Home Blog Page 74

कसले भन्यो ‘पादका कुरा गर्न हुन्न’ ?

 

पादको शाब्दिक र दार्शनिक परिभाषा

काम लगभग सबै देशमा उस्तै भएता पनि पादलाई संस्कृतमा अपान वायु, नेपालीमा पाद र अंग्रेजीमा Fart वा आउटवार्ड ब्रेथ भनिन्छ । मेडिकल भाषामा ‘Flatus’ भने पनि आजकाल ‘ग्यास’ भनेर सजिलो उच्चारण बनाइएको पाइन्छ ।

पूरानो उखान छ अन्न खाई बन्न हुन्न, पाद्‍या कुरा भन्न हुन्न । यसैले यो काम सबैबाट भयो तर कुरा सँधै गोप्य राख्ने कोशिस गरियो । तथ्यले के भन्दोरहेछ भने एउटा मान्छेले दैनिक औषतमा १५ पटक पाद्‍ने रहेछ ।

हाइ गर्नु, हाछ्युँ गर्नु, डकार्नु, आँखा झिम्काउनु, पाद्‍नु आदि सामान्य शारीरिक काम हुन् । कुनै कार्यक्रममा लामोभन्दा लामो भाषण, प्रवचन, गफाडीको गफ सुन्नुपर्दा हाइ आउँछ । बुढापाकाले त हाइ एउटाबाट अर्कोमा सर्छ पनि भनेका छन् । त्यहाँसम्म त ठिकै भयो कार्यक्रममा पाद आउनुचाहिँ चानचुने कुरो होइन ।

पादलाई उच्चस्तरीय भाषामा अपान वायु पनि भन्छन् । जसरी हुलमुलमा आफूले वायु छोडेको स्वीकार्दैनौं उसैगरी हामी यसबारे बहस स्वीकार गर्न तयार भने छैनौं । शाष्त्रअनुसार वायुका ५ प्रकार व्यान, समान, अपान, उदान र प्राण रहेका छन् । जसमध्ये प्राणवायुको महत्वबारे एकै हरफमा भन्नुपर्दा हामी यसोसम्म भन्न सक्छौं- नाकैनिर मिटर जोडेर सरकारले कर लगाए पनि हामी प्राण वायुमा कुनै कन्जुस्याईँ गर्न सक्दैनौं । आज प्रकारबारे सप्रसङ्ग व्याख्या गर्ने होइन, बरु अर्को प्रकार अपान वायु बारे नै चर्चा हुने तपाईँले पत्तो पाइसक्नु भयो ।

कसैले यो लेख लेखेर जीवनभरको लेखन नै ध्वस्त बनाइस् भन्छ भने मलाई ध्वस्त हुनुमा जति मज्जा अरू केहीमा लाग्दैन भन्न चाहन्छु । अर्थात् कसैलाई सुध्रन मन लागे आ-आफैं सुध्रने हो । दुनियाँ सुधार्ने ठेक्का कसैले लिएको छैन ।

कसैले थर्ड क्लास (न्यून तहको) लेख भन्छ भने पनि योभन्दा तल झरेर अर्को लेख्न चुनौति दिन चाहन्छु । केही गरे लेख्न नछोड्ने भयो भने पछि तपाईँले पढ्न पनि त छोड्नुहुन्न होला भन्ने आशा पनि हो ।

पाद बारे दार्शनिक भनाईहरू पनि पाइएलान् । अरूका भनाई पढेर आफ्ना सिद्धान्तलाई पछि पार्नु कत्तिको जायज हो भन्ने प्रश्न छोड्दै यो आलेख पूर्णतया पाद दर्शनमा आधारित रहेको विश्वास दिलाउँन चाहन्छु । कतै हाइड्रोजन सल्फाइडको ‘प्रेसर’ बारे हामीले लेख्नै डरायौं कि !

अब बहस छेडौं पाद पहिला कि हाँसो ?

कसैकसैलाई लाग्दो हो पाद र हाँसोमध्ये पहिलो आविष्कार कुन भएको होला । तपाईँ जे भन्नोस् मेरो जिकिर छ पहिले पादकै आविष्कार भएको हो । एउटा मुख बन्द गरेर बसेको मान्छेले पादेको ठूलो आवाज अर्कोले सुनेपछि मुख बन्द गर्दा पनि कराउँन सक्दोरहेछ भनेर मुर्छा पर्दै हाँसेकोले हाँसो दोश्रो नम्बरमा परेको हो । यसैले तपाईँ जति पनि हास्यव्यङ्ग्य सुन्नोस्, हेर्नोस् त्योभन्दा जेठो पाद नै हो । भलै हाँस्यव्यङ्ग्यको झैं पादको कुनै प्रतिष्पर्धा भने हुँदैन ।

पादको कार्यक्षेत्र

कक्षामा एउटा विद्यार्थीले नाक थुन्न थालेपछि अरू थुप्रैले थुन्न सुरू गरिहाल्छन् । पहिलोचाहिँ उही पदुवा हुन्छ । बाँकीले उसलाई शङ्का गर्ने कुरै भएन । यसैले शिक्षक वा विद्यार्थी भएर पढ्दै हुनुहुन्छ भने कक्षामा बेन्च सार्दा क्वाइयँ गरेको आवाजमा पनि विद्यार्थी हाँसेका भए तपाईँलाई थाहै छँदैछ ।

कहिलेकाहिँ जोडसँग कराउँदा पनि पाद फुस्कन्छ । यसैले विशेषतः बच्चाका आमाहरू, ऋण दिने आसामीहरू, वीर रसका कविहरू, राजनीति गर्ने र प्रवचन दिनेहरूले बिस्तारै बोल्दैमा नै फाइदा हुन आउँछ । अझै भनुँ भने यदि म डाक्टर हुन्थेँ भने पेट दुखेको बिरामीलाई घण्टी जति बजाए पनि हुने तर शङ्ख बजाउन नहुने सल्लाह दिन्थेँ । डाक्टरले के गर्छन् कुन्नि !

पादको ऐतिहासिक यात्रा

नेपालमा एउटा उखान प्रचलित छ- उसै त बुहारी भटमास खाएकी । आजकाल यस उखानलाई महिलालाई हेपेर बनाइएको भनेर बर्जित गरिएको पाइन्छ । अरको उखान छ- मुला खाएर वन पस्नु । मुला खाएपछिको पाद हिटलरको ग्यास च्याम्बरभन्दा घातक हुन्छ नै । अनि पो सुरू हुँदोरहेछ पादको यात्रा । अर्थात् भनौं नजन्मिँदै सुरू हुने पादको कथा…..  ।

भगवानका पालामा मयलबाट मानिस बनाउन सकिने थियो अरे। उतिखेर पादबाट पनि केही न केही त बन्थ्यो होला । सिरियामा रासायानिक हतियार प्रयोग भएझैं सत्ययुगमा पनि यस्ता रसायनको प्रयोग हुन्थ्यो होला कि !

पादका प्रकार

पाद्‍ने मानिसअनुसार फरक फरक रहेता पनि सामान्यतयाः पादलाई यसरी मूलरुपमा विभाजन गर्न सकिन्छः

      • बुलेट पादः आजकाल बुलेट बाइकको झैं गर्जनका साथ बज्रने पादलाई यस कोटीमा राखिएको पाइन्छ । गाउँका मुखिया, घरका ठालू, विहेको कयौं वर्षपछिका दम्पत्ति यसका अनुयायी हुन् । मैदाजन्य खाद्यका पारखीहरू यो पादका पीडित हुन् ।

      • सहनाई पादः मध्यम आवाजको थर्कमानसहितको पादलाई सहनाई पाद भनिन्छ । सरकारी स्कूल र कार्यालयका क्यान्टिन, फूटपाथका झुप्रा तथा ठेला होटलका खाना खानाले यस्तो पादको पीडित भइन्छ ।

      • मास्टर पादः ठूला स्वरले कराएर पढाउँदा पढाउँदै आउने पाद । विद्यार्थीले थाहा पाउलान् कि भनी अझै ठूलो स्वरले चिच्याई चिच्याई पाद्‍ने… (ए होइन होइन पढाउने पो) ।

      • हाकिम पादः नयाँ हाकिम फेरिएपछि कुर्सी पनि फेर्नुपर्ने हुनु । कुर्सीको बस्ने भागको बीचमा धुजा धुजा हुनु हाकिम पादको परिणाम हो । ग्यास ज्यादै गुम्सिएकोले यस्तो हुनसक्ने अनुमान गर्न सकिन्छ ।

      • फुस्फुस् पादः फूस्स फूस्स वा पिर्र पिर्र आइरहने पाद यस कोटीमा पर्दछ । टुटेका फुटेका वा सरकारमा जान खुट्टा उचालेका स-साना दलका नेताहरूजस्ता बोलाइदे पनि हुन्थ्यो भन्ने पादको आवाज तथा गन्धका दृष्टिले खासै अर्थ भने रहँदैन ।

      • झूठो पादः गन्हाउने तर आवाज नआउने अनि कर्ता को हो भन्ने पत्तो लगाउन नसकिने । चल्दाचल्दै एक्कासी ढलेका सरकार, अपर्झट सरुवा भएका हाकिम तथा घुस खाने हाकिम, जागिर जाने कारिन्दा उखान चरितार्थ हुने यो पादको असर बर्खाको खहरे खोलाझैं हुन सक्छ । तलको चुट्किलाले यसलाई अझै स्पष्ट पार्दछः

    एउटा अन्तर्राष्ट्रिय पाद प्रतियोगिता भएछ । अमेरिकाने, चाइनिज, जापनिज, इण्डियन र नेपाली जम्मा भएछन् । अमेरिकानेले ढ्वार्र पादेछ । चाइनिजले च्वाइयँ पादेछ । जापानिजले ढ्वाङ् पादेछ । इण्डियनले पाद्‍दा अरुभन्दा ठूलो आवाज आएछ । नापी हेर्दा अरूलाई जितेर ४० अंक पाएछ । अब नेपालीलाई पर्‍यो फसाद ।

    नेपालीले गएर ठुस्स पादेछ । निर्णायकले आवाजै सुनेनछ ।

    नेपालीले भनेछ सुँघेर त हेर् ।

    निर्णायकः (सुँघ्दै)…. पचाँSSSSस् ।

    (यसरी नेपाली पहिलो भएछ ।)

    यस्ता कथा सुनाउनुलाई आजकाल अश्‍लील मानिन्छ । हुन त कुनै पनि शब्द आफैंमा किन पो अश्‍लील हुँदो हो ? बोल्नेले अनेकन कित्तामा बाँडेर शब्दलाई नै खराब देखाइदिए । यसैले त तपाईँ यो लेख उहिले उहिलेको सत्यकथा/यौनकथा/रसरङ्ग पढेझैं अरूले नसुन्ने र नदेख्नेगरी खुसुक्क पढ्दै पो हुनुहुन्छ कि !

    अल्पमतमा पाद

    पादबारे देशैपिच्छे भेषैपिच्छे फरक फरक प्रकारहरू विभाजन गरिएका छन् । पाद्नलाई आँट गर्दागर्दै त्यसको सट्टामा अर्कै आइपरेको पादलाई नेपालमा खासै महत्व दिइएको छैन । त्यस्तै आवाजका हिसाबले युभी (इलेक्ट्रिक) बाइकजस्ता शान्त आवाजका पादलाई पनि नेपालमा स्थान मिलेको छैन । हो-हल्ला, भाइरल, हुलदङ्गा, मौकामा चौका, तोडफोड आदिसँग सम्बन्धित पाद भने नेपालमा धेरै समयदेखि चल्तिका पाद हुन् । तथापि आफ्ना विचार मिल्नेले पादेको बारे होहल्ला हुँदैन । विपक्षीले ढ्याउ गरेको पनि टोलटोल अनलाइन, चोकचोक डटकमदेखि ‘एक मोबाइल एक युट्युब’ च्यानलतिर भाइरल भैसक्ने समयमा छौं ।

    जेहोस् पादबारे यस्ता कथा पनि छन्-

    कसैलेचाहिँ कस्तुरी नाइटोको बासनाभन्दा पनि आफ्नै पादले भागाभाग गर्छ भन्दारहेछन् । कुनचाहिँले के बजायो भनेर ज्यान बचाउन भागेको कस्तुरी आफ्नै पादका कारण थकित भएर मर्दो पनि रहेछ । कथा सकियो तर पाद पुराण सकिनेवाला छैन ।

    पादको वर्तमान अवस्था

    सहरमा कोटप्यान्टले पादलाई पूर्णतया छोप्‍न सकेको छैन तर पनि मान्छेहरू थाहा नभएको अभिनय गर्दैछन् । गाउँमा अझैसम्म खुल्लमखुल्ला प्रदर्शन र श्रवण भैरहेको छ । यसर्थ पादको लागि उपयुक्त वातावरण सहरभन्दा गाउँ नै देखिन्छ ।

    यसरी पादलाई उचित तवरले चिन्‍न सकिएन भने जीवनकै क्षति हुँदो रहेछ । यसैले यो नारा याद गरिहालौं- व्यवस्थापनमा चुक्नुहुन्नँ रति, पादले नगरोस् जीवनको क्षति ।

    पादलाई मूख्य हतियार बनाएर एउटा संगीत रचना गरिएको  र झण्डै ५ लाखले हेरे/सुनेको भिडियो लिङ्क तपाईँका लागि यहाँ उल्लेख गरेको छु । सुनेर आजको दिन रमाइलोसँग बिताउनुहोस्- https://youtu.be/dnByeHVQxYc

    पाद बारे केही तथ्यहरू नेपालीमैं जान्नु परेमा वरीष्ठ पादोलोजिस्टसँग यहाँ सम्पर्क गर्न सक्नुहुनेछ- https://www.facebook.com/bhupendra.bookhill/posts/pfbid0RPUbiwjFb9uDzpb951V17tEJVoGcSpyhDBZViebQDyqW3EndXMZajpuDQ8kXKxiFl  

    यिनलाई नोटप्याडमा कपि गर्दै गर्दा नोटप्याड पनि नोडप्याड नभएर नोटपाद भनेर पढेँ । डिजिटल दुनियाँमा झनै पादै पाद रहेछन् । जस्तो- वर्डपाद, माउसपाद, टचपाद, आइपाद, कीपाद, गेमपाद आदि आदि । हुन त च्याट जिपिटीले ‘pad’ आउने शब्दहरू १५९ वटा छ भनेर बताएपछि मलाई लाग्यो यो दुनियाँमा पाद्‍न सबै चाहन्छन्, तर सुनाउन चाहँदैनन् । तपाईँ यस गीतको भाकामा गाउँन सक्नुहुन्छ- मन पराउने हजार भेटिन्छन्, जुनी काट्ने एउटै हुन्छन् ।

    माथिको लिङ्कमा उल्लेखित सामग्री यस्ता छन्:

    १. पाद्ने बेलामा पादको तापक्रम ९८.६ डिग्री फरेनहाइट हुन्छ ।

    २. पाद एक प्रज्वलनशील पदार्थ भएकोले पादेको बेला आगो बाले पाद बल्दछ ।

    ३. नुहाएको बेला पादेको पाद बढी दुर्गन्धित हुन्छ ।

    ४. पादमा ५९% नाइट्रोज़न, २१% हाइड्रोज़न, ९% कार्बनडाइअक्साइड, ७% मिथेन, ३% अक्सिजन तथा १% अन्य तत्वहरु मिसिएको हुन्छ ।

    ५. पाद्नु स्वास्थ्यका लागि राम्रो हो, यसले ब्लड प्रेसरलाई कन्ट्रोल गर्छ ।

    ६. पाद रोक्नु स्वास्थ्यको लागि हानिकारक साबित हुनसक्छ किनभने पादमा रहेको ग्यास मस्तिस्कमा गई टाउको दुख्ने समस्या पनि उत्पन्न हुनसक्छ ।

    ७. ब्ल्यु व्हेल माछाले पादेको पादको बुलबुलको फोकाभित्र एउटा सिंगै घोडा अट्दछ ।

    ८. पृथ्वीमा भएका सबै प्राणीमध्ये धमिराले धेरै पाद पाद्छ‍ ।

    ९. मध्य युगमा मानिसहरु एउटा खालि भाँडामा पादेर भाँडालाई बन्द गरेर राख्थे, पछि त्यस पादलाई सुँघ्यो भने आयु बढ्छ भन्ने अन्धविश्वास थियो ।

    १०. कुकुरले आफ्नो पादलाई देख्‍न सक्छ ।

    ११. एउटा व्यक्तिले दिनमा औसत १४ पटक पाद्छ भने जीवनभरमा ४०२००० पटक पाद्छ‍ ।

    १२. तपाईंले पादेको हावाले बलिरहेको मैनबत्ती सजिलै निभाउन सकिन्छ किनभने यसको स्पिड १० फिट प्रति सेकेन्ड हुन्छ ।

    १३. पादलाई बासनादार बनाउनको लागि दबाई पनि निर्माण भएको छ, फादर क्रिसमस भन्ने दबाई खानुभयो भने तपाईंले पादेको पादमा चकलेट र गुलाबको बास्ना आउँछ ।

    १४. जुन पादमा नाइट्रोजन र कार्बनडाइअक्साइड बढी हुन्छ, उक्त पादमा गन्ध धेरै आउँदैन तर त्यस्ता पादहरुको आवाज ठूलो हुन्छ ।

    १५. सिमीको तरकारी खाएको दिनमा पाद सबैभन्दा धेरैपटक आउँछ ।

    १६. सन् २००९ मा अमेरिकाको फ्लोरिडामा १२ वर्षीय विद्यार्थीलाई धेरै पादेको कारण गिरफ्तार गरिएको थियो ।

    १७. अन्तरिक्षमा जाने अन्तरिक्षयात्रीहरुले पाद्न सक्दैनन् किनभने अन्तरिक्षमा अन्तारिक्षयात्रिहरुको पेटमा पानी र ग्यासलाई अलग अलग गर्नको लागि गुरुत्वाकर्षण हुँदैन ।

    १८. हाम्रो पादलाई रहेको १% हाइड्रोजन सल्फाईडले नै पादलाई दुर्गन्धित बनाउँदछ ।

    १९. यदि कुनै व्यक्तिले ६ वर्ष ९ महिनासम्म लगातार पादिरहन्छ भने त्यो पादको इनर्जी एउटा एटम बमजत्तिको हुन्छ ।

    २०. चिम्पान्जीले धेरै ठूलो आवाज निकालेर पाद्दछ ।

    २१. पादैपादले भरिएको च्याम्बरमा तपाईँलाई थुनेर राखियो भने पनि उक्त पादको कारण तपाइको मृत्यु भने हुँदैन ।

    २२. हवाईयात्रामा मानिसहरु धेरै पाद्दछन्, पादको दुर्गन्ध कम गर्नका लागि चारकोल फिल्टरको प्रयोग गरिएको हुन्छ ।

    २३. मानिस मरेको ३ घण्टापछि पनि पाद भने आइरहेको हुन्छ ।

    २४. पृथ्वीमा रहेका सबै मानिसहरुले एक सालमा करिब 17,000,000,000,000,000 पटक पाद्छन् ।

    २५. कहिलेकाहीँ पाद आएको हाम्रो मलद्वारको नशाले पाद र दिसाबीच अन्तर छुट्याउन नसके पादेको बेला थोरै दिसा पनि पादसँगै आउँदछ ।

    यसरी पादकै विशेषज्ञ हुने हो भने पादको एक्सरे गर्नुपर्ने हुन्छ । पादलाई बट्टामा राखेर जाँच्नुपर्ने हुन्छ । पाद सुँघेर बिरामीको अवस्था थाहा पाउनुपर्ने हुन्छ । एक पटक पाद्‍नोस् त भनेर जाँच्‍नुपर्दा त्यो कति पीडादायक होला । दिनभरि पादका बिरामी जाँचेर घर फर्किँदा के अवस्था होला । पादका लागि छुट्टै वीमा योजना बन्लान् । 

    यसरी पाद टिप्पणीका रूपमा ‘पाद्‍ने क्रममा भेट्टाएको’ स्रोत लेख्‍ने पादोलजिस्टले नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र पाउनुपर्छ भन्नेहरू हाजिर हुनुहोस् ।

    जदौ ।

    संप्रस पौडेल

    “जब एउटा मान्छे हराउँछ” कविता संग्रह हिन्दी भाषामा पनि ।

    कवि चन्द्र गुरुङको ‘जब एउटा मान्छे हराउँछ’ कविता संग्रह हिन्दी भाषामा पनि प्रकाशित भएको छ । हिन्दीमा कवि गुरुङको कविता संग्रह ‘बूढे माँझी का देश’ नामले प्रकाशन गरिएको छ ।
    कूल ५० कविता रहेको यस कविता संग्रहलाई नयाँ दिल्लीस्थित सर्वभाषा प्रकाशन गृहले हिन्दीमा सो पुस्तक प्रकाशन गरेको हो । यसअघि ‘माइ फादर्स फेस’ नामले अंग्रेजी भाषामा प्रकाशन भैसकेको सो कृति भारतमा अमेजनमार्फत् खरीद गर्न सकिने गुरूङले बताउनुभयो । साथै उहाँले आफैंले हिन्दीमा अनुवाद गरिसक्नु भएको ती कविताहरू भारतीय कवि शहन्शाह आलमले पढेपछि उहाँकै पहलमा प्रकाशन गरिएको बताउनु भयो ।
    नेपालीमा सो कृतिको तेस्रो संस्करण प्रकाशन भैसकेको छ भने उहाँले अंग्रेजी, हिन्दी, अरबी कविताहरू नेपाली भाषामा अनुवाद गर्दै विभिन्न भाषामा लेखिएका कविता र नेपाली पाठकबीचको दूरीलाई कम गर्दै आइरहनु भएको छ । भूगोल को भोक मेटाउने प्रयास गरिरहनु भएको छ ।

    उहाँको पहिलो कविता संग्रह नेपाली संस्करणमा ‘जब एउटा मान्छे हराउँछ’ इण्डिगो इङ्क प्रकाशन गृहले २०७९ जेठमा प्रकाशन गरेको हो । जसलाई लेखक बसन्त बस्नेतले ‘छोटा अर्थपूर्ण अनि पछिसम्म तरंग छाड्ने कविताहरू’ भन्नु भएको छ भने कवि नेत्र एटमले ‘आलोचनात्मक चिन्तन बोकेको, हृदयको भाषा रहेको र मस्तिष्क हल्लाउने कविताहरू’ भनी प्रतिक्रिया दिनु भएको छ ।
    यस्तै खगेन्द्र गिरि ‘कोपिला’ ले ‘नेपालमा आफ्नो पहिचान आफैं मेटाएर पहिचान खोज्ने चलन चलेकोमा कवि चन्द्र गुरूङको हृदय, अनुभूति र संवेदनाको कुनै नश्ल, कुनै जात र धर्म समेत नहुने’ विचार राख्दै उहाँलाई आफ्नै मनको कविता लेख्न मन पराउने कविका रूपमा चिन्नुहुन्छ ।
    मान्छे हराएपछि भेटिएको कविता जब एउटा मान्छे हराउँछप्रति कवि अनिता न्यौपाने भन्नुहुन्छ- ‘शालीन मान्छेको कविताले विद्रोहको आवाजहरू कसरी ओकल्छ, त्यो बुझ्न पनि यस पुस्तक पढ्नुपर्छ ।’
    यसरी गहकिला कविताहरूको संग्रहको अंग्रेजी संस्करण ‘माइ फादर्स फेस’ रुब्रिक पब्लिसिङले र हिन्दी संस्करण ‘बुढे माँझी का देश’ सर्वभाषा प्रकाशनले पाठकमाझ ल्याएको हो ।
    नवसाहित्य परिवारको तर्फबाट कवि गुरूङप्रति हार्दिक बधाई तथा शुभकामना ।

    नेपाली लोककथा: बुढो बाबु फाल्ने डोको

    एक समयमा, पहाडखण्डमा एउटा बुढो बस्तथ्यो। उसको एउटा छोरो पनि थियो। छोरोको चुडाकर्म, विवाह इत्यादि गराई, बुढो छोराबुहारीको भरमा बस्न थाल्यो ।

    यसबेलासम्म बाबु निकै बुढो भइसकेको थियो । तल–माथि गर्न पनि सहारा लिएर मात्र गर्न सक्थ्यो । बुढाकी बुहारीबाट एक छोरो जन्मियो । बुढो अब त जहाँ बस्यो, त्यहाँ नै खाने, पिउने, दिसा–पिसाब गर्ने र सुत्ने अवस्थामा थियो । 

    बुढाको छोराले एक दिन विचार ग¥यो, ‘यो बुढो खालि खाई मात्र रहन्छ, न यता जान्छ न उता। दिसा–पिसाबसमेत अरुले गराइदिनुपर्छ। अझ कति बाँच्ने हो? काल पनि किन नआएको होला। बरु भीरबाट खसालिदिने हो कि! हामीलाई पनि आनन्द, बुढो पनि चाँडै स्वर्ग जान पाउने।’

    यति विचार गरेर ऊ आफ्नी स्वास्नीसित सत्य कुराको सल्लाह माग्न हिँड्यो। स्वास्नीचाहिँ पनि बुढो ससुसराको चाकरी गर्दागर्दै आजित भइसकेकी थिई। त्यसैले, आफ्नो पोइको कुरा ‘ठिकै हो’ भनेर भनी ।

    यति भइसकेपछि आफ्नो बुढो बाबुलाई एउटा डोकोमा राखेर भीरबाट खसाल्न भनी ऊ हिँड्यो । उसको पछिपछि उसको सानो छोरो पनि लाग्यो । भीर धेरै टाढा थिएन। बुढो बिचरो कान पनि सुन्दैनथ्यो र आँखा पनि राम्ररी देख्दैनथ्यो। बुढोलाई ‘मार्न लगेको’ भन्ने के थाहा? उसले त, छोराले डोकोमा बोकेर देउताथान दर्शन गराउन लगेको होला भन्ने ठानेछ। त्यसकारण, बुढो केही नबोली चुप लागेर बस्यो ।

    भीर आएपछि त्यसले बुढो बाबुलाई खसाल्नै के लागेको थियो, सानो छोराले भन्यो, ‘बा! बा! डोकोचाहिँ नखसाल्नुस् नि ।’

    बाबुले सोध्यो, ‘किन?’

    छोराले जवाफ दियो, ‘ल, अहिले डोको फालेर मैले पछि तपाईंलाई केमा राखेर फाल्ने नि?’

    छोराको कुरा सुनी, आश्चर्य मानी, बाबुले सोध्यो, ‘कसलाई फाल्ने?’

    छोराको जवाफ दियो, ‘तपाईंले तपाईंको बाबुलाई फाल्ने, अनि मैले तपाईंलाई।’

    छोराको कुरा सुनी, उसको बुद्धि फक्र्यो र घर आई आफ्नो बाबुलाई खुब मान गर्‍यो।

    (तुलसी दिवस सम्पादित ‘नेपाली लोककथा’ (२०३२) बाट साभार)

    बालकथा: स्वार्थ र परार्थ

    एउटा गाउँमा विदेशी पाहुनाहरू आए । पाहुनाहरूको हातले खाने बानी थिएन । भात खाने बेलामा उनीहरूले चम्चा मागे । गाउँमा चम्चाले खाने चलन थिएन । चम्चाको सट्टा डाडु पनिउँ दिए । उनीहरूले डाडुले खाने बिचार गरे ।

    डाडु र पनिउँले थालमा राखेको भात र दाल मुछे र खान थाले । चम्चाले खाने बानी परेकाहरूले लामो डाडुले खान खोज्दा मुखैमा पुर्याउन सकेनन् । यताउति पोखे । उनीहरूले आधाजति खानेकुरा पोखे । आधा पेट भरे र गाउँमा चम्चाको चलन नभएकोमा गिल्ला गर्दै उनीहरू विदा भए ।

    केही दिनपछि त्यही गाउँमा विदेशी पाहुनाहरूको अर्को समूह आयो । उनीहरू पनि हातले खाँदैनथे । उनीहरूले पनि काँटा चम्चा मागे । नपाएपछि डाडु पनिउँले थालको भात दाल मुछे ।

    तर उनीहरूले आफैले खाएनन् । आमुन्ने सामुन्ने बसेर एकले अर्कोलाई डाडुले ख्वाए । यसरी एक सिता भात नपोखीकन उनीहरूले पेट भरे । अनि एकअर्कोलाई ख्वाएर आपसमा सहयोग र सद्भाव बढाउने अवसर दिएकोमा गाउँलेलाई धन्यवाद दिँदै बिदा भए ।

    • विनय कसजू
      २०६७ जेठ २, आइतबार ।

    पौराणिक कथा : चन्द्रमाको जन्म

    मत्स्य एवं अग्नि पुराण अनुसार ब्रह्माजीले सृष्टि रचना गर्ने विचार गरेपछि सबभन्दा पहिला संकल्पको माध्यमले मानसपुत्रको रचना गरे । उनीहरूमध्येका एक मानसपुत्र ऋषि अत्रिको विवाह ऋषि कर्दमकी कन्या अनसूयासँग भएको हो । उनीहरूबाट दुर्वासा, दत्तात्रेय र सोम तीन पुत्र उत्पन्न भए। सोम चन्द्रमाकै अर्को नाम हो । पद्मपुराणमा चन्द्रको जन्मको अर्को वृत्तान्त पाइन्छ । ब्रह्माले आफ्नो मानसपुत्र अत्रिलाई सृष्टि विस्तार गर्ने आज्ञा दिनुभयो । यसका लागि महर्षि अत्रिले अनुत्तर नामक तप आरम्भ गर्नुभयो । तपस्याकालमा एक दिन महर्षिका नेत्रबाट जलका केही थोपा चुहिए । ती थोपा अत्यन्त चम्किला थिए । दिशाहरूले स्त्रीरूप धरेर पत्रप्राप्तिको कामना गर्दै ती थोपा पिए जुन उनीहरूको पेटमा गर्भ रूपमा स्थापित भयो । तर त्यस चम्किलो गर्भलाई दिशाहरूले राखिरहन सकेनन् र त्यागिदिए । त्यही त्यागिएको गर्भलाई ब्रह्माले पुरुष रूप दिए जो चन्द्रमाको रूपमा प्रख्यात भयो । देवताहरू, ऋषिहरू र गन्धर्वहरूले उनको स्तुति गरे । उनकै तेजबाट पृथिवीमा दिव्य औषधि उत्पन्न भए । ब्रह्माजीले चन्द्रमालाई नक्षत्र, वनस्पति, ब्राह्मण र तपको स्वामी नियुक्त गरे ।
    स्कन्द पुराणका अनुसार देवता तथा दैत्यहरूले क्षीरसागर मन्थन गरेपछि त्यहाँबाट चौध रत्न निस्केका थिए । चन्द्रमा तिनै चौध रत्नमध्ये एक हुन् जसलाई लोककल्याणका लागि मन्थनबाट प्राप्त कालकूट विष पिउने भगवान् शंकरले आफ्नो शिरमा राख्नुभएको छ । चन्द्रमाको विवाह दक्षप्रजापतिका छोरीहरू २७ नक्षत्रसँग भएको थियो । सत्ताईस नक्षत्रको भोगबाट एक चन्द्रमास पूर्ण हुन्छ ।

    अज्ञात
    पुराणका अनुसार चन्द्रको उत्पत्ति

    तीन मुक्तकहरू / अजिता ओझा (अजु)

    मुक्तक-१

    जे गरे नि सफल हुन्न भाग्य त्यस्तो ठान्यो बस्यो

    पाइलैपिच्छे ठेस लाग्छ भगवानको खेल मान्यो बस्यो

    जागिर खाई दिनकै फुटा पोस्ट्याउछन् साथीहरू

    कर्मै खोटो आफ्नो त ठ्यास्स लाइक हान्यो बस्यो

    मुक्तक-२

    सुर्योदयदेखि सुर्यास्तसम्म देखिन्छ ल हेर्नुस् संसार सारा देखिन्छ

    मनोरम दृश्य देखिन्छ गज्जबको हिमालको काखमा रारा देखिन्छ

    हजुरको महलभन्दा त कयौं गुणा उत्कृष्ट छ महोदय  मेरो झुपडी

    नपत्याए हेर्न आउनुस् बिस्तारा बाटै जुन देखिन्छ तारा देखिन्छ

    मुक्तक-३

    मानिसमा मानवता हराइसकेछ जिउने साहास फर्केर आउदैन रे

    जिन्दगीसँग नै राजनीति खेल्दिन्छन् बाच्ने आस फर्केर आउदैन रे

    कसैगरी म लडि हाले भने समिपैमा राख्नु है बा कतै नलानु

    सुन्दैछु अस्पताल पुगेपछि त बिरामीको सास फर्केर आउदैन रे

    निजगढ-८, बारा

    कवि मौन आवाजका ३ कविताहरू

    थानकोट, काठमाडौँका मौन आवाज साहित्य साधना एवम् सम्पादन कर्ममा सक्रिय हुनुहुन्छ । उहाँको ‘यो शताब्दीमा म पनि छु’ (२०७१ -कविता सङ्ग्रह) प्रकाशित छ । चिहान मासिक, सुन्दर गोरेटो, प्रतिबिम्ब मासिक एवम् बलामी आवाजमा उहाँ सम्पादक एवम् प्रधान सम्पादकको भूमिकामा रहनुभएको छ । शोणितपुर मिडिया प्रा. लि. को अध्यक्ष रहनुभएका उहाँले पछिल्लो समय कविताका माध्यमबाट सशक्त हस्तक्षेप गरिरहनुभएको छ । राजनीतिमा भन्दा धेरै साहित्यमा राजनीति हुन्छ भन्ने उहाँ कवितामार्फत् ‘हामी हिँडिरहेका छौँ, तर कतै पुगिरहेका छैनौँ’ भन्नुहुन्छ त कहिले ‘क्रान्तिलाई फगत राजनीतिक विषय ठान्नु गलत कुरा हो’ भन्नुहुन्छ ।

    खबर आएको छैन

    लेखेर पठाएको छु एउटा चिठी !
    सम्बोधनमा छन्
    हृदयभरिका जम्मै भावनाहरू ।
    हुरी चलिरहेको छ
    भीषण बर्सात भइरहेको छ ।
    पहिरो गइरहेको छ
    बाढी आइरहेको छ ।
    पृथ्वी नै पल्टेला जस्तो
    उत्पात भइरहेको छ ।
    खामभित्र पठाएको छु मुटु !
    पुग्यो पुगेन ठेगानामा
    खबर आएको छैन !


    व्याकुल साँझ

    म एक्लै छु
    र टाढा
    जून एक्लै छ आकाशमा ।
    साँझपख
    कसैलाई पर्खिरहेको
    एउटा प्रतीक्षारत छाया छ
    नैराश्यता छ
    र मौनता छ ।
    साँझमा
    जून एक्लै छ
    म एक्लै छु ।
    एउटा क्रमिक ध्वनि
    जो अटुट

    प्रतिध्वनित भैइरहेछ यतै कतैतिर ।
    साँझमा
    एउटा अटुट धुन जो गुन्जिरहेछ / निरन्तर-
    म सुन्दै छु
    ती नबजेका धुनहरू – जो बज्नेबाला छन्
    आउनेबाला छ कोही
    पर्खिरहेछु !
    टुक्रा / टुक्रा हुँदै छ उज्यालो
    बढ्दै छ अँध्यारो ।
    म अझै एक्लै छु
    र टाढा अझै एक्लै छ जून !
    साँझमा
    म एक्लै छु
    र कोही आउनेबाला छ
    पर्खिरहेको छु !
    (२०७१ सालमा प्रकाशित ’यो शताब्दीमा म पनि छु’ कविता सङ्ग्रहबाट )

    पानी

    जल्लादले मान्छे मारिसकेपछि
    आफ्नो रक्ताम्य हात पानीले धोयो
    जल्लादको हात सफा भयो
    तर
    पानी रक्ताम्य भयो ।
    रक्ताम्य पानी
    खोला / नदी र खोल्सामा बग्यो
    छाँगा / छहरा र झरनामा बग्यो
    बग्यो – समयको गतिशीलतामा
    युगको अनन्ततामा ।
    बग्दै / बग्दै एक दिन त्यो रक्ताम्य पानी
    एउटा भिक्षुको अन्जुलीमा आइपुग्यो
    मन्दिरमा जल चढाइरहेको भक्तको हातमा आइपुग्यो
    पितृलाई तर्पण दिइरहेको

    एउटा अभागी छोराको हातमा आइपुग्यो ।
    यसरी
    जल्लादले हत्या गरेको मान्छेको रगत
    पानीमा मिसिएर जल्लादकै मुखमा आइपुग्यो !

    कविताः मानवता

    विभुति अधिकारी

    कवि

    मान्छे बस्छन् प्यारो धर्तीमा झट्टै पुग्छन् मान्छे आकाश
    मान्छे हर्छन् मान्छे नै भर्छन् आफ्नै फेर्ने सुस्केरा सास
    झार्छन् छाँगा बन्दै उद्योगी आफ्नो माटो पार्दै उब्जाउ
    झार्छन् मान्छे आफैँ नै आफ्नो पार्छन् अग्लो मान्छे नै भाउ ।

    जो माटोमा नाच्थे आनन्दी मान्छे बोक्दै फाली–कोदाली
    मान्छे लागे फाली कोदाली बोक्दै भाला पड्काई गोली
    जो मान्छेले ती छाँगा झार्थे सोही मान्छे रक्ती झार्दै छन्
    राम्रो पार्ने धर्ती मान्छे हो मान्छे आफैँ धर्ती मार्दै छन् ।

    लाखौँलाखौँ तारा टल्किन्थे यो बेलामा ध्वाँसो मात्रै छ
    बाख्रापाठा छैनन् बस्तीमा गस्ती गर्ने ब्वाँसो मात्रै छ
    मान्छे हाँस्ने सुस्ताई बस्ने चौतारीमा डोरी मात्रै छ
    आफ्ना भन्ने कोही छैनन् हा ! कुस्ती खेल्ने जोरी मात्रै छ ।

    गोलाबारी गर्दै मान्छेले रम्दै मान्छे गोलीगट्ठामा
    मान्छे झन् झन् ध्वंसी बन्दै छन् प्यारो मान्छे बन्ने सट्टामा
    मान्छेलाई बिर्सी मान्छेले पड्कायो झन् मान्छे गोलामा
    मर्का पारी मान्छे हिँड्दै छन् मान्छेलाई हाली झोलामा ।

    मान्छे भन्ने प्यारो आस्थाको खाँबो पल्लो पाटोमा फाली
    हामी मान्छे भन्ने बाच्दै छौँ मान्छेलाई बाटोमै ढाली
    मान्छेमारा पारा छोडी यो मान्छे बन्दै हामी बाँच्ने कि ?
    नासो राख्दै भावी पुस्तामा मान्छेआस्था हामी साँच्ने कि ?

    छन्द : धृतिरूपामाली

    तपाईँको विचार राख्नुहोस्

    शेयर गर्नुहोस्

    नवसाहित्य टेलिभिजन

    गजल मञ्‍च मकवानपुरको २०५औं गजल यात्रा

    भाद्र २, मकवानपुर ।
    गजल मञ्च मकवानपुरले गजल यात्रा २०५औं श्रृङ्खला सम्पन्न गरेको छ ।
    मञ्चका अध्यक्ष केशव समर्पणको सभाध्यक्षता, साहित्यकार डा. नवराज लम्सालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सर्जक सञ्जाल मकवानपुर संयोजक निमेष निखिल, हटारू उपन्यास लेखक ओम रिजाल, अग्रज साहित्य सर्जक तुल्सी घिमिरेको विशिष्ट आतिथ्यता रहेको थियो ।

    मदन पुरस्कार विजेता अग्नी महाकाव्यका लेखक डा. लम्सालले मकवानपुरकै माटो टेकेर लेखेको पुस्तकले आफूलाई साहित्य सिर्जनाबाट मदन पुरस्कारसहित झण्डै आधा दर्जन ठूला पुरस्कार दिलाएकोले पनि यस भूमिप्रति विशेष लगाव रहेको बताउनु भयो । उहाँले ४०/४५ वर्षअघि मोदनाथ प्रश्रितको सिर्जना ‘नबोके पनि खुँडा र खुर्पा, खुकुरी तरबार, कलमबाटै भत्काइदिन्छु अन्यायी संसार’ बाट उहाँले कलमको शक्ति अपार रहेको र साहित्य सर्जकले मरेपछि पनि आफ्ना विचार, लेखनी, प्रयोग आदिप्रति उत्तरदायी हुनुपर्ने हुँदा लेखनमा देश विदेशका अन्य सर्जकहरूले के लेखिरहेका छन् भन्नेसम्म आफूलाई जानकार बनाइराख्नुपर्ने विचार राख्नुभयो ।
    गजल लेखनका आफ्नै शैली रहेको र विशेषत वाचनभन्दा गेय विधा रहेकोले यसको रचनामा निकै सावधानी अपनाउनु पर्ने बताउँदै कार्यक्रममा लेखक ओम रिजालले गजल वाचन गर्नुभयो ।

    मञ्चका कोषाध्यक्ष विशाल अधिकारी आशुतोषले स्वागत गर्नु भएको कार्यक्रममा देवराज तिवारी, सुवास सजल, मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डिबी बर्तौला, यश लामा, रजनी पौडेल, भवानी तिमल्सिना, साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपाने, मसान उपासक लगायतका सर्जकहरूले गजल वाचन गर्नु भयो भने पुरूषोत्तम आचार्य, हरि पौड्याल र अनिल कोइरालाले गजल गायन गर्नुभयो ।
    गजल मञ्चका सचिव हरि पौड्यालले सञ्चालन गर्नु भएको कार्यक्रम साहित्य संगम तथा सिस्नुपानी मकवानपुरको संयुक्त हलमा सञ्चालन गरिएको हो ।

    कविता : यो सहर / तुलसी घिमिरे

    २०११ मा होम्लिन वर्मामा जन्मनु भएका कवि तुलसी घिमिरे हाल हेटौँडा–२ मा बसेर साहित्य साधनामा हुनुहुन्छ । उहाँको गीत, कविता, गजललगायतका विधामा सक्रीय हुनुहुन्छ । उहाँ थुप्रै पुरस्कार तथा सम्मानबाट सम्मानित पुरस्कृत भइसक्नुभएको छ । उहाँको फूलका कुरा जुनका कुरा गीत सङ्ग्रह –२०७१ प्रकाशित छ ।

    यो सहर हो
    यहाँ बोल्नेको कनिका बिक्छ
    नबोल्नेको चामल बिक्दैन
    अन्त कतै नबिकेको समान
    यहाँ बिक्छ
    खुन बिक्छ
    पसिना बिक्छ
    सडेगलेको विचार बिक्छ
    अमृतको बोतलमा विष बिक्छ
    जिउनुको कहरमा मृत्यु बिक्छ
    इमान बिक्छ
    धर्म बिक्छ
    झुट बिक्छ
    जालझेल बिक्छ
    यो सहर हो
    यहाँ सबै बिक्छ।
    जसलाई जे चाहिन्छ
    सबै चिज यहींँ पाइन्छ
    टाउको बेच्ने यहीँ छ्न्
    टुपी बेच्ने पनि यहीँ छ्न्
    कोही यहाँ छुर्पी बेच्छन्
    बेच्दाबेच्दै बबुरा
    आफैलाई बेच्छन्
    कोही अकुत कमाउँछ्न्
    कोही दिनभरि झिँगा धपाउँछन्
    तोरी बेच्ने यहीँ छन्
    छोरी बेच्ने यहीँ छ्न
    कोही भन्छन्
    देखेको पाइन्छ
    लेखेको पाइन्न
    कोही भन्छन्
    लेखेको पाइन्छ
    देखेको पाइन्न
    तर यो यस्तो सहर हो
    जहाँ लेखेको पनि पाइन्छ
    देखेको पनि पाइन्छ
    साँच्चै !
    यो गजबको सहर हो
    यहाँ सबै थोक पाइन्छ ।

    तुलसी घिमिरे