मेघ गर्जदै उठ्छ बतासको बेगसँगै नदी उर्लिदै बहन्छ बर्षातको थोपासँगै जुन घरि घरि चिहाउँछ फुत्त निस्किएर बादलसँगै
एकनास टुलुटुलु हेर्दाहेर्दै मनले ओठसँग भन्यो त्यो जूनसँगै लुकामारी खेल्दै यसरी नै म जागै बसेँ भने नि ! अध्यारोको त्यो जून आखिर कसको ?
अकस्मात् ! अनुभव गर्छु त्यो कालो रात छाती भारी हुँदै बर्सन्छ मेघ सम्झन्छु, हृदय छिया छिया भएको त्यो पल अनयासै बेसुर बहन्छन् नयन
लाग्छ मुठी बाँधेकै राम्रो मुठी खोल्दा फिँजिन्छ स्मृतिको रूमाल बनी मेरो अतीत मेरो प्रेम कहानी
प्रार्थना गर्छु हरेक साँझ तिमीलाई बिर्सन तर, कसले बन्द गरिदिन्छ मेरो स्मृतिको नीलिम द्वार ?
मलाई थाहा छ किनारको प्रेम बुझ्दैन नदी समुद्र चुम्ने हतारमा आतुर आतुर भै बहन्छ प्रेमको दीप समुद्र रहेछ प्रेम निर्जनताको प्रतीक रहेछ उपेक्षा गर्दिनँ म !
हर रात निद्रा बन्धक राखेर बाँचेका मेरा नयनहरू अहँ ! अझै सकेनन् पुग्न तिम्रो चिताछेउ मान्दैन मनले त्यो मृत्यु स्विकार्न लाग्छ तिमी समीप छौ र चिहाइरहेछौ मलाई जून झैँ घरि घरि !
भाद्र ५, मकवानपुर । लघुकथा दिवसको सन्दर्भमा लघुकथा चौतारी मकवानपुरले भाद्र ५ गते चिल्ड्रेनपार्क, हेटौँडास्थित नेपाल जर्नी लाइब्रेरीमा लघुकथा वाचन कार्यक्रम सम्पन्न गरेको छ । चौतारीका संयोजक किशन पौडेलको सभाध्यक्षमा भएको लघुकथा सुन्ने सुनाउने अभियानको चौथो शृङ्खलाको कार्यक्रममा प्रमुख अतिथि माधव पोखरेल र विशिष्ट अतिथि झरना साहित्यिक परिवारका संस्थापक अध्यक्ष तथा नियात्राकार रमेशमोहन अधिकारी हुनुहुन्थ्यो । कार्यक्रममा मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डी.बी. बर्तौला, चिल्ड्रेनपार्क टोल विकास समितिका अध्यक्ष एवम् मुक्तककार गणेशकुमार श्रेष्ठ, महाकाव्यकार मुना धिताल, लघुकथाकार अनन्तराज उपाध्याय, साहित्यकार राम कुमार बिस्ट ‘बिस्ट अङ्कल’, राजनीतिकर्मी बद्री लम्साल, नाटक एवम् लघुकथा सर्जक समीर पाख्रिन, मुक्तक सर्जक सुवास सजल, मिथिला अधिकारी, भोला फुयाँललगायत सृजनशील बाल समूहका सदस्यहरूको उपस्थिति रहेको थियो ।
उपस्थित सबैले लघुकथा र अन्य रचनाहरू वाचन गर्नुभएको थियो । गणेशकुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रममा साहित्य सर्जकहरू रमेश मोहन अधिकारी र किशन पौडेलले लघुकथाको बारेमा प्रकाश पार्नुभएको थियो । चौतारीका सचिव श्यामप्रसाद श्रेष्ठले गर्नु भएको थियो । चौतारीका उपाध्यक्ष बिष्णु प्रसाद गौतमले धन्यवाद ज्ञापन मन्तव्य राख्नु भएको सो कार्यक्रम सचिव श्यामप्रसाद श्रेष्ठले सहजीकरण गर्नु भएको हो ।
हाल भक्तपुर निवासी ज्ञानु विद्रोही नेपाल संस्कृत विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ । उहाँ प्रलेस काठामाडौँका अध्यक्ष, राष्ट्रिय जनसांस्कृतिक सङ्घ नेपालका सचिवालय सदस्य हुनुहुन्छ ।
उसले यो साताभरि कथाहरू पढिरह्यो । कहिले सडकभरि छरिएका फुटपाथका कथाहरू पढ्यो, कहिले दुर्लभ भनिएका सोकेसका कथाहरू पढ्यो । पाना पाना पल्टायो, शब्द शब्द खोतल्यो, परिवार प्रकाशनदेखि साझा प्रकाशन सम्म पुग्यो, तिरस्कृतदेखि पुरस्कृत सम्म छिचल्यो । उही शब्दहरू दौडिरहे उसको माथिङ्गलमा, उही दृष्यहरू नाचिरहे परेलीभरि दशकौँ पहिलेका । आज साताको अन्तिम दिन । बाँकी रहेका सबै कथाहरू पढेर सिध्यायो उसले । अझै असन्तुष्टिको भावमा चिहायो झ्यालबाट पर…..परसम्म । देख्यो एकटुक्रो उज्यालो थियो आकाशमा, मडारिएको बादल थियो अर्कापट्टि । ऊ डरायो, चाँडै त्यो थोरै उज्यालो पनि ढाकिन्छ र असिना बर्षनेछ, चट्याङ्ग पर्नेछ एकतमासले । ऊ जस्तै गहिरो त्रासमा भौँतारिएकी साइँली वदेनीको च्यातिएको चोली देख्यो उसले । चन्द्र कुशवाहाको भारी नियाल्यो, कान्छा दमाईको फुटेको दमाहा चिन्यो, पर…..सडकभरि…..। र, हेर्यो फेरि आकाश, फेरि सडक । र, पढ्यो फेरि कथा । तर उसले पढेका कथा आकाश जस्ता थिएनन्, सडक जस्ता थिएनन् ।
नेपाली गीतियात्रामा एउटा स्थापित नाम वसन्तराज श्रेष्ठ । समयको यात्रासँगै उनले आफूलाई अज्ञात नामबाट चिनाए । मूलतः गीतकार व्यक्तित्व अज्ञात पछिल्लो समय ‘हाइकु’ विधामा देखा परेका छन् । ‘साँझको जून’ (२०७९) उनको पछिल्लो साहित्यिक कृति हो । यसअघि उनले ‘सपना सजाएर आँखाभरि’ (२०६३) र ‘मखमली दरबार’ (२०६९) गरी दुई ओटा गीतिसङ्ग्रह प्रकाशित गरेका छन् । २०५० सालबाट साहित्य लेखनमा सार्वजनिक भएका ‘अज्ञात’ निरन्तर साहित्य साधनामा रहेका देखिन्छन् । कम बोल्ने र प्राविधिक ज्ञानलाई सबैको सेवाको माध्यम बनाउने कर्मले उनलाई देशभरिका धेरै साहित्यिक प्रतिभाहरूले चिन्दछन् । खोटाङ जिल्लाको दिरुम नगरपालिका चिउरीडाँडामा जन्मिएर उच्च शिक्षा अध्ययन र कामको खोजीमा काठमाडौँ छिरेका अज्ञात राजनीतिक परिवर्तनका आन्दोलनमा सक्रिय मात्र छैनन् उनको परिवारभित्रबाटै जनयुद्धको बेला ठुलकुमार श्रेष्ठजस्ता सहिदले दिएको योगदान बिर्सन हुँदैन । अज्ञान निरन्तरको लेखन, परिष्कार र प्रकाशनबाट स्थापित बन्दै थप परिचयको आधारस्तम्भ खडा गर्न लागिपरेका छन् । कवि अज्ञातले नेपाली समाजको यावत् घटनालाई नजिकबाट हेरी त्यस घटनावलीलाई मसिनो ढङ्गले केलाएर दाम्पत्य प्रेम सामाजिक जिम्मेवारी र राष्ट्रिय घटनाक्रमलाई सरल र सरस ढङ्गले बुन्दै तयार गरेको ‘साँझको जून’ले पाठकलाई सहज ढङ्गले प्रभाव पार्दछ । ‘साँझको जून’ हाइकुसङ्ग्रहभित्र जम्मा ३१२ ओटा हाइकुहरू सङ्कलित रहेका छन् । समय–समयमा लेखिएका हाइकुहरूले विविध क्षेत्रको विषय–सन्दर्भलाई कलात्मक ढङ्गले प्रस्तुत गरेको देखिन्छ । सकेसम्म जापानी हाइकुको संरचनात्मक पक्षलाई अधिकतम पालना गरिएको हाइकुसङ््रग्रहभित्रको विषय विविधताभित्र पनि समसामयिक नेपाली जनताको जनजीवन र मान्छेको अन्तस्करणमा रहेको प्रेमलाई प्रतिध्वनित गरेको पाइन्छ । यस सङ्ग्रहभित्र रहेका हाइकुहरूको मसिनो अध्ययनबाट कविको प्रेमप्रतिको दृष्टिकोण अनि गरिखाने वर्गप्रति कविले राखेको गहिरो सहानुभूति समेत झल्किएको छ । कवि वसन्त जीवनमा वसन्तको खोजी गर्ने व्यक्तित्व त हुँदै हो जनजीवनलाई साहित्यमा जोड्न रुचाउने एउटा जिम्मेवार लेखक पनि । कवि ‘अज्ञात’ले नेपालको अर्थ राजनीति, स्वास्थ्य सङ्कट र प्राकृतिक विपत्तिको पाटोमा जनताले पाएको दुःखलाई आफ्नो लेखनीको विषयमा समेटेका छन् । नेपाली साहित्यको क्षेत्रमा जापानी हाइकुलाई नवीन ढङ्गले अपनाउने र नेपाली समाजको विषय–सन्दर्भलाई प्रस्तुत गर्दा परम्परागत ढाँचा र लेखनस्थिति अपनाउने पछिल्लो शृङ्खलामा ‘अज्ञात’का हाइकुहरू प्रभाव दिन सक्षम देखिएका छन् ।
लिम्पियाधुरा आँखा गाड्छ छिमेकी नेपाली सिमा ! (पृ. २९) अँध्यारो डाकी पेटमा लात मार्छ लोडसेडिङ (पृ. ३०)
माथिका यी दुई हाइकुहरूको समेटेको विषयलाई मात्र हेर्ने हो भने कविको लक्ष्य कतातिर छ भन्ने बुझिन्छ । खुसीको विषय त के हो भने एउटा कालखण्डमा अठार बिस घन्टा हुने गरेको लोडसेडिङ आज निर्णायक राजनैतिक नेतृत्व र प्राविधिक ढङ्गले दक्ष कुलमान घिसिङजस्ता व्यक्तित्वको टिमले आशाको सञ्चारसहित सम्बोधन गरेको छ । लिम्पियाधुरा हाम्रो राष्ट्रको सीमा र त्यसमाथि छिमेकी राष्ट्रले गरेको ज्यादतिप्रति कवि चुप बसेका छैनन् । देशको आर्थिक अवस्था मात्र होइन भौगोलिक सीमा विषयमा पनि कवि चिन्तनशील छन् । नेपालले आफ्नो नक्सामा जमिनलाई राखे पनि भारतसँगको आपसी सहमति मिल्न नसक्दा हामी अप्राप्तिको शिकार बनेका छौँ । भूगोल जस्तो होस् त्यो सीमाप्रति आम नेपालीको चासो रहनु स्वभाविक मात्र होइन पहिलो सरोकारको विषय नै बनेको छ । चर्को भाषण गर्ने तर नेपालको वास्तविक समस्यालाई सही ढङ्गले समाधान गर्न नसक्ने नेतृत्वप्रति कविको आक्रोश पनि त्यत्तिकै छ । नेपाली धर्तीमा हामीले उठाउने विषय धेरै होलान् हामीले मसिनो ढङ्गले विषयलाई समाधान दिन समेत सक्रिय र दक्ष बन्न जरुरी छ । कवि निराशा र आक्रोशको विषयलाई मात्र पस्कँदैनन् उनी त आशाका किरणहरू देखिन थालेको र त्यो प्राप्त हुने दिशामा अगाडि बढेको विषय उठान गरेर पाठकलाई सन्दर्भ सम्झन समेत आग्रह गर्दछन् ।
उज्यालो छर्दै उदायो रातो घाम पलायो आशा
मानव जीवनलाई आशाको मात्रामा जोड्ने विषयमा प्रगतिशील लेखकहरू सक्रिय रहन्छन् । जीवनलाई प्रगतिको बाटोमा लैजान प्रेरित गर्ने लेखक नै प्रगतिशील लेखक हो । उनले सामान्य जनताको जीवनस्तरलाई ध्यान दिन नेतृत्वलाई आह्वान गरेका छन् ।
चौकुना भ्वाङ गरिबको झुपडी आकाशै छानो ! जाडोले खायो गरिबको सपना के गर्ने अब ?
आखिर यस्तै रचनाले त जनताको वास्तविक समस्यालाई उजागर गर्दछ । जीवन निर्वाह गर्न धौँ धौँ पर्ने लाखौँ नागरिकको प्रवक्ता बनेर लेखक यहाँ प्रस्तुत भएका छन् । आखिर दैनन्दिन राम्ररी चलाउन पाए जनतालाई अरु कुरा त्यति आवश्यक पनि पर्दैन । राज्यको निकायहरूले जनताप्रति गर्ने व्यवहारलाई कविले अनुत्तरदायी र रुखो बनेको ओरोप लगाएका छन् । हजारौँ निम्नवर्गका परिवार आज पनि आकाशे छानोलाई नै घर भनेर बस्न बाध्य छन् । प्राकृतिक विपत्ति र स्वास्थ्य सङ्कटले पनि हामीलाई सताएकै छ । हालको राज्य संयन्त्रले जनताको समस्याको समाधान गर्न किन सकिरहेको छैन ? त्यसबारे पनि लेखक कलम माध्यम प्रस्तुत गर्दछन् । हाइकुसङ्ग्रहभित्रका हाइकुहरूको सङ्क्षिप्त टिप्पणीभित्र ‘साँझको जून’ शीर्षकले दिन जतिसुकै जलनपूर्ण भए पनि हामी ‘साँझको जून’को शीतलतामा रमाउन चाहन्छौँ । मनभित्रको ताप र चापलाई कतै शिष्ट यौन विषयसँग त कतै मानवको प्रवृतिसँग र प्रकृतिलाई मानवसँग तुलना गर्दै कवि विषयको प्रस्तुतिमा कलाको संयोजन गर्ने पथमा योग्य ठहरिएका छन् । यस सङ्ग्रहमा पाठकअनुरूप रचना पाउन सक्ने तथा विश्लेषणको योग्यताअनुसार सतही चिन्तनदेखि गहन विश्लेषण गर्ने सामग्री पठन गर्न पाउँछन् । मान्छे सिर्जनामा बाँच्छ, सृजनकर्म नै उसको दृष्टिकोणको प्रकाशन हो । यस पठनीय कृतिका लागि लेखक धन्यवादका पात्र छन् ।
राम बिनय प्रगतिशील साहित्यका एक अग्रज स्रष्टा हुन् । साहित्यकार राम विनय अर्थात् रामकुमार श्रेष्ठ नेपाली वाङ्मय क्षेत्रमा छ दशकदेखि निरन्तर सक्रिय छन् । कविता, कथा तथा नियात्रामा कलम चलाउँदै आएका राम विनयका आधा दर्जन साहित्यिक कृति प्रकाशित छन् ।
राम विनय कला साहित्यले समाजको यथार्थ पक्षलाई उजागर गर्नुपर्ने भन्ने धारणा राख्दछन् र स्रष्टाले परिवर्तनका पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने विचार राख्दछन् । नेपाली समाजलाई समानतामूलक बनाउन कला साहित्यको भूमिका विशिष्ट रहने भएकाले यसको विकासमा सबै पक्षले ध्यान दिनुपर्ने भनि समाज रूपान्तरणमा स्रष्टाको पहल बढी जिम्मेवारपूर्ण हुने तर्क देख्दछन्।
साहित्य सन्ध्या काठमान्डौँमा २०५४ देखि हालसम्म निरन्तररूपमा सक्रिय रहेका राम विनय, विगतमा राष्ट्रिय जन साहित्यिक सङ्घ नेपालको अध्यक्षको रूपमा कार्यरत रहेका छन ।
“नयाँ बर्ष आउँदैछ । शुभकामना आदान प्रदानको कार्यक्रम राखिएको छ । तपाई पनि अतिथिको रुपमा कार्यक्रममा उपस्थित हुनुहोला ।” उनले निमन्त्रणापत्र चाख मानेर पढे । एकछिन पछि आयोजकबाट उनलाई फोन पनि आयो । आयोजकले फोनमा भने “अपिलसाप ! निमन्त्रणापत्र पाउनुभयो होला । अबस्य आउनुहोला । तपाईले शुभकामना मन्तब्य ब्यक्त गर्नुपर्छ ।” “ ल हुन्छ । म आउँछु ।”उनले भने । कार्यक्रम हुने दिन तोकिएको समयमा अपिल प्रसाद कार्यक्रम स्थलमा पुग्यो । त्यहाँको कार्यक्रम स्थलमा सहभागीहरु टनाटन भरिभराउ थियो । आयोजकले अपिल प्रसादलाई पनि आशन ग्रहण गराए ।
त्यहाँ केहीले छोटो मन्तब्य दिदै थिए । कोही कोही हतारमा थिए र आयोजकलाई छिटो छिटो भनेर अत्याउँदै थिए । आयोजक पनि हतारमा भए जस्तै देखिन्थे । उदघोषकले अपिल प्रसादलाई पनि नयाँबर्षको उपलक्षमा मन्तब्य राख्न भने । उनले मन्तब्य राख्न थाले । “नयाँ बर्ष आउदैछ । नयाँ बर्ष शुभ होस् भनेर हामीहरुले यसप्रकारको कार्यक्रम गर्दै आएका छौ । शुभकामना आदानप्रदानको बेलामा हामीले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय बिषयमा पनि चासो राख्न सक्नुपर्छ ।थाहा पाउनु पर्छ ।
पहिले पहिले उपनिबेशि हैकमबादीहरुले धेरै देशहरुमा कब्जा गरेर शोषण, दमन गरेर अर्थात अरु देशका मानिसहरुलाई दास बनाएर रजाई गरेका थिए । त्यसबाट मुक्त हुनको लागि ति देशहरुले स्वाधिनताको लागि लडे । सँघर्ष गरेर सँसारका बिभिन्न देशहरु स्वतन्त्र भए । आफनै किसिमले चल्न थाले । त्यसरी चलेका देशहरुले ति हैकमबादीहरुले आफनो नीहित स्वार्थ अनुरुप चलाउन चाहे । आफनो स्वार्थ अनुरुप भएन भने त्यहाँका जनतालाई उक्साएर आफु अनुकुलको सत्ता कायम गराएर आफनो रजाँइ गर्न थाले । आफनो देशको स्वाधिन, स्वाभिमान र स्वतन्त्रता भन्दा पनि आफनो देशलाई अरुको दासत्वमा लैजानु भनेको रामायणमा बर्णित रावणको भाई बिभिषणको चरित्र हो, जस्ले आफनो दाजुको पक्षमा नलागेर उस्को शत्रुको पक्षमा लागे । अहिले हैकमबादीहरुले बिभिन्न देशहरुमा यस्ता बिभिषणहरुलाई जन्माई रहेका छन । आफनो देशलाई अरुको हैकममा सुम्पिरहेका छन् ।यो साह्रै खतरनाक बिभिषण बाद हो । यसबाट हामीले हाम्रो देशलाई बचाउन सक्नुपर्छ ।”
अपिल प्रसादले यस्तै बोल्दै थिए । उपस्थित सहभागीहरुले पनि निकै चाख मानेर सुनिरहेका थिए । उदघोषकले अपिलको नजिक गएर छिटो छिटो भन्न थाले । उनी धाराप्रवाह बोल्दै थिए । उनलाई बिचमा रोकेको मन परेन । उनी पनि के कम ? “ मलाई बोल्न बोलाएको होइन ? किन हतार ? मलाई बोल्दाबोल्दै हस्तक्षेप गर्ने ? तिमीहरु पनि बिभिषणबादी हो कि क्या हो ? ल म पनि बोल्दिन जा ।” यति भनेर अपिल प्रसाद सरासर बाहिर निस्केर गयो ।आयोजकहरु अक्क न बक्क परे ।
भरतपुर– ५, कविडाँडा, चितवन निवासी रामकृष्ण ‘अनयास’ चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत हुनुहुन्छ । उहाँ गजल, कविता, मुक्तकलगायतका विधामा सक्रिय हुनुहुन्छ । उहाँका ‘धमिलिएका डोबहरू’– २०७०, गजल विशेष ई-सङ्ग्रह ‘अनायासका पानाहरू’लगायतका कृति प्रकाशित छन् । उहाँ गजल मञ्च चितवनका उपाध्यक्ष, कविडाँडा साहित्य समाजका सहसचिव हुनुहुन्छ ।
हिजो थोत्रो साइकलमा घन्टी बजाउँदै हिँडेको रामबहादुर आज गरिबको सपना उडाउँदै रातो कारमा बेगले हुइँकिन्छ
कठै ! मेरा बाको चप्पल फाट्यो गाँस काटियो, बास नै फुस्कियो र त आज ऊ नेता बनेको छ
एक मुठी भटमासले पेट अघाएकी मनमायाले आफ्नो छाती चुसाउँदै सन्तानको पेट भर्दासम्म हिजो उही थोत्रो साइकलमा यही गाउँ चहार्ने रामबहादुर आजसम्म अघाएन ।
ऊ अर्थात राम बहादुर कहिल्यै चाहँदैन गरिबले सपना देखुन् त्यसैले त कहिल्यै निदाउनै दिएन कलिलो हातमा आश्वासनको झन्डा थमाइदियो अनि भोक बिर्साउन बारम्बार उखान सुनाइरह्यो
घाम ऊ त्यो डाँडामाथि पुग्दै गर्दा म सधैँ भोलि कति बेला बिहान हुन्छ भन्छु मेरा प्वाल परेका सबै सपनाका छानाहरूबाट बारम्बार गरिबिले घोचिरहँदा निकै पीडा हुन्छ ।
हरेक रात मेरा आँखाहरूले गाला भिजाउँदै बाध्यता र विवशतामा पौडिदै दौडिएका आँसुमा खेल्ने बानी परेको रामबहादुर एकाबिहानै गरिबले देखेको सपनाको बहाल उठाउदै टुप्लुक्क आइपुग्छ ।
बिचरा कैयौँ सपनाको मलामी बनेका मनहरू गाँठो पार्दै भक्कानिँदै भगवान् सम्झिन्छन् अनि आशाको दियो बाल्दै भोको पेटले चढाएको एक सुका रामबहादुर अझै मन्दिर बनाएर पैसा कमाउने दाउ सोच्दै छ । कविडाँडा, भरतपुर, चितवन
मकवानपुर । यशस्वी प्रज्ञा प्रतिष्ठानले २०७९ सालमा प्रकाशित विभिन्न विधाका १० पुस्तकलाई “यशस्वी पुस्तक अवार्ड प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष रञ्जना निरौलाद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । उहाँका अनुसार यशस्वी प्रज्ञा प्रतिष्ठानलाई प्राप्त पुस्तकहरुमध्येबाट निर्णायक समितिको सिफारिसअनुसार उक्त निर्णय गरिएको जनाइएको हो । विज्ञप्तिअनुसार नेपाली भाषाका आख्यानहरूमध्येबाट विवेक ओझाको “ऐंठन”, गैरआख्यानहरूमध्येबाट डा. नवराज केसीको “शून्यको मूल्य”, कथाहरूमध्येबाट रेणुका जिसीको “सनेस”, कविताहरूमध्येबाट डा. महेन्द्रकुमार मल्लको “भाषाको बकपत्र”, जीवनीहरुमध्येबाट गोविन्द गिरी प्रेरणाको “सुश्री पारिजात”, बालसाहित्यहरूमध्येबाट अनुराधाको “छमछमको छमछमी”, अनुवादहरूमध्येबाट रिमा केसीको “अमृता प्रितमका छानिएका कविताहरू”, खाद्य तथा औषधीहरूमध्येबाट नारायण घिमिरेको “रैथाने चाडबाड र खानपान” रहेका छन् त्यसैगरी अङ्ग्रेजी भाषाको पुस्तकहरूमध्येबाट संस्मरण लाक्पा डेण्डी शेर्पाको “हिमालयन मेवरिक” र सुशान्त थापाको कविता सङ्ग्रह “मिनट्स अफ मेरिट” रहेका छन् । आगामी भदौ १५ गते शुक्रबार यी अवार्डहरूलाई कलिङ्ग साहित्य महोत्सवका अवसरमा समर्पण गरिने आयोजकले जनाएको छ ।
मकवानपुर । पाँचथर गजल मञ्चले हरेक बर्ष प्रदान गर्दै आएको ऐतराज केरुङ स्मृति गजल पुरस्कार यो बर्ष दमक झापा निवासी गजलकार लोकेन्द्र बन्जरालाई प्रदान गरिने भएको छ । एक प्रेस नोट जारी गर्दै पाँचथर गजल मञ्चका अध्यक्ष सन्देश सुब्बाले नगद रु आठ हजार आठ सय अठासी नगद राशीको सो पुरस्कार बन्जरालाई प्रखान गर्न लागेको जानकारी दिनुभएको हो । विगत लामो समय यता गजल विधामा कलम चलाउँदै आउनुभएका गजलकार लोकेन्द्र बन्जराका आँखाभरी सपना–२०६२, जैतुन– २०७३ र पलक–२०८० गजल सङ्ग्रहहरू प्रकाशित छन् उक्त ऐतराज केरुङ स्मृति गजल पुरस्कार मोतिजयन्तीको अवसरका पाँचथरको फिदिममा भदौ २८ गते आयोजना हुने शब्द शृङ्खला–१३ मा प्रदान गरिने आयोजकले बताएको छ ।