Home Blog Page 12

डा. दामोदर पुडासैनीको उन्नाइसौं कृति मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे प्रकाशित

संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

रत्न पुस्तक भण्डार, काठमाडौँले डा. दामोदर पुडासैनी ‘किशोर’को कवितासङ्ग्रह— मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे प्रकाशित गरेको छ ।

डा. पुडासैनीले सन् २०२३ मे २० देखि जुलाई २८ सम्म ५३ वटा कविताहरू रचेका थिए । यी सबै कविताहरू अमेरिकी भावभूमि, मिथक र बिम्वमा आधारित भएर वैज्ञानिक विकासको उपलब्धी समेटेर, अमेरिकी समाजको मनोभावना समेटेर र अमेरिका र बाहिरी विश्वको मानसिकता समेटेर रचिएका नवीन ढङ्गका सिर्जनाहरू हुन् । यस बाहेक डा. पुडासैनीले यस अघि पटक पटक अमेरिकाको भ्रमण क्रममा रचेका कृतिहरू प्रकाशनको पखाईमा छन् ।
उक्त कृतिको प्रकाशन संस्था रत्न पुस्तक भण्डारले भनेको छ— ‘मेन स्ट्रटमा कुदिरहेकी स्वास्नीमान्छे कवितासङ्ग्रहमा संगृहीत कविताहरूले नेपाली काव्य लेखन परम्परामा विलकुल नयाँ मोड ल्याएको छ । यी कविताहरूले जीवन र जगतलाई नयाँ ढङ्गले खोज्न उत्प्रेरित गर्दछन् र नवीन पथतिर अग्रसर बनाउँने सूत्रहरू समेत प्राप्त गर्न मद्दत मिल्दछ । यो सङ्ग्रह नेपाली काव्य जगतको नयाँ विषय र नयाँ शैलीको अति उत्तम नमूना भएर नै हामीले प्रकाशमा ल्याएका हौँ ।

पश्चिमबङ्गाल युनिभर्सिटी, भारतका प्रा.डा. कृष्ण घतानीले लेख्नुभएको छ— ‘कवि दामोदको कविताकृति मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे अहिलेको जल्दोबल्दो युगको प्रतिच्छामा बोकेको विम्व हो । अमेरिकी कवि वाल्ट हिटमनले रचेका कवितासङ्ग्रह लिभ्स अबग्रासमाभन्दा डा. पुडासैनीले अझ आधुनिक दृष्टि दिएर विश्व वैभव सम्पन्न अमेरिकाको ऐश्वर्य, शक्ति, सामथ्र्य उजागर गर्न अमेरिकी विम्ब र प्रतीकको आधारमा विश्वमानव जीवनको वास्तविकता एकिन गरेका कविता रचन सफल भएकाछन् । हिटमनका कविताको भाषाबारे इमर्सनले भनेजस्तै कवि दामोदरका कविताको भाषापनि साधारण मान्छेले बोल्ने भाषा छ । अझ दामोदरका कविता यति जीवन्त छन्, जसलाई काटे रगत आउँछ । यी कविताहरू आधुनिकोत्तर युगका गतिशील प्रतिकृतिहरू हुन् । अमेरिकी पृष्ठभूमिमा युग–यथार्थको यति सजीव रुपाङ्कन सायदै कुनै नेपाली कविले आजसम्म गरेका होलान् । यो कृति डायस्पोरिक जीवनशैलीको सुन्दर प्रतिविम्व हो, प्रतिकृति हो ।’

यसैगरी भाषा आयोग नेपालका सदस्य, समालोचक एवं कवि डा. अमर गिरीले यस पुस्तक बारे लेख्नुभएको छ— ‘कवि पुडासैनीका कवितामा आत्मसङ्घर्ष र साधनाको परिणामलाई नियाल्न सकिन्छ । उहाँका कविताहरू अन्तर्वस्तु र रुपका दृष्टिले अत्यन्त राम्रा छन् । अमेरिका बसेर गरिएका अनुभूतिहरूको कलात्मक प्रकाशनका कारण कविताहरू जीवन्त बनेका छन् । अमेरिकामा बस्नेहरूले गर्ने डायस्पोरिक अनुभूति, उनीहरूको पीडा र मनोविज्ञान, उनीहरूको स्वप्न र विरोधाभासको चित्रण पनि पुडासैनीका कवितामा राम्रोसँग गरिएको छ ।’

वर्तमान समयमा अमेरिकालाई कर्मभूमि बनाइरहनु भएका प्रसिद्ध कवि एवं लेखक गोविन्द गिरी ‘प्रेरणा’ ले लेख्नुभएको छ— ‘यो कवितासङ्ग्रहले कवि दामोदरलाई उर्जाशील कविका रुपमा पुनः प्रमाणित गरेको छ । कवि पुडासैनीले अमेरिका भ्रमणलाई पाइला पाइलामा कविता टेकेर, कविता सोचेर, कविता चिन्तन गरेर र कविता मनन गरेर कवितामय यात्रा बनाउन सफल भएका छन् । अमेरिकी विम्ब, अमेरिकी प्रतीकहरू यी कविताका पानाहरूमा छताछुल्ल देख्न र महसुस गर्न सकिन्छ ।’

मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे डा. दामोदर पुडासैनी ‘किशोर’ को उन्नाइसौं कृति हो । यस अघि उहाँका दश कवितासङ्ग्रह, सात नियात्रासङ्ग्रह र एक दर्शनकृति समेत प्रकाशित भैसकेका छन् । जीवन र जगतलाई अनुभव र अनुभूतिका माध्यमबाट हेर्न, बुझ्न र विस्तार गर्न सकिने दर्शनलाई आत्मसात गर्दै रचिएका डा. दामोदर पुडासैनीका सबै कृतिहरू आमपाठकको छनौटमा पर्दै आएका छन् । यस अघि वि.सं. २०७९ सालमा प्रकाशित उहाँको नियात्रासङ्ग्रह डोल्पो ! ओ डोल्पो !! लाई साहित्य संगम मकवानपुरले केही समय अघि ‘वर्षभरिको सर्वोत्कृष्ट कृति पुरस्कार’ प्रदान गरेको थियो । त्यसबाहेक उहाँका कृतिहरूमध्ये ग्रीष्मको नीलो वतासलाई ‘पवन आलोक नियात्रा पुरस्कार, २०७९’, सहर बिनाको सहरलाई ‘बादल भित्रको घाम सर्वोत्कृष्ट पुरस्कार, २०७५’, नमेटिएका चित्रहरूलाई ‘अन्तर्राष्ट्रिय नेपाली सर्वोत्कृष्ट पुस्तक पुरस्कार, सन् २०१५ र ‘उत्तम शान्ति पुरस्कार, २०७०’ प्राप्त गरेका छन् भने त्यसबाहेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट सयौं सम्मान तथा पुरस्कार पाउँन सफल भएका छन् । उहाँका वि.सं. २०७२ मा प्रकाशित सिमानाका रङ्ग ः सिमानाका तरङ्ग र वि.सं. २०७८ मा प्रकाशित ग्रीष्मको नीलो बतास नियात्रासङ्ग्रहहरू मदन पुरस्कार गुठीबाट प्रकाशित वर्षको सर्वोत्कृष्ट सूचीमा समावेश हुन सफल भएका थिए । विभिन्न विश्वविद्यालयका छात्रछात्राहरूले पुडासैनीका कृतिहरूमा आधारित रहेर दर्जनौं शोध पुरा गर्न सफल भएका छन् ।

डा. पुडासैनीले लामो समयसम्म नेपाल सरकारको नायवमहालेखापरीक्षकको रुपमा कार्य गर्नुभयो । उहाँ अडिटिङ विषयमा विधावारिधि (पीएच.डी.) पुरा गर्ने पहिलो नेपाली पनि हुनुहुन्छ ।

डा. दामोदर पुडासैनी ‘किशोर’ को मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे कवितासङ्ग्रह रत्न पुस्तक भण्डार, बागबजार र भुँडीपुराण प्रकाशन, बागबजारमा उपलब्ध भैसकेको छ । निकट भविष्यमै देशका प्रमुख विक्रेता मार्फत उपलब्ध गराइने कुरा उक्त पुस्तकका प्रमुख वितरक भुँडीपुराण प्रकाशनका कशेव पराजुलीले बताउनु भयो । त्यसैगरी प्रकाशक रत्न पुस्तक भण्डारका प्रमुख गोविन्द श्रेष्ठ र सुरेश श्रेष्ठले अमेरिकी परिवेशमा रचिएका कविताहरूको यो सङ्ग्रह विश्वका सबै पाठकहरूको माग अनुसार युरोप र अमेरिकामा समेत उपलब्ध गराइने कुरा बताउनुभयो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

हास्यव्यङ्ग्य स्तम्भ : च्वास्स-२

संप्रस पौडेल

हास्यव्यङ्ग्य स्तम्भको दोस्रो श्रृङ्खलामा छौँ । विगत डेढ दशकदेखि हास्यव्यङ्ग्य लेख प्रकाशनमा सक्रिय संप्रस पौडेलका लेखहरू पढेर यहाँहरूले कहिले हास्य त कहिले व्यङ्ग्य अनि कहिले हास्यव्यङ्ग्य सँगसँगै बोनस प्राप्त गर्नसक्नुहुनेछ । हाँसो उठेन भने त्यसको ग्यारेन्टी न लेखकले दिनु भएको छ, न त हामी नै दिन सक्छौँ । तर झक्झक्याइ रहनु पाठकको कर्तव्य पनि त हो नि !

च्वास्स-२

युट्युबर र उसको सब्सक्राइब गर्नेवालाबिचको कुराकानी १
पात्र १: (फोन डायल गर्दै) हेल्लो नमस्कार ।
युट्यबरः (भुसुक्कै सुतेको फोन उठाउँदै) हेल्लो नमस्ते । को बोल्नुभयो ।
पात्र १: बधाई छ है तपाईँलाई । म तपाईँको युट्युबको फ्यान ।
युट्युबरः अहो धन्यवाद धन्यवाद ।
पात्र १: तपाईँको त्यो भिडियो हेरेर म त मुर्छा परेर हाँसे नि ।
युट्युबरः हसाउने भिडियो त मैले अपलोड गरेकै छैन । कुन चाहिँ हो र ?
पात्र १: त्यही क्या त पानी उमाल्ने तरिका । जसमा चार लाइक र चौध गाली गरेका छन् नि ।
युट्युबरः अहो, त्यसले त मलाई बर्बादै बनायो नि ।
पात्र १: अरु सबै गइसके । म तपाईँको सबैभन्दा अन्तिमको सब्सक्राइबर । एकचोटी फोनै गरेर विदा होउँ कि भनेर नि ।
युट्युबरः फोन राख् ।…… युट्युबको लतले पनि करियर ड्यामेज गर्‍यो यार ।

युट्युबर र उसको भिडियो हेर्नेवालाबीचको कुराकानी २
पात्र २: (फोन डायल गर्दै) हेल्लो ।
युट्युबरः हेल्लो । को बोल्नुभयो ?
पात्र २: बधाई छ तपाईँलाई । तपाईँको युट्युबका भिडियो भाइरल भएछ नि ।
युट्युबरः हो र ? कुन भिडियो ?
पात्र २: कुन हुनु ? त्यही एउटै भिडियो त थियो नि ।
युट्युबरः मेरो सत्रवटा च्यानल छ । कुन चाहिँ च्यानलको भिडियो हो ?
पात्र २: जे लुकाउनुपर्ने, त्यही गोप्य खोलिदिनुभयो तपाईँले । एउटा तपाईँको च्यानल भैहाल्यो । बाँकी १६ वटा कमेन्ट तपाईँले नै अन्य च्यानलबाट गर्नुभएछ ।
युट्युबरः तोइट । फोन राख् । कस्ता कस्ता मान्छेहरु हुन्छन् ।

युट्युबर र उसको शुभचिन्तकबिचको कुराकानी ३
पात्र ३: (फोन डायल गर्दै) हेल्लो ।
युट्युबरः हजुर काँबाट को बोल्नुभयो ?
पात्र ३: एउटा प्रतिष्ठित कम्पनी एबिसीडीइले तपाईँको च्यानलाई पुरस्कृत गर्ने भएको छ । जानकारी दिनको लागि फोन गरेको ।
युट्युबरः ओहो । यो त खुसीकै कुरा भयो नि । पुरस्कार चाहिँ केका लागि रहेछ ?
पात्र ३: सबैभन्दा कम लाइक आएको ।
युट्युबरः तपाईँ जोक गर्दै हुनुहुन्छ ?
पात्र ३: नरिसाउनु न । तपाईँको घरमा कति जना हुनुहुन्छ ?
युट्युबरः अरुलाई पनि फोन गर्ने सुर छ कि क्या हो ? ८ जना छन् । किन ?
पात्र ३: नझोक्किनुस् न । त्यो तपाईँले अपलोड गर्नु भएको पानी तताउने रिसेपीवाला भिडियोमा ७ वटा लाइक आएका छन् ।
युट्युबरः यस्तो कुरा जानेर तपाईँलाई के फाइदा हँ ?
पात्र ३: भिनाजु, म कान्छी साली क्या । उपलब्धी केही छैन । जतिखेर मोबाइलमा झुण्डिएर दिदी माइत आएकी छे ।
युट्युबरः ए साली नानी, एक सब्सक्राइब र लाइक थपेर दिदीलाई पठाइदेऊ न है । अँ सुन त पोहोर स्वर्गेवास भएका ससुरा बाको स्व. दामोदर बाजे नामको अकाउन्ट बनाएर अर्को लाइक र कमेन्ट नबिर्सिऊ नि ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

हास्यव्यङ्ग्य स्तम्भ : च्वास्स-१

संप्रस पौडेल

हामीले आजदेखि हास्यव्यङ्ग्य स्तम्भ सुरू गरेका छौँ । विगत डेढ दशकदेखि हास्यव्यङ्ग्य लेख प्रकाशनमा सक्रिय संप्रस पौडेलद्वारा लिखित लेखहरू पढेर यहाँहरूले कहिले हास्य त कहिले व्यङ्ग्य अनि कहिले हास्यव्यङ्ग्य सँगसँगै बोनस प्राप्त गर्नसक्नुहुनेछ । हाँसो उठेन भने त्यसको ग्यारेन्टी न लेखकले दिनु भएको छ, न त हामी नै दिन सक्छौँ । तर झक्झक्याइ रहनु पाठकको कर्तव्य पनि त हो नि !

च्वास्स-१

१. भट्टी ज्ञानः
एकदिनको कुरा हो । भट्टीबाट बाहिर निस्कँदा पानी परेर रोकिइसकेको थियो । (त्यसो त भट्टी भन्नेबित्तिकै रक्सी नै पिइन्छ भन्ने त छैन, पिउनेले पियो तर म भटमास चपाएर निस्किएको हुँ ।)
सँगैको साथीसँग बाइक पुछ्ने कपडा मागेँ । हातमा पर्नेगरी हुत्त हुत्याइदियो, हातसम्म ल्याण्डिङ भइसक्दा कपडाले असली रूप निकालिहाल्यो । कपडा थियो- ‘धुर्मुस कट्टु’ को पछाडिपट्टीको भाग । पछाडिको भाग सजिलै थाहा हुने, उसको बैठक भागले च्यापेकोले २ ठाउँमा अलि पातलो । अनि साथमा दुइ थान गोजी पनि ।
(नेपालमा धुर्मुस कट्टु, मोदी कोट, बाबुराम टोपी, बालेनका चश्माहरू बेगल पहिचान रहेको छ ।)
सोधेँ- धोएर त ल्याएको होस् ?
ऊ- पुछ्दापुछ्दै सफा भइसक्यो । नआत्ती ।
दुइ औँलाले च्याप्प समातेर शङ्कासहित सोधेँ- अगाडिको भाग खोइ ?
ऊ- त्यसको चाहिँ खुट्टा पुछ्ने पोछा बनाको ।
नेपालीहरूलाई ‘हात धुनकै लागि’ खुलेका एनजिओहरूले ७ दशकदेखि सिकाएजस्तो त्यो दिन ७ पटक साबुनपानीले हात धोएँ ।
नतिजाः भित्री कपडाको पोछा बन्ने शङ्काले आजकल बाइक पुछ्ने कपडा कसैसँग माग्ने गरेको छैन ।
०००
२. मादल कक्षाः
मेरालागि बजाउने कुरामा मादल जहिल्यै दोस्रो नम्बरमा पर्छ । पहिलो नम्बरमा सित्तैको खाजा हुन सक्छ । वा हाकिमसँग सहकर्मीको गनगनका बाजा पनि हुनसक्छ ।
बजाउनेकै कुरा गरौँ । केही हप्तादेखि मादल सिक्न थालेको छु । एकदिन छिमेकीले भने- आजका लागि त्यो मादल हामीलाई दिनोस् ।
मैले सोधेँ- तपाईँ पनि सिक्ने रहर गर्नुभयो कि कसो ?
उनले भने- होइन, आज हामी आरामले निदाउँन चाहन्छौँ ।
सम्झनाः धेरै वर्ष पहिले गितार सिक्न नसकेपछि मैले साथीलाई उपहार चढाएथेँ । त्यसपछि म नै राम्ररी निदाउन थालेँ ।
०००
३. राष्ट्रपतिको रुवाबासीः
हाम्रा राष्ट्रपतिले तडकभडकका साथ बाटो बन्द नगराई यात्रा गर्न थालेको धेरै नै भयो तर त्यसको चर्चा छैन । चर्चा त देशमा राष्ट्रपति छन् कि छैनन् त्यसको पनि छैन । जब जब उनले अमेरिका जाने बताउँछन् तब तब सामाजिक सञ्जालले राज्यको खर्च गरेको हिसाब पेश गरिदिन्छन् । राष्ट्रपतिको वेबसाइट, फेसबुक, ट्विटरबाट ‘राज्यको पैसा लिएको छैन, आफैँले खर्च गरेको हुँ’ भन्दा पनि सञ्जालले पत्याउने होइन । त्यसो त सञ्जालले घोषणा गरेपछि अरू शक्तिहरू निर्धो हुने नै भए । देशले जनताबाट राष्ट्रपति त पायो तर राष्ट्रपतिले रूँदै गुनासो गर्ने कुनै पधेँरो, चौतारो वा अड्डा पाइरहेका छैनन् । एक्लै भन्दाहुन्- “धोको पुग्नेगरी रून पनि नपाइने कस्तो गणतन्त्र ल्याइएछ ।” रुन्चे सभाका लागि कसै न कसैले गठबन्धन गरिदिए उनको पनि भडासका भकारी रित्तिन्थ्यो कि !
०००
४. पति-पत्नी विवादः
फेसबुक र युट्युबमा दुनियाँ मस्त छ । सन्तान एकातिर ओछ्यानमा लडेका छन्, बाआमाका आँखा आआफ्ना मोबाइलमा गढेका छन् । भिडियो हेरेर हाँसेकी पत्नी पतिसँग नहासेको जुग बितेको छ । च्याटरूमा रूमल्लिएको पति पत्नीसँग नजिस्किएको बहुत भयो । दुवैको मुहारमा हाँसो त्यतिखेर आउँछ, जतिखेर एकअर्काका तस्बिर सञ्जालमा शेयर गरेका हुन्छन् र यथेष्ट प्रतिक्रिया मिल्दछ । रियाक्ट र स्टिकरका कारण प्रतिक्रियामा अक्षरहरू घट्दै गइरहेको छ । बरू प्रतिक्रियालाई यसरी छोटकरीमा उल्लेख गर्ने गरिएको छः
* आहा तपाईँकी पत्नी त कत्ति राम्री – लाइक
* अहो तपाईँका पतिको भुँडीले घुँडा छुन लाइसकेछ – हा हा रियाक्ट
* अर्कैकी पत्नीले अर्कैका पतिलाई – लभ रियाक्ट
* अर्कैका पतिले अर्कैका पत्नीलाई – केयर रियाक्ट

५. फेसबुक/टिकटक चलाउँदा चलाउँदै मायाप्रिती बसेपछि
मायाप्रिती बसेपछि बिहे नै गर्छन् भन्ने त होइन तर एउटा जोडीले गरे । एक जोडीले गरे पनि दुनियाँलाई चासो हुने गरेको छ । त्यो जोडी पक्कै पनि टिकटकका ‘भाइरल’ जोडी हुनुपर्छ । फेसबुकमा लाखौँ फलोअर्स भएका हुनुपर्छ ।
सञ्जालले जुराइदिएको बिहेपछि पति-पत्नीले कस्ता कस्ता गीत गाउँछन् त ? केही नमुना यहाँ उल्लेख गरिएका छन्:
पतिः
मेरो मनमा तिमी छौ नि
तिम्रो मनमा के गडेको छ ?
तिम्रो फोटो अपलोडपछि
फेसबुकको भ्यूज बढेको छ ।
पत्नीः
तिमीभित्र हराएथेँ
कमेन्ट पढ्दै शर्माएथेँ
पहिलो अकाउन्ट डिलेटपछि
मेन्सन हेर्दै डराएथेँ ।
पतिः
टिकटक अनि फेसबुकले
इन्स्टाले नै जोडिदिए
तिमीभन्दा राम्री जो थे
अनफलोमा तोडिदिएँ ।
पत्नीः
कमेन्ट गर्ने मोडी जाँदा फलोअर्सलाई छोडी आएँ
चल्छ जीवन तिमीसँग जानाजानी भनी आएँ
तिम्रोलागि मर्छु भन्थे, शीर पाउमा पार्छु भन्थे
त्यहीमध्येको मूर्ख एक मैले आज छानी आएँ ।

६. केवल एक हरफ
केवल एक हरफमा- आफ्ना दैनिकीका भित्तोमा अडेस लाएर दुखेसोका पोको खोली हेर्छु त एउटा खुसी फुत्त भ्यागुतोझैँ उफ्रिएर भुइँमा झर्छ । त्यही खुसीका केही प्रमाणहरूः
* डाक्टरले भने- केही दिन आराम गर्नुहोस् । दिनभर अफिसमा आरामैँ गरिरहेको थिएँ ।
* शिक्षकले सपना देख्नका लागि प्रेरणा दिएको दिन सोचेँ- सपना देख्न पहिले त सुत्नुपर्छ ।
* एक समय हामीलाई भातका अघि कति चोक्टा मासु आयो भन्ने चिन्ता थियो, आजकाल केटाकेटीलाई लाइक र कमेन्ट त्यही कोटीमा परेका छन् ।
* आजकालको प्रेम सम्बन्ध इन्टरनेटको सिग्नलभन्दा पनि कमजोर रहेको छ ।
* कता हराइस् नौनी बिलौनीमा; होटलमा सँगसँगै खाजा खान अघि लागेको साथी पैसा तिर्ने बेलामा शौचालय किन पस्छ ?
* वर्तमान जीवनप्रति आनन्द लिन चाहनुहुन्छ भने भविष्यको चिन्ताको ठेक्कापट्टावाला कागजपत्र अर्कोलाई नामसारी गर्नुहोस् ।
* जीवनलाई मूल्यमा तोक्न सकिँदैन भन्नेहरूलाई अनुरोध- महिना नाघेपछि खातामा आएको मोल मेरा खातामा पठाइदिनुहोस् ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

बाँचेको समय

संप्रस पौडेल

साहित्य सर्जक

हजुरबा भन्नुहुन्थ्यो,
सुखका दिन आए-
टिभी पायौ,
मोबाइल पायौ,
चाउचाउ खायौ,
जिन्स लायौ ।

हजुरबा त हुनुहुन्नँ,
चिच्याए पनि सुन्नुहुन्नँ,
हाँस्दा पनि हाँस्नुहुन्नँ,
रूदा पनि रूनुहुन्नँ ।

अझै बाँचेका भ‌ए,
यसो भन्नुहुन्थ्यो कि-
अब उत्पातै विकास हुन्छ,
जङ्गल फाँडेर विमानस्थल,
खोला थुनेर बालुवा खानी,
डाँडा भस्काएर आधुनिक सहर,
जीउ बन्धकी राखेर स्वास्थ्य,
नीति बेचेर नैतिकता,
कुरोबाट बिजुली,
ब्याड पुरेर प्लटिङ ।

विदेशीको ऋण र
जनजनको ढाड सेक्ने कर बटुलेर
नेतृत्वपिच्छे गाडी फेरेर समृध्दि,
आयातको टेण्डरमा मौलिकता,
ऋण लिएर सुविधा,
थकाई बेचेर निन्द्रा,
परिवार त्यागेर खुशी,
पानी बेचेर तिर्खा,
आँखा त्यागेर दृष्टी ।

छ पारिवारिक विछोड
बन्यो समाज दयामय
हे युवा, उठ पासपोर्ट बनाऊ
अर्कैको बैना भइसकेछ
तिमीले बाँचेको यो समय ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

पाठकको नजरमा पुस्तकः “म तिमी आउनुअघि नै गइसकेको थिएँ”

संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

नवसाहित्य ।
‘बरफका कोइलाहरू’ कविता सङ्ग्रहका सर्जक हुनुहुन्छ राधिका कल्पित । आज हामीले कृतिमाथिको पाटकीय दृष्टिकोणस्वरूप कवि आर्यशको कविता कृतिमाथि राख्नु भएको कवि कल्पितको पाठकीय प्रतिक्रियालाई लिएर आएका छौँ ।
०००
यतिखेर युवा कवि आर्यशको नवोदित कविता कृति `म तिमी आउनुअघि नै गइसकेको थिएँ´ मा डुब्ने र उत्रने गरिरहेछु । सङ्ग्रहका कुनै कविता सपाट छन । कुनै कविता संरचनाका हिसाबले एकदमै पृथक छन् । कुनै कविता संरचना, शिल्प, बिम्ब संयोजन र लय सबैका हिसाबले उत्कृष्ट छन् । सङ्ग्रहका धेरैजसो कविताले युवा आवाजको प्रतिनिधित्व गर्छन् । कुनै कुनै कविताले यसरी झट्का दिन्छन् कि रन्थनाउने नै बनाउँछन् ।

बिम्बको छनौटलाई सलाम गर्न मन लाग्यो । कहाँबाट खोजेर ल्याए हुन् कविले यति फरक बिम्बहरु कवितामा ?
यो सङ्ग्रह पढिरहँदा वर्तमान विसङ्गत समय र आर्थिक, सामाजिक बेथितिसँग जुध्दाजुध्दा थाकेर हैरान र निराश भएजस्तो देखिन्छ । तर कविले विद्रोह गर्न छाडेका छैनन्, सपना देख्न छाडेका छैनन् । प्रेमलाई प्रेम गर्न र सौन्दर्यलाई मन पराउन पनि छाडेका छैनन् । अचम्मको विरोधाभासहरूको कोलाज बनेको छ सङ्ग्रह ।
बधाई तथा शुभकामना कवि आर्यश ।
०००
सङ्ग्रहबाट नमूना तीन कविताहरू
१. अबोध प्रश्न
पिइसकिएका रक्सीका बोतल
खाली गोल्टिन र कार्टुन
पुराना पत्रपत्रिका
पढिसकिएका थोत्रा कापी किताब
यी सबै बटुलेर
कबाडी लानेलाई बेच्दै थिएँ
यो सब हेरिरहेको मेरो सानो छोराले सोध्यो
बाबा
ऊsss त्यो ड्रइङ कापी किन बेच्नुभएको ?
मैले कस्तो राम्रो देशको नक्सा बनाएको थिएँ ।

२. सोख
रहर उसको
स्वतन्त्र बन्नेछ
सपना उसको
हवाईजहाज उडाउने छ ।
उद्देश्य उसको
स्वावलम्बी हुनेछ ।
सोख उसको
पिँजडामा सुगा पाल्ने छ ।

३. रुचि भर्सेस रुचि
सानो छँदा
छोरी पुतली माग्थिन्
छोरो बन्दुक माग्थ्यो ।
ठुलो भएपछि आज
छोरी बन्दुक खोज्दैछिन्
अस्तित्व बचाउन
छोरो पुतली खोज्दैछ
अस्तित्व मेटाउन ।
०००
नवीन कृतिका लागि कवि आर्यशलाई बधाई तथा शुभकामना । – नवसाहित्य परिवार ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

गल्याङ गजल उत्सव- २०८१ सम्पन्न ।

संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

१५ भाद्र, शनिबार ।
नवसाहित्य ।
स्याङ्जाको साहित्यिक इतिहासमा पहिलोपटक ” गल्याङ गजल उत्सव- २०८१ ” कार्यक्रम सम्पन्न भएको छ ।

१५९ औं मोती जयन्तीको सन्दर्भमा गल्याङ प्रज्ञा प्रतिष्ठान, गल्याङ नगरपालिका, स्याङ्जाको आयोजनामा आज शनिबार गल्याङ- ३, स्थित गल्याङ बहुमुखी क्याम्पसको सभाहलमा ” गल्याङ गजल उत्सव- २०८१ ” पहिलो कार्यक्रमको रूपमा सम्पन्न गरिएको थियोे ।

गल्याङ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष अग्रज साहित्यकार व्यक्तित्व चण्डिकाप्रसाद भट्टराईको अध्यक्षतामा आयोजना गरिएको ” गल्याङ गजल उत्सव- २०८१ ” कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्वको रूपमा गल्याङ नगरपालिकाका प्रमुख तथा गल्याङ प्रज्ञा प्रतिष्ठानका प्रमुख संरक्षक गुरुप्रसाद भट्टराई रहनुभएको थियोे ।
आमन्त्रित व्यक्तित्वको रूपमा गल्याङ नगरपालिका वडा नम्बर- ३, १०, ८ र ११ का वडा अध्यक्ष क्रमशः कृष्णप्रसाद भट्टराई, मुक्तिप्रसाद खनाल, झिमबहादुर थापा र दलबहादुर सिङ्जाली एवम गल्याङ बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख ऋषिराम भण्डारी रहनुभएको थियोे ।

कार्यक्रमको सहजीकरण गल्याङ प्रज्ञा प्रतिष्ठानका संस्थापक सचिव युवाकवि मिलन समीरद्वारा गरिएको थियोे । स्वागत मन्तव्य प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष अग्रज साहित्यकार व्यक्तित्व सुर्यप्रसाद डुम्रेद्वारा गरिएको थियोे भने कार्यक्रममा मोतीराम भट्टको समग्र व्यक्तित्वको बारेमा प्रज्ञा प्रतिष्ठानका सदस्य युवा कवि प्रेमबन्धु सुवेदीद्वारा प्रकाश पारिएको थियोे ।

कार्यक्रममा स्याङ्जाली गजलकार व्यक्तित्वहरु मिलन समीर, दिलीप तिवारी फकिर, सुर्यप्रसाद डुम्रे, प्रेमबन्धु सुवेदी, कला पाठक, पारिश्वर न्यौपाने, चण्डिकाप्रसाद भट्टराई, स्मारिका अर्याल, सिर्जना रेग्मी उपाध्याय प्रकृति, ढालबहादुर के.सी., हरि अधिकारी, वसन्त खनाल, शम्भु अर्याल, तोरणराज बस्याल, नारायण न्यौपाने दर्शन, गुरुप्रसाद ढकाल, प्रेमकुमार काफ्ले, सिर्जना खनाल, सिर्जना पाठक, लीलाबल्लौ अर्याल, प्रकाश न्यौपाने प्रयास, प्रणव अर्याल, लक्ष्मणप्रसाद तिमिल्सिना, लेखनाथ काफ्ले, कुसुम भण्डारी, विक्रम परियार आदिद्वारा आफ्ना उत्कृष्ट गजल रचनाहरु वाचन गरिएको थियो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

सङ्गमद्वारा ‘समीक्षासहित चिठी लेखन प्रतियोगिता’

संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

१५ भाद्र, शनिबार ।
नवसाहित्य । साहित्य सङ्गम मकवानपुरले पुस्तकको समीक्षासहित चिठी लेखन प्रतियोगिता गरेको छ ।

१७औँ पुस्तकालय दिवसको अवसरमा ‘पछिल्लो समयमा आफूले पढेको पुस्तकको समीक्षासहित चिठी लेखन प्रतियोगिता’ आयोजना भएको हो ।

शनिबार पुष्पलाल स्मृति पुस्तकालयमा आयोजित कार्यक्रममा १३ विद्यालयका २५ विद्यार्थीहरूको सहभागिता रह्यो ।

साहित्य सङ्गम मकवानपुरका उपाध्यक्ष सानु खनालको सभाध्यता तथा अग्रज साहित्यकार देवराज खरेलको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा अग्रज साहित्यकार जनार्दन खनाल विशिष्ट अतिथि रहनु भएको कार्यक्रममा कार्यसमिति सदस्य सञ्जित श्रेष्ठले स्वागत मन्तव्य राख्नुभयो ।

कार्यक्रममा देवराज तिवारी, जनार्दन खनाल, भवानी तिमल्सिना, अनुसूया खनालले आआफ्नो रचना वाचन गर्नुभयो ।
प्रतियोगिता निर्णायक समिति संयोजक तथा सङ्गमका सल्लाहकार सुवास खनालले विषयवस्तुहरूको अङ्क विभाजनबारे स्पष्ट पार्दै पछिल्लो समय स्मार्टफोन प्रयोगका कारण पठन संस्कृतिमाथि असर पर्दै गइरहेको धारणा राख्नुभयो । यस्तै अग्रज साहित्यकार देवराज खरेलले यस्ता कार्यक्रमले नवपुस्ताको लेखनशील्पमा हौसला मिल्नुका साथै पठनमा टेवा पुग्ने विचार राख्नु भएको कार्यक्रममा अध्यक्ष सानु खनालले विद्यार्थीहरूलाई रचनात्मक क्रियाकलापमार्फत् पठन संस्कृतिमा योगदान पुग्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको धारणा राख्नुभयो ।

कार्यक्रमको रुपरेखा तथा प्रतियोगीहरूलाई सहजीकरणका लागि लेखन शैली तथा शील्पमाथि सदस्य संप्रस पौडेलले मन्तव्य राख्नु भएको कार्यक्रमलाई सहसचिव भवानी तिमल्सिनाले सञ्चालन गर्नु भएको हो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

‘मरुभूमिमा वासन्ती याम’ कवितासंग्रह लोकार्पण

संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

१५ भाद्र, शनिबार ।
नवसाहित्य । विपिन पाठकको कवितासङ्ग्रह ‘मरुभूमिमा वासन्ती याम’ लोकार्पण गरिएको छ । शुक्रबार चितवनको माडीस्थित पर्यटकीयस्थल रातोमाटे डाँडामा पाठकको पहिलो कविता कृति लोकार्पण गरिएको हो ।

माडी साहित्य परिवारले आयोजना गरेको कार्यक्रममा चितवन, मकवानपुर, नवलपरासी र कैलालीका साहित्यसर्जकहरूको उपस्थितिमा कृति लोकर्पण गरिएको हो । माडी साहित्य परिवारका अध्यक्ष चन्द्रमणि महतो, माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतो, कवि पाठकका बुबाआमा बालकृष्ण र पार्वती पाठक, कवि भूपिन, युवा नेता रामप्रसाद न्यौपानेलगायतबाट सो पुस्तकको लोकार्पण भएको हो ।

लेखकको व्यक्तित्व एवं कृतिका सन्दर्भमा डा. धनेश्वर भट्टराईले चर्चा गर्दै कवि पाठक कवितामा गहिरो रुचि भएको व्यक्ति भएको बताउनुभयो । त्यसैगरी लेखक भूपिनले भन्नुभयो- ‘कविता लेखनमा विपिन लोभलाग्दो किसिमबाट आएका छन्, उनले कविता बुझेका छन्, अझै स्तरीय कविता लेखेर आउनुपर्ने चुनौती यस सङ्ग्रहले दिएको छ ।’

कार्यक्रममा कवि पोषराज पौडेल, बुद्धिजीवी प्रेम रिमाल, युवा राजनीतिज्ञ रामप्रसाद न्यौपाने, साहित्य सङ्गम चितवनका अध्यक्ष प्रकाश चापागाईं, मकवानपुर हेटौंडाका कवि पुरुषोत्तम आचार्यलगायतले शुभकामना मन्तव्य राख्नु भयो । सीमान्तकृतको आवाज, असमानताप्रतिको विद्रोह, कर्मीवर्गप्रतिको विशेष प्रेम, राजनीतिक विचलन, सुशासनका लागि खबरदारी, प्रकृति र वातावरण संरक्षणलगायतका कविता सङ्ग्रहमा समेटिएका छन् ।

कवि विपिनले आफू माडीको सामान्य परिवारमा जन्मिएको र सोही ठाउँको सामान्य समाजको संगतमा बसेकोले आफ्ना कवितामा पनि समाजका सामान्य कुरा समेटिएको बताउनुभयो । ६० को दशकदेखि कविता लेखनमा सक्रिय उहाँ समाज, समसामयिक परिवेश र प्रकृतिलाई केन्द्रमा राखेर सिर्जना गर्न रुचाउनुहुन्छ । प्रगतिशील लेखक संघ चितवन शाखाका पूर्वअध्यक्ष कवि पाठक साहित्य सङ्गम चितवनका पूर्व सहसचिव पनि हुनुहुन्छ ।

माडीसहित विभिन्न एफएम रेडियोमा साहित्यिक कार्यक्रम सञ्चालनको अनुभव बटुलेका पाठक शिक्षक सेवा तथा लोक सेवा आयोगका कक्षाहरु सञ्चालन समेत गर्ने पाठक विश्वप्रकाश मावि भरतपुरमा अध्यापन गराउनुहुन्छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर तथा नेपाल ल क्याम्पसबाट कानून विषयमा स्नातक गर्नुभएको छ ।
 
सम्पूर्ण किताब नारायणगढले बिक्रीवितरणको जिम्मा लिएको कविता  सङ्ग्रहमा कूल ४० कविताहरू छन् भने पुस्तकलाई इन्डिगो इन्क प्रालि काठमाडौंले प्रकाशन गरेको हो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

गोपी सापकोटाको ‘लन्डन अनप्लग्ड’ माथि हेटौँडामा अन्तरक्रिया

समाचार प्रमुखः

संप्रस पौडेल

१५ भाद्र, शनिबार ।
नवसाहित्य । “मलाई पुस्तकमा लेख्न मन नलागेको कुरा यही हो । अहिले पनि लेख्न मन नलागी नलागी लेख्दैछु । जस्तो कि साना साना नानीहरू स्कुल जान मन नलाग्दा नलाग्दै जान्छन्; बिरामीहरू खान मन नलाग्दा नलाग्दै खान्छन्; फूलहरू झर्न मन नलाग्दा नलाग्दै झर्छन्; म पनि लेख्न मन नलाग्दा नलाग्दै लेख्दै छु ।”

पहिलो अनुच्छेद यसरी सुरूवात भएको पुस्तक ‘लन्डन अनप्लग्ड’ माथि हेटौँडामा अन्तरक्रिया गरिएको छ । गोपी सापकोटाको पछिल्लो कृति ‘लन्डन अनप्लग्ड’ माथि चर्चाको मेसो भने किताबघरको आयोजनामा भएको हो ।

कार्यक्रममा सो कृतिमाथि साहित्यकार शान्ति प्रियवन्दनाको समीक्षात्मक टिप्पणीका साथै सञ्चारकर्मी आशिष दुलालले पाठकीय टिप्पणी रहेको थियो ।

सञ्चारकर्मी दुलालले पुस्तक अध्ययनका क्रममा मकवानपुरदेखि मलेसियासम्मको १२ वर्षअघिको आफ्नै  यात्राले विगतलाई बल्झाइदिएको बताउँदै पुस्तकमा प्रयोग भएका बिम्बभित्र आफू पात्र भएर पढेको बताउनुभयो । उहाँले युरोप र अमेरिका नदेख्दा पनि पुस्तकले लन्डनका मान्छेका जालो, प्रेमदेखि विछोडसम्मका घटना, वृद्ध अनि मृत्युका किस्साहरूले आफूलाई तानेको बताउँदै लेखक सम्बन्धका जालोमा जेलिएर लन्डनमैँ ‘प्लग्ड’ हुनु भएको तर नेपालको विगत र सम्झनाका यादहरूसँग तुलना गरिरहनु भएको आफ्नो बुझाइ रहेको मन्तव्य राख्नुभयो ।

यस्तै साहित्यकार प्रियवन्दनाले औपचारिक कार्यक्रमलाई आसन ग्रहणको पट्यारलाग्दो प्रणालीलाई अन्त्य गर्दै उपस्थित सबै दर्शक/स्रोतालाई प्रमुख अतिथि बनाइनुलाई निरन्तरताको कामना गर्नु भएको छ । प्रयोगवादी नाटककारको रूपमा आफ्नो छुट्टै छवि बनाइसक्नु भएका तथा कविता सङ्ग्रह, बालकथा सङ्ग्रह, उपन्यास आदि प्रकाशन गरी स्थापित लेखकका रूपमा रहनु भएका सापकोटा विदेश भासिएर लन्डनमा रहँदा भोग्नुपरेका सास्ती र हण्डर अनि आफ्नो सपना पूरा गर्नका लागि भएका सङ्घर्ष पुस्तकले उल्लेख गरेकोमा नेपालबाहिर जुनसुकै देशमा नेपालीहरूले गर्नु परेको सङ्घर्षलाई हेर्दा नेपालसँगको सम्बन्धबाट टाढा रहन नसक्नुका साथै पुस्तकलाई लेखकले सिर्जनात्मक आख्यान भनेता पनि आफूले निबन्धका रूपमा लिने उहाँले बताउनुभयो । उहाँले ‘जिन्स पाइन्ट’, ‘फ्रिज म्याग्नेट’, ‘स्वरूपको अन्त्य’ आदिमध्ये आफूलाई सबैभन्दा बढी मन परेको अध्याय ‘पसिनाको ह्विस्की’ रहेको र ‘स्वरूपको अन्त्य’ ले आफूलाई भावुक बनाएको जानकारी गराउनुभयो ।

पहिलो अध्याय ‘जिन्स पाइन्ट’ बाट सुरू भएर बिसौँ अध्याय ‘बेलायतमा बर्मेली जीन’ सम्म २० अध्यायहरू पुस्तकमा सङ्ग्रहित छिन् ।

लेखक सापकोटाले मन्तव्यमा भन्नुभयोः “लामो समयसम्म काम गर्दा गर्दा मानसिक रूपमा कतिपय विषय सोच्न नै ठप्प हुने लन्डनको दैनिकीलाई लिएर लेखिएको सिर्जनात्मक गैरआख्यान नेपालमा मात्रै नभइ संसारकै लागि नयाँ विधा हो । पाठकलाई पढ्दा आनन्द आउनेगरी प्रयोग गरिने यस विधामा लेखकले आफ्नो रुचीको विषयलाई पोख्न पाउँछ । यस्तै यो पुस्तक झन्डै १० साल पहिले लेखिएको र अब आफू लन्डननिवासी भएकाले त्यहाँको वातावरणमा बिस्तारै अभ्यस्त हुँदै गएकाले अहिलेको अवस्थामा भए यो पुस्तक लेख्नै सक्ने थिइनँ । बिहे गर्नुअघि नै बच्चा जन्माउने र जीवितै हुँदादेखि नै आफ्नो मृत्युका लागि लगानी गर्ने विषयले उतिखेर आफूलाई निकै रोचक र आश्चर्यजनक लागेको थियो ।” उहाँले नेपालमा हुँदा लेखनमा कविताबाट सुरू गरेर सडक नाटक लेख्ने र मञ्चन गर्नुभयो । ४ वटा नाटकका किताबहरू प्रकाशन गरिसक्नु भएका सापकोटाले कठोर, विषयगत र गहन लेखनबाट मोडिँदै सरल ढङ्गले प्रस्तुत गर्नका लागि नै गैरआख्यान लेखन गर्नुभएको जानकारी दिनुभयो । त्यसो त गैरआख्यान लेखन निकै जोखिमपूर्ण भएको बताउँदै आउँदा समयमा आख्यान लेखनमा जोड गर्ने बताउनुभयो ।

कार्यक्रमलाई सहजीकरण गर्दै किताबघरका सञ्चालक छवि अनित्यले पुस्तकका केही अंशहरू वाचन गर्नुभयो भने कलम प्रकाशनका प्रमुख नरेन्द्र नगरकोटीले सापकोटाका अघिल्ला कृतिसमेत प्रकाशन गर्नुका साथै पछिल्लो उत्कृष्ट कृति प्रकाशन गर्न पाउँदा गौरव महसुस भएको बताउनुभयो । सापकोटाका बालपत्रिकादेखि बालनाटक लेखनबाट परिचय रहेको एउटा नाम गोपी सापकोटाका पहिलो उपन्यास तथा कलम प्रकाशनको पहिलो प्रकाशित कृति ‘काँचो कागज’ देखि पद्मश्रीको विस्तारित सूचीमा सूचीकृत यस कृतिमाथि विमर्श र अन्तरक्रिया कार्यक्रम आयोजना गरी किताबघरले मकवानपुरमा पठन संस्कृतिमा विशेष काम गर्दै गइरहेकोप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

साहित्य सङ्गम/सिस्नुपानी मकवानपुरको सभाहलमा औपचारिकताविना र उद्देश्यप्रति लक्षित गरी आयोजित कार्यक्रम १ घण्टामैँ सकिनेगरी किताबघरका सञ्चालक छवि अनित्यले सहजीकरण गर्नु भएको हो ।
(हाम्रा समाचारहरू अन्य पत्रपत्रिकामा स्रोत उल्लेख नगरी प्रकाशन गरिएको पाइएकोले त्यसो नगर्नुहुन अनुरोध गर्दछौँ । -सम्पादक)

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन

‘मुकाम रणमैदान’ लाई मदन पुरस्कार २०८०, यादवलाई जगदम्बाश्री

संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

१५ भाद्र, शनिबार ।
नवसाहित्य । मदन पुरस्कार गुठीले मोहन मैनालीद्वारा लिखित “मुकाम रणमैदानः नेपाल–अंग्रेज युद्धको बखान”  पुस्तकलाई मदन पुरस्कार दिने निर्णय गरेको छ ।
 
शुक्रबार बसेको गुठीको बैठकले ऐतिहासिक सन्दर्भ र सामग्रीलाई सरल, सरस एवं प्रवाहमय भाषामार्फत लोकप्रिय बनाउन उल्लेख्य रचनात्मक योगदान पुर्‍याएकाले मदन पुरस्कार २०८० प्रदान गर्ने निर्णय गरेको हो ।
 
मदन पुरस्कार गुठीमा प्राप्त ३०४ पुस्तकहरू सिफारिसमा परेका थिए । ती पुस्तक मध्येबाट पाँच पुस्तकहरू क्रमशः डम्फुको आत्मालाप (भक्त स्याङतान), नुन–तेल (जीवन क्षेत्री), भावलिपि (भावेश भुमरी र प्रणिता चामलिङ), मुकाम रणमैदान (मोहन मैनाली) र सन्‍त्रासका साठी दिन (रोशन थापा ‘नीरव’)  ‘मदन पुरस्कार श्रेष्ठ सूची २०८०’ मा परेका थिए ।
 
“नेपालका भाषाहरूको पहिचान, संरक्षण र अध्ययन–अनुसन्धान क्षेत्रमा क्रियाशील प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई  २०८० सालको जगदम्बा श्री पुरस्कार गर्ने निर्णय गरेको छ ।
 
मदन पुरस्कार २०७९ विवेक ओझाको ऐँठनले प्राप्त गरेको थियो भने जगदम्बाश्री पुरस्कार २०७९ टेकवीर मुखियालाई प्रदान गरिएको थियो ।
 
२०१२ सालमा स्थापित मदन पुरस्कार पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्‍जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई मदन पुरस्कार प्रदान गरिएको थियो।
 
२०४५ सालमा रानी जगदम्बाको निधनपछि उनको सम्झनास्वरूप जगदम्बा–श्री पुरस्कारको स्थापना गरिएको हो। जुन सम्मान पहिलोपटक नारायण गोपाललाई प्रदान गरिएको थियो।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन