Home Blog Page 68

पुतलाको पावर / राजकुमार लामिछाने

धार्मिक मान्यतामा विश्वास भएर होला पेटमा जतीसुकै गोला चले पनि पूजा नगरी भुजा छुन समेत पाइँदैन थियो । त्यसै भएर सानामा एक माना दाना हसुर्नुभन्दा पहिला म पूजाका भाँडा बर्तन मसुर्थे र धर्मकर्ममा लीन हुन्थे । छिमेकीहरू पनि कामको जतीसुकै टन्टामा समेत मैले बजाएको घण्टा र फुकेको शङ्खलाई खुब चख भएर सुन्थे ।

‘सराद्धे गर्न सजिलो तर सिदा पुयाउन गाह्रो भने झैं पूजा विधिले भन्दा पनि शङ्ख फुकाइले मेरो गिदी खान्थ्यो । जब म शङ्ख फुक्थेँ तब मरेको मान्छे ल्यायो क्यारे भनेर डरले भुराहरू लुक्थे भने सुरा चाहिँ को मरेछ ? भनेर एकआपसमा फलाक्थे । पूजाआजामा त शङ्खको ध्वनि दोहोरो हुनेमा सबै एकोहोरो लास निकाल्दा राम राम भनेर रूने जस्तो ताल भएपछि हे भगवान् के गर्ने होला मलाई प्रलयकाल परेको थियो ।एक दिनको कुरो हो सदा झैं पूजा सकेर शङ्ख फुक्दै थिएँ, पल्लो घरकी लक्ष्मी दिदीले उहाँको छोरा लालेलाई “ए मोरा ! चाँडो खाना खा माथ्लो घरबाट लास निकाल्न लागिसके” भनेको शब्द आफ्नै कानमा आएर बजियो। “एक कान दो कान मैदान” भने मैले फुक्ने गरेको शङ्ख महात्म्यको बारेमा क्रमशः गाउँभरि नै फैलिन पुग्यो । अलि पछिपछि त साँच्चिकै मान्छे मरेर हाम्रै गाउँको बाटो शङ्ख फुक्दै लास ल्याए भने पनि आ त्यै माथ्लो घरमा राजकुमारले पूजा गरेर शङ्ख फुकेको त होला नि भनेर मान्छेहरू झुक्किन समेत थालिसकेका थिए ।

एक दिनको कुरो हो- हाम्रै गाउँभन्दा अलि माथि अमिलेका अमर बहादुर अमगाइँले अचानक अररिने रोगले अइया भन्न नपाई यमलोकको यात्रा तय गरेछन् । हाम्रै घरको बाटो भएर घाट लान शङ्ख फुक्दै आएका थिए । तर, हाम्रा गाउँका मानिसहरू भने उही मैले नै शङ्ख फुकेको त होला नि भनेर चरोमुसो कोही बाहिर ननिस्केको हुँदा झन्डै गाउँकै बेइज्जत नभएको ।

घरका अरूलाई शङ्ख फुक्न नआउने भएकोले हामी दाजुभाइहरू भिन्न हुँदा समेत त्यो शङ्ख र पूजाका सामाग्रीहरू मेरै अंश भागमा परेका कारण उक्त शङ्ख यद्यपि मसँग छँदै छ । केही पहिले गाउँमा मात्र के कहर काट्नु भनेर सहर पसिएको हुँदा अहिले नास्तिक जस्तो भएर बसिएको छ । तर, ‘नेपाल गए कपाल सँगै बर्मा गए कर्म सँगै भने झैं त्यो एकोहोरो शङ्ख फुकाइ त सहरमा झन् बढी मात्रमा घन्किँदो रहेछ । मेरो थन्किएको शङ्खलाई समेत सहरका चोक चोकमा रन्किएको शङ्खको आवाजले बेलाबेलामा झस्काइरहन्छ ।
घरै पिंडालु नै पिँडालु ससुराल जाँदा बाह्र हाते पिंडालु भने पहिले त म सहरको यो चमत्कार र चालामाला देखेर चस्किएँ । गाउँमा आफैले नजानेर एकोहोरो शङ्ख फुक्ने गरेको त सहरका मान्छेहरू झन् मभन्दा पनि नजान्ने रहेछन् भन्ने जस्तो लाग्यो बेला न कुबेला बजिनीको मेला भने भी जति बेला पनि एकोहोरो शङ्खको ध्वनि मेरो कानमा आएर बज्रिन थालेकोले सो सम्बन्धमा म सोचमग्न हुन थाले ।

एक दिनको कुरो हो म बजारतर्फ जाँदै थिएँ । ठुलो जुलुस नारा लगाउँदै आयो । एकोहोरो शङ्ख पनि बजिरहेको थियो । केही मानिसहरू आफू नारा लगाउँदै अरुलाई समेत जिन्दावाद र मुर्दाबाद भन्न लगाउँदै थिए । उनीहरू भन्दै थिए “मान्छे मार्न पाइँदैन, यस्तो सरकार चाहिँदैन ।” सबै जना सडक पेटीमा ठडिएर तमासा हेर्दै थिए, म पनि त्यहीँ किनारमा लामबद्ध भै अडिएर रहें। जुलुस अगाडि बढिरहेको थियो मेरो छेउमा उभिएका दर्शकहरू भन्दै थिए ” अरे यार यो त त्यै पार्टी होइन जसले हिजो सरकारमा बस्दा सबभन्दा धेरै मान्छे मारेको थियो ? “

अर्को दिन मेरै घरको छेउबाट त्यस्तै जुलस आयो नाराहरू । घन्किइरहेका थिए “बड्दो महँगी नियन्त्रण गर, भ्रष्टाचारीलाई कारबाही गर ।” जुलुसका नेतृत्वकारी अगुवाहरूलाई यसो हेरेको त तीनै व्यक्तिहरू र त्यही पार्टीका अनुहारहरू देखिन्धे जसले सरकारमा बस्दा सबैभन्दा बढी महँगी बढाउनुका साथै अकुत सम्पति कुम्ल्याएका थिए । आफू सत्तामा रहुन्जेल जे गरे पनि ठिक आफू सत्ताबाट बाहिरिने बित्तिकै भने यस प्रकारको नाटक मञ्चन भएको देख्दा कतै ‘आफै झाँकी आफै बोक्सी भनेको यही त होइन। जे होस् सुरू सुरूमा त यस्तो सडक नाटक हेर्न मलाई पनि खुब रहर लागेर आउँथ्यो र सहभागी हुन्थे पनि तर पछिपछि यो नाटकको कुनै भर नभई बित्थामा आफै मरिने पो हो कि भन्ने डरले सहभागी हुनै छाडिदिएँ ।

उर्लिएर कुर्लिएर नारा मात्र घन्काउँदै हिँड्ने नभै यो नाटकको मुख्य आकर्षण बिन्दु भनेको चाहिँ कलाकारहरूको कला, गला र क्षमता प्रदर्शन समेत गर्नु हो । कसरी हुन्छ आफूलाई मन नपरेको पात्रको उस्तै खालको जुलुङ्गो बनाएर त्यसलाई हलुङ्गोसँग काँधमा बोकेर नगर परिक्रमा गराउँदै सडकको मुख्य चोकमा लगेर अन्त्येष्टि गरी आफ्नो भोक फेर्ने हो । सो कार्यमा साथ दिने महत्त्वपूर्ण साधन वा औजार भनेको चाहिँ त्यही शङ्ङ्ख हो जस्लाई मैले समेत एकोहोरो रूपमा घन्काउन गाउँमै सिकिसकेको थिएँ । जसका नाउँमा दाहसंस्कार गर्नु पर्ने हो, एकैछिनमा काटीकुटी उसैको रूपको पुतला बनाउन खप्पिस हाम्रा राजनैतिक क्षेत्रमा लागेका मूर्धन्य व्यक्तिहरूको दिमागी सुतलालाई भने मान्नै पर्छ ।

एकैछिनमा शङ्ख हूँ… पायो, पुतलालाई अँगालोमा हाल्यो अनि एउटा चोकमा लगेर बाल्यो । टायर भएपछि फायर गर्न पनि त सजिलो, यता कालो मुस्लो भएर पुतला जल्छ, उता सडकको पिच समेत गल्छ अनि भएन कार्यक्रम सफल ? तर के गर्नु जसको पुतला जल्छ उसको एउटा भुत्ला पनि झर्दैन । देख्नु भो नि पुतलाको पावर ?

  • यस रचनालाइ राजकुमार लामिछानेकाे ”पुतलाको पावर हास्यव्यङ्ग्य सङ्ग्रह २०७४” बाट साभार गरिएकाे हाे ।

बालजागृतिमा विद्यार्थीहरू पुरस्कृत

भाद्र २५, मकवानपुर ।
उत्कृष्ट अभ्यास पुस्तिका तयार गरेका कारण बालजागृति सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरू पुरस्कृत भएका छन् ।
कार्यक्रममा विद्यार्थीहरू अन्जन यादव, संयम रिजाल, युविसन कार्की, पिहु अग्रवाल, आयुश्री दहाल, आँचल सापकोटा, सृष्टि यादव, अनुस्का धामी र आध्या कोइराला पुरस्कृत हुनु भएको छ ।
पाठ्यवस्तु अध्ययनका क्रममा विविध विधाहरूको अध्ययनसँगै कथा, कविता, जीवनी, निबन्ध, अवलोकन भ्रमण, पुस्तक समीक्षालगायतका विधाहरूलाई समेटेर अभ्यास पुस्तिका (Booklet) तयार पारिएको शिक्षक रजनी पौडेलले जानकारी दिनुभयो ।
बालजागृति इङ्लिस सेकेण्डरी स्कुलको पुस्तकालय हलमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश भण्डारीको सभाध्यक्षता रहेको कार्यक्रममा कवि छवि अनित्यको प्रमुख आतिथ्यता तथा प्र. अ. विनोद सुवेदीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा कक्षा ५ की छात्रा अंशु खनालले स्वागत मन्तव्य राख्नुभयो ।

कार्यक्रममा विद्यार्थीहरूको यस किसिमको सिर्जनशील कार्यप्रति विद्यालय सधैँ तत्पर रहेको स्कूलका प्रधानाध्यापक सुवेदीले बताउनु भयो ।
यस्तै प्रमुख अतिथि छवि अनित्यले विद्यार्थीको अन्तर्निहित प्रतिभालाई यसरी प्रष्फुटित गर्नमा विद्यालयले गरेको योगदानको उच्च कदर गर्नुभयो भने सभाध्यक्ष दिनेश भण्डारीले आगामी दिनमा हुने यस्ता कार्यक्रमहरूमा आफैँले व्यक्तिगत रूपमा पुरस्कारको घोषणा गर्नुभयो ।
कार्यक्रम कक्षा ५ का कृष्मा अर्याल, सयूसा न्यौपाने र सायूज्य देवले सञ्चालन गर्नुभएको कार्यक्रमको संयोजन शिक्षक रजनी पौडेलले गर्नु भएको हो ।

बिपी जयन्तीमा लेखक संघले सम्झियो प्रदीप गिरी

पोखरा, भदौ २३ । विचार र दर्शन बुझ्दैमा त्यही दर्शनको अनुयायी भइहाल्नुपर्छ भन्ने नभएको कुरा विश्लेषक एवम् चिन्तक विश्व सिग्देलले बताएका छन् । ११० औँ बीपी जयन्तीका अवसरमा नेपाली लेखक संघ, कास्कीले आयोजना गरेको ‘प्रदीप गिरी ः अध्यात्मदेखि माक्र्सवादसम्म’ शीर्षकको कार्यक्रममा सिग्देलले सो विचार व्यक्त गरेका हुन् । बीपी र प्रदीप गिरीलाई सँगसँगै सम्झँदै सिग्देलले प्रदीप गिरीको व्यक्तित्व, अध्ययन र त्यसको गहनताबारे उल्लेख गर्दै गए । गिरी सन्यासी परम्पराका व्यक्तित्व भएको उल्लेख गर्दै त्यसमाथि पनि गृहस्थ सन्यासीका रूपमा उनलाई बुझ्नुपर्ने उल्लेख गरे । ‘व्यक्तित्व, चरित्र, विचार र आचरणले पनि गिरी एक फकिर हुन्’ उनले भने । फकिर चरित्रको अराजक व्यक्ति हुँदाहुँदै पनि उनको असाधारण बौद्धिकता काङ्ग्रेसलाई आवश्यक भएकाले मात्रै उनी काङ्ग्रेसमा अटाइरहन सम्भव भएको उनको दाबी थियो । विचारमा र कार्यशैलीमा पार्टीभित्र बेलाबेला टकराव भइरहने गिरी पार्टीको ह्वीपसमेत नमान्ने गरेको कुरा विभिन्न उदाहरण दिँदै उनले प्रस्तुत गरे । वर्तमान संविधान प्रजातान्त्रिक संविधान नभएको भन्दै पार्टीको बेवास्ता गर्दै गिरीले हस्ताक्षर नगरेको प्रसङ्गसमेत उनले कोट्याए । गिरी अराजक प्रवृत्तिको हुन सक्नुका पछाडि उनको अध्यात्मको गहन बुझाइ नै प्रमुख कारक रहेको उनले औँल्याए ।
अध्यात्म धर्मभन्दा निकै माथि रहेको र अध्यात्मवादी चिन्तन भएको मानिसले ससानो सम्प्रदायभन्दा पनि सिङ्गो विश्व मानव समुदायलाई आफ्नो जीवनसापेक्ष मान्ने कुरा सिग्देलले बताए । नेपाली माक्र्सवादी भनिनेहरूमा माक्र्सवादको बुझाइ नै निकै कमजोर रहेकोतर्फ सङ्केत गर्दै उनले भने – ‘अध्ययनमा निकै गहिराइसम्म पुग्ने कुरामा गिरीलाई नेपालको अर्को दोस्रो व्यक्तिले आजसम्म भेट्न सकेको छैन ।’ तसर्थ पनि माक्र्सवादको असली अर्थ बुझ्नका लागि विश्वासिलो स्रोतव्यक्तिका रूपमा गिरी स्थापित भएको कुरा उल्लेख गरे । राम्रो प्रजातन्त्रवादी बन्नका लागि पनि माक्र्सवाद एवम् अन्य कम्युनिष्ट विचारधाराको राम्रो ज्ञान हुनु जरुरी भएको मान्यता राख्ने गिरीले माक्र्सवाद मात्रै होइन लेनिन, स्टालिनदेखि लिएर कम्युनिजमका एक एक केस्रा केलाएर अध्ययन गर्न सफल भएको बताए ।
माक्र्सवाद दर्शन भएको तर राजनीतिक चिन्तन नभएको ठहर थियो सिग्देलको । रोजा लक्जेम्बर्गले सर्वहाराको पूर्ण अधिकार माग्दा लेनिनले उनलाई गद्दार घोषणा गरेको सन्दर्भ कोट्याउँदै माक्र्सवादका अनुयायीले माक्र्सको चिन्तनको अवमूल्यन गरेको बारेमा गिरीले प्रष्ट धारणा राख्ने गरेको सुनाए । हालको माक्र्सवादी समाजवाद युरो कम्युनिजमको निरन्तर रूप मात्रै भएको उनले सुनाए ।
गिरीको बहुआयामिक व्यक्तित्वका अनेकन पाटा र उनको गम्भीर चिन्तन क्षमतालाई वर्णन गर्न साधारण अध्ययन र सीमित समयमा असम्भव रहेको स्वीकार गर्दै उनले प्रदीप गिरी र उनको क्षमता एवम् जीवनदर्शनबारेको दृष्टिकोण प्रष्ट पार्न लामो अनुसन्धान आवश्यक रहेको सिग्देलले बताए । बी.पीपछि प्रदीप गिरीमा नै उच्च राजनीतिक सुझबुझ र फराकिलो चिन्तन प्रस्तुत भएको पाइने उल्लेख गरे ।

कार्यक्रममा स्याङ्जाबाट पोखरा आइपुगेका साहित्यकार विश्वप्रेम अधिकारीले प्रदीप गिरी र आफूलगायतका साथीहरू वनारसमा रहँदाका रोचक एवम् गहन प्रसङ्गहरू प्रस्तुत गरे । गिरीलाई सुन्न वनारसका गल्लीमा उनी आउँदा गल्लीमा बस्ने प्रायः विद्यार्थी एकजुट हुने गरेको प्रसङ्ग पनि उनले कोट्याए । तत्कालीन टीवाइसिएल गठन हुँदाका समयमा र त्यसपछि एक पत्रिकामा सम्पादकका रूपमा सँगै काम गरेको प्रसङ्ग खोतल्दै अधिकारीले गिरीभित्र रहेको स्वच्छन्दताप्रेमी जीवनको आयामबारे प्रष्ट पारे । केही वर्ष सँगै सक्रिय हुँदाका यादहरू खोस्रँदै अधिकारीले गिरीको वैचारिक निष्ठा निकै महत्त्वपूर्ण र अचल रहेको उल्लेख गरे ।
कार्यक्रममा डा. भूमिराज बस्ताकोटी, शिव के.सी., दिपेन्द्र श्रेष्ठ, चिरञ्जीवी शर्मा पौडेल, गीता लामिछाने, डा. लक्ष्मीशरण अधिकारीलगायतले अन्तरक्रियामा सक्रिय सहभागिता जनाएका थिए ।
प्रजातान्त्रिक विचारका अनुयायी एवम् प्रखर वक्ता एवम् चिन्तक प्रदीप गिरीको पहिलो स्मृति दिवस पनि भदौ महिना नै रहेकोले बिपी जयन्तीका अवसरमा प्रदीप गिरीको गहन चिन्तनमाथि केन्द्रित यो कार्यक्रम आयोजना गरिएको सस्ंथाकी अध्यक्ष रीता अधिकारी ‘ऋतु’ ले बताइन् । स्मरण रहोस्, नेपाली लेखक सङ्घ, कास्कीले विगतदेखि नै बी पी जयन्तीका अवसरमा बहसमूलक कार्यक्रम सञ्चालन गर्दे आएको छ ।
संस्थाकी अध्यक्ष रीता अधिकारी ‘ऋतु’ को सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव प्राञ्जलले गरेका थिए भने उपाध्यक्ष कमल पौडेल ‘अथक’ले गरेका थिए ।

यादको कोलाज’को पोखरामा गृहलोकार्पण

पोखरा, भदौ २३ । लेखक अमृत क्षेत्रीको दोस्रो कृति ‘यादको कोलाज’को पोखरामा गृहलोकार्पण सम्पन्न भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरूभक्तले पोखरामा आयोजित एक समारोहमा कृतिको गृहलोकार्पण गरे ।
लोकार्पण कार्यक्रममा प्रमुख अतिथीय मन्तव्य व्यक्त गर्दै सरूभक्तले विभिन्न पेसामा लामो समय बिताएका र जीवनमा फरक अनुभूति बोकेका व्यक्तित्वहरू साहित्य क्षेत्रमा प्रवेश गर्दा साहित्य निकै बलियो बन्ने कुरा बताउनुभयो । उहाँले अमृतको काव्यिक लेखन निकै गहन रहेको र आगामी दिनमा राम्रा कृति पस्कने उच्च सम्भावना बोकेर उपस्थित भएको उल्लेख गर्नुभयो । लाहुरे पेसासँग नेपाली जीवनको नजिकको साइनो रहेको र अमृतको आगमनपछि पोखराबाट नेपाली साहित्यले पनि लाहुरे जीवनलाई प्रवेश गराएको बताए । नेपाली साहित्यमा विभिन्न क्षेत्रबाट लेखकहरू प्रवेश गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।
पुस्तकमाथि समीक्षा राख्दै जीवनसागर भण्डारीले कृतिमा लाहुरे जीवनको प्रतिबिम्ब उतारिएको बताए । लाहुरे जीवनमा रहेको कडा अनुशासनको कारुणिक वर्णन गरिएको सुनाए । लाहुरे जीवनका भर्ती, तालिम, छुट्टी, युद्ध, प्रेम आदि सबै पक्ष समेटी बाह्रओटा शीर्षकमा पुस्तक समेटिएको उनले उल्लेख गरे । प्रकृतिको उदात्त वर्णन कृतिभरि भेटिने उनले बताए । उनले भने – ‘काव्यात्मक भाषाशैलीमा जीवनका भोगाइ र जीवन, जगत्, वस्तु र सत्यलाई फरक तरिकाले व्याख्या गर्ने काम लेखक अमृतले गरेका छन् ।’ युद्धमा व्यस्त लाहुरेले प्रकृतिप्रेमको वर्णन कसरी गर्न सक्छ भन्ने कुराका लागि यादको कोलाज कृति पढ्नुपर्ने उनको ठम्याइ थियो । सरल काव्यिक भाषामा कृति पस्केका अमृतले हरेक शीर्षकको थालनीमा प्रस्तुत गरेको जीवनदर्शन गहन रहेको समेत उल्लेख गरे । यद्यपि कृतिमा लाहुरे जीवनका अन्य गहन पक्षहरूका नखुलेका पाटाहरू रहेको महसुस पाठकले गर्ने बताउँदै आउँदो संस्करणमा त्यसको गम्भीर पक्षलाई समेट्न लेखकलाई सुझावसमेत दिए ।
लेखक अमृतले आफ्नो साहित्यलेखनमा रुचि सानैदेखि रहेको र विषयहरूले नै लेखाउँदै लगेको विचार व्यक्त गरे । सबैको मायाले लेखनतर्फ थप हौसला मिलेको उनको भनाइ थियो ।
कार्यक्रममा विश्लेषक विश्व सिग्देल, कवि रीता अधिकारी ‘ऋतु’, पुछारसिटे अभियानका सल्लाहकार लक्ष्मण थापा, माया पब्लिकेसनका प्रबन्ध निर्देशक विनय दत्तलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । अभियन्ता मोहन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा अभियानका संयोजक सञ्जीव पौडेलले लेखक अमृतका बारेमा लेखक परिचय प्रस्तुत गरेका थिए भने अभियन्ता श्रीराम अधिकारी ‘गोर्जे’ले स्वागत मन्तव्य राखेका थिए ।

‘बाआमा’ र ‘चिसो बाफ’ लाई चितवन साहित्य परिषदको पुरस्कार

भाद्र २४, मकवानपुर ।
चितवन साहित्य परिषद (चिसाप) द्वारा स्थापित चिसाप राजकृष्ण मायादेवी साहित्य पुरस्कार २०७९ बाट रामलाल जोशीको कृति ‘बाआमा’ र चिसाप माधव खनाल साहित्य पुरस्कार २०७९ बाट गोपी सापकोटाको ‘चिसो बाफ’ ले पुरस्कृत हुने भएको छ ।
दुवै पुरस्कारको राशी ३५ हजार ४५ रूपैयाँ रहेको छ भने सो पुरस्कार चिसापले भाद्र ३० गते शनिबार मोती जयन्तीको विशेष अवसरमा नारायणगढस्थित आफ्नै सभाहलमा समर्पण गरिने जनाएको छ ।
सम्मानका लागि छनौट भएका लेखकहरू जोशी धनगढी निवासी हुनुहुन्छ भने सापकोटा गैंडाकोट, नवलपुर/हाल अमेरिका निवासी हुनुहुन्छ ।
परिषद्का पूर्वअध्यक्ष साहित्यकार स्व. राजकृष्ण कँडेलको स्मृतिमा उहाँका परिवारजनद्वारा २०७४ सालमा राजकृष्ण कँडेल साहित्य पुरस्कारबाट स्थापित भई २०७७ मा चिसाप राजकृष्ण मायादेवी साहित्य पुरस्कारमा परिणत भएको हो । यसअघि सो पुरस्कार नेत्र एटमको कविता संग्रह ‘प्रिय मौनता’, डा. नवराज लम्सालको कविता संग्रह अग्‍नि लगायतले पाइसकेका छन् ।
नेपाली भाषा, साहित्य, कला, संस्कृतिको संरक्षणको उद्देश्यले २०४५ सालमा स्थापित चिसापका अध्यक्ष केदारनाथ खनाल रहनु भएको छ ।

चट्याङमास्टरलाई १,११,१११ राशीको पुरस्कार

वासुदेव लुइँटेल पुरस्कार २०७९ हास्यव्यङ्ग्य लेखक चट्याङमास्टर (कृष्णमुरारी गौतम) ले प्राप्त गर्नुभएको छ । सिस्नुपानी नेपालका संस्थापक अध्यक्ष समेत रहनु भएका उहाँले १ लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कार राशीका साथमा सम्मानपत्र र प्रतीक चिह्न प्राप्त गर्नुभएको हो ।
यस्तै, चूडामणि रेग्मी र छन्दकवि रमेश खकुरेललाई वासुदेव लुइँटेल सम्मान प्रदान गरिएको छ । साथमा उहाँहरू जनही नगद १० हजार, दोसल्ला र सम्मानपत्रले सम्मानित हुनुभ‌एको छ ।
वासुदेव शर्माले भैरव अर्यालकै हास्यव्यङ्ग्य पुस्तक प्रकाशनका लागि कौवा प्रकाशन गर्नु भएको थियो । हाल सम्मानका अवसरमा गुठीले त्यही कौवाको प्रतीक चिन्ह प्रदान गर्ने गरेको छ ।
शनिबार वासुदेव शर्माको तस्वीरलाई सभाध्यक्ष स्थापित गराएर सुरू भएको कार्यक्रममा भैरवबहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो । बालसाहित्यकार शान्तदास मानन्धरको विशिष्ट आतिथ्यता, वासुदेव–विद्यादेव लुइँटेल गुठीका अध्यक्ष प्रा.डा. सुषमा आचार्य, पत्रकार रोचक घिमिरे, यादव खरेल लगायतको उपस्थितिमा आयोजित पुरस्कार वितरण समारोह नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको हलमा सञ्चालन गरिएको हो । सो कार्यक्रम सिस्नुपानी नेपालका सचिव सरोज घिमिरेले सञ्चालन गर्नु भएको हो ।

साहित्य संगम मकवानपुरमा डिबी बर्तौलाको नेतृत्व

भाद्र २३, मकवानपुर ।
मकवानपुरमा रहेको सक्रिय साहित्यिक संस्थामध्ये एक जेठो संस्था साहित्य संगम मकवानपुरको १६औं अधिवेशन सम्पन्न भएको छ ।
शनिबार हेटौँडा क्याम्पसमा सम्पन्न अधिवेशनपश्चात् नयाँ समिति चयन भएको छ ।
संगमका अघिल्ला कार्यसमितिमा सचिवका रूपमा रहेका डिबी बर्तौला ९७ मतसहित अध्यक्षमा विजयी हुँदै गर्दा अर्का उम्मेदवार पुरूषोत्तम आचार्यले ८१ मत प्राप्त गर्नु भएको छ ।
यस्तै १२१ मतसहित उपाध्यक्षमा सानु खनाल दोहोरिनु भएको छ । उहाँका प्रतिष्पर्धी एस के निधनले ५६ मत प्राप्त गर्नुभयो ।
६७ मत प्राप्त गर्नु भएका यश लामाका प्रतिष्पर्धी तथा अघिल्लो कार्यसमितिका कोषाध्यक्ष मनोज पोखरेलले ११० मतसहित सचिव पदमा विजय हुनु भएको छ । कोषाध्यक्षमा मेनु तिमल्सिना र सहसचिवमा भवानी तिमल्सिना निर्विरोध चयन हुनु भएको छ भने सदस्यहरूमा १२४ मतसहित रजनी पौडेल, ११८ मतसहित स्वस्तिका बानियाँ, ९९ मतसहित कृतिका लौडारी र ८३ मतसहित कुबेर पराजुली चयन हुनु भएको छ । अन्य उम्मेदवारहरूमा मीनप्रसाद लामिछाने, बैकुण्ठ लामिछाने, सिएम रिमाल रहनु भएको थियो ।
संगमका कूल २४४ सदस्यमध्ये १८२ जना (७४.८९%) ले मताधिकार प्रयोग गरेका थिए भने ३ मत बदर भएको थियो ।
संगममा पूर्व अध्यक्ष अनिता न्यौपाने, वर्तमान अध्यक्ष डिबी बर्तौला र पुरूषोत्तम आचार्य गरी ३ जना अध्यक्षका लागि उम्मेदवारी रहेकोमा न्यौपानेले उम्मेदवारी फिर्ता लिनु भएको हो । आचार्यले अन्तिम समयसम्म पनि सहमतिको प्रयासका लागि सहजिकरण गर्नुहुने सबैप्रति धन्यवादका साथ विजयी सबैलाई शुभकामना दिनुभयो । भने पूर्व अध्यक्ष न्यौपानेले कामको मूल्याङ्कन शुभचिन्तक र सदस्यहरूले नै गर्नुहुनका लागि अनुरोध गर्नुभयो ।
संगमका नयाँ नेतृत्व प्राप्त गरेपछि अध्यक्ष बर्तौला, उपाध्यक्ष खनाल र सचिव पोखरेलले आगामी कार्यकाल सबैजनासँग हातेमालो गर्दै साहित्यिक गतिविधिमा सक्रिय रहने बताउनु भएको थियो ।
निर्वाचन मण्डलमा तुल्सी घिमिरे, निमेष निखिल, सुवास खनाल र अधिवक्ता ऋषि केबी रहनु भएको थियो ।
यही अधिवेशनका क्रममा संगमले रचना वाचन गरी सुरू गरेको कार्यक्रममा संस्थागततर्फ प्याब्सन मकवानपुर, नवोदय शिशु सदन, नेपाल हृदयरोग निवारण केन्द्रका साथै साहित्यसेवी तथा बालजागृति अंग्रेजी बोर्डिङ् स्कुलका प्रिन्सिपल विनोद सुवेदी, दाता सुदीप शिवाकोटी र सूचना सम्प्रेषणका लागि प्रदेश सञ्चार डटकमका सम्पादक केशव सुवेदी समर्पण सम्मानित हुनुभयो ।
२०४४ सालमा स्थापित संगम र २०५५ मा स्थापित सिस्नुपानी मकवानपुरलाई साहित्यसेवी तथा हास्यव्यङ्ग्यकार आरसी रिजालले जग्गा उपलब्ध गराउनु भएकोमा हेटौँडा भैरवरोडस्थित संयुक्त भवनमा विभिन्न साहित्यिक क्रियाकलापहरू हुँदै आएका छन् ।

साहित्य सङ्गम मकवानपुरकाे नया कार्यसमितिकाे सचिव अध्यक्ष उपाध्यक्षका धारणा

विश्वचर्चित पुस्तक ‘द गोर्खाज डटर’ का लेखक प्रज्ज्वल पराजुली हेटौँडामा

भाद्र २२, मकवानपुर ।
किताबघर हेटौँडाले Gurkha’s Daughter (२०१२) र Land Where I Flee (२०१३) का लेखक प्रज्ज्वल पराजुलीलाई हेटौँडामा साहित्य सर्जकहरूका बीचमा बहसमा सहभागी गराएको छ ।
हाल अमेरिका निवासी लेखक सिक्किममा जन्मिएका हुन् भने उनको दोस्रो कृति Land Where I Flee को नेपाली अनुवाद ‘चित्रलेखाको चौरासी’ (२०२३) लाई नेपालय प्रकाशनले विभु लुइँटेलद्वारा नेपालीमा अनुवाद गराई नेपालभर सार्वजनिक गरेको हो ।
हेटौँडा क्याम्पसमा आयोजित कार्यक्रममा वक्ता उप-प्राध्यापक मनोज पोखरेलले पराजुलीको व्यक्तिगत जीवन र यस पुस्तकभित्रका विषयवस्तुबारे विचार राख्नु भएको थियो । उहाँले समलिङ्गी सम्बन्ध, एउटा भाइले दिदीप्रति प्रयोग गरेका शब्द आफूलाई व्यक्तिगतरूपमा अपाच्य लागे पनि हजुरआमाको चौरासीको विषय र भाषाप्रतिको माया आदिबारे प्रशंसा गर्नुभयो ।
यस्तै शिक्षा विकास शिशु सदनकी प्रिन्सीपल ग्रेस श्रेष्ठले पनि पराजुलीको सो कृतिले आफ्नो माइती सिक्किम दार्जिलिङमा रहँदाका यादहरू सम्झना दिलाएकोले आफ्नै कथाजत्तिकै लागेको बताउनुभयो ।
पराजुलीले बेलायती र अमेरिकीमूलकै अंग्रेजीभाषी पाठकले आफ्नो कृति Land Where I Flee लाई अन्य कुनै भाषाबाट अनुवाद गरिएको कृति जस्तै भनेको सम्झँदै अहिले सोही पुस्तकको नेपाली रुपान्तर ल्याएको बताउनु भयो । साथै उहाँले ‘चित्रलेखाको चौरासी’ पुस्तक आफ्नै घर आएजस्तो अनुभव भएको बताउँदै हेटौँडा आफूले सोचेभन्दा फरक रहेको र यहाँको दृश्यावलोकनले आफूलाई छोएको भन्दै यहाँको डाँडाकाँडा, सफा सहरका कारण आफूले सोचेको फ्याक्ट्रीको सहरभन्दा भिन्न देखिएको समेत जानकारी दिनुभयो । उच्च मध्यमवर्गीय परिवारको ज्येष्ठ नागरिक हजुरआमाको कथालाई लिएर लेखिएको कथा बारे परिचर्चा कार्यक्रमका लागि देशका विभिन्न स्थानमा भ्रमण गरिरहेको नेपालय प्रकाशन समूहसँगै पराजुली शुक्रबार नै नवलपुरको गैँडाकोटमा पुग्नु भएको छ भने शनिबार पोखरामा सोही प्रकृतिको कार्यक्रममा व्यस्त हुनुहुनेछ ।
कार्यक्रमलाई  हेटौँडा क्याम्पस नेपाली विषय विभागको आयोजनामा किताबघरले संयोजन गरेको हो भने आजको कार्यक्रमलाई छवि अनित्यले सहजीकरण गर्नुभएको थियो ।

आँचलद्वारा ॐ वृद्धाश्रममा खाद्यान्न सहयोग

मकवानपुरका महिला साहित्यकारहरूको संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले हेटौँडा उपमहानगरपालिका वडा नम्बर २, चौकीटोलमा रहेको ओम वृद्धाश्रममा विभिन्न खाद्यान्न सामाग्री सहयोग गरेको छ ।
आउँदै गरेको हिन्दु महिलाहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर आँचलले शुक्रबार वृद्धाश्रमलाई ७ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको हो ।

आँचल मकवानपुरकी अध्यक्ष भावना सापकोटाले आश्रममा रहेका वृद्धवृद्धालाई बिहानको खाजा दूध, पाउरोटीका साथै दाल, चामल, नुन, तेल, तरकारी, गेडागुडी लगायत विभिन्न खाद्यान्नका साथै सरसफाइका लागि आवश्यक पर्ने साबुन, सर्फ, मन्जन जस्ता सामान सहयोग गरेको जानकारी दिनुभयो । कार्यक्रममा आँचल साहित्य कला पुञ्ज मकवानपुरका कार्यसमिति सदस्य एवम् आँचलका आजीवन सदस्यहरू, ओम वृद्धाश्रमको सञ्चालकहरूको उपस्थिति रहेको थियो ।
मकवानपुरका सक्रिय साहित्यिक संस्थामध्येकै आँचलले हरेक वर्ष फरक फरक किसिमको सिर्जनात्मक तथा सचेतनामूलक तीज कार्यक्रम गर्दै आइरहेको छ ।

साहित्य सङ्गमको अधिवेशन भाद्र २३ गते, अध्यक्षमा तीनजनाको दाबी

भाद्र २२ गते, मकवानपुर ।
साहित्य सङ्गम मकवानपुरको १६ औँ अधिवेशन आगामी भाद्र २३ गते शनिबार हेटौँडा क्याम्पस, हेटौँडामा हुने भएको छ ।
नयाँ नेतृत्वका लागि सो अधिवेशन हुन लागेको सङ्गमकी अध्यक्ष अनिता न्यौपानेले बताउनुभएको छ  ।
यो अधिवेशनबाट नयाँ कार्यसमितिसमेत चयन हुने भएकाले कसको नेतृत्वमा सङ्गम अगाडि बढ्छ भनेर चासोका साथ हेरिएको छ ।
अधिवेशनको मिति नजिकिँदै जाँदा सङ्गमको वर्तमान अध्यक्ष अनिता न्यौपाने, सचिव डिबी बर्तौला र प्रलेस मकवानपुरका पूर्व अध्यक्ष पुरुषोत्तम आचार्यको अध्यक्षमा दाबी रहेको छ । नवसाहित्य डटकमको अन्तर्वार्ताका क्रममा उहाँहरु तीनैजनाले अध्यक्षमा दाबी रहेको पुष्टि गर्नु भएको छ ।
यस्तै, सङ्गमकी अध्यक्षसमेत रहनु भएकी अध्यक्षका आकाङ्‍क्षी अनिता न्यौपानेले संस्थाको इतिहासमा नै पहिलो पटक आफू नेतृत्वमा आएपछि दुई पटक साहित्यिक महोत्सव गरेको बताउँदै अबको पटक नेतृत्वमा जाँदा हेटौँडा प्रदेशको राजधानी भएको अनुभूत हुनेगरी काम गर्ने बताउनु भयो । साहित्य सङ्गम मकवानपुरको नाममा सुविधा सम्पन्न नाटकघरसहितको भवन निर्माण गर्ने र आफूसँग केही ठूला योजनासमेत भएकाले ती काम सम्पन्न गर्न पनि अध्यक्षमा दोहोरिने चाहना राखेको बताउनु भयो ।
अध्यक्षका अर्का आकाङ्‍क्षी पुरुषोत्तम आचार्यले लामो समयदेखि साहित्य सिर्जनामा रही आएको नेतृत्व, समन्वयका हिसाबले आफू यस पदका लागि योग्य रहेको हुँदा अग्रजहरूका सुझावलाई मनन गर्दै नवपुस्तालाई पनि सँगसँगै लिएर अघि बढ्ने बताउनुभयो ।
अध्यक्षका अर्का आकाङ्‍क्षी डिबी बर्तौलाले आर्थिक इमान्दारीताका साथ अक्षयकोष निर्माण गर्ने, दिगो आर्थिक विकास गर्ने, सांस्कृतिक तथा साहित्यिक अभिलेखीकरण गर्ने, साहित्यिक उन्नयन र विकास गर्ने, अनुजलाई डोर्‍याउने, समकक्षीलाई साथमा लिएर हिँड्ने र अग्रजको सल्लाहमा संस्थाको उन्नतिमा निरन्तर लाग्ने र साहित्यिक संस्थाहरुसँग सहकार्य गर्दै गाउँ केन्द्रित कार्यक्रम पनि गर्ने योजना रहेको बताउनु भयो ।
यो समाचार तयार पार्ने समयसम्म प्राप्त जानकारीअनुसार वर्तमान समितिमा आवद्धहरूमध्ये सङ्‍गमको उपाध्यक्षमा सानु खनाल, सचिवमा मनोज पोखरेल, कोषाध्यक्षमा मेनु तिमल्सिना, सहसचिवमा सुनिल गौतमलगायतले आकाङ्‍क्षा राख्नु भएको छ ।
सर्वसम्मत नयाँ कार्यसमिति चयन नभए एक पक्ष विगतमा झैँ अलग्गिने समस्या दोहोरिन सक्ने भएकाले सर्वसहमतिको लागि पहल गरिरहेको सङ्गमका निवर्तमान अध्यक्ष निमेष निखिलले बताउनु भयो । सबै पक्षलाई समेटेर नयाँ कार्यसमिति बनाउनुपर्नेमा जोड रहने उहाँको भनाइ छ ।
साहित्य संगममा सङ्गमको हरेक २/२ बर्षमा अधिवेशन हुदै आएको छ ।

अधिवेशनको पुर्व सन्ध्यामा अध्यक्षपदको दाबेदारहरुसंग गरिएको अन्तर्वार्ता