Home Blog Page 71

कथा : उज्यालो हुँदै / रोजिना तिमल्सिना

तीन पटक भइसक्यो हजुर, अहिलेसम्म म कसरी बाँचेको छु । त्यति भन्दै ती महिला सुँक्क सुँक्क रून थालिन् । यहाँ सबै कुरा नआत्तिएर भन्नुहोस् दिदी ! अब त हामी छौँ । त्यो भुँडिवाल जस्तो देखिने अग्लो मान्छेले भन्यो । ती महिलाको गला अवरुद्ध थियो । पछ्यौरीको फेरले आँशु पुछ्दै उनले भन्न थालिन् ।

त्यो दिन ……………

म गाउँमा केहि काम नभएको कारण अर्को देश मुग्लान पसेको थिएँ । मुग्लान् पसेको दुईतीन दिन भइसकेको थियो । काम खोज्न साह्रै मुस्किल भयो । तैपनि मैले बिहानको एक छाक खाना खान पुग्ने जति कमाउने पैसाको काम पाएँ । त्यो काम पाएर म साह्रै खुसी भएँ र मैले त्यो काम गर्न सुरु गरेँ । मैले काम गरिरहेको बेला एउटा अग्लो मान्छे मेरो अगाडि टुप्लुक्क आइपुग्नुभयो र उहाँले मलाई हेरेर सोध्नुभयो । हजुर यहीँ काम गर्नुहुन्छ ? अ.. म यहि काम गर्छु भनेर मैले भनेँ । म पनि यहीँ काम गर्छु । हामीले मिलेर काम गर्‍यौँ । उहाँले मलाई त्यतिकै सघाउनुभएको होइन रहेछ, माया गरेर सघाउनु भएको रहेछ कि त्यो मलाई थाहा भएन । मेरो मन पनि त्यतै गइसकेको रहेछ । हामी एक अर्कालाई धेरै माया गर्थ्यौँ । हामीले काम गर्ने क्रमसँगै हाम्रो विवाह भयो । केही समयपछि हामीले हाम्रो दुईवटा छोरीहरूलाई जन्म दियौँ ।

उता, गाउँमा भने वृद्ध हुनुभएको आमा र बुवालाई पनि गाउँमै छोडेर आएको थिएँ । केहि समयसम्म त म घरमै बसेँ । तर मेरो श्रीमान घरमा बस्नु हुँदैनथ्यो । श्रीमान बाहिरतिर गएर असल साथीको होइन खराब साथीको संगतमा लागेर उहाँले जाँड, रक्सी पिउने, चुरोटहरू खान थाल्नुभयो । पहिला त त्यस्तो हुनुहुन्थेन । म काम गएको बेला केही काम परेर अरु कोहीसँग बोलेँ भनेँ राती घर आएपछि तँ दिउँसो कोसँग बोलेको ? त्यो मान्छेसँग तेरो के सम्बन्ध छ ? भन् ! त्यो मान्छेसँग किन बोलिस् ? भनेर मलाई कराउनु हुन्थ्यो । हाम्रो झगडा जति बेला हुन्थ्यो, त्यतिबेला मेरा छोरीहरू श्रीमानको पाखुरामा झुन्डिन्थे । मलाई मात्र नभएर पाखुरामा झुन्डिएका छोरीहरूलाईसमेत झम्टिनुभयो । म त मरेँ नि बाँचे केही हुने थिएन तर मेरो छोरीहरूलाई यहाँ खेर बचाउन सकिँदैन भनेर म मेरो छोरीहरूको लुगाफाटो हालेर गाउँ जान बाध्य बनाउनुभयो ।

उता, आमा र बुबाको निधन भइसकेको थियो । गाउँमा भने मेरो आफन्त भन्ने कोही पनि हुनुहुन्थेन । तै पनि म मेरो छोरीहरूलाई लिएर म पहिलेकै गाउँ गएँ । त्यहाँ मेरो एक जना आफन्त पर्ने दिदी हुनुहुन्थ्यो । मैले मेरो बारेमा सबै त्यो दिदीलाई भनेँ । यति सबै कुरा सुनेपछि त्यो दिदीले मलाई श्रीमती बित्नु भएको मान्छेसँग दोस्रो विवाह गर्न अनुरोध गर्नुभयो । मैले पनि अब सो हुदैन होला भनेर त्यो दिदीको कुरा मानेर दोस्रो बिवाह गरेँ । मेरो श्रीमानको एउटा छोरा थियो, जो मेरी दुई वटी छोरीहरूभन्दा जेठो थियो । दोस्रो विवाह गरेको श्रीमानले पनि जाँड, रक्सी पिउनु हुन्थेन । केही समयपछि उहाँले पनि मेरो पहिलेको श्रिमानले जस्तै जाँड, रक्सी पिउन थाल्नुभयो । हा…….

एक दिनको कुरा हो, मेरो गोठबाट अचानक अनौठो आवाज आयो । मैले त गाई अल्झेछ क्यार भनेर ढोका खोलेर जानासाथ जेठो छोराले जेठी छोरीलाई बलात्कार गर्न लागेको रहेछ । धन्न ! म बेलैमा पुगेँ  र मेरी छोरीलाई बचाएँ । योभन्दा अघि दुई पटक पनि उसले आत्महत्या गर्न लागेको बेला म भगवानको साथले समयमै पुगेर छोरी बचाएँ । यदि मैले मेरी छोरीलाई बचाएको भए उनी अहिले यो संसारमा हुने थिइनन् । मेरो बुढेसकालको सहारा पनि कोही हुने थिएन । म भगवानसँग यहीँ प्रार्थना गर्छु कि मेरो दुई वटा छोरीहरूलाई सकुशल हुन देऊ ।

मेरो जिन्दगी “सिंहको गुफाबाट बचेर जाऊँ भन्दा बाघको गुफामा छिरे” जस्तो भयो ।

गरीबहरूलाई निःशुल्क पढ्न पाइने भन्छन् । पढ्न भने कहीँ पाइएन । सरकार र नेता मिलेर खान्छन्, पैसा अनि भाषण छाड्छन् । भ्रष्टचारी नेता त्यसै भनेको हो र ? यस्तो अन्याय र अत्याचार कति सहने ।

‘गल्ली गल्ली’ भन्ने संस्थाले यति सबै कुरा सुनीसकेपछि भन्नुभयो, हामी हजुरको छोरीहरूले जतिसम्म पढे पनि हामीले त्यतिसम्म नै पढाउने छौँ । तपाईँलाई पनि केही काम खोज्ने छौँ । अब हामी तपाईको छोरीहरूलाई भर्ना गर्छौँ भन्दै ती संस्थाका मानिसहरू कारमा चढेर गए । त्यो कार जति टाढासम्म देखिन्छ, त्यतिबेलासम्म मेरो आँखा त्यतै पट्टि लाग्यो ।

कक्षा-७, जनप्रिय मावि हेटौँडा-१६, मकवानपुर ।

भिडियो संवाद : तुल्सी थापाको अन्तिम संस्कारमा सहभागी कसले के भने

तुल्सी थापाको अन्तिम संस्कारमा सहभागी कसले के भने

मकवानपुरका शिक्षा तथा साहित्य क्षेत्रमा क्रियाशील ब्यक्तिहरूले थापाको निधनबाट मकवानपुरलाई मात्र नभई सिङ्गो राष्ट्रलाई नै अपुरणीय क्षती पुगेको बताए । उनीहरूले कहिल्यै चर्चामूखी नभई जिम्मेवारीपूर्ण ढङ्‌गबाट आफ्नो दायित्व पूरा गर्ने स्वभावका उनको जिवनबाट भावि पुस्ताले धेरै सिक्नुपर्ने बताएका हुन् । ७८ बर्षको उमेरमा शुक्रबार निधन भएका मकवानपुरका अग्रज तुल्सी थापाको शनिबार देवघाटमा अन्तिम संस्कार गरिएको छ । उनको ईच्छामुताविक नै देवघाटमा अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको हो । 

कविता : सम्झनामा एक युग / बैकुन्ठ लामिछाने

एउटा युग सक्कियको सन्तापले
हिजो देखिनै रोइनै रहेको छ आकाश
स्मृतिको सम्झना बर्षाइरहेको छ झरि
अन्तिम पटक भेटेरै बिदाइका लागि
छट्पटाहट बोकेर
पुगेका छन एक हुल मनहरु
देवघाट धमिलो ओसारी रहेको छ
निरन्तर
काठका मुढाहरु अन्तिम पटक
जल्नैका लागि लाइन लागेर बसेका छन ।

श्वास झिकेर राखियको छ
एक युगलाइ प्रतिक्षालयमा
सम्मानको आत्मियताले बेरियको छ एक इतिहासलाइ
राता अबिर फुल माला
झुकेको सिर
सम्झनामा बगेको अश्रुधारा
यी जम्मै देखेरपनी नबोली शान्त चिर सुतिरहनु भयको छ
एक शालिन ब्यक्तित्व
सहपाटी, आफन्त, भाइ, भतिजा, चेलाहरु
जम्मैको गाइगुइ सुनेर पनि केही बोल्नु भयको छैन
प्रतिध्वनिमा
उठ्नुसन उठ्नुसन भनिरहेका छन आफन्तहरु
बगाइरहेका छन आशुका भेल
खोलिरहेका छन सम्झनाका फ्ल्यासब्याकहरु
वहाले नसुन्ने कसम खानु भयको छ
अह पटकै सुन्नु भयकै छैन ।
यो चिच्याहटको भिडबाट
एक्कासी एकोहोरो शन्ख बोलेको छ ।
अब कोहि बोलेर कसैले सुन्ने छैन
शिबाय आगो ।
वहाँ काधमा चढेर निस्किनु भयको छ
अनन्त यात्रामा
हामी प्रष्ट देखिरहेछौ
बगरको आगोले माथी माथी अग्लियर
वहालाइ आफैतिर बोलाइरहेको छ
आश्चर्य
यो भने कत्ती चाडो वहाले सुन्नुभयको छ ।
मलाइ त्यतै लैजाउ भनिरहनु भयको छ
हावाको लयमा ।
रितिरिवाज विधि बिधान परम्परा
जम्मैको सम्मिलन पछि
समय टक्क अडियको छ मौन धारणका लागि
समयको चलायमानता सङै
वहालाइ
अनन्त यात्राको लागि आगोको यानमा बसाइयको छ ।
वहाँ बिस्तारै धुवाको डोरि चढेर
माथी माथी लाग्नु भयको छ
हाम्रो आखाको ज्योतिले भेट्टाय सम्म
लखेटी रहेका छौ धुवाको राज्यको सिरान सम्म
अब बिस्तारै बिस्तारै वहाँ
बादलको पहाड सङ ठोक्कियर
बादल जस्तै बनेर बिलाइरहनु भयको छ ।
सम्झनाले छाती झन झन बटारिरहेको छ
आँखा रसाइनै रहेका छन सम्मानले
खरानी मात्रै छोडेर
हावाको बुइ चढेर
एकैछिनमा वहाँ कता हराउनु भयो कता
अब स्मृतिको सङ्ग्रहालयमा मात्रै भेटिनुहुनेछ भन्ने
सत्यता ठम्म्याइसकेपछी
वहालाइ त्यतै कतै छोडेर हावाको आलिङनमा
अन्तिम बिदाइका हात हल्लाउदै
भारी मन बोकेर
प्रकृतिको नियममा बाधियर निस्कियका छौ ।
उहीँ वहालाइ सधै माया गर्ने एकहुल
श्वास नझिकेका शरिरहरु ।

बैकुन्ठ लामिछाने, हेटौडा-५, सिंचाइ टोल (थापा सरको सम्झनामा)

मातृभूमि स्थापनाको २५ वर्ष पुरा यो बर्षलाई रजत जयन्ती वर्ष मनाउने

मातृभूमिको साहित्य समाज आफ्नो स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा यो वर्षभरि रजत जयन्ती वर्ष मनाउने भएको छ । असोज ६ गते संस्थाको स्थापना भएको दिन एक भव्य कार्यक्रम गरी सोको शुभारम्भ गर्ने निर्णय गरिएको संस्थाले आज प्रेस विज्ञप्ति जारि गरेर जानकारी गराएको हो । संस्थाको आफ्नै अक्षयकोषबाट नेपाल र नेपालीलाई चिनाउन महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्ति एवम् संघ संस्था लाई प्रत्येक २ (दुई) वर्षमा प्रदान गरिने नगद रु. २५००१ सहितको “मातृभूमि राष्ट्रिय सम्मान २०८०” वरिष्ठ संस्कृतिविद् पूर्व उपकुलपति प्रा.डा.जगमान गुरुङ्गलाई समर्पण गर्ने निर्णय गरिएको छ । समाजका कार्य समिति सदस्य किशन पौडेलद्वारा स्थापित नगद रु.१११११ सहितको मातृभूमि लघुकथारत्न सम्मान २०७९ वरिष्ठ लघुकथाकार डा.विदुर चालिसेद्वारा लिखित पुस्तक लघुकथालय लाई समर्पण गर्ने निर्णय गरिएको छ । भने उक्त कार्यक्रममा महाकाव्यकार मुना अर्यालको दोस्रा महाकाव्य “महाकाश” को पनि विमोचन गरिने छ । कार्यक्रम २०८० असोज ०६ गते शनिवार पल्पसा प्याराडाईज होम प्रा. लि. हेटौडा २ मा दिनको १:३० बजे हुनेछ ।

लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्यकाे पुरस्कारमा १० कृति छानिए

मकवानपुर । लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार-२०८० का लागि छनोट भएका १० कृतिको नाम लालबन्दी नगर वाङ्मय परिषद्ले सार्वजनिक गरेको छ । भाषा, कला, साहित्य, संगीत तथा संस्कृतिको संरक्षणका लागि स्थापित परिषद्ले पुरस्कारका लागि छनोट गरेको सूची सार्वजनिक गरेको हो ।

स्वतन्त्र विज्ञहरूसहितको सम्मान तथा पुरस्कार छनोट समितिको सिफारिसमा रञ्जना निरौलाको ‘अनुभूतिको अवतरण’, सिम्रन क्षेत्रीको ‘झुमर’, दामोदर पुडासैनी किशोरको ‘डोल्पो ओ डोल्पो’, रमेश क्षितिजको ‘पर्वत पर्वतमा बटुवा घाम’, सन्तोष श्रेष्ठको ‘फरैना’, रामलाल जोशीको ‘बाआमा’, प्रोल्लास सिन्धुलीयको ‘भग्न भैरव’, युवराज नयाँघरेको ‘याकजी’, विदुर चालिसेको ‘लघुकथालय’ र अशोक थापाको ‘सन्तापको धून’ परेको परिषद्ले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

वाङ्मय परिषद्लाई प्राप्त १४५ कृतिमध्ये सम्मान तथा पुरस्कार छनोट समितिले छनोट गरी सूचीकृत गरेका १० कृतिमध्ये उत्कृष्ट एक कृतिलाई वाङ्मय परिषद्ले पुरस्कृत गर्ने बताइएको छ ।

सम्मान तथा पुरस्कार छनोट समितिले १० कृतिमध्ये पुनः एक उत्कृष्ट कृति सिफारिस गरेपछि उक्त कृतिलाई ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–०८०’ प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ । पुरस्कारको राशि ५० हजार रुपैयाँ छ ।

श्यामकुमार बानियाँको ए जिन्दगी सार्वजनिक ।

मकवानपुरे साहित्यकार श्यामकुमार बानियाँको नयाँ गीत “ए जिन्दगी” सार्वजनिक भएको छ । मानवीय जीवनका आयामहररूलाई गीतको माध्यमबाट पोख्न खप्पिस बानियाँ का सिर्जनाहरूले नेपाली साहित्यको प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेलेको छ । ओसन म्युजिक प्रालिले बजारमा ल्याएको यस गीतमा शब्द श्यामकुमार बानियाँ स्वर नवराज पाराजुलीको रहेको छ । गीतकाे सङ्गीत तथा निर्देशन ओम प्रकाश राईले गर्नुभएको हो । अन्जन तामाङ्ग र सन्जु तामाङ्गको अभिनय रहेको यस गीतमा एरेन्ज र मिक्सिङ्ग रोशन बालुवा र गोविन्द सोनीले गर्नुभएको हो । बिनोद किरातीले छायाङ्कन गर्नुभएको भिडियोलाई संजय कोइरालाले सम्पादन गर्नुभएको छ।

मनहरी–३ बिजौना, मकवानपुर निवासी श्यामकुमार बाँनिया ज्ञानोदय बालवाटिका आवासीय मा.वि. हेटौँडा – ५ पिप्ले मकवानपुरका सञ्चालक रहेर पनि नेपाली साहित्यमा कविता, कथा, समालोचना , गीत लगायतका बिधामा सक्रिय रहनुभएको छ । उहाँका ‘प्रतीक्षा’ (खण्डकाव्य– २०५६ ), ‘अतृप्त खण्डहर’ (संयुक्त कवितासङ्ग्रह– २०६३), ‘अतीतको आँगनीमा’ (खण्डकाव्य– २०६३) लगायतका साहित्यिक पुस्तकहरू प्रकाशित रहेका छन् । उहाँले ‘बारुद’ (साहित्यिक त्रैमासिक), ‘पलाँस’ (साहित्यिक, त्रैमासिक), ‘अक्षय अक्षर’ (साहित्यिक, त्रैमासिक), ‘सौरभ’ (समसामयिक साहित्यिक सँगालो), ‘हेटौँडा टुडे’ राष्ट्रिय दैनिक, ‘बलिदान’ साप्ताहिक, ‘भूमध्यरेखा’ साप्ताहिक आदि साहित्यिक पत्रपत्रिका सम्पादन गर्नुभएको छ । उहाँ साहित्य सङ्गम मकवानपुर, सिस्नुपानी नेपाल, मृगतृष्णा साहित्य डबली, मकवानपुर, जनमत साहित्यिक पत्रिका काभ्रे आदि संस्थामा आबद्ध हुनुहुन्छ । उहाँ उत्कृष्ट पत्र लेखन सम्मान, रेडियो नेपाल (२०५३), रेडियो नेपाल, रश्मि नवप्रतिभा प्रोत्साहन सम्मान, (२०५७), रौतहट, गजलश्री सम्मान (२०६३), गजल मञ्च मकवानपुर, नारायणी वाङ्गमय पुरस्कार (२०६३), नारायणी वाङ्गमय प्रतिष्ठान, भेषनाथ अधिकारी स्मृति सम्मान, साहित्य सङ्गम मकवानपुर आदिबाट पुरस्कृत तथा सम्मानित हुनुभएको छ ।

श्यामकुमार बानियाँसँग सम्बन्धित केही भिडियोहरू

भग्नताको जिउँदो रूप- ‘भग्न भैरव’

भैरव अर्यालको जीवनमा आधारित उपन्यास ‘भग्न भैरव’ हात पर्‍यो । विमोचनको हप्ता दिन नपुग्दै तात्तातै, पनि सिध्याइएको हो । पढेको केही दिनसम्म दिमागमा धेरै ज्वारभाटा उठेका पनि हुन् । त्यसबारेमा केही लेखूँजस्तो लागेको पनि हो तर पनि त्यो विचार निकै दिनसम्म त्यत्तिकै थन्केर बस्यो । ‘भग्न भैरव’मा के त्यस्तो छ र लेख्ने ? — प्रश्न खेल्यो । हालसम्म अरूले भैरव अर्यालबारे थाहा नपाएका कुरा ? वा, अलिअलि थाहा भएका तर गहिराइमा जानकारी हुन नसकेका कुरा ? वा, थाहा पाएका कतिपय कुराको फरक प्रस्तुति ? अथवा, लेखकीय शैली वा विषयवस्तु पस्काइको तरिका ? यावत् कुराले दिमाग गिजोलिरह्यो । यसबीच पाठक प्रतिक्रियाहरू पनि सामाजिक सञ्जालमा आइरहे; पढिरहियो । सामान्यदेखि गहन समीक्षाहरू आए । आफूलाई लागेका धेरै कुराहरू त तिनैले लेखिसके, अब थप किन लेख्नुपर्‍यो र भन्ने पनि लाग्यो । त्यसैले होला सायद, अहिलेसम्म त्यसबारे कुनै प्रतिक्रिया लेख्ने जाँगर चलेन । तर ……
लेख्नु सामान्य कुरा हो । त्यसमा पनि लेख्ने बानी परेकाका लागि त त्यो झन् सहज कुरा हो । विषयगत वा वैशेषिक कुरामा मात्र सीमित नरहेर त्यसभन्दा पर पनि पुगेर लेख्नु वा लेखक स्वयम् पात्र बनेर लेख्नु गाह्रो कुरा हो । हुन त पात्रलाई आत्मसात नगरेको लेखकले गहकिलो लेख्न सक्तैन तर पनि पात्रले भोगेका सामाजिक, मानसिक, भौतिक, आर्थिक पारिवारिक र पारिवेशिक अवस्थाले उत्पन्न जटिलता आत्मसात गरेर तत्–तत् समय र घटनामा आफू स्वयम् उपस्थित भएको महसुस गर्नु, आफू स्वयमले ती सारा कुरा भोगेको आत्मानुभूति गर्नु मेरो विचारमा दुःसाध्य विषय हो । यसरी लेख्नु झन् गाह्रो कुरा हो । यस अर्थमा मलाई प्रोल्लासको ‘भग्न भैरव’ खास लाग्यो । ‘भग्न भैरव’को पानैपिच्छे लेखक भैरव बनेका छन्; भग्न भएका छन् । भैरवका सबै समस्याबाट उनी परिचित छन् । सबै पीडाबाट पीडित छन् । सबै समस्या र सबै ताडनाबाट उनी रन्थनिएका छन् । आत्माभिमानको झिल्कोले उनलाई बिउँझाएको छ, अभावको चोटले घायल बनाएको छ, आत्मबलले उठाएको छ भने मायाप्रेमले पगालेको छ । आफू र आफ्नो पेशाप्रतिको निष्ठाले निडर बनाएको छ । यहाँ लेखक भैरव बनेर जीवनको रनाहा भोगिरहेछन्, तमाम साथीभाइ, इष्टमित्र, बन्धुबान्धव, कुलकुटुम्ब, नातागोता सबैतिरबाट अनपेक्षित तिरस्कार अनुभूत गरिरहेछन् र यसको मूल कारण आफ्नो बँचाइलाई मानिरहेछन् । यसरी प्रस्तुत भैरवको यो रूप भैरवका निकटतम मित्र घनानाथलाई पनि बोध्य थिएन होला । यस्तो लेखाइ लेखकको पैँतीसदिने गुप्तबास र त्यसपछिका करिब चार वर्षको गहन डुबाइको परिणाम हो भन्न सकिन्छ ।
भैरव अर्यालका एकमात्र आत्मीय मित्र रोचक घिमिरेको मनमा वर्षौंदेखि गुम्सिएर रहेको भावनालाई लेखकले यसमा रोचक बनेरै प्रस्तुत गर्न खोजेका छन् तर यथार्थमा उनी रोचक कम र भैरव ज्यादा भएका छन् । आफ्नो जीवनकालमा भैरव निश्चय भग्न थिए, अझै भनौँ क्षतविक्षत नै थिए । उनले आफू बाँचेको परिवेशलाई आफ्ना रचनाहरूमा प्रष्टसित उतारेका छन् । मास्टर, पत्रकार, लेखक, सम्पादक आदिका अतिरिक्त भैरव सामाजिक जञ्जालमा बाँधिएर विभिन्न नातासम्बन्धमा जेलिएका, विभिन्न जिम्मेवारीले थिचिएका अरूजस्तै सामान्य मान्छे थिए । यथार्थमा समाजका हरेक मान्छे टुक्रा–टुक्रामा विभक्त भएर बाँचिरहेको हुन्छ तर पनि ऊभित्रको जिजीविषाले उसलाई मर्न दिएको हुँदैन ।
आफ्नो पैँतीस दिनको बसाइमा लेखक पटकपटक भैरवले आत्महत्या गरेको ठाउँमा पुगेका छन् । उनले माथिबाट भैरव बजारिएको ढुङ्गा धेरै पटक नियालेर हेरेका छन् । त्यतिमात्रै होइन उनी त्यही ढुङ्गासम्म पुगेर उभिएका पनि छन् । त्यस ठाउँमा उभिइरहँदा मान्छेको मथिङ्गल खल्बलिन्छ । भावनात्मक उद्वेग मडारिन थाल्छ । यस्तो लाग्छ मानौँ आफैँ त्यस ठाउँबाट हाम्फल्न लागेको होस् ! तल एकनाससित बगिरहेको पानीले आफैँलाई बगाउँदै लगेझैँ आभास हुन्छ र जीवनको निस्सारता प्रकट भएर आउँछ । जो–कोहीलाई पनि त्यस्तो सोचाइसाथ त्यहाँ धेरै बेर उभिइरहन गाह्रो हुन्छ । म पनि त्यस ठाउँमा पुगेको छु । भैरव हाम्फालेको ठाउँमा उभिएर तलको खोँच हेरेको छु । म त्यहाँ पुग्दा र भैरवले हाम्फालेको स्थितिको कल्पना गर्दा मलाई निकै गाह्रो भएको थियो । भननन्न रिँगटा लागेझैँ भएको थियो । प्रोल्लासलाई त्यस्तो नभएको हुन सक्ने सम्भावनाको कल्पना पनि गर्न सकिँदैन । अझ भैरव भएरै लेख्न लागेको लेखकलाई जीवनको निस्सारताको गहिरो बोध भएकाले त्यहीँबाट हाम्फालेर अनुभव गरिहेरौँ न भन्ने पनि पक्कै लागेको हुनुपर्छ । त्यही बेलादेखिको वैरागले यथार्थमा उनको दिमागमा गहिरो असर पारेको हुन सक्छ, जसले गर्दा त्यसपछिका दिनहरूमा लेखक जीवनप्रतिको घोर निराशामा बाँचिरहेको महसूस हुन्छ । किताब पढेर होइन, लेखकसँगको व्यक्तिगत सम्बन्ध, सम्पर्कबाट यो कुरा बोध भएको हो ।
‘भग्न भैरव’मा भैरवबारेका ज्ञातअज्ञात थुप्रै कुरा छन् । भैरवजीवनका विविध ओझेल पाटाहरू उजागर भएका छन् । यद्यपि, कहीँकहीँ कल्पनाले पनि ठाउँ पाएका हुन सक्छन् तापनि ती यथार्थको चमकले झन् खुलेका छन् । भैरवजीवनका विविधपक्षमा आत्मसंवेगको उपल्लो तहमा पुगेर लेखकले अनुभूति पस्केका छन् । अर्थात्, भैरवको सग्लो प्रतिविम्ब उतार्न लेखकले आफूलाई भैरवमा रूपान्तरण गरेका छन् । यसरी हेर्दा भैरवको जिउँदोजाग्दो भग्न रूप लेखक स्वयम् भएको देख्न सकिन्छ । अर्थात्, भैरवको भग्नता लेखकमा सरेको छ र आफ्नो युगको भग्न भैरव सग्लो बनेका छन् ।
लेखकको यस्तो जटिल रूप प्रतिष्ठापनले यो ‘भग्न भैरव’ उचालिएको छ । यस्तो दुरुह कार्य सम्पादन गर्न सकेकामा लेखकको उचाइ बढेको छ । नेपाली साहित्यमा यस्तो गहकिलो कृति उपलब्ध गराउने लेखकलाई साधुवाद ।
अन्तमा, मलाई लागेको एकाध कुरा यहाँ उल्लेख गर्नु उचित ठानेको छु । किताबका केही प्रसङ्गहरूमा कल्पनाको यथार्थिक प्रस्तुतिले ‘भग्न भैरव’लाई जीवनीबाट आख्यानमा रूपान्तरित गरेको छ । धेरैजसो पाठकलाई पत्तै नहुने गरी गरिएको यस्तो प्रस्तुतिले लेखकको अब्बल लेखकीय खूबी उजागर गरेको छ । आख्यान नै भए पनि भैरव अर्यालसित सम्बन्धित कुनै–कुनै प्रसङ्ग उल्लेख नगरेको भए पनि फरक पर्दैनथ्यो कि भन्नेचाहिँ मलाई लगिरहेको हो । त्यसबारे लेखकसित प्रत्यक्ष भेटेर आफ्नो खुलदुली मेट्ने मन भएकाले यहाँ उल्लेख गर्नु आवश्यक ठानिनँ । कल्पना नै गर्नुपर्ने भएपछि लेखकले भैरव अर्यालले हाम फाल्नुअघि त्यो सुनसान रातमा त्यहाँ उभिएर ‘यस्तो सोचे होलान्’ भनेर आफूलाई त्यस ठाउँमा उभिँदा भएको रोमाञ्चक अनुभव कृत्रिम नलाग्ने गरी समावेश गर्न पनि सकेको भए हुन्थ्यो कि भन्ने मलाई लागिरह्यो ।
त्यसरी नै वर्षौंदेखि मेरो मनमा रहेको एउटा प्रश्न भने अनुत्तरित नै रह्यो– ‘भैरव अर्यालले आत्महत्या गर्नुपर्ने यथार्थ कारणचाहिँ के थियो ? भोगिरहेको विविध विसङ्गतिपूर्ण परिस्थितिबाट उत्पन्न जीवनप्रतिको वितृष्णा, अपरेशनपछिको आफ्नो अनपेक्षित आवाज कि अन्य कुनै …?’
विशेषतः कवितामा बलियो पकड जमाएका सिन्धुलीयको आख्यानमा पनि गतिलो क्षमता भएको कुरा ‘भग्न भैरव’ले पुष्टि गरेको छ । केही दिन हराएर युगको साक्षी बन्ने कृति नेपाली साहित्यमा भित्य्राउन सक्ने प्रोल्लास सिन्धुलीय अहिले पनि सिन्धुलीगढीको यथार्थ इतिहासमा आधारित आख्यानिक कृति ‘फिरङ्गी’ र असाधारण त्यागपूर्ण प्रेमकथा ‘सुन्तलीमाई’ कोरल्नका लागि सिन्धुलीमै ओथारो बसेका छन् । उनको यो तपस्याले चाँडै सकारात्मक परिणाम ल्याओस् र हामीजस्ता पाठकले तिनको रसास्वादन गर्न पाऔँ । अहिले यत्ति नै !

-श्रीराम पाण्डे / ९ भाद्र २०८०, हरिसिद्धि, ललितपुर ।

कविता : धूवाँ / रमेश प्रभात

आज फेरि एउटा धूवाँको
साक्षी बसेर आएँ ।

वर्षामय थियो बिहान 
जलमग्न थियो नदीकिनार
देवघाटको उच्च ढिकमा
लहरै बनेका थिए चार वटा चिता
पल्लो छेउको चितामा
जल्दै थियो
एउटा भूतपूर्व जीवन
बाँकी तीन वटा चिताहरू
कुर्दै थिए ग्राहक ।

श्मसानमा यसरी
ग्राहक कुर्दै गरेको
एउटा चिता उसको थियो
त्यही चिताछेउ उभिएर
म उसलाई कुर्दै थिएँ
होइन,
त्यो चितामा
उसको पार्थिव शरीर
डढेको हेर्न विवश थिएँ ।

अघि अघि
चार जना मगर पण्डितहरू
पूरा गर्दै थिए आफ्नो विधि
पछि पछि थियो उसको शव
पुरातन विधि पूरा गरेर
चितामा चढाइयो उसको शरीर
आगोले खाँदै थियो ह्वर्ह्वारी
निष्प्राण उसको देह
जसलाई हिजोसम्म
हामी अघ्घोरै सम्मान गर्थ्यौं
जल्दै गरेको उसको शरीर
दानामा रूपान्तरित हुनै सकेन
उसको दाना कविता जस्तो
मुस्लो मुस्लो धूवाँ बनेर
उडिरह्यो सुदूर आकाशतर्फ
साँच्चै अब,
उसलाई कहाँ भेटिएला हँ ?

यसैगरी जीवनमा
कैयौँपल्ट
धूवाँहरूको साक्षी बस्दै आएको छु म
आज फेरि एउटा धूवाँको
साक्षी बसेर आएँ ।

रमेश प्रभात, चितवन । (स्व. तुलसी थापाको स्मृतिमा)

फित्कौलीको खित्कौली सभामा राष्ट्रिय हास्यव्यङ्ग्य सम्मान, कृति लोकार्पण र कार्टुन प्रदर्शनी

हास्यव्यङ्ग्य अनलाइन ‘फित्कौली अनलाइन मिडिया’ द्वारा हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान तथा पुरस्कार समर्पण, हास्यव्यङ्ग्य कृति लोकार्पण समारोह एवम् कार्टुन प्रदर्शनी आयोजना गरिएको छ ।
कार्यक्रममा सर्जकहरू विगत चार दशकदेखि हास्यव्यङ्ग्य लेखनमा क्रियाशील पाल्पाका चोलेश्वर शर्मालाई नगद रु. २० हजारसहित ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान २०८०’, स्याङ्जाकी गायत्री परिरोशनीलाई ‘गोविन्द-विजया फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय प्रतिभा पुरस्कार २०८०’, झापाका हास्यव्यङ्ग्य कवि खगेन्द्र नेउपानेलाई ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय कविता पुरस्कार २०८०’, गुल्मीका हास्यव्यङ्ग्य निबन्धकार काशीनाथ मिश्रितलाई ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय निबन्ध पुरस्कार २०८०’ र भक्तपुरका कवि रामशरण न्यौपानेलाई ‘मुकुन्द-मुना फित्कौली राष्ट्रिय बुढ्यौली साहित्य पुरस्कार २०८०’ बाट सम्मान गरिएको फित्कौली मिडियाका प्रधान सम्पादक नरनाथ लुइँटेलले बताउनु भएको छ ।

यस्तै हास्यव्यङ्ग्य पुस्तकहरू राजेन्द्र कार्कीको ‘खाइराइड’, सुभाषचन्द्र देवकोटाको ‘ग्रहणतन्त्र’, नरेन्द्रराज पौडेलको ‘भ्यागुताको श्‍वेतपत्र’, ठाकुरप्रसाद अधिकारीको बेसारे घुर्की र डा. मुकेश चालिसेका पाका मान्छेका बारेमा पाठ्यसामग्री ‘डाँडाका उज्याला जून’ एकै पटक लोकार्पण गरिएको छ ।
कार्यक्रममा हास्यव्यङ्ग्य सिर्जनाको प्रस्तुतिका साथै बुढ्यौली साहित्यबारे चर्चा गरिएको थियो भने कार्टुन प्रदर्शनीअन्तर्गत राजेश मानन्धरका रोचक कार्टुनहरूको प्रदर्शनी गरिएको छ ।
अग्रज र वरीष्ठ साहित्यकारहरू भैरव रिसाल, शान्तदास मानन्धर, गोविन्दराज भट्टराई, रोचक घिमिरे र चट्याङमास्टर ५ जनाको प्रमुख आतिथ्यता र फित्कौली अनलाइन मिडियाका प्रधान सम्पादक नरनाथ लुइँटेलको सभाध्यक्षतासहित कार्यक्रम आयोजना भएको हो । यस्तै सो कार्यक्रममा डिजिटल प्रविधिबाट  स्क्रिनमार्फत् प्रत्येक पुस्तकहरूको बेग्लाबेग्लै प्रस्तुतिका साथ विमोचन गरिएको थियो ।
कार्यक्रममा सम्मानित स्रष्टा चोलेश्वर शर्माले राजधानीबाट अन्यत्र रहेर ओझेलमा परिसकेको सर्जकलाई फित्कौलीले सम्मान गरेकोमा गद्‍गद् परेको र कुनाकुनाबाट सर्जकलाई खोजेर राजधानीमा राष्ट्रिय सम्मान मिलेकोमा अन्तरहृदयदेखि प्रफुल्लित भएको बताउनु भयो ।
हास्यव्यङ्ग्यका शीर्ष व्यक्तित्व स्व. भैरव अर्यालका सबैभन्दा नजिकका मित्र तथा साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार रोचक घिमिरेले फित्कौली अनलाइनको यस कार्य अत्यन्त प्रशंसनीय रहेकोले बधाई दिनुभयो ।

हास्यव्यङ्ग्यको खुम्चिने क्रमलाई रोकेर फित्कौलीले नेपाली हास्यव्यङ्ग्यको पुनर्जागरण गरेको र यसै कार्यक्रममा ३ जना स्रष्टाको पहिलो पुस्तक विमोचन गराएकोमा फित्कौली अनलाइनको कामको प्रशंसा गर्दै प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईले विमोचित ४ हास्यव्यङ्ग्य पुस्तकको समीक्षा गर्नुभयो ।
बालसाहित्य लेखनमा लामो समयदेखि सक्रिय ९३ वर्षीय जगदम्बाश्री शान्तदास मानन्धरले एउटा हास्यव्यङ्ग्य सर्जकले पहिले आफैंलाई व्यङ्ग्य गर्नुपर्ने अनि मात्रै अरूलाई व्यङ्ग्य गर्न सकिने र सहज हुने बताउँदै स्वआलोचना नगरी अरूको आलोचना गर्न नसकिने विचार राख्नुभयो ।
कार्यक्रम हल र २ सय जनाका लागि खाजा व्यवस्थापन सुरेन्द्र सिटौला गर्नुभयो भने कार्यक्रममा वासुदेव लुइँटेल गुठीका अध्यक्ष सुष्मा आचार्य, हास्यव्यङ्ग्य साहित्यकार हरिकला उप्रेती, पोखरेली सर्जक शेषराज भट्टराई लगायतका स्रष्टाहरूको उपस्थिति रहेको थियो । हास्यव्यङ्ग्यको प्रवर्द्धनका लागि सक्रिय यस साहित्यिक अनलाइनको “फित्कौलीको खित्कौली सभा-२” को औपचारिक कार्यक्रमलाई हास्यव्यङ्ग्य सर्जक अनिल पौडेल कीर्तेले सञ्चालन गर्नु भएको हो ।

साहित्यकार एल.बी. क्षेत्रीको कविता संग्रह विमोचित

नेपाली र अंग्रेजी भाषामा कलम चलाउनु हुने अग्रज साहित्यकार एल.बी. क्षेत्रीको कविता संग्रह ‘को हो त्यो मान्छे ?’ सार्वजनिक भएको छ ।
शनिबार प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित विमोचन कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कूलपति भुपाल राईको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको थियो ।
पेज टर्नरद्वारा प्रकाशित क्षेत्रीको छैठौं कृति सार्वजनिकीकरण सो कार्यक्रममा कवि तथा समालोचक महेश पौड्याल र कवि भुवन ढुङ्गाना वक्ता रहनु भयो ।
यस्तै क्षेत्रीले यसअघि त्रिशंकुको देशमा (२०६४), भीडमा हराएको मान्छे (२०७१), ईन्द्रमायाको देशमा (२०७१), व्रतभङ्ग (२०७५), द करिडोर अफ सेन्सेस (२०७८) लेखिसक्नु भएको छ । कविडाँडा साहित्य समाजका अध्यक्ष समेत रहनु भएका उहाँको १०० पृष्ठको यस पुस्तकमा तीन दर्जन बढी कविता सङ्ग्रहित छन् ।
पूर्व प्राध्यापक क्षेत्रीले १ लाख २५ हजार रुपैयाँ राशीको आख्यान पुरस्कारको स्थापना गर्नु भएको छ भने विभिन्न साहित्यक विमर्श, गोष्ठी, रचना वाचन कार्यक्रमहरू आफ्नै व्यक्तिगत तथा संस्थागत पहलमा सञ्चालन गर्दै आइरहनु भएको छ । विगत केही समयदेखि अष्ट्रेलियामा स्वास्थ्य उपचारपछि हालसालै नेपाल फर्किनु भएका क्षेत्री विदेशमा रहँदा अनेसासलगायतका संस्थाका कार्यक्रममा रचना वाचन गर्दै भेटिनु हुन्छ भने गृहजिल्ला चितवनमा रहँदा उहाँसँगै साहित्य सर्जकहरूकै सक्रियता बढ्ने गरेको छ ।
यसअघि साहित्यकार क्षेत्रीले प्रकाशित आफ्ना दुईवटा कृति “भिडमा हराएको मान्छे” र “इन्द्रमायाको देशमा” पर्थ, अष्ट्रेलियामा पनि सार्वजनिकरण गराउनु भएको थियो । प्राध्यापन पेशाबाट विदाईपछि आफ्नो जीवनलाई पूर्णरूपमा साहित्यमा अर्पण गरिरहनु भएका उहाँले पुस्तकका अलावा कैयन् फुटकर कथा, कविता आदि प्रकाशन गराइरहनु भएको छ भने उहाँ चरैबेती त्रैमासिक साहित्यिक पत्रिकाका प्रधान सम्पादक समेत हुनुहुन्छ ।
नवसाहित्य परिवार हार्दिक बधाईका साथ उहाँको स्वस्थ र सक्रिय जीवनको लागि शुभकामना प्रकट गर्दछौं ।