हुँदै विविध सामुदायिक विद्यालयहरूमा अभिभावक, विद्यार्थी र शिक्षकहरूको साथ प्रदर्शनी गराइने र सबै पक्षलाई पढ्नका लागि प्रेरित गरिने अभियानको उद्देश्य रहेको छ ।
यसैक्रममा मकवानपुर बाल विद्या सदनका प्रिन्सिपल सुदीपराज गिरीले प्रत्येक विद्यार्थीको घरमा आफ्नो सानो पुस्तकालय स्थापना गर्ने र यस शैक्षिक सत्रको अन्त्यसम्ममा एउटा विद्यार्थीलाई कम्तीमा ७५ थान पुस्तक पढ्ने वातावरण बनाउने गरी विद्यालयले तयारी गरिरहेकोले शुक्रबार विद्यालयमा किताबघरको प्रदर्शनी हुने उहाँले जानकारी दिनु भएको छ ।
साथै किताबघरको यस अभियानमा असोज महिनाभर ८ विद्यालयहरूमा र सोपश्चात् अन्य विद्यालयहरूमा प्रदर्शनी हुनेछ । सोमध्ये जनप्रिय माविमा असोज १६ गते, रेडरोज इङ्लिश बोर्डिङ्‍ग स्कुलमा असोज १९ गते, प्रगति माविमा असोज २३ गते, बालजागृति इङ्लिश बोर्डिङ्‍ग स्कुलमा असोज २६ र जीएस निकेतन माविमा असोज ३० गते प्रदर्शनी सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।