Home Blog Page 79

कविता: ‘म’ म नै हुँ / प्रेक्षा तिमल्सिना

मलाई मेरो क्षमतामा उभिने चाहना पूरा गर्न देऊ
कृपया मलाई सक्षम हुँदा हुँदै अपाङ्ग नबनाइदेऊ
म मेरै पहिचान बनाउन चाहन्छु
तिमी फलानाहरूको उदाहरण नदेखाइदेऊ
म गन्तव्य आफैँ रोज्न चाहन्छु ।

तिमी मेरो पछाडि डोरी नबाँधिदेऊ
मलाई दुनियाँसँग तुलना नगर
मलाई त म हुनु छ,
दुनियाँसँग तुलना गर्द मेरो म हुनुको अस्तित्व हरायो भने ?

म पत्थर जस्तो छु मलाई पगाल्न नखोज
लड्छु यो संसारसँग तर मलाई अरुसँग नखोज
म मनै हुँ, मैभित्र खोज
म यस्तो बनूँ ईर्ष्याले डढाउन नसक्ने
म यस्तो बनूँ कुराले उडाउन नसक्ने
ती सोचहरूसँग भेटूँ
जहाँ मेरो आत्मसम्मानमा आँच न‌आओस्
जहाँ मेरो विचारमा हौसला पाऊँ
जहाँ मेरो अस्तित्वलाई स्वीकार गरियोस् ।

म जहाँ जहाँ होऊँ, आफू भ‌एर होऊँ
भो अरू उदाहरण नदेऊ तुलनामा 
‘म’ म नै हुँ ।

प्रेक्षा तिमल्सिना, हेटौँडा १६

कविता : भो तपाईं यता न आउनु / विष्णु पादुका

नाम: विष्णु पादुका जन्मस्थान: कास्कीकोट ,कास्की हाल बसोबास: कोहलपुर बाँके
पेशा: शिक्षण ( २५वर्ष अनुभव), डोल्पा

पुस्तक प्रकाशन:
१) साइनो -(साइनो कविता संग्रह )२०७६
२) बिन्दुको वृत्त कविता संग्रह२०७८
पुरस्कार/सम्मान: बलराम स्मृति वाङ्मय प्रतिष्ठान ,चितवन २०७९ उत्कृष्ट कविता संग्रह
-कथा, कविता ,निबन्ध फुटकर प्रकाशन,
प्रकाशोन्मुख कृति – उपन्यास

छेस्का, सुसेली झैँ ‘साइनो’ पनि कविता विधाको लघु कविताअन्तर्गत पर्दछ । त्यहीक्रममा उहाँले साइनो कविता सङ्ग्रह प्रकाशन गर्नुभ‌एको छ भने उहाँका बिन्दुको वृत्त कविता संग्रह गरी हालसम्म कूल २ कृति रहेका छन् ।

साच्चै तपाईं बाध्यतामा हुनुहुन्छ भने
ठिकै छ
नत्र चैनकै अपेक्षा बोकेर
भो तपाईं यता न आउनु

लोभी आँखामा सुन्दरता भर्न मन छ भने
ठिकै छ
हाजिर छन् सेताम्मे हिमाल
हरिया वनजंगल
र कोखमा पत्थर बोकेका काला पहाड पनि
बाटाभरी तपाईं हामी मात्रै हिड्न पाए त
ठिकै छ
धेरै जसो बाटो नै मिचेर
कहिले धुले पहिरो कहिले हिले पहिरो हिडिरहेको देख्दा
नदीले डुबाएको बाटो नदेख्दा
दिक्क लाग्दै धिक्कार्नु छ भने
भो तपाईं यता न आउनु

चुटिएका झोलुङ्गे पुल
लठ्ठो र घिर्नी खिइएका तुइन
टुइटर, फेसबुक र युटुबमा हेर्दै
लिन सकिन्छ मनोरञ्जन
यथार्थसँग
आत्मसात गर्न चाहनुहुन्छ भने त ठिकै छ
नत्र
कहरहरुको शहर हो कर्णाली
भारी र भरियाको सुगन्ध समेत जोडिएको हुन्छ
तपाईंले खानुपर्ने हरेक गासमा
उकालो ओरालोमा बगेका ती पसिनाको
तिर्न सक्नु हुन्छ मोल भने त ठिकै छ
नत्र महंगीको आक्षेप छोड्न मात्र आउने भए
भो तपाईं यता न आउनु

घाम पूर्वदेखी झुल्किन्छ
उज्यालो भनेको विकास पनि हो भन्छन्
हिउँ टाउकोमा सजाएका अलिकति अग्ला
डाँडाहरुको निरन्तरताको गीत सुन्ने भए
बस्ती पिच्छेको नौलो भाषा अनि रितिरिवाज देख्ने भए
कस्तुरी नाउरको वन
डाँफे र हिमाली चरीको आकाश
सल्ला र धुपीको सुगन्धित बतास लिने भए त
ठिकै छ
अलिकति बेथिति
अलिकति अनियमितता
अलिकति अभाव
अलिकति दुखलाई
कर्णालीकै पहिचान बनाउने चाहना लिएर
भो तपाईं यता न आउनु

आँसु र पसिनाले
साना ठुला ताल भरिएका छन् यत्रतत्र
स्पर्श गरेर आफ्नै अनुभूति मिसाएर अझ निर्मल पार्न
आउनु हुन्छ भने त ठिकै छ
आफैमा स्वच्छता बोकेका जलराशीलाई प्रदुषण मात्र थप्ने भए
भो तपाईं न आउनु यता

हावा अलिक बेसि नै चल्छ
निभे पनि अँध्यारोमा बत्ती त बल्छ बल्छ
समयलाई कसैले रोकेन पनि
कसैले दगुराएन पनि
तिता हुन्छन् यथार्थहरू
लगर जस्तै तिते फापरका
चाउचाउ बिस्कुट सभ्यता उतै छोडेर
आउन सक्नु हुन्छ भने त ठिकै छ
आफ्नो बिज्ञापन गर्न र महत्वाकांक्षा थप्न
आलोचनाको एक अर्को गौडो मात्र चढ्न हो भने
भो तपाईं न आउनु यता

यात्रालाई एक अनुष्ठान ठान्नु हुन्छ भने ठिकै छ
दुख र जोखिमलाई प्रसाद ठान्नु हुन्छ भने ठिकै छ
हामी तिमी सम्बोधन गर्छौं
पवित्र र आत्मिय जान्नु हुन्छ भने ठिकै छ
नत्र,
यसै कुरामा आलोचनाको बिख पोख्नु हुन्छ
तपाईंको तामझामको शहर पुगेर भने
भो तपाईं न आउनु यता ।

विष्णु पादुका

कविता : समाजमा गरिब / विराज दोङ

गरिब परिवारमा जन्मेँ म त सबैले मलाई हेप्ने गर्छन्
अघि बढ्न खोज्छु तर समाजकाले चेप्ने गर्छन्
मर्न मन लाग्छ मलाई बाँचेर के काम यो समाजमा
अरुको दबाबमा बन्नु नै छ हाँसेर के काम यो समाजमा ।

रगत सबैको रातो हुन्छ तर मनचाहिँ भिन्न किन ?
एक दिन मरेर जानु छ सबै धनी गरिबमा विभेद किन ?
सोध्छु प्रश्न आफ्नै मनलाई तर उत्तर पाएको छैन
धनी गरिब किन आखिर म पनि एउटा मान्छे हैन ?

स्कुल जादाँ जहिल्यै पनि फाटेको कपडा लाएर जान्थेँ
मिठोमसिनो कहाँ खान पाउथेँ गुन्द्रुक र रोटी म खान्थेँ
फाटेको कपडा लाएको भनी साथीहरूले गिज्याउँथे
साथीले गिज्याएका पलहरूले मेरो मनलाई बिझाउँथे ।

टिक्नु छ अब समाजको अघि गरिब भएर जन्मे पनि
शान्त बन्नु छ मेरो मनले खरानी भएर गए पनि ।


विराज दोङ, कक्षा –१०
महेन्द्र मा.वि. बकैया– ४, मकवानपुर

छाेटा कविताहरू / अर्जुन पराजुली

अर्जुन पराजुली हास्यव्यङ्ग्य क्षेत्रका उम्दा कवि हुनुहुन्छ । २०२० साउन ५ गते काभ्रेपलाञ्चोकको ज्याम्दीमा जन्मिनुभएका सिस्नुपानी नेपालका संस्थापकमध्ये एक उहाँ हाल सिस्नुपानी नेपालको उपाध्यक्ष हुनुहुन्छ । चरम गरिबीको बाल्यकालबाट गुज्रिएका पराजुली व्यङ्ग्य कविताकै कारण दुई पटक गरी करिब २ महिनाजति जेल पनि पर्नुभयो ।
हुन त ‘भाइरल’ शब्दलाई अर्थ्याउँदा एक्कासि चर्चामा आउने र बेपत्ता हुने भन्नेसँग जोडेर हेरिन्छ । चालिसौँ वर्षदेखि हास्यव्यङ्ग्य क्षेत्रमा कलम चलाइरहनु भएका उहाँ सोही समयदेखि नै अर्थात् जहिल्यै ‘भाइरल’ हुनुहुन्छ । आजकल फेसबुकमार्फत् डायरीका पानामा लेखिएका डिको नभएका अक्षर लेख्ने कवि भनेर पनि चिनिनुभएका उहाँ समसामयिक मुद्दामा कलम चलाउनुहुन्छ । उहाँका सिर्जना हेर्दा भन्न सकिन्छ- उहाँको कलम भजन गाउनका लागि होइन अन्याय र अत्याचारविरुद्धमा प्रयोग हुने गरेको पाइन्छ ।
शिशिर योगीको गायनमा बा, आमा, किसान जस्ता मार्मिक गीतहरू लेख्नुभएका कवि पराजुली हँसाउन मात्रै होइन, रुवाउन पनि सक्नुहुन्छ ।
अपसंस्कृति, विकृति, आडम्बरप्रति उपहासपूर्ण रचना गर्ने उहाँले प्रतिगमनविरुद्ध २०६२/६३ को जनआन्दोलनमा लेख्नुभएको बेजोडको कविताको शक्तिले थप टेवा पुगेको घटना पनि ताजै छ । यति मात्रै नभई सो आन्दोलनमा काठमाडौँमा ७ दलले सहभागीहरू जम्मा गर्न नसकेको अवस्थामा उहाँलगायतको नागरिक समाजले यसमा ठुलो टेवा पुर्‍याएको थियो । जनताको प्रत्यक्ष चासोलाई लिएर सिर्जना गर्ने पराजुलीका रचना पढ्दैगर्दा लाग्छ- अब लेखिने कुनै विषय नै बाँकी छैन । उहाँका आधा दर्जन कविताहरू यहाँ समावेश गरिएका छन् ।

कविता १ : नागरिकता सम्बन्धमा
मरेतुल्य छ ऊ
जसको नागरिकता छैन
जसको नागरिकता छ
भन्छ ऊ- ‘नागरिकता दिनुहुँदैन ।’
त्यही हो मेरो देश ।

 

कविता २ : राष्ट्रवादी नेता सम्बन्धमा
जो खेती गर्दैन ऊ किसानको नेता !
जो मजदुरी गर्दैन
ऊ मजदुरको नेता !
जो पढाउँदैन
ऊ प्राध्यापकको नेता !
जो पढ्दैन
ऊ विद्यार्थीको नेता !
जो सबैभन्दा बुढो छ
ऊ युवाको नेता !
जो कुराबाहेक केही गर्दैन
ऊ कम्युनिस्ट नेता !
जुन महिलामा-
लिङ्गबाहेक सबै पुरुषको छ
ऊ महिला नेता !

जुन नेताको छातीमा
देशबाहेक सबैकुरा छ
ऊ राष्ट्रवादी नेता !!

कविता ३ : अन्तभक्त सम्बन्धमा
उता, बुद्धले
भक्तलाई जिन्दगीभरि
‘भगवान’ भन्ने हुँदैन भनेर सुनाए !
यता, भक्तले
बुद्धलाई नै तानेर भगवान् बनाए !!

कविता ४ : खेलकुद र देश सम्बन्धमा
अरूको खेल हेरेर त
मज्जा पो लिने हो महोदय !
टेन्सन लिन त
आफ्नै देश हेरे भइहाल्यो नि !!

कविता ५ : चुनाव र नेता सम्बन्धमा
गोरूले गधालाई सोध्यो-
भाइ, चुनाव त जितिछस्
तर मान्छेले
तँलाई मत कसरी दिए नि ?
गधाले भन्यो-
चुनाव जित्नुअघि त म पनि मान्छे नै थिएँ नि ! 

कविता ६: उखु किसानको आन्दोलनका सन्दर्भमा
विश्वको एउटा यस्तो पनि ठाउँ छ
जहाँको उखु पेल्दा- रस आउँदैन, आँसु आउँछ । 

“साहित्यवार्ता : स्रष्टा र सिर्जना” ले युएईमा तीनजना स्रष्टालाई सम्मान गर्ने ।

साहित्यपोस्टको फेसबुक पेज तथा युट्युब च्यानलमार्फत प्रसारण हुँदैआएको कार्यक्रम “साहित्यवार्ता : स्रष्टा र सिर्जना” ले युएईमा तीन जना स्रष्टालाई सम्मान गर्ने भएको छ ।

प्रशारणको ५० औँ शृङ्खला पुगेको अवसरमा युएईको दुबईमा एक भव्य समारोहको आयोजना गरी उहाँहरुलाई “साहित्यवार्ता स्रष्टा सम्मान” बाट सम्मान गर्न लागिएको हो ।

साहित्यवार्ता कार्यक्रमको ५० औँ शृङ्खलामा विशिष्ट अतिथिका रुपमा आमन्त्रित पाहुना विशिष्ट साहित्य शिरोमणि वरिष्ठ कवि तथा संस्कृतिविद तुलसी दिवसलाई नगद राशीसहित “साहित्यवार्ता विशिष्ट स्रष्टा सम्मान” प्रदान गर्न लागिएको छ ।

नेपाली साहित्यमा उहाँले पुर्याउनु भएको अतुलनीय योगदानको उच्च मुल्याङ्कन गर्दै नगद पुरस्कारसहित सम्मान गर्न लागिएको कार्यक्रम संयोजक तथा कवि/चित्रकार जीवित खड्का मगरले जानकारी गराउनु भयो ।

त्यसैगरी कार्यक्रमले साहित्यपोस्टका प्रधान सम्पादक तथा लेखक अश्विनी कोइराला र गायक राज सिग्देललाई पनि युएईमा निमन्त्रणा गरी “साहित्यवार्ता स्रष्टा सम्मान” बाट सम्मान गर्न लागेको छ । आ-आफ्नो क्षेत्रमा लामो समयदेखि पुर्‍याएको योगदानको कदरस्वरूप उहाँहरुलाई पनि नगद पुरस्कारसहित सम्मान गर्न लागिएको संयोजक मगरले बताउनु भयो । सम्पादक कोइराला “साहित्यवार्ता : स्रष्टा र सिर्जना” कार्यक्रमका संरक्षक पनि हुनुहुन्छ ।

गत जुलाई १५ मा कार्यक्रमको ५० औँ शृङ्खला पुगेको थियो। सोही उपलक्ष्यमा आगामी अगस्ट २७ आइतबार दुबईको बरदुबईमा “साहित्यवार्ता स्रष्टा सम्मान, बृहत् कवि गोष्ठी तथा साङ्गीतिक कार्यक्रम” को आयोजना गर्न लागिएको कार्यक्रमका प्रमुख व्यवस्थापक तथा कवि/गायक दीपराज नेयोङ्हाङले जानकारी गराउनु भयो । उहाँ कार्यक्रमका सल्लाहकार समेत हुनुहुन्छ ।

कार्यक्रममा काठमाडौँ निवासी गजलकार ईन्दिरा अधिकारी अतिथि गजलकारको रुपमा रहनुहुनेछ र उहाँको विशेष गजल वाचन रहनेछ । त्यसैगरी कार्यक्रममा युएईमा रहेका सर्जकहरुको पनि विशेष प्रस्तुति रहने जनाइएको छ ।
कार्यक्रम दुबईको बरदुबईस्थित बसपार्क छेउमा रहेको वेस्कट होटलको हलमा बिहान १० बजेबाट हुनेछ ।

युएईमा रहेका दुई सक्रिय साहित्यिक संस्था सगरमाथा साहित्य प्रतिष्ठान र सिर्जना वाचन डबली तथा सामाजिक संस्था अन्तराष्ट्रिय नेपाली समाज युएई कार्यक्रमको सहयोगी संस्थाको रुपमा रहनेछन ।

त्यसैगरी त्रिरत्न जनरल मेन्टेनेन्स एण्ड डेकोर अबुधाबी, वेस्कट होटल दुबई, घान्तूत स्टार रेस्टुरेन्ट आब्रा दुबई, सयपत्री स्टार रेस्टुरेन्ट दुबई, ग्लोबलाइज ट्राभल एण्ड टुरिजम अबुधाबी, आईएमई मनि ट्रान्सफर युएई, कान्तिपुर ट्राभल एण्ड टुरिजम अबुधाबी, ग्रिन नेपाल ट्राभल एण्ड टुरिजम अबुधाबी, ससुराली रेस्टुरेन्ट अबुधाबी, ग्रिन ट्रिप्स ट्राभल एण्ड टुरिजम अबुधाबी र कञ्चनजङ्घा रेस्टुरेन्ट अबुधाबीले कार्यक्रमलाई प्रायोजन गरेका छन ।

यस कार्यक्रमको आयोजनालाई सफल पार्न युएईसहित विभिन्न देशमा रहनु भएका व्यक्तिहरुको पनि सहयोग र समर्थन रहेको बताइएको छ ।

साहित्यपोस्टको फेसबुक पेज तथा युट्युब च्यानलमार्फत हरेक शनिबार नेपाली समय राती ८ बजे प्रसारण हुँदै आएको कार्यक्रम “साहित्यवार्ता : स्रष्टा र सिर्जना” ५० शृङ्खला पुगेसँगै केही समयका लागि स्थगित गरिएको छ ।

साहित्यपोस्टका युएई संयोजक समेत रहेका कवि डिजि शर्माले सञ्चालन गर्दै आउनु भएको कार्यक्रम केही प्राविधिक कारणबस केही समयका लागि स्थगित गर्नु परेको जनाइएको छ । कार्यक्रममा विभिन्न सर्जकहरुलाई निमन्त्रणा गरी बहसमूलक वार्ता हुँदैआएको थियो ।

साथै आगामी दिनमा कार्यक्रमको प्रत्येक ५० शृङ्खलापछि एक जना विशिष्ट साहित्यकारलाई “साहित्यवार्ता विशिष्ट स्रष्टा सम्मान” प्रदान गर्दै जाने योजना रहेको संयोजक जीवित खड्काले बताउनु भयो ।

(युएईबाट डिजी शर्माको सहयोगमा)

अन्तरवार्ता : साहित्यलाई आर्थिक क्षेत्रसँग कसरी जोड्ने ? – सुदर्शन अधिकारी ।

१. हार्दिक स्वागत छ ‘नव साहित्य अनलाइन पत्रिका भेटवार्ता’ मा ।

  • धन्यवाद ।

२. पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?

  • मैले नलेज भिलेज नेपाल स्थापना गरेको छु । हामी त्यसैको परिसरभित्र छौँ । जसमा एउटा आवासीय क्षेत्र रहेको छ भने अर्को नलेज भिलेज सञ्चालित छ । जसमा तालिमहरू सञ्चालन हुन्छन् । अचेल एकदुई वर्षदेखि विगतको अनुभवहरू समेटेर किताबहरू पनि लेख्न थालेको छु । 

३. देशको पछिल्लो आर्थिक अवस्था जर्जर भयो भन्ने गुनासो छ । लामो समयदेखि बैंकिङ्ग क्षेत्रमा जीवन बिताउँदै गर्दा देशको पछिल्लो आर्थिक अवस्था कस्तो देख्नुहुन्छ ?

  • खास गरेर कुनै पनि देशको आर्थिक अवस्था बलियो बनाउन देशमा भएको स्रोत र साधनको उच्चतम प्रयोग गरी विश्व बजारमा बेच्न सक्नुपर्छ । हामी त्यसो गर्न सकिरहेका छैनौँ । हामी के गरिरहेका छौँ भने, यहाँ रोजगारी छैन, रोजगारीका लागि जनता आफैँ विदेश गएर रेमिट्यान्स् पठाइरहेका छन् । अर्को अत्यधिक मात्रामा वैदेशिक ऋण ल्याइरहेका छौँ । जब हामीसँग पैसा पुग्दैन अनि कोहीसँग रोइकराई ऋण मागिरहेका छौँ । ऋण र रेमिट्यान्सले मात्रै देश चलिरहेको छ । पहिलेदेखि नै चलिरहेको थियो, त्यही क्रम अहिले पनि छ । पछिल्लो समय कोभिडले विश्वव्यापी आर्थिक मन्दी भयो । रुस-युक्रेन युद्धले पनि केही मात्रामा प्रभावित गर्‍यो । उत्पादन बढाएर जबसम्म आफ्ना सामानहरू बाहिर बेच्दैनौँ तबसम्म आर्थिक समृद्धि आउँदैन । त्यसमा कुनै पनि प्रयास भइराखेको देखिँदैन ।

४. ‘लेखकहरू समाजको वर्तमान अवस्थालाई लेख्छन्’ भनिन्छ । अहिलेको जर्जर आर्थिक अवस्थालाई  साहित्यमा कसरी जोड्ने ? के सुझाव दिनुहुन्छ ?

  • तपाईँहरूले दुईवटा कार्यक्रम नव साहित्य र एनएस टेलिभिजन सुरु गर्नुभएको छ । यसले साहित्यमा ठूलो योगदान गर्छ भन्ने मलाई विश्वास छ । अहिले मान्छेको लेख्ने पढ्ने बानी छैन । सामाजिक सञ्जाल (फेसबुक) हरूमा युनिकोडमा लेख्छौँ । त्यसमा लेख्दा एक त हतारमा लेख्छौँ भने अर्को हामीले भनेको सबै शब्द तुरुन्तै पाइँदैन ।  (गुगल इनपुटलाई इङ्गित गर्दै) जे गरे पनि मान्छेले बुझिहाल्छन् भनेर जे पायो त्यही हाल्छन् । यसले हाम्रो साहित्य झन् बिग्रेर जाने भो । हिजो भर्खर म सहिद स्मारकमा बसिरहँदा दुईजना विदेशी डाक्टरहरू र नेपाली डाक्टर घुम्न आएका रैछन् । हामी नेपालीमा कुरा गरिराथ्यौँ । ती न्युजिल्यान्डका डाक्टर पनि नेपालीमैं कुरा गरिरहेका थिए । कुरा गर्दै जाँदा उनको नेपाली यति शुद्ध थियो कि मलाई छक्क लागेर ‘तपाईँको नेपाली यति शुद्ध रैछ, हामीलाई खुसी लाग्यो । हामीले बोल्दा बरू कहिलेकाहीँ गल्ती हुन्छ’ भनेर सोध्दा नेपाली डाक्टरले ‘उहाँ ग्रामरमा विशेष चनाखो हुनुहुन्छ’ भन्नुभयो । त्यही भएर नेपाली शुद्ध रहेछ । हामी त ग्रामर पनि मिलाउँदैनौँ । अङ्ग्रेजीमा स्पेलिङ र ग्रामर मिलेन भने त्यो पत्रु भएर जान्छ । नेपालीमा कसैले त्यसको मतलब राख्दैन । त्यसकारण  तपाईँहरुको माध्यमबाट पाठकहरूले शुद्ध पढ्ने र शुद्ध लेख्‍ने गर्नुहुन्छ भन्ने विश्वास छ ।

  • तपाईँको प्रश्नको दोस्रो भागमा जाँदा यसलाई आर्थिक पाटोसँग जोडिनु  निश्चित नै पर्छ । अस्ति अनलाइन (नव साहित्य अनलाइन) उद्घाटन कार्यक्रममा पनि मन्तव्यहरूमा केही चासो देखियो । निकाल्न त निकाल्नु लाग्नुभयो, पछि बन्द नहोस् भनेर । बन्द नहोस् के कारणले भने आर्थिक पाटोबाटै हो । तपाईँहरूले सुरु गर्नुभएको छ, आफैँले बन्द गर्ने कुरा आएन । आर्थिक पाटोको कारण बन्द हुन सक्छ । तर म के कुरामा ढुक्क छु भने यदि तपाईँहरूमा क्वालिटी छ, साहित्यमा राम्रा राम्रा कविताहरू, समाजका चित्रणहरू व्यक्त गर्ने कथाहरू, त्यस्ता कुराहरू शुद्ध नेपालीमा आउन थाल्यो भने पाठकको रुझान त्यतातिर जान्छ । जति धेरै पाठकहरू भयो त्यति विज्ञापन आउँछ । 

५. नेपालमा व्यावसायिक लेखनको सुरुवात भयो कि बाँकी छ ?

  • बिस्तारै बिस्तारै सुरु भइरहेछ । तपाईँलाई उदाहरण दिन्छु, जस्तै विजयकुमार पाण्डेले खुसी लेखे । त्यति बेला उनलाई थाहा थिएन कि यो वेस्ट सेलर किताब हुन्छ भनेर । किनभने उनी एकदम खरो, बोल्ने पनि खरो लेख्ने पनि खरो । त्यसमा नयाँपन आयो । पाठकहरुले नयाँ स्वाद पाए र त्यो बेस्ट सेलर भएर त्यो दश बाह्र हजार बिक्री भइसकेको छ । उहाँले त्यसबाट उत्साहित भएर सम्बन्धहरू पुस्तक प्रकाशित गरिसक्नुभएको छ । म आफ्नै कुरा गर्छु । मैले दुइटा किताब छापेँ । एउटा परिवर्तन जीवन यात्रामा । त्योचाहिँ मोटिभेसनल किताब थियो । मेरो चाहना के थियो भने यो किताब सबैले पढुन् ।  त्यसको मूल्यको कारणले मात्रै मान्छेले त्यसलाई नछोडुन् । आफ्नो जीवनमा केही नयाँपन पनि लिएर आउन्, उर्जा थपुन् भन्ने थियो । मैले त्यसलाई करिब करिब फ्रीमै बेचेँ ।  मैले पछिल्लो किताब बैङ्किङ क्षेत्रमा बढेका पाइला कसैलाई पनि निःशुल्क दिइनँ । दिनैपर्ने मान्छेलाई एक दुइवटा भेट गरेँ । त्यो मैले दराजमा राखेँ । त्यसको अहिले व्यापक प्रचारप्रसार भइरहेको छ । फेसबुकमा एउटा अकाउन्ट नै छ, बैङ्किङ क्षेत्रमा बढेका पाइला भन्ने । यसबाट मैले अहिले रिपोर्ट दिँदा किताब गइराखेको छ । रत्न पुस्तक भण्डारले पनि त्यो लिएर बेच्ने प्रयास गरिरहेको छ अरे । भन्दाखेरि आफू प्रोफेसनल हुनुपर्‍यो र त्यो दिएको कुराचाहिँ नयाँपन हुनुपर्‍यो । त्यो हुँदा साहित्यमा नयाँपन आउँछ ।

६. तपाईँले भन्नुभयो तपाईँको पहिलोभन्दा दोस्रो पुस्तक बिक्रीको हिसाबले राम्रो रह्यो । अब धेरै लेखकको गुनासोचाहिँ पुस्तक प्रकाशन हुँदा पनि बिक्री भएन भन्ने छ । अब लेखकहरू पाठकको इच्छाअनुसार लेख्न अझै सकिरहेका छैनन् भनेर बुझ्ने हो हामीले ?

  • खास त वातावरण अलिकति सामाजिक सञ्जालले बिगारिदियो । रिडिङ कल्चरलाई तल्लोस्तरमा पुर्‍याइदियो । रिडिङ कल्चर छैन तर पनि पाठकहरू छन् नभएका होइनन् । त्यो सानो मार्केटमा किताब क्वालिटीको हुनुपर्‍यो । नयाँ किसिमको हुनुपर्‍यो । त्यो भएमा बजार अहिले पनि छ । नभएकैचाहिँ होइन । प्रकाशक राम्रो हुनुपर्‍यो । प्रकाशक राम्रो हुनका लागि तपाईँले लेखेको किताब राम्रो हुनुपर्‍यो । तब न लेख छाप्छ । त्यसकारण आफ्नो लेखाइमै मेहनत गर्नुपर्छ ।

७. राजधानीका ठुला प्रकाशन गृहले राजधानीबाहिरका लेखकहरूलाई टेर्दैनन् भन्ने गुनासो छ । यसको कारणचाहिँ के हो ?

  • कारण त क्वालिटी पुग्दैन भन्ने उनीहरुलाई लाग्छ । हामीले गर्नुपर्ने कुरा हाम्रो लेखाई नयाँ किसिमको छ, रोचक छ भने प्रकाशककहाँ लगेर फाल्दिनुपर्‍यो । यसलाई हेरेर छाप्ने नछाप्ने सोध्नुपर्‍यो । हामीले त्यसलाई छोड्नुभएन । हामीले ठुलो प्रकाशकले छाप्दै छाप्दैन भनेर पहिल्यै डिमोरलाइज्ड भएर बस्ने हो भने उनीहरूले कहिल्यै छाप्दैनन् । उनीहरूलाई हेरिदिनू भनेर भन्नुपर्छ । त्यसमा उनीहरूले सुझाव दिएर, परिमार्जन गर्न लगाएर पनि छाप्छु भन्न सक्छन् । क्वालिटी पुग्दैन छाप्दिनँ भन्छ भने आफ्नो क्वालिटी बढाउनुपर्‍यो ।

८. राजधानी र मोफसल लगभग लगभग हराएको छ । सामाजिक सञ्जाल, युट्युब च्यानलले गर्दा कुनाकाप्चामा रहेका मानिसहरूले पनि सामाजिक सञ्जालमा रचनाहरू राख्दा देशभरि पुग्ने समय आइसकेको छ । तर आर्थिक हिसाबले पनि अझै राजधानी र मोफसल भन्ने विभेद भएजस्तो तपाईँलाई लाग्दैन ?

  • मैले अघि नै भने जस्तो सन्देशबाहक अर्थात् पाठकले त्यो किताबबाट के लिने ? केही कुरा पाइन्छ भने मात्रै उसले पैसा तिर्छ । केही पाइँदैन भन्ने भयो भने उसले पढ्ने र पैसा तिर्न चाहँदैन । त्यसले गर्दा आफ्नो लेखनीलाई परिमार्जन गर्दै लैजानुपर्छ । भाषाका लागि राम्रो सम्पादक राखुँला, भाषा राम्रै होला । तर त्यसले दिने सन्देशमा नयाँपन हुनुपर्‍यो ।

९. तपाईँ मकवानपुरमै बसेर लेखिरहनु भएको छ । मकवानपुरको लेखनलाई कसरी हेर्नुभएको छ ?

  • मकवानपुरको लेखन माथि गइरहेको महसुस गरेको छु । शान्तिप्रिय वन्दनाको किताब काठमाडौँका पब्लिसरले छापेका छन् । अरू थुप्रै लेखकहरूका पुस्तकहरू काठमाडौँमै छापिइरहेका छन् । नवसर्जकका रूपमा बालबालिकाहरू पनि आइरहेका छन् । छतिवन साहित्यको एक मुहान जस्तै भएको छ । धेरै अगाडिदेखि त्यहाँ साहित्यिक कार्यक्रमहरू भैरहेका छन् । अब बिस्तारै यसले राजधानीमा पनि हस्तक्षेप गर्दछ ।

१०. बजार प्रवर्द्धनको कुरा आउँदा जतिखेर पनि लेखकहरू आर्थिक रूपमा अप्ठेरोमा रहेका तथा पुस्तक प्रकाशनमा पनि सबल भैरहेका देखिन्नन् । यसको एउटै कारण बजार प्रवर्द्धन भैरहेको छैन भन्ने छ । मकवानपुरका लेखकहरूले बजार प्रवर्द्धनका लागि के के सुधार गर्नुपर्ला ?

  • हामीले अहिले आपूर्तिमा जोड दिइरहेका छौँ । साहित्य सङ्गममा कविता सुनाउँदै गर्दा ५०/६० वटा कविता भएपछि ल अब छापिदिऊँ न त भन्ने छ । त्यो कविता पाठकलाई कतिको मन पर्छ । कति मासले त्यसलाई रुचाउँछन् भन्ने कुरा हामी ख्याल गर्दैनौँ । हामी आपूर्तितिर ध्यान दिइरहेका छौँ । यदि हामीले कविता, कथा, निबन्ध, लघुकथामा विशेष केही नयाँ सन्देश तथा समाजको यथार्थ चित्रण गरिएका किताबहरू निस्किए भने बजार पाउँछन् । अर्को कुरा साहित्यलाई आर्थिक पाटोसँग जोड्नुपर्छ जस्तो मलाई लाग्छ । आफ्नो विगतका केही कुरा पनि भन्छु । म अल्पाइनमा काम गर्दै थिएँ । मुक्तिगोविन्दजीले आएर शनिबार के गर्नुहुन्छ भन्नुभयो । एक दिन बिदा हुन्छ । घरतिर यताउति गरिन्छ । कहिले घुम्न गइन्छ भनेँ । उहाँले साहित्य सङ्गममा आउनू, रचनाहरू सुन्न पाइन्छ भन्नुभयो । त्यतिखेर मलाई कविता, गजल, मुक्तक आदिसँग कुनै रूचि नै थिएन । म वित्तीय क्षेत्रको मान्छे । म वित्तीय क्षेत्रको कविता आओस् भनेर जान्थेँ । कहिल्यै आएन । म निराश भएर मैले वित्तीय क्षेत्रको मात्रै कविताको कार्यक्रम होस् भनेर पुरस्कार राख्ने कुरा गरेँ । त्यसपछि त्यही क्षेत्रको कविता, गीत आयो । गीतमा निकै राम्रो सन्देश थियो । विदेश विदेश कति भन्थ्यौ के नै फल्छ र त्यहाँ, त्यहाँको मेहनत यहाँ गर आर्थिक समृद्धि हुन्छ भन्ने खालको ज्ञानु थापा मगरको गीत थियो । यस्ता सन्देशहरू पनि कवितामा आउनुपर्छ । ताकि वित्तीय साक्षरता बढाओस् । त्योबिना आर्थिक समृद्धि सम्भव छैन ।

११. तपाईँका २ वटा पुस्तक बजारमा छन् । आगामी योजना के छ ? अर्को पुस्तक तयार हुँदै छ कि के छ ?

  • नयाँपन ल्याउनुपर्छ । मानौँ म अहिले अमेरिका गएर आएँ, म भर्जिनियाँ घुमेँ, यता घुमेँ, उता घुमेँ यस्ता विषयसँग पाठकलाई कुनै सम्बन्ध छैन । पाठकलाई मन पर्ने हुनुपर्‍यो । म अहिले नयाँ पुस्तक लेख्न लागिरहेको छु । किताबको नाम मृत्युपछिको जीवन । मान्छे छक्कै पर्लान्, मृत्युपछि जीवन त हुँदैन । मैले यस पुस्तकमा आफूलाई मरेको बनाएर आफू बाँच्ने लेख रहनेछ । मरेपछि मानिसलाई रिस, ईर्ष्या, घमन्ड केही हुँदैन, मरिसकेको हुन्छ नि । त्यो जिन्दगीमा जानका लागि प्रयास हुनुपर्‍यो र किताब पनि लेख्नुपर्‍यो । यही लेख्दै छु ।

१२. अघि पनि तपाईँले भन्नुभयो- साना भाइबहिनीहरू पनि पुस्तक निकालिरहेका छन् । राम्रो लेखिरहेका छन् । होला पाठकले खोजेकै आइरहेको छैन होला तर उनीहरू निरन्तर सक्रिय छन् । ती नयाँ पुस्ता जो नेपाली साहित्यमा लागिरहेका छन् र लाग्न चाहिरहेका छन् उनीहरुलाई तपाईँ के सन्देश दिनुहुन्छ ?

  • अनेकखालका प्रोत्साहन दिनुपर्छ । विभिन्न संस्थाहरूको वार्षिक कार्यक्रमहरूमा पुरस्कारहरू पनि पाइरहनुभएको छ । त्यसबाहेक ती भाइबहिनीहरुले राम्रो किताब निकाल्दै छन् भने म जस्तै मानिसहरूले आर्थिक सहयोग पनि गर्नुपर्छ । यसो गर्दा उनीहरू प्रोत्साहित हुन्छन् र अझै राम्रो पुस्तक आउँछ ।

१३. यहाँको व्यस्त समयका बाबजुद पनि हामीलाई समय दिनुभयो, एन एस टेलिभिजन र नवसाहित्य डट कम यहाँप्रति हार्दिक आभारी छ ।

  • म पनि यहाँहरुलाई धन्यवाद दिन्छु । मेरो नलेज भिलेज र मेरो रेसिडेन्समा कफीका साथ साहित्यिक र साहित्यसँग आर्थिक विषयलाई जोडेर अन्तर्वार्ता लिनुभयो । यसले पाठकहरूलाई नयाँ र राम्रो सिर्जना गर्नमा केही मद्दत गर्दछ र अन्त्यमा तपाईँहरूको नव साहित्यमा राम्रा राम्रा कविता, कथा, लेखहरू अन्तर्वार्ताहरू भए भने आर्थिक रूपमा यो संस्था पनि सबल हुन्छ र होस् भन्ने चाहनाका राख्दै धन्यवाद भन्दछु ।

अन्तरवार्ता : साहित्य जीवन र जगत्‍बाट प्राप्त मानवीय अनुभूतिको सुन्दरतम अभिव्यक्ति हो / तुल्सी थापा

तुल्सी थापा (२००२) ‘एक निमेष अनन्तको’ (मसिना कविताहरू (२०५८), ‘अमरसिंहको खोजीमा अमरसिंह नाटक’ (२०६१) र ‘फरक आकाश’ (२०७२) का सर्जक हुन् । तीन हरफे छोटा कवितामा बेजोड मानिने थापा प्रयोगशील नाटकभित्र
राष्ट्रियताको सन्धान गर्न रुचाउँछन् भने उनका कथाहरू दार्शनिक चेतनाको प्रयोगशील परिप्रेक्ष्य खोतल्न उद्यत देखिन्छन् । निमेष निखिलले थापासँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

तपाईँ निकै पुरानो र प्रतिष्ठित शिक्षक हुनुहुन्छ । साहित्यतर्फ कसरी आकर्षित हुनुभयो ?
तपाईँको यस प्रश्नमा मैले एउटा नौलो पक्ष पो अनुभूत गरेँ । पेसा वा व्यवसाय र साहित्यबिचको अन्तरसम्बन्धको पक्ष । यस्तो हुन्छ, हुँदैन ? पेसा वा व्यवसाय विशेषले साहित्य लेखनमा सघाउँछ, सघाउँदैन ? घोत्लिनु, सके अनुसन्धान गर्नुपर्ने विषय हो कि ?
शिक्षण पेसा त किताबसँग खेलिरहनु पर्ने पेसा रह्यो । साहित्य पढ्दै जाँदा, बुझ्दै जाँदा आफू पनि त्यसरी नै अभिव्यक्त हुने प्रेरणा मिल्यो होला । तर यसको अर्थ अन्य व्यवसायमा लागि पर्नेहरू साहित्य लेखनमा जुट्दैनन् भन्ने कदापि हुन सक्दैन । मुख्य कुरा त जुनै पेसाका भए पनि मानवीय अनुभूतिलाई अभिव्यक्ति दिनसक्ने माध्यमको अनुसरण हो । त्यो साहित्य लेखन पनि हुनसक्छ वा सृजनाका अन्य माध्यम पनि ।

लेखनतर्फ प्रवृत्त हुनुको कुनै प्रेरक प्रसङ्ग छ कि ?
त्यस्तो कुनै प्रारम्भिक बिन्दु रहेन जहाँबाट दौड प्रतियोगिता झैँ मेरो लेखन सुरु भएको होस् । बुढी बज्यैका दन्त्यकथा, विद्यालयमा पढेका साहित्यिक कृतिहरू, पुस्तकालयका किताबहरू र साहित्यिक अभिरुचिका साथीसङ्गतिबाट क्रमशः सङ्ग्रहित मनोभाव नै अभिप्रेरक रहेको हुनुपर्छ । कुनै एक मात्र प्रेरक प्रसङ्ग रहेन जस्तो लाग्छ ।

बिसको दशकको पूर्वाद्र्धतिर नै यहाँका रचनाहरू राष्ट्रिय पत्रिकाहरूमा छापिएका थिए । त्यसपछिका झन्डै तिन दशकमा यहाँको प्रत्यक्ष साहित्यिक उपस्थिति देखिएन । २०५८ सालमा ‘एक निमेष अनन्तको’ मसिना कविताको सङ्ग्रह लिएर देखा पर्नुभयो । यो लामो ग्यापमा यहाँभित्रको लेखक कसरी जीवन बिताउँदै थियो ?
हो, मेरो साहित्यिक जीवनमा तीन दशकको लामो उपस्थितिहीनता रह्यो । जीवन र जगत्लाई बुझ्न यति लामो अवधि लाग्नुनपर्ने हो । सायद जीवन बुझ्दै थिएँ, जगत् चिन्दै थिएँ । लेख्थे होला, च्यातिदिन्थेँ होला । अपरिपक्व वा आलोकाँचो विचार लिएर साहित्य मार्फत अभिव्यक्तिनु निरर्थक ठानेँ क्यारे । साँचो कुरा त मैले साहित्यलाई आफ्नो लहडबाजीको उपज बनाउँन चाहिनँ । सृजनाहीनता पनि रह्यो भन्दा के फरक ? मेरो लेखकत्व सुषुप्त अवस्थामा रुमल्लिएकै हो ।

खुसी लाग्यो, अब सुषुप्तबाट जाग्रतमा हुनुहुन्छ । तीन हरफका चोटिला कविता लेख्ने कविका रूपमा यहाँलाई नेपाली साहित्यले चिन्न थालेको छ । यहाँको प्रेरणा जापानी हाइकु हो कि ? किन यस्ता कवितातिर आकर्षित हुनुभयो ?
तीन हरफे कविताहरूमार्फत मैले नेपाली साहित्यमा चिहाएको मात्र हुँ । मलाई साहित्यिक अभिव्यक्तिमा साह्रै सङ्क्षिप्त तर खँदिलो हुन कुन ग्रन्थिले डोर्‍यायो होला ? कतै बर्सौँको मौनधारणपछि बोली फुटाउनेले यस्तै सङ्क्षिप्त अभिव्यक्ति त दिँदैनन् ? साँच्चै मैले कुनै मनोविश्लेषकसँग यसको कारण बुझ्नै पर्छ ।
ती दाना कविता हुन् । पत्रकार तथा लेखक नवराज शर्माले यसरी तीन हरफे कवितालाई नामकरण गरे । दाना जो भूमि, मल, जल र घाम पाएपछि वृक्ष भएर झ्याङ्गिन्छन् । लेखकले धेरै बेलिविस्तार लगाइरहनु पर्दैन । त्यसो त रोँला बार्थले कुनै एक कृति पाठकसमक्ष पुगेपछि त्यस कृतिका सर्जकको मृत्यु हुन्छ भन्नुको अर्थ त्यस कृतिको लेखकत्व पाठकसमक्ष विविध धारमा सम्प्रेषित हुनपुग्छ र त्यस बेला पाठकत्व जाग्छ, लेखक गौण हुन्छ । कृतिको भाव पाठकीय ग्रहणमा संवरित वा डिफ्युज्ड (मभागकभम) दुवै हुनसक्छ । डिफ्युज्ड अवस्था कृतिको सम्प्रेषणविहीनता हो ।
पाठकीय विचरण दिन नसके दाना कविता अर्थहीन हुन्छ । हाइकुका काव्यानुभूति रहे पनि दाना कविता हाइकुको नेपाली संस्करण हैन । साधारणतः व्यवहारमा पनि सङ्क्षिप्तमा नै सबै कुरा बुझोस् भनी हामी चाहन्छौँ । लामो व्याख्याले वाक्क लगाउन सक्छ । फाल्तु समय कोसँग छ र ?

यहाँको विचारमा साहित्य के हो ?
साहित्य जीवन र जगत्बाट प्राप्त मानवीय अनुभूतिको सुन्दरतम् अभिव्यक्ति हो । साहित्यलाई यस परिभाषामा बाँध्न खोजिएको हैन, आफ्नै बुझाइ खोतलेको हुँ ।

थापाज्यू, व्यक्तित्व र समाजसित साहित्यको सम्बन्धलाई यहाँले कसरी हेर्नुभएको छ ?
साहित्य लेखनमा लागिपर्ने सर्जक आफैँ एक व्यक्तित्व हो, उसको समाजको । व्यक्तित्व जीवन हो, समाज जगत् हो । त्यही जगत्‌मा उसले सङ्ग्रहण गरेको अनुभूति साहित्यमा अभिव्यक्तिन्छ । ती अभिव्यक्ति समाजसापेक्ष यर्थाथ चिन्तन र चेतना सौन्दर्यबोधसहित कलात्मक ढङ्गले पस्किएको हुनुपर्छ । यस्तो गर्नु सर्जकको समाजप्रतिको इमान्दारिता ठहर्छ । अन्यथा रचना निरर्थक र भ्रामक हुनपुग्छ ।

कविताका कुरा गरौँ । यहाँको विचारमा कविता के हो ? र यहाँलाई कविता लेख्न प्रेरित गर्ने मानसिक / भौतिक पक्षहरू के हुन् ।
कविता जीवनको चेतना हो, चेतनाको जाग्रत अवस्था हो । जगत् र जीवनबाट सङ्ग्रहित भाव जब विचारमा परिणत हुन्छ, चेत खुल्छ र कविता लेख्न मन लाग्छ । जगत् र जीवन भौतिक, चेतना मानसिक– यी दुवै कविताका लागि भावभूमि हुने गर्दछन् ।

यहाँका धेरै कविताहरूमा मिथकीय सन्दर्भ जोडिएको मैले पाएको छु । साहित्यमा मिथक / पुराकथाहरूको अन्तरमिश्रणलाई यहाँले कसरी हेर्ने गर्नुभएको छ ?शाब्दिक अर्थभन्दा फरक मिथकले आफैँमा प्रतीकात्मक पाश्र्वभाव संवरित गर्छ । व्याख्या आवश्यक रहँदैन । यसको प्रयोगबाट काव्यात्मक सौन्दर्य सिर्जना हुन्छ । तसर्थ सबै सर्जक प्रायः मिथक प्रयोग गर्छन् नै ।

थापाज्यू, तपाईँ नाटककार पनि हुनुहुन्छ । ऐतिहासिक सन्दर्भलाई लिएर लेखिएको ‘अमरसिंहको खोजीमा अमरसिंह नाटक’ प्रयोगशील आग्रहराख्ने सुन्दर नाटक हो । यो नाटक लेख्ने प्रेरणा कसरी प्राप्त भयो ?                                                                                                                                                                                         घर छ, घरभित्रको परिवार परिवार जस्ता रहेनन् भने परिवारका सदस्यले यो कस्तो घर, यो कस्तो परिवार भनि सोच्न बाध्य भएजस्तै हाम्रो देश छ तर देशप्रेम वा राष्ट्रियता धूमिल भएको अवस्थामा हाम्रा इतिहासका वीरपुरुष अमरसिंहलाई राष्ट्रप्रेमको प्रतीक बनाएर अमर सिंहलाई खोज्दै लेखिएको नाटक हो यो । यो खोजी अझैँ जारी छ । राष्ट्रप्रेम र राष्ट्रियताको खोजी नै मेरा लागि यो नाटक लेख्ने प्रेरणा बन्यो ।

यहाँको ‘फरक आकाश’ कथासङ्ग्रह प्रकाशन भएको छ । यहाँका कथाहरू केही निबन्धात्मक ढाँचाका दार्शनिकताले बोझिला बनेका र बुझ्न कठिन छन् भने पाठकीय धारणा छन् नि ?
केही कथा त्यस्तै भए । पाठक प्रतिक्रियालाई सहर्ष स्विकार्छु । ढुङ्गा, बालुवा, रूख, जङ्गललाई पृष्ठभूमिमा उल्लेख गर्दा लेखक आफैँ कथामा प्रवेश गरे जस्तो भयो । कथाका पात्रहरूप्रति हस्तक्षेप गरे झैँ । त्यसैले निबन्धात्मक गन्ध रहेको हुनुपर्छ । यसलाई विधामिश्रण भन्न नमिल्ने । कथा सिङ्गैलाई एउटा प्रतीकीय संरचनामा ढाल्दा यस्तो हुन गएको हो । हरेक कथा यस्ता नहुन सक्छन् ।

अलिकति फरक प्रसङ्ग । साहित्य राजनीतिसापेक्ष हुन्छ र साहित्य राजनीतिनिरपेक्ष हुन्छ भन्ने दुवै थरीका मत हामीकहाँ पाइन्छन् । यहाँलाई चाहिँ के लाग्छ ?
राजनीतिले हामी सबैलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गाँजेकै हुन्छ । त्यसैले साहित्यमा राजनीति कुनै न कुनै रूपमा प्रतिबिम्बित हुन्छ नै । त्यसैले सापेक्ष । तर साहित्य राजनीतिक दस्तावेज हैन र त्यति हदसम्म निरपेक्ष । साहित्य र राजनीतिक दस्ताबेजबिचको साँधसीमा सर्जकले बुझेकै हुनुपर्छ ।

तपाईँ अङ्ग्रेजी भाषा साहित्यको शिक्षक । अङ्गे्रजी साहित्य र पश्चिमी प्राचीन, अर्वाचीन सबै मान्यताहरूसँग पनि परिचित हुनुहुन्छ, वर्तमान अङ्गे्रजी साहित्य र नेपाली साहित्यको तुलना कुन रूपमा गर्न सकिन्छ ? सकिँदैन वा मिल्दैन कि ?
संस्कृत र अङ्ग्रेजी साहित्यका महान् लेखकद्वय कालिदास र सेक्सिपयरमध्ये को प्रसिद्ध र को महान् भन्ने एउटा प्रसङ्गमा हामी दुवैतर्फ विभाजित हुन पुग्यौँ तर जे निष्कर्ष निक्लियो त्यसमा हामी सहमत थियौँ । अङ्ग्रेजी भाषाका विश्वव्यापी पाठक रहेका कारण सेक्सिपयर प्रसिद्ध भए तर संस्कृतको व्यापकता नहुँदा कालिदास कम प्रसिद्ध हुन पुगेका देखिन्छन् । विद्वता र महानतामा कालिदासलाई कम आँकलन गर्नु अन्याय हुनेछ । यही निष्कर्ष नेपाली साहित्यमा पनि लागु हुन्छ । भाषागत विस्तारको विषय हो यो । नेपाली भाषा lingua franca भएन, तसर्थ नेपाली साहित्य नेपालीभाषीमाझ मात्र सीमित रहन पुगेको हो । हामी विलियम वर्डस्वर्थ र महाकवि देवकोटालाई समकक्षमा राख्छौँ तर अङ्ग्रेजहरूले देवकोटालाई पढेका पनि छन् कि छैनन् ? समस्या भाषाकै रह्यो । वर्तमानमा पनि नेपाली साहित्यमा विश्व मानवलाई सम्बोधन गर्नसक्ने उम्दा लेखकहरू नभएका होइनन् ।

भनेपछि नेपाली लेखकहरू अन्तर्राष्ट्रिय बजारमा पुग्नका लागि तिनीहरूका रचना अङ्ग्रेजीमा अनुवाद भएर विश्वबजारमा जानुपर्छ भन्ने यहाँको मान्यता रह्यो हैन त ?
हो, नेपाली साहित्यका अमर कृतिहरू अङ्ग्रेजीमा गतिलो अनुवाद हुनुपर्छ । त्यसो भयो भने नेपाली साहित्य विश्व साहित्यको स्तरमा पुगे नपुगेको तुलना हुने छ र दृष्टान्त भेटिने छ । नेपाली साहित्य त सार्क क्षेत्रमा समेत विस्तार हुन नसकेको अवस्था हामीकहाँ विद्यमान छ । विश्वबजार त अलि टाढाकै कुरा भयो नि !

‘उत्तरआधुनिकता’ वर्तमान नेपाली साहित्य बजारमा सबैभन्दा चल्तीको शब्द भएको छ । हरेक लेखक आज समालोचकले आफूलाई उत्तरआधुनिक भनिदिउन् भन्ने चाहन्छन् । यहाँलाई चाहिँ के लाग्छ ?
विद्यमान विचार, आदर्श, सिद्धान्त, पद्धति, मूल्यमान्यता, सत्यको स्थापित एवम् केन्द्रीकृत वृत्तबाट विस्फोटित धार हो उत्तरआधुनिकता । अर्थात् यो एक big bang हो । प्रसिद्व समालोचक डा. गोविन्दराज भट्टराईका अनुसार उत्तरआधुनिक लेखन सारा संस्थापनहरूको विरोध हो । स्थापित मान्यता नकार्दै आफ्नै धारमा नवशैली सृजनामा उद्यत् उत्तरआधुनिकता कला, साहित्य, दर्शन हरेक क्षेत्रमा विस्तारित हुँदै छ । पुरानै प्रवृत्तिका हिमायती रहेको देखिन कोही पनि चाहँदैनन् । यस अर्थमा एउटा वेभ (wave) नै चलेको छ ।
तर उत्तरआधुनिकता सबैलाई ग्राह्य भएको भने पाइँदैन । अर्का समालोचक निनु चापागाईँको विचारमा उत्तरआधुनिकता नितान्त कलाविरोधी, सौन्दर्यविरोधी धारा हो । अर्थात् उत्तरआधुनिकवाद विवादित छ । अस्वीकृतिले पूर्ण स्वीकृति पाउन बाँकी नै छ ।

साहित्यमा केन्द्र र मोफसलका प्रसङ्ग पनि आइरहन्छन् । यहाँ मोफसलमा हुनुहुन्छ । केन्द्रमा नहुनुको पीडाबोध वा अनुभूति छन् कि ?
मोफसलमा हुनुको अरण्यरोदन त्यति आवश्यक देख्दिन । गम्भीर पाठक श्री उदय अधिकारीसँगको हालैको एक अन्तर्वार्तामा मैले उल्लेख गरेको एक प्रसङ्ग सम्झन्छु– आदिकवि भानुभक्तदेखि आख्यानकार / कवि जगदीश घिमिरे, भानुभक्त पोखरेल, सरुभक्त, कृष्ण धराबासी लगायतका स्रष्टाहरूको नामावली रुजु गर्नु भो भने अधिकांश मोफसलकै पाउनु हुने छ । तपाईँको सृजन प्रतिभा र वैशिष्ट्य मुलुकको कुनै सुदूर कुनाबाट पनि प्रज्ज्वलित हुनसक्छ । यतिसम्म हो कि राजधानीभित्र अवसर र पहुँच बढी हुने गर्छ । त्यो त क्रमशः मोफसलमा पनि विस्तारित हुँदै छ र हुनु पनि पर्छ ।

राज्यसित साहित्य र साहित्यसँग राज्यको कस्तो सरोकार हुनुपर्छ जस्तो लाग्छ यहाँलाई ? हाम्रो देशको सन्दर्भमा प्रकाश पारिदिनोस् न ।
राज्य भन्नाले सरकार भन्नुभएको होला । नेपालको गौरवको कुरा गर्नुप¥यो भने सर्वोच्च शिखर सगरमाथा वा शान्तिका अग्रदूत गौतमबुद्ध वा मल्लकालीन प्रस्तर÷ काष्ठकला उल्लेख गरे पुगिहाल्छ । ती हाम्रा गौरव अवश्य हुन् । तर राज्यले यसतर्फ केही गर्नै पर्दैन । सजिलै उपलव्ध हुने गाथा हुन् यी ।
राज्यको सहयोगका कारणले साहित्य उत्थानमा फड्को मार्ने कहिले ? प्रज्ञाप्रतिष्ठानमा प्राज्ञ चयनमा नै विवादित भैरहने सरकारी रवैयाले साहित्यलाई मुलुकको गर्व बनाउनतर्फ अग्रसरता लिने छ भन्ने लक्षण अहिलेसम्म देखिएको छैन ।
राज्यले मुलुकको वाङ्मय र साहित्यको विकासमा दीर्घकालीन योजना बनाउनै पर्छ । साहित्यले समाजमा चेतना जगाउँछ । यो अनुत्पादक विषय होइन भन्ने कुरा राज्यले बुझ्नै पर्छ । तर हाम्रो देशले अझ भनौँ हाम्रो राज्यसत्ताले यो कुरा बुझेको छैन त नभनौँ बुझेर बुझ पचाएको चाहिँ पक्कै हो ।

वर्तमान विश्व साहित्यको र नेपाली साहित्यको मूलधार के हो जस्तो लाग्छ यहाँलाई ?
अभिव्यक्ति, शैली र विधि बेग्लाबेग्लै होलान् । स्थानीय परिवेश भिन्न होला । विषयवस्तुचाहिँ एउटै हो जस्तो लाग्छ– मान्छे ।

लेखकको मृत्युका कुरा भए, केन्द्रभङ्ग, विधामिश्रण, पारिस्थितिक अर्थलगायत लेज्बियनिज्म (lesbianism), गेइज्म (gayism), सम्मका कुराहरू नेपाली साहित्यमा आइसकेका छन् । समलिङ्गीय विषयवस्तुमा लेखिएको मोहनराज शर्माको उपन्यास ‘सलिजो’ समेत नेपाली साहित्यमा आइसकेको छ । वाद, विचार र शैलीको यस्तो परिवर्तित सन्दर्भलाई साहित्यले कुन रूपमा लिनुपर्छ जस्तो लाग्छ यहाँलाई ?
अघि उत्तरआधुनिकताको कुरा गरियो । त्यसैका पेरिफेरि (peripheri) का पक्ष हुन् यी । ‘सलिजो’ पढ्न पाएको छैन । वादविशेषमा किन विवादित हुने ? सबैले स्थान पाउन् । विचार र शैली परिवर्तित भइरहेकै छन् । मूलधारबाट छुट्टिएका खोलाहरूको पनि आआफ्नै बहाव हुन्छ भने कालान्तरमा सागर पुग्छ नै । मुख्य कुरा जडता (stagnation) हुनु भएन र परिवर्तन भ्रामक (ifllusive) हुनुभएन । परिवर्तित धारहरूको नेपाली साहित्यमा परेको प्रभावबारे व्यापक विवचेना हुन बाँकी नै छ ।

एउटा पृथक् सन्दर्भ । व्यक्ति तुल्सी थापा र साहित्यकार तुल्सी थापाबिच के कस्ता समानता र भिन्नता भेटिन्छन् होला ?
व्यक्ति तुल्सी थापाले साहित्यकार तुल्सी थापालाई सघाउन खोज्छ । कहिले सक्छ, कहिले सक्दैन । बस् ।

कति बेला लेख्नुहुन्छ ? लेख्नका लागि कुनै विशेष स्थान, मुड आवश्यक पनि पर्छ कि ?
साधारणतया रातिको समयमा लेख्छु । एकान्त चाहिन्छ । मुड भन्नु त आन्तरिक आग्रह हो । यो भन्नासाथ कहाँ आउँछ र ।

यहाँको रचनाको प्रथम पाठक को हुने गर्छन् ?
नढाँटी भन्दा आफैँ । त्यसपछि मात्र साहित्यिक मित्र ।

साहित्य र पुरस्कार / सम्मानको सन्दर्भलाई कसरी व्याख्या गर्नुहुन्छ ?
सर्जकले प्रेरणा पाए राम्रो । अभिमान चढे नराम्रो ।

आफ्नो लेखनी पुरस्कृत / सम्मानित भएको ठान्नुहुन्छ ?
पुरस्कृत वा सम्मानित भएको भन्दा पनि लेखाइ निष्प्रयोजन भएन कि जस्तो लागेको छ । ‘एक निमेष अनन्तको’ कविता सङ्ग्रहका लागि नारायणी वाङ्मय पुरस्कार २०५८ पाउँदा हर्षित भएँ । ‘हिमाल’ खबर पत्रिकामा सुलोचनाज्यूले र गरिमामा कृष्णप्रसाद ढकालज्यूले पुस्तक समीक्षा गरिदिँदा अभिप्रेरित भएको थिएँ ।

एउटा विशुद्व सर्जकका हिसाबले भन्नुपर्दा नेपाली समालोचनाको वर्तमान अवस्था यहाँलाई कस्तो लाग्छ ? कुनै समालोचकले आफ्नो लेखनको सटिक मूल्याङ्कन गरेको पाउनुभएको छ ?
कृतिको सर्जक को हो त्यसैलाई दृष्टिगत गरी व्यक्तित्वपरक समालोचना लेखिने प्रवृत्तिमा सुधार हुँदै कृति समीक्षाको शुद्धतम अवस्थामा आइपुगेको छ नेपाली साहित्य । कतिपय समालोचना उत्तरआधुनिकताको शैलीभित्र हुनसमेत थालेका छन् । मेरो कृतिमाथिको समालोचनाको कुरा गर्दा तपाईँलाई कसरी बिर्सनु निमेष सर ! तपाईँले ‘अक्षर’मा दाना कविताबारे लेख्नुभएको समालोचना सबैभन्दा पछिल्लो र सटीक मूल्याङ्कन हो भन्ने मलाई लागेको छ ।

मकवानपुरको साहित्यका बारेमा थोरै प्रकाश पारिदिनुहोस् न ! अब त यो ठाउँ वाग्मती प्रदेशको राजधानी पनि हो ? यो ठाउँलाई साहित्यिक हिसाबले उर्वर बनाउन यहाँका कविलेखक, स्थानीय सरकार वा अरु कसैले के के गर्नुपर्ने देख्नुभएको छ ?
(क) मकवानपुरको साहित्यिक इतिहास धेरै पुरानो देखिँदैन । आजभन्दा आठ दशक अघिसम्म यस जिल्लामा मौलिक लेख रचना गर्ने लेखक कविहरू सायद थिएनन् । कथामा दन्त्यकथा सुनाउने, कवितामा श्लोक गाउने प्रचलन भने थियो । मकवानपुर भीमफेदीमा वि.सं. १९६८ मा जन्मनुभएका गणेशलाल श्रेष्ठको वि.सं. १९९९ मा ‘मेरा दुई पुष्पाञ्जली’ कविता सङ्ग्रह गोरखापत्र छापाखानाबाट प्रकाशित भएको थियो । यस अर्थमा उहाँ मकवानपुर जिल्लाकै पहिलो कविको रूपमा सम्मानित हुनुहुन्छ । त्यसपछि उहाँको ‘निफ्व स्वां’ दोस्रो सङ्ग्रह नेपाल भाषामा वि.सं. २०१३ मा प्रकाशित भएको थियो । यी सङ्ग्रह मार्फत उहाँले आफ्नो अन्य संस्करणबाटै स्फुरित मानव जातिले अनुसरण गर्नैपर्ने सच्चरित्र, धर्मसंस्कृतिअनुरूप विवेकशील व्यवहारको आह्वान, सामाजिक विसङ्गतिमा सुधार, ईश्वरप्रतिको भक्तिभाव र राष्ट्रप्रेमप्रतिको गम्भीर आस्था सुझाउनु भएको पाइन्छ । उहाँ नेपाली, नेपाल भाषा (नेवारी) र तामाङ समेत ३ वटै भाषमा कविता कोर्नुहुन्थ्यो । विशेषत लोक गीत रचना गर्ने, आफैँ गाउने र आवश्यक परे अभिनय समेत गर्ने गर्नुहुन्थ्यो ।
उहाँ लोक साहित्य परिषदबाट मरणोपरान्त वि.सं. २०५६ मा ‘लोककवि सम्मानबाट विभूषित हुनुहुन्छ । लोक कवि गणेशलाल श्रेष्ठका समाकालीन एवम् सहकर्मीहरूमा भीमफेदीकै पुष्पनारायण मुल्मी देखा पर्नुभयो । उहाँ पनि अध्यात्म भावमा निर्लिप्त व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ मन्दिरमा कीर्तन स्वरूप गाउने आराधनाका गीतहरू रचना गर्नुहुन्थ्यो ।
त्यसताका आलेख लेख्ने सर्जकहरूमा निबुवाटारका श्री टङ्कनाथ पराजुली लेख प्रकाशन गर्थे । भैँसेका दिलबहादुर थापाको किसान र मजदुरसम्बन्धी आलेख ‘गोरखापत्र’मा प्रकाशन भएको भेटिन्थ्यो । त्यस्तै भैँसे आवास गर्ने गरेका खड्गबहादुर सिंहले ‘विद्रोह’ भाग– १ र २ तथा ‘हुरीको चरा’ समेत ३ थान उपन्यास भैँसेमा रहँदा काठमाडौँबाट प्रकाशन गरेका थिए । नामटारका रामचन्द्र आचार्य फुर्सती अध्यात्म व्यङ्ग्य र शिक्षासँग सम्बन्धित विषयमा कलम चलाउनुहुन्थ्यो । उहाँका पुस्तक पनि प्रकाशन भएका छन् ।
मकवानपुर (त्यस बखत चिसापानी) मा अन्य कति लेखक कवि थिए आम रूपमा कुनै जानकारी भेटिँदैन । हस्तलिखित आलेखहरूसमेत विस्तृत खोजी गरे छिटफुट केही थपिएला कि ?
(ख) त्यसो त अहिले हामी वि.सं. २०१३ सम्मका लेखक कविको पुस्ता केलाउँदै थियौँ । जुन बेला जिल्लामा मौलिक र साहित्य रचना बल्ल सुरुवात भएको थियो । अहिले ६६ वर्षपछिको यो वर्तमान अवस्थामा जिल्लाको आफ्नै साहित्यक माहोल क्रमिक रूपमा अघि बढ्दो छ । यस अर्थमा जिल्लाको पछिल्लो साहित्यिक पुस्तालाई आधुनिक साहित्यिक सृजना लिएर दोस्रो र तेस्रो पुस्तामा युवा र किशोरकिशोरी सर्जकहरू समेटेर उल्लेख्य सङ्ख्यामा अभिवृद्धि हुँदै छ । यो अवस्था जिल्लामा साहित्यिक उर्वरता हुँदै आएको राम्रो सूचक हो ।
(ग) हाल मकवानपुर साहित्यिक र साङ्गीतिक संस्थासमेत गरेर साहित्य सङ्गम मकवानपुर, झरना साहित्यिक परिवार, युग प्रकाश क्लव, नवलपुर, सिस्नुपानी नेपाल, मकवानपुर, आँचल साहित्य कला पुञ्च, भीमविराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल, मातृभूमि साहित्य समाज, वासुदेव रिजाल स्मृति प्रतिष्ठान, रुद्रप्रसाद रिजाल स्मृति प्रतिष्ठान, बुढ्यौली साहित्य समाज, मुक्तक मञ्च, मकवानपुर, सर्जक सञ्जाल, मकवानपुर, आधुनिक नेपाली गजल अभियान, नेपाली लेखक सङ्घ, नवसर्जक साहित्य चौतारी, गजल मञ्च मकवानपुर, प्रलेस मकवानपुर, श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपाल, तरङ् साँस्कृतिक परिषद्, पालुङ साहित्य परिषद, प्रणयन परिवार, युगदर्पण साहित्य समाज, मृगतृष्णा साहित्य डबली, जुनकिरी साहित्य परिवार (नाम छुटेका हुन सक्छन्) लगायतका अनेक संस्थाहररू पनि विगतदेखि वर्तमानसम्म साहित्यिक गतिविधिमा संलग्न देखिन्छन् ।
मकवानपुर जिल्लामा आदिकवि भानुभक्त आचार्य, महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाटककार गोपालप्रसाद रिमाल, कवि एवम् उपन्यासकार पारिजात, व्यङ्ग्यकार भैरव अर्याल आदिको प्रतिमा प्रतिष्ठापन गरी विशिष्ट भूमिका निर्वाह गरिसक्नु भएका साहित्य सङ्गमका पूर्वअध्यक्ष आर.सी. रिजालले साहित्य सङ्गमको भवन निर्माणार्थ वि.सं. २०५८ मा आफ्नै ४ धुर जग्गा अनुदानमा प्रदान गर्नुभए पश्चात साहित्य सङगमले विभिन्न संघ संस्थाको सहयोगमा भवन निर्माण गरेकाले विविध सहित्यिक कार्यक्रम सञ्चालन गर्न सहज भएको छ ।

आफ्नो समग्र जीवनको मूल्याङ्कन कसरी गर्न रुचाउनुहुन्छ ?
आफैँलाई ग्लानि हुने काम केही गरिएन । गर्व लिने काम गर्नै बाँकी छ ।
अन्त्यतिर मकवानपुर जिल्लाको पछिल्लो साहित्यक गतिविधिलाई कसरी हेरिरहनुभएको छ ।
उत्साहित छु । खासगरी यहाँ नयाँ पुस्ताको निर्मिति र निरन्तरता अत्यन्त उत्साहप्रद छ । त्यसैगरी साहित्यक सङ्घसंस्थाका गतिविधि पनि बढी नै रहेका छन् । म पछिल्लो समयको मकवानपुरे साहित्यसँग प्रभावित छु । यो युवा उत्साहलाई हामीले जोगाउनु पर्छ ।

र, अन्त्यमा प्रायः गरेर साहित्यकारको व्यक्तित्व र कृतित्वसम्बन्धी ग्रन्थहरू लेखकको शेषपछि छाप्ने प्रचलनविरुद्ध तपाईँको विषयमा तयार पारिएको यो पुस्तक तपाईँको जीवनकालमै छापिएर आएको छ । यो प्रक्रिया वा भनौँ घटनालाई तपाई कसरी लिनुहुन्छ ?
सबैभन्दा म ‘बुढ्यौली साहित्य समाज’ प्रति यसका अध्यक्ष आर.सी. रिजाल, सम्पादक निमेष निखिल र समग्र लेखक एवम् कविहरूप्रति हार्दिकतासहित म कृतज्ञ छु, आभार व्यक्त गर्छु । त्यसो त उमेरले म डुब्न लागेको घाम भै सकेको छु । अब त केही शेष छैन भन्दिनँ म । जति शेष छ राम्रै बित्ला नि भन्लान् सबैले । सबैको आशयहरू रहन्छ अन्त्यसम्म । म बेग्लै किन हुन्थेँ ।
तपाईँकै यही अन्तवार्तामा ‘आफ्नो जीवनको मूल्याङ्कन कसरी गर्न रुचाउनु हुन्छ ?’ सोध्नुभएको थियो । त्यही उत्तर दोहोर्‍याउँछु– आफैँलाई ग्लानि हुने काम केही गरिएन । गर्न मिल्ने काम गर्न बाँकी नै छ । मेरो जीवनको खाका यही नै हो । मेरो चाहिँ अन्तिम प्रश्न बाँकी नै छ के ? उत्तर सुन्न नपाए पनि यो पुस्तकबाट म आफैँलाई छर्लङ्ग पाउने छु । प्रश्नका लागि धन्यवाद निमेष सर ।

अन्तरवार्ता : कुनै पनि स्थानको अवस्थितिका बारेमा बुझ्न यात्रा काव्यहरू पढ्न जरुरी छ ।

जर्नादन खनाल नेपाली साहित्यमा एक ऊर्जाशील स्रष्टा हुनुहुन्छ । उहाँले लामो समयबाट लोकलयमा लेख्दै आउनुभएको छ । उहाँ हालै शिक्षण पेसाबाट निवृत हुनुभएको छ । उहाँ थुप्रै संस्थाहरूमा रहेर काम पनि गरिरहनुभएको छ । हालै उहाँले यात्रा काव्य घुम्दै फिर्दै प्रकाशित गर्नुभएको छ । उहाँसँग नव साहित्य अनलाइन पत्रिकाका लागि कार्याकारी सम्पादक मसान उपासकले उहाँकै निवास लिएको अन्तर्वार्तालाई यहाँ समेटिएको छ ।

१. खनालज्यू, तपाईँलाई हार्दिक स्वागत छ ‘नव साहित्य अनलाइन पत्रिका भेटवार्ता’ मा !

धन्यवाद उपासकज्यू । यहाँको सद्भावका लागि आभारी छु ।

२. अचेल साहित्य लेखनसँगै के केमा व्यस्त हुनुहुन्छ ?

म हालै मात्रै लामो समयको अध्यापन सेवाबाट सेवा निवृत्त भएको छु । घरमा नातिनातिनाहरूसँग समय बिताउँदै छु । बाँकी बचेको समयमा नयाँ पुस्तकहरुको अध्ययन गर्छु । केही समय घुमफिरमा बित्छ ।

. लामो समयको साधनापछि बल्ल सङ्ग्रह निकाल्नुभयो । यात्रा काव्य निकाल्ने सोच कसरी आयो ?

जीवनको लामो समय शिक्षण पेसामा बिताएँ । धेरै ठाउँहरूमा विद्यालयको भ्रमणको सिलसिलामा घुम्ने अवसर पाएँ । त्यसपछि विद्यालय फर्केपछि विद्यार्थीहरूले उक्त भ्रमणको बारेमा सोध्ने, बुझाउने क्रममा आफूलाई पनि यात्राका बारेमा चाख बढ्दै गयो । आफूले पनि यात्राका विषयमा केही लेख्नुपर्छ भन्ने भएपछि आफू लेख्दै आएको लोकलयमै कविताहरूको रचना गर्दै जाँदा यो सङ्ग्रहसम्म आएको हो । सङ्ग्रह भने मेरा अग्रज तथा अनुज पुस्ताहरुको आग्रहपछि यो पुस्तकको रूपमा पाठकको हातमा पुर्‍याउन सफल भएको हुँ ।

. अहिले सङ्ग्रह निकाल्न हतार गर्ने जमात छ, यो पुस्तालाई के भन्नुहुन्छ ?

सङ्ग्रह निकाल्नु नै सबैथोक हैन । हामिले राम्रो लेख्न सके पुग्छ भन्ने कुरा नयाँ पुस्तालाई बुझाउन जरुरी छ । त्यो मामिलामा हामी अग्रज पुस्ताले पनि ध्यान दिन सकेनौँ भने समकालीन पुस्ताले पनि यस्ता कुरालाई ध्यान दिन सकिरहेको छैन । म नयाँ पुस्तालाई राम्रो लेख्नुस्, समाज, देश तथा जनताका लागि लेख्नुस् भन्न चाहन्छु ।

५. संस्मरणहरू छाडेर किन यात्रा काव्यलाई किन समेट्नुभयो ?

हुन त संस्मरणको महत्त्व पनि आफैँमा गरिमामय छ । पाठकमा त्यसको पनि राम्रो प्रभाव छ तर कमैले लेख्दै आएको र आफैँमा सरल विधाका रूपमा रहेको यो यात्रा काव्य जसमा पनि लोकलयलाई रोजेँ । किनकि यसमा पाठकले आफूले भन्न लागेको कुरा सजिलै बुझ्न सक्ने र सबैले लयमा पढ्न पनि सहज हुने लागेर यसमा लागेको हुँ । नेपालीहरूको जनजीवनमा लोकलय खुब प्रचलित छ । मेरो पृष्ठभूमि पनि गाउँ नै भएकाले पनि यसमा सहज मानेँ भन्ने लाग्छ ।

. यो यात्रा काव्यलाई किन पढ्ने ?

यात्रा काव्य त्यसमा पनि तपाईँकै ठाउँमा पुगेको ठाउँहरूका बारेमा लोकलयमा लेखेको छु । त्यस स्थानमा रहेका सांस्कृतिक, सामाजिक तथा भौगोलिक अवस्थितिका बारेमा बुझ्न पनि यो यात्रा काव्यलाई पढ्न आग्रह गर्छु । यसमा रारा, गोसाइँकुण्ड, दार्जिलिङ तथा सिक्किम जस्ता सुन्दर स्थानहरूका बारेमा बुझ्नलाई पनि यो यात्रा काव्यलाई पढ्नको लागि नयाँ पुस्ताका साथै समकालीन पुस्ताहरूलाई पनि यात्रा साहित्यमा लाग्न र त्यससम्बन्धी पुस्तकहरु पढ्न आग्रह गर्छु ।

७. आगामी योजना के छन् ? अन्य पुस्तकहरू पनि तयार छन् कि ?

मेरो पहिलो पुस्तक हालै बजारमा आएको छ । त्यसमा आउने सुझावहरूलाई ध्यानमा राखेर मात्रै दोस्रो पुस्तकको तयारी थाल्ने सोचमा छु । अबको लेखनमा सेवा निवृत कर्माचारी, विद्यार्थीहरू, समकालीन पुस्ता सबैलाई हुने गरी यस्तै यात्रा काव्यमै निरन्तर रूपमा लाग्ने सोचमा छु ।

. नवपुस्तालाई के सन्देश दिनुहुन्छ ?

नयाँ पुस्ता जसले अबको देश, समाज र हरेक क्षेत्रको नेतृत्व लिने पुस्ता पनि हो । यसले अध्ययनका अलावा देश, समाज, हाम्रो अहिलेको परिस्थिति बुझेर अगाडि बढ्नुपर्छ भन्ने लाग्छ । पठन संस्कृतिलाई अगाडि बढाउन सके मात्रै ज्ञानको मात्रा बढ्ने हुँदा ज्ञानलाई बढाउन नयाँ पुस्तकहरू पढ्न र आन्तरिक पर्यटनको प्रवर्धन गर्दै नेपालमा भएका विभिन्न सुन्दर र पर्यटकीय स्थानहरूको भ्रमण गरी नोटहरूमा टिपोट गर्दै जाने, घर फर्किएपछि आफूले घुमेका स्थानहरूका बारेमा लेखेर ती स्थानहरूमा नपुगेका मानिसहरूसम्म ती स्थानको बारेमा जानकारी गराउनुभयो भने तपाईँले घुमेर आर्जन गरेको ज्ञानको सदुपयोग हुन्छ भन्नेमा विश्वस्त छु ।

. यहाँको व्यस्त समयबाट केही समय हामीलाई दिनुभएकोमा यहाँलाई हार्दिक आभार व्क्तय गर्दछौँ ।

यहाँप्रति पनि आभारी छु । तपाईँले हार्दिकतासाथ सम्झनुभएकोमा हार्दिक धन्यवाद । यहाँको मिडियाप्रति आभार छ । तपाईँको मिडियालाई निमुखा जनतापक्षका बारेमा निरन्तर लाग्न प्रेरणा मिलोस् । जय साहित्य ।

समालोचना : ‘फर्कियौ किनारबाट’ फर्कँदै गर्दा / उद्धवप्रसाद सापकोटा

साहित्यका विभिन्न विधामध्ये ‘गजल’ पनि एक महतत्त्पूर्ण विधा हो । हुन त गजललाई कविताकै एउटा रूप भनेको पनि देखिन्छ । तर पनि म भने गजललाई साहित्यको एउटा स्वतन्त्र विधाको रूपमा लिन खोज्ने व्यक्तिहरूको जमातभित्र पर्छु । उर्दू एवम् फारसी सायरीको लोकप्रिय विधा ‘गजल’ मोतिराम भट्टले नेपालमा भित्र्याएदेखि कहिले तीव्रगतिमा त कहिले मन्द गतिमा अघि बढ्दै आउने क्रममा पछिल्ला दिनमा विशेष गरी युवा जमातमा लोकप्रिय विधाको रूपमा स्थापित बनेको छ । लेखन, गायन वा वाचनको माध्यमबाट गजललाई प्रवर्धन गर्ने व्यक्तिहरू बढ्दै छन् । तिनै व्यक्तिहरू मध्येकै एक व्यक्ति हुन्, विश्वनाथ सञ्जेल ।
विश्वनाथ सञ्जेलको जन्म २०४३ साल असारमा पोखरामा भए पनि उनको सम्पूर्ण बाल्यकाल तत्कालीन छतिवन गाविसको वडा नम्बर ५ गोठखोलामा बितेको हो ।

कहिले बकैया खोलामा सेतै फुलेको काँससँग रमाउँदै त कहिले खोला किनारमा रातै भएर पाकेका बयरका दानासँगै हराउँदै, घाँस दाउरा गर्दै, गोठालो खेतालो गर्दै र स्थानीय महेन्द्र माध्यमिक विद्यालय छतिवनमा एस.एल.सी. सम्मको अध्ययन गर्दै बाल्यकाल बिताउने क्रममा नै उनको साहित्यको बीजारोपण भएको हो । त्यही समयमा रोपिएको बिउ अहिले हुर्कँदै, बढ्दै वृक्ष बन्ने क्रममा रहेको छ । महेन्द्र माविमा हुने अतिरिक्त क्रियाकलाप र झरना साहित्यिक परिवारले आयोजना गर्ने मासिक साहित्य गोष्ठीमा कविता वाचन गर्दै पुरस्कार नाममा १/२ वटा कापी कलम लिएर साहित्यिक यात्रालाई निरन्तरता दिँदै आएका विश्वनाथ अहिले आफूलाई गजलकारको रूपमा चिनाउने प्रयत्नमा लामबद्ध भएका छन् । यही क्रममा २०६८ सालमा आफ्नो पहिलो कृतिको रूपमा ‘पलपलको मूल्य’ गजल सङ्ग्रह प्रकाशन गरी कृति प्रकाशन यात्रा आरम्भ गरेका छन् । उनका २०७५ सालमा छितिज–यात्रा (मुक्तक सङ्ग्रह) र २०७८ सालमा अर्को गजल सङ्ग्रह ‘फर्कियो किनारबाट’ लिएर देखा परेका छन् ।

आफ्नो पहिलो कृतिकै समीक्षा गरिदिन अनुरोध गरेका उनको आग्रह पूरा गर्न आनकान गर्दा गर्दै उनको कृतिको रूपमा तेस्रो कृति र गजल सङ्ग्रहको रूपमा दोस्रो सङ्ग्रहको पनि दोस्रो संस्करण पनि आइसक्दा अब त मैले टार्न सक्ने कुनै सम्भावना देखिएन । हुन ता “अब कहिल्यै कसैको किताबको भूमिका नलेख्ने” भनेर प्रण गरेका अग्रज गजलकार ज्ञानुवाकर पौडेललाई त भूमिका लेखाउन प्रेरित गर्न सक्ने विश्वनाथले आफैँलाई कविता र गजल लेखेर साहित्य गोष्ठीमा भाग लिन प्रेरित गर्ने व्यक्तिमध्येको एक मलाई समीक्षा गराउन चाहनु त उनको अधिकार नै ठानेर कि किन हो ‘समीक्षार्थ’ भन्दै उनको दोस्रो गजल सङ्ग्रह ‘फर्कियो किनारबाट’ थमाएका थिए ।

आजभोलि म साहित्य लेख्नुभन्दा पनि पढ्न, अझ भनौँ सुन्न मन पराउने व्यक्ति बनेको छु । पछिल्लो दश वर्ष मैले प्रकाशन वा वाचन गर्ने उद्देश्यले एउटा गजल वा कवितासम्म लेखेको छैन । सम्पादक रहँदा ’समीक्षार्थ’ भनेर आएका दुई चार कृतिहरूको सामान्य समीक्षा गर्नुभन्दा बाहेक मैले समीक्षा नलेखेको पनि दशकौँ भइसक्यो । साँच्चै भन्ने हो भने पछिल्ला दिनहरूमा म सिर्जनात्मक लेखनबाट टाढिएको छु भन्दा पनि फरक नपर्ने अवस्थामा छु । यद्यपि आफ्नै आँखा अगाडिबाट साहित्यिक गतिविधिमा संलग्न हुँदै भाषा साहित्यको माध्यमबाट केही गरौँ भनेर प्रयत्न गर्दै गरेको सर्जक र सिर्जनालाई आफैँले नियाल्दा कस्तो देखिने रहेछ भन्ने जिज्ञासाले पनि सामान्य समीक्षा गर्ने प्रयत्न गरेको छु ।

जीवनयापनको पेसा शिक्षण भए पनि रूचिको क्षेत्र साहित्य र सिर्जनालाई पछ्याउँदै आएका युवा गजलकार हुन् विश्वनाथ सञ्जेल । प्रकाशनको दृष्टिले यो उनको तेस्रो कृति हो । यसभन्दा अगाडि नै उनका ‘पलपलको मूल्य’ (गजलसङ्ग्रह) र ‘छितिज यात्रा’ (मुक्तक सङ्ग्रह) प्रकाशन भइसकेका छन् । वि.सं. २०७८ मा प्रकाशन भएको उनको तेस्रो कृति ‘फर्कियो किनारबाट’ वि.सं. २०७९ मा आइपुग्दा नै दोस्रो संस्करण निकाल्न पर्ने अवस्थामा आइपुग्यो । यही अवस्थालाई हेर्दा पनि उनको यो कृति कमजोर चाहिँ छैन भन्ने कुरालाई सङ्केत गरेको छ ।

सुरेश देसारको सुन्दर आवरणमा सजिएर देखा परेको यो गजल सङ्ग्रह, झरना साहित्यिक परिवारले सञ्चालन गरेको ‘भरना कृति प्रकाशन कोष’ मार्फत प्रकाशन भएको सातौँ कृति हो । यस गजल सङ्ग्रहमा विभिन्न स्वादका ७५ वटा गजलहरू सङ्ग्रहित छन् । “अब कहिल्यै कसैको किताबको भूमिका नलेख्ने” (पौडेलकै शब्दमा) ज्ञानुवाकर पौडेललाई आफ्नो कृतिमाथि भूमिका लेखिदिन मनाएका रहेछन् विश्वनाथले । पौडेलको सुन्दर भूमिका लेखनबाट थालनी बारेमा भन्न चाहेका थप कुराहरू लेखकीय दृष्टिकोणमार्फत राखेका छन् । प्रकाशनको तर्फबाट भरना साहित्यिक परिवार छतिवन, र मकवानपुरका अध्यक्ष दीपक गौतमले सङ्क्षिप्त धारणा प्रस्तुत गरेका छन् । पुस्तकको कभर पृष्ठको पछिल्लो आवरणमा साहित्यकार प्रोल्लास सिन्धुलीयले लेखकको सङ्क्षिप्त परिचय प्रस्तुत गरेका छन् भने पछिल्लो पृष्ठमा दीपक समीप, शान्ति शर्मा र यात्रीप्रकाश पाण्डेजस्ता गजलकारले अघिल्लो संस्करणमाथि आफ्नो मन्तव्य राखेका छन् । ७५ वटा गजल रहेको सङ्ग्रहमा पछिल्लो गजलको ‘मकता’ मा रहेको मिसरा ए सानीमा प्रयुक्त काफिया र रदीफबाट नै पुस्तकको न्वारन गराएका छन्- ‘फर्कियौ किनारबाट’ नाम दिएर ।

जितेर खुसी हुनुस् या निराश हुनु हारबाट
एक दिन सबैले बिदा लिनै पर्छ संसारबाट (पृ. ३८)

भनेर जीवनको अन्तिम सत्य मृत्युलाई ढिलो या चाँडो सबैले स्विकार्नुपर्ने भावबोध गराउँदै सुरु गरिएको गजल यात्रा विभिन्न उकालो–ओरालो, घुम्ती र अप्ठ्याराहरू पार गर्दै अघि बढेको पाचौँ बिसाउने पर पुगेर-

कति सारै अभागी छ यो धर्तीमा मान्छे
जिउँदोमा नसम्झे नि मर्दा याद आओस् ।

भन्दै मृत्युलाई नै स्विकारेर समापन गरिएको छ । सङ्ग्रहको पहिलो गजलको पहिलो सेर र अन्तिम गजलको अन्तिम सेरलाई मात्र आधार मानेर हेर्ने भन्ने सङ्ग्रहमा वैराग्य भावका गजल अधिकता अनुमान गर्न सकिए पनि गजल लेखनका पछिल्ला मान्यताअनुसार कतै टन्नै प्रेम पोखेका छन् भने कतै त्योभन्दा बढी आक्रोश ओकलेका छन् । कतै आशाको बिरुवा रोपेका छन् त कतै निराशाको पर्खाल ठड्याएका छन् । कतै त एउटै गजल पाँच सेरहरूमा पनि फरक–फरक विषय उठान गरेर प्रेम, घृणा, राजनीतिक र सामाजिक विकृति विसङ्गति र बेथितिहरू प्रस्तुत गरेका छन् ।

गजल गायनको क्षेत्रमा ४ वा ३ सेरसम्म पनि प्रयोग भइरहेको वर्तमान परिवेशमा उनले गजल लेखनको लागि मानक मानेको न्यूनतम् ५ सेरको संरचनालाई सम्पूर्ण रूपमा अङ्गीकार गरेका छन् । यस सङ्ग्रहमा ७५ ओटै गजलमा ५ सेर मात्र प्रयोग गरिएको छ । यीमध्ये ४३ औँ र ६१औँ गजललाई बाल गजल भनेर बालसुलभ शब्दहरूको प्रयोग गरेर गजल सिर्जना गरेका छन् भने ४१ र ७४ औँ गजल भने गजलको संरचना, गजलमा समेटिने विषयवस्तु गजलमा प्रयोग हुने विभिन्न शब्दहरूको जानकारी गराउँदै गजल प्रति ध्यानाकर्षण गराउन खोजेका छन् । प्रेमिल भावको गजलका सन्दर्भमा भन्नुपर्दा लेखक आफू प्रेमको मामलामा अत्यन्तै कोमल, संवेदनशील र जवाफदेही देखिए पनि आफ्नो प्रेमीबाट भने धोखा र देखावटीपन मात्र पाएको धारणा राख्दछन् । यसरी हेर्दा यिनका शृङ्गारिक गजलमा संयोग शृङ्गार मात्र नभएर वियोग शृङ्गारका भाव पनि पर्याप्त भेट्न पाइन्छ ।

छन्द वा लयको आधारमा हेर्दा यस सङ्ग्रहमा सङ्ग्रहित गजलहरू अधिकांश त स्वतन्त्र लयकै संरचनामा देखिएका छन् । केही लोकलयका गजलहरू छन् भने बहर (छन्द) नै खुलाएर उनले एकमात्र (२८ औँ) गजललाई बहरको नाम (मुतदारिक बहर – फाइलुन २१२ ) भनेर खुलाएका छन् ।

काफियाको प्रयोग गर्दा सकेसम्म भाव नखल्बलियोस् भन्ने कुरामा सचेत देखिए पनि कतै–कतै जर्बजस्ती मिलाउन खोजेको पनि भान हुन्छ । नेपाली भाषाकै विद्यार्थी भएको नाताले पनि होला उनी आफ्ना गजल सेरहरूमा नेपाली उखानहरूको प्रयोग गर्न उत्साहित देखिन्छन् ।

उदाहरण-
भन्छन् सबै विनाश कालमा विपरीत हुन्छ बुद्धि
सरकारले रोजगारी दिन राहदानी जम्मा गर्यो

जानेर जम्मा गर्योि या नजानेर जम्मा गर्यो
उसले आफ्नै घर पोलेर खरानी जम्मा गर्योा (गजल ४)

‘रिस खा आफू बुद्धि खा अर्को’ भन्छ दुनियाँ
समाधानको बाटो खोज्न आलटाल कसका लागि (गजल ५८)

शृङ्गारिक धारामा मात्र गजल लेखिन पर्छ भन्ने मान्यता अब पुरानो र असान्दर्भिक भनिसकेको छ । यसैले समकालीन गजलहरूमा एउटै गजलमा एउटै विषयवस्तु वा भावमात्र पस्कनुको साटो ५ सेरमा पाँच प्रकारको भाव समेटिनु स्वभाविक देखिएको छ । उनका गजलमा पनि प्रणय–प्रेम, घृणा–आक्रोश, व्यङ्ग्ग्य, आशा–निराशा, प्राकृति प्रेम, राष्ट्रप्रेम, स्वाधीनता, स्वाभिमान जस्ता हरेक भाव समेटिएका छन् । उनका गजलमा सहरिया जीवनशैलीप्रति वितृष्णा गाउँले परिवेशप्रति मोह प्रदर्शन गरिएको छ । गजलमा हामीले हाम्रै वरिपरि देखिरहेका भोगिरहेका चित्रहरू नै छरपष्ट देख्न सक्छौँ । आफ्नो परिवारको गाँस, बासको जोहो गर्नका लागि बिदेसिनु पर्ने परिस्थिति, सिमानामा पटकपटक हाम्रो स्वाभिमान बन्दक बन्न परेको अवस्थाले थिलोथिलो बनेको मन लिएर पनि बाँधको अभिनय गर्न परेको अवस्था वर्णित छ ।

समग्रमा भन्नुपर्दा सङ्ग्रहमा रहेका गजलहरू सबै सशक्त नै छन् भन्ने अवस्था छैन । कतिपय गजलहरू सशक्त छन् भने कतिपय सामान्य नै देखिन्छन् । सुधार गर्न सकिने अवस्था प्रशस्तै छन् । केही गजलहरू त छुट्टै पूरै पढिसक्दा पनि यसै भन्न खोजेको होला भनेर भन्न सकिने अवस्था छैन । त्यतिमात्र होइन एउटा गजलमा एकप्रकारको जीवन दृष्टिकोण देखिन्छ भने सँगैको अर्को गजलमा अर्कै दृष्टिकोण समेत देखिन्छ । जस्तै-

चौरासी व्यञ्जनको सपना पूरा
हुँदैन गुन्द्रुक र ऑटोमा अल्झेर (गजल ४०)

हुन्छ, साधा जीवन भए विचार उच्च हुन्छ
नेपाली हुँ, गुन्द्रुक ढिँडो खाना प्यारो लाग्ने (गजल ४२)

साहित्यका विभिन्न विधामध्ये ‘गजल’ पनि एक महतत्त्पूर्ण विधा हो । हुन त गजललाई कविताकै एउटा रूप भनेको पनि देखिन्छ । तर पनि म भने गजललाई साहित्यको एउटा स्वतन्त्र विधाको रूपमा लिन खोज्ने व्यक्तिहरूको जमातभित्र पर्छु । उर्दू एवम् फारसी सायरीको लोकप्रिय विधा ‘गजल’ मोतिराम भट्टले नेपालमा भित्र्याएदेखि कहिले तीव्रगतिमा त कहिले मन्द गतिमा अघि बढ्दै आउने क्रममा पछिल्ला दिनमा विशेष गरी युवा जमातमा लोकप्रिय विधाको रूपमा स्थापित बनेको छ । लेखन, गायन वा वाचनको माध्यमबाट गजललाई प्रवर्धन गर्ने व्यक्तिहरू बढ्दै छन् । तिनै व्यक्तिहरू मध्येकै एक व्यक्ति हुन्, विश्वनाथ सञ्जेल ।

विश्वनाथ सञ्जेलको जन्म २०४३ साल असारमा पोखरामा भए पनि उनको सम्पूर्ण बाल्यकाल तत्कालीन छतिवन गाविसको वडा नम्बर ५ गोठखोलामा बितेको हो । कहिले बकैया खोलामा सेतै फुलेको काँससँग रमाउँदै त कहिले खोला किनारमा रातै भएर पाकेका बयरका दानासँगै हराउँदै, घाँस दाउरा गर्दै, गोठालो खेतालो गर्दै र स्थानीय महेन्द्र माध्यमिक विद्यालय छतिवनमा एस.एल.सी. सम्मको अध्ययन गर्दै बाल्यकाल बिताउने क्रममा नै उनको साहित्यको बीजारोपण भएको हो । त्यही समयमा रोपिएको बिउ अहिले हुर्कँदै, बढ्दै वृक्ष बन्ने क्रममा रहेको छ । महेन्द्र माविमा हुने अतिरिक्त क्रियाकलाप र झरना साहित्यिक परिवारले आयोजना गर्ने मासिक साहित्य गोष्ठीमा कविता वाचन गर्दै पुरस्कार नाममा १/२ वटा कापी कलम लिएर साहित्यिक यात्रालाई निरन्तरता दिँदै आएका विश्वनाथ अहिले आफूलाई गजलकारको रूपमा चिनाउने प्रयत्नमा लामबद्ध भएका छन् । यही क्रममा २०६८ सालमा आफ्नो पहिलो कृतिको रूपमा ‘पलपलको मूल्य’ गजल सङ्ग्रह प्रकाशन गरी कृति प्रकाशन यात्रा आरम्भ गरेका छन् । उनका २०७५ सालमा छितिज–यात्रा (मुक्तक सङ्ग्रह) र २०७८ सालमा अर्को गजल सङ्ग्रह ‘फर्कियो किनारबाट’ लिएर देखा परेका छन् ।

भनेर जीवनको अन्तिम सत्य मृत्युलाई ढिलो या चाँडो सबैले स्विकार्नुपर्ने भावबोध गराउँदै सुरु गरिएको गजल यात्रा विभिन्न उकालो–ओरालो, घुम्ती र अप्ठ्याराहरू पार गर्दै अघि बढेको पाचौँ बिसाउने पर पुगेर-

कति सारै अभागी छ यो धर्तीमा मान्छे
जिउँदोमा नसम्झे नि मर्दा याद आओस् ।

भन्दै मृत्युलाई नै स्विकारेर समापन गरिएको छ । सङ्ग्रहको पहिलो गजलको पहिलो सेर र अन्तिम गजलको अन्तिम सेरलाई मात्र आधार मानेर हेर्ने भन्ने सङ्ग्रहमा वैराग्य भावका गजल अधिकता अनुमान गर्न सकिए पनि गजल लेखनका पछिल्ला मान्यताअनुसार कतै टन्नै प्रेम पोखेका छन् भने कतै त्योभन्दा बढी आक्रोश ओकलेका छन् । कतै आशाको बिरुवा रोपेका छन् त कतै निराशाको पर्खाल ठड्याएका छन् । कतै त एउटै गजल पाँच सेरहरूमा पनि फरक–फरक विषय उठान गरेर प्रेम, घृणा, राजनीतिक र सामाजिक विकृति विसङ्गति र बेथितिहरू प्रस्तुत गरेका छन् ।

गजल गायनको क्षेत्रमा ४ वा ३ सेरसम्म पनि प्रयोग भइरहेको वर्तमान परिवेशमा उनले गजल लेखनको लागि मानक मानेको न्यूनतम् ५ सेरको संरचनालाई सम्पूर्ण रूपमा अङ्गीकार गरेका छन् । यस सङ्ग्रहमा ७५ ओटै गजलमा ५ सेर मात्र प्रयोग गरिएको छ । यीमध्ये ४३ औँ र ६१औँ गजललाई बाल गजल भनेर बालसुलभ शब्दहरूको प्रयोग गरेर गजल सिर्जना गरेका छन् भने ४१ र ७४ औँ गजल भने गजलको संरचना, गजलमा समेटिने विषयवस्तु गजलमा प्रयोग हुने विभिन्न शब्दहरूको जानकारी गराउँदै गजल प्रति ध्यानाकर्षण गराउन खोजेका छन् । प्रेमिल भावको गजलका सन्दर्भमा भन्नुपर्दा लेखक आफू प्रेमको मामलामा अत्यन्तै कोमल, संवेदनशील र जवाफदेही देखिए पनि आफ्नो प्रेमीबाट भने धोखा र देखावटीपन मात्र पाएको धारणा राख्दछन् । यसरी हेर्दा यिनका शृङ्गारिक गजलमा संयोग शृङ्गार मात्र नभएर वियोग शृङ्गारका भाव पनि पर्याप्त भेट्न पाइन्छ ।

छन्द वा लयको आधारमा हेर्दा यस सङ्ग्रहमा सङ्ग्रहित गजलहरू अधिकांश त स्वतन्त्र लयकै संरचनामा देखिएका छन् । केही लोकलयका गजलहरू छन् भने बहर (छन्द) नै खुलाएर उनले एकमात्र (२८ औँ) गजललाई बहरको नाम (मुतदारिक बहर – फाइलुन २१२ ) भनेर खुलाएका छन् ।

काफियाको प्रयोग गर्दा सकेसम्म भाव नखल्बलियोस् भन्ने कुरामा सचेत देखिए पनि कतै–कतै जर्बजस्ती मिलाउन खोजेको पनि भान हुन्छ । नेपाली भाषाकै विद्यार्थी भएको नाताले पनि होला उनी आफ्ना गजल सेरहरूमा नेपाली उखानहरूको प्रयोग गर्न उत्साहित देखिन्छन् ।

उदाहरण-
भन्छन् सबै विनाश कालमा विपरीत हुन्छ बुद्धि
सरकारले रोजगारी दिन राहदानी जम्मा गर्यो

जानेर जम्मा गर्योि या नजानेर जम्मा गर्यो
उसले आफ्नै घर पोलेर खरानी जम्मा गर्योा (गजल ४)

‘रिस खा आफू बुद्धि खा अर्को’ भन्छ दुनियाँ
समाधानको बाटो खोज्न आलटाल कसका लागि (गजल ५८)

कतै कतै त शब्द छनोटमा पनि अलि विचार पुयाउन नमिलेको हो भन्ने आभास देखिन्छ । जस्तै-

खै कस्तो आधुनिकता ! नाङ्गै हिँड्छे चेली

साह्रै अश्लील छ कृत्रिमता शर्म नाश हुँदा (गजल ३७)

अन्त्यमा भन्नुपर्दा मलाई लागेका (लेखकको आफ्नो छुट्टै दृष्टिकोण पनि हुनसक्छन्) यी सानातिना सुधारात्मक पक्षप्रति आँखा चिम्लने हो भने ‘फर्कियो किनारबाट’ गजल सङ्ग्रह एउटा सङ्ग्रह योग्य र पठनीय गजल बनेको छ गजलप्रेमीहरुका लागि । अझ एक तिहाइ गजल कटाएर छनोट गर्न सकेको भए सग्रह अझ गहकिलो बन्ने अवस्थामा थियो भन्न सकिन्छ । आशा छ, आगामी दिनमा लेखकको ध्यान यसतर्फ आकर्षित हुने छ र नेपाली गजल साहित्यले अझ सशक्त र ओजपूर्ण कृतिहरू लेखकबाट प्राप्त गर्ने छ भन्ने आशा राख्दै लेखक र यस कृतिको पूर्ण सफलताको कामना गर्दछु ।
बकैया– ४, गोठखोला

हास्यव्यङ्ग्य निबन्ध : जाँड पार्टी / डा. देवी क्षेत्री

इलामका स्थायी बासिन्दा डा. देवी क्षेत्री दुलाल हाल प्रगतिशील नेपालका केन्द्रीय महासचिव हुनुहुन्छ । उहाँ नेपाली साहित्यका कविता, कथा, निवन्ध, भाषा, संस्कृतिका क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँका करिब डेढ दर्जन कृतिहरू प्रकाशित छन् ।

हरेक साता लाग्ने सोमबारे हाट भर्न हिजो बाउछोरा गएका थियौँ । ठुलो र पुरानो पार्टीका जिल्लास्तरीय नेताको साथमा थियौँ हामी । म पनि के कम र स्थानीय तहको नेता नै हुँ दामी । घरायसी सौदा ल्याउनुथ्यो, फेरि नेता आउँदा साथ लागेर नहिँडे नम्बर घट्ने डर । स्थानीय निर्वाचन सम्मुखमा छ । त्यस उसले रहर र आशाले भनौँ न मेरो हाट भराइ । सधैँ झैँ बजार गम्केर लागेको थियो, मान्छेको भिडभाड राम्रै थियो । नेताहरूको गफ सुन्दै म बजारको वल्लो छेउमा बसिरहेको थिएँ, बजारको पल्लो छेउमा एक जना मान्छे उभिएर चर्को स्वरमा भाषण गर्न थाल्यो–

आदरणीय जनसमुदाय, नमस्कार । म जाँड पार्टी नेपालको अध्यक्ष हुँ । मेरो नाम अमृतप्रसाद आचार्य हो । दाजुभाइ तथा दिदीबहिनी , यो देशको सबै ठुला र पुराना प्रजातन्त्रवादी रानीतिक पार्टीले आदिदेखि आजसम्म देशमा राम्रा काम गरिरहेका छन् । सुसासन, शान्ति,सुरक्षा र अमनचयन नेपाली जनतालाई दिइ नै रहेका छन् । विकासका मुहान फुटाएका छन् । समाजमा विधमान अन्याय, अत्याचार, शोषण, दमनलाइ मासेका छन् । कोही जनता गरिब छैनन् सबै समान छन् । भ्रष्टाचार कत्तै छैन, जताततै सदाचारै सदाचार छ ।

नपत्याए हेर्नुस् ! हिजो हात्तीछाप चप्पल लगाएर पार्टी बनाउन हिँडेका हाम्रा नेताहरूको जीवनस्तरमा कुनै परिवर्तन आएको देख्नुभएको छ ? अहँ छैन । उनिहरूले सरकार बनाएर प्रधानमन्त्री, मन्त्री भएर आफ्नो व्यक्तिगत हित र नाफाका लागि कुनै काम गर्न सकेका छैनन् । अझै शुभेच्छुकहरूको घरमा डेरा बसेका छन् । आफ्ना लागि बस्ने घर बनाएका छैनन् कतै । एक जना पनि नेताको बैङ्कमा पैसा जम्मा भएको छैन । स्वास्नी र आफन्तलाई गहनागुरिया र सुनचाँदी एक तोला जोडेका भए त मर्नु !

होइन है होइन, जोडेका छन् भन्नुहुन्छ होला तपाँइहरू । श्रद्धेय आमाबुबा तथा मेरा आदरणीय मान्यजनहरू ,अपवादमा कसैकसैले त कमाएका छन भन्नुहोला । विपी ले भव्य महल बनाए, किसुनजी आलिसान बङ्गलामा मरे, मनमोहन गगनचुम्बी महलको सिरानतलामा मरे, गिरिजाबाबु आफ्नै प्यालेसमा मरे, सुशीलदा आफ्नै अट्टालिकामा मरे । भीमबहादुर तामाङले सम्म आलिसान महल बनाएर त्यही परलोक भएको तैँले देखिनस् भन्नुहोला । उनीहरू कमाउनिस्ट नेता होइनन् ? पुराना, ठुला र प्रजातान्त्रिक पार्टी र तिनका शीर्षस्थ नेताहरू होइनन्, तेरा आँखा फुटे ? भन्नुहोला । हो, उनीहरू अपवादका कमाउनिस्ट नेताहरू हुन । तर तिनले जति कमाउनुपर्थ्यो त्यति सकेनन् ।

आजका नेताहरू त हुतिहारा हुन् हुतिहारा । सड्पत्रु, टिकटिकेबिनाको पुलिस । कसैले केही ख्याँस्न सकेको होइन आफ्ना लागि । छोराछोरी चरीनाङ्गै छन बरा, स्वास्नी नाङ्गै र बुच्चै । यस्तालाई भूपूहरूले त के आश गर्नु र विचरा ! बस्नलाई एउटा एकतले घरसुद्ध छैन कसैको, थुइक्क जिन्दगी ! सधैँभरि साथीभाइले दिएको डेरामा जीवन बिताएका छन् । खाली देश, क्रान्ति र जनताको नाममा रातोदिन काम गरेका छन्, सधैँ जनताका लागि खटेका छन् । आफ्ना लागि सिन्का भाँच्ने होइनन् । जनतालाई सेवा सुविधा र अवसर दिएपछि जनता मोटाएका छन् , तिनका छोराछोरी निरोगी, सभ्य र सक्षम भएका छन् । आफू भने दुब्लाएर सुकेनास लागे जस्ता भएका छन् । अब यी पार्टीका यस्ता नेताहरू यतिकै मर्छन् । नेताको त यो हालत झन् तिनका लाखौँ कार्यकर्ताको दशा के होला ?? अब यस्ता पार्टी र नेताको आयु पुग्यो ।

यतिन्जेल उसको भाषण मन पराएर कसैले पनि ताली बजाएको सुनिएन । तर उसको भाषणले कताकता मेरो मन तानिरहेको यियो । फेरि उसले भाषणलाई निरन्तरता दिँदै भन्न थाल्यो–

आदरणीय जनसमुदाय, यिनै कुरालाई मध्यनजर गरेर मैले हिजो मध्यराति सपनाबाट ब्युँझिएर यो पार्टीको स्थापना गरेको हो । सर्वथा नयाँ पार्टी । क्रान्तिकारी पार्टी, संसारका कुनै पनि देशको कुनै पार्टीसँग नाम नमिल्ने, सिद्धान्त नमिल्ने, नीति, कार्यक्रम र उद्देश्य पनि नमिल्ने । सर्वथा नयाँ र मौलिक पार्टी । श्री जाँड पार्टी नेपाल ।

जाँड खाने नखाँने सबै नेपाली यो पार्टीको क्रियाशील सदश्य हुने छन् । पार्टीलाई सदस्यता शुल्क, लेबी केही पनि तिर्न पर्दैंन । मेरो पार्टीमा कसैले कसैलाई अनुशासनको कार्वाही गर्न मिल्दैन । सबै अध्यक्ष सबै महासचिव, कार्यकारी र नेता हुने छन् । निर्वाचन जितेर बन्ने सरकारमा सबै प्रधानमन्त्री, मन्त्री बन्न पाउँछन् । जोइपोइ दुवै जना राष्ट्रपति हुने छन । सकेजति आफ्नो लागि कमाउन छुट हुने छ । सक्नेले सकेजति जोड्न र मन परेकालाई तोड्न पाउने छ । त्यसो गर्दा कसैलाई कानुनसानुन लाग्ने छैन ।

यी पुराना जडाउरी पार्टीले राजनीतिलाई सेवा बनाएर गल्ती गरे, अब मेरो पार्टीको नेतृत्वमा राजनीतिलाई उद्योग बनाइनेछ गद्योग । अनि नेपाली जनतालाई खुसी र समृद्धि बाँड्दै नेपालमा समाजवाद निर्माण गरिने छ । नेपाली जनता पनि सधैँभरि गणेशमानको भेडा हुनुभएन हजुर ! जनता र देशका लागि मात्र काम गरेर मर्नआटेका नेतालाई तपाइँहरूप्नति अलेली खानुस्, कमाउनुस् भन्न पर्दैन ? अब जनताले पनि नेताका लागि सोच्ने दिन आए ।

दाजुभाइ तथा दिदी बहिनीहरू, मेरो पार्टी तपाइँहरूले मानिआएको जस्तो होइन । यहाँ त पहिले नेताले कमाउनपर्छ । आलिसान महलहरू बनाउनपर्छ, धन सम्पति टन्नै कमाउनपर्छ । घोडा, गाडी जोड्नपर्छ । म यस पार्टीको अध्यक्ष हुँ । मेरो पार्टीका नेताहरूले अनिवार्य रूपमा खरबौँ कमाउनै पर्छ । खाली जनता, देश, क्रान्ति भनेर आफू सुकेर मर्ने हुतिहारा, मतिभ्रष्ट हुने पार्टी होइन । यस कारण आजसम्म जो जहाँ जुनसुकै पार्टीमा भए पनि त्यो पार्टीलाई त्यागेर आउनुहोस् मेरो महान् तथा गौरवशाली, बलशाली, धनशाली, शक्तिशाली श्री जाँड पार्टीमा । तपाइँहरूलाई हार्दिक स्वागत छ ।

मेरो पार्टीको झन्डा जाँड पकाउने घ्याम्पा हुने छ । चुनाव चिह्न निगार हुने छ । मार्गदर्शक सिद्धान्त जाँडराज्य स्थापना गर्नु हुने छ । जनतालाइ सुकाएर नेता मोटाउने मेरो पार्टीको कार्यनीति हुने छ ।
आउनुहोस्, आउनुहोस्, आउनुहोस् श्री जाँड पार्टी नेपालमा गोलबद्ध हुनुहोस् ।

पुराना जडाउरी पार्टी मुर्दावाद !
श्री जाँड पार्टी नेपाल जिन्दावाद !

आफ्नो भाषण सकेर जाँड पार्टीको अध्यक्ष बजारभित्र पस्यो । म पनि आफ्नो काम फत्ते गर्न बजारभित्र छिरेँ । सबै मान्छेले जाँड पार्टीको कुरा गरिरहेको सुनिन्थ्यो । उसको भाषणले मलाई रात्तैभरि निद्रा लागेन । के साँच्चै अब यो देशमा जाँड पार्टीको खाँचो परेकै हो त ? सोच्दासोच्दै उज्यालो हुने बेलाको कान्छी निद्रा भुसुक्कै निदाएछु 

डा. देवी क्षेत्री दुलाल