‘हवाइ डिड अ लार्ज नम्बर अफ पिपल कम हेअर ? हवाइ ? ह्वाट वाज द रिजन ?’ डोरिनले प्रश्न राख्नुभयो ।
यो २०७३ भदौ ११ गते गुम्बाडाँडामा यो पङ्क्तिकार तारालाल श्रेष्ठ, मूर्तिकार ओमभक्त भण्डारी, बद्रिनाथ अधिकारीलगायतका बीच उहाँको जिज्ञासा थियो । मकवानपुरबाट फर्केपछि मैले एक्कासि गुम्बाडाँडामा झन्डै दिउँसोको ४ बजे उनलाई भेटें ।
यो भेट हार्दिकतापूर्ण भयो । यतिखेर उहाँको जिज्ञासा आफैँमा महत्त्वपूर्ण भयो ।
उहाँ लन्डनबाट आउनुभएको भी.एस.ओ. भोलन्टिएरको रूपमा केही वर्ष अघि हेटौंडामा कार्यरत हुनुहुन्थ्यो । झण्डै दुई वर्ष हेटौंडा रही उहाँ फर्कनु भएको थियो । हाल मलेसिया बस्नुहुन्छ ।
डा. ताराले अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालाका संक्षिप्त सामग्री देखाए । व्याख्या गरे । मैले पनि गुम्बाडाँडामा अवस्थित मूर्तिहरू निर्माण हुँदाका बेलीविस्तार पस्कने कोसिस गरेँ ।
त्यहाँका बारेमा व्याख्या गरें । केही भलाकुसारी भयो । झन्डै एक-डेढ घण्टा ।
उहाँले पुनः प्रश्न राख्नुभयो ।
‘हाउ मेनी पिपुल केम हेअर ?’ मैले भनें ।
“नियर्ली सेभन्टी थाउजन्ड पिपल ।’ उहाँले आश्चर्य मान्दै दुवै आँखा माथितिर हेर्नुभो ।
पुनः प्रश्न गर्दै, ‘हवाइ ? हवाट वाज द रिजन ?
डा. ताराले भने, ‘फर द सेक अफ आर्ट ।’
उहाँ हाँस्नु भो । धेरै जिज्ञासाका साथ विभिन्न समयमा खिचिएका मिडियो देशी/विदेशी मूर्तिकारको काम प्रधानमन्त्री डा. बाबुराम भट्टराईको कार्यक्रम उद्घाटनमा आगमन, मान्छे मान्छे, कोलाहल आदि ।
के साँच्चै कला पारखी मात्रै आए ? अरू को-को आए ? किन आए ?मेरा स्मृतिमा धेरै विषयहरू हुँडलिएर आउन थाल्यो । यसबारे लेख्नुपर्ने भयो । गुम्बाडाँडाको सन्दर्भमा कुरा भो । कुरामात्रै होइन काम भो । नेपालको सन्दर्भमा यसभन्दा पहिले नभएको काम भो ।
मकवानपुरभन्दा बाहिर-बाहिरबाट पनि विद्यार्थीहरू आउँछन् । अरू पर्यटकहरू आउँछन् । ‘गुम्बाडाँडा कहाँ पर्ने रहेछ ?’ भनेर सोध्दै खोज्दै आउनेहरू बढ्न थाले ‘आहा राम्रा मूर्तिहरू रहेछन् ।’ भनेर चर्चा हुन थाल्यो ।
चर्चा हुनु राम्रो हो । यसले आन्तरिक पर्यटनलाई सघाउँछ । नेपालमै हेटौडाको पहिचान राम्रो छ । सफा र सुन्दर सहरका रूपमा यसले नाम कमाएको छ । सुरम्य हावापानी तथा वातावरणले मकवानपुरलाई लोभलाग्दो बनाएको छ। यहाँ अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला आयोजना गरिएको थियो ।
यही ठाउँमा तत्कालीन मकवानपुर सेनवंशी राजा हेमकर्ण सेनले आफ्ना सेना तैनाथ गरेको कुरा अगाडि ल्याउँछन् मकवानपुरे इतिहासका खोजकर्ता केदार न्यौपाने नेकपा माओवादी शान्ति सेनामा आएपछि माओवादी सैनिक तालिम केन्द्रको रूपमा पनि यो ठाउँ प्रयोग भएको थियो । उतिखेर पनि देशी विदेशी धेरै मानिसहरू यस ठाउँमा आएका थिए । त्यसको ऐतिहासिक महत्व बेग्लै छ ।
२०३५ सालमा यहाँको बस्ती वन सिमानाभित्र परेपछि यस क्षेत्रलाई जगेर्ना गर्न यस भेगका अगुवाहरूको विशेष भूमिका रहेको देखिन्छ । अन्यथा सुकौरा, लालभित्ते आदि जस्तै यो ठाउँ पनि बस्तीमै परिणत हुने थियो । र यसलाई रोक्न सायद सम्भव थिएन । उठेको बस्तीलाई वृक्षारोपण गरी हराभरा पार्ने काम भयो ।
नत्र त्यो भन्दा अघि पुरै रातो डाँडो थियो यो । बस्ती उठेको रातोमाटे डाँडो । हाल यो डाँडा हेटौडा उपमहानगरपालिका वडा नं. १८, हर्नामाडीमा पर्दछ । यसको उचाइ समुद्री सतहबाट ५६३ मिटर रहेको छ । हेटौंडाबाट १६ कि.मि. पूर्व लागेपछि हेटौडा फापरबारी सडक अर्थात् धरान-चतरा जाने राजमार्गमा गोठदमार पर्दछ ।
राजमार्ग छाडेर दक्षिण १.५ कि.मि. उकालो लागेपछि गुम्बाडाँडा आइपुग्छ । खालि जग्गामा यहाँका सक्रिय युवाहरूको पहलमा एक गुम्बा निर्माण भएपछि यसले गुम्बाडाँडाको नाम ग्रहण गन्यो । बौद्धगुम्बाभित्र कलात्मक बुद्धका मूर्तिहरू, बौद्धिक दर्शनका लिपि, बृहत् आकारका बौद्ध ग्रन्थसँग सम्बन्धित ठेलीहरू छन् ।
साथै भित्तामा चित्रहरू भेट्न सकिन्छ। बौद्ध गुम्बाभित्र भने संसारका जुनसुकै भागमा गएर हेर्दा पनि उस्तै खालका कलाकृतिहरू हुने रहेछ । बौद्धमा वा स्वयम्भूमा वा दार्जिलिङ, सिक्किमका गुम्बाहरूमा समानता पाइँदो रहेछ । त्यसै ठाउँमा हाल २५ फिट अग्लो बुद्धको मूर्ति बन्ने क्रममा छ । मूर्ति बस्ने जगको काम सम्पन्न भइसकेको छ । सुनेअनुसार यो बन्दै गरेको मूर्ति नेपालको दोस्रो ठूलो मूर्ति हुनेछ ।
गुम्बाडाँडा परिसरभित्र धेरै प्रकार र प्रजातिका जडीबुटीहरू, वन पैदावर, धूपी, सल्ला, मसला, विजयसाल, चिलाउने, साज, हर्रो, बर्रो, अमला, सिसौ, इपिल, बकैनो, सिरिस, तेजपात, सुनाखरी, सुनगाभा, लगायतका विभिन्न प्रकारका फूलहरू पाइन्छन् । यसैगरी विभिन्न पक्षीहरू ढुकुर, सुगा, सारी, लुइँचे, लाँच, तित्रा, कालिज, बट्टाई र वन्यजन्तुहरूमा बाँदर, स्याल, हरिण, बिरालो आदि जन्तुहरू पनि गुम्बाडाँडाको आसपासमा पाइन्छन् । यो ठाउँ प्रकृतिको उत्तम सम्पदाका रूपमा भेट्न सकिन्छ । यहाँबाट सिधा मकवानपुरगढी देख्न सकिन्छ ।
गुम्बाडाँडामा दुई वर्ष अघि मैले माथि नै उल्लेख गरेजस्तो नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको मूर्तिकला कार्यशाला सम्पन्न भएको थियो । त्यो कामपछि गुम्बाडाँडाको ख्याति अझ फैलन थाल्यो ।
कार्यशालामा विश्वका ७ राष्ट्र (फ्रान्स, इटली, जापान, दक्षिण कोरिया, चीन, भारत र नेपाल) गरी जम्मा २३ कलाकारले गुम्बाडाँडामा १५ दिनमा मूर्ति तयार पारे । प्राज्ञ किरण मानन्धरको शब्दमा- ‘यी ढुङ्गाहरू केही दिनपछि बोल्न थाल्छन् ।’ भनेझैँ हाल तिनले विशेष महत्व राखेका छन् ।
२०७३ असोज १ गतेदेखि ५ गतेसम्म अन्तर्राष्ट्रिय चित्रकला तथा साहित्यिक कार्यशाला त्यसै ठाउँमा सम्पन्न भयो, जहाँ प्रथम अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालाका मूर्तिहरू सजिएका छन् ।
यस अवसरमा यस स्थानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाहरू तथा कविहरूको आगमन भयो । र ती कलाहरू र कविहरूबाट सिर्जना भएका निधि गुम्बाडाँडामा अवस्थित आर्ट ग्यालरीमा सजाएर राखिएका छन् ।
यसरी प्राकृतिक स्वादले भरिएको गुम्बाडाँडामा हजारौ स्वदेशीहरू आउनेछन् । यो ठाउँले वैज्ञानिक, अनुसन्धाता, लेखक, कलाकार, प्राध्यापक, अन्वेषक आदिलाई आकर्षक गरी नै रहनेछ । यातायातको राम्रो व्यवस्था मिल्यो भने काठमाडौ-हेटौडाको दुरी २/३ घण्टाको हुनेछ ।
काठमाडौँमा भित्रिएका युरोपियन, भारतीय, चिनिया लगायतका पयर्टकहरूलाई यस गुम्बाडाडाले आकर्षक गर्दैछ । गरी नै रहनेछ । यहाँ पयर्टकलाई खिच्न सक्ने सम्भावना क्रमशः बढ्दै गएको देख्न सकिन्छ ।
गुम्बाडाँडाबाट झन्डै २ कि.मि. पूर्व उत्तरतर्फ फुर्केचौरमा मानव निर्मित
गोरक्षताल छ । यहाँ ८० मिटर लामो सुरुङ खनेर सिंचाइका लागि पानी प्रयोग भएको छ। यो ताल पनि वातावरणीय तथा पर्यावरणीय दृष्टिले अत्यन्त महत्त्वको छ ।
चुरे क्षेत्रका यस्ता ताल तथा पर्यावरणीय संरक्षणले पहाडलगायत तराई क्षेत्रका वन्यजन्तु, पशुपक्षी र जमीन संरक्षणमा टेवा पुग्ने निश्चितै छ । गुम्बाडाँडाबाट गोरक्षतालसम्मको ट्रयाक खोल्ने काम पनि हुँदैछ ।
प्याराग्लाइडिङ विज्ञ सङ्घर्ष विष्टका अनुसार मकवानपुरगढीदेखि गुम्बाडाँडासम्म प्याराग्लाइडिङ सञ्चालन गर्न सकिन्छ । पाइलट सङ्घर्षले हेटौंडामा प्याराग्लाइडिङ उडान गर्न हरेक हिसाबले उपयुक्त रहेको कुरा बताएका छन् ।
निष्कर्षमा कुनै एक ठाउँमात्रको विकासले समग्रतालाई समेट्न सक्दैन । मकवानपुरको पयर्टन क्षेत्रको एकीकृत विकासका लागि दामन पालुङ, सिमभञ्ज्याङ, चितलाङका होमस्टे, नवलपुरको सहिद स्मारक ऐतिहासिक मकवानपुरगढी, हर्नामाडीको हर्नामाडी कला प्रतिष्ठान गुम्बाडाँडा आदिको संयुक्त प्रयास र समन्वय हुनु अनिवार्य छ भन्ने कुरा धेरैले महसुस गरेका छन् भनी डोरिनलाई भनिएको थियो ।
हाम्रो वार्तालापपछि डोरिनले खुसी हुँदै भन्नुभएको थियो -‘ओके, आई विल ट्राइ टु कम हेयर इन द कमिङ डेज ।’
प्रस्तुत संस्मरण अरुण खतिवडा लिखित संस्मरण संगालो ‘पदचाप’ बाट साभार गरिएको हो ।