Home Blog Page 7

लेखनमा आफूले आफैँलाई जित्न जरुरी छ: मोमिला जोशी

संप्रस पौडेल

समाचार प्रमुख

“आफूलाई कतै छाडेर अधुरो म कविता पूरा गर्न सक्दिनँ । म जीवनप्रति आशावादी हुँ । मृत्युबारे भय नराख्ने तर आजको दिन भव्य हुनुपर्छ भन्ने सोच राख्छु । लेखनमा स्वतन्त्र छु तर सबैका लागि रिझाउनेगरी लेख्न सक्दिनँ । मान्छे बाँच्ने संवेदनामा हो । प्रेम देखिँदैन यसर्थ देखिने कुरा मात्रै सत्य हुँदैन, नदेखिने कुरा पनि सत्य हुन्छ ।”
०००
हेटौँडामा एक कार्यक्रमबिच जोशीले राख्नु भएको काव्यिक विचार हुन् यी ।

आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजनामा कवि, निबन्धकार जोशीको आठौँ पुस्तक ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’ माथि बहस गरिएको थियो ।

बहसका क्रममा सहजकर्ता सुवास खनालले लेखन सरल हुनुपर्ने जोड भइरहेको वर्तमान अवस्थामा लेखकहरूको भाषा कम भइरहेको हो कि तथा आविष्कारक शैली तथा प्रयोगात्मक लेखनमा देखिनु भएकी जोशीका विषयमा समालोचक तथा कार्यक्रमका वक्ता निमेष निखिलले भाषाको गहिराईमा लेखक जोशीको प्रयोगबाट आफू प्रभावित हुनु भएको बताउँदै देवकोटादेखि शङ्कर लामिछानेसम्मले आफ्नो समयमा ल्याउनु भएको युगान्तकारी लेखनजस्तै समकालीन लेखकको तुलनामा मोमिला जोशीको फरक पहिचान बनेको बताउनुभयो । यस्तै उहाँले जोशीका निबन्धका नाम छोपेर कुनै पाना नै पाठकले पढ्ने हो भने उहाँको लेखन भिन्न रूपमा चिन्न सकिने हुँदाहुँदै यस बिचमा थुप्रै महान निबन्धकारहरूलाई भने बिर्सने नहुने बताउनुभयो ।

सोही सम्बन्धमा जोशी प्रतिस्प्रश्न गर्नुहुन्छ- “एउटा लेखकले यस्ता विशेषण (गोविन्दराज भट्टराईअनुसार ‘आविष्कारक’ उपमा) लाई अन्तिम मान्ने हो भने यसपछि के लेख्ने त ?” तथापि उहाँ सँधैभरि ‘गाईका चार खुट्टा हुन्छन्’ भन्ने शैलीका निबन्धबाट माथि उठेर नाट्य शैलीका निबन्ध लेखनलाई मन पराउने बताउनुहुन्छ ।

खनालले युद्धहरू नाजायज लाग्दैनन् भन्ने र युद्धले ल्याउने हिंसाका विरूद्धको लेखन देखिन्छ नि भन्ने प्रश्नमा जोशी भन्नुहुन्छ- जीवनमा हर क्षण पूरानै कुराहरूको नियति वा नियमितता भने होइन ।

लेखनमा आफूले आफैँलाई जित्न जरुरी रहेको बताउने जोशीलाई भाषिक तथा वैचारिक हिसाबले सरल निबन्ध कृतिमा निबन्धका साथसाथ कविताको स्वाद समेत लिन सकिने हुँदाहुँदै सामान्य पाठकले नभइ बौद्धिक पाठकले मात्र छनोट गर्न सकिने पुस्तक रहेको बताउँदै “बाफिएर, पूर्णविरामित, देख्यअदेख्य, स्पर्शीत, तीहरू, बादलिएर” जस्ता स्वनिर्मित र व्याकरणीय मानक भत्काउने सचेत प्रयत्न रहेता पनि सामान्य त्रुटीहरू समेत देखिएता पनि सम्प्रेषण सङ्कट पार्ने निबन्धले सम्मोहन भने पार्न सक्ने आफ्नो बुझाइ रहेको बताउनुभयो ।

निखिलको धारणामा जोशीले निखिललाई गम्भीर पाठक तथा सुन्दर कविताका सर्जकका रूपमा लिएको बताउँदै पाठकले आफ्नो शक्ति र सीमालाई बुझिदिन आग्रह गर्दै १७ वर्ष समयको लगानीमा एकै निबन्धलाई १० पटकसम्म पुनर्लेखन गरी सो पुस्तक प्रकाशन गरिएको हुँदा पुस्तकमा प्रयोग भएका स्वनिर्मित शब्दमाथिको प्रयोग विगतमा देवकोटाको लेखनमा समेत देखिएको बताउनुभयो ।

लेखन तथा वादको सन्दर्भमा सोधिएको एक प्रश्नको जवाफमा उहाँले आफू ‘वाद’ हरूको घेरामा सीमित हुन नरुचाउने स्पष्ट पार्नुभयो । यस्तै अधिकांश नारी लेखकहरू ‘नारीवादी लेखन’ मा केन्द्रीत रहेको प्रसङ्गमा व्यङ्ग्यात्मक तवरले भन्नुभयो- ‘बरु कहिलेकाहीँ पुरुषवादी जस्तो देखिन सक्छु ।’

सहजकर्ता खनालले मृत्यु चिन्ता वा चिन्तन केको विषय हो भन्ने प्रश्नमा मान्छेले आफू नभए संसारै भत्किने ठान्न नहुने र मृत्यु आफ्नो मात्रै नभएर सबैको अनिवार्य रहेकाले पनि बाँचेका समयलाई सुन्दर र सक्रिय अनि अर्थपूर्ण तवरले बाँच्नुपर्ने लेखक जोशीले बताउनुभयो ।

कार्यक्रममा कविहरू आरएन डङ्गोल, सुबास सजल र निरा शर्माले समेत लेखकसँग सवालजवाफ गर्नु भएको थियो ।

आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटाको सभाध्यक्षतामा साहित्य सङ्गम तथा सिस्नुपानी मकवानपुरको संयुक्त भवनमा आयोजित कार्यक्रमलाई आँचलकी सचिव सबिता तिमल्सिनाले सहजीकरण गर्नु भएको हो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

योग्यता – ओभर थिङ्‍किङ्‍मा पिएचडी

जुनी भण्डारी

लेखक

– जुनी भण्डारी

मोबाइलमा सेभ नगरिएको एउटा नम्बरबाट फोन आउँछ- फोन उठाउँछु।
“नमस्कार जुनीजी ! म फलानो ।
फलानो अर्गनाइजेशनबाट।”

म- नमस्कार सर ।
“तपाईँले प्रोग्राम कोर्डिनेटरको लागि अप्लाइ गर्नुभारै’छ। तपाईं सर्ट लिस्टमा पर्नुभएको छ। भोलि बिहान ८ बजे इन्टरभ्यु छ है तपाईँको।”
म- ए….हस् सर। थ्याङ्क यु सर।

दुइ हप्ताअगाडि फेसबुकमा भ्याकेन्सी देखेपछि उक्त संस्थामा इमेल पठाएकी थिएँ । भोलिकै लागि अन्तरवार्तामा बोलाएपछि अलिकति तनाव जस्तो भयो। के सोध्ने हुन्, कसले सोध्ने हुन् केही थाहा हुने कुरा भएन। दिनभरी यही सोँच्दा सोँच्दै ठिक्क भयो । फेरि अन्तरवार्ता बिहान ८ बजे भन्ने कुराले अर्को तनाव थप्यो । कस्तो ब्यानब्यानै राखेको के, आफ्नो त उठ्ने समय नै ८ बजे हो । त्योभन्दा छिटो उठेँ भने त म दिनभरी झ्याप जस्तै हुन्छु । बिहानको निद्रा मस्त नपुगेको दिनमा न त दिमागले राम्ररी काम गर्छ न त शरीरले । यही तनावमा त्यो दिन बित्यो ।
भोलिपल्ट बल्लतल्ल ६ बजे उठेँ। भर्खरै सुर्यको किरण झ्यालबाट चिहाउँदै गरेको दृश्य, आजको लागि चारो खोज्न को-को कता जाने भन्दै चराचुरुङ्गीको बिहानी छलफल, ए…. तरकारी, गोलभेंडा साग आयो भन्दै ठेला गुडाउनेको आफ्नै लय, छिमेकीको घरबाट हावाले तानेर ल्याएको धुपको मिठो बासना, मन्दिरमा घण्टी अनि घरघरमा पानी तान्ने मोटर चलेको आवाज….ढिलो उठ्दा यी सबै कुराको अनुभव गर्नै पाउँदिन थिएँ ।

अरु दिन ८ बजे उठेर गर्ने कामहरु त्यो दिन ७ बजेसम्म सिध्याएँ । त्यसपछि तयार हुन थालेँ अन्तरवार्तामा जानको लागि ।
“साँच्चै अन्तरवार्तामा जाँदा कस्तो लुगा लगाउनुपर्ने हो ? यही सोँच्दै लुगा खोज्न थालेँ । छोटो लुगा त लगाउन भएन, कुर्ता सुरुवाल लगाउँ क्या हो…। हैन, यो लगाएँ भने त पार्टीमा जान लाग्या जस्तो होला, जिन्स र टिसर्ट लगाउँछु, सजिलो पनि हुने सिम्पल पनि देखिने…. । अहँ अलि बच्चा जस्तो देखियो यो त। सिम्पल पनि देखिनु पर्‍यो, म्याच्योर्ड पनि देखिनुपर्‍यो, शालिन पनि देखिनुपर्‍यो, सुहाउनु पनि पर्‍यो, सजिलो पनि चाहियो । हामी केटीहरुलाई कतै हिँड्ने बेला भयो कि लगाउने लायकको कपडा भेटाउनु र केटाहरुलाई मोजाको जोडी भेटाउनु उस्तै हो । धेरैबेर खोजेपछि अन्त्यमा जिन्स पाइन्टसँग एउटा सिम्पल कुर्ती लगाएँ, कानमा सानो टप लगाएँ अनि कपाललाई एउटा मसिनो रबरले पछाडि समेटेर ‘पोनीटेल’ बनाएँ ।

ठिक ८ बजे त्यहाँ पुगेँ । रिसेप्सनमा गएर आफ्नो परिचय दिएँ । “बस्दै गर्नुस्, हाकिम साब पनि भर्खरै आउनुभाछ । म भित्र गएर जानकारी गराइदिन्छु”, रिसेप्सनिष्ट भाइले नम्र भएर भने । म त्यही रिसेप्सनको सोफामा बसेँ । धेरै समयको अन्तरालमा यसरी अन्तरवार्ता दिन गएकोले ढुकढुकी अलि तेज नै थियो । तर लामो श्वास भित्र लाने अनि लामो श्वास बाहिर फाल्ने (डिप ब्रिदिङ्ग) अभ्यास गर्दै डर र तनावलाई आफुबाट अलग गर्न खोज्दै थिएँ । यत्तिकैमा रिसेप्सनिष्ट भाइले मलाई भित्र जानको लागि जानकारी गराए । जति डराउँदिन भनेपनि अन्तरवार्ता भनेपछि डर भन्ने जन्तु कताबाट दौडेर आउने आउने ।

डरलाइ जबरजस्ती धकेलेर पन्छाउँदै म हाकिम साबको कोठामा पुगेँ ।

हाकिमलाई देख्नासाथ म एक्कासी टक्क रोकिएँ। ‘हाकिम साब रे ? यिनै पो हुन् हाकिम ?’ मनमनै ‘एक्सपेक्टेशन भर्सेस रियालिटी’ वाला भावना आयो । मभित्रको म खित्का छोडेर हाँस्न थाल्यो । मनमनै ‘चुप लाग्’ भन्दै अगाडि बढेँ । नमस्कार गरेँ, उनले बस्न आग्रह गरे, मैले ‘धन्यवाद’ भने। अनि उनको आमने सामने भएर बसेँ। हाकिम भन्ने बित्तिकै मष्तिस्कमा एउटा आकृति बनेको थियो। मोटो मोटो, हल्का भुँडी बाहिर निस्केको, ४५ देखि ५० जत्तिको उमेरको, कञ्चटतिरको बाटो हुँदै कपाल फुल्न सुरु गरेको, पावरवाला चश्मा लगाएको, फर्मल सर्ट र पाइन्ट अनि टाइ साइ लगाएको ।

तर मष्तिस्कले बनाएको आकृति र प्रत्यक्ष देखेको आकृतिबिचमा नेपाल र अमेरिका जत्तिकै भिन्नता थियो । जिन्स पाइन्ट, टिसर्ट, घाँटीमा डनले लगाउने जस्तै मोटो चेन, जिम गरेको पाखुरा, पाखुरामा ट्याटु । मोडलको जस्तै कपाल, हल्का दाह्री, टिसर्टको गलामा अड्याइएको रेवनको सनग्लास, उमेर यस्तै ३० कटेको ३५ ननाघेको जस्तो । न त भुँडी बाहिर निस्केको, न त टाइ सुट लगाएको । त्यो अनुहार देखेपछि हाकिमवाला ‘भाइब’ नै हराएर आयो । अघिसम्म मसँगै टाँस्सिएर बसेको डर पनि बिस्तारै लुरुक्क गर्दै निस्किएर गयो । त्यसपछि हाकिम जस्तै नदेखिने हाकिमले मलाई एकपछि एक गर्दै प्रश्नहरु सोध्न थाले । उनका प्रश्नहरु सुनेपछि ढोकानिरै पुगेको डर भन्ने जन्तु फेरि फर्केर आइ मसँगै लुटपुटिन थाल्यो ।

“तपाईँको बायोडाटा हेरेँ, एजुकेशनल ब्याकग्राउण्ड पनि एभरेज नै रै’छ, वर्क एक्सपिरियन्स पनि ठिकै हो यत्तिको। अनि भन्नुस् शैक्षिक योग्यता बाहेक तपाईँको अन्य योग्यता के केमा छ त ?”

हाकिम साबको प्रश्न सुनेपछि यसका उत्तरहरु मष्तिस्कमा तँछाडमछाड गर्न थाले तर आवाजको माध्यमबाट एउटा पनि आउन सकेनन् । एकैछिनको सन्नाटापछि मेरो बोली फुट्यो- “योग्यता भन्नुभाको सर ? योग्यता…. अँम्…. ओभरथिङ्‍किङ्‍मा त मैले नपढीकनै पिएचडी गर्‍या’छु। अनि त्यसपछि….. अँ साँच्ची- अनिद्रा। अनिद्रामा मास्टर्स डिग्री । १२ बजे सुत्न गएँ भने २ बजे निदाउँछु। कहिलेकाहीँ त निदाउने कोशिस गर्दागर्दै छिमेकीको रेडियोमा बिहानको समाचार बज्न थालेको सुनिन्छ। कसैले भनेको कुरा नाइँ नास्ति गर्नै सक्दिन । नाइँ भन्न नसक्ने बिषयको त टपर नै हो म । अरुले आफ्नो बारेमा के सोँचेको होला भनेर अरुको तर्फबाट पनि आफैले सोँच्ने खुबी त मसँग मात्रै होला । यस्तै यस्तै हो सर मेरो योग्यता । तर यी सबै योग्यताहरुको कारण मेरो शैक्षिक योग्यताका प्रमाणपत्र नै हुन् सर । जुन बर्षौदेखि थन्किइरहेका छन्, कतै काम लागेका छैनन् ।

हुन त मेरो शैक्षिक योग्यताको बारेमा सरले प्रमाणपत्र हेरेरै थाहा पाइसक्नुभएको छ । हाम्रो जस्तो शैक्षिक प्रणाली भएको देशमा पढ्नु भनेको प्रमाण पत्र थुपार्नु मात्र त रै’छ। फेरि शैक्षिक प्रमाणपत्र दमदार हुँदैमा त्यो मान्छे शिक्षित छ भनेर सोच्नु र हाकिम भन्ने बित्तिकै टाइसुट लगाएको, आधा उमेर काटेको मान्छे भनेर सोच्नु उस्तै हो ।

हामीसँग रचनात्मकता, सृजनशीलता, मानवता जस्ता कुरा छैनन् भने प्रमाणपत्रले के गर्छ र ? डिग्री हासिल गर्नु र शिक्षित हुनु फरक कुरा रहेछन् । एउटी आमाले आफ्नो बच्चा कसरी हुर्काउने भन्ने कुरा पढेर जानेका कुरा हुन् त ? भात पकाउँदा कति चामलमा कति पानी अड्कल्ने, तरकारी पकाउँदा कति नुन हाल्ने जस्ता कुरा हाम्रा आमा हजुरआमाहरुले पढेर जानेका हुन् त ? कुनै पिएचडी गरेका या डाक्टर पाइलट इन्जिनियर अभिभावकहरुले आफ्नो सन्तानलाई कसरी समय दिने, कसरी खुसी राख्ने बुझ्न सक्दैनन् भने ती शिक्षित भए त ? पढाइ, करियर, प्रतिष्ठाको चक्करमा मान्छेहरुले आज जीवन जिउने कला नै बिर्सिसकेका छन्, सम्बन्धहरुको महत्व राख्न छोडेका छन्, आफुहरु एक्लिएका छन्, सन्तानहरुलाई एक्लो बनाइरहेका छन् । के त्यही हो त शिक्षित हुनु भनेको ? यति भन्दैमा मैले पढाइ नै चाहिँदैन भन्न खोजेको होइन सर। तर पढ्नुसँगै शिक्षित हुनु पनि जरुरी छ भन्न खोजेकी हुँ ।
मैले आफ्नो जीवनमा जतिपनि कुरा जाने, भोगे र सिकेँ त्यसको कुनै प्रमाणपत्र छैन सर । तर बिडम्बना, कत्ति कुरा नबुझेरै परीक्षा पास गरेँ त्यसको भने प्रमाणपत्र छ ।”

मैले के भनिरहेकी थिएँ भन्ने कुरा म आफैँले भेउ पाउन सकिरहेकी थिइन । मान्छे नर्भस भएपछि कि त बोल्दै बोल्दैन कि त बढी बोल्छ भन्ने सुन्याथेँ, हो रै’छ। मेरो जवाफ सुनेर हाकिम बेस्सरी हाँस्छन् जस्तो लागेको थियो तर हाँसेनन् । अब चाहिँ हाकिम पक्का रिसाए भनेर मभित्रको एउटा योग्यताले सोचिहाल्यो । तर योग्यता पनि फेल खायो । हाकिम न त रिसाए, न त हाँसे। सायद उनले पनि बुझेनन् क्या हो मेरो उत्तर । उनले फेरि मलाई अर्को प्रश्न गरे- रुरल डेभलपमेन्टमा मास्टर्स गर्नुभएको रैछ, अब भन्नुस् गाउँको विकासको लागि के गर्नुपर्छ त ?

यसको उत्तर फ्याट्ट आइहाल्यो मलाई -“गाउँको विकास गर्नलाई बारीमा फलेको घिरौंला बढी भयो भने छिमेकीलाई बाँड्नु हुदैँन, सहरमा लगेर बेच्नुपर्छ।” यसपटक हाकिम बेस्सरी हाँसे। उनका मिलेका दाँतहरु आकर्षित देखिए । तर मैले दाँततिरबाट ध्यान मोडेर आफुले दिएको उत्तर रिभ्यु गर्न थालेँ। ओहो मैले के भनेछु यस्तो, आज मलाइ के भएको छ उफ् ।
आफ्नो हाँसोलाइ हल्का ब्रेक लगाउँदै हाकिमले सोधे-“प्रपोजल लेख्न आउँछ ?”
“प्रपोजल लेख्न त त के आउँथ्यो? कहिलै लेख्या भए पो !” यसपटक म बोल्नुभन्दा पहिले मभित्रको म बोल्यो। मैले फेरि उसलाई चुप् चुप् भने। अनि म बोले-” आउँछ सर, नत्र च्याट जिपिटी छँदैछ हेल्प गर्नलाई “।

अन्त्यमा, हाकिमले मलाई फेरि अर्को प्रश्न तेर्स्याए- “हाम्रो संस्थाको टार्गेट एरिया भनेको ग्रामीण क्षेत्र नै हो, त्यही भेगमा गएर हामीले काम गर्नुपर्ने हुन्छ । तपाईँले ग्रामीण विकासको परिभाषा दिन सक्नुहुन्छ छोट्टोमा ?
“नोटमा हेर्ने हो भने त छोटोमा होइन लामै उत्तर दिन सक्ने थिएँ होला तर नोट नहेरेसम्म त त्यही हो, थ्री इडियट्समा ह्वाइट इज मेसिन भन्ने सवालमा अमिर खानले दिएको ‘आसान जवाफ’ जस्तै हुन्छ। उत्तर त आउँछ तर परिभाषा आउँदैन।” मैले निर्धक्क साथ अन्तिम प्रश्नको जवाफ दिएँ।

हाकिमले साउथ इण्डियन हिरोको स्टाइलमा आफ्नो कपाल सर्लक्क मिलाए अनि हल्का निधार खुम्च्याउँदै ल्यापटपमा के के टाइप गर्न थाले। अनि म तर्फ हेर्दै – “हस् त धन्यवाद अन्तरवार्ताको लागि । तपाईं सेलेक्ट भएको नभएको कुरा हामीले १ हप्ताभित्रमा जानकारी गराउनेछौ तपाईँलाई।” भनेर बिदा गरे।

त्यहाँबाट निस्केपछि बाटोभरी मनमा अनेकथरी कुराहरु खेलाउँदै हिडेँ म। आफुले दिएको अन्तर्वार्ता सम्झेर आफैलाई ग्लानी महसुस भइरह्यो । यसो गरेको भए हुन्थ्यो, यसो भनेको भए हुन्थ्यो भन्ने लाग्यो। बरु कुन कपडा लगाउने भनेर सोँच्दैमा खेर फालेको समयलाई सदुपयोग गर्दै कसरी अन्तरवार्ता दिने भनेर अभ्यास गरेको भए हुन्थ्यो जस्तो लाग्यो। ‘ओभरथिङकिङ्’ को जालोले टाउकोदेखि खुट्टासम्म जेलिरह्यो। तनावको डोरीले बेस्सरी कस्यो। पढ्नु भनेको पनि तनाव लिनु नै थियो । तनावै तनावमा पढ्यौँ, तनावमैँ परीक्षा दियौँ । नेपाली र अङ्ग्रेजीका कथा बाहेक अरु पढ्ने क्रममा कहिल्यै रमाइलो लागेन । खुसी कसरी हुने, तनावको व्यवस्थापन कसरी गर्ने भनेर कुनै पाठ्यक्रममा देखेनौँ । नैतिक शिक्षा रट्यौ, स्वास्थ्य, सामाजिक घोक्यौँ, गणित र विज्ञानका सूत्रहरु नबुझिकिनै खर्लप्प निल्यौँ, परीक्षा सकिएको केही बर्षमैँ पचायौँ पनि ।

अरुलाई कसरी जित्ने, अरुको अगाडि कसरी जान्ने हुने भन्ने प्रतिस्पर्धा मात्र थियो पढाइ त। पुस्तक रटेरै भएपनि पोजिशनमा आउने विद्यार्थीलाइ शिक्षकहरुले हेर्ने नजर नै छुट्टै हुन्थ्यो र अहिले पनि त्यस्तै छ । कक्षामा कुनै विधार्थी पढाइ बाहेक अरु जति पनि कुरामा अब्बल किन नहोस् पुस्तक रट्न सक्दैन भने त्यो कमजोर विद्यार्थीको पङ्क्तिमैँ उभिन्छ । उसका खुबीहरु त्यहीँबाट पहिचानविहीन हुन पुग्छन्, दबिन्छन् अनि बिस्तारै मर्छन् ।

प्रतिस्पर्धाकै चक्करमा पाठहरु घोक्यौ, पास गर्‍यौँ, पढाइ सिध्धियो । शिक्षकले सोध्दा जानिएन भने सबैको अगाडि बेइजत हुन्छ भन्ने डर र तनावले जबरजस्ती प्रश्न उत्तर घोक्यौँ तर बुझेनौँ । फेल भइयो भने अथवा कम नम्बर आयो भने अरुको अगाडि कसरी मुख देखाउने भन्ने तनावले लोडसेडिङमा इमर्जेन्सी बत्ती बालेरै पाठहरु रटिरह्यौँ । न त पढेको कुरा व्यवहारमा उपयोग गर्न सक्यौँ न त अन्तरवार्तामा सोध्दा सम्झिन नै सक्यौँ ।

यस्तै तर्कहरू खेलाउँदै थिएँ अचानक इमेल प्राप्त भएको नोटिफिकेसन बज्यो। इमेल खोलेर हेरेँ – “वि ह्याभ रिसिभ्ड योर एप्लिकेशन, थ्याङ्क यु फर अप्लाइङ् फर द पोजिशन अफ प्रोग्राम कोर्डिनेटर इन फलानो अर्गनाइजेशन।”

म सपनाबाट ब्युँझिए झैँ भएँ । सपना त थिएन तर ओभरथिङकिङ्’ गर्दागर्दै म त जागिरको लागि इमेल पठाए देखि इन्टरभ्युसम्म नै पुगेछु । कल्पनाबाट वास्तविकतामा आउँदा म आफ्नै कोठामा थिएँ, अगाडि ल्यापटप र शैक्षिक योग्यताका प्रमाणपत्र छरपस्ट थिए। यही नै थियो सायद नपढिकनै पिएचडी गरेको ओभरथिङकिङ्’ को प्रमाणपत्र ।
(लेखक भण्डारी समसामयिक, सामाजिक मुद्दा, युवाका आवाजलाई आफ्नो लेखनको मूख्य विषयवस्तु बनाउनुहुन्छ ।)
हेटौँडा, २०८१

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

कुमारी लामाको दर्ज्यु संलापमाथि निमेष निखिलका सवालहरू

नवसाहित्य डटकम

समाचार प्रमुखः नवसाहित्य

सुशासन कायम गर्ने बेग्लै निकाय हुँदाहुँदै लेखकले प्रश्न मात्रै उठाउने हो वा समाधान पनि गर्ने हो ? भन्ने सवालमा जवाफ दिँदै लामाले प्रश्न उठाउनु आवश्यक छ तर लेखकको काम महापण्डित बन्नेचाहिँ होइन भन्दै कुमारी लामा र प्रस्तुतकर्ता निमेष निखिलबिच वार्ता सुरू भयो ।

निबन्धकार लामाको निबन्ध सङ्ग्रह दर्ज्यु संलापमाथि हेटौँडामा विमर्श कार्यक्रम सम्पन्न भ‌एको छ । कार्यक्रममा समीक्षक निमेष निखिलका सवालमा निबन्धकार लामाका जवाफमार्फत् निबन्धले लिँदै गरेको मोड, लेखन अभ्यास र उठाइएका विषयवस्तुमाथि बहस गरियो ।

६० को दशकदेखि पढ्दै आएकोमा लामाका लेखन पठनपश्चात् स्वच्छन्दतावादी निबन्धकारका रूपमा लिएको समीक्षक निखिलले बताउँदै गर्दा लामाले महिला अनि तामाङ समुदायका विषयमाथि उठाएका विषयवस्तुमार्फत् दाबी गरिएको बताउनुभयो ।

आफ्नै समुदाय तथा पृष्ठभूमिका पात्रहरूलाई कृतिमार्फत् उठान गर्नुको कारणबारे सोधिएको सवालमा लामाले आफू हुर्केको पृष्ठभूमिमा रहेका भुइँमान्छेहरूको विद्रोहका विभिन्न तरिकाहरूलाई निबन्धात्मकरूपमा ल्याउँदा अझै फराकिलो दायरा बन्न ग‌एको उहाँले जानकारी दिनुभयो ।

चिपका आन्दोलनमार्फत् पर्यावरणका मुद्दा, श्रवण मुकारूङ, हेनरी डेभिड, इमर्सन, डेभिड थोरोलगायत पात्रमार्फत् कविता वाचनका कुरा, स्थानीय बिऊबिजन आदिको रक्षामाथि लेखन गर्दा प्रकृति, आफ्नोपन, परम्परागत प्रविधि र सोको पहिचानसँगै भविष्यको चिन्तामा सन्दर्भ स्रोतहरूका राम्रो अध्ययन गरिएको निबन्धकार लामाले बताउनुभयो ।

अभावबाट उम्कन धर्म परिवर्तन, यौनजन्य तथा अन्य प्रकारका, भारतमा बेचिएका नेपाली चेलिबेटी आदिबारे विषय उठान गर्दा हिजो र आजमा शोषण, दमन, उत्पीडनको शृङ्खलामा भिन्नता आएको वा परिवर्तन भ‌एको हो ? भन्ने निखिलका प्रश्नमा लामाले संविधानले छोरीलाई अंश र वंशको अधिकार दिँदैमा व्यवहारमा परिवर्तन धेरै नभ‌इसकेको बताउनुभयो ।

महिलालाई शरीरदेखि शरीरसम्म उठाएका मुद्दा, वर्गीय विभेद, घरभित्रै गुम्सिएका समस्या, जात, धर्ममा अल्झाएर राखिएको उहाँले जिकिर गर्नुभयो ।

‘चियाको गिलास’ निबन्धमार्फत् दलित पात्रले गिलास पखाल्दै घोप्ट्याउनुपर्ने खत्रिगाउँको वर्तमान अवस्थामा ती पात्र चिया खान जानै छोडेका भन्दै परिवर्तन जति हुनुपर्ने उति नभ‌एकोतर्फ सङ्केत गर्नुभयो ।

भारतका रेडलाइटमा नेपाली महिला बिक्री हुने विगतको शैली परिमार्जन भ‌एर वैदेशिक रोजगारीका नाममा नेपालमैँ, भारत हुँदै दक्षिण अफ्रिकासम्म पनि बिक्री भ‌इरहेकाले अन्तर्यमा समयसँगै परिवर्तन हुनुपर्ने जति नभ‌एकाले परिवर्तन मान्न नसकिने उहाँले बताउनुभयो ।

सम्पादक निमेष निखिलले ६० को दशकमा ‘अक्षय अक्षर’ मा छापिएको रचना पढेपछिको एक प्रश्न – निबन्धकारले अध्ययनका क्रममा वैदेशिक बसाईमा रहँदाको यात्रा संस्मरण आउन सक्ने वा नसक्ने ? भनी सोधिएको सवालमा लामाले यात्रा संस्मरण नै नलेख्ने तर आफ्ना लेखनहरूमा यात्राका अंशहरूले नै त्यसलाई परिपूर्ति गरिरहेको जवाफ दिनुभयो ।

कान्छी तामाङ पात्रको जीवन आफ्नोलागि प्रेरणादायी रहेको र उनको सङ्घर्षका कथालाई नै हालको किताबमा तेस्रो पटक समेट्दै देहान्तका कारणले टुङ्ग्याएको बताउनुभयो । जसमा निखिलले आफूले पढेको कुनै कृतिमा यस्तो शैली नभेटिएको र ‘सिक्वेल’ का रूपमा यो नौलो प्रयोग रहेको आफूले पाएको बताउनुभयो ।

पारिजातबाट प्रभावित भ‌एर ‘हरियो पर्दा’ तथा शङ्कर लामिछानेको ‘दृश्य दृष्यांश’ मार्फत् उठान गरेझैँ ‘जीवनका सङ्गत’ खोजिने उपक्रममा प्रभावित भ‌इ लेखिएको हो भन्ने प्रश्नमा लामाले “लेखनमा कुनै पनि कुरा नयाँ छैनन् भन्ने कुरामा विश्वास गर्दै एल्भियटको ‘ट्रेडिसनल एण्ड इन्डिभिजुअल ट्यालेन्ट’ लिँदा सुशुप्त मस्तिष्कमा प्रवाहलाई ग्रहण गर्दै आफ्ना कुराहरू समेत जोडिन सक्ने हुँदा त्यसलाई उहाँले स्वीकार गर्दै पाठकले लेखनमा ‘कुमारी/लेखकीय’पनलाई समेत भेट्दा आफू खुसी हुने बताउनुभयो ।

निखिलले गोपाली, तामाङ समुदायले भीमफेदिबाट गाडी बोक्ने, नुवाकोटतिरबाट नानी सुसारे ल्याउने, दरबारमा कामदारका लागि महिलालाई ल्याइने विषय पढ्दै आउँदा त्यो कहाली लाग्दो अवस्थाबारे सोध्दा आफूले प्रामाणिक कागजात अध्ययन गरेर नै न्यून पारिश्रमिकमा तामाङहरूको शोषण भ‌एको, ज्यान मास्न नै सकिने बिगतको कानूनी व्यवस्था (मासिन्या) ले राजनीति, शिक्षा, अर्थमा यो जातिमाथि विगतदेखि नै दमनका शृङ्खला रहेकोले पात्रहरूमा तामाङहरूकै बाहुल्यता रहेकोले समेत पुस्तकको नाम ‘दर्ज्यु संलाप’ राखिएको लेखक लामाले बताउनुभयो ।

पुस्तकमा काव्यात्मक भाषा, ‘थिएछ’, ‘सिरिक्क’, गुल्डुङगुल्डुङ’ जस्ता अमानक शब्द, बक्रोतिका साथै सम्भवत: मातृभाषाका कारण पनि केही व्याकरणीय त्रुटी र सम्पादकीय कमजोरीसमेत रहेकाले आउँदो संस्करणमा सुधारको अपेक्षा वार्ताकार निखिलले गर्नुभयो ।

लामाले पुस्तकका त्रुटीलाई सुधार्दै पाठक प्रतिकृयामाथि जवाफ दिनुभयो । कवि यश लामाले भान्छाभान्छामा भित्रिएको पूँजीवादबारे उठान भ‌एको र नेपालीहरूले जीवन सामान्य तवरले जिउन सक्ने हुँदाहुँदै हामीले कमाइरहेका चिजहरू फेरि उतै पठाइरहेको भयावह स्थितिबारे उल्लेख भ‌एको बताउनुभयो ।

कवि सुबास सजलले ‘दर्ज्यु संलाप’ भित्रको शीर्ष निबन्ध पढ्दैगर्दा लेखक लामा आफ्नो भाषामा अझै बलियो हुनुपर्ने तथा भट्टी सञ्चालक, ड्राइभर, खलासी, भरियाभन्दा माथि उठ्न सक्नुपर्ने लेखकको लेखन र काम गर्न किन लाज मानेको भन्दै प्रश्न गर्दा दोहोरोपन देखिएको हो कि भन्ने सवाल राख्नुपर्छ ।

त्रिशुली पारी, काँठवरिपरि, सुनकोशीपारीका तामाङका भाषामा फरकपन रहेका बताउँदै राक्सिराङ गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले इसाइ धर्म व्यापक बढ्दै ग‌इरहेकोले पनि तामाङ धर्म, संस्कृति, चालचलनमाथि नै सङ्कट आइरहेको तर मिथकका रूपमा तामाङ शब्दहरू प्रयोग हुने गरेकाले पनि तामाङ शब्दकोषको आवश्यकता परेको साथै यस निबन्ध सङ्ग्रहमा ती शब्दहरूको राम्रै सङ्कलन भ‌एकाले पनि कृति अझै सुन्दर रहेको बताउनुभयो । उहाँले सो निबन्ध सङ्ग्रह आजभन्दा २० वर्ष‌अघि नै पढ्न पाएको भ‌एको समाज अझै परिवर्तन हुनसक्ने अपेक्षा गर्नुभयो ।
किताबघर हेटौँडा र ‘आह्वान’ को संयुक्त आयोजनामा भएको कार्यक्रममा आख्यानकार उमा सुवेदीले ‘आह्वान’ का गतिविधिबारे जानकारी गराउनुभएको थियो । कार्यक्रमलाई सञ्चारकर्मी तथा किताबघरका सञ्चालक छवि अनित्यले सहजीकरण गर्नुभ‌एको हो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

बिल गेट्सको कथाः बाल पाठ्य सामग्री

संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

बाबुनानीहरू,
आज हामी धनाढ्य, कम्प्युटर प्रोग्रामर, समाजसेवी अनि पढन्ते व्यक्तिबारे चर्चा गर्नेछौँ । उनी हुन् माइक्रोसफ्टका मालिक बिल गेट्स । उनका बारे केही रोचक कुराहरू पढौँ है त ।

बिल गेट्सका रोचक कुराहरूः
* १३ वर्षकै उमेरमा कम्प्युटर प्रोग्रामिङबाट संसारलाई कम्प्युटर अनिवार्य चिज हो भन्ने सिकाउने व्यक्ति हुन् बिल गेट्स । उसबेला tic-tac-toe नामक गेम बनाएका उनले १५ वर्षको उमेरमैँ Traf-O- Data Program बनाएर २० लाख डलर कमाए ।

* उनले २० वर्षमा कम्पनी खोलेर २६ वर्षमैँ करोडपति बनेका थिए । त्यसो त २५ वर्षकै उमेरमा IBM कम्पनीलाई IBM Interpreter प्रोग्राम बनाएर ५० लाख डलर कमाए ।

* अहिले पनि खरबपति भइकन पनि जम्मा १० डलरको घडी लाउने बिल गेट्स कम्प्युटर प्रविधिको आविष्कारको दुनियाँबाट संसार हाँकिरहेका व्यक्ति हुन् ।

* उनलाई आफ्नो भाषा अङ्ग्रेजी बाहेक अन्य कुनै पनि देशको भाषा बोल्न आउँदैन ।

* उस बेला अमेरिकाभरि कम्प्युटर पढाइ हुने एक मात्र विद्यालय थियो, जहाँ उनले शिक्षा प्राप्त गरे । उनकै देनले नै संसारभरिका करोडौँ मानिसहरू कम्प्युटर, यससँग सम्बन्धित पढाइ, सिकाइ, व्यवसाय अनि हरेक क्षेत्रमा आर्थिक क्रान्ति पनि गरिरहेका छन् ।

* सन् १९८५ मा विण्डोजमार्फत् कम्प्युटरको सरल प्रयोगलाई आम मानिसमा पुर्‍याउनमा प्रशस्त योगदान पुर्‍याएका गेट्स कुनै समय संसारकै धनी मानिसमा गनिन्थे । के भनिन्छ भने- उनले हार्बर्ड विश्वविद्यालयको आफ्ना प्राध्यापकलाई आफू ३० वर्षको उमेरमा संसारकै धनी व्यक्ति हुनुपर्ने लक्ष्य रहेको बताएका थिए, जबकी उनी ३१ वर्षकै उमेरमा त्यो सपना पूरा गर्न सक्षम भए ।

* सन् १९७५ मा पढ्दापढ्दै बिचैमा हार्बर्ड छोडेर उनले आफ्ना साथी पल एलनका साथमा माइक्रोसफ्ट कम्पनी खडा गरेपछि सफ्टवेयरमार्फत् माइक्रोकम्प्युटर प्रयोगमा क्रान्ति नै ल्याए । त्यसो त ३२ वर्षअघि पढ्दापढ्दै विश्वविद्यालय छाडेका उनी सन् २००७ मा हार्वर्ड विश्वविद्यालयबाट मानार्थ डिग्रीबाट सम्मानित भए ।

* किताब पढ्नाले व्यक्तित्व बढ्ने ठान्ने उनी व्यस्तताका बाबजूद पनि वर्षमा करिब ५० पुस्तक अध्ययन गर्ने गर्दछन् भने उनीसँग १० हजार बढी पुस्तक सङ्ग्रह भएको आफ्नै पुस्तकालय रहेको छ ।

* सन् २०१० मा १० बिलियन डलर दान गर्ने दानवीर गेट्सले हालसम्म ८० बिलियन डलरभन्दा बढी दान गरिसकेका छन् भने उनको फाउन्डेसनलाई अर्का खरबपति वारेन बफेटले समेत निकै सहयोग गरेका छन् । त्यसो त फेसबुकका मालिक जुकरबर्गलाई समेत उनले दानमार्फत् सामाजिक समस्या समाधानका लागि हौस्याएका छन् ।

* लगातार १७ वर्षसम्म संसारकै धनीका रूपमा रहेका बिल गेट्स हाल संसारका ७औँ धनाढ्य हुन् । उनीसँग १२८ बिलियन सम्पत्ति रहेको छ ।

* दुनियाँलाई पहिलो पटक विण्डोजको (Windows 1.01) स्वाद दिने उनीबारे रोचक त के भने कम्प्युटरमा Alt+Ctrl+Del गल्तिका कारण प्रयोगमा आएको उनले एक वक्तव्यका क्रममा खुलासा गरेका छन् ।

* चीनमा क्षयरोग (टिबी) फैलिएर महामारीको रूप लिएपछि उनले चिनियाँ स्वास्थ्य मन्त्रालयसँग मिलेर काम गरे र सफलता पनि प्राप्त भयो । संसारभरि एड्स रोग नियन्त्रण, गरिबी नियन्त्रण, कृषिमा सहयोगदेखि छात्राहरूलाई छात्रवृत्तिसम्म उनको परोपकार फैलिएको छ ।

* Google संसारमैँ ९० प्रतिशत प्रयोगकर्ताले प्रयोग गर्ने सर्च इन्जिन हो भने Bing जम्मा ३ प्रतिशतले । माइक्रोसफ्टलाई पछि पारेको गुगलको यो सफलतालाई बिल गेट्सले पनि मानेका छन् ।

* अबको समय AI को हो भन्ने बिल गेट्सकै लगानीमा Copilot माइक्रोसफ्टद्वारा तयार गरिएको AI हो ।

* १९९८ ताका गेट्सले सहसंस्थापकका रूपमा एपल कम्पनीमा ठुलो हिस्सा शेयर लिएका थिए । सोही लगानीलाई सदुपयोग गर्दै अर्का संस्थापक स्टिभ जब्सले एपललाई अहिले माइक्रोसफ्टलाई पछि पार्दै सबैभन्दा मूल्यवान कम्पनीका रूपमा चिनाएका हुन् । (जब्सको निधन भइसकेको छ ।)

* सुरूवातिमा उनी रातभरि नै प्रोग्रामिङ कोडमा काम गर्थे भने अफिसको भुइँमैँ सुत्दथे । उडिसकेको हवाइजहाजलाई एयरपोर्टको कन्ट्रोल रूममा प्रवेश गरेर फिर्ता गरेको भन्ने भनाइ पनि पाइन्छ । बिल गेट्सका बारेमा यस्तै यस्तै चर्चित अनि रोचक थुप्रै किस्सा तथा भनाइहरू रहेका छन् ।
०००
बाबुनानीहरू, अब भने हामी दानवीर बिल गेट्सले नेपालसम्म गरेको सहयोगबारे पढ्नेछौँ ।

सन् १९५५ मा अमेरिकामा जन्मिएका बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्स (हाल सम्बन्धविच्छेद) को संयुक्त नाममा ‘बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन’ मार्फत् संसारका विभिन्न देशमा सहयोग जारी रहेको छ । यस पूण्यकर्मबाट संसारका लाखौँ बालबालिकाको ज्यान जोगिएको छ । नेपालमा समेत बालबालिकालाई लगाइने खोपमा सोही संस्थाबाट निकै सहयोग प्राप्त भइरहेको छ । वर्षेनी भारत आइपुग्ने बिल गेट्स सन् २०१४ मा भारतमा पोलियो उन्मुलनका लागि खोप कार्यक्रमदेखि नवजात शिशु, मातृशिशु स्वास्थ्य, पोषण, सरसफाइ, लैङ्गिक समानतालगायतका क्षेत्रमा सो फाउन्डेसनको ठुलो सहायता रहेको छ ।

यस संस्थाका संसारका ३ हजार बढी कर्मचारीमध्ये नेपालका डा. रोशन श्रेष्ठले सन् २०२३ मा ‘बिल गेट्स सिनियर अवार्ड’ प्राप्त गरेका थिए भने सम्मानबापत प्राप्त १ करोड ३० लाख रकम सामाजिक संस्थालाई नै दान गरेका थिए ।

WHO, UNICEF, GAVI लगायतका संस्थामा लाखौँ डलर सहयोग गरेका बिल गेट्सका संस्थाले कार्बन फूटप्रिन्ट कम गर्न अर्थात् वातावरण जोगाउँदै पृथ्वीको आयु बढाउनका लागि पनि लगानी गरिरहेका छन् । एसियामा विशेषतः भारतलाई ध्यान दिइरहेका उनले अफ्रिकामा समेत अरबौँ डलर दान गरेका छन् ।

उनै परोपकारी व्यक्ति बिल गेट्सका केही महत्वपूर्ण भनाइहरू पनि हामीले लिएर आएका छौँ ।
०००
विल गेट्सका केही विचारहरूः
* मान्छे सदैव बदलावसँग डराउँछन्, जब बिजुलीको आविष्कार भएको थियो त्योबेला पनि डराएका थिए ।
* कहानी जहाँ समाप्त हुन्छ, जीवन त्यहीँबाट सुरू हुन्छ ।
* जब तपाईँका हातमा पैसा हुन्छ, तपाईँ दुनियाँलाई बिर्सनुहुन्छ तर जब तपाईँका हातमा पैसा हुन्न, तब दुनियाँले तपाईँलाई चिन्दैन । यो नै जिन्दगी हो ।
* तपाईँको अवस्थामा सुधार गर्न उद्दत रहनेहरूको सँधै सङ्गत गर्नुहोस् ।
* तपाईँमा जति नै योग्यता किन नहोस्, केवल एकाग्रचित्त भएर नै तपाईँ महान कार्य गर्न सक्नुहुनेछ ।
* पैसा कमाउने होइन, बनाउने हो ।
* यदि तपाईँ गरिब जन्मनु भएको हो भने यो तपाईँको गल्ती होइन तर जब तपाईँ गरिबै मर्नुहुन्छ भने त्यो तपाईँको महाभूल हो ।
* मेरा बालबच्चासँग कम्प्युटर छन् तर पहिलो चिज जो उनीहरूले प्राप्त गर्दछन् त्यो पुस्तक हो ।
* सफलता एक खराब शिक्षक हो । यसले मानिसहरूमा यस्तो सोचको विकास गर्दछ कि मान्छे सफल हुनै नसकोस् ।
* तपाईँसँग कति पैसा छ भन्ने कुराले उस्तो अर्थ राख्दैन । किनभने तपाईँले समयलाई किन्न सक्नुहुन्न ।
* सबैभन्दा बेखुसी ग्राहक नै तपाईँको सिकाइको मूख्य स्रोत हो ।
* कुनै पनि काम गर्नका लागि म सबैभन्दा अल्छी मानिसलाई चयन गर्दछु किनभने उसले त्यो काम गर्नका लागि सबैभन्दा सजिलो तरिका खोज्दछ ।
* सफलताको खुसियाली मनाउँदै गरदा बितिगएका खराब समयलाई याद गर्न छोड्नुहुँदैन ।
* धैर्य सफलताको एक मात्र उपाय हो ।
* हामी जति नै पैसा किन नकमाऔँ, हामीले आफ्नो विचारलाई परिवर्तन गर्न सक्दैनौँ ।
* जीवन छोटो नै छ । समयको बरबादीका कारण यो अझै छोटो हुन जान्छ ।
* व्यापार; केही नियम र निकै नै जोखिमका साथ केवल पैसाको खेल हो ।
* नेतृत्व त्यो हो जसले दोस्रोलाई सशक्त बनाउन सक्छ ।
* जहाँ अर्कोलाई बुझ्न मुस्किल पर्न जान्छ, त्यहाँ आफैँलाई बुझ्नु सही हुन जान्छ ।
* आत्मविश्वास र कडा मेहनतले सदैव तपाईँलाई सफलतातर्फ डोर्‍याउँछ ।
* विगततिर नजानुहोस्, भविष्यको सपना पनि नदेख्नुहोस्, मनलाई वर्तमानमा केन्द्रित गर्नुहोस् ।
* केही गर्न वा बन्न चाहनुहुन्छ भने पहिले लक्ष्यको निर्धारण गर्नुहोस् । अन्यथा जीवनमा उचित उपलब्धी प्राप्त हुने छैन ।
* आफ्नो आदर्शका साथ जीवन बिताउनुहोस् तब दुनियाँलाई आभास हु्न्छ कि तपाईँ को हुनुहुन्छ ?
* जीवनका दिनहरू काट्नका लागि होइनन्, केही महान काम गर्नका लागि हुन् ।
* जीवनमा महत्वको चिज विजय होइन, सङ्घर्ष हो ।
* यदि तपाईँको व्यापार इन्टनेटभन्दा बाहिर छ भने तपाईँ व्यापारभन्दा बाहिरै हुनुहुन्छ ।
* अल्पसङ्ख्यकलाई अघि बढ्नमा रोक्ने कुनै चिज छ भने त्यो भेदभाव हो ।
* मान्छेहरूलाई समस्या र समाधानका उपाय दुवै बताइदिने हो भने उनीहरू काम गर्न थाल्नेछन्।

जतिसुकै व्यस्तता भए पनि निद्रासँग सम्झौता नगर्नु भन्ने बिल गेट्स दैनिक ७ घण्टा अनिवार्य नै सुत्ने गर्दछन् ।
बिल गेट्सको www.gatesnotes.com आफ्नै वेबसाइट हो भने उनको बारेमा “इनसाइड बिल्‍स ब्रेन” नामको डकुमेन्ट्री पनि बनेको छ । तपाईँहरूले पनि उनका बारेमा धेरै जानकारी लिँदै आफ्नो जीवनलाई कसरी अघि बढाउने भनेर उनीबाट प्रेरित हुन सक्नुहुनेछ ।
सङ्कलनः संप्रस पौडेल
स्रोतः
– gatesnotes.com
– Inside Bills Brain documentary
– CNBC
– press.farm
– kids britanica
– gavi.org
– yourstory.com आदि

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

१२खरी कथा प्रतियोगितामा विष्णु पादुकाको कथा ‘माग्युद् खोना’ प्रथम

संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

मङ्सिर १७, सोमबार । कथाकार विष्णु पादुकाले ‘माग्युद् खोना’ कथाका लागि प्रथम पुरस्कार प्राप्त गर्नु भएको छ । बाह्रखरी मिडियाले गरेको कथा प्रतियोगिताको छैटौँ संस्करणमा रु. १ लाख पुरस्कार राशिसहित पादुका विजेता हुनु भएको हो ।

आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विजेता पादुकालाई पुरस्कार र ट्रफी प्रदान गर्नुभयो । प्रतियोगितामा प्रमेय भण्डारीको कथा ‘कृत्रिम सपना’ द्वितीय र विवेक धिमालको कथा ‘मैले देखेको विद्यालय’ ले तृतीय पुरस्कार प्राप्त गरेको छ । द्वितीय र तृतीय पुरस्कार राशि क्रमशः नगद रु ६० हजार र ४० हजार रहेको थियो ।

पुरस्कार वितरण कार्यक्रममा नेपालसहित विश्वका विभिन्न देशबाट प्राप्त ९ सय ३७ कथाहरूमध्ये उत्कृष्ट २५ कथा समावेश भएको ‘बाह्रखरी उत्कृष्ट कथा–२०८१’ पुस्तकको लोकार्पण समेत गरियो ।

प्रतियोगिताका उत्कृष्ट २५ कथाकारहरूमा क्रमशः अनिता पन्थी, अप्सना चौलागाईं, चेतनाथ आचार्य, जीतबहादुर कटुवाल, तोयम्, दीक्षित केसी, दुर्गा ढेंगा, देवेन्द्र खापुङ, ध्रुव अधिकारी, प्रमेय भण्डारी, भागवत खनाल, भूमिका थारू, मधुर भट्टराई, महेन्द्र महक, मिरमा, रमेशजङ्ग थापा, राधिका कल्पित, ललिता दोषी, विमला तिवारी, विवेक धिमाल, विष्णु पादुका, सपना अधिकारी, सुदीप चापागाईं, हर्कबहादुर लामगादे ‘रोहित’ र डा हिमलाल श्रेष्ठ समावेश हुनु भएको छ ।

फाइनप्रिन्टले बजारमा ल्याएको ‘बाह्रखरी उत्कृष्ट कथा–२०८१’ कथा सङ्ग्रहको सम्पादन आख्यानकार नयनराज पाण्डेले गर्नु भएको हो । छनोटअघि १२खरी मिडियाले कथा चयनका लागि आन्तरिक र बाह्य गरी दुई मूल्याङ्कन समिति गठन गरेको थियो । बाह्य निर्णायकहरूमा प्रा. डा. ज्ञानु पाण्डे संयोजक र साहित्यकार डा गीता त्रिपाठी र धीरेन्द्र प्रेमर्षि सदस्य रहनु भएको थियो ।
०००
प्रथम पुरस्कार प्राप्त कथा ‘माग्युद् खोना’ पढेपछि लेखक अनिता कोइराला लेख्नुहुन्छः
अहो! बिष्णु पादुकाले आज उज्यालो पारे सबै शिक्षक मौकाको फाइदा उठाउँदैन्न । समय फेरिनु पर्छ । गलत सामाजिक मूल्यमान्यता परिवर्तन हुनै पर्छ । नारीहरू हजुरआमाको पालादेखि नातिनीहरूको पालासम्म पनि उस्तै जीवन भोग्ने ? कथाकी पात्र यसरी बोल्छिन्,
“बीउ रोपेर हराउने मान्छेलाई के किसान भनिन्छ र सार् ?”
शान्तिको माला जप्ने भिक्षुदेखि ज्ञानको प्रकाश फैल्याउने गुरुसम्म बिउ रोपेर हराएका छ्न् हिमाली काखमा । किन लिप्त छ्न् बौद्धिकहरू विवश नारी देहको भोगमा ।
ज्ञान र विवेक आखिर किन चाहियो मान्छेलाई ? कुकुर समान छ चेतना । जुन समाजमा नहुनु पर्ने कार्य हुँदै आएको छ । परम्परा र प्रथाको नाममा आक्रान्त रोदन छ आमाले थामेको वंशमा ।
जहाँ गलत कार्य भइरहेछ त्यो थाहा हुँदा हुँदै किन चेतना गुमाउँछन् सचेतहरू ? किन अरूको विवशतामा मौका छोप्छन् राष्ट्र सेवकहरू ?
केही प्रश्न उठेको थियो ।
पढेलेखेका शिक्षित वर्गहरू किन यति अतृप्त भएका । हिमाली समाजमा महिलाहरू स्वतन्त्र छ्न् । यो समाजमा यो सबै सामान्य हो भन्ने किन लाग्छ सुकिला मान्छेलाई ? सुकिला मान्छेका फोहोरी चाहनाले कति दुखेको हुन्छ होला मातृ हृदय किन सोच्दैनन् ?
पिताविहीन सन्तान हुर्किँदैछ्न् हिमाली काखमा । यस्तै परम्परामा गर्व गर्ने हामीले मातृसत्ता छ हिमालमा भनेर ?

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

‘अशान्त धड्कन’ जति पृष्ठबाट पढे पनि उत्तिकै प्रभावकारी: शर्मा

संप्रस पौडेल

समाचार प्रमुख

कल्पना काफ्लेको मुक्तक सङ्ग्रह ‘अशान्त धड्कन’ को हेटौँडामा विमर्श भएको छ । शनिबार मुक्तक मञ्च मकवानपुर र आँचल साहित्य कला पुञ्जको संयुक्त आयोजनामा काफ्लेको मुक्तक सङ्ग्रहमाथि विमर्श गरिएको हो ।

साहित्य सङ्गम तथा सिस्नुपानी मकवानपुरको सभाकक्षमा शनिबार आयोजित कार्यक्रममा यस कृतिमाथि विमर्शका साथै विभिन्न मुक्तककारका मुक्तकहरू वाचन भएका थिए ।

मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिनाको अध्यक्षता तथा महाकाव्यकार मुना धिताल अर्यालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा साहित्यकार निरा शर्मा र मुक्तककार डि.बी. बर्तौलाले समीक्षा गर्नुभएको थियो । सोही क्रममा शर्माले मुक्तक जति पृष्ठबाट पढे पनि उत्तिकै प्रभावकारी भएको बताउनुभयो । हामीकहाँ रुबाइ शैलीका मुक्तक लेखन अभ्यास रहेता पनि यस सङ्ग्रहका एकै मुक्तकमा हरफहरू लामा र छोटा हुँदा त्यसले केही अस्वाभाविक देखिएको उहाँले बताउनुभयो । यस्तै सङ्ग्रहबारे समीक्षा गर्दै अर्का वक्ता बर्तौलाले पटक पटक मुक्तक लेखनका साथै हाल यस पुस्तक प्रकाशन तथा विभिन्न संस्थागत आबद्धताले पनि मुक्तककार काफ्लेको मुक्तकप्रेम निरन्तर देखिएको बताउँदै फरक फरक मुक्तकमा समेत केही हरफ दोहोरिएकामा आउँदा सँस्करणमा त्यसलाई सच्याउनका लागि आग्रह गर्नुभयो । मुक्तककारले केही नौला शब्द आफैंले निर्माण गरेकोले त्यसले सुन्दर देखिएको तथा सो सङ्ग्रह हास्यव्यङ्ग्य, प्रेमपरक, प्रकृतिप्रेमले भरिपूर्ण रहेको टिप्पणी गर्नुभयो ।

मुक्तककार काफ्लेको व्यक्ति परिचयका क्रममा मुक्तककार भवानी तिमल्सिनाले भन्नुभयो- धनकुटामा जन्मिएकी काफ्ले वायुसेवा निगम साहित्य समाजकी संस्थापक उपाध्यक्ष हुनुहुन्छ भने लीलाध्वज थापा साहित्य प्रतिष्ठान, पल्लव साहित्य सम्मान, नेपाल भारत साहित्य सेतु लगायतका सम्मानबाट सम्मानित हुनुहुन्छ । नेपाल मुक्तक प्रतिष्ठानकी आजीवन सदस्य काफ्ले नेपाल मुक्तक प्रतिष्ठान प्रदेश एककी उपाध्यक्ष हुनुहुन्छ ।

मुक्तककार कल्पना काफ्लेले आफू भाषाका विद्यार्थी भएकाले पनि पुस्तकमा देखिएका कमजोरीलाई स्वीकार्दै आगामी दिनमा सच्याउँदै जाने बताउनुभयो । यस्तै यसअघि समेत मकवानपुरले आफूलाई सम्मान गरेको बताउँदै मुक्तक मञ्च तथा विमर्श कार्यक्रममा उपस्थित सबैप्रति धन्यवाद ज्ञापन गर्नुभएको सो कार्यक्रमलाई एलिजा पुडासैनीले सहजीकरण गर्नु भएको हो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

समीक्षा: ‘बहिष्कृत आवाज’मा प्रतिरोधी चेतना / -तेजविलास

नवसाहित्य डटकम

५ मंसिर, मकवानपुर ।
नवसाहित्य । नेपाली साहित्यको क्षेत्रमा एउटा कविताकृत ‘बहिष्कृत आवाज’ पाठकहरूको बिचमा आएको छ । ‘बहिष्कृत आवाज’ (कवितासङ्ग्रह, २०८१) का लेखक हुन् कवि यश लामा । यश लामा नेपाली साहित्यमा विचारको स्वर उराल्दै दुई दशकदेखि सक्रिय काव्ययात्रामा रहेका छन् । मूलतः नेपाली साहित्यमा समावेशी स्वरलाई गतिलो ढङ्गले उठाउनेहरूमा लामाको परिचय अलि फरक खालको छ । धेरै कविहरू दमित स्वरलाई पहिचानमुखी कोणबाट अर्थ लगाउँदै छुट्टै धार निर्माण गरेर लागिरहँदा लामा वर्गीय उन्मुक्तिलाई मुख्य विषय बनाएर तपसिलमा पहिचान र जातीय मुद्दालाई पनि सशक्त ढङ्गले उठाउँछन् । नेपाली राष्ट्रियताभित्र धेरै राष्ट्रिय पहिचान समावेश हुन जरुरी छ । विगतमा केही उच्च घरानाका मानिसले प्रतिनिधित्व गरेर जातीय प्रतिनिधि रहेको भ्रम दिइए पनि वास्तवमा निम्न वर्गका मानिसले प्रतिनिधि हुने अवस्थाको अझै परिपक्व अवस्था आइसकेको छैन । समावेशी र समानुपातिक प्रनिधित्विको सिद्धान्तमा पनि उही उद्योगपति चौधरी, व्यवसायी तामाङ र व्यापारी लामा मात्र नभएर आफ्नै परिवारका महिला, बढी मुठीदान दिने दानवीरहरूकै प्रतिनिधित्व रहेको देख्न सकिन्छ । यो खास एउटा पार्टीको मात्र विषय होइन, प्रवृत्तिमा रूपमा सबैतिर देखिन्छ । स्वभाविकै हो सुपरमार्केट चलाउने, हाइड्रो चलाउने अनि वैदेशिक रोजगारको व्यसाय गर्नेहरू, जग्गाको कारोबारीहरू अनि होटल व्यवसायीहरूले यो स्थान ओगट्नुमा त्यति नाजायज मान्न सकिन्न ।

न्यायालय पनि जनतालाई न्याय दिन चुकेकै छ । धार्मिक हिसाबले धर्मनिरपेक्ष देशमा एउटा जातिलाई एउटा सामान्य कुरामा मुद्दा लगाउने र त्यही मुद्दालाई आधार बनाएर उसको बाँच्न पाउने हक अधिकारलाई समेत कुण्ठित गरिएको विषय पनि कविको नजरमा परेको छ । नेपालमा कलाका लागि कलाको ढाँचामा चलेका सेलिब्रेटी कविहरूको मिडियाले गर्ने चर्चा र उत्ताउला विषयरुपी विष बेचेर पैसा कमाउने बेष्टसेलरहरूप्रति पनि कविको गम्भीर ध्यानाकर्षण भएको देखिन्छ । कविता लेख्नु केवल लय लेख्नु वा नारा लेख्नु होइन । विचारलाई सङ्गठित गर्न त्यसको रूप चाहिन्छ तथापि रूपवादमा फसेको नेपाली कवितालाई जनमनको विषय उठाएर पठन योग्य बनाउन कवि यश लामाले गरेको परिश्रम बहिष्कृत आवाजमा आएको छ
नयाँ नेपालको परिभाषाभित्र लुटको शासन चलाउन सक्रिय रहेका शासक (न कि जनप्रतिनिधि)को गलत रवैयालाई मुखभरिको जवाफ दिने काम उनको कविताहरूले गरेका छन् । गणतन्त्र नेपालको चारओटा स्तम्भ नाममात्र नहोस् भन्ने उद्घोष कविले गरेका छन् । कवि यश लामा झण्डालाई बोक्ने हातहरू कर्मशील हुनैपर्छ भन्ने ठहर गर्दछन् । साहित्यलाई जनताको चेतनास्तर फेर्ने माध्यम र राज्यलाई एउटा छुट्टै ऊर्जा दिने विषयको चर्चा गर्ने कवि सर्वसाधारण पाठकहरूले पनि बुझ्ने भाषामा कविता लेख्दछन् । कवितालाई केवल हल्लाको खेती मात्र ठान्ने र तथाकथित पुरस्कार प्राप्त गर्ने र आपसी साटासाटको सम्मान अभिनन्दनप्रतिको तीब्र घृणा छ । फितलो राज्य संयन्त्र जनताको पीडामा देखिँदैन तथापि ऊ लुटको धन्दामा निकै क्रियाशील छ । कवि लामाका कविताहरूले नेपाली जनताको आवाजलाई श्रमपूर्वक लयबद्ध गर्ने कार्य सम्पादन गरेको छ ।

‘बहिष्कृत आवाज’ (कवितासङ्ग्रह, २०८१) भित्र जम्मा ६ ओटा अध्याय वा परिच्छेदमा पैतालिस ओटा कविताहरू सङ्गृहीत रहेका छन् । कविले ‘पसिनाको अनुहार’, ‘माटोको गीत’, ‘स्यालको सिङ’, छिङ्गो योना छिङ्गो (बिउँझ छिटो बिउँझ)’, ‘त्रास’ र ‘पाठ’ गरी प्रत्येक परिच्छेदमा एउटा प्रतीकात्मक कलासहितको कविताहरू विन्यास गरिएको छ । यस कवितासङ्ग्रह भित्र रहेका केही घतलाग्दा कविताहरूलाई साक्ष्यका रूपमा प्रस्तुत गर्दै छोटो समीक्षात्मक टिप्पणी यस प्रकार छ ।
‘पसिनाको अनुहार’ शीर्षकको परिच्छेदमा जम्मा ८ ओटा कविताहरू रहेका छन् । कविले यस खण्डमा आफ्नो आलोचनात्मक चेतलाई सिर्जनामा पोखेर पाठकको आँखा खोलिदिएका छन्;

मङ्गली तामाङ
ढाडमा छोरा बोकेर
सेलो गाउँदै बालुवा चाल्छे
र देशलाई सिर्तो बुझाउँछे ।
आखिर !
देश यही सिर्तोले न चलेको हो ।
दास कोरल्ने माउहरूले त केवल
मुख मात्र बजाएको छ
सङ्घीयता भजाएको छ
गणतन्त्र भजाएको छ
समाजवादको सपना पकाएको छ
र ढुकुटी पचाएको छ
आखिर !
देश भुई मान्छेको श्रमले चलेको छ
देश यसरी चलेको छ (बहिष्कृत आवाज, पृ. ४)

शासन सत्तामा होड गर्नेहरू र दैनिक प्रशासनका निम्ति नियुक्त भएकाहरूले कुनै न कुनै रूपमा देशको जिम्मेवारी सम्हाल्दा उनीहरूलाई राज्यले नै भरणपोषण गरेको छ । राज्यको कोष जनताको रगत पसिनाले बनेको छ । कवितामा भनिएजस्तै धनजिते कर्की, जुरेली धोबी, कान्छा सार्की, मङ्गली तामाङ जस्ता श्रमिकहरूको श्रमबाट देशको कोष बन्ने तर देशको राज्य कोष लुटाहाहरूले दोहन गर्ने भएपछि देशको स्थिति के होला ? कवि जनताको आवाजलाई गम्भीर भावका साथ मुखर गर्दछन् । उनको प्रस्तुतिमा सिर्तो बुझाउनेहरू मरिरहने र सिर्तो खानेहरू ठालु हुने कस्तो राज्य व्यवस्था हो भन्ने आक्रोश छ । कवि भावनालाई देवकोटाको पागल कविताको शैलीमा प्रस्तुत गर्दछन् । खुला आँखाले हेर्दा वास्तविकता वा सत्य देख्न निकै गाह्रो रहेको छ । पीडा भोग्नेलाई थाहा हुन्छ । जनजीविकाको निम्ति किन विदेशिएका छन् लाखौँ युवाहरू । प्रश्नैप्रश्नको वर्षा गराउँदै कवि आम जनताको चासोको विषयमा ध्यान नदिने शासकलाई जनताले छुट नदिने र छिट्टै विद्रोह सल्कने उद्घोष गरेका छन् । ‘सत्य नदेखिन पनि सक्छ’ शीर्षकको कविताले विद्रोहको गीत घन्काएको छ ।
देशमा अहिले तीन तहको सरकार छ । सबैभन्दा प्रभावशाली संरचना भनेको पालिका अर्थात् स्थानीय सरकार हो । स्थानीय सरकारले जनताको निम्ति गर्नुपर्ने सयौँ काम नगरेर जनतालाई उठिवास लगाउने काम भने सक्रियतापूर्वक गरिरहेको प्रति कविले तीब्र रोष प्रकट गरेका छन् । ‘नगरपालिका’ शीर्षकको कवितामा अभिव्यक्त विचारले जनताको आवाजलाई कमजोर नठान्न शासकहरूलाई चेतावनी समेत दिइएको छ ।

एकदिन
बुट बजार्दै आएका मान्छेहरूले
छाती फुट्ने गरी भकुरे
मेरा सपनाका थोपाहरू भर्ने
भाँडाकुँडा फुटाए
भाँचिदिए मेरा आशाका हातगोडा
र त्यहाँबाट पनि खेदिएँ म ।
नगरपालिका (बहिष्कृत आवाज, पृ. ९)

जनताको मतले जितेर जनप्रतिनिधि भएकाहरूले जनतामाथि कस्तो व्यवहार गरेका छन् त्यो हेरिरहेका कवि, भोगिरहेका जनतासँग एकाकार बनेका छन् । वर्गको पीडालाई उनले कुनै न कुनै ढङ्गले कवितामा पोखेका छन् । यो माटो जनताको पेवा हो शासकको बिर्ता होइन । सार्वभौम जनता भन्ने तर गरिखानेलाई लुछ्ने अनि देश लुट्नेहरूलाई सुरक्षा, यातायात र आवास दिएर पाल्ने यो कस्तो राज्य हो । कविको आक्रोश यत्तिमै टुङ्गिदैन उनले पटक पटक श्रमिकको पक्षमा आफ्नो स्वरलाई मिलाएर परिवर्तनका निम्ति फेरि एकपटक नजागी हुँदैन भनेका छन् ।
लाखौँ युवाहरूलाई गाउँमा फर्किएर केही न केही गर्न उनका कविताले सक्रिय तुल्याइरहेको देखिन्छ । ‘गाउँ तिम्रै पर्खाइमा छ’ कविताभित्र कविले न्यायको निम्ति अन्यायको विरुद्धमा नलडी नहुने विचार दृढ रूपमा राखेका छन् । कवि क्रमशः नेपाली धरतीलाई बदल्नका निम्ति रातामान्छेहरूको आवश्यकता भएको विचार दोहो¥याउँछन् । नेपाली धरतीलाई माया गर्नेहरू नै देशका मूल धन हुन् । हरेक ठालुहरूको महल र बैंकमा बढिरेको निक्षेपमा श्रमिकको जीवन छ । पसिनाको मुहान छ । ‘पसिनाको अनुहार’ शीर्षक एउटा परिच्छेदको नाम र कविताको शीर्षक पनि रहेकाले यस परिच्छेदका कविताहरूले श्रम र श्रममा रमाउनेको जीवनलाई राम्ररी सम्बोधन गरेको छ ।

रिक्साको घन्टीमा
सुनिन्छ जनवादी गीत
मुखिया बा
अब पान चपाउन छोड्नोस् ।
हामीले ढाडमा बनाउँदै छौँ घर
थाप्लोमा बोक्दै छौँ आफ्नै जमिन
मुखिया बा
अब तपाईंको चस्मा खोल्नोस् ।
पसिनाको अनुहार (बहिष्कृत आवाज, पृ. १४)

एउटा कवि श्रमको सौन्दर्यलाई यति सुन्दर ढङ्गले चिनाउँछ कि पसिनाको रङ्ग जस्तो सुन्दर रङ के होला ? यो कवितांशमा कविले आह्वान गरेका छन्, देशको जिम्मा लिएको छु भन्नेहरूले जनता लुटेका छन् त्यो क्रम अन्त्य हुनुपर्छ । अब भाँडा माझ्ने हातहरूले विद्रोह गर्न थालिसके । अब चुपचाप लागेर बसिरहँदैन ओठहरू । राज्यमा बसेर आफूलाई जनताको सेवक वा प्रतिनिधि हूँ भन्नेहरूको सोही गतिविधि दोहोरिरहे अब जनताले नसहने कुरा पनि कवितांशले प्रस्तुत गरेको देखिन्छ । गणतन्त्र मूलतः चेतना निर्माण र चरित्र निर्माणको युग हो । असल चरित्र भएका श्रम गरेर बाँच्नेहरूले दमन, उत्पीडनको लामो शृङ्खला तोड्ने चेतना निर्माण पनि गरिसकेको परिप्रेक्ष्यमा अब बदलिन छाडेर बदलाको भावले दमन गरिरहे त्यो सह्य नहुने कुरा ‘पसिनाको अनुहार’ कविताको परिच्छेद र एउटा कविता पसिनाको अनुहारले घोषणा गरेको छ ।

वर्ग समाजमा कला साहित्यलाई हेर्ने दृष्टिकोण पनि वर्गीय नै हुन्छन् । रचनाकारको चेतना र वर्गस्रोत अनुसार नै रचनाहरूको सारपक्ष कति प्रभावशाली हुन्छ भन्ने कुरा निर्धारित हुन्छ । जुन वर्गका निम्ति सर्जक लागिरह्यो ऊ त्यही वर्गले साहित्यकार वा सर्जकलाई स्रष्टाको रूपमा स्थापित गर्ने गर्दछ । यही विषयलाई आधार मानेर हेर्ने हो भने कवि यश लामाका कविताहरूले २००७ साल अघि र पछिका न्यायपूर्ण आन्दोलनले जनताको पक्षमा काम गर्न नसकेको सत्य हो तथापि जनताको चेतनास्तर उठाउनका लागि पछिल्लो केही दशकका आन्दोलन मूलतः जनयुद्धले खेलेको भूमिकालाई साङ्केतिक रूपमा ‘प्रिय राता मान्छे !’ शीर्षकको कवितामार्फत् उद्घाटन गरेका छन्;

योद्धाहरूले अकल्पित लालसा राखे भने
स्वाभिमान हराउँदै जान्छ
फोहर हुन्छ सफा जिन्दगी
रङ्गहीन हुन्छ रातो विचार
उनीहरू मान्छेबाट छेपारो हुन्छन्
उनीहरू भिडमै हराउँदै जान्छन्
र उनीहरूको जिब्रो अर्थहीन हुन्छ ।
प्रिय राता मान्छे ! (बहिष्कृत आवाज, पृ. १७)

हाम्रो देशको संसदीय राजनीतिले आशा गरेका व्यक्तित्वहरूलाई धेरै कमजोर बनायो । रक्त क्रान्ति गरेर आएका धेरै नेताहरू मन्त्री, सांसद, सभामुख, प्रधानमन्त्री, उपराष्ट्रपति जस्ता पदमा पुगेकाहरूले फोहोरी पिसाबमा बग्दा सुनकाण्डको आरोप, अकुत सम्पत्ति आर्जनको आरोप अनि गलत विधेयक संसदमा ल्याएर जनतालाई झन् कमजोर बनाएको आरोप खेल्नु परेको परिस्थितिमा माथिको कवितांश सत्य साबित भएको छ । २०५२ फागुन १ गतेदेखि चलेको जनयुद्धले नेपालको परिवर्तनका निम्ति जसरी जनस्तरमा काम गर्न योजना बनाउनु पर्दथ्यो त्यो नसकेको कुरा नै कविताको पाठभित्र कलात्मक रूपमा आएको छ । संविधान सभामा आएका जनताको अधिकारको प्रस्तावलाई प्रतिक्रियावादी सत्ताले कमजोर बनाउन खोजिरहेको बेला आ–आफ्नै स्वार्थमा फुटेर रमिता गर्ने गाइजात्रे कमरेडहरूले गहिरो गरी पढ्नु पर्ने कविता हो यो । जनता जसबाट आशा बढी गर्छ उसैबाट चरम निराश पनि त हुन्छन् । देशलाई पराधीन बनाउन नदिन हजारौँ नेपाल आमाका सन्तानले दिएको योगदानलाई कवि ‘प्रिय राता मान्छे !’ कवितामा पुनः एकपटक सम्झाउँछन् । मूल नै धमिलो बनाउने बिचौलियाको फन्दामा नेतृत्व परेपछि योद्धा र योद्धाका परिवार निराश मात्र हुँदैनन् उनीहरूले पुनः आन्दोलनलाई सङ्गठित गरी अगाडि बढाउने उद्घोष पनि गर्दछन् । कलमका योद्धा कवि स्वयम् यो कुरालाई जोडदार ढङ्गले उठाइरहेका छन् । उनी नेतृत्व त जनताको दैलोमा पुगेर जनावाज सुन्ने श्रोता बन्नु पर्छ नि ! अकल्पित लालसा राखेर काम गर्नाले नै आजको स्थिति आएकोप्रति कवि चिन्तित छन् ।

समाज र राज्य पनि कविले कल्पना गरेको जस्तो छैन । राम्रो गर्ने सङ्कल्प बोकेर गए पनि जुन ढाँचाको संयन्त्र छ त्यसले असल कर्मद्वारा जनतामा आशा जगाउने काम गर्न सक्दैन । सांस्कृतिक क्षेत्रमा सिर्जनारत सामन्तवाद विरोधी खास गरी उदार प्रजातान्त्रिक चिन्तन राख्ने स्रष्टाहरू उत्तर आधुनिक विभ्रमबाट बढी प्रभावित देखिएका छन् । (पाण्डेय, २०६८, पृ. ४०) समालोचक एवम् सौन्दर्यशास्त्री ताराकान्त पाण्डेयले भने जस्तै माथिको यो धार सामन्ती सत्ताको नेरफेर नै छ भने आफूलाई प्रगतिशील लेखक वा परिवर्तनको पक्षधर भन्न रुचाउनेहरूले अपनाएको लेखन शैलीले नयाँ नेपालको लेखनबारे गम्भीर बहस सिर्जना गर्न सकेको देखिँदैन । राजनीतिले थापेको सस्तो पसलको बहस गर्नेले बहसमा केन्द्रित हुन नसक्दा परिस्थिति थप अन्यौलग्रस्त भएकोतर्फ कवि सचेत बनाउन चाहन्छन् । ‘माइली एक्सप्रेस’ कवितामा कवि नारीको महत्वलाई समाजले नबुझेको मात्र होइन राज्य नै नारीप्रति मैत्रीपूर्ण व्यवहार गर्दैन भन्ने कुरा दोहो¥याउँछन् । परिवार हाँसेर, इज्जत प्रतिष्ठा जोगाएर आफ्नै देशमा रमाएर बस्न चाहने नारीहरूको प्रतिनिधि पात्र माइली घरेलु कामको खोजीमा विदेशिनु पर्ने अवस्था पीडादायी छ । हजारौँ माइलीहरूले भारत र अन्य देशमा पनि नारकीय जीवन बिताउनु परेको पृष्ठभूमिमा यो कविताले फरक ढङ्गले पीडालाई उद्घाटन गरेको छ । तथाकथित गैर सरकारी सङ्घ संस्थाहरूले पेश गरेको तथ्याङ्कलाई हेर्ने हो भने माइती नेपाल, ओरेक जस्ता संस्थाहरू समाधानका लागि हुन् कि डलर खेतीका खास कृषकहरू हुन् । उनीहरू देशभित्रको आदिवासी, महिला, सीमान्तकृत, दलित, गरिब आदिलाई देखाएर परियोजना ल्याउँछन् अनि त्यसमा रहेको समस्याको समाधान होइन समस्यामा बढोत्तरी ल्याएर प्रतिवर्ष परियोजना कार्य पूरा गर्दछन् । मान्छेलाई वस्तुको रूपमा प्रयोग गर्ने यो रकमी समूहबाट माइलीहरू सधैँ प्रताडित रहेका छन् । कवि यश लामाको कवितामा यही सीमान्त पीडाको चित्र सङ्घर्षको आलोकमा खिच्ने काम भएको छ ।
‘माटोको गीत’ परिच्छेदभित्र जम्मा सातओटा कविता रहेका छन् । कवि माटोको गीतमा मुटुको कुरा गर्छन् । जीवन गुजारा गर्न विदेशिएका लाखौँ युवा श्रमिकहरूको परिवारप्रतिको जिम्मेवारी र पसिनाको खोलाको चित्र खिचिएको छ । ‘केटाकेटीका बा देश फर्कन चाहन्छन्’ शीर्षकको कवितामा कविले अर्काको मरुभूमिमा पसिनाले सिँचाइ गरेर पैसा ल्याइ घर चलाउने सपना बुनेको एउटा श्रमिक युवाको पीडा यहाँ प्रस्तुत गरिएको छ । समग्र देशको संस्कृति र सभ्यता निर्माण गर्नमा श्रमको महŒव दर्शाइएको यस कवितामा कवि श्रमको भूमिकालाई रचनात्मक नदेखेर गौण मान्ने राज्यप्रति प्रश्न गरिएको छ;

मियो हुन् मेरा केटाकेटीका बा
अर्थतन्त्रको मियो
उनी देश फर्कन चाहन्छन् ।
महाशय !
विपत्तिमा पो परे कि कतै
केटाकेटीका बा
त्योभन्दा ठूलो छट्पटीमा छु म ।
केटाकेटीका बा देश फर्कन चाहन्छन् (बहिष्कृत आवाज, पृ. २९)

त्यसैगरी कवि देशभित्र एउटा आधारसम्म नभएपछि विदेशिएको युवा स्वदेशमै फर्किएर केही गर्न चाहन्छ । देशमा जग्गा–जमिन भएका देशलाई माया नगर्नेहरू र देशभित्र केही नभएका तर देशमै केही गर्न चाहनेहरूको बिचमा कति भिन्नता छ भन्ने कुरा कविताले बोलेको छ । ‘म देश फर्किन चाहन्छु’ कविताको भाव यही रहेको छ । आफ्नो बालस्मृतिलाई बाहिर ल्याउँदै कवि सानोमा आफूले राजा वा शासकको अभिनय गर्दा आमाले पठनपाठनबाट टाढा हुन नदिएका कारण केही लेख्न सक्ने भएको तथ्यलाई यहाँ प्रस्तुत गरिएको छ । आमाको घरलाई सबैभन्दा ठूलो पाठशाला ठानेर बालकले आफ्नो सिकाइयात्रा जारी राख्ने सत्यलाई कवि दोहो¥याउँछन् ।
यस परिच्छेदका प्रत्येक कविताले आमा र माटोलाई तुलना गरेको छ । आमा र माटोलाई पर्याय अर्थमा राख्दै कवि आफ्नो धरतीको मोटोको गीत गाउँछन् । बनावटी संस्कार र संस्कृतिको प्रचारप्रसार र अभ्यासमा लाग्न नहुने कुरा आमाबाटै सिकेको विषय पाठकबोध गर्दछन् । आम मानिसको बुझाइ र यथार्थ भावलाई कविले आमाको भावबाट भनेको विषय ‘आमाको आग्रह’ कवितामा प्रस्तुत भएको छ । आज अभिभावकप्रति के कस्तो व्यवहार भइरहेको छ ? यस्तो गतिविधिले हाम्रो परिवार र समाजलाई कति असर पर्ला ? हेर्दा सामान्य तर गहिरो प्रश्नको उत्तर मिलेर खोज्न कवि लामा सुझाउँछन् । यसैगरी ‘माटोको गीत’ कवितामा आफ्नो मौलिक संस्कार र संस्कृतिको सारमा रहेको विज्ञान खोज्ने हो भने हामी हामीलाई पुग्ने ज्ञान, सीप र मार्गनिर्देशन पाउन सकिन्छ, भन्दछन् कवि लामा ।

गाउँको घरमा
मसला
तेल
मेथी
गोलभेंडा
खुर्सानी
बेसार
अदुवा
ओखती जस्ता हुन्छन् ।
गाउँको घर (बहिष्कृत आवाज, पृ. ४६)

कवि ‘गाउँको घर’ शीर्षकको कवितामा नेपाली जातिको मौलिक विशेषताप्रति गौरव गर्दछन् । आधुनिक शिक्षा आर्जन गर्ने नाममा विकास भएका सुपरमार्केट र मलहरूले हाम्रो चेतनाको स्तरलाई धेरै कमजोर बनाएको छ । हामीसँग परम्परादेखि औषधि छन् । हाम्रो विगत राम्ररी पढ्ने हो भने सबै प्रकारको समाधान घरेलु उत्पादन र गुरुकुलको ज्ञानले पूरा गरेको हो । होला विगतका केही प्रसङ्ग आज निकै विद्रुप देखिएको छ । जातजातिका नाममा गरिने सम्बोधन र व्यवहार, छुवाछुतका नाममा हुने अमानवीय क्रियाकलाप अनि कमजोर सुनिन थालेको माटोको मन्त्र जस्ता पक्षलाई पुनः नजगाई देश जाग्ने स्थितिमा जाँदैन । जातीय सहिष्णुता त्यतिबेला हुन्छ जतिबेला सद्भाव राखेर समान अवसरको ग्यारेन्टी गरिन्छ । आज पनि हामी हाम्रो बाल्यकाल सम्झँदै हामीले सानोमा भोगेका सङ्घर्षका कथाहरू साटासाट गर्छौं । त्यही विषय अर्थात् खाद्य उत्पादन, फलफूल उत्पादन, जडिबुटीको पहिचान गर्न नसक्दा हाम्रो चेतनास्तर, उपचार प्रणाली अनि आर्थिक परिसूचकमा परेको गम्भीर असरको सामना गर्दागर्दै हामी कमजोर बनिरहेका छौँ ।
यस परिच्छेद (माटोको गीत)मा कविले आफ्नो पहिचान राख्नु भनेको जन्मदेखि मृत्युसम्म चाहिने हाम्रा सामग्रीहरूको खोजी प्रवृत्तिबाट गर्ने र आत्मनिर्भर बन्ने भन्ने नै हो । कवि समाज र त्यसको स्वस्थ स्थितिको गहिरो गरी समन्वय हुनु पर्नेमा आफ्नो काव्यिक विचार प्रस्तुत गरेका छन् । कवि नेपाली धरतीमा केही न केही गरेर बस्नेहरू हेपिएको अनि नेपाल छाडेर विदेशमा गई ठूला कुरा गर्नेहरू हाबी भएको सङ्केत गर्दछन् । नेपालमा रोजगारी नपाएर परिवारका जीविकोपार्जनका लागि विदेश जानेहरूको पीडा वास्तविक परदेशीको पीडा हो भनेर कवि पटक पटक पाठक र राज्यलाई सम्झाउँछन् ।
‘स्यालको सिङ’ तेस्रो परिच्छेदको नाम हो । यस परिच्छेदभित्र तेह्रओटा कविता सङ्गृहीत रहेका छन् । मजाक, छोरीलाई सपथ, हत्यारा, बन्दुक, स्यालको सिङ, सङ्क्रमणमा झण्डा, गाईमारा भर्सेस भाइमारा, रुदाने, आन्दोलनको गीत, चोचोमोचो, सुलसुले, चुकुल र गणतन्त्र दिवस कविताहरूले हाम्रो आलोचनात्मक चेत र अध्ययनको आयामलाई फराकिलो नबनाउन मद्दत पु¥याउँछ । कवि आफ्नो ज्ञानको क्षितिजलाई बढाउन प्रतिपक्षी विचार र विषय बहस आवश्यक रहेको ठहर गर्दछन् ।

जिब्रोमा त
चे ग्वेभाराको पनि हाड थिएन नि कमरेड
खोलाका पाइतालाहरूमा
रौँ कहाँ छन् र ?
कमरेड !
राता किताबहरू खाएर
लाल लाल आँखा त
गाउँका सामन्तहरू पनि बनाउँछन् । (सङ्क्रमणमा झण्डा, बहिष्कृत आवाज, पृ. ६४)

नेपालका नेताहरूले विश्व समाजवादी क्रान्तिको पथलाई राम्ररी नपढेको, केही पढे पनि त्यसलाई नबुझेको व्यवस्था परिवर्तन गर्दा गर्दा परिवर्तन गर्नेहरू नै पुरानो ठाउँमा पुगिसकेको सन्दर्भहरूलाई कविले राम्ररी देखाइ दिएका छन् । कविले चीन, क्युबा आदि देशको प्रगति र उन्नतिलाई नसिकेर गोर्भाचोभहरू मात्र जन्माउन नेपालको समाजवादी आन्दोलन तल्लीन रहेकोतर्फ सङ्केत गरेको छ । विश्वलाई नयाँ विचार र व्यवहार सिकाउने माक्र्सवादीहरू आफ्नो जीवनशैलीमा ध्यान नदिने अनि अर्कालाई गाली गर्ने ठाउँमा रहेको सटिक टिप्पणी कविले गरेका छन् । नेपाल धर्म निरपेक्ष राज्य हो । संस्कारलाई हामी धर्म भन्दछौँ । धर्म भन्ने बित्तिकै मान्छेहरू अलि भावुक भइहाल्छन् । यो मेरो धर्म अनि त्यो तेरो भन्ने सङ्कुचित सोच हाम्रो समाजमा छदैछ । यही बिचमा संस्कार अनुरूप खाने, लाउने, उपासना गर्ने, सीपहरूलाई मेला महोत्सवमा जोड्ने जस्ता कार्य हुँदै आएको छ । एकखाले अतिवादीहरूले हिन्दु धर्म मान्ने हूँ भनेर अन्य धर्म वा संस्कार मान्नेहरूलाई राज्यको बल दुरुपयोग गरेर दबाएको प्रति कवि यश लामा तीब्र रोष प्रकट गरेका छन् । भाइमाराहरू असल ठहरिने देशमा गाई खानुलाई निन्दा गर्दा सहिष्णुताको हिसाबकिताब नमिल्ने विचार कवितामार्फत् प्रस्तुत गरिएको छ । ‘गाईमारा भर्सेस भाइमारा’ शीर्षकको कविता सबै पाठकले पटकपटक पढेर गहिरो गरी मनन गर्नुपर्ने पाठ बनेको छ । कसैले खाने, पिउने र मान्ने विशेष परिकार वा चाडपवलाई अर्काले हेयका भावले हेरे त्यसले समाधान गर्न नसक्ने खालको अन्तरविरोध निम्त्याउँछ भन्छन् कवि ।
नेपालको विभिन्न आन्दोलन मध्ये एउटा आन्दोलन वा अभियानको नाम हो थाहा अभियान । यस अभियानले जनतालाई जगाउने र क्रूर शासकलाई ठेगान लगाउने नीति लिएको थियो । रुदाने अर्थात् रूपचन्द्र बिष्टले प्रारम्भ गरेको अभियानले जनतामा प्रश्न गर्न सक्ने बानीको विकास ग¥यो । हामीले हरेक विषय थाहा पाउनु पर्दछ भन्ने चेतनाको विकास ग¥यो । आज हामी सूचनाको हकको धारा र त्यसको कार्यान्वयनको पाटोसँग जोडिएको ‘थाहा’ अभियानका अभियन्ताको विषयमा लेखिएको ‘रुदाने’ कवितामा जागृतिको स्वर रहेको छ ।

तिम्रा आगो जस्ता
रापिला शब्दहरूले
स्वघोषित शासकहरूको
गहिरो धमिलो इनार भित्र छिरेर
पानी पनि जलाउँथ्यो त्यतिबेला ।(रुदाने, बहिष्कृत आवाज, पृ. ७४)

मानव जीवनको एउटा सुन्दर पाठ हो चेतना । चेतना निर्माण गर्नका लागि समाजका विविध विषय अनिवार्य रूपमा थाहा पाउनै पर्दछ । नेपाली समाजलाई अलि फरक हिसाबले जगाउने अभियन्ताका रूपमा रूपचन्द्र बिष्टलाई कवि लामाले सम्झिएका छन् । बिष्टको बागी विचारले नेपाली समाजमा निकै महŒवपूर्ण भूमिका खेलेको कुरालाई ‘रुदाने’ शीर्षकका कविताले उजागर गरेको छ । रुदानेहरू जस्तै जन्मिएर समाज फेर्नका लागि बागी आवाज नउठाए देश केवल एउटा ठगहरूको अखडा मात्र हुनेमा कुनै शङ्का छैन । ‘आन्दोलनको गीत’ कवितामार्फत् कवि आन्दोलनको शक्ति र सामथ्र्यलाई परिभाषित गर्दछन्;
आन्दोलनमा चुनौती हुन्छ
वर्ग हुन्छ
विचार हुन्छ
जनताको सत्ता उभ्याउने तागत हुन्छ । (आन्दोलनको गीत, बहिष्कृत आवाज, पृ. ७७)
आन्दोलन दबाउन विगतमा राज्यका सबै शक्ति परिचालन गरिएको हो । आन्दोलन दबाएर दबिने विषय पनि त होइन । आन्दोलन दबाउनेहरूले जनताको विद्रोहलाई झन् एकीकृत गर्न मद्दत पु¥याउने कुरा कवि उदाहरणमार्फत् पेश गर्न पुग्दछन् । जनताको समस्याको समाधान गर्न भनेर मत लिएर गएकाहरू नै जनतालाई मार्न वा मास्न थालेपछि सरकारले कायम गर्ने हुलिया बारेमा कविको उद्घोष छ;

जनघाती सत्तासँग के छ ?
एक कायर सरकार छ
विचारहीन बन्दुक छ
शासनले निर्देशित मान्छे छ । (पृ. ७८)

समयले मान्छेको असली रूप देखाइदिन्छ । त्यति सजिलो छैन मान्छेलाई आफ्नो निर्माण भएको चरित्र जोगाउन अनि सहज ढङ्गले अगाडि बढ्न । माक्र्सवादका पण्डितहरू प्रतिगामीसँग चोचोमोचो मिलाएर आफूलाई जतिसुकै बलियो बनाउने यात्रामा लागे पनि उनीहरू कर्पोरेट कल्चरमा फस्दै गएकोप्रति पछिल्ला चुनावहरूले देखाएको नतिजा केन्द्रित भएको कवि आफ्ना रचनामार्फत् कटाक्ष गर्दछन्;

जनजनको छातीमा ठोकिन्छ
र दुर्घटित भएर मर्दछ एउटा आदर्श
जब आकाश जस्तो लाग्ने नेता
दलालहरूसँग मिलाइरहेको हुन्छ कुम ।
(चाचोमोचो, बहिष्कृत आवाज, पृ. ८०)

समाजले समाजवादी रूपान्तरण खोजिरहेको बेला तथाकथित लालहरू दलाल भएपछि राष्ट्रको अस्तित्व नै सङ्कटतर्फ जान लागेको छ । पुँजीवादले नाङ्गो रूप देखाएको छ । कमिसनखोरहरूसँग पछिल्ला दिनमा हात मिलाउने स्वघोषित सरकार प्रमुखहरूले जनतालाई थिल्थिलो हुने गरी अप्राकृतिक गतिविधि सञ्चालन गरिरहेका छन् । प्रत्येक जनसंगठनमा राज्यसत्ताका जासुसहरू सक्रिय रहेको परिप्रेक्ष्यमा जनतालाई अलमल्याउन नयाँ नयाँ धुन निर्माण गर्दै नेताको रूपमा बिचौलिया हाबी भइरहेका छन् । जनताका विचारको सम्बोधन गर्नुभन्दा शक्तिकेन्द्रलाई रिझाउन तल्लीन नेतृत्वबाट आशा गर्नु नै बेकार भएको निष्कर्ष कविको ‘चुकुल’ कविताले अभिव्यक्त गरेको छ । ‘चुकुल’ कविताले पारदर्शी भएर काम नगर्नेहरूले जनतालाई लामो समय गुमराहमा राख्न नसक्ने उद्घोष गरेका छन् । राता रङ्का घाइते बाघहरूले अब लुटको साम्राज्यलाई भत्काउने दिन आएको भाव अभिव्यक्त गरेको छ;
आइपुग्न सक्छन्
त्यो लुटको साम्राज्यभित्र
त्यो झूटको जमिन वरिपरि
राता रङका घाइते बाघहरू ।
महाराज !
अब चुकुल मारेर
ललीपप बेच्ने धन्दा बन्द गर्नोस् । (चुकुल, बहिष्कृत आवाज, पृ. ८९)
जनताको समग्र अवस्था नसुधारिने व्यवस्थाको नाम जे भए पनि अर्थ छैन । समयले आज देशलाई गणतन्त्रमा पु¥याएको छ तथापि पुरानो नोकरशाहीतन्त्र र भ्रष्ट नेताले जनतातर्फ फर्कन नदिँदा केही आशाका नजरले हेरिएका नेताहरू पनि निकम्मा भएको विषयलाई ‘गणतन्त्र’ शीर्षकको कविताले सम्बोधन गरेको छ;

एक कम्युनिष्ट पार्टीको कार्यकर्ता
अस्पताल छिरेर
हरेक रिपोर्टमा हेर्छ नेताको असली चरित्र
र झोलाभरि डिप्रेसनको ओखती बोकेर फर्कन्छ ।
प्रियजन !
आज देशमा
गणतन्त्र दिवसका संस्करणहरू चलिरहेछन् ।
गणतन्त्र भुईसम्म कहिले आइपुग्छ ? (गणतन्त्र दिवस, बहिष्कृत आवाज, पृ. ९०)

गणतन्त्रले जनतालाई ब्युझाएको भए पनि सङ्गठित हुन जनता अझैँ बाँकी रहेको देखिन्छ । उनै पुराना पाराले भीडतन्त्रमा विश्वास गर्नेहरूले जसरी पनि जनतामाथि पीडा दिइरहेका छन् । अब यस्तो स्थितिमा छिट्टै ब्युँझन पर्ने आह्वान गर्दै कवि ‘छिङ्गो योना छिङ्गो’ परिच्छेदका कवितामार्फत् आफ्ना गहन विचार प्रकट गरिरहेका छन् । जतिबेला पनि पीडाको पङ्क्तिमा उभिनु पर्नेहरूले छातीमा आगो लुकाइराखेको र त्यो अब स्वार्थको जङ्गलमा सल्कने उद्घोष गर्दछन्;

सर !
लिपुलेकको रक्तिम माटोले
बोलाइरहेछ मलाई
कालापानीको नुनिलो पानीले
डाकिरहेछ मलाई
लिम्पियाधुराको धुरीको
गुहार सुनिरहेछु दिनरात !
(म आत्मसमर्पण गर्न सक्दिनँ, बहिष्कृत आवाज, पृ. ९६)

नेपालको सन्दर्भमा राजनीतिक परिवर्तन पटक पटक भए पनि त्यसले गुणात्मक फड्को मार्न नसकेको हुनाले समस्या समाधानको लागि जरैदेखि बलियो जनतन्त्र चाहिने र त्यसले मात्र जनताको हकहितको काम गर्न सक्ने विचार कवि अभिव्यक्त गर्न पुग्दछन् । कविले आफूले राष्ट्रको समस्या समाधान गर्न जस्तोसुकै असहज अवस्था पनि बेहोर्ने उद्घोष गरेका छन् । राष्ट्रको सीमा सुरक्षामा असहजता पैदा भइरहेको पछिल्ला घटनाहरूले पुष्टि गरेको तर्फ सङ्केत गर्दै हाम्रो राष्ट्रियताको सुरक्षा सार्वभौम र सचेत जनताको सङ्गठित शक्ति चाहिने बोध कविताभित्र रहेको छ । यो माटोमा उम्रिएका लाखौँ सुगन्धित फूलहरूजस्तै जनमनले मसक्क आँटेर लाग्ने दिन आएको विचार प्रकाशन गर्दछन् ।
विश्वलाई एउटा फरक सन्देश दिने श्रमिकहरूलाई सङ्गठित गर्ने अनि आशाको सञ्चार गरेर गुणात्मक जीवनको पाटोलाई सबल बनाउने वामपन्थीहरू हराउन थालेको विषयलाई कवि लामाले कलात्मक ढङ्गले उनेका छन् । जनतालाई नवीन सन्देश दिनेहरू नै हराएपछि आशा नै हराउन थालेको अर्थसहित सत्ताले स्वार्थी भएर किर्नाजस्ता भएका तथाकथित कमरेडहरूप्रति कटाक्ष समेत गरेका छन्;

केही समयअघि
गाउँबाट गएका कमरेड
किन फर्केनन् ?
सामन्ती सत्ता पोल्छु
आगो दिनोस् भन्थे
आज पनि याद छ उस्तै ।
(कमरेड हराएको सूचना, बहिष्कृत आवाज, पृ. १०२)


अरूलाई विस्थापित गरेर पुरानै कृत्य दोहो¥याउने हो भने जो आए पनि जनतालाई खासै फरक नपर्ने हुन्छ । जनतासामु उद्घोष गर्नेहरू आफैँ हराएको देख्दा चिन्ता बढेको छ, रिसको पारो चढेको छ । जनमुक्तिको सपना देखाएर जनता ठग्ने नक्कलीहरूसँग जोगिनु पर्ने भाव कवितामा पोखिएको छ । अभावबाट सङ्घर्ष र सङ्घर्षबाट समानताको यात्रा तय गर्नु पर्नेमा नेतृत्वले बदमासी गरेको ठहर कवितामार्फत् कवि व्यक्त गर्दछन् । हिजो प्रतिबद्ध ढङ्गले च्याङ्बा दाइहरूले नलडेको भए, जीवनको बलिदान नगरेको भए आजको यो पर्यावरण आउने थिएन । स्वतन्त्रताको निम्ति च्याङ्बा लामा, शारदा श्रेष्ठ, चुनु गुरुङ, कृष्णसेन ‘इच्छुक’ जस्ता हजारौँले आफ्नो शरीरलाई समर्पित गरेर प्राप्त गणतन्त्रलाई गुटफुट र झूटको आडमा गफाडीको अखडा बनाउनेहरूप्रति खबरदारी कविताले गरेको देखिन्छ । कवि जनता प्रत्येक पलमा सचेत नबने ठगहरूको झुण्डले देश भ्याउने सङ्केत गर्दछन् । मान्छे–मान्छेका बिचमा यति धेरै विभेद निर्माण कहिलेदेखि भयो ? यसको निराकरणका लागि उपायहरू छैनन् ? निकै घतलाग्दा विषयलाई ‘ट्याग’ शीर्षकमा कविले समेटेका छन् । कवि जन्मदै आएको अपराधीको जस्तो ‘ट्याग’ भिराउन मान्छे किन सक्रिय रहेको छ ? एक र अर्कोका बिच भएको जातको विभेदले समाजलाई निलेकोप्रति कविको चिन्ता र चासो छ ।

जति सोचे पनि
जति अन्वेषण गरे पनि
मैले पत्ता लगाउन सकिनँ
यी ट्याग्नेहरूको
जात छ कि छैन
विचार हुन्छ कि हुँदैन
लिङ्ग हुन्छ कि हुँदैन
धर्म हुन्छ कि हुँदैन
र यिनीहरू मान्छे हुन् कि होइनन् ?
(ट्याग, बहिष्कृत आवाज, पृ. १११)


कविजीले तरमारा समूहलाई राम्रैसँग प्रहार गरेको देखिन्छ । प्रत्येक समुदाय र समूहमा एउटा छुट्टै वर्ग छ अर्कालाई अपमान गर्ने र जनतालाई भाँड्ने । देखियो नि पहिचानको नाममा डलर कमाउनेहरूको रातो झण्डाप्रतिको मोह र डलर खर्चनेहरूको दलाल पुँजीवादी चरित्र । श्रम गरेर बाँच्ने मानिसको भूगोल, रङ वा शारीरिक वनोट फरक फरक होला तथापि उनीहरूको सोच्ने र सङ्घर्षपूर्ण जीवन बाँच्ने शैली उही त छ । यस्तो अवस्थामा समाजलाई विभाजन गरेर आफ्नो स्वार्थको रोटी सेक्नेहरूबाट सचेत हुन कवि आह्वान गर्दछन् । कवि यसैगरी बिचौलिया, बैठक जस्ता कविताहरूमा पनि खास जातको विरोध गर्दछन् । जातका नाममा दबाउनेहरूप्रतिको कविको आक्रोश जायज लाग्छ । राज्य चलाउने नीति नियम बनाउनेहरूले बैठक कसका लागि गरिरहेका हुन् ? उनीहरूले गर्ने बैठकको निर्णयले कसलाई फाइदा पुगेको छ ? जनताको रगतरूपी इन्धनमा सवारी गर्नेहरूले गरेको व्यवहारबाट जनता कति आश्वस्त हुन सक्लान् ? गरिब मासेर गरिबी मास्ने भाषण गर्नेहरूबाट सावधान हुन् कवि सुझाउँछन् ।
कवि आफू क्रान्तिकारी विचारबाट प्रभावित भएको कुरा लुकाउन खोज्दैनन् र चाहदैनन् पनि । वर्गीय मुक्तिको यात्रामा लाग्दा भोगिएका कष्टकर ऐतिहासिक यात्रा र यो यात्रालाई यहाँसम्म ल्याउने माओ, माक्र्स, चे आदिको स्मरण गहिरो ढङ्गले गरेका छन् । वर्गीय मुक्तिको यात्रामा निरन्तर लाग्नेहरूले नातावाद र कृपावादलाई प्रश्रय दिन नहुनेप्रति कवि सचेत छन् । कविले आफू प्रतिबद्ध यात्रामा जस्तोसुकै विपत्ति आए पनि पछि नहट्ने उद्घोष गर्दछन्;

संसारको सबैभन्दा सुन्दर तस्बिर
श्रमजीवीहरूको हो
माटो मुछिरहेको पसिनाको हो
हाँस्न थालेका कुपोषणले ग्रस्त बस्तीहरूको हो
यस्तै दृष्टिकोण बनायौँ जीवनको
सम्धीज्यू !
म विचारबाट एकरत्ति पनि बिचलित छैन ।
(सम्धीज्यू, बहिष्कृत आवाज, पृ. १२३)


हामीले भोगेको आजको पक्षपातपूर्ण व्यवहारको अन्त्यका निम्ति स्पष्ट ढङ्गले विद्रोह गर्नु पर्ने आवश्यकता रहेको छ । हामीले गर्नु पर्ने जनताको सेवामा हामी चुकिरहेका छौँ । सचेतनाको यो यात्रामा सामेल हुन पनि कविको आह्वान छ । कविले ‘त्रास’ शीर्षकको परिच्छेदमा एक जातीय राष्ट्रवादले पु¥याएको नोक्सान समग्र क्षेत्रमा पर्दा देश नै पछौटेपनले ग्रस्त छ । सङ्घीयताको असल अभ्यास भन्दा सत्ताको शक्ति दुरुपयोग गरेर लुट्ने कार्यमा संलग्न नेतृत्व चुकेको विषय सन्दर्भ ‘फरक राष्ट्रवाद’, ‘त्रास’ जस्ता कविताहरूले प्रतिध्वनित गरिरहेको छ । ‘पाठ’ परिच्छेदको कविताहरूले जीवनबोधी चेतनालाई यहाँ प्रस्तुत गरिएको छ । कवि आजको परिस्थितिलाई अलि कसिलो ढङ्गले अभिव्यक्त गर्दछन्;

‘मन्दिर’मा बालिएको धूपहरूभन्दा
जेठी सर्किनीको पसिना बास आउँछ ।
कोकाकोलाको स्वाद थाहा छैन
कुवाको पानी बिर्सिएको छैन
ऊ मकै बेचेर
चाउचाउ किनी खाँदैन ।
(फेल?, बहिष्कृत आवाज, पृ. १३३)

कविता स्वयम्मा समाजको एउटा दस्तावेज हो । समाजको मौखिक विषय र लिखित विषयले मान्छेको मनस्थितिलाई छुन्छ र बदल्छ । राज्यले खासै महŒव नदिएको सामान्य नागरिकको पीरव्यथालाई कविताले प्राथमिकता दिएको छ । मन्दिर, मस्जिद, गुम्बा वा चर्चभित्र हुने गरेका गलत प्रवृत्ति र धर्मका नाममा गरिएका कुकर्महरूप्रति चनाखो हुनुपर्दछ । कविले साह्रै मिठो गरी ‘सम्झना’ कवितामा विचारको लेखन गरेका छन्;

लगातार तानिन्छ
सम्झना
र पनि
सिगरेट जस्तो हानिकारक हुँदैन ।
(सम्झना, बहिष्कृत आवाज, पृ. १३७)

कवि सही ढङ्गले शब्दलाई प्रयोग गर्दै कविताको गरिमालाई विचार यात्रामा जोड्दछन् । कवि यश लामाले जीवन यात्राको कष्टकर भोगाइलाई अलि पृथक पहिचान राख्ने ढङ्गले विषयलाई लिपिबद्ध गरेका छन् । आखिर समाज सचेत दृष्टिकोण र समग्र चेतनाको प्रयास नै कविता हो ।
कवि यश लामाले आफ्नो कविता यात्रामा जोडेका चार दर्जन अनुभूतिलाई पाठकको सामु सुन्दर ढङ्गले पेश गरेका छन् । कवि बहिष्करणमा परेका जनताहरूको विचारलाई कुनै न कुनै ढङ्गले केन्द्रमा ल्याउने कर्ममा उनको स्वर सुनिने गरी प्रकट भएको छ । ‘बहिष्कृत आवाज’ शीर्षकको कवितासङ्ग्रहभित्रका कविताहरूले मानवीय मूल्यलाई स्थापित गरेको छ । मान्छे भएर मान्छेको पीडा नबुझ्ने खाले वर्गलाई कविले कटाक्ष गरेका छन् । कविले सीमान्तकृत समूहका मान्छेलाई जगाइरहनु पर्नेमा जोड दिएका छन् । कवि लामा देशभित्रको राष्ट्रियतालाई जोगाउन वर्गीय हिसाबले उत्पीडनमा परेकाहरूलाई नेतृत्वमा ल्याउन आवश्यक ठान्दछन् । सरल भाषा र स्पष्ट वैचारिक धारले कविलाई निम्न वर्ग र समयले ठगेका मान्छेहरूको प्रवक्ताको रूपमा उभ्याएको छ । पहिलो कवितासङ्ग्रहबाट उनी कविताको पाठकहरूको प्राथमिकताभित्र परेका छन् । सुन्दर पक्ष र आफ्नो मौलिक परिचय चाहिँ उनले वर्गभित्र पहिचानको मुद्दालाई राखेका छन् । उनले रातोपनलाई मर्न नदिन क्रान्तिकारी विचार र सरल जीवनशैली हुनु पर्ने सन्देश प्रवाह गरेका छन् । अवसर नपाएकालाई अवसर दिनु पर्ने राज्य रमिते भएकाले जनता सङ्गठित र सचेत भइरहनु पर्ने कुराको सन्देश प्रवाह गर्दछन् ।

पाण्डेय, ताराकान्त . (२०५३) . सहयोगी ग्रन्थहरू, कला साहित्य : भूमिका र मूल्याङ्कन : काठमाडौँ, चिन्तन प्रकाशन प्रा.लि. ।
पाण्डेय, ताराकान्त . (२०६८) . समय, सिर्जना र संवाद, काठमाडौँ : अर्थ प्रकाशन ।
लामा, यश . (२०८१) . बहिष्कृत आवाज, काठमाडौँ : साङ्ग्रिला मिडिया प्रा.लि. ।
अधिकारी, तेजविलास . (२०७९) . सहिद स्रष्टा परिचय कोश, काठमाडौँ  : नेपाल प्रज्ञा प्रतिष्ठान ।
भट्टराई, रमेशप्रसाद . (२०७७) . सांस्कृतिक (वर्गीय, लैङ्गिक र जातीय) अध्ययनको सिद्धान्त र नेपाली सन्दर्भ, काठमाडौँ  : भुँडीपुराण प्रकाशन ।
ढकाल, घनश्याम र अन्य . (२०६७) . माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य, काठमाडौँ : अखिल नेपाल लेखक सङ्घ ।
tejkamere@gmail.com

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

प्रदेश युवा परिषदको कविता प्रतियोगिता; पहिलो हुनेलाई ४० हजार

संप्रस पौडेल

समाचार प्रमुख

मङ्सिर ३, सोमबार । प्रदेश युवा परिषद, बागमती प्रदेशको आयोजनामा खुला कविता प्रतियोगिता आयोजना गर्ने भएको छ ।

साहित्य सङ्गम मकवानपुरको व्यवस्थापनमा हुने यस प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पुरस्कार राशि क्रमशः ४० हजार, ३० हजार र २० हजार रुपैयाँ रहेका छन् । यस्तै सान्त्वना पुरस्कार भने १० हजार रूपैयाँ राशिको रहेको छ ।

प्रतियोगिताका लागि ४० वर्ष उमेर पार नगरेका युवा कविहरूले मात्र भाग लिन सक्ने सङ्गमका अध्यक्ष डीबी बर्तौलाले बताउनुभयो ।

जुनसुकै विषयमा मौलिक कविता रचना गरी पठाउन सकिनुका साथै कविताका लागि अधिकतम १५० शब्दसीमा तोकिएको छ । अन्यत्र प्रकाशित/प्रसारित नभएको कविता पठाउनुपर्नेछ भने प्राप्त कविताहरूमध्ये उत्कृष्ट २० कविता छनोट गरी अन्तिम प्रतियोगिता (वाचन) का लागि सहभागी गराइने आयोजकले जानकारी दिएको छ ।

मङ्सिर २० गतेसम्म कविता पठाउने मिति रहेको छ भने २० कविता छनोटको सूचना मङ्सिर २४ गते प्रकाशन गरिनेछ । यस्तै अन्तिम प्रतियोगिता मङ्सिर २९ गते हुनेछ ।

गत वर्ष समेत सङ्गमकै व्यवस्थापनमा आयोजित प्रतियोगितामा सुनसरीका कवि सुरज पराजुली प्रथम हुनु भएको थियो । प्रदीप अन्जान दोस्रो तथा एलिसा एकलास तृतीय हुनु भएको थियो भने भीमप्रसाद खतिवडाले सान्त्वना स्थान प्राप्त गर्नु भएको थियो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

गीतकार बानियाँको छैठौँ म्युजिक भिडियो सार्वजनिक

नवसाहित्य डटकम

गीतकार श्यामकुमार बानियाँद्वारा रचित स्वदेश गान ‘यो देशले तिम्रो काँध मागेको छ…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

आइतबार सर्वश्री मिडियाको युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतमा नवराज पराजुलीको स्वर र ओम प्रकाश राईको संगीत रहेको छ । यस्तै रामकृष्ण थापाले संगीत संयोजन गरेका छन् । म्युजिक भिडियोको छायांकन तथा सम्पादन महेन्द्र ओझाले गरेका हुन् ।

लामो समयदेखि मकवानपुरमा रहेर साहित्य रचना गर्दै आएका बानियाँले यसअघि दुईवटा स्वदेश गानसहित पाँचवटा गीतका म्युजिक भिडियो ल्याइसकेका छन् । उनका ‘आकाश खुल्यो सुस्तरी’ र ‘हिमालमा घाम झुल्क्यो…’ बोलका स्वदेश गान २०८० फागुनमा सार्वजनिक भएका थिए । गायनमा समेत रुची राख्ने बानियाँले ‘आकाश खुल्यो सुस्तरी…’ आफ्नै स्वरमा रेकर्ड गराएका थिए । यस्तै उनको आवाजमा ‘शून्य शून्य…’ र ‘माया भन्नु…’ बोलको गीतका म्युजिक भिडियो यसै वर्ष असोजमा सार्वजनिक भएका थिए ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

वार्षिकोत्सवमार्फत् निरन्तर पुस्तक उपहार दिँदै समृद्ध समाज

संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

मङ्सिर १, शनिबार ।
समृद्ध समाज राष्ट्रिय दैनिकले पन्ध्रौँ वार्षिकोत्सव मनाइरहँदा एउटा कार्यक्रमको निरन्तरतामा जोड दिँदै हुनुहुन्थ्यो सम्पादक सुरेशश्रेष्ठ ।कार्यक्रमको अभिन्न हिस्सा रहन्छ- पुस्तक उपहार । त्यो पनि उपस्थित सम्पूर्णका लागि ।

कहिले अस्पतालका लागि त कहिले सार्वजनिक पुस्तकालय निर्माणका लागि पुस्तक सङ्कलन अभियान चलाउने श्रेष्ठ शनिबार एककार्यक्रमबिच भन्नुहुन्छ- वार्षिकोत्सवमा सहभागी सबैलाई पुस्तक उपहार दिनु एक महत्वपूर्ण हिस्सा बनिसकेको छ । हामी चाहन्छौँसबैको घरमा सानो नै किन नहोस्, एक पुस्तकालय होस् । बाबुआमा पढुन् र बालबालिका त्यसकै सिको गरून् ।

कार्यक्रममा ‘छापा पत्रकारिता; चुनौतिका बिच अब के गर्ने ?’ एक बहस कार्यक्रम सञ्चालन भएको थियो । अग्रज पत्रकार राममणिदाहाल, युवा पत्रकार सुनिता बिष्ट र बागमती प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटा  सहभागी बहसलाई सञ्चारकर्मी छविअनित्यले सहजीकरण गर्नुभयो । बहसका क्रममा पत्रकार बिष्टले प्रिन्ट मिडियाको भविष्य कमजोर देख्दै आएको बताउनुभयो भनेदाहालले सरकारी विज्ञापनको बाँडफाँड तथा प्रिन्ट मिडियाप्रति सरकारको हेर्ने दृष्टिकोणमा सुधार आउनुपर्ने बताउनुभयो । यस्तैरजिष्ट्रार सापकोटाले आफूसँग केही योजनाहरू भएका तर त्यसलाई कार्यान्वयन गर्नुको विकल्प नभएको र श्रमजीवि पत्रकारकापक्षमा सदैव आवाज उठाइरहेको अवगत गराउनुभयो ।

बहसको समीक्षाका रूपमा पत्रकार राजन दाहाल (खुशराज) ले प्रिन्ट मिडियाको विकल्प अन्य मिडिया नभएको बरू यसले भाषामाअझ ख्याल गरेको साथै अन्य मिडियाका सामग्रीका तुलनामा प्रिन्ट मिडियाका विषयवस्तुले विश्वस्त पार्न सकेको बताउनुभयो ।

कार्यक्रममा पत्रिकासँग विगतमा जोडिएका पत्रकार, व्यवस्थापक, प्राविधिक कर्मचारी आदिलाई समेत सम्मानपत्रसहित सम्मानगरियो ।
शुक्रबार माध्यमिक विद्यालयस्तरी निबन्ध लेखन प्रतियोगिताका विजयीहरूलाई शनिबार वार्षिकोत्सवका अवसरमा पुरस्कार प्रदानगरियो । प्रतियोगितामा सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीका सचिन यादव प्रथम, सिद्धार्थ शिशु सदनका अग्रिम खड्का द्वितीय रनवोदय शिशु सदनकी ओशिका सुवेदी तृतीय हुँदा भुटनदेवी माविका सिद्धार्थ फुयाँल सान्त्वना हुनु भएको छ । कूल २३ विद्यालयका४४ जना सहभागी प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार राशि क्रमशः ३ हजार, २ हजार, १ हजार ५ सय र १ हजारनगद तथा प्रमाणपत्र र पुस्तक समेत रहेको थियो ।

प्रतियोगिता मकवानपुर बहुमुखि क्याम्पसमा आयोजित थियो भने वार्षिकोत्सवको कार्यक्रम होटल एभोकाडो एण्ड अर्किड रिसोर्टमाआयोजना गरियो । कार्यक्रममा शिक्षाविद् पुरनबहादुर जोशी, पूर्व शिक्षकहरू रमेश लामिछाने, मोहनप्रसाद शर्मा, राजनीतिकर्मीहरूरघुनाथ खुलाल, रघुरमन न्यौपाने, साहित्यकारहरू निमेष निखिल, सुबास खनाल, राजकुमार लामिछाने, सानुबाबु खनाल, निराशर्मा, भावना सापकोटा, पत्रकारहरू माधव न्यौपाने, शुभलक्ष्मी बिश्वकर्मालगायत विभिन्न संस्थाका प्रतिनिधि, शिक्षक, कर्मचारीआदिको बाक्लो उपस्थिति रह्यो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन