Home Blog Page 37

जगत्रदेवी साहित्य सङ्गम, स्याङ्जाले ग¥यो स्रष्टा सम्मान तथा कृति विमोचन

स्याङ्जा । जगत्रदेवी साहित्य सङ्गम, गल्याङ, स्याङ्जाले स्रष्टा सम्मान तथा काव्यकृति विमोचन गरेको छ । फागुन ४ गते शुक्रबार गल्याङ नगरपालिका–३ स्थित गल्याङ बहुमुखी क्याम्पसको सभाहलमा कार्यक्रम गरिएको हो ।

जगत्रदेवी साहित्य सङ्गमका कार्यवाहक अध्यक्ष कवि चण्डिकाप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्वको रूपमा गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराई रहनु भएको थियो । विशिष्ट आमन्त्रित व्यक्तित्वको रूपमा वरिष्ठ साहित्यकार डा. विप्लव ढकाल, वरिष्ठ गजलकार जीवनपानी, गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने, डा. पद्मा अर्यालको उपस्थिति रहेको थियो ।

समारोहमा अग्रज कवि चण्डिकाप्रसाद भट्टराईको पहिलो एकल कृतिको रूपमा प्रकाशित भएको कविता कृति “आँखीझ्याल”को विमोचन गरिएको थियो । विमोचन गरिएको कृतिको बारेमा समीक्षक जीवनपानी र डा. विप्लव ढकालले समीक्षात्मक टिप्पणी प्रस्तुत राख्नुभएको थियो ।

जगत्रदेवी साहित्य सङ्गम परिवारको तर्फबाट स्थापना गरिएको जगत्रदेवी साहित्य सम्मान–२०८० जगत्रदेवी साहित्य सङ्गमका संस्थापक अध्यक्ष अग्रज साहित्यकार सुर्यप्रसाद डुम्रेलाई समर्पण गरिएको थियो ।  सम्मानित व्यक्तित्वको बारेमा मिलन समीरले प्रकाश पारेका थिए ।

समारोहमा कविहरु हरिप्रसाद भट्टराई, लेखनाथ काफ्ले, वसन्त खनाल, भीम न्यौपाने, खगेन्द्रजङ्ग थापा, वसन्ती अधिकारी, कला पाठक, सिर्जना खनाल, प्रवेश अर्याल, ध्रुवप्रसाद शर्मा पङ्गेनी, सुर्यप्रसाद डुम्रेद्वारा आफ्ना कविता, गजल र मुक्तक रचनाहरू वाचन गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य लीलाबल्लौ अर्यालले प्रस्तुत गरेका थिए भने सहजीकरण मिलन समीरले गरेका थिए ।

‘थाहा’ हाजिरीजवाफमा जिएस पहिलो, आधुनिक दोस्रो र जनप्रिय तेस्रो

दीपक समीपको ‘नदीको राजमार्ग’ माथि विमर्श हुँदै

फागुन ३, बिहीबार
मकवानपुर ।
साहित्य सङ्गम मकवानपुरको आयोजनामा साहित्य सर्जक दीपक समीपको नवीन पुस्तक ‘नदीको राजमार्ग’ माथि विमर्श कार्यक्रम हुने भएको छ ।
समीक्षक घनश्याम घिमिरेले कृतिमाथि समीक्षा गर्नुहुनेछ ।
फागुन ६ गते आइतबार साहित्य सङ्गम मकवानपुर तथा सिस्नुपानी नेपालको संयुक्त सभाहलमा कार्यक्रम आयोजना हुने साहित्य सङ्गम मकवानपुरका सचिव मनोज पोखरेलले जानकारी दिनुभयो ।
यस्तै सङ्गम अध्यक्ष डीबी बर्तौलाद्वारा स्थापित ‘बहादुरनन्द स्मृति मुक्तक पुरस्कार २०८०’ बाट मुक्तक मञ्च मकवानपुरले उहाँलाई सम्मान गर्दैछ ।
पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष र वर्तमान सल्लाहकार, गजल सन्ध्या पोखराका पूर्व अध्यक्ष र वर्तमान सल्लाहकार रहनु भएका उहाँ मुक्तक मञ्च केन्द्रीय समिति पोखरा र पुछारसिटे अभियानका सल्लाहकार हुनुहुन्छ । लघुकथा प्रतिष्ठान पोखराका सदस्य, नेपाली लेखक संघ गण्डकी प्रदेशका कोषाध्यक्ष र अक्षर यात्राका संस्थापकका साथै संरक्षण कविता आन्दोलनका संस्थापक सदस्य समीप लघुकथा, मुक्तक, गजल लगायतका सिर्जनामा कलम चलाउनुहुन्छ ।

‘रिड टु लिड’ द्वारा परिचयात्मक तथा कृति परिचर्चा कार्यक्रम

फागुन २, बुधबार
मकवानपुर ।
युवाहरूको समूह रिड टु लिड द्वारा कृति परिचर्चा कार्यक्रम सम्पन्न गरिएको छ ।
पठन संस्कृतिको विकासका लागि युवाहरूले पढ्नुपर्छ, आ-आफ्ना रुचीका पुस्तकहरू पढ्ने संस्कारका साथै सोमाथि समय समयमा बहस गर्ने बानीले पठन संस्कृतिलाई बढावा गर्न सकिन्छ भन्ने उद्देश्यका साथ संगठित समूहले दुई पुस्तकको चर्चाका साथ कार्यक्रम गरेको हो ।

राजनीतिकर्मी तथा पाठक सन्तोष पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा घनश्याम घिमिरे, छवि अनित्य, सुवास सजल, मनोज लामिछाने, स्वस्तिका बानियाँ, संप्रस पौडेल, अमृत बर्तौला, विशाल दोङ, दीपक गौतम, कुबेर पराजुली आदिको उपस्थिति रहेको थियो । कार्यक्रममा जेन श्रेष्ठले जापानी लेखक Francesc Miralles र Hector Garcia द्वारा लिखित इकिगाइ (IKIGAI: The Japanese Secret to a Long and Happy Life) पुस्तकबारे बोल्नुभयो ।

उपस्थित सबैले आफ्नो परिचयका साथै आफूले पढिरहेको २ पुस्तकको नाम लिनुपर्ने गरी तय भएको कार्यक्रममा समीक्षक घनश्याम घिमिरेले पढ्नु भनेको केवल किताब मात्र नभई समाज, अर्थक्षेत्र, दर्शन, समय, विश्वबजारको अध्ययन पनि हो भन्नुभयो । उहाँले आफूले पढेका पुस्तक राम्रै हुन्छ भन्ने हुँदैन, खराब पुस्तक बारे पनि पाठकहरूले बोल्नुपर्छ भन्दै  पत्रकार सुरेश श्रेष्ठले पठन संस्कृतिको विकासमा यस्ता कार्यक्रम निकै आवश्यक रहेको र यस्ता कार्यक्रमहरू पुस्तकालयका छेउछाउमा आयोजना गर्नका लागि सुझाव दिनुभयो । प्राध्यापक सङ्गम चौलागाईँले पुस्तक पढ्ने संस्कारलाई यस्ता कार्यक्रमले सहयोग पुग्ने र निरन्तरताका लाग अनुरोध गर्नुभयो ।

विद्यार्थी विशाल दोङले आफूले धेरैजसो ‘फाइनान्सियल’ पुस्तकहरू पढ्ने गरेको र हाल ‘हाउ टु इन्भेस्ट इन स्टक’ पुस्तक पढिरहेको बताउँदा सिद्धान्त आचार्यले साथीहरूबाट पुस्तक पढ्नमा प्रेरणा पाएको र आफूले इकिगाइ पुस्तक पढिरहेको बताउनुभयो । प्राध्यापक तथा साहित्य सर्जक मनोज पोखरेलले ‘सबै कुराका बारेमा केही केही कुरा थाहा पाउनुपर्ने र केही केही कुराका बारेमा सबै कुरा थाहा पाउनुपर्दोरहेछ र त्यसका लागि पढ्नुपर्दोरहेछ’ भन्दै नेताहरूले पढ्दैनन् भन्ने भनाइ व्यापक भएको अवस्थामा विद्यार्थी नेता र सङ्घसङ्गठनका युवाहरूले पढाइमा लगाव दिनु निकै सकारात्मक रहेको बताउँदै गर्दा उपस्थित हुनेहरूले टेन सिक्रेट सक्सेस, सन्दुक रुइत र महावीर पुनको जीवनी, हाउ टु इट, को हो त्यो मान्छे, जिउनुको मज्जा, पात्रहरू, प्रत्येक श्वासमा आनन्द, अल केमिस्ट आदि पुस्तकहरू अध्ययन गर्नुपर्ने सूचीमा राखेका थिए ।

पुष्पलाल पुस्तकालयमा ‘पठन संस्कृतिको विकास’ माथि बहस

फागुन २, बुधबार
मकवानपुर ।
साहित्य सङ्‍गम मकवानपुरद्वारा सञ्चालित पुष्पलाल स्मृति पुस्तकालयको प्राङ्गणमा पठन संस्कृतिमाथि बहस कार्यक्रम सञ्चालन गरिएको छ ।

सङ्‍गम अध्यक्ष डीबी बर्तौलाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा वक्ताका रूपमा पाठकहरूको प्रतिनिधित्व गर्दै शिवराज शाही, बालजागृति युवा वर्ष माविकी प्रधानाध्यापक सम्झना अधिकारी र समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठ सहभागी रहनु भएको थियो ।

वसन्त पञ्चमी तथा एघारौं राष्ट्रिय पुस्तक दिवसको अवसरमा आयोजित बहस कार्यक्रमलाई सङ्‍गम सदस्य संप्रस पौडेलले सहजीकरण गर्नु भएको हो भने बहसमा पुस्तकालयको सही र निरन्तर प्रयोग, अभिभावकको दायित्व, पठन संस्कृतिको व्यापकता बारे चर्चा गरिएको थियो ।
‘पठन संस्कृतिको विकासमा हाम्रो भूमिका’ विषयक वहस कार्यक्रममा वक्ताहरूले पठन संस्कृतिको विकासका लागि आ-आफ्नो ठाउँबाट सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो । पुस्तकालय निर्माण अभियानकर्मी तथा सम्पादक श्रेष्ठले शिक्षक र अभिभावकले आफैँ अध्ययन गर्नुपर्ने र बालबच्चाले त्यसैलाई हेरेर सिको गर्ने हुँदा पठन संस्कृतिको विकासमा यी दुवै पक्षको सबैभन्दा बढी भूमिका रहने बताउनुभयो । प्रधानाध्यापक अधिकारीले सामुदायिक विद्यालयमा विद्यार्थीहरूका लागि आवश्यक खेलकुद र पठनपाठनका सामग्री जुटाउनै धौ धौ परेको समयमा उचित र सुविधासम्पन्न लाइब्रेरी, कक्षाकोठामैँ पुस्तक उपलब्धता र घरघरमा यससँग सम्बन्धित क्रियाकलापमा जोड दिनमा कठिनाइ भइरहेको बताउनुभयो । सर्जक शिवराज शाहीले आफू कर्णाली भूगोलको रहेकाले यता पठन संस्कारबारे चर्चा भइरहेकोमा उता त्यो विषय उठान हुनै नसकेको र अन्य समस्याहरूले सताइरहेको विचार राख्नुभयो ।
डिजिटल डिभाइसको प्रयोगले यस संस्कृतिलाई सहयोग गरेको छ वा बाधा पुगेको छ भन्ने जिज्ञासामा भने मिश्रित प्रतिक्रिया प्राप्त भएको थियो ।
हेटौँडा उपमहानगरपालिका ५ नम्बर वडाका वडाध्यक्ष सुशिल घिमिरेको प्रमुख आतिथ्यतामा र हास्यव्यङ्ग्यकार आरसी रिजालको विशिष्ट आतिथ्यतामा आयोजित कार्यक्रममा साहित्य सर्जक, शिक्षक, निजामती, पत्रकार, नवसर्जकलगायत विभिन्न निकायका सरोकारवालाहरूको सहभागिता रह्यो । कार्यक्रममा रमेशमोहन अधिकारी, माधव पोखेल, सुदर्शन अधिकारि, शान्ति प्रियबन्दना, मालती उप्रेती, राजकुमार लामिछाने, मुक्तिगोविन्द वैद्य, विश्वनाथ सञ्जेल, अनु रोक्का, भवानी तिमल्सिना, केशव समर्पण, छवि अनित्य, घनश्याम घिमिरे, सानु खनाल, हरि पौड्याल, सानुभाइ बिश्वकर्मा, रजनी पौडेल, देव दुलाल, सुवास सजल, स्वस्तिका दाहाल, स्वस्तिका बानियाँ आदिको उपस्थिति रहेको थियो । अनुसुया खनालले सरस्वती बन्दना गाएर सुरु गरिएको कार्यक्रमलाई साहित्य सङ्गम सचिव मनोज पोखरेलले सहजीकरण गर्नु भएको हो ।

कविता : प्रिय हत्यारा हातहरू/प्रीति अर्याल

जीवन–यात्रामा
पन्छाएर अलिकति तुवाँलो
ओढ्दै हिउँका दोसल्ला
पत्रपत्रमा भरेर बारुदहरू
बचाई राख्न सिङ्गो अस्तित्व
आत्मियताले उकेरा लगाउँदै
काँडासँगको अटुट सम्बन्ध
रोमाञ्चित हुँदै नवउमङ्गले
निशर्त फुलिरहेछ–रातो गुलाफ

उम्रँदा–उम्रँदै देख्छ
पहिलोपटक पर क्षितिजले
र आउने चेष्टा कहिले गरेन
म भएसम्म
सायद,
उसैको छातीभरि फुलिरहेकी थिएँ
एउटा चन्द्रमुखी

जानेर पनि यतिबेला
आफ्नो जीवनको अल्पायु
छातीभरि बोकेर
आफैँ टुट्नुको पीडा
सहेर कति हुरी
काटेर अथाह दुःख
फुलिरहेछ काँडाहरूको बीचमा
अरुहरूकै लागि ।

विडम्बना !
पूर्ण फुल्न नपाउँदै अस्तित्व
आएका छन्,
अनगिन्ती हत्यारा हातहरू ।

प्यारा प्रेमीहरू
मृत्युपछि पनि
फक्रिरहन सकूँ–तिम्रा सिर्जनाहरूमा
बाँचिरहन सकूँ—तिम्रा प्रेमिल आँखाहरूमा
र, सिङ्गारिन सकूँ–तिम्रा जिउँदा सपनाहरूमा

प्रिय हत्यारा हातहरू
तिमीलाई म
माफी दिन सक्दिनँ
माफी दिनु त
मेरै सन्तानको हत्या रहेछ ।

बुढानिलकण्ठ, काठमाडौँ

स्याङ्जाको आनन्द आश्रममा ‘बृहत् साहित्य सम्मेलन’

स्याङ्जा । स्याङ्जामा पण्डित आनन्दमणि, टुल्की–नन्दकला स्मृति प्रतिष्ठानको आयोजना तथा आनन्द आश्रम ज्ञान केन्द्रको व्यवस्थापनमा दुई दिने बृहत् साहित्य सम्मेलन भएको छ । गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङको प्रमुख आतिथ्यतामा सम्मेलन भएको हो ।

कार्यक्रममा प्रा.डा. जगदीशचन्द्र भण्डारी, डा. महेश्वर शर्मा र डा. पुस्करराज भट्टलाई पुरस्कृत गरिएको थियो । प्रा. डा. जगदीशचन्द्र भण्डारीलाई ताम्रपत्र र दोसल्लासहित नगद रू. पच्चीस हजारले सम्मान गरिएको हो। यसैगरी, डा. महेश्वर शर्मा र डा. पुष्करराज भट्टलाई सम्मान अर्पण गरिएको हो । उत्कृष्ट विद्यार्थी शिखा सुनार तथा संयोग डुम्रेलाई नगद ५/५ हजारसहित पुरस्कृत गरिएको थियो ।

सम्मानित स्रष्टा प्रा.डा. जगदीशचन्द्र भण्डारीले आफूलाई प्राप्त खुसी सहभागीका बिचमा साट्न चाहेको कुरा उल्लेख गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. गुरुङले आनन्दमणिको शैक्षिक योगदानलाई स्मरण गर्दै सामाजिक तथा सांस्कृतिक विकासका काम गरेर सामाजिक सुधारको अभियान थाल्नुमा संस्थाको अनुकरणीय काम रहेको विचार व्यक्त गरे । आनन्द आश्रमले साहित्य तथा वाङ्मयका क्षेत्रमा गरेको योगदानलाई मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।

संस्थाका परिकल्पनाकार तथा संरक्षक त्रिलोचन ढकालले संस्थाको अवधारणालाई प्रस्तुत गरे । आनन्दमणिले शैक्षिक क्षेत्रमा गरेको योगदानलाई सम्मान गर्न संस्थाको स्थापना गरिएको धारणा राख्दै उनले आनन्दमणिको व्यक्तित्व र कर्मलाई प्रकाश पारे । सामाजिक विभेद र राष्ट्रिय हितका पृष्ठभूमिमा संस्थाको उद्देश्य रहेको मर्मका बारेमा सबैलाई जानकारी दिए ।

कार्यक्रमको दोस्रो सत्रमा काव्यगोष्ठी सञ्चालन गरिएको थियो । महाकाव्यकार मुकुन्द शर्माको प्रमुख आतिथ्यतामा सञ्चालित दोस्रो सत्रमा कविता लेखनसम्बन्धी कार्यपत्र प्रस्तोताका रूपमा डा. रमेश शुभेच्छु रहे भने ७० जनाभन्दा बढी साहित्यकारले कविता,  गीत,  गजल, मुक्तकलगायतका रचना वाचन गरे ।

सोही अवसरमा त्रिलोचन ढकालद्वारा लिखित पेच शीर्षकको लघुकथासङ्ग्रह समेत लोकार्पण गरिएको थियो ।

दोस्रो दिनको पहिलो सत्रमा देशभरबाट आएका ५० भन्दा बढी लघुकथाकारले लघुकथा वाचन गरे भने प्रा.डा. कपिल लामिछानेले लघुकथासम्बन्धी कार्यपत्र प्रस्तुति गरे ।

दोस्रो दिनको दोस्रो सत्रमा साहित्यसम्बन्धी बहस भयो । प्रा.डा लालुप्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सत्रको सहजीकरण डा. रमेश शुभेच्छुले गरेका थिए । सो बहसमा ‘अबको साहित्य कस्तो हुनुपर्छ ?’ भन्ने विषयमा कवि मित्रलाल पंगेनी, ‘नारीलाई सिर्जनामा कलम चलाउन पुरुषलाई भन्दा के फरक छ ?’ भन्ने विषयमा डा. सीता सुवेदी पन्थी, ‘स्याङ्जाको लघुकथाको अवस्था के कस्तो छ ?’ भन्ने विषयमा मिलन समीर, ‘स्याङ्जाको लोकसाहित्यको अवस्था कस्तो छ ?’ भन्ने विषयमा विश्वप्रेम अधिकारी, ‘साहित्यमा केन्द्र र मोफसलको के भिन्नता छ ?’ भन्ने विषयमा रुद्र ज्ञवाली, ‘साहित्य र संस्कृतिको विकासमा स्थानीय तहको के भूमिका हुन्छ ?’ भन्ने विषयमा डा. टंकप्रसाद पन्थ र ‘अबको साहित्य सिर्जनामा प्रविधिको के भूमिका हुनसक्छ ?’ भन्ने विषयमा पत्रकार अश्विनी कोइरालाले आ–आफ्ना धारणा राखे ।

कार्यक्रम डा. पुष्करराज भट्ट, श्रीओम रोदन, प्राडा. कपिलदेव लामिछाने, डा. रमेश शुभेच्छुलगायत देशभरका १६० बढी व्यक्तित्वहरूको कार्यक्रममा उपस्थिति रहेको थियो ।

भैरव अर्याल स्मृति सम्मान लामिछानेलाई, घिमिरेको ‘माटोको मोह’ विमोचन हुने

माघ २७, शनिबार
मकवानपुर ।
साहित्य सङ्गम मकवानपुर एवम् सिस्नुपानी नेपाल मकवानपुरद्वारा संयुक्त समर्पण गरिने भैरव अर्याल स्मृति सम्मान २०८० मकवानपुरे हास्यव्यङ्ग्य स्रष्टा मीनप्रसाद लामिछानेलाई समर्पण गरिने भएको छ ।
२१ हजार १ सय ११ रुपैयाँ राशिको सो सम्मानबाट यसअघि सञ्जय साह मित्र, हरिकला उप्रेती, राजकुमार लामिछाने, धुर्मस सुन्तली फाउण्डेशन, मनोज गजुरेल, चट्याङमास्टर आदि सम्मानित भइसक्नु भएको छ ।

साहित्य सङ्गम मकवानपुरले व्यवस्थापन गरिरहेको पुष्पलाल स्मृति पुस्तकालयमा सरस्वती पूजाको दिन अध्ययन संस्कृति सम्बन्धमा बहस कार्यक्रम आयोजना गर्ने भएको छ । बहसमा पत्रकार, पुस्तकालय अभियन्ता, प्रधानाध्यापक तथा साहित्यिक पुस्तक अध्ययनमा संलग्न विद्यार्थी तथा सर्जकहरू सहभागी हुने आयोजकले बताएको छ ।

साहित्य सङ्गम मकवानपुरका सल्लाहकार तुलसी घिमिरेको कविता सङ्ग्रह ‘माटोको मोह’ विमोचन हुने भएको छ । ३४०औं साहित्य सन्ध्याका क्रममा फागुन १२ गते विमोचन तथा कृति परिचर्चा कार्यक्रम गरिने सङ्गमका अध्यक्ष डीबी बर्तौलाले जानकारी दिनु भएको छ ।

मातृभूमि साहित्य समाज मकवानपुरको २४ औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न ।

मकवानपुर, २७ माघ । शनिवार रोयल पार्टी प्यालेस हेटौँडा-४ मा मातृभूमि साहित्य समाज मकवानपुरको रचना वाचन कार्यक्रमका साथै संस्थाको २४ औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको  छ । 

मातृभूमि साहित्य समाजका अध्यक्ष माधव बहादुर पोखरेलको सभाध्यक्षयता र वरिष्ठ साहित्यकार गणेशप्रसाद लाठको  प्रमुख आतिथ्ययतामा आयोजित उक्त कार्यक्रममा विशिष्ट अतिथिमा काव्यकार मुना अर्याल र मुक्ति गोविन्द वैध हुनुहुन्थ्यो । मकवानपुर सर्जक सञ्जालका संयोजक निमेष निखिलले शुभकामना मन्तव्य राख्दै मातृभूमिले गर्दै आएको कार्यक्रमहरू र गतिविधिहरूको बारेमा चर्चा गर्नुभएको थियो । उक्त वार्षिक साधारण सभाको विशेष अधिवेशनबाट ११ सदस्यीय कार्यसमितिका पदाधिकारीहरू सर्वसम्मतिले घोषणा भएको थियो । 

नयाँ कार्यसमितिमा अध्यक्ष कृष्ण प्रसाद दाहाल, उपाध्यक्ष हेमन्त कुमार ढुङ्गेल, महासचिव  मञ्जु खराल,सचिव, किशन पौडेल कोषाध्यक्ष निरा शर्मा,सदस्यहरूमा सानु खनाल श्याम प्रसाद श्रेष्ठ , वैकुण्ठ लामिछाने, गोपिनी गौतम मिथिला अधिकारी , प्रद्युम्न उपाध्याय चयन हुनुभएको छ । 

निर्वाचन समितिको संयोजकमा हयग्रीव  आचार्य र सदस्य द्वय अधिवक्ता अप्सरा बस्नेत र चूडाराज उप्रेती रहनु भएको थियो। कार्यक्रमलाई  मातृभूमिका महासचिव हेमन्त ढुङ्गेलले सहजीकरण गर्नुभ‌एको थियो भने उपाध्यक्ष कृष्ण प्रसाद दाहालले स्वागत मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा मातृभूमि साहित्य समाज, मकवानपुरका विशिष्ट आजीवन उपासक,  प्राध्यापक, अधिवक्ता, सामाजिक अभियन्ता, राजनैतिक कर्मी, समाजसेवी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो । रचना वाचन कार्यक्रममा चितवन जुम्ला र मकवानपुरका दुई दर्जन साहित्यकारले आफ्नो रचना वाचन गर्नुभएको थियो ।

लेखक कृति पुरस्कार तथा सम्मान समर्पण

मकवानपुर, २७ माघ । नेपाली लेखक संघ, कास्कीले हरेक वर्ष प्रदान गर्ने ‘लेखक कृति पुरस्कार-२०७९’ प्रदीप रोदनको गजल सङ्ग्रह ‘मफलर’ लाई प्रदान गरिएको छ । शुक्रबार पोखरामा आयोजित एक समारोहमा नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठले सो पुरस्कार अर्पण गरे । सोही अवसरमा साहित्य क्षेत्रमा विशिष्ट योगदान गरेकामा स्याङ्जाका सर्जक विश्वप्रेम अधिकारीलाई ‘स्रष्टा सम्मान’ अर्पण गरिएको थियो ।

पुरस्कार एवम् सम्मान अर्पण गरेपछि प्रमुख अतिथिका रूपमा बोल्दै नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठले मन्दिरको जगजस्तै नदेखिएरै गजुरलाई उभ्याइरहने व्यक्तित्वलाई सम्मान गर्न पाउनु आफ्नो सौभाग्य भएको बताए । गजल लेख्नुलाई हास्यास्पद ठानिने समय सम्झँदै उनले प्रदीप रोदनको गजलकारिताले गजललाई एउटा उचाइमा पुर्याउन विशिष्ट योगदान दिएको बताए ।

अरूले प्रशंसा गरिरहेका बेला आफ्नै कमजोरी त्यसले मात्रै खोतल्न सक्छ जससँग विशिष्ट क्षमता छ भन्दै विश्वप्रेम अधिकारीको दीर्घ साधनाको प्रशंसा गरे । साहित्यिक संगठनहरूले साहित्यकारलाई लिलिपुट देख्ने प्रवृत्ति बढ्दै गएकामा उनले गुनासो गरे । लेखक संघलाई त्यो प्रवृत्तिबाट मुक्त गर्ने प्रयासमा आफूहरू लागेको उनले बताए । सम्मानित स्रष्टा विश्वप्रेम अधिकारीले पोखराले साहित्य, शिक्षा एवम् विविध क्षेत्रमा धेरै महत्त्वपूर्ण स्थान ओगटेको सम्झिए । यो सम्मान सिङ्गो पोखराले लामो समयको साधना सम्मानित भएको पनि बताए ।

पुरस्कृत कृति ‘मफलर’ का स्रष्टा गजलकार प्रदीप रोदनले लेखिरहँदा अचानक आउने यस प्रकारका स्याबासीले लेखनमा विशेष ऊर्जा मिल्ने र यो पुरस्कारले आफूलाई ठूलो हौसला प्राप्त भएको उनले सुनाए । कार्यक्रममा पुरस्कार छनोट समितिका संयोजक डा.भूमिराज बस्ताकोटीले पुरस्कृत एवम् सम्मानित स्रष्टाद्वयको परिचय प्रस्तुत गरेका थिए । सो क्रममा उनले प्रदीप रोदनका गजलहरूमा मानवीय संवेदनाको गहिरो अभिव्यक्ति पाइने बताए । स्याङ्जामा बसेर साहित्य, साहित्यिक पत्रकारिता एवम् समाजसेवामा ६ दशक अथक साधना गरेका स्रष्टाका रूपमा विश्वप्रेम अधिकारी सम्मानयोग्य व्यक्तित्व भएको बताए । सर्जकको सिर्जना र साधना देशदेशावरसम्म पुग्ने बताउँदै उनले आज पुरस्कृत र सम्मानित स्रष्टाहरूको साहित्यिक उचाइ निकै उँचो रहेको बताए ।

वर्षभरिमा प्रकाशित कृतिमध्येबाट कार्यसमितिले उत्कृष्ट ६ कृति छनोट गरी पुरस्कार छनोट समितिलाई हस्तान्तरण गरिएको थियो । ती कृतिमध्येबाट मफलरलाई सर्वोत्कृष्ट ठहर गरिएको थियो । कार्यक्रममा मन्तव्य राख्दै नेपाली लेखक संघ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले संस्थाको कास्की शाखाले पुरस्कार र सम्मानको यो प्रशंसनीय कार्य गर्दै आएकामा खुसी व्यक्त गरे ।

पुरस्कारको राशि रु. २५ हजार रहेको छ । यसअघि सो पुरस्कारबाट सरोज अर्यालको दिव्याञ्जली, मतीप्रसाद ढकालको महाभारतमा के छ ? र दीपक समीपको अक्षर अक्षरमा देश कृति पुरस्कृत भइसकेका छन् । त्यसैगरी स्व. तेजनाथ घिमिरे, केशवराज पराजुली र डा.भूपति ढकाल ‘कमल’ सम्मानित भएका थिए । नेलेस कास्की शाखाका अध्यक्ष रीता अधिकारी ‘ऋतु’ को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव प्राञ्जलले गरेका थिए भने उपाध्यक्ष कमल पौडेल ‘अथक’ ले स्वागत मन्तव्य राखेका थिए ।