Home Blog Page 24

५१ हजार रुपैयाँको नैनी

असार ७, शुक्रबार संसारमा नैनी (Nail cutter/Nail shaper/Nail clipper) को सुरूवात ठ्याक्कै यतिखेर भयो भन्ने यकिन त छैन । ईशापूर्व २० तिर लेखिएको होरेसको एक चिठीमा केश मुन्डन गरिएको मानिसको नजिकमा ‘एउटा नाइ नङ सफा गर्ने साधन Penknife ले नङ सफा गर्दै’ भनेर लेखिएको छ । हुन त पत्ता लागेको मध्ये सन् १७७० मा बेलायतमा प्रयोग भएको पाइन्छ । त्यसमा पनि अहिलेको जस्तै लिभरको प्रयोग गरिएको पाइएको छ । तथापि अमेरिकामा सन् १७९५ मा ज्याकब पर्किन्स र बेलायतमा जोसेब डायरले यसको पेटेन्ट राइट आफ्नो नाममा दर्ता गराएको पाइएको छ ।

 

जोन एच हलम्यानले सन् १८४५ मा अमेरिकामा आफ्नो नाममा दर्ता गराएका नैनीको विकास हुँदै सन् १८८१ मा आधुनिक नङ काट्ने साधनका रूपमा Eugene Heim and Oelestin Matz को नाममा पेटेन्ट राइट भएको पाइन्छ । स्प्रिङ प्रयोग हुने क्लिपरको प्रयोग भने सन् १९२० को दशकबाट मात्रै सुरू भएको हो । हुन त एकताका स्प्रिङको विकासले संसारमा ठुलो क्रान्ति नै ल्याइदिएको थियो । जुन अहिले पनि कलमदेखि बन्दुकसम्म प्रयोग भइरहेकै छ ।

 

नङ ‘काट्ने’, ‘सुधार्ने’, ‘मठार्ने’, छोट्याउने के हो ?
सामान्यतया नेपालीहरू नङ काट्ने नै भन्छन् । तर पनि अङ्ग्रेजीमा कट (cut) भन्ने हो भने उर्दूमा कस (qus) हुनुपर्ने हो । अरबीहरू नङ काट्नुलाई कस सुल अफाफर भनिँदो रहेछ ।
उन्नाइसौँ शताब्दीको आसपास मात्रै नङ काट्ने कामलाई ‘Trim’ भनिएको हो । जबकी यसअघि ‘Paring’ भन्ने गरिन्थ्यो ।
यो त भयो अमेरिकतातिरको इतिहास । त्यसबेला नेपालमा केको प्रयोग हुन्थ्यो होला ? कोदो टिप्ने खुरुङ्गो, हसिया, गाउँघरको आरनमा बनेको छुरा ? यस्तै यस्तै सायद । धान, मकै, कोदो आदि भित्र्याउन नेपालमा गाउँहरूमा अझै प्रयोग भइरहेका यस्ता साधनहरू औद्योगिक क्रान्तिले मार्ग प्रशस्ती गरेका अङ्ग्रेजहरूले छैठौँदेखि आठौँ शताब्दीसम्म प्रयोग गरेका थिए ।

सन् १९०२ मा H.C. Cook कम्पनीले नैनीको विज्ञापन नै गरेको थियो । जुन तलको चित्रमा देख्न सकिन्छः

 

आधुनिक Long clipper को विकास भने सन् २०११ मा भएको हो । ठूला भुँडी हुनेहरूलाई निहुरेर नङ काट्न गाह्रो हुने भएपछि यसको विकास भएको मानिन्छ । आजकाल सौन्दर्यका विविध शैली तथा बजार मागका कारण नङ काट्ने, नङ सजाउने (Nail art), नक्कली नङ उत्पादन गर्ने, बेच्ने कामले रोजगारी पनि सिर्जना भएको छ ।

नङको स्याहार सुसार र सजावटका लागि म्यानिक्युअर र पेडिक्युअर पद्धति नेपालमा समेत वर्षौँदेखि व्यवसायिकरूपमा प्रचलनमा रहिरहेको छ । बालबच्चा र महिला, पुरूषका लागि समेत छुट्टाछुट्टै क्लिपरहरूको विकास भइरहेको समयमा यो चित्रमा देखिएको नैनीको मूल्य भने अमेजनमा ४० हजार रुपैयाँमाथि तोकिएको छ ।

मदन भण्डारी फाउन्डेसनले कविता प्रतियोगिता गर्ने

असार ७, शुक्रबार
नवसाहित्य अनलाइन । मदन भण्डारी फाउन्डेसन मकवानपुरले कविता प्रतियोगिता गर्ने भएको छ । राष्ट्रिय जन साहित्यिक सङ्घ मकवानपुरको व्यवस्थापनमा गरिने सो कार्यक्रमका लागि कविताहरू माग गरिएका छन् ।

प्रतियोगी कविता समाज रुपान्तरण, राजनीतिक परिवर्तन, समावेशिता, समृद्धि र आधुनिक चेतनाको लागि जनताको बहुदलीय जनवादको योगदानसँग सम्बन्धित हुनुपर्ने आयोजकले जनाएको छ । यस्तै यही असार १० गतेभित्र प्रिती फन्टमा टाइप गरी सर्जकको नाम, ठेगाना तथा सम्पर्क नम्बरसहित पठाउनुपर्ने कविताहरूमध्ये असार ११ गते उत्कृष्ट १० छनौट गरिनेछ । यस्तै असार १३ गते कविको उपस्थितिमा वाचन हुने प्रतियोगिताबाट उत्कृष्ट ३ जनालाई जनही ६ हजार रुपैयाँ पुरस्कार उपलब्ध गराइने आयोजकले जानकारी दिएको छ ।

कविता सम्प्रेषणका लागि bishal.adh64@gmail.com वा किताबघर हेटौँडामा बुझाउन सकिने राष्ट्रिय जनसाहित्यिक सङ्घका मकवानपुरका सचिव विशाल अधिकारीले जानकारी दिनु भएको छ ।

आमाको भविष्य /-आर.सी. रिजाल

नवसाहित्य अनलाइन । मेरो टोलकी सुशीला (नाम परिवर्तन ) दिदी ७५ वर्षकी भइन् । उनको पतिको निधन भयो । उनको जेठी छोरी र कान्छो छोरा हेटौँडामा र जेठो काठमाडौँमा ।
आमालाई दुई छोराले ६/६ महिना पाल्ने निर्णय गरेका रहेछन् । जेठोले ६ महिना पूरा हुन पाँच दिन बाँकी छँदै कान्छोकोमा पुर्‍यायो । कान्छोले भन्यो- “महिना भुक्तान भएकै छैन, किन मकहाँ ल्याएको ? आमालाई फिर्ता लैजाऊ” ।

जेठो- “आमालाई दुवैले बराबर माया गर्नुपर्छ । मैले आमा पाल्ने बैशाखदेखि असोजसम्ममा कुनै कुनै महिना ३१/३२ को परेका छन् । तेरो पालो कार्तिकदेखि चैत्रसम्मको महिना २९/३० को पनि रहेकोले हिसाब मिलाएर आमालाई ल्याएको हुँ” भन्दै दिदीतिर हेरेर थप्यो- “मेरो कुरा जायज छैन त ?”

दिदीले भनिन्- “ए कान्छा, आमै हुन् । दाइले पुर्‍याउन ल्याइहाले । अर्को सालदेखि कसरी मिलाउने भन्ने कुरोतिर लाग । हेर यो कुरा समाजमा फैलियो भने हाम्रो खिल्ली उडाउँछ्न्” ।

कान्छो भन्छ- “यति जाबो कुरा फोनबाट सोधेको भए समस्या पर्दैनथ्यो । आमा पाल्ने कुरा पनि दिनगन्ती गर्ने हो ? हेर्नुस् दिदी समाजले कुरा काट्यो भने दाजुकै काट्छ ।”

सुशिला कान कम सुन्ने भएकीले छोरीतिर हेरेर “के कुरा गरेका ?” भनिन् । छोरीले इशाराले आमालाई चुप लाग्न सङ्केत गर्दै भाइहरूतिर हेर्दै भनिन्- “मैले बुढी सासुलाई स्याहारी रहेकी छु । तिमीहरु किचलो गर्छौ भने आमालाई सँधै म स्याहार्न सक्छु ।”

जेठोले भन्यो- “हेर दिदी तेरो थर हामीसँग मिल्दैन । शेषपछि आमाको जिउनीमा आँखा गाडेर बढी जान्ने नपल्टी ।” दिदीले आँखा रसिलो पारेर- “म पनि उही आमाको लाम्टो चुसेर हुर्केकी हुँ । बा बितेको वर्षदिन भएको छैन, अहिलेदेखि किचलो । मैले आमा रोजेकी हुँ, जिउनी खोजेको हैन । तिमीहरुको व्यवहारबाट चाल पाइसकेँ । आमाको भविष्य मै हुँ।” भनेर उनी हिँडिन् । आमा ट्वाल्ल परेकी थिइन् भने भाइबुहारी मुस्कुराइ रहेका थिए ।
(हास्यव्यङ्ग्य लेखक रिजाल बुढ्यौली साहित्य समाज मकवानपुरका संस्थापक अध्यक्ष हुनुहुन्छ ।)

कविताः चौतारोः एक आत्मालाप ( राष्ट्रिय पर्या कविता प्रतियोगिता २०८१ -प्रथम )

सुबास सजल

कवि / मुक्तककार

ए भरिया दाइ !
तरेर मझेरी खोलाको साँघु
हिँडेर बेसीटारको हरिया फाँट ।
बिस्तारै उँभो लाग्दा
बाटैमा पर्ने
म त्यही चौतारो हुँ ।
 
बोकेर ढाकरभरि सपनाका पोकाहरू
एकैछिन
सुस्ताउन आउँथ्यो बादल मेरो काखमा
निकालेर पानी निधारका कुलाहरूबाट
सिञ्चित गर्थ्यो मेरा जराहरूमा ।
 
खै के कुरा बुझ्थ्यो बतासले
आएर काउकुती लगाउँथ्यो
मेरा हाँगाहरूमा
हल्लाएर पातहरू
म फुकिदिन्थेँ शीतल हावा
तिम्रो कमिजका कापहरूमा ।
 
बसेर मेरो आडैमा 
कहिले
मुस्कुराउँथ्यो आकाशतिर हेर्दै !
कहिले
फत्फताउँथ्यो खै कसको नाममा ?
 
दाइ, यो बाटो कहाँ पुग्छ ?
‘नयाँ बस्ती’ भन्ने गाउँ पुग्छ,
निकै सुन्दर छ ।
 
कहिले 
मार्गदर्शक बन्थ्यो नयाँ बटुवाका लागि ।
 
घामले अँखा मिच्नुभन्दा अघि
जुनले अन्तिम हाई नकाँढेसम्म
 
हरेक दिन
तिम्रै हाडछालाको कागजमा
हस्ताक्षरसहित साक्षी बसिदिने
म त्यही चौतारो।
 
आज
भेला भएका छन् केही विकासप्रेमीहरू
मेरै वरिपरि
छलफल चलेको छ
अन्तिम पटक मलाई साक्षी राखेर ।
 
निष्कर्ष निकालेको छ भेलाले निम्नानुसार-
बुँदा नम्बर एक- गाउँको बाटो ढलान गर्ने
बुँदा नम्बर दुई- बाटोमा पर्ने चौतारो भत्काउने ।
 
– सुबास सजल (हेटौँडा, मकवानपुर)

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

लघुकथा: चोर आँखा / राम कुमार बिष्ट

नवसाहित्य अनलाइन । अफिसबाट छुट्टि भएर घर आउने क्रममा, अफिसमा हाकिमको कचकचको टेन्सन एकछिन शान्त पारौ भनेर शहिद पार्कमा छिरे । छेवैको सिमेन्ट बेन्चमा बसेर पार्कको भाबि योजना नक्साको होडिङ बोर्डमा चारै दिशातिर का योजनामा आखा घुमाउँदा, पुर्ब तर्फ मिनि जू, पच्छिम तर्फ झरनाको सिन सँगै सहिद को शालिक, उत्तर तर्फ मेन गेट सँगै रङ्गीचङ्गी फुल बगैंचा, र दक्षिणतर्फ लुकामारी खेल्ने संकेतिक प्रेमिल पार्क रहेछ ।

अचानक पहिलानै प्रेमिल पार्क तर्फ नजर घुम्दा, केहिपर अर्ध बैंसे महिला र पुरुष हात समाएर चुम्मा नै खाउला जसरी नजरमा नजर जुधाउदै, मुस्कुराउदै पार्क घुमिरहेको स्थानमा मेरा पापी चोर आखा पुग्यो । आहा यो उमेरमा पनी कत्ति रमाइला, प्रेमको महत्व बुझेका “प्रेमिल जोडि” श्रीमान श्रीमती रहेछन् भनेर सोचमग्न भए । घुमिसकेर नजिकै आए पछि पो थाहा भो – श्रीमान-श्रीमती त रहेछन् ।
तर, अर्कै अर्कैका ।

-बिष्ट अंकल

लघुकथा: चोर आँखाको वाचन भिडियो

थप लघुकथाहरु

नेपाली ‘पप गीतका बादशाह’ ओमविक्रम विष्टदेखि ‘के लत लाग्यो मलाई’ का गीतकार र गायक सम्मानित

नवसाहित्य अनलाइन ।
रेडियो कान्तिपुरले पप सम्राट ओमविक्रम विष्टलाई दीर्घ साधना सम्मान प्रदान गरेको छ । रेडियो कान्तिपुरले शुक्रबार आयोजना गरेको ‘नेसनल म्युजिक अवार्ड्स–२०८०’ को अवसरमा गायक विष्टलाई दीर्घ साधना सम्मान (लाइफ टाइम अचिभमेन्ट) प्रदान गरिएको हो ।

नेपालमा पपका साथै अनप्लग रेकर्डिङ भित्र्याउने विष्टलाई पाँच दशकदेखि यो विधामा गरेको साधनाको कदर गर्दै रेडियो कान्तिपुरले सम्मान गरेको हो । नेशनल म्युजिक अवार्डको छैटौँ संस्करणमा विभिन्न १३ विधामा गीत सङ्गीतका सर्जकहरूलाई सम्मान गरिएको थियो ।

२०७९ साउनदेखि २०८० असार मसान्तसम्म रेडियोबाट प्रसारण भएका गीतलाई आधार मानी मनोनयनमा परेका स्रष्टा र सर्जकमध्ये सर्वोत्कृष्ट १३ जनालाई काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।

उत्कृष्ट ‘नवगायक/नवगायिका’ को अवार्ड गायक सुरेश ढुंगानाले जितेका छन् । प्रभा अधिकारीको शब्द, सत्य र स्वरुपराज आचार्यको सङ्गीत रहेको ‘ए रात’ उहाँकै स्वरमा रहेको छ । यस्तै उत्कृष्ट रचनाकारतर्फ प्रदीप मैनालीले ‘के लत बस्यो’ बाट अवार्ड उचाल्नु भएको छ । सो गजलमा तिलकसिंह पेलाको स्वर र सङ्गीत रहेको छ ।

उत्कृष्ट म्युजिक निर्देशनतर्फ ‘ढुङ्गा जस्तो’ बोलको गीतबाट महेश खड्काले अवार्ड पाउनु भएको छ । सुवास चन्द्र ढुङ्गेलको शब्द रहेको यस गीतमा गायक प्रमोद खरेलले आवाज दिनु भएको छ ।

शान्तिश्री परियारले उत्कृष्ट लोकदोहोरी गायिकाको अवार्ड पाउनु भएको छ । नेत्र अर्यालको शब्द रहेको ‘माझी दाइ’ गीतमा खेम सेञ्चुरीको सङ्गीत रहेको छ । यस्तै उत्कृष्ट लोक गायकको विधामा ‘सकम्बरी’ बाट प्रकाश सपुत, उत्कृष्ट पार्श्र्व गायिका बेनिशा पौडेलले ‘नाइँ नभन्नु ल ६’ को ’दिउँला माया’ बाट, उत्कृष्ट पार्श्र्व गायकतर्फ एसडी योगीले ’बेमौसमी’ बाट अवार्ड प्राप्त गर्नु भएको छ ।

उत्कृष्ट आधुनिक गायिकाको अवार्ड ’कयौं दुःख’ बाट सङ्गीता राना, रचनाका साथै उत्कृष्ट आधुनिक गायकतर्फ ‘के लत बस्यो’ बाट तिलकसिंह पेला, उत्कृष्ट ब्यान्डको विधा ‘अपरिभाषित’ बाट ’स्वर’, उत्कृष्ट पप गायिकामा ’बानी’ बाट सुवानी मोक्तान, सुशान्त केसीले ’सारंगी’ बाट उत्कृष्ट पप गायकको अवार्डका साथै ’जे छौ तिमी’ बाट ’पिपल्स च्वाइस’ अवार्ड (भोटिङमार्फत्) स्वप्न सुमन र समीर श्रेष्ठ प्राप्त गर्नु भएको हो ।

समारोहमा कमेडियन सीता न्यौपानेले स्याण्डअप कमेडी प्रस्तुत गर्नु भएको छ । रचना रिमाल, बद्री पंगेनी, सुशान्त घिमिरे, सुगम पोख्रेल, अनु चौधरी र हिमाल सागरका साथै भारतीय रियालिटी सो इन्डियन आइडल १२ औं सिजनका विजेता पवनदीप राजन र समूहले विभिन्न गायन प्रस्तुति दिएका छन् ।

नवसर्जक साहित्य चौतारीको २ दिने कार्यशालामा उत्साहपूर्ण सहभागिता

असार १, शनिबार
नवसाहित्य अनलाइन । नवसर्जक साहित्य चौतारी नेपालको आयोजनमा बालकविता लेखन कार्यशाला सम्पन्न भएको छ ।

२ दिने लेखन कार्यशालाका क्रममा शुक्रबार लेखनशील्पका सैद्धान्तिक विषयवस्तु प्रस्तुत गरी कविता लेखन अभ्यास गराइएको थियो । बालसाहित्य लेखक रमेशचन्द्र घिमिरेमार्फत् लेखनसम्बन्धी प्रशिक्षणबाट सुरू भएको कार्यक्रम शनिबार रचना वाचनसहित समापन भएको हो ।

कविता लेखन सहजीकरणका क्रममा चराचुरूङ्गी किटपतङ्ग, मौसम, बालखेल, मातृभूमिसम्बन्धी प्रेम, चाडपर्व तथा सँस्कृति, नाता सम्बन्ध, बाल्यकालका अनुभव, बालजिज्ञासालगायतका १२ वटा विषयहरूलाई उदाहरणसहित प्रस्तुत गरी कविता लेखनमा सहजीकरण गर्नु भएको हो ।

दोस्रो दिनको कार्यक्रममा रोशन गड्तौलाले मौसम परिवर्तनमार्फत् पर्या कविता प्रस्तुत गर्दा आभाश्री सापकोटाले ‘मेरी आमा’, प्रेरक गौतमले ‘मेरा बाबा’, कुशल अधिकारीले ‘विद्यालय जान्छु म’ का साथै शुभेच्छा अर्याल, मनुश्री चापागाईँ, आयुष्मा दङ्गाल, श्रीषा लामिछाने, अरिस्का दङ्गाल, अनमोल पोखरेललगायत १५ जनाको कविताहरू वाचन भएका थिए । कार्यक्रममा मकवानपुर, काभ्रे, बागलुङ, गोरखा, तेह्रथुम, कास्कीलगायत विभिन्न जिल्लाबाट बालबालिकाहरूको सहभागिता रहेको थियो । गद्य तथा छन्दका कविताहरू समेत प्रस्तुत भएका छन् । मकवानपुरका विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेख सहभागिता रहेको नवसर्जक चौतारीले लेखन तथा बहस र वाचनका विविध कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आइरहेको छ ।

कार्यक्रमका प्रशिक्षक तथा गण्डकी प्रदेश संयोजक रमेशचन्द्र घिमिरेले वाचित सम्पूर्ण कविताहरूको समीक्षात्मक टिप्पणीसहित ‘घडीभित्र छडी’ बाल कविता वाचन गर्नुभयो । टिप्पणीका क्रममा घिमिरेले बालबालिकाहरूले शिक्षाले गरेका उन्नति, बाबाआमाप्रतिको दायित्व, वातावरण, गुरू, समय, प्रकृतिलगायतका विषयमा कविताहरू प्रस्तुत गरिएकामा लेखनलाई निरन्तरता दिन र अध्ययनका लागि समय छुट्याउन आग्रह गर्नुभयो । उहाँले बालकविताका साथै बालगजल समेत लेख्न सकिने, जानकारीमूलक सामग्रीलाई कवितात्मक शैलीमा लेख्न सकिने जानकारी दिनुभयो ।

अतिथि सुरेन्द्र देवकोटाले ‘तोपचरो’ कवितामार्फत् यसका प्रकार, आनीबानी तथा संरक्षणका बारेमा कविता वाचन गर्नुभयो । र्‍याण्डम रिडर्स सोसाइटीका संयोजक रुपिन्द्र प्रभावीले देश निर्माणका लागि एकजुट हुनुपर्ने ‘तिम्ले झोला बोक्दा’ कविता वाचन गर्नुभयो । यस्तै संप्रस पौडेलले ‘तपाईँको कुकुर कस्तो छ ?’ व्यङ्ग्यमार्फत् कुकुर डुलाउनेहरूले फोहोर आफैँले व्यवस्थापन गर्नुपर्ने विषयमा कविता वाचन गर्दा ध्रुव ढकालले ‘पसिनाका दाना’ कवितामार्फत् बाआमाप्रतिको दायित्वसम्बन्धी कविता प्रस्तुत गर्नु भएको छ । नवसर्जक साहित्य चौतारी नेपालका परिकल्पनाकार तथा संरक्षक दीपक गौतमले रेकर्डिङको तयारीमा रहेको ‘हामी बालक’ गीत प्रस्तुत गर्नुभयो ।

नवसर्जक साहित्य चौतारी नेपालकी सल्लाहकार अर्चना दाहालले सहभागी सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभयो भने जुम वेबिनारमार्फत् सञ्चालित कार्यक्रमलाई दीपक गौतमले सहजीकरण गर्नु भएको हो ।

गजलमञ्चको २१४औँ गजल यात्रा सम्पन्न

असार १, शनिबार
नवसाहित्य अनलाइन । गजल मञ्च मकवानपुरले २१४ औँ गजल यात्रा सम्पन्न गरेको छ ।

शनिबार हेटौँडामा नियमित कार्यक्रममा क्रममा गजल वाचन तथा गजल गायन गरिएको हो ।
सर्जक सञ्जाल मकवानपुरका संयोजक तथा कार्यक्रमका प्रमुख अतिथि निमेष निखिल, हास्यव्यङ्ग्यकार तथा विशिष्ट अतिथि आरसी रिजाल रहनुभ‌एको कार्यक्रममा मञ्चका अध्यक्ष केशव समर्पणको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा मिथिला अधिकारी, प्रेरक गौतम, मनोज पोखरेल, मुस्कान तिमल्सिना, दीपक गौतम, मुना धिताल, निमेष निखिल, हरि पौड्याल, केशव समर्पणलगायतले आ-आफ्ना गजलहरू वाचन गर्नुभयो भने पुरुषोत्तम आचार्य, ऋषिराम आचार्य र हरि पौड्यालले गायन गर्नुभयो ।

पूर्व अध्यक्ष मुस्कान तिमल्सिनाको कार्यकालमा गजल मञ्च मकवानपुर दर्ता भ‌एर आधिकारिकता प्राप्त गरेको र त्यसलाई सबैको‌ साथ सहयोग रहेको स्मरण गर्दै अध्यक्ष समर्पणले उपस्थित सबैप्रति आभार व्यक्त गर्नुभयो ।

साहित्य सङ्गम तथा सिस्नुपानी मकवानपुरको संयुक्त हलमा आयोजना भ‌एको कार्यक्रमलाई मञ्चका सचिव हरि पौड्यालले सहजीकरण गर्नुभ‌एको हो ।

कविता: वातावरण र प्रकृति / अंकिता सुबेदी

३१ जेष्ठ २०८१, बिहिबार
नवसाहित्य अनलाइन ।

वातावरण र प्रकृति
वातावरण दिवस केवल –यालि र नारासम्म मात्र सिमित भयो,
यो खाली जमिनमा बोटबिरुवा रोप्न मात्र बाँकी रह्यो,

भन्छन्नि स्वर्ग एउटा मिथ्या हो तर प्रकृति एक सत्य
जब गण्डकीको खोला बग्छ छलल, बोटबिरुवा झारपात हावाले सरर,
घामले दिन्छ ताप, जूनले सितल र बादलले पानी दरर
यी सबै प्रकृतिका रहस्य ।

जब धाम झुल्कन्छ र भुल्काले सगरमाथा
–लाई स्पर्स गर्छ,
जब ढाँफेले आफूमा रंग भर्छ, हिमाल मुस्कुराउँछ
बिहान सबेरै कोइलीले आफ्नो भाका गाउँछ,
तिम्रो मन भारि हुँदा एक कदम आफ्नो घर बाहिर चाल

वरिपरि फूल, बोट, पुतली, चरा, कोइली का भाका सुन
यसले मनलाई आनन्दित पार ।

यस्तो युग थियो जहाँ चारै तिर हरियाली र हामी प्रकृतिका पुजारी

धनले धनी छैन नेपाल तर प्रकृतिले बन्त दिएन भिकारी,
त्यसैले प्रकृति नबिगारौ जीवनमा धेरै कुरा आँटन छ ।।
प्रकृति नबिगारी सबै जना सँगै बाँच्न

अंकिता सुबेदी
कक्षा –८
जेम्स इङलिस मिडियम स्कूल

बालबालिका केन्द्रित केहि गतिविधिहरु...​

कविता: रूख रोपौं / सान्बि लामिछाने

३१ जेष्ठ २०८१, बिहिबार
नवसाहित्य अनलाइन ।

रूख रोपौं
आऊ हामी मिलेर रूख रोपौं
मिलेर बन बचाऔँ
वक्षारोपण गरेर वातावरण बचाऔँं
पानी बचाएर जीवन बचाऔँ

वन नै हो हाम्रो जीवनको सार
वातावरण नै हो हाम्रो जीवनको आधार

शुद्ध बनोस वन हाम्रो शुद्ध हावापानी
वातावरण राम्रो भए बन्छ जिन्दगानी

गर्दैनौ खेर हामी व्यर्थ जल
सेवा गर्छौं वातावरणको हरपल

सान्बि लामिछाने
कक्षा ८ 
जेम्स इङ्गलिस मिडियम स्कूल

बालबालिका केन्द्रित केहि गतिविधिहरु...