Home Blog Page 11

उदय अधिकारीको २ पुस्तकहरू आउँदै

संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

२१ भाद्र/नवसाहित्य । ‘किताबी किरो’ उपनामले चिनिने उदय अधिकारीद्वारा लिखित २ पुस्तकहरू बजारमा आउने भएका छन् । “प्रश्नको घेरामा समय” पुस्तकमा १० महिला सर्जकहरूसँगको अन्तर्वार्ता उल्लेख भएका छन् भने “साकार समय” मा लेखक शैलेन्द्र साकारसँगका अन्तर्वार्ताहरू समावेश गरिएका छन् ।

मूलतः कविता विधामा योगदान पुर्‍याउनुहुने साहित्यकार साकार एक अन्तर्वार्तामा भन्नुहुन्छ- “कविता लेख्नु हाइभोल्टेजको नाङ्गो तार समात्नुजस्तै हो ।” उहाँसँगका सवालजवाफहरू पुस्तकमा समावेश भएको लेखक/सम्पादक अधिकारी बताउनुहुन्छ ।

यसअघि १० लेखकहरूसँगको अन्तर्वार्ता उल्लेखित “प्रश्न” पुस्तकबाट चर्चा कमाउनु भएका अधिकारीले गत जेठमा समालोचक, लेखक, राजनैतिक विश्लेषक खगेन्द्र संग्रौलासँगको अन्तर्वार्ता पुस्तक “अविश्रान्त लखरलखर” पुस्तक ल्याउनु भएको थियो ।

“प्रश्न” समकालीन ६ लेखकहरू; अभि सुवेदी, नारायण ढकाल, सरूभक्त, श्यामल, श्रवण मुकारूङ र मनु मन्जिलसँग गरिएको अलगअलग अन्तर्वार्ताको सँगालो हो । यस्तै “प्रश्नको घेरामा समय” मा १० आख्यानकार महिलाहरूमध्ये चीरहरण, अर्की आइमाइ, द्रौपदी अवशेषका लेखक तथा योगमाया कृतिका लागि मदन पुरस्कार विजेता निलम कार्की निहारिका एक हुनुहुन्छ । ‘नथिया’, ‘स्व’ लगायत पुस्तककी लेखक सरस्वती प्रतिक्षासमेत यस पुस्तकमा सवाल थेग्ने एक पात्र हुनुहुन्छ । त्यसो त ‘याम्बुनेर’ की लेखक बिना थिङका साथै ‘फिलिङ्गो’ की लेखक प्रभा बराल, ‘सनेस’ की लेखक रेणुका जिसी, ‘सहअस्तित्वको खोजी’ पुस्तककी लेखक अर्चना थापालगायतका लेखकहरूसँगका विविध विषयमा गरिएका अन्तरक्रियाहरू यसमा समावेश छन् । प्रकाशोन्मुख दुवै पुस्तकलाई शिखा बुक्सले  बजारमा ल्याउन लागेको हो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

युवा वर्ष मोती पुरस्कार २०८१ केदार श्रेष्ठलाई

संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

२० भाद्र, मकवानपुर ।
नवसाहित्य । ‘युवा वर्ष मोती पुरस्कार २०८१’ बालसाहित्यकार तथा रङ्गकर्मी केदार श्रेष्ठलाई अर्पण गरिएको छ । १५९ औँ मोती जयन्तीको अवसरमा एक समारोहबिच ४० हजार रुपैयाँको थैली, स्वर्ण पदक र सम्मानपत्रले उहाँलाई पुरस्कृत गरिएको हो ।

प्रा. रामकुमार पाँडेको संयोजकत्वमा राष्ट्रिय युवा सेवा कोषद्वारा गठित मूल्याङ्कन समितिको सिफारिसको आधारमा धादिङ जिल्ला निवासी श्रेष्ठ पुरस्कृत हुनु भएको हो । बालसाहित्य र रङ्गमञ्चमार्फत् नेपाली भाषा, कला, साहित्य र संस्कृतिमा योगदानबापत पुरस्कृत श्रेष्ठ बालसाहित्य क्षेत्रमा कथा लेखन, कथा–कथन, बालनाटक, चलचित्र लेखन, निर्देशनमा सक्रिय हुनुहुन्छ ।

नेपाली साहित्यमा युवा पुस्तालाई लेखनमा हौसला दिने पुरस्कारका रूपमा चिनिएको यस पुरस्कार राष्ट्रिय विभूति तथा नेपालमा गजल विधा र छापाखानालाई स्थापित गराउने व्यक्तित्व युवाकवि मोतीराम भट्टको सम्झनामा वि.सं. २०४२ मा स्थापना भएको हो ।

४० वर्ष ननाघेका युवा सर्जकलाई नियमित प्रदान गरिँदै आएको ‘युवा वर्ष मोती पुरस्कार’ सर्वप्रथम साहित्यकार दैवज्ञराज न्यौपानेलाई प्रदान गरिएको थियो । यसअघि साहित्यकारद्वय प्रकाश पौडेल/हेम अधिकारी, महेश पौड्याल/मीनकुमार श्रेष्ठ सम्मानित हुनु भएको थियो भने २०७९ को पुरस्कारबाट मकवानपुरका युवाकवि बिर्खे अन्जान सम्मानित हुनु भएको हो ।

लेखनाथ साहित्य सदन, सोह्रखुट्टे काठमाडौँमा आयोजित कार्यक्रमका क्रममा मोतीराम भट्टले सुरू गर्नु भएको समस्यामुलक साहित्य लेखनका सम्बन्धमा कवि सम्मेलन समेत सम्पन्न भएको छ ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

Section Title

मुक्तक मञ्च मकवानपुरको चौथो वार्षिकोत्सव, दोस्रो अधिवेशन एवं स्रष्टा सम्मान फागुन १६ मा

नवसाहित्य डटकम संवादाता हेटौँडा । नेपाली साहित्यको मर्मस्पर्शी विधा मुक्तकको श्रीवृद्धिका लागि...

गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

नवसाहित्य डटकम समाचारदाता गीतकार श्रीराम राईको नयाँ गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन...

मोनिटाइजमा महाराजको दिव्योपदेश

नवसाहित्य डटकम एकाबिहानै फेसबुकको एउटा “मोनिटाइजका लागि सहकार्य गरौँ” भन्ने ग्रुपमा राष्ट्रनायक...

पर्याकविता प्रतियोगितामा पौडेल, जोशी र किरण सिवा पुरस्कृत

संप्रस पौडेल समाचार प्रमुख पौष २६, नवसाहित्य । राष्ट्रिय पर्याकविता प्रतियोगिता २०८२ मा मकवानपुरका...

‘तेस्रो राष्ट्रिय पर्याकविता उत्सव-२०८२’ – बहस एवम् कविता प्रतियोगिता हुँदै।

नवसाहित्य डटकम समाचारदाता                हेटौँडा, २५ पुस । साहित्य सङ्गम मकवानपुरको ३९ औँ...

कवि नवराज पराजुली कविताका गुच्छाहरू लिएर कन्सर्टका क्रममा हेटौँडा आउँदै हुनुहुन्छ ।

२४ पुष, हेटौँडा । नेपाली कविता लेखन र वाचनमा छुट्टै पहिचान बनाउनुभएका कवि विशेषता युवा पुस्तामाझ...

डरलाग्दो अन्त्य मानव सभ्यताको

सुबास सजल कवि डरलाग्दो अन्त्य मानव सभ्यताको मलाईदर्दनाक लाग्दैन,बाघले मृग खाइरहेको दृश्य!...

अमेरिका ! ओ अमेरिका!

सुबास कवि अमेरिका ! ओ अमेरिका! अझै कति निर्दोषहरुको रगत पिएपछिमेट्ने हो तिम्रो, पूँजीवादको तिर्खा?...

“म”लाई आकार

सुबास सजल कवि “म” लाई आकार उडेर पुग्छन् अचानक गोप्य सूचना!प्रशासनको कानसम्म। आजकान्छामान...

‘अद्वैत’ उपन्यासलाई ‘कविडाँडा राष्ट्रिय आख्यान’ पुरस्कार २०८०

संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

२० भाद्र/नवसाहित्य
कविडाँडा साहित्य समाज, चितवनले २०८० सालको ‘कविडाँडा राष्ट्रिय आख्यान’ पुरस्कार कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई प्रदान गर्ने निर्णय गरेको छ ।

प्रत्येक वर्ष आख्यान कृतिलाई पुरस्कृत गर्दै आइरहेको समाजका अध्यक्ष एल.बी. क्षेत्रीद्वारा जारी विज्ञप्तिमा कृतिले पूर्वीय सभ्यताले प्रतिपादन गरेको अद्वैत सिद्धान्तलाई विभाजित विश्वलाई जोड्ने कडीको रूपमा पहिचान गरेको उल्लेख छ ।

यससम्बन्धमा समाजका अध्यक्ष एलबी क्षेत्री भन्नुहुन्छ- “यस उपन्यासले अनेक मत र विश्वासहरूमा विभक्त मानव समाज क्रमिकरुपले बिग्रहतिर उन्मुख हुँदै गएको आजको सन्दर्भमा मानवताको सार मूलतः एक रहेको र विश्वास, मत र पन्थहरूको पनि मूल एक रहेको तर्क गर्दै मानव समाजमा समभाव, परानुभूति र ऐक्य स्थापना गर्ने सार्थक प्रयास गरेको छ र यस प्रयासलाई अति परिष्कृत र बोधगम्य भाषा र ढाँचामा प्रस्तुत गरेको छ । कृतिले पूर्वीय सभ्यताले प्रतिपादन गरेको अद्वैत सिद्धान्तलाई विभाजित विश्वलाई जोड्ने कडीको रूपमा पनि पहिचान गरेको छ ।”

२०६० सालमा स्थापित समाजले १ महिनाअघि श्रेष्ठ सूचीअन्तर्गत १० कृतिहरू सार्वजनिक गरेको थियो जसमा विष्णु सापकोटाको `अडिएका पाइला´ उपन्यास, कृष्ण गौतमको `अद्वैत´ उपन्यास, रमेश सायनको `अन्तर´ उपन्यास, सानु शर्माको `अर्को देशमा´ कथासङ्ग्रह, विश्व कुइँकेलको `गोपिचा´ उपन्यास, जीवन जीवन्तको `चरैवेति´ उपन्यास, भक्त स्याङ्तानको `डम्फुको आत्मालाप´ कथासङ्ग्रह, खेम बतासको `बुढीपोल्ली´ कथासङ्ग्रह, गोविन्दप्रसाद कुसुमको `भृकुटी´ उपन्यास र रोशन थापा निरबको `सन्त्रासका साठी दिन´ सूचिकृत थिए ।

१० कृतिहरूमध्ये उत्कृष्ट ५ आख्यानहरूमध्ये पुरस्कृत कृति ‘अद्वैत’ का साथै सानु शर्माको कथाकृति ‘अर्को देशमा’, विश्व कुइँकेलको उपन्यास ‘गोपिचा’, गोविन्दप्रसाद कुसुमको उपन्यास ‘भृकुटी’ र रोशन थापा ‘नीरव’को उपन्यास ‘सन्त्रासका साठी दिन’ परेका थिए ।

यसअघि महेश थापाको `मरिचिका´ (कथासङ्ग्रह), श्याम शाहको `पथेर´ (कथासङ्ग्रह), भुवन ढुंगानाको `परित्यक्ता´ (उपन्यास), लोकराज भट्टको `छाइल´ (उपन्यास) तथा २०७९ सालमा देवीप्रसाद सुवेदीको `मनु´ उपन्यासले सो पुरस्कार प्राप्त गरेका थिए ।

शिखा बुक्सले प्रकाशनमा ल्याएको ‘अद्वैत’ का लागि नगद राशि १ लाख २५ हजार रुपैयाँ प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

(झसाप) मकवानपुरले महेन्द्र माविमा मनायो तिज ।

नवसाहित्य डटकम

कवि/गजलकार/मुक्तककार/नियात्राकार

२० भाद्र, मकवानपुर ।
नवसाहित्य । मकवानपुरको अग्रणी साहित्यिक संस्थाको रूपमा रहेको झरना साहित्यिक परिवार (झसाप) मकवानपुरले नारीहरूको महान् पर्व तिजको अवसरमा बिहिवार महेन्द्र मावि (प्राबिधिक शिक्षालय) बकैया–४, छतिवनमा सांस्कृतिक कार्यक्रम तथा नृत्य प्रतियोगिता गरेको छ ।

झसाप मकवानपुरका संरक्षक रमेशमोहन अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बकैया–५ का वडाअध्यक्ष लक्ष्मी जिम्बा, बकैया–४ का कार्यवाहक वडाअध्यक्ष विजय भोलन, (झसाप) मकवानपुरका संरक्षक तथा महेन्द्र माविका विव्यस अध्यक्ष परशुराम गौतम, बकैया गाउँपालिका कार्यपालिका सदस्य लक्ष्मी माझी, समाजसेवी चन्द्रकुमार राई, (झसाप) मकवानपुरका संरक्षक उद्धवप्रसाद सापकोटा, विष्णुहरि महर्जनलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा भएको नृत्य प्रतियोगिताको निर्णय दुई समुहमा गरिएको थियो । कक्षा ६–१२ तह अर्न्तगत सलिना भोम्जन, सोनिका गौतम, अस्मिता बाईबा, समिक्षा जिम्बा र मनिषा तितुङको समुह प्रथम, रेशु जिम्बा, दिपिका थिङ र गंगा गोलेको समुह द्धितिय र सुविना श्रेष्ठ, सुमिना गोले, सिर्जना लामा, सोनिया माझी, प्रास्ना थिङ र सोनिया तितुङको समुह तृतिय भएका थिए । यस्तै कक्षा १–५ तह अर्न्तगत रितिका माझी, बास्ना मोक्तान, जेनिषा थिङ र आयुषा रसाइलीको समुह प्रथम, आरध्या बस्नेत, प्रियल घलान, सन्तोषी सुनार, अन्जना लामा र सुप्रिया माझीको समुह द्धितिय, सोनिक्षा थिङ र अब्नी राईको समुह तृतीय भएका थिए । नृत्य प्रतियोगिताको निर्णायकमा शिक्षक कल्याण राई, दीपा बल र सम्झना केसीले गर्नुभएको थियो ।

हरेक बर्ष तिज पर्वका अवसरमा (झसाप) मकवानपुरले कार्यक्रम गर्दै आएकोमा यो बर्ष पनि महेन्द्र मावि (प्राविधिक शिक्षालय)को सहकार्यमा कार्यक्रम गरिएको (झसाप) मकवानपुरका सचिव मसान उपासकले बताउनुभयो ।

(झसाप) मकवानपुरका उपाध्यक्ष एवम् महेन्द्र माविका अतिरिक्त क्रियाकलाप संयोजक गायत्री रुपाखेतिको अध्यक्षतामा भएको कार्यक्रममा महेन्द्र माविका कार्यबाहक प्रअ छवि राईले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण महेन्द्र माविका शिक्षक बिबेक बोलखेले गर्नुभएको थियो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

बाल चित्रकथा ‘बौद्ध स्तूप’ बजारमा

संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

२० भाद्र, मकवानपुर ।
नवसाहित्य । युनेस्कोको विश्व सम्पदामा सूचीकृत बौद्धनाथ अर्थात् बौद्ध स्तूप नेपालको राजधानी काठमाडौंको पूर्वी भागमा अवस्थित छ । यही बौद्ध स्तूपको किम्वदन्तीमा आधारित रहेर बाल चित्रकथा ‘बौद्ध स्तूप’ हालसालै प्रकाशनमा आएको छ ।

बालसाहित्य समाजका पूर्व अध्यक्ष भिक्टर प्रधानले लेख्नु भएको कथामा आधारित रही चित्रकार रवीन्द्र मानन्धरका चित्रबाट सरल भाषामा प्रस्तुति गरिएको सो पुस्तकलाई कथालय इन्कले प्रकाशन गरेको हो ।

नेपालभाषामा खास्ति र तिब्बती भाषामा जारुङ खाशोर भनिने बौद्धनाथबारेको “बौद्ध स्तूप” कथा पुस्तकमा दुई छुट्टाछुट्टै कथाहरू छन् ।
– सहरमा अचानक हिटी (धारो) सुकेपछि जनताले राजालाई विन्ती गर्छन् । ज्योतिषीहरूले बत्तीस लक्षणले युक्त मानिसको बलि दिए हिटीबाट पानी आउने सल्लाह दिन्छन् । राजाले एउटा जुक्ति निकाल्छन् । नारायणहिटीमा पिशाचले बास गरेकाले मध्यराति गएर त्यसको टाउको छिनाल्न राजकुमारलाई उनी अह्राउँछन् । राजकुमारले सोहीमुताबिक सेतो कपडामा बेरिएर सुतेको पिशाचलाई एकै झमटमा तरबार प्रहार गर्छन् । अफसोस, उछिट्टिएर उनको हातमा आएको टाउको आफ्नै बुबाको हुन्छ । अब के होला ? कथाको मूल रहस्य त्यसपछि सुरु हुन्छ ।

बालसाहित्यको विकासका लागि अनुसन्धान, लेखन र अनुवाद कार्यमा सक्रिय प्रधानले बालसाहित्यका सयौँ पुस्तक सम्पादन तथा अनुवाद गर्नु भएको छ । त्रिभुवन विश्वविद्यालयमा नेपाली भाषाका प्राध्यापन अनुभव रहेका उहाँ इतिहास, भाषाभाषी, जातजाति, कलासंस्कृति, परम्परा आदिको अध्येता हुनुहुन्छ ।

नवसाहित्यसँगको कुराकानीमा अध्येता तथा लेखक प्रधानले भन्नुभयो- “विगतमा लेखिएका पौराणिक शास्त्रका कतिपय विषयहरू काल्पनिक हुन् । आजका मानिसले काल्पनिक र वास्तविक छुट्याउनुपर्ने हुन्छ । किताबमा लेख्नेबित्तिकै सही हुने भनेर मान्नुभन्दा पनि लेखिइसकेका विषयहरू देशको इतिहास भएकाले यसको संवर्धन र जगेर्ना गर्दै अघि बढ्नु आवश्यक हुन्छ ।”

उहाँले थप्नुभयो- “तिब्बतीहरूका इतिहासमा राजा, चरा, हात्ती आदि पुनर्जन्म लिने मात्रै होइन कतिपय शास्त्रहरूमा त अवतारका नाममा पछि कथिएका कथाहरूलाई समावेश गर्ने गरिएको छ । राजा महाराजाहरूले अनि कथा लेख्ने लेखकहरूले सर्वोच्च व्यक्ती अनि उसको चाहनालाई बुझेर वा आत्मप्रशंसामा रमाउनेका लागि उसैलाई अन्तरयामी बनाएर भइसकेका कुराहरूलाई पहिल्यै भनेको भन्ने बनाएर लेखिएका इतिहास, परम्परा, सँस्कृतिलाई पनि बिर्सन नहुने तर यी यसैगरी निर्माण भएका हुन् भन्ने कुरा भने बुझ्न जरूरी हुन्छ ।”

चित्रकार रविन्द्र मानन्धर लामो समयदेखि चित्रकारितामा आबद्ध हुनुहुन्छ । त्यसो त पत्रपत्रिकामा व्यङ्ग्यचित्रमा समेत स्थापित मानन्धर २२ वर्षदेखि सो क्षेत्रमा लगनशील भएर लागिरहनु भएको छ । प्रधानका शब्द अनि मानन्धरका चित्रहरूले किताबलाई रोचक बनाएको छ ।  (तस्बिर स्रोतः कथालय)

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

स्काेप कास्कीद्वारा साँस्कृतिक नृत्य प्रतियोगिता सम्पन्न

नवसाहित्य डटकम

संवाददाता

पाेखरा १८, मङ्गलबार
शैक्षिक तथा सम्पूर्ण विद्यालयकाे उन्नयनमा क्रियाशील हुने पवित्र लक्ष्यका साथ स्काेप कास्कीले हरेक वर्ष गर्दै आएकाे सामुहिक सांस्कृतिक नृत्य प्रतियोगिता यस वर्ष पनि भव्य रुपमा सम्पन्न गरेकाे छ । कक्षा एकदेखि पाँचसम्ममा ‘जुनियर तह’ र कक्षा छदेखि दशसम्ममा ‘सिनियर तह’ मा छुट्टाछुट्टै मुल्याङ्कन गरी भएको उक्त कार्यक्रम नेपाली कला र संस्कृतिकाे प्रतिबिम्ब बनेकाे देखिन्थ्याे । ज्ञानसागर एकेडेमी कक्षा ११ की छात्रा लक्ष्मी सुनारबाट स्वागत नृत्य प्रस्तुत भएको थियो ।

मन्तव्यका क्रममा प्रमुख अतिथि प्राज्ञ तथा वरिष्ठ लाेक गायक प्रजापति पराजुलीले नयाँ पुस्तालाई हाम्रो संस्कृति र हाम्रो माैलिकतासँग सन्निकट बनाउन कार्यक्रम निकै फलदायी भएको बताउनुभयो ।

सामुहिक सांस्कृतिक नृत्य प्रतियाेगिताकाे सिनियरतर्फ ज्ञानगंगा स्कुल, ज्ञानसागर एकेडेमी, शान्ति निकेतन स्कुल र सरस्वती सेकेण्डरी बाेर्डिङ स्कुल क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुन सफल भए भने जुनियरतर्फ पाेखरा स्पाइरल ग्यालेक्सी बाेर्डिङ स्कुल प्रथम, शान्तिनिकेतन स्कुल र सनफ्लावर बाेर्डिङ स्कुल द्वितीय, ज्ञानुबाबा सेकेण्डरी बाेर्डिङ स्कुल तृतीय र ज्ञानगंगा स्कुल सान्त्वना हुन सफल भए ।

उक्त प्रतियोगिताकाे मुल्यांकन समितिमा बुद्धिबहादुर गुरुङ (गाैरी), रविन गुरुङ र प्रिती गुरुङ रहनु भएको थियो ।

कार्यक्रममा एसइइ परीक्षामा चार जिपीएसहित नेपाल प्रथम हुने स्काेपका विद्यार्थीलाई कदर पत्र, दाेसल्ला र नगदले कदर तथा सम्मान गरिएकाे थियाे । सम्मानित विद्यार्थी र विद्यालयहरुमा शान्ति निकेतनबाट अदिती पराजुली र डिज्नील्याण्ड एकेडेमीबाट सृष्टी भण्डारी, सृष्टिना पाैडेल र स्मृति लम्साल रहेका थिए । यसैगरी उक्त अवसरमा सरस्वती सेकेण्डरी बाेर्डिङ स्कुलकी इमा थापा मगरले थाइल्याण्डमा सम्पन्न विश्व च्याम्पियनसिप  हप्किदाे प्रतियोगितामा तेश्राे हुन सफल भएकोमा कदर एवम् सम्मान गरिएको थियाे । यसरी सफल नतिजा प्राप्त गर्ने शान्ति निकेतन स्कुल, डिज्नील्याण्ड एकेडेमी र सरस्वती बाेर्डिङ स्कुललाई समेत सम्मान गरिएको थियाे ।

स्काेप कास्कीका अध्यक्ष डा. महेश्वर पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दुर्गा बहादुर थापाले स्वागत गर्नुभयो भने कार्यक्रमलाई सहजीकरण सचिव दीपक शाह एवम् कार्यक्रम संयाेजक छन्दमणि त्रिपाठीले गर्नु भएको हो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

कविता: बाजस्तै बा बन्न सकूँ

डीबी बर्तौला

कवि/गजलकार/मुक्तककार

दु:खको सागर पिएर
मुस्कुराउने बा हुन्।
समस्याको पहाडले
थिचिएर पनि
हरपल रमाउने बा हुन्।
जबजब समस्याले गिज्यायो
तबतब बा समाधान बनेर
आसपासमै रहेर
ढाडस दिनु भो।

बा नहुनू
हृदयको धड्कन रोकिनु
सुरक्षा कबज हराउनु
खुसीको रङ्ग मेटिनु
घर घरजस्तो नहुनु

जीवनको गोरेटो छुट्नुजस्तै हो।

मेरा बा सदाका लागि हराएपछि
बेस्सरी हृदय चहराएपछि
बिस्तारै समयको अन्तरालसँगै
महसुस भयो कि
मैले टेकेको धर्ती
मैले पाएको उपलब्धि
मेरो खुसी र सफलताको हकदार
केवल मेरा बा हुन्

बाजस्तै प्रेमिल बनेर
अनि मेरा बाजस्तै
मेरो छोराको आदर्श बा बन्न सकूँ
बाको धर्म निभाउन म बा बनेर
बाको गरिमा बढाउन सकूँ
यही आशीर्वाद दिनुस्
बाजस्तै बा बन्न सकूँ।।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

कविता: बा

किशन पौडेल

कवि/गजलकार/मुक्तककार/नियात्राकार

बा
अभावका पहाडहरू बोकेर
मुगलानतिर भासिनु भो
दस नङ्ग्रा खिँयाएर
सन्ततिका सुन्दर भविष्य गोडमेल गर्दै
सुस्केरामा मिठो भाका भर्दै
सारङ्गीका तारहरू झैँ रेटिनु भो ।

बा
पौरखी हातहरू फैलाएर
दरिलो छाती बोकेर
फौजीमा भर्ती हुनु भो,
सन्ततिहरूकै भविष्य सुनिश्चित गर्न
अरूकै शत्रुहरूसँग लड्दै
बहादुर बन्नु भो ।

बा
एक हल गोरुहरू नारेर
पाटेबारीमा दिनभरि
गोरुसँगै नाचिरहनु भो,
सन्ततिका सपनाहरू बुन्दै
खेतका गराहरूमा
कोदालीसँग परेड खेलिरहनु भो ।

दिनभरि बाउसे गरेर थाक्नु भएको
बाको निधारमा मैले
कहिल्यै थकान देखिन ।

काँधमा जिम्मेवारी
र कर्तव्यको भारी बोकेर
सन्ततिका रहरहरूलाई गोडमेल गर्दै
अभावहरूसँग हाँस्दै जुधिरहनु भो ।

खै पीडाहरू पनि
कहाँ लुकाउनु हुन्छ बा
कहिल्यै बाँड्ने कोसिस गर्नुभएन
गुजमुज्ज परेका पन्नाजस्तै
चाउरी परेका बाका अनुहारमा
पीडाका वक्र रेखाहरू सलबलाउँछन् ।
खोपिल्टा परेका गालाहरू
दुःखका गहिरो सागर जस्तै लाग्छ

ती स्वाभिमानी पौरखी हात
त्यो बहादुर छाती
आदर्श र सङ्घर्षको प्रतीक बनेर
पहाड झैँ अटल भएर उभिएको छ
मेरो मानसपटलमा
मेरो स्मृतिमा !

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

मोतीराम भट्टको १ सय ५९औँ जन्मजयन्ती विशेष सामग्री

नवसाहित्य डटकम

नवसाहित्य डेस्क

वि.सं. १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर वि.सं. १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन हुनुभएका नेपाली साहित्यकार मोतीराम ।

नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्‍याउने पहिलो पुस्ताका साहित्यकारका रूपमा मोतीरामलाई नै चिनिन्छ। १९४० देखि १९७६ सालसम्मको नेपाली साहित्यमा श्रृङ्गारिक धाराको सुरुवातकर्ता मोतीराम भट्टले नै १९४८ सालमा ‘कवि भानुभक्तको जीवनचरित्र’ लाई प्रकाशमा ल्याउनु भएको हो ।

राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

नेपाली साहित्यको शृङ्गारिक धारामा विशेष योगदान पुर्‍याउने युवाकवि मोतीरामलाई नेपालमा छापाखाना भित्र्याउने श्रेय समेत जान्छ । त्यसो त यही छापाखानामार्फत् नै नेपालमा पत्रकारिताको सुरुआत भएको हो । साहित्यिक पत्रकारिताको छवि बनाउनु भएका भट्टले भारतीय तथा उहाँका हितैषी मित्र रामकृष्ण वर्माको सहयोगमा ‘भारत जीवन’ को नेपाली संस्करण प्रकाशन गराउनु भएको भनिएता पनि त्यसको सम्पादक रहेको भन्ने विषयक आधिकारिकताबारे भने लेखकवृत्तमा विवाद रही आएको पाइन्छ ।
०००
५ वर्षको उमेरमा अक्षरारम्भ सुरू भएपछि ६ वर्षकै उमेरमा बुवाआमाका साथ काशीमा संस्कृत, व्याकरण, उर्दु, फारसी, हिन्दी, अङ्ग्रेजी भाषाको ज्ञान लिने मात्र नभइ गायन र वाद्यवादन समेत सिकेका पढ्नमा पाइन्छ । उहाँलाई थुप्रै विधामा परिचित गराइन्छ- प्रथम जीवनी लेखक, समालोचक, अन्वेषक, पत्रकार, नेपाली गजलकार, मुद्रणालयका संस्थापक, साहित्यिक सङ्गठनकर्ता, पुस्तकालय संस्थापक आदि ।

भानुभक्तीय रामायणलगायत संस्कृत भाषामा लेखिएका कृतिहरूलाई धमाधम नेपालीमा अनुवाद गरी प्रकाशन गराएछि जनमानसमा आफ्नै बोलीचालीको रचना मिलेकोले घरघरमा रामायण पाठ हुन थाल्यो । प्रियदर्शिका, पिकदूत, चाणक्यनीति, गफास्टक, सङ्गीत चन्द्रोदय गजल सङ्ग्रह, प्रल्हाद भक्तिकथा, शकुन्तला नाटक उहाँकै देन हुन् ।

२००८ सालमा जनस्तरबाट स्थापित नेपाली शिक्षा परिषदले नेपालमा संस्थागतरूपमा कवि गोष्ठी गर्ने गरेको जस पाएको छ । यो वर्ष अर्थात् परिषदको ७४औँ स्थापना दिवस र गोपाल पाँडे असीमको ११२औँ जन्मजयन्तिको अवसर पारेर संस्थाले शिक्षाविद प्रा.डा. विद्यानाथ कोइराला र साहित्यकार प्रद्युम्न जोशीलाई सम्मान गरेको छ । त्यसो त मोतीरामलाई राष्ट्रिय विभूति बनाउनुको श्रेय नै परिषद स्थापना गर्ने गोपाल पाँडे असीमलाई जान्छ ।

धेरै भाषाका ज्ञाता रहेकाले ‘क्वाँटी कविता’ रच्न सक्ने मोतीरामले नै नेपाली भाषाको रामायणलाई ‘नेपाली भाषाको पहिलो संस्करण’ का रूपमा बेलायतमा दर्ता गराउने उहाँ ३ वर्षको उमेरमा निधन भएका भानुभक्तलाई आजसम्म संसारभरिका नेपाली भाषीहरूबिच चिनारी बनाउनमा उहाँकै योगदान रहेको छ । त्यसो त ती कृतिमा आफ्नो नामसम्म नराखी प्रकाशन गराउने मोतीरामबाट सामान्य सम्पादन र हेरफेरमा पनि सम्पादकको लम्बेतान लेखन गराउने आधुनिक लेखकहरूले जान्न जरूरी हुन सक्छ ।

भानुका सिर्जनाहरूलाई अनुवाद, प्रकाशन, सर्वव्यापकता गराएकै कारण मोतीरामले भानुभक्तलाई ‘जन्माए’ भन्ने गरिन्छ ।
त्यसो त भानुभक्तद्वारा लिखित र मोतीरामद्वारा अनुवादित तलको श्लोकमा रहेको ‘मो’ शब्दमाथि पनि किचलो नभएको भने होइन । भानुभक्तले नलेखेर मोतीरामले नै सो शब्द राखिदिएको भन्ने विभिन्न तर्कहरू पनि लेखकवृत्तमा वहसको विषय बन्ने गरेका छन् ।

भर् जन्म घाँसतिर मन दिइ धन् कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनि भै कन आज यस्तो॥

०००
मोतीराम भट्टको केही गजलहरूः
१.
यति सम्म प्रीति गरी गरी न यता भयें न उता भयें
नत मन् लियें नत दीदियें न यता भयें न उता भयें ।।

नत होस् वासकि राखियो नत फूलको रस चाखियो
नत याद भो नत स्वाद भो न यता भयें न उता भयें ।।

बिनु औसरै सित भेट्नू तरबार लीकन रेट्नू
नत छिन्दिनू, नत नछिन्दिनू, न यता भयें न उता भयें ।।

नत साथ बस्न सँगी भयें नत दुस्मनै सरि भै गएँ
न पुरानियाँ नत मो नयाँ न यता भयें न उता भयें ।।

नत खुस् भईकन प्रेम् गरी तन रिस् गरी कन मन् हरी
न यसो गरी न उसो गरी न यता भयें न उता भयें ।। ५

२.
दुई आँखिभौँ त तयार छन् तरबार पो किन चाहियो
तिमी आफू मालिक भैगयौ सरकार पो किन चाहियो ।।

पहरा कडा छ कटाक्षको हरदम तयार मुहारमा
र भन्नु भारी महल न हो दरबार पो किन चाहियो ।।

कति चम्किलो छ हँसाइको हिसिमा किरन पनि दाँतको
मणि मोती नीर जुहार न हो अरु हार पो किन चाहियो ।। ३

३.
कहाँसम्मको आँट लौ हेर तिन्को
रिसाएर आँखा पनि तर्न लागे ।।

एकैपल्ट आँखा घुमाई दिनाले
कती मर्न लागे कती डर्न लागे ।।

सुनिस् मन् मुनियाँ बडा होस राखेस्
बिछाएर जाल् कागुनो छर्न लागे ।।

बिराना र आफ्ना नराम्रा र राम्रा
सबै सुन्दरीका अघि सर्न लागे ।।

अघि पर्न सक्दीनँ मैले हरीका
नजर्देखि ‘मोती’ पनि झर्न लागे ।। ५

४.
यता हेर्यो यतै मेरा नजर्मा राम प्यारा छन्,
उता हेर्यो उतै मेरा नजर्मा राम प्यारा छन् ।।
यसो भन्छौ त फल्फुल्मा, उसो भन्छौ त जल्थल्मा,
जता हेर्यो उतै मेरा, नजर्मा राम प्यारा छन् ।।
त्रिलोक् चौधै भवन् माहाँ प्रभु ब्यापक् जहाँ ताँहाँ,
कहाँ सम्मन् भनू यांहाँ, सबैमा राम प्यारा छन् ।।
रसीलो रामको नाऊँ भजन् तिन्को सधैं गांऊँ,
दरस्मो हर्बखत् पाऊँ दयालू राम प्यारा छन् ।।
पियारा भै हरी मेरा सधैं मन्मा गरुन् डेरा,
सबै सन्सारले भन्छन् र मोतीराम प्यारा छन् ।।५।।

५.
यस्बखत्मा प्रीति गर्नू जालमा फस्नू नहो,
आसमा पर्नू त चोखा धारमा बस्नू नहो ।।
हेरिंदैमा मन्पनी हज्जार टुक्रा ह्वैदिने,
सान गर्नू ता कटारी छातिमा धस्नू नहो ।।

आँखिभौं जोरेर हेरी क्यै नबोली तेस्घरी,
हात गाला लाइ हास्नू, बज्र को खस्नू नहो ।।
एक् त आँखा के भनू त्यै माथि गाजल् लाउनू,
विष् लिई तर्वारका झन् धारमा धस्नू नहो ।।
एक् त आफै हेर त्यो कम्मर्छिने झैं देखिने,
बाधनू तेस्लाइ झन्, निर्धो भनी कस्नू नहो ।।
प्रीति गर्नू ता कता हो नाम सुन्दैमा पनी,
झर्किनू यस्तोरि तिन्ले सर्पको डस्नू नहो ।।
आज मोतीलाई हेरी हेरि यस्ले मन्हरी,
जानू तिन्का पास आगोमा गई पस्नू नहो ।।७।।

६.
फाहा घसेर बादरा हज्जार लगाये,
बिन्ती छ बिन्ति सुन्दरी मिस्सी न लगाये ।।
ठट्टा गर्यौ त बेस् गर्यौ हुन्छ सहन्छु,
मैले पनी गरेँ भने तिम्ले न रिसाये ।।
बाजा बजाउ सुन्दछु एक्मन् दिई हरी,
मोती भनेर कोइ् गजल् गीत न गाये ।।३।।
०००
दरबार हाइस्कुलमा चन्द्र शमशेर, देव शमशेरका सहपाठी मोतीराम भट्टको ३० वर्षकै कलिलो उमेरमा निधन भए पनि अन्य भाषामा साहित्य रचना गरिरहेकामा विशेषतः नेपाली लोकगीत- बिहेमा जुहारी अनि रोपाइँमा गाइने झ्याउरेबाट प्रभावित भइ त्यसलाई नेपाली गजल लेखनमा उल्लेख गराउने, गजलको मूल धर्म श्रृङ्गारिकतामाथि व्यापक मलजल गर्दै गोरखा भारत जीवन प्रकाशन (१९४३) मार्फत् राष्ट्र अन्तर्राष्ट्रमा नेपाली साहित्य फैलाउने कार्यमा छोटो जीवनका बाबजूद पनि यथेष्ट देन दिनु भएको छ ।
देश अनि भाषा प्रेमले ओतप्रोत हुँदै नेपाली साहित्यको आधुनिक युगको सूत्रपात गर्ने युवाकवि मोतीरामलाई नेपाली साहित्यको क्षेत्रमा उज्यालो छर्ने ज्योति मान्न सकिन्छ ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

कविता : झ्यालमा देखिने एउटी सानी नानी

माधव बहादुर पोखरेल

कवि/गजलकार

हरेक दिन
सुर्यको किरण उदाए झैं
मेरो घरको ठिक पुर्व
हरेक बिहान
घरको एउटा झ्याल खुल्छ
एउटी सानी नानी
झ्यालको छेवैमा आएर बस्छिन्
र चियाउछिन् बाहिरको संसार,
बिहानीको उषा झैँ
उनी निर्मल छिन्
निश्चल छिन्
अबोध छिन्
अनि सुन्दर पनि,

झ्याल खोले संगै पस्ने
उज्यालोको प्रकाशले
कोठा झलमल्ल भए जस्तै
लाग्छ
हरेक बिहान झुल्किने
उषाको रङ्ग
उनका शरीरका
हरेक अंगमा पोतिएर
दिन दिनै इन्द्रेणी झैँ
सुन्दर बनाई रहेकोछ,

केही छिन् पछि
उनी त्यहाँ बाट हराउछिन्
उनी त्यहाँ रहन्नन्
दिन छिप्पिदै जान्छ
घाम चर्किदै जान्छ
कोठाको वातावरण
चकमन्न हुन्छ
शून्य हुन्छ!

त्यसै त्यसै घोत्लिन्छु
अनि सोच्छु
एकदिन
उनी पनि यसै गरि
घाम जस्तै छिप्पिने छिन्
अनि
हराउनेछिन्
यो रङीन संसारमा !

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन