Home Blog Page 72

लघुकथाको ५३ औँ शृङ्खला सम्पन्न

पोखरा, ९ भदौ । लघुकथा प्रतिष्ठान पोखराको नियमित रचनावाचनको ५३ औँ शृङ्खला शनिबार सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अग्रज साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै साहित्यकार सरुभक्तले लघुकथाले भिन्नै उचाइ प्राप्त गर्दै गएको र यसको समयानुकूल विकासका लागि निरन्तर सिर्जना, साधना, बहस र अन्तक्र्रिया कार्यक्रम आयोजना गर्दै जानुपर्ने बताए । त्यस्तै कवि तीर्थ श्रेष्ठले पनि तीसको दशकमा प्राङ्गण पत्रिका प्रकाशन गर्ने गरेको इतिहास सम्झँदै त्यही पत्रिकाबाट लघुकथासमेत सुनाए ।
कार्यक्रममा साहित्यकार सरूभक्त, तीर्थ श्रेष्ठ, लक्ष्मण थापा, डा. ईश्वरमणि अधिकारी, रमेशचन्द्र घिमिरे, दीपक समीप, डा. भूमिराज बस्ताकोटी, कल्याण पन्त, रुपिन्द्र प्रभावी, गीता तिवारी, शुभ शर्मा, ढाकामोहन बराल, लक्ष्मी देवकोटा, लाल कार्की अन्जान, शिवु ढकाल, विष्णु बास्तोला, तारानाथ पराजुलीलगायत डेढ दर्जन कथाकारले कथा वाचन गरेका थिए ।
संस्थाका सचिव अमृतले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष कल्याण पन्तले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कथा प्रतियोगितामा जनप्रिय माविकि राेजिना प्रथम

my village Learning village, Galli Glli र Pal network को सहकार्य तथा जनप्रिय मावि र दिव्यसेवा जनप्रिय बाल समुहको आयोजनामा निमावि स्तरिय कथा लेखन तथा बाचन प्रतियोगिता आज जनप्रिय माविको सभाहलमा सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास संयोजक एवम् १६ नं वडाका अध्यक्ष रामकृष्ण कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई जनप्रिय बाल समुहकी अध्यक्ष श्रृष्टी अधिकारीले अध्यक्षता गरेकी हुन् ।

प्रतियोगितामा जनप्रिय मावि कक्षा ७ की छात्रा रोजिना तिमल्सिना प्रथम, जनप्रिय माविकै कक्षा ८ का छात्र विश्वास श्रेष्ठ द्धितीय त्यसैगरी चन्द्रोदय मावि हेटौंडाकी छात्रा रितिका खतिवडा तृतीय र सुनगाभा शिक्षा निकेतन हेटौंडाकी सुविसा दुलालले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् । कार्यक्रममा स्थललगत रुपमा कथा लेखन गरेपछि छनौटमा परेका उत्कृष्ठ १० कथा वाचन समेत गरिएको थियो । लेखन र वाचन प्रस्तुती समेतलाई आधार मानेर निर्णायकहरुले निर्णय गरेका थिए । कार्यक्रमको निर्णायकमा अग्रज साहित्यकार आर आर चौलागाई, कवि एवम् युवा साहित्यकार द्वय सुवास खनाल र मसान उपासक रहेका थिए । निर्णय प्रकृयामा शुद्धता ल्याउन प्रारम्भीक छनौट भएका १० वटै कथालाई कार्यक्रम स्थलमा नै वाचन समेत गर्न लगाएको निर्णायक समिति सदस्य मसान उपासकले बताए । प्रतियोगितामा १० विद्यालयका २० जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । २० मध्ये उत्कृष्ठ ४ कथाहरु पुरस्कृत भएका हुन् ।

कार्यक्रममा बाल अभियान तथा सहकृयाकलापमा उत्कृष्ठ योगदान पुर्याएको भन्दै जनप्रिय मावि मिडिया विभागका शिक्षक सुनिल गौतम, शिक्षकहरु उमा श्रेष्ठ, यसोदा भट्टराई, सीता गुरुङ्गलाई नगद एवम् प्रमाणपत्र सहित सम्मान गरिएको संरक्षक युक्तलाल विश्वकर्माले बताए ।

कार्यक्रममा हेटौंडा १६ का जनप्रतिनिधि गुरु प्रसाद ढकाल, जनप्रिय माविका प्रधानाध्यापक भुपेन्द्र चौलागाई, अतिरिक्त कृयाकलाप एवम् सास्कृतिक विभाग संयोजक युक्तलाल विश्वकर्मा, शिक्षकहरु गौरीशिखर बोर्डिङ्ग स्कुलका अनिता मगर, जनजागृती माविका रेवतीरमण शर्मा,चुरियामाई माविका गीता बस्नेत, बंशगोपाल माविकी अप्सरा न्यौपाने, सुनगाभा शिक्षा निकेतनकी सुनिता राई बालबोध माविका बच्चु सापकोटा, चन्द्रोदय माविका गणेशबहादुर पाण्डे, मकवानपुर बालविद्या सदनबाट स्पन्दन गिरी र नवज्योति माविकी अनिसा गोले लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई हेटौंडा १६ का बाल सञ्जाल अध्यक्ष प्रख्यातमान लो र जनप्रिय माविकी छात्रा काजल शर्माले सञ्चालन गरेका थिए ।

अग्रज स्रष्टा तुल्सी थापाको निधन

मकवानपुर । मकवानपुरका अग्रज स्रष्टा तुल्सी थापाको ७८ वर्षको उमेरमा निधन भएको छ । उहाँको चितवनको पुरानो मेडिकल कलेज (सिएमएस)मा उपचारत अवस्थामा निधन भएको हो ।
थापा भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानका पूर्व अध्यक्ष पनि हुनुहुन्थ्यो । कथा, कविता तथा नाटकमा कलम चलाउनुहुने साहित्यकार थापा ‘दाना कविता’ का प्रणेता हुनुहुन्छ । उहाँ भाषा, साहित्य, शिक्षा र सामाजिक सद्भावमा निरन्तर लागिरहेका अग्रज स्रष्टा हुनुहुन्थ्यो । उहाँका ‘एक निमेष अनन्तको’– २०५८ मसिना कविताहरू, अमरसिंहको खोजीमा अमरसिंह नाटक– २०६१ नाटक, फरक आकाश– २०७२ कथा सङ्ग्रहलगायत प्रकाशित छन् । थापाले गोरखा दक्षिण बाहु चौथो (२०४४), नारायणी वाङ्‌मय पुरस्कार (२०५८) सहित विभिन्न सम्मान प्राप्त गर्नुभएको छ । उहाँको अन्तिम संस्कार भोलि मिति २०८० भाद्र ९ गते बिहान ९ः०० बजे देवघाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ । नवसाहित्य डटकम उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ ।

तुल्सी थापासँग सम्बन्धित केही भिडियोहरू

निबन्ध : अन्तर्मनको आनन्द / शम्भु अर्याल

वालिङ नगरपालिका–६, मिर्दी स्याङ्जामा जन्मिनुभएका शम्भु अर्याल समकालीन नेपाली साहित्यमा साधनारत व्यक्तित्व हुनुहुन्छ । उहाँ साठीको दशकदेखि कविता, निबन्ध र लघुकथा लेखनमा क्रियाशिल रहनुभएको छ । उहाँ सगरमाथा साहित्य प्रतिष्ठान गण्डकी प्रदेशको अध्यक्ष, स्याङ्जा साहित्य प्रतिष्ठानको सहसचिव, भेषजराज साहित्य प्रतिष्ठानको कोषाध्यक्ष, वालिङ प्रज्ञा प्रतिष्ठानको सचिव लगायत साहित्यिक संस्थामा रहनुभएका उहाँले स्थानेश्वर शर्मा राष्ट्रिय प्रतिभा पुरस्कार स्थापना गर्नुभएको छ । उहाँ मनोहर बचत तथा ऋण सहकारी संस्था, चितवन साहित्य परिषद, नरेन्द्र अनुराग साहित्य सम्मान, हरिहर रेग्मी स्मृति अक्षयकोष सम्मान, सुदूर पश्चिमाञ्चल साहित्य समाजले आयोजना गरेको विश्व नेपाली नारी साहित्य महोत्सव सहभागिता सम्मानबाट सम्मानित भैसक्नुभएको छ । उहाँको सेतो सुनखानी कविता सङ्ग्रह–२०७५ असारमा प्रकाशन भएको छ ।

अन्तर्मनको आनन्द

अर्काको हित गर्नु, भलाई गर्नु, अशक्त असहाय, वृद्ध रोगीहरुको हेरचाह र समाजको सेवा गर्नु नै परोपकार हो । हरेक काम आनन्दको लागि गरिन्छ । परोपकार हृदयको आनन्द हो । परोपकारमा अन्तरहृदय पुलकित हुन्छ । यो समुद्री छालजस्तो हृदयमै लहराउँछ, खिलखिलाउँछ । चङ्गाजस्तो हलुङ्गो हुन्छ । कपास जस्तै नरम हुन्छ, जो मनुष्यभित्रको साक्षात् ईश्वर हो । धरती, जल, आकाश र अन्तरिक्षमा उडिरहेको हुन्छ । कुरौटे कुरा उसको कानले सुन्दैन । धरतीलाई परिवार ठानिरहेको हुन्छ । छुद्र र सङ्कृर्ण हृदयबाट टाढै रहन्छ र परोपकारमा उदार मस्तिष्कमात्र सफल रहन्छ । यसले विनलादेन र हिटलरको साम्राज्यलाई छि ! छि ! र दुर्दुर गर्दछ । मदर टेरेसा र नेल्सन मण्डेलाको सदैव सन्निकट रहन्छ । अन्तर्मनको आनन्दका लागि परोपकार तिमी अन्तर्मनको बुद्ध बनिराख !

के मनुष्यको  हित गर्नुमात्र परोपकार हो त ? परोपकारकोे शब्दकोष कत्रो हुन्छ ? लागिरहेको छ यो मनुष्यमात्रमा सङ्कृर्ण रहँदैन । खगोलका सम्पूर्ण जीवात्माको भलाइमा रमाउँदै घातप्रतिघात, छलकपट, यातना, धोखाधडी, रमिता उसको शब्दकोषमा हुँदैन । नजरमा यसको जगत एक हो । जीवनको एकीकरणमा मान्छेलाई पशु हुनबाट बँचाउने मूलमन्त्र तिमी सधैँ जपिराख । जसको हृदय द्रवित भई नै रहन्छ, कन्दराको तप्केनी जस्तो । लोभलालचको क्षितिज ! कहिल्यै भेटाउन नसकूँ तिमीलाई । तिमी कदापि कठोर हुनै सक्दैनौ । हृदयको मैन तिमीले सेवा नै कर्म मानिरहेका हुन्छौ । सेवा नै धर्म ठानिरहेका हुन्छौ । ममताको आफ्नो मर्म बुझिरहेका हुन्छौ । यो धरतीमा ह्रास हुँदै गएको सद्भाव, दया र मायाममता तिम्रो जस्तै उदार मन र मस्तिष्कले अलिकति भएपनि अहिलेसम्म टिकिराखेको छ ।

“मै खाउँ मै लाउँ सुखसयल वा मोज मै गरूँ” को कटु आलोचक हुन्छ अन्तर्मनको आनन्दका लागि परोपकार । सहयोग र सद्भावनाको गरूङ्गो भारी बोक्दै हतारमा कुँदिरहेको हुन्छ । तिमी स्वयं भलोभन्दा स्वस्फूर्त अरूको भलाइको नाङ्लो बोक्दै अन्तर्मनमा दौडिरहेका हुन्छौ । त्यही तिम्रो विजय हो । के गरुङ्गोपना मात्र भारी हो ? अन्तर्मनको हलुङ्गो आनन्द ! यमानको पहाड बोक्दै सिमल भुवाजस्तो कोमल र हलुङ्गो मन लिएर सेवामा तल्लिन छ त ! मात्र तिमीले काँध थापिदेऊ । गरूङ्गो भारीमा हातमात्र कति हलुङ्गो हुन्छ थाहा छ तिमीलाई ? हातमा हात मिलाउनेहरूको कुनै कमी हुनेछैन तिमीलाई । असंख्य हुनेछन् तिम्रा लागि काँध थाप्नेहरू ।

वर्तमान समयमा रातदिन रूपियाँले टोकिरहने उपियाँ भक्तहरूको पनि अन्तर्मनले सेवा गरोस् । परोपकार उसको केन्द्र हो । धड्कन उसको मुटु हो । सञ्चार उसको रगत हो ।

स्वयंभलो र आर्जनमा मात्र जीवन देख्ने विश्वजन्य जटिल परिस्थितिबाट परोपकारी मन टाढै रहन्छ । महात्मा गान्धीको यथार्थ तस्विर । तिमी भित्तामा सधैँ मूर्त बनिराख । फ्लोरेन्स नाइटिङ्गेल तिमीले हातमा बत्ती लिई नै राख । मजदुरले जस्तो पसिना बगाइ नै राख । ढाबिलो ढाबमा आफू भासिन सकौला तर भासिएकाहरूको उद्धारकर्ता ! जिन्दगीभरिको एउटा पूर्णपाठ । तिमी सदैव पढिईरहने छौ । पढिनुपर्छ । लेखिईरहने नै छौ । लेखिनुपर्छ ।

माया र प्रेमको स्नेहले मनको रिक्तता भरिरहेको हुन्छ । सहयोग र सद्भावले तृप्त भइरहेको हुन्छ । भोको बनिदिन्छ सेवाको खातिर । सेवा नै उसको भोक हो, सेवा नै उसको भोजन हो । भगवान उसको खोज हो । आयाम उसको ब्रह्माण्ड हो । प्रमाणित सत्य उसको ज्ञान हो । सेवा उसको श्वासप्रश्वास हो । सेवा नै उसको धड्कन र ज्ञान । परोपकारमै मन आनन्दित हुन्छ । दीर्घायुको दीर्घव्यायाम निरन्तर लागिरहनू । कपट, रिस द्वेष, छक्कापञ्जाबाट टाढा भागिरहेको हुन्छ । सेवालाई अमृत मानिरहेको हुन्छ, धोका र लोभको धज्जी उडाइरहेको हुन्छ । परोपकारले मनलाई माझेर हिउँजस्तै कञ्चन बनाइरहेको हुन्छ । विचारलाई आकाशजस्तै विशाल बनादिएको हुन्छ । कदलाई सगरमाथाजस्तै उँचो बनाइरहेको हुन्छ ।

परोपकारले मेरो जात, तेरो जात, मेरो धर्म, तेरो धर्म, मेरो घर, तेरो घर, तेरो देश, मेरो देश जस्तो विभाजनको रेखा कहिल्यै कोर्दैन । ऊ आनन्द रहिरहन्छ सम्पूर्ण जिवात्माको सेवाका लागि । वृहत् अर्थ र परिभाषा खोज्दा सजीवमा मात्र होइन निर्जीव वस्तुमासमेत उसले प्रेमभाव राखिरहेको हुन्छ । प्रकृति प्रेममा समेत यसले अन्तर्दृष्टि राखिरहेको हुन्छ । प्रकृतिको विकासमा यसले दखल राख्छ । प्रकृति प्रेममा अन्तर्दृष्टि र प्रदुषणमा दुःखी हुनु उसको हृदयको स्वभाव हो । प्रकृतिको स्वच्छ विकासमा उ खिलखिलाइरहेको हुन्छ । विनाशमा उसको चित्त दुखिरहेको हुन्छ, त्यसैले त आमा ! बेलाबखतमा तिमीले आफ्नो तराजुको सन्तुलन आफै गरिरहन्छ्यौ जसरी हरेक वस्तुमा सुन्दरता हुन्छ त्यसरी प्राकृतिक सुन्दरता अनुपम हुन्छ ।

कुरूप कुनै पदार्थ हुँदैन । त्यो त केवल हेर्ने दृष्टिको भेद हो । नजरको अन्तर हो । हरेक वस्तु सुन्दर हुन्छ । पदार्थ धरतीकै उपज हो । पदार्थको उच्च कलात्मकता नै सबैभन्दा सुन्दर वस्तु हो । सुन्दर–कुरूप सजीवमा छन् । निर्जीवमा छन् । मनुष्यमा छ । जीवात्मा र प्रकृतिमा छ । तसर्थ यसले कलाको उच्चतम साधनामा विश्वास राखिरहेको हुन्छ । मनुष्यमा यो दया, माया, प्रेम, सद्भाव र सहकार्य हो । प्रकृतिमा यो संरक्षण र उच्च कलात्मक विकास हो ।

जीवात्मामा उ प्रेमिल रहन्छ । परोपकारी मन कहिल्यै पनि कसाई बन्न सक्दैन । कोमलता उसको पर्यायवाची हो र यसैमा सगौरव विजयको घोषणा गरिरहेको हुन्छ । हृदयको दीप तिमी आफू जलिरहेका हुन्छौ । अरुलाई प्रकाश छरिरहेका हुन्छौ । कति गाह्रो हुन्छ हँ उज्यालो देख्न ? अँध्यारोमा प्रकाश दिन पहिला मैन आफैँ जल्नुपर्छ । अन्तर्मनको आनन्दको लागि परोपकार गहन छ । गम्भीर छ । मनभित्र रहेको मन नै अन्तर्मन हो । मन सबैको हुन्छ । परोपकारी मन तिमी कहिल्यै निष्ठुर हुन सक्दैनौ । क्रुर हुनसक्दैनौ । सेवा तिम्रो आनन्द हो । कलुषित मन अर्काको यातना, दुःख, टस, ठेस, इष्र्या, औडाहा र कपटले प्रेरित हुन्छ । परोपकारी धोकाको सट्टा सहयोग, परत्वको सट्टा अपनत्व, बेइमानको सट्टा इमान, उसको सूत्र हुन्छ । सम्पूर्ण जगतको सेवा र परोपकारमै परमआनन्द मानिरहेको हुन्छ ।

मन आनन्द पार्न मनुष्य अनेक तरिकाको अनुशरण गरिरहेका हुन्छन् । मान्छेले प्रत्येक गतिविधि मनले गरिरहेको हुन्छ । शायद् आनन्दकै लागि गरिएको हुनुपर्छ । अन्तर्मनको आनन्दका लागि कसैले व्यायाम गरिरहेका होलान् । कसैले साहित्य सिर्जना गरिरहेका होलान् । गुरूहरूले पढाइरहेका होलान्, विद्यार्थीहरूले पढिरहेका होलान्, केटाकेटीहरू खेलिरहेका होलान्, व्यापारीहरू कमाइरहेका होलान् । चीनले कृत्रिम चन्द्रमा बनाइरहेको छ । युएई आईसवर्ग प्रोजेक्टमा काम गरिरहेको छ ।

सृष्टिका प्रत्येक गतिविधिहरु सुख सुविधाकै लागि गरिएको भएतापनि ती सुख सुविधाहरु आनन्द प्राप्तिका स्रोत बनिरहेका छन् त ? के अर्थोपार्जन मात्रै आनन्द हो त ? के टहलिनु मात्रै आनन्द हो त ? के घुमफिर गर्दैमा मात्र मान्छेको हृदय पुलकित हुनसक्छ ? स्वयं भलो र व्यक्तिगत लाभमा मात्रै आनन्द देख्ने हृदय पनि संसारमा प्रशस्तै होलान् । तर फरक अन्तर्मनको आनन्दका लागि गरिने परोपकार सामाजिक यथार्थमा समाहित हुन्छ । ऊ आनन्दले गद्गद् त हुन्छ नै तर ऊ केवल परिवारभित्र मात्र सीमित रहँदैन । बनिदिन्छ समाजको स्तम्भ । सिङ्गो देशको उचाइलाई आरोहण गर्दै संसारभरि फैलिईरहेको हुन्छ, जसरी बगिरहेको हुन्छ खोला, जसरी बहिरहेको हुन्छ हावा, जसरी फैलिरहेको हुन्छ बादल र जसरी जलिरहेको हुन्छ दीपक । उसको शरीर यो दुनियाँबाट लोप हुनसक्छ तर उसको नाम कालजयी रहिरहने निश्चित छ । उसको अनुहार यो दुनियाँले नचिन्न पनि सक्छ तर उसको नाम दुनियाँको मुखमा झुण्डिरहेको हुन्छ । दुनियाँको होष्टेहैसेमा ऊ छायाँ होला । अनुकृति खलनायकहरूको जोडघटाउको प्रतिस्पर्धामा ऊ ओझेल पनि पर्नसक्छ तर निर्णयमा ऊ सधैँै नायक बनिरहेको हुन्छ र दीनदुःखीहरूको मनमुटुमा बसिरहेको हुन्छ ।

परोपकारी मन ब्रह्माण्डको तारो बनिरहेको हुन्छ, जसको आयतन अरुले नै नापिरहेका हुन्छन् । सूक्ष्म बनिरहेको हुन्छ आफू अरू कसैका लागि तर अरू नै उसको आँखो बनिरहेका हुन्छन् । वर्तमानमा ऊ सङ्कीर्ण रहला, भविष्यमा उसको आयतन अवश्य विशाल रहन्छ । विद्यार्थीका लागि उ खोज हो त विज्ञका लागि ज्ञान । मृत्युपर्यन्त पनि उ चीर रहिरहन्छ । यो सृष्टिको अनन्तसम्म कालजयी रहिरहनेछ । आम मान्छेहरू एक जीवन बाँच्छन् त परोपकारी अजम्बरी जीवन बाँचिरहेको हुन्छ ।

के सन्तान जन्माउनु मात्र उर्वरता हो ? वर्तमानमा उसको कदर नहोला तर पक्का–पक्का दिवङ्गगत पश्चात परोपकारी मन पूर्वीय दर्शनको श्रीकृष्ण हो त पश्चिमी दर्शनको सुकरात, जो स्वयंमा अर्जुनदृष्टि राखिरहेको हुन्छ । वर्तमानमा उसलाई हेमलक नै पिउन किन नपरोस् भविष्यमा ऊ शाश्वत सत्य हो । वर्तमानमा ऊ बोक्रा होला भविष्यको अग्राख हो ।

यसो प्रकृति नियालिरहेको हुन्छु । फूल फूलिरहेको छ । मूल फुटिरहेको छ । खोला बगिरहेको छ । अनाज पाकिरहेको छ । घाम उदाइरहेको हुन्छ, फेरि अस्ताइरहेको हुन्छ । समुद्र लहरिइरहेको छ । हिमाल चम्किइरहेको छ । सृष्टि माटोमै हुन्छ । विसर्जन माटोमै हुन्छ । लाग्छ यी प्रकृतिका क्रियाकलापहरू परोपकार कै लागि चलिरहेको छ । सोच्छु यस प्रकृतिको सबैभन्दा चेतनशील प्राणी मान्छे पनि प्रकृतिकै उपज हो । मान्छेमा पनि यसै प्रकृतिका गुणहरु अन्तर्निहित छ । अमृत माटोमै छ । विष माटोमै छ । एकै ठाउँमा उम्रिएको अम्बा टर्रो हुन्छ, अमिलो चुक हुन्छ । मेवा गुलियो हुन्छ । करेला तितो हुन्छ । श्रीखण्ड यहीँ छ । काउछो पनि यहीँ छ । यस्तैयस्तै गुणहरु समाहित छन् प्रकृतिको सन्तति मान्छेमा पनि । परोपकारी मन श्रीखण्ड हो त निष्ठुर निर्दयी मन काउछो हो । परोपकारी मन अमृत हो त निष्ठुर मन बिष हो ।

मान्छेहरू सुख खोज्दाखोज्दै विलासितामा विलिन भइरहेका हुन्छन् । सोचिरहेको हुन्छु आज विकासको चरम युगमा चिन्तन गर्दा–गर्दा मान्छे–मान्छेबीचको सौहार्दता ह्रास हुँदै गइरहेको त छैन ? कैयौँ मान्छेले गर्नुपर्ने काम रोबोटले गरिरहेको छ । सोफियाले भाषण गरिरहेकी छे । सोफियाले मान्छे चिनेर सोफिया प्रतिउत्तर दिइरहेकी हुन्छे । भोलिका दिनमा सडकहरूमा रोबोट र मान्छे आफ्नो काममा सँगसगै हिँडिरहेका हुनसक्छन् । अनुसन्धानको लागि मान्छेले केही सोच्नै नपर्ने पनि होला । कुनै यान्त्रिक प्रणालीले नै स्वचालितरुपमा अनुसन्धान गर्ला । मान्छेले गर्नुपर्ने काम सबै रोबोटले गरिरहेको होला । भेट्नुपर्ने मान्छे सामाजिक सञ्जालले भेटाइदेला । मान्छेले गर्नुपर्ने कामहरू मेसिनले गरिरहेको बेला हामी विकासको रफ्तारमा दौडिरहँदा उद्देश्य के लिनु गरिलिनु परोपकार !

मान्छेको एउटा चाहना पुरा हुन नपाउँदै अर्को चाहना जन्मिइहाल्छ । यसरी नै अभिलाषाको पछाडि भाग्दाभाग्दै मान्छेको इहलीला समाप्त हुन्छ । यो धरतीमा जन्मिएपछि विवेकशील प्राणीको रूपमा मनुष्यको सार्थकता र मृत्युपर्यन्त पनि उसको केही न केही कीर्ति रहिरहोस् । जसले सकारात्मक सोच बोकिरहेको हुन्छ उसको सदा रहोस साधना अन्तर्मनको आनन्दका लागि परोपकार । परोपकारी मनुष्यको उद्देश्य परोपकार, लक्ष्य परोपकार, दैनिकी परोपकार, मनमुटुमै परोपकार, सोच परोपकार, उ सदैव परोपकारमै रमाइरहेको हुन्छ । परोपकारमै आनन्द मानिरहेको हुन्छ, सुख परोपकारमै खोजिरहेको हुन्छ ।

यतिबेला सम्झिरहेको छु महाकवि देवकोटाको प्रश्नोत्तर कवितांश– “खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ? आफू मिटाइ अरुलाई दिनु जहाँ छ ।”

शम्भु अर्याल,स्याङ्जा

कविता : एक्लोपनको मिठास / जुना ढकाल

सबैलाई हसाउँने मान्छे म
आजभोलि आफूले रमाउन र हाँस्न नै
भुलेको हुँ कि झैँ लाग्छ ।

थाहा छैन के भएको छ मलाई
सपना थियो संसार घुम्ने
तर बन्द अँध्यारो कोठाभित्र आफूलाई
थुन्‍ने गरेकी छु ।

पहिले सबैको प्यारो हुन मन लाग्थ्यो
आजभोलि सबैदेखि टाढिँदै गएकी छु
भिडभाड होइन एकान्त मन पर्न थालेको छ ।

कसैको साथमा होइन,
एक्लै हिँड्ने बानी लागेको छ ।

न कसैप्रति गुनासो छ,
न त कसैप्रति आरोप नै छ,
बुझ्न थालेकी छु
एक्लोपनाकै जिन्दगी पो
रमाइलो हुँदो रहेछ ।

सबैकुरा सुनाइरहनु पनि व्यर्थ रहेछ
कतिपय सम्बन्ध देखाइरहनु पनि व्यर्थ रहेछ
बुझ्न थालेकी छु
मौनताको भाषामा झनै मिठास पो हुँदो रहेछ ।

(जनप्रिय मा. वि., हेटौँडा- १६, कक्षा ८)

कविता : मागपत्र / रत्न विरही घिमिरे

महाङ्‌काल–५, ललितपुरमा जन्मनु भएका कवि रत्न विरही घिमिरे हाल शिक्षण र साहित्यमा क्रियाशिल हुनुहुन्छ । उहाँ सुनगाभा साहित्य सदन, ललितपुरका संस्थापक सचिव हुदैँ हाल सललाहाकार, गोदावरी साहित्य परिषद्, ललितपुरका संस्थापक सचिव र युगकवि सिद्धिचरण प्रतिष्ठानका सदस्य हुनुहुन्छ । उहाँका सत्य सन्देश (भजनमाला सहलेखन/सम्पादन–२०६३), सहारा (उपन्यास–२०६३), बेमौसमी बाजा (गजलसङ्ग्रह–२०७०), स्मृतिका पानाहरूमा सुजाता (स्मृति पुस्तिका लेखन/सङ्‌कलन/सम्पादन–२०७०), सङ्‌कल्प (छन्दकविता सङ्ग्रह–२०७४), समयको रुमाल (छन्दकविता सङ्ग्रह–२०७७)लगायत प्रकाशित छन् । उहाँ हिमशिखर साहित्य सम्मान–२०६५, सहकारी विषयक कविता प्रतियोगितामा प्रथम–२०६९, सुनगाभा साहित्य सम्मान–२०७३, चेतना विस्तार युवा पविार, सोलुखुम्बुद्वारा कदर–पत्र–२०७५, त्रिभुवन विश्वविद्यालय साहित्य प्रतिष्ठानद्वारा कदर–पत्र–२०७५, दियालो साहित्य सरगम काठमाडौँद्वारा कदर–पत्र–२०७६, साहित्य संवाद अमेरिकाद्वारा काव्यसेवा सम्मान–२०७७, नेपाली सेनाद्वारा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगितामा उत्कृष्ट–२०७७, महानन्द सापकोटा स्मृति विश्वव्यापी कविता प्रतियोगितामा उत्कृष्ट–२०७८, नेपाली साहित्यकार विश्व सञ्जालद्वारा आयोजित विश्वव्यापी कविता प्रतियोगितामा तृतीय–२०७८, साहित्य सङ्‌गम नुवाकोटद्वारा श्री ऋषिराम पौडेल/सरस्वती पौडेल पुरस्कार तथा सङ्‌गम साहित्य सम्मान–२०७९ लगायतद्धारा सम्मान सम्मानित भएसक्नुभएको छ ।

दबेछ विज्ञता कतै म मूर्खमा असाध्य छु
दिएँ स्वयम् सबै हिजो र आज माग्न बाध्य छु
गएछ प्राण न्यायको कुँदेर एक मूर्ति दे
अडेँ म सत्य मागमा बुझेर तथ्य पूर्ति दे !

झिकेर नेल पाउका अझै अगाडि जान दे
बुझी किसानका व्यथा बिहानसाँझ खान दे
अतृप्त चक्षु खोज्दछन् नयाँ हिमाल देख्न दे
भरेर शान्ति बुद्धका पवित्र मन्त्र लेख्न दे !

स्वधर्म कर्ममा रही परोपकार गर्न दे
अमोघ बीज शब्दका शिला चिरेर छर्न दे
रची भविष्य भूतका हजार हार भुल्न दे
म वक्ष थाप्छु सानले यहीँ गुराँस फुल्न दे !

पुछेर रक्तका छिटा अमूल्य स्वेद पोख्न दे
म गर्छु तौल ज्ञानको पढेर माथ जोख्न दे
विदेश जान्नँ खेतका गरा सदैव खन्न दे
स्वदेशमै बसी रमूँ स्वरोजगार बन्न दे !

अझै सयौँ विभेद छन् समाजबाट मेट्न दे
इमान पङ्खमा जडी उडेर चन्द्र भेट्न दे
खिया परेर बिग्रिँदो खुँडा झिकेर भिर्न दे
गरी विनाश दुष्टको जितेर युद्ध फिर्न दे !

चिनेर हात भ्रष्टका कि भाँच्न दे कि काट्न दे
कि आसका बजारमा अदृश्य दर्द साट्न दे
कि हाँस्न दे घृणा पिई कि मूर्त प्रेम भर्न दे
कि बाँच्न दे खुसी भई कि गर्वसाथ मर्न दे !

गोदावरी न.पा.–१२, ठेचो, ललितपुर

कविता : ओखर / रुपा थापा

विदुर-१, नुवाकोटमा जन्मनु भएका कवि रुपा थापा लामो समयबाट अपाङ्गता भएका व्यक्ति तथा महिला र एकल महिलाहरूको हक अधिकारको लागि क्रियाशिल हुनुहुन्छ । उहाँको सिङ्गो जुनको प्रतीक्षा २०७९ कवितासङ्ग्रह प्रकाशित छ । उहाँ साहित्य संगम नुवाकोटको कोषाध्यक्ष तथा उद्यमशिल तथा सीप विकास अपाङ्ग संघ नुवाकोटका महासचिव हुनुहुन्छ ।


उनिहरूले बनाइदिएको
ऐनाभित्र चिह्याउँदा
ऐंठन भएपछि
जब छटपटाउथ्यो
म भित्रको एउटा मानिस ।
कोही भन्थे झिसमिसेको उज्यालोमा
पधेरीसँगै हराई
कोहि भन्थे संस्कारका भारीले थिचेर मरीसकी
कोहि भन्थे
केटाकेटीका खेलौनासँगै हराई ।
कोही भन्थे
काठका पुतलीहरू
हाम्रै हातका धागोमा बेरिएर मरिसकी ।
कसैले उनको हात भाँचीदिए
कसैले नली खुट्टाका हड्डिको सुप बनाएर पिए
कसैले भने उनको गिदीलाई नै भुटेर खाइदिए ।
भुट्दा भट्दै हाँडीबाट
कैले काहीँ उछिट्टिन नखोजेका होइनन्
ति ठेट्ना मकैहरू
फेरि पनि खोजी खोजी
त्यहि हाँडीभित्र राखेर
उनिहरूलाई भुटिदिएपछि
यस्तो लाग्थ्यो, उनिहरूभित्रको
एउटा मानिस
कहिले पनि जन्मिन पाएनन्
आफ्नै गर्भाशयबाट ।
आज ऐनाको सिसा नै चर्किने गरी
जब ऊ चिच्यायो
बिझाएका छन् उनीहरूको आँखामा
केही काँचका टुक्राहरू
जसलाई वर्षौदेखि
उनीहरूले विभाजित गरेका थिए
एउटालाई कोमल र
अर्की लाई पत्थर भनेर ।

उनीहरूले निर्धारण गरिदिएको
रेखाङ्कनबाट बाहिर निक्लिएपछि
यतिखेर घोषणा गरिदिएका छन्
मेरो मगजलाई
उनीहरूले नै अराजक भनेर
मलाई भने प्रमाणित गर्नु छ
विज्ञानको प्रयोगशालामा
ओखर झैँ फोरेर आफ्नै गिदीलाई
म भित्र पनि एउटा मानव छ ।

विदुर-१, नुवाकोट

कविता : यो देश बिक्रीमा छ / आर आर चौँलागाई

सुन्दरीपुर, सिन्धुपाल्चोकमा जन्मनुभएका कवि आर. आर. चौलागाईं हाल हेटौँडा–४, अभिकुञ्‌ज, मकवानपुरमा स्थायी बसोबास गर्दै आउनुभएको छ । उहाँ नेपाल विद्युत प्राधिकरणबाट सेवा निवृत्त कर्माचारी रहनुभए पनि कविता, लघुकथा, कथा, सूत्रकथा, निबन्ध, मुक्तक, गीत, गजल, हाइकु, छोक, एलाक, बाछिटा, समीक्षालगायतका विधामा सक्रीय हुनुहुन्छ । २०३४ सालतिर इच्छा कविताबाट लेखन आरम्भ गर्नुभएका उहाँका  सामन्तीलाई चिठ्ठी (कवितासङ्ग्रह–२०३७), नौलो बिहानी (कवितासङ्ग्रह–२०३७), जिउँदा मानिसहरू (कवितासङ्ग्रह–२०४३), बन्धनभित्रका अभिव्यक्तिहरू (संयुक्त कवितासङ्ग्रह–२०४६), चास्सचुस्स (संयुक्त हाइकु, छोक र मुक्तकसङ्ग्रह–२०५२), यात्राका गीतहरू (गीतसङ्ग्रह–२०५३), तुवाँलोभित्र र तुवा“लोबाहिर (कवितासङ्ग्रह–२०५४), कविता लेख्नु निरर्थक हुन्छ (कवितासङ्ग्रह–२०५६), आस्था रोपेर मनका गराहरूमा (कवितासङ्ग्रह–२०६०), विघटनको तयारीमा (लघुकथासङ्ग्रह–२०६५), असीम पर्खाइहरू (प्रतिनिधि कवितासङ्ग्रह–२०७३) लगायत प्रकाशित छन् । उहाँ साहित्य सङ्‍‌गम मकवानपुरको संस्थापक संयोजक तथा पूर्व अध्यक्ष, जन सांस्कृतिक मञ्च,मकवानपुरको संस्थापक प्रगतिशील लेखक संघ, मकवानपुरको संस्थापक सचिव, पूर्व केन्द्रीय सदस्य, तथा सिस्नुपानी नेपाल, मकवानपुरको सल्लाहकार हुनुहुन्छ । उहाँ मकवानपुर जिल्लास्तरीय अन्तर मा. वि. कवितागोष्ठी (प्रथम–२०३४, मकवानपुर साहित्य प्रतिभा पुरस्कार–२०५२,बृहत् प्रतियोगितात्मक राष्ट्रिय कवि सम्मेलन (सान्त्वना–२०५४, राष्ट्रिय कविता महोत्सव (द्वितीय–२०५४, राष्ट्रव्यापी कविता प्रतियोगिता प्रथम–२०५५, राष्ट्रव्यापी लघुकथा प्रतियोगिता (उत्कृष्ट–२०५५,राष्ट्रव्यापी मुक्तक प्रतियोगिता (प्रथम–२०५६, श्याम श्रेष्ठ स्मृति मातृभूमि साहित्य पुरस्कार–२०७९लगायतबाट सम्मानित पुरस्कृत हुनुहुन्छ ।  उहाँले हेटौँडा सन्देश (सामयिक सङ्‌कलन–२०३८,श्रमिक (सामयिक सङ्‌कलन–२०३९,अविरल (साहित्यिक त्रैमासिक)–२०४७,सत्प्रयास (विचारप्रधान साहित्यिक सँगालो) २०४९–२०५०,क्रमशः (सामयिक साहित्यिक सँगालो –२०५३, दीपशिखा (साहित्यिक त्रैमासिक–२०५३, अजम्मरी नामहरू (मकवानपुरे साहित्यकारहरूको नामावली–२०५८को सम्पादन गर्नुभएको छ ।

पूर्वमा भारत
पश्चिममा भारत
उत्तरमा चीन
अनि दक्षिणमा पनि भारत
सात प्रदेश
र सतहत्तर जिल्ला
हिमाल, पहाड र तराई
मिलेको भूभाग
असङ्ख्य खानी भएको
संसारमै धेरै पानी भएको
सम्पन्नताको प्रचुर सम्भावना भएको
जनसङ्ख्या करीब तीन करोड
राष्ट्रिय झन्डा चन्द्रसूर्य अङ्कित
कहिल्यै विकास नभएको
सधैँ पछाडि परेको
जनताभन्दा नेता धेरै भएको
चलाउन नसकेर-नजानेर डुब्न आँटेको
नेपाल नाम भएको
विश्वकै तन्नम
सुनको कचौरामा भीख मागिरहेको
कार्यकर्ता पोस्दापोस्दा
डनहरू पाल्दापाल्दा
हैरान भएको
अनि बिचौलियाहरूले हाँकिरहेको
सदियौँदेखि अलपत्र परिरहेको
हाम्रो उर्वर भूमि बिक्रीमा छ
जसले किन्छ ऊ मालामाल हुन्छ
कुरा बुझ्नु भो होला नि ! नत्र अवसर जान्छ
आउनोस् यो देश बिक्रीमा छ
यो देश बिक्रीमा छ ।

हेटौँडा–४, मकवानपुर

आर आर चौँलागाई संग सम्वन्धित केहि भिडियोहरु

कवि एल.बी. क्षेत्रीको ‘को हो त्यो मान्छे ? ‘ भाद्र ९ गते विमोचित हुने

मकवानपुर । कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष एवम् चितवनका अग्रज साहित्यकार एलबी क्षेत्रीको ‘को हो त्यो मान्छे ? ‘ कविता सङ्ग्रह विमोचित हुने भएको छ । पेज कर्नरले प्रकाशित गर्ने यो पुस्तकलाई भदौ ९ गते प्रज्ञाप्रतिष्ठान, काठमाडौँमा विमोचित गर्न थालिएको हो ।

क्षेत्रीले झण्डै एक दशकपछि छैटौं कृतिको रुपमा यो कवितासङ्ग्रह विमोचन गर्न लागेका हुन् ।

अंग्रेजी र नेपाली भाषामा कलम चलाउने क्षेत्रीको वि.सं. २०६४ सालमा पहिलो कृति ‘त्रिशंकुको देशमा’ कथासङ्ग्रह सार्वजनिक भएको थियो । त्यसपछि उनको ‘भीडमा हराएको मान्छे–२०७१’ कवितासङ्ग्रह, ‘ईन्द्रमायाको देशमा–२०७१’ कथासङ्ग्रह, ‘व्रतभङ्ग–२०७५’ कथासङ्ग्रह, कविता र कथाको संयुक्त सङ्ग्रह ‘द करिडोर अफ सेन्सेस–२०७८’ प्रकाशित भइसकेका छन् ।

“उनका पाठकहरू उनको यही सीमाहीन र खुलस्थ लेखनशैलीलाई ‘एल.बी. स्टाइल’ भन्ने गर्छन् । ‘भीडमा हराएको मान्छे ‘ पछि उनको दोस्रो कविता–सङ्ग्रह ‘को हो त्यो मान्छे ?’ उनको यसै निजी स्टाइलको अर्को सुन्दर द्योतक हो ।” प्रकाशक पेज टर्नरले लेखेको छ ।

कविडाँडा साहित्य समाज संग सम्वन्धित केहि भिडियोहरु

कविता : बालजागृति / सदिक्षा नेपाल

ज्ञानसीप आर्जन गर्न ठाउँ खोज्दै आएँ
खोज्दाखोज्दै मैले पनि बालजागृति पाएँ ।

खेलकूद मनोरञ्जन गर्न पाइनेरैछ
यहाँ आएर मेरो पढाई अझै राम्रो भएछ ।

गुरूबा र गुरूआमा कति धेरै राम्रा
उहाँहरू दोस्रो मातापिता हुन् हाम्रा ।

विद्यार्थीलाई वातावरण सँधै कायम हुन्छ
शिक्षकको मायादेखि मेरो मन छुन्छ ।

हाम्रो बालजागृतिमा सरस्वतिको बास
कहिले पनि हुनेछैन हाम्रो शिक्षा नाश ।

बालजागृति बालजागृति बालजागृति राम्रो
ज्ञानको दियो बालिदिने विद्यालय हाम्रो ।

बालजागृति
सदिक्षा नेपाल
बालजागृति ईङ्लिश सेकेण्डरी बोर्डिङ स्कुल, हेटौंडा २