Home Blog Page 13

पुस्तक समीक्षा: कुन खेल खेल्ने ?

सुअंश मुक्तान

बालजागृति अङ्ग्रेजी मा.वि.

यस किताबको लेखक ध्रुव घिमिरे हुन् । लेखकको जन्म विक्रम सम्वत् २०२५ मङ्सिर १३ गते कीर्तिपुरमा भएको थियो । उहाँको पिताको नाम माधव घिमिरे हो भने माताको नाम गौरी घिमिरे हो । उहाँ हाल नेपाल बाल साहित्य समाजको अध्यक्षको रूपमा कार्यरत हुनुहुन्छ । उहाँले लेख्नुभएका कृतिहरू मनुको मने, कलेजी थाल, चाडपर्वको रमाइलो आदि हुन् । लेखक लेख्नेदेखि बाहेक पुस्तक पढ्ने र गीत गाउने गर्नुहुन्छ।

यो किताबको आकार लामो र पातलो रहेको छ । यसको गातामा दुईजना बालबालिका पिङमा खेलिरहेका छन् । यो किताबलाई पाठ्यक्रम विकास केन्द्रले २०७४ मा प्रकाशनमा ल्याएको हो । मूल्य ६५ रुपैयाँ रहेको छ ।
यस कथाको मुख्य कथावस्तु खेलकुद र चाडपर्वसँग सम्बन्धित रहेको छ । यस कथामा चाडपर्वमा खेलिने विभिन्न खेलकुदहरू र तिनीहरूको रमाइला पक्षहरू समेटिएका छन् ।

पात्र चरित्र चित्रण
यस कथामा सुशील र सुशीला दुई पात्र रहेका छन् यस कथाको मुख्य पात्र यी दुवै जना हुन् र उनीहरूको स्वभाव दयालु र आज्ञाकारी रहेको छ र परिस्थिति अनुसार पात्रको स्वभाव बुझेर एक अर्काको समस्यामा सहयोग गर्ने खालका यी दुवै पात्र रहेका देखिन्छन् ।

परिवेश
यस कथाले गाउँको वातावरणलाई बुझाउन खोजेको छ गाउँको वातावरण हरियालीले भरिपूर्ण रहेको छ । हावापानी स्वच्छ र सफा रहेको छ अग्लो पहाडको फराकिलो वा सम्म भागमा पिङ हालिएको छ । त्यसै पिङको वरिपरि केटाकेटीहरू रमाइरहेको वातावरणलाई चित्रित गरिएको छ।

मूल भाव
यस पुस्तकले हामीले एकजनाले मात्र खेल्न मिल्ने खेल खेल्नु हुँदैन । सबै मिलेर खेल्दा साथीभाइ बीच खेलको नियम जानिन्छ एक अर्काको पालो कुर्नु पर्छ, खेलमा समझदारी हुनुपर्छ, मिलेर खेलिएको खेलले साथीभाइ बीचको आत्मीय सम्बन्धलाई अझ गाढा बनाउँछ । त्यसैले यस कथाले हामी सबैले मिलेर खेल्नुपर्छ भन्ने सन्देश दिएको छ ।

भाषाशैली
यस कथाभित्र सरल भाषा र शब्दहरूको प्रयोग भएको छ । सोझो हिसाबले बुझिने खालका शब्दहरू रहेका छन् पढ्दै गर्दा सबै शब्दहरूको अर्थ पनि थाहा हुने गर्छ । र यो कथा बुन्ने शैली असाध्यै सरल रहेको छ र बालबालिकाको रुचि र क्षमता अनुसार यो कथा लेखिएको छ ।

शीर्षक सार्थकता
पुस्तकको शीर्षक र यसले भन्न खोजेको कथावस्तु मिलेको छ । किनभने शीर्षकले भनेको जस्तै कथामा एकजनाले मात्र एक्लैखेल नखेलेर सबै एकैचोटी खेल्नुपर्छ । यसरी सँगै खेल्दा साथीभाइ बीच सम्बन्ध राम्रो हुन्छ । भन्ने मुख्य सन्देश दिएको हुनाले यसको शीर्षक मिल्न गएको छ ।

पाठकीय प्रतिक्रिया
मलाई यो कथा असाध्यै राम्रो र रमाइलो लाग्यो । पढ्दा सबै भाषा र शब्दहरू सजिलै बुझ्न सकिने खालको रहेको छ । पृष्ठ सङ्ख्या थोरै भएको हुनाले कथा एकैछिनमा पढेर सकियो । र कथा अझै लामो लेखिदिएको भए हुन्थ्यो भन्ने चाहिँ लाग्यो । र खेलभित्र हुनुपर्ने नियमहरू पनि भनिदिएको भए हुन्थ्यो जस्तो लाग्यो । साथीभाइ बीच मिलेर खेल्नुपर्छ भन्ने कुरा चाहिँ मलाई यो कथाको महत्वपूर्ण सन्देश लाग्यो ।

सुअंश मुक्तान
बालजागृति अङ्ग्रेजी मा.वि.
हेटौँडा–२, वासुदेव मार्ग

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

पुस्तक समीक्षा: यार्चा

रिदिमा उलक

बालजागृति अङ्ग्रेजी मा.वि.

लेखक परिचय
दुई दशकभन्दा लामो समयदेखि बाल साहित्य सिर्जनामा समर्पित अनन्त वाग्लेका ४० भन्दा बढी पुस्तक प्रकाशित छन्। उनी प्रखर कवि लेखक र कुशल सम्पादक पनि हुन्। उनले युवा वर्ष मोती पुरस्कार साझा बाल साहित्य पुरस्कार स सर्वोत्कृष्ट पुस्तक पुरस्कार लगायत राष्ट्रिय स्तरका विभिन्न पुरस्कार प्राप्त गरिसकेका छन्। यस यार्चा पुस्तकमा उनले नेपाली प्रकृति तथा कठिन हिमाली जीवनशैली प्रस्तुत गर्दै बालबालिकामा करुणा र विवेक भर्ने सुन्दर कथा बुनेका छन्।

यस पुस्तकलाई काठमाडौँ पब्लिकेसनले २०७३ मा प्रकाशनमा ल्याएको हो। यो पुस्तकले ७४ मा दोस्रोपटक ७६ मा तेस्रो पटक र ७९ मा चौथोपटक गरी पटकपटक प्रकाशित हुने अवसर पाएको छ।

विषयवस्तु
यस कथाको मुख्य पात्र मोतीको प्रमुख भूमिकामा यो कथा अगाडि बढेको छ। एकदिन मोती हतार हतार विद्यालय पुग् छिन् । विद्यालय आएपछि उनले विद्यार्थीहरूलाई एकै ठाउँमा भेला भएको देख्छिन् । यस वर्ष प्रधानाध्यापकले यार्चा संकलनका लागि बिदा नदिने निर्णय गरेका छन्। त्यो देखेर सबैजना चिन्तित र दुःखी हुन्छन्। किनभने यार्चा बेचेर नै घरमा खान र ऋण तिर्न मद्दत पुगेको हुन्छ। प्रधानाध्यापकले टाँसेको यो सूचना देखेर सबै विद्यार्थीहरु विरोधमा आउँछन् र अभिभावकहरूले पनि विद्यालय छुट्टी दिनुपर्छ भनेर निकै कर गर्छन्। विद्यालय छुट्टी हुन्छ सबैजना यार्चा खोज्नका लागि हिमालतिर उक्लन्छन्। गाउँका वृद्धा र केटाकेटी बाहेक सबैजना हुल बाँधेर गाउँ नै रित्तो हुने गरी यार्चाको खोजीमा निस्केका हुन्छन् एकै दिनमा यार्चा टिप्ने ठाउँमा नपुगिने हुँदा उनीहरू बाटोमा बास बसेर यार्चाको खोजीमा अगाडि बढ्छन्। लेखको निकै कष्टकर बसाई खाना को राम्रो व्यवस्था नहुँदा र शरीरमा तागत समेत नहुँदा यार्चा टिप्न गएकाहरू बिरामी पर्न थाल्छन्। यसैबीच काका कालीबहादुरको पनि यार्चा टिप्न जाने क्रममा नै निधन हुन्छ। ती गरिबहरूको कृपाले छाप्रोमा पनि राति चोरहरू आएर उनीहरुले लगेका भाडाकुडा समेत चोरी गर्छन्। मौसम एकदमै खराब भएका कारण यार्चा टिप्न निकै चुनौती हुन्छ। र साना केटाकेटीलाई त झन् लेक लागेर बिरामी नै पर्न थाल्छन्। यार्चा खोज्न गएका आमाबुबा पनि आफ्ना बिरामी बच्चाहरुलाई ध्यान दिन सक्दैनन्। यति दुःख गरेर यार्चा टिप्नका लागि निस्केका उनीहरूले यस वर्ष भनेजति मात्रामा यार्चा ल्याउन सक्दैनन्।

पात्रहरू
यस बाल उपन्यासभित्र मोती ,लाले ,आमा ,बुबा परिवारका अन्य सदस्यहरू, पवन सर ,डाक्टर र नेपाली चोर पात्रहरू रहेका छन् यिनै पात्रहरूले यस कथालाई अगाडि बढाएका छन्। यी पात्रहरूमध्ये पनि यस उपन्यासलाई सुरुदेखि अन्त्यसम्म डोर्याउने मुख्य पात्र मोती रहेको छ। मोतीले यस कथामा भाइबहिनीहरूलाई हेरचाह गर्ने आमाबुबाको काममा सहयोग गर्ने र सँगै गएका अन्य केटाकेटीलाई पनि कथा सुनाएर हेरचाह गरेको छ।

वातावरण
यस उपन्यासमा यार्चा टिप्न जाने गाउँलेहरूका घर, गाउँ ,त्यहाँको बाटो को बारेमा बताएको छ। घना जंगलहरू, हिँड्नलाई अप्ठ्यारो बाटो, हिउँ परेको अवस्था ,चट्टानीय पहाडलाई हिउँले छोपेर देखिएको रमाइलो दृश्य, विद्यालय ,चौतारो आदि ठाउँहरू यो उपन्यासमा रहेका छन्।

कथाको मुख्य सन्देश
यार्चा काठमाडौँ प्रकाशनले प्रकाशनमा ल्याएको बाल उपन्यास हो। जसले हिमाली भेगका गरिब अवस्था बिताइरहेको मानिसहरूको कष्टकर जीवनशैली बारे बताएको छ। एक हिसाबले भन्ने हो भने ती मानिसहरूको साहस र सङ्घर्षको कथा हो यो उपन्यास। हिमाली भागमा बसोबास गर्ने नेपालीहरूले भोगेका आर्थिक कठिनाइ गरिबीको पीडा गाउँलेहरूको स्वच्छ भावना का लागि भोग्नु परेका उतारचढावहरू यी सबै अवस्थालाई यस कथाले समेटेको छ विद्यालय छोडेरै यार्चा टिप्न जानुपर्ने विद्यार्थीहरूको पीडा सानै उमेरमा घरको आर्थिक बोझले थोपरिदिएको जिम्मेवारी यी सबै कुराहरू यस कथाले प्रस्ट्याएको छ। र अन्तमा जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि बाँच्न डराउनु हुँदैन। र जीवन धान्नका लागि जस्तो पनि संघर्ष गर्नुपर्ने रहेछ भन्ने सन्देश यस कथाले दिएको छ।

भाषाशैली
पुस्तकमा प्रयोग भएको भाषा वा शब्द नौला शब्दहरू पनि रहेका छन्। जसले पुस्तकले भन्न खोजेको कुरालाई सजिलै बुझ्न अलि कठिनाइ भएको छ।

शीर्षक सार्थकता
यस कथाले भन्न खोजेको कथावस्तु र यसले राखेको शीर्षक बीच मेलमिलाप देखिन्छ। किनभने यार्चा शीर्षक राखिएको यस उपन्यासले यार्चाकै बारेमा बताएको छ।

पाठकीय प्रतिक्रिया
यो पुस्तक मलाई निकै रमाइलो लाग्यो हामी नेपालीहरूले एउटै भूगोलभित्र रहेर पनि फरक फरक जीवनशैली बाँच्नुपरेको कथा यस उपन्यासले छर्लङ्ग पारिदिएको छ कतै सुविधा नै सुविधाले थुप्रो लागेको छ भने कतै बिहान र बेलुका छाक टार्न पनि कठिन परेको अवस्था हाम्रै नेपालभित्र रहेको पाइयो। हिमाली कष्टकर जीवनशैली बाँचेका ती बालबालिकाहरूलाई सम्झँदा मलाई निकै दया लाग्यो। लेखकलाई यस्तै यस्तै पुस्तकहरू लेख्नुहुन अनुरोध गर्दछु।

रिदिमा उलक
बालजागृति अङ्ग्रेजी मा.वि.
हेटौँडा–२, वासुदेव मार्ग

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

शिल्पी थिएटरमा ‘सोरठी’ मञ्चन सुरू

संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

भाद्र ९, आइतवार 
नवसाहित्य । मकवानपुरको भीमफेदीमा जन्मिएकी सङ्गीता थापा काठमाडौँमा नाटक निर्देशन गरिरहनु भएको छ । सञ्जय काउछा मगरको प्रकाशोन्मुख उपन्यास “सोरठी” मा आधारित नाटक काउछा र थापाको परिकल्पना तथा निर्देशनमा भाद्र ७ देखि “शिल्पी कला समूह” मार्फत् मञ्चन हुँदैछ ।

त्यसो त सङ्गीता अब्बल गजल सिर्जनामार्फत् विभिन्न जिल्लाहरूमा पुग्नु भएको छ । अभिनय सिकाइमा आधा दशक बिताइसक्नु भएकी उहाँले यस नाटकमा मगर समुदायको ऐतिहासिक कथा सँगसँगै कला, संस्कार-संस्कृति, सभ्यता र जीवनशैलीलाई नौलो ढङ्गले प्रस्तुत गरिएको बताउनु भएको छ ।

लेखनलाई पनि कलाकै विधा मान्ने उहाँद्वारा निर्दशित यस नाटकलाई बिम्ब आर्ट्सले प्रस्तुत गरेको हो भने नाटक भाद्र ३० सम्म मञ्चन हुने उहाँले जानकारी दिनु भएको छ ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

‘थापा सर’ लाई जीवन्त राख्न ‘दाना कविता’ निरन्तर लेखौँः आर.सी. रिजाल

संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

भाद्र ८, मकवानपुर ।
नवसाहित्य ।
तुल्सी थापा; मकवानपुरमा मात्र नभएर अन्य क्षेत्रमा पनि सम्मानपूर्वक नाम लिइने अग्रज साहित्यकार । मकवानपुरको उत्तरी भेगमा शिक्षा क्षेत्रको कुरा गर्दा बिर्सन नहुने नाम । जातजातिमध्ये पनि विशेषतः चेपाङलाई मूलधारमा ल्याउनमा नेतृत्व गर्ने एक सफल नेतृत्वकर्ता ।
 
अघिल्लो वर्ष आजकै दिन अर्थात् २०८० भाद्र ८ गते उहाँको असामयिक निधनपछि साहित्यिक वृत्तले शोक मानिरहेको छ । यस्तै सन्दर्भमा साहित्य सङ्गम मकवानपुरको ३४६औँ नियमित साहित्य सन्ध्या एवम् तुल्सी थापा स्मृति विशेष सम्मान तथा रचना वाचन कार्यक्रमका अवसरमा स्व. थापाको व्यक्तित्व र साहित्यिक तथा शैक्षिक देनका सम्बन्धमा सम्झना गरिएको छ ।
 
कार्यक्रमका अतिथि निमेष निखिलले मन्तव्यका क्रममा भन्नुभयो- “नेपाली भाषामा रचना लेखनका साथसाथै धेरैलाई थाहा नभएको अङ्ग्रेजी अनुवाद उहाँको अर्को विशेषता थियो । थापा सरको ‘अमरसिंहको खोजीमा अमरसिंह’ नाटक उज्ज्वल शर्मा भण्डारीको निर्देशनमा मञ्चन भइ उत्कृष्टताको रूपमा चर्चा हुनुका साथै चेपाङ भाषाको पहिलो पत्रिका ‘चिन्होजान्हो’ प्रकाशन गर्नमा थापा सरको स्मरणीय योगदान रहेको छ ।” 
 
स्व. तुल्सी थापाकी बहिनी बेली थापाले शालिन र शान्त स्वभावका दाजुको योगदान तथा सम्झनामा कविता वाचन गर्दै भन्नुभयो- “दिल लगाएर लगनशील भएर साहित्यिक क्षेत्रमा लागिपरेका सबै साहित्यिक योद्धाहरूका साथै सामाजिक यात्रा, साहित्यिक यात्रा र शैक्षिक यात्राको विषयमा मकवानपुरे साहित्य समाजले नै स्व. थापालाई सम्झिरहेको अवस्थामा उहाँ हाम्रै वरिपरी रहिरहेको आभास हुन्छ ।”
०००
आँचल साहित्य कला पुञ्जकी सचिव सबिता तिमल्सिनाले नेपालमै पहिलो पटक थापा सरद्वारा सुरू गरिएको दाना कविता लेखनबाट प्रेरित भएर आफ्ना ३ थान दाना कविता सुनाउनुभयो ।
(तिमल्सिनाको एक ‘दाना कविता’)
मनकारी
असाध्यै मनकारी छ मेरो छिमेकी
पहिला आगो लगाइदिन्छ र पानी बोकेर आउँछ ।
०००
नवसर्जकहरू आरूशी काफ्ले, आश्रीका न्यौपाने, आश्रीका कार्कीका रचनाहरू वाचन भएका छन् । कार्यक्रममा सुबास सजलले स्व. थापाका दाना कविताका साथै आफ्नै कविता सुनाउनुभयो । कार्यक्रममा किशन पौडेलले आफ्ना ३ हाइकु वाचन गर्नुभयो ।
(पौडेलको एक हाइकु)
“बलेसीबाट
मनको मझेरीमा
तप्कियो आँसु ।”
०००
कार्यक्रममा राजुराम राउत, माधव पोखरेल, यश लामा, मसान उपासक, देवराज तिवारी, सुवास खनाल लगायतले थापा सरका व्यक्तित्व र व्यक्तिगत अनुभवका साथसाथै आआफ्ना रचनाहरू वाचन गर्नुभयो ।
 
श्यामकुमार बानियाँ, हयग्रीव आचार्य र आरसी रिजालले थापा सरको स्मृति दिवसका सम्बन्धमा उहाँका बारेमा आआफ्ना अनुभव तथा व्यक्तित्व चर्चा गर्नुभयो । बानियाँले आफ्ना गुरूका रूपमा सम्झिरहने थापा सरसँगका बाल्यकालदेखिका सम्बन्धबारे चर्चा गर्नुभयो । रिजालले भन्नुभयो- “थापा सरका कारण मकवानपुरले देशमैँ इज्जत कमाएको छ । यसैले उहाँले सुरू गर्नु भएक दाना कवितालाई अभियानका क्रममा हामीले लेखन, वाचन र विमर्श सुरू गर्नुपर्दछ ।”
 
कार्यक्रममा साहित्य सङ्‍गम मकवानपुरको अक्षयकोष स्थापनामा रु. ५ हजारमाथि सहयोग गर्ने दाताहरू प्रेम हमाल, शुभद्रा हुमागाईँ, सन्तोष पौडेल, किशन पौडेल, कमल नेपाल, समर्पण न्यौपाने, बालकुमार श्रेष्ठ, संप्रस पौडेल, सुवास सजल, कैलाश ढकाललगायतलाई सम्मान गरियो ।
 
प्रमुख अतिथि तुलसी घिमिरेले थापा सरलाई सम्झनेक्रममा जीवितै हुँदा सुनाइएको कविता “मीतज्यू” सुनाउँदै भन्नुभयो- हामी दुवैले एकअर्कालाई मीतज्यू भन्ने गरेका थियौँ । एकअर्काप्रति प्रेमभाव थियो भने आआफ्ना लेखनका बारेमा चर्चा गर्ने गरेका थियौँ ।
 
सङ्गमका उपाध्यक्ष सानु खनालले स्वागत गर्नु भएको कार्यक्रममा स्वर्गीय थापाको तस्बिरमा माल्यार्पण गरी स्मरणमा मौनधारण गरिएको थियो ।  
 
अध्यक्ष डीबी बर्तौलाले सहयोग दाताहरूप्रति धन्यवाद ज्ञापन गर्दै साहित्य सङ्गमले गर्ने गतिविधिहरूलाई अघि बढाउने कार्यका लागि निरन्तर प्रयासस्वरूप ६ लाख ६० हजार रुपैयाँ प्राप्त भइसकेको जानकारी दिनुभयो । जम्मा गरिएको रकमबाट व्याज प्राप्त हुनेक्रम रहेकोले यसले आउँदा कार्यक्रमलाई निरन्तरता दिलाउन सहज हुने बताउनुका साथै नियमित रचना वाचनका साथसाथै लेखन तथा वाचन कार्यशाला, उत्सव, विमर्शलगायतका कार्यहरूमार्फत् सक्रियता जनाइरहेको स्पष्ट पार्नुभयो । अभियानका क्रममा पछिल्लो पटक २७ जनाबाट १ लाख ९० हजार सहयोग प्राप्त भएको र यो अभियान १० लाख जम्मा गरी अक्षयकोष निर्माणमार्फत् बलियो कार्यक्रम सञ्चालनको आधार हुने हुँदा सहयोगी सबैप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
 
साहित्य सङ‍्‍गम/सिस्नुपानी मकवानपुरको हलमा साहित्य सङ्‍गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षता र सल्लाहकार तुलसी घिमिरेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमलाई सङ्‍गमका सचिव मनोज पोखरेलले सहजीकरण गर्नु भएको हो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

तुल्सी थापा सरसँगको अन्तिम भेट

प्रेरक गौतम

बाल लेखक

गत वर्षको प्रथम त्रैमासिक परीक्षा सकेर म बिदाको समयमा थिएँ । करिब एक हप्ताको मेरो बिदा साहित्यिक किताब पढेर, खेलकुदमा सहभागी भएर, चित्र कोरेर तथा साहित्य सिर्जना गरेर बितिरहेको थियो । एक हप्ताको बिदापछि भदौ ३ गतेदेखि विद्यालय खुल्ने तयारी थियो । यसैबिच भदौ २ गते मैले मेरा मामुबाबासँग आज कहीँ घुम्न जाऊँ न भन्ने प्रस्ताव गरेँ । मेरा मामुबाबाले पनि मेरो प्रस्तावलाई सहर्ष स्विकार्नुभयो । यसै विषयमा बाबाले भन्नुभयो, “तुल्सी थापा सर केही समयदेखि बिरामी हुनुहुन्छ, अस्पतालमा भर्ना भएको बेला पनि भेट्न जान पाइएन त्यसैले उहाँलाई भेट्न जाऔँ र त्यहाँ पुगेको बेला तिमीलाई
स्मारक पनि लगिदिउँला ।” उहाँको यो प्रस्ताव मामु र म दुवैलाई मनप¥यो र मैले पनि खुसी हुँदै सहमति जनाएँ । हामी खाजा खाएर दिउँसो तिन बजेपछि थापा सरको घर हुँदै स्मारक जाने भयौँ । त्यस दिन आकाशमा काला बादल मडारिइरहेका थिए र घरबाट निस्कने बेला सिमसिम पानी पनि परिरहेको थियो । त्यसका बाबजुद पनि हामी घरबाट निस्क्यौँ र बजार पुगेर फलफूल लिएर लाग्यौँ हामी हाम्रो गन्तव्यतर्फ ।

थापा सरको घर सहिद स्मारक जाने बाटामै पर्छ भन्ने कुरा मैले यसअघि नै स्मारक जानेआउने क्रममा बाबामार्फत् थाहा पाएको थिएँ । जोशी नर्सरीस्थित हाम्रो बासस्थानबाट स्कुटीमा छुटेका हामी तिन जना पारिजातपथ, मेनरोड, बुद्धचोक, राप्तीरोड, राप्ती पुल हुँदै अघि बढ्दै थियौँ । यसै क्रममा म राप्ती खोलावारि हनुमानको विशाल मूर्ति, राप्तीपारि बुद्धपार्क, पाथिभरा मन्दिर जाने बाटो, दायाँतर्फ अग्लाहोचा पहाड तथा बायाँतर्फ केही गहिरो र समथर फाँटका दृश्य देखेर रमाइरहेको थिएँ । यात्रा सुरु भएको करिब १० मिनेटमा हामी थापा सरको घरअघि पुग्यौँ । बाबाले छेउ लगाएर स्कुटी रोक्नुभयो । थापा सरको घरको मूल गेट चिटिक्क परेको रहेछ । बाबाले बिस्तारै गेट खोल्नुभयो । गेटभित्र पस्नेबित्तिकै मैले चाइनिज दुबोसहितको सानो बगैँचा देखेँ । मलाई त्यहीँ बसेर खेलूँखेलूँ लागिरहेको थियो तर हामीसँग धेरै समय थिएन । घरको मूल ढोकामा उभिएर डोरबेल बजाएको केही समयपछि थापा सरकी बुहारीले ढोका खोल्नुभयो र हामी घरको माथिल्लो तलामा रहेको थापा सरको कोठातर्फ उक्लियौँ । थापा सर कोही आएको सङ्केत पाएर हो या बाहिरको दृश्य हेर्नका लागि हो, बाहिर बार्दलीमा निस्कनुभएको रहेछ । हामी सबैले उहाँलाई नमस्कार ग¥यौँ । हामी भेट्न गएकोमा खुसी हुँदै उहाँले हामीलाई घरभित्र स्वागत गर्नुभयो । भित्र कोठामा आमा ओच्छ्यानमा सुतिरहनुभएको थियो । हामी आएको थाहा पाएर उहाँ पनि जुरुक्क उठ्नुभयो र हामीलाई बस्न आग्रह गर्नुभयो । हामीले उहाँलाई पनि नमस्कार गरेर सोफामा बस्यौँ । थापा सर कुर्सीमा बस्नुभयो भने आमा खाटमाथि नै बस्नुभयो ।

थापा सर पहिले मैले देखेभन्दा निकै दुब्लाउनुभएको रहेछ । बाबाले थापा सरलाई हजुरलाई कस्तो छ भनेर सोध्नुभयो । थापा सरले यस्तै त हो नि भन्ने जवाफ दिनुभयो । थापा सरको बोली अलि लरबरिएको थियो । उहाँले बिरामी हुनु पनि फाइदा नै रहेछ भन्नुभयो । मामुले के फाइदा सर…? भनेर सोध्नुभयो । थापा सर बिरामी हुँदा यसरी सबै जना भेट्न आउनुहुन्छ भन्दै हाँस्नुभयो । उहाँ बोल्दा उहाँलाई स्याँस्याँ बढेको र खोकी भित्रैदेखि गढेको छ भन्ने थाहा हुन्थ्यो । मामुबाबाले उहाँलाई धेरै बेर नबोल्न अनुरोध गर्नुभयो तर उहाँले मान्नुभएन । यसै क्रममा आमाले उपचारको क्रममा थापा सरलाई हेटौँडा, भरतपुरलगायतका ठाउँमा लगिएको, आफू प्रायः एक्लै एक्लै जस्तो बिरामी कुरुवा रहेको कुरा गर्नुभयो । उहाँहरूबिच बुढेसकालको सहारा बुढाबुढी नै हुने कुरामा सहमति रह्यो । त्यसपछि उहाँहरूबिच विभिन्न विषयमा कुराकानी भए र म सुनिरहेँ । छोराको जागिर, छोरीहरूको बसाइ, नातिनातिनाका प्रसङ्गका कुराकानी पनि भए । मकवानपुरको साहित्यिक वातावरण, नवसर्जक साहित्य चौतारी नेपालका गतिविधि र त्यसमा बाबाको योगदान, समर्पण न्यौपाने दाजुले पाउँदै गरेको जयपृथ्वी बालप्रतिभा पुरस्कार, उहाँको शिक्षा, समाजसेवा र साहित्यिक यात्राबारे उहाँ र बाबामामुबिच निकै बेर कुराकानी भए । उहाँहरूबिच भएका सबै कुरा त मलाई त्यति सम्झना छैन तर उहाँले मकवानपुरका गाउँबस्तीका विद्यालयमा प्रअको जिम्मेवारी सम्हाल्नुभएको, समाजमा पछि परेका चेपाङ समुदायको विकासका लागि योगदान गर्नुभएको, जागिरे जीवन छोडेपछि हेटौँडाका दुई वटा निजी विद्यालय जी. एस. निकेतन र हेटौँडा एकेडेमीको समेत नेतृत्व सम्हाल्नुभएको आदि कुराकानी गर्नुभएको मलाई सम्झना छ । कुराकानीकै क्रममा उहाँले आफू पदमा भएर पनि आफ्नो लाभका लागि कुनै बेइमानी नगरेको पनि बताउनुभयो । इमानदार भएर काम गरेकाले नै आफूले सम्पत्ति जोड्न नसकेको पनि बताउनुभयो । त्यस्तै जागिरे जीवनको अन्ततिर जागिर सरुवा गरेर हेटौँडा आउन खोज्दा आफू कुनै पनि राजनीतिक पार्टीको सदस्य नभएकाले सरुवा नगराइएको पीडा पनि व्यक्त गर्नुभयो ।
कुराकानीकै बिचमा उहाँले मलाई नजिकै बोलाएर मेरो पढाइलेखाइ र रुचिबारे सोध्नुभयो । मैले पनि मेरो पढाइलेखाइ राम्रै रहेको र गायन, नृत्य, चित्रकला, साहित्य सिर्जना, विज्ञान प्रविधि, हाजिरीजवाफ आदि विविध क्षेत्रमा रुचि रहेको कुरा गरेँ । त्यसैक्रममा थापा सरले कोठाको भित्तामा सजाएर राखिएका आफूले प्राप्त गरेका गोरखा दक्षिणबाहु लगायत विभिन्न सङ्घसंस्थाले प्रदान गरेका सम्मानपत्र, अभिनन्दनपत्र देखाउँदै असल कर्म गरियो भने यस्तै मानसम्मान पाइन्छ भन्दै जीवनमा सधैँ अघि बढ्न, इमानदार मान्छे बन्न र ख्याति कमाउन मलाई सुझाव दिनुभयो । म पनि उहाँले प्राप्त गरेका मानसम्मान र ख्यातिबाट प्रभावित भएँ र मनमनै उहाँले जस्तै असल कर्म गरेर नाम कमाउने प्रतीज्ञा गरेँ ।

थापा सरकी सहयात्री आमाले हामीलाई हामीले नै कोसेलीका रूपमा लगेका स्याउ र केरा खुवाउनुभयो । थापा सरलाई पनि फलफूल खानका लागि हामीले अनुरोध ग¥यौँ । उहाँले एक टुक्रा स्याउ खानु पनि भयो तर उहाँलाई त्यो एक टुक्रा स्याउ खान पनि गाह्रो भइरहेको थियो । उहाँलाई निमोनियाका कारणले होला स्याँस्याँ र घ्याँरघ्याँर बढिरहेको जस्तो देखिन्थ्यो ।
हामी करिब आधा घन्टा थापा सरको घरमा बसेर उहाँको दीर्घायुको कामना गर्दै सहिद स्मारकतिर लाग्यौँ । तर साँझ पर्न पर्न लागेको र हामीसँग समय अभाव रहेका कारण हामी स्मारक नजाने र होटल स्मारक पसेर खाजा खाने सहमति ग¥यौँ । करिब आधा घन्टाजति मैले होटलभित्रको स्विमिङ पुलमा पौडी खेलेपछि सोही होटलमा खाजा खाएर हामी आफ्नो घर फर्कियौँ । त्यसको ५ दिनपछि अर्थात् भदौ ८ गते थापा सर बित्नुभएको अप्रिय खबर बाबाबाट थाहा पाएँ । त्यो खबरले बाबामामुसँगै मलाई पनि धेरै दुःख लाग्यो । उहाँकै इच्छाबमोजिम उहाँको अन्तिम संस्कार देवघाटधाममा गरिने खबरअनुसार मकवानपुरे साहित्यकारहरूसँगै बाबा पनि जानुभयो । जान त मलाई पनि मन थियो तर किनकिन मैले बाबालाई भन्नै सकिनँ र म सानै भएकाले होला सायद बाबाले पनि मलाई जाऔँ भनेर भन्नुभएन ।

त्यसको केही महिनापछि उहाँकी जीवनसङ्गिनी आमा पनि बित्नुभएछ । यो खबरले पनि मलाई दुःखी तुल्यायो । कति छिट्टै थापा सर बित्नुभएको पनि आज एक वर्ष बितिसकेछ । उहाँ आज हामीमाझ नरहे पनि उहाँको सामाजिक, साहित्यिक योगदान तथा उहाँको जीवनको अन्तिम अन्तिम क्षणको त्यो प्रत्यक्ष भेटघाट र कुराकानी म कहिल्यै बिर्सन सक्दिनँ । अझ उहाँले मेरो गाला थपथपाउँदै नाम जस्तै काम गर्नु है प्रेरक बाबु… भन्नुभएको कुरा म कसरी बिर्सन सक्छु र…..?

कक्षा: ८ (शिक्षा)
ज्ञानदीप शिक्षा (जी. एस.) निकेतन मावि, हेटौँडा -५

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

अनुसूयाका ३ कविताहरू

अनुसूया खनाल

कवि

आमा
म सोच्दछु बेला बेला
तिम्रो गर्भमा हुँदाको क्षण
कति सह्यौ होला दुःख
कति भोग्यौ होला पीडा
म जन्मिदा
तिम्रो पनि
अर्को जन्म भएको हुनुपर्छ
जब टाँसिएर छातीमा
अमृत धाराले तृप्त भएँ
तिमीलाई पनि सन्तुष्टी मिलेको हुनुपर्छ
म गर्भमै छँदा
ईश्वरले भने झैँ लाग्छ
तिमीले छिट्टै
धर्तीमा जन्म लिनुपर्ने छ
मेरो ख्याल कसले गर्छ त्यहाँ ?
मैले सोधेँ
एउटी सुन्दर परीले
तिनले बोल्न, हिँड्न, पढ्न, लेख्न सिकाउनेछिन्
को हुन् ती परी
आमा !
एउटा अमूल्य नाता
जसलाई सँधैभरि चिन्ता छ
सन्तानको
बिरामी भयो
कहिले निको होला भन्ने पीर
हुर्किँदै गयो
के गर्ला भन्ने पीर
कहिले स्कूल पठाउने चिन्ता
फेरि कतिबेला फर्केला भन्ने चिन्ता
हरेक दिन/हरेक पल
सन्तानकै चासो
एकातिर घर छ
अर्कोतिर अफिस
कति गाह्रो छ सन्तुलन मिलाउन
सबैलाई मिलाएर लाने
अरु अघाएपछि आफू खाने
साँच्चै !
कति महान छिन् आमा
एक दिन म
आमालाई खुसी नै खुसी दिनेछु
सुखै सुखको ताज पहिराइदिनेछु ।


बिचरी चरी
झमझम झरी पर्‍यो चल्यो हावा हुरी
के गरेर बस्छे होला चरी कठैबरी ।
बचेरा र बचेरीले खोज्दै होलान् आमा
बिचरी त्यो चरीलाई कस्तो पर्‍यो धामा ।।

उडाउला भन्ने डर भत्केला कि भन्ने पीर
दर्के पानी पस्यो भने जानु कता तिर ।
चारो छैन गुँडभित्र के पो खानु होला
पाइछ कठै त्यो चरीले कस्तो दुखी चोला ।।

चारो खोज्न गाको चरो फर्की आको छैन
खोज्न जाऊँ भने पनि पानी रोक्ने हैन ।
पानी पर्न रोकीदिए हुन्थ्यो आज राती
यति काम गरिदिए दैव कति जाति ।।

सुन्नुस् मेरो बुबा हजुर आमा सुन्नु होला
सिकुवामा गुँड सार्न दिऊँ थोत्रो झोला ।
यति काम गर्‍यो भने खुसी होली चरी
ढुक्कसँग डुल्न पाउँछे हाम्रै वरिपरि ।।


मेरो गाउँ
सुन्दर शान्त प्रकृति छ मेरो सानो गाउँमा
जन्मिए म हुर्कँदै छु त्यही प्यारो ठाउँमा ।
मलाई साह्रै माया लाग्छ म जन्मेको घरको
कहाँ पाउँला यस्तो घर संसारमा अर्को ।।

छन त छ मेरो गाउँ शहरदेखि टाढा
तर गाउँका मानिसमा माया हुन्छ गाढा ।
धुवाँ छैन धुलो छैन शहरको जस्तो
स्वच्छ हावा सफा पानी सबैचीज सस्तो ।।

खेतीपाती गर्छन् कोही कोही पशुपालन
मेहनतमा विश्वास गर्ने छ यहाँको चलन ।
बारीभरि मकै फल्छ खेतभरि धान
धान मकै भए पुग्छ वर्षभरि खान ।।

कोही शहर कोही विदेश पुगे कता कता
मलाई माया गर्ने गाउँ छोडी जान्न म ता ।
केही काम मेरो गाउँमा गर्न पाए हुन्थ्यो
गाउँको नाम सबैतिर छर्न पाए हुन्थ्यो ।।

किनिदिनुस् आमा मलाई कलम र मसी
मेरो गाउँको गीत लेख्छु चौतारीमा बसी ।
अब कोही नजानू है छोडेर यो गाउँ
छोडी जानेहरु पनि फर्किएर आउँ ।।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

लघुकथा: आँखा देख्ने अन्धाहरु

देवराज खरेल

साहित्यकार

माेटरसाइकलमा सवार दुबैजना माेटरसाइकल राेकेर सडककाे पेटीमा हिडदैगरेका अर्धबैसे पुरूषलाई एउटाले गाला चडकाए अर्काले पछाडिबाट लात्तिहाने । चाेटखप्न नसकेर ऊ ढल्याे त्यतिगर्दा पनि रिस मरेन मुर्दातुल्य पैदलयात्रीलाई दुबैजना मिलेर बुट बजारे बेहाेसपारे ।
भीडमा व्यक्तिहरू साेच्दै थिए किनयस्ताे गरेकाे जवाफमा यस्ले हामीलाई थुक्याे हेर्नुस् न  भेष्टमा थुक त्यत्राे माेटरसाइकलकाे आवाज नसुन्ने हामी आको देख्दादेख्दै किन थुक्याे यस्ले जनताकाे भीडदेखेपछि माेटरसाइकल स्टार्टगरेर कुलेलमठाेके।
सहायता गर्नेले सुमसुम्याए केहीवेरमा हाेसमा आए । नजीकैकाे औषधी पसलमा पुर्‍याए।वास्तविक बुझ्न खाेजे तर ऊ पूरै बहिराे
भएकाेखुल्न आयो । थुक्दा झुक्किएर माेटरसाइकल चालकलाई
परेछ त्यहिरिसले पिटाई खायाे । जिउभरि निलडाम देखेपछि उपस्थित समाजले यसाे भन्याे कुरै नबुझि बहिरालाई पिट्ने आँखादेख्ने अन्धाहरू

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

हाजिरीजवाफमा ज्योति, बालबोध र जनप्रिय विजयी

संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

भाद्र ७, मकवानपुर
नवसाहित्य अनलाइन । नगरस्तरीय शैक्षिक समन्वय समिति, हेटौँडा उपमहानगरपालिकाद्वारा आयोजित सामुदायिक विद्यालयहरूबिचको हाजिरीजवाफ प्रयोगितामा ज्योति माध्यमिक विद्यालयले प्रथम स्थान प्राप्त गरेको छ । यसका साथै विद्यालयले रू. ७ हजार राशिको प्रथम पुरस्कार प्राप्त गरेको छ । यस्तै बालबोध मावि द्वितीय र जनप्रिय मावि तृतीय भ‌ई क्रमश: ५ हजार र ३ हजार राशि पुरस्कार प्राप्त गरेका छन् ।

ज्योति माविबाट सलिना सुवेदी, प्रशान्त गोले र समिप घिमिरे पुरस्कृत हुँदा बालबोध माविबाट सृष्टी भुजेल, स्मृति तिमल्सिना र सक्रिना पुडासैनीका साथै जनप्रिय माविबाट एरिना चौलागाईँ, रामकृष्ण आचार्य र कौस्तुभ सुवेदी पुरस्कृत भएका हुन् ।

सहभागी २१ विद्यालयमध्ये पहिलो चरणमा २५ प्रश्नहरू उल्लिखित प्रश्नसेट समाधान गरी छनोट भ‌एका ८ विद्यालय दोस्रो चरणका लागि सहभागी भएका थिए । पहिलो चरणमा बराबरी अङ्क प्राप्त भ‌एपछि प्रगति, राजदेवी र बालज्योति माविको पुन: छनोट चरणमा सहभागी भ‌एका हुन् ।

दोस्रो चरणमा ८ विद्यालयहरूबिचको कडा प्रतिष्पर्धाका क्रममा प्रश्नहरूक क्रमका साथै ‘अडियो राउण्ड’ र ‘भिडियो राउण्ड’ समेत प्रस्तुत गरिएका थिए । कूल २१ विद्यालयका ६३ विद्यार्थी सम्मिलित प्रतियोगितामा पुरस्कार सौजन्य रिडमोर पब्लिकेसन, हाम्रो पत्रपत्रिका सेन्टर, विद्यार्थी पुस्तक पसल र मातृभूमि प्रिन्टिङ सर्भिसेज (छापाखाना) ले गरेको थियो । 

विजयी विद्यालयहरूबिच ३ पटक बराबरी अङ्क प्राप्त भएपछि पुनः प्रश्नहरू सोधिएका थिए । कार्यक्रममा समन्वय समितिका अध्यक्ष भोगेन्द्र लुइँटेलको सभाध्यक्षता र हेटौँडा उपमनपा सामाजिक विकास समिति संयोजक तथा १६ नं. वडा अध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आतिथ्य रहेको थियो ।

समन्वय समितिका उपाध्यक्ष प्रतिमा गौतमले स्वागत गर्नु भएको कार्यक्रममा शिक्षा विकास महाशाखा, हेटौँडाका प्रमुख सीताराम कोइरालाले उपनगरपालिकाको दायित्वको यस्ता अतिरिक्त सिकाइका कार्यलाई बढावा गरेकोमा संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभयो । यस्तै वडाध्यक्ष कोइरालाले कार्यक्रमका लागि शुभकामना व्यक्त गर्दै विद्यार्थीहरूलाई हौसला र ऊर्जा प्रदान गर्ने यस्ता कार्यक्रमहरूमा अझ बढावा गर्दै अघि बढ्नका लागि आग्रह गर्नुभयो ।

अध्यक्ष लुइँटेलले कार्यक्रमलाई सुन्दर र सभ्यरूपमा सम्पन्न गर्न सहयोग गर्ने कार्यक्रम संयोजक, सदस्यहरू, सहभागी विद्यालय तथा विद्यार्थीहरूका साथै कार्यक्रम हल उपलब्ध गराएकोमा जनप्रिय मावि, विभिन्न संस्थाहरूसँग संयोजन गरी पुरस्कार व्यवस्थापन गर्नु भएकोमा आर्थिक व्यवस्थापन योजना विभागका संयोजक विष्णुहरि गौतमलगायत सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रमाई अतिरिक्त क्रियाकलाप समिति संयोजक बालकुमार श्रेष्ठ, सदस्यद्वय मुकेश मिश्र र पूर्णचन्द्र काफ्लेले सहजीकरण गर्नुभयो । दोस्रो सत्रको कार्यक्रममा जनप्रिय माविका  विव्यस अध्यक्ष मोहनप्रसाद बस्ताकोटीको प्रमुख आतिथ्य रहेको थियो ।

जनप्रिय माविमा सञ्चालित कार्यक्रममा शिक्षा विकास महाशाखा, हेटौँडाका प्रतिनिधि, जनप्रिय मावि व्यवस्थापन समिति, अभिभावक, सम्बन्धित प्रतियोगि विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

सी.के. राउतको आत्मकथा “वैरागदेखि बचावसम्म” लोकार्पित

संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

भाद्र ७, मकवानपुर ।
नवसाहित्य । डा. सी.के. राउतको आत्मकथा “वैरागदेखि बचावसम्म” एक कार्यक्रमबिच लोकार्पण भएको छ । शुक्रबार क्वालिटी बैङ्क्वेट, बुद्धनगर, काठमाडौँमा आयोजित लोकार्पण कार्यक्रममा वक्ताका रूपमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई उपस्थित रहनुभयो ।
 
लोकार्पित पुस्तकका सम्बन्धमा बोल्दै भट्टराईले ज्ञानको गहिराईमा पुगेर देशको राजनीतिक जटिलतालाई बुझ्न सक्ने र इमान्दार नेतृत्वको खाँचो रहेको बताउँदै उहाँले पढेलेखेका र बौद्धिक व्यक्ति राजनीतिमा आउनुपर्ने र कतिपय बहसका विषयलाई राउतका पुस्तकले उठान गरेको बताउनुभयो । मिठासपूर्ण नेपाली भाषामा लेखिएको पुस्तक पढ्न लायक रहेको र राउतको प्रयत्नले मधेसी तथा मधेस मात्रैको नेता नभई नेपालकै मुद्दा उठाउने नेता बन्नका लागि सुझाव दिनु भएको छ ।
 
शासकले विभेदलाई अस्वीकार गर्ने गरेका र कुनैबेला आफूले राष्ट्रवादी कविता लेख्दै आएता पनि मधेसीको पहिचान र अधिकारका लागि लड्नुपरेका विषयबारे पुस्तकमा उठान गरेको बताउनुभयो । साथै उहाँले अमेरिकामा रहँदा अङ्ग्रेजी भाषामा लेखिएको पुस्तकलाई हाल नेपाली भाषामा प्रकाशन गरिएको राउतले बताउनुभयो ।
 
नवसाहित्यसँग कुराकानीका क्रममा बुक हिल पब्लिकेसनका प्रमुख भुपेन्द्र खड्काले भन्नुभयो- “किताब असाध्यै प्रेरक छ । एउटा व्यक्तिले जीवनमा आफूले पाएको मात्रै नभई आफ्नो समुदायले नै पाएको दुखलाई सुखमा परिणत गर्नका लागि गरेको संघर्षको कथा पुस्तकमा छ । साथै एउटा कालखण्डको लिखित दस्तावेजसमेत भएकोले भविष्यमा समेत यसको मूल्याङ्कन हुनेछ । मधेसीको छोराले गरेको संघर्ष, भोगेको अपमान र पाएको सफलताको आँखीझ्याल हो यो पुस्तक ।”
 
राउतले विद्यार्थी जीवनमैँ गेरुवस्त्र धारण गरेर भारतका धार्मिक पीठहरूको भ्रमण गरेदेखि अमेरिकाबाट नेपाल फर्केसम्मका विषयवस्तुहरू उक्त पुस्तकमा रहेका छन् भने राज्यसत्तासँगको संघर्ष, गिरफ्तारीलगायतका घटनाहरू र प्रतिनिधिसभासम्मको यात्राका बारे वर्णन गरिएको पाइन्छ । मधेसीले नेपाली हुनका लागि गर्नुपरेका सङ्घर्ष र जहिल्यै परिचय पत्र बोकेर
 
श्रीमद्‍भगवत् गीतालाई दर्शनहरूको दर्शन मान्ने डा. राउत ‘राइट टु रिकल’ को प्रावधान राखेर आफ्ना जनप्रतिनिधिले जनताको चाहनाअनुसार काम गरेको वा नगरेको मूल्याङ्कनका लागि पहिलो अनुमोदन मूल्याङ्कन गर्ने नेपालको राजनीतिक दल जनमत पार्टीका अध्यक्ष हुनुहुन्छ ।
 
पूरा नाम चन्द्रकान्त राउत प्रतिनिधि सभा सदस्य हुनुहुन्छ भने हालसम्म उहाँका मधेश स्वराज, मधेशका इतिहास, वीर मधेशी, Black Buddhas: The Madheshis of Nepal (डकुमेन्ट्री) लगायत कृतिहरू सार्वजनिक भएका छन् । (तस्बिरः भुपेन्द्र खड्का)

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

कविता: इतिहास र मान्छेहरू

समर्पण न्यौपाने

कवि

पटक पटक
यो पृथ्वीलाई
ध्वस्त बनाउन सक्ने
परमाणु बम बोकेर
घेराबारासहित बसेको छ
एउटा रक्तपिपासु सत्ता
अहङ्कारको लाक्षागृहमा
दागिरहेछ एकपछि अर्को गोली
हाम्रै अस्थिरपञ्जरहरू बटुलेर
गरिरहेछ खप्परहरूमा
अश्वमेध यज्ञ ।

पसिनाको मुल्य नपाएर
हतौँडाहरू शोषित छन्
जमिन्दार आँखादेखि
हँसियाहरू पीडित छन्
आजाद-उनमुक्त छन् त
केबल नाफाका लागि
आमा बेच्नेहरू !

देखेर पनि नदेखे झैँ गर्दै
भन्छौ तिमी
इतिहास बद्लिएको हो
मौन अहिँसाले ।

इतिहासमा छन् हजारौँ
ताजमहल र शारजाहाँका किस्साहरू
अकबर र महाराणा प्रतापका गाथाहरू
छुटेका छौँ हामी
महल बनाउँदा काटिएका हातहरू
साम्राज्यले कुल्चिएर
किचिमिची टाउकाहरू !
हामी ’निग्रो’
हामी ’किराँत ’ ’इनुएट’
हामी ’सर्वहारा’ ’काफिर’
हाम्रो कुनै इतिहास छैन !

उठेका छौ भने
आऊ आमा !
अब लड्नुपर्छ
आमाविरोधी व्यवस्थासँग
मुठ्ठी कसेर आऊ बा !
माग्नु छ तिम्रो पसिनाको मूल्य
जित्नका लागि सारा दुनियाँ
हार्नका लागि नाथे शरीर
लडौँ असमान हिजोसँग
जोरी खोजौँ विसङ्गत आजसँग
आऊ “हराइएका“हरू
ल्याऔँ एकताको सुर्योदय
जहाँ कोही हुने छैनन् पिपा र सुसारे
बस् हुने छन्
हामी जस्तै मान्छेहरू ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन