Home Blog Page 67

बालजागृतिद्वारा Bookless Day र बालदिवसमा अनुकरणीय कार्यक्रम

भाद्र २९, मकवानपुर ।
विद्यार्थीहरूको आन्तरिक क्षमता अभिवृद्धि र जीवनोपयोगी सीप सिकाउने उद्देश्यले बालजागृति इङ्गलिस सेकेण्डरी स्कुलमा साताको हरेक शुक्रबार पढाइका अलावा विभिन्न कार्यक्रमहरू सञ्चालन हुने गरेको छ ।
स्कुलले प्रत्येक शुक्रबारीय दिनहरूलाई ‘Bookless Day’ अर्थात् पुस्तकविहिन दिवसका रूपमा मनाउँदै आइरहेको छ शिक्षक रजनी पौडेलले बताउनु भयो ।
त्यसै सन्दर्भ पारेर शुक्रबार भाद्र २९ गते बालदिवसको अवसरमा विद्यालयले तहगत रूपमा विद्यार्थीहरूको उच्च एवम् सक्रिय सहभागितामा विविध क्रियाकलापमार्फत् प्रतियोगितात्मक प्रतिस्पर्धा गरी विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ ।
कक्षा १ देखि ३ सम्म तातो आलु, म्युजिकल चेयर र दिवस विशेष व्याच निर्माणका कामहरू भए भने कक्षा ४ देखि १० सम्म नेपाली विषयको बौद्धिक परीक्षण प्रतियोगिता सम्पन्न भयो । गणित विषयअन्तर्गत Math Spelling Contest, अंग्रेजी विषयअन्तर्गत मेमोरी परीक्षणका प्रतिस्पर्धाहरू भए ।
जीवनोपयोगी सीपअन्तर्गत बत्ती कात्ने, दुना-टपरी बनाउने, चित्र बनाउने, गायनकला, नृत्यकलालगायतका अतिरिक्त एवम् अपरिहार्य सीप प्रशिक्षणका क्रियाकलापहरू सम्पन्न गरिएको प्रधानाध्यापक विनोद सुवेदीले बताउनु भयो ।
कार्यक्रममा विभिन्न प्रतियोगिताहरूमा दिप्सन गौतम, सुवाङ्गी पौडेल, आकाङ्‍क्षा अधिकारी, काव्या गजुरेल, आरभ श्रेष्ठ, शिवम् आचार्यलगायतका विद्यार्थीहरू विजयी हुनु भएको छ ।

विज्ञान शिक्षक समाजको वक्तृत्वमा उत्कृष्ट पाँच विद्यार्थी छनौट

भाद्र २९, मकवानपुर ।
विज्ञान शिक्षक परिषद (STAN) नगर समिति, मकवानपुरको आयोजनामा ‘समृद्ध समाजको निर्माणका लागि विज्ञान शिक्षाको भूमिका’ विषयक नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा ५ उत्कृष्ट विद्यार्थी छनौट भएका छन् ।
शुक्रबार भुटनदेवी मा.वि., मकवानपुरमा आयोजित कार्यक्रममा १२ वटा विद्यालयका कूल २४ जना विद्यार्थीहरू सहभागी थिए । भरत पोखरेल प्रमुख अतिथि रहनु भएको कार्यक्रम परिषदका अध्यक्ष भुपेन्द्र यादवको सभाध्यक्षतामा आयोजना भएको हो । सुवास खनाल, निकेश ठाकुर र केशव सञ्जेल ३ जना रहनु भएको निर्णायक मण्डलले नवोदय शिशु सदनका विदुषी हुमागाईँ, जनप्रिय मा.वि. की एरिना चौलागाईँ, बालजागृति मा.वि. की ऋतीका छत्कुली, ज्ञानदीप शिक्षा निकेतनका विद्यार्थीद्वय आदर्श पौडेल र प्रतिष्ठा कार्की छनौट हुनु भएको हो ।
छनौट भएका विद्यार्थीहरू असोज ६ गते विभिन्न पालिकाबाट सहभागी अन्यसँगै जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुनेछन् । सो कार्यक्रम नवोदय शिशु सदनमा आयोजना गरिने विज्ञान शिक्षक समाज मकवानपुरका अध्यक्ष खेमराज लामिछानेले बताउनुभयो ।
आजको कार्यक्रम नगर समिति सचिव सुदर्शन पौडेलले सहजीकरण गर्नु भएको हो ।

मोती जयन्तीमा भरतपुरमा सांगीतिक गजल साँझ

भरतपुर । बाह्रघरेको ‘द ग्रिनपार्क रेस्टुरेन्ट’मा गजलकार परिविक्रमले तबलाका तालमा यी शेर सुनाउँदै गर्दा भर्खर दर्के पानी परेर आकाश उज्यालिएको थियो । बाहिर आँगनमा गजल सुनाउने तयारी गर रहेका आयोजकहरू पानी ह्वार्रै वर्षेपछि आत्तिँदै हलभित्र कार्यक्रम गर्ने चाँजोपाँजो मिलाउन लागे ।

तर क्षणभर पानी दर्केर आकाश सफा बनेको देखेपछि फेरि बाहिरै कार्यक्रम गर्ने भए । पानीको छिटाले कतै तबला बिगार्छ कि भन्ने संशय राखे पनि गजल कार्यक्रम चलेसम्म पानी परेन । विष्णु तिवारी उषा, निर्दोष जीवन, अपेक्षा गिरी, प्रमिला सानु, सपना रैला अर्याल र परिविक्रमले लगालग गजल गाउँदै सुनाउँदै गए ।भरतपुर–१५, फूलबारीकी प्रमिला बिहीबार साँझ आफ्ना केही थान गजल लिएर मञ्ज उक्लिइन्।

आठ वर्षपछि आफ्ना सिर्जना सुनाउन मञ्च उक्लिएको बताउँदै उनले गजल सुनाइन् :
चञ्चले यी नयनका नानी खराब छन्
बेपरवाह बेफिक्री छु बानी खराब छन्
नियत जानेकै हो जहिले लडखडाउने
बोली लरबराउने पानी खराब छन्

गजल साँझमा गजल गाउँदै गायिका सपना रैला अर्याल,सपनाले बिगतका दिनमा आफ्नो सांगीतिक यात्रा गजल मञ्च चितवन बाटै सुरु गरेको बताउदै आफ्नो आगामी गजल कै एल्बमको तयारीमा पनि रहेको जानकारी दिइन्। उनको मिठो आवाजले जो सुकेको मन तान सफल बनेको छ आजको गजल साँझमा चितवनका गजलकार रामकृष्ण अनायासको गजल शब्द र राज सागरको संगीतमा आफ्नो सांगेतिक प्रस्तुति राखेकी थिइन्। उनको प्रस्तुति सबैभन्दा उत्कृष्ट रहेको थियो ।

आखिर खुशि हराएर हार मानिसक्दा
तिम्रो जितमा मलाई अबिरको के अर्थ ।
मुर्ति बिना सुनसान मन्दिरको के अर्थ
मुटु लग्यौ मेरो अव,शरिरको के अर्थ ।

परिविक्रमले हार्मोनियम र तबलासँग पहिलोपटक नजिक भएको भन्दै आफ्ना सिर्जना सुनाए। ‘म गजल कोर्छु तर गाउँदिनँ,’ उनले भने, ‘आज पहिलोपटक हार्मोनियम र तबलासँग नजिक हुने प्रयास गरेको छु। जस्तो लाग्छ प्रतिकृया दिनु होला। किनकि म गायक होइन। सामान्य गजल लेख्ने व्यक्ति हुँ।’

पछिल्लो समय गायनमा सक्रिय अपेक्षा गिरीले अञ्जु पन्तद्वारा स्वरवद्ध केही चर्चित गजल ट्रयाकमा सुनाइन्। अपेक्षासँगै निर्दोष जीवनले पनि आफ्ना रेकर्डेड गजल ट्र्याकमै सुनाए।
सबैले सांगीतिक धुनसँगै विभिन्न खालका गजल सुनाए। मायाप्रेम, सामाजिक बेथिति, सामाजिक यथार्थ आदि विषय समेटिएका गजल सुनाउँदै गर्दा दी ग्रीन पार्कको मैदान रङ्गीन बनेको थियो। आयोजक संस्था गजल मञ्च चितवनका अध्यक्ष लेखराम सापकोटाका अनुसार स्थानीयस्तरमा बलियो साहित्य सिर्जना गर्नेहरुका लागि यसपटकको मञ्च तयार पारिएको थियो।
सबै स्रष्टाहरुले आफ्ना र अरुकै गजलमा स्वरवद्ध गरेर सुनाए। यो कार्यक्रमबाट गजल लेख्नेहरुमा गाउन सक्ने क्षमता पनि छ भनेर प्रष्ट पार्न सफल भएको गजल मञ्च चितवनका अध्यक्ष सापकोटाले बताए। ‘यस्ता खालका कार्यक्रमकै कारण गजल मञ्च चितवनको गरिमा बढ्दै गएको छ,’ उनले भने। करिब ३५० जनाको हाराहारीमा गजल सुन्न गजलानुरागी ग्रीन पार्क पुगेका थिए।
चितवनको गजल सिर्जनालाई माथि उकास्न निकै ठूलो योगदान दिएको गजल मञ्च चितवनले कार्यक्रम गर्दैगर्दा स्रष्टा, सिर्जना र सम्भावनाको खोजी हुने गरेको अध्यक्ष सापकोटाले जानकारी दिए। महानगर प्रज्ञाप्रतिष्ठानसहित सम्पूर्ण किताब, आरम्भ कलेज, दी ग्रीन पार्क र कनेक्ट अस्ट्रेलियन एजुकेसन एण्ड भिजा सर्भिसको प्रायोजनमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रम गजल मञ्चकाे अध्यक्षता लेखराम सापकोटाले गरेका थिए भने कार्यक्रममा आउने सम्पूर्ण अतिथि ज्यूहरुलाई सस्थाका उपाध्यक्ष रामकृष्ण अनायास ले स्वागत मन्तब्य राख्दै कार्यक्रम सञ्चालन सचिव पारु खरेलले गरेकि थिईन ।

कार्यक्रममा गजल मञ्च चितवनका पूर्व अध्यक्षहरु किसान प्रेमी, धनराज गिरी, रमेश प्रभात, साहित्यकार एल.बी.क्षत्री, भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका सदस्य-सचिव लगायतका जिल्लाका उल्लेख्य साहित्य अनुरागीहरुको उपस्थिति रहेको थियो।
२०६३ सालमा स्थापना भएको गजल मञ्च चितवनले त्यसयता विभिन्न खालका कार्यक्रम आयोजना गरेर पुराना स्रष्टाप्रति सम्मान र नयाँ स्रष्टालाई अवसर प्रदान गर्दै आएको छ। विशेषगरी, गजल मञ्चले श्रृङ्खलाबद्ध कार्यक्रम ‘गजलसँग…’ आयोजना गरेर संस्थाकै परिचय फराकिलो बनाउन सफल भएको थियो। उक्त कार्यक्रमले अहिले पनि निरन्तरता पाउँदै आएको छ।

ऐतराज केरुङ गजल पुरस्कारबाट झापाका स्रष्टा लोकेन्द्र बन्जरा पुरस्कृत

पाँचथर–मोती जयन्तीको अवसर पारेर वितरण गरिने स्वर्गीय ऐतराज केरुङ गजल पुरस्कारबाट झापाका स्रष्टा लोकेन्द्र बन्जरा पुरस्कृत भएका छन । पाँचथर–गजल मञ्च मार्फत वितरण हुदै आएको उक्त पुरस्कार विहिवार पाँचथरको फिदिममा आयोजित मोती जयन्तीको अवसरमा आयोजित समारोहमा वितरण गरिएको हो ।


कार्यक्रमका प्रमूख अतिथि डाक्टर रमेश शुभेच्छुक, पाँचथर गजल मञ्चका सस्थापक, मधुराज केरुङ र अध्यक्ष सन्देश शुव्वा लगायतले बन्जारालाई दोसल्ला र कदर पत्र सहित पुरस्कृत गरे । पुरस्कार राशी ८ हजार ८ सय ८८ रुपैंयाको छ । बन्जाराका आँखाभरी सपना, जैतुन र पलक नामक गजल संग्रह प्रकाशित छन ।


पाँचथर गजल मञ्चका संस्थापक अध्यक्ष मधुराज केरुङ र उनका दाजु सागर केरुङले स्वर्गीय पिताका नाममा उक्त गजल पुरस्कार स्थापना गरेका हुन । पुरस्कार ७ वर्ष अघिदेखि वितरण गरिँदै आएको छ । सोहि समारोहमा अधिकारी बिमलाका गजलहरु नामक पुस्तक विमोचन सँगै एनवि अञ्जानको मौसम गजल संग्रहको चर्चा पनि गरियो ।
कार्यक्रममा २० जना अधिक स्रष्टाले गजल बाचन गरेका थिए ।

संगमद्वारा ५ सल्लाहकार र २ सदस्य मनोनित

भाद्र २८, मकवानपुर ।
साहित्य संगम मकवानपुरको नवनिर्वाचित कार्यसमितिको बिहिबार बसेको बैठकबाट ५ सल्लाहकारहरू मनोनयन हुनु भएको छ ।
जसमा साहित्य सर्जकहरू तुल्सी घिमिरे, आरसी रिजाल, निमेष निखिल, श्यामकुमार बानियाँ र सुवास खनाल हुनुहुन्छ । 
यस्तै सो बैठकले गजल मञ्च मकवानपुरका उपाध्यक्ष सञ्जित श्रेष्ठ र सिस्नुपानी नेपाल मकवानपुरका सहसचिव संप्रस पौडेललाई सदस्यमा मनोनयन गरेको र आगामी दिनमा सबैको साथ, सहयोग, सल्लाह र सुझावका लागि निरन्तरता मिल्ने अपेक्षा लिएको अध्यक्ष डीबी बर्तौलाले नवसाहित्य अनलाइनलाई बताउनु भयो ।
हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोग तथा साहित्य सङ्गमको व्यवस्थापनमा जिल्लाकै सबैभन्दा ठूलो पुष्पलाल स्मृति पुस्तकालयको प्रमुखमा सचिव मनोज पोखरेललाई जिम्मेवारी प्रदान गरिएको छ ।
आगामी असोज महिनाको दोस्रो शनिबारको दिन ३३५ औं नियमित साहित्य सन्ध्यामा रचना वाचन तथा वि.सं. २०७९ मा मकवानपुरबाट प्रकाशन/विमोचन भएका कृतिका कृतिकारलाई ‘कृति सम्मान’ समर्पण गर्ने निर्णय समेत सोही बैठकले गरेको छ ।
सङ्गमको साहित्यिक गतिविधि र नियमित कार्यक्रम सञ्चालनका लागि सहजता प्रदान गर्न र अक्षयकोषविना समर्पण गराउँदै आइएको सम्मान तथा पुरस्कारको स्थायित्वका लागि दीगो अक्षयकोष निर्माण गर्ने सम्बन्धमा सम्मान तथा पुरस्कार संस्थापकका साथै सम्पूर्ण साहित्यकार, साहित्यसेवी, समाजसेवी तथा इच्छुक सम्पूर्णमा स्वेच्छिक रुपमा सहयोगका लागि अनुरोध गर्ने निर्णय भएको छ ।
साहित्य संगम मकवानपुरको नवनिर्वाचित पदाधिकारीहरूका लागि गत शनिबार निर्वाचन भएको हो ।

मोतीजयन्तीमा गजल मञ्चको ‘गजल साँझ’

भाद्र २८, मकवानपुर ।

गजलमञ्च मकवानपुरले मोती जयन्ती विशेष गजल साँझ आयोजना गरेको छ ।गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणको सभाध्यक्षता, तुल्सी घिमिरे प्रमुख आतिथ्यता तथा निमेष निखिलको विशिष्ट आतिथ्यता रहनुभ‌एको थियो । मञ्चका उपाध्यक्ष सञ्जित श्रेष्ठले स्वागत गर्नुभ‌एको कार्यक्रममा नवसर्जक चौतारी नेपालका संरक्षक तथा गजल मञ्च मकवानपुरका पूर्व अध्यक्ष दीपक गौतमले मोतीराम भट्टको व्यक्तित्व/कृतित्व चर्चा बारे चर्चा गर्नुभयो ।

उहाँले मोतीराम भट्टका गजल वाचन गर्दै नेपालमा गजल भित्र्याउने सर्जक, बनारस, कलकत्तामा अध्ययनदेखि दरबार स्कुलसम्मका साथै भाषिक ज्ञान र साहित्यिक प्रसङ्गहरू बारे चर्चा गर्नुभयो । साथै भानुभक्तलाई नेपाली साहित्यमा व्यापकरूपमा चिनाउने, श्रृङ्गारिक धाराका प्रवर्तक मोतीराम भट्ट माध्यमिककालीन कविताका प्रवर्तक भ‌एको र उहाँले कूल २५ वटा कृतिहरू लेख्नुभ‌एको स्पष्ट पार्नुभयो ।

सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले अग्रजलाई सम्मान गर्ने परम्परा बसाउने मोतीराम भट्टले नेपाली साहित्यमा छोटो समय बिताए पनि लामो समयसम्मका लागि भजन, श्रृङ्गारिक गजल, उखानको बखानका कोष, भानुभक्तलाई चिनाउने उहाँका कृतिहरू नेपाली जनमानसमा उपलब्ध गराउने काम गर्नुभ‌एको र गजल मञ्च मकवानपुरले उहाँलाई सम्झनेगरी यस्ता कार्यक्रम गरेकोमा गजल मञ्चलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
मञ्चका अध्यक्ष केशव समर्पणले मोतिराम भट्टले गोरखा भारत जीवनमार्फत् पहिलो नेपाली भाषाको पत्रिका सञ्चालन गर्नुभ‌एको विषयलाई जोड्दै नेपालीमा गजलको इतिहास कोरेर गजलको नेतृत्व गर्ने भट्टलाई गजल मञ्च मकवानपुर जहिल्यै सम्झिरहने बताउनुभयो ।

बिहिबार साहित्य संगम मकवानपुर र सिस्नुपानी मकवानपुरको संयुक्त भवनमा सो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा गजल सर्जकहरू रजनी पौडेल, भवानी तिमल्सिना, सानु खनाल, पुरूषोत्तम आचार्य, सुनिल गौतम, निवर्तमान अध्यक्ष देवराज तिवारी, सुनिल गौतम, सुबास सजल, हरि पौडेल र तुल्सी घिमिरेले गजल वाचन/गायन गर्नुभ‌एको थियो ।

कार्यक्रममा साहित्य सर्जकहरू राजकुमार लामिछाने, सानु खनाल, डिबी बर्तौला, संघर्ष क्षेत्री, बैकुण्ठ लामिछाने आदिको उपस्थिति रहेको थियो ।
कार्यक्रम गजल‌मञ्च मकवानपुरका सचिव हरि पौड्यालले सहजीकरण गर्नुभ‌एको हो ।

गुम्बाडाँडामा डोरिन / अरुण खतिवडा

‘हवाइ डिड अ लार्ज नम्बर अफ पिपल कम हेअर ? हवाइ ? ह्वाट वाज द रिजन ?’ डोरिनले प्रश्न राख्नुभयो ।

यो २०७३ भदौ ११ गते गुम्बाडाँडामा यो पङ्क्तिकार तारालाल श्रेष्ठ, मूर्तिकार ओमभक्त भण्डारी, बद्रिनाथ अधिकारीलगायतका बीच उहाँको जिज्ञासा थियो । मकवानपुरबाट फर्केपछि मैले एक्कासि गुम्बाडाँडामा झन्डै दिउँसोको ४ बजे उनलाई भेटें ।

यो भेट हार्दिकतापूर्ण भयो । यतिखेर उहाँको जिज्ञासा आफैँमा महत्त्वपूर्ण भयो ।

उहाँ लन्डनबाट आउनुभएको भी.एस.ओ. भोलन्टिएरको रूपमा केही वर्ष अघि हेटौंडामा कार्यरत हुनुहुन्थ्यो । झण्डै दुई वर्ष हेटौंडा रही उहाँ फर्कनु भएको थियो । हाल मलेसिया बस्नुहुन्छ ।


डा. ताराले अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालाका संक्षिप्त सामग्री देखाए । व्याख्या गरे । मैले पनि गुम्बाडाँडामा अवस्थित मूर्तिहरू निर्माण हुँदाका बेलीविस्तार पस्कने कोसिस गरेँ ।

त्यहाँका बारेमा व्याख्या गरें । केही भलाकुसारी भयो । झन्डै एक-डेढ घण्टा ।

उहाँले पुनः प्रश्न राख्नुभयो ।

‘हाउ मेनी पिपुल केम हेअर ?’ मैले भनें ।

“नियर्ली सेभन्टी थाउजन्ड पिपल ।’ उहाँले आश्चर्य मान्दै दुवै आँखा माथितिर हेर्नुभो ।

पुनः प्रश्न गर्दै, ‘हवाइ ? हवाट वाज द रिजन ?

डा. ताराले भने, ‘फर द सेक अफ आर्ट ।’

उहाँ हाँस्नु भो । धेरै जिज्ञासाका साथ विभिन्न समयमा खिचिएका मिडियो देशी/विदेशी मूर्तिकारको काम प्रधानमन्त्री डा. बाबुराम भट्टराईको कार्यक्रम उद्घाटनमा आगमन, मान्छे मान्छे, कोलाहल आदि ।

के साँच्चै कला पारखी मात्रै आए ? अरू को-को आए ? किन आए ?मेरा स्मृतिमा धेरै विषयहरू हुँडलिएर आउन थाल्यो । यसबारे लेख्नुपर्ने भयो । गुम्बाडाँडाको सन्दर्भमा कुरा भो । कुरामात्रै होइन काम भो । नेपालको सन्दर्भमा यसभन्दा पहिले नभएको काम भो ।

मकवानपुरभन्दा बाहिर-बाहिरबाट पनि विद्यार्थीहरू आउँछन् । अरू पर्यटकहरू आउँछन् । ‘गुम्बाडाँडा कहाँ पर्ने रहेछ ?’ भनेर सोध्दै खोज्दै आउनेहरू बढ्न थाले ‘आहा राम्रा मूर्तिहरू रहेछन् ।’ भनेर चर्चा हुन थाल्यो ।

चर्चा हुनु राम्रो हो । यसले आन्तरिक पर्यटनलाई सघाउँछ । नेपालमै हेटौडाको पहिचान राम्रो छ । सफा र सुन्दर सहरका रूपमा यसले नाम कमाएको छ । सुरम्य हावापानी तथा वातावरणले मकवानपुरलाई लोभलाग्दो बनाएको छ। यहाँ अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला आयोजना गरिएको थियो ।

यही ठाउँमा तत्कालीन मकवानपुर सेनवंशी राजा हेमकर्ण सेनले आफ्ना सेना तैनाथ गरेको कुरा अगाडि ल्याउँछन् मकवानपुरे इतिहासका खोजकर्ता केदार न्यौपाने नेकपा माओवादी शान्ति सेनामा आएपछि माओवादी सैनिक तालिम केन्द्रको रूपमा पनि यो ठाउँ प्रयोग भएको थियो । उतिखेर पनि देशी विदेशी धेरै मानिसहरू यस ठाउँमा आएका थिए । त्यसको ऐतिहासिक महत्व बेग्लै छ ।

२०३५ सालमा यहाँको बस्ती वन सिमानाभित्र परेपछि यस क्षेत्रलाई जगेर्ना गर्न यस भेगका अगुवाहरूको विशेष भूमिका रहेको देखिन्छ । अन्यथा सुकौरा, लालभित्ते आदि जस्तै यो ठाउँ पनि बस्तीमै परिणत हुने थियो । र यसलाई रोक्न सायद सम्भव थिएन । उठेको बस्तीलाई वृक्षारोपण गरी हराभरा पार्ने काम भयो ।

नत्र त्यो भन्दा अघि पुरै रातो डाँडो थियो यो । बस्ती उठेको रातोमाटे डाँडो । हाल यो डाँडा हेटौडा उपमहानगरपालिका वडा नं. १८, हर्नामाडीमा पर्दछ । यसको उचाइ समुद्री सतहबाट ५६३ मिटर रहेको छ । हेटौंडाबाट १६ कि.मि. पूर्व लागेपछि हेटौडा फापरबारी सडक अर्थात् धरान-चतरा जाने राजमार्गमा गोठदमार पर्दछ ।

राजमार्ग छाडेर दक्षिण १.५ कि.मि. उकालो लागेपछि गुम्बाडाँडा आइपुग्छ । खालि जग्गामा यहाँका सक्रिय युवाहरूको पहलमा एक गुम्बा निर्माण भएपछि यसले गुम्बाडाँडाको नाम ग्रहण गन्यो । बौद्धगुम्बाभित्र कलात्मक बुद्धका मूर्तिहरू, बौद्धिक दर्शनका लिपि, बृहत् आकारका बौद्ध ग्रन्थसँग सम्बन्धित ठेलीहरू छन् ।

साथै भित्तामा चित्रहरू भेट्न सकिन्छ।  बौद्ध गुम्बाभित्र भने संसारका जुनसुकै भागमा गएर हेर्दा पनि उस्तै खालका कलाकृतिहरू हुने रहेछ । बौद्धमा वा स्वयम्भूमा वा दार्जिलिङ, सिक्किमका गुम्बाहरूमा समानता पाइँदो रहेछ । त्यसै ठाउँमा हाल २५ फिट अग्लो बुद्धको मूर्ति बन्ने क्रममा छ । मूर्ति बस्ने जगको काम सम्पन्न भइसकेको छ । सुनेअनुसार यो बन्दै गरेको मूर्ति नेपालको दोस्रो ठूलो मूर्ति हुनेछ ।

गुम्बाडाँडा परिसरभित्र धेरै प्रकार र प्रजातिका जडीबुटीहरू, वन पैदावर, धूपी, सल्ला, मसला, विजयसाल, चिलाउने, साज, हर्रो, बर्रो, अमला, सिसौ, इपिल, बकैनो, सिरिस, तेजपात, सुनाखरी, सुनगाभा, लगायतका विभिन्न प्रकारका फूलहरू पाइन्छन् । यसैगरी विभिन्न पक्षीहरू ढुकुर, सुगा, सारी, लुइँचे, लाँच, तित्रा, कालिज, बट्टाई र वन्यजन्तुहरूमा बाँदर, स्याल, हरिण, बिरालो आदि जन्तुहरू पनि गुम्बाडाँडाको आसपासमा पाइन्छन् । यो ठाउँ प्रकृतिको उत्तम सम्पदाका रूपमा भेट्न सकिन्छ । यहाँबाट सिधा मकवानपुरगढी देख्न सकिन्छ ।

गुम्बाडाँडामा दुई वर्ष अघि मैले माथि नै उल्लेख गरेजस्तो नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको मूर्तिकला कार्यशाला सम्पन्न भएको थियो । त्यो कामपछि गुम्बाडाँडाको ख्याति अझ फैलन थाल्यो ।

कार्यशालामा विश्वका ७ राष्ट्र (फ्रान्स, इटली, जापान, दक्षिण कोरिया, चीन, भारत र नेपाल) गरी जम्मा २३ कलाकारले गुम्बाडाँडामा १५ दिनमा मूर्ति तयार पारे । प्राज्ञ किरण मानन्धरको शब्दमा- ‘यी ढुङ्गाहरू केही दिनपछि बोल्न थाल्छन् ।’ भनेझैँ हाल तिनले विशेष महत्व राखेका छन् ।

२०७३ असोज १ गतेदेखि ५ गतेसम्म अन्तर्राष्ट्रिय चित्रकला तथा साहित्यिक कार्यशाला त्यसै ठाउँमा सम्पन्न भयो, जहाँ प्रथम अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालाका मूर्तिहरू सजिएका छन् ।

यस अवसरमा यस स्थानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाहरू तथा कविहरूको आगमन भयो । र ती कलाहरू र कविहरूबाट सिर्जना भएका निधि गुम्बाडाँडामा अवस्थित आर्ट ग्यालरीमा सजाएर राखिएका छन् ।

यसरी प्राकृतिक स्वादले भरिएको गुम्बाडाँडामा हजारौ स्वदेशीहरू आउनेछन् । यो ठाउँले वैज्ञानिक, अनुसन्धाता, लेखक, कलाकार, प्राध्यापक, अन्वेषक आदिलाई आकर्षक गरी नै रहनेछ । यातायातको राम्रो व्यवस्था मिल्यो भने काठमाडौ-हेटौडाको दुरी २/३ घण्टाको हुनेछ ।

काठमाडौँमा भित्रिएका युरोपियन, भारतीय, चिनिया लगायतका पयर्टकहरूलाई यस गुम्बाडाडाले आकर्षक गर्दैछ । गरी नै रहनेछ । यहाँ पयर्टकलाई खिच्न सक्ने सम्भावना क्रमशः बढ्दै गएको देख्न सकिन्छ ।

गुम्बाडाँडाबाट झन्डै २ कि.मि. पूर्व उत्तरतर्फ फुर्केचौरमा मानव निर्मित
गोरक्षताल छ । यहाँ ८० मिटर लामो सुरुङ खनेर सिंचाइका लागि पानी प्रयोग भएको छ। यो ताल पनि वातावरणीय तथा पर्यावरणीय दृष्टिले अत्यन्त महत्त्वको छ ।

चुरे क्षेत्रका यस्ता ताल तथा पर्यावरणीय संरक्षणले पहाडलगायत तराई क्षेत्रका वन्यजन्तु, पशुपक्षी र जमीन संरक्षणमा टेवा पुग्ने निश्चितै छ । गुम्बाडाँडाबाट गोरक्षतालसम्मको ट्रयाक खोल्ने काम पनि हुँदैछ ।

प्याराग्लाइडिङ विज्ञ सङ्घर्ष विष्टका अनुसार मकवानपुरगढीदेखि गुम्बाडाँडासम्म प्याराग्लाइडिङ सञ्चालन गर्न सकिन्छ । पाइलट सङ्घर्षले हेटौंडामा प्याराग्लाइडिङ उडान गर्न हरेक हिसाबले उपयुक्त रहेको कुरा बताएका छन् ।

निष्कर्षमा कुनै एक ठाउँमात्रको विकासले समग्रतालाई समेट्न सक्दैन । मकवानपुरको पयर्टन क्षेत्रको एकीकृत विकासका लागि दामन पालुङ, सिमभञ्ज्याङ, चितलाङका होमस्टे, नवलपुरको सहिद स्मारक ऐतिहासिक मकवानपुरगढी, हर्नामाडीको हर्नामाडी कला प्रतिष्ठान गुम्बाडाँडा आदिको संयुक्त प्रयास र समन्वय हुनु अनिवार्य छ भन्ने कुरा धेरैले महसुस गरेका छन् भनी डोरिनलाई भनिएको थियो ।

हाम्रो वार्तालापपछि डोरिनले खुसी हुँदै भन्नुभएको थियो -‘ओके, आई विल ट्राइ टु कम हेयर इन द कमिङ डेज ।’

प्रस्तुत संस्मरण अरुण खतिवडा लिखित संस्मरण संगालो ‘पदचाप’ बाट साभार गरिएको हो ।

अरुण खतिवडा संग सम्वन्धित केहि भिडियोहरु

कविता: ठुल्दाजुलाई इतिहासको वर्तमान चिठी । / रिजन राना

आदरणीय ठुल्दाजु,
मलाई यो देशबारे
भन्नू त धेर छैन,
तपाईंले
नसुन्नुभएको विरगाथा
कथ्नु त केहि छैन ।
तथापि,
हामीले बिर्सिएर
एकीकरण धुन,
विभाजनको
गित गाउँदै गर्दा,
भुँईसँग गरेर सम्बन्धहरूका बिच्छेद,
गाँसेर हावासँग मितेरी,
केही छैन यहाँ,
कोही छैन यसको भनेर,
दौँतरी खोज्न
परदेश धाउँदैगर्दा,
मुरुस्थलमा
पसिनाको खेति लाउँदैगर्दा,
ठुल्दाजु,
गर्भमै तुहिँदा
भाउज्युका रहरको भ्रुण,
बाबैले लाएर पुर्पुरोमा हात,
आमैले समाएर बलेसि खाँबो,
तपाईं फर्किने बाटोमा
एकटकले नजर दौडाउदैँगर्दा,
म,
परिहास गरिएको
इतिहास सम्झिरहेछु,
म,
हिजोले नचिताएको
आजको खबर सुनाईरहेछु ।

“बिसे नगर्चीको युक्ति उक्ति –
चाणक्य समान,
१२ हजार गोर्खाली-
एक धुरी एक दाम,
बडामहाराजको फरमान ।
जब भरेथ्यो
‘एउटै माला नेपाली’ को
लक्ष्य-आकांक्षाले उडान,
तब मुलुक-
महामहिमका साना दुषले,
आर्ज्याको थिएन।
त्यो थियो त केवल,
‘एकताबद्ध नेपाल-
सुनिश्चित भविष्यको आव्हान ।’
रसाइएकोथियो,
कुँद्न बाँकी छ।
हाम्रो कर्तव्य अपुर्ण
यसै थाती छ।”

ठुल्दाजु!
यो देश,
लडाईंबाट भागेको- शेष होइन,
मातृभूमिको रक्षार्थ
काँथर हुनुभन्दा मर्नु जाती,
वीर नेपाली
हुर्किएको परिवेश हो ।
हाम्रो झन्डाका साक्षी
चन्द्र-सुर्यले पनि भन्दाहुन्,
तिनले देखेको सर्वोत्कृष्ट सौन्दर्य-
हाम्रै भाषा र भेष हो ।
खसान देखि लिम्बुवान अनि,
अनेकन विविधताको
उद्यान भो’
हिमाल पहाड मधेश यो-
यो देश,
संसार-
लोभ्याउने सुनाखरी सहलेश हो ।
पहिलो प्रभातिमा,
सगरमाथा चुमी फैलिने
आदि कान्ति किरणको
शान्तिप्रिया संदेश हो ।

यो देशमा,
केचनाकवल झर्दा
कंचनजंघाले डाकेजस्तो,
हामीलाइ त प्रकृतिले सबैभन्दा
धेरै माया गरि राखेजस्तो,
लालीगुराँसले हाम्रै खुसीको
भाकल भाकेजस्तो,
लौ!
डाँफेले पनि नेपालीकै लागि
नौरंगी भै नाचेजस्तो,
सृष्टिको अन्मोल सिर्जना
ट्वाक्क, क्या स्वादसँग चाखेजस्तो ।
हो, ठुल्दाजु !
यो देशमा,
समुन्द्रको आँधि भनि
डराउनुपर्दैन ।
बालुवाको समाधिमा
हराउनुपर्दैन ।
हाम्रो राष्ट्रध्वजले कसैको अधिनस्थ
फहराउनुपर्दैन।
सदैव अटल सार्वभौम छ,
कहिल्यै स्वतन्त्रताको दिवस- मनाउनुपर्दैन ।

मलाई विश्वास छ, दाजै,
देशप्रेम तपाईंको छातिमा
पनि नगढेको होइन ।
हुन त मैले,
तपाईंको छोरो बिरामि पर्दा
अस्पतालले उठाएको
मिटर नपढेको होइन ।
विलक्षण छोरी- जान नपाउँदा,
राम्रो विद्यालय,
उनको सिर्जना र उर्जा
यतिकै खेरगएको नदेखेको होइन ।
परा’र साल पहिरोमा
घरसँगै तपाईंको सपना त्यतिकै लडेको होइन ।
हिम्मतले उभिनखोज्दा-
उसो त,
बाजेले चरण परेकैहुन्-
श्री ३ महाराजको,
बा’ले पनि शाही सरकारको हजूरमा
बिन्ति भरेकै हो,
सरकारका ठेगानामा पत्र-
तपाईंले समेत पठाएकै हो-
भनेर “गरिखाने आधार देऊ,
परिआउँदा स्वामित्व लिईदेऊ,
मरिजाँदा घाटलाने
साखार जुटाइदेऊ” ।
विमुख भएछि राज्य,
तपाईंको साहस ढल्यो, नबुझेको होइन।

परन्तु दाजै!
स्वाभिमानले सिँचेको
खेतमा फलेको आँटो,
परिवारलाई एकसाथ बाँध्ने
प्रेमिल गाँठो,
बालखा छँदा दैडिएको
त्यहि परिचित बाटो,
के अरबका सुन
या खर्बका सहरमा भेटिन्छन् र ?

हिजोआज नि, ठुल्दाजु,
हाम्रा-
डम्फूको तालमा फक्रने
म्होन्दोमाया
ओइलाएकिछिन् ।
लुङ्गास्योकी खिन्न मन देखेर
च्याब्रुङ्ले छोडेको छ- घन्किन ।
झ्याउरेमा
सोल्टिनीको विरह गित सुनेर
मादलले भुलेको छ- रन्किन ।
गोडाहरू नभएपछि हुड्कामा उफ्रिने,
लङ्गडो भएकोछ- हुड्केली ।
अब त निभ्नै आँटेकोछ,
झिँझियाले घैँटो भित्र बालेकी- दियो पनि ।

दाजै,
आऊ, बरू रित्तै आऊ ।
मलाई
“बाबू! तँ विदेश नजा। यहीँ कर्म गर् ।”
भन्ने ढडास लिएर आऊ ।
तर,
आमाको चित्त काटिने,
भाउज्युको सिँउदो फाटिने,
रातो बाकस भरिएर नआऊ ।

ठुल्दाजु,
विछोडिएको प्रेमको
हुनेछ मिलन,
धूमिल आशामा
जाग्नेछ उत्साह,
उजाडिएको वृक्षरूपि यो देशमा,
तपाईं घरफिर्ती सँगै
पलाउनेछ बसन्त।

ठुल्दाजु!
कम्जोरी नसम्झौँ न
हाम्रा रितहरू लाइ,
धनमा नमोलौँ न
मनमित प्रितहरू लाइ,
सानो नठानौँ न
हाम्रा कालजयी जितहरू लाई ।
है, ठुल्दाजु, हुन्छ नि है?

अदित्य राम (रिजन), गोरखा 

अन्धविश्वास / सुवास सजल

साँझ झमक्कै पर्न लागेको थियो।
हतार हतार दुई दाजुभाइको कदम डेरा तर्फ लम्किँदै थियो ।

लोडसेडिङको तालिकाले गर्दा बिजुली आउने बित्तिकै खाना पकाउने देखि लिएर भोलि बिहानसम्मको लागि सबै कुराको तयारी गर्नुपर्ने एक किसिमको हतारो र तनाव थियो दाजुभाइलाई ।

अचानक भाइको कदम रोकियो ।
“कस्तो लोदर लगायो कालो बिरालोले बाटो काटेर ।”
हिँड्दा हिँड्दै भाइ झस्कियो ।

अरे भाइ ! तँ, कुन जमानामा छस् यो एक्काइसौँ शताब्दीमा आएर नि, यस्तो अन्धविश्वासमा अड्किने हो ? पढेलेखेको मान्छे भएर यस्तो कुराको विश्वास गर्न सुहाउँदैन हिँड् छिटो रुममा बत्ती आउने बेला हुन लागी सक्यो ।

यस्ता अन्धविश्वासले गर्दा नै नेपाल र नेपाली समाजलाई वर्षौं पछाडि धकेल्ने काम गर्छ । यस्तो अन्धविश्वासमा शिक्षित वर्गहरू लाग्न नहुने साथै यसलाई त बिस्तारै निर्मूल गर्दै जानुपर्ने अर्ती उपदेश दिँदै केही बेरको हिडाईपछी, दाजुभाइ आफ्नो डेरामा पुग्छ,आफ्नो कोठामा बिजुली छ कि छैन भनेर, छिमेकीको कोठा तर्फ हेरेर निश्चित गर्छ र कोठामा छिरेपछी, भाईलाई “ओइ बत्ती बाल त” भनेर आफू छेउकै खाटमा बसेर दाईहुनुको फाइदा लिन्छ। भाइले हस भन्दै बत्ती बाल्छ, र दाईतिर हेर्छ, दाइले बत्ती तिर हेरेर तिनचार पटक ढोक्छ।

कविताः देशले के दियो ? / देशले के दियो?

देशले के दियो ?
यो देशले आफ्नो सुन्दर भुमिमा जन्मने शौभाग्य दियो ।
मेची दियो महाकाली दियो ।
हिमाल दियो पहाड तराई संगै लाखौ प्राकृतिक सुन्दरता दियो ।
डाँफे दियो लाली गुरास दियो एक सिङ्गे गैडा दियो ।
बिश्वकै अग्लो सगरमाथा सहितको सयौ हिम शृङ्खला दियो ।
भगवान गौतम बुद्द दियो।
सीता दियो जानकी अनि भृकुटी दियो ।
सन्दुक रोइत दियो, महाबिर पुन दियो ।
पुर्खाले वीर गोर्खालिको चिनारी दियो ।
र संगै दियो
यसलाई बेची खाने भक्षकहरु ।
भक्षकहरुले हामिलाई के दिए ?
भक्षकहरुले हामी सबथोक दिए
बेरोजगारी दिए ।
महङ्गी दिए ।
भोकमरी दिए ।
भ्रष्टाचार दिए ।
अन्यया दिए ।
बेतिथी दिए ।
कार्यकर्ता बन्ने मौका दिए ।
गाउँ गाउँमा राजाहरुको जन्म दिए ।
खाडी जाने अवसर दिए ।
देश छोड्न पासपोर्ट र अन्तर्राष्ट्रिय विमान स्थल दिए ।
मेची महाकाली छिमेकिलाई दिए ।
सक्षम र विद्वान युवा युरोप अमेरिकालाई दिए ।
देशलाई वृद्ध र बालबालिका दिए ।
ब्यापारीलाई लुट्न मौका दिए ।
अपराधीलाई संरक्षण गर्न पाटी र दल दिए ।
घरको साँचो छिमेकिलाई दिए ।
किशानलाई आश्वासन वचन दिए ।
अन्तत
गरिबलाई झुन्डिन पासो अनि जल्न पेट्रोल र सलाई दिए ।

अभिराज खाती अन्जान, मकवानपुर