Home Blog Page 66

कविताः मदनको सम्झनामा / विशप आचार्य

कुनै समयमा समर्पित भएर नेपालमा
गरे निडर भै सधैं सतत राष्ट्र आराधना ।
कदापि नभुलौं तिनी मदन नामलाई झन
सबै मदनमा समर्पित भई गरौं सम्झना ।।

विशाल तरुको र हेतु उनको छ सान्दर्भिक
विचार लघुता र मुख्य तिनको रहे आत्मिक ।
लिएर दृढ भावना अघि सरे उनी हर्दम
प्रदीप्त रविझैँ प्रकाश छरने गरे चिन्तन ।।

डटेर किन लाग्दथे सकल देश चम्काउन
स्वदेश प्रति प्रेम भाव मनभित्र जन्माउन ।
हरेक सुख दुःखको सतत सामना गर्दथे
सुकीर्ति अझ फैलियो हृदय माझमा चम्किए ।।

शरीर बलिदानमा अघि सरे भई तत्पर
दिएर अनमोल जीवन लडे नमानी डर ।
विचार मनले गरी हृदयभेद्य संभाषण
गरून् मदनकै प्रभा स्वयममा भरी शासन ।।

अपार उपकार ती मदनका हुँदा देशमा
बगेछ अनगिन्ति भाव कविका यहीँ भेषमा ।
बुझेर अथवा म वर्णन गरुँ नजानीकन
र शब्द दुई पाउमा मदनको गरुँ अर्पण ।।

छन्द – पृथ्वी
नाम – विशप आचार्य
सम्पर्क नं – ९८४५८२८९३८
ठेगाना – हेटौंडा २ , मकवानपुर

‘जागरुक महिला सम्मान-२०८०’द्वारा शान्ति प्रियवन्दना सम्मानित ।

मकवानपुरे साहित्यकार शान्ति प्रियवन्दनालाइ रेडियो मकवानपुर १०१.३ मेगाहर्जले आयोजना गरेको तिज बिशेष कार्यक्रमको अवसरमा नगद राशी रु १० हजार सहित ‘जागरुक महिला सम्मान-२०८०’ द्वारा सम्मान गरेको छ ।

उहालाई ५० को दशकदेखि निरन्तर साहित्य क्षेत्रमा क्रियाशील रहेर नेपाली भाषा साहित्यको माध्यमबाट महिलाहरुको लागि प्रेरणाको स्रोत बन्नुभएकोमा यो सम्मान प्रदान गरिएको हो ।

शान्ति प्रियवन्दनाको २०७८ मा “जिल खाइरहेको एक्काइसौं शताब्दी” नामक कविता कृति प्रकाशित छ ।

‘सांस्कृतिक पर्व तीजमा बढ्दाे विकृति’ विषयमा विमर्श ।

भदौ ३१ मकवानपुर, शनिबार नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला महिला विभाग मकवानपुरद्वारा आयोजित तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मकवानपुरकी महिला उपाध्यक्ष तथा महिला विभाग संयोजक प्रतिमा गौतमको अध्यक्षता रहेकाे कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समिति सदस्य लक्ष्मी गजुरेलकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । ‘सांस्कृतिक पर्व तीजमा बढ्दाे विकृति’ विषयमा विमर्श भएकाे कार्यक्रममा म्युजिकल चियर, सामुहिक हाजिरी जवाफ प्रतियोगिताका साथै सामुहिक नृत्य समेत प्रस्तुत भएको थियाे ।

नेपाल राष्ट्रिय शिक्षक संगठन निवर्तमान केन्द्रिय सदस्य पद्मा पाैडेलकाे विशेष आतिथ्यमा भएकाे कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेश सदस्य सुनिल गाैतम, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका जिल्ला अध्यक्ष श्रीराम दाहाल, पेसागत महासंघका केन्द्रीय सदस्य माया पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका सल्लाहकार अकुर गौतम , शिक्षक महासंघ मकवानपुरका उपाध्यक्ष लक्ष्मी चाैलागाईं, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर उपाध्यक्ष कृष्ण पाैडेल, सचिब मुकुन्द न्याैपानेकाे आतिथ्यमा सम्पन्न भएको थियाे ।

बकैया गाउँपालिकाकी पहिलाे उपाध्यक्ष सरला बोलखे तथा गैर सरकारी संस्था महासंघ बागमती प्रदेशकी अध्यक्ष आरती पाठकले सांस्कृतिक पर्व तीजमा बढ्दो विकृति बिषय माथि आफ्नो बिचार राख्नुभएको थियो । विचार राख्दै बोलखेले -‘तीज मनाउनु नै गलत नभई भड्किलो र खर्चिलो बनाउनु गलत रहेको’ धारणाा राख्नुभयो भने पाठकले -‘हामी वैचारिक विमर्श गर्छौँ छलफल गर्छौँ तर त्यसलाई छाडेर सामाजिक सञ्जालमा खाएको र नयाँ साडिमा नाचेको कुराको प्रचार गर्छौँ , यसले नकारात्मकता थपेको’ विचार राख्नुभयो ।

महिला विभाग सचिव चन्द्रा देवी लामा बलले सञ्चालन गर्नुभएको कार्यक्रमकाे स्वागत मन्तव्य नेपाल राष्ट्रिय शिक्षक संगठनकी कोषाध्यक्ष भावना सापकोटाले राख्नु भएको थियो । हाजिरी जवाफ प्रतियोगिताको लागि प्रश्न सोध्ने कार्य नेपाल राष्ट्रिय शिक्षक संगठन सहकाेषाध्यक्ष सबिता लामिछानेले गर्नुभएको थियो । प्रश्नका सही उत्तर मिलाई शिक्षकहरू नम्रता बिँडारी पोखरेल , सावित्री अधिकारी , राधिका सापकोटा , शालिकराम घिमिरे, सुनिता घिमिरे, गोपिरमण प्याकुरेल विजेता हुनुभएको थियो । यसैगरी कार्यक्रममा भएको म्युजिकल चेयर प्रतियोगितामा राधा गौतम, विष्णुमाया नगरकोटी र शारदा दुलाल क्रमश : प्रथम , द्वितीय र तृतीय हुनुभएको थियो 

अल्फा एकेडेमीमा तीज गीत प्रतियोगिता

पोखरा, ३१ भाद्र । अल्फा एकेडेमी, कालिका चोकमा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । कक्षागत रूपमा सम्पन्न प्रतियोगितामा कक्षा दस र सातका विद्यार्थी प्रथम स्थान ओगट्न सफल भएका थिए । त्यसैगरी कक्षा नौ दोस्रो, कक्षा आठ तेस्रो र कक्षा तीनले सान्त्वना स्थान ओगट्न सफल भए । कुल १२ ओटा समूह प्रतिस्पर्धामा सहभागी थिए । प्रतिस्पर्धीबाहेक विद्यार्थी तथा शिक्षकको तर्फबाट पनि विभिन्न प्रस्तुति दिइएको थियो ।

कक्षा नर्सरीकी शिक्षिका अनिता भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शिक्षिकात्रय ज्योति रानाभाट, पार्वती पतानी र आरती सापकोटा निर्णायकको भूमिकामा रहेका थिए । स्थानीय समाजसेवी मायादेवी रानाभाटको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षिका शकुन्तला लम्सालले गरेकी थिइन् भने सङ्गीता ओझाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । विद्यालयले हरेक वर्ष तीज गीत प्रतियोगितालाई विशेष रूपमा मनाउँदै आएको शिक्षिका ज्योति खनालले जानकारी दिइन् ।

पढ्दा पनि सिरिङ्ग बनाउने- अनेक कथा

तेरी आमा बिरामी भएर झाँक्री बोलाउन जाँदा कुलोनिरको ठूलो रूख कानै नजिकबाट गर्लाम्म लड्यो । हावाहुरी केही छैन ।ओहो छोएको मात्रै भए पानी पनि भन्न नपाइने ।

मैले सोधेँ- अनी बा, झाँक्रीको घरमा पुग्नुभयो ?

बा- पुगेँ नि । झाँक्रीलाई भनेँ । अनी सँगसँगै फर्केर आएको । आउँदा त रूख ठाडै रहेछ । अनी पो डर लागेर आयो ।

मेरा शरीरमा रौँहरू ठाडा पर्न लागिसके ।

अर्को एक दिन त्यस्तै भयो । तेरी आमा बिरामी परिरहने । तँ पनि पिलन्धरे थिइस् । जेठो छोरो सिध्धिने भयो जस्तो लागिरहन्थ्यो । ठूल्दाइ र म राती नै झाँक्री बोलाउन गयौँ ।हाम्रैअघि या बडेमानको हात्ती मकैबारी फाँड्दै उँभो लाग्यो ।दुइ दाजुभाइ असिनपसिन भएर कान्लामुनि बसिरह्यौ । जङ्गली हात्तीबाट धन्न बाँच्यौँ । झाँक्रीकोमा नपुगी नहुने । बडो चनाखो भएर गयौँ । झाँक्रीको घरमा पुगेर उठायौँ अनी भन्यौँ- झाँक्री बा, बल्लतल्ल ज्यान जोगाएर आको नि ।

झाँक्री- ए डराउनु पर्दैन । त्यो वीर हो ।उनले अरू पनि के के भने ।हामी आत्तिरह्यौं ।

झाँक्रीलाई अनुरोध गरेर सँगसँगै लिएर अर्कै बाटो भएर आयौँ । भोलीपल्ट जाँदा सबै मकै सिधै छन् । हात्तीले मासेका त एउटा निशाना पनि छैन ।

०००

यसो हजुरबालाई सम्झेँ । भन्नुहुन्थ्यो- तेरी हजुरआमा मरेपछि पनि एक वर्षसम्म आइरही । चुरा बजाइरही । के खायौ भनेर सोध्थी । सुत है भन्थी । कतिसम्म भने भान्छामा ढोका लाएर म बार्दलीमा सुत्न जान्थेँ । तेरी हजुरआमा भान्छामा पुगेर भात पस्किन थाल्थी ।

म भन्थेँ, हजुरबा डर लागेन ?

भन्नुहुन्थ्यो- भूतसँग दोहोरो कुरा गर्नुहुन्न । केही गर्दैन ।

०००

मलाई फेरी लाउनेसँग अहिले पनि डर लाग्छ । राती त कुरा गर्दिनँ तर भोलीपल्ट मनग्गे कुरा गर्छु । हजुरबा राती नै कुरा गर्नुहुन्थ्यो । भन्नुहुन्थ्यो- बाबु राम्ररी घर घुम है ।

म- तपाईँलाई डर लाग्दैन हजुरबा ?

हजुरबा- उनीहरूलाई लाइट बालेर हेर्नु हुँदैन ।(टर्च लाइट हजुरबाको सिरानीमैँ हुन्थ्यो ।)

०००

जाडो होस् वा गर्मी, हजुरबा जहिल्यै बार्दलीमा सुत्ने ।बार्दलीमा भर्‍याङ बाहिरबाटै थियो । जोकोही चढेर ओर्लिन सक्ने एक खुट्टे भर्‍याङ ।हजुरबा खाटमा सुत्नुहुन्थ्यो, भर्‍याङको छेउमा चङ्खे कुकुर सुत्थ्यो । दिउसो टोलमैँ जोगीलाई पनि निषेध गर्ने चङ्खेले हजुरबाको खाटमुनि चोर छिरेको पत्तै पाएनछ ।

सोधेँ- हजुरबा अनि के भयो त ?

हजुरबा- के हुनु रातभरि गोठमा बाधेँ । भोलीपल्ट फुकाएर पठाइदिएँ ।

०००

सोमनाथ हजुरबा हातभरिको खुर्पा बोकेर आए । दिमागी अवस्था ठिक नभएर बाटोमा हिँड्दा पनि अत्यास लाग्ने म झनै लुगलुग भएँ । तिनले हँसिया उचालेर हजुरबाका गर्धनमा हाने भने पानी भन्न पनि पाइन्नँ भन्ने सोचिराथेँ । हजुरबाले थर्काएर भन्नुभयो- ओई सोमनाथ ।

सोमनाथ हजुरबा- हजुर दाजु ।

हजुरबा- खै खुर्पा ले त ।

सोमनाथ हजुरबा- त्यो छोरोलाई च्वाट्टै काट्छु नि दाजु ।

हजुरबा- नचाहिया कुरा गर्छस् ? मैले भनेको मान्दैनस् ?

सोमनाथ हजुरबा- लिनोस् दाजु ।

अहो, बाटोमा हिँड्दा पनि ढुङ्गामुढा गर्ने यी हजुरबा हाम्रा हजुरबासँग कस्तो लुरूक्क परेर आफ्नो हातको बडेमानको हँसिया दिएका ।

०००

भर्खरै लेवनानबाट फर्केका विदुर मामा हराए ।

उनका बाआमा हेरकोर गर्न हजुरबालाई भेट्न आए ।

हजुरबा- धेरै टाढा गाको छैन । भेटिन्छ । खोज्नु, जिउँदै छ ।

(पछि भेटियो पनि ।)

म- हजुरबा तपाईँले साँच्चै थाहा पाएरै भन्नु भएको हो त ?

हजुरबा- यिनीहरूलाई विश्वास लाग्छ । नचाहिने कुरा पो गर्न हुन्नँ ।

यस्तो धेरैचोटी भयो ।एउटा रिटायर्ड आर्मीको घरमा सुनको थैलो नै बेपत्ता भएछ । उसैगरी ‘भेटिन्छ, परचक्रीको हातमा पुगेको छैन, खोज ।’ भनेपछि खोज्दा घरमैँ मुसाले कतै खोपातिर पुर्‍याएको रहेछ । यस्तै यस्तै गुण गरेको भएर हजुरबाले होटलमा चिया र सूर्तीको पैसा लगभग तिर्नु परेन ।

०००

नेवारी, हिन्दी, चेपाङ, तामाङ भाषा खरर बोल्ने हजुरबालाई नेवारहरू आफ्नै ठान्थे, तामाङहरू त्यही भाषामा पाच्य अपाच्य सबै शब्द बोलेर जिस्कन्थे । चेपाङहरू सोझा थिए, लामो नाक भएको बाहुनले आफ्नो भाषामा बोलेकोमा दङ्ग पो पर्थे । आधा दर्जन भाषाको ज्ञान भएको हजुरबाबाट मैले कहिल्यै भाषा सिक्न सकिनँ ।भाषा जानेपछि हजुरबालाई उपहार आउँथ्यो- पहाडको रातो खुर्सानी । अँ, हजुरबालाई खानामा ५/६ वटा खुर्सानी चाहिन्थ्यो । यस्ता खुर्सानी खाने हजुर्बा त्यो जाबो मसाने भुतसँग किन डराउनु भन्ने पछि मात्रै जानेको हो ।

०००

भूतकै कुरा,

ज्यामिरेकै कुरा, पौडेल माइला र भालुसिङ् अति मिल्ने साथी ।पौडेलको बाउ मरेकोले सेतो लुगा लगाएको । एकरात भालुसिङ् खोल्साको पानी खेतमा पटाउन गएछ । निहुरेर ढुङ्गा र माटोको चपरीले पानी थुन्दै गर्दा पछाडिबाट छ्याप्प पानीले हान्यो । भालुसिङ्‍को बैठक भाग भिज्यो । जाडो महिनाको मध्य रात ।

भालुसिङ्‍ले हपार्‍यो- ओइ पौडेल नजिस्की न, ठन्डी छ ।

पौडेल टेर्दैन । फेरि दुई औँजुलीमा उठाएर छ्याप्प छ्याप्छ ।

यो क्रम चलिरहन्छ । भालुसिङ्‍लाई साह्रै रीस उठ्छ र पौडेलमाथि आइलाग्छ । एक्लै त्यही पानीमैँ लड्छ । अघि देखेको सेतो लुगा गाएको पौडेल त छैन ।

अब भूतले तर्साएको पक्का भएपछि भालुसिङ् त्यहीँ कराउँदै रुन थाल्छ । गाउँलेहरू पुगेर उठाएर घर लान्छन् । उसको पौडेल साथी त भोलीपल्ट मात्रै पो आइपुग्छ । ऊ ६ महिनासम्म बिरामी पर्छ ।

०००

गाउँमा जङ्गली जनावरले बाली खाने डर अहिले पनि छँदैछ । अहिले पो स्थानीय सरकारले बडो चासोपूर्वक करेन्टवाला तारमार्फत् केही सहयोग गरेको छ । २ वटा राष्ट्रिय निकुञ्जबीचको गाउँ- डिल्लिपुर ।

लहलह झुलेको धान । केही दिनमा भित्र्याउनुपर्ने । जङ्गली जनावरबाट बाली बचाउन बा र छिमेकी ठुलोबा कुर्न जानुहुन्छ । राती सुतेको ठाउँबाट कसैले खुट्टा तानेर तल पुर्‍याउँछ । बा सरेर आफ्नै ठाउँमा माथि सरेर सुत्नुहुन्छ । निदाइसकेपछि फेरि कसैले तानेर उतै पुर्‍याउँछ । केही पटक यस्तै खेल चलेपछि….

बा- दाइ, ए दाइ मलाई के भयो यस्तो, तानेको तान्यै गर्छ त ?

ठुलाबा- मलाई पनि त तानिरहेको छ नि ।

अब दुवैजना बाली खाए पनि खाओस् भनेर घर फर्कनुहुन्छ ।

०००

ज्यामिरेका बलराम पौडेल, निकै अनुभवी ट्रक ड्राइभर ।उहाँका पनि कथा छन् ।

गाडी निकै घण्टासम्म लगातार चलिरहेको छ ।हेटौँडाबाट पश्चिमतिर कुनै ठाउँको लागि लोड लिएर जाँदै । बाटोमा खुब राम्री केटीले रोक्नका लागि हातको ईशारा दिन्छे ।

ड्राइभर- ल हेर किच्कन्नी । यो चढी भने त गाडी खसालेर मार्छे ।

खलाँसी- अनि यो किन यस्तो अनकन्टार बस्ती नै नभएको ठाउँमा आएकी त ?

ड्राइभर- गाडी दुर्घटना भएर राम्री केटी मरेकी भए यसरी किच्कन्नी बनेर आउँछे । त्यसको खुट्टा पछाडी फर्केको हुन्छ । ढाडमा पूरै खाल्डो हुन्छ । लामो कपालले ढाड छोपेकी हुन्छ । आँखामा सिधा कहिल्यै हेर्दिनँ ।

(उतिखेर खलाँसी नै भनिने र उनले यही शब्द प्रयोग गरेकाले अन्यथा नमान्नुहोला ।)

खलाँसी लुगलुग काम्न थाल्छ ।

अब कथा त हजुरबा र मैले पो सुन्दैछौँ त । दाजु सुन्नोस्, एकदिन उकालोमा त्यसलाई फेरि भेट भयो । मैले गाडी रोक्दै रोकिनँ । त्यो पछाडितिरबाट हुटतिर पो चढिछ ।माथिबाटै शिशातिर हात लम्काएर उल्कै गरी । त्यसले हातको ईशारा गरेर मलाई अर्कै बाटो जान भनी । बाटै अर्कै बन्दैगयो । म हिँड्ने बाटोमा त झाडी नै झाडी पो छ । पच्चिस वर्ष एउटै बाटोमा गाडी चलाएको मान्छे म । मलाई थाहा छ नि कहाँ के छ के छैन । मैले झाडीतिर लगेको लग्यै गरेँ । अब योसँग नसक्नी भयो भनेपछि त्यसले छोडिदिई । अनी म अघि बढेँ ।

०००

स्कूले साथी- हरिदाइ । म बेलुका पढ्न अनि उनकोमैँ सुत्न जान्थेँ । मध्यरातमा बार्दलीबाट हरिदाइ राप्तीखोलाको किनारमा (एकातिर बिशाल बगर र अर्कातिर राष्ट्रिय निकुञ्ज) देखाउँथे- उ त्यो किनारै किनार बत्ती बालेर हिँडेको देख्यौ ?

म- अँ देखेँ ।

हरिदाइ- त्यो राँके भूत हो ।

त्यो दिन मैले राँको सर्दै सर्दै गएको देखेँ । तर म अझै भूत मान्नेवाला छैन ।

अँ मान्दिनँ भन्दाभन्दै बा भन्नुहुन्छ- तँ एक रात मसानघाटमा गएर एक्लै सुत्, अनि थाहा पाउँछस् । अँ म त्यसो गर्न त सक्दिनँ । मभित्र थुप्रै भूतको निवास रहेको छ । मलाई मेरै मनको भूतले सताइरहन्छ ।

अँ त नि बाले भनेको, मान्छेको संख्या बढ्दै गएपछि भुतको संख्या घट्यो अरे । नत्र त पहाडमा हुँदा आधा रात भएपछि पहिले मरेको शिशु रून्थ्यो अरे । मरेकी बुहारी भान्छामा गग्रेटोबाट लोहोटामा खत्‍खत् गर्दै पानी सार्थिन् अरे । मरेका बुढाबुढी रुन्थे अरे । आत्महत्या गर्नेहरू त झनै पो दुख मान्थे अरे । उनीहरूका आत्मा भड्किएर कतै मिल्न नसकेका अरे । कुनै जुनी (योनी) मा मिल्न नसकेका अरे । नत्र त एउटा मरेपछि अर्को भएर जन्मिन्छ अरे ।

०००

पढ्नुपर्ने, भोलीको परीक्षा छ ।

चार वर्ष पहिले मोटरसाइकल दुर्घटना भएपछि म ढाडको बिरामी भएको छु ।ढाड दुखाइदुखाइ लेखिरहेको छु ।

त्यस दुर्घटनापछि मैले पचासौं अन्य दुर्घटनाका सपना देखिसकेँ । सानोपोखरा चोकमा पुग्दा मलाई अहिले पनि त्यही घटनाले झसङ्ग बनाउँछ ।

मान्छे वर्तमानमा होइन, भूत सम्झेर भविष्यका लागि डर पालेर राख्छ । म पनि यही समाजकै उपज हुँ । खै मैले यस्ता कथा नलेखेको भए पनि हुन्थ्यो । अब ककसका कथा निस्कने हुन् ।लेख्दैगर्दा म चिसो भैरहेको छु ।

०००

एकै बसाइमा यो हरफसम्म लेखिसक्दा अहिले ठ्याक्कै रातको बाह्र (११:५४) बज्यो ।मलाई अलिअलि भूत चढिरहेको छ । पछाडिबाट हात ल्याएर घाँटीमा अठ्याउने पो हो कि वा म सहरको बार्दली कोठामा बसेर ल्यापटपमा टाइप गरिरहेको छु ।झ्याल त पहिलो कथा लेख्नेबित्तिकै अघि नै लाइसकेको छु ।तै पनि भूत हो नि, सिसैबाट लामो सुरिलो हात छिरायो भने भूत भगाउनलाई मैले आगोजन्य पदार्थ, सलाइ, लाइटर, अगुल्टो पो कहाँ खोज्नू । माथि किचनमा ग्यास बाल्न जाउँ भने यो पनि भर्‍याङमा मसँगसँगै जाला । अहो म बहुत डराएको छु । मलाई २२/२५ वर्षअघि हजुरबाकै मुखबाट कथा सुनिरहेको बेलाझैँ भूत लागिसकेको छ ।

जेहोस् म छोरीलाई भन्छु- भूत भनेको हिजो बितेको कुरा हो । भूत वर्तमानमा हुँदैन ।

०००

तपाईँसँग यस्ता कथा छन् कि छैनन् कुन्नि ।मसँग यत्तिकै रोमाञ्चक अझ थुप्रै छन् । बरू मलाई आजकाल मोबाइल भूतले पो सताइरहेको छ ।अली दिन मोबाइल बोक्न छोडेँ भने यो भूतले पनि ‘केटो चाम्रो रैछ’ भनेर मलाई सताउन छोड्ला ।

तर मोबाइल नबोकिरहन पनि त गाह्रो छ नि । चुनावका बेलामा पद पाउनेतिर पार्टी फेरेजस्तो मोबाइललाई बरू दाहिने गोजीबाट देब्रेतिर पो बसाइ सार्ने हो कि !

म कहिलेकाहीँ मोबाइल घरमैँ छोडेर अफिस जान्छु । हिजो पनि त्यसै गरेँ । त्यो दाहिने गोजीमा भाइब्रेसन आइरहन्छ । रिङ टोन बजिरहन्छ । तपाईँलाई यस्तो हुन्नँ ?

अँ ठ्याक्कै मध्यरातको १२:०० बज्यो ।दिनको २ पटक बज्ने १२:०० त भूतको समय हो रे ।दिनको बाह्रमा भूतले खाजा खाने अनि रातको बाह्रमा भूत बुढाबुढी, छोराछोरी अनि परिवारसँग खेल्ने, रमाउने बेला अरे । हजुरबा यही भन्नुहुन्थ्यो ।मेरा आँखा डरले रसिला भएका छन् । (अँ, यो रात म निदाउँन सक्दिनँ ।११४० शब्दले अझै पुगेको छैन।)

लोक दोहोरीका साथमा झरनाले मनायो दर खाने कार्यक्रम

झरना साहित्यिक परिवार मकवानपुर तथा महेन्द्र माध्यमिक विद्यालय, बकैया-५ को संयुक्त आयोजनामा सोही विद्यालय प्राङ्गणमा तीज विशेष सांस्कृतिक तथा दर खाने कार्यक्रम आयोजना भएको छ । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको पूर्वसन्ध्यामा आयोजना गरिएको साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा विद्यालयका सबै तहमा अध्ययनरत विद्यार्थीहरू, शिक्षकहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु तथा बकैया तथा बकैया बाहिरका अतिथिहरूको उपस्थिति रहेको थियो।

बकैया वडा नम्बर ५ की वडाध्यक्ष लक्ष्मी जिम्बाको प्रमुख आतिथ्य तथा वडा नम्बर ४ का वडाध्यक्ष राजन दङ्गाकको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा झरना साहित्यिक परिवार मकवानपुरका उपाध्यक्ष गायत्री रूपाखेतीको अध्यक्षता रहेको थियो भने विद्यालयकी शिक्षिका दीपा सिग्देलले गर्नुभएको थियो। कार्यक्रममा झरना साहित्यिक परिवार मकवानपुरका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, पूर्व अध्यक्ष उद्धव प्रसाद सापकोटा, वर्तमान अध्यक्ष विश्वनाथ सञ्जेल, उपाध्यक्ष चिरञ्जीवी लामिछाने, विद्यालयका प्रधानाध्यापक दुर्गा पराजुली, पूर्व प्राधानाध्यापक आलोक प्रसाद गौतम, विद्यालय व्यवस्थापन समितिका सदस्य सुस्मिता घोरसाइनी लगायतको उपस्थिति रहेको थियो।

तीज विशेष कार्यक्रमको विशेष आकर्षणको रूपमा स्थलगत लोक दोहोरी कार्यक्रम रहेको थियो । मकवानपुरमा जिल्लामै शिक्षकका रूपमा रहेर विगय लामो समयदेखि लोक गीत गायनमा सक्रिय तथा विभिन्न लोक दोहोरी गीतहरूमा स्वर दिइसकेका गायकहरू रामकुमार सापकोटा र मञ्जु दाहालको बीचमा प्रत्यक्ष रूपमा लोक दोहोरी तथा साथमा सामूहिक नृत्य प्रस्तुति समेत भएको थियो।

जनसाहित्यिक सङ्‍घद्वारा साहित्य सङ्‍गमका नवनिर्वाचित परिवार सम्मानित

भाद्र ३०, मकवानपुर ।
राष्ट्रिय जनसाहित्यिक सङ्‍घ मकवानपुरले साहित्य सङ्‍गम मकवानपुर परिवारलाई सम्मान गरेको छ ।
मदन भण्डारी फाउन्डेशन मकवानपुरको कविता प्रतियोगिता कार्यक्रमको अवसरमा टिका तथा खादाका साथ सम्मान गर्दै फाउन्डेशनका अध्यक्ष तथा कार्यक्रममा प्रमुख अतिथि पूर्व परराष्ट्रमन्त्री तथा चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले नवनिर्वाचित समूहलाई बधाई ज्ञापन गर्नुभयो ।
सङ्‍गमको अध्यक्षमा डीबी बर्तौला, उपाध्यक्ष सानु खनाल, सचिव मनोज पोखरेल, कोषाध्यक्ष मेनु तिमल्सिना, सहसचिव भवानी तिमल्सिना र सदस्यहरू रजनी पौडेल, कुबेर पराजुली, कृतिका लौडारी, स्वस्तिका बानिया हुनुहुन्छ । भाद्र २८ मा मनोनित ५ सल्लाहकारहरूमा साहित्य सर्जकहरू तुल्सी घिमिरे, आरसी रिजाल, निमेष निखिल, श्यामकुमार बानियाँ र सुवास खनाल तथा २ सदस्यहरू संजीत श्रेष्ठ र संप्रस पौडेल हुनुहुन्छ ।
कार्यक्रममा पूर्व मूख्यमन्त्री डोरमणि पौडेल, राजनीतिक व्यक्तित्वहरू, साहित्यक सर्जकहरूका साथै विविध व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कविता प्रतियोगितामा लामिछाने, चौलागाईँ र लौडारी विजयी

भाद्र ३०, मकवानपुर ।
‘आजको सन्दर्भमा मदन भण्डारीको विचार’ विषयक खुला कविता प्रतियोगितामा ३ कविता पुरस्कृत भएका छन् ।

कूल ३२ मध्ये उत्कृष्ट १० कविता छनौटपश्चात् वाचन समेतलाई आधार मानेर ती कविता पुरस्कृत भएका हुन् । कविहरू बैकुण्ठ लामिछाने, रोशनी चौलागाईँ र कृश्मा लौडारीले प्रमाणपत्रसाथ जनही नगद रू ६ हजार पुरस्कार राशी प्राप्त गर्नुभयो ।

राष्ट्रिय जनसाहित्यिक सङ्घ मकवानपुरले व्यवस्थापन गरेको कार्यक्रममा मदन भण्डारी फाउन्डेशन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको सभाध्यक्षता र मदन भण्डारी फाउन्डेसनका अध्यक्ष पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । पूर्व मूख्यमन्त्री डोरमणि पौडेल, नेकपा एमालेका केन्द्रिय सदस्यहरू केदार न्यौपाने र रामेश्वर राना तथा मदन भण्डारी फाउन्डेशन नेपालका सचिव सन्तोष रावल विशिष्ट अतिथि रहनु भएको थियो ।

बालदिवसमा जनप्रियको ‘मञ्च एक, प्रतिभा अनेक’ कार्यक्रम

भाद्र २९, मकवानपुर ।
विद्यार्थीहरूको आ-आफ्नो रोजाइअनुसार नृत्य, गायन, रचना वाचनलगायतका गतिविधिहरू गराउँदै जनप्रिय मा.वि. ले बालदिवस विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
‘मञ्च एक, प्रतिभा अनेक’ नाम दिइएको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य कृष्णप्रसाद पनेरूको प्रमुख आतिथ्यता र माध्यमिक तह नेपाली माध्यम संयोजक नीरबहादुर खड्काले सभाध्यक्षता गर्नुभयो ।
करीब ६५ जना विद्यार्थीहरूले आफूमा निहित प्रतिभा प्रस्तुति गरेको अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठले बताउनु भयो ।
बर्खे विदाको समयमा विद्यालयले विभिन्न सीप र क्षमतासँग सम्बन्धित कार्यशाला सञ्चालन गरेको थियो भने अहिले यसैको निरन्तरता रहेकोले आफू निकै हर्षित रहेको भन्दै सदस्य पनेरूले सहभागीलाई व्यक्तिगत रूपमा पुरस्कार समेत प्रदान गर्नुभयो ।
कार्यक्रमको सहजीकरण सञ्चार विभाग संयोजक सुनिल गौतमले गर्नु भएको हो ।

हेटौँडा एकेडेमीमा बालदिवस भव्य रूपमा मनाइयाे

भाद्र २९, हेटौँडा, आज देशै भर ५९ औँ राष्ट्रिय बालदिवस विभिन्न कार्यक्रमहरूको आयोजना गरि मनाइयो l यसै सन्दर्भमा शहिद स्मारक, हेटौँडा स्थित हेटौँडा एकेडेमीमा “हेटौँडा एकेडेमी बाल समूह” ले एक विशेष कार्यक्रम आयोजना गरि ५९ औँ राष्ट्रिय बालदिवस भव्य रुपमा मनायो l

हेटौँडा एकेडेमीकै प्रमुख कार्यकारी अधिकृत रमेश रिमाललाई प्रमुख अतिथि र प्राचार्य गौरिदेवी चिमरियालाई विशिष्ठ अतिथि बनाइएको कार्यक्रमको अध्यक्षता हेटौँडा एकेडेमी बाल समूहका अध्यक्ष एवं कक्षा १० का विद्यार्थी सुरज कुमार चौरसियाले गरेका थिए l “बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ हेटौँडा एकेडेमीको प्राङ्गणमा आयोजित कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरूले नृत्य र गायन विधामा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए l

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रिमालले बाल दिवसले बालबालिकाहरू तथा अन्य सरोकारवालाहरूलाई बाल अधिकार तथा आजका बालबालिकाहरूलाई भोलिको जिम्मेवार नागरिकमा रुपान्तरण गर्नका लागि ध्यान पुर्याउनु पर्ने कुराहरूको बारेमा थप सचेत बनाउने विश्वास व्यक्त गर्नुभयो l बाल अधिकार संग संगै बालबालिकाहरूलाई कर्तव्य र असल संस्कार सिकाउनु पर्ने कुरामा रिमालले थप जोड दिनुभयो l उक्त कार्यक्रमलाई विद्यालयमा मा कक्षा ८ मा पढ्ने छात्रा क्रितिषा सापकोटा र कक्षा ७ मा पढ्ने छात्र पृथक रिमालले संचालन गरेका थिए l