Home Blog Page 8

हेटौँडामा श्रवण मुकारूङका कविता वाचन र साङ्गीतिक साँझ हुने

नवसाहित्य डटकम

कवि/गजलकार/मुक्तककार/नियात्राकार

कार्तिक २८, बुधबार । साहित्य सङ्गम मकवानपुरले श्रवण मुकारूङका एकल कविता वाचन कार्यक्रम गर्ने भएको छ । सङ्गमको सो कार्यक्रममा मुकारूङका केही गीतहरूसमेत गायन हुनेछ ।

सङ्गमको अक्षयकोष सहयोगार्थ टिकटमा कवि मुकारूङका कविता वाचन तथा साङ्गीतिक साँझ यसअघि भाद्र १ गते गर्ने भनिएकोमा स्थगित भइ आगामी मङ्सिर ७ गते शुक्रबार दिउँसो ३ बजे हेटौंडा पार्टी प्यालेसमा गर्ने अध्यक्ष डीबी बर्तौलाले जानकारी दिनुभयो ।

‘जीवनको लय’, ‘बिसे नगर्चीको बयान’ कविता सङ्ग्रहका रचनाकार मुकारूङ यसअघि सर्वश्रेष्ठ गीतकार (रेडियो नेपाल, २०४७), राष्ट्रिय कविता महोत्सवमा द्वितीय (२०४८), राष्ट्रिय कविता महोत्सवमा प्रथम (२०५३), युवा स्रष्टा सम्मान (२०५६), रवीन्द्र गीत सम्मान (२०५६), मोहन रेग्मी स्मृति पुरस्कार (२०५९), युवा वर्ष मोती पुरस्कार (२०६०) आदिबाट सम्मानित हुनु भएको छ ।

कार्यक्रममा श्यामकुमार बानियाँ, अन्जन दाहाल, सुनीता बुर्लाकोटी, रमेश गहतराज, लालकाजी परियार र प्रसिद्धि लामिछानेले मुकारूङद्वारा लेखिएका गीतहरू गायन गर्नुहुनेछ ।

२०४३ सालदेखि मुकारूङका करिब १५० गीतहरू रेकर्ड भइ नेपाली समाजले श्रवण गर्न पाइरहेकोमा पछिल्लो गीत ‘राई माइलाले गाउँ छाड्यो रे’ सुनिता थेगिमको स्वरमा निकै चर्चामा रह्यो । ‘हजुर हजुर ए हजुर’ गायक तथा सङ्गीतकार आभासको एकल स्वरमा र आभास र मीना निरौलाको संयुक्त स्वरमा ‘तिमीले मिसकल गर्दा’ अर्को गीत रहेको छ । यस्तै उहाँका ‘तिमी तारे भिर’ गीतमा पबित्र सुब्बाको स्वर रहेको छ । त्यसो त उहाँको सर्वाधिक चर्चित गीत ‘माथि माथि सैलुङ्गेमा’ कुन्ती मुक्तानले गाउनु भएको हो भने यो गीत मुकारूङले याक चुरोटको बट्टाभित्रको टल्कने कागजमा लेखेको बताउनुहुन्छ ।

आदिवासी, जनजाति, दलित, महिला, बालबालिकालगायत सामाजिक, सांस्कृतिक वा राजनीतिक मुद्दामा गीत चाहिँदा मुकारूङकै खोजी हुन्छ भने पहिचान हराएका समुदायको पहिचानका आवाजलाई उहाँका शब्दहरूले मुखतरित गरेका छन् । विभेद र उत्पीडनका विरूद्धमा समेत कलम चले पनि देशप्रेम, वैदेशिक रोजगारीदेखि पारिवारिक विविधतासम्म उहाँका सिर्जनामा अटाएका पाइन्छन् ।

‘बिसे नगर्चीको बयान’ बाट मुकारूङका शीर्ष कविता यसप्रकार रहेको छः

बिसे नगर्चीको बयान
०००
मालिक !
म यो गोरखा राज्यमा
अढाई सय वर्षपछि बौलाएँ
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिर–तिर्मिर भएर
हजुरको शिर दसओटा देखिरहेछु
खोइ मेरो पैताला कहाँनिर छ ?
कहाँनिर छ बिसे नगर्ची ?
मालिक ! म बौलाएँ ।

मैले त महाराजको सेवा गर्नुपर्ने
इतिहासको रक्षा गर्न
यो गोरखकालीको पाउ छोएर
नुनको सोझो हुनुपर्ने
अढाई सय वर्षपछि–
आज के भयो मलाई ?
यो बिसेलाई दशा लाग्यो मालिक !
म बौलाएँ ।

नाथे मेरी स्वास्नी न हो मारिएकी
नाथे मेरी छोरी न हो बलात्कृत भएकी
नाथे यो बिसेको झुप्रो न हो जलाइएको
यतिमै यो बिसे उफ्रिनुपर्ने ?
थुइक्क बिसे…
म बौलाएँ मालिक !
म बौलाएँ
मेरो हात भाँच्चियो
अब के हजुरका भारदारहरूलाई
लबेदा सिउन सक्दिनँ !
नर्सिङ्गा फुक्न सनई बजाउन
अथवा, कुनै मङ्गलगान
वा ऋतुगीत गाउन सक्दिनँ
मेरो खुट्टा भाँच्चियो
अब म हजुरको राज्यको पहरा गर्न सक्दिनँ
मेरो दिमागै ठिकमा छैन
अब म ठिक्कले बोल्नै सक्दिनँ
मालिक ! म बौलाएँ ।

मालिक !
यो गोरखा राज्यअघि उभिएका
हिजोका ती अग्ला–अग्ला पहाडहरू
आज कसरी यस्तरी होँचा–होँचा भए ?
हिजोका ती सग्ला र कलकलाउँदा यहाँका मानिसहरू
आज कसरी यस्तरी खुनी र कुरूप भए ?
यो दरौँदी किन उल्टो बगेको देख्छु ?
यो दरबारै किन खण्डहरजस्तो देख्छु ?
मालिक ! म बौलाएँ ।

मालिक !
हजुरको तरबारले
टाउको काट्छ कि फूल ?
भ्रममा परेँ म
हजुरको बन्दुकले
विचार ढाल्छ कि मान्छे ?
भ्रममा परेँ म
यस राज्यलाई
प्रजाले बनायो कि राजाले ?
भ्रममा परेँ म
अढाई सय वर्षदेखि म तपाईंसमक्ष छु
मालिक !
म कसरी आतङ्ककारी हुन सक्छु ?
म केवल बौलाएँ मालिक !
बौलाएँ
हो मैले–
मालिकको दिव्योपदेश पालन गरिनँ हुँला
रक्सी खाएर–
यो देश मैले पनि आर्जेको हुँ भनेँ हुँला
भानुभक्त बाजेको गीत र मेरो सियो
बराबर हो भनेँ हुँला
मैले सिएका सुकिला लुगा ओढेकाहरूलाई
मेरो नाङ्गो आङ देखाएँ हुँला
बौलाएपछि मैले
मेरै भगवान्लाई पनि गाली गरेँ हुँला ।

मालिक !
मान्छे बौलाएपछि
अढाई सय वर्षदेखि–
मैले तुनेका थाङ्नामा हुर्केका
मेरा दरसन्तानहरू कहाँ–कहाँ पुगे ?
मैले खोज्न चाहेँ हुँला
मेरा औँलामा खोपिएका छ्यान्द्रा
र बगेका रगतहरूले मलाई उक्सायो
तरबारले आर्जेको मुलुकभन्दा मैले
धागोले उनेको मुलुक विशाल ठानँ हुँला
मालिक !
यस माटोको इतिहाससँगै
म हजुरको राष्ट्रमा छु
म कसरी अराष्ट्रिय हुन सक्छु ?
म साँच्चै बौलाएँ मालिक !
साँच्चै बौलाएँ ।

मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिर–तिर्मिर भएर
हजुरको शिर दसओटा देखिरहेछु
खोई, मेरो पैताला कहाँनिर छ ?
कहाँनिर छ बिसे नगर्ची ?
मालिक ! म बौलाएँ ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

समाज, संस्कृति र संवेदनामा सचेत अनुवादकः पाठक प्रतिक्रिया -अनिता कोइराला

नवसाहित्य डटकम

भेजिटेरियन उपन्यासका पात्रले भने झैँ ‘भेजिटेरियन’ शब्द अहिले फेसन भएको छ ।

सोचेँ, पक्कै यो किताब पनि आहारविहारकै सेरोफेरोमा समेटिएको होला । हान काङ्‍को चर्चा चुलिएपछि म पनि चम्किएँ भेजिटेरियन ल्याउन । जब भेजिटेरियनभित्र छिरेँ म अवाक् हुँदै गएँ ।

तीनवटा शीर्षकहरूमा यो उपन्यास समेटिएको रहेछ । भेजिटेरियन, नीलडाम र ज्वलन्त रूखहरू । कति विम्बात्मक छन् शीर्षकहरू।

कति प्रतीकात्मक छ्न् विषय । उत्कृष्ट छ प्रस्तुति ।

हिंसाले कति जटिलता ल्याउँदोरहेछ भन्ने बुझ्न योङ्ह्येको जीवनलाई हेर्दा हुन्छ । हान काङ्ले कति मीठोसँग कोरियाली समाजमा व्याप्त पितृसत्तात्मक समाज, संस्कारका साथै सोचलाई उपन्यास मार्फत् देखाएकी छन् । साथै हानले महिला हिंसादेखि पुजीँवादी बजारको घिनलाग्दो रूपलाई देखाएकी छ्न् ।

‘नीलडाम’ शीर्षकमा बडो कलात्मक तरिकाले आजको सम्बन्ध, संवेदना र बजारलाई देखाएकी छन् । ‘नीलडाम’ शीर्षक पढ्दा पाठको मस्तिष्क पनि फनफनी घुम्छ । हानले नीलडामभित्रको दृश्यलाई त्यति मिहिन पाराले लेखेकी छन्, आखिर उनले दिन खोजेको सन्देश के हो ? पाठक चिन्तनशील हुनै पर्छ । नीलडाम पढेपछि म पनि तिलमिलाएँ । लाग्यो के यहाँ हानले यौनको सस्तो मसला देखाएकी हुन् ? उनले सतही कुरा देखाउन खोजेकी हुन् ? या उपन्यासलाई रोमान्टिक मात्र बनाउन चाहेकी हुन् ?

म सोच्न बाध्य भएँ । नारी शरीर केवल प्रदर्शन र भोग्न गर्नको लागि मात्र हो त ? त्यो शरीरसँग जोडिएको संवेदनासँग कुनै मतलब छैन विवेकी मान्छे को ? मानसिक अवस्था अस्थिर भएकी आफ्नै सालीलाई भिनाजुले त्यो अवस्थामा लैजानु….. । पुजीँवादी समाजले कला क्षेत्रलाई पनि बदनाम पार्दैछ भन्ने लाग्यो । आजको पुजीँवादी विश्वले कतिसम्म घृणित सम्बन्ध र चरित्र निर्माण गर्दैछ हाम्रो समाजमा सम्झिएर आक्रान्त भएँ ।

यस उपन्यासकी मुख्य पात्रलाई मानसिक समस्याले गाँज्दै लगेर भेजिटेरियन भएकी हुन् कि भेजिटेरियन भएपछि परिवार र समाजको कारणले विक्षिप्त भइन् ? आखिर शक्तिशाली सत्ताले मानसिक यातना दिएर योङ्ह्ये मानसिक समस्यामा फस्दै गएकी हुन् लाग्यो ।

एउटा मानसिक रोगी जन्माउन आखिर कसको हात महत्त्वपूर्ण रहेछ त ? प्रश्न उठिरह्यो ।
कोरियाली समाजमा आज पनि श्रीमतीको रूपमा कामदार नै चाहेको देखिन्छ । श्रीमानको इसारामा मात्र चल्ने यन्त्र चाहिएको छ । आफ्नो अहंकारलाई छोड्न सक्दैन बरु गल्तीको पहाड बोकेर ऊ हिँड्छ एक्लै ।
मांसाहारी परिवारमा एक जना पात्र शाकाहारी हुँदा कस्तो उद्दण्ड मच्चियो । के यो साधारण कुरा हो त ? योङ्ह्येको परिवारमा झैँ विश्वमा शाकाहारी र मांसहारीबिच घमासान युद्ध पो हुने हो कि ? के ठेगान । आखिर सबैलाई आफ्नो बर्चस्व कायम गर्नुछ ।

दमन शोषणयुक्ति समाजमा मान्छे साँच्चै बौलाहा हुनै पर्छ लाग्यो । कला साहित्यमा नारीलाई वस्तु बनाएको गम्भीर विषयलाई हानले बडो सूक्ष्म किसिमले अभिव्यक्त गरेकी छ्न् । निकै संवेदनशील विषयमाथि हानले भेजिटेरियन लेखेकी रहिछिन् ।

एउटा मान्छेको जीवनमा आकस्मिकताले कस्तो भयावह अवस्था सिर्जना गर्दो रहेछ योङ्ह्येलाई पढेपछि छर्लङ्ग हुन्छ । साधारण कुरालाई समयमा बुझ्न नसक्दा त्यो समस्या कति गहिरो बन्दै जाने रहेछ यी नै पात्रको मनोदशालाई बुझे हुन्छ ।

यहाँ योन्ह्येले अनौठो सपना देख्छे । मैले झलक्क सम्झिएँ जर्ज बर्नाड शालाई । भनेका छ्न्,” बधशालाको द्वार खुल्ला राखिदिने हो भने सबै मान्छे शाकाहारी हुन्छ्न्।”

योङ्ह्येको जीवनमा त्यस्तै भयो । उनले देख्न थालिन बधशाला आफैंभित्र । अनि कसरी खान्छिन् त मासु । देख्छिन् रगतले लतपत आफ्नै अनुहार । छाला र चोक्टा लुछ्दै गरेको आफ्नै मुख । प्रत्येक सपनामा डरलाग्दो दृश्य देख्न थालेपछि भेजिटेरियन बन्न पुगेकी युवतीलाई दमनकारी संस्कार र समाजले बाँच्न दिँदैन । भनिन्छ “सत्य एक्लै काफी हुन्छ” तर योन्ह्येको सत्य अभिशप्त भएर आयो ।

परिवारको एउटा सदस्यले मासु नखाँदा परिवारभित्र कत्रो महाभारत मच्चियो । ती तमाम घटनाहरूलाई बडो काव्यिक तवरले प्रस्तुत गरिएको छ यहाँ ।

अन्तिममा अनुवादलाई साधुवाद छ । शब्दको मात्र अनुवाद छैन यहाँ । अनुवादकले समाज, संस्कृति र संवेदनाको पनि सचेत भएर अनुवाद गरेका छन् । बेलाबेला आउने ठेट झर्रो भाषाको प्रयोगले सुनमा सुगन्ध थपेको छ ।
बधाई छ अनुवादकलाई ।
०००
(प्रस्तुत पुस्तक ‘The Vegetarian’ ले सन् २०२४ को नोबेल साहित्य पुरस्कार (दक्षिण कोरियाकै पहिलो लेखक) प्राप्त गरेको छ । कोरियाली लेखक Han Kang द्वारा सन् २००७ मा लेखिएको र Deborah Smith द्वारा अङ्ग्रेजीमा अनुवाद गरिएको उपन्यास ‘The Vegetarian’ ले सन् २०१६ मा अन्तर्राष्ट्रिय बुकर पुरस्कार प्राप्त गरेको हो । पुस्तकलाई नेपालीमा भने प्रवीण अधिकारीले अनुवाद (बुकहिल प्रकाशन) गर्नु भएको हो ।)

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

प्रभास घिमिरेको महाप्रस्थानमा नवसर्जक साहित्य चौतारीद्वारा श्रद्धाञ्जली कार्यक्रम ।

संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

कार्तिक २४ । प्रभास अर्थात् चारैतिर छरिएको उज्यालो; प्रकाश; ज्योति; दीप्ति । साहित्य सिर्जनामा उदाउँदो ज्योति नवसर्जक प्रभास घिमिरेको भौतिक शरीर हामीमाझ रहेन । कार्तिक २० गते आफ्नो अध्ययनका लागि वृन्दावन, भारत फर्कने तथा प्रवचक देवी प्रतिभाका साथमा कार्यक्रममा सहभागी हुनेक्रममा २१ गतेको यात्राले उहाँलाई सांसारिक यात्राबाट मुक्त गरिदियो ।

घिमिरेका साथ ६ जना सवार कार दुर्घटनामा परेपछि ३ जनाको निधन भइसकेको र बाँकी उपचाररत रहेको परिवारस्रोतबाट जानकारी प्राप्त भएको छ भने कार्तिक २३ गते त्रिवेणी धाम, हेटौँडामा स्वर्गीय घिमिरेको अन्तिम दाहसंस्कार गरिएको थियो ।

सिस्नुपानी नेपाल मकवानपुरद्वारा आयोजित राष्ट्रव्यापि खुला हास्यव्यङ्ग्य कविता प्रतियोगितामा द्वितीय स्थानले पुरस्कृत उहाँ हास्यव्यङ्ग्य सिर्जनाका साथै अन्य साहित्यिक गतिविधिहरूमा सक्रिय हुनुहुन्थ्यो । सिस्नुपानी नेपाल मकवानपुरद्वारा गत कार्तिक १० गते आयोजित देउसीभैलो कार्यक्रममा उहाँको प्रस्तुतिको हास्यव्यङ्ग्य प्रवचन प्रस्तुति नै अन्तिम कार्यक्रमका रूपमा रह्यो ।

नवसर्जक साहित्य चौतारीका संस्थापक तथा केन्द्रिय सदस्य घिमिरेको असामयिक निधनप्रति चौतारीले सोमबार अनलाइन माध्यममा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ । नवसर्जक साहित्य चौतारी नेपालका महासचिव समर्पण न्यौपानेले सहजीकरण गर्नु भएको कार्यक्रममा चौतारीका विभूति अधिकारी, सल्लाहकार डीबी बर्तौला, अर्चना दाहाल तथा साहित्यकार रमेशमोहन अधिकारीले उहाँबारे बोल्दै घिमिरेका रचनाहरू सङ्ग्रहित पुस्तक प्रकाशन गर्नुपर्ने सल्लाह दिनुभयो ।

यस्तै सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष संप्रस पौडेलले प्रभास घिमिरे हास्यव्यङ्ग्य लेखनमा पछिल्लो पुस्ताका सक्रिय सर्जक रहनु भएको र उत्कृष्ट कार्यक्रमहरू दिनु भएको साथै उहाँसँगका व्यक्तिगत र संस्थागत सम्बन्धबारे अवगत गराउँदै अत्यन्त सम्भावना बोकेको एक स्रष्टाको अकस्मात निधनले साहित्यिक क्षेत्रमा अकल्पनीय क्षति भएको बताउनु भयो ।

१ मिनेटको मौन धारण गरिएको कार्यक्रममा नवसर्जक विभूति अधिकारीले घिमिरेका छन्द कविता वाचन गर्दै खण्ड काव्य प्रकाशनका लागि अनुरोध गर्नुभयो ।

चौतारीका संरक्षक तथा परिकल्पनाकार दीपक गौतमले साहित्यिक तथा धार्मिक वृत्तमा चीरपरिचित रहनु भएका स्वर्गीय घिमिरेका रचनाहरूको सङ्ग्रह ‘स्मृति ग्रन्थ’ प्रकाशन गरेर उहाँप्रति सच्चा सम्मान हुने र तिनै कृतिले उहाँ हामीमाझ चीरकालसम्म रहनुहुने बताउनुभयो । उहाँले २७ गते मङ्गलबार सर्जक सञ्जाल मकवानपुरको आयोजनामा परिवारजनलाई भेटेर उहाँप्रति श्रद्धासुमन व्यक्त गर्ने जानकारी गराउनुभयो ।

नवसर्जक साहित्य चौतारी नेपालका अध्यक्ष तथा श्रद्धाञ्जली कार्यक्रमका अध्यक्ष प्रशन्ना गौतमले रेडियो कार्यक्रमदेखि नै सहकार्य रहेकोमा अनुशासित र असल व्यक्तित्व प्रभास घिमिरेको असामयिक निधनले एक होनहार नवसर्जकको अभाव सदैव खड्किरहने र यस अकल्पनीय घटनाबाट मर्माहत भएको बताउँदै उहाँको आत्माको शान्तिको कामना गर्नुभयो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

डीबी बर्तौलाको ‘उज्यालोका बाछिटा’ रेलमा विमोचन

नवसाहित्य डटकम

असोज १५ ।
साहित्य सङ्गम मकवानपुरका अध्यक्ष तथा मुक्तक मञ्च मकवानपुरका संस्थापक अध्यक्ष डीबी बर्तौलाको नवीन तेस्रो मुक्तक सङ्ग्रह ‘उज्यालोका बाछिटा’ सत्याग्रह एक्सप्रेसमा विमोचन भएको छ ।

विमोचन कार्यक्रममा सभाध्यक्ष साहित्यकार रमेशमोहन अधिकारी तथा प्रमुख अतिथि हयगृव आचार्य रहनु भएको थियो । मुक्तककारका मुक्तक सङ्ग्रह ‘उज्यालोका बाछिटा’ विमोचन तथा वाचनका क्रममा मकवानपुर, बारा, कपिलवस्तु तथा भारतका साहित्यकार, साहित्य अनुरागीहरूको उपस्थितिमा सो कार्यक्रम भएको हो ।

कार्यक्रममा साहित्यकारहरू मिथिला अधिकारी, अप्सरा पुडासैनी, विष्णुप्रसाद गौतम, माधव पोखरेल र राजबाबु पहाडीले ‘उज्यालोका बाछिटा’ मुक्तक सङ्ग्रहबाट केही मुक्तकहरू वाचन गर्नुभयो भने किशन पौडेलले आफ्ना मुक्तकहरू वाचन गर्नुभयो ।

प्रमुख अतिथि हयगृव आचार्यले मुक्तक सङ्ग्रह ‘उज्यालोका बाछिटा’ को सूक्ष्म समीक्षा गर्ने क्रममा यस प्रकारको विमोचन सायद विश्वमै दुर्लभ रहेको र ऐतिहासिक रहेको बताउनु भयो । उखानको प्रयोग गरी ९२ वटा मुक्तकभित्र राजनैतिक, सामाजिक विषयवस्तुमाथि तिखो व्यङ्ग्य प्रहार गरेको कुरा उहाँले व्यक्त गर्नुभयो । फरक स्वाद र तीव्र व्यङ्ग्यका साथै हास्यात्मक भावको प्रयोग गर्नु र प्रत्येक मुक्तकमा उखानको प्रयोग हुनु आफैँमा नौलो प्रयोग रहेको पाइएको कुरा बताउँदै आचार्यले कृतिगत सफलताको शुभकामना दिनुभयो ।

कृतिकार डीबी बर्तौलाले अनौठो र पृथक रूपमा मुक्तक सङ्ग्रह विमोचन भएकोमा अत्यन्त हर्ष व्यक्त गर्दै सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

सभाध्यक्ष रमेशमोहन अधिकारीज्यूले ११ दिने साहित्यिक यात्रा गर्ने क्रममा २०८१ असोज १४ गते जुरेको यो अनौठो र ऐतिहासिक तरिकाले मुक्तककार डीबी बर्तौलाको ‘उज्यालोका बाछिटा’ विमोचन तथा वाचन कार्यक्रम सफल भएकोमा खुसी व्यक्त गर्नु भयो । बर्तौलाका अघिल्ला कृतिभन्दा उत्कृष्ट रहेको बताउँदै कृतिगत सफलताको कामना गर्नुभयो ।

इन्डिगो इन्कद्वारा प्रकाशित पुस्तक विमोचनको औपचारिक कार्यक्रमलाई साहित्यानुरागी सिताराम दाहालले सञ्चालन गर्नुभएको हो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

श्यामकुमार बानियाँको २ म्युजिक भिडियो सार्वजनिक

संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

असोज १४, मकवानपुर ।
साहित्यकार श्यामकुमार बानियाँको २ वटा गीतहरूका म्युजिक भिडियो एक कार्यक्रमबिच सार्वजनिक गरिएको छ ।
०००
“गीत विमोचन कार्यक्रममा उपस्थित तपाईँ सबैजना सभाध्यक्ष हुनुहुन्छ, तपाईँ सबै प्रमुख अतिथि हुनुहुन्छ ।”
सञ्चारकर्मी छवि अनित्यले कार्य्रकमलाई फरक शैलीले सुरूवात गराउनुभयो ।

सङ्गीतकार लाल श्रेष्ठ हेटौँडाबाहिर रहनु भएकाले कार्यक्रममा उहाँको अडियो सन्देश प्रस्तुत गरिएको थियो । उहाँले बानियाँलाई कीर्तिको काम गर्नुभयो भन्ने सन्देश दिँदै उहाँका गीत लेखनले आफूलाई आकर्षित गरेको सन्देश सम्प्रेषण गर्नुभएको थियो ।

नवसाहित्य डट कमद्वारा आयोजित सार्वजनिकीकरण कार्यक्रममा नवसाहित्यका प्रधान सम्पादक निमेष निखिलले श्यामकुमार बानियाँका सङ्घर्षका सुरूवाती दिनदेखि नै आत्मीयता रहेको, छन्दका कविता, बालसाहित्यमा विशेष रूची हुनुका साथै विद्यालय तहका पाठ्यपुस्तक लेखनमा समेत सक्रिय बानियाँले गीत लेखन र गायनमा राम्रै उपस्थिति रहेको बताउनुभयो । साथै उहाँले आफू सङ्गीत, गायनलाई प्रेम गर्ने व्यक्ति भएकाले पनि बानियाँका हृदयस्पर्शी तथा गेय गुणहरूले भरिएको गीत, सङ्गीतकार लालश्रेष्ठको सुन्दर सङ्गीत संयोजन तथा म्युजिक भिडियो छायाङ्कनमा महेन्द्र ओझा तथा कलाकारहरूहरूले उत्कृष्ट अभिनय गर्नुभएको बताउनुभयो । साथै उहाँले नवसाहित्य डट कमका संरक्षकसमेत रहेका बानियाँ तथा म्युजिक भिडियोमा संलग्न सबैलाई शुभकामना तथा बधाई ज्ञापन गर्नुभयो ।

विद्यालय तहमा पढ्दादेखिको चिनजानदेखि कलेज पढ्दाताका बानियाँलाई पत्रकारितामा डोर्‍याउनुहुने पत्रकार भानुभक्त आचार्यले आफ्नो पत्रकारिताका क्रममा भाषा, साहित्य र विषयवस्तुमाथि आवश्यक सुझावका लागि सहकार्य रहीरहेको बताउनुभयो ।

कार्यक्रममा बानियाँको ‘माया भन्नु’ गीतलाई कलाकार उज्ज्वल शर्मा भण्डारीमार्फत् तथा ‘शून्य शून्य’ गीतलाई पत्रकार भानुभक्त आचार्यमार्फत् सार्वजनिक गरिएको हो ।

श्यामकुमार बानियाँद्वारा लिखित ‘आकाशै खुल्यो सुस्तरी’ गीतलाई गायक सागर तिमल्सिनाले गायन गर्नुभयो भने उहाँकै अर्को गीत ‘हिमालमा घाम झुल्क्यो’ लाई गायक अजर फुयाँलले प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा बाल साहित्य सर्जक अनुसुया खनालले आफू सानै रहेकोले माया बारे नबुझ्ने तर गीतहरू हेरेपछि आफूलाई लागेका भावहरू उल्लेख गर्दै गीतहरूमाथि टिप्पणी राख्नु भयो ।

साथै हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडाका अध्यक्ष नवीन सिग्देलले गायक बानियाँ आफूले सुरू गरेको काम अनि लेखनप्रति अत्यन्त लगनशील रहनु भएको भन्दै पत्रकारितामा ३/४ वर्ष आफूसँगको विगतको सहकार्यलाई स्मरण गर्नुभयो । मन्तव्यका क्रममा उहाँले भन्नुभयो- श्याम बानियाँ आफैँमा एउटा अभियान हो । साहित्य लेखन, शिक्षण सेवा, पत्रकारिताका साथसाथै गायनमा समेत उल्लेख्य भूमिका खेल्नुभएकोमा आफूलाई गौरव लागेको बताउनुभयो । मञ्चमा एक र व्यवहारमा फरक दृश्य हुने अराजक कविहरू पनि देखिएको हुँदा बानियाँ त्योभन्दा फरक रहेको आफूले पाएको हुँदा मकवानपुरको स्थापित स्रष्टाका रूपमा रहनु भएको मन्तव्य राख्नुभयो ।

साहित्यकार सुवास खनालले आफू विद्यालय तहमा अध्ययन गर्दै गर्दा पत्रिकाको स्तम्भकारका रूपमा चिनेको र सामयिक विषयवस्तु तथा देशप्रेमका गीतहरू लिएर आउँदै भएका बानियाँसँग आउँदा लेखन तथा गीतमा शिक्षण क्षेत्रका पीडा, असहजता, पर्यावरणजस्ता विशिष्टकृत ढङ्गका विषयवस्तु समावेश हुँदा त्यो सिर्जना अझै लामो समयसम्म बाँच्ने सुझाव र अपेक्षा राख्नुभयो । उहाँले प्रेमले भन्दा प्रेममाथि गरिएका कल्पनाहरूको क्षेत्र व्यापक रहेको बताउँदै उहाँले एकपछि अर्को गीतहरू दिँदै आउनु भएकामा मकवानपुरले गर्व गर्न सक्ने व्यक्तित्वका रूपमा बानियाँलाई शुभकामना व्यक्त गर्नुभयो ।

रङ्गकर्मी उज्ज्वल शर्मा भण्डारीले हेटौँडामा कलाकारहरूको खडेरी परेको समयमा कलाकारहरूको अभिनय उत्कृष्ट रहेको तथा लेखन, गायन, भिडियोग्राफी र निर्देशन सुन्दर रहेको बताउँदै बानियाँलाई आगामी समयमा गायनमा अझै अभ्यास गर्दै निरन्तरताका लागि सुझाव दिनुभयो ।

प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले सहकर्मीका रूपमा बिताएको विगत सम्झँदै बानियाँको गीत लेखन र गायनका साथसाथै शिक्षण मात्रै नभएर शैक्षिक संस्था सञ्चालन गरी शिक्षा क्षेत्रमैँ स्थापित भइसक्नु भएको बताउँदै आगामी यात्राका लागि शुभकामना दिनुभयो ।

सार्वजनिक म्युजिक भिडियोमा कलाकारहरू रिया श्रेष्ठ, अजर फुयाँल, विजयकृष्ण श्रेष्ठ, रजनी अधिकारी, सुबास सजल, प्रसुभा देवकोटा, सुनिता श्रेष्ठ, सङ्गीता श्रेष्ठ, रामु गिरी लगायतले विविध भूमिका निर्वाह गर्नुभएको छ ।

बानियाँले मन्तव्यका क्रममा बानियाँले आफूलाई साहित्य पठनमा जोड गर्नुहुने गुरू स्वर्गीय भोलाप्रसाद पौडेललाई सम्झनुभयो । शिक्षण पेशादेखि साहित्य लेखन अनि गीत रेकर्डसम्म विभिन्न समयमा आफूलाई हौसला र टेवा दिँदै आउनु भएका भन्दै प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदी, ४ नं. वडाका वडाध्यक्ष नवीन सिग्देल, सङ्घर्षका दिनहरूमा परिवारका सदस्यले भन्दा बढी सहयोग गर्नुहुने साहित्यकार निमेष निखिल, कलाकार संयोजनका साथै भिडियो निर्देशन र निर्माणका लागि महेन्द्र ओझा, रङ्गकर्मी उज्ज्वल शर्मा भण्डारीप्रति धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले आफ्ना आउँदा २ गीतलाई भण्डारीले निर्देशन गर्नुहुने कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रम सहजकर्ता तथा वक्ताहरूलाई नवसाहित्यमार्फत् सञ्चालक महेन्द्र ओझाले मायाको चिनो प्रदान गर्नुभएको कार्यक्रममा साहित्यकार, गायक, सङ्गीतकार, पत्रकार, कलाकर्मीहरू सहभागिता रह्यो भने रेड पाण्डा होटलमा सो कार्यक्रम आयोजना गरिएको हो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

अनेसासद्वारा आयोजित खुला अन्तर्राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न

नवसाहित्य डटकम

संवाददाता

अनेसास : राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)द्वारा आयोजित खुला अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा बिराटनगरका कवि मधुर भट्टराई प्रथम भएका छन्। भट्टराईले ‘स्कुल जानुछ’ शीर्षकमा कवितावाचन गरेका थिए।
यसैगरी हाल क्यालिफोर्निया अमेरिकामा बस्दै आउनुभएका जमूना भट्टराई (आततायी आकाश) द्वितीय, मकवानपुरका कवि सुबास सजल (नदीको यात्रा), चितवनका कवि सिन्धु पौडेल (परदेशबाट फर्किने बेला) र ईलामका नदी भट्टराई (अग्लो शैलसमान होस् यश अझै साहित्यको फाँटमा) तृतीय हुन सफल भए।

प्रतियोगितामा प्रथम हुनेलाई ५ सय अमेरिकी डलर, द्वितीयलाई ३ सय अमेरिकी डलर, तृतीय स्थान हासिल गर्नुभएका तिनजना कविलाई जनही २ सय अमेरिकी डलर सहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ।

प्रतियोगितामा विश्वभरीबाट (नेपाली भाषामा रचित) १ सय ६९ वटा कविता प्राप्त भएको र तीमध्ये २५ कविता पहिलो चरणमा छनोट गरी अनलाईन जुम मार्फत प्रत्यक्ष वाचनका लागि शनिबार बोलाइएको थियो।

प्रतियोगिताको निर्णायक मण्डलमा
कवि श्रवण मुकारूङ् ,कवि चन्द्रप्रसाद न्यौपाने एवम् कवि प्रभा भट्टराई रहनुभएको थियो।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

नगिताको हास्यव्यङ्ग्य कृति ‘ब्याकबाइटिङ’ आउँदै

संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

१० असोज । नगिता लेप्चा राईको हास्यव्यङ्ग्य कृति ‘ब्याकबाइटिङ’ प्रकाशन भएको छ । ‘मेरो बालापन (कविता सङ्ग्रह, सन् २०२३)’ मा प्रकाशन गराउनु भएकी नगिताले दोस्रो पुस्तकका रूपमा हास्यव्यङ्ग्यसङ्ग्रह लेख्नु भएको हो ।

कानेखुशी हास्यव्यङ्ग्य पत्रिकाकी कार्यकारी सम्पादक, आकाशवाणी खरसाङको नियमित वार्ताकार हुनुका साथै हाम्रो पहलकी प्रतिनिधि सम्पादक तथा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय पत्रपत्रिकामा फूटकर रचनाहरू लेख्दै आउनु भएको छ ।

३१ निबन्ध सङ्ग्रहित नवप्रकाशित हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहलाई समकालीन साहित्य प्रतिष्ठान बेलायतले प्रकाशन गरेको हो ।

सिलिगुडी, भारत निवासी लेखकले चाँडै नै पुस्तक लोकार्पण मिति तोकिने जानकारी गराउनु भएको छ ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

नवसाहित्य डटकम

कवि/गजलकार/मुक्तककार/नियात्राकार

 

पोस्ट Content यहाँ राख्नुहोस्……

प्राविधिक सहयोगको लागि
9865517000

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

बूढा र रोकायलाई ‘नइ कपिल विद्यापदक’

संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

१० असोज । नइ प्रकाशनले २०८० सालको बाह्र कक्षाको परीक्षामा बाजुरा जिल्लाका सर्वोत्कृष्ट छात्रा सुश्री विपनाकुमारी बूढालाई ३० हजार रुपियाँ राशि सहित ‘नइ कपिल विद्यापदक’ समर्पण गर्ने निर्णय गरेको छ । मालिका माध्यमिक विद्यालयकी छात्रा बूढालाई ३.२१ जिपिए प्राप्त भएको थियो ।

यसै गरी सोही परीक्षामा हुम्ला जिल्लाका सर्वोत्कृष्ट छात्रा सुश्री नन्दादेवी रोकायलाई ३० हजार रुपियाँ राशि सहित ‘नइ कपिल विद्यापदक’ समर्पण गर्ने निर्णय गरेको छ । सीता माध्यमिक विद्यालयकी छात्रा रोकायलाई ३.१५ जिपिए प्राप्त भएको थियो ।

नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।

‘नइ कपिल विद्यापदक’ सुप्रसिद्ध मनोरोग तथा नसा विशेषज्ञ डा. कपिलदेव उपाध्यायका सम्मानमा नइ प्रकाशनले स्थापना गरेको हो ।

नइ प्रकाशनले नेपालका विभन्न दुर्गम भूभागका सरकारी विद्यालयबाट बाह्र कक्षामा सर्वोत्कृष्ट हुने एकएक जना छात्रालाई हरेक वर्ष जनही ३० हजार रुपियाँ राशिसहित विद्यापदकले पुरस्कृत गर्दै आएको नइ प्रकाशनका सदस्य सचिव नरेन्द्र प्रसाइँले जानकारी दिनु भएको छ ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

‘रुद्रघण्टी’ की कृतिकार गायत्री लम्साल; हास्यव्यङ्ग्यका ऊर्जावान लेखक

संप्रस पौडेल

हास्यव्यङ्ग्य सर्जक

पाठक प्रतिक्रियाः
फेसबुकमा स्टाटस लेख्दै थिएँ- @Gayatri Lamsal दिदीलाई नवीन व्यङ्ग्य निबन्धसङ्ग्रह ‘रूद्रघण्टी’ का लागि बधाइ अनि धेरै धेरै धन्यवाद ……. । 
फेसबुकमा अक्षरजीविहरूको हुलमा छु । यसैले अर्को अनुच्छेद पनि थपेँ- ‘चालिस कटेपछि’ निबन्धमा मध्य उमेरका मानिसका शरीरमा थपिने मासु अनि त्यसको वरिपरीको समसामयिक मुद्दाकेन्द्रित छ । यो उमेरका मान्छे झनै शङ्कास्पद हुने कुरा समेत घुमाउरो शैलीमा लेखिएकै छ । पूराना पुस्ताका पुस्तौँपुस्तासम्म मधुमेहले नछुने परम्पराको अन्त्य हुँदै यो उमेरका सबैका शरीरमा सुगर फलिरहेको बारे चर्चा गरिएको छ । त्यसो त गुट उद्योग, खुट्टा तानौँ, सहकारी खेती, कार्यकर्ता जागिर, आधुनिक भूत कर, धन्न चुनाव हारियो जस्ता निबन्धहरू हाम्रै वरपरका वातावरणमैत्री निबन्ध हुन् ।
‘फोटोजेनिक’ हरूलाई त ‘क्याप्सन’ भए पुगिगयो । ‘रेडिमेड रिप्लाई’ फेसबुकको सुविधा भइगयो । तर अक्षर खेति गर्नेका लागि अझै चाहिन्छ भनेर थप्न लागियो । यसका लागि किताब फेरि अर्को पटक पढ्नुपर्ने भयो । अँ यो पटक एकै पुस्तक पहिले पढेभन्दा कम समयमा पढियो र केही मिटर अक्षरका हरफहरू थपेँ ।
०००
हुन त उहाँका कृतिहरू ‘झटारो’ र ‘बोकापालन’ ले नै उहाँलाई स्थापित हास्यव्यङ्ग्य सर्जक बनाइसकेको हो । कलेजोमा क्यान्सर, बोक्सीमन्त्र र भ‌रपाई प्रकाशनपछि नेपाली हास्यव्यङ्ग्य साहित्यको एक मानक स्रष्टाका रूपमा रहनुभ‌एका लम्सालको छैठौँ कृति ‘रूद्रघण्टी’ मा कुकुर जात्रा निबन्धमा लेख्नुहुन्छ- देशकै राजधानीमा बसेकावहुनाले होला यहाँका कुकुरहरूलाई अलिक विद्वान मानिन्छ । यहाँका कुकुरहरू आसनग्रहण कार्यक्रा लड्ने, कुर्सी उचालेर ठोक्ने बताउनुहुन्छ…… ।
०००
यति लामा लामा स्टाटस लेख्नुभन्दा बरू एउटा पाठक प्रतिक्रिया नै लेखू । पाठक प्रतिक्रिया भन्दैगर्दा समीक्षा, समालोचना, मनका कुरा…. जे भन्न पनि पाइने । मलाई ‘जे’ लागेर हुने हो, अरूको ‘जे’ छापिएपछि सुन्न र पढ्न पाइएला ।
०००
गायत्री लम्सालका छैठौँ हास्यव्यङ्ग्य कृति ‘रुद्रघण्टी’ का कुरा….
‘खुराफाती’ निबन्धमा गायत्री लम्साल लेख्नुहुन्छ- ब्रह्माले मान्छे सृष्टि गर्दा नै मानिसले मनभित्र खुसुक्क खुराफाती रस पनि घुसाइदिएको हुनपर्छ । खुराफाती कुनै विश्वविद्यालय, विद्यालयमा पढाइ नभ‌ए पनि हामी यसमा पारङ्गत भएका छौँ ।

आफ्नै जिल्लामा स्थापित संस्थाले एउटा कविलाई राष्ट्रियस्तरको सम्मान गरेको कुराले व्यङ्गको वाण मनगढन्तहरूको दिमलैँ प्रहार भ‌एको छ । कविसँग झम्केझोल पार्टी गराएर झनै चर्चा भ‌एको प्रसङ्ग पनि कम्तिको व्यङ्ग्ययुक्त कहाँ हो र ?

चाकरीले कसैको बेफाइदा नहुने बताउने लेखक अरू कामधाममा जति अल्छी गरे पनि चाकरीमा अल्छी गर्न फिटिक्कै नहुने सल्लाह दिनुहुन्छ । चाकरी पुरस्कारदेखि पदसम्म, चाकरी जागिरदेखि सुविधासम्म जोडिएकोले चाकरीबिना मानवचोला नै असम्भव हुने भाव व्यक्त गर्ने लेखक चाकरीलाई नै जीवनको मूलमन्त्र मान्ने प्रचलन चलाउनमा कञ्जुस्याइँ गर्नै नहुने सल्लाह पो दिनुहुन्छ ।
०००
आयोगका नाममा जागिर दिलाउने परम्परा बसिसकेको, नेतृत्व गरेर पहुँचको रवाफ बनिसकेको यो समयमा उहाँ सांसदको पेट दुख्दा छानविन आयोग गठन हुनसक्ने सङ्केत गर्नुहुन्छ । जाजरकोटमा झाडापखाला वा तराईमा भूमि डुबान जे हुँदा पनि सबैभन्दा पहिला छानविन आयोग बन्ने हुँदा सरकारको उन्नति, प्रगति वा चुस्तता नै आयोग गठनमा हुन्छ भन्ने व्यङ्ग्योक्तिबाट के बुझ्न सकिन्छ भने खास मुद्दा जहिल्यै ओझेलमा पर्ने, पारिने तर नियुक्ति, जिम्मेवारी, भत्ता, सुविधा, पहुँचमा ध्यान बढी पुग्नेतर्फ उहाँ इङ्गित गर्नुहुन्छ ।

‘मनका कुरा’, ‘खुट्टा तानौँ’, ‘ज्युनार गोष्ठी’, ‘अनिवार्य दायित्वमा-विशेष ध्याकर्षण’, ‘कुरा काट्नुको मज्जा’ आदि गरी कूल ३२ शीर्षकका निबन्ध सङ्ग्रहित यस पुस्तकको शीर्ष निबन्ध ‘रुद्रघण्टी’ बारे थोरै चर्चा गरौँ ।
समाजमा आमरुपमा भनिँदै आएको महिलाका रुद्रघण्टी हराएका हुन्छन् भन्ने भनाइले महिलाप्रतिको हेय दृष्टीकोणलाई बुझिन्छ । त्यसैले लेखक भन्नुहुन्छ- रुद्रघण्टी भन्ने कुरो मेरो मात्र होइन, तपाईँहरूको पनि हराएको हुन सक्छ । जे पर्ला-पर्ला एक पटक सबैले छामिहाल्नोस् । म सानो हुँदा बाबाले भन्नुहुन्थ्यो, हेर् केटा, महिलाहरूको रुद्रघण्टी हुँदैन, त्यसैले कुनै खासखुस कुराहरू तेरा दिदी, बहिनीहरूलाई नसुनाएस् ।…… यसरी सुरू भएको यस लेखमा लेखकले प्रशस्त कटाक्ष गर्नु भएको छ । आफूलाई पुरूष पात्र बनाएर लेख्दा लम्साल शिक्षकले मानिसको शरीरमा २०५ हड्डी हुने कुरा बताउँदा महिलामा त्यही रुद्रघण्टी नभएकाले २०५ मात्रै हुने होला भनेर अनुमान गरेको लेख्नुहुन्छ । एउटा हड्डी नहुँदा देखिएका समस्याहरूका रूपमा लेखकले महिलाहरू हाँस्दा उत्ताउली, नाच्दा उरन्ठेउली, चर्को बोल्दा पोथी बासेको, नबोलिकन बस्दा घोसेमुन्टे, सुस्तरी बोले घुसघुसे, सफा र चिरीच्याट्ट हुँदा नक्कली, फोहोरी भए अल्छी भएको भनेर आफू नारीवादी पुरूष भएर चर्चा गर्नु भएको छ । जे-जे भन्दा पनि महिलाहरूले चुपचास सहन सक्नु पनि पक्कै रुद्रघण्टीको कमाल हुनुपर्छ भन्ने अनुमान मात्रै होइन रुद्रघण्टी हुनेहरूले आफ्नै सेण्डो र अन्डरवियर लाएर डुल्नु र रुद्रघण्टी नहुनेले त्यसो गर्नुमा नै निकै भेद रहेको लेख्नुहुन्छ । एकदिन म पात्र पुरूषले बडो फुर्सद निकालेर आफ्नी श्रीमती जो कार्यालयदेखि घरका काम, पारिवारिकदेखि सामाजिक जिम्मेवारीले कचक्क किचिएर अनुहारमा मुजा पारेर श्रृङ्गारको फुर्सद पनि नभएकीलाई एकटकले हेरिराख्दा आफ्नो रुद्रघण्टी हराएर उनकोमा पो सरेको देखेर दङ्ग पर्दोरहेछ । लेखकलाई यतिले पुगेन, यसैगरी सबै पतिहरूका रुद्रघण्टी पत्नीका घाँटीमा सर्ने हो भने यो संसार कस्तो होला ? यो केवल प्रश्न मात्रै नभएर महिलाप्रतिको पितृतसतात्मक दृष्टिकोणमाथिको चरम व्यङ्ग्य हो र सोच अनि व्यवहारमा परिवर्तन हुनु आवश्यक छ अन्यथा महिलामा एकाएक सोच र व्यवहार बदलियो भने पुरूष सत्ता तासको महलझैँ ढल्न सक्ने सङ्केत दिने यो लेखमा परिवर्तनका खातिर कटाक्षले युक्त रहेको पाइन्छ ।

हास्यव्यङ्ग्य सिर्जना गर्नु लेखनको कठिन अभ्यास हुँदै हो । हरेक निबन्धका आआफ्नै विशेषता छन् । कतै मुसुक्क त कतै खित्का छर्ने हास्यप्रस्तुति पाइन्छ । यो साल दर्जनौँ हास्यव्यङ्ग्य पुस्तक पढ्ने मौका मिलेकाले पनि अन्यमाझैँ अपेक्षाकृत यस पुस्तकमा पनि यथेष्ठ हास्यभाव पैदा गर्नलाई अझै खाँचो परेको महसुस भएको छ । तर लेख्न बस्दा ठस् ठस् कन्दा पनि हास्य निकाल्न नसक्ने लेखकले यति लेखेको तपाईँले पत्याउनै पर्छ भन्ने पनि त छैन नि ! पुस्तकमा कतै नरम त कतै गरम व्यङ्ग्यवाण हानेर खुत्रुक्कै पारिएकै छ । पाठकका रूपमा उहाँ मेरालागि एक ऊर्जावान लेखक हुँदै हो । लेखकलाई कृतिगत सफलताको शुभकामना ।
०००
हालसालै प्रकाशित ‘रुद्रघण्टी’ का लेखक लम्साल भैरव स्मृति सम्मान (हेटौँडा), विश्वनारी साहित्य पदक (काठमाण्डौँ), परिश्रमी प्रतिभा पुरस्कार (पोखरा), केवलपुरे जनमत सम्मान (बनेपा), गोविन्द-विजया फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय प्रतिभा पुरस्कार जस्ता दर्जन बढी पुरस्कारले पुरस्कृत हुनुहुन्छ भने उहाँका कूल ७ मध्ये ६ कृतिहरू हास्यव्यङ्ग्य विधाका रहेका छन् ।
(पौडेल सिस्नुपानी मकवानपुरमा आबद्ध हुनुहुन्छ ।)
२०८१ असोज ६

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

प्रभासको ‘साँझमा सेल्फी’ पुस्तक सार्वजनिक

संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

असोज ६, नवसाहित्य ।
कवि तथा उपन्यासकार हेमप्रभासको कविता सङ्ग्रह ‘साँझमा सेल्फी’ लोकार्पण भएको छ । मदन पुरस्कार विजेता डा. नवराज लम्साल, कवि श्रवण मुकारुङ, कलाकार सरोज खनाल, प्रकाशक पुष्पराज पौडेल, कवि हेमप्रभासले उक्त पुस्तक लोकार्पण गर्नु भएको हो ।

शनिबार लोकार्पण कार्यक्रममा कवि नवराज लम्सालले कवितामाथि समीक्षा गर्दै हेमप्रभासलाई कविता कृतिको सफलताको शुभकामना दिँदै सबै कविता उत्कृष्ट रहेको र किताब सबैका लागि उपयोगी हुने बताउनुभयो ।

शिखा बुक्सले प्रकाशन गरेको प्रभासका कविता सङ्ग्रहमाथि कवि श्रवण मुकारुङले सुन्दर कविता लेखनमा सक्रिय प्रभासबाट धेरै आशा गरेको बताउनुभयो ।

मन्तव्यका क्रममा कवि हेम प्रभासले भन्नुभयो- “विगत दुई दशकदेखि कविता साधनारत छु । त्यही साधनाको प्रतिफल नै साँझमा सेल्फी हो ।” उहाँले विगत एक दशकमा लेखिएका बिल्कुलै नयाँ कविताको सङ्ग्रह ‘साँझमा सेल्फी’ रहेको बताउनुभयो ।

राष्ट्रिय नाचघर जमलमा आयोजित कार्यक्रममा कविहरू ठाकुर बेलवासे, सोझो गाउँले, रिमा केसी, शंकर तिवारी आदिबाट कविता वाचन भएको कार्यक्रममा कलाकार सरोज खनालले कविता सङ्ग्रहमा रहेको कवितामाथि नाट्य प्रस्तुति गर्नुभयो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन