Home Blog Page 70

यादकाे काेलाज सार्वजनिक

मकवानपुर । साहित्यकार अमृतकाे संस्मरणात्मक कृति ‘यादको कोलाज’ काठमाण्डौमा विमोचन भएको छ ।

काठमाडौँमा आयोजित कलिङ साहित्यिक महोत्सवका अवसरमा विशेष समारोहका बिच साे पुस्तकको विमोचन भएको हो ।

उक्त विशेष समारोहमा भारतीय सेनामा कार्यरत रहँदाका विविध आरोह अवरोहलाई यादहरूमा सँगालेर कृति तयार पारिएको पुस्तकलाई प्रसिद्ध लेखक प्रा. डा बिना पौडेल, लेखक एवम् संस्कृतिविद् जगमान गुरुङ, भारतीय अर्थशास्त्री प्रसिद्ध लेखक डा. विवेक देवरोंय, प्रा. कमलकान्त दासले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए ।

अमृतले कृतिमा विगतका घटनाहरूको स्मरण मात्र छैन ती घटनाले हृदयमा जन्माएको भावमाथिको दार्शनिक लेपन कृतिमा समेटिएको बताउदैं प्रतिक्रिया कुरिरहेको बताउनुभयो ।
२०७८ सालमा उहाँको ‘एकान्त भीड’ कविता सङ्ग्रह प्रकाशित भएको थियो भने यो दोस्रो कृति हो ।

हेटौँडामा हास्यव्यङ्ग्यमय गाईजात्रा कार्यक्रम हुने

भाद्र १५ मकवानपुर,
सिस्नुपानी नेपाल मकवानपुरको आयोजनामा यस वर्ष पनि गाईजात्रा हास्यव्यङ्ग्य कार्यक्रम हुने भएको छ । हास्यव्यङ्ग्य प्रहसन, कविता, प्यारोडी गायन आदि प्रस्तुति रहने सो कार्यक्रम भदौ २० गते बुधबार रोयल पार्टी प्यालेसमा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको विशेष सहयोगमा आयोजना हुने संस्थाका अध्यक्ष राजकुमार लामिछानेले बताउनु भयो । साथै यो वर्ष अन्य साहित्यिक संघसंस्थामा आबद्ध सर्जक तथा कलाकारहरूको साथमा ती प्रस्तुतिहरू रहने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा हास्यव्यङ्ग्यकार आर.सी रिजालका साथमा कलाकार आशाकाजी श्रेष्ठ, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, उपाध्यक्ष मीनप्रसाद लामिछाने लगायत संस्थामा आबद्ध संप्रस पौडेल, स्वस्तिका दहालका साथै लगायत मकवानपुरमा क्रियाशील सर्जकहरूको साथ रहेको कार्यक्रम संयोजक मीनप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

मकवानपुरमा हास्यव्यङ्ग्य साहित्यको उन्नयनमा सक्रिय रहेको यो संस्थाले गर्ने नियमित कार्यक्रमहरूका लागि विभिन्न संघसँस्थाहरूको सहयोग रहँदै आइरहेको छ ।

वक्तृत्वमा जेनिथ इन्टरनेसनलकी कुसुम खड्का प्रथम

वक्तृत्वमा जेनिथ इन्टरनेसनलकी कुसुम खड्का प्रथम

पुष्पलाल स्मृति पुस्तकालय र साहित्य संगम मकवानपुरद्वारा १६औं पुस्तकालय दिवस २०८० को अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
१६ विद्यालयका कूल ३९ सहभागी प्रतियोगितामा जेनिथ इन्टरनेसनल सेकेण्डरी स्कूल (हेटौँडा सिटी कलेज) बाट सहभागी छात्रा कुसुम खड्का प्रथम, ज्ञानदीप शिक्षा (जिएस) निकेतनकी प्रतिष्ठा कार्की द्वितीय, ब्रह्मदिक एकेडेमीकी प्रियान्शु पोखरेल तृतीय तथा जनप्रिय मा.वि. कि छात्रा एरिना चौलागाईँले सान्त्वना स्थान प्राप्त गर्नु भएको छ । पुरस्कार राशी क्रमशः पहिलो २ हजार, द्वितीय १ हजार ५ सय, तृतीय १ हजार र सान्त्वनालाई ५ सय रहेको थियो भने साथमा सम्मानपत्र र साहित्यिक पुस्तकहरू उपहार रहेका थिए ।

आयोजक दुवै संस्थाका स्थापनाकार तथा सल्लाहकार, बुढ्यौली साहित्य समाजका अध्यक्ष तथा हास्यव्यङ्ग्यकार आरसी रिजालको प्रमुख आतिथ्यता रहेको कार्यक्रम साहित्य संगमकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यतामा सम्पन्न भएको हो । कार्यक्रममा साहित्य सेवी मुक्तिगोविन्द वैद्य, पुस्तकालय महासंघ सदस्य गोविन्द चौलागाईँ, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेलगायत अतिथि रहनु भएको थियो ।

३ सदस्यीय निर्णायक मण्डलमा आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष भावना सापकोटा, साहित्य संगम मकवानपुरका उपाध्यक्ष सानु खनाल र संस्थाका कोषाध्यक्ष तथा प्राध्यापक मनोज पोखरेलको सहभागिता रह्यो ।

कार्यक्रममा नियमित पाठकका रूपमा निरन्जनकुमार साहलाई सम्मान गरिएको थियो ।

बोल्ने कलामा निपुण रहेकामा बधाई तथा शुभकामना भन्दै निर्णायक मण्डल संयोजक भावना सापकोटाले विद्यार्थीहरूलाई विषयवस्तुको व्यापक खोज, अध्ययन गर्न तथा घोक्ने परम्परालाई अन्त्य गर्दै बुझ्ने परम्पराको विकास गर्दै रचनात्मक शैलीमा प्रस्तुति गर्नका लागि सुझाव दिनुभयो ।

प्रमुख अतिथि रिजालले विद्यार्थीहरू स्कूलदेखि यस्ता औपचारिक कार्यक्रममा सहभागी हुनु भएकोमा त्यो नै आधाआधि जीत भएको र निरन्तर अघि बढ्न प्रेरित गर्नुभयो ।

कार्यक्रममा आँचल साहित्य कला पुञ्ज मकवानपुरकी सचिव सबिता तिमल्सिना, समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठ, विद्यालयका शिक्षक प्रतिनिधि, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो ।

पुस्तकालय प्राङ्गणमा आयोजित कार्यक्रमलाई संगम सचिव डिबी बर्तौला तथा सदस्य सुनिल गौतमले सहजीकरण गर्नु भएको हो ।

भदाै १५ मा यादकाे काेलाज सार्वजनिक हुने ।

मकवानपुर । साहित्यकार अमृतकाे संस्मरणात्मक निबन्ध कृति “यादकाे काेलाज” भदाै १५ गते कलिङ साहित्य महाेत्सव, काठमाडौमा लोकार्पण हुने भएको छ । साहित्यकार अमृतकाे संस्मरणात्मक निबन्ध कृति “यादकाे काेलाज” काे भदाै १५ गते कलिङ साहित्य महाेत्सवको उद्घाटन पछि बिमाेचन हुने आयाेजकले जनाएको हाे ।

दर्शनमा बिशेष रुचि राख्ने अमृत लामाे समयदेखि कविता साधनामा सक्रिय देखिन्छन । अमृतले याे पटक आत्मपरक निबन्धहरूकाे सङ्ग्रह “यादकाे काेलाज” प्रकाशन गर्न थालेका हुन् । उनकाे याे दाेस्राे पुस्तककाे रूपमा बजारमा आउन थालेको हाे । यसअघि ” एकान्त भीड” कविता सङ्ग्रह प्रकाशित भएको छ । 

हेटौंडामा भदाै ३० गते कविता प्रतियोगिता हुने

मदन भण्डारी फाउण्डेसन, मकवानपुरको आयोजना तथा राष्ट्रिय जनसाहित्यिक सङ्घ मकवानपुरको व्यवस्थापनमा आगामी भदाै ३० गते कविता प्रतियोगिता हुने भएको छ । आजकाे सन्दर्भमा मदन भण्डारी बिषयक कविता प्रतियोगिता गर्न लागिएकाे राष्ट्रिय जनसाहित्यिक सङ्घ मकवानपुरका सचिव बिशाल अधिकारी ‘आशुतोष’ले बताए ।

२५ गतेसम्म कविता बुझाउन सकिने र २६ गते प्राप्त कविताहरूमध्येबाट उष्कृट १० घाेषणा गरी आगामी ३० गते हुने कार्यक्रममा वाचनमा सहभागी गराईने मदन भण्डारी फाउन्डेसन मकवानपुरका उपाध्यक्ष आशाकाजी श्रेष्ठले जानकारी दिए । उनले उष्कृट ३ जनालाई जनह नगद ६ हजार र प्रमाणपत्र प्रदान गरिने जानकारी दिए ।

कार्यक्रममा लागि कितावघर हेटौंडामा वा masannstv@gmail.com र bishal.adhikari 64@gmail.com मा पठाउन सकिने आयाेजकले जनाएको छ ।

कविता: यस्तै हो थापा सर, जिन्दगानी चल्दै छ / साम्ब ढकाल


साँच्ची म्यामलाई कस्तो छ ?
भन्नुहुन्थ्यो नि
त्यो माथि जङ्गलछेउको चेप्टोढुङ्गामाथि बसेर
जाँदाजाँदै बीच्चमै हराएको
बनेली बाटो हेर्दै अतीतमा रमाउने

सुरुदेखिकै बाढीजस्तै आउने
बितेका कुराहरू सम्झदै / फेरि सम्झदै
यतिसम्म कि
वर्तमान र भविष्य पूरै भुलेर
दिन-दिनभरि आफूआफूमै हराउने
अनि, रोगी खाना खाने
बास फर्कने !

तपाईंले जिन्दगीभरि तर्नुभएका
खोला नाला र जङ्घारले
तपाईंका बाँचुञ्जेलका उच्छवास सुसेल्छन् कि सुसेल्दैनन् ?

तपाईंले आजकल टेकेर हिँड्ने बाटा / दोबाटा / चौबाटाहरूमा
गामघरका नोष्टाल्जिया अल्भेका छन् कि छैनन् ?
पेसमेकरले कुनै ऍठन त थपेको छैन नि ???
सुदूरका चेपाङसँगका अन्तरङ्गता
सम्झना र बिर्सनाको चाकाचुलीमा
झनै छ्यालब्याल भए होलान्, सँगालेर राख्ने भेट्नुभो त ?
मन परेका किताब पढ्न मोतिया बिन्दुले दिन्छ त थापा सर ?
सिङ्गो जीवनलाई त एक्कै ठान्नुहुन्थ्यो
के जिन्दगी सोचेजस्तो सजिलो रहेछ त थापा सर ?
डबडबाउँदा आँखीडिलमा
थाम्नुसम्म थाम्नुभो
असमेल आँसुका नाजुक ढिक्का
वयस्कको टाकुरीमा पुगेर हेर्नुभो –
आफूले हिडिआएका उमेरभरिका नागबेली गोरेटा
गम्न थाल्नुभो–
यहाँसम्म आएपछि कहाँ आइपुगे म !
अझ अगाडि कहाँ जाने !
त्यहाँभन्दा अगाडि कहाँसम्म पुग्ने !
सोधिरहनुहुन्थ्यो-
जिन्दगीको अन्तिम टुङ्गो कहाँसम्म हो साम्बजी ?
म आफैँले फुकाउन नसकेको यक्षप्रश्न
प्रश्नको युगीन गुजुल्टोमा
मैलाई फसाउनुभो नि थापा सर !
यस्तै हो- जिन्दगानी चल्दै छ
जिन्दगी फनफनी भुमरीमा फस्दै छ !

हेटौंडा-४, हुप्रचौर, चिल्ड्रेनपार्क सडक

पुष्पलाल स्मृति पुस्तकालयले वक्तृत्वकला प्रतियोगिता गर्ने

भाद्र १२, मकवानपुर ।
पुष्पलाल स्मृति पुस्तकालय हेटौँडाले यही भाद्र १५ गते शुक्रबार ११ बजे १६ औं पुस्तकालय दिवसको अवसरमा पुष्पलाल स्मृति पुस्तकालयको आयोजनामा ‘पठन संस्कृति आजको आवश्यकता’ विषयक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ ।
विद्यालयका प्र.अ. तथा अतिरिक्त क्रियाकलाप संयोजकलाई सम्बोधन गरी लेखिएको पत्रमा प्रत्येक विद्यालयबाट ३ जना विद्यार्थी उपस्थित गराउन अनुरोध गरिएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार राशी क्रमशः २ हजार, १ हजार ५ सय, १ हजार र ५ सय रुपैयाँ राखिएको छ । पुरस्कार राशीका साथमा प्रमाणपत्र र पुस्तकहरू समेत उपहार प्राप्त हुने साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेले बताउनु भयो ।
भाद्र १५ गते पुष्पलाल स्मृति पुस्तकालय, हेटौँडा-५ मा बिहान ११ बजे आयोजना हुने यस प्रतियोगितामा विद्यालयका जुनसुकै तह (कक्षा १२ सम्म) का विद्यार्थीहरू सहभागी हुन सकिने र थप जानकारीका लागि ९८४५२९००७९ मोबाइल नम्बरमा सम्पर्क गर्न सकिने संगमका सचिव डिबी बर्तौलाले बताउनुभयो ।
पुष्पलाल पुस्तकालय हेटौँडा ५ मा रहेको पुष्पलाल स्मृति पार्क (बालकुमारी राजयोग सेवा केन्द्रद्वारा सञ्चालित) मा रहेको छ भने साहित्य संगम मकवानपुर र हेटौँडा उपमहानगरपालिकाको साझेदारीमा सञ्चालन हुँदै आएको छ ।

कविता: परेवा / समर्पण न्यौपाने

परेवा पालिरहेछन् कोही
कोही परेवा बेचिरहेछन् ।

कोही जम्मा गरेर
गञ्ज गञ्जका परेवा
गराइरहेछन् परेवाहरूकै महासङ्ग्राम
परेवाहरूको माटोलाई ’परेवामय’ बनाउने
डिङ हाँकिरहेछन् कोही ।

परेवाहरू त सेता राम्रा हुन्छन् ।“
बिछ्याएर न्यू योर्कमा एउटा फलैँचा
चिच्याइरहेछ व्यापारी बारम्बार ।
उसका सेल्सम्यानहरू
पुगेका छन् चप्पाचप्पामा
गरिरहेछन् बखान–
“कति असभ्य छन् पूर्वी गञ्जका परेवा
जो झुकाउँदैनन्
हाम्रो अगाडि शीर
परेवाहरू त हाम्रा सभ्य हुन्छन् ।“

पुगेकै छन् कुनाकन्दरा
बुद्धिजीवीहरू
जो लेखिरहेछन्–
कति मूर्ख हुन्छन् दक्षिणका परेवाहरू
जो सितिमिति बेच्दैनन् इमान
परेवाहरू त हाम्रा अनुशासित हुन्छन्
परेवाहरू त हाम्रा चलाख हुन्छन् ।“

बन्दुक बोकेर परेवा संरक्षक
पुगेकै छन् हरेक रणभूमिमा
बगाइरहेछन् सहानुभूतिको आँसु–
“ यी काँतर रुसी परेवाहरू
दुश्मन हुन् परेवातन्त्रका
हामी हौँ रक्षक
परेवाहरू त हाम्रा बहादुर हुन्छन् ।“

ब्यापारी
बडो जतनले लुकाउँछ
यी उन्नत सेता परेवाहरू नाममा
कति बचेराहरू बेपत्ता छन्
इतिहासको गर्भमा ।
कति गञ्जहरू तहसनहस भएका छन्
कति आँखाहरू लुछिएका छन्
कति कानहरू च्यातिएका छन्
कति चुच्चाहरू भाँचिएका छन्
र काटिएका छन्
कति हो कति खुट्टाहरू ।
कति परेवाहरूको रक्तकुण्डहरू
पुरेर बनाएको छ
उसले आफ्नो महासाम्राज्य
जसको धुरीमा चढेर
बडो सानले भनिरहेछ–
“परेवाहरू त सेता राम्रा हुन्छन्
शान्तिका दूत सेता परेवा !“

समर्पण न्यौपाने, हेटौडा मकवानपुर 

मुक्तककार सागर तिमल्सिनाका ८ मुक्तकहरु ।

रोएर आमा पाउँ कसोरी
रुच्दैन खाना खाउँ कसोरी।
लडेर उठ्न तिमीले सिकायौ
हारेर जीवन आउँ कसोरी।।

फारामै भर्दा मात्रै दुई हजार जान्छ ऋण गरेको
पछुतो लाग्छ बेकारको मिहेनत रात दिन गरेको।
सेटिङ गरि आफ्नै मान्छे राख्नु थियो भने,
फोक्कटको विज्ञापन यहाँ किन गरेको, ?

हरेक वर्ष माटीकोरेलाइ बोटको चिन्ता छ– बालीको चिन्ता छ,
यसपाली पनि दलाललाई भोटको चिन्ता छ– तालीको चिन्ता छ,
भन्नुस् नेता ज्यू –के के छन, मेरालागि यो पटक घोषणापत्रमा?
यहाँ बर्खे अन्न जोगाउन गोठको चिन्ता छ–पालीको चिन्ता छ।

हाल उस्तै उस्तै छ – बाङ्गिएको किला जस्तो
बल्ल तल्ल झोरझार संगेलेको सिला जस्तो।
न तौल छ न त मूल्य – के सुनाउँ जाबो खबर
मुर्दा बोक्दा पछीपछी फालिएको टीला जस्तो । ।

तिमी मुटु म धड्कन भन्नेहरुको त आँत मिलेको छैन
कुम जोडेरै हिँड्ने मित्रसँग त तपाईंको बात मिलेको छैन।
भो छोडिदिउँ यार, सम्भव कहाँ छ र दुनियाँ रिझाउन,
यहाँ आफ्नै चिलाई मार्न त आङसम्म हात मिलेको छैन।।

पक्का, कालजयी इतिहास हुनेछ
धर्ती टेक्ने पैतालाको आकास हुनेछ।
युद्ध जित्न आत्मबलले कम्मर कसेपछी
आँखै अघि वैरीको विनाश हुनेछ ।।

अरु कसैले लेखिदिएको नाम भो– जिन्दगी
मन लाग्दैनलागी गरिदिएको काम भो–जिन्दगी
मेरै जस्तो खाली निधार, नहोस् तपाईंको पनि,?
चिठ्ठी राख्न्न बिर्सिएको खाम भो जिन्दगी।

सपना र विपना एकसाथ हुनेछन्
बिना तिमी सन्तानहरू अनाथ हुनेछन्।
जें जे पर्छ हाँस्नु,रुनु मेरै छात्ती माथी
तिम्रा लागी यो ज्यान हरदम तैनाथ हुनेछन्।

सागर तिमल्सिना
स्थायी – निजगढ –६, बारा

डा. नवराज लम्साल- कवितामाथि जबर्जस्त विचार र दुई नयाँ कविताहरू ।

यतिखेर म कविता मात्रै पढिरहेको छैन । कविताको संवेदनामा प्रविधिलाई मिलाएर कविताको संवेदनाभित्र पुग्ने र कविताको संवेदना बाँड्ने एक हुल तन्नेरी (नवसाहित्य परिवार) ले सुरू गरेको यो अभियानमा म पनि हिस्सा भएर जोडिएको छु । खुशी व्यक्त गर्दछु ।

कविता मेरैलागि लेख्दछु । आजसम्म जसले जे भने त्यही कुरा त्यही भाषामा भनियो भने कविता हुँदैन । कविता हुन दुनियाँले भनेको भन्दा पृथक विषय र पृथक ढङ्गले भने भने त्यो सुन्दर कविता हुन्छ । कविता हिजो लेखिए, आज लेखिँइदैछ, भोली पनि लेखिनेछ । तर मलाई एउटा कुराले सँधै पिरोलिरहन्छ, त्यो विषय मैले नलेखे के हुन्छ ? लेख्दै नलेखे के हुन्छ ? अहिले यो कालखण्डमा मैले यो विषयमा कविता लेखिनँ भने के कुरा छुट्छ होला ? यही प्रश्नको उत्तर कविले खोज्नुपर्छ ।

हामीले कवितालाई जटिल बनाउन थाल्यौं भने जनस्तरमा कविता पुग्दैन भन्ने मलाई लाग्दछ ।अचेल मलाई लाग्छ, कवितालाई सरल, सरस र सम्प्रेष्यका साथै जनताका ईश्युसँग अनि समसामयिक विषयवस्तुलाई जोडिएर बनाउनुपर्छ । एउटा पाठकले कविता पढ्दै वा स्रोता दर्शकले सुन्दा हेर्दा मेरै कविता पो हो भन्नका लागि उसकै भाषामा झर्नुपर्छ । प्रान्जल भाषाको बौद्धिक अभ्यास गरिने परम्पराबाट कविता सरल पो हुनुपर्छ कि भन्ने पनि लाग्दछ । यसैले पनि अग्निसम्म आइपुग्दा त्यही प्रयोगका कारण पनि तन्नेरीहरूले पढेका हुन् कि भन्ने मलाई लागेको छ ।

आज प्रकृतिको ‘मुड अफ’ छ

कति गनगन गर्छन् यी मान्छेहरू
प्रेम जस्तो प्रेम भएन रे प्रेम नगरमा
सुख्खा सुख्खा भयो रे सम्बन्ध
हाँसोले आत्मदाह गर्योस रे
आँशु पनि फारु फारु गरेर झार्छ रे आँखा
र पिल्ल रुने एकान्त पनि भेटिएन रे सहरमा ।

मलाई लाग्छ ठिक्क परे तिनीहरूलाई
स्वार्थका लागि प्रेम बेच्दै हिँडेपछि
बाँकी रहने त घृणा, तिरस्कार र अन्तरपीडा न हो

बर्खा लाग्दा नलाग्दै मोती खसालेर प्रेम साट्ने ती
नागनागिनी कहाँ गए होलान् ?
तिमीले ढुङ्गा धारा बेच्यौ
नोल पुरेर घर बनायौ ।

वनका ती सबै चरा कहाँ गए होलान्
देउराली मासेर टावर बनायौ ।

देवी देउताले डेरा कहाँ खोजे होलान्
देवीथान मासेर ईट्टा भट्टा खोल्यौ
जमिन हेर्दै जलमा नाच्ने जलचर के भए होलान्
नदि मासेर ढल बगायौ ।

पहिरो पहाडमा मात्रै होइन
दिलमा पनि जान्छ
दिल पहिरिएपछि एकै पटक भत्कन्छ
आँखा, सपना, विश्वास र भविष्य
गोडामा पहिरो गएको थाहा नपाउनेले
कुन सुरक्षित यात्रा गर्न सक्छ जिन्दगीको ?

मेरो छातिमा डढेलो सल्काएर
आफ्नो छातिमा एसी राख्छु भन्यौ
तर आफ्नो सन्तानको कलिलो पाउ राख्ने
नरम माटो पनि रहेन तिमीसँग
तिमीलाई ठिक्क पर्योि मान्छे
सुनको रुमालले आँशु पुछ न त अब ।

तिम्रा कारण अक्सिजनमा सुगन्ध भरेर
एउटा फूलले सृष्टी मगमगाउन पाएन
फूल उखेलेर फलाम रोप्यौ, गिट्टी बालुवा रोप्यौ
तपस्या र ध्यानका लागि एकान्त बाँकी रहेन
पहाड खन्यौ- माटो बेच्यौ, ढुङ्गा बेच्यौ
भूमि पूजाको अर्घ अक्षता पनि
अर्कैकोमा पर्ला पर्ला जस्तो
ईन्ची ईन्ची नापेर जमिन बेच्यौ
अब न बेच्न बाँकी केही रह्यो
न किन्न केही बाँकी रह्यो
तर यति त सम्झ मान्छे
संसार किने पनि शास फेर्ने हावा त कहाँ किनौला र ?

हेर्दा हेर्दै घर बनायौ, मन भत्कायौ
सम्पत्ति बनायौ, सँस्कृति भत्कायौ
साथी बनायौ, सम्बन्ध भत्कायौ
कानुन बनायौ, कर्म भत्कायौ
दृष्टी बनायौ, दृश्य भत्कायौ
आफू बन्यौ, आफ्ना भत्कायौ
लाग्छ- तिमीलाई ठिक्क पर्योय मान्छे
दुनियाँ भत्काउँछु भन्ने मान्छे
यसरी नै भत्किनुपर्छ र यसरी नै तड्पिनुपर्छ ।

सम्झ, पृथ्वीको पनि विकल्प होला कुनै दिन
तर हावा र पानीको विकल्प हुँदैन
तिमी पनि सँधै रहन्नौ र स्वार्थको भकारी
जतिसुकै ठूलो भए पनि मृत्युको पनि विकल्प हुँदैन मान्छे ।

कति गोष्ठी गर्छन्, कति भाषण गर्छन् नि मान्छेहरू
एउटा रूख रोप्नु छैन, वनका कविता ?
बोत्तलको पानी खाएर ढुङ्गेधाराको प्रवचन ?
मन्दिर बेचेर ईश्वरको महिमा
लोक रुवाएर लोकतन्त्रको संसद
जसले यसरी विचार र व्यहारका दुई गोडा
दुईटा डुङ्गामा राख्छ एकै पटक
उसैको टाङ च्यातिन्छ
हेर्दै जानु बाहेक म तिमीलाई के गर्न सक्छु र मान्छे ?


होसले होशियार

रोक्ला रोकको जमिन जल जे रोकियोस् रोक्न देऊ
छेक्ला छेकोस् वर र पर जे छेकियोस् छेक्न देऊ
बोल्ला बोलोस् वचन बिटुलो बोल्छ जे बोल्न देऊ
नेताजी हो, तर मुलुकको साँध सीमा नदेऊ ।

छिद्रा खोज्दै मधुर लयको छिद्रता के र भद्र
भन्ला आउ सहज सुखले जान दिन्छ समुद्र
आमा बेची कुन मखमली शान किन्छौ र सस्तो
नेताजी हो, अब त बुझ हो झुक्किने खेल यस्तो ।

कालापानी कलकल नदी कलकलाई बगेहुन्
टिष्टा खोला सलसल सँधै सलबलाई बगेहुन्
खोज्दै जाँदा समर युगको देहरादून पुग्छौं
ती माग्दैनौं तर यो मुलुक यो एक ईन्ची दिँदैनौं ।

सीमा रेखा रगत बहने छेकिने बाँधशाला
तिर्खा पिउने हिमशिखर हुन् बाघका वीर छाला
कस्तो आयो समय उसले साँध मिच्दैछ उल्टो
नेताजी हो अलमलविना सल्क आफैं अगुल्टो ।

ती योद्धाका रगत नभुली गर्ज शार्दुल गर्ज
हाम्रो साझा सहमति बनोस् छोड हुँकार मर्द
जागा हो सकल दुनियाँ साथमा छन् तयार
नेताजी हो हरदम हुनु होशले होशियार ।

रोक्ला रोकको जमिन जल जे रोकियोस् रोक्न देऊ
छेक्ला छेकोस् वर र पर जे छेकियोस् छेक्न देऊ
बोल्ला बोलोस् वचन बिटुलो बोल्छ जे बोल्न देऊ
नेताजी हो, तर मुलुकको साँध सीमा नदेऊ ।

नवराज लम्सालसँग सम्बन्धित केही भिडियोहरू