Home Blog Page 65

हामीले बालदिवस मनायाैँ / पुरुषोत्तम आचार्य

बाबाले शरीर निचाेरेर
पसिना पठाइदिनुभएकाे थियाे
हजुरहरूले प्रेमपूर्वक
खाना खाइदिनुभयाे !

आमाले मुटु निचाेरेर
आँसु पठाइदिनुभएकाे थियाे
हजुरहरूले स्नेहपूर्वक
नाना लाइदिनुभयाे !

हजुरबाले छाती खाेलेर
सास पठाइदिनुभएकाे थियाे
हजुरहरूले धीत मर्ने गरी
गाना गाइदिनुभयाे

हजुरआमाले उज्यालाे भर्ने
रङ पठाइदिनुभएकाे थियाे
हजुरहरूले रङ्गीन बनाएर
पाना सजाइदिनुभयाे !

हामीले एक दुई थान कम्प्युटर देख्न नपाएर के भाे ?
हामीले कुनै प्रयाेगशाला टेक्न नपाएर के भाे ?
हामीले हाम्राे गुनासाे लेख्न नपाएर के भाे ?
हजुरहरू वडादेखि आइदिनुभयाे
हजुरहरू अड्डादेखि धाइदिनुभयाे
यी सारा प्रबन्ध मिलाइदिनुभयाे
र, सबै अनुमाेदन गराइदिनुभयाे !

यसरी धन्य भएर
हजुरहरूप्रति कृतज्ञ भएर
हामीले यसपालीकाे बालदिवस मनायाैँ !!

पुरुषोत्तम आचार्य, हेटौंडा मकवानपुर

व्यङ्‍ग्य कविताः संविधान दिवस सफल पारौँ ।

मैले गणतन्त्र प्राप्तिका लागि के मात्र गरिनँ
कस्ता कस्ता अवसरहरू त्यागें
कस्ता कस्ताका पछि लागें
हुँदा खाएँ नहुँदा भोकै सुतेँ
तर पनि अल्छी गरेर घरमा बसिन
छाती खोलेर मोर्चामा अगाडि उभिएँ डराएर दुलोभिन्न पसिनै ।
र आफू मात्र होमिइन युद्धमा
इष्टमित्र नातागोता सबै आतङ्ककारी भनाइए कोइ स्वेच्छाले लागे कति बाध्य बनाइए एक्ली छोरीलाई सुरक्षा फौजले यातना दिएर मारे छोराको अझै खोजखबर छैन कता बेपत्ता पारे पारे आफै पनि युद्धका थुप्रै घाउहरू लिएर बाँचिरहेको छु र पनि आशा अझै मरेको छैन ।
मलाई लागेको थियो
गणतन्त्रमा केवल राजा नहुने मात्र होइन
मैले जिउन जानिनँ ।

कोइ पनि राजा जस्तो हुँदैन
जसको जीवनशैली आभिजात्य होस्
जसलाई छुन नसकियोस्
जसको अगाडि गएर रुन नसकियोस्
जो सिङ्गो सडक कब्जा गरेर हिँड्नुमा आफ्नो शान ठान्छ
जसको कारण जाममा फसेर
एउटा विरामी र सुत्केरीको ज्यान जान्छ ।
तर राजतन्त्रको अवसानपछि पनि
अवस्था ठिक त्यस्तै भयो
काम गर्नेहरूको कदर भएन
कान भर्नेहरूको सदर भयो
माफिया र तस्करहरूको घेरामा रमाउन थाले नेताहरू
निमुखाहरूको निवेदन बदर भयो ।
गणतन्त्र र सङ्घीयता त आयो देशमा
तर राजाको उत्तराधिकारी बन्ने होडमा लागे सबै
आफ्नो धरातल हेरिएन
अनुहार मात्र फेरियो, व्यवहार र शैली फेरिएन
अञ्चलाधीशहरू मुख्यमन्त्री भएर आए
राजाको सिंहासन राष्ट्रपतिले पाए
यसरी
परिवर्तन केवल एउटा शकुनि खेल भयो जनताले फेरि हारे, खेलमा पूरै झेल भयो ।

र परिवर्तनपछि
केवल राष्ट्रसेवकको लिबास फेरियो
नेताहरूको निवास फेरियो
नाम फेरियो बोर्ड फेरियो
देशको कित्ताकाट गरियो र त्यसको कोड फेरियो
बाँकी जस्ताको त्यस्तै रहयो ।
न भ्रष्टाचार हट्यो
न गरिबी घट्यो
जति क्रान्ति गरे पनि
जति मान्छे मरे पनि
खै हामी भुइँमान्छेहरुको सुदिन आएन
संविधान पनि बन्यो तर त्यसले पनि लछारपाटो लाएन
भन्दै बर्बराउँदै ऊ त संविधान च्यात्न पो अघि सत्यो
ठिक त्यति नै बेला
मोबाइलमा घन्टी बज्यो र म ब्युँझिएँ
बाहिर नारा घन्किरहेको थियो
संविधान दिवस सफल पारौं, सफल पारौं ।

-मीनप्रसाद लामिछाने

भैरव पुरस्कार मुन पौडेललाई, अभि सुवेदीलाई भैरव वाङ्‍मय पुरस्कार

आश्‍विन ३, मकवानपुर ।
यस वर्षको भैरव पुरस्कार हास्यव्यङ्ग्यकार मुन पौडेललाई प्रदान गरिने भएको छ । सो पुरस्कारको राशी १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।
यस्तै १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशीको भैरव वाङ्‍मय पुरस्कार प्रा.डा. अभि सुवेदीलाई प्रदान गरिने भैरव पुरस्कार गुठीले जनाएको छ ।
यस्तै ५१ हजार १ सय ११ राशीको भैरव प्रतिभा पुरस्कार व्यङ्ग्यकार बद्रीप्रसाद दाहाल (भस्मासुर) लाई प्रदान गरिने भएको छ ।
साहित्यकार नरेन्द्रराज पौडेलको संयोजकत्वमा साहित्यकारद्वय बाजुराम पौडेल र वसन्त रिजाल सदस्य रहेको चयन समितिले चयन गरी तथा गुठीका अध्यक्ष वरीष्ठ साहित्यकार, सञ्चारकर्मी रोचक घिमिरेको अध्यक्षतामा बसेको बैठकले पुरस्कृत व्यक्तिहरूको नाम अनुमोदन गरेको हो ।
असोज १९ गते भैरव अर्याल स्मृति दिवसको दिन गोकर्णेश्वर-५ स्थित भैरव स्मृति भवनमा एक कार्यक्रम गरी घोषित पुरस्कार वितरण गरिने जानकारी गुठीले दिएको छ ।
वर्ष २०७९ को भैरव पुरस्कार वासुदेव-विद्यादेव लुइँटेल गुठीलाई र भैरव वाङ्‍मय पुरस्कार साहित्यकार विश्‍वम्भर चञ्‍चल तथा भैरव प्रतिभा पुरस्कार कलाकार रामचन्द्र अधिकारीलाई प्रदान गरिएको थियो ।

कविता: यशोधरा अर्थात् उत्साहको आयाम / पद्मराज लामिछाने

घरै छोप्ने गरी आफ्नै आगनीका बढेको
झाडी पन्छ्याउदा पन्छ्याउदै
यौटा विष्मय अरिङ्गाल समयले
चाक्लो पर्ने गरी चिलेको तिम्रो पाखुरीमा
मैले विचारको हसिया दलिदिएकै हु नि त्यतिबेलै
तर खै किन यशोधरा
अझै सम्म सञ्चो हुनै सकेन तिम्रो पाखुरी ।
ढिकी चलाउंदा चलाउंदै
वास्तै नगरी छोडीदिएर तिम्रो घरछेउको आपप्नै जस्ता लाग्ने मान्छेले
तिमीले गुमाउदा आप्mना कलम समाउनु पर्ने दुबै औला
मैले आश्वासनको महलम त लगाई दिएकै हुं नि त्यतिबेलै
तर खै किन यशोधरा
अझै सम्म सञ्चो हुनै सकेन तिम्रो जांगर बोकेको हात ।
फर्कदै गर्दा भारी बोकेर जंगलबाट
घोप्टे कांडाहरुले नराम्ररी चिथर्दा तिम्रा यौवनका उल्लासहरुमा
पाता फर्काउनै पर्छ उनीहरुलाई भन्दा तिम्रा हितैसीहरुले
जिन्दावाद–मुर्दावादको नारा लगाएर
तिम्रै स्वाभिमानमा औंला ठड्याएर
राता काला झण्डा बोक्नेहरुले उम्काउदा उनीहरुलाई
मैले बग्रेल्ती आंसु झारेर स्वप्निल सौन्दर्य नबिगार भनेर सम्झाएकै हु नि त्यतिबेलै
तर खै किन यशोधरा
अझै सम्म सम्हालिनै सकेन राहु झम्टाले विक्षिप्त तिम्रो मन ।
तिमीले भोगेकै हौ नि
वारी र पारी का मान्छेले
तिमीले भात पकाउदै गर्दा
आशा र उत्साहको अगेनाभरि पानी हालेर
भस्याकभुसुक्क निभाइदिंदा आगो
सुत्नै नसकेर छट्पटाएका तिम्रा अवोध नानीहरुका अनिद्रा र भोकलाई,
सुन्दर सपना टिप्न सहर गएका खसम
क्रुर पञ्जाले सपना नै बनाइदिएको दिन,
तिमीले त सहेकै हौ नि
उनीहरुले बार हालेर ओगटी रहदा तिम्रो आटो फल्ने बारीलाई
झन् चुप लागेकै पनि हौ
जंगे पिलर हराउदापनि वास्तै नगर्नेहरुले
बारीका कान्ला खुर्कदाका कोदालिका डोबहरु उनीहरुकोमा पर्यो भनेर– तथानाम गाली गरेको
उसले पाउना रिझाउन पालेका कुखुराका भालेले
तिम्रो आगनीमा हुर्कदै गरेका परेवाका चल्लाहरुलाई ठुंग्दा
के धपाएथ्यौ–उल्टै तिमीलाई सत्तोसराप गरेको
र मन बुझाएकै हौ नी
उनीहरुले आफ्ना ठानेका तिम्रा परचक्रीले – तिमीले ठेला उठाएर करेसा बारीमा हुर्काएको
रायो मच्मची माडेको दिन पनि,
भक्कानिएकी पनि त थियौ नि
ज्वरोले थलिएर औषधी बोकेको झोला खानतलासिका नाममा लथालिङ्ग पारिदिंदा
के सम्झाउनु आज ति सबै सबै तिमीलाई ।
मैले त भनेकै हुं नि त्यतिबेलै
हामी दाश भन्न आवश्यक नठानिएर दाश नभनिएकाहरु
हामी अमान्छे भन्न आवश्यक नठानिएर मान्छे भनिएकाहरु
अनि
मार्न आवश्यक नठानिएर बांचेकाहरु
तर खै किन यशोधरा
अझै सम्म हराएको छैन तिम्रो जस्केलोमा उज्यालो फुल्ने चाह ।
तिमीलाई देख्दा लाग्छ,
संकेतले सम्याउनै सक्दो रहेनछ कौतुहलता
आश्वासनले पटक्कै मेटाउंदो रहेनछ मृगतृष्णा
वचनले अहं दिंदो रहेनछ विश्वास
र ठान्छु–
यशोधरा
तिमी आशा पालेर मनभरी
उत्साहका आयामहरुसंग रमाउने सुनौला सपना पर्खेकी जून
जो संगालेर सुदर स्मृतिका पल
अझै सम्म मार्नै सकेकीछैनौ
आंगनीमा परेवालाई चारो खुवाउंदै स्वर्णिम समयको गीत गाउने रहर ।

पद्मराज लामिछाने, हेटौंडा ११ मकवानपुर 
३ असोज २०७०

साहित्य सङ्‍गम मकवानपुरको अक्षयकोष निर्माण अभियान द्रूतरूपमा बढ्दै

आश्विन २, मकवानपुर ।
साहित्य सङ्‍गम मकवानपुरले अक्षयकोष निर्माण अभियान सुरू गरेको छ । हालसालै नयाँ कार्य समिति चयन भएपछि अध्यक्ष डीबी बर्तौलाको नेतृत्वमा विभिन्न व्यक्तिहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम वृद्धी भइरहेको छ ।
अध्यक्ष डीबी बर्तौला, उपाध्यक्ष सानु खनाल, सचिव मनोज पोखरेलबाट ५/५ हजार गरी १५ हजार र सदस्य कुबेर पराजुलीबाट २ हजार गरी सुरू भएको अभियानमा गैँडाकोट, नवलपुर स्थायीबासी हाल अष्ट्रेलिया निवासी नवराज भट्टराईले ५ हजार रुपैयाँ र दीपेन्द्र यादवले जन्मदिनको अवसरमा ५ हजार रुपैयाँ सहयोग गर्नु भएको छ ।
हेटौँडा ९ निवासी व्यसायी नरेन्द्र भण्डारीले ५ हजार रुपैयाँ, हेटौँडा ४ निवासी स्वास्थ्यकर्मी निर्मला भ्लोनबाट ३ हजार रुपैयाँ प्राप्त भएको छ भने हेटौँडा १ का रामकुमार बर्तौलाले १५ हजार र राजकुमार तिमल्सिनाले ५ हजार आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।
भाद्र ३१ गते हेटौँडा ५ निवासी रजनी पौडेलले छोरा रिदम घिमिरेको जन्म दिनको अवसरमा ३ हजार रुपैयाँ, मातृभूमि साहित्य समाजका महासचिव हेटौँडा ४ का हेमन्त ढुङ्‍गेलले छोरी सँस्कृति ढुङ्‍गेलको शुभ जन्मदिनको अवसरमा २ हजार ५ सय, साइराम राकोसका व्यवस्थापक हेटौँडा ५ का राजकुमार तिमल्सिनाले ५ हजार रुपैयाँ उपलब्ध गराउनु भएको छ ।
यस्तै आश्विन १ गते नेपाल सरकारका अधिकृत ठाकुरराम भण्डारीले आफ्नी छोरी सर्जु भण्डारीको उज्ज्वल साहित्यिक जीवनको कामनामा ५ हजार ५५ रुपैयाँ, बालजागृति सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल विनोद सुवेदीले १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ भने हेटौँडा निवासी शिवहरि प्याकुरेलले २१ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।
काठमाण्डौं निवासी मुक्तक मञ्च काठमाण्डौंका अध्यक्ष तथा मुक्तककार राजेन्द्र घिमिरेले साहित्यिक उन्नयनका लागि ५ हजार रूपैयाँ सहयोग गर्नु भएको छ भने कृष्ण पौडेलबाट ३ हजार रुपैयाँ र हेटौँडा १३ पदमपोखरी निवासी शिक्षक केशव न्यौपानेले आफ्नो श्रीमती रमा न्यौपानेको जन्मदिनमा ५ हजार रूपैयाँ सहयोग गर्नुभएको छ ।
अन्य सहयोगी दाताहरूमा केशव सञ्जेलले २ हजार, नारायण बर्तौलाले ३ हजार र जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईँले ५ हजार ५ सय ५५ रूपैयाँ आर्थिक सहयोग गर्नुभएको छ भने साहित्यकार झम्क तिमल्सिनाले ७ हजार ५ सय सहयोग गर्नु भएको छ ।
यस्तै आश्विन २ गते आधुनिक राष्ट्रिय माविका शिक्षक कृष्णगोपाल श्रेष्ठको जन्मदिनकोअवसरमा ५ हजार, काठमाण्डौं निवासी साहित्य सर्जक, समालोचक महेश पौड्यालले ५ हजार, साहित्य सङ्‍गमको पूर्व उपाध्यक्ष ईन्द्रजीत शर्माले १० हजार, धरान निवासी कवि चन्द्र गुरूङले ५ हजार आर्थिक सहयोग गर्नु भएको छ ।
अध्यक्ष डीबी बर्तौलाले सङ्कलित रकमलाई अक्षयकोषमा जम्मा गराई सोबाट प्राप्त व्याजमार्फत् संस्थाको साहित्य सन्ध्या, पुस्तक विमर्श, रचना वाचन जस्ता नियमित गर्ने कार्यक्रम तथा आन्तरिक खर्च व्यवस्थापनमा सघाउ पुग्ने र यसबाट साहित्यिक उन्नयनमा सहयोग पुग्ने बताउनुभयो ।
केही सर्जक तथा साहित्यसेवीले आफ्नो नाम उल्लेख नगर्नेगरी सहयोग गर्नु भएको छ । यो समाचार तयार पार्दासम्म दाताले नाम उल्लेख गर्न नचाहेको यस्तो रकम ५ हजार पुगेको छ ।
सहयोगीहरूले कृषि विकास बैङ्क हेटौँडामा रहेको साहित्य सङ्‍गमको ०५-०८५-००२७३७९३-०१-१ र महालक्ष्मी विकास बैङ्क हेटौँडाको ०५९००१००३२७६३००००००८ खाताहरूमा सहयोग रकम जम्मा गर्न सकिने कोषाध्यक्ष मेनु तिमल्सिनाले बताउनुभयो ।
सङ्‍गमको मासिक सन्ध्या, विमर्श, एकल तथा संयुक्त विशेष कार्यक्रमहरू, खानेपानी, बिजुली, सरसफाइलगायतका नियमित खर्च व्यवस्थापनका लागि अक्षयकोषमा रकम जम्मा गरी सोबाट प्राप्त व्याज रकमले व्यवस्थापनमा सहज हुने तथा स्थापित पूरानो संस्था भएकोले नवपुस्ताहरूकेन्द्रित गतिविधि सञ्चालनमा समेत सघाउ पुग्ने उपाध्यक्ष सानु खनालले बताउनुभयो । उहाँले सहयोगी दाताहरूसँग निरन्तर सम्पर्कमा रही आर्थिक स्रोत जुटाउने कार्यमा संस्थाका अध्यक्षको सक्रियता निकै रहेको र धेरैको सहयोग मिलिरहेकोले यो अभियानले सार्थकता प्राप्त गर्ने जानकारी दिनुभयो । साथै उहाँले कोषको व्याजबाट कार्यक्रम चलाउन सके संस्थाले लिएका लक्ष्य तथा उद्देश्य पूरा हुने र हरेक कार्यक्रममा सहयोगी दाताहरू खोज्दै हिँड्नुपर्ने अवस्थाको अन्त्य हुने हुँदा साहित्यलाई माया गर्ने सबैबाट सहयोगको अपिल गर्नु भएको छ ।
हालसम्म २६ जनामध्ये धेरैले आर्थिक सहयोग जम्मा गराएका र बाँकी सबैले दशैंअघि जम्मा गर्ने वाचा गरिसकेका नवसाहित्य डट कमलाई जानकारी प्राप्त भएको छ ।

०००
यस महान अभियानमा नवसाहित्य डट कम सदैव हातेमालो गर्न तयार रहेको छ । साहित्य सङ्‍गमको यो अभियान सफल बनोस्, हार्दिक शुभकामना ।

तीजका गुनासा सरे सासूससुराबाट श्रीमानतिर !

ऐले अवस्था धेरै बदलिई सक्यो । सासुससुरा, नन्द, देवरसँग बस्ने दिन धेरैका सकिए । आफ्नै बुढासँग छुट्टै बस्ने दिन आए । अरु त ठिकै छ तर नि अब अलिलि गुनासो आफ्नै बुढासँग छ ।
त्यसैले उनी भन्छिन्,
“बुट्टे चोली धोइछु, छुन्न नभन
माइत जान्छु राजै हुन्न नभन”

परेमा मेरो र उस्को नभनी लुगा दुबैले सँगै बसेर धोएकै छन् । मन लागेको ठामतिर एक अर्कालाई सोधेर गएकै छन् । कस्ले हुन्न भन्ने आँट गर्ला र ! भोलि पर्सी भोकै काममा जाने रहर कस्लाई पो छ र !

गुनासो आफ्नो ठाममा छ । तर पनि दुई दिन माइतीले बोलाउँदा पिर उनकै लाग्छ, र याद उनकै आउँछ र त भन्छिन्,
“मिठा मिठा गर्थ्यौ बात मायालु
क्यारी कटाउला र रात मायालु”

उनको लागि अमेट छाप छोडेर जानी हो, राम्री त उनकै लागि बन्नी हो । आँखा अन्त नजाओस् । कुरो त्यो पनि त छ । त्यसैले,
“तिल पिसेर छोप करेलीमा बाइ
कालो गाजल लाम् कि परेलीमा बाइ”

रित हो तीजमा माइत जानी । जान्न भन्न नि नसकिनी । चाडबाड उता छ । तर प्रित यता छ । माया यतैको लाग्छ । त्यसैले माइत जानी बेलाँ,
कम्ति भलाद्मी छन् हाम्रा बाका ज्वाइँ
मुसारेर दारी खाम् कि क्या हो म्वाइँ।”

माइती त आइयो दिनमा रमाइलो भयो । तर नि रातमा मन उतै जान्छ, के भएको होला त्यता,
“आधी रात भाले बास्यो किन हो
पल्ला घरे साइँलो पस्यो किन हो?”

छ्या! कति मन उतै डुलेको हो । कति याद आएको हो । कति ख्याल गर्न मन ला’को हो ! हेर न,
“चरी केले भुल्यो धानको बालैमा
“नखर्माउली भैयो तिम्रो मायाले”

अनि सम्झाउन मन लाग्छ,
“मिठो मिठो खान जन्त नडुले
छानी छानी केटी अन्त नडुले”

त्यही एउटो बानीप्रति गुनासो छ, के भनेनि,
“साँझ परेसि कोको धाउने बानी छ
अर्कैलाई आँखा लाउने बानी छ!”

तर तिमीले गर्नी मायाले म लठ्ठै छु त । त्यसैले त याद आउँछ तिमीले भनेको,
“मह मिठो भन्थ्यौ कठ्यौरीको बाइ
माया मिठो भन्थ्यौ लठ्यौरीको बाइ”

मलाई जस्तै राति राति तिमीलाई पनि त मेरो याद आउँदो हो । म त होस मै सम्झिन्छु । तिमी म नभएसि अल्लि लाउन परिहाल्छ । तिम्रो लत ।अनि बेहोसीमा हुन्छौ र,
“टुलु टुलु फोटो हेरी बसौला
कोल्टे फेरौला र भुइँमा खसौला!”

जे भएनि, तिमीले मलाई
“नक्कलीले पोको कसी नभने
खुट्टा उचालेर बसी नभने”

हो, तीज आए नि हाम्लाई गाह्रो छ । किन भने नि,

“जाबो दुबै दिनलाई भरै हुँदैन
छोडम् भने बुढो घरै हुँदैन!”

अनि अरु कुरामा त तीज उस्तै छ ।
अरु चाडबारे भन्दा तीजको निकै टिप्पणी भएको पाइन्छ । भड्किलो भयो रे, महिलाहरु खानपिनमै व्यस्त भए रे । आदि आदि ।
खासमा तीजको सार र मर्म बुझ्ने हो भने तीज तीज जस्तै छ । केही नहुने भएको छैन । त्यसो त आजभन्दा ३०/४० बर्ष अगिको दशैँ र अहिलेको दशैँ पनि त फरक छ । पहिलाका भान्साकोठा, बैठककोठा, बजारमा पाइने लुगा पनि त पहिले पहिलेभन्दा अहिले फरक छन् । महिलाको जीवनशैली फरक भए । जन्मघर र कर्मघरमा परिवारभित्र गरिने व्यवहार फरक भए । पुरुषहरु तुलनात्मक रुपमा सधैँजसो रामरमिता गरिरहेकै हुन्छन् । भ्याउने महिलाहरुले तीजको अवसरमा २/३ हप्ता रमाइलो गर्दा आकाश खस्दैन ।
होइन, महिलाले अलिलि रमाइलो गरेको उल्कै डाह लाग्या’छ भने ऋषिपन्चमीबाट तीज सकिन्छ, अनि देउसी भैलो खेल्न सुरु गरे भयो त !

– डिकेन्द्र ढकाल

 

नवसर्जकको १५ ओैँ मासिक शृङ्खला

३१ भाद्र, मकवानपुर
नवसर्जक साहित्य चौतारी नेपालको १५ ओैँ मासिक शृङ्खला बालदिवस विशेष कार्यक्रमका रूपमा भर्चुअल माध्यम (गुगल मिट) मार्फत सम्पन्न भएको छ ।
चौतारीकी केन्द्रीय अध्यक्ष प्रसन्ना चौलागाईँको अध्यक्षता एवम् चौतारीका सल्लाहकार एवम् नेपाल बालसाहित्य समाजका अध्यक्ष, बालसाहित्यकार तथा अन्वेषक प्रमोद प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चौतारीका संरक्षक एवम् परिकल्पनाकार दीपक गौतमको विशिष्ट आतिथ्यता तथा सल्लाहकार डिबी बर्तौलाको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विशेष रचना वाचकको रूपमा सहभागी केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश संयोजक जोशिका कँडेल ‘निशा’ (कपिलवस्तु) ले आफ्ना प्रतिनिधि पाँच छन्द कविता वाचन गर्नु भयो । कार्यक्रममा चौतारीकी अध्यक्ष प्रसन्ना चौलागाईँ, महासचिव समर्पण न्यौपाने, वाग्मती प्रदेश सदस्य निमिशा निरौला, नवसर्जकहरू अजय बर्तौला, अनमोल पोखरेल र द‍ृशिका कँडेलले कविता वाचन गर्नुभयो भने सुदूरपश्चिम प्रदेश (बैतडी) का नवसर्जक पारस बोहराले गजल वाचन गर्नु भएको थियो ।

त्यस्तै नवसर्जक दीपिका खड्गीले देशभक्तिको भावयुक्त गीत गाउनु भयो । हरेक शृङ्खलामा पठन संस्कृति प्रबर्द्धनका लागि पुस्तक समीक्षा गर्दै आएकोमा आजको कार्यक्रममा चौतारीकी केन्द्रीय सदस्य तथा वाग्मती प्रदेश सहसंयोजक रोश्‍नी चौलागाईँले ‘शून्यको मूल्य’ उपन्यासको समीक्षा प्रस्तुत गर्नुभयो ।
डेढ दर्जन नवसर्जकको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण चौतारीका महासचिव समर्पण न्यौपानेले गर्नु भएको हो । चौतारीले हरेक महिनाको अन्तिम शनिबार नियमित मासिक शृङ्खला आयोजना गर्दै आएको छ भने समयसमयमा विधाविशेष प्रशिक्षण अभियानका साथै प्रादेशिक एवम् राष्ट्रिय बालसाहित्य उत्सव आयोजना गर्दै आएको छ ।

विद्यार्थीको जन्मदिनमा विद्यालयलाई पुस्तक उपहार

भाद्र ३१, मकवानपुर ।
हेटौँडा ५ का रिदम घिमिरे, बालजागृति इङ्लिस सेकेण्डरी स्कुलको कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुनुहुन्छ । उहाँले आफ्नो १३औं जन्मदिवसका अवसर पारेर भाद्र ३१ गते विद्यालयलाई १३ वटा पुस्तक विद्यालयका प्रिन्सिपल विनोद सुवेदीमार्फत् पुस्तकालयमा रहनेगरी हस्तान्तरण गर्नु भएको छ ।
साथै उहाँले सोही अवसरमा साहित्य सङ्गम मकवानपुरलाई ‘अक्षयकोष स्थापनार्थ अभियान २०८०’ का लागि ३ हजार रुपैयाँ हस्तान्तरण पनि गर्नुभएको छ ।
मकवानपुरमा जन्मदिन, वैवाहिक उत्सव, प्रतियोगितात्मक पुरस्कार, विशेष चाडहरूमा पुस्तक उपहारको चलन बढ्दोरूपमा रहेको छ ।

जीवन आचार्यका २ कविताहरू

एक जोर पुरानो जुत्ता

सधैँ मुख बाएर बसिरहन्छ
माथि बार्दलीमा
एक जोर पुरानो जुत्ता
सधैँ चिन्तन गरिरहन्छ
आफ्नो हराएको
एक जोर खुट्टाको बारेमा ।

कहिले सिमलको रूख
कहिले साज,सखुवा, खयर
कहिले बयरको झाङ त
कहिले खरीको बोटमा झुन्डिएको
एक जोर पुरानो जुत्तामाथि
सधैँ शासकको त्रसित नजर पर्छ ।

जुत्ताहरूको आफ्नै जात छ
खुट्टाहरूको आफ्नै गीत छ ।

आफूलाई निल्न निस्केका
बाँसुरीको स्वर कुल्चदै
कहिले सडकको किनारैकिनार
कहिले जङ्गलैजङ्गल त
कहिले भीरैभीर हिँडेका सङ्घर्षका दिन सम्झिन्छ
र,
टकटक्याउँछ धुलोमाटो
टुँडिखेलको छातीमा
एक जोर पुरानो जुत्ता ।

जब फनफनी घुमेको कुमालेको चक्र हेर्दै
वर्तमानले सङ्गीत भरेर भविश्यको गीत गायो
एक जोर पुरानो जुत्ताले
अचानाक सोचमग्न बन्यो शासक
झुन्ड्यायो जमुनाको बोटमा

निस्फिक्री बान्ता गर्‍यो भ्रमको गीत
जुत्ताको यो इतिहास
स्मृतिको बन्द एल्बमभित्र कैद छ ।

छातीमा थापेर गोली
समयको आँगनमा
लडेको छ निस्फिक्री
अचानोमाथि राखेर गर्दन
उज्यालो खोज्दै निस्केको हो ऊ सडकमा
आन्दोलन गर्न ।

मध्य दिउँसो टाँगिएको हो
एक जोर पुरानो जुत्ता,
धुपी र सल्लोको बोटमा ।

अझै पनि विजय जुलुस मनाएको सम्झेर
सधैँ मुख बाएर बसिरहन्छ साक्षीका रूपमा
माथि बार्दलीमा
तुन्द्रुङ्ग झुन्डिएर
एकजोर पुरानो जुत्ता ।

यात्रामा निस्कन नपाएर बेचैन छ
एक जोर पुरानो जुत्ता ।


एक जोर नयाँ जुत्ता

खुट्टा खान नपाएर आन्दोलित
कयौँ जोरमध्ये
कयौँ जोर जुत्ता खुट्टा खाने ठाउँमा पुग्यो
पुराना जुत्ताहरु र जुत्ताको समर्थनमा

कयौँ जोरमध्ये
कयौँ जोर पुरानो जुत्ता थन्किएम र्‍याकमा

पन्चर टालेको ट्युबको हालत छ नयाँको
चिन्तन गरिरहन्छ पुरानै जुत्ताको

अट्टहास हाँस्छ काँउकुति
लगाएर आफैलाई

शुलीको शीरमा बसेर
सगरमाथामाथि सम्झन्छ आफूलाई
होचा, ख्याउटे, कमिला, भुसुना देख्छ मान्छे
र कानुनलाई सेकुवा सेकेर चपाउन खोज्छ भजन मण्डलिहरु

कमिला/भुसुनाले हात्ती रुवाएको बिर्सेर
कमिला र भुसुनासँगै मितेरी गाँस्नपुग्छ
एकजोर नयाँ जुत्ता ।

पहिले बगैँचाको धुरुन्धर बिरोधी
आँचकल
मधुमालती
पारिजात
सानो गोदावारी
बगैँचा
धाउनमैँ व्यस्त छ
टिकाउन कम्मरमा धोतीसुरुवाल

परैबाट कर्के नजर लगाउँछ गोलस्ट्रारलाई ।

भन्छ हाम्रो आफ्नै जात छ र मिसिन्छ अर्कोमा
मिठासयुक्त सुगन्ध र धुन छ र मिसिन्छ नालीमा

आफ्नै शिकारीका पाउ पुज्न
भोक रोग र अनेक सपनाको तस्विर कुल्चँदै
कहाँ पुग्न लम्कदै छ ?

फूलको बाटो हुँदै, मूलबाटो मुलुक बिर्सेर
जुत्ताहरुको सपना भत्काएर

बिर्सिएर सडकको तातो अश्रु र घाम
जङ्गलैजङ्गलका सोइला काँडा
भीरैभीरबाट लड्दाका घाउ
पुग्यो…
टकटक्याउँन धुलोमाटो
बानेश्वरको सडक अगाडि
सफा दिमागमा नि दाग देखिन्छ भन्ने बिर्सेर
अन्धो कुर्सीमा/ बस्न धृतराष्ट झैँ

भन्दै कुमाललेको चक्र हो, समय
बिगतको गीत गाउँदै आफ्नै भविष्य सपार्न
तिनै जोर नयाँ जुत्ता

गजक्क पर्‍यो बाघको खोल ओढेको स्यालको
झुन्ड्यायो र झुड्याउन लगायो दौरा र कोट जमुनाको कुर्सीमा,
मस्तसँग खायो निगार र डकार्‍यो भ्रमित सपना
यी जुत्ताको वर्तमान भविष्यमा
इतिहास,
स्मृतिको बन्द एल्बम पल्टाउँदा भेटिन्छ कुनै दिन ।

ढाडमा खाएको घङ्गारुको लौरो
छातिमा खाएको डिङ्गोबुटको चोट
समयको आँगनमा अझै आलै छ रगत
पूरानो जुत्ताको मानसपटलमा

अचानो देख्दा पनि तर्सन्छ
उज्यालो मन नपरानेलाई उज्यालो मनपराइ देऊ भन्न पुगेको छ
के खोज्दै निस्केको हो ? के खोज्दै पुगेको हो उ त्यहाँ ?

यी सबै इतिहास हुन्
अनुभव नगरेका भन्दै नयाँ जुत्ता
पुरानो जुत्ताको डायरी पल्टाउँदै जाँड खाँदैछ आजकल
घाममा बसेर ।

ती पुराना जुत्तासँग खुब शान छ
र शानदार छ तर मजस्तो भाइरल छैन
खुट्टाहरु इतिहास भइसकेँ
तर र्‍याकमा छ सुरक्षित छ
सोच्छ
यात्रामा निस्कन नपाएर बेचैन छ
एक जोर पुरानो जुत्ता

लाग्छ, नयाँ जुत्ता
पूराना जुत्ताको इतिहास मेटन आतुर छ

तर,
आफ्नै आङको भैँसी देखेको छैन ।

जीवन आचार्य निश्चल   
बागमती नगरपालिका-११
कर्मैया, सर्लाही,
acharyajiban626@gmail.com

काव्यानन्दका लागि जोन विलियम्सले संस्कृत सिके || विश्व साहित्यका केही प्रसङ्ग

हुन त अनुवाद साहित्य पढ्दा साहित्यकारको मूल सृजनात्मक रचनाको आनन्द लिन पाइन्न भन्छन् । बेलायतका सर विलियम जोन्सले कालिदासको प्रसिद्ध संस्कृत रचना “अभिज्ञान शाकुन्तलम्” को काव्यानन्द पाउनको लागि भारतमा आएर संस्कृत सिकेका थिए । त्यसपछि त्यसको अंग्रेजीमा अनुवाद गरे । त्यही अंग्रेजी अनूदित रचना पढेर जर्मनीका गेटेले जर्मन भाषामा अनुवाद गरेका थिए ।

विश्व साहित्यमा धेरै चर्चित साहित्य रचनाहरु छन् । यस्ता साहित्यहरु पढ्न कसलाई मन हुँदैन र ? तर मूल रुपमा अंग्रेजी लगायतका अन्य भाषाहरुमा लेखिएका हुँदा यस्ता कृति हाम्रो देशमा हत्तपत्त पाइँदैनन् । यसको लागि हिन्दी अनुवाद पढ्न पाउनु पनि ठूलै उपलब्धि हो झैं लाग्छ ।

विश्व साहित्यको अध्ययनले विदेशी संस्कृति, इतिहास, आख्यान, साहित्य, विचार, वैज्ञानिक तथा प्राविधिक ज्ञानबाट परिचित हुन सकिन्छ । मानव मनका समग्र संवेदनाहरु परस्पर संप्रेषित हुनुको साथै विश्व साहित्यसँग संवाद स्थापित गर्न अनुवाद नै एक सशक्त माध्यम हो । रवीन्द्रनाथ टैगोर, खलिल जिब्रान, सआदत हसन मन्टो, प्रेमचन्द, म्याक्सिम गोर्की, टल्सटय, चेखोव, वर्डस्वर्थ, शेली, इब्सेन आदि थुप्रै नामहरु छन् जसले विश्व साहित्यलाई आफ्नो लेखनबाट बलियो बनाएका छन् ।

रुसी साहित्यकारहरु पुस्किन, चेखोव, गोर्की, तुर्गनेभ, दोस्तोवस्की र बेलायतका महान नाटककार शेक्सपियर, फ्रेन्च साहित्यकार भिक्टर ह्यूगो, चीनियाँ साहित्यकार लु शुन लगायतका अरु युरोपेली, अमेरिकी साहित्यकारहरुको उपन्यास, नाटक र कथाहरुको हिन्दी अनुवाद पनि पठनीय छन् । ती कृतिहरु पढ्दा अन्तरराष्ट्रिय विचार, अभिव्यक्ति, सौन्दर्य र केही हदसम्म साहित्यिक मूल्यहरुसँगसमेत परिचित हुन पाइन्छ ।
गुगल सर्चबाट प्राप्त सआदत हसन मन्टोको कथा संग्रहका कथाहरु फ़ेरि चाख मानेर पढें ।
सआदत हसन मन्टो उर्दूका बहुचर्चित कथाकार हुन् । उनले लेखेका ‘टोबा टेकसिंह’, ‘उपर, नीचे और दरमियां’, ‘ठण्डा गोस्त’ र ‘बू’ जस्ता कथाहरु बिर्सनै नसकिने कथा हुन् ।

एन्टोन चेखोव र सआदत हसन मन्टो मात्र यस्ता साहित्यकारहरु हुन् जसले कुनै उपन्यास नलेखे पनि केबल कथाहरुको माध्यमबाट विश्व साहित्यमा आफ्नो धाक जमाए ।
मन्जिल, दास्तान, बेखबरीका फायदा, करामात, खबरदार, हलाल और झटका, घाटेका सौदा, खोल दो, ठण्डा गोस्त, बू, टोबा टेक सिंह आदि कथाहरु मजेदार छन् । पाठकले कथाको शव्द शब्दलाई आत्मसात गर्नु एक नौलो अनुभव हो । समाजका नाङ्गा सत्यहरुलाई उनका कथाले उजागर गर्छन् । उनको अभिव्यक्ति मनको द्वारबाट प्रवेश गर्छ र सिधै मष्तिष्कमा झंकार दिन्छ ।

अश्लीलताको आरोप लागेर पाकिस्तानमा मुद्दा समेत चलेको मन्टोको एउटा कथा पढेपछि श्लील र अश्लीललाई तौलन मन लाग्छ । आफ्नो कथामा मन्टोले परपुरूष र परस्त्री बीचको यौन प्रसङ्गको उल्लेख गरी लुकेको समाजको उत्खनन गरेका छन् ।
उनले समाज सुधारको कामनाको गर्दै मानव विद्रूपताको चीरहरण गर्छन् ।
उनले कथाको माध्यमबाट मानव मनलाई झक्झक्याउने प्रयास गर्छन् । उनका कथामा प्रसस्तै मानव संवेदना पाइन्छ । उनले मानवको मनोविज्ञानलाई मजाले बुझेका छन् । खरो स्पष्टवादिता देखिन्छ उनका कथामा । सामाजिक विसंगतिप्रति तीखो प्रहार गर्छन् मन्टो ।

उक्त संग्रहमा भएको “करामत” नामको उनको एउटा लघुकथा यस्तो छः
चोरी तथा लुटपीटका सामानहरु बरामद गर्न भनी पुलिसले छापा मार्न सुरु गर्‍यो । पक्राउ पर्ने डरले मानिसहरूले आफूले चोरेका र लुटेका माल सामान रातको अँध्यारोमा लुकाउन र फाल्न थाले ।
एउटा मानिससँग आफूले लुटेका दुई बोरा चीनी थियो । उसले चीनीको एउटा बोरा जसोतसो रातिको अँध्यारोमा घर नजिकैको इनारमा फालेर आयो । तर अर्को बोरा इनारमा खसाल्न लाग्दा उ बोरासँगै इनारमा खस्यो ।
हारगुहार सुनेर मानिसहरू जम्मा भए । इनारमा डोरी खसालेर केटाहरु इनारमा पसी डुबेको मानिसलाई बाहिर निकालियो । तर केही घण्टामा त्यो मानिस मर्‍यो ।
भोलिपल्ट बिहान जब मानिसहरुले आआफ्नो उपयोगको लागि त्यस इनारबाट पानी झिके, पानी एकदम मीठो थियो ।
त्यही साँझ, इनारमा डुबेर मरेको त्यो मानिसको समाधिमा दीपावली गरेको देखियो ।

वत्सराज कोइराला / नवलपुर, नेपाल