Home Blog Page 62

सामान्यज्ञानको पहिलो नेपालको चलचित्र अब ५८ औं वर्षमा

पहिलो नेपाली चलचित्र कुन हो ? सामान्यज्ञान सोधिने विभिन्न तयारी परीक्षामा सोधिएको प्रश्न । विद्यालय, कलेज तहका हाजिरीजवाफ प्रतियोगितामा कतिपटक सोधियो होला कसले गणना गर्नु । फेरि गणना गरेर के गर्ने, लोक सेवा, शिक्षक सेवा आयोगले सोध्ला त ? जेहोस्, ‘सत्य हरिश्चन्द्र’ र ‘आमा’ मध्ये कुन चलचित्र पहिलो भन्ने विवाद भने छँदैथियो । किताबपिच्छे फरक फरक उत्तरहरू पाइन्छन् । तथापि धेरैले सत्य हरिश्चन्द्र भारतमा बनेको पहिलो नेपाली भाषाको चलचित्र र आमा नेपालमा बनेको पहिलो नेपाली चलचित्र भन्ने गरिन्छ । विकीपिडियाले पनि यही उल्लेख गरेको छ । यी दुई चलचित्रबीचको भने १३/१४ वर्षको अन्तर रहेको छ । तथापि सत्य हरिश्चन्द्रचाहिँ नेपालीमा डबिङ गरिएको हो । यसैले विश्वमैँ नेपाली भाषाको पहिलो चलचित्र यही हो ।
०००
पछिल्लो पटक राम्रा नेपाली चलचित्रहरू बनिरहेका छन् । त्यही बीचबीचमा दर्शकको पैसा मात्रै सिध्याउने चलचित्रहरू पनि बेला बेलामा हलमा घुसेका हुन्छन्, स्कुसको झाङमा एउटा लहरो छिरेर फलेको लौकाजस्तो । स्कुस र लौकाको भाउ धेरथोर भएको बेलामा त यसले घाटा नै पार्ला क्यार ।
खैर, असोज १५ गते नेपाली चलचित्र रिलिज भएको ठीक ५८ वर्ष पुगेको छ । २०२२ असोज १५ मा नेपालमा बनेको पहिलो नेपाली भाषाको चलचित्रका रूपमा ‘आमा’ चलचित्र प्रदर्शन भएको ५८ वर्ष पूरा भएको छ । तथापि विकीपिडियाले असोज २२ को मिति उल्लेख गरेको छ ।
हीरासिंह खत्रीद्वारा निर्देशित यस चलचित्र तत्कालीन सरकार (प्रचासप्रसार विभाग) द्वारा लगानी गरिएको हो । यसमा भुवन चन्द (पहिलो नायिका), शिवशङ्कर मानन्धर (पहिलो नायक), चैत्यदेवी, बसुन्धरा भुसाल लगायतको मूख्य भूमिका रहेको छ । नेपालमा छायाङ्कन भई भारतमा मिक्सिङ लगायतका प्राविधिक काम भएको यो चलचित्रको रिल बालकृष्ण समले सुरक्षित राखेको भनिएको छ, जसलाई नारायणहिटी सङ्ग्रहालयमा भेटिएको थियो । नेपाल सरकारले घोषणा नगरे पनि चलचित्र विकास बोर्डले २०७९ असार २९ मा ‘आमा’ चलचित्रलाई पहिलो नेपाली चलचित्रको मान्यता दियो ।
यो चलचित्रलाई कला, साहित्यलाई माया गर्ने तत्कालीन राजा महेन्द्रले ४२औं जन्मोत्सवको अवसरमा निर्देशक हीरासिंह खत्रीलाई आग्रह गरी यो चलचित्र निर्माण गर्न लगाएका हुन् । तथापि पञ्चायती व्यवस्थाको उत्थानका लागि बनाइएको पनि भन्ने गरिन्छ ।
०००
नेपालको पहिलो सिनेमा हल भने २००७ ताका काठमान्डुको न्युरोडमा बनेको हो | अहिलेको बिशाल बजार भएको ठाउँमा रहेको ‘बिशाल चलचित्र मन्दिर’ मा हिन्दी चलचित्र मात्र चल्दथ्यो अर्थात् सोबेलामा नेपाली चलचित्र नै थिएन । दर्शकहरु पनि यसरी सर्वसाधारण कहाँ हुन्थे र ? राजा र राजपरिवारका सदस्यहरु, ठूलाबडा प्रशासक, विदेशी पाहुना आदिको बाहुल्यता हुने गर्थ्यो । आगलागीमा परेपछि रन्जना थियटर सुरू भयो र लामो समयसम्म सञ्चालनमा आयो । आमा चलचित्र यी हलहरूमा पटक पटक गरी पछिका वर्षहरूमा पनि सञ्चालनमा आयो । हाल यसको डिजिटलाइजेसन गरी सुरक्षित गरिएको छ । ✍गाइने
तपाईँले चाहिँ नेपाली चलचित्रको विकासबारे कस्ता रोचक कुराहरू सुन्नु/पढ्नु भएको छ ? प्रतिक्रियामा लेख्नुहोस् न है ।
०००

नवोदयमा पुस्तक परिचर्चा

हेटौंडा–४ मा रहेको नवोदय शिशु सदनले कक्षा २ का विद्यार्थीहरुको ‘बुक टक’ तथा ब्याच वितरण कार्यक्रमको आयोजना गरेको छ । सोमबार आयोजित कार्यक्रममा करिब एक दर्जन विद्यार्थीले आफूले अध्ययन गरेको किताबको बारेमा आफ्ना साथीहरु र अभिभावकमाझ प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा नृत्य प्रदर्शनीसमेत गरिएको थियो । तह ३ मा पुगी व्याच लगाउन उनीहरुले २५० वटा पुस्तक अध्ययन गर्नुपर्ने कुरा कक्षा २ का शिक्षक सम्झना थापाले जानकारी गराउनुभयो ।

कक्षा २ की छात्रा अनुष्मा रिमालको अध्यक्षताको भएको कार्यक्रममा साहित्यकार तथा पत्रकार केशव समर्पणको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा साहित्यकार हरिप्रसाद पौड्यालको विशिष्ट आतिथ्यता रहेको थियो । विद्यार्थीहरुको पठन संस्कृतिको विकासका लागि उनीहरुले २५० वटा पुस्तक पढेर त्यसको भिडियो गुगलमा राखेपछी तह ३ मा पुग्छन् । त्यसपछि १०० वटा पुस्तकको समीक्षा गरेपछि बल्ल पुस्तक परिचर्चा कार्यक्रममा सहभागी हुने कुरा नेपाली भाषा विभाग प्रमुख तथा माध्यमिक तहका संयोजक सिएम रिमालले जानकारी दिनुभयो । हरेक महिना यो कार्यक्रमको आयोजना गर्ने गरिएको साथै उनीहरुले अध्ययन गरेको विषयलाई सिर्जनात्मक ढङ्गले प्रस्तुती गर्ने क्षमताको विकास गराउन कार्यक्रमको आयोजना गरिएको रिमालले बताए ।

ज्ञान दिने भिडीयाेहरू

अनुवाद पुरस्कारवाट डा.अभि सुवेदी र गोकुल सिन्हालाई पुरस्कृत गरिने

मकवानपुर । युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार वरिष्ठ अनुवादक एवम् साहित्यकार डा.अभि सुवेदीलाई प्रदान गर्ने निर्णय भएको छ । यो पुरस्कारमा नगद भारु एक्काइस हजार राशिसहित स्मृति चिन्ह रहेको छ ।
त्यसैगरी लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार अनुवादक एवं वरिष्ठ सर्जक डा.गोकुल सिन्हालाई प्रदान गर्ने निर्णय भएको छ । यो पुरस्कारमा नगद भारु एघार हजार राशिसहित सम्मानपत्र र स्मृति चिन्ह रहेको छ ।
युगेन्द्र–लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी सिलगढी, भारतले प्रदान गर्न लागेको यी पुरस्कारहरुको निर्णय ललिता जोशी, लतिका जोशी, युवराज काफ्ले, जीवन राणा, शरद छेत्री, शुक्रराज दियाली र खेम सापकोटा सम्मिलित संवाद सञ्जाल परिवार चयन समितिको सिफारिसमा यो पुरस्कारको घोषणा गरिएको हो ।
यो निर्णय गुठीका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो ।
यी दुवै पुरस्कारहरु सूचना संवाद संजालकी सम्पादक साहित्यकार ललिता क्षेत्रीले स्थापना आफ्ना श्रीमान युगेन्द्र क्षेत्री तथा पिता लक्ष्मीकान्त जोशीका नाममा गर्नुभएको हो ।

पुरस्कृत प्रतिभा डा. अभि सुवेदी त्रिविका सेवा निवृत्त अङ्ग्रेजी भाषाका प्रोफेसर हुनुहुन्छ । उहाँ कविता, निवन्ध साहित्यको ईतिहास र समालोचनाका साथै अनुवादमा समेत सिध्दहस्त हुनुहुन्छ । उहाँले नेपाली साहित्यका कृतिहरुलाई अङ्ग्रेजीमा अनुवाद गर्नुका साथै विदेशी साहित्यलाई अङ्ग्रेजी भाषाको माध्यमले नेपाली भाषामा अनुवाद गर्नुभएको छ ।
अर्का पुरस्कृत सर्जक एवं अनुवादक डा. गोकुल सिन्हा कविता, लघुकथा, निबन्धमा कलम चलाउँदै बाइबल, गीताको नेपाली भाषामा अनुवाद गर्नु भएको छ । उहाँले नेपाली रामायणको पहिलोपटक अङ्ग्रेजी भाषामा अनुवाद गर्नुभएको थियो ।
यसअघि यो पुरस्कारबाट प्रा.डा.गोविन्दराज भट्टराई र जीवन नामदुङ पुरस्कृत भइससक्नु भएको छ ।

हाम्रो भिडियोहरु

हास्यव्यङ्ग्य: हतबुद्धिजीवी र दुर्बुद्धिजीवी / कृष्ण प्रधान

मलाई सधैँ देख्नेहरे वा चिन्नेहरूले याद गर्नुभएको छ कि छैन को‘ नि ! मेरो देब्रे कान दाहिने कानभन्दा तुलनामा निक्कै ठूलो छ । दुइ प्रकारका मेरा कान देखेर मेरा सहपाठीहरूले मलाई न ‘हात्तीकाने’ भनेर जिस्काउऩ सक्छन् न ता ‘मूसेकाने’ भनेर गिल्ला नै गर्न सक्छन् । यसकारण मेरो देब्रे कान ठूलो र दाहिने कान सानो भएकोमा मलाई एक रत्ति दुःख मऩाउ छैन । तर एउटा ढ्याब्रे कान र अर्को सिप्रिक परेको कान लिएर जन्मिएको चाहिँ पक्कै होइन म ।
स्कूलका हिसाब सरले कान निमोठेर निमोठेर मेरो देब्रे कान ठूला न ठूला बनाइदिएका चाहिँ पक्कै हो । धन्य सरले मेरो भुँड़ीको लाम्टो तानेनन् । मेरो कानको सट्टा उनले भुँड़ीको लाम्टो दिनहुँ तानिदिएका भए अहिलेसम्म मेरो भुँड़ी झोलिएर घूँड़ासम्म पुगिसक्नेथ्यो । धन्य बाँचियो । हिसाब सरले तिनको भएभरको शारीरिक, मानसिक एवम् सांसारिक गज्याङ्, जस्तो, बात, स्पण्डलाइटिस (उबेला यस रोगलाई ‘घिच्राको व्यथा वा दुःखाइ’ भनिन्थ्यो )- को पीर मैमाथि न्यौछावर गर्दा हुन् । सायद यस रोगको पीड़ाबाट सामान्य बिसेक हुनु उनले मेरो कान निंमोठेका हुनन् भन्ने पनि लाग्छ मलाई । मेरो कान निमोठेर सरले भक्कुचूर रुपियाँको श्राद्ध गरी फिजियो थेरापिष्टको हजारौं कच्याङ्-कच्याङ्बाट मुक्त हुनलाई नै उनले मेरो कानलाई थेरापी ठानेर कान निमोठेका हुनन् । त्यतिमात्र होइन, ग्रेट-डेन कुकुरजस्तो घिच्रामा कलर पनि लाउनुपर्ने थिएन । अवसाद, हताशा, निराशा, डिप्रेसन, असहयोगी गुरुपत्नीसितका दिन रात कलह. उनका पट्ठो, गधापच्चिसे तर बेरोजगार कुपुत्र स्वप्नदोष इत्यादिका हातबाट मुक्ति पाउन चाहन्थे मलाई कर्णपीड़ा दिएर । यसैकारण मेरो दाहिने कान मेरा परमआदरणीय हिसाब सरबाट आकर्षित हुँदै देब्रे कानभन्दा तुलनामा ढ्याब्रे भएको हो । सरले मेरा दुइवटै कान समानरुपे निमोठिदिएका हुँदा हुन् ता सायद मेरो कानदेखि म लाई अहिले लाजमर्दो अवस्था हुने थिएन । तर हाम्रो पा लामा प्रतिवाद गर्ने दस्तूर थिँदै थिएऩ ।
हो, अहिल्यै जस्तो कुरैकुरामा प्रतिवाद गर्ने समय हाम्रो पालामा पटक्कै थिएन । तर अचेल जमाना बद्लिएको छ । हिजोआज सरहरूलाई कटुक्ति गर्न सकिन्छ, गरिएको देखिँदो पनि छ बेलाबऎखत । कुनै पनि विद्यार्थीमाथि सरको क्षणिकको उत्तेजना वा अदूरदर्शिताको कारणे विद्यार्थीको गाला रन्काउँदा वा झ्याँपट वर्षिँदा, कान निमोठ्नु ता परै जावोस् सामान्य तान्दा पनि हिजोआज सर-गुरुआमा ‘जनरोस्’मा पर्ने सोह्रै आना सम्भावना देखिन्छ । उबेलाका अभिभावक, जनता-जनार्दन तथा विद्यार्थीहरू अत्यन्तै सोझा, सरल । साँच्चै हाम्रो पालामा के विद्यार्थी के सर सबै नै व्यक्तिस्वतन्त्रमा विश्वासी थियौँ । ‘मुद्दाआधारित राजनीति’, ‘प्रतिक्रियाशील राजनीति’, ‘मस्तान’, ‘दादा’, ‘राउडिज’ तथा ‘छल र खलबुद्धिजीवी’हरूका माखेसाङ्लोमा जकड़िएका थिएनौं हामी ।
मेरा एकजना सहपाठी थिए । तिनको नाम डम्बर । स्वाभाव ले नै तिनी हाम्रा सरदारजस्ता थिए । दुइ दुइ वर्षसम्म एउटै क्लासमा बसेकाले वा फारो गरेर पढ़ेकाले तिनको उमेरको जोर, शरीरको जोर, सिनियरको जोरका कारणले पनि तिनलाई हामीले मान्नैपर्ने हुन्थ्यो । पछिल्लो बेञ्चमा बस्ने, सरले पढ़ाउँदै गर्दाहुँदी किताबले अनुहार छोपी खैनी च्याप्नमा उस्ताद । तर हामालाईई कहिल्यै खैनी च्यापन् अभ्यास गराएनन् डम्बरले । मान्छे हेर्दा गम्भीर देखिने । अत्यन्तै शान्त । तर सरहरूको नाम राख्नमा उस्ताद फेरि । हिसाब सरको नाम ‘छुचुन्द्रो’ राखेका थिए । त्यो कुरो हामी सामान्य विद्र्यार्थीलाई मात्र थाहा भए पनि सरकहाँ ट्यूशन पढ़्नेहरू कसैले यो ‘छुचुन्द्रो’ नाम सरको कानसम्म पुऱ्याइसकेका रहेछन् । पिञ्जराको सुगालाई ‘ए सुगा’ भन्दा सुगा पिञ्जराभित्र छटटिएजस्तै हिसाब सर पनि दुरुस्तै ‘छुचुन्द्रो’जस्तै छटपटिन्थे फर्मुला सिकाउँदा, थेरोमा पढ़ाउँदा । यो उनको बडी ल्याङ्गुवेज नै हो । सरको ‘छुचुन्द्रो’ बडी ल्याङ्गुवेजले ‘छुचुन्द्रो’को स्टाइल प्रदर्शन गर्दा हामी डम्बर एण्ड कम्पनी बेजोड़ उल्लसित हुन्थ्यौं । साँच्चै हिसाब सरलाई हेर्दा ठ्याक्कै ‘छुचुन्द्रो’जस्तै नै देखिन्थ्यो । छुचुन्द्रोको मुख र हिसाब सरको मुखमा कुनै फरक थिएन । काटाकुटी ‘छुचुन्द्रो’ नै । सहपाठी डम्बरले हिसाब सरको नाम ‘छुचुन्द्रो’ ऱाखिदिएकामा हामीलाई भक्कु स्वाद परेको थियो ।
एकदिन अङ्कगणितमा मेरो सामान्य गल्ती भएकोमा हिसाब सरले मेरो कान निमोठे । दुःखेर म हुरुक्कै भएँ । मेरो देब्रे कान निमोठ्ने तिर्सना मेटेपछि काठको प्लेटफर्ममाथि गई जब उनी कुर्सीमा बसे, जम्बर अचानक आफू बसिका बेञ्चबाट उठे र अत्यन्तै गम्भीरपूर्वक क्लासको देब्रेतिरको देवालतर्फ सामान्य अघि बढ़ेर रोकिए । त्यसपछि खल्तीबाट मैला न मैला रुमाल निकालेर देवल घस्न थाले । हिसाब सर मात्रै होइन श्रेणी कोठाका तमाम् सहपाठीहरू तीन छक्क पऱ्यौं ।
सर गर्जे – एई ! एई ! एई ! त्यहाँ के हुँदैछ ? के गरेको डम्बरे ?
देवल घस्नमै मस्त सहपाठी डम्बरे सरलाई नहेरी बोले – पुछ्दैछु सर । कति घिनलाग्दो शब् सर ।
कुर्सीबाट जुरुक्कै उठ्दै सर बोले – कस्तो घिनलाग्दो शब्द लेखिएको रहेछ ?
डम्बर – त्यो म भन्न सक्दिनँ सर । छि: कति घिनलाग्दो शब्द । तपाई आफै यहीँ आएर हेर्नुहोस् न सर । यो नपुछिञ्जेल म मेरो ठाउँमा गएर बस्नै सक्दिनँ सर ।
सर- खै हेरुँ ता ! कस्तो घिनलाग्दो शब्द लेखिएको रहेछ ?
हिसाब सर उत्साहित भई आफ्नो ठाउँबाट देवालतर्फ आए । विद्यालयका क्लास रुम, देवाल तथा विशेषगरी वाशरुमको देवालभरि नै अश्लील चित्रहरू बनाइएको हुन्छ भने कति उत्तेजक कुराहरू पनि लेखिएका हुन्छन् । ती सबै हेरेर अनभिज्ञ अस्पवयसी विद्यार्थीहरूमाझ असर पर्नु स्वाभाविकै हो ।
चश्मा मिलाउँदै सर जब देवाल सामु आए त्यतिबेला मात्र डम्बरले मुख खोले – तपाई आफै हेर्नुहोस् सर । कस्तो घिनलाग्दो शब्द हई सर !
सर – तँ अलिक पर जा । खै हेरुँ…हेरुँ…..
डम्बर स्वयम् जोर जोरले हामी सबैले सुन्ने गरी कराए – ‘छुSSSSचुSSSSन्SSSSद्रो….’ देख्नुभयो सर ! कुनै माने हुन्छ हँ सर ! म यो पुछ्छु पुछ्छु सर ।
सर बोले – यो ‘छुचुन्द्रो….’ शब्दले तेरो के बिगार्य़ो डम्बरे ? किन तँलाई यो शब्दसित अचानक घिनलाग्यो बाबु ? यो शब्द यो श्रेणी कोठाको भित्तामा लेखिएको मैले उहिल्यै देखेको । पुछ्नु पर्दैन । त्यतिकै छोड़िदे बाबु । यो शब्द देखेर मलाई श्रेणीकोठामा उर्जा पैदा हुन्छ ….र ता तिमीहरूलाई हिसाब मज्जाले सिकाउँछु ता। जा जग्गामा गएर बस् ।
सरको यो भनाइले डम्बरलाई के असर पऱ्यो थाहा छैन तर मलाई भने सरको महानता देखेर उनीप्रति टिठलागेर आयो ।
हाम्रो समाजमा क्रिया-प्रतिक्रिया अवश्यै थियो तर त्यो नितान्तै व्यक्तिगत थियो । कुरै-कुरामा बन्ध, चक्काजाम, सानो गाड़ी बन्द, ठूलो गाड़ी बन्दको कारणले एक-दुइजनाले विरोध गर्न दस्तूर उबेला ठ्याम्मा थिएन । तर सरहरूलाई उबेलादेखि नै अप्रत्यक्षरुपमा हामी छलकपटविहीन विद्र्यार्थीहरूले असम्मान गर्दारहेछौं भन्ने कुरो अहिले यो उमेरमा पो बुझिँदैछ । ‘दुष्टलाई दमन, शिष्टलाई पालन’ भन्ने कुरो हामीहरूमध्ये जो अशिष्ट, अभद्र थिए उनीहरू मात्र जान्दथे । उबेलाको हाम्रो समाजले कुनै पनि व्यक्तिलाई यस्तो अन्धो, मूक वा वधिर बनाएको थिएन । उबेला एकाधको मात्र मन कालो थियो । अचेलजस्तो सबैको मन कालो र अन्धा थिएन पटक्कै ।
खासै कुरो भन्नु हो भने, हामी उबेला हतबुद्धिजीवि पक्कै थियो तर दुर्बुद्धिजीवि चाहिँ ठ्यामम् थिएनौं ।

कृष्ण प्रधान, सिलगड़ी (भारत)

लक्ष्मण पौडेलकाे गजल

काम गरेर हुँदा पनी सिथिल बेकार रहेछ ।
गाली गरेकै हुन्छ,साहुको दिल बेकार रहेछ ।

मेरो पिडामा वाह भन्दै तालि बजाउछन्
लाग्दैछ मलाई यो महफिल बेकार रहेछ ।

यो शहरमा न्याय हराएर खोज्न हिँडेको हुँ
बिना पैसा न्यायको अपिल बेकार रहेछ ।

तिम्रो बिहेमा पुगेपछि यस्तो लाग्न थाल्यो
पागललाई बिहेको झिलमिल बेकार रहेछ ।

यो भन्दा ठुलो रोग अरु के होला दुनियाँमा
लाग्दैछ,अधुरो प्रेमको खिल बेकार रहेछ ।

लक्ष्मणले लक्ष्मण रेखा नाघिसक्याे अब
के काम लाग्यो बनेर सुशील बेकार रहेछ ।।

समालोचना: सिर्जना सर्वबोध्य हुनुपर्छ दुर्बोध्य हैन । शान्ति प्रियवन्दना

एउटा पिताले आफ्ना सन्तानहरुको सुन्दर भविष्यको बाटो निर्माण गर्नको लागि घाम पानी झरी बतास भन्दैन ऊ आफ्नो कर्ममा निरन्तर लागि रहन्छ । पिताले आफ्नो सपना बिर्सन्छ र आफ्नो आँखाबाट सन्तानको उन्नति प्रगतीको सपना देख्छ । तसर्थ आफूलाई देशको योग्य नागरिक बनाउने पिता प्रति सन्तानले पनि आफ्नो भूमिका इमानदारी पूर्वक निर्वाह गर्नुपर्छ भन्ने भावको कविता साहित्य सङ्गम मकवानपुरले आयोजना गरेको ३३५ औं नियमित साहित्य सन्ध्या र मकवानपुरबाट २०७९ मा कृति प्रकाशन गर्नुहुने स्रष्टाहरुको सम्मान कार्यक्रममा नवसर्जक कृतिका कार्कीले कार्यक्रमको पहिलो कविताको रुपमा सुनाउनु भयो । जीवनभर समयको महत्व बुझ्‍नेले मात्र सफलताको स्वाद चाख्‍न सक्छ भन्ने भावको अर्को कविता अर्की नवसर्जक सर्जु भण्डारीको थियो ।
साहित्य सङ्‍गम मकवानपुरको १६ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो कार्यक्रम निर्धारित समय भन्दा केही ढिलो सञ्चालन भएको भएपनि कविता सुन्नको लागि जम्मा भएका स्रोताहरु धैर्यतापूर्वक कार्यकम सञ्चालन हुने समय पर्खिरहेका थिए । नवसर्जक र मकवानपुरका स्थापित साहित्यकारहरुको उपस्थितिले हल खचाखच भरिएको थियो । नवसर्जकहरुलाई हौसला प्रदान गर्न बालजागृति स्कुलका प्रधानाध्यापक स्वयम् आफ्ना विधार्थीहरुको साथमा उपस्थित भएका थिए । कविता वाचनको क्रममा अर्की नवसर्जक दिपीका लम्सालले मानव जीवनमा मुस्कानको अत्यन्त महत्पूर्ण भूमिका रहन्छ भन्दै मुस्कान सबैभन्दा चम्किलो गहना हो भन्ने भावको कविता सुनाउनु भएको थियो । आफ्ना सिर्जनाहरु सुनाउने क्रममा केही नवसर्जकहरुले आफ्ना चोटिला मुक्तकहरु समेत प्रस्तुत गरेका थिए । आफ्नो मुक्तकमार्फत् विजनेस संजेलले पैसाले प्रतिष्ठा बचाउन वर्तमान समयमा चलेको होडबाजीप्रति गहिरो व्यङ्ग्य प्रहार गर्न भ्याउनुभयो । प्रकृति अर्यालले सधैं सकारात्मक सोच राख्नुपर्छ भन्दै सकारात्मक सोचले जीवनमा सुनौलो बिहानी आउने विचार आफ्नो कवितामार्फत प्रस्तुत गर्नुभयो ।

‘रङ्गीचङ्गी फूलहरु मलाई मनपर्छ
यसले घर वरिपरी मिठो बास्ना छर्छ
डालीडाली चाहारेर भवँराले नाच्दा
डाह गर्दै पुतली नि वरवर सर्छ’

आफ्नो दमदार प्रस्तुतिको कारण सहभागी मध्यकै सबैभन्दा सानी अनुसूया खनाल सबैको आकर्षणको केन्द्र बन्‍नु भएको थियो । उनले आफ्नो सिर्जनामार्फत् फूल, भँवरा र पुतलीको काम र महत्व मात्र नभएर पुन्टी, भुन्टी, काले, गोरे जस्ता मौलिक नामहरु आफूलाई असाध्यै मनपर्ने भाव व्यक्त गर्नु भएको थियो ।
अर्का कवि रिजन रानाले ठूल्दाजूलाई इतिहासको वर्तमान चिठी शीर्षकको कविता सुनाउनु भएको थियो । प्राकृतिक हिसाबले हाम्रो देश विश्‍वकै धनी देश हो तर देश सञ्‍चालनको जिम्मा लिएकाहरुले राम्रोेसँग सञ्‍चालन गर्न सकेनन् जसको फलस्वरुप रोजिरोटीका लागि धेरै युवाहरु मुग्लान भासिएका छन् । मुग्लान भासिएका तिनै परदेशीहरुको कथा र परदेशीहरुलाई पर्खनुको व्यथा उहाँको कवितामा समावेश थियो । कवितामार्फत् परदेशीएकाहरु कमाउन नसके बरु रित्तै फर्कनु तर काठको बाकसमा नफर्कनु उनी आह्वान गर्दै थिए ।
कार्यक्रममा सर्जकहरुले आफ्नो विचार कविता, मुक्तक र गलजमार्फत् प्रस्तुत गरेका थिए । गजलमार्फत् सर्जक सुबास सजलले किसानको गह्रा र फसलप्रतिको प्रेम, आमाको काखको महत्व सँगसँगै हृदयमा हुने प्रेमिकाको नाम प्रस्तुत गर्न भ्याउनु भयो ।
कार्यक्रममा कवि रोश्‍नी चौलागाईँले फरक भावको कविता प्रस्तुत गर्नुभयो । कवितामार्फत् सहकार्यको महत्व दर्शाउँदै मान्छेले पनि चराहरुबाट सहकार्यको अनुसरण गर्न जरुरी छ भन्ने भाव उहाँको कवितामा थियो ।
कार्यक्रममा अनुजपुस्ता र अग्रजपुस्ताका गरेर ३४ जना सर्जकहरुले आफ्नो सिर्जना सुनाएका थिए । देशकै स्थापित कविहरुको समेत उपस्थिति र सिर्जना वाचन भएको कार्यक्रममा कार्यक्रमको अन्त्यसम्म पनि हल भरिभराउ थियो । लगभग तीन घण्टासम्म चलेको कार्यक्रममा बैकुण्ठ लामिछाने, ठाकुरराम भण्डारी, दिनेश शर्मा, कमल नेपाल, विष्णु न्यौपाने, पुण्यशीला श्रेष्ठ, ऋषि केबी, सानुभाइ विश्वकर्मा, लक्ष्मी कँडेल, ऋषीराम पाण्डे, ओमभक्त भण्डारी, जनार्दन खनाल, स्वतिका बानियाँ, रजनी पौडेल, संप्रस पौडेल, सन्जित श्रेष्ठ, कुबेर पराजुली, ऋत्विक केबी, समर्पण न्यौपाने, किशन पौडेल, सुभासचन्द्र पौडेल, बिर्खे अन्जान, छवि अनित्य, सुवास खनाल, हरिकृष्ण कार्कीले समेत सिर्जना वाचन गर्नुभएको थियो ।
कविता साहित्यको सबैभन्दा पूरानो विधा हो । विश्‍वको सबैजसो भाषामा साहित्यको आरम्भ कविताबाट भएको पाइन्छ । नेपाली कविताको इतिहासलाई हेर्ने हो भने उन्नाइसौं शताब्दीबाट नेपाली भाषमा कविता लेखनको सुरुवात भएको पाइन्छ । नेपाली कविता श्रुति परम्पराबाट सुरु भएको हो । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेसँगै वीरभावका कविताहरु लेखिन थाले । अङ्ग्रेजसँगको  युद्धमा पराजित भएपछि नेपाल सुगौली सन्धी गर्न बाध्य भयो र त्यस समयका कविहरुले जीवनको मूल आधार ईश्वरलाई ठाने र भक्ति भावका कविताहरु लेखिए । राणाकालको सुरुवात भएपछि उनीहरु मोजमस्तीमा डुब्न थाले कविताले पनि उनीहरूकै मनोरञ्जनको अनुशरण गर्न थाल्यो र श्रृङ्गारिक भावका कविताहरु लेखिन थाले ।
वर्तमान समयमा निश्‍चय नै कवितालाई प्रगतिशील विचार धाराले डोर्‍याएको छ भन्दा फरक पर्दैन । कविता लेखनमा भनुँ या सिर्जना लेखनमा तत्कालिन युगीन सामाजिक परिवेश नै प्रमुख कारक तत्व हुने गर्दछ । आज वाचन भएका बहुसङ्ख्यक कविताहरुमा यिनै सामाजिक परिवेश, राजनीतिक अवस्था, आर्थिक अवस्था, लैङि्गक विभेद, जातीय छुवाछुत, वैदेशीक रोजगार र त्यसले पारेको प्रभाव आदि समावेश गरिएका थिए । धेरै कविताहरूले विभिन्न तत्त्वहरुले पारेको प्रभाव मात्र नभएर निकासको बाटो समेत देखाएको थियो ।
अन्त्यमा भन्नैपर्छ सिर्जना गर्दैगर्दा विषयवस्तुको प्रयाप्त ज्ञान हुनुपर्छ । इतिहासको कुरा लेख्दैगर्दा इतिहासका कुराहरु फरक-फरक कोणबाट खोज्‍नुपर्छ । एकाथरीले लेखेको र हामीले पढेको इतिहासका नायक भनिनेहरू खलनायक भएका द‍ृष्टान्तहरू हामीसामू प्रशस्त छन्, हामीले यी सबै कुराहरूलाई देखेनदेखे गर्नुहुँदैन । सिर्जना बौद्धिक वर्गका लागि मात्र नभएर सबैको लागि हो भन्ने विचार गरेर सर्वबोध्य सिर्जना गर्नु युगको आवश्यकता हो ।

कथा : तेस्रो रङ/ उषा शेरचन

उषा शेरचन समकालीन नेपाली साहित्यकी अग्रणी प्रतिभा हुनुहुन्छ । उहाँ कवि, मुक्तककार, गीतकार, कथाकार, उपन्यासकारका साथै प्रेरक व्यक्तित्वका रुपमा स्थापित हुनुभएको छ । पितृसत्तात्मक लैङ्गिक चिन्तनको शरीर राजनीतिलाई भङ्ग गरेर इतिहासलाई वर्तमान समयको सोचमा समाहित गर्न उहाँका कविता सक्षम छन् । बिम्बहरुको शृङ्खलालाई नवीन प्रयोगका साथ अभिव्यञ्जित गर्ने हुँदा उहाँका कविताले भावकको हृदयलाई गहिरोसँग समातेका हुन्छन् । वि. सं. २०१२, नालामुख, पोखरामा जन्मनु भएकी साहित्यकार उषा शेरचन मुलत: काव्यिक विधामा कलम चलाउनु हुन्छ । ओजिला मुक्तकहरुका कारण उहाँलाई मुक्तक साम्राज्ञी पनि भनिन्छ ।
उहाँका प्रकाशित कृतिहरुमा
नजन्मेका आस्थाहरु’ २०४८ (कविता–सङ्ग्रह)
अक्षरहरुका शिविरबाट’ २०५६ (मुक्तक–सङ्ग्रह)
सर्वकालीन पीडा र जागृतिका शङ्खघोष’ २०६३ (कविता–सङ्ग्रह)
तेस्रो रङ्ग’ (कथा सङ्ग्रह) २०७०
आधि’ (उपन्यास ) २०७६, गीतिएलबमहरुमा ‘अभीप्सा’ २०५८,
सञ्चयन’ २०५९, ‘मेरो माटो मेरो गीत’ २०६०, ‘संवेदन’ २०६७,
आकाश छुने रहर’ २०६७ तथा
उहाँका सम्पादित गुञ्जनको वार्षिक मुखपत्र, नारी साहित्यको विधागत इतिहास , कालजयी स्वरहरु (स्वर सम्राट नारायणगोपालका गीतहरुका संकलन), वियोण्ड द फ्रन्टिर्यस (ख्याति प्राप्त महिला स्रष्टाहरुका अंग्रेजिमा अनुवादित कथा संग्रह, डटर अफ दि अर्थल (समकालिन महिला स्रष्टाहरुका अंग्रेजिमा अनुवादित कविता संग्रह), देवकोटा शताब्दी अभिलेख आदि छन् ।

म भित्र मच्चिरहेको द्वन्दको लिङ्गे पिङ्गलाई देख्ने कसले ? म भित्र निरन्तर गईरहेको पहिरोलाई बुझ्ने कसले ? न कसैको सामु देखाउन सक्छु,  न त ब्यक्त नै गर्न सक्छु । म कुन मानसिक अवसाद बाट गुज्रिरहेछु भन्ने आभास बाट बेखवर मेरा परिवारले मेरो विवाहको लागि दबाव दिरहेका छन् र केटीका फोटोहरू हर्नका लागि कर गरिरहेका छन् ।

हुन पनि बिवाह योग्य लक्का जवान छोरा त्यसमाथि पनि हामी राजपुतहरू बिवाहलाई समेत आफ्नो आन वान र शान सम्झिने हाम्रो समुदाय । म हेर्दामा पनि निकै हृयाण्डसम देखिन्छु । त्यसमा पनि धनि बावुको एक्लो छोरा पढाईमा पनि उतिकै तेज । कुनै पनि बावु आमाले आफ्ना छोरीका लागि छान्ने वरको क्राइटेरिया भन्दा धेरै माथि देखिने मेरो व्यक्तित्व । अथवा यसो भनौँ कुनै पनि युवतिले प्राय: सोच्ने सपनाको राजकुमार । टल डार्क हृयाण्डसम माथि पनि सम्पन्न घरको एक्लो वारिस । तर अफसोस बाहिरी रुपमा हेर्दा म जे जस्तो देखिन्छु त्यसको ठिक विपरित छु म भित्रको व्यक्ति जो संग म वाहेक अरु कोही दोस्रो व्यक्ति परिचित छैन । मलाई जन्म दिने मेरी जननी समेत अनभिज्ञ हुनुहुन्छ म भित्रको व्यक्तिसँग भने अरुको त झन के कुरा भो र ?

आज घरमा चहलपहल चर्कै छ । मेरा लागि भनेर ल्याईएका बिवाह योग्य कन्याका एक से एक सुन्दर फोटोहरू छान्नमा जुटिरहनुभएका छन् मेरी दिदीहरू । टेबुल भरी  विस्कुन सुकाए जस्तै गरी फिँजाइएका तस्वीरहरूलाई चामल केलाए झैँ केलाउनमा तल्लीन हुनुहुन्छ दिदीहरू । एक एकको फोटो हेर्दै टिका टिप्पणीका पारा छाडेर हाँस्दै पनि हुनुहुन्छ भने मेरा बुवा र आमा गर्वले छाती चौडा पार्दै छोरीहरूले गरेका टिका टिप्पणीमा हो मा हो मिलाउदै हुनुहुन्छ । तर विचराहरूलाई के थाहा ? मेरो संसार भने नितान्त वेग्लै छ भन्ने कुरा । जति-जति उहाँहरू खुसी हुदै कन्या छान्नमा तल्लिन देख्छु उति उति म झन् भित्र भित्रै पीडाले आहत भएर छटपटिरहन्छु, दु:खको अथाह सागरमा हेलिईरहन्छु । जति प्रयत्न गर्दा पनि उहाँहरूको खुसीमा सामेल हुन असमर्थ पाउँछु आफूलाई । तर उहाँहरूको उत्साह र उमङ्गलाई मत्थर पार्ने सामर्थ्य भने म मा छैन कमसेकम यत्तिखेरलाई भने ।

आखिर ती एक से एक सुन्दर फोटोहरू मध्येवाट मेरा दिदीहरूले हरेक दृष्टिकोणले मेरा लागि मात्र नभई परिवारका लागि समेत योग्य कन्या म बाहेक सबैको सहमतिबाट छानियो । फोटोमा बायोडाटा समेत संलग्न भएकोले हाम्रो स्तरसँग मिल्ने गरी मेरा दिदीहरूले एउटी कन्यालाई फाइनल छनौट गर्दै उनको फोटो मेरो अगाडि तेस्याईदिनुभयो । दिदीहरूका मन राख्नकै लागि मैले पनि मन लागि नलागि हेरे मात्र केहि प्रतिक्रिया भने जनाइनँ । मेरो मौनतालाई मेरो सहमति सम्झेर हो वा बुवा आमालाई मेरो बिवाह हेर्न आतुर हुनु भएर हो । फोटो र बायोडाटा ल्याइदिएको लमीलाई आफुहरूले छानेको कन्यालाई हेर्न जाने समय मिलाई दिन आग्रह मात्र गर्नु भएन कि मिति नै तोकेर ल्याइदिन समेत अनुरोध गर्नुभयो । रातभर पटक्कै निदाउन सकिनँ । छट्पटिका लहरहरू बार-बार उर्लिरहृयो । सिंगो रात आँखा झिमक्कै नगरिकनै काटेँ । मानौँ, रात होईन सिंङ्गो युग नै काटे झै आभास भयो ।

लमिले कन्या हेर्न जाने मिति र समय तोकि दिनु भएदेखि बुवा आमाको भूँइमै खुट्टा छैन । फुरफुर भएर सिमलको भुवा झैँ खुसिले उडिरहनु भएको छ । आफुहरूले सोचे जस्तै घरान र आफ्नै स्तर सुहाउदो पढेलेखेको सुशील मात्र नभई अति सुन्दर कन्यालाई आफ्नो छोराको लागि हेर्न जाने सपना बुन्दैमा व्यस्त हुनुहुन्छ । अझ बुवा आमा भन्दापनि हजारौ गुणा बढि उत्सुक त मेरा तीन जना दिदीहरू देखिनुहुन्छ नदेखुन् पनि किन ? तिन तिन जना दिदीहरूका एक्लो भाई जो परेँ ।

म भने रातभर आफैं भित्र मच्चिरहने युद्धले पराजित भएर थकित छु । मेरो शरिर बाट प्राणै फुस्केला झै गरी गलित छु । घायल मनका पिडाहरू कहाँ गई पोखुँ म ? ठिक त्यो बलि दिन तयार पारेको बोकाको जस्तो मनस्थिति भएको छ मेरो । यी सबै कुराबाट बेखवर मेरा परिवारजनहरू मेरो लागि सोचे जस्तै कन्याँ भेटिएकोले बुहारी भित्र्याउँने कल्पना मात्रले पनि रोमाञ्चित हुनुहुन्छ ।

आफ्नो छोरालाई देखेर केटी पक्षहरूबाट केहि टिका टिप्पणी गर्ने अवसर नै नपाओस् भन्ने सोच राख्नु भएरै होला, आमाले दिदीहरूलाई मेरो तयारीमा विशेष ध्यान पुर्याउन निर्देशन दिदै हुनुहुन्छ ।

मेरा दिदीहरू पनि कँहा कम हुनुहुन्छ र ? उहाँहरू पनि एक से एक दामी साडी र गहनाले लादिएर आउनुभएको छ । मानौँ, उहाँहरू मेरा लागि कन्या हेर्न जानका लागि नभई आफै कन्या भएर प्रस्तुत हुने झैँ गरी खुव ठाँटिएर आउनु भएको मात्र नभएर मेरा लागि समेत हाम्रो हैसियत झल्काउने गरी डिजाइनर सेरवानी र त्यसमा म्याचिङ्ग जुत्ता समेत लिएर आउनु भएको रहेछ । मेरा तिनै जना भेनाजुहरू पनि एक से एक घरानियाँ र सम्पन्न हुँदा कोही भन्दा कोही कम हुनुहुन्न नै । दिदीहरूको ठाँटबाट र पहिरन हेर्दा आ-आफ्नो हैसियतलाई प्रदर्शन गरिरहनु भए झैँ देखिनु भएको छ । घरको वातावरण हर्ष र उल्लासको फागुने रंगमा रंगिएको छ तर म भने न त त्यो रंगमा नै रंगीन सकेको छु, न त उहाँहरूले देखिरहनु भएको मिठो सपनालाई तोड्न नै सक्ने अवस्थामा छु, न त कन्यालाई हेर्न जाने मुडमा नै छु ।

बुवाले ढिलो हुन लागेको सुचना प्रवाह गर्न नपाउदै आमाले मेरो पक्षमा वकालत गर्दै हुनुहुन्छ केटी हेर्न जाने कुरा हो,  तयार हुन केही समय त लागि हाल्छ नी । हजुर पनि कस्तो हत्तारिनु भएको भन्या । सबै दिदीहरू मिलेर भाइलाई तयार पार्दैछन् । म लाचार कठपुतली बनेर दिदीहरूको चाहना अनुरुप आफुलाई सजाइरहेको छु । तर म आफू भने प्राणै नभएको प्लाष्टिकको म्यानीक्वीन जस्तो भएको छु । शरीरका तापक्रमहरू झन् झन् तल तल झर्दै चिसिएर हिउँको ढिक्कामा अनुदित भएर गईरहेको छु ।

आमा त मेरी जननी हुन्, मलाई साह्रै साह्रै माया गर्नुहुन्छ नगरुन् पनि किन ? तिन तिनजना छोरी जन्मेपछि बल्ल बल्ल जन्मेको छोरा म । हाम्रो समाजमा छोराको महत्व कति हुन्छ भन्ने कुराको ज्ञान मेरी आमालाई भन्दा बढि अरु कस्लाई होला ? मेरी आमाले छोरी छोरी जन्माउनु भए पछि सुन्न परेका कटाक्षका तीखावाणहरूले कति कति पटक घायल हुनुभएको र छोरालाई जन्म नदिए सम्म भोग्न परेका अपार पीडाहरूबाट आफू पटक पटक आहत भएको ब्यथाहरू आमाकै मुखारविन्दबाट धेरै धेरै पटक सुन्दै आएको छु । तर छोरीछोरी जन्मे पनि बुवाबाट पाएको माया र सान्त्वनाले गर्दा मात्रै आफूलाई सम्हाल्न सकेको कुरा पनि आमाले बारम्बार भनिरहनु हुन्छ । अझै पनि बुवा र आमा बीच आपसी माया प्रेम एक अर्काप्रतिको विश्वास र समझदारी कायमै छ । एकले अर्कालाई अतिनै मान सम्मान दिने गर्नु हुन्छ । म भने बुवा भन्दा आमाकै नजिक छु । आमाले मलाई प्राण भन्दा प्यारो गर्ने हुदाँ मनको कुनै कुनामा झिनो आशाका किरणहरू प्रस्फुटन भइरहन्छ, विश्वासको मुनाहरू पलाइरहन्छ र फेरि छिनमै पानीका फोकाहरू जस्तै विलाएर पनि जान्छ ।

म के गरौँ ? कसो गरौँ ? कस्लाई भनुँ मेरा मनका कुराहरू, बुवालाई भन्ने त कल्पना समेत गर्न सक्दिन म । दिदीहरूलाई भनुँ भने पनि उहाँहरूले मप्रति देखिरहनु भएको सपनालाई ऐनाझैँ भुँइमा खसालेर चकनाचुर पारिदिन पनि सकिरहेको छैन । हे  भगवान मलाई यो कस्तो मोडमा ल्याएर यस्तरी पछारी दियौ उठ्नै नसक्ने गरी ।

सगुनका सामान सहित सवै जाने तरखर गर्दै भर्याङ्ग ओर्लदै हुनुहुन्छ । मेरो मन भने प्रफुल्लित हुनुको साटो झन झन उदासीको खाडलमा जाँदो छ । मन साह्रै साह्रै उदाश उदाश र हतास हतास हुदो छ । मझधारमा फसेको डुङ्गा झैँ ढलपल ढलपल गर्दो छ । म दिदीहरूको निर्देशनलाई अक्षरस पालना गर्दै पाइला अघि चाल्दैछु र मन मनै सोच्दैछु कन्या हेर्न जाने कार्यक्रममा त दिदीहरू यति विध्न उत्साहित हुनुहुन्छ भने विवाहको दिन भएकोभए झन के के पो गर्नु हुन्थ्यो होला ?

सानो सानो जन्ती जस्तै देखिने गरी हाम्रो कारहरू लामबद्व रुपमा मेरै छाती चिरे जस्तै गरी सडकको छाती चिर्दै गुड्न थाल्यो । जति जति कन्याको घरको दुरी नजिकिदै छ, उति उति मेरो मनको दुरी भने झन झन बढ्दो छ । कन्या पक्षको घर के भनौ ? महलै भने पनि भो, दुलहि झैँ सिंगारिएको । हाम्रो स्वागतार्थ घरका सबै बुजु्रकहरू ढोकामै लामबद्व भएर उभिरहनु भएका । सबैले दुवै हात जोडेर नमस्कार गर्दै हामीलाई भित्र आशन ग्रहणका लागि लगिंदैछ । म आफ्नो गरुङ्गो पाईलालाई सकेसम्म हलुको पार्ने प्रयत्नमा लागिरहेको छु ।

म भित्र उठिरहेको पीडाको शुल कम से कम मेरो अनुहारमा नछल्कियोस भन्ने सोचाइवाट पनि अमुक्त छैन म । भव्य महलको भव्य सजावटले आफ्नो भव्यता दर्शाईरहेको छ । त्यसमाथि पाहुनाको स्वागतमा कुनै कसर नछाड्ने प्रण गरेझैँ देखिन्छन् घरका सवै सदस्यहरू । हामीलाई बडो आत्मियता पूर्वक आथित्य सत्कार गर्दै बैठक कोठाको सोफामा बसाउनु भयो । लमीज्यूले एक अर्काका परिवारसँग एक एक गर्दै परिचयको आदान प्रदान गरायो ।

आफूहरूले खोजे जस्तै र सोचे जस्तै वर पाउन सकेकोमा प्रसन्नता व्यक्त गरे कन्या पक्षले । र साथै आफ्नो कन्या पनि कुनै पनि अर्थमा कोहि भन्दा कम नभएको कुरा अवगत गराउन पनि चुकेनन् उहाँहरूले । तर मेरो ध्यान भने जति नै प्रयत्न गर्दा पनि त्यतातिर मोडिनै सकेको छैन । आफ्नै उलझनको माकुरे जालोमा अल्झेरै बसेको छु ।

पर क्षितिजबाट पूर्णचन्द्र विस्तार विस्तार धर्तिमा ओर्ले जस्तै गरी आफन्तको सहारा लिएर पर भर्याङ्गवाट एउटी परी ओर्लर्दै छिन् । कुनै दन्त्यकथाको राजकुमारी झैँ देखिने उनको रुप लावन्यले मन लोभिनुको साटो झन् झन् विकर्षण तिर भाग्दो छ । मेरा सवै परिवारहरू फोटोमा देखेको कन्या भन्दा हजार गुणा राम्री साक्षात् अप्सरालाई देखेर आँखा पनि झिमिक्क नपारिकनै हेरिरहनु भएकोछ । धपक्क बलेकी सुन्दर परी विस्तार विस्तार आफू सामु पाइला बढाउदै गरेको देखेर मख्खै परेको भान सवैको अनुहारबाट झल्किरहेको प्रष्टै देखिन्छ ।

म भने कसरि आफ्ना कुरा उनी समक्ष राख्ने होला । उनले के सोच्ने होली ? भनुँ के भनुँ-नभनु कसरी नभनु – उनको सुन्दर मुहार जस्तै उनको सुन्दर भविष्यसँग खेलवाड गरेर अन्धकार कुवा भित्र धकेलिदिनु पनि त महापाप हो भन्दै छ एक मनले । उनको पाइला जसरी बढ्दो छ हामीतिर उति उति निराशाको कालो वादलले मेरो अनुहारलाई ढाक्न खोज्दैछ । जति उज्यालो बनाउछु भनेर सोच्छु, उति उति झन् तुवाँलाले ढाके जस्तै गरी मेरो अनुहारको रंग मलिन भएर जाँदो छ । परिचयको आदानप्रदानको क्रमभरी उनले आफ्नो मृदुमुस्कानको जादु छर्दै वातावरणलाई नै धपक्क बालिरहिन् । मेरो अनुहार भने बल्नुको साटो झन् झन् निभ्दै गइरहेको छ । चार्ज सकिन लागेको लाइट झैँ गरी । उनले मेरो अँध्यारो अनुहारलाई पुलुक्क हेरिन र चुपचाप उभिरहीन ।

हामी दुईले एकअर्कालाई अझ राम्ररी चिनुन् र वुझुन् भन्ने सोच राख्नुभएर होला हामी दुवैका परिवारका सदस्यहरूले हामी दुवैलाई एकान्तमा कुरा गर्ने अबसर दिनुभयो । बल्ल तल्ल जेलवाट मुक्त हुन पाएको कैदी झैँ त्यहाबाट उम्केर भाग्न पाएकोमा एकैछिन भएपनि सन्तोषको सास फेरेँ । छिनभरमै कन्याको कोठामा पुग्नु पर्दा भने एउटा कैद खानाबाट मुक्त हुन नपाउँदै अर्को कैद खानामा पुगेझैँ अनुभूति भईरहेको छ ।

म चुपचाप जड बनेर उनको कोठा भित्र उभिरहेको छु । बोल्ने कुनै शब्द नै नभेटेर मूर्तिवत् बस्नु बाहेक अर्को बिकल्प देखिन पनि मैले । धन्न कन्या सुन्दरी मात्र होईन, फरासिली पनि रहिछन् र पो त लज्जाको घुम्टोहरू आफैले उघारिन् र भनिन् यता बस्नुहोस न सजिलो गरेर ! उनले देखाएको स्थानमा चुपचाप बसिदिएँ । हजुरको मुहार साह्रै मलिन देख्छु । मलाई देखेर खुसी हुनुको साटो झन् बढि दुखी हुनु भए झैँ देख्छु नि ? सञ्चो हुनु हुन्न कि कसो र ? वा त्यस्तो कुनै खाश कारण छ कि ? प्रत्युत्तरमा म के भनौ ? जस्तो भएर फेरि पनि चुपै बसे ।

साँच्चै त्यस्तो केहि खास कारण छ भने मलाई भन्नुहोस् । अझै पनि केहि बिग्रेको छैन । तपाई मलाई अस्वीकार गर्न स्वतन्त्र हुनुहुन्छ । यति भनेपछि भने वल्ल मुख खोल्ने साहस पलायो ममा । मैले भने मेरा परिवारका सवै सदस्यहरू तपाँइलाई देखेर दङ्ग हुनुहुन्छ । साँच्चै पनि तपाइँ कुनै परी भन्दा कम सुन्दर हुनुहुन्न, मेरो दुर्भाग्य नै भनौ अव म तपाँइलाई स्वीकार्न अर्समर्थ छु । तपाँइको सुन्दर भविष्यलाई अन्धकारको टनेलभित्र धकेल्न चाहन्न म । तपाँइ मभन्दा हजार गुणा वढि योग्य बरको लागि योग्य कन्या हुनुहुन्छ । मैले तपाईलाई होइन बरु तपाईले नै मलाई अस्वीकार गरिदिनु भएर यो बन्धन बाँधिनबाट मुक्ति दिनुहोस् । यसको कुनै ठोस कारण जान्न सक्छु होला मैल ? आश्चर्य मिस्रित स्वरमा प्रश्न पुन: दोहोर्याइन् ।

—–

मैले विनम्रता पूर्वक निवेदन गरेँ, मेरा एउटा असाध्यै मिल्ने साथी छ । जस्लाई म सर्वाधिक माया गर्छु, उ बिना वाँच्ने कल्पना समेत गर्न सक्दिनँ म । मेरा परिवारका सदस्यहरू भने यस कुराबाट अनभिज्ञ हुनुहुन्छ । मैले मेरो परिवारसँग यी कुराहरू राख्न अर्समर्थ भएर नै तपाँइको साहारा खोजेको । तपाँइ पनि आफ्नो भविष्यलाई अन्धकारतिर नधकेलेर उज्यालोतिर लम्किनुहोस् । तपाईलाई मैले यसो भनेर तपाईको भावनामाथि खेलवाड गर्न र तपाईको मनमा चोट पुर्याउन खोजेको भने अवस्य होइन । कृपया यति मात्रै बुझि दिनुहोस् कि तपाईजस्तो बत्तिश लक्षिणले युक्त अप्सरा म जस्ताका लागि भने कदापि वनेको हुदै होईन । तपाईको लागि म हर दृष्टिकोणबाट अयोग्य छु । त्यसैले मलाई अस्वीकार गर्नुहोस् भनेर अनुरोध गर्दैछु ।

केटी पनि छक्क परेरै सोच्न थालिन्, होइन यो कस्तो खालको लोग्ने मान्छे रहेछ ? मजस्तो केटीलाई देखेर मनभित्र खुशीको हजार दियो बाल्नुको साटो उल्टै अस्वीकार गर्दैछ । कलेजतिर मेरो एक झलक पाउनको लागि होडै लागेर मरिहत्ते गर्छन् । कस्ता कस्ता मै हुँ भन्नेहरू समेत । मैले कुनै केटाहरूलाई भाउ नै नदिए पनि बत्तिमा पुतलि झुम्मिए जस्तै गरि झुम्मिन आँउछन् मेरो वरिपरि मेरो प्रेममा शहिद हुन । तर आज त्यसको ठिक बिपरित मेरो परिवारले पनि चाहेको र मैले पनि सहमति दिएको व्यक्तिको प्रेममा म शहिद हुन चाहेको व्यक्तिले भने मलाई नै अस्वीकार गर्दैछ । यहाँ त बिल्कुलै उल्टो गंगा बगिरहेको छ । त्यस्तो कुन चाहि युवतीले यिनको मन हरेको होला त ? मजस्तोलाई पनि अस्विकार गर्न बाध्य बनाउने,  सायद अर्न्तजातिय भएकोले पो हो कि र ? परिवारलाई भन्न नसकेर नै मेरो सहारा लिन चाहेको ? आदी इत्यादी कन्याको मनमा प्रश्नको ओईरै लागि रहयो ।

हामी दुईबीच एकान्तको क्षण हाम्रो परिवारले निर्धारण गर्नु भएको समयभन्दा बढि घर्केछ क्यार । मेरा माइली दिदी हाँस्दै कन्याको कोठाभित्र आउनु भएर हामी दुबैलाई तल हाम्रो परिवारले बोलाउनु भएको सुचना मात्र दिनु भएन कि साथै लगेर पनि जानु भयो ।

मैले आफ्नो निर्णय सुनाउने हिम्मत गर्न सकिनँ । मेरो परिवारले पनि मेरो रायसुझाब लिन आवश्यक ठान्नु भएन, दुवैको परिवारको अनुहार भरी प्रशन्नताको लहरहरू उर्लिरहेको थियो । मैले सबैको आँखा छलेर सुटुक्क कन्यालाई हेर्दै अनुनय गरे, अघिको कुरालाई सार्वजनिकिकरण गरिदिनका लागि तर किन हो कुन्नी उनि जड बनेर निहुरी रहिन् केहि बोल्दै नबोली ।

हाम्रो लागि पुरै खानपानको व्यवस्था मात्र नभएर खुसियालिको यो क्षण मुख मिठो गर्ने भन्दै गनिनसक्नु मिठाइका परिकारहरू हाम्रो सामु ल्याइरहेका छन् र मेरा बुवाआमा, दिदी र भेनाजुहरू पनि हर्षे गदगद हुदै आफुहरूलाई मन पर्ने मिठाईले मुख मिठो पार्दै हुनुहुन्छ । तर मलाई भने मिठाईहरू मिठाई नभएर बिषमा अनुदित भए झैँ पो लागि रहेछ । निकै बेरसम्म खानपानको कार्यक्रम जारी रह्यो ।

अव हामी खानपान सकेर बिदावारी भएर जाने क्रममा छौँ । दिदीहरू आ-आफ्नो कारमा श्रीमान् को साथमा जानुको साटो मेरो साथमा जाने भन्दै मेरै कारभित्र पस्नु भयो । म जति जति यी सब कुराहरूबाट भाग्न खोज्छु उति उति मेरै फेरो समातेर मेरै पछि पछि लागिरहेको छ । बल्ल बल्ल उम्किए भनेर सोच्न समेत नपाउदै फेरि दिदीहरू मेरै पछि पछि लागिरहनु भएको छ । दिदीहरूलाई पनि के चाहियो अव मलाई जिस्काउने मात्र गर्नु भएन कि कन्याको रुप रंग आदि इत्यादी बारे तारिफको पुल नै बँधिरहनु भएको छ । अनि बिवाहमा साडीले मात्र नपुग्ने रे, साडीको रंग म्याँचिङ हुने गहनासमेत चाहिने माग राख्दै हुनुहुन्छ । हुन त मेरो दिदीहरूलाई यी सव कुराको कमी त छैन नै तर भाईको बिवाहमा माईतिबाट पाउने उपहारको मूल्य बेग्लै हुन्छ चेलीहरूलाई । विचरा दिदीहरू खाली पुलाउ पकाउदै हुनुहुन्छ । मेरो बिवाहको तयारी कसरी गर्ने ? के के गर्ने ? क-कस्लाई निम्त्याउने आदि आदि ।

हामी घर पुग्नु अगावै बुवा आमा र भेनाजुहरू घर पुग्नु भए पनि बिवाह बारे नै चर्चा परिचर्चा गरिहनु भएको रहेछ । दुलाहालाई बाहेक सवैलाई बिवाहको रंग चढिसकेको छ । मेरो आमा भनेजस्तै बुहारी भिर्याउन पाउने कल्पना मात्रैले पनि त्यसै त्यसै प्रफुल्लीत देखिनु हुन्छ । त्यस्तो रहरमा जन्मिएको एक्लो छोराको विवाहमा कुनै कसर बाँकी नरहोस् भनेर मनमनै दृढ संकल्पित जस्तै देखिनु हुन्छ । बुबाको त झन् के कुरा आफ्नो साह्रै प्रिय श्रीमतीवाट छोरी छोरी जन्मिएकोले त्यहि निहुँमा आमा बुबा र आफन्त सवै मिलेर कतै दोस्रो विवाह गर्न बाध्य पार्ने त होईन भन्ने आशंकाले घेरिरहेको बेला, भित्र भित्रै पिडाले छटपटिरहेको बेला मलहम भएर जन्मेको छोराको विवाहमा के कमी हुन दिनुहुन्छ होला त – बुबा त झन् अर्थसँग आफ्नो हैसियत साट्ने तरखरमा तम्सीनु भएझैँ देखिनुहुन्छ ।

कठै ! मेरा बुवा आमा र दिदीहरूको यो सुन्दर सपना, सपना मात्रै हुने, उहाँहरूको कल्पना पलभरमै चकनाचुर हुने सोचबाट म भित्र भित्रै धमिराले खाएको खोक्रो रुख समान भईरहेको छु । ओहो ! म भित्रको घाउ पाकेर फुट्न मात्र बाँकी छ । म के गरु आफैसँग विवश छु ? लाचार छु । म यस्तो हुनु मेरो रहर पनि त होईन सायद बाध्यता या फेरि मेरो नियति । दिग्भ्रमित छु आफै ।

रात रात भर सोचेरै काटें आज पनि । मन वेचैन छ कसरी पोखुँ – मनभित्रको यो व्यथा । यसरि सवैलाई कुहिरोको काग बनाएर बस्नु भन्दा खुल्नुमा नै सबैको भलाई देखें । आखिर एक न एक दिन त यो पर्दा उठ्नु नै छ । जति ढिलो गर्यो उति झन् झन् उलझन मात्र बढ्ने सोचेर कन्याको घरको फोनमा नम्वर घुमाएँ ।

हेल्लो ! कस्लाई खोज्नु भएको होला ? उताबाट उहि कन्याको सुमधुर स्वर गुन्जियो ए ! मैले पनि तपाईलाई नै खोजेको । म फलाना बोलेको भन्दै आफ्नो परिचय दिए । आज पनि मैले तपाईकै बारेमा सोचेर रात विताए । तपाईको परिवारको बारेमा मेरो परिवारको बारेमा र हामी दुवै जनाको भविष्यको बारेमा ।

हजुर हजुर म सुँदैछु । भन्नुहोस् न त के के सोच्नुभयो ? मेरो आमासँग म असाध्यै निकट भएर पनि खुल्नै सकिनँ । अरुले मेरो समस्या नबुझे पनि आमाले त अवश्य बुझनुहुन्छ होला भन्ने बिचारमा हुदाँ हुदैं पनि मैले भन्ने साहस जुटाउन सकिनँ र तपाईलाई फोन गरेको । मेरो मात्रै जीवनको सवाल भए कुरा बेग्लै हुने थियो,  तर अब मेरो जीवनसँग तपाईको भविष्य पनि जोडिन लागे पछि तपाईको भविष्यलाई बर्वाद गर्न मेरो आत्माले नदिएकै कारण मैले तपाईको सहारा लिन चाहेको । तपाईलाई मैले त्यसै दिन अस्वीकार गर्न आग्रह गरेको थिए । तर किन हो कुन्नी ? तपाई चुपचाप बसिदिनु भयो, त्यसदिन ।

के कारणले गर्दा होला ? तपाईले मसँग यो सम्बन्धलाई अस्वीकार गर्न आग्रह गर्नु भएको भन्नुहोस् न त म पनि मेरो परिवारलाई सम्झाउने प्रयत्न गरौंला । म असमञ्जसमा परे कसरी भन्ने होला भनेर । उनले के सोचेर हो भन्न थालीन्, भन्नुहोस् न त कुन केटी हो ? कस्की छोरी हुन् ? कहाँ कि हुन ? कहाँ बस्छिन् ? जस्ले गर्दा तपाईले हाम्रो सम्वन्ध जोड्न पर्वनै भत्काउन चाहदै हुनुहुन्छ ? प्रश्नको ओइरो नै बर्षाइन् उनले ममाथि ।

मैले भने बडो धैर्य पूर्वक सुन्न सक्नुपर्छ । कुरो अर्कै छ, जुन कुरालाई तपाईले पचाउन नसक्नु भएर मलाई घृणा समेत गर्न सक्नुहुन्छ होला सायद । घृणा गर्दैमा सत्य लुकाएर लुक्ने पनि होईन एक न एक दिन उदघाटित भइ नै हाल्छ । यो धर्तिमा जन्मेर जे-जे नियति भोग्न अभिशप्त हुन्छौ, हामी त्यो न त हाम्रो हातमा नै हुन्छ । न त जन्म दिने बुवा आमाकै हातमा हुन्छ, हुन सक्छ भने केवल त्यो सृष्टिकर्ताको मात्र । अधैर्य हुदै भनिन्- उनले ओहो ! भुमिका मात्रै धेरै नबाँधेर खुलस्तै बताईदिनुहोस् न कुन केटीको लागी तपाईले मलाई अस्वीकार गर्न खोज्नु भएको ?

प्रत्युत्तरमा मैले भने केटी होइन केटा हो । हँ ! अविश्वाश र आश्चर्य मिश्रीत स्वर गुन्जियो के’रे ? केटी नभएर केटा पो हो रे ? मैले गलत सुने कि क्याहो ? हैन हैन यँहाले सहि नै सुन्नु भएको हो ! हो मेरो केटी साथी नभएर केटा नै साथी हो जो बिना म आफुलाई अपुरो र अधुरो संझन्छु । उ बिना म बाँच्नै सक्दिन ! अथवा यसो भनौ हामी दुवै एक अर्का विना बाँच्ने कल्पना सम्म पनि गर्न सक्दैनौ । त्यसैले त मैले आग्रह गर्दैछु यो विवाहलाई तँपाई अस्वीकार गर्नुहोस् भनेर ।

कन्या पक्षबाट बिवाह अस्वीकार भएको खवरले हाम्रो परिवारभित्र ठूलै भूँइचालो जानु स्वाभविकै भयो । भित्रि कारण खोतल्दै जाँदा मेरो परिवार लज्जावोधले पानी पानी हुनु पनि अस्वाभाविक भएन । मेरो परिवारको प्रतिष्ठा मैं आँच नआउने त झन् सवालै भएन । यो कुराको चाल पाए पछि आफ्नै घरबाट अस्वीकृत भए म । बुवाको प्रतिष्ठाको अगाडी आमाले समेत घुँडा टेकि दिनु भयो र आफ्नो ममताको समेत गला रेटिदिनु भयो । चुपचाप बुवाको आदेश पालना गर्नु बाहेक अर्को बिकल्प रहेन मसँग । खुट्टामा बाँधेर राखेको बस्तु झैँ लाचार हुदाँ समेत मलाई जन्म दिने मेरी जननी जस्ले मलाई यो उमेरसम्म आफ्ना ममताको आँचलभित्र लुकाई रहिन् , मेरो खुसीमा म भन्दा बढि खुसी भईदिने, मेरो दुखमा मभन्दा बढि दुखी भइदिने मेरो आमाको मनबाट भने म कदापी अस्विकृत हुने छैन भन्ने मेरो विश्वासको सगरमाथा त्यति बेला गर्लम्मै ढल्यो, जुन बेला बुवाले मलाई घरबाट तुरन्तै निस्कने आदेश दिइरहदा समेत मेरी आमा केही नबोली चुपचाप उभिरहनु भयो ।

यसरी मैले गर्दै नगरेको गल्तीको सजाए भोग्न अभिशप्त भएँ म । के म यस्तो भएर जन्मनु मेरै भुल हो त ? मेरै गल्ति हो त ? यो मेरो तेस्रो रंग मेरो कमजोरी नभएर मेरो परिचय हो, मेरो पहिचान हो भन्ने प्राकृतिक वास्तविकतालाई स्विकार्नुको साटो उल्टै उहाँहरूको आँखाको नानी म, आँखाको नानी नभएर आँखामा बिझाउने कसिङ्गर झैँ भए । आफूलाई जन्मदिने बावु आमाको मायाँ ममतामा समेत भेदभाव सहन बाध्य भए म । आफ्नो नैर्सर्गिक अधिकार बाटसमेत बञ्चित भएँ म ।

अहिले म मेरो शहरदेखि टाढा धेरै टाढा मेरो परिवार,  मेरो आफन्त र मेरो समाजको मुखै नदेख्ने ठाँउमा गुमनाम जिन्दगीको छाता ओढेर मेरो ब्वाईफ्रेण्ड अर्थात मेरो त्यही केटा साथीसँग जीवन यापन गर्दैछु । हाम्रो छुट्टै संसारभित्र हामी एकदमै खुसी छौँ, सुखी पनि छौँ । र पनि घर परिवार बिशेष गरी आमाको यादले भने कता कता मनभित्र विझाईरहन्छ । अदृश्य काँडाले हो वा केले केले ?

हुनसक्छ अरुको निम्ति म अँध्यारो टनेलभित्र अनन्त अन्धकारमा रुमल्ली रहेको हुँला तर मेरो अनुभूतिका निजत्वमा असंख्य असंख्य जूनकिरीहरू जगमगाइरहेका छन् । सायद अरुका निम्ति यो अनुभूति प्राप्त गर्नु पनि असम्भव सिवाय केही नहुन सक्छ ।

कविता: गाउँकाे घर

घर हुनलाई
घरमा हजुरबा आमा
उनीहरुका काखमा खेल्ने नातिनातिना र
तिनीहरूका बा आमा हुनुपर्छ

घर हुनलाई, घर अगाडि
तुलसीकाे मठ र सँगै जाेडिएकाे
सानाे बगैँचा र त्यहाँ
फुलेका केही रङ्गीचङ्गी
फूलहरू हुनुपर्छ

घर हुनलाई, घर पछाडि
सानाे गाेठ र
गाेठामा पाडाे,पाडी वा
बाच्छाे बाच्छी सहितकाे
तिनीहरुकाे माऊ हुनुपर्छ

घर हुनलाई
अलिकति जमिन र
त्यहा झुलेका मकै,
तीलका बाेट
फल्दै गरेका केही आँप र
बेलाैतीका रूखहरू
बाेटमै पाकेका केही मेवा
कागती र आफै उम्रेर फलेका
गाेलभेँडाका झ्याङहरू हुनुपर्छ

यी सब भएरमात्र
घर, घर हुदैन
घर, घर हुनत
त्यहाँ बस्नेकाे
पवित्र मन
पनि हुनुपर्छ

याे त सब
गाउँकाे घरकाे कल्पना भाे
साच्चै सहरकाे घर
कस्ताे हुन्छ ह ?

गणेश श्रमण, चितवन
गणेश श्रमणकाे ‘आगो लिएर गाउँगाउँमा’
कविता सङ्‌ग्रहबाट

कविता: विकास

विकास
दशकौँपछि
तिलस्मी सपना बोकेर
बुल डोजर लिएर
गाउँ पस्यो
र,
ढालिदियो
हजुरबुबाले आस्थाले रोपेको
बाटो छेउको वरपिपलको चौतारी ।

पुरिदियो
बाजे, बराजुहरूको पसिनाको बुँदले भरिएको
काकाकुल गाउँको साझा इनार ।

भत्काइदियो
एउटा बलियो विश्वासको
जगमा उभिएको
पुस्तैनी किलो
बाटो छेउको बाटुले घर ।

उखेलिदियो
कला, सभ्यता र सम्पदाका धरोहर
पार्टी ,पौवा र सतल ।

विकास
दशकौँपछि गाउँ पस्यो

रोपिदियो
एउटा कलहको बिउ
थोपरिदियो मुआब्जाको लालच
र देखायो समृद्धिका सपनाहरू ।

आजकल देखिदैन
हरिया खेत र खलियानहरू
हराउँदै गए
सिमसार र बुट्यानहरू
कङ्क्रिटका जङ्गलहरूले
भरिएका छन् फाँटहरू

बढेको छ जग्गाको भाउ
खस्केको छ मान्छेको भाउ
फराकिला भएका छन् बाटाहरू
साँगुरिँदै गएका छन् मनहरू
फैलिएका छन् गोरेटाहरू
खुम्चिएका छन् सम्बन्धहरू

सम्पन्नताले उँचाइ छुँदै जाँदा
खस्किँदै गएका छन्
संवेदनाहरू
मेटिएको छ पहिचान
हराएको छ मानवता

हो, वास्तवमै
विकास आएपछि
सुरु भएको छ
प्रकृतिको विनाश ।

किशन पौडेल, हेटौंडा-४
(पर्या-कविता प्रतियोगितामा दोस्रो पुरस्कार प्राप्त )

पहिलो नेपाली गायिका मेलवादेवी, नेपालबाट लखेटिँदै भारतमा गुमनाम भई स्टोभ पड्किएर मृत्यु

वि.सं. १९८५ अर्थात् आजभन्दा ९५ वर्षअघि आफ्नै शब्द, सङ्‍गीत र स्वरमा रहेको ‘सवारी मेरो रेलैमा’ निकै चर्चित गीत मेलवादेवी गुरूङ (वास्तविक नाम सुनमाया लामिछाने गुरूङ) ले गाउनु भएको हो । मेलवादेवी क्यासेटमा नेपाली गीत रेकर्ड गर्ने पहिलो नेपाली गायिका हुनुहुन्थ्यो जसलाई दरबारमा चन्द्र शमशेरको प्रिय गायिकाका रूपमा चिनिन्छ ।
यो गीत कलकत्ताको हिज मास्टर रेकर्डिङ स्टुडियोबाट रेकर्ड गराउनु भएको मेलवादेवी ओखलढुङ्गाको रुम्जाटार काफलबोटे (*चण्डीगाउँ) मा मामाघरमा जन्मिनु भएको र उहाँको पुर्ख्यौली घर भने गोरखामा (हालको बारपाक) रहेको थियो । तथापि यसबारे फरक फरक जानकारीहरू पाइन्छन् । जामुने सुब्दार (ज्ञानबहादुर लामिछाने गुरूङ) र सप्तदेवी गुरूङका कोखबाट १९५९ (कतै कतै १९५४ र अन्य मिति रहेको) मा जन्मिनु भएको उहाँ टेकु, काठमाण्डौँ बस्नुहुन्थ्यो । ७ वर्षमैँ दरबारमा आफ्ना बाबुले चिनाएपछि आमासहित दरबार प्रवेश गर्नु भएका उहाँले देशी, विदेशीहरूलाई आफ्ना स्वरमा मग्न गराउने गरेको इतिहासमा पढ्न पाइन्छ ।
यसैक्रममा मदनमणि दिक्षितले लेख्नुभएको छः पहिलो भेटमा मेलवादेवीबाट ज्यादै प्रभावित भएपछि दरबारमैँ सङ्‍गीत प्रशिक्षक बनाएर ‘मेलवानानी’ नाम दिएर छिटको धोती उपहार दिँदै दुई दिनमा एक मोहर पाइनेगरी उनलाई नियुक्ति गरिएको थियो । त्यसो त चन्द्र शमशेरले शिकारका क्रममा मेलवादेवीलाई लिएर जाने गरेको र मेलवादेवीले गीत गाएर उनको नजिक आएका हरिणहरूलाई नमार्नु भन्ने आदेशबाट पनि उनको गायनको सम्मानबारे प्रष्ट हुन सकिन्छ ।
यस्तै चन्द्र शमशेरले आफ्नी रानीलाईभन्दा उनलाई बढी महत्व दिएको, मध्यरातसम्म उनकै साथमा गीत सुनेर बस्ने गरेको किस्साहरू पनि सुन्न र पढ्नमा पाइन्छ । बरीष्ठ शाष्त्रीय साधकहरू उस्दाद बालाप्रसाद शर्मा, ढुण्डे खाँ, गणपत, खेमचन्द्र, माधवप्रसादबाट सङ्‍गीत सिक्नुभएको उहाँले सङ्‍गीत प्रवीण नरराज ढकाल लगायतका सङ्‍गीत साधकहरूलाई सङ्‍गीत सिकाउनु भएको पाइन्छ । उहाँ मास्टर रत्नदास प्रकाश (‘म माहुरी हुँ राधा, तिमी आँप मञ्जरी हौ’ का गायक) तथा कलकत्तामा सङ्‍गीतका प्रशिक्षक गोपाल श्रेष्ठसँग सङ्‍गीत सामीप्यमा रहनु भएको थियो ।
कान्छी महारानी बालकुमारीले श्री ३ ले मेलवादेवीलाई ज्यादै ख्याल गरेको र रानीको पदमा उन्नति गर्न आँटेको गाइँगुइँ सुनेपछि गीत गाउनुअघि बनारसी पानमा सिन्दुर हालेर खान पठाएपछि मेलवादेवीको स्वर धोद्रो भएको र श्री ३ ले वैद्य र बेलायती घाँटी रोग विशेषज्ञ मगाएर लगातार २ महिना उपचार गराएपछि कालान्तरमा सुधार हुँदै गएको भनाइहरू पनि प्रचलित छन् । त्यसो त कतिपय लेखक र अनुसन्धानदाताहरूले चन्द्र शमशेरले उनलाई छोरीको स्थानमा राखेको भनेर पनि सुन्न तथा पढ्न पाइन्छ ।
यस्तै मेलवादेवीले एक तबलाबाधक तथा पूजारीलाई मन पराएको र उनको दरबार छोडेर जाने इच्छा बुझेपछि उनैलाई लक्षित गरी १९८५ मा श्री ३ ले दुखका साथ ५ वर्ष बसेका सुसारे नानीहरूका लागि फर्मान जारी गरी सिंहदरबार छोडेर जान सक्ने आदेश दिएपछि उनी दरबारबाट बाहिरिएकी बताइन्छ । त्यसो त विजेश्वरी मन्दिरका पूजारी तथा तबलावाधक भगतकृष्ण मानन्धरसँग दक्षिणकाली मन्दिरमा विवाह (कतै दोस्रो त कतै तेस्रो पत्नीका रूपमा विवाह) भएको तर बिहेबाट अपहेलना झेल्नु परेको बताइन्छ । हुन त भुकम्पका समयमा मानिसहरू मरेका, भागेका, उनीहरूका पीडा लिएर उनले आफ्ना पतिद्वारा रचित गीतलाई पतिकै भाषामा गाएर रेकर्ड गराउनु भएकोले नेपाल भाषामा गीत गाउने सेतुरामपछि उहाँ दोस्रो गायिका हुनुहुन्थ्यो ।
२ छोरी (शान्ता र विमला मानन्धर-पछि विमला दिक्षीत) सहित २ छोरा लिएर देश छोडेर भारत गएपछि उहाँको गायनका कारण ‘ठुमरी (राग) की रानी’ उपनामले चिनिनु भएकी र त्यहाँ थुप्रै सम्मान तथा पुरस्कार (पचासौं पदकहरू) पाई चर्चित रहेको पाइन्छ । कतै कतै बबर शमशेरले दुख दिएपछि विदेशिनु परेको उल्लेख भएको पाइन्छ ।**
त्यसो त नेपाली कलासङ्‍गीतका वृहत ज्ञानकोषका रूपमा चिनिने प्रकाश सायमीका अनुसार राणाहरूको कोपभाजनमा परी जुद्ध शमशेरको पालामा उहाँ दरबारले बनाइदिएको घर छोडेर श्रीमानसँग दूरी बढेपछि भारत पलायन हुनु भएको हो ।
कलकत्ताको प्रख्याति कमाएको हिज मास्टर्स भ्वाइसमा सवारी मेरो रेलैमा रेकर्ड भएपछि सो गीत लिएर भीमफेदी आइपुगेका रेकर्ड दलका सदस्यहरू नेपालमा जुद्ध शमशेरको शासन सुरू भएको सुनेपछि रेकर्ड त्यहीँ छोडेर फर्किएको बताइन्छ ।
यस्तै मेलवादेवीको जन्मबारे फरक फरक धारणाहरू पाइन्छन् । जस्तो कि- स्वामी प्रपन्नाचार्यले वि.सं. १९५६, रामशरण दर्नालले १९६४ र मास्टर रत्नदास प्रधानले १९५९ साल (सायमी यसैलाई पुष्टी भएको मान्नुहुन्छ) मा र धेरैस्थानमा १९७० सालमा उहाँको जन्म भएको लगायतका फरक फरक तथ्याङ्कहरू पाइन्छ ।
सवारी मेरो रेलैमा पहिलो गीतमैँ चर्चामा रहनु भएको उहाँको यो गीत नेपाली गीतमा पहिलो पटक ‘रेल’ शब्दको गीत रहेको हो ।