Home Blog Page 45

पुरूषोत्तम आचार्यको पुस्तक विमोचन र युद्धप्रसाद मिश्र साहित्य सम्मान समर्पण

मङ्सिर ३०, शनिबार
मकवानपुर ।
पुरूषोत्तम आचार्यकृत पाँचौं कृति ‘जुनेली’ खण्डकाव्यको गृह विमोचन गरिएको छ ।
शनिबार सोलिड्यारिटी इन्टरनेसनल इङ्लिस बोर्डिङ स्कुलमा आयोजित एक कार्यक्रमबीच कृति विमोचन तथा हास्यव्यङ्ग्यकार आरसी रिजालद्वारा स्थापित २२ हजार २ सय २२ रूपैयाँ राशिको युद्धप्रसाद मिश्र स्मृति साहित्य सम्मान २०८० बाट उहाँलाई सम्मान गरिएको हो ।
साहित्य सर्जक नवराज शर्माको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रम प्रलेस मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीको सभाध्यक्षतामा आयोजना गरिएको थियो ।

सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, प्राध्यापक तथा साहित्य सर्जक निरा शर्मा, राजनीतिकर्मी तथा साहित्य सर्जक प्रदीप वालाचनले आचार्यको कृतिमाथि टिप्पणी गर्नु भएको थियो । वक्ताका रूपमा साहित्य सर्जक निरा शर्माले लोक लयमा आधारित कृति द्वन्द्वात्मक भौतिकवादमा आधारित रही लेखिएको रचनाले हरेक व्यक्तिलाई नेपाली समाजको चरित्र चित्रण गराइदिने बताउनुभयो । अर्का वक्ताका रूपमा साहित्य सर्जक निमेष निखिलले आचार्यको पुस्तकले समाजमा रहेका शोषित र पीडित वर्गले भोग्नुपरेको अन्यायको पक्षमा बोलेको र पुस्तकले व्यवस्थापिका परिवर्तनपछाडिको समाजको अवस्थाको बारेमा समेत उल्लेख गरेको भए अझ सुन्दर हुने बताउनुभयो । साथै उहाँले थप गर्नुभयोः सामाजिक शोषणबाट मुक्तिका लागि क्रान्ति र वर्गसङ्घर्ष आवश्यक छ भन्ने मार्क्सीय वैचारिकीको प्रस्तुति काव्यको केन्द्रीय कथ्य हो । काव्यको भाषा र कवित्व बेजोड छ, जस्तो पुरूषोत्तमबाट अपेक्षा गरिन्छ । यस काव्यको औचित्यमाथि प्रश्न उठाउन सकिने ठाउँ छ । पटाक्षेप भइसकेको एउटा विषयलाई दुई दशकपछि यसरी काव्यका रूपमा उठान गर्नु आज यो समयमा आवश्यक थियो कि थिएन यो छुट्टै चर्चाको विषय हुन सक्छ । वक्ता तथा निवर्तमान बागमती प्रदेश सभा सदस्य प्रदीप वालाचनले सबैले दासत्व स्वीकार नगर्न अनुरोध गर्दै आफ्ना विचार राख्नुभयोः ‘जुनेलीका पात्रहरूका चरित्रहरू हेर्दा आफैंलाई पनि पाउँछु । ठूला ठूला युद्धमा कमाण्डर भएर लडेको हिसाबले पनि सामाजिक विषयवस्तुलाई लेखकहरूले यसरी उल्लेख गर्दा गर्व लाग्छ । नारीहरूको दिनचर्या, बेहोर्नुपरेका हिंसा, गोठाले जीवनको चर्चा पढिरहँदा आफ्नै जीवनको तथा आफ्नै घरको कथाका रूपमा पाएँ । द्वन्द्वात्मक भौतिक वाद मान्नेहरूले समाजमा वर्गका आधारमा रहेका शोषित र शोषक गरी दुई जातहरू विभाजन गरेका छन् । कविताको रूपमा ती कुरालाई पस्किन सकेको भए अझ उत्तम हुने थियो । तथापि कुण्ठा पालेर नबसी यसरी प्रश्न गर्ने हिम्मत नै ठूलो कुरा हो ।’

साहित्यकार आचार्यले आफ्नो पुस्तकका रचनाहरू गायन गर्नु भएको कार्यक्रममा नाट्य प्रस्तुति समेत गरिएको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य माननीय प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलान, हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष नवीन सिग्देललगायतको आतिथ्यता रहेको थियो ।


मुना अर्याल, भावना सापकोटा, रजनी पौडेल, रोश्नी चौलागाईँ, राजकुमार लामिछाने, सुवास खनाल, बैकुण्ठ लामिछाने, सागर खनाल, विधान आचार्य, घनश्याम घिमिरे, हरि पौडेल, भवानी तिमल्सिना, स्वस्तिका दाहाल, विशाल अधिकारी आशुतोष, सानु खनाल, श्यामकुमार बानिया, किशन पौडेल, माधव पोख्रेल लगायत साहित्य सर्जक, साहित्यसेवी, समीक्षकहरू उपस्थिति रहेको कार्यक्रमलाई प्रलेस मकवानपुरका सचिव चिरञ्जीवि लामिछानेले सहजीकरण गर्नु भएको हो ।

हेटौंडा अस्पतालका लागि पुस्तक सङ्कलन गर्दै समृद्ध समाजले वार्षिकोत्सव मनायो

मङ्सिर २९, शुक्रबार
मकवानपुर ।
समृद्ध समाज राष्ट्रिय दैनिकले आफ्नो १४औं वार्षिकोत्सव मनाएको छ ।
वर्षैपिच्छे लेखक, पाठक, विज्ञापनदाता, शिक्षक, कर्मचारी, शुभेच्छुक लगायत भेला गरेर पुस्तक उपहार दिने गरेकोमा यो वर्ष पुस्तक सङ्कलन अभियान आयोजना गरेको हो । शुक्रबार होटल एभोकाडो एण्ड अर्किड रिसोर्टमा सङ्कलित पुस्तक सोही स्थानमा हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटालाई हस्तान्तरण गरिएको सम्पादक श्रेष्ठले जानकारी दिनुभएको छ । अस्पतालमा बिरामी र कुरूवाले त्यहाँ रहँदा अध्ययन गर्ने उद्देश्यले ती पुस्तकहरू सङ्कलन तथा हस्तान्तरण भएका हुन् । विगतदेखि नै पुस्तकालय अभियानअन्तर्गत पठन संस्कृतिको अगुवाईमा सँगसँगै रहेका सहयात्री रविन श्रेष्ठले समृद्ध समाजको यस अभियानले अस्पतालको वातावरण अझ सुन्दर हुनुका साथै ती पुस्तकहरू अस्पताल अवधिभर अध्ययन गरी अस्पतालमैं सुरक्षित रहने हुँदा यसले खाली समयको उचित सदुपयोग हुने अपेक्षा गर्न सकिने बताउनु भयो ।

कार्यक्रममा बालबालिका, किशोरकिशोरी, युवा र वृद्धावस्था लगायत सबै उमेर समूहलाई लक्षित गरिएका साहित्य, शिक्षा, स्वास्थ्य, विज्ञान, धार्मिक, आध्यात्मिक, सामान्यज्ञान लगायत विभिन्न विषयमा सिर्जना गरिएका सयौं थान पुस्तकहरू सङ्कलन भएका छन् ।

युद्धप्रसाद मिश्र स्मृति सम्मान समर्पणका साथ पुरूषोत्तम आचार्यको ‘जुनेली’ गृहविमोचन हुँदै

मङ्सिर २९, शुक्रबार
मकवानपुर ।
प्रगतिशील लेखक सङ्‍घ, मकवानपुरले साहित्यकार पुरूषोत्तम आचार्यलाई युद्धप्रसाद मिश्र स्मृति साहित्य सम्मान २०८० बाट सम्मानित गर्दैछ ।
२२ हजार २ सय २२ रूपैयाँ राशिको सो सम्मान अघिल्लो साल ‘गाउँगाउँबाट उठ’, ‘एक जुगमा एक दिन एकचोटि आउँछ’, ‘रक्तक्रान्तिको ज्वालामुखीमा’, ‘गाई त बाँध्यो ढुङ्ग्रोमा मोही छैन, गरीबको चमेली बोल्दिने कोही छैन’ जस्ता गीतका गायक रामेश श्रेष्ठलाई प्रदान गरिएको थियो ।
सम्मान कार्यक्रमसँगै आचार्यको पछिल्लो कृति ‘जुनेली’ को गृहविमोचन समेत हुँदैछ ।
यही मङ्सिर ३० गते शनिबार सोलिड्यारिटी इन्टरनेसल एकेडेमी हेटौंडा १० मा दिनको १:०० बजे हुने सो कार्यक्रममा कलाकारहरू आइ.पी. आचार्य, नमस्ते दिवाकर घिमिरे र इलिसा पराजुलीको नाट्य प्रस्तुति समेत रहने प्रलेस मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीले जानकारी दिनु भएको छ ।
जुनेली खण्डकाव्यको विमोचनका साथै परिचर्चा कार्यक्रममा टिप्पणीकारहरू निमेष निखिल, प्रदीप वालाचन, कमला बराइली र निरा शर्माको टिप्पणी रहनुहुनेछ ।
मकवानपुरलाइ कर्म थलो बनाई अनवरत रुपमा प्रगतिवादी धारका रचना लेखनमा सकृय साहित्यकार पुरुषोत्तम आचार्यका हालसम्म ‘भोको मझेरी’ – मुक्तक संग्रह २०६८, ‘मुटु र गीतहरू’ – गीत संग्रह २०७०, ‘Roaring flames’ – संयुक्त कविता संग्रह- २०७७, ‘छैनौँ कसोरी तिमी’- ऊर्जाकाव्य २०७९, ‘जूनेली’ – खण्डकाव्य, २०८० गरी ५ कृतिहरू प्रकाशित भैसकेका छन् । साथै उहाँले आफ्नै शब्द सङ्‍गीत र आवाजमा केही गीत गजलहरू स्वराङ्‍कन समेत गर्नुभएको छ ।

विज्ञान शिक्षक समाज मकवानपुरले हाजिरीजवाफ प्रतियोगिता गर्ने

मङ्सिर २६, बुधबार
मकवानपुर ।
विज्ञान शिक्षक समाज मकवानपुरले जिल्लास्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्न लागेको छ ।
मकवानपुर बाल विद्या सदन, हेटौंडा १८ को सहकार्यमा पौष १४ गते हुन लागेको यस कार्यक्रम माध्यमिक तह (कक्षा ९-१०) का विद्यार्थीले सहभागिता जनाउन सक्नेछन् ।
प्रतियोगितामा प्रथम ५ हजार, द्वितीय ४ हजार र तृतीयका लागि ३ हजार पुरस्कार राशि रहेको छ । जसका लागि एक समूहमा १ छात्रासहित २ जना सहभागी हुन सक्नेछन् । हाजिरीजवाफका प्रश्नहरूमा २० प्रतिशत सामान्य ज्ञान र ८० प्रतिशत कक्षा ६ देखि १० सम्मको विज्ञान तथा प्रविधिका पाठ्यक्रमबाट प्रश्नहरू समावेश हुने समाजका अध्यक्ष खेमराज लामिछानेले जानकारी दिनु भएको छ ।

४ लाख राशिको पहिचान पुरस्कार ‘जङ्क्सन पिपलबोट’ र ‘थाङ्ग्रा’ लाई संयुक्त

मङ्सिर २६, बुधबार मकवानपुर । वर्ष २०७९/८० को ‘पहिचान पुरस्कार’ प्रकाश गुरागाईंको कृति ‘जङ्क्सन पिपलबोट-नयाँ सडकको कथा’ र प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’लाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । पहिचान पुरस्कार कोषको बैठकले ‘जङ्क्सन पिपलबोट’ र ‘थाङ्ग्रा’ लाई यी पुरस्कार प्रदान गर्ने संस्थापक नरेश काङमाङ राईद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत् जानकारी दिइएको छ । यसअघि छानिएका उत्कृष्ट आठ पुस्तकमध्येबाट जुरीले सर्वोत्कृष्ट ठहर्‍याएका यी दुई कृतिलाई पहिचान पुरस्कार प्रदान गर्न लागिएको हो । यस वर्ष घोषित दुई पुस्तकका साथै डा. नवराज केसीको ‘शून्यको मूल्य- सास, साहस र स्नेहको कथा’, करूणा राईको ‘रसिया राग’, मञ्जुल मितेरीको ‘कामी’, जानुका खतिवडाको ‘आतोओडा’, पराजित पोमुको ‘मद्वारा मेरो निर्माण’ र श्रीभक्त खनाल र खेमराज रानाभाटद्वारा संयुक्त लिखित ‘तीन फरक विषय र उनै जङ्गबहादुर’ उत्कृष्ट ८ पुस्तक अन्तर्गत छनौट चरणमा परेका थिए । उक्त पुरस्कार यसअघि श्याम साहको ‘पथेर’ र अनन्त वाग्लेको ‘कदम’ लाई संयुक्त रूपमा दिइएको थियो । राजन मुकारुङको निबन्धसंग्रह ‘फेरिँदो सौन्दर्य’, अर्जुन खालिङको कवितासंग्रह ‘गोयङको सुगन्ध’ र यज्ञशको उपन्यास ‘भुइयाँ’ र उन्मुक्त पुस्ताको कवितासंग्रह ‘आफर’, सरस्वती प्रतीक्षाको उपन्यास ‘नथिया’ गरी ९ कृतिले पहिचान पुरस्कार पाइसकेका छन् भने संस्थाले पहिचान सम्मानबाट लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलालाई सम्मानित गरिसकेको छ। पहिचान पुरस्कार कोषद्वारा स्थापित यस पुरस्कारको राशि ४ लाख २ हजार २ रुपैयाँ रहेको छ ।

साहित्यकार सुमन पोखरेल एसिया अवार्ड्सद्वारा सम्मानित

मङ्सिर २७, बुधबार
मकवानपुर ।
साहित्यकार सुमन पोखरेललाई एसिया अवार्ड्स संस्थाद्वारा सम्मानित हुनु भएको छ ।
कवि, गीतकार, नाटककार तथा अनुवादक पोखरेल भारतको तमिलनाडुस्थित तिरुचिरापल्लीमा एक भव्य समारोहबीच एसियाको प्रेरणादायी कविका रूपमा सो अवार्डबाट सम्मानित हुनु भएको हो ।
वल्र्ड रिसर्च कङ्ग्रेस र टाइम्स अफ लण्डनको सहकार्यमा अनलाइन मिडिया पार्टनरको रुपमा एशिया अवार्ड्सद्वारा गर्वका साथ सम्मानित गरिएको आयोजकले जनाएको छ ।
यस्तै एसिया अवार्ड अर्गनाइजेसनले आफ्नो वेबसाइटमा उहाँको उल्लेखनीय र प्रेरणादायी लेखनलाई एशियाको नम्बर १ ब्रान्ड र उत्कृष्टता पुरस्कारद्वारा गर्वका साथ सम्मानित र सम्मानित गरिएको जानकारी दिइएको छ ।
संस्थाले यस प्रतिष्ठित पुरस्कारको सबै हकदारका रूपमा पोखरेललाई घोषणा गर्न पाउँदा गौरवान्वित भएको उल्लेख गर्दै उहाँलाई आगामी प्रयासका लागि शुभकामना दिएको छ ।
आयोजकले विगत तीन दशकदेखि सामाजिक र ग्रामीण विकास, अनुसन्धान र मूल्याङ्कन, रचनात्मक र व्यावसायिक लेखन, कानूनी मुद्दाहरू, लेखा र करसम्बन्धी प्रशिक्षण प्रदान गर्ने लगायत विभिन्न क्षेत्रमा सक्रिय रूपमा संलग्न रहेका लगायतका पोखरेलका विषयमा विविध जानकारीहरूका साथ आरयूएलए अवार्ड्सद्वारा सञ्चालित एशिया अवार्ड्स अहिले विश्वव्यापी रूपमा कर्पोरेट उत्कृष्टताको मापदण्डका रूपमा लिइने बताएको छ ।
‘कावेरी कलेज फर वुमन’ द्वारा स्वागत गरिएको साहित्यकार पोखरेलको कविता ‘कावेरी कलेज फर वुमन’ को पाठ्यक्रममा समेत समावेश गरिएको छ ।
यस्तै उहाँ सन् २०१३ तथा २०१५ मा सार्क साहित्य पुरस्कारद्वारा पुरस्कृत भैसक्नु भएको छ भने उहाँका ‘जीवनको छेउबाट’, ‘हजार आँखा यी आँखामा’ र ‘मलाई जिन्दगी नै दुख्दछ’ कृतिहरू प्रकाशन भएका छन् ।

राप्रपाले २ लाख ५ हजार राशिको कविता प्रतियोगिता गर्ने

मङ्सिर २७, बुधबार
मकवानपुर ।
३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी) ले युवा कविता प्रतियोगिता आयोजना गर्न लागेको छ ।
प्रतियोगिताका लागि पृथ्वीनारायण शाह, राष्ट्रिय एकता दिवस र देशभक्तिसँग सम्बन्धित विषयमा कविता लेखिएको हुनुपर्नेछ ।
प्रतियोगी कविताका लागि ५ सय शब्द सीमा तोकिएको छ भने प्रतियोगीको उमेर ४० वर्ष ननाघेका हुनुपर्ने तोकिएको छ । कविताका साथमा सर्जकको नागरिकताको फोटोकपि समेत इमेल वा ह्वाट्सएप गर्नुपर्ने वा काठमाण्डौं धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बुझाउन सकिने मंगलबार जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार १ लाख, द्वितीय पुरस्कार ५० हजार, तृतीय पुरस्कार २५ हजार तथा अन्य ३ जनालाई प्रतिव्यक्ति १० हजारका दरले सान्त्वना पुरस्कार प्रदान गरिनेछ । यसरी कूल २ लाख ५ हजार राशीको पुरस्कार रहेको प्रतियोगितामा स्वदेश तथा विदेशमा रहनु भएका इच्छुक कविहरूलाई सहभागी हुनका लागि खुला आह्वान गरेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हेटौंडा ८ नम्बर वडाद्वारा चन्द्रोदयमा विद्यालय पोशाक वितरण

मङ्सिर २६, मंगलबार
मकवानपुर ।
हेटौंडा उपमहानगरपालिका ८ नम्बर वडा कार्यालयले वडाभित्रका विद्यालयमा अध्यनरत विद्यार्थीलाई मङ्गलबार विद्यालय पोशाक वितरण गरेको छ । चन्द्रोदय माध्यमिक विद्यालयमा बाल विकास केन्द्रदेखि कक्षा ५ सम्म अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको हो ।
सोही क्रममा ३ सय ५० विद्यार्थीलाई पोशाक वितरण गरिएको र आउँदो बिहीबार हिमगङ्गा प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई समेत वितरण गरिने वडाअध्यक्ष थापाले बताउनुभयो । साथै वडाले हरेक वर्ष आफ्नो नियमित कार्यक्रमस्वरूप पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिँदै आइरहेको उहाँले जानकारी दिनुभयो ।

सङ्‍गम नुवाकोटले साहित्य महोत्सव गर्ने

मङ्सिर २६, मंगलबार
मकवानपुर ।
साहित्य सङ्‍गम नुवाकोटको आयोजनामा साहित्य महोत्सव आयोजनाको तयारी गरिएको छ ।
राष्ट्रियस्तरको “नुवाकोट साहित्य, संस्कृति तथा पर्यटन महोत्सव -२०८०” का लागि संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय बागमती प्रदेशसँग साझेदारी रहेको संगम अध्यक्ष सुमित्रा सुमीले बताउनु भएको छ । साथै कार्यक्रममा विभिन्न सामाजिक संस्था र स्थानीय तहहरूको सहयोग रहने उहाँले जानकारी दिनु भएको छ ।
यही पौष १४/१५ गते नुवाकोटको बिदुरमा उद्घाटनसँगै विभिन्न कार्यक्रम सन्चालनसँगै रसुवाको उत्तरगया धाममा समापन हुने कार्यक्रम रहेको छ । यस कार्यलाई साहित्य इतिहासको कोशेढुङ्गा रहने जानकारी आयोजकले दिएको छ ।
रसुवा र नुवाकोटको साहित्य, संस्कृति र पर्यटनको विकासमा टेवा पुर्‍याउने उद्देश्यले महोत्सवको तयारी सुरू गरिएको छ । देशका सातै प्रदेशमा रहने साहित्य सर्जक, साहित्यसेवीलगायत साहित्यप्रेमीहरू उपस्थित रहने अपेक्षा आयोजकले लिएको छ ।

प्रधानाध्यापक चौलागाईँद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

हेटौंडा १६ मा अवस्थित जनप्रिय माध्यमिक विद्यालय प्राविधिक शिक्षालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईँले विद्यार्थीहरूलाई न्यानो कपडा (स्वेटर) वितरण गर्नुभ‌एको छ ।
कक्षा ६ देखि १० सम्मका २५ जना विद्यार्थीहरूलाई चौलागाईँले आफ्नो वैवाहिक बार्षिकोत्सव तथा पुत्रको जन्मोत्सवको अवसरमा स्वेटर वितरण गर्नुभ‌एको हो ।
न्यानो कपडा वितरण कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नं १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्णप्रसाद पनेरूको विशिष्ट आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि कोइरालाले शिक्षकहरुको यस्ता कार्यले सबैलाई हौसला मिल्ने हुँदा अन्य जोकोहीले पनि परिवार, साथीभाइबीच होटलमा गरिने पार्टी, मद्यपान लगायतमा हुने फजुल खर्चलाई यस्ता पून्य कार्यमा लगाएमा शिक्षाबाट कसैले वञ्चित हुनु नपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा जनप्रिय अतिरिक्त तथा साँस्कृतिक विभाग संयोजक युक्तलाल विश्वकर्मा, पूर्व प्र‌अ नमराज अर्याल, माध्यमिक तह संयोजकहरू नीरबहादुर खड्का र रविन श्रेष्ठ लगायतका शिक्षकहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सञ्चार विभाग संयोजक सुनिल गौतमले सहजीकरण गर्नुभ‌एको हो ।