Home Blog Page 19

कविता: फ्रेमभित्र देश / –बैकुण्ठ लामिछाने

श्रावण १७,बिहिबार
नवसाहित्य अनलाइन ।

नदेखेपछि सम्भावनाको अङ्कुरण
नभेटेपछि भविष्यको सगोल चित्र
भक्कानिएर एउटा मलिन अनुहार
पढाइको रसिद बोकेर
आइपुगेको छ
विश्वविद्यालयदेखि विमानस्थलसम्म ।

दृश्यमा,
अस्तव्यस्त सडकको छातीमा के देखिएन ?
स्टेशनरीमा बिल बढाइरहेको लेखापाल,
समस्याहरू छलेर बेतोडले हुइँकिदै गरेको राज्य,
घरैपिच्छे टाँगिएका विदेशी भाषाका होर्डिङ बोर्डहरू
त्यही घरहरूबाट हतारमा निस्किरहेका मलिन भविष्यहरू
साना अक्षरका मलेसिया, दुबई, कतारका श्रम कारखानाका विज्ञापनहरू
त्यहीँबाट निस्किरहेका ठेला उठेका हत्केलाहरू
आफ्नै बिक्रीको विज्ञापन छातीमा टाँसेर टोलाइरहेका व्यवसायीहरू
एसीको हावामा लहराइरहेको सुकिलो बैङ्क
ऋण म्याद थप नपाएसँगै सुसाइड नोट लेखिरहेको व्यापारी
एक्स्पायर्ड लाइसेन्सले देश चलाइरहेको सिंहदरबार
अदालतसँगै बाटैमा बिक्रीमा राखिएको धर्मको कारखाना
बिरामी बोकेर दौडिरहेका आफन्तहरू

पुगेपछि विमानस्थल
देखियो,
बाकसमा आइरहेको श्वास झिकेको मान्छे
घटस्थापनाकै अघिल्लो दिन घर छाडेर हिँडेका युवाहरू
प्रेमिका छाडेर मुग्लान निस्किएको कलिलो प्रेम
फर्कने नफर्कने कौतुहलताले गालेको अनुहारहरूको भिड
यति हिँडेपछि देश जम्मै देखिने रहेछ एउटै फ्रेममा ।

सन्त्रासको भुमरीमा
एक्लै आइपुगेको हुँ आफ्नै बिदाइमा
प्रश्नहरूको एम्बुसमा उभिएर
आफैँलाई सोधिरहेछु
फर्केर तँ कहिले आउछस् ?

–हेटौँडा–५, मकवानपुर
सम्पर्क नम्बर: ९८५५०६९८५०

३ कविका छोटा कविताहरु

श्रावण १६, बुधबार
नवसाहित्य अनलाइन ।

ऋण
-गणेश श्रमण
बन्नु बन्नु गरिबको
पित्तथैलीभित्र
पत्थरीको सट्टा
सुनै बनेको भए
अप्रेसन गर्दाको ऋण
त्यही बेचेर त तिर्नुहुन्थ्यो ।
काव्यभूमि , चितवन ।

०००

सङ्ख्या
-संप्रस पौडेल

राज्यका लागि तिमी केवल
गणनामा प्रयोग हुने सङ्ख्या न हौ
तिम्रो ज्यानको १० लाख रूपियाँ दर छ
त्यसमा पनि त पच्चिस प्रतिशत कर छ ।

काव्यभूमि , मकवानपुर ।

०००


“प्रश्न”
-सुबास ‘सजल’
म हारेर सारासँग,
सोध्दैछु तारासँग।
के? तिमीलाई पनि, मलाई जस्तै
आफ्नैले, झारेको हो ?

काव्यभूमि , मकवानपुर ।

११ बुँदे घोषणापत्र जारी गर्दै प्राज्ञिक सम्मेलन -२०८१ सम्पन्न ।

श्रावण १४, सोमबार ।
नवसाहित्य अनलाइन । नेपाल प्रज्ञा-प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा- प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाटय प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा प्राज्ञिक सम्मेलन- २०८१ सम्पन्न भएको छ ।
प्रज्ञा-प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजित सम्मिलन प्रज्ञा-प्रतिष्ठानका संरक्षक एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा समुद्घाटन भएको हो । दुई सत्रमा विभक्त सम्मिलनलाई

मन्त्री पाण्डेले सम्मिलनलाई सम्बोधन गर्दै प्रज्ञा-प्रतिष्ठानहरू ज्ञानको थलो भएकाले आआफ्ना ठाउँबाट विधागत रूपमा सबैले योगदान पुर्‍याउनुपर्ने बताउँदै व्यावसायिक रूपमा कर्मचारीहरूले सतत् राष्ट्रसेवा गरेका छन् कि छैन, यसको समीक्षा हुनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो “राजनीतिभन्दा माथि उठेर प्रज्ञा-प्रतिष्ठानहरूले खोजअनुसन्धान गर्दै प्राज्ञिक सांस्कृतिक क्षेत्रको विकासका लागि ज्ञानचक्षुका साथ अघि बढ्नुपर्ने । साथै हाम्रो भूगोल हार्डवेयर भए जस्तै भाषा, साहित्, संस्कृति, कला, दर्शन र ज्ञानविज्ञान सफ्टवेयर हो । सफ्टवेयरको पक्ष बलियो भएन भने निर्जीव वा स्थुल जस्तै हुन्छ । त्यसकारण ‘ज्ञान खोज्न प्रज्ञा-प्रतिष्ठान जाओैँ’ भन्ने भावना जागृत हुने गरी काम गर्नुपर्नेमा जोड दिनुहुँदै तीनओटै प्रज्ञा-प्रतिष्ठानका समस्याको समाधानमा आफू लागिपर्नेछु ।”

सम्मिलनका सभाध्यक्ष तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले धन्यवादज्ञापन सहित समापनका क्रममा भन्नुभयो “संस्कृति भनेको चिन्तन प्रणाली तथा संस्कृति जति बलियो हुन्छ, समाज त्यति नै गतिशील हुन्छ । तसर्थ कुनै पनि प्रतिगमनविरुद्व गणतान्त्रिक प्राज्ञिक संस्कृतिलाई दह्रोसँग स्थापित गर्नुपर्ने तर विद्यमान मर्यादाक्रमको तोडफोड गर्नु भने न्यायोचित होइन ।”

राईले प्रमुख अतिथि मन्त्री पाण्डेलाई प्रज्ञा-प्रतिष्ठानका विभिन्न प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभएको कार्यक्रममा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले समसामयिक भावधारासहितको प्राज्ञिक संस्कृति, प्रतिष्ठानबिचको आपसी सहकार्य र सद्भाव कायम गर्दै मर्यादाक्रम तोकिनु हुनुपर्नेमा जोड दिनुभएको थियो ।

सम्मिलनमा नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ’ विमल निभा’ले स्वागत मन्तव्यका क्रममा भन्नुभयो “प्रादेशिक, पालिका र वडासम्मै प्रज्ञा-प्रतिष्ठान गठन भइरहेका छन् । ती प्रज्ञा-प्रतिष्ठान र सङ्घीय वा केन्द्रीय प्रज्ञा-प्रतिष्ठानबिचको भिन्नता प्रष्ट हुनुपर्छ । केन्द्रीय प्रज्ञा-प्रतिष्ठानकै नाम र पदको पुनरावृत्ति गरेको देखिन्छ । यो अन्योलता हटाउनुपर्छ ।

नेपाल सङ्गीत तथा नाटय प्रज्ञा-प्रतिष्ठानका उपकुलपति शम्भु राईले मन्तव्यका क्रममा “संस्कृति मानवजातिको ढुकढुकी हो । यसमा आएको विकृति र विसङ्गतिले समाजलाई लथालिङ्ग पार्ने भय छ । त्यसैले समयमा नै यसको नियमन र नियन्त्रण गर्ने अधिकार प्रज्ञा-प्रतिष्ठानहरूमा निहित हुनुपर्ने बताउनु भएको थियो ।साथै लेखन,गायन,नृत्य र अभिनयमा देखिएको विकृतिलाई यथाशीघ्र नियमन गरिनुपर्ने” मा जोड दिनुभएको थियो ।

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले तीनवटै प्रज्ञा-प्रतिष्ठानबिच सहअस्तित्व र सहकार्यबारे धारणा राख्दै हाम्रो मौलिक संस्कृतिमाथि भएको अतिक्रमणविरुद्ध एकजुट भएर लाग्नुपर्ने बताउनुभएको थियो । उहाँले त्यसविरुद्ध नियमन वा नियन्त्रण गर्ने संयन्त्र र अधिकार प्रतिष्ठानमै रहनुपर्ने बताउनुभएको थियो ।

सम्मिलनका उद्घोषक तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी,नेपाल सङ्गीत तथा नाटय प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा र नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेले आआफ्ना प्रज्ञा-प्रतिष्ठानको परिचय, उद्वेश्, लक्ष्य, भावी योजना र समस्याका बारेमा धारणा प्रस्तुत गर्नुभयो ।

उक्त सम्मिलनमा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. मधुसूदन गिरी, डा.कृष्णराज अधिकारी, डा.कौशिला रिसाल, अमर न्यौपाने तथा प्राज्ञसभा सदस्य चेतनाथ धमला, धर्मेश पोखरेल, पञ्चकुमारी परियार र शशिराम कार्कीले धारणा राख्नुभयो । नेपाल सङ्गीत तथा नाटय प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बखतबहादुर हमाल, डक्टर किरात, हिसन समाल तथा प्राज्ञसभा सदस्य हरिप्रसाद पौडेलले समेत आआफ्ना धारणा व्यक्त गर्नु भयो । ललितकला प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य सञ्जय बान्तवा, प्रदीप अधिकारी, दिनेश महतो तथा प्राज्ञसभा सदस्य झिग्मे लामा, प्रदीप शाक्य, नरेन्द्रप्रसाद भण्डारी र चन्द्र रानाहान्छाले समेत आआफ्नो विचार व्यक्त गर्नुभयो ।

प्राज्ञिक सम्मिलनबाट प्राप्त सुझावका आधारमा निम्नअनुसार ११ बुँदे घोषणापत्र जारी गरेको छः
(क) तीनओटै प्रज्ञा–प्रतिष्ठानका कुलपति, उपकुलपति तथा प्राज्ञहरूको मर्यादाक्रम तीनओटै प्रज्ञा -प्रतिष्ठानका ऐन तथा नियमावलीमा व्यवस्था भएअनुसार कायम हुनपर्ने ।
(ख) प्रदेश स्तरका प्रज्ञा–प्रतिष्ठानहरू र स्थानीय रूपमा सञ्चालित प्रज्ञा–प्रतिष्ठानहरूका प्राज्ञहरूको मर्यादाक्रम प्रदेश र स्थानीय सरकारको मर्यादाक्रमका आधारमा तोकिनुपर्ने ।
(ग) सङ्घ, प्रदेश र स्थानीय स्तरका प्राज्ञिक निकायका प्राज्ञिक सदस्यहरूको पदीय नाम एउटै नराखी फरक गरिनुपर्ने ।
(घ) सांस्कृतिक क्षेत्रमा भएको हस्तक्षेप र विकृतिलाई अनुगमन, मूल्याङ्कन र नियमन गर्ने अधिकार सम्बन्धित प्रज्ञा–प्रतिष्ठानमा रहनुपर्ने व्यवस्थाका लागि आवश्यक पहल गर्ने।
(ङ) गण्डकी प्रज्ञा–प्रतिष्ठानमा भएको प्राज्ञहरूको भेलामा तयार गरिएको पोखरा घोषणपत्र तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा भएको प्राज्ञिक भेलाबाट पारित घोषणापत्रलाई कार्यान्वयनका लागि आवश्यक पहल गर्ने ।
(च) प्राज्ञसभा सदस्यहरूको सेवासुविधा समयानुसार नभएकाले उचित सेवासुविधाको व्यवस्थाका लागि आवश्यक पहल गर्ने ।
(छ) नेपाली कला, संस्कृतिको संरक्षण, सम्वर्धन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सांस्कृतिक सहचारीको व्यवस्था गर्नुपर्ने ।
(ज)नेपाल सरकारको औपचारिक अन्तर्राष्ट्रिय भ्रमणमा तीनओटै प्रज्ञा–प्रतिष्ठानको प्रतिनिधित्व हुनुपर्ने ।
(झ) प्राज्ञिक लेखन, अनुसन्धान तथा सम्पादनमा एकरूपतालगायत तीनओटै प्रज्ञा–प्रतिष्ठानको उद्देश्य पूरा गर्न आवश्यक सहकार्य गर्ने ।
(ञ) पुस्तक, पत्रपत्रिका र सङ्गीतसँग सम्बन्धित प्राविधिक सामग्री तथा ललितकलासम्बन्धी कच्चा पदार्थ आदिमा भन्सारलगायतका समस्या हल गर्नका लागि आवश्यक पहल गर्ने ।
(ट) नेपाली भाषा, साहित्य, सङ्गीत, नाटक, ललितकलाको अभिलेख तथा सङ्ग्रहालय स्थापना गर्ने ।
(ठ) सबै विश्वविद्यालयमा कम्तीमा एक एक ओटा ललितकला, सङ्गीत, नाट्यकला, नृत्य आदि विषयको विभाग स्थापनाका लागि पहल गर्ने विषयमाथि विशद् विमर्शसहित घोषणापत्र जारी गरिएको थियो ।

उक्त प्राज्ञिक सम्मिलनको अन्तरक्रिया तथा विमर्श कार्यक्रममा व्यक्त भएका धारणाहरूको बुँदागत संयोजन गरी घोषणापत्र जारी गर्न नेपाल सङ्गीत तथा नाटय प्रज्ञा-प्रतिष्ठानका उपकुलपति शम्भु राईको संयोजकत्वमा ६ सदस्यीय तयारी समिति बनेको थियो ।

शनिबार आयोजित सम्मिलनमा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. कौशिला रिसाल, नेपाल सङ्गीत तथा नाटय प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बखतबहादुर हमाल, नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य प्रदीप अधिकारी ,नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमला र नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य नरेन्द्रप्रसाद भण्डारी रहनु भएको थियो ।

स्रोतः नेपाल प्रज्ञा सम्मेलन

कविता: अनन्त मुस्कान / –समर्पण न्यौपाने

डँढेलो सल्किरहेछ हिमालहरूमा
र, हामी बरफ तापिरहेछौँ ।

आफ्नै भविष्यलाई
खुवाएर उत्तराधुनिक लोप्पा
प्रकृतिसँग खेलिरहेछौँ
रसियन रुलेट ।

हामी एक एक गरी
हारिरहेछौँ सबथोक
एउटा हार
उत्तरमा ‘पोलार बियर’को नाम
अर्को हार
दक्षिणमा ‘एम्पेरर पेन्गुइन’को नाम
अनवरत खेल र असङ्ख्य हारहरू ।

आर्कटिक पग्लिरहेछ
हामी मौन जमिरहेछौँ ।

जम्नु र निस्तेज जमिरहनु
क्षितिज पछ्याउनेहरूलाई
हुनुहुन्न मन्जुर ।

सारा सभ्यता
मन्थन गरी निस्किएको
सहअस्तित्वको यो इन्द्रेनी तेज
पु¥याऔँ सृष्टिको हरेक कुनामा ।

अलिकति प्रेम
अमेजोन जङ्गलमा छरिदिऊँ
हाम्रो प्यास मेटाउँदामेटाउँदै तिर्खाएका काभेरीहरूलाई
हाम्रै मयल धुँदाधुँदै मैलिएका गङ्गा र वाग्मतीहरूलाई
भरिदिऊँ फेरि स्निग्ध जलराशिले
फर्काइदिऊँ हिमाललाई
उसको आदिम शान्ति ।

हामीले पीडा मात्र दिँदा पनि
हामीलाई सबथोक दिने प्रकृतिको नाममा
गरौँ एउटा अन्तिम प्रतीज्ञा–
अब हामी राख्ने छैनौँ
‘विवेक’ धरौटी
कुनै मल्टिनेसनल कम्पनीमा ।

अनि मात्र
पूर्ववत् हाँस्ने छन् हिमालहरू
नाच्ने छन् मुनालहरू
र आफ्नै पुरातन लयमा
हालेर नवीन चेतनाको भाका
मुस्कुराउने छ सारा सृष्टि
सद्भावको अनन्त मुस्कान ।

अनन्त मुस्कान
–समर्पण न्यौपाने
हेटौंडा, मकवानपुर

गजल: मिथिला अधिकारी

आउँछ बर्षामा नदी, नाला खहरेमा भेल बाढी आउँछ,
जाडो आउँदा हुम्ला जुम्लाबाट कम्बल राडी आउँछ।

बिरामीलाई अस्पताल लैजान गाउँमा स्ट्रेचर आइपुग्दैन,
भाषण सुनाउनलाई लिन घरघरै सरकारी गाडी आउँछ ।

खै के भनौं कसलाई भनौँ चलन होला हिजोआजको,
आमाको ओखतीभन्दा पहिला पत्नीको साडी आउँछ ।

आमा भन्छिन् साँझ परेको छ राम्रोसँग जाउ है बाबू ,
छोरो साँझमा आमालाई वृद्धा आश्रममा छाडी आउँछ।

जनताको मतको मूल्य चुकाउनलाई होला सरकारमा,
बेला बेलामा उखान, टुक्काहरु छाट्न गफाडी आउँछ ।

मिथिला अधिकारी
हेटौँडा-८,कमाने
(उहाँ मुक्तक मञ्च, मकवानपुरमा आबद्ध हुनुहुन्छ)

कविता: उनीहरूले कलम भेट्टाएका छन् / -आरती आचार्य

जब जब उनीहरू फूल लेख्थे, जून लेख्थे
नदी र किनाराको बिछोड लेख्दै
झरेका पातमा आफ्नो विम्ब देख्थे
तब उनीहरू ‘काव्यिक’ थिए
तब उनीहरू ‘कवि’ थिए ।

रङहरूमा समय चोबलेर
इतिहास रङ्ग्‍याउँदै गर्दा
जब क्यानभासमा निर्विरोध उभिन्थे
यौवनले मत्त आइमाईका नग्न चित्रहरू
तब उनीहरू ‘कलात्मक’ थिए
तब उनीहरू ‘कोमल’ थिए ।

बेलाबेला कुनै बहुराष्ट्रिय कम्पनीको
मोटरबाइकको विज्ञापनमा जब टाँगिन्थे
चिल्ला, सेता, पुष्ट तिघ्राहरू
तब उनीहरू ‘सुन्दर’ थिए
तब उनीहरू ‘रहस्यमय’ थिए ।

तर एकदिन सभ्यताको गतिशीलतामा
चेतनाको बाढी पस्यो
इन्कार गरिदिए वनफूलहरूले केवल ‘फूल’ बन्न
बरू रोजे दीप्त अनि चम्किलो ताराको विम्ब
तब उनीहरू ‘काव्यिक’ रहेनन्
तब उनीहरू ‘कवि’ रहेनन् ।

तिमीले हिर्काएका चोटका दागहरू
सुम्सुम्याउँदा सुम्सुम्याउँदै आजित बनेर
जब उनीहरूले सामुहिक प्रतिवादको
मुठ्ठी उठाउन थाले
तब उनीहरू ‘कलात्मक’ रहेनन्
तब उनीहरू ‘कोमल’ रहेनन्
उनीहरूका कविताहरू ‘नारा’ बने
उनीहरूका आवाजहरू ‘जर्जर’ बने।

जब अस्वीकार गरिदिए उनीहरूले
आफू लेखिएको, देखाइएको
तिम्रा इतिहासको नग्न चित्र बन्न
तिम्रा व्यापारको विज्ञापन बन्न
तिम्रा आँखाको शीतलता बन्न
तब उनीहरू ‘सुन्दर’ रहेनन् ।
तब उनीहरू ‘रहस्यमय’ रहेनन्।

हो यो व्यवस्थाको, यो वर्गको,
साहित्य, कला, सङ्गीत, भूत
या वर्तमानका फित्तामा
ननापिन सक्छन् यी ‘नाराहरू’
नअटाउन सक्छन् यी ‘इनकलाबहरू’
तर यो सत्य हो कि
तिमीले लगाइदिएको काँडेतार तोडेर
नाङ्गो पैतालाले कोशौँ दूरीको यात्रा नापेपछि
उनीहरूले कलम भेट्टाएका छन्।

उनीहरूले कलम भेट्टाएका छन्
-आरती आचार्य
(म्याग्दी)

व्यङ्ग्य लघुकथाः मलामी / -आरसी रिजाल

श्रावण १३, आइतबार
नवसाहित्य अनलाइन ।
सावित्री बज्यैले पति चिरञ्जीवी बुढालाई बिहान चिया पिउन उठ्नुस भनेर घच्घच्याउदा सिताङ् भएको चाल पाइन् र आँगनमा आएर रुँदै छिमेकीलाई गुहार्न लागिन् ।
०००
स्याँ स्याँ र फ्वाँ फ्वाँ गर्दै चारपाँचजना बुढाबुढीहरू जम्मा भए । एकजनाले नाडी छामेर- “ल स्वर्गवास भएछ । लासलाई तुलसीको मोठमा लगेर राखौँ” भने । अर्कोले भने- “जिउँदोमा भन्दा मरेको मान्छे गह्रुङ्गो हुन्छ, लास बाहिर निकाल्न हामी वृद्धले सक्त्तैनौँ । गाउँमा लाठे भन्नू नै पुछारघरे ठुलो कान्छा र पहलमानमात्र छ्न्, तु बोलाउन पर्‍यो ।” वल्लोपल्लो घरका बुढाबुढी, छोरीबुहारी, केटाकेटीहरू पनि जम्मा भैसकेका थिए। एउटी बुहारीले भनिन्- “आदेश पाए त एउटा साथी लिएर मैँ उठाइदिन्थेँ नि, तपाईँहरू मान्नुहुन्न । ल पहलमान दाइको मोबाइल नम्बर मलाई थाहा छ । म दुबैजनालाई बोलाउँछु ।”
०००
यता बुढाहरु ढोबाडी खोलामा चिताको बन्दोबस्त गर्न २/३ जना अगाडि नै जानुपर्छ भन्दैछ्न् । बुढीहरु साबित्रीलाई सम्झाउँदै छ्न् । यत्तिकैमा पहलमान र ठुलोकान्छा आएर लासलाई बाहिर तुलसीको मोठमा पुर्‍याउँछ्न् । छिमेकीले खाडी मुलकमा रहेको छोराहरूसँग कुरा गर्छन् । तत्काल उनीहरु आउन सम्भव नभएपछि गाउँलेहरु दाहसंस्कारको मेसो मिलाउनतिर लाग्छन् ।
०००
ठूलो कान्छाले पल्लो गाउँका ज्यामी नाइकेलाई भने- आज हाम्रो गाउँमा एकजना बित्नु भयो । गाउँका युवाहरू सारा विदेशतिरै छ्न् । मलामी जानैपर्ने भयो । यो पुण्यकार्यमा सहयोग गर्नुपर्‍यो भाइ हो ।”
उताबाट जवाफ आयो- “आज बेसी साहुको घरमा जस्ता लगाउने काममा जाने निधो गरिसकेका छौं । फेरि तपाईकोँ गाउँका मान्छेले मलामी ज्याला एकहजार दिन पनि किचकिच गर्छन् । उनीहरुको छोराबुहारी विदेशमा कमाइ गरेर बस्ने, यता महङ्गी टुपी डुब्नेगरी बढेको छ । अब दुई हजारभन्दा कममा मलामी जान सकिन्न भन्छ्न् हाम्रा केटाहरू । अझ त्यसमा पनि खाजा खर्च छुट्टै माग्छन् ।” ठूलो कान्छा- “ल यता कुरा गरेर तुरुन्त खबर गर्छु ।”
०००
मलामी जाने युवाहरुको माग सुनेर यता बुढाहरुले कुरा काट्न सुरु गरे- “कस्तो जमाना आयो ? विवाहमा बाजाको टोली भनेझैं मलामीको पनि टोली गठन गरेछ्न् ।” एकछिनपछि कुरा टुङ्गियो- “ल सातजनाको टोलीलाई बिसहजारमा ठेक्का दिने भनेर कुरा टुग्याउनू ।”
(रिजाल बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष हुनुहुन्छ ।)

उत्तमशान्ति पुरस्कारप्राप्त रोशन शेरचनको ‘गल्ली संसार’ माथि परिसंवाद (भिडियोसहित)

श्रावण १२, शनिबार
नवसाहित्य अनलाइन । चर्चित निबन्धहरूका लेखक रोशन शेरचनको उत्तमशान्ति पुरस्कार २०८० प्राप्त अर्को निबन्ध सङ्ग्रह ‘गल्ली संसार’माथि परिसंवाद आयोजना गरिएको छ । कवि/आख्यानकार भूपिनसँग भएको परिसंवाद कार्यक्रम साहित्य सङ्गम मकवानपुरले आयोजना गरेको हो ।

शब्दहरूको देश (कविता सङ्ग्रह, वि.सं. २०५३), सरुभक्तहरू (लामो कविता सङ्ग्रह, वि.सं. २०५६), धोबीघाट एक्सप्रेस (निबन्ध सङ्ग्रह, वि.सं. २०७०), मस्तिष्कहरूको मृत्यु(निबन्ध सङ्ग्रह, वि.सं. २०५८), चम्पारन ब्लुज (निबन्ध सङ्ग्रह, वि.सं. २०६८) जस्ता शक्तिशाली पुस्तकहरूको रचना गरी नेपाली साहित्याकाशका लागि समय र बौद्धिकताको लगानी गरिदिने शेरचनले वातावरणीय विज्ञानमा विद्यावारिधि गर्नु भएको छ।

नवीन कृति ‘गल्ली संसार’ ४८ निबन्धहरूको सङ्ग्रह हो । जसमा निबन्धहरूलाई ४ भागमा विभाजन गरी ‘वैचारिकी’ अन्तर्गत १४ वटा, ‘पर्यावरण’ अन्तर्गत ८ वटा, ‘स्मृति–सन्झ्याल’ अन्तर्गत १२ वटा र ‘यात्रा र यात्राहरू’ अन्तर्गत १४ वटा निबन्धहरू समेटिएका छन् । त्यसो त यो पुस्तक पद्मश्री पुरस्कार २०८० का लागि उत्कृष्ट १५ पुस्तकभित्र छनौटमा समेत परेको छ । लेखकमा वन विज्ञान तथा वातावरण विज्ञानको फराकिलो अध्ययनका साथसाथै भ्रमणको अनुभवले कृतिलाई बेग्लै उचाइ दिएको पाठकहरूको धारणा रहेको यस कृतिलाई बुकहिलले प्रकाशन गरेको हो ।

यस्तै परिसंवादका क्रममा कवि भूपिनले भन्नुभयो- “रोशन शेरचन नेपालको सबैभन्दा डुलुवा साहित्यकार हुनुहुन्छ। शेरचन किताबी किरो मात्रै नभएर वन विज्ञानको अध्ययन तथा अध्यापनका कारण र यायावरीय जीवनका कारण उहाँका लेखनले समाज, संस्कृति, पर्यावरण आदिबारे यस पुस्तकले सम्बोधन गरेको छ ।” साथै “पुस्तक रचना प्रक्रियाबारे” उहाँले शेरचनलाई सोध्नु भएको प्रश्नमा शेरचनले भन्नुभयो- “यात्रा पनि पुस्तक नै हो। यात्रा गर्छु । शीर्षक लेख्छु । त्यो नलेखिए पनि केही हरफहरू लेख्छु । त्यसपछि दिमागमा आएका सबै विषयवस्तु एकैपटक लेख्छु । त्यसमा कुनै शुद्धाशुद्धी वा काँटछाँट गर्दिनँ । केही दिन वा हप्तामा त्यो लेखनलाई हेरफेर गर्छु । त्यही खाली समय अर्थात् कुनै पनि लेखकले आफ्नो लेखनलाई समेत राख्नुपर्ने परीक्षण कालमा रहिसकेपछि लेखनलाई काँटछाँट गर्दा त्यो लेखन सुन्दर हुन सक्छ । लेख्दा जसरी लेखिए पनि परिमार्जन गर्दा पाठकको ठाउँमा आफूलाई राखेर लेख्नुपर्दछ भने विषयवस्तुको खोजी भने यात्रा, पुस्तक वा साथीभाइहरू नै हुन् ।”

गत शुक्रबार आयोजित कार्यक्रममा वक्ता तथा नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग सदस्य शान्ति प्रियवन्दनाले सो कृतिमाथि समीक्षात्मक टिप्पणी गर्नु भएको थियो । ‘एक्काइसौँ शताब्दीको जिल खाइरहेको मान्छे’ कविता सङ्ग्रहका कृतिकार प्रियवन्दनाले शेरचनको यसअघिका झैँ यस कृतिले वैचारिकी हिसाबले कुनै वादलाई नपछ्याएको र कमीकमजोरीविहीन निबन्ध सङ्ग्रहका रूपमा रहेको बताउनुभयो । उहाँले थप गर्नुभयो- “हामीले आफूलाई समाजवादी भन्दै गर्दा आफ्ना सन्तानलाई भने पूँजीवादी देशमा पठाउनका लागि जोड गरिरहेको तथा वर्तमान अवस्था सुधारमा समेत पूँजीवादको सबल पक्षहरू रहेको छ। जसलाई निबन्धले तथ्यलाई जोड दिँदै आख्यानात्मक शैलीमा निबन्ध तयार भएको छ ।”

साहित्य सङ्गमका सल्लाहकार निमेष निखिल शेरचनका सम्बन्धमा भन्नुहुन्छ- “गुणात्मक फलहरू लटरम्म भएको रुखजस्तो शेरचन त्यस्तै एउटा वृक्ष हुनुहुन्छ । उहाँका निबन्धहरू पढ्दै गर्दा शङ्कर लामिछानेलाई फेरि सम्झाउने र त्यसयताका निबन्धकारहरूबिचमा बेग्लै पहिचान बनाउने स्रष्टाका रूपमा हुनुहुन्छ ।”
(बाँकी भिडियो सामग्रीमा)
वक्ता तथा अतिथिहरूलाई मायाको चिनो समेत प्रदान गरिएको कार्यक्रम साहित्य सङ्गम मकवानपुर तथा सिस्नुपानी नेपालको सभाहलमा आयोजना भएको हो भने कार्यक्रमलाई सङ्गमका सचिव मनोज पोखरेलले सहजीकरण गर्नु भएको हो ।

(परिसंवाद कार्यक्रमको भिडियोका लागि तल क्लिक गर्नुहोस् ।)

स्वर्गीय स्रष्टाद्वय अप्सरा तिम्सिना र दीपक मुडवरी स्मृतिविशेष रचनावाचन कार्यक्रम

श्रावण १२, शनिबार
नवसाहित्य अनलाइन ।
साहित्यकारद्वय स्व. अप्सरा तिम्सिना र स्व. दीपक मुडवरी स्मृतिविशेष रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । आँचल साहित्य कला पुञ्ज र साहित्य सङ्गम मकवानपुरको ३४५औँ नियमित साहित्य सन्ध्याका क्रममा संयुक्त आयोजनामा सो कार्यक्रम गरिएको हो ।

शिक्षाविद् देव श्रेष्ठको प्रमुख आतिथ्य र साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा सङ्गमका सल्लाहकार निमेष निखिलको विशिष्ट आतिथ्यता, आँचल साहित्य कला पुञ्जको संस्थापक मुना धिताल, नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग सदस्य शान्ति प्रियवन्दनाको आतिथ्य रहेको थियो ।

स्रष्टाद्वय तिम्सिना र मुडवरीको स्मृतिमा मौनधारणबाट सुरू भएको कार्यक्रममा उहाँहरूका ३/३ रचनाहरू सबिता तिमल्सिना, भवानी तिमल्सिना, एलिजा गौतम, संप्रस पौडेल, सानु खनाललगायतका सर्जकहरूले वाचन गर्नुका साथसाथै श्रष्टाहरू राजुराम राउत, सुबास सजल, सानुभाइ विश्वकर्मा, किशन पौडेल, देवराज तिवारी, पुरूषोत्तम आचार्य, विष्णुप्रसाद गौतमलगायतले आ-आफ्ना रचना वाचन गर्नुभयो ।

स्व. अप्सरा तिम्सिना र आँचल साहित्य कला पुञ्जः
स्व. तिम्सिनाका ‘अभ्यन्तर’ कथा सङ्ग्रह र ‘किनाराका आवाजहरू’ कविता सङ्ग्रह गरी दुई कृति प्रकाशित छन् । वि.सं. २०६९ सालमा स्थापना भएको आँचलको नेतृत्वमा रहेर स्व. तिम्सिनाले मकवानपुरको साहित्यिक इतिहासमा उल्लेख्य योगदान दिनु भएको थियो ।

४६ वर्षको छोटो आयु लिएर आउनु भएकी उहाँले महिला लेखकहरूलाई संगठित गर्ने र राष्ट्रियस्तरका लेखकहरूसँग समन्वय, सहकार्य र निरन्तर सम्पर्कमा रहने अभ्यासलाई जोड दिनु भएकोले मकवानपुर मात्रै नभइ नेपालका थुप्रै साहित्य सर्जकहरूले बिर्सन नसक्ने नाम बनेको साहित्यकार माया ठकुरी बताउनु हुन्छ । यस्तै निवर्तमान अध्यक्ष अनिता तिमल्सिना स्व. तिम्सिनाले संस्थालाई केवल संस्थाभन्दा आफ्नो घरका रूपमा माया गर्ने र सदस्यहरूलाई सोहीअनुसारको मायाप्रेमले संगठित गर्दै लेखनमा हौसला दिने गरेको सम्झनुहुन्छ ।

निरन्तर सक्रिय सहभागितामा साहित्यिक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको आँचल साहित्य कला पुञ्ज मकवानपुर महिला साहित्य सर्जकहरूद्वारा सञ्चालित संस्था हो ।

स्व. मुडवरी र नेपाली साहित्यमा योगदानः
“अठोट” त्रैमासिक पत्रिका हेटौंडाबाट प्रकाशित स्व. मुडवरीले नेपालकै स्थापित तथा नव साहित्यसर्जकहरूका रचनाहरू प्रकाशन गराउनु भएको हो । अमेरिका निवास रहँदा नै “केही अस्पष्ट रेखाहरु” (२०७४) मा प्रकाशन गराउनु भएका मुडवरीको दोस्रो कविता सङ्ग्रह “केही अतृप्त स्पर्शहरू” प्रकाशनको तयारीमा हुँदाहुँदै देहान्त भएको हो । यसअघि उहाँले आफ्ना दिवङ्गत मातापिताको नाममा साहित्य सङ्गम मकवानपुरले व्यवस्थापन गर्नेगरी “सुभद्रादेवी–मदन मुडभरी स्मृति काव्य पुरस्कार” स्थापना गर्नु भएको थियो ।

कार्यक्रममा आँचलका संस्थापक तथा महाकाव्यकार मुना धिताल अर्यालले स्वर्गीय स्रष्टा तिम्सिनाले छोटो उमेरमैँ मकवानपुरको महिलाहरूका लागि साहित्यिक क्षेत्रबाट उल्लेख्य काम गर्नु भएको र स्रष्टा मुडवरीले मकवानपुरको साहित्यिक इतिहासमा मानक कार्य गर्नु भएको भनाइ राख्नुभयो । प्रमुख अतिथि देव श्रेष्ठले स्व. स्रष्टाहरूसँगको विगतका सम्बन्धहरूबारे चर्चा गर्दै आफ्नो रचना सुनाउनुभयो भने सभाध्यक्ष डीबी बर्तौलाले स्रष्टाहरूलाई सम्झने परम्परा रहेको र यस्ता कार्यक्रमले उहाँहरूका रचनालाई अझ अमर बनाउने अपेक्षा लिएको व्यक्त गर्नुभयो । आँचलकी अध्यक्ष भावना सापकोटाले स्वागत गर्नु भएको कार्यक्रमलाई सङ्गमका सचिव मनोज पोखरेलले सहजीकरण गर्नु भएको हो ।

स्वर्गीय स्रष्टाद्वयको स्मृतिमा आँचल साहित्य कला पुञ्ज तथा साहित्य सङ्गम मकवानपुरको संयुक्त आयोजनामा हुने स्मृतिविशेष रचना वाचन कार्यक्रम साहित्य सङ्गम र सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त सभाहलमा आयोजना भएको हो ।
(संप्रस पौडेलद्वारा प्रेषित)

कविता: मैले बाँचेको छु उदास रातहरु / – शून्य नयन

मैले बाँचेको छु उदास रातहरू

म भनिदिन सक्छु !
– घाम सुदुरको डाँडामा लुक्ने बित्तिकै,
कुन पीडाले छट्पटिएर गीत गाउन सुरु गर्छ झ्याउँकिरी

– यो निष्पट अन्धकारमा,
कुन आशको उज्यालो खोज्न बत्ती बाल्दै नाच्छ जुनकिरी

– बनाएर ठुला ठुला आँखा
कुन विगत मेट्टाउन उडिरहन्छ लाटोकोसेरो रातभर

आऊ, सोध मलाई,

– कुन कारणले रातमा फुलेर रातमै झर्छ पारिजातको फूल

– कुन हिनताबोधले गर्दा जुन क्रमश: उज्यालिदैँ-अध्यारिदैँ गर्छ रातहरूमा

. यो बिहानमा देखिने,
पातहरुमा शीतको थोपा कहाँबाट आइपुग्छ

म भनिदिन सक्छु
किनकी,
मैले बाँचेको छु उदास रातहरू…

आजकल,
म आफ्नै विवशताको दुई-चार थोपा आँसु पिउँछु
उजाड-उजाड हुन्छु,
उदास-उदास हुन्छु
कतै ठडिएको तर उपेक्षित भएको मूर्ति जस्तो
जिन्दगीबाहेकको फगत् “जिन्दगी” जिउँछु

कतै टाढाबाट आएको बतासले छुन्छ
अनि तिमीले गरेको न्यानो अङ्गालो सम्झन्छु
देउरालीमा तिम्रो निम्ति चढाएको फूलहरुमा अझै अल्झन्छु
हेर्दाहेर्दै आकाशबाट एउटा तारा खस्छ
यथार्थमा फर्कन्छु र झस्कन्छु…
यसरी मैले हररात,
थप एक सर्को सास आफैँलाई बर्बाद गरिरहन्छु

आउ, सोध मलाई,
यी रातहरुले मानिसको मुकुण्डोको छाया कहाँ लुकाउँछ !
मध्यरात बाह्र बजे कुकुरहरुले कुन अधुरो कथा सुनाउछ !

आऊ, सोध मलाई
म भनिदिन सक्छु

किनकी
आफैँलाई आफुभन्दा धेरै टाढा राखेर
मैले बाँचेको छु उदास रातहरु…!

मैले बाँचेको छु उदास रातहरु…!
– शून्य नयन
(गोरखा)